शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४४७ - अंश चलन

भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री दिपकराज जोशी

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति: २०७१।५।५।५

०७०–NF–०००७

 

मुद्दाः अंश चलन ।

 

पुनरावेदक प्रतिवादी : जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा नं. ७ बस्ने सुन्दरीकुमारी श्रेष्ठसमेत

विरूद्ध

प्रत्यर्थी वादी : जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ४ बस्ने राजकुमार श्रेष्ठसमेत

मुलुकी ऐन, अ.बं ३० नं ले दुई वा दुईभन्दा बढी अंसियारहरूबिचमा अंशबन्डा भएको छ वा छैन भन्ने विवादित तथ्यको निर्णय गर्न एउटा निश्चित मापदण्ड निर्धारण गरेको छ । मिसिलमा उल्लेख भएका तथ्य र वस्तुस्थितिको मूल्याङ्कनबाट मात्र विवादको निरूपण हुन्छ । अंसियारबिच बन्डापत्रको माध्यमबाट वा व्यवहार प्रमाणबाट अलग भै बस्ने प्रचलन रही आएको हुँदा जुनसुकै माध्यमबाट होस् भिन्न भै भिन्न व्यवहार गरी भिन्न भएको पुष्टि हुने आधार देखिएमा अंसियारबिचको बन्डामा विवाद नउठोस् भन्नका लागि कानूनमा रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुने व्यवस्था समावेश गरेको देखिने । 

(प्रकरण नं. ४)

मूल पुरूषको नामबाट सगोलमा रहेका अर्का कुनै भाइको नाममा नामसारी भएको देखिँदैमा नामसारी भई आएका जग्गा अंश लाग्ने जग्गा हो भनी न्यायिक धारणा बनाउन नमिल्ने ।

(प्रकरण नं. ७)

 

निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल

विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू शेरबहादुर के.सी., योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र ऋतुवर्ण बानिया

अवलम्बित नजिर :

नेकाप, २०६६, पुस, निर्णय नं. ८२२७, पृष्ठ १५२५

नेकाप, २०५६, चैत, निर्णय नं. ६८२४, पृष्ठ ८५५

सम्बद्ध कानून :

न्याय प्रशासन ऐन, २०४८

मुलुकी ऐन अ.बं. ३०, १३९

अंशबन्डाको ३० नं.

 

सुरू अदालतमा फैसला गर्नेः– 

मा.न्या. श्री अर्जुनप्रसाद कोइराला

पुनरावेदन तहमा फैसला गर्नेः–  

मा.न्या. श्री हरिप्रसाद घिमिरे

मा.न्या. श्री ऋषिराम मिश्र

सर्वोच्च अदालतमा फैसला गर्नेः– 

मा.न्या. श्री ताहिर अलि अन्सारी

मा.न्या. श्री तर्कराज भट्ट  

 

फैसला

स.प्र.न्या. दामोदरप्रसाद शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर भएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६८।१२।१ मा भएको फैसलामा सोही ऐनको दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भै पेस भएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ । 

हाम्रो बाजे अनकमानका ४ भाई छोराहरूमा बाजेबाट हाम्रो बुबाहरू ३ जनाले पुर्खाको सम्पत्तिबाट पाउने अंश नलिई केदारमान वि.सं. १९९६ सालतिर, रामेश्वरमान २०१२ सालतिर र महेश्वरमान २०२० सालतिर तराईतिर बसी मानो छुट्टिई आफ्नो-आफ्नो व्यवहार गर्दै आउनु भई पैतृक सम्पत्तिबाट पाउने अंश भाग नलिनु भएकामा बाजे अनकमानबाट प्रतिवादीहरूका पति/बुबा द्वारिकामानले आफ्नो जिम्मामा लिई हाम्रा बुबाहरूलाई अंश लिनबाट वञ्चित गराई बाजेको मृत्युपछि पैतृक सम्पत्ति एकलौटी प्रतिवादीका पति/पिता द्वारिकामानले आफ्नो नाममा नामसारी गराएको र हाल ती जग्गाहरू प्रतिवादी सुन्दरीकुमारी श्रेष्ठको नाममा नामसारी भई केही जग्गा सुन्दरीकुमारीको नाममा, केही जग्गा निजका छोरा अन्य प्रतिवादीको नाममा हक हस्तान्तरण भएको अवस्था छ । हाम्रा बुबाहरूले पटकपटक माग्दासमेत हालसम्म पनि अंश नदिएकाले पैतृक सम्पत्तिलाई ४ भाग लगाई सोमध्ये हाम्रा बुबाहरूले पाउने दुई भाग हामी छोराहरू वादीलाई अंश दिलाई पाउँ भन्नेसमेत व्यहोराको वादी राजकुमार श्रेष्ठसमेत ९ जनाले धनकुटा जिल्ला अदालतमा दायर गरेको फिराद दाबी । 

हाम्रा ससुरा तथा बाजे अनकमानको २०३२ सालमा कालगतिले मृत्यु भएको थियो । निज अनकमान श्रेष्ठको नाममा रहेको तत्कालीन धनकुटा नगरपालिका वडा नं. ७ स्थित कि.नं. ६४, क्षेत्रफल ०-६-० र कि.नं. १२९, क्षेत्रफल ०-८-० को जग्गा ससुरा तथा बाजेसँग एकासगोलमा रहेका मेरा पति तथा हाम्रा बुबा द्वारिकामान श्रेष्ठले नामसारी गरिपाउँ भनी मिति २०३५/१२/६ गते मालपोत कार्यालय, धनकुटामा निवेदन दिएको र मालपोत कार्यालयले कानूनबमोजिम ३५ दिने हक दाबीको सूचना प्रकाशित गरी कसैले दाबी  विरोध नगरेको कारण कानूनको रीत पुर्‍याई मिति २०४०/३/८ गते हाम्रा पति तथा बुबाका नाममा नामसारी भएको हो । बाजेको सम्पत्तिबाट वादीका बुबाहरूले अंश लिएका थिएनन् भने बाजे जीवित हुँदै अंश माग्नु पर्ने हुन्थ्यो । बाजे जीवित छँदै अंश माग गर्न नसके मालपोत कार्यालय, धनकुटाले निकालेको हक दाबी को ३५ दिने सूचनामा उपस्थित भई दाबी विरोध गरी अंश दाबी गर्नु पर्नेमा सो गरेको अवस्था पनि छैन । हाम्रा देवर तथा काका स्व.महेश्वरमान श्रेष्ठको २०४२ सालमा मृत्यु भई उहाँका छोरा वादीहरूले आफूहरूबिच २०५३ सालमा रीतपूर्वक अंशबन्डा गरेका छन् । बुबाहरूको अंशबन्डा भएको थिएन भने वादीहरूले आफूले अंशबन्डा गर्नुअघि अंशबन्डा नभएको सम्बन्धमा कुरा राख्नु पर्नेमा राख्नुभएको 

छैन । वादीहरूले अनकमानको नाममा के कति सम्पत्ति थियो र के कति बन्डा गर्नु पर्ने हो भनी फिरादपत्रमा यकिन गर्न सकेका छैनन् । रामेश्वरमानका छोराहरूले अंश दाबी नगरेबाट पनि पैतृक सम्पत्ति बन्डा भै सकेको प्रष्ट हुन्छ । तसर्थ, हामीले वादीलाई अंश दिनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको प्रतिउत्तर जिकिर । 

आदेशबमोजिम अ.बं. १३९ नं. बमोजिम बुझिएका रामेश्वरमान श्रेष्ठका छोराहरू विशालकुमार श्रेष्ठ, मञ्जिलकुमार श्रेष्ठ र यादव श्रेष्ठले प्रतिवादीहरूबाट हाम्रा बुबाले पाउने अंश हामीले पाउनु पर्ने हो भन्ने व्यहोराको बयान गरेको देखिन्छ । 

वादी पक्ष र प्रतिवादी पक्ष अंसियार 

हुन् । वादीहरूका बुबाले अनकमानबाट अंश पाएका छैनन् । सबै पैतृक सम्पत्ति प्रतिवादीहरूको नाममा 

छ । यस मुद्दामा वादीहरूले ४ भागको २ भाग अंश पाउनु पर्ने हो भन्नेसमेत व्यहोराको वादीका साक्षी सूर्यबहादुर श्रेष्ठको बकपत्र । 

वादीहरूका बाजे अनकमानको चार भाई छोराहरूमध्ये साँहिला द्वारिकामानले मात्रै पैतृक सम्पत्ति भोग चलन गरिरहेका र केदारमान, रामेश्वरमान र महेश्वरमानको अंश भाग निजहरूका छोराले पाउनु पर्ने हो भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं बमोजिम बुझिएका बिशालकुमार श्रेष्ठका साक्षी हरिकृष्ण श्रेष्ठको बकपत्र । 

वादीहरूले प्रतिवादीहरूबाट अंश पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षीहरू रोशन श्रेष्ठ र ईश्वर श्रेष्ठको बकपत्र । 

बाजे अनकमानका नाममा रहेको सम्पत्ति अंश भै निजका ४ भाई छोराहरूमा रीतपूर्वकको बन्डा भैसकेको नदेखिँदा फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिनसम्मको बन्डा गर्नुपर्ने श्रीसम्पत्तिको तायदाती फाँटवारी दुवै पक्षबाट दाखिल गराई पेस भएको फाँटवारीबमोजिमको नपुग कोर्ट फीसमेत वादी पक्षबाट दाखिल गराई पेस गर्नु भन्ने सुरू धनकुटा जिल्ला अदालतबाट मिति २०६३।९।३ मा आदेश भई आदेशानुसार वादी प्रतिवादी दुवै पक्षबाट तायदाती फाँटवारी विवरण पेस भई मिसिल सामेल रहेको देखिन्छ । 

यी वादीका बुबाहरू केदारमान १९९६ सालतिर र महेश्वरमान २०२० सालतिर भिन्न भै बसेको फिरादपत्रमा स्वीकार गरेको देखिन्छ । महेश्वरमानका पत्नी र छोराहरू मिति २०५३।१०।२८ मा र रामेश्वरमानका छोराहरूबिच मिति २०६२।३।३० गते रीतपूर्वक अंशबन्डा भैसकेको देखिन्छ । वादीहरूले छुट्टाछुट्टै जग्गा दर्ता गरी अलगअलग भोग बिक्री व्यवहार गरी बसेको अवस्थामा अंशबन्डाको ३० नं. ले बन्डापत्रको लिखत आवश्यक पर्ने अवस्था देखिन आएन । बन्डापत्रको लिखत पारित नभए तापनि यी वादी प्रतिवादीहरूबिच व्यवहार प्रमाणबाट छुट्टी भिन्न भै आफ्नो–आफ्नो व्यवहार गरी आएको मिसिल संलग्न प्रमाणहरूबाट देखिँदा अनकमान श्रेष्ठका ४ भाई छोरालाई मूल अंसियार कायम गरी हामी वादीहरूका बुबा केदारमान र महेश्वरमान श्रेष्ठले पाउने पैतृक सम्पत्तिबाट हामी छोराहरूलाई आ–आफ्नो बुबाको अंश भाग भराई पाउँ भन्नेसमेत व्यहोराको वादी दाबी पुग्न सक्दैन भन्ने सुरू धनकुटा जिल्ला अदालतको मिति २०६४।३।११ को फैसला । 

बाजे अनकमानका ४ जना छोराहरू भएकामा हाम्रा बुबाहरूले पैतृक सम्पत्तिबाट अंश नलिई विभिन्न सालमा मानो छुट्टिई अलग भै व्यवहार गर्दै आउनुभएको र हामी छोराहरूले आफ्नो–आफ्नो बुबाबाट पाउने अंश हकको सम्पत्ति बाजे अनकमानको मृत्युपश्चात् प्रतिवादीका पति/बुबा द्वारिकामानले आफ्ना नाममा नामसारी गरी लिएका र निजको मृत्युपश्चात् केही सम्पत्ति प्रतिवादी सुन्दरीकुमारी श्रेष्ठ, उज्वलमान श्रेष्ठ, प्रज्वलमान श्रेष्ठ, युवराजमान र ईश्वरमान श्रेष्ठका नाममा नामसारी हक हस्तान्तरण भई हाल निजहरूकै नाममा रहेका छन् । पैतृक सम्पत्तिबाट अंश नपाउने भन्न नमिल्ने हुँदा ४ अंसियार कायम गरी हाम्रा बुबाका भागको अंश हामी फिरादीहरूले नपाउने  ठहर गरेको सुरू धनकुटा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी वादी दाबीबमोजिम अंश दिलाई पाउँ भन्ने व्यहोराले वादीहरूको तर्फबाट पुनरावेदन अदालत, धनकुटामा परेको पुनरावेदनपत्र । 

यसमा मानो छुट्टिएको मिति निर्धारण गरेकोतर्फ प्रतिवादीको कुनै उजुर नरहेको अवस्थामा तायदातीमा उल्लिखित सम्पत्तिमध्येको कि.नं. ६४ र १२९ को जग्गाको सम्बन्धमा विवेचना नगरी भएको सुरूको फैसला फरक पर्ने सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमबमोजिम पेस गर्नु भन्ने व्यहोराले पुनरावेदन अदालत, धनकुटाबाट मिति २०६४।८।२४ मा भएको आदेश । 

वादीहरूले फिराद दायर गर्दा नै पुर्खाका पालाको पैतृक सम्पत्तिबाट ४ भागको २ भाग अंश पाउने भनी दाबी  गरे तापनि कुन कुन सम्पत्ति हो भनी जग्गाको कि.नं. र क्षेत्रफलसमेत किटान गर्न सकेको पाइँदैन । फिरादपत्रमै स्व. अनकमान श्रेष्ठका नामबाट द्वारिकामानका नाममा आई प्रतिवादीहरूको नाममा नामसारी भएका जग्गाहरू भन्नेसम्म उल्लेख भएको देखियो । प्रतिवादी सुन्दरीकुमारी श्रेष्ठसमेतले प्रतिउत्तर दिँदा स्व. अनकमानबाट आफ्ना पति/पिता द्वारिकामानका नाममा नामसारी भई आएका पैतृक जग्गाहरू हुन् भनी कि.नं. ६४, क्षेत्रफल ०-६-० र कि.नं. १२९, क्षेत्रफल ०-८-० जग्गा उल्लेख भएको देखिन्छ । यस अदालतको मिति २०६५/८/३ का आदेशानुसार दुवै पक्षले कागज गर्दासमेत पैतृक सम्पत्ति भनी उल्लिखित जग्गाहरूलाई नै इङगित गरेका र स्वयम् प्रतिवादीहरू सुन्दरीकुमारी श्रेष्ठसमेतले दिएको मिति २०६३/१०/२१ को तायदाती फाँटवारीमा समेत उल्लिखित जग्गा र त्यसमा २ वटा घर छन् भनी स्पष्टरूपले स्वीकार गरेको देखिँदा उक्त २ कित्ता जग्गा र २ वटा घरबाहेक अन्य जग्गामा पुनरावेदक वादीहरूको दाबी पुग्ने अवस्था भएन । उक्त मितिको फाँटवारीमा उल्लिखित कि.नं. ६४ र १२९ का २ कित्ता जग्गा र कि.नं. ६४ मा बनेका २ वटा घरलाई जम्मा ४ भाग लगाई वादीहरूका बुबाहरूको भागमा पर्ने २ भाग अंश वादीहरूले प्रत्यर्थी प्रतिवादीहरूबाट छुट्याई लिई चलनसमेत चलाई पाउने ठहर्छ । सोबमोजिम वादी दाबी  नै नपुग्ने ठहर्‍याएको सुरू धनकुटा जिल्ला अदालतको मिति २०६४/३/११ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०६६/१/२४ को 

फैसला । 

पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसलामा चित्त बुझेन । द्वारिकामानका दाजु र भाइले आफ्नो जीवनभर आफ्ना–आफ्ना छोराहरूलाई अंश दिनु अघि र पछि आफूहरूले अंश पाउनु पर्ने भनेर दाबी गरेका छैनन् । केदारमान, रामेश्वरमान र महेश्वरमानबिच व्यावहारिकरूपमा अंशबन्डा भई सकेको थियो । एकपल्ट अंश पाइसकेपछि दोहोरो अंश पाउने कानूनी व्यवस्था छैन । प्रस्तुत मुद्दा गर्न हकदैया पनि छैन । तत्कालीन धनकुटा गाउँ पञ्चायतको सिफारिसको आधारमा द्वारिकामानले मालपोत कार्यालय, धनकुटामा दिएको नामसारीको निवेदनमा निश्चित कानूनी कार्यविधि अवलम्बन गरी विवादित जग्गा द्वारिकामानको नाममा दर्ता भएकाले पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला उल्टी गरी सुरू धनकुटा जिल्ला अदालतको फैसला सदर गरिपाउँ भनी प्रतिवादी पक्षको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा प्रस्तुत मुद्दामा वादी भै आएका महेश्वरमानको पत्नी एवम् छोराहरूको बिचमा मिति २०५३/१०/२८ मा बन्डा भएको एवम् रामेश्वरमानका छोराहरूका बिचमा समेत मिति २०६३/३/३० मा नै बन्डा भएको भन्ने देखिनाले वादी दाबीबमोजिम बन्डा हुनेसमेत ठहराएको पुनरावेदन अदालत, धनकुटाको मिति २०६६।१।२४ को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६७।१०।१९ गतेको आदेश । 

वादीहरूले अंश पाइसकेका भन्ने कुराको प्रत्यक्ष एवम् ठोस सबुद प्रमाणको अभावमा वादीहरूलाई अंशमा दाबी  लिने हकदैया नै नभएको हुँदा अंश दिनु नपर्ने भन्न मिल्ने देखिएन । पैतृक सम्पत्तिबाट बन्डा नलिँदैका अवस्थामा आफ्नो निजी आर्जनको सम्पत्तिसम्म कुनै अंसियारले आफ्नो अंसियारलाई बन्डा गरिदिन्छ भने त्यस्तो कार्यले पैतृक सम्पत्तिबाट बन्डा पाउने हकमा कुनै प्रतिकूल असर गर्छ भनी मान्न मिल्दैन । यी विपक्षी वादीहरू अंश लिई भिन्न भइसकेको छन् भन्ने कुराको ठोस प्रमाण गुजारी आफ्नो पुनरावेदन जिकिरलाई यी पुनरावेदक प्रतिवादीहरूले पुष्टि गर्न सकेको पाइँदैन । अ.ब. १३९ नं बमोजिम बुझिएका यादव श्रेष्ठसमेतका व्यक्तिहरूले वादी प्रतिवादीहरूका बिचमा अंश नभएको भनी लेखाई दिएकोसमेत देखिन्छ । यसप्रकार मिसिल संलग्न ठोस सबुद प्रमाणबाट यी वादीहरूले अंश प्राप्त गरिसकेको भन्ने प्रमाणित हुन सकेको नदेखिँदा कि.नं. ६४ को ०-६-०, कि.नं. १२९ को ०-८-० का जग्गाहरू र कि.नं. ६४ को जग्गामा बनेका २ वटा घरलाई जम्मा ४ भाग लगाई त्यसमध्ये वादीहरूका बुबाहरूको भागमा पर्ने २ भाग अंश वादीहरूले यी पुनरावेदक प्रतिवादीहरूबाट छुट्याई लिई चलनसमेत चलाई पाउने ठहर्‍याई भएको पुनरावेदन अदातल, धनकुटाको मिति २०६६।१।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०६८।१२।१ को फैसला । 

कि.नं. ६४ र १२९ का जग्गाहरूबाट वादीहरूलाई अंश भाग लाग्ने होइन । अंश भाग लाग्ने हो भने वा अंश हक बाँकी रहेको भए जग्गा नामसारी गर्ने क्रममा प्रकाशन भएको सूचनाको आधारमा हक दाबी  गर्न जानु पर्नेमा दाबी गर्न सकेको अवस्था 

छैन । पैतृक सम्पत्ति अनन्तकालसम्म रहिरहने होइन र रही रहन्छ भनेर अदालतले अनुमान गर्न पनि 

मिल्दैन । केदारमान १९९६ सालमा, रामेश्वरमानको २०१२ मा र महेश्वरमान २०२० सालमा छुट्टी भिन्न भएका हुन् । त्यसपछि वादीहरूले आफ्नो अंश भाग लिई अलग–अलग बसी आएका छौं भनी फिरादपत्रमा उल्लेख गर्नु भएको छ । यसबाट बन्डापत्रको लिखत खडा नभएको भए तापनि व्यवहार प्रमाणको आधारमा वादीका बुबाहरू केदारमान, महेश्वरमान र अ.बं. १३९ नं बमोजिम बुझिएका विशालकुमार श्रेष्ठका बुबा रामेश्वरमानबिच पहिले नै बन्डा भएको तथ्य पुष्टि हुन आएको छ । हाम्रा पति / पिता साबिकदेखि नै बाजे अनकमानसँग सगोलमा बस्दै आउनु भएको थियो । बाजेको २०३२ सालमा मृत्यु भएपश्चात् उक्त जग्गा द्वारिकामानको नाममा नामसारी भएको हो । यसरी हजुरबुबाको नामबाट सगोलमा रहेका हाम्रा पति पिताको नाममा आएको जग्गालाई पैतृक सम्पत्ति भनी बन्डा गर्ने ठहर भएको यस अदालतको उल्लिखित फैसला मुलुकी ऐन, अ.बं. १८ नं. तथा ३० नं. र नेकाप २०६३, पुस, निर्णय नं. ७७६१, पृष्ठ ११७६, नेकाप २०६२, माघ, निर्णय नं. ७६१५, पृष्ठ १२८९ र नेकाप २०६६, पुस, निर्णय ८२२७, पृष्ठ १५२५ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भएको हुँदा पुनरावलोकनको निस्सा प्रदान गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको तर्फबाट यस अदालतमा पेस भएको निवेदनपत्र । 

यसमा मूल पुरूष अनकमानका चार छोराहरूमध्ये केदारमान वि.सं. १९९६ सालमा, रामेश्वरमान २०१२ सालमा र वादीमध्येका दिपकुमार श्रेष्ठसमेतका बुबा महेश्वरमान २०२० सालदेखि नै अलग व्यवहार गरी बसेको कुरा वादीले फिरादमा नै उल्लेख गरेको र महेश्वरमान श्रेष्ठको २०४० सालमा परलोक भएपश्चात् निजका छोरा वादीहरूका बिचमा समेत अंशबन्डा भइसकेको भन्ने देखिन्छ । वादी प्रतिवादीका बुबाहरूको पालामा नै आफ्नो–आफ्नो अलगअलग व्यवहार गरी व्यवहार प्रमाणबाट बन्डा भइसकेको कुरा फिराद व्यहोराबाट नै खुल्न आएको र वादीहरू स्वयम्‌का बिचमा समेत बन्डा भइसकेपश्चात् पछि आएर पुर्ख्यौली सम्पत्ति नपाएको भनी अंश माग गरेकामा वादी दाबी  पुग्ने ठहर गरेको यस अदालत संयुक्त इजलासको मिति २०६८।१२।१ को फैसलामा नेकाप २०६६, पुस, निर्णय नं. ८२२७, पृष्ठ १५२५, नेकाप २०५३, फागुन  निर्णय नं. ६२९२, पृष्ठ ८०२ र नेकाप २०६२, निर्णय नं. ७६१५, पृष्ठ १२८९ मा प्रतिपादित सिद्धान्तसमेतको त्रुटि विद्यमान रहेको हुँदा प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ उपदफा (१) को खण्ड (ख) अनुसार पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०७०।४।७ को आदेश । 

प्रस्तुत मुद्दामा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भएकाले पुनरावलोकन दायरीमा दर्ता गरी नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०७०।५।१० को आदेश । 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले वादी र प्रतिवादीहरूका बाजे अनकमान श्रेष्ठका ५ भाई छोराहरूमध्ये जेठो छोराको मृत्यु भई ४ भाइ छोराहरू जीवित थिए । माहिलो छोरा केदारमान, साँहिलो द्वारिकामान, काहिलो रामेश्वरमान र कान्छो महेश्वरमान श्रेष्ठ हुन् । उनीहरूको जीवनकालमा नै केदारमान, रामेश्वरमान र महेश्वरमान छुट्टी अलग व्यवहार गरेको कुरालाई वादीहरूले स्वीकार गरेका छन् । त्यसैगरी महेश्वरमानको मृत्युपश्चात् महेश्वरमानका छोरा वादीहरू दिपकुमार, राजु, त्रिलोचन, संजिवकुमार र काजिमान श्रेष्ठबिच २०५३/१०/२८ मा र रामेश्वरमानका छोराहरूबिच मिति २०६२/३/३० मा नै अंशबन्डा नै सकेको देखिन्छ । यसरी वादीहरूबिचमा नै अंशबन्डा भै सकेपछि बाजे अनकमानको पुर्ख्यौली सम्पत्ति बन्डा हुन बाँकी छ भनेर भन्न मिल्दैन । 

मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. ले बन्डापत्र खडा गरी वा नगरी घरसारमै नरमकरम मिलाई अंशबन्डा गरी छुट्टिई आफ्नोआफ्नो भाग अंश लिई त्यस्तो सम्पत्ति दाखिल खारेज गरेपछि छुट्टाछुट्टै भोग गरेको मानिने व्यवस्था गरेको छ । व्यवहार प्रमाणबाट वादी र प्रतिवादीका बुबाहरूबिच अनकमानको पुर्ख्यौली सम्पत्ति बन्डा भै सकेको कुरा स्थापित भै सकेको छ । विवादित कि.नं. ६४ र १२९ का जग्गा अनकमानको नामबाट प्रतिवादीहरूका पिता पति द्वारिकामानको नाममा नामसारी भएको भन्ने आधारमा मात्र त्यो बन्डायोग्य सम्पत्ति मानिने होइन । अ.बं. १३९ नं. बमोजिम बुझिएका यादव श्रेष्ठसमेतले अंशबन्डा नभएको भनेको भए तापनि वादी र प्रतिवादीहरूले आफ्नो–आफ्नो सम्पत्ति स्वतन्त्ररूपमा बिक्री व्यवहार गरेकोसमेत देखिएबाट वादी र प्रतिवादीहरूका बुबाहरूबिच अंशबन्डा भएको देखिने हुँदा बन्डा लाग्ने गरी ठहर गरेको पुनरावेदन अदालत, धनकुटाको फैसला सदर गरेको यस अदालतको संयुक्त इजलासको मिति २०६८/१२/१ को फैसला मुलुकी ऐन अ.बं. ३० नं. र प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुँदा सो फैसला बदर गरी सुरू धनकुटा जिल्ला अदालतको फैसला सदर गरिपाउँ भन्नेसमेत व्यहोराले बहस प्रस्तुत गर्नु भयो ।

वादी विपक्षीहरूको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री शेरबहादुर के.सी., श्री योगेन्द्रबहादुर अधिकारी, श्री नरबहादुर योगी र श्री ऋतुवर्ण बाँनियाले पिता पुर्खाको पैतृक सम्पत्ति बन्डा लिन पाउने नैसर्गिक अधिकारमा वञ्चित गर्न मिल्दैन । वादीहरूका हजुरबुबाको नाममा दर्ता कायम रहेको सम्पत्ति प्रतिवादीहरूका पति पिताले आफ्नो नाममा नामसारी गर्दा प्रकाशित गरेको ३५ दिने सूचनामा दाबी विरोध नगरेको भन्ने आधारले अंश हक जाँदैन । मुलुकी ऐन, अंशबन्डाको महलको ३० नं. को मनसाय पनि त्यो होइन । साबिक एकासगोलका अंसियार रामेश्वरमान श्रेष्ठका छोराहरूले अ.बं. १३९ नं. बमोजिम गरेको बयानमा अंशबन्डा नभएको भनी बयान गरेको 

देखिन्छ । अंश नलिई आफ्नो–आफ्नो व्यवहार गरी अलग बसेको अवस्थामा मूल पुरूषको नामको सम्पत्तिमा वादीहरूको हक लाग्दैन भन्न 

मिल्दैन । कानूनबमोजिम बन्डा भै सकेको भन्ने कुरा प्रतिवादीहरूले देखाउन सकेको अवस्था छैन । अंशबन्डा हुन बाँकी छ भने जतिपुस्ता तल भएपनि अंशबन्डा हुन्छ । अंशबन्डा गर्न समानपुस्ता नै चाहिन्छ भन्ने नहुँदा यस अदालतले निस्सा प्रदान गर्दा लिएका आधारहरू मिलेको छैन । तसर्थ पुनरावेदन अदालत, धनकुटाले अंश लाग्ने गरी गरेको फैसला सदर गरेको यस अदालतको संयुक्त इजलासको फैसला सदर हुनु पर्दछ भन्नेसमेत व्यहोराको बहस गर्नु भयो । साथै वादी प्रतिवादी दुवैतर्फबाट पेस भएको बहसनोटसमेतको अध्ययन गरियो । 

उल्लिखित बहससमेत सुनी सुरू जिल्ला अदालतको फैसला उल्टी गरी पुनरावेदन अदालत, धनकुटाबाट भएको फैसला सदर गरेको यस अदालतको मिति २०६८।१२।१ को फैसला मिलेको छ, छैन भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो । 

२. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दाको निर्णयतर्फ विचार गर्दा वादीहरूले आफ्ना बुबाहरूको समेत अंश भाग लाग्ने जग्गा प्रतिवादीहरूको पति/पिता द्वारिकामान श्रेष्ठको जिम्मामा रहेकामा पछि अंश नदिएको हुँदा द्वारिकामान जिम्मामा रहेको जग्गाबाट हामी वादीहरूलाई २ भाग अंश लगाई पाउँ भन्नेसमेत व्यहोराको धनकुटा जिल्ला अदालतमा फिरादपत्र दिएको देखिन्छ । प्रतिवादीहरूले हामीहरूले वादीहरूलाई अंश दिनुपर्ने होइन । वादीहरूका बुबाहरूले बाजेको सम्पत्तिबाट अंश नलिएको भए उसै बखत दाबी गर्नु पर्नेमा दाबी  गर्न सक्नु भएको छैन । फिरादपत्रमा नै केदारमान श्रेष्ठ १९९६ सालमा, रामेश्वरमान २०१२ सालमा र महेश्वरमान २०२० सालमा छुट्टी भिन्न भएको तथ्य उल्लेख भएको छ । बाजे अनकमानको पैतृक सम्पत्ति बुबाहरूको पुस्तामा चारै जनालाई अंशभाग भै सकेको हुँदा अंश दिनु पर्ने होइन भन्ने व्यहोराको प्रतिउत्तर भएको प्रस्तुत मुद्दामा धनकुटा जिल्ला अदालतले वादी दाबी नपुग्ने ठहराई गरेको फैसलाउपर वादीहरूको तर्फबाट पेस भएको पुनरावेदनमा पुनरावेदन अदालत, धनकुटाले सुरू जिल्ला अदालतको फैसला उल्टी गरी वादी दाबी पुग्ने ठहर्‍याई फैसला गरेको देखिन्छ । सो फैसलाउपर परेको पुनरावेदनमा यस अदालतको संयुक्त इजलासबाट मिति २०६८/१२/१ मा पुनरावेदन अदालत, धनकुटाको फैसला सदर गरेउपर प्रतिवादीहरूले मुद्दा पुनरावलोकन गरी हेर्न निस्सा प्रदान गरिपाउँ भनी यस अदालतमा निवेदन गरेकामा यस अदालतबाट प्रस्तुत मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गर्ने निस्सा प्रदान भई पुनरावेदनको रूपमा दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको 

देखिन्छ । 

३. प्रस्तुत विवादमा प्रतिवादीका पति पिता द्वारिकामान श्रेष्ठको नाममा रहेको विवादित कि.न. ६४ र १२९ का जग्गा तथा कि.न. ६४ मा भएका घरहरू बन्डा लाग्ने हो होइन भन्ने प्रश्न निर्णायकरूपमा उपस्थित भएको देखिन्छ । सो निरूपण गर्ने क्रममा मुलुकी ऐन, अंशबन्डाको ३० नं. मा भएको कानूनी व्यवस्थाको प्रश्न सन्निहित रहेको देखिँदा मुलुकी ऐनको उक्त कानूनी व्यवस्था हेर्नु पर्ने देखियो । 

।।३०।। नं “अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिस्ट्रेसन गर्नु पर्नेमा सो गरी 

राख्नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो-आफ्नो हिसाब भाग शान्तिबमोजिम लिई पाई दाखेल खारेजसमेत गराई सकेको वा बन्डाबमोजिम आफ्नो-आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकामा व्यवहार प्रमाणबाट बन्डा भै सकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्न पाउँदैन । रजिस्ट्रेसन नभएपनि बन्डा भएको सदर  हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकामा र अंश छोडपत्र गरेकामा भने रजिस्ट्रेसन भएको हुनुपर्छ ।” भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । 

 

४. उक्त मुलुकी ऐन, अ.बं ३० नं ले दुई वा दुईभन्दा बढी अंसियारहरूबिचमा अंशबन्डा भएको छ वा छैन भन्ने विवादित तथ्यको निर्णय गर्न एउटा निश्चित मापदण्ड निर्धारण गरेको छ । मिसिलमा उल्लेख भएका तथ्य र वस्तुस्थितिको मूल्याङ्कनबाट मात्र विवादको निरूपण हुन्छ । अंसियारबिच बन्डापत्रको माध्यमबाट वा व्यवहार प्रमाणबाट अलग भै बस्ने प्रचलन रही आएको देखिन्छ । उल्लिखित जुनसुकै माध्यमबाट होस् भिन्न भै भिन्न व्यवहार गरी भिन्न भएको पुष्टि हुने आधार देखिएमा अंसियारबिचको बन्डामा विवाद नउठोस् भन्नका लागि कानूनमा रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुने व्यवस्था समावेश गरेको देखिन्छ । 

५. मूल पुर्खा अनकमान श्रेष्ठका ५ भाई छोराहरूमध्ये जेठा छोराको सानैमा मृत्यु भई चार भाई छोराहरू क्रमशः माहिलो केदारमान, साँहिलो द्वारिकामान, काँहिलो रामेश्वरमान र कान्छो महेश्वरमान जीवित रही चार अंसियार भएको तथ्यमा विवाद देखिएको छैन । मूल पुर्खा अनकमानका चार भाई छोराहरूमध्ये साँहिलो द्वारिकामान श्रेष्ठको श्रीमती र छोराहरूलाई प्रतिवादी बनाई माहिलो केदारमान श्रेष्ठ तथा कान्छो महेश्वरमान श्रेष्ठका छोराहरू वादी भई पैतृक सम्पत्तिमा अंशबन्डा नभएको भनी विवादको उठान गरी प्रस्तुत मुद्दा दायर भएको पाइयो । मुद्दामा काँहिलो रामेश्वरमान श्रेष्ठका सन्तानहरू समावेश नभएकामा अ.बं. १३९ नं. बमोजिम बुझी सुरू धनकुटा जिल्ला अदालतमा रामेश्वरमानका छोराहरू विशालकुमार श्रेष्ठ, मञ्जिलकुमार श्रेष्ठ र यादव श्रेष्ठले वादी दाबीका जग्गाहरू सगोलका हुन् । हामीहरू पनि अंसियार हौं भनी वादी दाबीलाई समर्थन गरी बयान गरेको देखिन्छ । 

६. वादी पक्षका बुबा पुस्ताका केदारमान १९९६ सालतिर, रामेश्वरमान २०१२ सालतिर र महेश्वरमान २०२० सालतिर भिन्न भै तराईको झापा जिल्लामा बसोबास गरी मानो छुट्टिई आफ्नो–आफ्नो व्यवहार गर्दै आएको कुरा फिरादपत्रबाट देखिन्छ । समयको अन्तराललाई हेर्ने हो भने वादी पक्षका बुबाहरू १९९६ सालदेखि २०२० सालसम्म भिन्न बसी आएकामा वादी पक्षले फिराद गर्दाको अवधि धेरै लामो अवधि हो । लामो समयदेखि तराईको झापा जिल्लामा बसोबास गरी आफ्नो–आफ्नो व्यवहार गरी सम्पत्ति भोग चलन, बिक्री व्यवहार गरी आएको देखिएबाट वादीका बुबाहरूबिच मूल पुर्खा अनकमानको मृत्यु हुनुपूर्व नै पैतृक सम्पत्ति बन्डा भएको र अंशबन्डाको ३० नं. को प्रयोजनको लागि व्यवहार प्रमाणबाट अलग भिन्न भएको तथ्यलाई पुष्टि नै गरेको अवस्था छ । 

७. प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारी हेर्दा प्रतिवादी पुनरावेदकहरूको नाममा विभिन्न कित्ता जग्गाहरू रहेको देखिन्छ । तीमध्ये विवादित कि.नं. ६४ र १२९ जग्गाहरू मूल पुर्खा अनकमानको मृत्युपश्चात् द्वारिकामान श्रेष्ठले उक्त जग्गाहरू मिति २०४०।३।८ मा नामसारी गरी प्राप्त गरेको देखिन्छ । त्यसरी मूल पुरूषको नामबाट सगोलमा रहेका अर्का कुनै भाइको नाममा नामसारी भएको देखिँदैमा नामसारी भई आएका जग्गा अंश लाग्ने जग्गा हो भनी न्यायिक धारणा बनाउन मिल्दैन । उल्लिखित सम्पत्तिमा वादीहरूको पनि अंश हक लाग्ने भए नामसारीको प्रक्रियामा कानूनको रीत पुर्‍याई दाबी गर्न जानु पर्ने कानूनी दायित्व वादी तथा वादी पक्षका बुबा पुस्ताको नै हो । नामसारीको लागि प्रकाशित सूचनामा वादीका बुबाहरू र अ.बं १३९ नं बमोजिम बुझिएका विशालकुमार श्रेष्ठसमेतका बुबा हक दाबी गर्न नगएपछि करीब पाँच वर्षको अन्तरालमा उक्त जग्गा प्रतिवादीका पति पिताका नाममा नामसारी भएको देखिन्छ । यसरी वादीका पिताले नामसारीको दाबी नगर्नु र यी वादीहरूले पनि प्रतिवाद नगर्नुबाट समेत विवादित जग्गा वादीहरूको अंश हक लाग्ने रहेछ भन्न मिल्ने देखिएन । 

८. प्रस्तुत मुद्दामा बाजे अनकमान श्रेष्ठको नामदर्ताको जग्गा प्रतिवादीहरूको पिता पति द्वारिकामानको नाममा नामसारी भएको जग्गामात्र अंशबन्डा हुनुपर्ने जिकिर प्रस्तुत हुन आएको छ । विवादित जग्गा बन्डा हुन बाँकी रहेको भए समानपुस्ताका केदारमान, रामेश्वरमान र महेश्वरमान श्रेष्ठ आफू जीवित हुँदा अंश माग गर्न सक्नु पर्नेमा सो गर्न सकेको देखिँदैन । वादीहरूका बुबाहरू र प्रतिवादीका पति / पितासमेतको २०४० देखि २०४९ सालको अवधिभित्र मृत्यु भैसकेको देखिन्छ । केदारमान र महेश्वरमानले आफू जीवित हुँदा बुबाको पैतृक सम्पत्ति लिन बाँकी छ भनी दाबी गर्न नसकेकामा हाल निजका छोराहरू अंशबन्डा हुन बाँकी छ भनी अंश मुद्दा लिएर अदालत आएको देखिन्छ । वादीहरूका बाजे अनकमानको जीवनकालमा कति सम्पत्ति थियो वा यही विवादित जग्गामात्र थियो भन्ने कुरा फिरादपत्रमा प्रष्ट छैन । वादीहरूलाई पैतृक सम्पत्ति के कति हो भन्ने सम्बन्धमा पुनरावेदन अदालत, धनकुटाको आदेशले खुलाउन लगाउँदा पनि कि.नं. ६४ र १२९ का जग्गामात्र बन्डा हुनु पर्ने हो भनी खुलाएको देखिन्छ । वादीका बुबाहरू अंश लिई छुट्टी भिन्न भएको देखिने लिखत प्रमाण मिसिल सामेल रहेको नदेखिए तापनि वादीका बुबा केदारमान वि.सं. १९९६ सालदेखि र महेश्वरमान वि.सं. २०२० सालदेखि नै फरक–फरक ठाउँमा बसोबास गरी अलग–अलग व्यवहार गर्दै महेश्वरमान श्रेष्ठका छोराहरू मिति २०५३।१०।२८ मा र रामेश्वरमानका छोराहरू मिति २०६२।३।३० मा रीतपूर्वक बन्डा गरी भिन्न बसेको मिसिल संलग्न अंशबन्डा लिखतको प्रतिलिपिबाट  देखिन्छ । उक्त बन्डापत्रमा बाजे अनकमानको नामको पुर्ख्यौली सम्पत्ति बन्डा गर्न बाँकी छ भने काहीँ कतै उल्लेख भएको देखिँदैन । यस्तो अवस्थामा केदारमान, महेश्वरमानसमेतका दाजु भाइहरूबिच व्यवहार प्रमाणबाट पहिले नै अंशबन्डा भएको भन्ने प्रष्ट हुन आयो । 

९. व्यवहार प्रमाणबाट बन्डा भएको कुरा अलग–अलग बासस्थान, आपसी कारोबार र आपसी फरक–फरक व्यवहार जस्ता तत्त्वमध्ये कुनै एक वा सोभन्दा बढी अवस्थाको विधमानताको पुष्टि भएमा पनि बन्डा भएको मानिने र यसले अंशबन्डाको ३० नं. को आवश्यकता पुरा गर्दछ भन्ने सम्बन्धमा यस अदालतबाट पुनरावेदक पुष्करप्रसाद वाग्ले विरूद्द राधादेवी वाग्ले उपाध्याय (नेकाप, २०६६, पुस, निर्णय नं ८२२७, पृष्ठ १५२५) समेत भएको मुद्दामा प्रतिपादित सिद्धान्तबाट पनि समर्थित हुन आएको छ । 

१०. यस्तै अंशबन्डाको ३० नं. को कानूनी व्यवस्थाको व्याख्या भई “अन्य तथ्यहरूबाट वादी प्रतिवादी भिन्न भई बसेको प्रमाणित भई रहेको अवस्था भएमा वादीले अंश नपाउने भनी यस अदालतको पूर्ण इजलासबाट भीमराज गिरी विरूद्ध मु.स. गर्ने मैया गिरी भएको  (ने.का.प. २०५६, चैत, निर्णय नं. ६८२४, पृष्ठ ८५५) मुद्दामा सिद्धान्त प्रतिपादन भएको देखिएबाट पनि वादी दाबी समर्थित हुन सक्ने देखिएन । 

११. अतः माथि विवेचित आधार, कारण र प्रतिपादित सिद्धान्तसमेतको आधारमा पुनरावेदन अदालत, धनकुटाले वादी दाबी पुग्ने ठहर्‍याई गरेको फैसला सदर गरेको यस अदालतको मिति २०६८।१२।१ को फैसला मिलेको नदेखिँदा उल्टी भई सुरू धनकुटा जिल्ला अदालतले वादी दाबी नपुग्ने ठहर्‍याई गरेको फैसला मिलेको देखिँदा सुरू धनकुटा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

यसमा कि.नं. ६४ र १२९ का जग्गा तथा कि.नं. ६४ मा बनेको दुईवटा घरबाट वादीहरूले ४ भागको २ भाग अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत, धनकुटाको मिति २०६६।१।२४ को फैसला र सो सदर गर्ने यस अदालतको मिति २०६८।१२।१ को फैसला उल्टी भई सुरू धनकुटा जिल्ला अदालतको फैसला मनासिब ठहरी फैसला भएकाले पुनरावेदन अदालत, धनकुटाको फैसलाको लगतबमोजिम केही गरी रहन परेन भनी सुरू धनकुटा जिल्ला अदालतमा लगत दिनू.....................................................१

पुनरावेदन अदालतको फैसला सदर गरेको यस अदालतको संयुक्त इजलासको फैसला उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहरेकाले प्रतिवादीहरूले कोर्ट फीबापत यस अदालतमा र.नं १०७२, मिति २०६६।५।२३ बाट राखेको धरौटी रकम रू ८,६९३।– र थप कोर्ट फी रू २०४१।– राखेको देखिँदा सो धरौटी रकम र थप कोर्ट फी राखेको रकम फिर्ता पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीहरूको दरखास्त परे धरौट रकम फिर्ता दिनु भनी यस अदालतको लेखा शाखामा जानकारी दिई थप कोर्ट फीको हकमा वादी पक्षबाट प्रतिवादी पक्षलाई भराई दिनु भनी सुरू धनकुटा जिल्ला अदालतमा लेखी पठाउनू .......................२ 

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ....................................३                   

                                                    

उक्त रायमा सहमत छौं ।

न्या. दीपकराज जोशी

न्या. जगदीश शर्मा पौडेल

 

इजलास अधिकृत   भीमबहादुर निरौला 

इति संवत् २०७१ साल भदौ ५ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु