शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४४९ - भ्रष्टाचार

भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री दीपकराज जोशी

फैसला मिति : २०७१।८।२९।२

०६७-CR-०१७८

 

मुद्दाः भ्रष्टाचार ।

 

पुनरावेदक/वादी : फणिन्द्र गौतमको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.८ घर भई हाल ललितपुर जिल्ला, हरिसिद्धि गाउँ विकास समिति वडा नं.१(क) स्थित अन्सल चौधरी डेभलपर्सद्वारा निर्मित माउन्ट भ्यू रेसिडेन्सीमा बस्ने भौतिक योजना तथा निर्माण मन्त्रालयमा लेखा अधिकृत पदमा कार्यरत्‌ बद्रीनाथ श्रेष्ठ

 

जग्गा खरिदबिक्री गर्दा हुने खर्च एवम् आम्दानी यकिन गर्दा लिखतमा अङ्कित मूल्यलाई आधार मानी गणना गर्दा वास्तविक र कानूनसङ्गत हुने नैं हुन्छ । वस्तुनिष्ठ प्रमाणबिना हालको मूल्य भनी अनुमानको आधारमा मूल्य यकिन गर्दा अवास्तविक हुन जाने ।

प्रतिवादीले जग्गा बिक्री गरेबापत आय यकिन गर्दा लिखत मूल्य मान्ने तर तिनै प्रतिवादीले खरिद गर्दा लिखत मूल्य नमानी अनुमानको भरमा हालको प्रचलित मूल्यमा मूल्याङ्कन गर्दा एउटै विषयमा दोहोरो मापदण्ड भई असमानता हुने हुँदा सम्पत्ति खरिद एवम् बिक्री गर्दा अन्यथा प्रमाणित नभएसम्म लिखतमा अङ्कित मूल्यका आधारमा मूल्याङ्कन गर्नु न्यायोचित हुने ।

(प्रकरण नं.२)

कुनै पनि व्यक्तिको नाममा रहेको सम्पत्ति निजले गैरकानूनीरूपमा आर्जन गरेको भनी उजुरी परेपछि मात्र त्यस्तो सम्पत्ति विवादित सम्पत्ति मानिने हुन्छ । सम्पत्तिको स्रोत खुलेको नखुलेको भन्ने कुरा विवादको रोहमा अदालतको अन्तिम निर्णयले ठहर हुने कुरा भएको हुँदा विवाद पर्नुअघि जसको नाममा उक्त सम्पत्ति रहेको छ कानूनीरूपमा उक्त सम्पत्ति उसैको हुनेमा विवाद रहँदैन र त्यस्तो सम्पत्तिबाट बढे बढाएको सम्पत्ति पनि त्यस्तो व्यक्तिको आम्दानीको स्रोत बन्नै नसक्ने भन्ने 

हुँदैन । तर आधारभूत सम्पत्तिको स्रोत पुष्टि गर्न सकेको अवस्था भने हुनैपर्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ सह न्यायाधिवक्ता गोपीचन्द्र भट्टराई

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र हरिकृष्ण कार्की तथा विद्वान्‌ अधिवक्ताहरू चुडामणि आचार्य र रामप्रसाद भण्डारी

 

अवलम्बित नजिर :

ने.का.प. २०६७, अङ्क १२, नि.नं. ८५१९, पृष्ठ २००७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने : 

मा. न्या. श्री गौरीबहादुर कार्की –अध्यक्ष

मा. न्या. श्री ओमप्रकाश मिश्र  –सदस्य

 

फैसला

न्या. दीपकराज जोशी : विशेष अदालत ऐन, २०५९ को दफा १७बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ : 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको विस्तारित खोप आयोजनाको लागि मित्रराष्ट्र एवम् सङ्घ संस्थाहरूबाट प्राप्त रकम लेखा अधिकृत बद्रीनाथ श्रेष्ठसमेतले भ्रष्टाचार गरी उच्चस्तरको जीवनयापन गरेकाले कारवाही गरिपाउँ भनी द.नं.९६२० मिति २०६९।०९।२९ को उजुरी र सम्पत्ति न्यायिक जाँचबुझ आयोगबाट बद्रीनाथ श्रेष्ठले पेस गरेअनुसार निजको नाममा रहे भएका कूल रू.५८,७६,७५०।– बराबरका सम्पत्तिमध्ये रू.१६,८५,८०७।– बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको भन्ने प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त भई प्रारम्भिक अनुसन्धानको क्रममा बद्रीनाथ श्रेष्ठको विगत तथा वर्तमानको आर्थिक हैसियत र पारिवारिक पृष्ठभूमि, निज कार्यरत्‌ कार्यालय एवम्‌ आयोजनाहरूको विवरण सङ्कलन तथा निज र निजको परिवारका सदस्यहरूको नाममा विगतमा र वर्तमान अवस्थामा रहेको चल अचल सम्पत्तिका सम्बन्धमा अनुसन्धान गर्दा निम्न लिखित भएको देखियो । 

 

प्रतिवादी बद्रीनाथ श्रेष्ठको सरकारी सेवाको विवरण :

सि.नं. कार्यरत्‌ कार्यालय पद कार्यरत्‌ अवधि

१ कोष तथा लेखा नियन्त्रक कार्यालय, धनकुटा लेखा अधिकृत ०३९।१।१७ ०३९।१२।२७

२ कोष तथा लेखा नियन्त्रक कार्यालय, मोरङ लेखा अधिकृत ०३९।१२।२८ ०४१।७।४

३ कन्काई सिंचाई आयोजना, झापा लेखा अधिकृत ०४१।७।५ ०४६।४।२२

४ कोष तथा लेखा नियन्त्रक कार्यालय, सुनसरी लेखा अधिकृत ०४६।४।२३ ०४७।१।१८

५ कोष तथा लेखा नियन्त्रक कार्यालय, महोत्तरी लेखा अधिकृत ०४७।११।१९ ०५०।६।७

६ कोष तथा लेखा नियन्त्रक कार्यालय, मोरङ लेखा अधिकृत ०५०।६।८ ०५१।११।५

७ मेची भन्सार कार्यालय, काकरभिट्टा (काज) लेखा अधिकृत ०५१।११।६ ०५२।७।१९

८ कोष तथा लेखा नियन्त्रक कार्यालय, इलाम लेखा अधिकृत ०५२।७।२० ०५३।१२।४

९ पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय, दमक, झापा लेखा अधिकृत ०५३।१२।५ ०५७।२।३०

१० स्वास्थ्य सेवा विभाग, टेकु लेखा अधिकृत ०५७।३।१ ०५९।९।१४ 

११ भौतिक आयोजना तथा निर्माण मन्त्रालय लेखा अधिकृत ०५९।९।१५ हालसम्म

 

 

पारिवारिक विवरण :-

क्र.सं. नाम नाता पेसा कैफियत

१ मन्दिरा श्रेष्ठ श्रीमती निजी फर्ममा नोकरी  

२ रोबिन श्रेष्ठ छोरा विद्यार्थी निजी खर्चमा बङ्गलादेशको University of Science and Technology मा चिकित्साशास्त्र अध्ययनरत 

३ शैल श्रेष्ठ छोरा विद्यार्थी नेपालमा अध्ययनरत 

४ अंशु श्रेष्ठ छोरी विद्यार्थी नेपालमा अध्ययनरत

 

 

पैतृक सम्पत्ति :-

क्र.सं. नाम सम्पत्तिको विवरण

१ बद्रीनाथ श्रेष्ठ मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. ८ (घ) को कि.नं.१०५ को क्षेत्रफल ०–३–६–३ बिगाह जग्गामा र ऐ.मा बनेको पुरानो कच्चीघर ।

 

 

सरकारी सेवामा प्रवेश गरेपश्चात् आर्जन गरेको सम्पत्ति :-

प्रतिवादी बद्रीनाथ श्रेष्ठले सार्वजनिक पदधारण गरेपछि आर्जन गरी निज स्वयम्‌ र निज पत्नी एवम्‌ छोरासमेतका नाउँमा राखेका चल अचल सम्पत्ति देहायबमोजिम देखिन्छ । 

(१) अचल सम्पत्तिसम्बन्धी विवरण:-

क्र.सं. जग्गा/घर धनीको नाम सम्पत्तिको विवरण खरिद / निर्माण मिति मूल्य रू. कैफियत

१ बद्रीनाथ श्रेष्ठ (क) मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.८(ख) को क्षेत्रफल ०–३–६ बिगाह पैतृक जग्गामा २०४२ सालमा रू.१,६६,३७४।– को लागतमा निर्मित घर नं.१ को भुइँतल्लाको प्रथम खण्डको हालको मूल्य २०४२ ८,२५,२१५।०४ घर नं.१

  (ख) ऐ ऐ जग्गामा २०४४ सालमा रू १,६६,३७४।– को लागतमा निर्मित घर नं.१ को भुइँतल्लाको दोस्रो खण्डको हालको मूल्य २०४४ ८,२५,२१५।०४ घर नं.१

  (ग) ऐ ऐ जग्गामा २०४८ सालमा रू.४,६४,७३८।– को लागतमा निर्मित घर नं.१ को ९३६ वर्गफिट भुइतल्लाको दोस्रो खण्डको हालको मूल्य २०४८ ८,२५,२१५० घर नं.१

  (घ) ऐ ऐ जग्गामा २०५२ सालमा रू.२०,५९,७१०।१२ को लागतमा २८०८ वर्गफिटमा निर्मित घरको पहिलो तल्लाको हालको मूल्य २०५२ २४,७५,६४५।१२ घर नं.१

२ बद्रीनाथ श्रेष्ठ (क) ऐ ऐ जग्गामा २०४९ सालमा रू.५,४७,६८७।४७ को लागतमा निर्मित ११२२ वर्गफिटको सपिङ कम्प्लेक्स २०४९ ९,७२,५०४।७२ घर नं.२

  (ख) ऐ ऐ जग्गामा २०५६ सालमा रू.२५,०२,०८४।४८ को लागतमा निर्मित ३१६४ वर्गफिटको सपिङ कम्प्लेक्सको हालतको मूल्य २०५६ २८,२९,१०४।६४ घर नं.२

३ रोबिन 

श्रेष्ठ र शैल श्रेष्ठ जिल्ला सुनसरी दुहवी १(क) को कि.न.४८४ को क्षेत्रफल १–०–० बिगाह जग्गा २०४९।११।२७ २,२५,०००।–  

४ रोबिन 

श्रेष्ठ (क) जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा न.२ को कि.न.१९८ को क्षेत्रफल ०–०–१६ बिगाह जग्गा २०५५।४।३१ १,६०,०००।–  

  (ख) ऐ को कि.नं.२०८३ को क्षेत्रफल ०–१–४ बिगाह जग्गा २०५६।५।२५ २,४०,०००।–  

५ मन्दिरा 

श्रेष्ठ जिल्ला मोरङ हरैचा ८(ग)  कि.नं.५९५ को क्षेत्रफल ०–५–१० बिगाह जग्गा २०५२।११।२३ १,४८,५००।-  

६ मन्दिरा 

श्रेष्ठ अन्सल चौधरी डेभलपर्सद्वारा निर्माण गरिएको हरिसिद्धि, ललितपुरस्थित घर खरिद गर्न अग्रिम भुक्तानी गरेको रकम २०५९।३।७ १३,४४,१००।–  

  जम्मा १,०८,७०,४९९।६०  

 

 

(२) बैंक मौज्दात :-

क्र.सं. खातावालाको नाम बैंकको नाम बचत खाता नं. मौज्दात रू. कैफियत

१ बद्रीनाथ श्रेष्ठ एभरेष्ट बैंक लि. टेकु ०१८२९० ए १३,४८८।५६  

२ बद्रीनाथ श्रेष्ठ स्ट्यान्डर्ड चार्टड बेंक लि. 1020524530201 – २०५९।९।१० मा खाता बन्द गरेको 

३ बद्रीनाथ श्रेष्ठ नबिल बैंक लि.विराटनगर 0710010242801 ,,

४ बद्रीनाथ श्रेष्ठ एभरेस्ट बैंक लि. विराटनगर शाखा ०००१८० ए ९,८८४।९०  

५ मन्दिरा श्रेष्ठ नेपाल बैंक लि. सिटी अफिस, विराटनगर १२७१८ १४,६१२।४७  

६ बद्रीनाथ श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंक, टेकु ४७६२।३७ ३७,९२६।६२  

  जम्मा ७५,९१२।५५  

 

 

(३) सेयर तथा सुन चाँदी :-

क्र.सं. विवरण रकम रू. कैफियत

१ छोरा रोबिन श्रेष्ठको नाममा एप्पल कम्प्युटर एजुकेसन सेन्टरमा गरेको लगानी १,००,०००।-  

२ नेपाल बैंक लि.विराटनगरमा मन्दिरा श्रेष्ठको नाममा रहेको लकर नं.५६३ मा रहेको सुनचाँदी तथा गरगहनाहरू अन्दाजी तौल २७३ ग्रामको मूल्य २,५६,८९३।- मिति २०६१।२।१८ को बजार मूल्यअनुसार प्रति १० ग्राम रू.९,४१०।–

  जम्मा ३,५६,८९३।-  

 

प्रतिवादीको घर, जग्गा, बैंक मौज्दात, सेयर, सुन, चाँदीसमेतको जम्मा मूल्याङ्कन रू.१,१३,०३,३०५।१५ भएको देखियो । 

 

(४) उल्लेख्य खर्च :-

छोरा रोबिन श्रेष्ठलाई निजी खर्चमा बङ्गलादेशको चट्गाउँस्थित University of Science and Technology मा अध्ययन गराउँदा नेपाल राष्ट्र बैंकबाट रू.१०,४६,४६५।– खर्च भएको भनी लेखी आएको देखिन्छ ।

 

प्रतिवादी बद्रीनाथ श्रेष्ठको बयान

मेरो परिवारमा अंशबन्डा भइसकेको छ । दाजु १ जना र सौतेनी भाइ दुई जना छन् । परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छौं । आयस्रोतमा आफ्नो तलब वार्षिक रू.८४,०००।– घर बहाल करिब रू.५,००,०००।– कृषि आय रू.२०,०००।–, एप्पल कम्प्युटर एजुकेसनको आय रू.१,००,०००।– र श्रीमतीले प्राइभेट फर्मको नोकरीबाट प्राप्त गरेको तलब रू.४२,०००।– गरी आफ्नो वार्षिक आय रू.७,४६,०००।– र समयसमयमा अमेरिकामा बस्ने दाजु र भानिजबाटसमेत केही रकम सहयोग प्राप्त हुने गर्दछ । २०३१ सालमा मेची धान चामल कम्पनी लिमिटेडमा काम सुरू गरी २०३३ सालदेखि कोसी धान चामल कम्पनी लिमिटेडमा सरूवा भई २०३८ सालसम्म कार्यरत्‌ रहेको थिए । सोही रकमबाट विराटनगरमा बनाएको घरमा जयअम्बे, मल्टीग्लास, अभिनन्दन, पूजाहार्डवेयर, जय इलेकट्रिकल्स, अजन्ता इलेक्ट्रिकल्स, विराट फर्निसिङ्ग, ब्लुमुन, ड्रेल्टा नाम फर्मसमेत ९ वटा फर्महरू बहालमा रहेका छन् । हजुरआमाको जेठाजु अनुमानदास श्रेष्ठले हजुरआमा र आमालाई दुईदुई कठ्ठा जग्गा दिनुभएको र निज दुवैजनाको स्वर्गेपछि हाम्रो नाममा आएको हो । २०४१।४२ देखि ०५६।५७ सम्ममा ३०।३१ लाख लागत लागेको उक्त जग्गामा घर पसल बनेको हो । आफ्नो वार्षिक आय; कृषि, तलब, भत्ता, जग्गा बिक्री, बिमाको भुक्तानी, दाजुबाट प्राप्त सहयोग, घरबहाल, ऋण, बोनस, सञ्चयकोष सापटी प्राप्तमध्येको रकम आदि स्रोतबाट घर निर्माण भएको हो । दाजुबाट रू.४,९५,०००।– जति ऋण प्राप्त भएको छ । अन्सल चौधरी डेभलपर्सको घरको मोल रू.२५,९५,०००।– मध्ये रू.१२,००,०००।– एभरेष्ट बैंकबाट घरकर्जा लिएर तिरेको छु ।  

२०५८ सालमा श्रीमतीको नाममा रहेका कंचनवारीको २ कठ्ठा ६ धुर र हरैचाको १८ कठ्ठा १४ धुर जग्गा बिक्री गरी ऋण तिरेको हो । दुवै जग्गा रू.१६,२०,०००।– बिक्री गरेको हो । यी दुवै जग्गामध्ये कञ्चनबारीको श्रीमतीको पेवा र हरैचाको जग्गा तलब, घरबहाल, कृषि आयबाट प्राप्त रकमबाट खरिद गरेको हो । हरिसिद्धिस्थित अन्सल चौधरी डिभलपर्सको घरको वार्षिक १० प्रतिशत ब्याजमा १० वर्षका लागि ऋण लिएको छु । त्रैमासिक किस्ता ४८/४९ हजार तिर्नुपर्दछ । बङ्गलादेशमा पढ्ने छोरा रोबिन श्रेष्ठको भर्ना शुल्क अमेरिकी डलर ८,००० र मासिक शुल्क अमेरिकी डलर १५० लाग्ने भई दुई वर्षको लागि मैले रकम बुझाइसकेको र पछि दाजुले खर्च दिने गरेको छ । महालक्ष्मी ज्वेलर्सको टेकुस्थित विमल इन्टरप्राइजेज, टेकुमा श्रीमती काम गर्ने गर्छिन् । उक्त फर्म मालिकको छोरा अमित बेगवानीलाई हरैचाको जमिन बचेको हो । उक्त जग्गा बिक्री भई प्राप्त एडभान्स रकम रू.११,७०,०००।– प्राप्त भएको र अन्सल चौधरी डेभलपर्सको घरको किस्ता तिर्न र खर्चमा प्रयोग भएको हो । मैले निर्जन पिया र अन्य व्यक्तिसँग गरी सापट लिएका रू.५,६०,०००।– मध्ये रू.२,००,०००।– तिरी सकेको छु । एप्पल कम्प्युटरबाट वार्षिक मुनाफा रू.१,००,०००।– हुने गर्दछ । त्यसमा एकमुष्ट रू.१,००,०००।– लगानी भएको र घरेलु तथा साना उद्योग कार्यालय, विराटनगरमा दर्ता भई वार्षिक आयकर तिरेको छु भन्नेसमेत व्यहोराको प्रतिवादी बद्रीनाथ श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

 

अभियोगपत्र

घर निर्माणसम्बन्धी विवरण :–

प्रतिवादी बद्रीनाथ श्रेष्ठले मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.८(ख) कि.नं.१०५ को क्षेत्रफल बिगाह ०–३–६ जग्गामा एउटा आवासीय घर (घर नं.१) र एउटा व्यापारिक घर (सपिङ कम्प्लेक्स) (घर नं.२)समेत गरी दुई वटा घरहरू  देहायबमोजिम निर्माण गरेको देखिन्छ ।

क्र.सं. विवरण क्षेत्रफल (वर्गफिट) निर्माण वर्ष निर्माण लागत रू. हालको मूल्य रू. कैफियत

१ घर नं.१ को भुइँतल्लाको प्रथम खण्ड ९३६ २०४२ १,६६,३७४। ८,२५,२१५।०४ पूर्णरूपले स्रोत खुलेको 

२ घर नं.१ को भुइँतल्लाको दोस्रो खण्ड ९३६ २०४४ १,६६,३७४। ८,२५,२१५।०४ ८५ प्रतिशत नखुलेको 

३ घर नं.१ भुइँतल्लाको तेस्रो खण्ड ९३६ २०४८ ४,६४,७३८।३६ ८,२५,२१५।०४ ५४ प्रतिशत नखुलेको 

४ घर नं.२ को पहिलो तल्ला खण्ड १११२ २०४९ ५,४७,६८७।४७ ९,७२,५०४।७२ पूर्णरूपले स्रोत नखुलेको 

५ घर नं.१ को पहिलो तल्ला २८०८ २०५२ २०,५९,७१०।१२ २४,७५,६४५।१२ ७८.५ प्रतिशत स्रोत नखुलेको 

६ घर नं.२ को दोस्रो खण्ड ३२६४ २०४५ २५,०२,०८४।४८ २८,२९,१०४।६४ पूर्णरूपले स्रोत नखुलेको 

 

स्रोत खुलेको सम्पत्तिमध्येबाट निर्मित घरको भाडा रकम समावेश गर्ने सन्दर्भमा देहायबमोजिम घर भाडा गणनाविधि प्रयोग गरिएको ।

क्र.सं. विवरण २०४३ २०४४ जम्मा

१ २०४२ सालमा निर्मित १ तल्ले घरको पहिलो खण्ड भुइँतल्लाको घर भाडा तालिका नं.५ को क्र.सं.१(ङ) मा समाविष्ट ९,६००।– १०,५६०।– २०,१६०।–

 

 

 

क्र.सं. विवरण २०४५ २०४६ २०४७ २०४८ जम्मा

१ ०४२ सालमा निर्मित १ तल्ले घरको भाडा ११,६१५। १२,७८०। १४,०६४। १५,४६८। ५३,९२८।

२ ०४५ सालमा रू.१,६६,३७४। लागतमा निर्मित दोस्रो खण्ड भुइँतल्ला घरको स्रोत खुलेको रू.२४,४४९।९०हिस्साबमोजिमको घरभाडा (१५ प्रतिशत को हिस्सा) १,७४२। १,९१७। २,११०। २,३२०। ८,०८९।

       कुल जम्मा ६२,०१७।  

 

 

क्र.सं. विवरण २०४९ २०५० २०५१ २०५२ जम्मा

१ ०४२ सालमा निर्मित १ तल्ले घरको भाडा ११,६१५। १२,७८०। १४,०६४। १५,४६८। ५३,९२८।

२ ०४५ सालमा रू.१,६६,३७४। लागतमा निर्मित दोस्रो खण्ड भुइँतल्ला घरको स्रोत खुलेको रू.२४,४४९।९०हिस्सा बमोजिमको घरभाडा (१५ प्रतिशत को हिस्सा) १,७४२। १,९१७। २,११०। २,३२०। ८,०८९।

३ ०४८ सालमा रू.४,५६,८९४।३६ लागतमा निर्मित तेस्रो खण्ड भुइँतल्ला घरको स्रोत खुलेको रू.२,१५,२२७। हिस्सा बमोजिमको घरभाडा (४६ प्रतिशत को हिस्सा) ७८२७। ८६११। ९४७२। १०,४२२। ३६,३३२।

  कुल जम्मा १,२७,१६३।  

 

 

 

 

क्र.सं. विवरण २०५३ २०५४ २०५५ २०५६ जम्मा

१ ०४२ सालमा निर्मित पहिलो खण्ड भुइँतल्ला घरको घरभाडा २४,९२४। २७,४२०। ३०,१६८। ३३,१८०। १,१५,६९२।

२ ०४५ सालमा रू.१,६६,३७४। लागतमा निर्मित दोस्रो खण्ड भुइँ तल्ला घरको स्रोत खुलेको रू.२४,४४९।९० हिस्साबमोजिमको घरभाडा (१५ प्रतिशतको हिस्सा) ३,७३९। ४,११३। ४,५२५। ४,९७७। १७,३५४

३ ०४८ सालमा रू.४,६४,७३८। लागतमा निर्मित तेस्रो खण्ड भुइँ तल्ला घरको स्रोत खुलेको रू.२,१४,१४९।हिस्सा बमोजिमको घरभाडा (४६ प्रतिशतको हिस्सा) ११,४६५। १२,६१३। १३,८७७। १५,२६३। ५३,२१८।

४ ०५२ सालमा रू.२०,५९,७१०।- लागतमा निर्मित माथि उल्लेख गरिएको घरको सबै खण्डको पहिलो तल्लाको २८०८ वर्गफिटको घरको स्रोत खुलेको रू.४,४२,८४५। हिस्साबमोजिमको घरभाडा (२१.५० प्रतिशतको हिस्सा) ५,३५९। ५,८९५। ६,४८६। ७,१३४। २४,८७४।

  कुल जम्मा २,११,१३८।  

 

 

क्र.सं. विवरण २०५७ २०५८ २०५९ जम्मा

१ ०४२ सालमा निर्मित घर नं.१ को भुइँतल्लाको पहिलो खण्डको घरभाडा ३६,५०४। ४०,१५२। ४४,१७२। १,२०,८२८।

२ ०४५ सालमा रू.१,६६,३७४। लागतमा निर्मित घर नं.१ को भुइँतल्लाको दोस्रो खण्डमध्ये स्रोत खुलेको रू.(२४,४४९।९० हिस्साबमोजिमको घरभाडा (१५ प्रतिशतको हिस्सा) ३६,५०४। ४०,१५२। ४४,१७२ १,२०,८२८।

३ ०४८ सालमा रू.४,५६,८९४।३६ को लागतमा निर्मित घर नं.१ को तेस्रो खण्डमध्ये स्रोत खुलेको रू.२,१४,१४९। को हिस्साबमोजिमको घरभाडा (४६ प्रतिशतको हिस्सा) १६,७९२। १८,४७०। ६,६२६। ५५,५८१।

४ ०५२ सालमा रू.२०,५९,७१०। को लागतमा निर्मित घर नं.१ को २८०८ वर्गफिटको पहिलो तल्लामध्ये स्रोत खुलेको रू.(४,४२,८४५। को हिस्सा बमोजिमको घरभाडा (२१.५० प्रतिशतको हिस्सा) ७,८४८। ८,६३३। ९,४९७। २५,९७८।

  कुल जम्मा २,२०,५१२।  

 

 

आयस्रोत खुलेको सम्पत्तिको विवरण :–

क्र.सं. सम्पत्तिको विवरण घर /जग्गा धनीको नाम रकम रू. कैफियत

१ (क) ०४२ सालमा विराटनगर उपमहानगरपालिका ८(ख) कि.नं.१०५ को क्षे.फ.०–३–६–५/४ बिगाह पैतृक जग्गा ९३६ वर्गफुटको भुइँतल्ला घर नं.१ निर्माण गरेको लागत रू.१,६६,३७४। को हालको मूल्य बद्रीनाथ श्रेष्ठ ८,२५,२१५।०४ –

(ख) ०४४ सालमा विराटनगर उपमहानगरपालिका वडा नं.ड(ख) कि.नं.१०५ को क्षे.फ.०–३–६–४/४ बिगाह पैतृक जग्गामा ९३६ वर्गफुटको घर नं.१ को दोस्रो खण्ड भुइँतल्ला निर्माण गरेको लागत रू.१,६६,३७४। मध्ये स्रोत खुलेको रू.२४,४४९।९० को हालको मूल्य बद्रीनाथ श्रेष्ठ१,२३,७८२।२५१५ प्रतिशत हिस्साको स्रोत खुलेको 

(ग) ०४८ सालमा ऐ ऐ जग्गामा रू.४,६४,७३८।३६ को लागतमा निर्मित ९३६ वर्गफिटको घर नं.१ को भुइँतल्लाको तेस्रो खण्डको स्रोत खुलेको लागत रू.२,१४,१४९। को समानुपातिक वृद्धिले हुने हालको मूल्य बद्रीनाथ श्रेष्ठ३,७९,५९८।९२४६ प्रतशित हिस्साको स्रोत नखुलेको 

२ जिल्ला सुनसरी दुहवी १(क) को कि.नं.४८४ को क्षे.फ.१–०–० विगाहा जग्गा रोबिन श्रेष्ठ र शैल श्रेष्ठ २,२५,०००।– –

३ जिल्ला मोरङ, हरैचा ८(ग) कि.नं.५९५ को क्षेत्रफ.०–५–१० बिगाह जग्गा मन्दिरा श्रेष्ठ १,४८,५००।– –

४ जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका ८(ख) कि.नं.१०५ को क्षेत्रफल ०–३–६ बिगाहा जग्गामा २०५२ सालमा निर्मित २८०८ वर्गफिटको घर नं.१ को पहिलो तल्लाको रू.२०,५९,७१०।१२ मध्ये स्रोत खुलेको रू.४,४२,८४५। समानुपातिक बृद्धिले हुने हालको मूल्य   बद्रीनाथ श्रेष्ठ ५,३२,२६३।७० २१.५ प्रतिशतको हिस्साको स्रोत खुलेको 

५ मिति २०५९।३।७ मा अन्सल चौधरी डेभलपर्सद्वारा विकसित गरेको मन्दिरा श्रेष्ठ १३,४४,१००।–  

६ २०५६।९।१८ मा एप्पल कम्प्युटर विराटनगरमा गरेको लगानी रोबिन श्रेष्ठ १,००,०००।–  

७ नेपाल बैंक लि.विराटनगरको लकर नं.५६३ मा रहेको सुनचाँदी तथा गरगहनाहरू अन्दाजी तौल २७३ ग्रामको मिति २०६१।२।१८ को बजार मूल्य प्रति १० ग्राम रू.९,४१०।– बमोजिम हुने रू. मन्दिरा श्रेष्ठ २,५६,८९३।–  

८ तालिका नं.३ बमोजिमको जम्मा बैंक मौज्दात रू बद्रीनाथ श्रेष्ठ र मन्दिरा श्रेष्ठ ७५,९१२।५५  

  जम्मा रू ४०,११,२६५।४६  

 

 

स्रोत नखुलेको सम्पत्तिको विवरण :–

क्र.सं. सम्पत्तिको विवरण घर/जग्गा धनीको नाम रकम रू. कैफियत

१ (क) ०४४ सालमा विराटनगर उप महानगरपालिका ८(ख) कि.नं.१०५ को क्षे.फ.०–३–५३/४ बिगाह पैतृक जग्गामा निर्मित ९३६ वर्गफुटको घर नं.१ भुइँतल्लाको दोस्रो खण्डको लागत रू.१,४१,९२४।१० को समानुपातिक वृद्धिले उक्त घरको हालको मूल्य बद्रीनाथ श्रेष्ठ ७,०१,४३२।७९ ८५ प्रतिशत हिस्सा स्रोत नखुलेको 

  (ख) ०४८ सालमा ऐ ऐ जग्गामा निर्मित घर नं.१ को ९३६ वर्गफिटको भुइँतल्लाको तेस्रो खण्डको लागत रू.४,६४,७३८। मध्ये स्रोत नखुलाएको ५४ प्रतिशत हुने रू.२,५०,५८९।– को समानुपातिक वृद्धिले हुने उक्त घरको हालको मूल्य बद्रीनाथ श्रेष्ठ ४,४५,६१६।१२ ५४ प्रतिशत हिस्सा स्रोत नखुलेको 

  (ग) ०५२ सालमा ऐ ऐ जग्गामा निर्मित घर नं.१ को २८०८ वर्गफिटको पहिल्लो तल्ला घरको लागत रू.२०,५९,७१०।२ मध्ये स्रोत खुल्न नसकेको लागत मूल्य रू.१६,१६,८७२।४४ को समानुपातिक वृद्धिले हुने उक्त घरको हालको मूल्य बद्रीनाथ श्रेष्ठ १९,३३,३८१।४२ ७८.५ प्रतिशत हिस्सा स्रोत नखुलेको 

२ (क)मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिकास्थित कि.न.१०५ को क्षेत्रफल ०–३–६–३ बिगाहा जग्गामा रू.५,४७,६८७।४७ को लागतमा २०४९ सालमा निर्मित जम्मा क्षेत्रफल ११२२ वर्गफिटको घर नं.२ को सपिङ कम्प्लेक्सको हालको मूल्य बद्रीनाथ श्रेष्ठ ९,७२,५०४।७२ –

  (ख) ०५४ सालमा ऐ ऐ जग्गामा रू.२५,०२,०८४।४८ को लागतमा निर्मित कुल क्षेत्रफल ३२६४ वर्गफिटको सपिङ कम्प्लेक्सको हालको मूल्य बद्रीनाथ श्रेष्ठ २८,२९,१०४।६४  

३ जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका २ को कि.नं.११९८ र २०६३ को क्षेत्रफल क्रमशः ०–०–१६ र ०–०–१४ बिगाह जग्गा रोबिन श्रेष्ठ ४,००,०००।  

  जम्मा रू ७२,९२,०३९।६९  

 

 

२०३९ सालदेखि राजपत्राङ्कित तृतीय श्रेणीको लेखा अधिकृत पदमा सेवा प्रवेश गरी हालसम्म सोही पदमा कार्यरत्‌ बद्रीनाथ श्रेष्ठको पैतृक सम्पत्तिको आयस्ता तथा बिक्रीबाट प्राप्त भएको रकम, निजले उपरोक्त सार्वजनिक सेवामा कार्यरत्‌ रहँदा वैधानिक स्रोतहरूबाट प्राप्त गरेका तलब, भत्ता, सञ्चयकोष लगायतका रकम, निजकी श्रीमतीले निजी क्षेत्रको फर्म कम्पनीमा सेवा गरी आर्जन गरेको रकम, निजका छोरा रोबिन श्रेष्ठको एकाघर सगोलका सदस्यहरूको नाममा हाल रहेका सम्पत्तिहरूलाई तत्-तत् सम्पत्ति आर्जन गर्दाका स्रोतहरूको दृष्टिकोणबाट हेर्दा कुल रू.७२,९२,०३९।६९ बराबरको सम्पत्तिको वैधानिक आर्जनको स्रोत खुल्न सकेको नपाइएकाले गैरकानूनीरूपमा आर्जन गरेको 

देखियो । साथै विराटनगरस्थित निजको घर तथा सपिङ कम्प्लेक्ससमेतलाई दृष्टिगत गर्दा निजले मनासिब कारण बिना अमिल्दो र अस्वाभाविक जीवनस्तरयापन गरेको स्पष्ट देखिन आयो । यसरी गैरकानूनीरूपबाट आफ्नो वैध आयस्रोतसँग नमिल्ने तथा अस्वाभाविक सम्पत्ति सङ्ग्रह गर्नु तथा अस्वाभाविकरूपमा उच्च जीवनयापन गर्नुसमेतको कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ र १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसुर देखिनाले प्रतिवादी बद्रीनाथ श्रेष्ठलाई उपरोक्त भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १५, १६(.ग) र दफा २९ बमोजिम तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा २०(२) बमोजिम हदैसम्म सजाय गरी गैरकानूनीरूपबाट आर्जन गरी निज स्वयम् तथा निजका छोरा रोबिन श्रेष्ठको नाममा राखेको तालिका नं.७ मा उल्लेख भएबमोजिमको कूल बिगो रू.७२,९२,०३९।६९ को सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ बमोजिम जफत गरिपाऊँ । प्रतिवादी बद्रीनाथ श्रेष्ठले गैरकानूनीरूपले आर्जन गरेको सम्पत्ति छोरा रोबिन श्रेष्ठसमेतका नाममा राखेकाले सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजलाई प्रतिवादी बनाइएको हुँदा निजको हकमा सजायको मागदाबी गरिएको छैन भन्नेसमेत व्यहोराको अभियोगपत्र ।  

 

प्रतिवादीको अदालतसमक्ष भएको बयान

म २०३९ साल वैशाखदेखि सरकारी सेवामा प्रवेश गरी निजामती सेवाको रा.प.तृतीय लेखा अधिकृत पदमा कार्यरत्‌ छु । मेरो बुबाको २०२८ सालमा मृत्यु भएपछि घर व्यवहार मेरो जिम्मा आउँदा मसँग रू.८२,०००।– नगद मौज्दात थियो । मैले कृषिबाट २०२८ सालदेखि २०३९ सालसम्म जम्मा रू.७७,०००।–, व्यापार व्यवसायबाट रू.१२,०००।, घर बहालबाट २०२८ सालदेखि २०३९ सालसम्म जम्मा रू.८०,०००।– प्राप्त गरेको थिएँ । त्यस्तै तलबबापत २०३० सालदेखि २०३८ सालसम्म जम्मा रू.७३,०५०।– प्राप्त भएको थिएँ । मेची, कोशी धान चामल कम्पनीमा काम गर्दा मासिक तलबबाहेक घर, भाडा, भत्ता दैनिक भ्रमण भत्ता आदिबाट करिब रू.२५,०००।– श्रीमती मन्दिरा श्रेष्ठलाई २०३५ सालमा विवाह हुँदाका बखत माइतीबाट प्राप्त हुन आएको चाँदीका करूवा, तामाको घैला, गाग्री खड्कुँला प्रयोगमा नआउने भएकाले २०३८ सालमा बिक्री गरी २० तोला सुन रू.३६,०००।– मा किनेको थियो । चाँदी ३ किलो पैतृक सम्पत्ति घरमै छ । विराटनगर उपमहागनरपालिका वडा नं.८ कि.नं.१०५ को जग्गा आमा र हजुरआमा स्वर्गीय भएपछि मेरो र दाजुको नाममा संयुक्त नाममा आएको जग्गा, सो जग्गामा निर्माण भएको घरमा व्यापार गरी बढेबढाएको रकम, कृषि आय, तलब भत्ता, सञ्चय कोष सापटी, श्रीमतीको तलब, जीवन बीमाबाट प्राप्त रकम दाजुले विदेशबाट पठाएको रकम, पुरानो घर भत्काई बिक्री गरेको रकम, जमिन बिक्रीबाट प्राप्त रकम, एप्पल कम्प्युटर एजुकेसनको आय, तथा ऋण सापटीसमेतका रकमबाट नै मैले आर्थिक उन्नति गरेको हो । गैरकानूनी सम्पत्ति आर्जन गरी घर निर्माण गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी बद्रीनाथ श्रेष्ठले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।

 

थुनछेक आदेश

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी बद्रीनाथ श्रेष्ठबाट विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम जफतमा दाबी लिएको सम्पत्तिबाहेकको जेथासमेत जम्मा रू.४५,००,०००।– धरौट वा जेथा जमानत दिए तारेखमा राखी र नदिए वा दिन नसके थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत व्यहोराको मिति २०६१।३।३० को विशेष अदालत, काठमाडौंको आदेश । 

 

रोबिन श्रेष्ठको बयान

मेरो नाममा विराटनगर उपमहानगरपालिका वडा नं.२ कि.नं.१९९८ को क्षेत्रफल ०–१–४–० र ऐ.मा कि.नं.२०८३ को ०–०–१६ जग्गा बुबाको विभिन्न आर्जन, कृषि आय, घर बहाल, तलब, जग्गा बिक्री, अमेरिकाबाट आएको रकम, घर बहाल रकम, बुबाले लिएको सापटी रकमसमेतबाट मेरो नाममा खरिद भएकाले उक्त जग्गाहरू जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रोबिन श्रेष्ठले विशेष अदालत, काठमाडौंमा गरेको बयान । 

 

थुनछेक आदेश

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी रोबिन श्रेष्ठलाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत व्यहोराको मिति २०६१।५।२२ को विशेष अदालतको आदेश । 

वादीका साक्षी सम्पत्ति मूल्याङ्कनकर्ता ई. पुष्करप्रसाद पोखरेल र प्रतिवादी बद्रीनाथ श्रेष्ठका साक्षीहरू केदारप्रसाद उपाध्याय र श्यामसुन्दर अग्रवालले गरेको बकपत्र मिसिल सामेल रहेको ।   

 

विशेष अदालतको फैसला

यी प्रतिवादीको सेवा प्रवेश देखिको आय र व्ययको हिसाब गर्दा विभिन्न घरायसी व्यवहार, कानूनी मान्यता, समाजमा विद्यमान रहेका प्रचलन, सम्पत्तिको लेखाजोखा राख्नु पर्ने दायित्व नरहेको जस्ता कारक तत्त्वहरूलाई हृदयङ्गम गरी न्यायोचित अनुमानको आधारमा आय व्यय निर्धारण गर्नु पर्ने हुन्छ । आय र व्ययको फरक रकमले मात्र उच्च जीवनस्तरलाई निर्धारण गर्न पनि सकिँदैन । हाम्रो कानूनी व्यवस्थालाई हेर्दा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) ले मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेमा मात्र आरोपित कसुर प्रमाणित हुने व्यवस्था भएको पाइन्छ । 

सामाजिक पक्षलाई हेर्दा व्यक्तिको पैतृक सम्पत्ति, सामाजिक हैसियत, पदीय हैसियतलगायतका कारक तत्त्वहरू नैं कसीको रूपमा रहेर निजको जीवनस्तर अमिल्दो र उच्च छ भन्ने कुराको निष्कर्षमा पुग्न मद्दत मिल्दछ । यससम्बन्धमा हेर्दा कतिपय आयका स्रोतहरू त्यस्ता हुन्छन् जुन स्रोतहरू अदालतमा व्यक्त गरेबमोजिम विश्वसनीय भए पनि समयको अन्तरालले सम्बन्धित कागज प्रमाणसँग साथमा रहिरहन नसक्ने हुनाले बिनाआधार आयमा समावेश गर्न पनि नहुने र नगरेको अवस्थामा व्यक्तिलाई मर्का पर्न जाने अवस्थाको विद्यमानता रहेका हुनाले आय र व्ययको रकम निर्धारण गर्दा न्यायिक सद्‌विवेक प्रयोग हुनु जरूरी र सान्दर्भिक पनि हुन्छ । यस्ता तत्त्वहरूलाई दृष्टिगत गरी सम्पत्तिको बिगो र आयको फरक रकम सम्पत्तिको बिगोको १० प्रतिशतभन्दा कमको सम्पत्तिसम्म बढी देखिनुलाई अमिल्दो र अस्वाभाविक मान्न नमिल्ने भनी यस्तै प्रकृति र अवस्थाको मुद्दामा भारतीय सर्वोच्च अदालतबाट Krishnananda Agnihotri Vs State of M.P. (A.I.R. 1977 P. 796) को मुद्दामा सिद्धान्त प्रतिपादित भइरहेको 

पाइन्छ । त्यसकारण जाँच अवधिमा प्रतिवादीको आयस्रोतको अनुपातमा निजको साथमा रहेको सम्पत्ति र भएको खर्चलाई हेर्दा प्रतिवादी बद्रीनाथ श्रेष्ठको कूल आय ७५,४३,११०।४४ र कूल खर्च ७७,९५,७२५।६७ देखिन्छ । उल्लिखित बिगो र आर्जनको तुलनामा रू.२,५२,६१५।२३ बराबरको आय कम हुन आए पनि सोरकम कूल बिगोको ३.२४ प्रतिशत भई १० प्रतिशतभन्दा कमै भएकाले प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको वैध आयस्रोतसँग अमिल्दो र अस्वाभाविक मानी दाबीबमोजिमको कसुर गरेको ठहर गरी सजाय गर्न कानून एवम्‌ न्यायसम्मत हुने देखिँदैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) को कसुर गरे भन्ने वादी नेपाल सरकारको दाबी पुग्न नसक्ने ठहर्छ भन्ने व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६६।११।२१ मा भएको फैसला ।

   

नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र

विशेष अदालतले सबै आयलाई एकमुष्ठ गणना गरी सबै आर्जित सम्पत्तिलाई तत्कालको मूल्यसँग परीक्षण गरेको छ । जसबाट पहिले सम्पत्ति आर्जन गर्दा स्रोत नै नभएको सम्पत्ति पनि पछि प्राप्त भए भनिएका तथाकथित आयबाट पुष्टि गर्ने कार्य जुन गम्भीर त्रुटिपूर्ण छ । वैध आयसम्म रू.२,५२,६१५।२३ बढी खर्च भएको तथ्य अदालतको फैसलाबाटै पुष्टि भएको अवस्थामा पनि सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । 

विराटनगर–८ (ख) कि.नं.१०५ को जग्गामा घर कम्प्लेक्स निर्माण गर्दा लागेको लागत र सो अवधिसम्मको निजको आयलाई हिसाब गरिएको 

छैन । प्रचलित मूल्यका आधारमा बिगो कायम गर्नुपर्ने हुन्छ । विशेष अदालतले जग्गा खरिद गर्दाको अवस्थाको मूल्यलाई आधार मानी बिगो कायम गरेको मिलेको छैन । स्रोत खुल्न नसकेको घर र कम्प्लेक्सबाट प्राप्त भाडालाई कर तिरेकै भरमा वैध मानिएको छ । प्रतिवादी तथा निजको श्रीमती जागिरमा रहेका र छोरा विद्यार्थी भएको अवस्थामा मोही नलागेको जग्गामा निजहरू स्वयम्‌ले खेती गरी आय प्राप्त गर्न सक्ने अवस्था नरहेकामा पूरै आय कायम गरिएको छ । सम्पन्न प्रतिवादीलाई अमेरिकाबाट आएका दाजुले रू.२,००,०००।– दिएको भन्ने मिल्ने देखिँदैन । प्रतिवादीको परिवारिक खर्चलाई कट्टा गर्नुपर्नेमा आयमा मात्र थप गर्ने गरेको र समग्रमा खर्चभन्दा १० प्रतिशतभन्दा घटी आय देखिएको भनी अवैध आयलाई छुट दिई सफाइ दिएको उक्त फैसला गैरकानूनी हुँदा त्यस्तो फैसला बदर गरी यी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदनपत्र ।

 

यस अदालतको आदेश

विशेष अदालतले घर बहालबाट प्राप्त गरेको भनी रू.२०,७५,४००।– लाई प्रतिवादी बद्रीनाथ श्रेष्ठको आय आर्जनमा गणना गरेको देखियो । घरभाडाबाट प्राप्त भएको भनी प्रतिवादीले देखाएको उक्तरकममा २०५८ सालमा रू.६६,०००।– घरभाडा कर तिरे बुझाएको पाइन्छ । राष्ट्र सेवकले (VDIS) को सुविधा लिई कर बुझाई प्राप्त गरेको आयलाई भ्रष्टाचारजन्य कसुरमा छानबिनको दायरामा ल्याउन मिल्ने भनी सर्वोच्च अदालतको बृहत्‌ पूर्ण इजलासबाट नेपाल सरकार वि. ईश्वरप्रसाद पोखरेलसमेत भएको ०६५ सालको ०६५–CF–०००१ भ्रष्टाचार मुद्दामा मिति २०६६।७।५ मा फैसला हुँदा नजिर सिद्धान्त प्रतिपादन भइसकेको परिप्रेक्ष्यमा विशेष अदालतको उक्त फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. बमोजिम छलफलको लागि विपक्षीलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६७।११।१५ को आदेश । 

आदेशबमोजिम प्रतिवादी उपस्थित भई तारेखमा रहेको । साथै सुरूमा धरौटीबापत राखेको जेथा फुकुवा गरी एभरेष्ट बैंक, विराटनगर शाखाको बैंक ग्यारेन्टी राखेको देखिन्छ । 

 

वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत बहस जिकिरः

वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री गोपीचन्द्र भट्टराईले विशेष अदालतले सबै आयलाई एकमुष्ठ गणना गरी सबै आर्जित सम्पत्तिलाई तत्कालको मूल्यसँग परीक्षण गरेको छ । जसबाट पहिले सम्पत्ति आर्जन गर्दा स्रोत नै नभएको सम्पत्ति पनि पछि प्राप्त भए भनिएका तथाकथित आयबाट पुष्टि गर्ने कार्य जुन गम्भीर त्रुटिपूर्ण छ । वैध आयसम्म रू.२,५२,६१५।२३ बढी खर्च भएको तथ्य अदालतको फैसलाबाटै पुष्टि भएको अवस्थामा पनि सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । 

विराटनगर–८ (ख) कि.नं.१०५ को जग्गामा घर कम्प्लेक्स निर्माण गर्दा लागेको लागत र सो अवधिसम्मको निजको आयलाई हिसाब गरिएको छैन । विशेष अदालतले जग्गा आर्जन (खरिद) गर्दाको अवस्थाको मूल्यलाई आधार मानी बिगो कायम गरेको मिलेको छैन । स्रोत खुल्न नसकेको घर र कम्प्लेक्सबाट प्राप्त भाडालाई कर तिरेकै भरमा वैध मान्ने विशेष अदालतको फैसला त्रुटिपूर्ण छ । मोही नलागेको जग्गामा निजहरू स्वयम्‌ले खेती गरी आय प्राप्त गर्न सक्ने अवस्था नरहेकामा पूरै आय कायम गरिएको र अमेरिकाबाट आएका दाजुले रू.२,००,०००।– दिएको भन्न मिल्ने देखिँदैन । प्रतिवादीको परिवारिक खर्चलाई कट्टा गर्नुपर्नेमा आयमा मात्र थप गर्ने गरेको उक्त फैसला आयको तुलनामा खर्च १० प्रतिशतभन्दा घटी देखिएको भनी अवैध आयलाई छुट दिई सफाइ दिएको गैरकानूनी हुँदा त्यस्तो फैसला बदर गरी यी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । 

 

प्रत्यर्थी प्रतिवादीको तर्फका प्रस्तुत बहस जिकिरः

प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌‌ वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा र हरिकृष्ण कार्की तथा विद्वान्‌ अधिवक्ताहरू श्री चुडामणि आचार्य र रामप्रसाद भण्डारीले, बद्रीनाथ श्रेष्ठ सेवा प्रवेश गर्नुपूर्व नैं प्रशस्त पैत्रिक सम्पत्ति र आफ्नै कमाइसमेत भएका व्यक्ति हुन् । विराटनगर ८ स्थित सपिङ कम्प्लेक्स विभिन्न स्रोतबाट प्राप्त सम्पत्तिलाई सदुपयोग गर्दै पटकपटक गरी निर्माण सम्पन्न गरेको अवस्था हो । कर्मचारी, व्यवसायी वा जो कोही पनि साथमा पर्याप्त पैसा भएपछिमात्र निर्माण वा खरिद गर्ने भन्ने हुँदैन । हाम्रो जस्तो सामाजिक परिवेश भएको मुलुकमा सबै कारोबार बैंक तथा वित्तीय संस्थाबाट मात्र हुने नभई व्यक्तिगत सम्पर्क, चिनजान, साथीभाई, परिवारिक एवम् नातापाताका व्यक्तिसमेतबाट आवश्यकताअनुसार प्राप्त गर्ने सरसापटी तथा सहयोगको पनि ठूलो महत्त्व हुने गर्दछ । व्यक्तिगतरूपमा लिएको सरसापटी र सहयोग आपसी विश्वासका आधारमा गरिने हुँदा त्यसमा लिखत नैं गर्नेसम्मको कानूनी औपचारिकता हुँदैन । तसर्थ, पटकपटक सहयोग गर्दै आएका दाजुले दिएको सहयोगलाई अविश्वास गर्नुपर्ने अवस्था नहुँदा प्रस्तुत मुद्दामा विशेष अदालत, काठमाडौंले प्रतिवादी बद्रीनाथ श्रेष्ठलाई सफाइ दिने गरी भएको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।

नियमबमोजिम पेसीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू तथा पुनरावेदन मिसिलसमेत अध्ययन गरी उपरोक्तबमोजिम दुवै पक्षहरूको तर्फबाट प्रस्तुत भएको बहस जिकिरसमेत सुनी निर्णयतर्फ विचार गर्दा विशेष अदालत, काठमाडौंको फैसला मिले नमिलेको के रहेछ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

यसमा गैरकानूनीरूपबाट आफ्नो वैध आयस्रोतसँग नमिल्ने तथा अस्वाभाविक सम्पत्ति सङ्ग्रह गर्नु तथा अस्वाभाविक उच्च जीवनस्तरयापन गर्नुसमेतको कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ र १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) अन्तर्गतको कसुर गरेको देखिनाले प्रतिवादी बद्रीनाथ श्रेष्ठलाई उपरोक्त भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १५, १६(ग) र दफा २९बमोजिम तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम हदैसम्म सजाय गरी गैरकानूनीरूपबाट आर्जन गरी निज स्वयम्‌ तथा निजका छोरा रोबिन श्रेष्ठको नाममा राखेको कूल बिगो रू.७२,९२,०३९।६९ को सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७बमोजिम जफत गरी प्रतिवादी बद्रीनाथ श्रेष्ठलाई सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र रहेको पाइन्छ । जाँच अवधिमा प्रतिवादीको आयस्रोतको अनुपातमा निजको साथमा रहेको सम्पत्ति र भएको खर्चलाई हेर्दा प्रतिवादी बद्रीनाथ श्रेष्ठको कूल आय ७५,४३,११०।४४ र कूल खर्च ७७,९५,७२५।६७ देखिन्छ । उल्लिखित बिगो र आर्जनको तुलनामा रू.२,५२,६१५।२३ बराबरको आय कम हुन आए पनि सो रकम कूल बिगोको ३.३५ प्रतिशत भई १० प्रतिशतभन्दा कमै भएकाले प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको वैध आयस्रोतसँग अमिल्दो र अस्वाभाविक मानी दाबीबमोजिमको कसुर गरेको ठहर गरी सजाय गर्न कानून एवम्‌ न्यायसम्मत नहुँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी विशेष अदालतबाट फैसला भएको रहेछ । विशेष अदालतले सबै आयलाई एकमुष्ठ गणना गरी सबै आर्जित सम्पत्तिलाई तत्कालको मूल्यसँग परीक्षण गरेको, स्रोत खुल्न नसकेको घर र कम्प्लेक्सबाट प्राप्त भाडालाई कर तिरेकै भरमा वैध मानिएको, प्रतिवादीलाई अमेरिकाबाट आएका दाजुले रू.२,००,०००।– दिएको भन्न मिल्ने देखिँदैन तसर्थ वैध आयभन्दा रू.२,५२,६१५।२३ बढी खर्च भएको तथ्य अदालतको फैसलाबाटै पुष्टि भएको अवस्थामा पनि सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको पाइयो । 

२. वादी नेपाल सरकारको पुनरावेदनपत्रमा खरिद गरिएका जग्गा समेतका आर्जित सम्पत्तिलाई हालको प्रचलित मूल्यका आधारमा परीक्षण गर्नुपर्नेमा तत्कालको लिखत मूल्यका आधारमा खर्च कायम गरेको नमिलेको र स्रोत खुल्न नसकेको घर र कम्प्लेक्सबाट प्राप्त भाडालाई कर तिरेकै भरमा वैध मानिएको भन्ने पुनरावेदन जिकिरको सम्बन्धमा हेर्दा, प्रतिवादीले जग्गा बिक्री गरी आर्जन गरेको रकमका सम्बन्धमा बैध आय यकिन गर्दा आयोगले लिखतमा अङ्कित मूल्यलाई आधारमानी गणना गरेको 

देखिन्छ । जग्गा खरिदबिक्री गर्दा हुने खर्च एवम् आम्दानी यकिन गर्दा लिखतमा अङ्कित मूल्यलाई आधारमानी गणना गर्दा वास्तविक र कानूनसङ्गत हुने नै हुन्छ । वस्तुनिष्ठ प्रमाणबिना हालको मूल्य भनी अनुमानको आधारमा मूल्य यकिन गर्दा अवास्तविक हुन जाने देखिन्छ । प्रतिवादीले जग्गा बिक्री गरेबापत आय यकिन गर्दा लिखत मूल्य मान्ने तर तिनै प्रतिवादीले खरिद गर्दा लिखत मूल्य नमानी अनुमानको भरमा हालको प्रचलित मूल्यमा मूल्याङ्‌कन गर्दा एउटै विषयमा दोहोरो मापदण्ड भई असमानता हुने हुँदा सम्पत्ति खरिद एवम् बिक्री गर्दा अन्यथा प्रमाणित नभएसम्म लिखतमा अङ्कित मूल्यका आधारमा मूल्याङ्कन गर्नु न्यायोचित हुने हुन्छ । प्रस्तुत मुद्दामा पनि विशेष अदालतले प्रतिवादीले खरिद गरेको जग्गाको खर्च यकिन गर्दा लिखत पारित हुँदाका बखत लिखतमा अङ्कित मूल्य कायम गरेको हुँदा कानूनसङ्गत रहेको मान्नुपर्ने हुन्छ । यसै सन्दर्भमा नेपाल सरकारविरूद्घ चिरञ्जिवी वाग्ले  भएको भ्रष्टाचार मुद्दा (ने.का.प. २०६७, अङ्क १२, नि.नं. ८५१९, पृष्ठ २००७) मा “आधिकारिक निकायमा रीतपूर्वक रजिस्ट्रेसन दस्तुरसमेत बुझाइ पारित गरी लिएको लिखतलाई अप्रमाणित दाबीकै भरमा अन्यथा संज्ञा दिन नमिल्ने” भनी सिद्घान्त प्रतिपादन भएको देखिँदा जग्गाको मूल्य यकिन गर्ने सम्बन्धमा लिखतमा अङ्कित मूल्यलाई नैं आधार मानी जग्गा खरिद तथा बिक्रीबाट भएको आम्दानी खर्चको मूल्याङ्कन गरेको देखिँदा त्यसलाई अन्यथा मान्न मिलेन । 

३. प्रतिवादीको नामको विराटनगर उपमहागनरपालिका वडा नं. ८ ख कि.नं. १०५ को जग्गा निजको आमा र हजुरआमा स्वर्गीय भएपछि आफ्नो र दाजुको संयुक्त नाममा आएको जग्गा हो, उक्त जग्गामा निर्माण भएको घर निर्माणको स्रोतको रूपमा व्यापार गरी बढे बढाएको रकम, कृषि आय, तलब भत्ता, सञ्चय कोष सापटी, श्रीमतीको तलब, जीवन बीमाबाट प्राप्त रकम, दाजुले विदेशबाट पठाएको रकम, पुरानो घर भत्काई बिक्री गरेको रकम, जमिन बिक्रीबाट प्राप्त रकम, एप्पल कम्प्युटर एजुकेसनको आय, तथा ऋण सापटीसमेतका रकमबाट निर्माण गरेको हो । गैरकानूनी सम्पत्ति आर्जन गरी घर निर्माण गरेको होइन भनी अनुसन्धानको क्रममा र अदालतको बयानमा समेत सो कुरा खुलाएको  देखिन्छ । 

४. यी प्रतिवादीको घर निर्माण खर्चका सम्बन्धमा घरको वास्तविक खर्च यकिन गर्न निर्माण गरेको वर्षको नेपाल सरकारबाट निर्धारित दररेटअनुसार गरिएको देखिन्छ । जुन कुरा यसै प्रकृतिको विवाद भएको फणिन्द्र गौतमको प्रतिवेदनले वादी नेपाल सरकार र प्रतिवादी डिल्लिरमण निरौला भएको ०६५-CR-००३१ को मुद्दामा मिति २०६७।५।२० मा र फणिन्द्र गौतमको प्रतिवेदनको वादी नेपाल सरकार र प्रतिवादी लक्ष्मीराज पाठक भएको ०६५-CR-००४५ को मुद्दामा मिति २०६७।१०।४ मा फैसला हुँदा यस अदालतबाट घर निर्माण गरेको वर्षको नेपाल सरकारबाट निर्धारित दररेटको आधारलाई अवलम्बन गरिएको पाइन्छ । यस्तो अवस्थामा प्रस्तुत मुद्दामा पनि विशेष अदालतले घर निर्माणबापतको खर्चका सम्बन्धमा घर बनेको सालको दररेटको आधारमा कायम हुन आउने अङ्कलाई घर निर्माण लागत मानी सो अङ्कबाट व्यक्तिले निर्माण गर्दा नलाग्ने ओभरहेड खर्चबापतको १५ प्रतिशत र ठेक्का कर ५ प्रतिशतसमेत जम्मा २० प्रतिशत रकम कटाई घरको निर्माण खर्च कायम गरेको देखिँदा त्यसलाई अन्यथा भन्न मिलेन ।  

५. जहाँसम्म स्रोत नखुलेको सम्पत्तिमध्येको घरभाडाबाट प्राप्त रकमलाई कर तिरेकै भरमा आय मानिएको मिलेको छैन भन्ने वादीको जिकिरको सम्बन्धमा हेर्दा, कुनै पनि व्यक्तिको नाममा रहेको सम्पत्ति निजले गैरकानूनीरूपमा आर्जन गरेको भनी उजुरी परेपछि मात्र त्यस्तो सम्पत्ति विवादित सम्पत्ति मानिने हुन्छ । सम्पत्तिको स्रोत खुलेको नखुलेको भन्ने कुरा विवादको रोहमा अदालतको अन्तिम निर्णयले ठहर हुने कुरा भएको हुँदा विवाद पर्नुअघि जसको नाममा उक्त सम्पत्ति रहेको छ कानूनीरूपमा उक्त सम्पत्ति उसैको हुनेमा विवाद रहँदैन र त्यस्तो सम्पत्तिबाट बढे बढाएको सम्पत्ति पनि त्यस्तो व्यक्तिको आम्दानीको स्रोत बन्नै नसक्ने भन्ने हुँदैन । तर आधारभूत सम्पत्तिको स्रोत पुष्टि गर्न सकेको अवस्था भने हुनैपर्ने हुन्छ । यी प्रतिवादीले विराटनगर–८ (ख) कि.नं.१०५ को जग्गामा बनेको घर कम्प्लेक्सको कानूनबमोजिम लाग्ने करसमेत तिरी आएको र राज्यले लागू गरेको स्वयम्‌कर घोषणा (VDIS) को अवस्थामा पनि उक्त सम्पत्तिलाई देखाई सोबापत करसमेत तिरी आएको देखिँदा यी प्रतिवादीको आधारभूत सम्पत्तिको स्रोत अन्यथा नठहर्दासम्म त्यस्तो सम्पत्तिबाट प्राप्त आयलाई आयमा नै समावेश गर्नुहुन्न भन्ने वादीको जिकिरसँग सहमत हुन सक्ने अवस्था रहेन । 

६. विशेष अदालत काठमाडौंबाट यी प्रतिवादी बद्रीनाथ श्रेष्ठको जाँच अवधिभित्र आर्जन गरेको वैध रकम विभिन्न शीर्षकमा गरी रू. ७५,५३,११०।४४ कायम गरेको र निजको कुल खर्च ७७,९५,७२५।६७ भई जम्मा रू आयभन्दा रू.२,५२,६१५।२३ बढी खर्च देखिएको भनी विशेष अदालतको फैसलामा उल्लेख भएको पाइन्छ । उक्त फैसलामा उल्लेख भएबमोजिम जाँच अवधिको कूल आय हेर्दा निजको सपरिवारसहित अमेरिका बस्ने दाजुले बैंकमार्फत पठाएको रकम रू ६,७३,६८५।२० पूरैलाई वैध आयको रूपमा स्वीकार गरेकामा कुनै विवाद भएन । तर तिनै दाजु परिवारसहित काठमाडौं घुम्न आएका बखत यी प्रतिवादीलाई पटक पटक गरी दिएको भनिएको नगद रू ४,९५,०००। मध्ये नगद रू २,००,०००।– सम्म केही रकम दिए होलान् भनी स्वीकार गरी बाँकी रू २,९५,०००। लाई कुनै मनासिब कारणबिना आयको रूपमा लिन अस्वीकार गरेको देखिन्छ । त्यस्तो रकमलाई आयको रूपमा लिन अस्वीकार गर्नुको कानूनबमोजिमको आधार र कारण भने उक्त फैसलामा दिन सकेको देखिँदैन । पक्षको आचरण, व्यवहार र कारोबारमध्ये कुनैलाई स्वीकार गर्ने र कुनैलाई आत्मपरक ढङ्गले इन्कार गर्न मिल्ने 

हुँदैन । दाजुले यी प्रतिवादीलाई विभिन्न अवस्थामा विभिन्न समयमा रकम पठाउने गरेको तथ्यको विद्यमानतामा र निज परिवारसहित नेपाल आएको बखत प्रतिवादीसँगै बसेको अवस्थामा सहयोगस्वरूप रकम नै दिएनन् होला भनी अनुमान गर्न सकिने अवस्था नहुँदा दिएको सहयोग रकममध्ये केहीलाई मात्र स्वीकार गरी बाँकी रकम दिएन होला भनी आत्मपरक ढङ्गले अनुमानको भरमा गरिएको व्याख्याको विश्वासको कुनै आधार देखिएन । नेपालमा आएको अवस्थामा नगद दिएको मध्ये रू. २,००,०००। लाई स्वीकार गरी बाँकी रू. २,९५,०००। दिएको तथ्यलाई इन्कार गर्नुपर्ने अवस्था नहुँदा प्रतिवादी बद्रिनाथ श्रेष्ठका दाजुले दिएको रू. २,९५,०००।– लाई यी प्रतिवादीको आयमा समावेश नगरेको विशेष अदालतको फैसलाको मनासिब आधार देखिएन । उक्त रकम रू.२,९५,०००।– निजको वैध आयमा समावेश हुने देखिँदा निजको आय जम्मा रू. ७८,३८११०।४४ भई कुल खर्च रू. ७७,९५,७२५।६७ हुँदा निजको वैध आयभन्दा खर्च कम देखिन आएकाले निजले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको र अस्वाभाविकरूपमा उच्च जीवनस्तरयापन गरेको भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

७. तसर्थ, जाँच अवधिमा प्रतिवादीको आयस्रोतको अनुपातमा खर्च बढी नदेखिएको र प्रतिवादीको साथमा रहेको सम्पत्ति निजको वैध आयश्रोतसँग अमिल्दो र अस्वभाविक मान्न मिल्ने नदेखिँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी भएको विशेष अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।  

तपसिल

माथी इन्साफ खण्डमा लेखिएबमोजिम विशेष अदालतको फैसला सदर हुने ठहरी फैसला भएको हुँदा यी प्रतिवादीले सुरूमा धरौटीबापत राखेको जेथा फुकुवा गरी एभरेष्ट बैंक विराटनगर शाखाको बैंक ग्यारेन्टी राखेको देखिँदा नियमानुसार उक्त बैंक ग्यारेन्टी फुकुवाको लागि लेखिपठाउनू ..................१

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................२

 

उक्त रायमा सहमत छु । स.प्र.न्या.रामकुमार प्रसाद शाह 

 

इजलास अधिकृत : ईश्वर पराजुली 

इति संवत् २०७१ साल मङ्सिर २९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु