शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४५३ - लागु औषध खैरो हेरोइन

भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री  गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री  जगदीश शर्मा पौडेल

फैसला मिति : २०७२।३।२८।२

०६७-CR-०९०७

 

मुद्दा : लागु औषध खैरो हेरोइन ।

 

पुनरावेदक/प्रतिवादी : गोरखा जिल्ला सिर्दिवास गा.वि.स. वडा नं. ८ फिलिम गाउ घर भै हाल केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेको रामबहादुर गुरूङ

विरूद्ध

प्रत्यर्थी/वादी : प्र.ना.नि.श्रीकृष्ण मानन्धरसमेतको जाहेरीले नेपाल सरकार

 

बरामद भएको लागु औषध तह तह हुदै आइतराम तामाङसम्म पुगेको र पुनरावेदक यी प्रतिवादीसमेतले सो लागु औषध बिक्री गर्ने योजना बनाई आपराधिक लाभ लिने उद्देश्यले शुत्रबद्ध कार्य (Chain of conduct) गरेको पुष्टि हुन आउने ।

(प्रकरण नं. ४)

सङ्गठितरूपमा गरिने अपराधमा को कसको साथबाट बरामद भएको भन्ने कुराले त्यति महत्त्व राख्दैन । २ वा २ भन्दा बढी व्यक्तिहरूको व्यक्तिगत सम्बन्धका आधारमा श्रेणीबद्धरूपले अपराधमा संलग्न भई यस्ता अपराध हुने गर्दछन् । आपराधिक कार्यमा संलग्न भएका व्यक्तिहरूको मुनाफा आर्जन गर्ने वा प्रतिफल प्राप्त गर्ने सामूहिक उद्देश्य रहन जान्छ । यस्तो प्रकृतिको अपराधबाट कुनै व्यक्ति प्रताडित (Victim) हुँदैन । साथ साथै यस्ता प्रकृतिका अपराधहरू कसैलाई क्षति पुर्‍याउने वा हानी नोक्सानी गर्ने उद्देश्यभन्दा पनि आपराधिक लाभ प्राप्त गर्ने योजनासाथ सम्पन्न भएका हुन्छन । लागु औषधको ओसारपसार र कारोबार कुनै एक व्यक्ति विशेषको प्रयासबाट मात्र सम्पन्न हुने नभई लागु औषध सञ्चयकर्ता, खरिदकर्ता, ओसारपसार गर्ने र बिक्री वितरणको व्यवस्था मिलाउने व्यक्तिसम्मको सङ्गठित समूहबाट सम्पन्न हुने गर्दछ । यस्ता किसिमका अपराधबाट प्रयाप्त मुनाफा प्राप्त गर्न सकिने भएको हुनाले प्राय सङ्गठित अपराधिक समूहले यस्तो प्रकृतिको अपराध गरी रहेका हुने ।

(प्रकरण नं. ४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक कानून व्यवसायी नारायणप्रसाद देवकोटा

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :   

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या.श्री लेखनाथ घिमिरे

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री मोहनप्रसाद घिमिरे

मा.न्या. श्री डा. आनन्दमोहन भट्टराई

 

फैसला

न्या. गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम  यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ ।

का.जि. गोंगबु गा.वि.स. वडा नं. ८ स्थित महादेवटारमा आइतराम तामाङ र हरिकृष्ण राना बसेको डेरा कोठाबाट अवैध लागु औषध सेतो हेरोइन १६८ ग्राम फेला परी सो फेला परेको ला.औ.कानूनबमोजिम बरामद भै सो बरामद लागु औषध सेतो हेरोइन लुकाई सञ्चय गरी राख्ने आइतराम तामाङ र हरिकृष्ण रानासमेतका जना दुई पक्राउमा परेको ठिक साँचो हो भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का ।

पक्राउमा परेको आइतराम तामाङ, हरिकृष्ण राना र रामबहादुर गुरूङसमेतका जना ३ र बरामद लागु औषध सेतो हेरोइन १६८ ग्राम, निजहरूको सँग साथबाट बरामद भएको मोबाइल र नागरिकताहरूसमेत यसै साथ दाखिला गर्न ल्याएका छौं । निज पक्राउमा परेका व्यक्तिहरूले उक्त बरामद लागु औषध सेतो हेरोइन के-कहाँबाट को-को भई के कसरी ल्याई आफू बसेको डेरा कोठामा सञ्चय गरी राखेका हुन् । निजहरूबाट खुलाई लागु औषध नियन्त्रण ऐनअनुसार कारवाही गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।

आज मलाई सनाखत गराउन देखाइएको व्यक्तिमध्ये दोस्रामा उभिएको अन्दाजी ५ फिट ४ इन्च जति उचाई भएको ५४,५५ वर्ष जतिको लाम्चो चेहरा, मझौला शरीर, गहुँगोरो वर्णको, निधारमा काटेको हुलिया भएको व्यक्ति नै पोल परेको मलाई लागु औषध बिक्रीका लागि हेरोइन दिने रामबहादुर गुरूङ हुन् भन्नेसमेत व्यहोराको हरिकृष्ण रानाले मानिस चिनी सनाखत गरेको कागज ।

    हरिकृष्ण रानाले रामबहादुर गुरूङ भन्ने व्यक्तिलाई पक्राउ गराई दिएको हो । लागु औषध हेरोइन प्रतिग्राम ५०० को दरमा खरिद गरी प्रतिग्राम ७०० मा बिक्री गर्ने सल्लाह भएको थियो । बिक्री गर्न नपाउँदै पक्राउमा परियो बिक्री गर्न पाएको भए बराबरी बाँडी लिने 

थियौँ । पछि थाहा पाएअनुसार विजय घले भन्ने व्यक्ति नै प्रहरीको सुराकी रहेछन् प्रहरी ल्याई सुराक दिई पक्राउ गराई दिएका हुन् । आर्थिक प्रलोभनमा परी लागु औषध हेरोइनको कारोबारमा संलग्न भएको हुँ भन्नेसमेत व्यहोराको आइतराम तामाङको बयान कागज ।

बरामद लागु औषध सेतो हेरोइन प्रतिग्राम ५०० मा खरिद गरी प्रतिग्राम ७०० मा बिक्री गर्ने सल्लाह भएको थियो । बिक्री गर्न नपाउँदै पक्राउमा परियो । बिक्री गर्न पाएको भए बराबरी बाँडी लिने थियौं । आर्थिक प्रलोभनमा परी लागु औषध हेरोइनको कारोबारमा संलग्न भएको हो भन्नेसमेत व्यहोराको हरिकृष्ण रानाको बयान कागज ।

बाँड्दा लामाले बिक्री गर्न भनी १६८ ग्राम सेतो हेरोइन ल्याइदिएकाले सोही लागु औषध सेतो हेरोइन मैले बिक्री गर्न भनी साथी हरिकृष्ण रानालाई दिएको र निजले पनि सो लागु औषध हिरोइन बिक्री गर्न भनी अर्का आइतराम तामाङलाई दिएकामा निजले लागु औषध बिक्री गर्न खोज्दा लागु औषधसहित आइतराम र हरिकृष्ण राना पक्राउमा परेछन् । निज पक्राउमा परेपछि हरिकृष्ण रानाको पोलबाट पक्राउ परेको हुँ । आर्थिक प्रलोभनमा परी लागु औषध हिरोइनको कारोबारमा संलग्न भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर गुरूङको बयान 

कागज ।

प्रतिवादी आइतराम तामाङको पाथिभरा गेष्ट हाउसमा खानतलासी गर्दा अवैध चिजवस्तु फेला नपरेको सो कोठामा आइतरामले गरेको हिसाब किताबका तीन थान रजिस्टर र लागु औषध प्याक गर्न प्रयोग गरिने प्लास्टिकको प्रयोग भैसकेको रोल थान ३ समेत बरामद गरिएको ठिक साँचो हो भन्ने व्यहोराको बरामदी मुचुल्का ।

प्रतिवादी आइतराम तामाङसमेत भएको लागु औषध हेरोइन मुद्दामा बरामद भै आएको लागु औषध सेतो हेरोइन १६८ ग्राममध्ये कानूनबमोजिम निकालिएको नमूना जाँच परीक्षण गर्दा सो नमूना लागु औषध हेरोइन डाईएसिटाईल मर्फिन पाइयो भन्नेसमेत व्यहोराको प्रयोगशालाको परीक्षण प्रतिवेदन ।

मिसिल संलग्न खानतलासी पुर्जी, बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवादी हरिकृष्ण रानाको खनाखत कागज, प्रतिवादीहरूको बयान कागज र केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षणसमेतका आधार प्रमाणबाट प्रतिवादीहरूले अवैध लागु औषध सेतो हेरोइन सङ्कलन, ओसारपसार, सञ्चय तथा बिक्री वितरणको कारोबार गर्ने गरेको पुष्टि हुँदा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को (संशोधनसहित) दफा ४ को देहाय (घ)(ङ) र (च) बमोजिम को निषेधित अपराध कसुर गरेको हुँदा सोही ऐनको दफा १४(१) को देहाय (छ)(३) बमोजिम  सजाय होस् भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

बरामदी मुचुल्काको सबै व्यहोरा झुठा हो । मलाई लागु औषधको कारोबार गर्ने व्यक्ति भन्दै बिना कारण पक्राउ गरी ल्याएको हो । मेरो साथबाट कुनैपनि प्रकारको लागु औषध बरामद गरेको होइन । मेरो आफ्नो नागरिकता, सवारी चालक अनुमतिपत्र, रजिस्टर, नोकिया मोबाइल सेट, पासपोर्टसमेत बरामद गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी आइतराम तामाङले सुरू अदालतमा गरेको बयान ।

बरामदी मुचुल्काको व्यहोरा झुठ्ठा हो । म आफूले डान्स सिकाउने रोजिना निर्मला कला केन्द्रबाट घर फर्किने क्रममा घरनजिकै रोडमा गफागरी रहेको अवस्थामा प्रहरीहरू आई पक्राउ गरेको हो । सो समयमा मेरो साथमा रहेको सोनि इरिक्सन मोबाइल, पासपोर्ट, सवारी चालक अनुमतिपत्र र फोन डायरी बरामद गरेको हो । सोभन्दा बढी केही पनि बरामद गरेको छैन । बरामदी मुचुल्कामा प्रहरीले जबरजस्ती सहीछाप गराएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी हरिकृष्ण रानाले सुरू अदालतमा गरेको बयान ।

बरामदी मुचुल्काको सम्बन्धमा मलाई केही पनि थाहा छैन । गोंगबुबाट केही कुरा बुझ्नुछ भनी पक्राउ गरेको हो । मेरो साथबाट प्रहरीले एउटा झोला र नागरिकता बरामद गरेको हो । लागु औषध कोबाट कति बरामद भयो मलाई थाहा छैन । मैले अन्य प्रतिवादीहरूलाई चिनेको पनि छैन । किन मलाई पोल गरे मलाई थाहा छैन । मबाट लागु औषध बरामद भएको छैन । बिना कारण पक्राउ गरेकाले अभियोग दाबीबाट सफाइ पाउनु पर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर गुरूङले सुरू अदालतमा गरको बयान ।

बरामदी मुचुल्कामा भएको सहीछाप मेरो 

हो । प्रतिवादीहरूबाट १६८ ग्राम सेतो हेरोइन बरामद भएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्काका मानिस यज्ञप्रसाद दुलालले गरेको बकपत्र ।

आइतराम तामाङको खानतलासी गर्दा निजले लगाएको कालो रंगको ट्रयाकसुट पाइन्टको बाया खल्तीमा सेतो नरम प्लास्टिकले प्याक गरी राखिएको १६८ ग्राम सेतो हेरोइन बरामद भएको हो भन्नेसमेत व्यहोराको प्रतिवेदक भिमप्रसाद तिमल्सेनाले गरेको बकपत्र ।

प्रतिवादी आइतराम तामाङले रेस्टुरेन्ट खोली व्यापार गर्दै आएका हुन् । निजलाई वादी दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी आइतरामका साक्षीले गरेको बकपत्र ।

प्रहरी प्रतिवेदनको व्यहोरामा भएको सहिछाप मेरो हो । प्रतिवादी आइतरामले लगाएको पाइन्टको खल्तीबाट प्लास्टिकले बेरिएको अवस्थामा १ पाकेट अवैध लागु औषध हेरोइन फेला परेको र सो तौल गर्दा १६८ ग्राम भएको हो भन्नेसमेत व्यहोराको प्रतिवेदक श्रीकृष्ण मानन्धरले गरेको बकपत्र ।

प्रतिवादी आइतराम तामाङको साथबाट लागु औषध बरामद भई निजसमेत अन्य प्रतिवादीले एक अर्कालाई पोल गरी गरेको बयान, बरामदी मुचुल्का, प्रतिवेदक तथा अन्य व्यक्तिको अदालतसमक्षको बकपत्रले समर्थित भई सोसमेतको आधार कारणबाट प्रतिवादीहरूको मिलेमतोमा १६८ ग्राम लागु औषध सेतो हेरोइन खरिद बिक्री ओसारपसार तथा सञ्चयसमेत गरी लागु औषधको कारोबारमा संलग्न भई अभियोग दाबीबमोजिम कसुर गरेको ठहर्छ । सजायको हकमा बरामदी लागु औषधको परिणामसमेतलाई विचार गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को देहाय १ को खण्ड (छ) को देहाय (३) बमोजिम  कैद वर्ष १५ (पन्ध्र) तथा जरिवाना रू ५,००,०००।– (पाँच लाख) जनही हुने ठहर्छ । सफाइ पाउनु पर्छ भन्ने प्रतिवादीको जिकिर प्रमाणको अभावमा पुग्न सक्दैन । साथै प्रतिवादीमध्ये हरिकृष्ण राना, आइतराम तामाङसँग निजको कोठामा एकसाथ पक्राउ परेको तथ्यको पुष्टी भई रहेको सन्दर्भमा निज हरिकृष्ण राना अन्यत्र रहेको भनी निजको साक्षी प्रेम राई तथा कर्ण पौडेलले अदालतमा झुठो बकपत्र गरेको देखिँदा अ.व.१६९ नं.बमोजिम निजहरूलाई जनही रू. १५ जरिवाना हुने ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।२।२४ मा भएको फैसला ।

म हरिकृष्ण राना कथित बरामद भएको भनिएको स्थानमा नरहेको कुरा मेरा साक्षीहरूको कथन र म कार्यरत्‌ रहेको कला केन्द्रको पत्रबाट पुष्टि भै रहेको छ । म साँझ ८ बजेसम्म कला केन्द्रमा रहेको पुष्टि हुने गरी बकपत्र गरेका छन् । सो बकपत्रलाई विपक्षीहरूले जिरह गर्न सकेका पनि छैनन् । म प्रतिवादी रामबहादुर गुरूङको घरबाट १८ गतेका दिन पक्राउ परेको भन्ने कुरा प्रहरीद्वारा योजनाबद्धरूपमा तयार पारिएको कथा हो भन्ने स्पष्ट छ । मेरो कुनै पनि संलग्नता नरहेको अवस्थामा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ)र (च) को कसुर गरेको ठहर्‍याई भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी मेरो हकमा सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी हरिकृष्ण रानाको पुनरावेदनपत्र ।

प्रतिवादी भनी उल्लेख भएका हरिकृष्ण राना र आइतराम तामाङ कुन गाउँ ठाउँका हुन् म चिन्दिन । नचिनेको व्यक्तिसँग मिली लागु औषध कारोबार गर्ने कुरै आउँदैन । यसरी निजहरूले पोल गरेको आधारमा मात्र यस्तो गहन अपराधमा अन्य प्रमाणले पुष्टि नगरेसम्म कसुरदार ठहर गर्नु न्याय र फौज्दारी न्यायको मान्य सिद्धान्तसमेतको विपरीत भई प्रमाण ऐन, २०३१ को दफा २५,५४ र अ.बं. १८४(क) समेतको आधारबाट त्रुटिपूर्ण देखिँदा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी मेरो हकमा सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर गुरूङको पुनरावेदनपत्र ।

म आइतराम तामाङको साथबाट १६८ ग्राम लागु औषध बरामद भएको भन्ने बरामदी मुचुल्का उक्त परीक्षण रिपोर्ट, प्रहरी प्रतिवेदन र साक्षीको बकपत्रसमेतका आधारमा समर्थित गरेको भन्ने अभियोजन दाबी झुठ्ठा हो । बरामदी मुचुल्का र मौकाको बयान व्यहोरा मेरो होइन, मलाई कुटपिट गरी डरत्रासमा पारी बाध्य बनाई इच्छाविपरीत जबरजस्ती सही गराएको हो अरू प्रतिवादीले के के गरे सो कार्यसँग मेरो कुनै सम्बन्ध नै छैन । मैले अदालतमा गरेको बयान र साक्षीको बकपत्रलाई बेवास्ता गरी अभियोजन पक्षको भनाईलाई मात्र आधार लिई भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी आइतराम तामाङको पुनरावेदनपत्र ।

यसमा लागु औषध बरामद हुन नसकेका प्रतिवादीहरूलाईसमेत बरामद भएसरह नै सजाय भएको र प्रमाणको मूल्याङ्कनको रोहबाट समेत सुरूको फैसला फरक पर्न सक्ने भै विचारणीय भएकाले मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम  प्रत्यर्थी झिकाई उपस्थति भए वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावदेन अदालतबाट मिति २०६७।५।१३ मा भएको आदेश ।

प्रतिवादीमध्येका आइतराम तामाङको फ्ल्याटबाट लागु औषध सेतो हिरोइन १६८ ग्राम बरामद भएकामा विवाद देखिएन । सेतो हिरोइन बिक्री वितरण गर्नको लागि रामबहादुर गुरूङले हरिकृष्णलाई दिएको र हरिकृष्ण र आइतरामले ग्राहक खोज्ने क्रममा सुराकीको मद्दतबाट निजहरू रहेको डेरा कोठामा खान तलासी हुँदा उक्त डेरा कोठाबाट सेतो हिरोइन बरामद भएको भन्ने अभियोगपत्रमा उल्लेख भएको 

देखियो । बरामदी मुचुल्का निजहरूको उपस्थितिमा भएको र उक्त मुचुल्कामा बस्ने गोपालप्रसाद बास्तोला तथा यज्ञबहादुर दुलालसमेतले अदालतमा आई बकपत्र गरेकोसमेतबाट बरामदीलाई अन्यथा भन्न मिल्ने देखिएन । बरामद भएको हिरोइनको जुन परिमाण छ सो सामान्य किसिमको नदेखिएको र त्यति धेरै परिमाणको लागु औषध एकजनाले मात्र कारोबार गर्ने र गर्न सक्ने किसिमको देखिँदैन । बरामद भएको लागु औषधको मात्रा र तह तह हुँदै सो लागु औषध आइतराम तामाङसम्म पुगको र उनीहरूले बिक्री गर्ने योजना बनाएको अवस्थामा पक्राउ परेको जुन अवस्था छ, वारदात सङ्गठितरूपको देखिन 

आउँछ । सङ्गठित अपराधमा अभियुक्तहरूले योजना निर्माण गरी त्यसको कार्यान्वयनमा संलग्न हुने हुँदा को-कसबाट बरामद भयो भन्ने कुरा गौण महत्त्वको हुन्छ । अर्को कुरा जुन लागु औषध बरामद भएको छ सो कुनै खुला ठाउँ सडक आदिमा हिँडी रहेको अवस्थामा बरामद गरिएको नभै आइतरामले भाडामा लिएको कोठाबाट दुवै अभियुक्तको रोहवरमा बरामद भएको देखिँदा यी प्रतिवादी आइतराम तामाङ, हरिकृष्ण राना र रामबहादुर गुरूङले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ),(ङ),(च) को कसुर गरेकामा निजहरूलाई ऐ. दफा १४(१) को देहाय (६)(३) बमोजिम  जनही १५ वर्ष कैद र पाँच लाख रूपैयाँ जरिवाना हुने ठहर्‍याएको काठमाडौं जिल्ला अदालतको मिति २०६६।२।२४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावदेन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६७।५।२९ को फैसला ।

मैले हरिकृष्ण रानालाई लागु औषध दिएको भन्ने कुरा झुठ्ठा हो । बरामदी मुचुल्का मेरो रोहबरमा नभएको र सोमा मेरो सहिछाप पनि नभएको, मेरो साथबाट बरामद पनि नभएको, केवल हरिकृष्णको पोलबाट मलाई पक्राउ गरी दायर भएको अभियोग दाबीबमोजिम  सजाय हुने ठहर गरेको सुरू अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी अभियोगदाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर गुरूङको यस अदालतसमक्ष पर्न आएको पुनरावेदन ।

नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी तर्फबाट रहनुभएका विद्वान्‌ वैतनिक कानून व्यवसायी श्री नारायणप्रसाद देवकोटाले प्रतिवादी रामबहादुर गुरूङको साथबाट लागु औषध बरामद नभएको, कसुर अपराधमा निजको संलग्नता रहेको भन्ने कहीँ कतैबाट पुष्टि नभएको, अन्य प्रतिवादीहरूको पोलबाटमात्र निजलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबाट सफाइ दिलाइ पाउँ भनी गर्नु भएको बहस सुनियो ।

बहस जिकिर सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत, पाटनको मिति २०६७।५।२९ गतेको फैसला मिलेको छ छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन सोही विषयमा निर्णय दिनुपर्ने देखियो । यसमा प्रतिवादी रामबहादुर गुरूङसमेतलाई अभियोग माग दाबीबमोजिम  लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा १ को खण्ड ६ को देहाय (३) बमोजिम  कैद वर्ष १५ र रू. ५,००,०००।- (पाँच लाख) जरिवाना हुने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर हुने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसलामा चित्त नबुझी प्रतिवादी रामबहादुर गुरूङको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस भएको रहेछ ।

२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी रामबहादुर गुरूङसमेतले लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को देहाय ६(ङ) र (च) बमोजिम को निषेधित अपराध गरेको हुँदा सोही ऐनको दफा १४(१) ६(३) बमोजिम  सजायको माग दाबी रहेको पाइयो । उक्त लागु औषध जाँच परीक्षण गर्दा लागु औषध हेरोइन डाईएसिटाईल मर्फिन रहेको भनी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट खुलेको देखियो । मिति २०६४/५/१९ गते उक्त लागु औषध १८८ ग्राम प्रतिवादीमध्येका आइतराम तामा‍ङको डेरा कोठाबाट बरामद भएको भन्ने मिसिल संलग्न रहेको बरामदी मुचुल्काबाट देखिन आयो ।

३. पुनरावेदक प्रतिवादी रामबहादुर गुरूङले अनुसन्धान अधिकारीसमक्षको बयानमा उक्त लागु औषध सेतो हेरोइन बिक्री गर्न भनी मैले प्रतिवादीमध्येका हरिकृष्ण रानालाई दिएको थिएँ । निज हरिकृष्ण रानाले पनि उक्त लागु औषध बिक्री गर्ने प्रयोजनका लागि प्रतिवादीमध्येका आइतराम तामाङलाई दिएको अवस्थामा निजहरू पक्राउमा परेका र प्रतिवादीमध्येका हरिकृष्ण रानाको पोलबाट मसमेत पक्राउमा परेको हुँ । आर्थिक प्रलोभनमा परेर मसमेत लागु औषध कारोबारमा सरिक भएको भनी कसुर अपराध स्वीकार गरी गरेको बयान व्यहोराबाट सो लागु औषध सेतो हेरोइन पुनरावेदक प्रतिवादी रामबहादुर गुरूङसमेतको मिलेमतोमा ओसारपसार भएको कुरामा विवाद रहेन ।

४. यसका साथै उक्त लागु औषध सेतो हेरोइन प्रतिग्राम ५०० को दरमा खरिद गरी रू. ७००।- को दरमा बिक्री गर्ने भन्ने सल्लाह गरी प्रतिवादी राम बहादुरले प्रतिवादी हरिकृष्ण रानालाई दिएको र प्रतिवादी हरिकृष्ण रानाले उक्त लागु औषध मलाई दिएको भनी प्रतिवादीमध्येका आइतराम तामाङले अनुसन्धान अधिकारीसमक्षको बयानमा उल्लेख गरेको देखियो । 

५. प्रतिवादीमध्येका यी पुनरावेदक प्रतिवादी रामबहादुर गुरूङसमेतको सल्लाहअनुसार नै निजले १६८ ग्राम सेतो हेरोइन सङ्कलन गरी बिक्री गर भनी मलाई दिएको र मैले पनि आइतराम तामाङलाई दिई ग्राहकको प्रतिक्षामा बसिरहेको अवस्थामा खरिद गर्ने पार्टी ल्याउँछु भन्ने व्यक्तिले प्रहरीलाई सुराक दिई हामीहरू पक्राउमा परेका हौं भनी प्रतिवादीमध्येका हरिकृष्ण रानाले अनुसन्धानको क्रममा बयान गरेको देखिन्छ । बरामदी मुचुल्का प्रतिवादीहरूको उपस्थितिमा भएको, बरामदी मुचुल्काको साक्षीमा बस्ने गोपालप्रसाद बास्तोला र यज्ञबहादुर दुलालसमेतले अदालतमा आई बरामदी मुचुल्कालाई समर्थन हुने गरी बकपत्र गरेको देखियो । यसरी बरामद भएको लागु औषध तहतह हुँदै आइतराम तामाङसम्म पुगेको र पुनरावेदक यी प्रतिवादीसमेतले सो लागु औषध बिक्री गर्ने योजना बनाई आपराधिक लाभ लिने उद्देश्यले सुत्रबद्ध कार्य (Chain of conduct) गरेको पुष्टि हुन आउँछ ।

६. जहाँसम्म मेरो साथबाट लागु औषध बरामद नभएको भन्ने यी पुनरावेदक प्रतिवादीको जिकिर रहेको छ त्यसतर्फ विचार गर्दा सङ्गठितरूपमा गरिने अपराधमा को कसको साथबाट बरामद भएको भन्ने कुराले त्यति महत्त्व राख्दैन । २ वा २ भन्दा बढी व्यक्तिहरूको व्यक्तिगत सम्बन्धका आधारमा श्रेणीबद्धरूपले अपराधमा संलग्न भई यस्ता अपराध हुने गर्दछन् । आपराधिक कार्यमा संलग्न भएका व्यक्तिहरूको मुनाफा आर्जन गर्ने वा प्रतिफल प्राप्त गर्ने सामूहिक उद्देश्य रहन जान्छ । यस्तो प्रकृतिको अपराधबाट कुनै व्यक्ति प्रताडित (Victim) हुँदैन । साथ साथै यस्ता प्रकृतिका अपराधहरू कसैलाई क्षति पुर्‍याउने वा हानि नोक्सानी गर्ने उद्देश्यभन्दा पनि आपराधिक लाभ प्राप्त गर्ने योजनासाथ सम्पन्न भएका हुन्छन । लागु औषध को ओसारपसार र कारोबार कुनै एक व्यक्ति विशेषको प्रयासबाट मात्र सम्पन्न हुने नभई लागु औषध सञ्चयकर्ता, खरिदकर्ता, ओसारपसार गर्ने र बिक्री वितरणको व्यवस्था मिलाउने व्यक्तिसम्मको सङ्गठित समूहबाट सम्पन्न हुने 

गर्दछ । यस्ता किसिमका अपराधबाट प्रयाप्त मुनाफा प्राप्त गर्न सकिने भएको हुनाले प्राय सङ्गठित आपराधिक समूहले यस्तो प्रकृतिको अपराध गरी रहेका हुन्छन् । प्रस्तुत मुद्दामा बरामद भएको लागु औषध सेतो हेरोइन रामबहादुरले हरिकृष्णलाई, हरिकृष्णले आइतरामलाई ओसारपसार गर्दै ग्राहक खोजी बिक्री वितरण गर्ने र सोबाट आर्जन भएको प्रतिफल सबैले बाँडी खाने उद्देश्यका साथ सङ्गठितरूपमा श्रेणीबद्ध तवरबाट सम्पन्न गरेको भन्ने मिसिल संलग्न कागज प्रमाणबाट देखिन आएकाले प्रतिवादीमध्येका यी पुनरावेदक प्रतिवादी रामबहादुर गुरूङले आफूबाट लागु औषध बरामद भएको थिएन, होइन भनी लिएको जिकिरका आधारमामात्र यी प्रतिवादीको कसुर अपराधमा संलग्नता रहे भएको रहेनछ भनी मान्न मिल्ने अवस्था नदेखिँदा उक्त जिकिरसँग सहमत हुन सकिएन ।

७. अतएव: यी प्रतिवादी रामबहादुर गुरूङ आइतराम तामाङको पोलबाट पक्राउ परेका, उक्त लागु औषध बिक्री वितरण गर्नका लागि रामबहादुरले हरिकृष्णलाई दिएको र हरिकृष्ण र आइतरामले ग्राहक खोज्ने क्रममा सुराकीको मद्दतबाट निजहरू रहेको डेरा कोठाबाट बरामद भएको भन्ने प्रतिवादीहरूको अनुसन्धान अधिकारीसमक्षको बयान र मिसिल संलग्न कागज प्रमाणबाट खुली आएको देखिँदा यी पुनरावेदक प्रतिवादी रामबहादुर गुरूङसमेतलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाए (घ)(ङ)(च) बमोजिम को कसुर अपराधमा ऐ.को १४(१) को देहाए (६)(३) बमोजिम  जरिवाना र कैद हुने ठहरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको मिति २०६७।५।२९ गतेको फैसला मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदक प्रतिवादीको पुनरावदेन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु । 

न्या. जगदीश शर्मा पौडेल 

 

इजलास अधिकृत : दिलीपराज पन्त

इति संवत् २०७२ साल असार २८ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु