निर्णय नं. ९४५७ - सवारी ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपकराज जोशी
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७२।२।१८।५
०६८-CR-०१९७
मुद्दाः सवारी ज्यान
पुनरावेदक/वादी : राजकुमार शाहीसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : मकवानपुर जिल्ला, पदमपोखरी गाउँ विकास समिति वडा नं. ५ बस्ने गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चन
दुर्घटना भएको मोटर साइकलमा मृतक र आरोपित सबै सवार रहेकामा दुर्घटनाबाट उक्त मोटरसाइकल सवार व्यक्तिहरूको नै मृत्यु भएको देखिँदा दुर्घटनामा आरोपित प्रतिवादी वीरबहादुरको समेत मृत्यु हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । दुर्घटना हुनुपूर्व अनुमान गर्न नसकिने र दुर्घटना भएको अवस्थामासमेत त्यसका चालक आरोपित व्यक्तिकोसमेत मृत्यु हुन सक्ने अवस्थामा ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुराको पूर्वजानकारी प्रतिवादीलाई भएको भन्ने मानी लापरवाहीपूर्वक सवारी चलाएको भनी अनुमान गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं.२)
मोटरसाइकल दुर्घटना हुनुमा प्रतिवादीले जानाजान लापरवाही गरी सवारी चलाएको भन्ने देखिँदैन । दुर्घटना भएको सवारी साधनको चालक भएको कारणलेमात्र निजको लापरवाही स्थापित हुन सक्दैन, स्वतन्त्र प्रमाणहरूबाट लापरवाही गरी सवारी चलाएको तथ्य पुष्टी हुनुपर्दछ । सवारी चलाउँदाका बखत पर्याप्त सावधानी अपनाए तापनि आकस्मिकरूपमा उत्पन्न भएको कुनै कारणबाट सवारी दुर्घटना हुन जान्छ भने त्यसलाई लापरवाही अथवा जानाजान गरिएको कार्य भनी नामकरण गर्नु उचित नदेखिने ।
(प्रकरण नं.२)
मोटरसाइकल दुर्घटना भई पैदलयात्रू तथा अन्य तेस्रो पक्षको मृत्यु हुन गएको नभई मोटरसाइकलमै सवार व्यक्तिको नै मृत्यु भएको प्रस्तुत दुर्घटनालाई पूर्वानुमानयोग्य लापरवाहीपूर्ण कार्य मान्न सकिँदैन । व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुने सवारी साधन मोटरसाइकल चलाउँदा अन्य सवारी साधन चलाउँदा जस्तो तेस्रो पक्षको ज्यान जान सक्ने जोखिम कम हुने हुँदा मोटरसाइकल दुर्घटना भई कायम हुन आएको वारदातलाई अन्य सवारी दुर्घटना भै उत्पन्न हुने परिणामसँग तुलना गर्नु उपयुक्त नदेखिने ।
(प्रकरण नं.३)
नागरिकको सेवा सुविधाका लागि सञ्चालन हुने सार्वजनिक सवारी साधन र व्यक्तिले नितान्तरूपमा आफ्नो व्यक्तिगत प्रयोजनको लागि चलाउने मोटरसाइकलको दुर्घटनाबाट उत्पन्न हुने जोखिम एकै प्रकृतिको हुन सक्दैन । सार्वजनिक सवारी दुर्घटना हुँदा सवारी साधनभित्र रहेका तथा सडक छेउमा रहेका धेरै मानिसहरूको ज्यान जाने जोखिम हुन्छ भने मोटरसाइकल दुर्घटनाबाट सीमित सङ्ख्यामा मानिस हताहत हुने सम्भावना रहन्छ । यसरी फरक किसिमका सवारी साधनको दुर्घटना हुँदा त्यसबाट उत्पन्न हुने जोखिम पनि सोहीअनुसार नै घटी बढी हुने हुँदा लापरवाहीको मापन पनि सोही अनुसार गर्नुपर्ने हुन्छ । सबै किसिमको सवारी दुर्घटनामा एउटै मापदण्ड अवलम्बन गरिनु न्यायोचित नदेखिने ।
(प्रकरण नं.३)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् सह-न्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२),(३)
सुरू तहमा फैसला गर्नेः
मा.जि.न्या. श्री बालचन्द्र शर्मा
पुनरावेदन तहमा फैसला गर्नेः
मा. न्या. श्री बमकुमार श्रेष्ठ
मा. न्या. श्री विदूरविक्रम थापा
फैसला
न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६७।१२।१५ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) बमोजिम नेपाल सरकारको तर्फबाट पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ ।
मकवानपुर जिल्ला पदमपोखरी गाउँ विकास समिति वडा नं. १ रातमाटेस्थित सडक किनारमा रहेको सालको रूखको बोक्रा उप्किएको, भुइँमा रगतको सुकेको टाटाहरू रहेको सोही स्थानमा बा. ३० प ४४८८ नं. को मोटरसाइकल दुर्घटना भै मोटरसाइकल चालक गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चन पछाडि बस्ने न्हुच्छेबहादुर शाही र बाबु भन्ने पञ्चराम मोक्तानसमेत घाइते भएको भनिएको घटनास्थल प्रकृति विवरण ठीक छ भन्नेसमेत व्यहोराको मिति २०६६।२।३० को घटनास्थल मुचुल्का ।
मिति २०६६।२।२९ गते अं. २१.०० बजेको समयमा गुञ्जन लामाले तीव्र गति र लापरवाहीपूर्ण तवरबाट चलाएको बा. ३० प ४४८८ नं. को मोटरसाइकल जिल्ला मकवानपुर पदमपोखरी-१ स्थित सडकको रूखमा ठक्कर खान गै दुर्घटना हुँदा मोटरसाइकल पछाडि बसेका मेरा भाइ सागर भन्ने न्हुच्छेबहादुर शाहीसमेत घाइते भै उपचारको क्रममा न्यूरो अस्पताल, बाँसबारी काठमाडौंमा मृत्यु भएको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको राजकुमार शाहीको मिति २०६६।४।१९ को जाहेरी दरखास्त ।
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३ बाँसबारीस्थित न्यूरो, अस्पतालको लास घरमा रहेको सागर भन्ने न्हुच्छेबहादुर शाहीको लासको टाउकामा टाँका लगाएको घाउ रहेको, घाँटीमा चिरिएको घाउ, कुमलगायतको शरीरको विभिन्न भागमा घाउ चोट रहेको भन्नेसमेत व्यहोराको सागर भन्ने न्हुच्छेबहादुर शाहीको लास प्रकृति मुचुल्का ।
मृतक न्हुच्छेबहादुर शाहीको टाउकामा लागेको चोटका कारण मृत्यु भएको भन्नेसमेत व्यहोराको पोस्टमार्टम प्रतिवेदन ।
मिति २०६६।२।२९ गते रातको अं. १०.०० बजेको समयमा वीरबहादुर लोप्चनले चलाएको ना.६प ११०० नं. को मोटरसाइकल मकवानपुर जिल्ला पदमपोखरी गाउँ विकास समिति वडा नं. १ स्थित सडकको छेउमा रहेको रूखमा ठक्कर खाई दुर्घटना भै मोटरसाइकलको पछाडि बसेका मेरा भाइ बाबु भन्ने पञ्चराम मोक्तानसमेत घाइते भै हेटौंडा अस्पताल र भरतपुर मेडिकल कलेजसमेतबाट उपचार हुन नसकी न्यूरो अस्पताल काठमाडौंमा ल्याई उपचार हुँदाहुँदै मृत्यु भएको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मिलन मोक्तानको जाहेरी दरखास्त ।
मृतक पञ्चराम मोक्तानको टाउकाको कपाल खौरिएको, आँखा निलो भएको, ओठ र नाक काटिएको, कुममा काटेको घाउ रहेको भन्नेसमेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का ।
टाउकाको चोटका कारण मृत्यु भएको भन्नेसमेत व्यहोराको पञ्चराम मोक्तानको लास पोस्टमार्टम रिपोर्ट ।
मिति २०६६।२।२९ गते रातको अं. २१.०० बजेको समयमा बाबु भन्ने पञ्चराम मोक्तानको बा. ३० प ४४८८ नं. को मोटरसाइकल मैले चलाई हेटौँडाबाट पदमपोखरी लिई गै रहेको अवस्थामा जिल्ला मकवानपुर पदमपोखरी गाउँ विकास समिति वडा नं. १ स्थित सडकमा पुग्दा पछाडि बसेका बाबु भन्ने पञ्चराम मोक्तान हल्लिएको हुँदा मोटरसाइकलको सन्तुलन बिग्री नियन्त्रण हुन नसकी मोटरसाइकल सडकको बायाँ छेउमा रहेको सालको रूखमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा रहेको बाबु भन्ने पञ्चराम मोक्तान, सागर भन्ने न्हुच्छेबहादुर शाही र मसमेत घाइते भै मेरो भरतपुर मेडिकल कलेजमा र अन्य दुईको उक्त अपस्तालमा उपचार हुन नसकी न्यूरो अस्पताल काठमाडौंमा लगिएकामा उपचार हुँदाहुँदै निजहरू दुवै जनाको मृत्यु भएको हो । मोटरसाइकल बाबु भन्ने पञ्चराम मोक्तानको हो, मलाई निजले नै मोटरसाइकल चलाउन दिएका हुन् । निजले सो मोटरसाइकल कहाँबाट को कससँग के कसरी ल्याएका हुन मलाई थाहा छैन । सो मोटरसाइकलको सवारीधनी दर्ता प्रमाणपत्र छैन । मैले सवारी चालक अनुमतिपत्र प्राप्त गरेको छु भन्नेसमेत व्यहोराको प्रतिवादी गुञ्जन भन्ने वीरबहादुर लोप्चनले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला मकवानपुर पदमपोखरी-१ स्थित मृतक बाबु भन्ने पञ्चराम मोक्तान तथा जाहेरवाला मिलन मोक्तानको घर गोठमा इन्जिन नम्बर डि.एच.जि.वि.जे.एफ. ५४५७९ र चेसिस नं.डि.एच.भि.डि.जे.एफ.५४७८४ प्याजी रंगको बा. ३० प ४४८८ नं. को पल्सर मोटरसाइकल बरामद भएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का ।
मिति २०६६।२।२९ गते वीरबहादुर लोप्चनसमेतले मादक पदार्थ सेवन गरी न्हुच्छेबहादुर शाहीलाई मोटरसाइकलको पछाडि राखी मोटरसाइकल गुञ्जन भन्ने वीरबहादुर लोप्चनले चलाई पदमपोखरीतर्फ जाँदै गर्दा प्रतिवादी गुञ्जन भन्ने वीरबहादुर लोप्चनले चलाएको मेरो भिनाजुसमेत ३ जना बसी गएको मोटरसाइकल दुर्घटना हुँदा भिनाजु घाइते भै उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत व्यहोराको सूर्यबहादुर लुङवाले गरेको कागज ।
दुर्घटना हुने बा. ३० प ४४८८ नं को मोटरसाइकल नै हो । तत्काल मलाई जानकारी नभएको कारण मैले ना.६प ११०० नं. को मोटरसाइकलबाट दुर्घटना भएको भनी जाहेरीमा उल्लेख गरेको हुँ । मृतक मेरो भाई बाबु भन्ने पञ्चराम मोक्तानको क्रिया खर्च क्षतिपूर्ति रकम आमाले चालक पक्षबाट बुझी लिइसक्नु भएको छ । सो मोटरसाइकल कहाँबाट को कससँग के कसरी ल्याएका हुन् मलाई थाहा छैन । मोटरसाइकलको कागजातहरू छैन भन्नेसमेत व्यहोराको जाहेरवाला मिलन मोक्तानले गरिदिएको कागज ।
मिति २०६६।२।२९ गते काम विशेषले पदमपोखरीबाट बा.३० प ४४८८ नं. को मोटरसाइकलमा निज पञ्चराम र वीरबहादुर तथा मेरो ना. ७ प. ७१६ नं. को मोटरसाइकलमा अनिल लामा र सूर्यबहादुर सिन्तान बसी हेटौंडातर्फ आई पञ्चराम बनस्पतिमा बसे । दुर्घटना भएको मोटरसाइकल वीरबहादुर लोप्चनले हाँकेको र सोको पछाडि न्हुच्छेबहादुर बसेका थिए । निजहरूको मोटरसाइकल मेरो मोटरसाइकलभन्दा अगाडि थियो । पदमपोखरी-१ स्थित सडकमा पुग्दा वीरबहादुर लोप्चनले चलाएको बा. ३०प ४४८८ नं. को मोटरसाइकल रूखमा ठक्कर खाई दुर्घटना भै वीरबहादुर र पछाडि बस्ने पञ्चराम र न्हुच्छेबहादुर तिनै जना तिनतिर भै लडी घाइते अवस्थामा देखी तत्काल हेटौंडा अस्पताल हुँदै भरतपुर लाँदा वीरबहादुरको सोही अस्पतालमा उपचार भएको तथा पञ्चराम र न्हुच्छेबहादुर त्यहाँ उपचार हुन नसकी काठमाडौं न्यूरो अस्पतालमा उपचार हुँदाहुँदै निजहरूको मृत्यु भएको हो । मोटरसाइकल पञ्चरामले कहाँबाट के कसरी ल्याएका हुन् थाहा छैन । मोटरसाइकलको दर्ता प्रमाणपत्र सवारीधनीलगायतको कागजातहरू छैन भन्नेसमेत व्यहोराको अनिल लामा र सूर्यबहादुर सिन्तानले गरीदिएको एकै मिलानको कागज ।
ना.६प ११०० नं.को मोटरसाइकल मेरो हो । उक्त मोटरसाइकल मैले कोही कसैलाई चलाउन दिएको छैन । मेरो मोटरसाइकल दुर्घटना भएको
होइन । पञ्चरामको बा.३०प ४४८८ नं. को मोटरसाइकल वीरबहादुरले चलाएको अवस्थामा दुर्घटना भएको हो भन्ने मसमेत व्यहोराको अमृत लामाको कागज ।
मेरो दाइ राजकुमार शाहीसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बा. ३० प. ४४८८ नं. को मोटरसाइकल चालक वीरबहादुर लोप्चन भएको सवारी ज्यान मुद्दामा मृतकहरू मध्येको सागर भन्ने न्हुन्छे बहादुर शाही मेरो भाइ भएको कारण तत्काल मेरो दाई राजकुमारले जाहेरी दरखास्त पेस गरी लास बुझेको हो । भाइको मृत्यु हुनुअगाडि औषधी उपचारमा लागेको खर्च रू. ८,२४,७५२।५०, मृत्युपश्चात् क्रिया खर्च र क्षतिपूर्ति रकमसमेत मोटरसाइकल चालक पक्षबाट हालसम्म नपाएको हुँदा बिल भरपाइअनुसार औषधी उपचार रकम र क्रिया खर्च तथा क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको डिलबहादुर शाहीको निवेदन ।
मिति २०६६।२।२९ गते रातको २१.०० बजेको समयमा गुञ्जन भन्ने वीरबहादुर लोप्चनले चलाएको हेटौडाबाट पदपोखरीतर्फ गै रहेको बा. ३० प ४४८८ नं. को मोटरसाइकल जिल्ला मकवानपुर पदमपोखरी १ स्थित सडकमा पुग्दा सडकको छेउमा रहेको रूखमा ठक्कर खाई दुर्घटना हुँदा चालक वीरबहादुर लोप्चन पछाडि बस्ने बाबु भन्ने पञ्चराम मोक्तान र न्हुच्छेबहादुरको उपचारको क्रममा मृत्यु भएको भन्नेसमेत व्यहोराको बुझिएको मानिसहरूको
कागज ।
सवारी चालक अनुमतिपत्र नभएका प्रतिवादी गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चनले क्षमताभन्दा बढी मानिस पछाडि राखी मोटरसाइकल चलाउँदा दुर्घटना भएको देखिँदा निजले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) अनुसारको कसुर गरेको पुष्टि भैरहेको हुँदा निज प्रतिवादीलाई सोही सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (२) अनुसार सजाय गरिपाउँ र मृतकमध्ये बाबु भन्ने पञ्चराम मोक्तानका नजिकका हकवालालाई क्रिया खर्च तथा क्षतिपूर्ति रकम बुझाएको देखिए तापनि सागर भन्ने न्हुच्छेबहादुर शाहीको उपचारसम्बन्धी कागजात पेससमेत हुन आएको देखिँदा निजका हकवालालाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ को उपदफा (१) को खण्ड (क) अनुसारको क्रिया खर्च तथा क्षतिपूर्ति रकम सोही दफा १६३ को उपदफा (३) नं.बमोजिम उपचारबापतको रू. ८,२४,७५२।५० क्षतिपूर्ति रकम प्रतिवादीबाट दिलाईभराई पाउँ भन्नेसमेत व्यहोराको अभियोग मागदाबी ।
मिति २०६६।२।२९ गते मेरो भाउजू काठमाडौंबाट हेटौंडा आउनुभएको हुँदा भाउजूलाई लिन आउँदा गाउँकै अनिल लामा र सूर्य सिन्तानसमेत पदमपोखरीकै बनस्पति चोकसम्म आए त्यहाँ बाबु भन्ने पञ्चराम मोक्तान रहेछन् । मैले निजको बा. ३० प ४४८८ नं. को मोटरसाइकल लिई हेटौंडा बसपार्क आई भाउजूलाई बसमा राखी घर पदमपोखरी पठाई म बसपार्कमा रहेको सेन्टर प्वाइन्ट भन्ने होटलमा फर्की जाँदा मृतक सागर भन्ने न्हुच्छे शाही र सूर्य सिन्तान गफ गरिरहेका रहेछन् । निजहरूको पहिलेदेखि नै चिनजान रहेछ । मैले निजलाई चिनेको थिइनँ । निजको पदमपोखरीमा आफ्नो मानिस रहेछन् र निजलाई फोन गरी पदमपोखरी बोलाएको हुँदा निजले म मोटरसाइकल चलाउँछु भनी बेलुका ८.१५ बजेको समयमा हेटौंडाबाट पदमपोखरी जाँदा पदमपोखरीको वनस्पति चोकमा पुग्दा पानी परेको र हामीले मोटरसाइकल रोकी केहीबेर त्यहाँ बसेपछि मृतक बाबु भन्ने पञ्चराम मोक्तानसमेत त्यहाँ भएको हुँदा मोटरसाइकल सागर भन्ने न्हुच्छेले चलाए, बिचमा बाबु भन्ने पञ्चराम मोक्तान बसे र म पछाडि बसी गएको अवस्थामा घटनास्थलमा पुगेपछि मोटरसाइकल सडकको छेउको रूखमा ठोक्किई हामी ३ जना नै घाइते भएकोमा उनीहरूको उपचारकै क्रममा मृत्यु भएको
हो । मोटरसाइल मृतक सागर भन्ने न्हुच्छेले चलाएको हुँदा मलाई अभियोग दाबीबमोजिम सजाय हुनु पर्ने होइन र क्रिया खर्च, क्षतिपूर्ति र औषधि उपचारसमेत मैले तिर्न बुझाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चनले सुरू मकवानपुर जिल्ला अदालतसमक्ष गरेको बयान ।
प्रतिवादी वीरबहादुर लोप्चनउपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (४) अनुसार हुने थप सजायको दाबी टाइपको क्रममा छुट हुन गएको हुँदा अभियोग खण्डको पाना (४) को २१ औं हरफको दफा १६१ को उपदफा (२) पछि "र (४)" थप गरिएको हुँदा जिल्ला अदालत नियमावली, २०५२ को नियम १७ अनुसार व्यहोरा सच्याई पाउन अनुरोध गरी जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरबाट च.नं. १३७ मिति २०६६।५।३१ मा जिल्ला अदालतलाई लेखेको पत्र ।
प्रतिवादीले सवारी चलाएका होइनन् मोटरसाइकलको पछाडि बसी गएका हुन् । मोटरसाइकल चलाउने मृतक सागर भन्ने न्हुच्छे शाही हुन् भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी भवनाथ दुलालले मकवानपुर जिल्ला अदालतमा गरेको
बकपत्र ।
प्रतिवादीसहित तीनजना मोटरसाइकलमा आएका थिए, मोटरसाइकल सागर शाहीले चलाएका थिए भन्नेसमेत व्यहोराको मौकामा बुझिएका अनिल लामाले सुरू मकवानपुर जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
मिति २०६६।२।२९ गते राति १० बजे हेटौंडा बजारबाट पदमपोखरी घरतर्फ जाँदा मोटरसाइकल सडकछेउको रूखमा ठोक्किई दुर्घटना भएको हो । मोटरसाइकलमा रहेका तिनैजना घाइते भै उपचारको क्रममा मेरो भाइ बाबु भन्ने पञ्चराम मोक्तान र सागर भन्ने न्हुच्छे शाहीको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला मिलन मोक्तानले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
मौकामा कागज गर्ने अनिल लामाको कागज व्यहोरा र निजले अदालतमा उपस्थित भई गरेको बकपत्र एक आपसमा बाझिएको हुनाले प्रमाणमा लिन मिलेन । मिसिल संलग्न अन्य सबुद प्रमाणबाट यी प्रतिवादीले सो मोटरसाइकल नचलाएको भन्ने देखिन आएन । प्रतिवादी गुञ्जन लामाले सवारीधनीको हैसियतबाट निजकी आमा याममायाँ लोप्चनको तर्फबाट क्रिया खर्च र क्षतिपूर्तिबापतको रू. ८५,०००।- मृतक बाबु लामाको हकदारलाई मिति २०६६।५।२६ मा बुझाउँदा चालक गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चनको प्रतिनिधि भनी बुझाइएको देखिएबाट सो मोटरसाइकल यिनै प्रतिवादी गुञ्जन लामाले चलाएको भन्ने कुरा पुष्टि हुन
आयो । प्रतिवादीले चालक अनुमति-पत्रबेगर नै सवारी चलाएकोबाट दुर्घटना भै सो मोटरसाइकलमा सवार सागर शाही र बाबु लामाको मृत्यु भएको देखिँदा प्रतिवादी गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चनले वादी दाबीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिमको कसुर गरेको देखिँदा निज प्रतिवादी गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चनलाई सोही ऐनबमोजिम कैद वर्ष २(दुई) हुने ठहर्छ । साथै चालक अनुमति पत्र भएको नदेखिएकाले यी प्रतिवादीलाई थप रू. २,०००।- जरिवानासमेत हुने ठहर्छ । तत्काल बहाल रहेको कानूनी व्यवस्थाबमोजिम यस्तो क्षतिपूर्ति दिलाई, भराई दिने अधिकार क्षेत्र अदालतको नभएकाले वादी दाबीको क्रिया खर्च र क्षतिपूर्ति प्राप्तिका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष कारवाही चलाउन वादी पक्षलाई जानकारी गराइदिनेसमेत ठहर्छ भनी सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०६७।१।१९ मा भएको फैसला ।
मैले अदालतसमक्ष बयान गर्दा अभियोग दाबीमा इन्कार रही बयान गरेको छु । मेरो इन्कारी बयान मिसिल संलग्न कागजातबाट पुष्टि भइरहेको छ । राजकुमार शाहीको जाहेरीका आधारमा ममाथि अभियोग लगाइएकोमा निज अदालतसमक्ष आई आफ्नो भनाइ पुष्टि गरेका छैनन् । एकाङ्गी जाहेरी दरखास्त मात्रै प्रमाण हुन नसक्नेमा सोही जाहेरीलाई आधार बनाई मलाई सजाय गर्न मिल्दैन । दुर्घटनाको पृष्ठभूमि एवम् प्रकृतिबाट उक्त दुर्घटना लापरवाहीको परिभाषाभित्र पर्दैन । दुर्घटनाको वास्तविकता हेर्ने हो भने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६७ को परिधिभित्र उक्त वारदात पर्ने देखिन्छ । मैले सवारी नचलाएको एवम् ममाथि सवारी चालकको अनुमतिपत्र नभएको दाबी नै नभएको अवस्थामा प्रचलित न्यायिक मान्यता विपरीत कायम भएको कसुर एवम् सजाय त्रुटिपूर्ण छ । अतः सुरू फैसला उल्टी गरी म विरूद्वको सम्पूर्ण आरोपबाट सफाइ दिलाई न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी गुञ्जन लामा भन्ने वीरबहादुर लोप्चनको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन-पत्र ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(४) को दाबी नै नलिएको कुरामा पनि पुनरावेदक प्रतिवादीलाई सजाय गर्ने गरेको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.ब. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७बमोजिम छलफलको लागि पुनरावेदनको प्रतिलिपिसहितको पेसीको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६७।८।२८ को आदेश ।
प्रतिवादी र मृतकसहितका तीनजना मानिस मोटर साइकलमा सवार भै गैरहेको अवस्थामा मोटरसाइकल दुर्घटना भै त्यसै मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको देखिँदा प्रतिवादीबाट भएको कसुर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को नदेखिई ऐ.ऐ. १६१(३) को
देखिन्छ । त्यस्तो अवस्थाको विद्यमानता रहेको प्रस्तुत मुद्दामा प्रतिवादी स्वयम् दुर्घटनाग्रस्त मोटरसाइकलमा सवार हुनु, मोटरसाइकलको गति अत्यधिक भएको नपाइनु, दुई जना सवार भएकामा बिचमा आएर अर्को व्यक्ति चढेको देखिनु, मोटरसाइकल ठोक्किएर दुर्घटना भएको पाइनु, प्रतिवादी पनि दुर्घटनाबाट स्वयम् पीडित भएको देखिनु, प्रतिवादीको उमेरसमेत विचारणीय भएको पाइनुसमेतका कारणले प्रतिवादीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सुरू जिल्ला अदालतले गरेको सजाय केही उल्टी भई ऐ. ऐनको दफा १६१(३) बमोजिम ३ महिना कैद र दुई हजार रूपैयाँ जरिवाना हुने र अरू कुराको हकमा सुरू फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६७।१२।१५ मा भएको फैसला ।
सवारीसम्बन्धी कानूनले निर्दिष्ट गरेअनुसार आचरण व्यवहार र सुरक्षात्मक उपाय अवलम्बन नगरी सवारी चालक अनुमतिपत्र बिना २ जना चढ्न मिल्ने सवारीमा ३ जना राखी चलाउनु स्वतः लापरवाही हुने हुन्छ । यस्तो अवस्थाको विद्यमानता रहेकामा सो तथ्य विचारणीय हुने अवस्थामा उल्लिखित तथ्यतर्फ विचार नगरी भएको फैसला त्रुटिपूर्ण छ । सम्भावित जोखिम विचार नै नगरी सवारी चलाउनु वास्तविक लापरवाही मानिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीसँग सवारी चालक अनुमतिपत्र छैन भने निजको लापरवाहीको कारण सवारीमा रहेका अन्य दुई जनाको ज्यान गएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर कायम हुने अवस्थामा सो विपरीत ऐ. ऐनको दफा १६१(३) को कसुर कायम गरी भएको फैसला ऐनको मनसाय तथा सर्वोच्च अदालतबाट नेपाल सरकार वि. विष्णुहरि महर्जनसमेत भएको (सर्वोच्च अदालत बुलेटिन वर्ष १८ अङ्क ९, २०६६ भदौ १-१५ पूर्णाङ्क ४११, पृष्ठ ३९) मुद्दामा प्रतिपादित सिद्धान्तविपरीत समेत रहेको हुँदा उल्लिखित आधार र कारणबाट त्रुटिपूर्ण रहेको उपरोक्त पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी गरी प्रतिवादीलाई सुरू अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन-पत्र ।
यसमा प्रतिवादी वीरबहादुर लोप्चनले सवारी चालक अनुमति-पत्र प्राप्त नगरी रातीको समयमा ३ जना चढी तीव्र गतिमा सवारी चलाई ज्यान मर्न गएको अवस्थामासमेत अभियोग दाबीअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसार सजाय नगरी दफा १६१(३) बमोजिम सजाय हुने ठहर गरी भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।१२।१५ को फैसला फरक पर्न सक्ने देखिँदा अ.ब. २०२ नं.बमोजिम विपक्षी झिकाउने गरी यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सह-न्यायाधिवक्ता श्री चन्द्रबहादुर सापकोटाले सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने प्रतिवादीको कार्य स्वतः लापरवाहीपूर्ण कार्य भएको हुँदा त्यस्तो अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(२) आकर्षित हुनेमा ऐ.ऐ. ऐनको दफा १६१(३) अनुसार सजाय गर्ने पुनरावेदन अदालत, हेटौंडाको फैसलामा न्यायिक मनको प्रयोग नभएको हुँदा उक्त फैसला उल्टी गरी अभियोग माग दाबीबमोजिम सजाय गरिनुपर्दछ भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो ।
विद्वान् सहन्यायाधिवक्ताको बहस जिकिर सुनी मिसिल संलग्न प्रमाण कागजहरू अध्ययन गरी निर्णयतर्फ विचार गर्दा सुरू फैसला केही उल्टी गरी निर्णय गर्ने पुनरावेदन अदालत, हेटौंडाको फैसला मिले नमिलेको सम्बन्धमा सवारी दुर्घटनामा प्रतिवादीको लापरवाही रहेको छ, छैन ? अभियोग लागेका प्रतिवादीको कसुर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसारको कसुर हो, होइन ? भन्ने प्रश्नहरूको निरूपण गरी निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा मिलन मोक्तान र राजकुमार शाहीको तर्फबाट परेको जाहेरी दरखास्तमा अनुसन्धान भै प्रतिवादी वीरबहादुर लोप्चन विरूद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र (४) अनुसारको अभियोग माग दाबीभएकोमा सुरू अदालतबाट दाबीअनुसार हुने गरी फैसला भएकोमा प्रतिवादीको तर्फबाट पुनरावेदन परी पुनरावेदन अदालतबाट उल्लिखित सुरू फैसला केही उल्टी हुने गरी फैसला भएको पाइन्छ । पुनरावेदन अदालतको उक्त फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परेको
देखिन्छ । दुर्घटना भएको मोटरसाइकलमा मृतक र आरोपित सबै सवार रहेकामा दुर्घटनाबाट उक्त मोटरसाइकल सवार व्यक्तिहरूको नै मृत्यु भएको देखिँदा दुर्घटनामा आरोपित प्रतिवादी वीरबहादुरको समेत मृत्यु हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिदैन । यसरी दुर्घटना हुनुपूर्व अनुमान गर्न नसकिने र दुर्घटना भएको अवस्थामासमेत त्यसका चालक आरोपित व्यक्तिको समेत मृत्यु हुन सक्ने अवस्थामा ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुराको पूर्व जानकारी प्रतिवादीलाई भएको भन्ने मानी लापरवाहीपूर्वक सवारी चलाएको भनी अनुमान गर्न मिल्ने देखिँदैन । प्रतिवादी वीरबहादुरले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा पञ्चराम मोक्तान हल्लिएको कारण मोटरसाइकलको सन्तुलन बिग्रन गै सडकको बायाँतर्फ सालको रूखमा ठक्कर खाई सवारी दुर्घटना भएको भन्ने व्यहोरा लेखाएकामा दुर्घटनास्थलको वस्तुस्थिति विचार गर्दा निजको बयान यथार्थपरक देखिँदा मोटरसाइकल दुर्घटना हुनुमा यी प्रतिवादीले जानाजान लापरवाही गरी सवारी चलाएको भन्ने देखिँदैन । दुर्घटना भएको सवारी साधनको चालक भएको कारणले मात्र निजको लापरवाही स्थापित हुन सक्दैन, स्वतन्त्र प्रमाणहरूवाट लापरवाही गरी सवारी चलाएको तथ्य पुष्टि
हुनुपर्दछ । सवारी चलाउँदाका बखत पर्याप्त सावधानी अपनाए तापनि आकस्मिकरूपमा उत्पन्न भएको कुनै कारणबाट सवारी दुर्घटना हुन जान्छ भने त्यसलाई लापरवाही अथवा जानाजान गरिएको कार्य भनी नामकरण गर्नु उचित देखिँदैन । मिसिल संलग्न कागजातबाट प्रतिवादी वीरबहादुरले मोटरसाइकल चलाउँदा पर्याप्त सावधानी अपनाउन खोजेपनि मोटरसाइकलमा सवार पञ्चरामको शरीर हल्लिएको कारण सवारी साधनको सन्तुलन बिग्रन गई हुन गएको दुर्घटनामा प्रतिवादीको लापरवाही रहेको भनी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गर्न मिल्ने देखिएन ।
३. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) मा रहेको कानूनी व्यवस्था हेर्दा उक्त दफामा "कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानी जानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई..." भन्ने व्यवस्था रहेको पाइन्छ । माथि उल्लिखित कानूनी व्यवस्था हेर्दा दफा १६१(२) अनुसारको कसुर हुन कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावनाका बाबजुद सवारी चालकले जानाजान लापरबाही गरी सवारी चलाएको भन्ने तथ्य स्थापित हुनु अवश्यक
देखिन्छ । दुर्घटना भएको सवारी साधन भाडाको सवारी नभई निजी सवारीको रूपमा रहेको दुइपाङ्ग्रे मोटरसाइकल भन्नेमा विवाद छैन । उक्त मोटरसाइकल दुर्घटना भई पैदलयात्रू तथा अन्य तेस्रो पक्षको मृत्यु हुन गएको नभई मोटरसाइकलमै सवार व्यक्तिको नै मृत्यु भएको प्रस्तुत दुर्घटनालाई पूर्वानुमानयोग्य लापरवाहीपूर्ण कार्य मान्न
सकिदैन । व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुने सवारी साधन मोटरसाइकल चलाउँदा अन्य सवारी साधन चलाउँदा जस्तो तेस्रो पक्षको ज्यान जान सक्ने जोखिम कम हुने हुँदा मोटरसाइकल दुर्घटना भई कायम हुन आएको वारदातलाई अन्य सवारी दुर्घटना भै उत्पन्न हुने परिणामसँग तुलना गर्नु उपयुक्त
देखिँदैन । नागरिकको सेवा सुविधाका लागि सञ्चालन हुने सार्वजनिक सवारी साधन र व्यक्तिले नितान्तरूपमा आफ्नो व्यक्तिगत प्रयोजनको लागि चलाउने मोटरसाइकलको दुर्घटनाबाट उत्पन्न हुने जोखिम एकै प्रकृतिको हुन सक्दैन । सार्वजनिक सवारी दुर्घटना हुँदा सवारी साधनभित्र रहेका तथा सडक छेउमा रहेका धेरै मानिसहरूको ज्यान जाने जोखिम हुन्छ भने मोटरसाइकल दुर्घटनाबाट सीमित सङ्ख्यामा मानिस हताहत हुने सम्भावना रहन्छ । यसरी फरक किसिमका सवारी साधनको दुर्घटना हुँदा त्यसबाट उत्पन्न हुने जोखिम पनि सोहीअनुसार नै घटी बढी हुने हुँदा लापरवाहीको मापन पनि सोही अनुसार गर्नुपर्ने हुन्छ । सबै किसिमको सवारी दुर्घटनामा एउटै मापदण्ड अवलम्बन गरिनु न्यायोचित देखिँदैन ।
४. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) मा "कसैको ज्यान मर्न सक्दछ भन्ने नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहेबसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । मिसिल संलग्न तथ्य प्रमाणहरूबाट प्रतिवादीले मोटरसाइकल चलाउँदाका बखत कसैको ज्यान मर्न सक्ने अवस्था नदेखिएकामा अकस्मात भएको सवारी दुर्घटनाबाट मानिसको मृत्यु भई कायम हुन आएको वारदातमा माथि उल्लिखित कानूनी व्यवस्थाअनुसारको कसुर कायम हुने देखिदा जानाजान लापरवाही गरी सवारी चलाएको भन्ने तथ्य स्थापित नै हुन नसकेको प्रस्तुत मुद्दामा प्रतिवादी वीरबहादुरको कार्यलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) अनुसारको कसुर मान्न मिल्ने देखिएन ।
५. नेपाल सरकारविरूद्ध विष्णुहरि महर्जनसमेत भएको सवारी ज्यान मुद्दामा बाटो हिँड्ने यात्रूलाई ठक्कर दिई ज्यान मर्न गएको विषयवस्तु समावेश भएको तर यस मुद्दामा मोटरसाइकल दुर्घटना भै सोही मोटरसाइकलमा सवार अन्य व्यक्तिहरूको मृत्यु भएको देखिन्छ । यसरी घटना पारिस्थिति एकै नभै फरक भएको अवस्थामा फरक परिस्थिति र अवस्थाको विवेचना भै प्रतिपादित कानूनी सिद्धान्त यस मुद्दामा प्रयोग गरिनु उपयुक्त र न्यायोचित
देखिँदैन । समान तथ्य र परिस्थितिमा न्यायिक एकरूपताको लागि प्रयोग हुने नजिरलाई असमान तथ्य र परिस्थिति रहेको प्रस्तुत मुद्दामा अबलम्बन गर्न मिल्ने देखिएन ।
६. प्रस्तुत मुद्दाका आरोपित प्रतिवादीले सवारी चालक अनुमति पत्र प्राप्त नगरेको भए तापनि निजले तीव्र गतिमा सवारी चलाएको प्रमाणित हुन नसकेको र घटनाबाट पीडित तेस्रो पक्ष नभई स्वयम् उक्त मोटरसाइकलमा सवार व्यक्तिहरू नै रहेको अवस्थामा पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने भनी मिति २०७०।१२।११ मा यस अदालतबाट विपक्षी झिकाउने गरी भएको आदेशसँग सहमत हुन सकिएन ।
७. तसर्थ माथि विभिन्न प्रकरणहरूमा विवेचित आधार र कारणसमेतबाट सुरू फैसला केही उल्टी गर्दै प्रतिवादी वीरबहादुर लोप्चनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) अनुसार ३ महिना कैद र रू. २०००।- जरिवाना हुने गरी भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।१२।१५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इजलास अधिकृतः चन्द्रप्रकाश तिवारी
इति संवत् २०७२ साल जेठ १८ गते रोज ५ शुभम् ।