निर्णय नं. ९४६० - मोही नामसारी

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७१।८।१९।६
०६८-CI-११३६
मुद्दा : मोही नामसारी
पुनरावेदक/प्रतिवादी : जिल्ला बारा, गा.वि.स. अमरपट्टी वडा नं. ८ बस्ने लक्ष्मी राउत अहिर
विरूद्ध
प्रत्यर्थी/वादी : जिल्ला बारा, गा.वि.स. अमरपट्टी वडा नं. २ बस्ने तेतरी कनुईन
मोही लागेको जग्गाको लगत र विवरण अद्यावधिक राख्ने आधिकारिक निकाय भूमिसुधार कार्यालय हो । भूमिसुधार कार्यालयको रेकर्डमा नै मोही लगत कट्टा भएको भन्ने कुरा नदेखिएको अवस्थामा त्यस्तो मोहीको लगत कट्टा भई सकेको भनी अदालतले अनुमान गर्न नमिल्ने ।
(प्रकरण नं. ३)
प्रत्यर्थीको पतिको मोही लगत कट्टा भइसकेको भन्ने जिकिर लिने पुनरावेदक प्रतिवादीले नै सो कुराको तथ्ययुक्त प्रमाण पेस गरी आफ्नो दाबी पुष्टि गराउनु पर्ने
हुन्छ । मोहीको लगत कट्टा गर्ने अधिकारप्राप्त निकाय भूमिसुधार कार्यालय भएको सन्दर्भमा मालपोत कार्यालयको स्रेस्तामा मोहीको लगत कट्टा भएको कैफियत जनिएको भन्ने मात्र जिकिरले मोही लगत कट्टा भएको मान्न मिल्ने नहुने ।
(प्रकरण नं. ४)
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता मनमोहन तिमिल्सिना
प्रत्यर्थी/वादीका तर्फबाट :
सुरू फैसला गर्ने भूमिसुधार अधिकार :
श्री पुष्कलकुमार थापा
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री बमकुमार श्रेष्ठ
मा.न्या. श्री सारंगा सुवेदी
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।७।६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः-
जिल्ला बारा, गा.वि.स. अमरपट्टी वडा नं. १ कि.नं. १७८ ज.वि. २-४-० को साबिक जग्गाधनी रामादेवी (गुरागाई) उपाध्याय र मेरो पति भोथी साह कानु दर्तावाला मोही भई जग्गा जोती कमाई मोहीको दायित्व पुरा गर्दै आउनु भएको थियो । उक्त कि.नं. १७८ को ज.वि. २-४-० मध्ये ज.वि. १-०-० जग्गा साबिक जग्गाधनी रामादेवीले अमिन मियाँलाई बिक्री गर्नु हुँदा उक्त कि.नं. १७८ कि.का. भई कि.नं. २०८ मा ज.वि. १-०-० र कि.नं. २०९ मा ज.वि.
१-४-० कायम भै कि.नं. २०८ को ज.वि. १-०-० अमिन मियाँको नाउँमा कायम भएको थियो । अमिन मियाँको मृत्युपछि निजका छोराहरू संसुदिन मियाँ धुनिया र सर्फुदिन मियाँ धुनियाले संयुक्तरूपमा नामसारी गराई लक्ष्मी राउत अहिरलाई बिक्री गरी दिनुभएको हुँदा हाल जग्गाधनी लक्ष्मी राउत
हुनुहुन्छ । मोही मेरा पति भोथी साह कानु २०३५ सालमा आफ्नो कालगतिले परलोक हुनु भएको र मोहीको हकदारहरू छोरा हरिशचन्द्र साह कानु, हरिहर साह कानु र पत्नी म तेतरी कनुईनले सो जग्गा जोती कमाई मोहीको दायित्व पुरा गरी आएका छौं । मोहीको जग्गा कि.का. भै अलगअलग व्यक्ति जग्गाधनी भए पनि मोहीयानी हकमा कुनै असर नपर्ने हुँदा साबिक कि.नं. १७८ कित्ताकाट भई कायमी कि.न. २०८ को ज.वि. १-०-० जग्गाको मोहीयानी हक छोरा हरिहर साह कानु र हरिशचन्द्र साह कानुको मन्जुरीनामाअनुसार मेरा नाउँमा मोही नामसारी गरी मोहीयानी हकको प्रमाणपत्र पाउँ भन्नेसमेत व्यहोराको वादी तेतरी कनुईनको मिति २०६६।३।३० को निवेदन पत्र ।
साबिक कि.नं. १७८ को जग्गा कि.का. भई कायम कि.नं. २०८ को ज.वि. १-०-० जग्गा अमिन मियाँकै पालामा भोथी साहले मोहीयानीबापत घरसारमै नगदै लिई जग्गा जोत्न असमर्थता देखाई भूमिसुधार कार्यालय, बारामा निवेदन दिनु भएको हुँदा भोथी साहको मोही लगत कट्टा हुने गरी मिति २०३२।११।४ मा निर्णय भै जग्गाधनी स्रेस्ता पुर्जाको मोही महलबाट निज भोथी साहको नाम कट्टा भइसकेको छ । सोही मितिदेखि साबिक जग्गाधनी अमिन मियाँले नै जग्गा आवाद गरी आउनु भएको थियो । अमिन मियाको शेषपछि निजका छोरा संसुदिनले आफ्ना नाममा नामसारी गराई भोग गरी आउनु भएकामा मिति २०५३।१२।७ मा निज संसुदिनबाट मैले खरिद गरी लिएको हुँ । मैले खरिद गर्दा जग्गाधनी स्रेस्ता पुर्जाको मोही महल खाली रहेको थियो । खरिद गरेका मितिदेखि म आफैँले जोत भोग गरी आएको छु । विपक्षीका पतिका नामको मोही लगत कट्टा भैसकेको हुँदा दाबीबमोजिम मोही नामसारी हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मी राउत अहिरको मिति २०६६।७।१६ को प्रतिउत्तरपत्र ।
वादीले आफ्नो उजुरी निवेदनसाथ कुनै सालको कुतवाली बुझाएको प्रमाण पेस गर्न नसकेको, गा.वि.स. अमरपट्टिबाट दाबीको जग्गा जग्गाधनीकै जोतभोगमा रहेको भनी उल्लेख गरी च.नं. ३७ मिति २०६६।७।१९ को पत्रद्वारा लेखी आएको तथा मालपोत कार्यालय, बाराबाट दर्ता उतार बुझ्दा गा.वि.स. अमरपट्टि वडा नं. १ कि.नं. २०८ को ज.वि. १-०-० जग्गाको मोही भोथी साह कानुको नाम मिति २०३२।११।४ को निर्णयले कट्टा भएको भनी उल्लेख भै आएको देखिँदा दाबीको जग्गाको मोही कट्टा भैसकेको र जग्गा जग्गाधनीकै जोतभोगमा रहेको देखिँदा वादी दाबी पुग्न नसकी खारेज हुने ठहर्छ भन्ने भूमिसुधार कार्यालय, बाराबाट मिति २०६६।११।१२ मा भएको फैसला ।
जग्गा मैले कमाई आएको छु, जग्गाधनीले होइन । कुतमा कहिल्यै विवाद भएको छैन । कुत निरन्तर बुझाएको छु । दाबीको जग्गाको मोही मेरो पति भोथी साह रहेकामा विवाद छैन । निजको मोहीयानी हकको लगत कट्टा भएको छैन । निजको मृत्यु भएपछि मेरो नाउँमा मोही नामसारी गर्न भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले मिल्छ । मेरो नाउँमा मोहीयानी हक नामसारी गर्नु पर्नेमा नगरी भएको फैसलामा मुलुकी ऐन अ.बं १८४क, अ.बं. १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ३ तथा दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशको त्रुटि हुँदा सुरू भूमिसुधार कार्यालय, बाराको फैसला बदर गरी मेरो फिराद दाबीबमोजिम मोही नामसारी हुने गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको वादी तेतरी कनुईनको पुनरावेदन हेटौंडामा परेको पुनरावेदनपत्र ।
मोही नामसारी गरिपाउँ भनी पुनरावेदिका तेतरी कनुईनको भूमिसुधार कार्यालय, बारामा दिएको निवेदनको पीठ भागमा कि.नं. १७८ को जग्गाको मोही लगत भोथी साह कानुको नाम कायम रहेको देखिएको भनी मिति २०६६।१०।२८ मा मोही लगत फाँटबाट र मोही लगत कट्टा भएको मिति २०३२।११।४ को मिसिल फेला नपरेको भनी तामेली फाँटले उल्लेख गरेको अवस्था देखिएकामा वादी दाबी पुग्न नसक्ने गरी भूमिसुधार कार्यालय, बाराले मिति २०६६।११।१२ गरेको निर्णय प्रमाण मूल्याङ्कनको सन्दर्भबाट फरक पर्न सक्ने देखिएकाले मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका निमित्त प्रत्यर्थी प्रतिवादीलाई झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०६७।१२।२५ मा भएको आदेश ।
विवादित जग्गामा वादीका पति भोथी साहको नाउँमा कायम रहेको मोहीयानी हक रितपूर्वक समाप्त भै मोही लगत कट्टा भएको भन्ने अवस्था नदेखिएकाले सुरू फैसला उल्टी भै वादी दाबीबमोजिम कि.नं. २०८ को जग्गामा वादीको पति भोथी साहको नाममा कायम रहेको मोहीयानी हक वादीको नाममा नामसारी हुने ठहर्छ भन्ने मिति २०६८।७।६ को पुनरावेदन अदालत, हेटौंडाको फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त
बुझेन । भूमिसुधार कार्यालय, बाराको मिति २०३२।११।४ को निर्णयबाट भोथी साहको मोही लगत कट्टा भइसकेको तथ्य मोठ स्रेस्ताको कागजबाट प्रष्ट भएको छ । मिति २०३२।११।४ मा मोही लगत कट्टा भएपछि मोहीले जोतभोग गरेका छैनन् । मालपोत कार्यालय, बाराको पत्रबाट पनि मोही लगत कट्टा भएको भन्ने देखिएको अवस्थामा २०३२ साल पूर्वको लिखतलाई आधार लिई मोही नामसारी हुने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी सुरू भूमिसुधार कार्यालयको निर्णय सदर गरिपाउँ भन्ने प्रतिवादीको यस अदालतमा परेको
पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचिमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री मनमोहन तिमिल्सिनाले कि.नं. २०८ को जग्गाको मोहीले साबिक जग्गाधनी अमिन मियाँकै पालामा जग्गा जोत्न नसक्ने भनी भूमिसुधार कार्यालय, बारामा निवेदन दिई मोही लगत कट्टा हुने गरी मिति २०३२।११।४ मा निर्णय भै उक्त निर्णयअनुसार जग्गाधनी स्रेस्ता पुर्जामा मोही महलबाट नाम कट्टा भइसकेको छ । भूमिसुधार कार्यालयको पत्रअनुसार मालपोत कार्यालयले मोठ स्रेस्तामा मोही लगत कट्टा भएको कैफियत खुलाउने हो । निर्णय गर्ने कार्यालयले लगत कट्टासम्बन्धी मिसिल फेला नपरेको भन्ने आधारमा सरकारी स्रेस्तामा जनिएको कुरालाई अन्यथा भन्न मिल्दैन । एकपटक रितपूर्वक लगत कट्टा भई सकेको मोही पुनः कायम हुन नसक्नेमा मोहीको पत्नीको नाममा नामसारी हुने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टी हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उक्त बहससमेतलाई सुनी प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजहरू अध्ययन गरी पुनरावेदन अदालत, हेटौंडाबाट सुरू भूमिसुधार कार्यालयको निर्णय उल्टी गरी कि.नं. २०८ को जग्गामा वादीका पतिको नाममा कायम रहेको मोहीयानी हक वादीको नाममा नामसारी हुने ठहराएको फैसला मिलेको छ वा छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा साबिक कि.नं. १७८ को ज.बि. २-४-० जग्गाको मोही पति भोथी साह कानु भएकामा सो जग्गामध्ये ज.वि. १-०-० साबिक जग्गाधनी रामादेवीले अमिन मियाँलाई बिक्री गर्दा कि.नं. २०८ कायम भएको र अमिन मियाँको मृत्युपछि निजका छोराहरूले हालको जग्गाधनी प्रतिवादी लक्ष्मी राउतलाई कि.नं. २०८ को जग्गा बिक्री गरेकामा पति भोथी साहको २०३५ सालमा मृत्यु भएपछि मोहीका हकदारहरूले जग्गा कमाई आएकाले साबिक कि.नं. १७८ कित्ताकाट भई कायम भएको कि.नं. २०८ को जग्गा आफ्नो नाममा मोही नामसारी गरिपाउँ भन्ने वादीको दाबी रहेको देखिन्छ । प्रतिवादी लक्ष्मी राउतको प्रतिउत्तरपत्रमा कि.नं. २०८ को साबिक जग्गाधनी अमिन मियाँकै पालामा मोही भोथी साहले मोहीयानी बापत घरसारमै नगदै लिई भूमिसुधार कार्यालयमा निवेदन दिई मोही लगत कट्टा हुने गरी मिति २०३२।११।४ मा निर्णय भई जग्गाधनी स्रेस्ता पुर्जाको मोही महलबाट भोथी साहको नाम कट्टा भइसकेको र उक्त जग्गा साबिक जग्गाधनीले एवम् आफूले खरिद गरेपछि आफूले नै कमाई आएकाले लगत कट्टा भइसकेको मोही नामसारी हुनुपर्ने होइन भन्ने जिकिर रहेको पाइन्छ । सुरू भूमिसुधार कार्यालय, बाराले मोही नामसारीको दाबी पुग्न नसक्ने ठहराएको निर्णय पुनरावेदन अदालत, हेटौंडाबाट उल्टी भै वादी दाबीबमोजिम साबिक मोहीको पत्नी यी वादी तेतरी कनुईनको नाममा मोही नामसारी हुने ठहराएको फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ ।
३. वादीले दाबी लिएको कि.नं. २०८ को ज.वि. १-०-० को जग्गा साबिक कि.नं. १७८ को ज.वि. २-४-० बाट कित्ताकाट भई आएको र उक्त साबिक कि.नं.१७८ को साबिक जग्गाधनी रामादेवी उपाध्याय र मोही भोथी साह कानु भएको भन्ने कुरा मिसिल संलग्न कागजातहरूबाट देखिएको छ । यस तथ्यमा वादी प्रतिवादीबिच कुनै विवाद रहेको पाइँदैन । साबिक जग्गाधनीले कि.नं. १७८ बाट कित्ताकाट गराई कि.नं. २०८ कायम भएको जग्गा अमिन मियाँलाई बिक्री गरी अमिन मियाँको मृत्युपछि निजका हकदारले यी पुनरावेदक लक्ष्मी राउतलाई बिक्री गरेको देखिन आउँछ । पुनरावेदक प्रतिवादीले प्रतिउत्तरपत्रमा र यस अदालतमा पुनरावेदन गर्दा पनि आफूले अमिन मियाँका छोराहरूबाट कि.नं. २०८ को जग्गा राजीनामा गरी लिएको र अमिन मियाँकै पालामा मिति २०३२।११।४ को भूमिसुधार कार्यालयको निर्णयले मोही लगत कट्टा भई सकेकाले साबिक जग्गाधनीकै पालामा लगत कट्टा भई सकेको मोहीको हकदार पत्नीको नाममा नामसारी हुन नसक्ने भनी जिकिर लिएको पाइन्छ । तर पुनरावेदकले प्रतिउत्तरपत्र साथ वा पुनरावेदन साथ भूमिसुधार कार्यालय, बाराबाट सो मिति २०३२।११।४ मा भएको निर्णयको प्रतिलिपि वा उक्त जग्गाको मोहीको लगत कट्टा भएको पुष्टि हुने कुनै पनि प्रमाण पेस गर्न सकेको पाइँदैन । त्यसका अतिरिक्त प्रत्यर्थी तेतरी कनुईनले भूमिसुधार कार्यालयमा दिएको फिरादपत्रको पीठमा कि.नं. १७८ को ज.वि. २-४-० जग्गाको मोहीको १ नं. लगत र मोही प्रमाणपत्र भोथी साहका नाममा कायम रहेको र मिति २०३२।११।४ मा मोही लगत कट्टा हुने गरेको मिसिल फेला नपरेको भन्ने व्यहोरा भूमिसुधार कार्यालयको सम्बन्धित फाँटबाट जनिएको देखिन्छ । मोही लागेको जग्गाको लगत र विवरण अद्यावधिक राख्ने आधिकारिक निकाय भूमिसुधार कार्यालय हो । भूमिसुधार कार्यालयको रेकर्डमा नै मोही लगत कट्टा भएको भन्ने कुरा नदेखिएको अवस्थामा त्यस्तो मोहीको लगत कट्टा भई सकेको भनी अदालतले अनुमान गर्न मिल्ने हुँदैन ।
४. वस्तुतः यी प्रत्यर्थीको पतिको मोही लगत कट्टा भइसकेको भन्ने जिकिर लिने पुनरावेदक प्रतिवादीले नै सो कुराको तथ्ययुक्त प्रमाण पेस गरी आफ्नो दाबी पुष्टि गराउनु पर्ने हुन्छ । मोहीको लगत कट्टा गर्ने अधिकारप्राप्त निकाय भूमिसुधार कार्यालय भएको सन्दर्भमा मालपोत कार्यालयको स्रेस्तामा मोहीको लगत कट्टा भएको कैफियत जनिएको भन्नेमात्र जिकिरले मोही लगत कट्टा भएको मान्न मिल्ने
हुँदैन । त्यसका अतिरिक्त मालपोत कार्यालयको स्रेस्तामा भूमिसुधार कार्यालयको के कुन मितिको निर्णय र के कुन मिति र च.नं. को पत्रको आधारमा लगत कट्टा भएको हो भन्ने उल्लेख नभई केवल २०३२।११।४ को निर्णयले मोही लगत कट्टा भएको भन्नेसम्म उल्लेख भएको तर भूमिसुधार कार्यालयबाट उक्त मिति २०३२।११।४ मा त्यस्तो कुनै निर्णय भएको मिसिल वा निर्णयको प्रतिलिपिको अस्तित्व कहिँकतैबाट नदेखिएको एवम् भूमिसुधार कार्यालयको स्रेस्तामा मोही कायमै रहेको अवस्थामा कानूनबमोजिम कायम भएको मोहीको लगत कट्टा भइसकेको मान्न मिल्ने हुँदैन ।
५. प्रमाण ऐन, २०३१ को दफा २८ मा “कुनै खास कुरा प्रमाणित गर्ने भार कुनै खास व्यक्तिको हुनेछ भनी कुनै नेपाल कानूनमा व्यवस्था भएकामा बाहेक त्यस्तो कुरा प्रमाणित गर्ने भार सो कुराको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन चाहने व्यक्तिमाथि नै हुनेछ” भन्ने व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थाअनुसार मिति २०३२।११।४ मा मोही लगत कट्टा भइसकेको भन्ने दाबी लिने पक्षले उक्त कुराको तथ्यको अस्तित्वमा अदालतलाई विश्वास दिलाउन सो निर्णय नै पेस गरी आफ्नो दाबी स्थापित गर्नुपर्ने
हुन्छ । तर पुनरावेदक पक्षबाट त्यस्तो कुनै निर्णय पेस गरी आफ्नो दाबीलाई निर्विवादरूपमा स्थापित गर्न सकेको पाइएन । यस अवस्थामा प्रत्यर्थीको पति भोथी साह कानुको उक्त कि.नं. २०८ को जग्गाबाट मोही लगत कट्टा भइसकेको मान्न मिल्ने भएन ।
६. उल्लिखित आधार एवम् कारणसमेतबाट कि.नं. १७८ को जग्गाबाट कित्ताकाट भई कायम भएको प्रतिवादी लक्ष्मी राउत अहिरको नाममा दर्ता रहेको कि.नं. २०८ को ज.वि. १-०-० जग्गामा प्रत्यर्थी वादीका पति भोथी साहको नामको मोही हक कायम नै रहेको देखिएकाले भोथी साहकी पत्नी प्रत्यर्थी वादी तेतरी कनुईनको नाममा मोही नामसारी हुने ठहराएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।७।६ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
प्र.न्या.रामकुमार प्रसाद शाह
इजलास अधिकृत : विश्वनाथ भट्टराई
इति संवत् २०७१ साल मङ्सिर १९ गते रोज ६ शुभम् ।