शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२८६ - लेनदेन

भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक:

निर्णय नं. ४२८६     ने.का.प. २०४८      अङ्क ५

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०४४ सालको दे.पु.नं. ५४०, ५४१

फैसला भएको मिति : २०४८।२।१३।२ मा

पुनरावेदक/प्रतिवादी: का.न.पं. वार्ड नं. २३ बस्ने भरतलाल श्रेष्ठसमेत

विरुद्ध

विपक्षी/वादी: नेपाल बैंक लिमिटेड काठमाडौं तर्फबाट मुख्य प्रबन्धक विश्वम्भरमान सिंह

मुद्दा : लेनदेन

(१)    साहु आसामी भई कर्जा लिएको शुरु (साविक पेज नं. १८१) लिखत कम्पनीको खर्च चलाउन र व्यापार गर्न भनी लिएको देखिन्छ त्यस्तो कम्पनीको खर्च चलाउन र व्यापार गर्नको लागि भनी लिएको कर्जा सम्बन्धी तमसुक लिखत लेनदेन व्यवहारको २ नं. अन्तर्गत पर्दैन भन्न नमिल्ने ।

(प्रकरण नं. १४)

(२)   लेनदेन व्यवहारको २ नं. अन्तर्गत नपर्ने व्यापारिक कारोबारको लिखतको हकमा मात्र सोही लेनदेन व्यवहारको ४० नं. को म्याद २ वर्ष भित्र नालेश दिनु पर्ने ।

(प्रकरण नं. १४)

(३)   धनजमानीको सम्बन्ध यिनै प्रतिवादी नेर्टिम आर्टस ट्रेडिङले कर्जा लिएको विषयसंग सम्बन्धित देखिएको र उक्त धनजमानीको लिखतबाट पार्टीले नबुझाई असूल उपर नभए मेरो घर घरानाबाट असूल गर्नु भन्ने भएकोले रकम असूल गर्ने सम्बन्धित विषय अलग्गै देखिई एक अर्कासंग जोडिएको एकै विषय देखिने ।

(प्रकरण नं. १६)

(४)   कर्जा चुक्ता गर्नु अगावै व्याजको दर थपघट भएमा सो थपघट भएको दरले ब्याज तिर्छु भनी प्रतिवादीहरुले मञ्जूर गरी कर्जा लिई लिखत गरेकोले १६।५० को दरले ब्याज भराएको मिलेको छैन भन्न मिल्ने समेत नदेखिने ।

(प्रकरण नं. १७)

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।१२।१२ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि पर्न आएको प्रतिवादीहरुको निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    नेटिम आर्टस ट्रेडिङ प्रा.लि.को तर्फबाट भरतलाल श्रेष्ठले डकुमेन्टहरु पेश गरी यस नेपाल बैंक लिमिटेड काठमाडौं अफिसको ए.बि.सी. हिसाब अन्तर्गत कर्जा नं. ४४।५५ बाट रु. २९,३०० व्यापार गर्नको लागि भन्ने जनाई लिनु भई ३ महीना लाग्ने ब्याज समेत चुक्ता गरी लिनु होला । उक्त म्यादभित्र डकुमेन्टको रकम असूल उपर गरी हामीले लिएको कर्जामा जम्मा गरी बैंकको साँवा ब्याज चुक्ता गरी लिनु होला । उक्त म्याद भित्र डकुमेन्टको रकम असूल उपर नभई रहन गएमा यस कम्पनी समेतको चल अचल जायजेथाबाट असूल उपर गरी लिनु भनी मिति २०३८।३।२५ मा तमसुक गरी लिनु भएकोमा ती डकुमेन्टको भुक्तानिको लागि मेलवर्न अष्ट्रेलिया रवि क्लोरियड फेक्ट्री ए.एन.जे. बैंक अष्ट्रेलियासंग सम्पर्क गर्दा अप्रिल १९८२ को पत्रद्वारा भुक्तानी हुन नसक्ने भनी पत्र साथ जवाफ प्राप्त भएको र केलेक्सन भुक्तान नभएकोले साँवा तथा ब्याजहरु बुझाउन आउनु भनी बैंकबाट पत्र लेखी पठाउँदा समेत बैंकको कर्जा बुझाउने कुनै प्रयास नगरेकोले निज नेटिम आर्टस समेतका भरतलाल श्रेष्ठलाई साँवा रु. २९,३००।को लिखत मिति २०३८।३।२५ गते देखि मिति २०४१।४।३२ गते तकको ३ वर्ष १ महीना ७ दिनको बैंक नियमानुसार (साविक पेज नं. १८२) सयकडा १६।५० का दरले लाग्ने व्याज रु. १४२३१।३७ समेत जम्मा साँवा ब्याज रु. ४३,५३१।३७ र सो साँवाको यो फिराद दर्ता भएको मिति देखि बिगो भरि भराउ हुने दिन तकको सयकडा १६।५० का दरले लाग्ने ब्याज समेत नेटिम आर्टसको र भरतलाल श्रेष्ठ समेतको हकभोग चलनमा रहेको चल अचल जायजेथाबाट बैंकको थैली असूल उपर गराई पाउँ भन्ने समेत नेपाल बैंक लिमिटेडबाट मिति २०४१।५।६।४ मा गरेको फिराद ।

३.    प्रतिवादी नेटिम आर्टस ट्रेडिङ प्रा.लि. र भरतलाल श्रेष्ठका नाउँमा मिति ०४१।७।२।५ मा तामेल भएको म्याद गुजारी बसेका रहेछन् ।

४.    प्रतिवादीहरुले शुरु म्याद गुजारी प्रतिवाद नगरी बसेको समेतबाट वादी दावी बमोजिम साँवा ब्याज रकम प्रतिवादीबाट र प्रतिवादीबाट असूल उपर नभए धनजमानी बस्नेबाट वादीले भरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतबाट २०४१।१२।१८।१ मा भएको फैसला ।

५.    शुरु म्याद गुजारी बसेका प्रतिवादीहरुले श्री ५ महाराजाधिराजको विशेष जाहेरी विभागबाट थमाई ल्याई सूचना टाँस भएको मितिले १५ दिन भित्र प्रतिउत्तरपत्र लिई उपस्थित भएकोमा मिति २०४१।१२।१८।१ मा एकतर्फी फैसला भइसकेकोले उक्त फैसलामा चित्त नबुझी मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्न जानु भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतबाट २०४१।१२।२३।६ मा भएको आदेश ।

६.    प्रस्तुत फिराद नेपाल बैंक लिमिटेड काठमाडौं अफिसका मुख्य प्रबन्धक भनी दायर भएको छ । नेपाल बैंक लिमिटेड वाणिज्य बैंक ऐनको दफा ३ द्वारा संस्थापित कम्पनी हुँदा यसको विधिवत संचालक समितिले गर्दछ सञ्चालक समितिको अख्तियारी बेगर मुद्दा दायर गर्ने अधिकार नभएकोले यो फिराद अ.बं. ८२ नं. को विपरीत छ । मिति २०३८।३।२५ को लिखतमा मुद्दा गर्नु परे लेनदेन व्यवहारको ४० नं. ले २ वर्ष भित्र फिराद गर्नु पर्नेमा मिति २०४१।५।६ मा नालिश दर्ता भएकाले हदम्याद नाघी दर्ता भएको छ । नेटिम आर्टस प्रा.लि. कम्पनी ऐनद्वारा संस्थापित बेग्लै कानुनी व्यक्तित्व प्राप्त व्यक्ति हो यसको मञ्जूरी बेगर लिएको ऋण यसले बेहोर्ने प्रश्न नै उठ्दैन भरतलाल श्रेष्ठलाई ऋण लिने अख्तियारी दिएको नहुँदा फिराद दावी झुठ्ठा छ । शुरुको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको नेटिम आर्टस ट्रेडिड्ड प्रा.लि.का तर्फबाट मेनेजिङ डाइरेक्टर जमुनादेवी श्रेष्ठले म.क्षे.अ.मा दिएको पुनरावेदनपत्र ।

७.    एउटा नेपाली व्यापारीले अष्ट्रेलियाको रविक्लोथिङ फ्याक्ट्रीलाई अमेरिकी डलर ८१०७।१० को सामान पठाई त्यसको बिल कागजात विपक्षी बैंकलाई सुम्पेको र विपक्षीको सम्बन्ध रहेको अष्ट्रेलिया एण्ड न्यूजिल्याण्ड बैकिंग ग्रुपलाई पठाएको देखिन्छ । अष्ट्रेलियाको फ्याक्ट्रीले भुक्तानी पठाएको देखिँदैन । त्यसरी नपठाएपछि बैंकले कुनै कारवाही गरेको छैन । तसर्थ वादीको झुठ्ठा दावी बमोजिम साँवा तथा ब्याज भरी पाउने ठहर्‍याएको शुरु वागमती अञ्चल अदालतको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको भरतलाल श्रेष्ठले म.क्षे.अ. मा गरेको पुनरावेदन ।

८.    वादी दावीको लिखत हेरिएमा लिखितम धनीका नाम आगे भन्ने व्यहोराको कपाली तमसुक लेखी दियाँ भन्ने समेत उल्लेख भएको देखिँदा दावीको लिखत कपाली तमसुक नभएको भन्ने मिल्ने अवस्था नदेखिँदा वादीको फिराद म्याद भित्र नपरेको भन्न मिल्ने देखिएन । वादी दावीको लिखितमा पेश गरिएका बिल बिल्टी डकुमेन्टहरुको रकम मेलवर्न अष्ट्रेलिया स्थित रवि क्लोथिङ फ्याक्ट्रीबाट असूल उपर गरी लिई हामीले लिएको कर्जामा जम्मा गरी बैंकको साँवा ब्याज इत्यादि चुक्ता गरी दिनु होला कुनै कारणबाट सो रकम असूल उपर नभई बाँकी रहन गएमा असूल उपर हुन नसकेजति यस कम्पनी फर्मको चल अचल सम्पत्तिबाट असूल उपर गरी लिनु भन्ने समेत (साविक पेज नं. १८३) उल्लेख भएको र वादी बैंकले दावी लिएको लिखतमा उल्लेख भए बमोजिम रवि क्लोथिङ फ्याक्ट्री अष्ट्रेलियाको नाममा सामान पठाई पेश गरेको डकुमेन्ट ए.एन.जे. बैंक अष्ट्रेलियामा भुक्तानीको लागि पठाई दिएको उक्त बैंकले सो डकुमेन्टको भुक्तान नहुने कुरोको खबर गरे अनुसार सूचना दिई सो लिखतको साँवा ब्याज भुक्तान गर्न ल्याउनु होला भनी प्रतिवादी नेटिम आर्टस ट्रेडिङ प्रा.लि.लाई मिति २०३९।२।७ मा त्यसपछि पटक पटक ताकेता गरी पठाएको पत्रहरुको प्रतिलिपिहरु समेत मिसिल सामेल रहेको देखिएको र वादी दावीको लिखतको रुपैयाँ बुझाइसकेको साँवा ब्याज प्रतिवादीबाट भरिपाउने ठहर्‍याएको बा.अं.अ.को फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को २०४३।१२।१२ को फैसला ।

९.    वादी दावी बमोजिम साँवा ब्याज भरी पाउने ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन उक्त इन्साफ उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नेटिम आर्टस ट्रेडिङ प्रा.लि.का मे.डा.जमुनादेवी श्रेष्ठ तथा भरतलाल श्रेष्ठको अलग अलग यस अदालतमा पर्न आएको निवेदनमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) (ख) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको भन्ने समेत यस अदालत संयुक्तइजलासको २०४४।३।२१।१ को आदेश ।

१०.    नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले क्षेत्राधिकार र नालेश गर्ने हकदैयातर्फ निवेदक वादी नेपाल बैंक लिमिटेड श्रीपुर शाखाको तर्फबाट ऐ.को शाखा प्रबन्धक जगन्नाथ उप्रेती विरुद्ध पर्सा वीरगंज न.पं. वार्ड नं. १६ स्थित अलमोनियम फैक्ट्री प्रो.विहारीलाल तुल्स्यान समेत भएको ०४५ सालको दे.पु.नं. १०२ को लेनदेन मुद्दामा संचालक समितिको तर्फबाट प्रबन्धकले मुद्दा गर्न पाउने भन्ने समेतको सिद्धान्त प्रतिपादित भएकोले सो तर्फ केही बहस गर्न नपर्ने भन्दै प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको २ नं. को हदम्याद आकर्षित हुन सक्दैन । विवादको लिखत व्यापारिक कारोवारसंग सम्बन्धित लिखत हुँदा लेनदेन व्यवहारको ४० नं. मा उल्लेख भएको २ वर्षको हदम्याद लाग्ने हुँदा हदम्याद नघाई प्रस्तुत फिराद परेको छ साथै आसामी र जमानी दिने उपर एउटै नालेश छ दुई अलग अलग व्यक्ति हुँदा एउटै नालेश दिन मिल्दैन अतः प्रस्तुत नालेश खारेज हुनुपर्छ । नालेश खारेज नभई इन्साफ हुने भए पनि कागज गर्दा जति व्याज दिने भनी बोली परेको छ त्यति व्याज भराउनु पर्नेमा रु. १६।५० को दरले ब्याज भराएको मिलेको छैन भनी बहस गर्नुभयो । बहसको दौरानमा नि.नं. २७६ र नि.नं. १९२० समेत नजीरहरु प्रस्तुत गर्नुभयो ।

११.    विपक्षी बैंक तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले उपरोक्त बहसहरुको खण्डन गर्दै उक्त २०३८।३।२५ मा भएको बैंक लिखत व्यापारिक कारोबारको सिलसिलामा भएको नभई कर्जा लेनदेनको साँवा ब्याज दिने लिने व्यहोराको कपाली तमसुक भएकोछ, यस्तोमा लेनदेन व्यवहारको ४० नं. लाग्दैन । लेनदेन व्यवहारको २ नं. बमोजिम नालेश परेको मिलेको छ एउटै झगडाको विषयको कुरा हुँदा दुइजना उपर दुईवटा बेग्ला बेग्लै नालेश दिनु पर्दैन, पेश गरिएका नजीरहरु समेत प्रस्तुत विवादसंग मेल खाँदैनन् मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेको हुँदा सोही इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।

१२.   प्रस्तुत मुद्दामा वादी दावी बमोजिम साँवा ब्याज भरी पाउने ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१३.   यसमा मुलतः धनी नेपाल बैंक लिमिटेड काठमाडौं र धन व्यहोरिणी नेटिम आर्टस लि.बीच २०३८ आषाढ २५ गते भएको लिखत नै हेर्नुपर्ने हुन (साविक पेज नं. १८४) आएको छ । उक्त लिखत हेर्दा लिखितम धनीका नाम नेपाल बैंक लिमिटेड काठमाडौं अफिस तथा धन व्यहोरिणीका नाम अटको नारायणस्थान स्थित नेटिम आर्टस ट्रेडिङ प्रा.लि.का अधिकार प्राप्त भरतलाल श्रेष्ठले तपसीलमा लेखिएका बील बिल्टीहरु डकुमेन्टहरु बैंकमा पेश गरी रु. २९,३००।अक्षरेपी उनन्तीस हजार तीनसयमात्र ए.बि.सी. ए.वि.एस. अन्तर्गत कर्जा लिए बापत सो कम्पनी फर्म संस्थाको खर्च चलाउन र व्यापार गर्नका लागि लिएको ठीक साँचो हो । यो कर्जा आजको मितिले ३ महीना भित्र वार्षिक ........ प्रतिशतका दरले ब्याज समेत लगाई चुक्ता गरुँला केही गरी हामीले उक्त कर्जा चुक्ता गर्नु अगावै ब्याजको दर थपघट भएमा सो थपघट भएको दरले ब्याज तिर्ने बुझाउने छौं । सो पेश गरिएका बील बिल्टीहरु डकुमेन्टहरुको एक मेलवर्न अष्ट्रेलिया बस्ने रवि बुकिङ फेक्ट्रीबाट असूल उपर गरी लिई हामीले लिएको कर्जामा जम्मा गरी बैंकको साँवा ब्याज इत्यादि चुक्ता गरी लिनु होला । उक्त बील बिल्टी डकुमेन्ट असूल गर्न लाग्ने बैंकको कमिशन र अरु चार्जहरु तिर्न बुझाउनु हाम्रो मञ्जूर छ । कुनै कारणवस बील डकुमेण्टको रकम असूल उपर नभएमा बैंक कुनै हालतमा पनि जिम्मेवार हुने छैन । उक्त म्याद भित्र बील बिल्टी डकुमेण्टको रकम असूल उपर नभई बाँकी रहन गएमा बाँकी रहन आएको साँवा ब्याज कमिशन र अन्य चार्ज समेत उक्त बील बिल्टी डकुमेण्ट सम्बन्धी माल बिक्री गरी असूल उपर गरी लिनु होला केही गरी उक्त बील बिल्टी डकुमेण्ट सम्बन्धी माल बिक्री हुन सकेन र वा बिक्री भए पनि बैंकको रकम उपर हुन सकेन भने उपर हुन नसकेको जति यस कम्पनीको फर्म संस्थाको अन्य चल अचल सम्पत्तिबाट असूल उपर गरी लिनु भनी हाम्रो मनोमान खुसीराजीसंग बैंक अफिसमा बसी यो कपाली तमसुक लेखी नेपाल बैंक लिमिटेड अफिसलाई दियौं भन्ने बोली परेको देखिन्छ ।

१४.   उपरोक्त लिखतबाट साहु आसामी भई कर्जा लिएको शुरु लिखत कम्पनीको खर्च चलाउन र व्यापार गर्न भनी लिएको देखिन्छ । त्यस्तो कम्पनीको खर्च चलाउन र व्यापार गर्नको लागि भनी लिएको कर्जा सम्बन्धी तमसुक लिखत लेनदेन व्यवहारको २ नं. अन्तर्गत पर्दैन भन्न मिल्दैन । लेनदेन व्यवहारको २ नं. अन्तर्गत नपर्ने व्यापारिक कारोबारको लिखतको हकमा मात्र सोही लेनदेन व्यवहारको ४० नं. को म्याद २ वर्ष भित्र नालेश दिनु पर्ने हुँदा प्रस्तुत नालेश हदम्याद भित्र परेको छैन भन्न मिलेन, यस सन्दर्भमा पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसको क्रममा उल्लेख गर्नु भएको उपरोक्त नजीरहरुमा उल्लेख भएका तथ्यसंग प्रस्तुत मुद्दाको तथ्य नमिल्ने हुँदा ती नजीरहरु प्रस्तुत मुद्दामा आकर्षित हुने देखिँदैन ।

१५.   अब जहाँसम्म बैंकले कारोबार गरेको कम्पनी र जमानीको हकमा एकैसाथ गर्न मिल्दैन बेग्लाबेग्लै नालेश गर्नु पर्ने भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस जिकिरतर्फ विचार गर्दा मिसिल संलग्न रहेको धनजमानी दिने भरतलाल श्रेष्ठको मिति २०३७।१।३ को उक्त धनजमानीको लिखत हेर्दा लिखितम श्री मोतिलाल श्रेष्ठको नाती श्री पूर्णकृष्ण श्रेष्ठको छोरा का.जि.वार्ड नं. २३ अन्तर्गत अटकोनारायण स्थान बस्ने वर्ष ४१ को भरतलाल श्रेष्ठ आगे नेटिम आर्टस ट्रेडिङ प्रा.लि. काठमाडौंले ए.बि.सी. लिमिटेड अन्तर्गत ने.रु. ५०,०००।– (पचास हजार) मात्र आर्थिक वर्ष २०३७।०३८ भित्र विभिन्न मुलुकहरुमा ए.बि.सि.कर्जा अन्तर्गत निकाशी गरेको सामानको डकुमेण्टहरुको आधारमा दिएको रकमको डकुमेण्टहरु नमिली वा पार्टीले भुक्तानी नगरेमा वा डकुमेण्टहरु हराएमा वा सामान हानी नोक्सानी भएमा वा जुनसुकै कारणबाट उक्त डकुमेण्टहरुको भुक्तानी नभई बैंकलाई हानी नोक्सानी इत्यादि हुन गएमा सो हानी नोक्सानी क्षेती रकम र त्यसको बैंक नियम बमोजिम वार्षिक १२ प्रतिशतका दरले लाग्ने ब्याज समेत उक्त पार्टिबाट बुझाउन लगाउने छु र बुझाएन भने निजको घर घराना चल अचल समेतका गैह्र जायजेथाबाट पनि (साविक पेज नं. १८५) असूल उपर नभए मेरो घै घरानाबाट असूल उपर गरी लिएमा मेरो मञ्जुरै छ । पछि अर्काको बाँकी मैले बुझाउनु पर्ने होइन भनी कुनै कुराको उजूर गर्ने छैन गरे यस लिखतले बदर गरी दिनु भनी मेरो मनोमानी खुसीराजीसंग यसै नेपाल बैंक लिमिटेड काठमाडौं अफिसमा बसी यो धनजमानी (व्यक्तिगत ग्यारेण्टी) को लिखत लेखी नेपाल बैंक लिमिटेड काठमाडौंलाई दियौं भन्ने उल्लेख भएको पाइन्छ ।

१६.    उक्त धनजमानीको सम्बन्ध यिनै प्रतिवादी नेटिम आर्टस ट्रेडिङले मिति २०३८।३।२५ मा कर्जा लिएको विषयसंग सम्बन्धित देखिएको र उक्त धनजमानीको लिखतबाट पार्टीले नबुझाई असूल उपर नभए मेरो घर घरानाबाट असूल गर्नु भन्ने भएकोले रकम असूल गर्ने विषय अलग्गै देखिई एक अर्कासंग जोडिएको एकै विषय देखिन्छ । अ.बं. ७२ नं. मा जतिसुकै मानिसले जतिसुकै उपर एउटै झगडाको विषयको कुरा लेखी ल्याएको भए सोही फिरादबाट इन्साफ गर्नु पर्छभनी लेखिएको र माथि लेखिए बमोजिम रकम असूल गर्ने सम्बन्धित विषय अलग्गै देखिई पारस्परिक सम्बन्धित एकै विषय हुँदा प्रतिवादी नेटिम आर्टस ट्रेडिङ तथा भरतलाल श्रेष्ठलाई अलग अलग नालेश दिनु पर्छ भन्न मिल्ने स्थिति समेत देखिन आएन ।

१७.   अब रु. १६।५० को दरले ब्याज भराएको मिलेको छैन भन्ने प्रतिवादी पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस भएकोमा सो लिखतमा ब्याज दिने लिने भन्ने उल्लेख भएको र लिखतमा सो कर्जा चुक्ता गर्नु अगावै ब्याजको दर थपघट भएमा सो थपघट भएको दरले ब्याज तिर्ने बुझाउने छौं भनी यिनी प्रतिवादी नेटिम आर्टस ट्रेडिङ प्रा.लि.ले २०३८।३।२५ मा तमसुक गर्दा उल्लेख गरेको र परिवर्तित ब्याजको दर रु. १६।५० कायम भएको देखिन्छ । कर्जा चुक्ता गर्नु अगावै ब्याजको दर थपघट भएको दरले ब्याज तिर्छु भनी प्रतिवादीहरुले मञ्जूर गरी कर्जा लिई लिखत गरेकोले रु. १६।५० को दरले ब्याज भराएको मिलेको छैन भन्न मिल्ने समेत देखिन आएन । यस अदालतको संयुक्तइजलासबाट दिएको पुनरावेदनको अनुमतिमा दिएको बुँदा आदेशसंग सहमत हुन सकिएन ।

१८.   तसर्थ वादी दावी बमोजिमको साँवा ब्याज रकम प्र.नेटिम आर्टस ट्रे.प्रा.लि.बाट र प्र.नेटिम आर्टस ट्रे.प्रा.लि.बाट असूल उपर नभए धनजमानी दिने प्रतिवादी भरतलाल श्रेष्ठबाट असूल हुने हुँदा सो बमोजिम असूल हुने ठहर्‍याएको बा.अं.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन कोर्टफी रही पुनरावेदन दर्ता भएको देखिँदा केही गरी रहनु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु । न्या.बब्बरप्रसाद सिंह

इतिसम्वत् २०४८ साल ज्येष्ठ १३ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु