शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४७० - खुन डाँका

भाग: ५७ साल: २०७२ महिना: पौस अंक:

अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७१/७/२/१

०६३-CR-०४४४

 

मुद्दा : खुन डाँका

 

पुनरावेदक/वादी : जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. १ बस्ने नागेन्द्र मिश्रको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : लक्ष्मी रायको छोरा जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. ७ बस्ने दिलवा र दीलिप भन्ने विद्यानन्द राय यादवसमेत

 

कानूनबमोजिम दोस्रो तह पुनरावेदन लाग्नै नसक्ने अवस्थामा दुई तहबाट सफाइ पाई सकेका प्रतिवादी लालबाबु यादवका हकमा आएको पुनरावेदनपत्रलाई कानूनको रित पुर्‍याई दायर भएको भन्न नमिल्ने ।

(प्रकरण नं. १०)

नेपाल सरकारले प्रतिवादीहरूले यति रकम डाँका गरी लगे भनी माग दाबी गर्नु मात्र पर्याप्त हुँदैन । डकैती भएको भनिएको रकम देखिनु पर्ने पनि हुन्छ । यसरी डकैती भएको रकम नै सप्रमाण यकिन हुन नसकेको र त्यसलाई पुष्टि हुने सबुद प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । ठोससबूद प्रमाणको अभावमा प्रत्यर्थी प्रतिवादीहरूले अभियोगपत्रमा उल्लिखित रकम डाँका गरी लगेको भन्ने वादी दाबीसँग यो इजलास सहमत हुन नसक्ने ।

(प्रकरण नं. ११)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता पुष्कर सापकोटा 

प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १, १०,१३(१)(३), १४(४),१७(१), २१ नं.

प्रमाण ऐन, २०३१ को दफा २७(१)

न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) (ख)

 

सुरू अदालतमा फैसला गर्ने :-

मा.न्या. श्री शान्तीराज सुवेदी

पुनरावेदन अदालतमा फैसला गर्ने :-

मा.न्या. श्री प्रेम शर्मा

मा.न्या. श्री भोलाप्रसाद खरेल

 

फैसला

न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, जनकपुरको मिति २०६३।२।३ को फैसलाउपर वादी नेपाल सरकारले न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन दायर गरेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :- 

मिति २०५७/७/२९ का राति २२:३० बजेको समयमा जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. १ घर भई ऐ. ७ मा रहेको नागेन्द्र मिश्रको पेट्रोल पम्पमा चिनेका सोही गा.वि.स. वडा नं. ७ बस्ने दिलवा भन्ने विद्यानन्द रायसमेतका ४/५ जना डाँकाहरू हातहतियारहरू समेत लिई आई सो पेट्रोल पम्पमा रहेका नागेन्द्र मिश्रको भाइ दिपेन्द्र मिश्र मुन्सी काम गर्ने विमल ठाकुर र उपेन्द्र दाससमेतलाई कुटपिट गरी दीपेन्द्र मिश्रलाई गोली प्रहार गरी सख्त घाइते बनाई पम्पमा रहेको रूपैयाँसमेत डाँका गरी फरार भएको र घाइतेलाई उपचारार्थ मलंगवा अस्पतालमा ल्याउँदा मृत्यु भएको भन्नेसमेत व्यहोराको क्रम सङ्ख्या ३०४५ को प्रहरी सञ्चार ।

मिति २०५७/७/२९ गते २२:३० बजेको समयमा नागेन्द्र मिश्रको पेट्रोल पम्पमा जिल्ला सर्लाही गोडैता बस्ने विद्यानन्द रायसमेतका ४/५ जना हतियारधारी डाँकाहरू आई दीपेन्द्र मिश्रलाई गोली हानी डाँका वारदात गरी फरार भएको र सख्त घाइते भएका निज दीपेन्द्र मिश्रलाई उपचारार्थ मलंगवा ल्याउँदा ल्याउँदै मृत्यु भएको । मृतकको दाहिने कानमा गोली लागेको सो चोटको लम्बाइ चौडाइ ४ इन्च भएको, मृतकको दाहिने निधारमा अ.१ इन्च लम्बाइ आधा इन्च काटिएको घाउ रहेको, मृतकको दायाँ आँखामाथि आँखी भौंमा लम्बाइ डेढ इन्चको काटिएको घाउ चोट देखिएको मृतकको टाउको पछाडिको भागमा ४ इन्चको घाउ, दाँयापट्टिको कम्मरमुनि अण्डकोष नजिकै अ. ४ इन्च लम्बाइ डेढ इन्च चौडाइ र गहिराइ अनुमान गर्न नसकिने अवस्थाको घाउ देखिएको भन्नेसमेत व्यहोरा उल्लेख भएको मिति २०५७/७/३० मा खडा भएको लासजाँच मुचुल्का ।

मिति २०५७/७/२९ गते राति अ. २२:३० बजेको समयमा प्रतिवादी विद्यानन्द रायसमेतका हतियारधारी व्यक्तिहरूले जिल्ला गोडैता ७ मा रहेको पेट्रोल पम्ममा डाँका वारदात गर्दा कोठामा रहेको विस्तारामाथि के ९ लेखिएको गोलीको खोका रहेको र सिसाको गोलीको टुक्रा थान-१ सोनजिक बन्दुकको वर्डको भाग (काठ) रहेको, बक्सा खुल्ला रही कागजपत्रहरू छरिएर रहेको देखिएको, रगतका टाटाहरू रही सङ्‍घर्षका चिन्ह दागहरू देखिएको सो घटनास्थलमा फेला परेको गोलीको खोका थान १, गोलीको सिसा थान १ र बन्दुकको वर्ड बरामद भएको भन्नेसमेत व्यहोराको संजय मिश्रसमेतले गरिदिएको घटनास्थल मुचुल्का । 

मिति २०५७/७/२९ गते राति २२:३० बजेको समयमा जिल्ला सर्लाही गोडैता ७ मा रहेको मेरो पेट्रोल पम्पमा चिनेका जिल्ला सर्लाही गोडैता ७ बस्ने दिलवा दीलिप भन्ने  विद्यानन्द राय, ऐ. ८ बस्ने सुरेश पासवान, ऐ. ४ बस्ने भुट्टा मियाँ, ऐ. ७ बस्ने लालबाबु राय र संजयदास कथवनिया, ऐ. वरहथवा ५ बस्ने प्रेमलाल साह तेलीसमेतका हातहतियारधारी व्यक्तिहरू पेट्रोल पम्पमा आई मेरो भाइ दिपेन्द्र मिश्रलाई कुटपिट गरी गोली हानी सख्त घाइते पारी पम्पमा रहेको रू.३,५१,२००।- बराबरको नगद डाँका गरी लगेका र भाइ दीपेन्द्र मिश्रलाई उपचारार्थ ल्याउँदा ल्याउँदै मृत्यु हुँदा खुन डाँकातर्फ कारवाही तथा सजाय गरिपाउँ भन्ने नागेन्द्र मिश्रको जाहेरी दरखास्त ।

मिति २०५७/७/२९ गते २२:३० बजेको समयमा जिल्ला गोडैता ७ मा रहेको पेट्रोल पम्पमा डाँका भयो भनी हल्ला भएको सुनी जाँदा विद्यानन्द राय, सुरेश पासवान, लालबाबु राय, संजय दास, प्रेमलाल तेली, भुट्टा मियाँसमेतका व्यक्तिहरूले दीपेन्द्र मिश्रलाई गोली हानी सख्त घाइते पारी पम्पमा रहेको रूपैयाँसमेत डाँका गरी लगी घाइतेको उपचारार्थ लैजादै गर्दा मृत्यु भएको भन्ने सुनी थाहा पाएको र मेरो भाइ भुट्टा मियाँ हाल गाउँ घरमा नरही वारदातपश्चात् भागी गएका छन्‌ भन्नेसमेत व्यहोराको लालबाबु दर्जीले गरी दिएको कागज ।

वारदातको मिति र समयमा म पम्पमा नै बसेको थिएँ । मलगायत मुन्सी बिमल ठाकुर र दीपेन्द्र मिश्रसमेत सोही स्थानमा थियौं । प्रतिवादीहरू विद्यानन्द राय, लालबाबु राय, सुरेश पासवान, भुट्टा मियाँ र प्रेमसमेतका ४/५ जना डाँकाहरू हातहातमा बन्दुक लिई आई सो पम्पमा घेराउ गरी डाँकाहरूमध्येका विद्यानन्द राय दुवै हातमा बन्दुक लिई एक्कासी पम्पको काउन्टर कोठामा प्रवेश गरी पम्पको छानातर्फ २ राउन्ड फायर गर्नुका साथै मसमेतलाई कुटपिट गरी काउन्टरबाट बाहिर निकाली दीपेन्द्र मिश्रलाई गोली प्रहार गरी पुन: दोस्रोपटक कटुवा बन्दुकले प्रहार गरी सख्त घाइते पारी त्यहाँ रहेको रू.३,५१,२००।- धनमालसमेत डकैती गरी भागी गएका हुन् । अन्य ४ जनाले पम्पको चारैतिर घेराउ दिएका थिए । घटनापश्चात् घाइते दीपेन्द्र मिश्रलाई दाजु नागेन्द्र मिश्रसमेतले उपचारको लागि मलङ्‍गवातर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको हो भन्नेसमेत व्यहोराको उपेन्द्रदास बाँनियाले गरेको कागज ।

मिति २०५७/७/२९ गते २२:३० बजेको समयमा जिल्ला गोडैता ७ मा रहेको पेट्रोल पम्पमा खुन डाँका वारदात गरी फरार रहेका प्रतिवादी प्रेमलाल साह तेली हाल लुकी छिपी रामवन गा.वि.स. वडा नं. ९ स्थित किशोरी साहको घर गई बसेको भन्ने खबर प्राप्त  भै उल्लिखित स्थानमा खटिई गई घर खानतलासी गर्दा निज प्रतिवादी प्रेमलाल साह तेली घरभित्र रहेको बेन्चमुनि लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गर्दा निजले निलो रङ्‍गको झोला १ मेरो हो र यसमा लगाउने लत्ताकपडाहरू छन् भनी बताएकाले सो झोला स्थानीय व्यक्तिहरूको सामुन्नेमा चेकजाँच गर्दा लत्ताकपडाको बिचमा अवैध थ्रि नट बन्दुक र भित्र ८ एम.एम.के. एफ ९७ लेखिएको पित्तलको गोली-१ समेत फेला पारी बरामद गरेको भन्नेसमेत व्यहोरा उल्लेख भएको मिति २०५७/८/१६ मा खडा भएको घर खानतलासी मुचुल्का ।

मिति २०५७/७/२९ गते रातको खानपिन गरी म माथि कोठामा सुतेको र छोरा सुरेश पासवान तल रहेको कोठामा सुतेका थिए । मिश्र पेट्रोल पम्पमा खुन डाँका भएको हल्ला सुनी बुझ्दा बिद्यानन्दसमेतका व्यक्तिहरूले दीपेन्द्र मिश्रलाई गोली हानी घाइते बनाएको थाहा पाएको हुँ । सो समयमा छोरा सुरेश पासवान पनि घरमा थिएनन् । वारदातपश्चात् छोरा गाउँ घरमा 

छैनन् । भागी कहाँ गए थाहा भएन भन्नेसमेत व्यहोराको प्र. सुरेश पासवानका पिता लोहा सिंह पासवानले मौकामा गरेको कागज ।

मिति २०५७/७/१९ गते सोही पेट्रोल पम्पको कम्पाउन्डमा रहेको २५३१ नं. को टयाङ्करमा बसिरहेको थिए । जाहेरवालालगायत दीपेन्द्र मिश्र र डाँकाहरू पनि सोही घर छिमेकका भएकाले चिन्दछु । डाँकामध्येका दीलवा भन्ने  विद्यानन्द राय, लालबाबु, प्रेम साहसमेतका बदमासहरू एक्कासी पम्पमा आई २/४ हवाई फायर गर्दै निज बन्दुकधारीमध्येका विद्यानन्द राय काउन्टरभित्र प्रवेश गरी म र मुन्सी बिमल ठाकुरलाई काउन्टरदेखि पश्चिमको कोठामा कुटपिट गरी गोली हानी मारि दिन्छु भन्दै कोठामा लगी थुनी चुकुल लगाई एक्कासी फायर गर्न थाले । सोही बखत लालबाबु, सुरेश, भुट्टा र प्रेम साह काउन्टरमा बसेका दीपेन्द्र मिश्रलाई पैसा निकाल नत्र मारि दिन्छु भन्दै गोली फायर गर्दै थिए । दीपेन्द्रलाई गोली प्रहार गरी भुइँमा लडाएपछि कराइरहेका थिए । हामी थुनिएको कोठाबाट बाहिर निस्कन सफल भए पनि मार्ने हुन् कि भनी लुक्दै थियौं । ट्याङ्कर चालक अक्कल वाइवालाई बन्दुकको वडले पिट्दै भगाइदिएका 

थिए । पछि निजहरूले डकैती गरी धनमाल लगिसकेपछि काउन्टरमा छटपटाइरहेका दीपेन्द्रलाई हेर्दा उनको बायाँ कञ्चट र बायाँ कम्मरमुनि गोली लागेको, भुइँ भित्तामा गिदी तथा रगतको भल बगिरहेको थियो । घाइते दीपेन्द्र मिश्रलाई दाजु नागेन्द्र मिश्रले उपचारको लागि मलङ्‍गवा लैजाँदालैजादै बाटोमै मृत्यु भएको हो भन्नेसमेत व्यहोरा हरिबहादुर वाइवाले मौकामा गरेको कागज ।

मिति २०५७/७/२९ गते बेलुकी अमलेखगञ्जबाट डिजेल मट्टितेल आउने हुँदा म र भाइ दीपेन्द्र तथा पम्पमा मुन्सीको काम गर्ने बिमल ठाकुर, कामदार उपेन्द्र दास बसिरहेको अवस्थामा राति अन्दाजी २२:०० बजे २५३१ नम्बरको ट्याङ्‍कर आइपुगी तेल झार्ने तरखरमा थियौं । पेट्रोल पम्पदेखि उत्तरमा रहेको पान पसलबाट पान खाई पम्पतर्फ आउँदा हातहतियार नलकटुवा बन्दुकसमेत लिएका ५/६ जना व्यक्तिहरू काउन्टरको ढोकामा उभिई रहेको देखी म डराई नजिकै रहेको सिसौंको रूखमा लुकी बसी हेर्न लागे । गाउँघरका दीलिप भन्ने दिलवा भनी बोलाउने विद्यानन्द रायले बन्दुक फायर गरी मुन्सी र कामदारलाई कोठाभित्र लगी थुनी दिई दीलवा भन्नेले भाइसँग बाकसको साँचो माग्दा नदिएकाले निजहरूका बिच भनाभन भई लडाभाँती भयो । सोही अवस्थामा प्रेमलाल साह तेलीले आफूसँग भएको थ्रिनटबाट भाइ दीपेन्द्र मिश्रलाई कम्मरमुनि प्रहार गरे । सुरेश पासवान, भुट्टा मियाँ, सन्जयदास कथवनियासमेतले घेरा हाली धनमाल लुट्ने काम गरिरहेको देखी हारगुहार गर्न 

लागे । डाँकाहरू वारदात स्थलबाट निस्की जाँदा डाँका मध्येका विद्यानन्द रायले मृतक दीपेन्द्रको टाउकामा बन्दुक फायर गरेका हुन् भन्नेसमेत व्यहोराको शैलेन्द्र मिश्रले मौकामा गरी दिएको कागज ।

म जाहेरवाला मिश्रको पेट्रोल पम्पमा ४/५ वर्षदेखि मुन्सी पदमा कार्यरत्‌ रहेको छु । मिति २०५७/७/२९ गते दीलिप दिलवा भन्ने विद्यानन्द राय यादव पेट्रोल पम्पको अगाडिबाट जाने आउने गरिरहेका थिए । निज अपराधी चरित्रका व्यक्ति भए पनि घरगाउँकै व्यक्ति भएकाले के गर्लान् भनी कुनै शङ्‌का गरिएन । सोही बेलुका अमलेखगन्जबाट २५३१ नम्बरको ट्याङकरबाट तेल लिई चालक अक्कल वाइवाले तेल लिई आई अनलोड गर्ने क्रममा थियौं । पम्पमा जाहेरवालाको भाइ दीपेन्द्र मिश्रले काउन्टरमा बसी पैसाको हिसाब मिलान गर्दै थिए । म, कामदार उपेन्द्र दास, चालक र खलासी उभिइ रहेका थियौँ । जाहेरवालको भाइ शैलेन्द्र मिश्र पान खाएर आउँछु त्यसपछि तेल अनलोड गर्ने भनी पान पसलतिर जानुभयो । सोही रात अन्दाजी २२:३० बजेको समयमा दीलवा भन्ने विद्यानन्द राय, सन्जयदास कथवनिया, लालबाबु यादव, भुट्टा मियाँ, सुरेश पासवान, प्रेमलाल साह तेलीसमेतका अपराधीहरू हातहातमा बन्दुक लिई पम्पभित्र प्रवेश गरे । विद्यानन्द राय काउन्टरमा प्रवेश गरी दुई राउन्ड फायर गरी दीपेन्द्र मिश्रसँग बाक्सा र दराजको साँचो माग्दा निजले दिन इन्कार गरेकाले निजहरूका बिचमा वादविवाद हुँदा म र उपेन्द्र दासले रोक्न खोज्दा अन्य डाँकाहरूले हामी दुई जनालाई नजिकै रहेको कोठामा लगी थुनी दिए । दीपेन्द्र मिश्र र विद्यानन्द रायका बिच भनाभन भई चर्को आवाज आउँदै गर्दा एक राउन्ड फायरसमेत भयो । गुहारगुहारको आवाज पनि आयो । डाँकाहरू बाहिर निस्के । जाहेरवालासमेतका मानिसहरू आई चुकुल खोली हामीहरू बाहिर आई हेर्दा दीपेन्द्र मिश्रको टाउको र कम्मरमुनिबाट रगत बगी बेहोस अवस्थामा रहेकाले उपचारको लागि लिई जाँदा बाटैमा निजको मृत्यु भएको हो । डाँकाहरूले पेट्रोल पम्पमा भएको रू.३,५०,००० ।- र रू.१,२०० ।- पर्ने इमरजेन्सी लाइटसमेत लुटी लगेका हुन् भन्नेसमेत व्यहोराको बिमल ठाकुरले मौकामा गरेको कागज ।

मिति २०५७/७/२९ गतेको अवस्था राति २२:३० बजेको समयमा बन्दुकको आवाज सुनी घरबाहिर निस्कँदा जाहेरवालाको भाइ शैलेन्द्र मिश्रले हारगुहार गरेको सुनी दगुर्दै त्यहाँ पुग्दा जाहेरीमा लेखिएका विद्यानन्द राय, प्रेमलालसमेतका व्यक्तिहरू हातहातमा नलकटुवा बन्दुक लिई जाहेरवालाको पेट्रोल पम्पदेखि उत्तरतर्फ जान लागेको देखेँ । टोल छिमेकका मानिसहरू जम्मा हुन थाले । दीपेन्द्र मिश्रलाई गोली लागेकाले छट्‍पटाउँदै थिए । डाँकाहरूले धनमाल लुटी दीपेन्द्र मिश्रलाई गोली हानी मारेका हुन् भन्नेसमेत व्यहोराको अजय मिश्रले मौकामा गरेको कागज ।

म दीलिप भन्ने विद्यानन्द राय यादवसँग पैसा लिन भनी मिति २०५७/७/२९ गते दिउसो २:०० बजे निजको घरमा जाँदा निजले मेरो घर नजिक मिश्र पेट्रोल पम्पका मालिक डिजल पेट्रोल खरिद गर्न आजभोलि जाने भन्ने बुझेको छु । राति डाँका गर्न भनी २/३ जना मानिस बोलाएको छु भन्दा म बसी राति २ बजेको समयमा चिनेका सुरेश पासवान, भुट्टा मियाँ दर्जी, संजयदाश कथवनियासमेत दीलिपको घरमा आई के कसरी डाँका गर्ने भन्ने सरसल्लाह भएबमोजिम दीलिपसँग १ नाले १२ बोरको बन्दुक र सोमा फिट हुने १० राउन्ड तथा मार्क फोरको गोली लाग्ने लोकल पेस्तोल १ सोमा फिट हुने गोली राउन्ड ४ रहेछ । मसँग थ्रिनट बन्दुक १ र सोमा फिट हुने गोली राउन्ड २ थियो । उल्लिखित साथीहरूले साथसाथमा नलकटुवा बन्दुक र गोली लिएर आएका रहेछन् । राति १० बजेपछि डाँका गर्न जाने भनी निजकै घरमा खानपिन गरी बस्यौँ । साथी दीलिपले रातिदेखि नै पेट्रोल पम्पलाई निगरानीमा लिइरहेका थिए । राति ट्याङ्‌कर आएको छ तेल झारी सकेपछि जाने हो लौ अब जाउँ भनेकाले हामीहरू राति २२:१० बजेको समयमा गई दिलीप पम्पको काउन्टरमा पसी २ फायर गरेपछि मसमेत नजिकै उभिएको थिएँ । मागबमोजिम दीलिपलाई दीपेन्द्रले चाबी र नगद रूपैयाँ दिन इन्कार गर्दा ती दुईका बिच हात हालाहाल भयो । त्यहाँ काम गर्ने अन्य दुई जनाले रोक्न खोज्दा निजहरूलाई नजिकै रहेको कोठामा लगी थुनि दिई बाहिरबाट चुकुल लगाइदियौँ । दीपेन्द्र मिश्रसँग दीलिपको लडाँई भइरहेको अवस्थामा दीपेन्द्रले मार्ने भयो भनी दीलिप कराएकाले मसँग भएको थ्रिनट बन्दुकले दीपेन्द्रउपर फायर गर्दा निजको कम्मरमुनि गोली लागी लडेपछि दिलीपले काउन्टरमा भएको बाकस खोली त्यहाँ भएको पैसा निकाली राख्न थाले । ट्याङ्‌कर चालक र खलासीले हल्ला गर्न थाल्दा अन्य साथीहरूले निजहरूलाई कुटपिट गरी चुप लगाए । सुरेश, भुट्टा मियाँ र संजयदास काउन्टर भएको कोठामा पुग्दा दीपेन्द्र मिश्र छट्पटाउँदै थिए । दीलिपले लौ आऊ भनेकाले निजलाई देशी पेस्तोलले पुनः १ फायर गरी निस्कने बेलामा बन्दुकको बटको भागले १ पटक हान्दा बट भाँचिई टुक्रा त्यहीँ रह्‌यो । गाउँलेहरूले हारगुहार गरेकाले पम्पमा रहेको नगद रूपैयाँसमेत लिई हामी सबै भाग्यौ । पछि बुझ्दा दीपेन्द्र मिश्रको घटनास्थलमा मृत्यु भयो भनी थाहा पाएको हुँ । डाँका गर्ने उद्देश्यले गएका हौं । तत्काल उठेको रिसमा मैले र दीलिपले एकएक फायर गरेका हौँ । अन्य प्रतिवादीहरूले घेराउ गर्ने र कुटपिट गर्नेसम्मको काम गरेका हुन् । बरामद भएको बन्दुकको बटको भाग हामीहरूले साथमा लिई गएको बन्दुक भाँचिएकाले त्यहीँ छाडी गएका हौं । सो वारदात हुनुभन्दा १ दिनअघि मिति २०५७/७/२८ गतेको दिन जिल्ला सर्लाही गोडैता गा.वि.स. भन्दा पूर्वतर्फ हुलाकी सडकमा पनि ऐ. डुमरिया ४ बस्ने बाल्मिकीप्रसाद सिंह र ऐ. सेरधैना ३ बस्ने गौरीशंकर झालाई बाटोमा कुटपिट गरी निजहरूको साथमा रहेको नगद तथा जिन्सी तथा साइकलसमेत खोसी रहजनी चोरी हामी उल्लिखित व्यक्तिहरूले गरेको र मिति २०५७/३/२९ गतेको १४:०० बजेको समय जिल्ला सर्लाही हरिवन र मूर्तियाको बिच पर्ने जङ्‌गलमा रहेको खोल्सीमा एभरेस्ट सुगर मिल रामनगर महोत्तरीको ज. १ च १८७ नं. को जिपलाई दीलिपले रोकी डाँका वारदात गर्न लाग्दा सो जीप नरोकिई भागी गएका कारण बम विष्फोटन गराई डांका गर्न सफल भएनौं भन्नेसमेत व्यहोराको पक्राउ परी आएका प्र. प्रेमलाल साह तेलीले कसुरमा साविती भै मौकामा गरेको बयान ।

मिति २०५७/७/२९ गते राति २२:३० बजेको समयमा प्रतिवादीहरू संजयदास कथवनिया, भुट्टा मियाँ, सुरेश पासवानसमेतको घर कानूनबमोजिम खानतलासी गर्दा अवैध हतियार एवम्‌ सो अपराधसँग प्रमाण लाग्ने कुनै चिज वस्तु फेला नपरेको भन्नेसमेत व्यहोरा उल्लेख भएको मिति २०५७/९/१ मा खडा भएको घर खानतलासी मुचुल्का ।

मिति २०५७।७।२९ गते राति २२:३० बजेको समयमा बन्दुकको फायर भएको आवाज सुनी बाहिर निस्कँदा जाहेरवालाको भाइ शैलेन्द्र मिश्रले गुहार गरेको सुनी दगुर्दै पेट्रोल पम्पमा जाँदा ऐ. बस्ने विद्यानन्द राय, वग्दह गा.वि.स.३ घर भई हाल वरहथवा ५ बस्ने प्रेमलाल साह तेली, गोडता ८ बस्ने सुरेश पासवान, ऐ. ४ बस्ने भुट्टा मियाँ, ऐ.७ बस्ने संजयदास कथवनियासमेतले हातहातमा नलकटुवा एवम्‌ थ्रिनट बन्दुक लिई पेट्रोल पम्पदेखि उत्तरतर्फ जान लागेको देखी टोल छिमेकका मानिसहरू भेला जम्मा हुँदा जाहेरवालाको भाइ दीपेन्द्र मिश्रलाई गोली लागेको देखिएको, पेट्रोल पम्पमा रहेको कागजपत्र सामानहरू छरिएको, रगत यत्रतत्र लागेको र जाहेरीमा उल्लिखित प्रतिवादीहरूले दीपेन्द्र मिश्रलाई गोली हानी पम्पमा रहेको रूपैयाँसमेत डाँका गरी फरार भएकामा हाल प्रेमलाल तेली पक्राउ परी आएकाले निजसमेतलाई कडा कानूनी कारवाही हुनुपर्छ भनी एकै मिलान व्यहोराको बुझिएका अजय मिश्र, आत्मराम ठाकुरसमेतले गरिदिएको पृथक-पृथक कागज ।

मिति २०५७।७।२९ गते राति नागेन्द्र मिश्रको पेट्रोल पम्पमा डाँकाहरूले डाँका गरी गोली हानी दिए भन्ने हल्ला सुनी घटनास्थलमा जाँदा डाँकाहरू फरार भइसकेका रहेछन् । दीपेन्द्र मिश्रको टाउकोसमेतमा गोली लागी रगत बगिरहेको थियो । को कसले डकैती गरी गोली हानेको भनी बुझ्दा विद्यानन्द राय यादव, लालबाबु राय, संजयदास कथबनिया, सुरेश पासवान, भुट्टा मियाँ, प्रेमलालसमेतका व्यक्तिहरूले गोली हानेको सुनेको हुँ भन्नेसमेत व्यहोराको पारस मिश्रले मौकामा गरेको कागज ।

मिति २०५७।७।२९ गते आफ्नै किराना पसलमा सुतेको अवस्थामा राति २२:०० बजेको समयमा बन्दुकको आवाज सुनी बाहिर गई हेर्दा शैलेन्द्र मिश्रको पेट्रोल पम्पबाट गुहारगुहार भनेको आवाज आयो । त्यहाँ पुग्दा बाटोमा हातहतियार बोकी मेरै गा.वि.स. अन्तर्गतका विद्यानन्द रायसमेतका उल्लिखित व्यक्तिहरूले बन्दुकबाट फायर गर्दै उत्तरतर्फ गएका थिए । पम्पको काउन्टरभित्र गई हेर्दा दीपेन्द्र मिश्रको टाउकोसमेतबाट रगत बगिरहेको 

थियो । कोठामा रहेको बाकससमेत तोडफोड भएको थियो । दीपेन्द्र मिश्रलाई गोली हान्नेमा सुरेश पासवान, भुट्टा मियाँ, संजय दास कथबनिया, विद्यानन्द राय, प्रेम साहसमेतका डाँकाहरूले वारदात घटाएका हुन् भन्नेसमेत व्यहोराको आत्माराम ठाकुर ब्राहमण र महेश ठाकुरले मौकामा गरेको छुट्टाछुट्टै कागज ।

पक्राउ परी आएका प्रतिवादी प्रेमलाल साह तेलीको साथबाट बरामद भइआएको थ्रीनट बन्दुक १ परीक्षणको लागि पठाइएको च.नं. २०३३ मिति २०५७/९/३ मा केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला, महाराजगञ्ज काठमाडौं पठाई सो प्रयोगशालाबाट परीक्षण प्रतिवेदनसमेत प्राप्त भई मिसिल सामेल 

रहेको ।

वारदातमा संलग्न रहेका प्रेम साह र विद्यानन्द रायमा हकमा निज दुईजना प्रतिवादीहरूले दीपेन्द्र मिश्रलाई कुटपिट गर्ने तथा गोली प्रहार गरी त्यसै गोलीको पीडाबाट निज दीपेन्द्र मिश्रको मृत्यु भएको देखिँदा प्रतिवादीद्वय प्रेमलाल साह र विद्यानन्द रायलाई सोही महलको १३(१) नं. अनुसार सजाय हुन माग दाबी लिइएको छ । अन्य प्रतिवादीहरू सुरेश पासवान, भुट्टा मियाँ, संजयदास कथवनिया, लालबाबु रायका हकमा मृतक दीपेन्द्र मिश्रउपर हातहतियार प्रयोग गरेको नदेखिएको, वारदातस्थलमा हातहतियारसहित सबै जनाले बन्दुक र कटुवा लिई पम्पलाई घेरा दिएको तथा हतियार देखाई डर त्रास देखाउने कार्य गरी मार्नमा घेरा दिई सहयोग गरेको देखिन आएकाले उल्लिखित ४ जना प्रतिवादीहरूको उक्त कार्य ज्यानसम्बन्धी महलको १ र १७(१) नं. अनुसारको कसुर अपराध देखिन आएकाले प्रतिवादीहरू सुरेश पासवान, भुट्टा मियाँ, संजयदास र लालबाबु राय यादवलाई उल्लिखित कसुरमा सोही महलको १७(१) नं. अनुसार सजाय हुन मागदाबी लिएको छ । अर्कोतर्फ वारदात स्थलमा जाहेरवालाको पेट्रोल पम्पबाट रू.३,५१,२००।- बराबरको धनमाल डाँका गरी प्रतिवादीहरूले लगेको तथ्य विवेचित प्रमाणहरूबाट देखिन आएकाले प्रतिवादीहरू विद्यानन्द राय, प्रेम साह, सुरेश पासवान, भुट्टा मियाँ, संजय दास र लालबाबुसमेत जना ६ भई उल्लिखित डाँका वारदात गरेको देखिँदा निज प्रतिवादीहरूको उल्लिखित कार्य चोरीको महलको ६ नं. अनुसारको कसुर अपराध स्थापित हुन आयो । उल्लिखित कसुरमा सजायतर्फ हेर्दा प्रतिवादीमध्येका विद्यानन्द राय र प्रेम साहको हकमा एभरेस्ट सुगर मिल रामनगरको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी निजहरू समेत भएको डाँका उद्योग मुद्दा २०५७ सालको स.फौ.नं. ६८ मा पहिलो पटक, बाल्मिकीप्रसाद सिंहसमेतको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी यिनैसमेत भएको रहजनी डाँकामा दोस्रोपटक र प्रस्तुत मुद्दामा तेस्रो पटक कसुर कायम  गरी सोही महलको १४(४) नं. अनुसार सजाय हुन विरूद्ध खण्डका प्रतिवादीहरूमध्ये सुरेश पासवान, भुट्टा मियाँ, संजय दासलाई बाल्मिकीप्रसाद सिंहसमेतको जाहेरीले वादी श्री ५ को सरकार र प्रतिवादी यिनैसमेत भएको रहजनी डाँका मुद्दामा पहिलो पटक र प्रस्तुत मुद्दामा दोस्रोपटक कायम गरी चोरीको महलको १४(४) नं. अनुसार सजाय हुन र प्रतिवादी लालबाबु यादवलाई उल्लिखित कसुरमा चोरी महलको १४(४) नं. अनुसार सजाय हुन माग दाबी लिने जाहेरवालाको डाँका गरी लगेको जम्मा बिगो रू.३,५९,२००।- प्रतिवादीहरूबाट सोहीको १० र २१ नं. अनुसार दिलाईभराई पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले सर्लाही जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ।

अभियोग दाबीअनुसार मैले कसुर गरेको 

छैन । वारदात मितिभन्दा चार दिन अगाडि नै भारतको पटना गई २०५७/८/६ मा मात्र घर फर्की आएको हुँ । म सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका 

हुन् । राजनीतिक इवीले मलाई झुट्ठा आरोप लागेको हो । प्रहरीले कुटपिट गरी डर त्रासमा पारी कागज गराएकाले अस्पतालमा मेरो स्वास्थ्य जाँच गराइ पाउँ । प्रहरीमा कागज गर्ने पारस मिश्रबाहेक अरूलाई चिन्दिन । निजसँग राजनीतिक मतभेदमात्र छ । मैले दाबीअनुसार कुनै कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्र. प्रेमलाल साह तेलीले अदालतमा गरेको बयान ।

प्रतिवादी प्रेमलाल साह खुट्टाको उपचारको लागि सपरिवार भारत पटना गई त्यहाँको वि. एस. सी. कलेजमा भर्ना भई ११ दिन बसी उपचार गराई मङ्सिर ६ गते आफ्नो गाउँ ‍घरमा फर्केका हुन् । निजउपरको अभियोग मागदाबी झुट्ठा भएकाले अभियोग मागदाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमलाल साहका साक्षी कृष्ण नन्दन रायले र मैले प्रतिवादी प्रेमलालसँगै निज उपचार गर्न जाँदा आवश्यक पर्ने ओढ्ने ओछ्याउने सामानहरू लिई गएको थिएँ । प्रेमलालको दाहिने गोडा भाँच्चिएकाले सोको उपचार गर्न भनी मसमेत भई निजका साथ मिति २०५७/७/२५ गते पट्ना गई सोही दिन अस्पतालमा भर्ना भई ११ दिनपछि मङ्सिर ६ गतेसँगै आ-आफ्नै घरमा आएका हौं । प्रेमलाल भारतमा उपचारका लागि गएकाले मृतकलाई निज प्रेमलालले मारेको नभई राजनीतिक रिसइबीका कारण झुट्ठा आरोप लगाइएको हुँदा झुट्ठा अभियोगबाट सफाइ पाउनुपर्छ भनी प्रतिवादी प्रेमलाल साहका अर्का साक्षी लक्ष्मण ठाकुरले गरेको बकपत्र ।

अदालतबाट जारी भएको म्यादी पुर्जीका म्यादभित्रै हाजिर हुन आएको हुँ । वारदात मितिमा म वारदास्थलमा थिइन । मेरो घर जग्गा जिल्ला सर्लाही हजरिया गाउँ विकास समिति वडा नं.९ मा पर्ने हुँदा म मिति २०५७/६/२५ गतेदेखि नै त्यहीँ बस्ने गरेको र २०५७।७।२९ गते राति पनि त्यही हजरियामा सुतेको थिएँ । मिति २०५७।८।२४ गते मात्र म गोडैताको घरमा आएको हुँ । वारदात सम्बन्धमा हजरियामा ऐ. मार्ग २ गते सुनेको हुँ । मृतक दीपेन्द्र मिश्रलाई को कसले मारेका हुन् थाहा छैन । जाहेरवाला स्थानीय चुनावमा अध्यक्ष पदमा उम्मेदवार भएको र निजलाई मद्दत नगर्दा हारेको हुँदा मेरो नाममा झुट्ठा पोल उजुर गरेका हुन् । मैले खुन डाँका गरे गराएको नहुँदा अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्र. लालबाबु राय यादवले अदालतमा गरेको बयान ।

म मिति २०५७/७/२९ गते गोडौवा बजारमै थिएँ । लालबाबु मिति २०५७/६/२५ गतेदेखि हजरियामा गएकाले निजसँग भेट भएन । निज हजरियाबाट मङ्सिर २५ गते फर्की आएका हुन् । प्र. लालबाबु राय यादवउपर राजनीतिक कारणले झुट्ठा उजुरी दिएका हुँदा अभियोग मागदाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी लालबाबु राय यादवका साक्षी राजकिशोर दास कथवनिया र नागेश्वर यादवले गरेको छुट्टाछुट्टै बकपत्र ।

वारदातको मिति र समयमा म सुत्ने तरखरमा थिएँ । दुईपटक बन्दुक पड्‍केको आवाज सुनेपछि बाहिर निस्कँदा जाहेरवालाको भाइ शैलेन्द्रले डाँकाहरूले मेरो भाइलाई मार्‍यो गुहारगुहार भनी कराउँदा म पनि त्यहाँ पुगी विद्यानन्द राय, प्रेमलाल साह, लालबाबु राय, संजयदास कथवनिया, भुट्टा मियाँ र सुरेश पासवानसमेतलाई बिजुलीको उज्यालोमा प्रस्टसँग चिनेँ । उनीहरूको हातहतियार लिई पम्पको उत्तरतर्फ जाँदै गरेको देखेको हुँ । त्यसपछि पम्पको काउन्टर कोठामा दीपेन्द्र मिश्रलाई कञ्चट र बाँया तिघ्रामाथि बन्दुकको गोली लागी रगताम्मे भई छट्‍पटाउँदै थिए । प्रहरीमा मैले घटनाका सम्बन्धमा गरेको कागज राजी खुसीले गरेको हुँ । त्यहाँ भएको व्यहोरा र सहीछाप मेरै हो । डाँकाहरू सबै मिली रू.३,५०,०००।- लगेको मौकामा देखी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको मौकामा बुझिएको अजय मिश्रले गरेको बकपत्र ।

वारदातको दिन रात म आफ्नै घरमा 

थिएँ । जाहेरवालासँग झैझगडा र रिसइबी केही छैन । मउपरको जाहेरी दरखास्त झुट्ठा हो । प्रेमलाल साह तेलीको बयान व्यहोरा झुट्ठा हो । मैले कुनै कसुर नगरेको हुँदा अनुसन्धानको कागज व्यहोरा कस्तो गरे निजहरू नै जानुन् । अभियोग दाबीबमोजिम मैले कुनै कसुर नगरेको हुँदा सजाय पाउनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्र. संजयदास कथवनियाले अदालतमा गरेको बयान ।

मैले प्रहरीमा मिति २०५७/९/६ मा गरिदिएको कागज व्यहोरा मेरै हो । वारदातको मिति र समयमा मैले २५३१ नं. को ट्याङ्‌करबाट डिजेल लिई नागेन्द्र मिश्रको पेट्रोल पम्पमा आएको थिए । त्यस समयमा ५/६ जना हातहतियारसहित आई विद्यानन्द रायले दुई फायर गरे । विद्यानन्दरायले आउनेबित्तिकै मलाई र उपेन्द्रलाई कोठामा थुनिदिएकाले अन्य कोको व्यक्तिहरूको संलग्नता थियो खुलाउन 

सक्दिन । काउन्टरमा फायर हुँदा दीपेन्द्र मिश्र 

चिच्याए । पुनः अर्को फायर भयो र काउन्टर कोठा तोडफोड भयो । तिनीहरूले रकम र इमरजेन्सी लाइट लिई भागी गए । त्यसपछि गाउँलेहरू आई ढोका खोलिदिएपछि बाहिर आयौँ । दीपेन्द्र मिश्रको टाउकामा एउटा गोली र अर्को गोली कम्मरमुनि लागी छटपटाइरहेका थिए । सबै जना भई निजलाई उपचारको लागि अस्पताल लगेका हुन् भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने बिमल ठाकुरले गरेको बकपत्र ।

वारदातको मिति र समयमा म आफ्नै दुकानमा थिएँ । राति करिब ९:३० बजेको समयमा बन्दुकको एक फायरिङ्ग भयो । त्यसपछि म स्कूलतिरको साइडमा गएर सिसौंको रूखको छेउमा लुकेर बसेँ । त्यसपछि ६ जना मान्छेहरू दिलवा, प्रेम, लालबाबु, सुरेश, भुट्टा मियाँ, संजय दाससमेतका व्यक्तिहरू पम्पको गेटबाट प्रवेश गरे । दुईजना घरभित्र रहेको कोठामा पसे र ४ जना बाहिर बरन्डामा बसे । भित्रबाट दुईपटक बन्दुक पड्केको आवाज आयो र त्यसपछि ६ जना नै पेट्रोल पम्पको गेटबाट बाहिर निस्के । सबैको हातहातमा थ्रिनट र नल कटुवा बन्दुक थियो । डाँकाहरू बाहिर निस्केपछि म पेट्रोल पम्पमा गएँ । विमल र उपेन्द्रलाई कोठामा थुनिएको हुँदा बाहिर निकाल्यौं । अर्को कोठामा टाउको र कम्मरमुनि गोली लागेका दीपेन्द्र मिश्र लडिरहेका थिए । रगत चारैतर्फ थियो । सामानहरू यत्रतत्र छरिएका थिए । दराज खुलै थियो । गोलीका टुक्रा, बन्दुकको काठको बट पनि त्यहीँ थियो । घटनास्थल मुचुल्कामा भएको सहीछाप र व्यहोरा मेरै हो । बिजुलीको उज्यालोले प्रतिवादीहरूलाई प्रस्ट देखेर चिनेको हुँ । प्रतिवादीहरूको हातहातमा हतियार भएकाले पक्राउ गर्न सकिएन भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने संजय मिश्रले गरेको बकपत्र ।

घटना घटेको देखिन । घटना भएको हल्ला भएपछि त्यहाँ पुग्दा मृतक रगतले लत्पतिएको देखेको 

हुँ । गोलीको खोका र दुईवटा गोली पनि वारदातस्थलमा थिए । भुइँमा खुन जमेको थियो । बाकस तोडफोड भएको थियो । मभन्दा पहिला वारदातस्थलमा पुग्नेसँग सोधपुछ गर्दा दिलवा भन्ने विद्यान्नद, प्रेम साह, लालबाबु राय, भुट्टा मियाँ, संजयदास तथा लोहा पासवानको छोरा नाम थाहा नभएकोसमेत संलग्न भई सो वारदात गरी नगद रकमसमेत लगेको भन्ने कुरा बताएका थिएँ भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्कामा सही गर्ने सत्यनारायण झाले गरेको बकपत्र ।

म वारदातको मिति र समयमा कमलेशको पसलमा थिएँ । बन्दुकको आवाज सुनी घटनास्थलमा जाँदा शैलेन्द्रले लुकी हेरी रहेको स्थानमा पुगी मैले पनि सोही स्थानमा बसी हेर्दा प्रेम र दीलवा पेट्रोल पम्पको पूर्वी कोठामा पसेको देखेको र सुरेश पासवान, भुट्टा मियाँ, संजयदास, लालबाबु रायलाई पेट्रोलको चारैतर्फबाट घेरेको देखेको हुँ । दीलवाको हातमा बन्दुक, प्रेमको हातमा खुकुरी र बन्दुक थियो । अरूले पनि बन्दुक खुकुरी बोकेका थिए । बिजुली बलेको हुँदा सबैलाई चिनेको हुँ । डाँकाहरू गएपछि मसमेतका मानिसहरू सो स्थानमा पुगी हेर्दा तोडफोड भएको, मृतक दीपेन्द्र गोली लागी छटपटाई रहेका, रगत यत्रतत्र रहेको, बाकस तोडिएको, बन्दुक कब्जाबाट टुटेको काठको टुक्रा, सिसाको गोली एकवटा खोका एकवटा देखेको हुँ । मिति २०५७/७/३० गते तयार भएको घटनास्थल प्रकृति मुचुल्कामा लागेको सहिछाप र व्यहोरा सही सत्य हो भन्नेसमेत ब्यहोराको घटनास्थल मुचुल्काका रास नारायण झाले गरेको बकपत्र ।

वारदातको मिति र समयमा म वारदातस्थल नजिक रहेको पान पसलमा बसी पान खाइरहेको अवस्थामा दुई फायरको आवाज आएपछि दौडिँदै सो पेट्रोल पम्पदेखि दक्षिणपट्टि १० मिटरको दूरीमा लुकी घटनास्थलतर्फ हेर्दा ६ जना डाँकाहरू पेट्रोल पम्पको आँगनमा थिए । बिमल ठाकुर र उपेन्द्रदास पनि त्यही आँगनमा थिए । विद्यानन्द र प्रेमलाल दुवैजना मिलेर बिमल ठाकुर र उपेन्द्रलाई थुन्न लगाई दुवैजना भई काउन्टरमा पसी दीपेन्द्र मिश्रसँग बाकसको साँचो माग्दा नदिएपछि ३ जना बिच हानाहान भयो । सुरेश पासवानसमेत भित्र पसी मृतकलाई खुकुरी प्रहार गरे भने दीपेन्द्रले प्रतिकार गर्दागर्दै दीलवा भन्ने बिद्यानन्दले गोली हानी फेरि एक गोली टाउकामा प्रहार गर्दा सहन नसकी हल्लाखल्ला गर्दै गुहार माग गर्दै दाजुलाई खबर गर्न गई तुरून्तै दाजु नागेन्द्र वारदातस्थलमा आउँदा डाँकाहरू उत्तरतर्फ गइरहेको देखेको हुँ । उक्त डाँका समूहमा सुरेश पासवान, लालबाबु राय, भुट्टा मियाँ, संजयदास हातहतियार बोकी चारैतर्फबाट घेरा हाली राखेको देखेको हुँ । विद्यानन्दले २ वटा बन्दुक, प्रेमलाल साहको हातमा थ्रिनट (कटुवा) बन्दुक, सुरेश पासवानको कम्मरमा दापसहितको खुकुरी र हातमा कटुवा बन्दुक थियो । भुट्टा मियाँ र संजयदास कथवनियाको हातमा पनि कटुवा बन्दुक थियो । बिजुलीको उज्यालो भएकाले सबैलाई चिन्न सकेको हुँ । सबै डाँकाहरूका हातमा हतियार भएकाले प्रतिकार गर्न जान सकिन । डाँकाहरू भागी गएपछि त्यहाँ पुगी हेर्दा विमल ठाकुर र उपेन्द्र दासलाई थुनाबाट निकालियो र काउन्टरको कोठामा पस्दा भाइ दीपेन्द्र मिश्र गोली लागी घाइते भई लडिरहेका थिएँ भने चारैतर्फ दिवाल, तन्ना र ओछ्‍यानमा रगतका छिटाहरू थिए । बाकसको ताला तोडिएको थियो । दराज खुलै थियो । त्यहाँ बन्दुकको वड, तामा-सिसा मिसिएको गोली एकवटा, खाली खोका एकसमेत थिए । भाइ दीपेन्द्रको सास बाँकी रहेकाले बचाउन भनी मलंगवा लैजाँदालैजाँदै बिच बाटैमा भाइ दीपेन्द्रको मृत्यु भयो । मौकामा मैले गरेको कागजमा भएको ब्यहोरा र सहीछाप मेरै हो भन्नेसमेत व्यहोराको प्रहरीमा कागज गर्ने शैलेन्द्र मिश्रले गरेको बकपत्र ।

वारदात भएको पेट्रोल पम्प मेरो स्वामित्वमा रहेको छ । भाइ दीपेन्द्र मिश्रलाई पम्पको सम्पूर्ण जिम्मेवारी दिएको थिए । अन्य कामदारमा उपेन्द्र दास र नवल ठाकुर थिए । २५३१ नम्बरको ट्याङ्‌करबाट तेल आएकाले त्यसका चालक अकलबहादुर वाइवा र हेल्पर हरिबहादुर वाइवा पनि थिए । घटना हुँदा म आफ्नै घरमा थिएँ । वारदातको सूचना भाइ शैलेन्द्रबाट पाएपछि सो स्थानमा पुग्दा प्रतिवादीहरू भागिरहेको देखेको 

हुँ । दिलवा भन्ने विद्यानन्द राय, सुरेश पासवान, संजय दास, प्रेमलाल साह, भुट्टा मियाँ, लालबाबु रायसमेतलाई मैले प्रस्टसँग बिजुलीको उज्यालोमा देखी चिनेको हुँ । प्रतिवादीहरू सबै चिनजानका मानिसहरू हुन् । रकम लुट्ने उद्देश्यले घटना घटाएको अवस्थामा धनमालको सुरक्षा गर्दा भाइको ज्यान गयो । डाँकाहरूले तीन लाख रूपैयाँ र एक वटा इमरजेन्सी लाइट लुटी लगे । दिलीप रायको हातमा बन्दुक, सुरेश पासवानको हातमा कटुवा बन्दुक कम्मरमा दापसहितको खुकुरी, प्रेमलाल साहको हातमा थ्रिनट हतियार र अरूको हातमा कटुवा बन्दुक र कम्मरमा खुकुरी झुन्डिएको देखेको हुँ । काउन्टरमा पस्दा भाइ दीपेन्द्रको कम्मरमुनि र कन्चटसमेतमा गोली लागी घाइते अवस्थामा बेहोस भई पल्टिरहेका थिए । भुइँ र कोठाको दिवालको भित्तामा रगत जमेको 

थियो । काउन्टरको ताला-कब्जा, दराज, आलमारीसमेत तोडफोड भएको थियो । गोलीका खोकाहरू यत्रतत्र छरिएर रहेका थिए । भाइलाई उपचार गर्न लैजाँदै गर्दा निजको बाटोमै मृत्यु भयो । मैले मिति २०५७/८/४ मा दर्ता गरेको जाहेरी र सोमा भएको व्यहोरा सहिछाप मेरै हो भन्नेसमेत व्यहोराको जाहेरवाला नागेन्द्र मिश्रले गरेको बकपत्र ।

घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का पूर्णरूपमा झुट्ठा हो । मृतक दिपेन्द्र मिश्रको मृत्युसम्बन्धमा मलाई केही थाहा छैन । म मिति २०५७।७।२४ गते मेरो सानिमाको घर जिल्ला बारा कचोर्वा गा.वि.स.मा गएको थिएँ । मलाई घटनासम्बन्धमा केही थाहा छैन । जाहेरवाला र मृतक दुवै गाउँ घरका भएकाले दुवैलाई चिन्दछु । घटनास्थल मुचुल्कामा भएको व्यहोरा के कसो हो म भन्न सक्दिन । जाहेरी व्यहोरा झुट्ठा हो । प्रहरीमा कागज गर्ने व्यक्तिहरूको कागज व्यहोरासमेत झुट्ठा हो । अपराध अनुसन्धान विभाग, केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको परीक्षण प्रतिवेदन सम्बन्धमा मलाई केही थाहा छैन । खानतलासी मुचुल्का के कसरी बनाइएको हो त्यो पनि मलाई थाहा छैन । मैले घटना घटाएको होइन । म बेकसुर भएकाले मलाई सजाय हुनुपर्ने होइन । मलाई फसाउन खोजिएको हो । तसर्थ झुट्ठा दाबीबाट फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्र. दिलवा र दीलिप भन्ने विद्यानन्द रायले अदालतमा गरेको बयान ।

मिति २०५७/७/२४ गते प्र. विद्यानन्द राय जिल्ला बारा कर्चोवा-७ स्थित मेरो घरमा आई मङ्सिर १५ गतेसम्म बसी आफ्नो घरमा गएका 

हुन् । प्र. विद्यानन्द रायउपरको जाहेरी गलत हो । वारदात मितिमा मेरो घरमा भएका यी प्रतिवादीले वारदात घटाएका होइनन् । मेरो श्रीमती प्रतिवादी विद्यानन्द रायको सानीआमा भएको नाताले निज प्रतिवादी मेरो घरमा आई बसेका हुन् भन्नेसमेत व्यहोराको प्र. दिलवा भन्ने विद्यानन्द रायका साक्षी तेजलाल रायले गरेको बकपत्र ।

मलाई प्रहरीले पक्राउ गरी ल्याएकाले बयान दिन उपस्थित भएको छु । मिति २०५७/७/२९ गते म दिनरात आफ्नै घरमै थिएँ । सो दिन प्रतिवादीमध्येका विद्यानन्द यादवसँग भेट भएन । जाहेरवालासँग झैझगडा रिसइबी केही थिएन । जाहेरवालाको जाहेरी व्यहोरा र प्र. प्रेमलाल साहले मेराविरूद्ध गरेको बयान व्यहोरा झुट्ठा हो । मैले कुनै कसुर नगरेको हुँदा सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्र. संजयदास कथवनियाले गरेको बयान ।

वारदातको दिन प्र. संजयदाससँग मेरो भेटघाट भएको थियो । दिनरातसँगै थियौं र राति संजयदास कथवनिया र मसँगै निजकै घरमा सुतेका हौं । राति १०:३० बजेको समयमा हो-होल्ला भएको सुनी निजलाई उठाई सुतेको ठाउँबाट तल ओर्ली हेरी डर लागेकाले पुनः माथि गई निजसँगै सुतेको 

हुँ । जाहेरवालाको पम्पमा निज संजयदासले घेरा हाल्ने र मृतक दीपेन्द्र मिश्रलाई मार्ने गरेका होइनन् । वादी दाबी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्र. संजयदास कथवनियाका साक्षी सोगारथ दास कथवनियाले गरेको बकपत्र ।

नागेन्द्र मिश्रको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विद्यान्द रायसमेत भएको हातहतियार खरखजाना मुद्दाको सक्कल मिसिल थान एक, बाल्मिकीप्रसाद सिंहसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विद्यान्द रायसमेत सुरेश पासवानसमेत भएको रहजनी चोरीको रितले डाँका (२०६१ सालको स.वा.फौ.पु.नं.२०२) मुद्दाको मिसिल थान एक, बाल्मिकीप्रसाद सिंहसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी  सुरेश पासवानसमेत भएको रहजनी चोरीको रितले डाँका (२०६४ सालको फौ.पु.नं. २१७/०६-०६४-२१९५) मुद्दाको मिसिल थान एक र बाल्मिकीप्रसाद सिंहसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुरेश पासवानसमेत भएको रहजनी चोरीको रितले डाँका (३८-०६३-०१००१) मुद्दा थान एकको सक्कल मिसिलहरू मिसिलसाथ रहेको पाइयो ।

प्रतिवादीहरू सुरेश पासवान, आविद हुसैन भन्ने भुट्टा मियाँ दर्जी म्यादमा हाजिर नभएको र पक्राउ परेकोसमेत निजहरूको हकमा हाजिर भएका वा पक्रिएका बखत मुद्दा खडा गरी बुझी कानूनबमोजिम गर्ने गरी मुलुकी ऐन, अ.बं. को १९० नं. बमोजिम मुल्तबीमा राखी दिनू । प्रतिवादी प्रेमलाल साह र विद्यानन्द राय यादवले दीपेन्द्र मिश्रलाई गोली प्रहार गरी कर्तव्य गरी मारेको ठहर्छ । निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम जनही सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी संजयदास कथवनिया कसुरमा इन्कार रही बयान गरेको भए तापनि सहअभियुक्त प्रेमलाल साहले मौकामा कसुरमा पोली बयान गरेका, जाहेरवालासमेतका मानिसहरूको हतियारसहित वारदातस्थलमा मौजुद रहेको भनी बकपत्र गरेको निज संजयदास कथवनियाले अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १७(१) नं. बमोजिम कसुर गरेको ठहर्नाले निजलाई सोही महलको १७(१) नं. बमोजिम दश वर्ष कैद हुने ठहर्छ । प्रतिवादी लालबाबु राय यादवले अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको कसुर गरेको ठहर्दैन । निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । डाँकातर्फ वादी पक्षको दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६१।२।३२ को फैसला ।

प्रतिवादीहरू मध्येको म निवेदक भुट्टा मियाँ दर्जी भन्ने आविद हुसेन आफ्नो परिवारसहित तथा म निवेदक सुरेश पासवानसमेत सबै एकसाथ मिति २०५६ साल कात्तिक महिनामा विदेश भारतअन्तर्गत दिल्लीमा गई काम कारवाही गरी बसेको र धेरै दिनपछि काम विशेषले मिति २०६३।८।२१ गतेका दिन आफ्नो घर फर्की आउँदा गाउँकै नागेन्द्र मिश्रले खुन डाँका मुद्दामा नाउँ किटान गरी जाहेरी गरेको कुरा थाहा पाई आफ्ना स्वइच्छाले अ.बं. १२७ नं. बमोजिम हाजिर हुन आएका छौं हाजिर गराई पाउँ भनी सुरेश पासवान र भुट्टा मियाँ भन्ने आविद हुसेनले सर्लाही जिल्ला अदालतमा मिति २०६३।८।२४ मा दायर गरेको निवेदन ।

प्रस्तुत मुद्दामा भुट्टा मियाँ र सुरेश पासवानको हकमा अ.बं.१९० नं. बमोजिम मिति २०६१।२।३२ मा मुल्तबी रहेकामा निजहरू दुवैजना निवेदन साथ अदालतमा हाजिर हुन आएकाले प्रस्तुत मुद्दा मुल्तबीबाट जगाइ दिएको छ भनी सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०६३।८।२४ मा मुल्तबी जगाउने भनी भएको आदेश ।

अभियोग माग दाबी झुट्ठा हो । म २०५६ सालको कात्तिक महिनाको छठ पर्वको २/३ दिनपछि भारतको दिल्ली गोविनपुरी गली नं. १० मकान नं. १४६९ अभिषेक फकिकेट नामको कम्पनीमा मजदुरीको काम गरी मिति २०६३।८।२१ गते मात्र घरमा आएको हुँ । यो बिचमा २०५६ साल मङ्सिरको २१ गते मात्र घरमा आएको थिएँ । म भारतमा भएकाले यो घटनाका सम्बन्धमा केही भन्न सक्दिन । म मिति २०६३/८/२१ मा घरमा आएपछि मात्र यस घटनाको बारेमा थाहा भएको हो । मलाई जाहेरवालाले आफ्नो काम गर्न आउ भनी बोलाउँदा नमानेको कारण झुट्ठा जाहेरी दिएको हुनुपर्छ । मैले कसुर अपराध नगरेको हुँदा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्र. सुरेश पासवानले सुरू अदालतमा मिति २०६३/८/२४ मा गरेको बयान ।

मिति २०५६ साल कात्तिक महिनाको छठ पर्वको २/३ दिनपछि दिल्ली भारतमा गएको हुँ । दिल्ली जाँदा म, मेरो श्रीमती र सुरेश पासवानसमेत भइ गएका थियो । वारदात भएको समयमा म नेपालमा नभई भारतको दिल्लीमा रहेको गोवनपुरी भन्ने ठाउँको १४ नं. गल्ली मकान नं. १६२८ मा रहेको अंश कृस्नल कम्पनीमा सिलाइको काम गरेको थिएँ । दिल्लीमा गाउँका मानिसले वारदात भएको भनेकाले थाहा पाएको हुँ । मैले कुनै कसुर नगरेको हुँदा मलाई सजाय हुनु पर्ने होइन । पाँच सेर वनमा काम गर्न नगएको कारण मलाई फसाउन मउपर झुट्ठा जाहेरी दिएको हुँदा अभियोग मागदाबीबाट फुर्सद पाउँ भनी प्र. भुट्टा मियाँ भन्ने आविद हुसेनले सुरू सर्लाही जिल्ला अदालतमा मिति २०६३।८।२४ मा गरेको बयान ।

प्रतिवादीहरू सुरेश पासवान र भुट्टा मियाँ दर्जी भन्ने आविद हुसैनले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(१) र ऐ. चोरीको १४(४) नं. बमोजिमको कसुर अपराध गरेको ठहर्दैन । निजहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सर्लाही जिल्ला अदालतबाट मिति २०६४।७।१ मा भएको फैसला ।

मिति २०५७/७/२९ गते राति अं. २२:३० बजेको समयमा जिल्ला सर्लाही गोडैता गा.वि.स. वडा नं. ७ स्थित मिश्र पेट्रोल पम्पमा प्रतिवादी सुरेश पासवानसमेतले डाँका गरेको भनी किटानी जाहेरी परेको सो जाहेरीलाई समर्थन हुने गरी जाहेरवालाले बकपत्रसमेत गरेको मिसिल संलग्न प्रत्यक्षदर्शी साक्षीहरूको भनाइ र मौकामा पक्राउ परेको प्र. प्रेमलाल साहको साबिती बयानसमेतले घटना वारदात पुष्टि भइरहेको अवस्थामा प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम कसुरदार कायम गर्नुपर्नेमा सो नगरी आरोपित कसुरबाट सफाइ दिने गरी सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले मिति २०६४/८/२१ मा पुनरावेदन अदालत, जनकपुरमा (०६-०६४-०२१९२) दायर गरेको पुनरावेदनपत्र ।

आरोपित प्रतिवादीहरूलाई मौकामा हतियारसहित भाग्दै गरेको देखेको हुँ भनी जाहेरवालाको किटानी जाहेरी दरखास्त र बकपत्रसमेत भएको साथै प्रहरीमा साबिती बयान गर्ने प्रेमलाल साहले निजहरूलाई किटानी पोल गरेको अवस्थामा प्रतिवादीहरूलाई सफाइ दिने गरी सर्लाही जिल्ला अदालतले मिति २०६४।६।१ मा गरेको फैसला फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि विपक्षी झिकाई पेस गर्नु भनी पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६५।३।१८ मा भएको आदेश ।

जाहेरवाला नागेन्द्र मिश्रको बकपत्रसमेत विरोधाभाषपूर्ण भई विश्वासलायक नभएको देखिएको हुँदा प्रत्यक्ष प्रमाणको आधारमा प्रतिवादीहरू सुरेश र आवेद हुसेन भन्ने भुट्टा मियाँ दर्जीले अभियोग दाबीबाट सफाइ पाउने गरी २०६४/६/१ मा भएको सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६४।८।२८ मा फौ. पु.नं. ०६-०६४-०२१९२ को मुद्दामा भएको फैसला ।

कर्तव्य ज्यानतर्फको कसुरमा अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजायसमेत भएको अवस्थामा डाँकातर्फ तथ्ययुक्त प्रमाण नभएको भन्नेसमेतका जिकिर लिई प्रतिवादीहरूलाई पूर्ण सफाइ दिई भएको फैसला प्रमाण एवम्‌ कानूनसम्मत नदेखिई तथ्यसँग बाझिएको हुँदा उक्त फैसला उल्टी गरी प्रतिवादीहरू विद्यानन्द राय, प्रेमलाल साह तेली, लालबाबु राय यादव र संजयदास कथवनियालाई डाँकातर्फ समेत अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारले पुनरावेदन अदालत, जनकपुरमा मिति २०६१/५/२३ मा दायर गरेको पुनरावेदनपत्र ।

डाँका गर्न वारदातको सुरूबाट भएको अभियोगपत्र रहेकामा डाँका वारदात नै पुष्टि नहुँदा हामीहरूले कर्तव्य गरी मारेको ठहर गर्न 

मिल्दैन । उपर्युक्त आधारबाट म निर्दोष रहे भएको तथ्य स्थापित रहेकाले उक्त फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रेमलाल साहको 

पुनरावेदनपत्र । साथै सोही मिलानको प्रतिवादीहरू विद्यानन्द राय र संजयदास कथवनियाले कारागार कार्यालय, पर्सामार्फत पुनरावेदन अदालत, जनकपुरमा मिति २०६१/५/२४ मा दायर गरेको छुट्टाछुट्टै पुनरावेदनपत्र ।

मिसिल संलग्न विमल ठाकुरको बकपत्रसमेतका आधारमा प्रतिवादी लालबाबु रायलाई ज्यानतर्फ सफाइ दिएको फैसला नमिली फरक पर्ने हुँदा अ.बं. २०२ नं. अनुसार प्रतिवादी लालबाबु रायलाई झिकाई प्रेमलाल, विद्यानन्द र संजयदास कथवनियाको पुनरावेदन परेको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय, जनकपुरलाई दिई लगाउको फौ.पु.नं. २०२ र २५० को मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नु भनी पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६१/१०/२४ मा भएको आदेश ।

मौका वारदातस्थलमा उपस्थित भनिएका प्रत्यक्षदर्शी व्यक्तिको मौकाको भनाइ र अदालतमा भएको बकपत्र एक आपसमा विरोधाभाष भै सत्यमा विविधता पाइएको अन्य वारदातसितसम्बन्धी दशी प्रमाणविहिन भै वस्तुनिष्ठ प्रमाणसमेतको अभावमा शङ्‌का विश्वासलाई एक मात्र आधार बनाई प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(१) र १७(१) नं. बमोजिम सजाय गर्ने गरेको सुरू सर्लाही जिल्ला अदालतको फैसला प्रमाण मूल्याङ्कनको परिप्रेक्ष्यमा उल्टी भै प्रतिवादीहरूले आरोपित अभियोगबाट उन्मुक्ति पाउने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । डाँका नठहर्‍याएतर्फ सुरू फैसला मनासिब देखिँदा ज्यानतर्फ सजाय गरेको सुरू सर्लाही जिल्ला अदालतको मिति २०६१/२/३२ को फैसला सो हदसम्म केही उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरबाट मिति २०६३/२/३ मा भएको फैसला ।

प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन । जाहेरवालाको पेट्रोल पम्पमा भएको वारदातमा बन्दुकको गोली प्रहार भई दीपेन्द्र मिश्रको मृत्यु भएको तथ्य पोस्टमार्टम रिपोर्टसमेतबाट देखिएको, मृतकको शरीरमा अन्य चोटपटक पनि देखिएको, घटनास्थलमा बाकससमेत तोडफोड भई सामानहरू यत्रतत्र लथालिङ्ग अवस्थामा रहेको, वारदातस्थलमा रगतका टाटाहरू रहेको, गोलीका खोका, बन्दुकको बड सिसाको गोली बरामद भएकोसमेतका अवस्थाबाट डाँका गर्ने उद्देश्यबाट मात्र वारदात घटेको निर्विवाद छ । प्रतिवादीहरूले रू.३,५१,२०० ।- डाँका गरी लगेको तथ्यमा जाहेरवालासमेतको बकपत्रबाट पुष्टि भएको अवस्थामा डाँकातर्फ प्रतिवादीहरूलाई सफाइ दिएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्णरहेको छ । प्रतिवादीहरूले मृतक दीपेन्द्र मिश्रलाई प्रेमले गोली हानेको, मृतक बेहोस भई लडेपछि प्रतिवादीले सम्पत्तिसमेत लुटी लगेको देखेको भनी अजय मिश्रसमेतका व्यक्तिले बकपत्र गरेको अवस्थाबाट प्रतिवादीहरूले वारदात घटाएको पूर्णरूपमा स्थापित भएको तथ्यप्रति पूर्ण बेवास्ता गर्दै प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाइ दिने ठहर्‍याएको फैसला त्रुटिपूर्ण छ । यसर्थ प्रतिवादीहरूलाई अभियोग माग दाबीबमोजिम सजाय गरी जाहेरवालालाई बिगोसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारले मितिले २०६३/११/१० मा यस अदालतमा दायर गरेको पुनरावेदनपत्र ।

यसमा प्रतिवादी प्रेमलाल साह तेली मौकैमा पक्राउ परी अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा दिलवा दीलिप भन्ने विद्यानन्द यादवसँग मिति २०५७।७।२९ गते दिनको २:०० बजेको समयमा निजको घरमा भेट गरी योजनाबमोजिम रातको २२:०० बजेको समयमा सुरेश पासवान, भुट्टा मियाँ दर्जी र सन्जय दास कथवनियासमेत भई नलकटुवा बन्दुकसहित मिश्रा पेट्रोल पम्पमा गयौं । उक्त पेट्रोल पम्पका मालिक दीपेन्द्र मिश्रसँग रूपैयाँ देउ नत्र मारी दिन्छौ भनी दीलिपले भन्दा निजले चाबी र पैसा दिन इन्कार गरेकाले बादविवाद एवम् हात हालाहाल भई सङ्‌घर्ष भइरहेको अवस्थामा “लालबाबु काका आउनुहोस्” भनी दीलिप कराए । मेरो साथीलाई दीपेन्द्र मिश्रले मार्ने भयो भनी सोची मसँग भएको थ्रिनट बन्दुकबाट दीपेन्द्र मिश्रउपर एक फायर गर्दा निजको कम्मरमुनि गोली लाग्दा निज ढल्न पुगे । तत्काल उठेको रिसले मैले एक फायर हानेको र दीलिपले एक फायर हानेको भनी साबिती बयान दिएको देखिन्छ ।

घटना स्थलमा ५९ लेखिएको मार्क फोरको फायर भइसकेको खोका थान एक र फायर भएको गोली थान एकसमेत बरामद भएको पाइन्छ । मौकैमा पक्राउ परेका प्रतिवादी प्रेमलाल साह तेलीको निलो रङ्गको झोलामा अवैध थ्रिनट (बन्दुक) र सोभित्र एम.एम.के.एफ.९७ लेखिएको पित्तलको गोली थान एकसमेत बरामद भएको ‍मिसिलबाट देखिन्छ । प्रतिवादी प्रेमलाल साह तेलीबाट बरामद भएको थ्रिनट बन्दुक एवम् मृतकको शरीरमा लागेको गोलीसमेत केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालामा परीक्षण गर्न पठाएकामा प्रतिवादी प्रेमलाल साह तेलीबाट बरामद भएको बन्दुकको गोली र मृतकको शरीरमा लागेको गोली परीक्षण हुँदा एउटै बन्दुकको गोली रहेको भनी प्रतिवेदन प्राप्त भएको अवस्था छ । 

मृतकको दाहिनेपट्टिको कम्मरमुनि अण्डकोष नजिक ४ इन्च लम्बाइ १.५ इन्च चौडाइको चोट देखिएको भन्ने व्यहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का रहेको पाइन्छ । साथै मृतकको शव  परीक्षण प्रतिवेदनमा मृत्युको कारण Cause of death is gunshot injury भन्ने उल्लेख भएबाट समेत प्रतिवादी प्रेमलाल साह तेलीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिती बयानलाई उपर्युक्त सबुद प्रमाण एवम् तथ्यसमेतबाट समर्थन गरी अपराध पुष्टि हुन ‍आएको अवस्थामा प्रतिवादी प्रेमलाल साह तेलीसमेतका व्यक्तिहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहरि भएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६३।२।३ को फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको त्रुटि भई फरक पर्न सक्ने देखिँदा अ.बं. को २०२ नं. बमोजिम विपक्षीहरूलाई झिकाई नियमानुसार पेस गर्नु भनी यस अदालतबाट मिति २०६७।४।२३ गते भएको आदेश । 

नियमबमोजिम दैनिक पेसी सूचिमा चढी इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा मिसिल संलग्न सुरू रेकर्ड तथा प्रमाण मिसिलसमेत अध्ययन गरियो । पुनरावेदक नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्री पुष्कर सापकोटाले प्रतिवादीहरूले नागेन्द्र मिश्रको पेट्रोल पम्पमा हातहतियारसहित प्रवेश गरी बाकस तथा दराजको चाबी माग्दा दिपेन्द्रले दिन नमानेकाले प्र. प्रेमलालले आफ्नो साथमा रहेको बन्दुक दिपेन्द्र मिश्रलाई प्रहार गर्दा निज भुइँमा ढल्न पुगेपछि विद्यानन्दले त्यहाँबाट नगद रू.३,५१,२००।- बराबरको धनमाल डाँका गरी लगेका, अन्य प्रतिवादीहरू सुरेश पासवान, भुट्टा मियाँ, संजयदास कथवनिया र लालबाबु राय यादव वारदातस्थलमा बन्दुकसहितका हातहातमा हतियार लिई उपस्थित भई पेट्रोल पम्पलाई घेरा हाली डर त्रास देखाउने कार्य गरी मृतकलाई मार्नमा सहयोग गरेको मिसिलबाट देखिएको अवस्थामा सबै प्रतिवादीहरूलाई अभियोग मागदाबीबाट सफाइ पाउने गरी पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसलामा सङ्‌कलित प्रमाणहरूको उचित मूल्याङ्कन भएको छैन साथै कानूनको गलत ब्याख्या पनि हुन गएको छ । यसर्थ सबै प्रतिवादीहरूलाई सफाइ दिने गरी पुनरावेदन अदालत, जनकपुरबाट भएको फैसला बदर गरी सबै प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरी बिगोसमेत भराई पाउँ भनी बहस गर्नुभयो ।

विद्वान्‌ उपन्यायाधिवक्ताले गर्नुभएको तर्कपूर्ण बहसलाई मध्यनजर राख्दै प्रतिवादीहरूलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला उल्टी गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो होइन सोही विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।

प्रतिवादीहरूमध्येका विद्यानन्द राय यादव र प्रेमलाल साह तेलीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम जनही सर्वस्वसहित जन्मकैद, प्रतिवादी संजयदास कथवनियालाई सोही महलको १७(१) नं. बमोजिम १० वर्ष कैद सजाय हुने र अन्य प्रतिवादी लालबाबु यादव, सुरेश पासवान, भुट्टा मियाँलाई आरोपित अभियोगबाट सफाइ पाउने र डाँकातर्फ वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू सर्लाही जिल्ला अदालतको फैसलाउपर वादी प्रतिवादी दुवै पक्षबाट पुनरावेदन अदालत, जनकपुरमा पुनरावेदन परेकामा सो अदालतबाट सुरू फैसला केही उल्टी गरी सबै प्रतिवादीहरूले अभियोग मागदाबीबाट सफाइ पाएको देखिन्छ । उक्त फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारले प्रतिवादीहरूमध्येका विद्यानन्द राय यादव, प्रेमलाल साह, संजयदास कथवनिया र लालबाबु यादवलाई अभियोग माग दाबीबमोजिमको सजाय गरिपाउँ भनी यस अदालतमा पुनरावेदन दायर गरेको रहेछ ।

निर्णयतर्फ विचार गर्दा मिति २०५७/७/२९ गते राति अन्दाजी २२:३० बजेको समयमा प्रतिवादी विद्यानन्द रायसमेतका हतियारधारी प्रतिवादीहरूले दीपेन्द्र मिश्रलाई गोली प्रहार गरेकाले निजको उपचारको क्रममा मृत्यु भएको हुँदा प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी किटानी जाहेरी परेको आधारमा अनुसन्धान भई सङ्‌कलित सबुद प्रमाणका आधारमा प्रतिवादीहरू दिलवा र दीलिप भन्ने विद्यानन्द राय यादव र प्रेमलाल साह तेलीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. अनुसारको कसुर अपराध गरेकाले निजहरूलाई सोही महलको १३(३) नं. बमोजिम र अन्य प्रतिवादीहरू सुरेश पासवान, संजयदास कथवनिया, भुट्टा मियाँ र लालबाबु राय यादवले सोही महलको १ नं. र १७(१) नं. अनुसारको कसुर गरेकाले निजहरूलाई सोही महलको १७(१) नं. बमोजिम सजाय गरी डाँका भएको बिगो रू.३,५१,२००।- बराबरको धनमाल मुलुकी ऐन, चोरीको १ नं. र ६ नं. विपरीतको कसुरमा सोही महलको १४(४) नं. बमोजिम सजाय गरी सोही महलको १० नं. र २१ नं. बमोजिम डाँका भएको बिगो जाहेरवालालाई भराई पाउँ भन्ने अभियोग मागदाबी रहेको देखिन्छ ।

प्रतिवादीहरू मध्ये सुरेश पासवान र भुट्टा मियाँलाई सुरू अदालतले अभियोग मागदाबीबाट सफाइ दिने ठहर्‍याएको सुरू फैसला पुनरावेदन अदालतबाट समेत सदर भई निजहरू उपरको कारवाही अन्तिम भै रहेको मिसिलबाट देखिएकाले निजहरूका बारेमा केही बोली रहन परेन । वादी नेपाल सरकारको र अन्य प्रतिवादीहरू विद्यानन्द राय यादव, प्रेमलाल साह, संजयदास कथवनिया र लालबाबु यादवसमेत जना चारको हकमा मात्र यस अदालतमा पुनरावेदन दायर गरेको हुँदा निजहरूको हकमा मात्र अभियोग माग दाबीबमोजिम सजाय हुने हो होइन भनी निर्णय गर्नुपर्ने देखिन आयो ।

मृतक दीपेन्द्र मिश्र मिति २०५७/७/२९ मा भएको वारदातमा गोली लागी उपचारको क्रममा मृत्यु भएको तथ्य प्रतिवादीहरू उपरको किटानी जाहेरी, प्रतिवादीको मौकामा भएको बयान, सर्जमिन मुचुल्काको व्यहोरा, मौकामा बुझिएका व्यक्तिहरूको कथन तथा निजहरूले अदालतमा गरेको बकपत्र, शव परीक्षण प्रतिवेदनलगायतका कागजातहरूबाट मृतक दीपेन्द्र मिश्रको मृत्यु सहजरूपमा नभई कर्तव्यबाट भएको देखियो ।

मृतक दीपेन्द्र मिश्र कसको कर्तव्यबाट मरेका हुन भनी विचार गर्दा वादी नेपाल सरकारले प्रतिवादी बनाएका ६ जनामध्ये प्रतिवादी प्रेमलाल साह तेली तत्कालै पक्राउ परी अनुसन्धानको सिलसिलामा निजले कागज गर्दा आफूसमेतले गोली हानी दीपेन्द्र मिश्रलाई मारेको कसुरजन्य तथ्यमा साबित रहेको देखिन्छन् । अब उक्त साबिती बयान अन्य संलग्न प्रमाणबाट समर्थित भइरहेको छ छैन भनी मूल्याङ्कन गर्नु पर्ने देखिन आयो । दीपेन्द्र मिश्रलाई गोलीले मारेको हो भन्ने प्रतिवादीको साबितीलाई शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण gunshot injury भनी उल्लेख हुनुले पुष्टि गरिरहेको देखिन्छ । प्रतिवादी प्रेमलालसँग बन्दुक थियो भन्ने तथ्य निजबाट थ्रिनट (बन्दुक) र गोली बरामद भएको तथ्यले पुष्टि गरेको देखिन्छ । निजै प्रतिवादीबाट बरामद भएको बन्दुकबाट मृतक दीपेन्द्र मिश्रको ज्यान गएको हो भन्ने तथ्य उक्त बन्दुक र मृतकलाई लागेको गोलीको परीक्षण गर्दा त्यही बन्दुकबाट उक्त गोली निस्केको हो भनी केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाबाट प्राप्त प्रतिवेदनबाट पुष्टि भएको देखियो । उक्त प्रमाणको अलावा वारदात स्थलमा रहेका बिमल ठाकुर, अजय मिश्र, संजय मिश्र, रासनारायण झा, शैलेन्द्र मिश्रलगायतका व्यक्तिहरूले यी प्रतिवादी प्रेमलाल साह तेलीलाई किटान गरी पोलेको र सोहीअनुरूप आफ्नो भनाइलाई अदालतमा आई बकपत्र गरी पुष्टि गरेकोसमेतको आधारहरूबाट प्रतिवादी प्रेमलाल साह तेलीलाई कसुरदार होइनन् भन्न सकिने अवस्था देखिन आएन ।

प्रतिवादी विद्यानन्द रायको हकमा विचार गर्दा निज आरोपित कसुरमा इन्कार रही बयान गरे तापनि निजलाई सह-अभियुक्त प्रेमलाल साहले अनुसन्धानको सिलसिलामा कागज गर्दा किटानी पोल गरेको 

देखिन्छ । उक्त सह-अभियुक्तको किटानी पोललाई अन्य स्वतन्त्र सबुत प्रमाणले समर्थित गर्दछ कि गर्दैन भनी हेरिनु पर्ने देखिन आयो । तत्काल मृतक दीपेन्द्र मिश्रको साथमा रहेका विमल ठाकुर र उपेन्द्र दासले यी प्रतिवादी विद्यानन्दले दुई फायर गरेको देखेको र उनैले बिमल ठाकुर र उपेन्द्र दासलाई कोठामा बन्द गरिदिएको, काउन्टरमा फायर हुँदा दीपेन्द्र मिश्र चिच्याएको भनी अदालतमा आई बकपत्र गरी दिएको देखिन्छ । संजय मिश्रले पनि दिलवा भन्ने विद्यानन्द राय र प्रेमलाल कोठाभित्र छिरेका र दुई फायर भएको सुनेका र यी दुवै कोठाबाट निस्केर भागेको दुवैको हातमा हतियार भएको देखेको र कोठामा दीपेन्द्र मिश्रलाई गोली लागेको छट्पटाएको देखेको हुँ भनी अदालतमा बकपत्रसमेत गरी दिएको देखिन्छ । यस्तै तथ्यहरू देख्ने घटनास्थलको व्यक्ति रास नारायण झा, शैलेन्द्र मिश्रसमेतले प्र. विद्यानन्द रायसमेतले बन्दुक बोकी पम्पभित्र प्रवेश गरी मृतक दीपेन्द्र मिश्रलाई टाउकामा गोली हानेको देखेको हुँ भनी बकपत्र गरेको अवस्थामा प्रतिवादीमध्येका दीलिप र दिलवा भन्ने विद्यानन्द रायसमेत कसुरदार होइनन् भन्न सकिने अवस्था आएन ।

प्रतिवादीहरू प्रेमलाल साह तेली र विद्यानन्द राय यादव वारदातको मिति र समयमा वारदातस्थलमा नभई अन्यत्रै थिएँ भनी (Alibi) जिकिर लिए तापनि प्रत्यक्षदर्शी बिमल ठाकुर, अजय मिश्र, सन्जय मिश्रसमेतका वारदातको प्रत्यक्षदर्शी व्यक्तिहरूको बकपत्रबाट प्रतिवादीहरू जाहेरवालाको पेट्रोल पम्पमा आई काउन्टरमा बसेका दीपेन्द्र मिश्रलाई गोली फायर गरी रगताम्मे बनाएका हुन् भनी मौका र अदालतसमेतमा बकपत्र गरेको अवस्थामा प्रतिवादीहरू अन्यत्रै थिएँ भनी लिएको Alibi जिकिरलाई विश्वास गर्न सकिएन । वारदात स्थलमा नभई अन्त्यत्रै थिएँ भनी सजायबाट उन्मुक्ति लिन खोज्ने व्यक्तिले त्यसलाई समर्थन हुने ठोस प्रमाण पेस गर्नुपर्ने दायित्व सोही व्यक्तिमाथि हुनेछ भनी प्रमाण ऐन, २०३१ को दफा २७(१) मा भएको व्यवस्थाबमोजिम प्रतिवादीहरूबाट प्रमाण पेस हुन नसकेको हुँदा प्रत्यर्थी प्रतिवादीहरूले लिएको Alibi को जिकिर सत्य साँचो र विश्वास गर्न लायक देखिन 

आएन ।

प्रतिवादीमध्येका संजयदास कथवनियाको हकमा विचार गर्दा प्रतिवादी संजय दास कथवनियाले मृतक दीपेन्द्र मिश्रउपर हतियार प्रहार गरेको नदेखिए पनि वारदातस्थलमा बन्दुक लिई पम्पलाई घेरा हाली मार्नमा सहयोग गरेको हुँदा निज प्रतिवादी संजयदास कथवनीयालाई ज्यानसम्बन्धीको १७(१) नं. अनुसारको अपराधमा सोही महलको १७(१) नं. अनुसार सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको अभियोग माग दाबी रहेछ । प्रतिवादी कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । प्रतिवादी कसुरमा इन्कार रही बयान गरेको भए तापनि सह-अभियुक्त प्रेमलाल साह तेलीले आफू कसुरमा साबित भई यी प्रतिवादी संजयदास कथवनिया पनि वारदातस्थलमा हातहतियार लिई मैजुदा रहेका थिएँ भनी मौकामा गरेको बयानमा उल्लेख भएको पाइन्छ । प्रतिवादी संजयदास कथवनिया हतियारसहित वारदातस्थलमा उपस्थित भएको व्यहोरा प्रत्यक्षदर्शी अजय मिश्र, शैलेन्द्र मिश्र, महेश ठाकुर, बीमल ठाकुरसमेतको मौकाको कागजबाट देखिन आउँछ भने अदालतमा पनि सोही व्यहोरा उल्लेख गरी बकपत्र गरेको मिसिलबाट देखिएको अवस्थामा यी प्रत्यर्थी प्रतिवादी संजयदास कथवनियाले मृतक दीपेन्द्र मिश्रलाई मार्ने कार्यमा संलग्न रहे भएको पाइयो । यसर्थ प्रतिवादी संजयदास कथवनीया वारदातस्थलमा हतियारसहित उपस्थित भई मृतकलाई मार्नमा सहयोग पुर्‍याएको मिसिल संलग्न सबुद प्रमाणबाट पुष्टि हुन आयो ।

प्रतिवादी लालबाबु यादवको हकमा विचार गर्दा प्रतिवादी लालबाबु यादवलाई मृतक दीपेन्द्र मिश्रको हत्याको सन्दर्भमा वारदातस्थल हतियार लिई मार्ने कार्यमा सहयोग पुर्‍याएको भनी ज्यानसम्बन्धी १७(१) नं. बमोजिमको सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको माग दाबी भएको भए तापनि सुरू सर्लाही जिल्ला अदालतले प्रतिवादी लालबाबु यादवले आरोपित कसुरबाट सफाइ पाउने ठहर्‍याएको सुरू सर्लाही जिल्ला अदालतको फैसला पुनरावेदन अदालत, जनकपुरबाट समेत सदर भएको मिसिलबाट देखिन्छ । सुरू अदालतले प्रतिवादीलाई सफाइ दिएको फैसला पुनरावेदन तहबाट पनि सदर भै सकेपछि उक्त फैसला सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्छ सक्दैन भन्ने विषयमा हेर्नु पर्ने देखियो ।

न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) (ख) मा दश वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था रहेको पाइन्छ । ऐनमा भएको यस व्यवस्थाबमोजिम सर्वोच्च अदालतमा पुनरावेदन लाग्न पुनरावेदन अदालतबाट दश वर्ष कैद सजाय हुनुपर्ने बाध्यात्मक व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा सुरू सर्लाही जिल्ला अदालतले प्रतिवादी लालबाबु यादवले अभियोग मागदाबीबाट सफाइ दिएको फैसलाउपर वादी नेपाल सरकारले यी प्रतिवादीसमेत उपर अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी पुनरावेदन अदालत, जनकपुरमा पुनरावेदन दायर गरेकामा प्रत्यर्थी प्रतिवादी लालबाबु यादवसमेतलाई आरोपित अभियोगबाट सफाइ पाउने ठहरेको मिसिल संलग्न पुनरावेदन अदालतको मिसिलबाट देखिन आयो । दुई तहबाट यी प्रतिवादी लालबाबु यादवले आरोपित कसुरबाट सफाइ पाइसकेको अवस्थामा निजका विरूद्धमा पुनः पुनरावेदन लाग्न सक्ने 

देखिएन । कानूनबमोजिम दोस्रो तह पुनरावेदन लाग्नै नसक्ने अवस्थामा दुई तहबाट सफाइ पाइसकेका प्रतिवादी लालबाबु यादवका हकमा आएको पुनरावेदनपत्रलाई कानूनको रित पुर्‍याई दायर भएको भन्न मिलेन । 

बिगोतर्फ विचार गर्दा, प्रतिवादीहरूबाट डाँका भएको बिगो रू. ३,५१,२००।-  जाहेरवालालाई दिलाईभराई पाउँ भनी वादी नेपाल सरकारले पुनरावेदन जिकिर लिएको पाइन्छ । माथिको विवेचनाबाट प्रत्यर्थी प्रतिवादी प्रेमलाल साहसमेतले मृतक दीपेन्द्र मिश्रलाई कर्तव्य गरी मारेको पुष्टि भए पनि डाँका गरी लगिएको भनिएको रकम प्रतिवादी प्रेमलाल साहसमेतका कुनै पनि प्रतिवादीहरूबाट बरामद हुन सकेको मिसिलबाट देखिँदैन । वादी नेपाल सरकारले प्रतिवादीहरूले यति रकम डाँका गरी लगे भनी मागदाबी गर्नु मात्र पर्याप्त हुँदैन । डकैती भएको भनिएको रकम देखिनु पर्ने पनि हुन्छ । यसरी डकैती भएको रकम नै सप्रमाण यकिन हुन नसकेको र त्यसलाई पुष्टि हुने सबुद प्रमाण वादी पक्षबाट पेस हुन सकेको देखिँदैन । ठोस सबुद प्रमाणको अभावमा प्रत्यर्थी प्रतिवादीहरूले अभियोगपत्रमा उल्लिखित रकम डाँका गरी लगेको भन्ने वादी दाबीसँग यो इजलास सहमत हुन सकेन ।

अत: सुरू सर्लाही जिल्ला अदालतले प्रत्यर्थी प्रतिवादीहरू प्रेमलाल साह र दीलिप र दिलवा भन्ने विद्यानन्द राय यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने डाँकातर्फको वादी दाबी नपुग्ने ठहर्‍याएको फैसला मिलेकै देखिएकामा उक्त फैसला केही उल्टी गरी अभियोग मागदाबीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६३/२/३ को फैसला मिलेको देखिएन । सो नमिलेको हदसम्म उक्त फैसला केही उल्टी भई प्रतिवादी प्रेमलाल साह र दीलिप र दिलवा भन्ने विद्यानन्द रायले अभियोग माग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. कसुर गरेको ठहरी सोही महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र डाँकातर्फको अभियोग दाबी पुग्न नसक्ने ठहर्छ । प्रतिवादी संजयदास कथवनियाको हकमा सुरू सर्लाही जिल्ला अदालतले अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धीको १७(१) नं. को कसुरमा सोही नम्बरबमोजिम दश वर्ष कैद हुने ठहर्‍याएको फैसला मिलेकै देखिएकामा उक्त फैसला पुनरावेदन अदालतबाट उल्टी गरी अभियोग मागदाबीबाट सफाइ दिएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी भई अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धी महलको १७ (१) नं. बमोजिम दश वर्ष कैद हुने ठर्हछ । अर्का प्रतिवादी लालबाबु यादवको हकमा निजका विरूद्धमा पुनरावेदन दायर हुनै नसक्ने अवस्थामा पुनरावेदन दायर भएको हुँदा निजका विरूद्धको पुनरावेदन खारेज हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू विद्यानन्द राय यादव र प्रेमलाल साह तेलीलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको फैसला केही उल्टी भई दुवै जना प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरेकाले प्रतिवादी प्रेमलाल साह तेली मिति २०५७/८/१६ देखि र प्रतिवादी विद्यानन्द राय यादव मिति २०५८/५/३१ गतेदेखि थुनामा बसी पुनरावेदन अदालत, जनकपुरको फैसलाबमोजिम मिति २०६३/२/४ मा थुना मुक्त भई गएको देखिँदा निज प्रतिवादीहरू थुनामा बसेको उक्त अवधि कटाई बाँकी अवधिको कैदको लगत कसी असुलउपर गर्नु भनी सुरू अदालतमा लेखिपठाउनू ......................१

प्रतिवादी संजयदास कथवनियाका हकमा निजलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत, जनकपुरको फैसला केही उल्टी भई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(१) नं. बमोजिम दश वर्ष कैद हुने ठहरेकाले निज मिति २०५८/८/८ गतेदेखि थुनामा बसी पुनरावेदन अदालत, जनकपुरको फैसलाबमोजिम मिति २०६३/२/४ मा थुना मुक्त भई गएको देखिँदा निज प्रतिवादी थुनामा बसेको उक्त अवधि कटाई बाँकी अवधिको कैदको लगत कसी असुलउपर गर्नु भनी सुरू अदालतमा लेखिपठाउनू .................................................२

फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ...............................३

 

उक्त रायमा सहमत छु ।

न्या. जगदीश शर्मा पौडेल

 

इजलास अधिकृत: लोकनाथ पराजुली 

इति संवत् २०७१ साल कात्तिक २ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु