निर्णय नं. ९४७३ - क्षतिपूर्ति रकम दिलाई भराई पाऊँ ।

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७२।५।१०।५
०६९-CI-०८५३
मुद्दा : क्षतिपूर्ति रकम दिलाई भराई पाऊँ ।
पुनरावेदक/वादी : बाँके जिल्ला नेपालगञ्ज नगरपालिका वडा नं. १३ स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. अञ्चल कार्यालय नेपालगञ्जको तर्फबाट अख्तियारप्राप्त ऐ.का महाप्रबन्धक उर्मिला श्रेष्ठ
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : देवबहादुर बमको छोरा कैलाली जिल्ला धनगढी नगरपालिका वडा नं. ५ हसनपुर बस्ने डिमाञ्टल स्टोर एण्ड सप्लायर्सका प्रोपाइटर वर्ष ३२ का प्रचण्डबहादुर बम
करारमा उल्लेख भएको शब्दको अर्थ गर्दा कानून व्याख्याको नियमअनुसार नै गर्नु पर्ने हुँदा सम्झौताको दफा ८ मा भएको जुनसुकै साधनको अर्थ गर्दा कर्पोरेसन स्वयम्ले नुन ढुवानी गर्नु पर्ने र सो नुन ढुवानी गर्दा प्रयोग गरेको "साधन" को अर्थ यातायातको साधन मात्रै हो भनी गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं. ३)
करारको समय २०६३ चैत मसान्तसम्मको रहेकाले पुनरावेदक वादीले सो समयावधि बाँकी छँदै बिचैमा अर्कोपक्षसँग सम्झौता गरी विपक्षीलाई करारीय दायित्व पूरा गर्ने मौकाबाट वञ्चित गरी करार उल्लङ्घन गरेको भनी अर्थ गर्न मिल्ने देखिएन । करार सम्झौता हुँदा सहमति भएबमोजिम विपक्षीले करारीय दायित्व पूरा नगरेका कारण पुनरावेदक कर्पोरेसनले अर्कोपक्षसँग उक्त जिल्लाहरूमा नुन ढुवानी गराउन सम्झौता गर्नु परेको अवस्थामा विपक्षी प्रतिवादीले कबूल गरेकोभन्दा हालका ढुवानीकर्ताले कबुल गरेको रकम बृद्धि भई पुनरावेदक कर्पोरेसनलाई पर्न गएको नोक्सानी विपक्षीबाट भरी पाउने होइन भनी अर्थ गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं. ५)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ता रामचन्द्र सुवेदी
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता कृष्णप्रसाद सुवेदी
अवलम्बित नजिर :
ने.का.प. २०६५ अङ्क २ नि. नं. ७९३५ पृ. २४३,
सम्बद्ध कानून :
करार ऐन, २०५६ को दफा ८२ को उपदफा (१)
सुरू फैसला गर्ने अदालत :
मा.जि.न्या. श्री मुरारीबाबु श्रेष्ठ
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री रमेश पोखरेल
मा.न्या. श्री रत्नबहादुर बागचन्द
फैसला
न्या. ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०६८।१।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी पर्न आएको निवेदनमा निस्सा प्रदान भई पुनरावेदनको रोहमा यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ:-
तथ्य खण्ड
विपक्षी डिमाञ्टल स्टोर एण्ड सप्लायर्स र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. बिच मिति २०६३।५।६ मा जुम्ला र मुगु जिल्लामा नुन ढुवानी गर्ने सम्बन्धमा २०६३ साल चैत मसान्तसम्मको भाखा राखी दुईवटा छुट्टाछुट्टै सम्झौता भएको थियो । सम्झौताअनुसार साल्ट ट्रेडिङ्ग कर्पोरेसनको नेपालगञ्ज वा सुर्खेतको गोदामबाट मुगु जिल्लाको सदरमुकामको गोदामसम्म प्रतिक्विटल रू.३,८७५।- का दरले ८००.०० क्विटल र ऐ. गोदामबाट जुम्ला जिल्लाको सदरमुकामको गोदामसम्म प्रति क्विटल रू.२८५०।- का दरले १५००.०० क्वि. नुन विपक्षीले ढुवानी गर्नु पर्ने व्यवस्था रहेको र जुम्लाको लागि २००.४० क्वि. र मुगुको लागि २००.४० क्वि. नुन विपक्षीले बुझी जिम्मा लिनु भई सोमध्ये १८.८७ क्वि. नुनमात्र जुम्लामा पुगेको र बाँकी नुनसमेत विपक्षी जिम्मा नै रहेको
छ । विपक्षीले करार सम्झौताअनुसार करारीय दायित्व पूरा नगरेकाले सम्झौता अनुसारको दायित्व पूरा गर्न पटकपटक लिखित तथा विभिन्न सञ्चार माध्यमबाट जानकारी गराउँदासमेत विपक्षीले आफ्नो दायित्वप्रति उदासीनता देखाएको कारण सम्झौताको दफा (८) ले दिएको अधिकारबमोजिम मुगु जिल्लामा नुन ढुवानी गराउनका लागि मिति २०६३।९।१९ मा र जुम्लासम्म ढुवानी गर्नुपर्ने १५०० क्विटल नुनमध्ये १८.८७ क्विटलसम्म ढुवानी भै गएको र १४८१.१३ क्विटल नुन ढुवानी हुन बाँकी रहेकाले मिति २०६३।९।२४ मा अर्को पक्षसँग करार गरी वैकल्पिक व्यवस्था गर्नु परेको अवस्था छ । यसरी विपक्षीले मुगुसम्म नुन ढुवानीको लागि प्रति क्वि. रू.३८७५।– कबुल गरेको र हाल मणिलेक निर्माण सेवाले कबुल गरेको प्रति क्वि. रू.४२२५।– को फरक हेर्दा प्रति क्वि. रू.३५०।– हुन गई ढुवानी हुन बाँकी नुन ८००.०० लाई रू.३५०।- ले गुणा गर्दा रू.२,८०,०००।– फरक हुन आउँछ भने जुम्लासम्म नुन ढुवानीका लागि विपक्षीले कबुल गरेको प्रति क्वि. रू.२८५०।– र हाल उत्तमकुमार श्रेष्ठले कबुल गरेको प्रति क्वि. रू.३३१९।– को फरक हेर्दा प्रति क्वि. रू.४६९।– हुन गई विपक्षीसँगको सम्झौताअनुसार ढुवानी हुन बाँकी नुन १४८१.१३ क्वि. लाई फरक रू.४६९।– ले गुणा गर्दा रू.६,९४,६४९।९७ हुन आउँछ । विपक्षीले जिम्मा लिएको नुन ४००.८० क्वि. मध्ये १८.८७ क्वि. मात्र ढुवानी गरी गन्तव्य स्थानमा पुर्याएकामा ढुवानी गर्न बाँकी ३८१.९३ क्वि. को प्रति क्वि. रू.८००।– ले हिसाब गर्दा रू.३,०५,५४४।– देखिन आउँछ । सो सबै रकम जम्मा गर्दा जम्मा बिगो रू.१२,८०,१९३।९७ (रूपयाँ बाह्र लाख असी हजार एकसय त्रियानब्बे पैसा सन्तानब्बे) र फिराद दायर गर्दा राखेको कोर्ट फीसमेत विपक्षीबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. अञ्चल कार्यालय, नेपालगञ्जको मिति २०६४।६।१७ को फिरादपत्र ।
विपक्षी फिरादी र म प्रतिवादीबिच भएको करारनामाको अवधि २०६३ चैत मसान्तसम्म रहेको, उक्त करारनामाको दफा ८ मा नुन ढुवानी गर्ने तालिकाअनुसार नभएमा कर्पोरेसनले जुनसुकै साधनबाट चलन चल्तीको दररेटमा तोकिएको परिमाणको नुन ढुवानी गराउनेछ भन्ने व्यवस्था भएको हुँदा सो व्यवस्थालाई गलत व्याख्या गरी अन्य व्यक्ति वा फर्मलाई नयाँ ठेक्का दिनसक्ने भन्ने अर्थ गर्न मिल्दैन । विपक्षी वादीसँग मणिलेक निर्माण सेवा र उत्तमकुमार श्रेष्ठबिच भएको नुन ढुवानी सम्झौतासमेत २०६४ जेठ महिनासम्मको रहेकोबाट पनि २०६३ चैत मसान्तसम्म नुन ढुवानी गरिसक्नु पर्ने आवश्यकता रहेको भन्ने देखिँदैन । २०६३ पुस महिनासम्म तोकिएको परिमाण नुन ढुवानी हुन नसकेको हो भने सो महिनासम्मको ढुवानी हुने परिमाणलाई ढुवानी गर्न विपक्षी वादीले सूचना प्रकासित गर्न सक्नेसम्म हो । विपक्षी वादीसँग भएको सम्झौताको दफा ११ अनुसार सम्झौता मितिबाट चैत मसान्तसम्म ढुवानी नगरेमा मात्र धरौट जफत गरी हर्जानासमेत विपक्षी कर्पोरेसनले ढुवानीकर्ताबाट असुल गर्न सक्नेमा २०६३ मङ्सिर महिनामा नै विपक्षीबाट करारअनुसारको नुन ढुवानी गर्न रोक लगाएकाले तत्पश्चात् नुन ढुवानी गर्न सक्ने अवस्था रहेन । यसरी करार सम्झौताको अवधि बाँकी छँदै आफैँ करार Breach गरी क्षतिपूर्ति माग गर्न सक्ने अवस्था विपक्षी वादीलाई नभएकाले विपक्षीलाई कुनै क्षतिपूर्ति रकम दिनु पर्ने होइन । वादीले नै करारअनुसारको सर्त पालना नगरी आएको अवस्थामा आफैँ क्षतिपूर्ति पाउन सक्ने अवस्था करार ऐनअनुसार नभएको हुँदा काल्पनिक र असामयिक दाबीबाट फुर्सद पाउँ । प्रस्तुत मुद्दा दायर गर्नु अगाडि म प्रतिवादीले यस अदालतमा दायर गरेको क्षतिपूर्ति रकम भराई पाऊँ मुद्दाको दाबीलाई अभिन्न अङ्ग मानी न्याय निरूपण गरिपाउँ भन्नेसमेत व्यहोराको डिमाण्टल स्टोर एण्ड सप्लायर्सका प्रोपाइटर प्रचण्डबहादुर बमको मिति २०६५।४।१५ को प्रतिउत्तरपत्र ।
प्रतिवादीले विपक्षीवादीसँग गरेको सम्झौता अनुसारको नूनमध्ये १८.८७ किलो नुन जुम्ला सदरमुकाम पुर्याइसकेका र हिमपातसमेतको कारण बाँकी नुन ढुवानी गर्न बाँकी रहेकामा बाटो खुल्नासाथ सम्झौताअनुसारको नुन ढुवानी गर्ने जानकारी दिएकाले वादी दाबीअनुसार क्षतिपूर्ति दिनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी देवबहादुर बमको मिति २०६५।१०।१३ को बकपत्र ।
प्रतिवादीले नुन ढुवानी नगरेमा प्रतिवादीले कबुल गरेकोभन्दा अर्को पक्षले बढी कबुल गरेको रकम प्रतिवादीबाट भराई लिन पाउने भन्ने कुरा करारमा स्पष्ट उल्लेख नभएको र त्यसरी प्रतिवादीले करारमा कबुल गरेको रकमभन्दा अर्को पक्षसँग बढी रकम कबुल गरी गराई फरक परेको रकम प्रतिवादीबाट भराई दिन न्यायोचित नदेखिएकाले वादीबाट प्रतिवादीले बुझेको ४००.८० क्विटल नूनमध्ये ढुवानी गर्न बाँकी ३८१.९३ नुनको प्रतिक्विटल रू.८००।- का दरले हुने रू.३,०५,५४४।- मा प्रतिवादीले १८.८७ क्विटल ढुवानी गरेको सर्तबमोजिम प्रतिक्विटल रू.२,८५०।- का दरले हुने रू.५३,७७९।५० कट्टा गरी बाँकी हुने रू.२,५१,७६४।५० वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्नेसमेत व्यहोराको बाँके जिल्ला अदालतको मिति २०६६।८।८ को फैसला ।
प्रस्तुत मुद्दा हर हिसाब गराउने प्रयोजनार्थ दायर भएको नभई किटानी बिगो बराबरको क्षतिपूर्ति दिलाई भराई पाउनेतर्फ दाबी लिई फिराद दायर भएको साथै प्रतिवादीले १८.८७ क्वि. को ढुवानी भाडा दिलाई भराई पाउँ भनी फिराद दायर नगरेको अवस्था र स्थितिमा विपक्षी प्रतिवादीले यस कर्पोरेसनलाई तिर्नु बुझाउनु पर्ने गणितीय हिसाबको आधारमा ठहर भएको र रू.३,०५,५४४।– मध्ये अदालत स्वयम्ले आफूखुसी हिसाब गरी रू.५३,७७९।५० प्रतिवादीले पाउने र वादी दाबीबमोजिको बाँकी बिगो नपाउने ठहराएको हदसम्मको फैसलामा करारनामाको दफा ८, १०, ११ र करारसम्बन्धी ऐन, २०५६ को दफा ८२, ८३, ८४ तथा ८५ को व्याख्यात्मक त्रुटि भएको छ । करारनामाको दफा ८ मा निर्धारित समयमा निर्धारित परिमाणको नुन ढुवानी गर्न नसकेमा आवश्यक प्रमाणसहित थप म्यादको लागि यस कर्पोरेसनमा उपस्थति हुनु पर्नेमा विपक्षीले सो नगरी हुन गएको हानी नोक्सानी विपक्षीले नै तिर्नु बुझाउनु पर्ने र सो रकम विपक्षीले पाउने जुनसुकै रकमबाट कट्टा गरी भुक्तान गरिने र सोले नखामेमा प्रचलित कानूनबमोजिम असुलउपर गरिनेछ भन्ने व्यवस्था भएको साथै दफा ११ बमोजिम तोकिएको परिमाणको ९५ प्रतिशतसम्म ढुवानी नगरेमा धरौटी रकम जफत गरी थप हर्जाना असुलउपर गर्न सकिने व्यवस्था भएको अवस्थामा सो दफाहरूको आधारमा वादी दाबीबमोजिम विपक्षी प्रतिवादीबाट भरी पाउनु पर्ने क्षतिपूर्तिको रकम भरी पाउने नठहरिमात्र विपक्षीले जिम्मा लिएको नुनको ढुवानी रकममध्ये निजले ढुवानी गरिसकेको नुनको रकम कट्टी गरी नुनको मोलसम्म भरी पाउने ठहरेको सुरू फैसला सो हदसम्म बदर गरी वादी दाबी तथा पुनरावेदन जिकिरबमोजिमको बिगो दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको वादी साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. अञ्चल कार्यालय, नेपालगञ्जको पुनरावेदन अदालत, नेपालगञ्जमा परेको मिति २०६४।१।२४ को पुनरावेदनपत्र ।
विपक्षीसँग भएको करारको ८ नं. मा नुन ढुवानी गर्ने तालिकाअनुसार नभएमा कर्पोरेसनले जुनसुकै साधनबाट चलन चल्तीको दररेटमा तोकिएको परिमाणको नुन ढुवानी गराउने भन्ने व्यवस्था रहेकामा सो सर्त विपक्षी वादीले पालना नगरी मिति २०६३।९।१९ र ऐ. २४ मा अर्कै फर्मलाई नुन ढुवानी गर्न ठेक्का बोलकबोल गरी विपक्षी वादी आफैँले पहिला करार उल्लङ्घन गरेको कारण क्षतिपूर्ति पाउन सक्ने अवस्था नै नभएकामा सो तथ्यतर्फ ध्यानै नदिई म पुनरावेदक प्रतिवादीबाट रू.५३,७७९।५० कट्टा गरी बाँकी रू.२,५१,७६४।५० कर्पोरेसनले पाउने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ । विपक्षी वादीले आवश्यकताको सिद्धान्तअनुसार करार भङ्ग गरेको होइन भन्ने कथनसमेत २०६३।९।१९ र ऐ. २४ मा भएको करारनामा सम्झौताबाट पुष्टि भैरहेको छ । विपक्षीको गोदामबाट बुझी लिएको ४०० क्वि. नुन दैलेखको चुपुरामा पुर्याई हालसम्म राखिएको छ । सो नुन विपक्षी वादीले आफैँ बुझी लिनुपर्ने छ भने उक्त नुन चुपरासम्म पुर्याउन मैले लगाएको भाडा रकमसमेत वादीले हिसाब गरी दिनुपर्नेमा सो नुनको रकमसमेत बुझाउने गरी भएको फैसला करार ऐन, २०५६ को दफा ८० अनुसार त्रुटिपूर्ण हुँदा बाँके जिल्ला अदालतबाट भएको फैसला बदर गरी प्रतिउत्तरपत्र र पुनरावेदन जिकिरअनुसार विपक्षीलाई कुनै रकम दिनु नपर्ने गरी न्याय निरूपण गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रचण्डबहादुर बमको पुनरावेदन अदालत, नेपालगञ्जमा परेको मिति २०६७।४।२ को पुनरावेदनपत्र ।
वादीले क्षतिपूर्ति पाउँ भनी दर्ता गरेको मुद्दामा वास्तविकरूपमा वादीको के कति रकम क्षति भएको हो र कति रकम क्षतिपूर्तिस्वरूप भरी पाउने हो भनी हिसाब गरेर निष्कर्षमा पुगेको निर्णयलाई अन्यथा भन्न
मिल्दैन । यसरी वादीबाट प्रतिवादीले ढुवानी गर्न भनी बुझेको ४००.८० क्वि. नुनमध्ये प्रति क्वि. रू.२,८५०।- का दरले जुम्ला जिल्लामा ढुवानी गर्न कबुलअनुसार जुम्ला जिल्लामा ढुवानी गरी पुर्याएको १८.८७ क्वि. नुनको ढुवानी बापतको खर्च रू.५३,७७९।५० वादीबाट प्रतिवादीले पाउने र वादीबाट बुझेको नुनमध्ये ढुवानी गरी नपुर्याएको ३८१.९३ क्वि. नुनको वादी दाबीअनुसार नै प्रति क्वि. रू.८००।– का दरले हुने रू.३,०५,५४४।- वादीले प्रतिवादीबाट भरी पाउने देखिँदा वादीले नुनबापतको पाउने रकम रू.३,०५,५४४।- मा प्रतिवादीले ढुवानी गरेको नुनबापत प्राप्त गर्ने रू.५३,७७९।५० घटाई वादीले प्रतिवादीबाट खुद क्षतिपूर्ति पाउने रकम रू.२,५१,७६४।५० नै देखिएको छ । प्रतिवादीसँग ढुवानी गर्ने सम्झौता गरेको ३/४ महिनापश्चात् नै अन्य व्यक्तिसँग पुनः ढुवानी सम्झौता गरी प्रति क्वि. रू.४००।– भन्दा बढी फरक आएको रकम प्रतिवादीले बुझाउनु नै पर्छ भन्ने कुराको निश्चयात्मक करारको अभावमा सो रकम भराउन मिल्ने अवस्था नदेखिँदा र प्रतिवादी स्वयम्ले बुझेको नुनसमेत गन्तव्य स्थानसम्म पुर्याएको नदेखिएको अवस्थामा सोको हुन आउने रकम भराई दिने भनी सुरू बाँके जिल्ला अदालतबाट मिति २०६६।८।८ मा भएको फैसलामा कुनै त्रुटि नदेखिँदा सदर हुने ठहर्छ, दुवै पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०६८।१।१९ को फैसला ।
विपक्षी डिमाण्टल स्टोर एण्ड सप्लायर्सका प्रो. प्रचण्डबहादुर बम र निवेदक साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. बिच जुम्ला जिल्लाको सदरमुकामसम्म र मुगु जिल्लाको सदरमुकामसम्म नुन ढुवानीको लागि मिति २०६३।५।६ मा ढुवानीसम्बन्धी दुई थान करार भएको, सो करारको सर्त नं. ८ मा तोकिएको कार्यतालिकाबमोजिम विपक्षीले दायित्व पूरा नगरेको स्वयम् विपक्षीले स्वीकार गरेका र यस तथ्यलाई सुरू जिल्ला अदालत र पुनरावेदन अदालतसमेतले फैसलाको ठहर खण्डमा स्वीकार गरेको अवस्था रहेको छ । करार सर्तअनुसार तोकिएको स्थान र मितिमा नुन पुगेको हुनु पर्नेमा परिस्थितिमा आधारभूत परिवर्तन भई करारको परिपालना गर्न असम्भव भएको भन्ने मिसिल संलग्न कुनै पनि कागजातले प्रमाणित नगरेकाले विपक्षीले करारको सर्त र करार ऐन, २०५६ को दफा ७४ को दायित्व पूरा नगरेको पुष्टि भइरहेको
छ । विपक्षीले बुझी ढुवानी नगरी चलन गरेको परिमाणको नुनको मूल्यमात्र भराई दिने गरी बढी मूल्यमा ढुवानी गर्नु परेको बाध्यता र आवश्यकतालाई न्यायिक जानकारीमा नलिई हर हिसाब गराई दिएजस्तो गरी वादी दाबीभन्दा बाहिर गई ढुवानी मूल्य वर्षात्को समय र हिउँदको समयमा फरक परेको भन्ने निर्णयाधार लिई क्षतिपूर्तिको दाबी अपत्यारिलो भनी करारका सर्तअनुसारको दायित्व पूरा नगर्ने विपक्षीलाई नै सुविधा दिने तथा करारका सर्तहरूको कानून व्याख्यासम्बन्धी नियमहरू र करारका पक्षहरूको अभिप्राय (Intention) विपरीत व्याख्या गरी सुरू बाँके जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर गर्ने गरी पुनरावेदन अदालत, नेपालगञ्जबाट फैसला भएको छ । यसरी सुरू जिल्ला अदालत तथा पुनरावेदन अदालतबाट भएको उक्त फैसला करार ऐन, २०५६ को दफा ६५, ६६, ८०, ८१, ८२, ८३, ८४, ८५, ८९, प्रमाण ऐन, २०३१ को दफा ३, ७(ग), ५४, मुलुकी ऐन, अ.बं. १८४ क नं. तथा सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्त (ने.का.प. २०६८ अङ्क १ पृ. १७९ नि. नं. ८५५०, ने.का.प. २०६५ अङ्क २ नि. नं. ७९३५ पृ. २४३, ने.का.प. २०६७ अङ्क ६ नि.नं. ८३९६ पृ. १०१८) समेतको विपरीत भई त्रुटिपूर्ण रहेकाले मुद्दा दोहोर्याई हेरी पाउने निस्सा प्रदान गरी क्षतिपूर्ति नदिलाउने गरी भएको पुनरावेदन अदालत, नेपालगञ्जको मिति ०६८।१।१९ को फैसला र बाँके जिल्ला अदालतको मिति २०६६।८।८ को फैसला बदर गरी सुरू फिराददाबी र पुनरावेदन जिकिरबमोजिम इन्साफ पाउँ भन्नेसमेत व्यहोराको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लि. अञ्चल कार्यालय, नेपालगञ्जको तर्फबाट ऐका महाप्रबन्धक उर्मिला श्रेष्ठको मिति २०६८।७।२५ को मुद्दा दोहोर्याइ पाउँ भन्ने निवेदन ।
यसमा वादी साल्ट ट्रेडिङ्ग कर्पोरेसन र प्रतिवादी प्रचण्डबहादुर बमबिचमा मिति २०६३।५।६ मा भएको नुन ढुवानी गर्ने बारेको सम्झौताको दफा ८ मा नुन ढुवानीकर्ताले मासिक अवधिभित्र कमसेकम तोकिएको परिमाणको ७५ प्रतिशत नुन ढुवानी गर्नु पर्नेछ । सोअनुसार ढुवानी गर्न नसकेमा कर्पोरेसनले जुनसुकै साधनबाट चलन चल्तीको दररेटमा नुन ढुवानी गराउनेछ । सोबापत बढी खर्च लागेको रकम ढुवानीकर्ताले पाउने जुनसुकै रकमबाट कट्टा गरी भुक्तानी गरिने छ । सोले नखामेमा प्रचलित कानूनबमोजिम असुलउपर गरिनेछ भन्ने व्यवस्था भएकोमा सम्झौताको उक्त व्यवस्थालाई प्रमाणको रोहमा मूल्याङ्कन नगरी पुनरावेदन अदालत, नेपालगञ्जबाट भएको फैसलामा मुलुकी ऐन, अ.बं. १८४क तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । विपक्षी झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।१०।१९ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम मुद्दा पेसी सूचिमा चढी निर्णायार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट रहनुभएका विद्वान् अधिवक्ता श्री रामचन्द्र सुवेदीले विपक्षी प्रतिवादी र पुनरावेदकबिच मिति २०६३।५।६ मा भएका दुईवटा छुट्टाछुट्टै सम्झौताअनुसार विपक्षीले सम्झौतामा उल्लिखित समय तालिकाबमोजिम समयमा जुम्ला र मुगु जिल्लामा ढुवानी गर्नु पर्ने नुन ढुवानी नगरेकाले उक्त जिल्लाहरूमा रहेको नूनको आपूर्तिको समस्यालाई तत्कालै समाधान गर्न आवश्यक भई मिति २०६३।९।१९ मा मुगु जिल्लाका लागि मणिलेक निर्माण सेवासँग प्रति क्वि. रू.४२२५।- मा ८०० क्वि. र मिति २०६३।९।२४ मा जुम्ला जिल्लाका लागि उत्तमकुमार श्रेष्ठसँग प्रति क्वि. रू.३३१९।– मा १४८१.१३ क्वि. नुन ढुवानीका लागि विपक्षीसँग भएको सम्झौताको दफा ८ मा भएको वैकल्पिक व्यवस्था अनुरूप नै नयाँ करार सम्झौता गर्नु परेको हो । सो नयाँ करार गर्दा पुनरावेदकलाई रू.१२,८०,१९३।९७ नोक्सान पर्न गएको हुँदा सो रकम पुनरावेदकलाई विपक्षीबाट दिलाई भराई दिनु पर्नेमा करारीय दायित्व पूरा नगर्ने पक्षलाई नै सुविधा हुने गरी भएको सुरू तथा पुनरावेदन अदालतको फैसला बदर गरी विपक्षीले करारीय दायित्व पूरा नगरी साल्ट ट्रेडिङ्ग कर्पोरेसनलाई पुग्न गएको क्षतिबापतको फिराद तथा पुनरावेदन जिकिरबमोजिमको क्षतिपूर्ति रकम विपक्षीबाट पुनरावेदकले भरिपाउने गरी फैसला हुनु पर्ने भनी गर्नुभएको बहस सुनियो । विपक्षी प्रचण्डबहादुर बमको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद सुवेदीले करार सम्पन्न भएपछि परेको हिमपातको कारण दुवै जिल्लामा समय तालिकाअनुसार नुन ढुवानी गर्न नसकेको र करारको अवधिसमेत बाँकी नै रहेको हुँदा करारअनुसारको दायित्व मेरो पक्षबाट पूरा नगरेको भन्न मिल्दैन । पुनरावेदक वादी र मेरो पक्षबिच भएको करार सम्झौताको दफा ८ मा करारको अवधिसमाप्त नहुँदै अर्को पक्षसँग करार गर्न सक्ने अधिकार पुनरावेदक वादीलाई नदिएकाले मेरो पक्षसँग भएको करारको अवधि बाँकी छँदै अर्को पक्षसँग करार गरी मेरो पक्षलाई करारबमोजिमको कार्य गर्न अवरोध पुर्याई पुनरावेदक वादी स्वयम्ले करार भङ्ग गरेकाले मेरो पक्षले कुनै क्षतिपूर्ति दिनु पर्ने होइन भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा विपक्षी प्रतिवादीसँग जुम्ला र मुगु जिल्लामा नुन ढुवानीको लागि मिति २०६३।५।६ मा २०६३ चैत मसान्तसम्मको भाखा राखी दुईवटा छुट्टाछुट्टै करार गरेकामा विपक्षी प्रतिवादीले करारबमोजिमको समयतालिकाअनुसार नुन ढुवानी नगरी करारीय दायित्व पूरा नगरेका कारण सम्झौताअनुसार नै यस संस्थानले वैकल्पिक व्यवस्था गर्नु परेको हो । सो वैकल्पिक व्यवस्था गर्दा संस्थानलाई रू.१२,८०,१९३।९७ नोक्सान हुन गएको हुँदा सोको क्षतिपूर्ति र कोर्टफीसमेतको रकम विपक्षीबाट दिलाईभराई पाउँ भन्ने फिराद दाबी । विपक्षीसँग करार सम्झौता भई विपक्षीवादीसँग बुझी लिएको नुनमध्ये केही नुन जुम्ला जिल्लामा ढुवानी गरेको र बाँकी नुन दैलेखको चुपुरासम्म पुर्याई सकिएकोमा उक्त दुवै जिल्लामा हिमपात परेका कारण नुन ढुवानी गर्न नसकेको अवस्थामा करारको समयावधि बाँकी छँदै विपक्षी वादीले तेस्रोपक्षसँग करार गरी करार उल्लङ्घन गरेको अवस्था हुँदा मैले विपक्षी वादीलाई कुनै क्षतिपूर्ति दिनु पर्ने होइन भनी परेको प्रतिउत्तर । प्रतिवादीले बुझेको ४००.८० क्वि. नुन मध्ये ढुवानी गर्न बाँकी नुन ३८१.९३ को प्रति क्वि. रू.८००।– का दरले हुने रू.३,०५,५४४।- मा प्रतिवादीले १८.८७ क्वि. जुम्लामा ढुवानी गरेको सर्तबमोजिमको रू.२,८५०।- का दरले हुने रू.५३,७७९।५० कट्टा गरी बाँकी हुने रू.२,५१,७६४।५० वादीले प्रतिवादीबाट भरी पाउने ठहर गरी बाँके जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०६८।१।१९ को फैसलाउपर पुनरावेदक वादीको तर्फबाट मुद्दा दोहोर्याइपाउँ भनी परेको निवेदनमा निस्सा प्राप्त भई पुनरावेदनको रोहमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दामा यस इजलासबाट देहायका प्रश्नहरूको निर्णय गर्नु पर्ने देखिन्छः
सुरू तथा पुनरावेदन अदालतबाट भएको फैसला मिलेको छ वा छैन ? र
पुनरावेदक वादीले क्षतिपूर्ति रकम भरिपाउने हो वा होइन ? र पाउने हो भने के कति रकम पाउने हो ?
२. निर्णयतर्फ विचार गर्दा, पुनरावेदक वादी र विपक्षी प्रतिवादीबिच जुम्ला जिल्लाको सदरमुकासम्म प्रति क्वि. रू.२८५०।- का दरले १५०० क्वि. र मुगु जिल्लाको सदरमुकामसम्म प्रति क्वि. रू.३८७५।- का दरले ८०० क्वि. नुन ढुवानी गर्ने कार्यको लागि करार सम्झौता भएको र सो सम्झौताको म्याद २०६३ चैत मसान्तसम्म रहेको, विपक्षी प्रतिवादीले पुनरावेदक वादीबाट जुम्ला जिल्लाको लागि २००.४० क्वि. र मुगु जिल्लाको लागि २००.४० क्वि. गरी जम्मा ४००.८० क्वि. नुन बुझिलिएकामा सोमध्ये १८.८७ क्वि. नुन जुम्ला जिल्लामा ढुवानी गरेको भन्नेमा विवाद
देखिएन । दुईपक्ष बिच मिति २०६३।५।६ मा भएका दुवै सम्झौताको दफा ८ मा सम्झौताबमोजिम तोकिएको कूल परिमाणमध्ये प्रत्येक महिनामा ढुवानी गर्नुपर्ने नूनको परिमाण तोकेको, सो तोकिएको परिमाणको नुन मासिक अवधिभित्र कम्तीमा ७५ प्रतिशत ढुवानी गर्नुपर्ने र ७५ प्रतिशत नुन ढुवानी गर्न नसकेमा कर्पोरसनले जुनसुकै साधनबाट चलनचल्तीको दररेटमा उक्त मासिक ढुवानी गर्न तोकिएको परिमाणको नुन ढुवानी गराउने, सोबापत बढी खर्च लागेको रकम ढुवानीकर्ताले पाउने जुनसुकै रकमबाट कट्टा गरी भुक्तानी गरिनेछ र सोले नखामेमा प्रचलित कानूनबमोजिम असुलउपर गरिनेछ भनी सर्त प्रावधान राखी दुवैपक्षको सहमति भई करार सम्झौता भएको पाइन्छ । विपक्षी प्रतिवादीले सम्झौताबमोजिम पुनरावेदक वादीबाट जुम्ला जिल्लाको लागि २००.४० क्वि. र मुगु जिल्लाको लागि २००.४० क्वि. नुन बुझी लिएकोमध्ये जुम्ला जिल्लामा जम्मा १८.८७ क्वि. मात्र नुन ढुवानी गरेको कुरामा प्रतिवादी सहमत नै रहेको अवस्था देखिन्छ । विपक्षी ढुवानीकर्ता र पुनरावेदक वादी कर्पोरेसनबिच २०६३ साल भदौ महिनामा करार सम्पन्न भएको र सो करार सम्झौताको दफा ८ (क) मा भदौ महिनादेखि प्रत्येक महिना ढुवानीकर्ताले सम्बन्धित जिल्लामा पुर्याउनु पर्ने गरी तोकेको परिमाणअनुसारको नुनको ढुवानी गर्न सकेको अवस्था देखिँदैन ।
३. पुनरावेदक वादीले प्रतिवादीलाई करार सम्झौताअनुसार तोकिएको समयमा नुन ढुवानी गर्न पटकपटक लिखितरूपमा ताकेता गरी पत्राचार गरेको र तोकिएको समयमा ढुवानी नगरेमा सम्झौताको ८ नं.अनुसार कर्पोरेसनले अन्य वैकल्पिक व्यवस्था मिलाई नुन ढुवानी गराउने र नुन ढुवानी गराउँदा हालको दररेटभन्दा बढी रकम लाग्न गएमा सो रकम प्रतिवादीबाट असुलउपर गरिने भनी सार्वजनिकरूपमा सूचना प्रकाशित गर्दासमेत प्रतिवादीले तोकिएको समयमा करार सम्झौताको दफा ८ मा तोकिएको मासिक तालिकाअनुसारको नुन उक्त जिल्लाहरूमा ढुवानी नगरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिएको हुँदा करार सम्झौताको म्याद २०६३ चैत मसान्तसम्म रहेकामा म्याद समाप्त नहुँदै पुनरावेदक वादीले अर्को पक्षसँग नयाँ करार सम्झौता गरी पुनरावेदक स्वयम्ले करार उल्लङ्घन गरेको भनी विपक्षीका कानून व्यवसायीले बहसको क्रममा उठाउनुभएको विषयमा यो इजलास सहमत हुन
सकेन । करार सम्झौतामा जुनसुकै साधनबाट भन्ने उल्लेख भएकामा पुनरावेदक कर्पोरेसनले कुनै साधन प्रयोग गरी नुन ढुवानी नगरी अर्को पक्षसँग सम्झौता गर्दा फरक परेको रकम मागदाबी गर्न सक्ने हुँदैन भनी गर्नुभएको बहसतर्फ हेर्दा, अदालतले करारका सर्तहरूको व्याख्या गर्दा करारका पक्षहरूको अभिप्राय (Intention) को आधारमा गर्नुपर्ने भनी हिमालयन बैङ्क लि.का तर्फबाट अधिकार प्राप्त कम्पनी सचिव शुशील जोशीविरूद्ध दुर्गादेवी डङ्गोलसमेत (ने.का.प. २०६५, अङ्क २, नि. नं. ७९३५, पृ. २४३) को मुद्दामा भएको व्याख्या प्रस्तुत मुद्दामा आकर्षित हुने नै देखिन्छ । करारमा उल्लेख भएको शब्दको अर्थ गर्दा कानून व्याख्याको नियमअनुसार नै गर्नु पर्ने हुँदा सम्झौताको दफा ८ मा भएको जुनसुकै साधनको अर्थ गर्दा कर्पोरेसन स्वयम्ले नुन ढुवानी गर्नु पर्ने र सो नुन ढुवानी गर्दा प्रयोग गरेको "साधन" को अर्थ यातायातको साधन मात्रै हो भनी गर्न मिल्ने देखिँदैन । करार सम्झौतामा प्रयोग गरिएको "जुनसुकै साधन" को अर्थ गर्दा यातायातको साधनलाई मात्रै बुझाउँछ भनी सोझो अर्थ नगरी सो दफामा प्रयोग भएको "अन्य वैकल्पिक उपाय" भन्ने वाक्यलाई समेत मध्यनजर गरी करारका पक्षहरूको अभिप्रायको खोजी गरिनु पर्ने देखिन्छ । पुनरावेदक वादी र विपक्षी प्रतिवादीबिच भएको करारको अभिप्राय जुम्ला र मुगु जिल्लामा नूनको अभाव हुन नदिई नियमितरूपमा नुन आपूर्ति गर्ने रहेको र यदि विपक्षीले तोकिएको समयमा तोकिएको परिमाण नुन आपूर्ति गर्न नसकेको वा नगरेको अवस्थामा कर्पोरेसन स्वयम्ले अन्य जुनसुकै वैकल्पिक उपाय अवलम्बन गरी उक्त क्षेत्रमा नुन आपूर्ति गर्न सक्ने भन्ने देखिएको हुँदा कर्पोरेसनले आफैँले कुनै सवारीसाधनबाट नुन ढुवानी गर्नु पर्ने भन्ने अर्थ गर्न मिल्ने नभई कर्पोरेसनले जुनसुकै तरिकाबाट नुन ढुवानी गराउन सक्ने कार्यलाई बुझ्नुपर्ने हुन्छ । अतः दुर्गम क्षेत्रमा रहेका नागरिकहरूलाई नुनलगायतका अति आवश्यक खाद्य पदार्थ समयमा आपूर्ति गर्ने जिम्मेवारी लिएको साल्ट ट्रेडिङ्ग कर्पोरेसनले सो क्षेत्रहरूमा समयमा नुन आपूर्ति गराउने प्रयोजनका लागि प्रतिवादीसँग करार सम्झौता भएको भन्ने देखिएको र सो सम्झौताको अवधि चैत मसान्तसम्मको तोकिएको भएपनि प्रत्येक महिना आपूर्ति हुनु पर्ने नुनको परिमाणसमेत सम्झौतामा उल्लेख भएको देखिँदा सम्झौता अवधि बाँकी रहेकाले पुनरावेदक वादीले अर्को पक्षसँग सम्झौता गरी नुन आपूर्ति गर्न सक्दैन भन्न मिल्ने नदेखिँदा वादीदाबी पुग्न नसक्ने ठहर गरी भएको बाँके जिल्ला अदालतको मिति २०६६।८।८ को फैसला र सो फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०६८।१।१९ को फैसलामा तात्त्विक फरक पर्ने देखिन्छ ।
४. अब पुनरावेदक वादीले प्रतिवादीबाट क्षतिपूर्ति भरी पाउने हो होइन र पाउने भए के कति रकम क्षतिपूर्ति पाउँछ भन्ने दोस्रो प्रश्नतर्फ विचार गर्दा, प्रतिवादीले सम्झौताअनुसार तोकिएको समय तालिकाअनुसारको नुन ढुवानी नगरेका कारण जुम्ला र मुगु जस्तो दुर्गम क्षेत्रका जनताले नुन जस्तो अति आवश्यक खाद्य पदार्थको उपभोगबाट वञ्चित हुनु पर्ने स्थिति सिर्जना हुन नदिने उद्देश्यबाट मुगु र जुम्ला जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा क्षेत्रीय प्रशासन कार्यालय, वीरेन्द्रनगर सुर्खेतसमेतबाट पुनरावेदक कर्पोरेसनलाई समयमा नुन ढुवानी गर्न पत्राचार भएको देखिन्छ । पुनरावेदक कर्पोरेसनले यी प्रतिवादीलाई सम्झौताअनुसार समयमा नुन ढुवानी गर्न लिखितरूपमा पत्राचार गरेको साथै सार्वजनिक सूचनासमेत जारी गर्दासमेत यी प्रतिवादीले सम्झौताअनुसार समयमा उक्त जिल्लामा नुन ढुवानीको लागि पहल गरी नुन ढुवानी नगरेको कारण पुनरावेदकले सम्झौताको दफा ८ मा भएको व्यवस्थाअनुसार नै वैकल्पिक उपायको अवलम्बन गर्नु परेको अवस्था सिर्जना भएको देखिन्छ ।
५. करार ऐन, २०५६ को दफा ८२ को उपदफा (१) मा करारको कुनै पक्षले करारबमोजिमको दायित्व पूरा नगरेमा वा करारबमोजिम आफूले गर्नुपर्ने काम निजले नगर्ने भएको कुराको सूचना अर्को पक्षलाई दिएमा वा पक्षको काम कारवाही र आचरणबाट निज करारबमोजिमको काम गर्न असमर्थ देखिएमा निजले करार उल्लङ्घन गरेको मानिनेछ भन्ने उल्लेख
भएको । करारीय दायित्व परिपालनाको कर्तव्य करारका पक्षहरूमै रहेको हुन्छ । प्रस्तुत विवादमा दुईपक्षबिच जुम्ला र मुगु जिल्लामा सम्झौतामा तोकिएको समय तालिकाअनुसार नुन ढुवानी गर्ने कार्य सम्पन्न गर्ने गरी करार भएकामा विपक्षीले सम्झौताको सर्तअनुसार उक्त जिल्लाहरूमा तोकिएको समयमा तोकिएको परिमाणमा नुन ढुवानी नगरेको भन्ने
देखियो । मिति २०६३।५।६ मा यी दुईपक्ष बिच भएको करारमा तोकिएको समय तालिकाअनुसार तोकिएको परिमाणमा नुन ढुवानी नगरेमा पुनरावेदक वादीले वैकल्पिक व्यवस्था गरी उक्त जिल्लाहरूमा नुन ढुवानी गर्न सक्ने गरी करार सम्झौता भएकामा विपक्षीले हिमपात र पानी परेको कारण देखाई सम्झौताअनुसार भदौ महिनादेखि मङ्सिर महिनासम्म पुग्दासमेत प्रत्येक महिनाको लागि तोकिएको परिमाणको नुन आपूर्ति नगरी आफ्नो करारीय दायित्व पूरा गर्न असमर्थ रहेको भन्ने देखियो । यिनै प्रतिवादी वादी र पुनरावेदक प्रतिवादी भई चलेको क्षतिपूर्ति रकम भराइपाउँ भन्ने मुद्दामा वादी प्रतिवादीबिच भएको सम्झौताको दफा ८ मा उल्लेख भएबमोजिम वादीले नुन ढुवानी गर्न नसकी वादीपक्षबाट नै करार उल्लङ्घन भएको भनी बाँके जिल्ला अदालतबाट मिति २०६६।८।८ मा भएको सुरू फैसलालाई सदर गरी मिति २०६८।१।१९ मा पुनरावेदन अदालत, नेपालगञ्जबाट फैसला भई अन्तिम भएकोसमेतबाट प्रतिवादीले नै करारीय दायित्व पूरा नगरी करार उल्लङ्घन गरेको भन्ने प्रस्ट देखिएको छ । यस्तो अवस्थामा करारको समय २०६३ चैत मसान्तसम्मको रहेकाले पुनरावेदक वादीले सो समयावधि बाँकी छँदै बिचैमा अर्को पक्षसँग सम्झौता गरी विपक्षीलाई करारीय दायित्व पूरा गर्ने मौकाबाट वञ्चित गरी करार उल्लङ्घन गरेको भनी अर्थ गर्न मिल्ने देखिएन । करार सम्झौता हुँदा सहमति भएबमोजिम विपक्षीले करारीय दायित्व पूरा नगरेका कारण पुनरावेदक कर्पोरेसनले अर्कोपक्षसँग उक्त जिल्लाहरूमा नुन ढुवानी गराउन सम्झौता गर्नु परेको अवस्थामा विपक्षी प्रतिवादीले कबुल गरेकोभन्दा हालका ढुवानीकर्ताले कबुल गरेको रकम बृद्धि भई पुनरावेदक कर्पोरेसनलाई पर्न गएको नोक्सानी विपक्षीबाट भरिपाउने होइन भनी अर्थ गर्न मिल्ने देखिएन ।
६. अब वादीले प्रतिवादीबाट के कति रकम भरी पाउने हो भन्ने सन्दर्भमा हेर्दा, जुम्ला र मुगु जिल्लामा नुन ढुवानी गर्ने कार्य सम्पन्न गर्नको लागि विपक्षी प्रचण्डबहादुर बमले कबुल गरेको जुम्ला जिल्लाको लागि प्रति क्वि. रू.२८५०।- का दरले १५०० क्वि. र मुगु जिल्लाको लागि प्रति क्वि. रू.३८७५।- का दरले ८०० क्वि. नुन ढुवानी गर्नु पर्नेमा विपक्षीले जुम्ला जिल्लाको लागि १८.८७ क्वि. नुन मात्र ढुवानी गरेको अवस्थामा मिति २०६३।९।१९ मा पुनरावेदक र मणिलेक निर्माण सेवाबिच करार सम्झौता हुँदा कबूल गरेको मुगु जिल्लाको लागि प्रति क्वि. रू.४२२५।- का दरले ८०० क्वि. र मिति २०६३।९।२४ मा पुनरावेदक र उत्तमकुमार श्रेष्ठ बिच करार सम्झौता हुँदा कबूल गरेको जुम्ला जिल्लाको लागि प्रति क्वि. रू.३३१९।- का दरले १५०० क्वि. नुन ढुवानी गर्ने गरी करार सम्झौता भएकामा नुन ढुवानी खर्चमा बृद्धि भई फरक पर्न गएको रकम पुनरावेदक वादीले विपक्षी प्रतिवादीबाट भराउन पाउने नै देखियो ।
७. तसर्थ प्रतिवादीले कबुल गरेको रकमभन्दा अर्को पक्षसँग बढी रकम कबूल गरी गराई फरक रकमतर्फ वादी दाबी पुग्न नसक्ने र वादीबाट प्रतिवादीले बुझेको ४००.८० क्वि. नूनमध्ये ढुवानी गर्न बाँकी नुन ३८१.९३ को प्रति क्वि. रू.८००।- का दरले हुने रू.३,०५,५४४।- मा प्रतिवादीले १८.८७ क्वि. ढुवानी गरेको सर्तबमोजिम प्रति क्वि. रू.२८५०।- का दरले हुने रू.५३,७७९।५० कट्टा गरी बाँकी हुने रू.२,५१,७६४।५० वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भनी मिति २०६६।८।८ मा बाँके जिल्ला अदालतबाट भएको फैसला र सो फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०६८।१।१९ को फैसला मिलेको नदेखिँदा केही उल्टी भई फिराद मागबमोजिम वैकल्पिक व्यवस्था गर्दा जुम्लासम्म ढुवानी हुनुपर्ने नुन १५०० क्वि. मध्ये १८.८७ क्वि. ढुवानी भै गएकाले ढुवानी हुन बाँकी १४८१.१३ क्वि. को फरक परेको प्रति क्वि. रू.४६९।- ले हुने रू.६,९४,६४९।९७, मुगुसम्म ढुवानी हुनुपर्ने नुन ८०० क्वि. को फरक परेको प्रति क्वि. रू.३५०।- ले हुने रू.२,८०,०००।- र विपक्षीले बुझी ढुवानी गर्न बाँकी ३८१.९३ को प्रति क्वि. रू.८००।- का दरले हुने रू.३,०५,५४४।- समेत गरी जम्मा रू.१२,८०,१९३।९७ मध्ये प्रतिवादीले ढुवानी गरिसकेको १८.८७ क्वि. को रू.२८५०।- का दरले हुने रू.५३,७७९।५० कट्टा गरी बाँकी हुने रू.१२,२६,४१४।४७ वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, नेपालगञ्जको फैसला केही उल्टी भई वादीबाट प्रतिवादीले बुझेको नूनमध्ये ढुवानी गरिसकेको नुनको सर्तबमोजिमप्रति क्वि. रू.२८५०।- का दरले १८.८७ क्वि. को हुने रू.५३,७७९।५० वादीबाट प्रतिवादीले भरिपाउने हुँदा सो रकम कट्टा गरी रू.१२,२६,४१४।४७ प्रतिवादीबाट वादीले भरिपाउने ठहरेकाले ऐनका म्यादभित्र बिगो भराइपाउँ भनी दरखास्त दिएमा कानूनबमोजिम लाग्ने दस्तुर लिई उपरोक्त बिगो प्रतिवादीबाट वादीलाई भराई दिनु भनी सुरू बाँके जिल्ला अदालतमा लेखी पठाउनू ....१
वादीले फिराद दायर गर्दा राखेको कोर्ट फी रू.१६,५७३।-, पुनरावेदन अदालत, नेपालगञ्जमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रू.१,५४३।- र यस अदालतमा मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान भएपछि राखेको कोर्ट फी रू.२,४८६।- समेत जम्मा कोर्ट फी रू.२०,६०२।- वादीले प्रतिवादीबाट भरिपाउने हुँदा प्रतिवादीको जायजेथा देखाई कोर्ट फी भराइपाउँ भनी कोर्ट फी ऐनका म्यादभित्र दरखास्त दिएमा केही दस्तुर नलिई प्रतिवादीबाट वादीलाई कोर्ट फी भराइदिनु भनी सुरू बाँके जिल्ला अदालतमा लेखी पठाइदिनू ........२
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ............३
उक्त रायमा सहमत छु ।
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत: इन्दिरा शर्मा
इति संवत् २०७२ साल भदौ १० गते रोज ५ शुभम् ।