शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४२८७ - कर्तव्य ज्यान

भाग: ३३ साल: २०४८ महिना: भाद्र अंक:

निर्णय नं. ४२८७    ने.का.प. २०४८      अङ्क ५

 

संयुक्तइजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०४६ सालको फौ.पु.नं. ३५९

सम्वत् २०४७ सालको फौ.पु.नं. २२९

फैसला भएको मिति: २०४८।१।१८।४ मा

पुनरावेदक/प्रतिवादी : श्री कृष्ण सुवेदीको छोरा जि.पर्वत सालिजा गा.पं. वडा नं. ४ बस्ने      बुद्धिप्रसाद सुवेदी (साविक पेज नं. १८६)

विरुद्ध

प्रत्यर्थी/वादी : कृष्ण सुवेदीको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    शंकाले प्रमाणको रुप लिन सक्तैन शंका शंकै हो र शंकाको भरमा यही हो भनी निष्कर्षमा पुग्न न्यायसंगत नदेखिने ।

(प्रकरण नं. २४)

(२)   अन्दाजबाटभन्ने रायलाई निश्चित राय भन्न नमिल्ने ।

(प्रकरण नं. २६)

(३)   विशेषज्ञको राय निश्चित एवं कारणमा आधारित हुनुपर्दछ अन्यथा त्यस्तो रायले कुनै महत्व राख्दैन ।

(प्रकरण नं. २६)

(४)   अन्दाज गरिएको कुरा प्रमाणित हुन सक्तैन, बुझिएकाको भनाई समेत अन्दाज र शंकामा आधारित भएकोले यिनीहरुको लेखाई बकाई प्रमाणित मान्न नसक्ने ।

(प्रकरण नं. २७)

(५)   परिस्थितिजन्य प्रमाणको आधारमा ठहर गर्ने आधार बिन्दू र सम्बद्ध तथ्यको कडी एक आपसमा एकबद्ध रुपले आबद्ध एवं गाँसिएको हुनुपर्दछ सो गाँसिएको मालाकार कडीमा कुनै छुट हुनु हुँदैन, एउटा तथ्य अर्को तथ्यसंग अन्योन्याश्रित हुनु अपरिहार्यता छ ।

(प्रकरण नं. २९)

(६)    अनुमान एवं शंकाको लेखाईबकाई र विशेषज्ञको अन्दाजमा लेखिएको रायलाई निश्चित राय मानी शंका र अनुमानका आधारमा कसूर ठहराउन मिल्दैन । शड्ढा र अन्दाजका कुरा व्यक्तिगतगत विचारका कुरा हुन । यस्तो शड्ढा र अन्दाजले ठोस प्रमाणको रुप लिन सक्तैन ।

(प्रकरण नं. ३०)

पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री हिरा रेग्मी र विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी

प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा

प्रत्यर्थी वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी न्यायप्रशासन सुधार ऐन, २०३१ तथा सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम यस अदालतको क्षेत्राधिकार अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

२.    जि.पर्वत सालिजा गा.पं. वडा नं. ३ सल्लेनी भन्ने ठाउँमा आफ्नो बारी धनसार भएकोले श्रावण २७ गते मकै भाँच्न जाँदा अपरान्ह ४ बजे धनसारबाट दुर्गन्ध चलेकोले के को दुर्गन्ध चल्यो भनी गोठको तलामा गई हेर्दा कपडाको पटुकाको पासो लगाई मरी रहेको देखी तत्काल स्थानीय गा.पं. को पञ्च (साविक पेज नं. १८७) सदस्य समेतलाई खबर गरी लास रहेको ठाउँमा गई हेर्दा कपडाको पटुकाको पासो लगाई मरी रहेको देखी तत्काल स्थानीय गा.पं.को पञ्चसदस्य समेतलाई खबर गरी लास रहेको ठाउँमा गई हेर्दा मु.खर सिंहले मेरी छोरी गोममाया हुन् । तिम्रो गोठमा आई मरिन् । तिम्रो गोठमा झुण्डी मरेकाले तिमीले नै जाहेर गर भनेकोले जाहेर गर्न आएको छु । जाँचबुझ गरी पाउँ भन्ने समेत व्यहोराको श्री कृष्ण सुवेदीको मिति ०४१।४।२९ गतेको जाहेरी दर्खास्त ।

३.    मेरी छोरी गोममाया मिति ०४१।४।२२ गते बेलुका ६ बजेको समयमा साथी कहाँ जान्छु भनी आमासंग भनी गएकी घरमा फर्की नआएकीले गाउँ घरमा खोजखबर गर्दा पत्ता नलागेबाट हुलिया दर्खास्त गर्ने विचारमा थिएँ । त्यस्तैमा मिति ०४१।४।२७ गते श्री कृष्णको धनसारमा छोरीको लाश झुण्डिएको अवस्थामा फेला परेको तर लाशको प्रकृति हेर्दा कर्तव्यबाट मारी पछि झुण्ड्याएकोमा विश्वास लाग्छ । नाचगान, राम रमितामा खडानन्द सुवेदी, बुद्धिप्रसाद सुवेदी मेरी छोरीसंगै हिंड्ने गरेको र खडानन्द समेतको गर्भ बोकेको कारणबाट निजहरुले नै कर्तव्य गरी मारी झुण्ड्याएको हुनुपर्दछ भन्ने समेत व्यहोराको मृतकको बाबु मु.खरसिंहले मिति ०४१।४।३० मा प्रहरीमा गरेको कागज ।

४.    पूर्व जाहेरवालाको बारी, पश्चिम अं. २० मिटर फरकमा ठाडो डहर, उत्तर दक्षिण जाहेरवालाको बारी यति चार किल्ला भित्रको लम्बाई १८ हात, चौडा १० हात भएको ढुड्डाको गारो फुसको छानो १ तला पुरेको धनसार तला देखि माथि गारोको उचाई २ हात भएको सो कटेराको तलाको दक्षिण पट्टि माझको धुरी बलो अडेको भ्याल्सीमा नीलो रंगको पटुकाको एक मात्र टुप्पो बाँधी अर्को टुप्पोको सुर्के पासोमा गोममायाको लाश झुण्डिएको, दक्षिणपट्टि फर्किएको लाशको घाँटीबाट सो एक पासो बाँधेको धरम बलो भ्याल्सीसम्म पासोको लम्बाई २ हात धरम बलोबाट तलको भुँइसम्म ४ हात उचाई भएको लाश झुण्डिएको पासोको सुर्के गाँठो लासको बायाँ कान भन्दा पछि केही माथि र पासो भित्र लाशको कुर्कुच्चाले भुँइ छोएकोले खुट्टा भुँइमा पसारिएको, लाशको पूरा भाग सडीगली किरा परी दुर्गन्ध भएको भन्ने समेत व्यहोराको मिति ०४१।४।३० को घटनास्थल लाश प्रकृति मुचुल्का ।

५.    लाश झुण्डिएको भए पनि घाँटीको अवस्था हेर्दा पहिले नै मारिए पछि झुण्डिएको जस्तो देखिन्छ । अन्दाजबाट यो मृतकले आत्महत्या नगरी कसैको कर्तव्यबाट मारिएको हुनुपर्दछ भन्ने समेत व्यहोराको हेल्थपोष्ट साजिलाको मिति ०४१।४।३० को प्रतिवेदन ।

६.    मिति ०४१ साल ज्येष्ठ महीनामा मैले गर्भ बोकेकी छु । मलाई तपाइको घरमा लगी राख्नु होस भनी मसंग गोममायाले भनेकीबुद्धिप्रसादको र मेरो बीच गोममायालाई कसले स्वास्नी राख्ने भनी सल्लाह हुँदा तिमीले र मैले स्वास्नी राख्नु हुँदैन । हाम्रो बदनाम हुन्छ । कुनै किसिमले मार्न पाए हुन्थ्यो भन्ने सल्लाह भएको थियो । गोममायालाई कसले कर्तव्य गरी मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको अभियुक्त खडानन्दले मिति ०४१।५।४ मा प्रहरी समक्ष गरेको बयान कागज ।

७.    खडानन्द मिति ०४१।४।२२ गते राती बाहिर निस्की धेरै बेर पछि आएको र गोममायाले गर्भ बोकेकी तिमी कन्या केटी मगर्नीलाई स्वास्नी राख्न हुँदैन । बरु कुनै उपाय गरेर मार्न पाए हुन्थ्यो । मलाई मद्दत गरी देउ भनी खडानन्दले मिति ०४१ श्रावण ६, ७ तिर भनेको थियो । मैले पनि गोममायालाई दुवै मिली मार्न पर्ला मौका चाहिन्छ भनी सल्लाह दिएको हुँ । मैले कर्तव्य गरी मारेको होइन । निज खडानन्दले कर्तव्य गरी मारेको हुनुपर्दछ भन्ने समेत व्यहोराको च्याण्टे भन्ने बुद्धिप्रसाद सुवेदीको मिति ०४१।५।६ मा प्रहरी समक्ष गरेको कागज ।

८.    गोममाया मगर्नीलाई खडानन्द सुवेदी र बुद्धिप्रसाद सुवेदीले मारेकोमा विश्वास लाग्छ भन्ने समेत (साविक पेज नं. १८८) व्यहोराको मिति २०४१।५।९ को सरजमीन मुचुल्का ।

९.    खडानन्द र बुद्धिप्रसाद दुवै जनाले गोममायालाई गर्भ बोकेको कारणबाट घाँटी अठ्याई कर्तव्य गरी मारी आफैं झुण्डिएको बनाउन गाउँ देखि बाहिर एकान्त ठाउँ श्री कृष्णको धनसारमा झुण्डयाई छाडेको रहेछन भन्ने तथ्य सबूद प्रमाण मिसिलबाट प्रष्ट देखिन आएको हुँदा खडानन्द सुवेदी, बुद्धिप्रसाद सुवेदी समेत २ जना उपर कर्तव्य ज्यान मुद्दा चलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को देहाय ३ अनुसार सजायँको माग दावी गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन रहेछ ।

१०.    गर्भ रहेको कारणबाट आफ्नो जातीय संस्कार अनुसार इज्जत जोगाउन निज अभियुक्तहरुले मारेकोमा शंका लाग्छ भनी खरीमायाले मिति २०४१।४।३१ मा र डिलिसा मगर्नीले मिति ०४१।४।३१ मा गरेको पृथक पृथक कागज ।

११.    मृतकको बाबु खर सिंहले म उपर झुण्ड्याई मारेको भन्ने आरोप पुरानो झगडिया भएकोले लगाएका हुन । खरीमाया, डिलिसा समेतसंग नाचगानमा संगै हिंड्ने गर्दथिन । खरसिंहको भनाइमा लागी अरुले पनि झुठ्ठा कागज लेखी दिएका हुन । बुद्धिप्रसादको बयान अनुसार मैले मृतक गोममायालाई मार्ने सल्लाह गरेको पनि होइन । म समेतले मारी झुण्डाएको पनि होइन । तसर्थ प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ हुनुपर्ने होइन भन्ने समेत व्यहोराको मिति ०४१।५।२२ मा खडानन्द सुवेदीले पर्वत जिल्ला अदालतमा गरेको बयान कागज ।

१२.   मिति ०४१।४।२२ गते कक्षा दशमा अध्ययनरत भएकोले बिहान खाना खाई ट्युसन पढ्न भनी राजु चपाई, कृष्णप्रसाद, रेशमलाल सुवेदीसंग म पनि १५ मिनेटको बाटो लाग्ने ग्राम प्रकाश माध्यमिक विद्यालय, रातमाटामा गएको थिएँ । बेलुका ६ बजे घर फर्की भात खाएपछि निजहरुसंग एकै ठाउँमा बसी राती १० बजेसम्म पढी मेरै घरमा सुतेका हौं प्र.खडानन्दलाई चिन्दछु । जेठा बाबुको छोरा दाजु नाता पर्दछन । उनीसंग मेरो हित्त चित्त छैन । उनीसंग गीत गाउने संगसँगै हिंड्ने गर्दैनथे । मृतकको बाबुसंग रिसइवीको झगडिया हुँदा गोममायालाई मारेको भनी झुठ्ठा कागज लेखी दिएका हुन र अरुले पनि यही भनाईमा लागी झुठ्ठा बकेका हुन । गोममायालाई कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको बुद्धिप्रसाद सुवेदीले मिति २०४१।५।२२ मा पर्वत जिल्ला अदालतमा गरेको बयान रहेछ ।

१३.   मृतक गोममायासंग खडानन्द समेतको सम्बन्ध रही गर्भ समेत बोकी सकेपछि खडानन्दसंग जाने र लिने विषयमा कुरा भई जात घटी बढी भएको कारणले प्रतिवादीले सकार्नु भन्दा पन्छाउनु नै राम्रो ठानी मार्न परिबन्ध मिलाई मारी सकेपछि कर्तव्यबाट बाँच्नको लागि लास झुण्ड्याई आफैं झुण्डिई मरेको भन्ने देखाउनको लागि मृतकलाई झुण्ड्याएको र वारदातको दिनमा प्रतिवादीहरु वारदातमा सामेल रहेको कुरा खरीमाया मगर्नी समेतले देखी किटानी बयान गरेकोले अभियुक्त इन्कारी भए तापनि प्रहरी प्रतिवेदन माग बमोजिम अपराध गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु पर्वत जिल्ला अदालतको मिति ०४३।७।२५ को फैसला रहेछ ।

१४.   जग्गा सम्बन्धी मुद्दाका इवीबाट मृतकका बाबुको भनाइलाई मुख्य आधार लिई भएको पर्वत जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.खडानन्द सुवेदीको र अनुमानको भरमा मलाई दोषी ठहर गरेको फौजदारी न्यायको सिद्धान्त विपरीत छ । मृतकले आफैं आत्महत्या गरेको हुनुपर्दछ । आरोपित कसुरबाट सफाई दिलाई पाउँ भन्ने समेत व्यहोराको प्र.बुद्धिप्रसाद सुवेदी समेतका ध.अं.अ.मा परेको पृथक पृथक पुनरावेदन रहेछ ।

१५.   शंकाको भरमा ज्यान जस्तो अपराधमा अपराधी घोषित गर्नु न्यायोचित नहुने भएको र अनिश्चित कुरालाई आधारभूत कुरा मान्न नहुने शंका र (साविक पेज नं. १८९) विश्वास प्रमाणको रुपमा ग्राह्य नहुने भएकोले शंकारहित अकाट्य प्रमाणको अभावमा शड्ढा र विश्वासको भरमा प्र.हरुलाई कर्तव्यज्यान जस्तो जघन्य फौज्दारी मुद्दामा दोषी ठहराउन नमिल्ने समेतबाट शड्ढाको सुविधा समेत पाउने हुँदा पर्वत जिल्ला अदालतले प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम २० वर्ष कैदको सजायँ गरेको इन्साफ नमिलेकाले प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ध.अं.अ.को मिति ०४४।९।९ को फैसला रहेछ ।

१६.    उक्त फैसलामा चित्त बुझेन सबूदप्रमाण र अन्य मिसिलमा भएका प्रमाणहरुको उचित मूल्याड्ढन गरी ध.अं.अ. को उक्त फैसला बदर गरी शुरु पर्वत जिल्ला अदालतको फैसला सदर गरी प्रतिवादीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र रहेछ ।

१७.   मृतक समेतसंग राम रमितामा गीत गाई राती राती हिंड्ने भनी देखाएका कृष्णप्रसाद सुवेदी, रेशमलाल सुवेदी, राजु भन्ने वासुदेव समेतको भनाई, लाश जाँच गर्दा ३ महीनाको गर्भ बोकेको देखिन्छ भन्ने हेल्थपोष्टको र गर्भ बोकेको सुनेको भन्ने सरजमीनका २३ जनाको व्यहोरा डिलिसा र घटनास्थल निर वारदातको दिनमा प्रतिवादीहरुलाई देख्ने र चश्मदित साक्षी खरीमायाको बकपत्रबाट प्रतिवादीहरुकै करणी लेनदेनबाट मृतकले गर्भ बोकेर आफ्ना सामाजिक प्रतिष्ठा जोगाउन प्रतिवादीहरुले कर्तव्य गरी मृतकलाई मारी श्रीकृष्ण सुवेदीको धनसारमा निजको लाश झुण्ड्याई दिएको भन्ने तथ्य उपरोक्त परिस्थिति सबूद (Circumstantial evidence) समेतबाट पुष्टि भएकोले निज प्रतिवादीहरुलाई सफाई दिने ठहराएको धवलागिरी अञ्चल अदालतको फैसला उल्टी गरी प्रतिवादी बुद्धिप्रसाद सुवेदी र खडानन्द सुवेदीलाई उमेर जन्य परिस्थितिको आधारमा १० वर्षको कैदको सजायँ हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४६।५।२२।५ को प.क्षे.अ.को फैसला रहेछ ।

१८.   प.क्षे.अदालतले प्राकृतिक न्यायको सिद्धान्त विपरीत अनुमानको भरमा मलाई दोषी ठहराई गरेको त्रुटिपूर्ण फैसला बदर गरी मेरो पुनरावेदन जिकिर बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको बुद्धिप्रसाद सुवेदीको र खडानन्द सुवेदीको यस अदालतमा पर्न आएको पृथक पृथक मितिको पृथक पृथक पुनरावेदनपत्र रहेछ ।

१९.    प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीहरुले नै मृतक गोममायालाई कर्तव्य गरी मारेको भन्ने विवादरहित सबूदबाट पुष्ट्याई भएको देखिएन । यस्तो स्थितिमा प्रतिवादीहरुलाई सजायँ गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ फरक पर्ने भएबाट छलफलको निमित्त अ.बं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली बमोजिम श्री महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस अदालतको संयुक्तइजलासबाट भएको मिति २०४७।५।१८।२ को आदेश रहेछ ।

२०.   नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णय सुनाउन पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक बुद्धिप्रसाद सुवेदीको तर्फबाट बहस गर्न उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री हिरा रेग्मी र श्री वशन्तराम भण्डारीले पर्वत जिल्ला अदालतले मेरो पक्षलाई जन्मकैद गर्ने फैसला गरेकोमा धवलागिरी अञ्चल अदालतमा मेरो पक्षको पुनरावेदन परी धवलागिरी अञ्चल अदालतले मेरो पक्षलाई सफाई दिई फैसला भए उपर श्री ५ को सरकारतर्फबाट परेको पुनरावेदनमा पश्चिमाञ्चल क्षेत्रीय अदालतले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरी ज्यान जस्तो गम्भीर अपराधमा जन्मकैद जस्तो कठोर (साविक पेज नं. १९०) सजायँको भागीदार बनाएको फैसला मिलेको छैन । अनुमान र अन्दाजको भरमा कसूरदार बनाएको फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत छ । जग्गा मुद्दाको पूर्व रिसइवीवाला मृतकका बाबु मु.खर सिंहले बकपत्र गरिदिएको आधारमा कर्तव्य गरी मारेको भन्ने ठहर निर्णय देखिन्छ तर प्रमाणित गर्ने चश्मदित साक्षी र विश्वसनीय प्रमाणको अभाव छ । केवल शंकाको भरमा लगाइएको प्रस्तावित कसूर कल्पित भएको स्पष्ट छ । लास प्रकृति मुचुल्का गर्ने अवस्थामा अनुसन्धान अधिकारीले अपहत्य वा कर्तव्य के हो ? छुट्याई रहनु आवश्यक छैन लासको प्रकृति लाश रहेको ठाउँको अवस्था, घटनास्थलमा फेला परेका माल वस्तु समेतका तथ्यगत कुरा मात्र उल्लेख गर्नु पर्दछ (Decomposed) सडेगलेको लाशबाट कुनै निष्कर्ष निकाल्न सकिदैन । यस स्थितिमा मृतकको शरीरलाई नै चिन्न सकिँदैन भन्ने पाइन्छ भने ३ महीनाको गर्भ रहेको अन्दाज गर्न सकिन्छ भन्नु केवल पूर्वाग्रह मात्र हो । यसरी शंका र अन्दाजको भरमा लगाएको कसूरले मेरो पक्षको अपराधमा संलग्नता रहन सक्ने हुँदैन । शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौज्दारी न्यायको सिद्धान्त अनुरुप मेरो पक्षले सफाई पाउनु पर्छ भन्ने समेत तथा प्रतिवादी खडान्द सुवेदीको तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले तथ्ययुक्त सबूद प्रमाण बेगर केवल शंकाको भरमा मेरो पक्षलाई दोषी ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छैन । मेरो पक्ष समेतले मृतक गोममायालाई मारेको भन्ने कुनै ठोस आधार र सबूद छैन । कसैलाई कुनै अपराधमा दोषी ठहर गर्न शंकारहित तवरले कसूर प्रमाणित गर्नु पर्दछ । परिस्थितिजन्य प्रमाणको आधारमा दोषी देखाउन कर्तव्य गरी मारेको भन्ने मुख्य कुरालाई प्रमाणित गर्न पनि सम्बद्ध तथ्यको मालाकार कडी अर्थात (Chain of Link) हुनु आवश्यक छ । (Chain of link) अर्थात सम्बद्ध तथ्यको कडीको अभावमा परिस्थितिजन्य प्रमाण (Circumstantial evidence) को सबूद गुज्रेको भन्न मिल्दैन । यसकारण मेरो पक्षले सफाई पाउनु पर्दछ भन्ने समेत बहस र प्रत्यर्थी वादी श्री ५ को सरकार तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले मृतक गोममाया प्रतिवादी बुद्धिप्रसाद सुवेदी र खडानन्द सुवेदीसंग राम रमिता, नाचगान र गाउँ घरमा हिंड्दा संगै हिंड्ने भएको कारण यिनीहरुसंग यौन सम्बन्ध रहन गई मृतक गोममायाले प्र.खडानन्द सुवेदीको गर्भ बोकेकीले तल्लो जातको मगर्नी केटीलाई माथिल्लो जात ब्राम्हण केटाले घर भिœयाउनु सामाजिक मर्यादा र जातीय अस्तित्वमा आँच आउने भयले ग्रहण गर्नुको बदला बुद्धिप्रसाद र खडानन्दले एक अर्कामा पूर्व सल्लाह गरी निज गोममायालाई दुवैजना मिली मारेर झुण्ड्याई दिएको हो । लास श्री कृष्ण सुवेदीको धनसार (गोठमा) देखिन्छ । गोममाया ०४१।४।२२ को साँझ ६ बजे बाहिर गएकी सो दिन देखि फेला नपरेकी र सोही दिन साँझ धनसार (गोठमा) घटनास्थलको नजीकमा खरीमायाले बुद्धिप्रसादलाई देखेकी छन् । पेट बोकेको कुरा हेल्थपोष्टको रिपोर्टमा छ । मृतक गोममायाको यी प्रतिवादीहरुसंग लसपस रहेको र पेट बोकेको मिसिलबाट देखिँदा गोममाया यी प्रतिवादीहरुको कर्तव्यबाट मारिएकी कुरा उपरोक्त तथ्य एवं परिस्थितिजन्य प्रमाणबाट पुष्टी भएकोले यी प्रतिवादी द्वयलाई शुरु प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहरिनु पर्छ भनी बहस गर्नुभयो ।

२१.   अब पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।

२२.   मृतक गोममाया यी प्रतिवादीहरुसंग नाचगानमा हिंड्ने गरेकीले खडानन्द समेतको पेट बोकेको हुनुपर्दछ भन्ने मृतक गोममायाको बाबु मु.खर सिंह र मृतक गोममायाको साथी डिलिसा र खरी (साविक पेज नं. १९१) मायाले समेत सोही कुरा अदालतमा बकी लेखी दिएको र हेल्थपोष्टको रिपोर्टबाट गोममायाको ३ महीनाको गर्भ रहेको देखिने र वारदातको दिन घटनास्थल खोल्सामा बुद्धिप्रसादलाई खरीमायाले देखेको मृतक गोममाया घटी जातकी भएकीले आफ्नो प्रतिष्ठा बचाउन यी प्रतिवादीहरुले गोममायालाई मारी झुण्ड्याएको हो भनी उपरोक्त परिस्थितिजन्य प्रमाणको आधारमा शुरु जिल्ला अदालत र प.क्षे.अ.समेत आफ्नो ठहर निर्णयमा पुगेको पाइन्छ ।

२३.   उपरोक्त सन्दर्भमा मृतक गोममायाको बाबु मुखर सिंह मृतक गोममायाकै हिंडडुल गर्ने साथी डल्ली भन्ने डिलिसा र खरीमायाको लेखाई बकाई एवं हेल्थ पोष्टको रिपोर्ट के रहेछ हेर्नु पर्ने हुन आएको छ ।

२४.   मिति ०४१।४।२९ को मौकाको जाहेरी मर्ने गोममायाको बाबु मु.खर सिंहबाट भएको देखिन्न उक्त जाहेरी श्री कृष्ण सुवेदीबाट भएको पाइन्छ । सो जाहेरी दर्खास्त दिनु भन्दा अघि मु.खर सिं संग श्री कृष्णप्रसादको कुराकानी भई सो जाहेरी दर्खास्त मु.खर सिंह कै सल्लाहबाट श्री कृष्णप्रसाद सुवेदीले दिएको पाइन्छ । उक्त जाहेरी दर्खास्तमा मर्ने गोममाया कर्तव्यबाट मरेको र त्यस्तो कर्तव्य फलानोबाट भएको भन्ने कुरा उल्लेख भएको पाइन्न । श्री कृष्ण सुवेदीको जाहेरी दर्खास्तमा उल्लेख भएका कुरासंग मु.खर सिंहको भनाई बेग्लै भए सो जाहेरी दर्खास्तको भनाई ठीक होइन । साँचो कुरा यो हो भनी मु.खर सिंहले अर्को जाहेरी दर्खास्त दिन सक्नु हुन्थ्यो । तर सो भएको पाइन्न । नाचगान रमितामा प्र.खडानन्द सुवेदी र प्र.बुद्धिप्रसाद सुवेदी मृतक गोममायासंगै हिंड्ने गरेको र खडानन्द समेतको गर्भ बोकेको कारणबाट निजहरुले नै कर्तव्य गरी मारी झुण्ड्याएको हुनुपर्दछ भन्ने मु.खरसिंहको लेखाई बकाई र सोही तथ्य मिलानको डिलिसा र खरीमायाको भनाई देखिन्छ । मु.खरसिंह, डिलिसा र खरीमायाको लेखाई बकाई हेर्दा यिनीहरुले मृतक गोममायाले पेट बोकेको थियो भनी किटानीसाथ लेखेको पाइन्न । मृतक गोममाया यी प्रतिवादीहरुसंग नाचगान रमितामा हिंड्ने हुँदा पेट बोकेको हुनुपर्दछ भन्ने भनाई छ । मृतक गोममाया र यी प्रतिवादीहरु नाचगान रमितामा संगसाथ हिंड्ने गरेकोले पेट बोकेको हुन सक्छ भन्ने शंका उब्जा हुनु स्वभाविक हो । तर शंकाले प्रमाणको रुप लिन सक्तैन । शंका शंकै हो र शंकाको भरमा यही हो भनी निष्कर्षमा पुग्न न्यायसंगत देखिन्न ।

२५.   अब मृतक गोममायाले पेट बाकेको सम्बन्धमा साजिला हेल्थपोष्टको रिपोर्ट के रहेछ भनी हेर्दा सो रिपोर्टमा मेरो अन्दाजबाट यो मृतक स्वेच्छाले आत्महत्या नगरी कसैको कर्तव्यबाट मरेको हुनु पर्दछभन्ने मृतकको पेट पाठेघर फुटी बाहिर निस्केको, यसो विचार गर्दा ३ या ३ महीना जतिको गर्भ रहेको अन्दाज गर्न सकिन्छभन्ने लेखिएको पाइन्छ । अन्दाजबाट गर्भ बाकेको हुनुपर्दछ, अन्दाजबाट कर्तव्यबाट मारिएको हुनुपर्दछ भन्ने रिपोर्टमा लेखिएकोले हेल्थपोष्टले मृत्युको कारण र पेट बोकेको कुरा अन्दाजबाट लेखेको पाइन्छ ।

२६.   अन्दाजबाटभन्ने रायलाई निश्चित राय भन्न मिल्दैन । मिति ०४१।४।३० को घटनास्थल लासजाँच मुचुल्का हेर्दा लासको पूरा भाग सडीगली किरा परेको चिन्न नसकिने पेट फुटी बाहिर निस्केको भन्ने छ । सडीगली चिन्न नसकिने लासलाई बाहिरबाट हेरेर ३ महीनाको पेट बोकेको कुरा र कर्तव्यबाट मारी झुण्ड्याएको कुरा के आधारबाट भनिएको हो खुल्दैन । विशेषज्ञको राय निश्चित एवं कारणमा आधारित हुनुपर्दछ अन्यथा त्यस्तो रायले कुनै महत्व राख्दैन । हेल्थपोष्टले व्यक्त गरेको राय कुनै कारणमा आधारित नभई अन्दाज भएको र यिनै सालिजा हेल्थपोष्टका कार्यालय प्रमुख विशेषज्ञलाई अञ्चल अदालतबाट बुझ्न बोलाएकोमा निज अदालत समेतमा आई बकपत्र गरेको नदेखिँदा सालिजा हेल्थपोष्टको त्यस्तो अनिश्चित एवं अन्दाजी राय ग्राह्य गर्ने एवं विचार गर्ने स्थितिको भएन ।

२७.   अब बुझिएका खरीमाया र डिलिसाको लेखाई बकाईतर्फ हेर्दा मृतक गोममाया यी प्रतिवादीहरुसँग उठ बस गरी गर्भ रहन गएको हुनुपर्छ भन्ने खरीमायाको भनाई देखिन्छ भने हिंड्दा चल्दा करणी लिनु दिनु पनि हुन सक्ने र त्यसकारण अचानक गोममायालाई गर्भ रहन गएछ कि भन्ने डिलिसाको भनाई (साविक पेज नं. १९२) देखिन्छ । स्वयं गोममायाकी साथी खरीमाया र डिलिसाले गोममायाको गर्भ रहेको भनी किटानी साथ भन्न सकेको पाइन्न । अन्दाज गरिएको कुरा प्रमाणित हुन सक्तैन । बुझिएका खरीमाया, डिलिसा र स्वयं मृतक गोममायाका बाबु खर सिंहको भनाई समेत अन्दाज र शंकामा आधारित भएकोले यिनीहरुको लेखाई बकाई पनि प्रमाणित मान्न सक्ने स्थिति भएन ।

२८.   खरीमायाले २०४१।४।२२ मा सल्यानी पाखोनिर बुद्धिप्रसादलाई देखेको भनी लेखाएको भए पनि प्र.बुद्धिप्रसाद, खडानन्दसंगै मृतक गोममायालाई खरीमायाले देखेको होइन । स्वयं मृतक गोममायाको बाबु मु.खर सिंहले गोममाया खडानन्द, बुद्धिप्रसादको घर गएकी र सो दिनदेखि हराएकी भन्न सकेको छैन ।

२९.   जहाँसम्म परिस्थितिजन्य प्रमाणको गुन्जायसको प्रश्न छ परिस्थितिजन्य प्रमाणको आधारमा ठहर गर्ने आधार बिन्दु र सम्बद्ध तथ्यको कडी एक आपसमा एकबद्ध रुपले आबद्ध एवं गाँसिएको हुनुपर्दछ । सो गाँसिएको मालाकार कडीमा कुनै छूट हुनु हुँदैन । एउटा तथ्य अर्को तथ्यसंग अन्योन्याश्रित हुनु अपरिहार्यता छ । एक आपससंग गाँसिएको यिनै तथ्यगत कडीलाई समातेर नै एउटा ठोस आधारमा अभियुक्त निर्दोष छैनन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ भने परिस्थितिजन्य प्रमाणले मद्दत गर्दछ । तर प्रस्तुत मुद्दामा यस्तो कडीहरुको प्रत्यक्ष अभाव छ ।

३०.   मृतक गोममायाले पेट बोकेको हो भन्ने यकीन तथ्य छैन । यी प्रतिवादीहरुले गोममायालाई बोलाएको कारणबाट गोममाया घरबाट बाहिर गएकी मिसिलबाट देखिन्न । मृतक गोममायालाई हराएको दिन वा सो दिनदेखि पछि यी प्रतिवादीहरुसंगै मृतक गोममाया साथै रहेकी, हिंडेकी कसैले देखेको होइन । लाश रहेको ठाउँ गोठमा मृतक गोममाया र यी प्रतिवादीहरुलाई संग साथै रहेको कसैले देखेको छैन । गोममायालाई यी प्रतिवादीहरुले गोठ भित्र लगेको देखें भन्ने कसैको भनाई छैन । यस्तो अवस्थामा केवल यी प्रतिवादीहरु मृतक गोममायासंग नाचगान रमितामा हिंडडुल गर्दथे । सो कारणबाट गर्भ रहन जान सक्तछ भन्ने खरीमाया डिलिसा र मु.खरसिंहको अनुमान एवं शंकाको लेखाई बकाई र विशेषज्ञको अन्दाजमा लेखिएको रायलाई निश्चित राय मानी शड्ढा र अनुमानका आधारमा कसूर ठहराउन मिल्दैन । शड्ढा र अन्दाजका कुरा व्यक्तिगत विचारका कुरा हुन । यस्तो शड्ढा र अन्दाजले ठोस प्रमाणको रुप लिन सक्तैन । विश्वास लायक सबूद बेगर अनुमान र अन्दाजबाट कसूर ठहराउन नमिल्ने र शंड्ढाको सुविधा प्रतिवादीहरुले पाउने हुँदा प्रतिवादीहरु बुद्धिप्रसाद सुवेदी र खडानन्द सुवेदीले सफाई पाउने ठहर्छ । शुरु जिल्ला अदालतले कर्तव्य गरी मारेको ठहराएको इन्साफ सदर गरेको प.क्षे.अ.को फैसला उल्टी हुन्छ र प्र.बुद्धिप्रसाद सुवेदी र षडानन्द सुवेदीले सफाई पाउने ठहराएको धवलागिरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीहरु द्वय खडानन्द सुवेदी र बुद्धिप्रसाद सुवेदी के शुरु जिल्ला अदालतले गरेको इन्साफ सदर ठहराई गरेको प.क्षे.अ.को इन्साफ बदर भई प्रतिवादीहरुले सफाई पाउने ठहरेकाले प.क्षे.अ.ले राखेको कैदको सम्पूर्ण लगत कट्टा गर्नु भनी पर्वत जिल्ला अदालतमा लेखी पठाउनु...१

थुनामा रहेका प्रतिवादीहरुलाई यस मुद्दा बाहेक अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए अविलम्ब थुनाबाट आजै छुटकारा दिनु भनी जि.का.कारागार शाखा काठमाडौंमा लेखी पठाउनु...२, प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु...३

उक्त रायमा म सहमत छु । न्या.बब्बरप्रसाद सिंह

इतिसम्वत् २०४८ साल बैशाख १८ गते रोज ४ शुभम् ।

(साविक पेज नं. १९३)

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु