शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४८९ - अंश नामसारि

भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १०

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७२।३।२३।४

०६८-CI-०१२०

 

मुद्दाः अंश नामसारि

 

पुनरावेदक/वादी : जिल्ला रूपन्देही बैरघाट गाउँ विकास समिति वडा नं.१ बैरघाट बस्ने जगदेवको छोरा बुहारी माधेको पत्नी वर्ष ६१ को सोना गडेरिया

विरूद्ध

विपक्षी/प्रतिवादी : जगदेवको छोरा बुहारी पियारेको पत्नी वर्ष ७६ को अकाली गडेरियासमेत 

अंश र अपुताली एउटै कुरा नभई यो फरक फरक कुरा हो । हाम्रो प्रचलित कानूनी व्यवस्थाअनुसार अंश जन्मसिद्ध नैसर्गिक हकको रूपमा रहेको पाइन्छ भने त्यसरी अंश हकद्वारा प्राप्त सम्पत्ति प्रयोगकर्ताको मृत्युपश्चात्‌ क्रमानुसारका व्यक्तिले अपुताली पाउने व्यवस्था कानूनले गरेको पाइन्छ । अपुतालीसम्बन्धी कानूनी व्यवस्थाअनुसार अपुताली हकवालाबाहेक स्याहार सम्भार गर्ने व्यक्तिले समेत पाउने व्यवस्था गरेको पाइन्छ भने अंश बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अनिवार्यरूपमा गर्नुपर्ने 

हुन्छ । अंश विवाहिता छोरीले प्राप्त गर्न सक्दैनन जबकि अपुताली विवाहिता छोरीले पनि पाउने उल्लिखित अपुतालीको २ नं. समेतले व्यवस्था गरेबाट कानूनी व्यवस्था र सम्पत्तिको स्वामित्व सर्ने प्रकृति र प्रक्रियासमेतबाट अपुताली र अंश एकै र एउटै अवधारणाका विषयवस्तु होइनन् भन्ने कुरा स्पष्ट देखिने । 

अपुताली मर्नेको बाचुन्जेल सेवा सुश्रुसा हेरचाह गरि सम्पत्तिको प्रयोग कर्ताको मृत्युपश्चात्‌ सेवा सुश्रुसा हेरचाह गरेको परिणामस्वरूप समेत प्राप्त हुन सक्ने ।

(प्रकरण नं. ५)

मुलुकी ऐनमा सातौं संशोधन अघि छुट्टिई भिन्न नभई सगोलमा रहेका अंशियारले आर्जन गरेको सम्पत्ति सबै अंशियारको अंश लाग्ने भनि अंशबन्डाको १८ नं. मा स्पष्ट व्यवस्था गरेको देखिन्छ । मानो छुट्टिई बसेको अवस्थामा भने कमाएको धन र लगाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने व्यवस्था गरेको पाइन्छ । यी वादी प्रतिवादीहरू छुट्टि भिन्न भएको भन्ने मिसिलबाट देखिँदैन । उपरोक्त कानूनी व्यवस्थाको अर्थ अपुतालीबाट प्राप्त गरेको सम्पत्ति बन्डा नलाग्ने अरू सम्पत्ति भने बन्डा लाग्ने भनि अर्थ गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थाको सोझो अर्थ सगोलका अंशियारले जुनसुकै स्रोतबाट प्राप्त भएको सम्पत्ति सबैको बन्डा लाग्ने भन्ने नै हुने ।

जुनसुकै तरिकाले प्राप्त गरेको सम्पत्ति अंशियारहरूका बिचमा बन्डा लाग्ने स्पष्ट भइसकेपछि निजी तवरले प्राप्त गरेको हुँदा बन्डा नलाग्ने भनि भन्न मिल्दैन । तत्कालिन अवस्थामा निजी सम्पत्तिको व्यवस्था नै नदेखिने ।

(प्रकरण नं. ६)

 

पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल

विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता चन्द्रकान्त ज्ञवाली

अवलम्बित नजिर :

ने.का.प. २०४४ नि.नं. ३०१५ अङ्क ३

ने.का.प. २०४६ नि.नं. ३८९४ अङ्क ७

ने.का.प. २०४६ नि.नं. ३९४२ अङ्क ९

ने.का.प. २०५५ नि.नं. ६५५३ अङ्क ६

ने.का.प. २०६० नि.नं. ७२६५ अङ्क ९.१०

सम्बद्ध कानून :

अपुतालीको नं. २

अंशबन्डाको नं. १८

प्रमाण ऐन २०३१ को दफा ६(क)

 

सुरू फैसला गर्नेः

मा. न्या. श्री कुमार प्रसाद पोखरेल

पुनरावेदन तहमा फैसला गर्नेः 

मा. न्या. श्री गोविन्द कुमार उपाध्याय

मा. न्या. श्री उदय प्रकाश चापागाईं

 

फैसला

न्या. दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) ले यस अदालतको क्षेत्राधिकारभित्रको भै यस मुद्दाको पुनरावेदन पत्रसहितको सङ्क्षिप्त तथ्य एवम्‌ निर्णय यसप्रकार रहेको छ :

यसमा मूल पुरूष जगदेव गडेरियाको २ छोरा पियारे र माघे भै पियारेको पत्नी अकालीबाट २ छोरा रामआश्रे र सत्यनारायण १ छोरी अनिरूद्ध विवाहित छन् । माघेको पत्नी म वादीबाट २ छोरा श्याम नारायण पूर्णवासी १ छोरी जुग्गा विवाहित छन् । जगदेव निजको पत्नी र पियारेको धेरै वर्ष पहिले मृत्यु भैसकेको पति माघे २०५८ साल असोज २९ गते मृत्यु भएको पैतृक सगोल आर्जनको सम्पत्ति जेठाजु पियारे भतिजा राम आसरे र सत्य नारायण, छोरा श्याम नारायणसमेतको नाममा दर्ता राखि सगोलबाट भोगचलन गरि आएका थियौं । यही २०६५ साल वैशाख महिनामा आयस्थाअनुसार खान लाउन दिन र सन्तानहरूलाई पढाउनु पर्छ नभए पतिको अंश मलाई छुट्टाई दिनुहोस् भन्दा इन्कार गरेकाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरि सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी लिई दुई भाग लगाई पियारेको १ भाग प्रतिवादीहरूलाई पर सारि स्वर्गीय पति माघेको १ भाग निजको स्वास्नी वादी म सोनालाई अंश छुट्टाई नामसारि दर्ता गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६५/१/३० को फिराद पत्र ।

फिराद पत्रमा उल्लिखित पुस्तावारी अधुरो छ । मूल पुरूष बिरे गडेरियाका २ छोरा जेठा जगदेव र कान्छा सहदेव हुनुहुन्थ्यो । सहदेवकी श्रीमती रामराजी हुन् । निजहरूबाट कुनै सन्तानको जन्म नभएको जगदेव गडेरिया हालको बैरघाट गाउँ विकास समिति वडा नं. १ बैरघाटमा बस्नु भएको र सहदेव बसौली गाउँ विकास समितिको मौजा गुरवनीयामा बसि उखडा जग्गा कमाई भोग दर्ता गरि आउनु भएकामा सन्तान नभएकाले म प्रतिवादी रामआश्रे गडेरियालाई सानैदेखि पालन पोषण गरि आउनु भएको । निजहरूको मृत्युपछि निजको अपुताली २०३१/११/२३ को मिलापत्रसमेतबाट मेरो नाममा नामसारि दा.खा. गरि आएको, केही बिक्री गरि राजीनामा पारित गराएको जग्गा मेरो निजी हुने, म प्रतिवादी सत्य नारायण गडेरियाले गोली गडेरियाको हेरविचार गरि निजले आफ्नो नाममा दर्ता जग्गा शेषपछिको बकसपत्र पारित गरि दिएकाले मेरो निजी हुने सम्पत्ति हो । पियारेको नाउँको जग्गासम्म बन्डा गर्न बाँकी रहेको हो । सगोल रहि बसि आएको भन्ने सम्पूर्ण फिराद दाबी झुट्ठा हो भन्नेसमेत व्यहोराको मिति २०६५/४/१३ को प्रतिउत्तरपत्र ।

वादी प्रतिवादीका साक्षीको बकपत्र भै मिसिल सामेल रहेको, दे.छि.प.नं. १३६५ र १३६६ को प्रमाण मिसिल साथै रहेको । सुरू अदालतको आदेशानुसार फिराद परेको अघिल्लो दिन अर्थात्‌ मिति २०६५/३/१९ सम्मको तायदाती फाँटवारी दुवै पक्षबाट पेस भै दर्ता उतार प्राप्त भै मिसिल सामेल 

रहेको ।

प्रतिवादी रामआश्रे र सत्यनारायण गडेरियाका निजी आर्जनका सम्पत्तिबाहेकका अन्य सम्पत्तिबाट २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने २०६६/५/१६ को रूपन्देही जिल्ला अदालतको फैसला ।

सहदेवका नामका उखडा जग्गाहरू मुलुकी ऐन सातौं संशोधन अघि हामी वादी प्रतिवादीहरू सगोलमै रहेको अवस्थामा कमाएको र अपुताली परेका र सगोलको जग्गालाई बन्डा हुन नसक्ने ठहराएको सुरू फैसला उल्टी गरि उक्त जग्गाहरू समेतबाट अंश पाउने भन्ने वादीको पुनरावेदन पत्र ।

तत्कालिन अंशबन्डाको महलको १८ नं. मा अंशियारले कमाएको धन र लगाएको ऋण बन्डा हुने व्यवस्था रहेको देखिन्छ । अपुतालीलाई कमाएको धन भन्न मिल्दैन । त्यसैले होला ने.का.प. २०४५ को पृष्ठ ९६ मा प्रकाशित सर्वोच्च अदालत पूर्ण इजलासको फैसलामा अंश र अपुताली दुई बेग्ला बेग्लै अवधारणा हुन् भनि स्पष्ट व्याख्या भएको देखिन्छ । एक पटक अपुतालीमा विवाद उठि अपुतालीको माध्यमबाट प्राप्त गरिसकेको श्रीसम्पत्तिलाई अंश मुद्दाका अधीनमा राख्दा अपुतालीको निराकरण गरेको पूर्व फैसला अर्थहिन र शुन्य हुन पुग्छ । अदालतको फैसलालाई त्यसै अमान्य गर्न मिल्दैन । विवादित अचलमा प्रतिवादी रामआश्रेको अपुताली हक नपुग्ने अवस्था रहेको भए वादीहरूले त्यसमा चुनौती गरि आफ्नो हक कायम गराउन सक्नु पर्छ । सोबाहेक मृतक सहदेवको प्रतिवादी रामआश्रे नाती नाताका भै प्रत्यक्ष अंशियारसमेत रहेको देखिन्न । एक हाँगा तल अपुताली गैसकेको अवस्थामा अब सोभन्दा माथिल्ला हाँगाकाले अंश मुद्दाबाट घुमाउरो किसिमले सो सम्पत्ति प्राप्त गर्ने अवस्था रहन सक्दैन । तसर्थ प्रतिवादी रामआश्रेले अपुतालीबाट प्राप्त गरेको जग्गाहरू बन्डा हुन नसक्ने ठहराएको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६६/५/१६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने मिति २०६६/१२/१० को पुनरावेदन अदालत, बुटवलको फैसला ।

मिति २०३१/११/२३ को मिलापत्रबाट प्रतिवादी रामआसरेले प्राप्त गरेको सम्पत्तिमध्ये जि.रू. हाटी बनगाई गाउँ विकास समिति वडा नं. ८ (ख), कि.नं. १२ ऐ. बर्सौली गाउँ विकास समिति वडा नं.७ (क) कि.नं. ८ समेतका ज.वि. ०-११-११ जग्गा बिक्री गरि सो रकमबाट ऐ. बैरघाट गाउँ विकास समिति वडा नं.३ (क), कि.नं. ६२८, ९९४, ९९८ ऐ. वडा नं.१(क) कि.नं. ४६४ समेतका जग्गा खरिद गरेको हुँदा अंश बन्डाको १८ नं. ले निजी हुने भन्ने विपक्षीको प्रतिउत्तर प्रकरण ३ मा लेखेको सम्पत्तिलाई निजी नठहराई बन्डा लाग्ने ठहर गरिएको र बाँकी रहेको सम्पत्ति बन्डा नलाग्ने भनि गरिएको फैसला साबिक अंशबन्डाको १८ नं. सम्मानित अदालतबाट सिद्धान्त प्रतिपादित नजिरविपरीत हुनुका साथै परस्पर बाझिएको छ । हामी छुट्टिई भिन्न नभई सगोलमा बसिआएकामा विवाद 

छैन । छुट्टिई भिन्न नभई सगोल रहेका अंशियारले जुनसुकै माध्यमबाट कमाएको जग्गा नै सम्पत्ति हुँदा त्यस्तो सम्पत्तिलाई धन भन्न नमिल्ने भनि तर्क गर्नु कानून र न्यायसङ्गत छैन । सबै अंशियारको बन्डा लाग्ने जग्गालाई बन्डा गर्न नपर्ने भनि गरिएको फैसला त्रुटिपूर्ण हुँदा बदर भागी छ भन्नेसमेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

यसमा प्रतिवादी रामआश्रे गडेरियाले २०३१/११/२३ को मिलापत्रबाट अपुताली पाएको भनिएको जग्गाहरू निजका ठूला बाजे अर्थात्‌ बाजे जगदेवका दाजुबाट अपुताली पाएको देखिन्छ । त्यस्तोसमेत जुनसुकै स्रोतबाट आर्जन गरेको भए पनि २०३४/९/२७ भन्दा अघिको आर्जनबाट अरू अंशियारको पनि अंश लाग्ने भन्ने तत्काल प्रचलित अंशबन्डाको महलको १८ नं. मा व्यवस्था भएकाले आफ्नै ठूला बाजेको अपुताली पाएको जग्गामा यी वादीले अंश नपाउने ठहराएको फैसलामा तत्काल प्रचलित अंशबन्डाको १८ नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि विद्यमान रहेकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अनुसार दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई नियमानूसार पेस गर्नु भन्नेसमेत व्यहोराको मिति २०६८/४/११ को यस अदालतको आदेश ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढि इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहालले पुनरावेदन अदालत, बुटवलको फैसला साबिक अंशबन्डाको १८ नं. को सम्बन्धमा सम्मानित अदालतबाट प्रतिपादित नजिर सिद्धान्तविपरीत रहेको छ । हामी छुट्टिई भिन्न नभई सगोलमा बसि आएकामा विवाद छैन । छुट्टिई भिन्न नभई सगोल रहेका अंशियारले जुनसुकै माध्यमबाट कमाएको जग्गा नै सम्पत्ति हुँदा त्यस्तो सम्पत्तिलाई धन भन्न नमिल्ने भनि तर्क गर्नु कानून र न्यायसङ्गत छैन । सबै अंशियारको बन्डा लाग्ने जग्गालाई बन्डा गर्न नपर्ने भनि गरिएको फैसला त्रुटिपूर्ण हुँदा बदर भागी छ भनि बहस प्रस्तुत गर्नुभयो ।

त्यसैगरि विपक्षीका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले विपक्षीले पेस गर्नुभएका नजिर अपुतालीको विषयको होइन बकसपत्रको सम्बन्धमा अदालतद्वारा स्थापित नजिर प्रस्तुत मुद्दामा आकर्षित हुँदैन । विपक्षी निवेदकले अपुतालीको २० नं. बमोजिम आउनुपर्ने हुन्छ । तसर्थ विपक्षीको पुनरावेदन खारेज गरि पुनरावेदन अदालत, बुटवलको फैसला सदर कायम गरिपाउँ भनि बहस प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ कानून व्यवसायीहरूको तर्कपूर्ण बहस जिकिर सुनि मिसिल संलग्न फिरादपत्र प्रतिउत्तरपत्र तथा पुनरावेदन जिकिरसमेतका मिसिल संलग्न कागजातहरू समेतको अध्ययन गरि हेर्दा पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छ छैन पुनरावेदकको पुनरावेदन जिकिरबमोजिम हुनुपर्ने हो होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा जगदेव गडेरियाको २ छोरा पियारे र माघे भै पियारेको पत्नी अकालीबाट २ छोरा रामआश्रे र सत्यनारायण १ छोरी अनिरूद्ध विवाहित छन् । माघेको पत्नी म वादीबाट २ छोरा श्याम नारायण पूर्णवासी १ छोरी जुग्गा विवाहित छन् । जगदेव निजको पत्नी र पियारेको धेरै वर्ष पहिले मृत्यु भैसकेको पति माघे २०५८ साल असोज २९ गते मृत्यु भएको पैतृक सगोल आर्जनको सम्पत्ति जेठाजु पियारे भतिजा राम आसरे र सत्य नारायण, छोरा श्याम नारायण समेतको नाममा दर्ता राखि सगोलबाट भोगचलन गरि आएका थियौं । यहि २०६५ साल वैशाख महिनामा आयस्थाअनुसार खान लाउन नदिएकाले सम्पूर्ण सम्पत्तिको तायदाती फाँटवारी लिई दुई भाग लगाई १ भाग प्रतिवादीहरूलाई पर सारि स्वर्गीय १ भाग मेरो नाममा अंश छुट्टाई नामसारि दर्ता गरिपाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र दायर भएकामा मूल पुरूष बिरे गडेरियाका २ छोरा जेठा जगदेव र कान्छा सहदेव हुनुहुन्थ्यो । सहदेवकी श्रीमती रामराजी हुन् । निजहरूबाट कुनै सन्तानको जन्म नभएको म प्रतिवादी रामआश्रे गडेरियालाई सानैदेखि पालन पोषण गरि आउनु भएको । निजहरूको मृत्युपछि निजको अपुताली २०३१/११/२३ को मिलापत्रसमेतबाट मेरो नाममा नामसारि दा.खा. गरि आएको, केही बिक्री गरि राजीनामा पारित गराएको जग्गा मेरो निजी हुने, म प्रतिवादी सत्य नारायण गडेरियाले गोली गडेरियाको हेरविचार गरि निजले आफ्नो नाममा दर्ता जग्गा शेषपछिको बकसपत्र पारित गरि दिएकाले मेरो निजी हुने सम्पत्ति हो । पियारेको नाउँको जग्गासम्म बन्डा गर्न बाँकी रहेको हो । सगोलमा रहि बसि आएको भन्ने सम्पूर्ण फिराद दाबी झुट्ठा हो भन्नेसमेत व्यहोराको प्रतिउत्तर पत्र रहेको देखिन्छ ।

३. सुरू रूपन्देही जिल्ला अदालतबाट फैसला हुँदा प्रतिवादी रामआश्रे र सत्यनारायण गडेरियाका निजी आर्जनका सम्पत्तिबाहेकका अन्य सम्पत्तिबाट २ भागको १ भाग अंश पाउने ठहर्‍याई भएको फैसलाउपर वादी पक्षको पुनरावेदन अदालत, बुटवलमा पुनरावेदन पर्न आएकामा पुनरावेदन अदालत, बुटवलबाट प्रतिवादी रामआश्रेले अपुतालीबाट प्राप्त गरेको जग्गाहरू बन्डा हुन नसक्ने ठहराएको सुरू रूपन्देही जिल्ला अदालतको फैसलालाई नै सदर गर्ने ठहर्‍याएको पुनरावेदन अदालत, बुटवलको फैसलाउपर मुद्दा दोहोर्‍याई हेरिपाउँ भनि यस अदालतमा परेको निवेदनमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ पेस हुन आएको देखियो ।

४. प्रतिवादीहरूको जिकिर हेर्दा मूल पुरूष विरे गडेरियाका २ छोरा जेठा जगदेव र कान्छा सहदेव हुनुहुन्थ्यो । सहदेवकी श्रीमती रामराजी हुन् । निजहरूबाट कुनै सन्तानको जन्म नभएको हुँदा जगदेव गडेरियाले म प्रतिवादी रामआश्रे गडेरियालाई सानैदेखि पालन पोषण गरि आउनु भएको र निजहरूको मृत्युपछि निजको अपुताली २०३१/११/२३ को मिलापत्रसमेतबाट मेरो नाममा नामसारि दा.खा. गरि आएको उक्त जग्गा मेरो निजी हुने र त्यसैगरि म प्रतिवादी सत्य नारायण गडेरियाले गोली गडेरियाको हेरविचार गरि निजले आफ्नो नाममा दर्ता जग्गा शेषपछिको बकसपत्र पारित गरि दिएकाले मेरो निजी सम्पत्ति हुने हुँदा बन्डा गर्नुपर्ने होइन भन्ने उल्लेख भएको 

देखिन्छ । सोही आधारमा पुनरावेदन अदालत, बुटवलले प्रतिवादीहरूले अपुतालीबाट प्राप्त गरेको सम्पत्ति बन्डा गर्न नमिल्ने ठहर्‍याई फैसला गरेको देखिन्छ ।

५. प्रस्तुत सन्दर्भमा अंश र अपुताली के कस्ता अवधारणा हुन् भन्ने विषयमा पनि मध्यनजर राख्नुपर्ने हुन्छ । अंश र अपुताली एउटै कुरा नभई यो फरक फरक कुरा हो । हाम्रो प्रचलित कानूनी व्यवस्थाअनुसार अंश जन्मसिद्ध नैसर्गिक हकको रूपमा रहेको पाइन्छ भने त्यसरी अंश हकद्वारा प्राप्त सम्पत्ति प्रयोगकर्ताको मृत्युपश्चात् क्रमानुसारका व्यक्तिले अपुताली पाउने व्यवस्था कानूनले गरेको पाइन्छ । अपुतालीसम्बन्धी कानूनी व्यवस्थाअनुसार अपुताली हकवालाबाहेक स्याहार सम्भार गर्ने व्यक्तिले समेत पाउने व्यवस्था गरेको पाइन्छ भने अंश बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अनिवार्यरूपमा गर्नुपर्ने हुन्छ । अंश विवाहिता छोरीले प्राप्त गर्न सक्दैनन जबकि अपुताली विवाहिता छोरीले पनि पाउने उल्लिखित अपुतालीको २ नं. समेतले व्यवस्था गरेबाट कानूनी व्यवस्था र सम्पत्तिको स्वामित्व सर्ने प्रकृति र प्रक्रियासमेतबाट अपुताली र अंश एकै र एउटै अवधारणाका विषयवस्तु होइनन् भन्ने कुरा स्पष्ट देखिन्छ । अपुताली मर्नेको बाचुन्जेल सेवा सुश्रुसा हेरचाह गरि सम्पत्तिको प्रयोग कर्ताको मृत्युपश्चात सेवा सुश्रुसा हेरचार गरेको परिणाम स्वरूपसमेत प्राप्त हुन सक्दछ ।

६. प्रतिवादीहरू सत्यनारायण तथा राम आसरे तथा यी वादीका पतिसमेत एकासगोलमा बसिरहेकामा दुवै पक्षको मुख मिलेकै छ । सगोलमा नै रहेको अवस्थामा सहदेवको अपुताली परि २०३१/११/२३ को मिलापत्रबाट प्राप्त गरेको सम्पत्ति मुलुकी ऐन, सातौं संशोधन मिति २०३४/९/२७ पूर्व विपक्षी राम आसरेले र सत्य नारायण गडेरियाले गोली गडेरियाको हेरविचार गरि निजले आफ्नो नाममा दर्ता जग्गा शेषपछिको बकसपत्र पारित गरि प्राप्त गरेको देखिन्छ । राम आसरेले एक्लै सेवा गरेको नभई मेरो लोग्ने माघेले समेत आफ्नो काका निज सहदेवको सेवा जतन गरेका थिए । मेरो काका ससुरा सहदेवको मृत्यु पछि सम्पत्ति अपुताली पर्दा सबै परिवारको घर सल्लाहले भतिजा प्रत्यर्थी राम आसरे गडेरियाले भूमि प्रशासन कार्यालय, रूपन्देहीमा निवेदन दिई कारवाही चल्दा सहदेवको हकवाला राम आसरेलाई कायम गरि ज.वि.१-१२-१३ पाउने गरि श्री रूपन्देही जिल्ला अदालतबाट २०३१/११/२३ गते मिलापत्र भएबमोजिम सहदेवको नामको जग्गा राम आसरेको नाममा दर्ता हुन आएको जिल्ला रूपन्देही बसौली गाउँ विकास समिति वडा नं. ७(क), कि.नं. ८, ऐ.वडा नं. ७(ख), कि.नं.३, २५ समेतका जग्गाहरू हुन् भनि वादीको फिरादपत्रमा उल्लेख भएको 

पाइन्छ । मुलुकी ऐन सातौं संशोधन ऐन २०३४ द्वारा संशोधन हुनुअघि अंशबन्डाको १८ नं. मा भएको व्यवस्था हेर्दा मानो नछुट्टिई सँगै बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । ऐनबमोजिम अंश गरि लिनु दिनु पर्दछ । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेका वा खति-उपति आफ्नो आफ्नो गरि आफ्नो हिस्सासँग मात्र राखि खानु पिउनु गरेकामा एकै ठाउँमा भएपनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तोमा कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ । उक्त सातौं संशोधन अघि छुट्टिई भिन्न नभई सगोलमा रहेका अंशियारले आर्जन गरेको सम्पत्ति सबै अंशियारको अंश लाग्ने भनि अंशबन्डाको १८ नं. मा स्पष्ट व्यवस्था गरेको देखिन्छ । मानो छुट्टिई बसेको अवस्थामा भने कमाएको धन र लगाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने व्यवस्था गरेको पाइन्छ । यी वादी प्रतिवादीहरू छुट्टि भिन्न भएको भन्ने मिसिलबाट देखिँदैन । उपरोक्त कानूनी व्यवस्थाको अर्थ अपुतालीबाट प्राप्त गरेको सम्पत्ति बन्डा नलाग्ने अरू सम्पत्ति भने बन्डा लाग्ने भनि अर्थ गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थाको सोझो अर्थ सगोलका अंशियारले जुनसुकै स्रोतबाट प्राप्त भएको सम्पत्ति सबैको बन्डा लाग्ने भन्ने नै हुन्छ । जुनसुकै तरिकाले प्राप्त गरेको सम्पत्ति अंशियारहरूका बिचमा बन्डा लाग्ने स्पष्ट भइसकेपछि निजी तवरले प्राप्त गरेको हुँदा बन्डा नलाग्ने भनि भन्न मिल्दैन । तत्कालिन अवस्थामा निजी सम्पत्तिको व्यवस्था नै देखिँदैन ।

७. यसै सन्दर्भमा सर्वोच्च अदालतबाट पुनरावेदक कृष्णकुमारी श्रेष्ठ (क्षेत्रीनी) विरूद्ध विपक्षी कृष्णदेवी क्षेत्रीनी निर्णय नं. ३०१५ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलासको अंश नाता कायम मुद्दामा सम्पत्ति प्रतिवादीले आर्जन गरेको भए पनि सगोल रहेको अवस्था आर्जन गरेको देखिन्छ, अंशबन्डाको १८ नं. संशोधन हुनु अगावै आर्जन भएको हुँदा सोही आर्जन भए पनि बन्डा गर्नु पर्ने । त्यसैगरि पुनरावेदक लालबहादुर टण्डन क्षेत्री तथा विपक्षी चनरजित चाईसमेत भएको निर्णय नं. ३८९४    ने.का.प. २०४६ अङ्क ७ लिखत बदर मुद्दामा अंशियारको हक समाप्त हुने गरि सगोलको सम्पत्तिमा आफू खुशी गर्न पाउँदछ भन्न कानुनसङ्गत भएन । रामदेवले बिक्री गरेको जग्गा सगोलमा छँदै उखडामा पाएको र यस्तो जग्गालाई निजी परिश्रमबाट आर्जन गरेको भनि आफू खुस गर्न पाउने सम्पत्ति मान्न नमिल्ने । पुनरावेदक हरिबहादुर लामिछानेसमेत विरूद्ध विपक्षी अम्बरबहादुर भन्ने लालबहादुरको मु.स. गर्ने ऐ.चन्द्रनिगाहपुर गा.पं. वा.नं. ७ बस्ने धनबहादुर लामिछाने क्षेत्रीसमेत भएको निर्णय नं. ३९४२ ने.का.प. २०४६ अङ्क ९ को अंश मुद्दामा आफ्नो ज्ञानसीप वा प्रयासबाट निजी आर्जन गरेको आफू खुस गर्न पाउने गरि अंशबन्डाको १८ नं. मिति ०३४।९।२७ मा मात्र संशोधन भएकाले उक्त संशोधन हुनुभन्दा अगावै सगोलमा रहँदाको अवस्थामा प्राप्त गरेको विवादको सम्पत्तिलाई आमाको आर्जनको आफूखुस गर्न पाउने बन्डा नहुने भन्न मिलेन । पुनरावेदक फुलमती कुर्मीनी कृष्ण नारायण प्रसाद कुर्मी भएको ने.का.प. २०५५ अङ्क ६ नि.नं. ६५५३ को अंश दर्ता मुद्दामा प्रमाण ऐन, २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियारमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनि अदालतले अनुमान गर्नेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । प्रतिवादीतर्फबाट आफ्नो नाउँमा रहेको सम्पत्ति स्वआर्जनको निजी हो भन्ने कुरा अन्यथा प्रमाणित हुन आएको देखिएको छैन । छोराहरूका नाममा रहेको सम्पत्ति पनि स्वआर्जन बन्डा नहुने भन्ने जिकिर लिएको भए तापनि कानूनले बन्डा नहुने अवस्थाको देखिएन । पुनरावेदक नरेन्द्र गोविन्द मुल्मी तथा विपक्षी जयगोविन्द मुल्मीसमेत भएको  निर्णय नं. ७२६५ ने.का.प. २०६० अङ्क ९.१० अंश चलन मुद्दामा अंशबन्डाको महलको १८ नं. मा २०३४ सालमा संशोधन हुनुपूर्व शेषपछिको बकसपत्र प्राप्त गरि नामसारि गराई लिएको वादी प्रतिवादीका माहिला बाजे श्री गोविन्द भन्ने शिव गोविन्दतर्फको सम्पत्तिसमेत बन्डा लाग्ने । पुनरावेदक सन्तमाया महर्जनसमेत विपक्षी रामचन्द्र महर्जन सन्तमाया महर्जनसमेत भएको निर्णय नं. ८२९३ वैशाख, २०६७ अंश चलन मुद्दामा मुलुकी ऐनमा २०३४ सालमा भएको सातौँ संशोधनपछिका विवादमा अंशबन्डाको १८ नं. ले निजी आर्जनका रूपमा परिभाषित गरेका सम्पत्तिहरूलाई बाहेक गरि बन्डा गर्नुपर्ने हुन आउँछ । तर सो मितिभन्दा अघिको हकमा त्यसरीबाहेक गर्न मिल्ने खालको कानूनी व्यवस्थाको अभावमा अदालतले अन्यथा हुने गरि व्याख्या गर्नसक्ने स्थिति नरहने । उल्लिखित नजिर सिद्धान्तसमेतलाई असहमति जनाउनु पर्ने कुनै कारण देखिँदैन ।

८. तसर्थ माथि उल्लिखित नजिरको तथ्य र प्रस्तुत मुद्दाको तथ्य समान देखिएकाले प्रस्तुत मुद्दामा मिति २०३१/११/२३ को मिलापत्रबाट सगोलको अंशियार विपक्षी राम आसरेको नाममा दर्ता भएको सम्पत्ति भई साबिक अंशबन्डाको १८ नं. बमोजिम आर्जन गरेको सगोलका अंशियारको नाममा दर्ता रहेको जग्गा हुँदा सो जग्गामा सबै अंशियारको बन्डा लाग्ने ठहर गर्नुपर्नेमा अपुतालीबाट प्राप्त सम्पत्तिमा अंश नलाग्ने भनि गरिएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी भई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरि सम्पूर्ण सम्पत्तिको दुई भाग लगाई पियारेको १ भाग प्रतिवादीहरूलाई पर सारि १ भाग वादीले अंश छुट्टाई नामसारि दर्ता गराई लिन पाउने ठहर्छ । सो ठहरेकाले अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम सुरू रूपन्देही जिल्ला अदालतको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला उल्टी भई रूपन्देही जिल्ला अदालतले दुई भागको एक भाग बन्डा हुने ठहर्‍याएको सम्पत्तिका अतिरिक्त देहायबमोजिमको जग्गासमेत दुई भागको एक भाग वादीले अंश छुट्याई लिन पाउने ठहरेकाले उक्त सम्पत्तिसमेत दुई भाग लगाई दुई भागको एक भाग प्रतिवादीको पर सारि एक भाग वादीले मुलुकी ऐन, दण्ड सजायको ४६ नं. बमोजिमको म्यादभित्र फैसलाबमोजिम बन्डा छुट्टयाई पाउँ भनि दरखास्त दिन आए छुट्याएको सम्पत्तिको हुने बिगोको सयकडा अढाई दस्तुर लिई बन्डा छुटयाइदिनु भनि सुरू रूपन्देही जिल्ला अदालतमा लेखि पठाइदिनू ..१

 

प्रतिवादी राम आसरेका नाममा दर्ताको देहायबमोजिमको जग्गाः

 

जिल्ला गाविस वडा नं. कि.नं. क्षेत्रफल

रूपन्देही बसौली १ ९ ०-३-१५

रूपन्देही बसौली १ २५ ०-२-१०

रूपन्देही बसौली ७/ख ३ ०-१५-५

 

 

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरि नियमानुसार मिसिल अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. ओमप्रकाश मिश्र

 

इजलास अधिकृतः रामप्रसाद बस्याल  

इति संवत् २०७२ साल असार २३ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु