निर्णय नं. ९४९६ - मानव बेचबिखन तथा ओसारपसार ।

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री दीपकराज जोशी
आदेश मिति : २०७२।५।३०।४
०६७-CR-०४६९
मुद्दा :- मानव बेचबिखन तथा ओसारपसार ।
पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला, रालुका देवी गा.वि.स. वडा नं.२ घर भै हाल कारागार कार्यालय भद्रबन्दी गृह जगन्नाथदेवलमा थुनामा रहेका लाक्पा तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : ज्ञानबहादुर लामाको जाहेरीले नेपाल सरकार
इन्कारी बयानलाई प्रतिवादीले समर्थन गर्ने प्रमाणहरू पेस गर्न सकेको
देखिँदैन । आफ्नो मुलुकबाट अर्को मुलुकमा बिक्री भएकी पीडित महिलाले लगाएको कपडा र प्रयोग गरेका अन्य सामानहरू त्यसरी अन्यत्रको सामान्य चिनजानको मानिसको डेरा कोठामा फेला पर्नु कसुर अपराधको प्रमाणसँग सम्बन्धित हो । कसुर अपराध गर्ने व्यक्तिले आफूले गरेको कसुर अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन जहिले पनि झुठ्ठो बयान गर्ने हुँदा त्यसलाई सङ्कलित प्रमाणहरूबाट विश्लेषण र मूल्याङ्कन गरि न्याय निरूपण गर्नुपर्ने ।
(प्रकरण नं.५)
प्रतिवादीले पीडितलाई काठमाडौंबाट नेपालसरहदको काकडभिट्टासम्म पुर्याएको देखिएको र कानूनले पनि बिक्रीसमेतको लागि नेपालसरहदभित्रको एक ठाउँबाट अर्को ठाउँमा पुर्याएको कार्यलाई कसुर मानेको हुँदा प्रतिवादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा (१) को खण्ड (क) र उपदफा (२) को खण्ड (क) को कसुर गरेको देखिने ।
(प्रकरण नं.७)
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ) को खण्ड (२) मा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई दश वर्ष कैद र पचासहजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना हुनेसमेतको व्यवस्था भएको देखिन्छ । आरोपित कसुर गरेको ठहर भएपछि जरिवाना पनि गर्नु पर्ने तथ्यमा विवाद छैन । प्रस्तुत मुद्दामा सुरू अदालतले उक्त कानूनी व्यवस्थाबमोजिम प्रतिवादीलाई जरिवाना गरेको देखिँदैन । ऐनको दफा १७ को कानूनी व्यवस्था हेर्दा जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरि निजबाट मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु पर्नेछ भन्नेसमेतको व्यवस्था भएको देखिँदा कानूनबमोजिम जरिवाना पनि गर्नु पर्नेमा सुरू अदालतले जरिवाना नगरेको हदसम्म केही उल्टी गरि १० वर्ष कैद सजाय, एकलाख रूपैयाँ जरिवाना र पीडितले प्रतिवादीबाट ५०,०००।- रूपैयाँ भराई लिन पाउने ठहर्याई गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।११।११ को फैसला मिलेकै देखिँदा सदर हुने ।
(प्रकरण नं.८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता संजिवराज रेग्मी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को दफा १८
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ दफा ३, ९
सुरू तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री भुपेन्द्रप्रसाद राई
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय मु.न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपानियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम प्रस्तुत मुद्दामा पीडितको वास्तविक नाम परिवर्तन गरिएको छ । निजको नाम र ठेगानासहितको विवरण सिलबन्दी गरि छुट्टै खाममा मिसिलसाथ राखिएको छ ।
फैसला
न्या. गिरीश चन्द्र लाल : पुनरावेदन अदालत, पाटनको मिति २०६६।११।११ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी लाक्पा तामाङको तर्फबाट यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः-
का.जि.का.म.न.पा वडा नं. १६ बालाजु माछापोखरीस्थित नुवाकोट त्रिशुली आप्रा रेष्टुरेन्टमा काम गर्दै आएको परिवर्तित नाम क कुमारी मिति २०६४।८।२९ गते आफ्नो घर जान्छु भनि हिँडेकी थिइन् । निजले घरमा पुगेर फोन गर्छु भनेकीमा फोन नगरेपछि उनको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको हुँदा हराएको शङ्का लागि खोजतलास गरिपाउँ भन्नेसमेत व्यहोराले ज्ञानबहादुर लामाले महानगरिय प्रहरी वृत्त बालाजुमा दिएको निवेदन ।
यस कार्यालयबाट खोजतलास गर्दा परिवर्तित नाम क कुमारीलाई नुवाकोट जिल्ला रालुका गा.वि.स. वडा नं. २ घर भै हाल का.जि. मनमैजु बस्ने लाक्पा तामाङसमेतले ललाई फकाई विभिन्न प्रलोभनमा पारी काकडभिट्टाको बाटो हुँदै भारतमा लगि बिक्री गरेको भन्ने कुरा गोप्यरूपमा बुझिन आएको र निज लाक्पा तामाङ केही सार्वजनिक अपराधमा पक्राउ परि अनुसन्धान भै रहेको हुँदा निजलाई आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
परिवर्तित नाम क कुमारी मिति २०६४।८।२९ गते बुवा बिरामी भएकाले घर जान्छु भनि हिँडेकी
थिइन् । घर पुगेपछि फोन गर्छु भनेको थियो । घर जाने समयमा मैले एउटा स्वीटर पनि किनिदिएको थिएँ । निजले फोन नगरेकाले निजको फोनमा मैले फोन गर्दा अर्कै केटा मानिसले फोन उठाएको कारण शङ्का लागि खोजतलास गर्न यसअघि यस कार्यालयमा निवेदन दिएको थिएँ । पछि बुझ्दै जाँदा नुवाकोट जिल्ला रालुका गा.वि.स. वडा नं. २ बस्ने लाक्पा तामाङले भारतको सिलगुडितर्फ लगि फर्काई पुन: काकडभिट्टाको बाटो हुँदै ललाई फकाई भारतको बेश्यालयमा बिक्री गरेको भन्ने खुल्न आएकाले निज र अन्य संलग्नलाई आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराले ज्ञानबहादुर लामाले दिएको जाहेरी दरखास्त ।
म समय समयमा काठमाडौं आउँदा का.जि. बालाजु माछापोखरीस्थित नुवाकोट त्रिशुली आप्रा रेष्टुरेन्टमा खाना खान्थेँ । त्यसैक्रममा परिवर्तित नाम क कुमारीसँग चिनजान भयो । त्यसपछि म प्राय: सो रेष्टुरेन्टमा जाने र निजसँग कुराकानी गर्ने गर्थें । क कुमारीको चिनजानको मानिस अर्जुन लामासँग पनि उनीले नै मलाई चिनजान गराएको हो । त्यसपछि अर्जुन लामा र मेरो सामान्य चिनजान भयो । अर्जुन लामाले सो रेष्टुरेन्टमा म केही दिनभित्रै भारतको दार्जिलिङ घुम्न जाँदैछु । तिमीहरू पनि दार्जिलिङ घुम्न जाने भए सँगै जाऔं भनेका थिए । निजले सो कुरा भनेपछि क कुमारीले मलाई पनि दार्जिलिङ घुम्न ईच्छा छ, तर घरमा बुवा बिरामी हुनुहुन्छ । खर्च पनि छैन । त्यसैले तत्काल जान सक्दिन भनेपछि अर्जुन लामाले म अहिले जान्छु । तिमीहरूलाई पछि फोन गरौँला भनेका थिए । पछि क कुमारीलाई अर्जुन लामाले फोन गरि मिति २०६४।९।१ गते बेलुकीसम्म काकडभिट्टा आइपुग्नु भनेको रहेछ । सो कुरा क कुमारीले मिति २०६४।८।२९ गते मलाई भनेपछि त्यसो भए जाउँन त भनेर क कुमारी र म सोही दिनको साँझ काठमाडौंबाट बसमा गई भोलिपल्ट काकडभिट्टा पुगि त्यहाँ अर्जुनको खोजतलास गर्दा भेट भई चिया खाँदै गर्दा अर्जुनले मलाई सुटुक्क क कुमारीलाई भारतमा लगि बिक्री
गर्छु । तपाईं यहीँबाट फर्कनुस्, बिक्रीबाट आएको रकम बाँडि खाउँला भनेको थियो । अर्जुनले भनेको कुरामा म सहमत भई तपाईंहरू दुईजना दार्जिलिङ घुम्न जानुस्, म काठमाडौं फर्कनु पर्ने भयो । म यहीँबाट फर्कन्छु भन्दा क कुमारीले पनि हुन्छ भनेकाले निजका लुगा कपडा, मोबाइल र लेडिज सामानहरू समेत मैले लिएर आई ती सामानहरू मनमैजु हिलेडोलमा बस्ने मेरो भाइको कोठामा राखेको छु भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
का.जि. मनमैजु गा.वि.स. वडा नं. १ हिलेडोलको पूर्व, उत्तर खाली जग्गा, पश्चिम शेखरनाथ खनालको घर र दक्षिण नेपालटार क्याम्पसबाट गोंगबु पूलतर्फ निस्कने कच्ची बाटो यति चारकिल्लाभित्र तेजप्रसास घिमिरेको पक्की घरमा लाक्पा तामाङ बस्ने गरेको कोठाबाट निलो रंगको US Army लेखेको झोला -१, सिमसहितको कालो रंगको नोकिया मोबाइल सेट-१, पिंक कलरमा पहेँलो थोपा जस्तो बुट्टा भएको लेडिजले लगाउने घाँटीमा V आकार भएको पहेलो रंगको कुर्था -१, सेतो लेडिज ट्राउजर-१, गुलावी, कालो, सेतो, पहेँलो, रंगको बुट्टे लेडिज सुरूवाल-१, सल १, बुट्टे लेडिज खाली पर्स-१, नोटबुक-१ र सानो अर्को नोटबुक फेला परेको भन्नेसमेत व्यहोराको खानतलासी बरामदी मुचुल्का ।
मिति २०६४।८।२५ गते साँझ ७ बजेतिर लाक्पा तामाङ मेरो रेष्टुरेन्टमा आएका थिए । क कुमारीसँग केही समय मेरो रेष्टुरेन्टमा कुराकानी गरि फर्किएका हुन् । हाल निजको कोठाबाट बरामद भएका सामानमध्ये झोलाको बारेमा मलाई थाहा भएन । अरू बरामद भएका सामानहरू क कुमारीका हुन् । मोबाइलको सिम मैले चलाउन दिएको हो, हेरि पहिचान गरि सनाखत गरेको छु भन्नेसमेत व्यहोराको चुडाबहादुर श्रेष्ठले गरेको सनाखत कागज ।
बरामद भएका भनि देखाइएका सामानहरू क कुमारीका हुन् भन्नेसमेत व्यहोराको जाहेरवाला ज्ञानबहादुर लामाले मौकामा लुगा कपडा हेरि चिनी गरेको सनाखत कागज । क कुमारीलाई प्रतिवादी लाक्पा तामाङले मिति २०६४।९।१ गते काकडभिट्टा पुर्याई भारतको बेश्यालयमा बिक्री गर्न अर्जुन भन्ने मानिसको जिम्मा लगाई आफू फर्किएको भन्ने कुरा प्रतिवादीको बयान, प्रतिवादीको कोठाबाट क कुमारीले लगाउने गरेका कपडा र मोबाइलसमेतका सामानहरू बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिई ती कपडाहरू र मोबाइलसमेतका सामानहरू क कुमारीको हो भनि जाहेरवाला ज्ञानबहादुर लामा र मौकामा कागज गर्ने चुडाबहादुर श्रेष्ठको कागजसमेतका प्रमाणबाट देखिएको हुँदा प्रतिवादीको उक्त कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(क) र २(क) को कसुर हुँदा प्रतिवादीलाई ऐ. ऐनको दफा १५(१)(क) बमोजिम कारवाही गरि दफा १७ बमोजिम पीडित क कुमारीलाई क्षतिपूर्ति पनि दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
मौकाको मेरो बयान स्वेच्छाको होइन । अनुसन्धानमा संलग्नहरूले आफैँले तयार पारेको कागजमा डर, धाक र धम्की दिई सहिछाप गराएका हुन् । मैले कोठा लिएको छैन । मेरो कोठाबाट बरामदी मुचुल्कामा उल्लिखित कपडासमेत बरामद भएको होइन । बरामदी मुचुल्का झुठ्ठा हो । मौकामा चुडाबहादुर श्रेष्ठले गरेको कागज पनि झुठ्ठा हो । तसर्थ अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराले प्रतिवादी लाक्पा तामाङले काठमाडौं जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादीका साक्षी रामसिंह तामाङ, बरामदी मुचुल्काका मानिसहरू निरञ्जन खनाल, भुवनबहादुर खड्का, ताराबहादुर खड्का र जाहेरवाला ज्ञानबहादुर लामाले गरेको बकपत्र मिसिल सामेल रहेको देखिन्छ ।
प्रतिवादी लाक्पा तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम सजाय गरि पाउन माग दाबी लिएकामा यी प्रतिवादीले क कुमारीलाई नेपाल सरहदको काकडभिट्टासम्म पुर्याई अर्जुन भन्ने मानिसलाई जिम्मा लगाएको देखिँदा निजले ऐ. दफा ४ को कसुर गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादीलाई ऐ. को दफा १५(१)(क) बमोजिम सजाय नभई दफा १५(१)(ङ) को खण्ड (३) नं. बमोजिम १० वर्ष कैद सजाय भई प्रतिवादीले पीडित क कुमारीलई रू.५०,०००। क्षतिपूर्ति पनि भराई दिने ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६५।८।१ को फैसला ।
मैले क कुमारीलाई भारतमा लगि बिक्री गरेको होइन । तर सुरू अदालतले मलाई आरोपित कसुर गरेको ठहर गरि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) को सजाय माग दाबी भएकामा माग दाबीभन्दा फरक दफा १५(१)(ङ) को खण्ड (३) बमोजिम १० वर्ष कैद सजाय र क्षतिपूर्तिसमेत तिर्नु पर्ने गरि फैसला गरेको
छ । कानूनतः माग दाबीभन्दा फरक दफा लगाएर सजाय गर्न मिल्दैन । यस सम्बन्धमा सर्वोच्च अदालतबाट सिद्धान्त पनि प्रतिपादन भएसमेतका आधार र कारणबाट आरोपित कसुरबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी लाक्पा तामाङले पुनरावेदन अदालत, पाटनमा गरेको पुनरावेदन पत्र ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मिति २०६४।४।८ मा प्रमाणीकरण भई लागू भएको हो । उक्त ऐनमा सुरू अदालतको फैसलामा उल्लेख गरेको दफा १५(१)(ङ)(३) भन्ने उपखण्ड छैन । दफा १५(१)(ङ)(१) र (२) मात्र हो । भूलवस सो दफा लेखिएको हो भन्नलाई पनि सोबमोजिम सजाय गरिएको छैन । आरोपित कसुर गरेको ठहर भएपछि मागदाबीमा सजाय गर्नुपर्ने
हुन्छ । त्यसैगरि जरिवानाको आधा रकम क्षतिपूर्ति दिलाई दिनु पर्नेमा सो पनि गरिएको छैन । रू. ५०,०००।– क्षतिपूर्ति कुन दफाबमोजिमको हो भन्ने कुरा पनि फैसलामा उल्लेख भएको छैन । तसर्थ सुरू अदालतको फैसला सो हदसम्म नमिलेको हुँदा बदर गरि अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराले वादी नेपाल सरकारले पुनरावेदन अदालत, पाटनमा गरेको पुनरावेदनपत्र ।
मिसिल संलग्न रहेका प्रमाण कागजातहरूबाट प्रतिवादी लाक्पा तामाङले क कुमारीलाई बिक्री गर्नेसमेतका उद्देश्यले नेपाल र भारतको सीमा नाकामा अवस्थित नेपाल सरहदको काकडभिट्टासम्म पुर्याएको तथ्य पुष्टि भएबाट निजले आरोपित कसुर गरेको देखिन्छ । आरोपित कसुरमा सुरू अदालतले कैद सजाय र क्षतिपूर्ति बापत रकम भराई दिने गरेको फैसला मिलेको देखिँदा सो हदसम्म मिलेकै
देखियो । तर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ दफा १५(१)(ङ) (२) मा जरिवाना पनि गर्नुपर्ने व्यवस्था भएकामा जरिवाना नगरेको हदसम्म काठमाडौं जिल्ला अदालतको मिति २०६५।८।१ को फैसला सो हदसम्म बदर भई प्रतिवादीलाई रू. १,००,०००।– जरिवाना पनि हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६६।११।११ को फैसला ।
उक्त फैसलामा चित्त बुझेको छैन । प्रहरीले व्यहोरा मिलाई बयान गराएको हो । झुठ्ठा प्रहरी प्रतिवेदनको आधारमा तयार भएको अभियोगपत्रबाट सजाय गर्न मिल्दैन । मिसिल संलग्न रहेको प्रमाणहरूको यथोचित मूल्याङ्कन गरिएको छैन । शङ्कास्पद प्रमाणको आधारमा कसुरदार ठहर गर्दा फौजदारी न्याय मर्न जान्छ र निर्दोष व्यक्तिले सजाय पाउने अवस्था आउँछ । तसर्थ म निर्दोष व्यक्तिलाई पुनरावेदन अदालत, पाटनले कसुरदार ठहर्याई मिति २०६६।११।११ मा गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण हुँदा बदर गरि सफाई पाउँ भन्नेसमेत व्यहोराले प्रतिवादी लाक्पा तामाङले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी लाक्पा तामाङले पीडितलाई विदेश लगि बिक्री गरेको भन्ने वस्तुनिष्ठ प्रमाणबाट पुष्टि भएको देखिँदैन । भारतमा क कुमारीलाई लैजाने भनिएका अर्जुन लामाको वतनसमेत खुल्न सकेको देखिँदैन । पीडित क कुमारीकै आग्रहमा काकडभिट्टा गएको भन्ने देखिन्छ । यी पुनरावेदक प्रतिवादीले बेचबिखन गर्ने उद्देश्यबाट क कुमारीलाई भारत पुर्याएको भन्ने समर्थित नभएको अवस्थामा प्रतिवादीलाई १० वर्ष कैद र जरिवानासमेत हुने ठहर्याएको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको लागि मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०७१।७।५ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढि पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन गरि वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मीले प्रतिवादीले पीडित क कुमारीलाई बिक्री गर्ने उद्देश्यले लिएर गएको भन्ने कुरा बरामदी मुचुल्का, जाहेरी दरखास्त, निजको कोठाबाट बरामद भएका कपडासमेतका सामानहरू पीडितको हो भनि जाहेरवाला ज्ञानबहादुर लामा र चुडाबहादुर श्रेष्ठको सनाखत कागजबाट पुष्टि भएको हुँदा आरोपित कसुरमा सजाय, जरिवाना गरि क्षतिपूर्तिसमेत दिलाउने भनि गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिमको बहससमेत सुनि पुनरावेदन अदालत, पाटनको मिति २०६६।११।११ को फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा यी पुनरावेदक प्रतिवादीले पीडित क कुमारीलाई आर्थिक प्रलोभनमा पारी ललाई फकाई भारतका बेश्यालयमा बिक्री गर्ने उद्देश्यले मिति २०६४।९।१ गते नेपाल र भारतको पूर्वी सीमा नाका काकडभिट्टामा पुर्याई अर्जुन भन्ने मानिसलाई जिम्मा लगाई आफू काठमाडौं फर्किएको कुरा निजको बयानसमेतका तथ्यगत सबुद प्रमाणबाट देखिँदा निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ दफा ३ विपरीत ऐ. दफा ४(१)(क) र (२)(क) बमोजिमको कसुर अपराधमा ऐ. दफा १५(१)(क) बमोजिम सजाय गरि दफा १७ बमोजिम क्षतिपूर्तिसमेत भराई पाउँ भन्ने व्यहोराले वादी नेपाल सरकारले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र पेस गरेको देखिन्छ । सो अदालतले प्रतिवादीलाई दफा १५(१)(ङ) को खण्ड (३) बमोजिम १० वर्ष कैद सजाय र प्रतिवादीले पीडितलाई रू.५०,०००।– क्षतिपूर्ति भराई दिने ठहर्याई फैसला गरेको
देखिन्छ । सो फैसलाउपर वादी प्रतिवादीको तर्फबाट परेको पुनरावेदनमा पुनरावेदन अदालत, पाटनले सुरू अदालतले गरेको कैद र क्षतिपूर्तिको हकमा सदर गरि जरिवानाको हकमा उल्टी गरि प्रतिवादीलाई रू. १,००,०००।- जरिवाना हुने ठहर्याई गरेको फैसलाउपर प्रतिवादीले यस अदालतमा पुनरावेदन गरेको देखिन्छ ।
३. प्रस्तुत मुद्दा प्रतिवादीले क कुमारीलाई बिक्री गर्ने उद्देश्यले काकडभिट्टा हुँदै भारतका बेश्यालयमा पुर्याएको भन्नेसमेतका तथ्यगत जाहेरी एवम् प्रहरी प्रतिवेदनको आधारमा उठान भएको देखिन्छ । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम कारवाही प्रक्रियामा जाने देखिन्छ । उक्त ऐन मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षणसमेत गर्ने उद्देश्यले बनेको तथ्यमा विवाद छैन । सो ऐनको दफा ३ ले मानव बेचबिखन तथा ओसारपसार गरेमा कसुर हुने, दफा ४ को उपदफा (१) ले बेश्यागमन गर्ने कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्नेसमेतका कार्यलाई मानव बेचबिखन गरेको मानिने र उपदफा (२) ले बेश्यावृत्तिमा लगाउने... उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी... नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजानेसमेतका कार्यलाई मानव ओसारपसार गरेको मानिने व्यवस्था भएको देखिन्छ ।
४. आरोपित कसुर गरेको छैन भन्ने प्रमाण पुर्याउने भार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ दफा ९ ले प्रतिवादीको हो । मौकामा यी पुनरावेदक प्रतिवादी बसेको डेरा कोठाबाट निलो रंगको US Army लेखेको एउटा झोला, १६०० मोडेलको कालो रंगको नोकिया सेट, सोमा प्रयोग भएको सिम, पिंक कलरमा पहेँलो थोपा जस्तो बुट्टा भएको घाँटीमा V आकारको पहेलो रंगको एउटा लेडिज कुर्ता, सेतो कलरको लेडिज ट्राउजर, गुलावी, कालो, सेतो र पहेँलो रंगको बुट्टे लेडिज सुरूवाल, सल, लेडिज खाली पर्स, अङ्ग्रेजीमा ADDRESS लेखेको-१ र FABR लेखेको सानो नोट बुक बरामद भएको देखिन्छ । उक्त सामानहरूको सम्बन्धमा यी पुनरावेदक प्रतिवादीले मौकामा पीडितले लिएर गएकी र निजलाई अर्जुन भन्ने मानिसले लिएर जाने भएपछि काकडभिट्टाबाट आफूले लिएर आएको भनि बयान गरेको देखिन्छ । निजले अदालतमा सो बरामदी मुचुल्का झुठ्ठा हो भन्नेसमेतका व्यहोराले इन्कारी रहेको देखिन्छ ।
५. उक्त इन्कारी बयानलाई प्रतिवादीले समर्थन गर्ने प्रमाणहरू पेस गर्न सकेको देखिँदैन । आफ्नो मुलुकबाट अर्को मुलुकमा बिक्री भएकी पीडित महिलाले लगाएको कपडा र प्रयोग गरेका अन्य सामानहरू त्यसरी अन्यत्रको सामान्य चिनजानको मानिसको डेरा कोठामा फेला पर्नु कसुर अपराधको प्रमाणसँग सम्बन्धित हो । कसुर अपराध गर्ने व्यक्तिले आफूले गरेको कसुर अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन जहिले पनि झुठ्ठो बयान गर्ने हुँदा त्यसलाई सङ्कलित प्रमाणहरूबाट विश्लेषण र मूल्याङ्कन गरि न्याय निरूपण गर्नुपर्ने हुन्छ । प्रतिवादीको डेरा कोठाबाट बरामद भएका कपडा, मोबाइल, नोटबुक र लेडिज पर्ससमेतका सामानहरू पीडित क कुमारीका हुन् भन्ने व्यहोराले जाहेरवाला ज्ञानबहादुर लामाले मौकामा सनाखत गरेको कुरा मिसिलबाट देखिन्छ ।
६. बरामदी मुचुल्का प्रतिवादीसमेतको रोहवरमा प्रहरी नायब निरीक्षक भुवनबहादुर खड्का, प्रहरी हबलदार निरन्जन रावल र ताराबहादुर खड्काले तयार गरेको देखिन्छ । सो बरामदी मुचुल्का तयार गर्ने उल्लिखित प्रहरी कर्मचारीले अदालतमा साक्षीसरह उपस्थित भै ज्ञानबहादुर लामाले सनाखत गरेका बरामदी मुचुल्कामा उल्लिखित कपडा तथा सामानहरू प्रतिवादी लाक्पा तामाङको डेरा कोठाबाट बरामद भएको हो भनि बरामदी मुचुल्काको व्यहोरा समर्थन गरि बकपत्र गरेको देखिन्छ । प्रतिवेदक तथा जाहेरवालाको उक्त बकपत्र प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा लिन मिल्ने नै देखिँदा बरामदी मुचुल्का झुठ्ठा हो भन्ने पुनरावेदन जिकिर मनासिब देखिन आएन ।
७. पुनरावेदक प्रतिवादीले मिति २०६४।८।२९ गते पीडितलाई काठमाडौंबाट लिएर गई भोलिपल्ट २०६४।९।१ गते काकडभिट्टा पुर्याएको भनि बयान गरेको देखिन्छ । निजका साक्षीले बकपत्र गर्दा प्रतिवादी खेती किसानी गर्ने र गाडीमा खलासी काम गर्छन् । उल्लिखित मिति समयमा प्रतिवादी घरमै थिए भन्ने व्यहोरा लेखाएको देखिन्छ । तर प्रतिवादीले आफूले बयान गर्दा सो समयमा घरमा थिएँ भनि भन्न नसकेकोबाट पनि प्रतिवादी र निजका साक्षीको भनाई आफैँमा विरोधाभाषपूर्ण देखिन आएको समेतका आधार र प्रमाणबाट प्रतिवादीले पीडित क कुमारीलाई काठमाडौंबाट काकडभिट्टासम्म पुर्याएको तथ्य मिसिलबाट समर्थित हुन आयो । प्रतिवादीले पीडित क कुमारीको आग्रहमा नै काकडभिट्टासम्म पुर्याएको कुरा मिसिलबाट देखिन आएको छैन । अर्जुन भन्ने मानिसको वतन नखुलेको भए तापनि यी प्रतिवादीले मौकामा आफूले काकडभिट्टासम्म पुर्याएको भनि गरेको बयान अन्यथा हुन सकेको देखिँदैन । यसरी प्रतिवादीले पीडितलाई काठमाडौंबाट नेपालसरहदको काकडभिट्टासम्म पुर्याएको देखिएको र कानूनले पनि बिक्री समेतको लागि नेपालसरहदभित्रको एक ठाउँबाट अर्को ठाउँमा पुर्याएको कार्यलाई कसुर मानेको हुँदा यस अदालतबाट मिति २०७१।७।५ मा भएको आदेशसँग सहमत हुन सकिएन । प्रतिवादीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा (१) को खण्ड (क) र उपदफा (२) को खण्ड (क) को कसुर गरेको देखिन आयो ।
८. अब प्रतिवादीलाई के कस्तो सजाय हुने हो भन्ने सम्बन्धमा विचार गर्दा वादी नेपाल सरकारले यी प्रतिवादीलाई सो ऐनको दफा १५(१) को खण्ड (क) बमोजिम सजाय गरि पाउन माग दाबी लिएको
देखिन्छ । सुरू अदालतले दफा १५(१)(ङ) अन्तर्गत १० वर्ष कैद सजाय गरि रू.५०,०००।– पीडितलाई भराई दिने ठहर्याई फैसला गरेको देखिन्छ । दफा १५(१)(ङ) को खण्ड (२) मा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई दश वर्ष कैद र पचासहजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना हुनेसमेतको व्यवस्था भएको देखिन्छ । आरोपित कसुर गरेको ठहर भएपछि जरिवाना पनि गर्नु पर्ने तथ्यमा विवाद छैन । प्रस्तुत मुद्दामा सुरू अदालतले उक्त कानूनी व्यवस्थाबमोजिम प्रतिवादी लाक्पा तामाङलाई जरिवाना गरेको देखिँदैन । ऐनको दफा १७ को कानूनी व्यवस्था हेर्दा जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरि निजबाट मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु पर्नेछ भन्नेसमेतको व्यवस्था भएको देखिँदा कानूनबमोजिम जरिवाना पनि गर्नु पर्नेमा सुरू अदालतले जरिवाना नगरेको हदसम्म केही उल्टी गरि १० वर्ष कैद सजाय, एकलाख रूपैयाँ जरिवाना र पीडितले प्रतिवादीबाट ५०,०००।- रूपैयाँ भराई लिन पाउने ठहर्याई गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।११।११ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरि मिसिल नियमानुसार गरि बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.दीपकराज जोशी
इजलास अधिकृत : भीमबहादुर निरौला
इति संवत् २०७२ साल भदौ ३० रोज ४ शुभम् ।