शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४९९ - सम्पत्ति शुद्धीकरण

भाग: ५७ साल: २०७२ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७२।९।१४।३

०७०-CR-०६२९

 

मुद्दा : सम्पत्ति शुद्धीकरण

 

पुनरावेदक / प्रतिवादी : हुम्ला जिल्ला लिमी गा.वि.स. वडा नं. ५ जाङगाउँ बस्ने दावा टासी लामा

विरूद्ध

प्रत्यर्थी / वादी : सम्पत्ति शुद्धीकरण अनुन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत रविराज काफ्लेसमेतको प्रतिवेदनले नेपाल सरकार

 

निकै ठूलो परिमाणको रकम कसैले बोकेको सुटकेसबाट बरामद हुन्छ र त्यसको साँचो पनि निजबाटै बरामद भएको अवस्थामा रकमको मालिक यो हो भनि यकिन वतनसमेत देखाई पहिचान गराउन नसकेको अवस्थामा जसको साथबाट बरामद भएको हो उक्त रकम विषयको सम्पूर्ण कानूनी दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवारी उसैमा रहन्छ । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा २८ मा कुनै व्यक्तिमा भएको सम्पत्ति के कस्तो स्रोतबाट प्राप्त गरेको हो ? सो सम्पत्तिको स्रोत खुलाउने भार निज व्यक्तिमा नै रहेको देखिन्छ । तर, प्रतिवादीले उक्त बरामद भएको सम्पत्तिको वैधानिक स्रोत खुलाउन सकेको देखिएन । तसर्थ अन्यथा प्रमाणित नभएसम्म उक्त रकम विषयमा जवाफदेहिता निज प्रतिवादीमै रहने ।

(प्रकरण नं.२)

कसैसँग आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा उसको सम्पत्ति अस्वभाविक देखिएमा र उसले आर्जन गरेको वैधानिक स्रोत देखाउन नसके सम्पत्ति शुद्धीकरणको अपराध हुने व्यवस्था गरेको देखिन्छ । कसैसँग अस्वभाविक सम्पत्ति देखियो भने त्यसको वैधानिक स्रोत वा जायज आर्जन थियो भनि प्रमाणित गर्ने प्रमाणको भार प्रतिवादीमा रहेको हुन्छ । प्रतिवादीले सम्पत्तिको स्रोत देखाउन सकेन भने उसले सम्पत्ति शुद्धीकरणको अपराध गरेको हो भनि मान्नु पर्ने ।

(प्रकरण नं.३)

प्रस्तुत मुद्दा प्रतिवादीसँग रहेको रकम विदेशी विनिमय भएको कारणबाट चलेको होइन । अपितु, निजसँग निजको हैसियतका तुलनामा अत्यधिक बढी रकम भएकाले प्रस्तुत मुद्दा निज विरूद्ध चलेको हो । निजले उक्त रकमको स्रोत देखाउन सकेको अवस्थामा प्रस्तुत मुद्दा निज विरूद्ध चल्ने अवस्थै हुने थिएन । त्यसैगरि बरामदी रकम नेपाली वा भारतीय भएको अवस्थामा विदेशी विनिमयअन्तर्गत मुद्दा चल्ने अवस्था हुने थिएन । तर, स्रोत देखाउन नसकेको अवस्थामा भने सम्पत्ति शुद्धीकरणको मुद्दा भने चल्ने । 

विदेशी विनिमय बिना इजाजत प्रतिवादीसँग रहनु एउटा अपराध हो भने, अत्यधिक मात्रामा स्रोत देखाउन नसकिने रकम आफ्नो साथ राख्नु अर्को अपराध हो । विदेशी विनिमय मुद्दा जिल्ला अदालतमा चल्ने मुद्दा हो भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा सुरू कारवाही हुने मुद्दा हो । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ४ को (ङ) मा सम्पत्ति शुद्धीकरण मानिने कसुरमा “विदेशी विनिमय नियमित गर्नेसम्बन्धी प्रचलित कानून अन्तर्गतको कसुर गरि” भन्ने  उल्लेख भएको पाइन्छ । यसबाट विदेशी विनिमय नियमित गर्ने कसुरलाई समेत सम्पत्ति शुद्धीकरण ऐनले मुद्दा चलाउन बाधा पार्ने देखिँदैन । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार छुट्टाछुट्टै ऐनले कसुर मानेको हुँदा अलग अलग ऐनले व्यवस्था गरेको कसुरलाई एउटै कसुर मान्न मिलेन । साथै बरामदी रकम प्रतिवादीबाट बरामद भएको र सो रकमको आधिकारिक तथा वैधानिक स्रोत प्रतिवादीले खुलाउन नसकेको अवस्थामा आर्थिक अवस्था र हैसियत कमजोर छ भन्ने आधारमा मात्र आरोपित अभियोग दाबीबाट प्रतिवादीले सफाइ पाउने अवस्था नरहने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को ६

सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ३, ४ को (ङ), २८, ३०(२)

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९

 

सुरू तहमा फैसला गर्ने :

अध्यक्ष मा.न्या. श्री केदारप्रसाद चालिसे

सदस्य मा.न्या. श्री मोहनरमण भट्टराई

सदस्य मा.न्या. श्री  भूपेन्द्रप्रसाद राई

 

फैसला

न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :- 

मिति २०६९।७।१० गते बिहान अन्दाजी ९:०० बजेको समयमा स्पाइस जेटको उडान नं. SG042 द्वारा काठमाडौं अन्तर्राष्ट्रिय गौचरबाट दिल्ली जाने क्रममा दावा टासी लामाको साथबाट स्रोत नखुलेको यूरो १,९५,०००।– बरामद भएको सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट अनुसन्धान तहकिकात कार्य पुरा गरि विदेशी विनिमय (नियमित गर्ने) ऐनबमोजिम काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरि सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान तहकिकातको लागि राजस्व अनुसन्धान विभागको च.नं. १०४० मिति २०६९।८।१० को पत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्राप्त भएको ।

आफूले पहिला जडिबुटीको व्यापार गर्दै मिति २०६९।७।१० गते दिल्ली जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गरि मेरो साथबाट विभिन्न दरका गरि जम्मा १,९५,०००।- विदेशी मुद्रा बरामद गरेको हो । उक्त सुटकेश खोलेपछि त्यसमा विदेशी मुद्रा रहेको थाहा भयो, उक्त रकमसहितको सुटकेश काठमाडौं बौद्धमा चाइनिज नागरिक आङ्‍गजिङ्‍गले दिएको हो, निज चाइनिज नागरिकलाई मैले यस विभागमा उपस्थित गराउन सक्दिन, निजको वतन थाहा छैन, उक्त काम गरेबापत नाफाको १० प्रतिशत रकम दिने सर्त थियो । उक्त मुद्रासहितको सुटकेश भारतको दिल्लीमा लाक्पा लामालाई दिनु भनि चाइनिज नागरिकले भनेका थिए, सोही अनुसारको कार्य गरेको हो भनि अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी दावा टासी लामाले गरेको बयान ।

प्रतिवादीले आरोपित कसुर स्वीकार गरि बयान गरेको र बरामदी स्रोत बिनाको विदेशी मुद्राहरूका सम्बन्धमा प्रतिवादीको संलग्नता रहेको देखिँदा हाल निज प्रतिवादी अन्य मुद्दाबाट थुनामा भएकाले छुटि जाने भएमा यस विभागमा उपस्थित गराउने गरि कारागार कार्यालय, जगन्नाथदेवललाई समेत जानकारी दिई थुनामा राख्न फिर्ता पठाई अनुसन्धान कार्य अगाडि बढाउनु भन्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको मिति २०६९।९।१ को आदेश ।

प्रतिवादी दावा टासी लामाले सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ३(१) ले निषेधित, दफा ४(ङ) र २८ बमोजिमको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीलाई कुल बिगो रू.२,१८,५५,६००।– कायम गरि सोही ऐनको दफा ३०(२) बमोजिम सजाय हुन र ऐ.ऐनको दफा ३४ बमोजिम दशी जफत हुन माग दाबी लिई विशेष अदालतमा मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको च.नं. २८६४, मिति २०६९।९।१८ को पत्रसहितको निर्णयको प्रतिलिपि मिसिल सामेल रहेको ।

प्रस्तुत वारदातमा राजस्व अनुसन्धान विभागबाट प्राप्त उजुरी अनुसन्धान तहकिकातको सिलसिलामा प्रतिवादी दावा टासी लामालाई काठमाडौं जिल्ला अदालतको आदेशले कारागार कार्यालय, जगन्नाथदेवलबाट झिकाई विभागको अनुसन्धान अधिकृतसमक्ष बयान गराउँदा मिति २०६९।७।१० गते काठमाडौंबाट दिल्ली जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा आफ्नो साथमा रहेको सुटकेशभित्र विभिन्न दरका गरि जम्मा विदेशी मुद्रा यूरो १,९५,०००।– बरामद भएको, उल्लिखित मुद्राहरू बौद्धमा बस्ने चाइनिज नागरिक आङ्‍गजिङ्गले दिल्लीमा लाक्पा लामालाई पुर्‍याई दिनु भनेका थिए । सोबापत मैले नाफाको १० प्रतिशत रकम पाउने कुरा थियो, आङ्‍गजिङ्‍ग र लाक्पा लामालाई उपस्थित गराउन सक्दिन, उनीहरू हाल कहाँ छन् थाहा छैन । उल्लिखित बरामदी विदेशी मुद्राहरूको स्रोत सम्बन्धमा जानकारी नभएको भनि कसुरलाई स्वीकार गरि बयान गरेका छन् । यी प्रतिवादीले सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित र दफा ४(ङ), दफा २८ अनुसारको कसुरजन्य कार्य गरेकाले प्रतिवादी दावा टासी लामालाई बरामदी यूरो १,९५,०००।– को हुने ने.रू.२,१८,५५,६००।– (अक्षरूपी रू.दुई करोड अठार लाख पचपन्न हजार छ सय) बिगो कायम गरि सोही ऐनको ३०(२) बमोजिम सजाय हुन र ऐ. ऐनको दफा ३४ बमोजिम बरामदी यूरो १,९५,०००।– जफत गरिपाउँ भन्ने व्यहोराको मिति २०६९।९।२० को अभियोगपत्र ।

मेरो एक वर्ष पहिले जडिबुटीसम्बन्धी काम गर्ने सिलसिलामा चिनियाँ नागरिक आङ्‍गजिङ्‍गसँग चिनको खासामा भेटघाट भएको थियो । निजसँगको सरसल्लाहबाट मैले सङ्कलन गरेको जडिबुटी आङ्‍गजिङ्‍गको एजेन्ट लाक्पा लामा (तिब्बतियन नागरिक) जो भारत मै बसेका छन्, निजलाई नै बुझाई सोको कमिशनमात्र लिई खाने गरेको थिएँ । यसै क्रममा म भारतबाट फर्की काठमाडौं आई बसेका बखत उक्त चाइनिज नागरिक आङ्‍गजिङ्‍ग म कहाँ भेट्‍न आई निजले मलाई भारतमा मेरो एजेन्ट छ, राम्रो काम गर्नु भनि सम्झाएको र मेरो एजेन्ट लाक्पा लामालाई खैरो रंगको सानो सुटकेशभित्र रहेको कागजपत्र पुर्‍याई दिनुपर्नेछ भनेकाले उक्त सुटकेशसहित म २०६९।७।१० गते काठमाडौंबाट भारत जाने क्रममा एयरपोर्टमा सामान जाँच गर्ने क्रममा उक्त सुटकेश प्रहरीद्वारा जाँच गर्दा मुचुल्काबमोजिमको पैसा भेटिएको हो । उक्त रकम यूरो डलर नै भन्दछन्, मलाई थाहा भएन, उक्त पैसा मेरो होइन, पैसा चाइनिज व्यक्ति आङ्‍गजिङ्‍ग भन्ने कै हो । मैले कागजपत्र होला भनेर उक्त सुटकेश बोकि हिँडेको थिएँ, निज आङ्‍गजिङ्‍ग भन्ने व्यक्ति मेरो व्यापारी पार्टनर पनि होइन, मैले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान सहिछाप मेरै हो । १० प्रतिशत रकम दिने भन्ने कुरा जडिबुटी सङ्कलन गरि बुझाएबापतको हो, मैले उक्त रकम भारतमा पुर्‍याई लाक्पा लामालाई दिएबापतको होइन, मलाई सुटकेशमा यूरो डलर छ छैन भन्ने थाहा थिएन, यूरो डलर भेटाउँदा कानूनविपरीत हुन्छ हुँदैन मलाई थाहा छैन, पैसा मेरो होइन । उक्त रकम चाइनिज नागरिक आङ्‍गजिङ्‍गको नै हो, मैले निज व्यक्तिहरूलाई समाउन सक्ने अवस्था पनि छैन, अतः मैले कुनै आपराधिक कार्य गरेको छैन । मलाई अर्कै व्यक्तिले फसाउन खोजेका हुन् भन्ने कुरा पछि थाहा पाएको हुँदा झुठा अभियोग दाबीबाट सफाई पाउँ भन्ने प्रतिवादी दावा टासी लामाले मिति २०६९।९।२२ मा विशेष अदालतमा गरेको बयान ।

प्रतिवादीको साथमा रहेको सुटकेशबाट यूरो १,९५,०००।– बरामद भएको तथ्यमा विवाद नभएको, सो सुटकेश चाइनिज नागरिक आङ्‍गजिङ्‍गको हो भन्ने निजको भनाई भरपर्दो प्रमाणबाट पुष्टि हुन सकेको छैन । दाबीको कसुर यी प्रतिवादी दावा टासी लामाले गरेको होइन भन्ने अवस्था नदेखिएकाले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरि काठमाडौं जिल्ला अदालतमा यिनै प्रतिवादी विपक्षी भई चलेको मुद्दामा दाबी लिएको यूरो कै विषयमा अवैध विदेशी मुद्राको कारोबार सम्बन्धमा रू.२,१८,६०,०००।– धरौट माग भएकोसमेतका कुरालाई विचार गरि विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) बमोजिम प्रतिवादी दावा टासी लामासँग रू.१,००,००,०००।– (एक करोड मात्र) धरौट माग गरिएको छ भन्ने विशेष अदालतको मिति २०६९।९।२२ को आदेश । 

निज दावा टासी लामालाई म बाल्याअवस्थादेखि नै चिन्दछु । निजको गाउँ र मेरो गाउँ नजिक छ, मैले जाने बुझेसम्म निजको आनिबानी आचरण राम्रो पाएको छु, निज नराम्रो काम गर्ने व्यक्ति होइनन्, निज व्यापार गर्दछन् तर के कस्तो व्यापार गर्दछन् मलाई थाहा भएन, बरामद भएको रूपैयाँको बारेमा मलाई थाहा भएन तर मैले सुनेबमोजिम चाइनिज नागरिकले बरामद ब्याग दिल्ली पुर्‍याई दिन भनि यी प्रतिवादीलाई दिएको रहेछ, ब्यागमा रकम रहेको कुरा प्रतिवादीलाई बरामद भएपछि मात्र थाहा भएको हो, ती चाइनिज नागरिकको नाम मलाई थाहा भएन, उक्त रकम चाइनिज नागरिक कै हो भनि मैले पछि सुनेको हुँ । यति धेरै नोटको कारोबार गर्न सक्ने व्यक्ति यी प्रतिवादी होइनन्, निजको आर्थिक अवस्था मैले बुझेसम्म कमजोर छ भन्नेसमेत व्यहोराको प्रतिवादी पेमा छिरिङ्ग लामाको मिति २०६९।१२।१५ को बकपत्र ।

प्रतिवादी दावा टासी लामाबाट यूरो १,९५,०००।– (ने.रू.२,१८,५५,६००।–) बरामद भएको तथ्यमा विवाद छैन । सो विदेशी मुद्दा चाइनिज व्यक्ति आङ्‍गजिङ्‍गको हो भन्ने कुरा प्रतिवादीले प्रमाणित गर्न नसकेको र आफूबाट बरामद भएको उक्त विदेशी मुद्राको आधिकारिक स्रोत दिन नसकेकाले निज दावा टासी लामाको रू.२,१८,५५,६००।– सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित, दफा ४(ङ), दफा २८ अनुसारको कसुरजन्य कार्य गरेको 

ठहर्छ । सो ठहर्नाले निज प्रतिवादी दावा टासी लामालाई सोही ऐनको दफा ३०(२) बमोजिम २ (दुई) वर्ष कैद र बिगोबमोजिम रू.२,१८,५५,६००।–जरिवाना हुने ठहर्छ । बरामद रकम जफत सम्बन्धमा निज प्रतिवादी विरूद्ध काठमाडौं जिल्ला अदालतमा चलेको अवैध विदेशी मुद्राको कारोबार मुद्दामा उक्त बरामद विदेशी मुद्रा जफत हुने ठहरि फैसला भैसकेको देखिएकाले केही गरि रहन परेन भन्ने विशेष अदालत, काठमाडौंको मिति २०७०।३।२७ को फैसला ।

विशेष अदालत, काठमाडौंको उक्त फैसलामा चित्त बुझेन म पुनरावेदकबाट विदेशी मुद्रा बरामद भएको भएपनि उक्त रूपैयाँ मेरो होइन । उक्त रूपैयाँको कारोबार गर्ने मेरो आर्थिक अवस्था र हैसियत नै 

छैन । म गाउँ घरमा सानोतिनो जडीबुटीको व्यापार गर्ने व्यक्ति हुँ । म पुनरावेदक यूरो १,९५,०००।– कारोबार गर्न सक्ने मानिस होइन । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार सोही विदेशी मुद्रा बरामद भएको आधारमा मुद्दा चलि रहेकामा पुनः सोही विषयमा सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसार मलाई कारवाही र सजाय गर्न मिल्दैन । चाइनिज नागरिक आङ्‍गजिङ्‍गले कागजातसहितको सुटकेश दिल्लीमा बस्ने लाक्पालाई दिनु भनि मलाई दिएकाले सो सुटकेश दिल्ली पुर्‍याउने क्रममा पक्राउ परेको हुँ । म निर्दोष भएकाले विशेष अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरि झुठा अभियोग दाबीबाट सफाई पाउँ भन्ने प्रतिवादी दावा टासी लामाको यस अदालतमा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम पेसी सूचीमा चढि निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गरि विशेष अदालत, काठमाडौंको फैसला मिलेको छ, छैन पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. प्रतिवादी दावा टासी लामा मिति २०६९।७।१० मा स्पाइस जेट एयरको उडान नं. SG042 द्वारा काठमाडौंबाट दिल्ली जान थालेको अवस्थाको घटना रहेछ । निजले बोकेको सुटकेसबाट यूरो १,९५०००। बरामद भएको रहेछ । बरामदी तथ्यमा प्रतिवादी अदालतसमेतमा साबित रहेको देखिन्छ । तसर्थ बरामदी भएको तथ्यमा विवाद 

रहेन । तर, प्रतिवादीले उक्त रकम आफ्नो नभई चाइनिज आङ्गजिङ्गको भएको भनि जिकिर लिएको देखिन्छ । निजले आङ्गजिङ्ग भन्ने चाइनिजको कुनै खास वतन, ठेगाना देखाउन सकेको पाइएन । आङ्गजिङ्गलाई उपस्थित गराउन पनि नसकेको अवस्था छ । रकम रहेको सुटकेस निजले बोकेको बखत बरामद भएको र सुटकेसको साँचो निजैसँग रहेको अवस्था छ । यसरी निकै ठूलो परिमाणको रकम कसैले बोकेको सुटकेसबाट बरामद हुन्छ र त्यसको साँचो पनि निजबाटै बरामद भएको अवस्थामा रकमको मालिक यो हो भनि यकिन वतनसमेत देखाई पहिचान गराउन नसकेको अवस्थामा जसको साथबाट बरामद भएको हो उक्त रकम विषयको सम्पूर्ण कानूनी दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवारी उसैमा रहन्छ । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा २८ मा कुनै व्यक्तिमा भएको सम्पत्ति के कस्तो स्रोतबाट प्राप्त गरेको हो ? सो सम्पत्तिको स्रोत खुलाउने भार निज व्यक्तिमा नै रहेको देखिन्छ । तर, प्रतिवादीले उक्त बरामद भएको सम्पत्तिको वैधानिक स्रोत खुलाउन सकेको देखिएन । तसर्थ अन्यथा प्रमाणित नभएसम्म उक्त रकम विषयमा जवाफदेहिता निज प्रतिवादीमै रहन्छ । 

३. प्रस्तुत मुद्दामा सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित र दफा ४(ङ), दफा २८ अनुसारको कसुरजन्य कार्य गरेको भन्ने प्रतिवादी उपरको अभियोग दाबी रहेको देखिन्छ । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ३ ले सम्पत्ति शुद्धीकरणमा रोक लगाएको देखिन्छ । दफा ३(१) मा “कसैले पनि सम्पत्ति शुद्धीकरण गर्न गराउन हुँदैन” भन्ने उल्लेख भएको छ भने र दफा ३ (२) मा “कसैले उपदफा (१) बमोजिमको कार्य गरेमा यस ऐनबमोजिमको कसुर गरेको मानिनेछ” भन्ने कानूनी प्रावधान रहेको देखिन्छ । त्यसैगरि सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा २८ मा सम्पत्ति शुद्धीकरण गरि सम्पत्ति आर्जन गरेको मानिने व्यवस्था गरेको छ । दफा २८ मा “यस ऐनअन्तर्गतको कसुरमा मुद्दा चलाइएको व्यक्तिको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा निजको सम्पत्ति अस्वभाविक देखिन आएमा वा निजले अस्वभाविक उच्च जीवनस्तरयापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा निजले त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा प्रमाणित गर्नुपर्नेछ र त्यसरी प्रमाणित गर्न नसकेमा त्यस्तो सम्पत्ति यस ऐनअन्तर्गतको कसुर गरि प्राप्त गरेको मानिनेछ” भन्ने उल्लेख भएको पाइन्छ । उक्त कानूनी प्रावधानबाट कसैसँग आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा उसको सम्पत्ति अस्वभाविक देखिएमा र उसले आर्जन गरेको वैधानिक स्रोत देखाउन नसके सम्पत्ति शुद्धीकरणको अपराध हुने व्यवस्था गरेको देखिन्छ । कसैसँग अस्वभाविक सम्पत्ति देखियो भने त्यसको वैधानिक स्रोत वा जायज आर्जन थियो भनि प्रमाणित गर्ने प्रमाणको भार प्रतिवादीमा रहेको हुन्छ । प्रतिवादीले सम्पत्तिको स्रोत देखाउन सकेन भने उसले सम्पत्ति शुद्धीकरणको अपराध गरेको हो भनि मान्नु पर्ने हुन्छ ।

४. विदेशी विनिमय निवारण ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाई कारवाही भएकामा सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत एउटै कसुरमा दोहोरो कारवाही र सजाय गर्न मिल्दैन भन्ने पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्नुपर्ने देखियो । निश्चय पनि एउटै कसुरमा एकपटकभन्दा बढी मुद्दा चलाउन र सजाय गर्न पाइने हुँदैन । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को ६ ले एउटै कसुरमा एकभन्दा बढी मुद्दा नचलाइने र सजाय पनि नगरिने प्रत्याभूत गरेको देखिन्छ । पुनरावेदकलाई एउटै कसुरमा दुई वटा मुद्दा चलाइएको हो होइन र प्रतिवादीले एउटै कसुर गरेका छन् कि एकभन्दा बढी कसुर गरेका छन् भनि विचार गर्नुपर्ने देखिन आयो । यी प्रतिवादीउपर विदेशी विनिमय निवारण ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा चलेको तथ्य मिसिलबाट देखिन्छ । पुनरावेदकसँग विदेशी विनिमय रहनु विदेशी विनिमय नियमित गर्ने ऐनअनुरूपको अपराध हुन्छ । बिना इजाजत विदेशी विनिमय आफ्नो साथ राख्नु नै अपराध हो । प्रस्तुत मुद्दा प्रतिवादीसँग रहेको रकम विदेशी विनिमय भएको कारणबाट चलेको होइन । अपितु, निजसँग निजको हैसियतका तुलनामा अत्यधिक बढी रकम भएकाले प्रस्तुत मुद्दा निज विरूद्ध चलेको हो । निजले उक्त रकमको स्रोत देखाउन सकेको अवस्थामा प्रस्तुत मुद्दा निज विरूद्ध चल्ने अवस्थै हुने थिएन । त्यसैगरि बरामदी रकम नेपाली वा भारतीय भएको अवस्थामा विदेशी विनिमयअन्तर्गत मुद्दा चल्ने अवस्था हुने थिएन । तर, स्रोत देखाउन नसकेको अवस्थामा भने सम्पत्ति शुद्धीकरणको मुद्दा भने चल्ने नै हुन्छ । उदाहरणको लागि कसैसँग अवैधरूपमा हातहतियार हुनु एउटा अपराध हो भने त्यो हतियार प्रयोग गरि कसैको हत्या गर्दछ भने त्यो अर्को अपराध हुन्छ । त्यसैगरि विदेशी विनिमय बिना इजाजत प्रतिवादीसँग रहनु एउटा अपराध हो भने, अत्यधिक मात्रामा स्रोत देखाउन नसकिने रकम आफ्नो साथ राख्नु अर्को अपराध हो । विदेशी विनिमय मुद्दा जिल्ला अदालतमा चल्ने मुद्दा हो भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा सुरू कारवाही हुने मुद्दा हो । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ४ को (ङ) मा सम्पत्ति शुद्धीकरण मानिने कसुरमा “विदेशी विनिमय नियमित गर्नेसम्बन्धी प्रचलित कानून अन्तर्गतको कसुर गरि” भन्ने  उल्लेख भएको पाइन्छ । यसबाट विदेशी विनिमय नियमित गर्ने कसुरलाई समेत सम्पत्ति शुद्धीकरण ऐनले मुद्दा चलाउन बाधा पार्ने देखिँदैन । सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ अनुसार छुट्टाछुट्टै ऐनले कसुर मानेको हुँदा अलग अलग ऐनले व्यवस्था गरेको कसुरलाई एउटै कसुर मान्न मिलेन । साथै बरामदी रकम प्रतिवादीबाट बरामद भएको र सो रकमको आधिकारिक तथा वैधानिक स्रोत प्रतिवादीले खुलाउन नसकेको अवस्थामा आर्थिक अवस्था र हैसियत कमजोर छ भन्ने आधारमा मात्र आरोपित अभियोग दाबीबाट प्रतिवादीले सफाइ पाउने अवस्था रहँदैन ।

५. अतः माथि उल्लिखित आधार र कारणसमेतबाट प्रतिवादी दावा टासी लामाबाट बरामद यूरो १,९५,०००।– को आधिकारिक स्रोत निजले दिन नसकेकाले सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित र दफा ४(ङ) र दफा २८ अनुसारको कसुर ठहराई प्रतिवादी दावा टासी लामालाई सोही ऐनको दफा ३०(२) बमोजिम २(दुई) वर्ष कैद र बिगोबमोजिम रू.२,१८,५५,६००।– जरिवाना हुने ठहर्‍याएको विशेष अदालत, काठमाडौंको मिति २०७०।३।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाई पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीबाट लगत कट्टा गरि मिसिल नियमानुसार बुझाइदिनू ।  

 

उक्त रायमा सहमत छु ।

न्या.देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृत: प्रेमप्रसाद न्यौपाने

इति संवत् २०७२ साल पुस १४ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु