शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५०६ - जबरजस्ती करणी र चोरी

भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।८।२३।३

०६८-CR-०१४४

 

मुद्दाः जबरजस्ती करणी र चोरी

 

विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम पीडितको पहिचान खुल्ने विवरण गोप्य राखिएको छ ।

 

पुनरावेदक / वादी : क कुमारीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : रामेछाप जिल्ला, वेथान गा.वि.स. वडा नं. २ घर भै हाल भक्तपुर सल्लाघारी बस्ने बलराम दवाडी भन्ने ध्यानबहादुर खड्का

 

चोरी गरेका गर गहना भक्तपुरको सुन पसलमा लगी बिक्री गरेको हुँ भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेको देखिन्छ । प्रतिवादीले बिक्री गरेको भनेको भक्तपुरको सुन पसल खोजी गरी प्रतिवादीको बयानको पुष्टि गर्ने काम पीडितको नभई वादी पक्षकै हुन्छ । उक्त कार्यमा वादी पक्षले देखाएको उदासिनताको कारण पीडितले न्याय पाउनबाट वञ्चित हुनु पर्ने भन्ने नहुने ।

(प्रकरण नं.६)

अनुसन्धान र अभियोजन बयानमुखी भैरहने तर न्यायिक निर्णयमा मात्रै वैज्ञानिक र भौतिक सबुद प्रमाणको विश्लेषण खोजी गर्न मिल्दैन । चोरीभन्दा जबरजस्ती करणीको कसुर बढी गम्भिर खालको कसुर हो । जुन कुराको पीडा पीडितले जीवन पर्यन्तसम्म भोग्न पर्ने हुन्छ । त्यस्तो गहन र संगीन खालको कसुरमा जाहेर गरेपछि सोभन्दा कम गम्भिरको कसुर मानिने चोरीमा पनि जाहेरी पर्नुले चोरी भएको कुरालाई पुष्टि गर्दछ । मानिस आवतजावत गर्ने स्थानमा कसैले पनि कुनै महिलालाई जबरजस्ती करणी नगर्ने र यस्तो वारदातको प्रत्यक्षदर्शी गवाह भनेको पनि पीडित नै हुने हुन्छ । गर गहनासमेत लुटी जबरजस्ती करणी गरेको भनी पीडितले प्रतिवादीउपर लगाएको आरोपलाई पीडितको जाहेरीका साथै जाहेरीलाई समर्थन हुने गरी पीडितले अदालतमा गरेको बकपत्रले पुष्टि गरेकै देखिने ।

(प्रकरण नं.७)

वारदातको सम्बन्धमा मौकामा जाहेरी परेको र राजधानी जस्तो ठाउँमा वारदात घटेको जबरजस्ती करणीको कसुरसम्बन्धी प्रस्तुत मुद्दामा अनुसन्धान पक्षलाई पर्याप्त भौतिक सबुद प्रमाण जुटाउन नसक्ने कुनै कठिनाई वा असुविधा रहेको भन्ने पनि देखिन्न । एकजना विवाहित महिलाको कानमा दुईतोलाका सुनका गहना र घाँटीमा आधातोलाको तिलहरी हुने कुरालाई असामान्य 

मानिदैन । कानका गहना र घाँटीमा लगाएको तिलहरीसमेत जबरजस्ती करणी गर्ने जुल्मीले चोरी गरेको भनी पीडितसमेत रहेकी जाहेरवालीले लगाएको आरोपलाई अतिशयोक्तिपूर्ण भन्न नमिल्ने आधार कारणबाट प्रतिवादीले पीडितलाई नसालु पदार्थ खुवाई जबरजस्ती करणी गर्नुको साथै गहना र नगदसमेत गरी बिगो रू.४७,०००।०० (सत्चालिस हजार रूपैयाँ) चोरी गरेको भनी वादी पक्षले लिएको चोरीतर्फको अभियोग दाबीसमेत पुष्टि हुने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता बालकृष्ण वाग्ले

 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

 

अवलम्बित नजिर :

 

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :

मा.जि.न्या.श्री तेजबहादुर कार्की

पुनरावेदन तहमा फैसला गर्ने: 

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की

 

फैसला

न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६।०७।२६।५ मा भएको फैसलाउपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने आदेश भई पुनरावेदनको रूपमा  दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर देहायबमोजिम रहेको छ ।

१. तथ्य खण्डः

१.१ जाहेरी दरखास्तको सङ्क्षिप्त व्यहोराः

मिति २०६२।१२।६ गते प्रतिवादी बलराम दवाडी नाम बताउने खड्का भन्ने व्यक्तिले सुत्केरी स्याहार्ने काम लगाई दिन्छु भनी मासिक रू.३५००।०० (पैंतीस सय रूपैयाँ) दिलाई दिन्छु भनेकाले सुत्केरी लिन जाउँ भनी थल्सिखेलबाट बसमा चढाई लगि थानकोट गोदाम नजिक बसबाट उतारी थानकोट डाँडातर्फ जङ्गलमा लगि रियो फ्रूटीमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाई म अचेत हुन थालेपछि प्रतिवादीले मेरो रू.३३,६००।०० (तेत्तीस  हजार छ सय रूपैयाँ) पर्ने २ तोलाको सुनको बेरूवा रिङ्ग एक जोर र रू.८,४००।०० (आठ हजार चार सय रूपैयाँ) परेको आधा तोलाको तिलहरी खोली मेरो थैलीमा राखेको नगद रू.५,०००।०० (पाँच हजार रूपैयाँ) समेत लगि मलाई अङ्गालो मारी जबरजस्ती उत्तानो पारी जबरजस्ती करणी गरेको हुँदा कारवाही गरिपाऊँ । 

 

१.२ घटनास्थल प्रकृति विवरण मुचुल्काः 

काठमाडौं जिल्ला, बाँड भन्ज्याङ्ग गा.वि.स. स्थित पूर्व, पश्चिम, उत्तर, दक्षिण, चार किल्लाभित्र सानो सानो बुटेन झाडीमा घाँस माडिएको जस्तो देखिने सो माडिएको घाँसदेखि पश्चिममा प्लाष्टिकको निलो हाते झोला रहेको, सो झोलामा रातो कालो बुट्टा भएको ऊनीको पच्छ्‌यौरा, सानो फोन डायरी, ऐना र सानो काइँयो रहेको सो सामान रहेको स्थानदेखि अन्दाजी ३०० मिटर दक्षिणतर्फ पारि गाउँ जाने गोरेटो बाटोमुनी बुट्यान झाडीमा रियो लेखिएको कार्टुन प्याकेट थान-२ फेला परेको ।  

 

१.३ प्रतिवादीलाई पक्राउ गरी दाखिला गरेको प्रतिवेदनः 

जाहेरवाली क कुमारीले पहिचान गरी निज बलराम दवाडी भन्ने ध्यानबहादुर खड्कालाई पक्राउ गरी यस प्रतिवेदनसाथ दाखिला गरेका छौं । 

 

१.४ पीडित क कुमारीले गरेको सनाखत कागज :

मिति २०६२।१२।७ गते सुत्केरी स्याहार्ने काममा लगाई दिन्छु भनी मलाई विश्वासमा पारी थानकोट बाँड भन्ज्याङ्ग स्थित जङ्गलमा लगि फ्रूटी खान दिई जबरजस्ती करणी गर्ने प्रतिवादी बलराम दवाडी भन्ने हाल वास्तविक नाम ध्यानबहादुर खड्का भनी खुल्न आएका प्रतिवादी यिनै हुन् । 

 

१.५ प्रतिवादी बलराम दवाडी भन्ने ध्यानबहादुर खड्काले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानः

मिति २०६२।१२।६ गते बिहान म ललितपुर जिल्ला, कुसुन्ती टोलस्थित घुमफिर गर्दै जाँदा बाटो नजिक फर्निचरमा दुई तीन जना आइमाई मान्छेहरू काम गरी रहेको देखी मैले निज आइमाईहरूलाई यतातिर बुढी बुढी मान्छे सुत्केरी स्याहार्ने कामको लागि पाइन्छ होला भनी सोधें, निज आइमाईहरूले कहिलेसम्मको लागि हो भनी सोधेँ, मैले १ महिनाको लागि हो, महालक्ष्मी चोकमा कर्नेलको छोरी सुत्केरी भएकी छ, निजको घर मातातिर्थ भित्र थानकोट नजिकै हो भनी कुरा राख्दा जाहेरवाली कान्छी माया थोकरले उक्त काम गर्न मन्जुर भएको र मातातिर्थमा सुत्केरी लिन जान रू.४००।- र १ महिना सुत्केरी स्याहार्न दिनको १ घण्टा काम गर्न मासिक रू.३५००।- मिलाई दिन्छु भनेकामा निज जाहेरवाली मन्जुर भएको हुँदा भोलिपल्ट बिहान मातातिर्थ जाने योजना बनाई म फर्केको थिएँ, सोही दिन जाहेरवालीसँग मेरो राम्रो चिनजान भएको हो । 

मिति २०६२।१२।६ गते मैले जाहेरवाली कान्छीमाया थोकरलाई भोलि मातातिर्थमा सुत्केरी 

लिन जाउँला भनी कुरा मिलाएर राखेपछि म २०६२।१२।७ गते बिहान अं. ९:०० बजे म फेरि जाहेरवाली काम गर्ने फर्निचरमा गएँ । जाहेरवाली आएकी थिइनन् । त्यसपछि अर्की आइमाइलाई सोधें आएपछि अलिपर गएर थसीखेलबाट निज जाहेरवालीलाई माइक्रोबसमा चढाई निज जाहेरवाली र म कलंकीसम्म गयौं । कलंकीमा पुगि ओर्लेपछि फेरी त्यहाँबाट बसगाडीमा चढि थानकोट गोदाम नजिक पुगेपछि हामी दुवै जना ओर्ली निज जाहेरवालीलाई पसल नजिकै बस्न लगाई म एउटा पसलमा गई चुरोट र दुईवटा रियो (फ्रूटी) किनें । एकछिन पछि म निज जाहेरवाली भएको ठाउँमा गई अब हामी पैदल हिँडेर जानुपर्छ भनी हामी दुवै जना थानकोट डाँडातर्फ 

लाग्यौं । 

जङ्गलको छेउमा पुगेपछि निज जाहेरवाली थकाई लाग्यो भनी एक छेउमा नजिक थामचकौ लागेको थियो । ठाउँ अलि सुनसान थियो, म पनि सोही बाँड भञ्ज्याङस्थित एउटा सानो बुटा रूखको छेउ पारी बसी चुरोट सल्काएर खाएँ र मैले मसँग भएको निन्द्रा लाग्ने औषधि धुलो पारी रियो (फ्रूटी) को मुखको खोल पाइपले घोची प्वाल पारी, सोही प्वालबाट भित्र हाली घोलेर पाइप घुसारिएको फ्रूटी (रियो) निज जाहेरवालीलाई खान दिएँ, अर्को रियो मैले खाएँ, त्यसपछि मैले निजलाई बहिनी अब जाउँ, जङ्गलको शितल हुँदै जानुपर्छ भनी अलि परसम्म पुगेपछि निजले रिंगटा लाग्यो भनिन्, मैले गर्मीले होला, यहाँ त माओवादी आउँछ, तिनीले लगाएको गहना फुकाल्न भन्दा निज नमानेकीले मैले निजले कानमा लगाएको सुनको बेरूवा रिङ र तिलहरी बिस्तारै फुकालें, निज त्यतिखेर लल्याकलुलुक गलेकी थिई, सुनसान ठाउँ थियो । निजको गहना फुकाली निजको पटुका फुकाली थैलीमा भएको रकम पैसा झिक्न खोज्दा निज र ममात्र भएको अवस्था निजको शरीरको अङ्गहरूमा छुँदा मलाई करणी गर्ने उत्तेजना आई मैले निजलाई अलिपर सुनसान ठाउँमा बोकेर लान खोज्दा नमानेकाले निजलाई मैले सोही ठाउँमा अंगालो मारी निजलाई उत्तानो सुताई निजको शरीरको तल्लो भागमा लगाएको लुंगी र पेटीकोट खोली दिई मैले आफ्नो पाइन्ट र कट्टु खोली तल झारी निज माथि चढी आफ्नो लिङ्ग निजको योनिमा घुसाई करणी 

गरें । करणी गर्दागर्दै निज अचेत अवस्थामा पुगेकीले मैले निजलाई घिसार्दै अलिपर बगरमा पुर्‍याई त्यहीं छाडी म भागी गएको हुँ । मैले जाहेरवालीको साथबाट लिएको गरगहना २ थान बेरूवा रिङ र तिलहरी भक्तपुरकै नाम थाहा नभएको गहना पसलमा रू. २५,०००।- मा बेची सोसमेत खाईपाई सकें ।  

 

१.६ बाटुली लामा, आदिमाया र रेमबहादुर थोकरसमेतको कागजः

प्रतिवादी बलराम दवाडी भन्ने ध्यानबहादुर खड्काले जाहेरवाली क कुमारीलाई ललाई फकाई झुक्याई लगि थानकोट डाँडामा पुगेपछि रियो फ्रूटी खान दिई अर्ध अचेत भएको अवस्थामा कानको दुई तोलाको रिङ्ग, आधा तोलाको तिलहरी र निजको साथमा रहेको नगद रू.५०००।- समेत खोसेर लिई जबरजस्ती करणी गरेको भनी जाहेरवालीले भनेकीले बलराम दवाडी भन्ने ध्यानबहादुर खड्काले जाहेरवालीलाई जबरजस्ती करणी गरेको विश्वास 

लाग्छ । 

 

१.७ वादी नेपाल सरकारले सुरू काठमाडौं जिल्ला अदालतमा पेस गरेको अभियोग पत्र

मिसिल संलग्न प्रमाणबाट प्रतिवादीले पीडित जाहेरवालालाई जबरजस्ती करणी गरी निजको गरगहनासमेत चोरी गरी लगेको वारदात पुष्टि हुन आएकाले चोरीको महलको १ नं. विपरीत १२ नं. र १८ नं. बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) र चोरीको महलको १२ नं. बमोजिम सजाय गरी १८ नं. बमोजिम थप सजायसमेत हुने र जबरजस्ती करणीको महलको १० नं. बमोजिम पीडितलाई प्रतिवादीको अंश जायदात गरी जाहेरवालालाई आधा अंश दिलाई चोरी गरी लगेको बिगो रू.४७,०००।०० (सत्चालिस हजार रूपैयाँ) दिलाई पाऊँ । 

 

१.८ प्रतिवादी बलराम दवाडी भन्ने ध्यानबहादुर खड्काले अदालतमा गरेको बयानः

मेरो नाम बलराम दवाडी होइन । बलराम दवाडी भन्ने मानिस रत्नपार्कको पेटीमा मेरै, आसपासमा बसी हात हेर्ने काम गर्छ । उसको घर डेरा मलाई थाहा 

छैन । म पनि ज्योतिषी काम गर्छु । निज जाहेरवाली हात हेराउने भनी म कहाँ आएकाले नाम थाहा पाएको हुँ । निजले हात हेराई सकेपछि पैसा नदिएकीले मेरो उसँग विवाद भएकाले उसले मसँग पैसा छैन । मसँग सुनको मुन्द्रो छ बिक्री गरे एक हजार आउँछ भनी मलाई मुन्द्रो दिई गएकी थिइन् । निजले मलाई दिएको मुन्द्रो अहिले पनि मेरो साथमा अदालतबाट माग भएमा दाखिल गर्नेछु । मैले जाहेरवालीलाई सुत्केरी स्याहार्ने काम लगाई दिन्छु भनी मातातिर्थतर्फ लिई गएको हैन र जबरजस्ती करणीसमेत गरेको हैन तर किन हो मिति २०६३।१।१ गतेका दिन वीर अस्पतालको छेउमा निज क कुमारीले प्रहरी ल्याई मलाई पक्राउ गरेकी हुन् । अधिकारप्राप्त अधिकारीसमक्षको बयान व्यहोरा प्रहरीले आफैँ मिलाएर लेखेको हो । सो बयान पढ्न माग गर्दा प्रहरीले मलाई गाली गरी डर देखाएकाले सहि गरी दिएको हुँ । मउपरको अभियोग झुठ्ठा हो । म निर्दोष हुँदा सजाय पाउनु पर्ने हैन भन्नेसमेत व्यहोराको प्रतिवादीले सुरू अदालतमा गरेको बयान ।

 

१.९ आदेशानुसार जाहेरवाली क कुमारी र प्रतिवादीका साक्षी बाबुलाल तामाङले सुरू अदालतमा गरेको बकपत्र मिसिल सामेल रहेको ।

 

१.१० सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।०२।२१।२ को फैसलाः

ध्यानबहादुर खड्का नै बलराम दवाडी हो भन्ने कुरा चोरी मुद्दाका मिसिलबाट खण्डन हुन पुगेको देखिँदा प्रतिवादी ध्यानबहादुर खड्काले अभियोग दाबीबाट सफाई पाउने ठहर्छ । 

 

१.११ वादी नेपाल सरकारले पुनरावेदन अदालत, पाटनमा गरेको पुनरावेदनः

जाहेरवालीको सुन आफूसँग छ भनी स्वीकार्ने पेसेवर प्रतिवादीलाई केबल निजका विभिन्न नामहरू भएकै आधारमा कसुरबाट सफाई दिन नमिल्ने हुँदा सुरू जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाऊँ ।  

 

१.१२ पुनरावेदन अदालत, पाटनबाट मिति २०६६।०७।२६।५ मा भएको फैसलाः

प्रतिवादी ध्यानबहादुर खड्कालाई चोरीको महलको १ नं. विपरीतको कसुरमा ऐ.को १२ र १८ नं. बमोजिम साथै जबरजस्ती करणीको महलको दफा १ को कसुरमा ऐ. महलको दफा ३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबीबाट सफाई दिने गरी सुरू काठमाडौं जिल्ला अदालतले मिति २०६४।२।२१ मा गरेको फैसला कानूनसम्मत नै देखिँदा सदर हुने 

ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । 

 

१.१३ वादी नेपाल सरकारले मुद्दा दोहोर्‍याई पाउन यस अदालतमा दायर गरेको निवेदन:

प्रतिवादीउपर परेका अन्य चोरी मुद्दाहरूका आधारमा निज पेसेवर अपराधी रहेको भन्ने प्रस्ट छ । पीडितले सुरूदेखि अन्तसम्म बताएका सबै तथ्यहरू चोरी मुद्दासँग मिल्छन् । हात हेर्ने क्रममा पीडितले सुन दिएको भनी प्रतिवादीले स्वीकार गरेको र वारदातस्थलमा फ्रूटीको बट्टा भेटिएको तथ्यसमेतबाट प्रतिवादीउपरको कसुर स्थापित भएकै देखिएबाट निजलाई अभियोग दाबीबमोजिम सजाय गर्नु पर्नेमा सफाई दिएको सुरूको सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा कानूनको त्रुटि रहेकाले मुद्दा दोहोर्‍याई हेरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय होस् ।  

 

१.१४ यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्ने गरी भएको आदेशः 

यसमा किटानी जाहेरी दरखास्तका अतिरिक्त ३९ वर्षिया पीडित जाहेरवालीले अदालतमा आई प्रतिवादीले कसुर गरेको भनी किटानी बकपत्र गरेको, स्वास्थ्य जाँच प्रतिवेदन र वस्तुस्थिति मुचुल्कासमेतका प्रमाणहरूको बेवास्ता गर्दै दशी नभएको भन्ने एकमात्र आधारमा प्रतिवादीलाई सफाई दिने ठहराई भएको पुनरावेदन अदालत, पाटनको २०६६।७।२६ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को गम्भिर त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रमाण ऐन, २०४८ को दफा १२(१)(क) अनुसार दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई नियमानुसार पेस गर्नू ।  

 

२. इन्साफ खण्डः

नियमबमोजिम निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री बालकृष्ण वाग्लेले प्रतिवादीले चोरीको कसुर पटकपटक गरेको छ । लगाएका गर गहना चोरी गरी जबरजस्ती करणीसमेत गरेको भनी जाहेरवालीले भनेको भनी बाटुली मायाले बकपत्रमा भनेकी छन् । वारदातस्थलमा फ्रूटीको कार्टुन बरामद भएकोसमेतबाट प्रतिवादीले पीडितलाई फ्रूटीमा नसालु पदार्थ मिसाई खुवाएको तथ्य पुष्टि भएको छ । कसैलाई जबरजस्ती करणीको आरोप लगाउँदा आफ्नै इज्जतमा समेत असर पुग्ने अवस्था हुन्छ भन्ने जान्दा जान्दै प्रतिवादीलाई आरोप लगाई किटानी जाहेरी दिएबाट कसुर प्रमाणित भएकै देखिँदा प्रतिवादीले अभियोग दाबीबाट सजाय पाउनु पर्छ भनी बहस गर्नु भयो । 

उल्लिखित बहस जिकिरलाई मनन गर्दै वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन पत्रसहितको मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरी सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा विचार गरी निर्णय गर्नु परेको छ । 

यसमा वादी नेपाल सरकारले लिएको अभियोग माग दाबीमा प्रतिवादीले पीडितले लगाएको कानका रिङ, तिलहरी र थैलीमा रहेको रू.५,०००।०० (पाँच हजार रूपैयाँ)  समेत रू. ४७,०००।०० (सत्चालिस हजार रूपैयाँ) चोरी गरी मुलुकी ऐन, चोरीको महलको १ नं. विपरीतको कसुरमा ऐ. महलको १२ नं. र १८ नं. बमोजिम सजाय हुन र निजले पीडितलाई नशालु पदार्थ खुवाई जबरजस्ती करणीको महलको १ नं. विपरीतको कसुर गरकाले ऐ. जबरजस्ती करणीको महलको दफा ३(३) नं. बमोजिम सजाय हुन र चोरी गरेको तर्फ चोरीको बिगोबमोजिम जरिवाना गरी पीडितलाई प्रतिवादीबाट क्षतिपुर्तिसमेत भराई पाउँ भन्ने देखिन्छ । सुरू काठमाडौं जिल्ला अदालतले प्रतिवादी ध्यानबहादुर खड्का नै बलराम दवाडी हो भन्ने कुरा पुष्टि नभएको भन्ने आधारमा प्रतिवादीलाई सफाई दिएको देखिन्छ । काठमाडौं जिल्ला अदालतको फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकामा पुनरावेदन अदालतबाट समेत सुरूकै फैसला सदर भएउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परेकामा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रूपमा दायर भई निर्णयार्थ पेस हुन आएको देखियो । 

२. इन्साफतर्फ विचार गर्दा, प्रतिवादीउपर पीडितको किटानी जाहेरी परेको देखिन्छ । प्रतिवादीले मौकामा बयान गर्दा सुत्केरी स्याहार्ने काममा लगाई दिन पीडितलाई थानकोटको डाँडामा लगेको र जङ्गलको सुनसान ठाउँमा पुगेपछि मैले मसँग भएको निन्द्रा लाग्ने औषधि धुलो पारी रियो फ्रूटीमा हाली खान दिएँ, त्यसपछि मैले निजलाई बहिनी अब जाउँ, जङ्गलको शितल हुँदै जानुपर्छ भनी अलि परसम्म पुगेपछि निजले रिंगटा लाग्यो भनिन्, मैले गर्मीले होला, यहाँ त माओवादी आउँछ, तिनीले लगाएको गहना फुकाल्न भन्दा निज नमानेकीले मैले निजले कानमा लगाएको सुनको बेरूवा रिङ र तिलहरी बिस्तारै फुकालें, निज त्यतिखेर लल्याकलुलुक गलेकी थिई, निजको पटुका फुकाली थैलीमा भएको रकम पैसा झिक्न खोज्दा निज र ममात्र भएको अवस्थामा निजको शरीरको अंगहरूमा छुँदा मलाई करणी गर्ने उत्तेजना आई मैले निजलाई अलिपर सुनसान ठाउँमा बोकेर लान खोज्दा नमानेकाले निजलाई मैले सोही ठाउँमा अंगालो मारी निजलाई उत्तानो सुताई निजको शरीरको तल्लो भागमा लगाएको लुंगी र पेटीकोट खोली दिई मैले आफ्नो पाइन्ट र कट्टु खोली तल झारी निजमाथि चढी आफ्नो लिङ्ग निजको योनिमा घुसाई करणी 

गरें । करणी गर्दागर्दै निज अचेत अवस्थामा पुगेकीले मैले निजलाई घिसार्दै अलिपर बगरमा पुर्‍याई त्यहीं छाडी म भागी गएको हुँ भनी जाहेरीको व्यहोरालाई समर्थन हुने गरी बयान गरेको देखिन्छ । 

३. प्रतिवादीले अदालतमा इन्कारी बयान गरेको भएपनि इन्कारीको वस्तुनिष्ठ प्रमाणले समर्थन गराउन सकेको देखिँदैन । अदालतमा बयान गर्दा प्रतिवादीले घटना घट्नुभन्दा पहिला जाहेरवाली आफूसित हात हेराउन आएकी र हात हेराएबापत सुनको मुन्द्रो दिएकी थिइन्‌ भनी जाहेरवालीका गर गहना चोरी गरी  निजलाई जबरजस्ती करणी गरेको भनी लगाएको आरोपलाई खण्डन गर्न खोजेको देखिन्छ । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागजमा लागेको सहिछाप प्रतिवादीले आफ्नो होइन भन्न सकेको देखिँदैन । उक्त बयान हेर्न पढ्न नदिई जबरजस्ती सही गराइएको हो भनी प्रतिवादीले अदालतमा बयान गर्दा भनेको भएपनि सो कुरालाई प्रतिवादीले विश्वासलायक प्रमाणले पुष्टि गर्न सकेको देखिँदैन । अदालतमा बयान गर्दा मौकाको बयान करकापले गराइएको भनेरमात्र हुँदैन त्यसको भरपर्दो किसिमले  प्रमाणित पनि गर्न सक्नुपर्छ ।

४. प्रतिवादीले आफ्नो प्रतिरक्षाको खातिर कसुरप्रति इन्कारीको जिकिर लिनु एउटा पक्ष हो तर निजको त्यस्तो जिकिर प्रमाणबाट समर्थित भएको छ, छैन भनी पर्गेल्नु न्यायिक विश्लेषणको अर्को महत्त्वपूर्ण पाटो हो । सामान्यत: आरोपित व्यक्तिले घटनाको सम्बन्धमा अनभिज्ञता जनाउने, पीडितलाई नचिनेको वा घटना घटेको भनेको स्थानमा आफू नभएको वा अन्यत्र रहेको (Alibi) अभिव्यक्ति दिने, प्रहरीले जबरजस्ती कागज गराएको भन्नेसमेतको जिकिर लिने नै गर्दछन्‌ । अझ हाम्रो जस्तो भौतिक प्रमाणभन्दा पनि बयानमुखी पुरातन र परम्परागत अपराध अनुसन्धान पद्धति भएको मुलुकमा अनुसन्धानसमक्ष आरोप स्वीकार गर्ने र अदालतसमक्ष इन्कार गर्ने प्रचलन आमरूपमा विद्यमान रहेको छ । आफ्नो सतित्वमा बसिरहेकी कुनै पनि महिलाले कुनै पनि पुरूषलाई बिना आधार कारण झुठ्ठारूपमा जबरजस्ती करणी जस्तो अपराधमा जाहेरी दिइन्‌ होला भनेर सामान्यतया विश्वास गर्न सकिँदैन । आफूले दिएको जाहेरीलाई समर्थन हुने गरी पीडितले अदालतमा पनि बकपत्र गरेकी र पीडितको जाहेरी र बकपत्रको व्यहोरासँग प्रतिवादीको मौकाको बयानको व्यहोरा मेल खाएको देखिँदा प्रतिवादीको कसुरको पुष्टि भएकै देखिन्छ ।

५. पीडित ३९ वर्षकी विवाहित महिला भन्नेमा विवाद छैन । प्रतिवादीले पीडितलाई नसालु पदार्थ मिसिएको फ्रूटी खान दिई पीडित बेहोस भएपछि जबरजस्ती करणी गरेको देखिन्छ । ३९ वर्षकी विवाहित महिलालाई नशालु पदार्थ खुवाई जबरजस्ती करणी गर्दा सङ्घर्षका चिह्न तथा यौनाङ्गलगायत शरीरका अन्य भागमा घाउचोट नदेखिनु स्वभाविकै हुँदा पीडितको शारीरिक परिक्षण गर्दा जबरजस्ती करणी भएको भन्न नसकिएको कुरालाई पनि स्वभाविकै मान्नु पर्ने हुन्छ । प्रतिवादीउपरको किटानी जाहेरी एवम्‌ जाहेरीको समर्थन गरी पीडितले अदालतमा गरेको बकपत्रलाई प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिति बयानले समर्थन गरेकै देखिएको र अदालतको इन्कारीलाई प्रतिवादीले भरपर्दो प्रमाणले समर्थन गराउन नसकेकोसमेतका माथि विवेचित आधार कारणबाट प्रतिवादीउपर वादी पक्षले लगाएको जबरजस्ती करणीतर्फको अभियोग दाबी पुष्टि भएको देखिन्छ ।

६. अब वादी पक्षले लिएको चोरीको दाबीतर्फ विचार गरौं । प्रतिवादीले जाहेरवाला पीडितलाई नशालु पदार्थ मिसाएको फ्रूटी खान दिई बेहोस पारी जाहेरवालीले कानमा लगाएको दुई तोलाको बेरूवा रिङ्ग र आधा तोलाको तिलहरी फुकाली लिनुको साथै थैलीमा रहेको नगद रू.५,०००।- समेत चोरी गरी लगेको भनी जाहेरी परेको देखिन्छ । पीडितबाट चोरी भएका गर गहना एवम्‌ नगद तत्कालै बरामद हुन सकेको देखिँदैन । चोरी गरेका गर गहना भक्तपुरको सुन पसलमा लगी बिक्री गरेको हुँ भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेको देखिन्छ । प्रतिवादीले बिक्री गरेको भनेको भक्तपुरको सुन पसल खोजी गरी प्रतिवादीको बयानको पुष्टि गर्ने काम पीडितको नभई वादी पक्षकै हुन्छ । उक्त कार्यमा वादी पक्षले देखाएको उदासिनताको कारण पीडितले न्याय पाउनबाट वञ्चित हुनु पर्ने भन्ने हुँदैन ।

७. अनुसन्धान र अभियोजन बयानमुखी भैरहने तर न्यायिक निर्णयमा मात्रै वैज्ञानिक र भौतिक सबुद प्रमाणको विश्लेषण खोजी गर्न मिल्दैन । चोरीभन्दा जबरजस्ती करणीको कसुर बढी गम्भिर खालको कसुर हो । जुन कुराको पीडा पीडितले जीवन पर्यन्तसम्म भोग्नु पर्ने हुन्छ । त्यस्तो गहन र संगीन खालको कसुरमा जाहेर गरेपछि सोभन्दा कम गम्भिरको कसुर मानिने चोरीमा पनि जाहेरी पर्नुले चोरी भएको कुरालाई पुष्टि गर्दछ । मानिस आवतजावत गर्ने स्थानमा कसैले पनि कुनै महिलालाई जबरजस्ती करणी नगर्ने र यस्तो वारदातको प्रत्यक्षदर्शी गवाह भनेको पनि पीडित नै हुने हुन्छ । गर गहनासमेत लुटी जबरजस्ती करणी गरेको भनी पीडितले प्रतिवादीउपर लगाएको आरोपलाई पीडितको जाहेरीका साथै जाहेरीलाई समर्थन हुने गरी पीडितले अदालतमा गरेको बकपत्रले पुष्टि गरेकै देखिन्छ । 

८. वारदातको सम्बन्धमा मौकामा जाहेरी परेको र राजधानी जस्तो ठाउँमा वारदात घटेको जबरजस्ती करणीको कसुरसम्बन्धी प्रस्तुत मुद्दामा अनुसन्धान पक्षलाई पर्याप्त भौतिक सबुद प्रमाण जुटाउन नसक्ने कुनै कठिनाई वा असुविधा रहेको भन्ने पनि देखिन्न । एकजना विवाहित महिलाको कानमा दुईतोलाका सुनका गहना र घाँटीमा आधातोलाको तिलहरी हुने कुरालाई असामान्य मानिँदैन । कानका गहना र घाँटीमा लगाएको तिलहरीसमेत जबरजस्ती करणी गर्ने जुल्मीले चोरी गरेको भनी पीडितसमेत रहेकी जाहेरवालीले लगाएको आरोपलाई अतिशयोक्तिपूर्ण भन्न मिल्दैन । यिनै विवेचित आधार कारणबाट प्रतिवादीले पीडितलाई नसालु पदार्थ खुवाई जबरजस्ती करणी गर्नुको साथै गहना र नगदसमेत गरी बिगो रू.४७,०००।०० (सत्चालिस हजार रूपैयाँ) चोरी गरेको भनी वादी पक्षले लिएको चोरीतर्फको अभियोग दाबीसमेत पुष्टि हुन्छ ।

९. उल्लिखित विवेचनाको आधारमा प्रतिवादीउपरको अभियोग मागदाबी पुग्ने देखिँदा सुरूले प्रतिवादीलाई सफाई दिने गरी गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६६।०७।२६।५ को फैसला नमिलेको देखिँदा उल्टि हुने भई प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय हुने ठहर्छ । अब प्रतिवादीलाई के कति हदसम्म सजाय गर्न उपयुक्त हुन्छ भनी विचार गर्दा, प्रतिवादीले ३९ वर्षकी क कुमारीलाई ललाई फकाई एकान्तस्थानमा पुर्‍याई फ्रूटीमा लागु पदार्थ मिसाई खान दिई बेहोस तुल्याई जबरजस्ती करणी गरेको पुष्टि भएकाले प्रतिवादीले मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिमको कसुर अपराध गरेको ठहर्छ । त्यसैले प्रतिवादीलाई ऐ. ऐ. को ३(३) नं. बमोजिम ६(छ) वर्ष कैद सजाय हुन्छ । 

१०. जाहेरवालीलाई जबरजस्ती करणी गर्ने क्रममा प्रतिवादीले पीडितले लगाएको २ तोलाको सुनको बेरूवा रिङ्ग एक जोर, आधा तोलाको सुनको तिलहरी एक थान र थैलीमा भएको रू ५०००।- समेत चोरी गरी भागेको भन्ने अभियोगदाबीसमेत पुष्टि भएकाले अभियोगपत्रमा दाबी गरिएको बिगो रू ४७,०००।- (सत्चालीस हजार रूपैयाँ) समेत प्रतिवादीबाट पीडित जाहेरवालाले भराई लिन पाउने ठहर्छ । प्रतिवादीउपरको चोरीको कसुर पटके हो भनी वादी पक्षले प्रमाणित गराउन नसकेको हुँदा प्रतिवादीलाई मुलुकी ऐन, चोरीको महलको १२ नं. बमोजिम पहिलो पटक चोरी गरेमा हुने १(एक) महिना कैद हुनाको साथै चोरी गरेको बिगो रू. ४७,०००।- बराबरको रकम निज प्रतिवादीलाई जरिवानासमेत हुन्छ । लागु पदार्थ खुवाई बेहोस बनाई गर गहना र नगद चोरी गरेको देखिँदा प्रतिवादीलाई ऐ. महलको १८ नं. बमोजिम थप १(एक) वर्ष कैदसमेत हुने ठहर्छ । साथै मुलुकी ऐन,  जबरजस्ती करणीको महलको १० नं. बमोजिम पीडित क कुमारीलाई पुग्न गएको शारीरिक र मानसिक पीडासमेतलाई दृष्टिगत गर्दा निजले प्रतिवादीबाट क्षतिपूर्तिबापत रू ५०,०००।- (पचास हजार रूपैयाँ) भराई लिन पाउने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम बलराम दवाडी भन्ने ध्यानबहादुर खड्का भनी अभियोग पत्रमा लेखिएका प्रतिवादी बलराम दवाडी भन्ने ध्यानबहादुर खड्कालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम ६(छ) वर्ष कैद हुनाको साथै पीडितको गर गहनासमेत चोरी गरेतर्फ ऐ. चोरीको महलको १२ नं. बमोजिम १(एक) महिना एवम्‌ नशालु पदार्थ खुवाई चोरी गरेकाले ऐ. को  १८ ले हुने थप १ (एक) वर्ष कैदसमेत गरी दुवै कसुरमा गरी जम्मा ७ (सात) वर्ष १(एक) महिना कैद र चोरीको बिगोबमोजिम ४७,०००।- जरिवानासमेत हुने ठहरी फैसला भएकाले प्रतिवादी बलराम दवाडी भन्ने ध्यानबहादुर खड्का हाल सुरू र पुनरावेदन अदालतको फैसलाले सफाई पाई कैदमा नरही बेरूजु नै रहेकाले निजलाई ठहरेको उक्त कैद र जरिवानाको लगत कसी असुल गर्नु भनी काठमाडौं जिल्ला अदालत, फैसला कार्यान्वयन शाखालाई लगत दिनू .......................................१

जाहेरवाला पीडित क कुमारीले प्रतिवादी बलराम दवाडी भन्ने ध्यानबहादुर खड्काबाट चोरीको बिगो रू. ४७,०००।- (सत्चालिस हजार) र जबरजस्ती करणीको क्षतिपूर्तिबापत रू ५०,०००।- (पचास हजार रूपैयाँ) समेत गरी रू. ९७,०००।- (सन्तानब्बे हजार) भराई लिन पाउने हुँदा सो रकम अदालतकै सक्रियतामा प्रतिवादीको जायजेथालगायत जुनसुकै चल अचल सम्पत्तिबाट असुलउपर गरी पीडितलाई निजको गोपनियतामा दखल नपुग्ने गरी निजलाई सुचना दिई झिकाई भुक्तानी दिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू .......................२

विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनियता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम प्रस्तुत जबरजस्ती करणी मुद्दाकी पीडितको नाम, थर, वतनलगायतका पीडित महिलाको पहिचान खुल्ने व्यक्तिगत परिचयात्मक विवरणहरू सम्पुर्णको गोपनियता अपराध अनुसन्धानको निमित्त सुचना प्राप्त भएदेखि अनुसन्धान तहकिकात, अभियोजन, सुनुवाई, फैसला, फैसला कार्यान्वयनलगायतका सम्पुर्ण काम कारवाहीका क्रममा र फैसला कार्यान्वयनपश्चात् पनि अनुसन्धान तहकिकात गर्ने निकाय, मुद्दा हेर्ने निकाय र फैसला कार्यान्वयन गर्ने निकायलगायतका सम्पुर्ण निकायहरूले दफा २ अन्तर्गतका मुद्दामा पीडित पक्षको रूपमा प्रस्तुत भएका व्यक्तिको व्यक्तिगत परिचयात्मक विवरणहरू गोप्य राख्नु पर्ने छ भनी बाध्यात्मक व्यवस्था भई रहेकामा सो निर्देशिकाअनुसार पीडितको व्यक्तिगत परिचयात्मक विवरण गोप्य नराखी जाहेरी दर्ता गर्नेदेखि अनुसन्धान गर्ने कार्यमा खटिने प्रहरी कर्मचारी र मुद्दाको अभियोजन गर्ने सरकारी वकिलबाट समेत उक्त निर्देशिकाको पालना हुनु पर्नेमा सम्बन्धित प्रहरी कर्मचारीका साथै सम्बन्धित सरकारी वकिलबाट उक्त निर्देशिकाको पालना नभएको देखिँदा निजहरूको सम्बन्धमा सो कुराको अभिलेख राखी सम्बन्धित कर्मचारीसमेतलाई सोको जानकारी दिनु भनी तत् तत् निकायमा लेखी पठाउनू ...................................३

उल्लिखित कार्यविधि निर्देशिकाको अभियोग दायर गर्ने अदालतका श्रेस्तेदार कर्मचारी, मुद्दा फैसला गर्ने जिल्ला न्यायाधीश, पुनरावेदन दर्ता गर्ने पुनरावेदन अदालतका सम्बन्धित रजिस्ट्रार एवम्‌ मुद्दा फैसला गर्ने पुनरावेदन अदालतका माननीय न्यायाधीशहरूबाट समेत पालना भएको नदेखिँदा उल्लिखित सबैको अभिलेख राखी निजहरू सबैलाई सो कुराको जानकारीको लागि लेखी पठाउने व्यवस्थाका लागि यस अदालतका रजिस्ट्रारलाई प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी दिनू .......................४

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................५

 

उक्त रायमा सहमत छु ।

न्या.गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृत : बाबुराम सुवेदी 

इति संवत् २०७१ साल मङ्सिर २३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु