शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५१३ - उत्प्रेषण

भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

आदेश मिति : २०७२।१०।५।३

०७२-WO-०१७४

 

विषय : उत्प्रेषण

 

निवेदक : काठमाडौं जिल्ला साबिक नैकाप पुरानो भञ्ज्याङ गा.वि.स. वडा नं.१ हाल चन्द्रागिरी न.पा. वडा नं.१९ घर भई हाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र सिंहदरबारमा शाखा अधिकृत पदमा कार्यरत उद्धवप्रसाद पनेरू

विरूद्ध

विपक्षी : निजामती किताबखाना, हरिहर भवन, पुल्चोक, ललितपुरसमेत

 

जन्ममिति खोल्ने महल नराखी वर्षमात्र खोल्नु पर्ने ठाउँमा निवेदक १७ वर्ष ९ महिना पुगेको मानिसले १८ वर्ष लेख्नु स्वभाविक नै हुन्छ । त्यसैले सिटरोल फाराममा उमेर वर्ष लेख्नु पर्ने खाली ठाउँमा निवेदक १७ वर्ष ९ महिना पुगेको मानिसले १८ वर्ष लेखेकोबाट उसको जन्ममिति नै अर्को हो भनी जरूरत नै नपरेको कानून समाई जन्ममितिको अनुमान गर्नु कानून र न्यायसङ्गत नहुने ।

(प्रकरण नं.४)

कसैको जन्ममिति यकिन हुन नसकेको अवस्थामा कानूनको सहाराबाट जन्ममिति यकिन गरिनु उचित हुन्छ । तर,  जन्ममिति स्पष्टरूपबाट देखिएको अवस्थामा तर्क वितर्क गरी तर्कको आधारमा विषय वस्तुलाई अल्मल्याई कानूनको प्रयोग गलत ढङ्गबाट गरिनु हुन्न । कानूनले अल्झिएको समस्या सुल्झाउने हो यसले झन तर्कको आधार दिई बटार्ने होइन । तर्क जहाँ पनि गर्न सकिन्छ । सुन्दा राम्रो पनि लाग्ला । तर, तर्क गर्न सकिन्छ भन्दैमा सबै तर्क अनुकरणीय हुँदैनन् । जुन तर्क विवेक पूर्ण र न्यायको नजिक हुन्छ त्यहीँ तर्क सही र सर्वस्वीकार्य हुन्छ । निवेदकले सिटरोल फाराम भर्नुपूर्व लोक सेवा आयोगमा निवेदन दिँदा उल्लेख गरेको जन्ममिति सिटरोल फाराम र नागरिकताको प्रमाणपत्रमा उल्लिखित क्रमश: १८ र १७ वर्ष लागी सकी आधाभन्दा बढी समय व्यतित भइसकेको हुँदाहुँदै निजको जन्ममिति यकिन गर्न अरू तर्क र वितर्क गर्नु उचित देखिन नआउने ।

(प्रकरण नं.६)

 

निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता नारायणप्रसाद पराजुली

विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

निजामती सेवा नियमावली, २०५० को नियम १०२ क (१)  (२) 

आदेश

न्या.बैद्यनाथ उपाध्याय : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा परेको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :

 

निवेदन व्यहोरा :

रिट निवेदक मिति २०३२।११।२५ मा बहिदार (रा.प.अनङ्कित चतुर्थ श्रेणी) पदमा स्थायी नियुक्ति भई विभिन्न कार्यालयहरूमा कार्यरत रहेकोमा नेपाल सरकारको मिति २०६२।५।११ को निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको शाखा अधिकृत पदमा बढुवा भई इमान्दारी पूर्वक कार्य गर्दै आएको छु । म बहिदार पदमा नियुक्ति हुँदा शैक्षिक योग्यताको प्रमाण पत्रमा मेरो जन्ममिति २०१५।१।८ उल्लेख भएको छ । म निवेदकले भरेको वैयक्तिक विवरण (सिटरोल) एकपानेमा यकिन जन्ममिति नकिटी उमेर १८ वर्षमात्र लेखिन गएछ । बहिदार पदको विज्ञापनमा मैले दिएको दरखास्त पत्रमा मेरो जन्ममिति २०१५।१।८ भएकोले सोका आधारमा मिति २०७३।१।८ मा मैले सेवाबाट अवकाश पाउने प्रस्ट छ । विपक्षी निजामती किताबखानाको वेब साइट हेर्दा मेरो अवकाश मिति २०७२।११।२५ गते उल्लेख भएको देखी के भएको रहेछ भनी बुझ्दा निजामती किताबखानाको मिति २०७२।४।११ को निर्णयले मेरो जन्ममिति २०१४।११।२५ कायम गरी सोका आधारमा मिति २०७२।११।२५ मा अनिवार्य अवकाश दिने सूचना मिति २०७२।५।१० मा पठाइसकेको छ भन्ने जानकारी गराइयो ।

निजामती सेवा नियमावली, २०५० को नियम १०२ क(३) मा कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पुरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूका बिच एक वर्षको अन्तर देखिएमा पुरा खुलेको जन्ममितिलाई आधार मान्नु पर्ने कानूनी प्रावधान रहेको छ । मेरो नेपाल लोक सेवा आयोगबाट स्वीकृत जन्ममिति २०१५।१।८ रहेको र सो मितिसँग वैयक्तिक विवरण (सिटरोल) मा ४३ दिनमात्रको अन्तर रहेको छ । शैक्षिक प्रमाणपत्रमा मेरो जन्ममिति २०१५।१।८ उल्लेख भएकोमा सोलाई बेवास्ता गरी एकपाने सिटरोलमा केवल वर्षमात्र लेखिएको व्यहोरालाई आधार मानी निजामती किताबखानाले जन्ममिति २०१४।११।२५ कायम गरेको निर्णय त्रुटिपूर्ण छ ।

विपक्षी निजामती किताबखानाको मिति २०७२।४।११ को निर्णय र सो निर्णयका आधारमा मिति २०७२।५।१० मा लेखिएको पत्रले मेरो पेसा तथा रोजगारसम्बन्धी हकमा प्रत्यक्ष आघात पारेकाले उक्त निर्णयसहितका पत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी मिति २०७३।१।८ भन्दा अगाडि निवेदकलाई अवकाश दिने कार्य नगर्नु, नगराउनु भनी विपक्षीका नाममा अन्तरिमसहितको प्रतिषेधको आदेश जारी गरिपाउँ भन्ने निवेदनपत्र ।

 

यस अदालतको प्रारम्भिक आदेश 

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कानूनसम्मत आधार र कारणसमेत भए सबुद प्रमाणसहित म्याद सूचनाप्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नू । अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्ष राखी छलफल गर्नु उपयुक्त हुने देखिँदा मिति २०७२।५।२८ को पेसी तोकी सोको जानकारी विपक्षीलाई दिनु भन्ने यस अदालतको मिति २०७२।५।२१ को आदेश ।

निवेदकको शैक्षिक योग्यता प्रमाणपत्रमा र लोक सेवा आयोगमा दरखास्त दिँदा उल्लेख गरेको जन्ममिति २०१५।१।८ भनी देखाएकोमा कक्षा १० को सक्कल प्रमाणपत्र पेस गर्न सकेको नदेखिँदा निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन भन्ने यस अदालतको मिति २०७२।६।१७ को आदेश ।

 

विपक्षीहरूको लिखित जवाफ

निवेदकले २०३२ साल फागुन २५ गते निजामती सेवाको रा.प. अनङ्कित चतुर्थ श्रेणी बहिदार पदमा सेवा प्रवेश गर्दा कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) मा भर्ना हुँदाको उमेर अङ्क अक्षरमा लेख्ने भन्ने महलमा अङ्क र अक्षर दुवैमा आफ्नो उमेर अठार वर्ष भनी निवेदकले उल्लेख गरी सहिछाप गरेका छन् । निवेदकले मिति २०३१।११।२० को तत्कालीन जन प्रभात हाई स्कुल कालीमाटी काठमाडौंबाट जारी भएको चारित्रिक प्रमाणपत्रमा केरमेट गरिएको अवस्थामा जन्ममिति २०१५।१।८ लेखेको देखिन्छ । निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा (३) मा निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ, सोही आधारमा गणना गरिने छ भन्ने उल्लेख भएको हुनाले अन्य कुनै पनि आधार वा प्रमाणलाई अवकाशको उमेर यकिन गर्ने आधार मान्न सक्ने अवस्था रहेन । वैयक्तिक विवरणलाई आधार मानी निवेदकको जन्ममिति २०१४।११।२५ मानिएको हो । निजामती सेवा नियमावली, २०५० को नियम १०२(क)(१) मा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र जन्ममिति योग्यताको प्रमाणपत्रमा जन्ममितिको महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ सोही मितिबाट अवकाश दिइनेछ भन्ने उल्लेख भएको छ । उक्त नियमावलीको नियम १०२(क)(२) मा वर्ष वा संवत्‌मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति निम्नबमोजिम कायम गर्नुपर्छः- (क) नागरिकताको प्रमाणपत्रको हकमा प्रमाणपत्र प्राप्त गरेको मितिको आधारमा (ख) जन्ममिति योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मितिको आधारमा (ग) सिटरोलको हकमा शुरू भर्ना भएको मितिको आधारमा भन्ने उल्लेख भएको छ । निवेदकको पुरा जन्ममिति नखुलेको, नागरिकता र सिटरोलको तुलना गर्दा सिटरोलको जन्ममितिको आधारमा निवेदकको जन्ममिति कायम हुने अवस्था भएकाले सो आधारमा मिति २०७२।४।११ मा निर्णय गरिएकाले निवेदकको झुठा रिट निवेदन खारेज गरिपाउँ भन्ने विपक्षीमध्येको निजामती किताबखाना हरिहर भवन पुल्चोकका तर्फबाट पर्न आएको लिखित जवाफ ।

सम्पूर्ण निजामती कर्मचारीहरूको वैयक्तिक विवरणहरू राख्ने केन्द्रीय निकायले निवेदकको जन्ममिति, नागरिकताको प्रमाणपत्र, जन्ममिति योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल) मा फरकफरक प्राप्त गरेको हुँदा मिति २०१४।११।२५ कायम गर्ने गरी भएको निर्णयमा यस केन्द्रको कुनै संलग्नता रहेको छैन । यस केन्द्रको के कस्तो कामकारवाहीबाट निवेदकको संवैधानिक तथा कानूनी हकमा आघात पारेको हो, सोकुरा निवेदकले रिट निवेदनमा उल्लेख गर्न सकेको छैन । यस केन्द्रलाई विपक्षी बनाउनु नै नपर्ने अवस्थामा विपक्षी बनाएको प्रस्तुत झुठा रिट निवेदन खारेज गरिपाउँ भन्ने विपक्षीमध्येको नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका तर्फबाट पर्न आएको लिखित जवाफ ।

निजामती किताबखाना सम्पूर्ण निजामती कर्मचारीहरूको वैयक्तिक विवरण राख्ने केन्द्रीय निकाय हो । निवेदकको जन्ममिति र उमेर, नागरिकताको प्रमाणपत्र, जन्ममिति योग्यता र वैयक्तिक विवरण (सिटरोल फाराम) मा फरकफरक रहेको हुँदा निजामती किताबखानाले निवेदकको जन्ममिति २०१४।११।२५ कायम गर्ने गरी गरेको निर्णयमा यस मन्त्रालयको कुनै संलग्नता रहेको छैन । यस मन्त्रालयको के कुन काम कारवाहीबाट निवेदकको संवैधानिक तथा कानूनी हकमा आघात पारेको हो, सो कुरा निवेदन व्यहोरामा उल्लेख गर्न नसकेको हुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने विपक्षीमध्येको नेपाल सरकार, गृह मन्त्रालयका तर्फबाट पर्न आएको लिखित जवाफ ।

सामान्य प्रशासन मन्त्रालयको विभागको रूपमा रहेको निजामती किताबखाना सम्पूर्ण निजामती कर्मचारीहरूको वैयक्तिक विवरण राख्ने केन्द्रीय निकाय हो । निवेदकको जन्ममिति र उमेर, नागरिकताको प्रमाणपत्र, जन्ममिति योग्यता र वैयक्तिक विवरण (सिटरोल फाराम) मा फरकफरक रहेको हुँदा निजामती किताबखानाले निवेदकको जन्ममिति २०१४।११।२५ कायम गर्ने गरी गरेको निर्णयमा यस मन्त्रालयको कुनै संलग्नता रहेको छैन । प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्ने विपक्षीमध्येको नेपाल सरकार गृह मन्त्रालय, निजामती कर्मचारी प्रशासन शाखाको तर्फबाट पर्न आएको लिखित जवाफ ।

 

रिट निवेदकको कानून व्यवसायीको बहस

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता श्री नारायणप्रसाद पराजुलीले निवेदक सेवामा प्रवेश गर्दा निजले भरेको लोक सेवा आयोगको दरखास्त फाराममा र जन प्रभात हाई स्कुलले दिएको चारित्रिक प्रमाणपत्रमा निवेदकको जन्ममिति २०१५।१।८ उल्लेख भएको छ । निवेदकले भरेको एकपाने सिटरोलमा १८ वर्ष लेखिन गएको अवस्थामा जन्ममिति खुलेका अन्य प्रमाणहरूलाई अनदेखा गरी इन्कार गर्न मिल्दैन । विद्यालयले दिएको चारित्रिक प्रमाणपत्र र सेवामा प्रवेश गर्नुअघि नै निवेदकले भरेको दरखास्त फाराममा उल्लिखित जन्ममितिलाई मौलिक प्रमाणका रूपमा ग्रहण गर्नु पर्दछ । निजामती सेवा नियमावली, २०५० को नियम १०२क(३) मा कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पुरा जन्ममिति खुलेको भए जन्ममिति उल्लेख भएकोलाई आधार मान्नु पर्ने कानूनी व्यवस्था रहेको छ । निवेदकले भरेको दरखास्त फाराम र एकपाने सिटरोलमा उल्लिखित वर्षका आधारमा निजामती किताबखानाले कायम गरेको जन्ममितिमा जम्मा ४३ दिनको मात्र अन्तर रहेकोले उक्त फाराममा र जन प्रभात हाइ स्कुलले दिएको चारित्रिक प्रमाणपत्रमा उल्लिखित जन्ममितिलाई आधिकारिक जन्ममिति मानी निवेदकको जन्ममिति २०१५।१।८ कायम गरिपाउँ भनी बहस गर्नुभयो ।

 

विपक्षीका तर्फका कानून व्यवसायीको बहस

विपक्षीका तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले निवेदक स्वयम्‌ले भरेको वैयक्तिक विवरण (सिटरोल) मा उल्लिखित मितिलाई आधार बनाई निजामती किताबखानाले निवेदकको जन्ममिति २०१४।११।२५ कायम हुने गरी निर्णय गरेको हो । निजामती सेवा ऐन, २०४९ को दफा ३३(३) अनुसार निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक विवरण (सिटरोल) मा लेखिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निजको पहिले अवकाश हुन्छ, सोही आधारमा गणना गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार निवेदकको जन्ममिति २०१४।११।२५ कायम हुने गरी निजामती किताबखानाबाट मिति २०७२।४।११ मा निर्णय गरिएको हो । निवेदकको जन्ममिति प्रमाण पत्रमा उल्लिखित जन्ममिति केरमेट भएको हुँदा उक्त जन्ममितिलाई मान्यता नदिएको हो । निजामती किताबखानाको मिति २०७२।४।११ को निर्णय कानुनसम्मत भएकाले झुठा रिट निवेदन खारेज गरिपाउँ भनी बहस गर्नु भयो ।

विद्वान् कानून व्यवसायीहरूले गर्नु भएको उपर्युक्तबमोजिमको बहस जिकिर सुनी निवेदन मागबमोजिमको आदेश जारी गर्नुपर्ने हो, होइन सो सम्बन्धमा इन्साफ गर्नुपर्ने देखियो ।

 

यस अदालतको अन्तिम आदेश

२. निर्णयतर्फ विचार गर्दा, निवेदकले सिटरोल भर्दा आफ्नो उमेर १८ वर्ष भनी उल्लेख गरेको देखिन्छ । सिटरोलमा जन्ममिति नलेखी वर्ष १८ लेखेको कारणबाट निवेदकको अवकाश कहिले हुने भन्ने कुरामा विवाद भएको देखियो । निवेदकले सिटरोल मिति २०३२।११।२५ मा भरेको देखियो । यसरी जन्ममिति उल्लेख नगरी वर्षमात्र उल्लेख गरेको अवस्थामा सिटरोल सुरू भर्ना भएको मितिको आधारमा जन्ममिति कायम हुने भनी निजामती सेवा नियमावली, २०५० को नियम १०२ क (२) ले कानूनी व्यवस्था गरेको देखिन्छ । यही कानूनी आधारमा निवेदकको जन्ममिति सिटरोल भर्दाको मितिमा निजले उल्लेख गरेको वर्ष १८ लाई घटाई जन्ममिति २०१४।११।२५ कायम गरेको देखियो । उक्त मिति २०१४।११।२५ लाई जन्ममिति मानिएको अवस्थामा निवेदकले मिति संवत् २०७२।११।२५ मा अवकाश पाउने हुन पुग्छ ।

३. निवेदकको शैक्षिक प्रमाणपत्रमा निजको जन्ममिति संवत् २०१५।१।८ लेखिएको, तर त्यसमा केही केरमेट भएको अवस्था छ । निवेदकले नागरिकता प्रमाणपत्रमा आफ्नो उमेर १७ वर्ष भनी उल्लेख गरेको देखिन्छ । नागरिकताको प्रमाणपत्रमा पनि जन्ममिति उल्लेख नगरेको कारणबाट नागरिकता प्राप्त गरेको मितिलाई हेर्नु पर्ने देखिन आयो । निजले नागरिकता मिति २०३१।१२।५ मा प्राप्त गरेको देखियो । उक्त मितिमा निजले उल्लेख गरेको वर्ष १७ घटाउँदा निजको जन्ममिति संवत् २०१४।१२।५ हुन 

पुग्छ । उक्त जन्ममिति मानिएको अवस्थामा निवेदक २०७२।१२।५ मा अवकास हुने हुन्छ ।

४. निवेदकले सिटरोल फाराम भर्नुपूर्व लोक सेवा आयोगमा दरखास्त दिँदा आफ्नो जन्ममिति २०१५।१।८ भनी उल्लेख गरेको देखिन्छ । निवेदकले सिटरोल मिति २०३२।११।५ मा भरेको देखिन्छ । उक्त मितिमा निजको जन्ममिति घटाउँदा १७ वर्ष ९ महिना २७ दिन हुन्छ । जन्ममिति खोल्ने महल नराखी वर्षमात्र खोल्नुपर्ने ठाउँमा निवेदक १७ वर्ष ९ महिना पुगेको मानिसले १८ वर्ष लेख्नु स्वभाविक नै हुन्छ । त्यसैले सिटरोल फाराममा उमेर वर्ष लेख्नु पर्ने खाली ठाउँमा निवेदक १७ वर्ष ९ महिना पुगेको मानिसले १८ वर्ष लेखेकोबाट उसको जन्ममिति नै अर्को हो भनी जरूरत नै नपरेको कानून समाई जन्ममितिको अनुमान गर्नु कानून र न्यायसङ्गत होइन ।

५. निवेदकले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रमा पनि निजको उमेर १७ वर्ष उल्लेख गरेको देखिन्छ । त्यहाँ पनि जन्ममिति उल्लेख गर्ने काम नागरिकता प्रदान गर्ने निकायले गरेन । नागरिकताको प्रमाणपत्र निवेदकले मिति २०३१।१२।५ मा प्राप्त गरेका रहेछन् । निवेदकले लोक सेवा आयोगमा दरखास्त दिँदा राखेको जन्ममिति संवत् २०१५।१।८ बाट निजको उमेर गणना गर्दा नागरिकता प्रमाणपत्र लिँदा १६ वर्ष ११ महिना ७ दिन हुने रहेछ । १६ वर्ष ११ महिना नाघि सकेको व्यक्तिलाई १७ वर्ष भन्नु स्वभाविकै हो । नागरिकता प्रदान गर्नेले जन्ममिति नलेखी केवल उमेरमात्र लेख्यो भन्दैमा प्राप्त गरेकै मितिमा वर्ष लागेको हुनै पर्छ भन्न मिल्दैन ।

६. उपरोक्तानुसार निवेदकको जन्ममिति उल्लेख गर्न राखिएको लोक सेवा आयोगमा दरखास्त दिँदा जन्ममिति २०१५।१।८ उल्लेख गरेको अवस्थामा उक्त जन्ममितिलाई कायम नगरी सिटरोलमा १८ वर्ष उल्लिखित भएको तथ्यलाई मात्र आधार मानी निवेदकको जन्ममिति अनुमानका आधारमा मिति २०१४।१२।५ कायम गरेको देखियो । साधारणतया एउटै व्यक्तिको जन्ममिति विभिन्न स्थानमा विभिन्न उल्लेख भएको अवस्थामा जुन जन्ममितिबाट गणना गर्दा पहिले अवकास हुने हो सोही मितिलाई जन्ममिति मान्नुपर्ने व्यवस्था निजामती सेवा नियमावलीको नियम १०२ क (१) ले गरेको देखिन्छ । निवेदकका हकमा उक्त कानूनी प्रावधानको रोहमा विचार गर्दा निवेदकको जन्ममिति सिटरोलमा पनि उल्लेख नगरिएको र नागरिकताको प्रमाणपत्रमा पनि उल्लेख नगरिएको हुँदा कानूनले निर्दृष्ट गरेअनुरूप अनुमानित जन्ममिति मानिएको र सो अनुमान गरिएको जन्ममिति अरू उल्लिखित जन्ममितिसँग तुलनात्मक आधारबाट गरिएको पाइयो । वास्तवमा निवेदकले उल्लेख गरेको जन्ममितिसँग अरू उल्लिखित वर्ष तालमेल गर्छ गर्दैन भनी विचार गर्नुपर्ने हो । पहिले उल्लिखित वर्षहरूबाट छुट्टाछुट्टै जन्ममिति अनुमान गरी अनि उल्लिखित जन्ममिति पनि फरक पर्‍यो भनी बल्झाउने तबरबाट हेरिनु हुँदैन । कसैको जन्ममिति यकिन हुन नसकेको अवस्थामा कानूनको सहाराबाट जन्ममिति यकिन गरिनु उचित हुन्छ । तर,  जन्ममिति स्पष्टरूपबाट देखिएको अवस्थामा तर्क वितर्क गरी तर्कको आधारमा विषय वस्तुलाई अल्मल्याई कानूनको प्रयोग गलत ढङ्गबाट गरिनु हुन्न । कानूनले अल्झिएको समस्या सुल्झाउने हो यसले झन्‌ तर्कको आधार दिई बटार्ने होइन । तर्क जहाँ पनि गर्न सकिन्छ । सुन्दा राम्रो पनि लाग्ला । तर, तर्क गर्न सकिन्छ भन्दैमा सबै तर्क अनुकरणीय 

हुँदैनन । जुन तर्क विवेकपूर्ण र न्यायको नजिक हुन्छ त्यहीँ तर्क सही र सर्वस्वीकार्य हुन्छ । निवेदकले सिटरोल फाराम भर्नुपूर्व लोक सेवा आयोगमा निवेदन दिँदा उल्लेख गरेको जन्ममिति सिटरोल फाराम र नागरिकताको प्रमाणपत्रमा उल्लिखित क्रमश: १८ र १७ वर्ष लागी सकी आधाभन्दा बढी समय व्यतीत भइसकेको हुँदाहुँदै निजको जन्ममिति यकिन गर्न अरू तर्क र वितर्क गर्नु उचित देखिन आएन ।

७. अतः माथि उल्लिखित आधार र कारणसमेतबाट निवेदकले सेवामा प्रवेश गर्दा भरेको लोक सेवा आयोगको फाराममा उल्लिखित जन्ममिति २०१५।१।८ का आधारमा मिति २०७३।१।८ बाट अनिवार्य अवकाश हुनु पर्नेमा २०७२।११।२५ बाट अनिवार्य अवकाश दिने ठहर्‍याएको निजामती किताब खानाको मिति २०७२।४।११ को निर्णय र सो निर्णयका आधारमा तयार भएको मिति २०७२।५।१० को अवकाशसम्बन्धी जानकारी पत्र उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ । यो आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीहरूलाई दिई दायरीबाट प्रस्तुत रिट निवेदनको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या. गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृत : प्रेमप्रसाद न्यौपाने

इति संवत् २०७२ साल माघ ५ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु