निर्णय नं. ९५२५ - मानव बेचबिखन तथा ओसारपसार

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७२।४।२९।६
मुद्दा : मानव बेचबिखन तथा ओसारपसार
०६९-CR-०१७२
पुनरावेदक / प्रतिवादी : जिल्ला काभ्रेपलान्चोक, चलाल गणेशस्थान गा.वि.स.वडा नं.३ घर भई हाल जिल्ला कारागार कार्यालय पर्सा वीरगञ्जमा कैदमा रहेको योगबहादुर लामा
विरूद्ध
विपक्षी / वादी : कोड नाम एल.डि. ६/०६७/०६८, एस.टि.सि. ७/०६७/०६८ र पि.एल. ८/०६७/०६८ समेत जना ३ को संयुक्त जाहेरीले नेपाल सरकार
२०६९-CR-०२६९
पुनरावेदक / प्रतिवादी : जिल्ला नुवाकोट, गणेशस्थान गा.वि.स.वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय नख्खुमा थुनामा रहेको दिनेश भन्ने सूर्यबहादुर तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : कोड नाम एल.डि. ६/०६७/०६८, एस.टि.सि. ७/०६७/०६८ र पि.एल. ८/०६७/०६८ समेत जना ३ को संयुक्त जाहेरीले नेपाल सरकार
प्रमाण ऐन, २०३१ को दफा १०(१) को कानूनी व्यवस्थाअनुसार कुनै काम घटना वा अवस्थाका सम्बन्धमा सो काम गर्ने वा सो काम घटना वा अवस्था प्रत्यक्षरूपमा देख्ने वा थाहा पाउने वा सो काम घटना वा अवस्थाबाट पीडित भएका व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिनुपर्ने व्यवस्था रहेको पाइन्छ । त्यसका अतिरिक्त सोही ऐनको दफा १८ मा कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिनुपर्ने व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार प्रस्तुत घटनाबाट पीडित जाहेरवालीहरूले मौकामा दिएको जाहेरी व्यहोरालाई पुष्टि गर्दै अदालतमा आई बकपत्र गरी प्रतिवादीउपरको अभियोग दाबीलाई समर्थन गरेको देखिएकाले पीडित जाहेरवालीहरूले व्यक्त गरेको तथ्यलाई अदालतले ठोस प्रमाणको रूपमा लिनुपर्ने देखिन आएको अवस्थामा यी प्रतिवादीसमेतको मिलोमतोमा पीडित जाहेरवालीहरूलाई बेच्नको उद्देश्यले नै लैजान लागेको देखिएकाले प्रतिवादीको अदालतको इन्कारी बयानलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं.७)
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीउपर रहने गरी विशेष व्यवस्था गरेको पाइन्छ । सो दफामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ । सो ऐनको उक्त विशेष व्यवस्थाअनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेको प्रतिवादीले तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट आफ्नो निर्दोषिता प्रमाणित गराउन सक्नुपर्ने ।
(प्रकरण नं.१०)
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद अर्याल
वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को दफा १०(१)
मानव बेचबिखन तथ ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९, १५(१)(ङ)(२)
सुरू फैसला गर्ने :
मा.जि.न्या श्री पदमराज भट्ट
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री दिनेशकुमार कार्की
मा.न्या. श्री शारङ्गा सुवेदी
फैसला
न्या.जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।१०।१७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
हामी पीडितहरू विभिन्न स्थानमा घर भई विभिन्न स्थानमा काम गर्दैआएका बखत टुपी भन्ने र सूर्यबहादुर तामाङले भारतको रक्सौल पुगी त्यहाँबाट मालसामान लिई आएपछि तिमीहरूलाई जनही बिस बिस हजार दिने भनेका र बिनिता तामाङसमेतले म पनि सँगै जान्छु, डराउनु पर्दैन उताबाट सँगै फर्की आउँला भनी नगदसमेत दिई रक्सौलतर्फ लाँदै गरेको अवस्थामा हेटौंडामा प्रहरीले सोधपुछ गर्दा निज बिनिता र सूर्यबहादुरले हामीहरूलाई दिल्लीको वेश्यालयमा बिक्री गर्न लाँदै गरेको व्यहोरा थाहा हुन आएको हुँदा निजहरू उपर मानव बेखबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गत कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको एस.टि.सि.समेतको मिति २०६७।६।३ को संयुक्त जाहेरी दरखास्त ।
प्रतिवादी सूर्यबहादुर तामाङको साथबाट निजको सक्कलै नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, भा.रू.५,५००।-, नेपाली रू.६००।- र पर्सभित्र रहेको ओमशक्ति यातायातको बिनोद लेखिएको बस टिकटसमेत बरामद भएको हो भन्नेसमेत व्यहोराको मिति २०६७।६।३ को बरामदी मुचुल्का ।
मिति २०६७।६।३ मा मेरो ड्युटी भएको अवस्थामा काठमाडौंबाट वीरगञ्ज जान आएको ना.३ ख.७८१३ नं. को रात्री बसमा सो बसमा वीरगञ्ज जान यात्री नभएका कारण वीरगञ्ज जानको लागि अर्को बसमा चढी जान लाग्दाको अवस्थामा १ जना पुरूष र ४ जना केटी मानिस भएको, निज केटीहरूको अभिभावक कोही नभएको कारण सोधपुछ गर्दा जाहेरवाली ३ जनाले हामीलाई वीरगञ्जको रक्सौलबाट एउटा सामान ल्याई दिएबापत जनही रू.२०,०००।- दिने भनी प्रलोभनमा पारी सूर्यबहादुर तामाङ र बिनिता तामाङले ल्याएका हुन् भनी बताएको हुँदा निज प्रतिवादीहरूले पीडित ३ जनालाई भारतको वेश्यालयमा बिक्री गर्न लान लागेको कुरा खुलेको र सूर्यबहादुर तामाङको साथमा भा.रू.५,५००।-, नेपाली रू.६००।- समेत फेला परेकाले कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.स.नि.मेनबहादुर पाख्रिनको प्रतिवेदन ।
प्रतिवादीहरू विनिता तामाङ, सूर्यबहादुर तामाङ, टुपी दाइ भन्नेसमेत भै हामी जाहेरवाला ३ जनालाई प्रलोभनमा पारी एउटा सामान भारतको रक्सौल गई ल्याएमा बिस बिस हजार दिने भनी झुक्याई भारतको रक्सौल लैजान लाग्दा हेटौंडामा प्रहरीले चेक जाँच गरी बिचैमा प्रतिवादीहरूलाई पक्राउ गरी हामीहरूलाई उद्धार गरेकाले हामी बेचिनबाट बचेका हौं भन्नेसमेत व्यहोराको पीडित एल.डि.६/०६७/०६८ को बयान ।
मिति २०६७।५।३१ गते टुपी भन्नेले हामीलाई भेटी पैसा कमाउने भए एउटा काम छ, मानिस चिनाइदिन्छु भनी १० बजेतिर काठमाडौंको चाबहिल चोकमा भेट भएपछि सूर्यबहादुर तामाङ र बिनिता तामाङले वीरगञ्ज नजिकै गई सामान लुकाएर ल्याएमा जनही बिस बिस हजार दिने र राम्रोसँग काम सम्पन्न भएपछि तिस हजारसम्म मिल्छ भनी पटकपटक फोनसमेत गरी बोलाएर २०६७।६।२ गते रात्री बसमा चढाई बसको टिकट, खानाको पैसासमेत तिरी मसमेतलाई प्रलोभनमा पारी भारतको रक्सौलमा लगी बिक्री गर्न लादा हेटौंडा बसपार्कमा नै उक्त कुरा खुल्न आएको हुँदा कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको पीडित पि.एल.८/०६७/०६८ को बयान ।
सूर्यबहादुर तामाङ, बिनिता र टुपी दाइसमेतको मिलोमतोमा वीरगञ्ज नजिकैबाट एउटा सामान ल्याएमा जनही रू.२०,०००।- दिने भनी प्रलोभनमा पारी जान्न भन्दा पटकपटक फोन गरी बोलाई वीरगञ्ज जान लाग्दा हेटौंडामा प्रहरीले सोधपुछ गर्दा निज सूर्यबहादुर र बिनिताले भारतको वेश्यालयमा बिक्री गर्न लगेकोमा बिचैमा निजहरू पक्राउ परेका हुन् भन्नेसमेत व्यहोराको पीडित एस.टि.सी.७/०६७/०६८ को बयान ।
सूर्यबहादुर तामाङले हाल जाहेरवाली पीडितहरू ३ जनालाई भारत बम्बैमा पुर्याउन तिमीले सहयोग गर, नगरेमा तिम्रो छोरा र तिमीलाई समेत मारी दिने धम्की दिएका कारणबाट मैले आफूसमेत बच्नको लागि जाहेरवालाहरूलाई म १/२ पटक भारत गएको छु । अहिले म पनि सँगै जाने हो । भारतबाट सामान ल्याएर फाइदा हुन्छ भनेकी हुँ । निज सूर्यबहादुरको सामान किन्ने भनेको कुरा बनावटी हो । मलाई निज सूर्यबहादुरले ३ जना केटीहरूलाई बेच्छ भन्ने कुरा थाहा थियो तर मैले डरको कारण भनेकी थिइन । मिति २०६७।६।२ गते रात्री बसमा वीरगञ्ज जाने क्रममा ऐ.३ गते हेटौंडा बसपार्कमा प्रहरीले चेक गरी पक्राउ गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी बिनिता तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवालीहरू ३ जनालाई भारतको व्यापारीसम्म पुर्याउन बिनिता तामाङको सहयोग लिई मिति २०६७।६।२ गते ४ जनाको टिकट लिई ५ जना यात्रा गर्न पाउने सहमतिमा काठमाडौंबाट वीरगञ्ज जान हिंडेकोमा हेटौंडामा पुग्दा प्रहरीले पक्राउ गरेको हो । ती केटीहरूलाई बम्बैको व्यापारीलाई जिम्मा दिई सोबापत प्रति महिला रू.५०,०००।- लिने सर्तमा सो स्थानमा नपुग्दै पक्राउ गरिएको हो । काममा सहयोग गरेबापत बिनितालाई मैले थप रू.२०,०००।- र उनीबाट मैले लिएको ने.रू.७,०००।- समेत काम सफल भएपछि दिने सल्लाह भएको थियो भन्नेसमेत व्यहोराको प्रतिवादी सूर्यबहादुर तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६७।६।३ गते हेटौंडा बसपार्कमा चेक जाँच गर्दा पक्राउ परेका प्रतिवादी बिनिता तामाङ र सूर्यबहादुर तामाङ भई काठमाडौंमा ड्राइभर गर्ने टुपी भन्नेले सम्पर्क गराइदिएका ३ जना जाहेरवाली केटीहरूलाई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतसम्म लान लागेको अवस्थामा बिनिता तामाङ र सूर्यबहादुर तामाङले जनही रू.२०,०००।– दिने प्रलोभनमा पारी ललाई फकाई ल्याएको अवस्थामा पक्राउ परेका हुन् भन्नेसमेत व्यहोराको माइती नेपाल हेटौंडाका संयोजक माया लामासमेतले लेखाई दिएको घटना विवरण ।
प्रतिवादीहरू सूर्यबहादुर तामाङ र बिनिता तामाङसमेतले जाहेरवालीहरूलाई भारतमा लगी बिक्री गर्ने उद्देश्यबाट काठमाडौंबाट हेटौंडासम्म बसमा ल्याउँदै गर्दा बिच बाटोमा नै जाहेरवालीहरूलाई उद्दार गरिएको कारण निजहरूलाई बिक्री गर्ने कार्य सम्पन्न हुन नपाएको भए तापनि बिक्री गर्ने मनसायले ओसारपसार गरेको देखिँदा निज प्रतिवादीहरू दिनेश भन्ने सूर्यबहादुर तामाङ र बिनिता तामाङले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२)(ख) विपरीत कसुर गरेकोमा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १५ को उपदफा (१) को (ङ)(२) अनुसार सजाय गरी र पीडितहरूलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले बेच्न लागेको देखिँदा सो सजायमा थप सोही दफा १५ को उपदफा (१) को खण्ड (ख) अनुसारको सजाय र सोही ऐनको दफा १५ को उपदफा (२) को खण्ड (ग) अनुसार गरी पीडितहरूलाई सोही ऐनको दफा १७ अनुसार क्षतिपूर्तिसमेत भराई पाउँ र प्रस्तुत मुद्दालाई सोही ऐनको दफा २२ अनुसार नैतिक पतन हुने फौजदारी कसुर कायम गरिपाउँ साथै टुपी भन्ने व्यक्तिको पछि नाम थर वतन स्पष्ट खुली आएमा पूरक अभियोग पेस गरिने छ भन्नेसमेत व्यहोराको मिति २०६७।६।१९ को अभियोग माग दाबी ।
म र काभ्रे जिल्ला, चिलाउने गा.वि.स.वडा नं.३ बस्ने लामा (टुपी) भन्ने एउटै कम्पनीमा काम गर्ने दाइले मलाई र चार जना बहिनीहरूलाई भारतको रक्सौलबाट दशैंको लागि साडी ल्याउँदा फाइदा हुन्छ, भन्सार छलाउन महिलाहरूलाई सजिलो हुन्छ भनी काठमाडौंबाट हामी पाँच जना (म, बिनिता र जाहेरवालीहरू) को टिकट काटी बेलुका बसमा चढाई म बेलुका आउँछु तिमीहरू जाओ भनी पठाए र मैले तथा मसँग आउने केटीहरूले रक्सौल देखेको छैन भन्दा म आउँछु, जाउ भनी भने । मैले बिनिताबाहेक अन्य जाहेरवालीहरूलाई चिनेकोसमेत थिएन । काठमाडौंबाट हेटौंडा आई मैले निज टुपी दाइलाई फोन गर्न भनी बसबाट झरी फोन गर्न लाग्दा प्रहरी आई मसमेतलाई पक्राउ गरेको हो । भारतको रक्सौलबाट साडी काठमाडौं पुर्याएबापत १ जनालाई रू.२०,०००।- दिन्छु भनेका थिए । सोही कारण म आएको हुँ । मैले जाहेरवालीहरूलाई भारतमा लगी बिक्री गर्ने उद्देश्यले ल्याएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सूर्यबहादुर तामाङले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६७।६।२ गते मसँग पक्राउ भएको प्रतिवादी सूर्यबहादुर तामाङले मलाई मेरो साथी छ टुपी भन्ने दाइले रक्सौलबाट साडी ल्याउनु छ । साडी र अन्य कपडासमेत काठमाडौंमा ल्याएपछि रू.२०,०००।- दिन्छु भनेको छ । दशैंको लागि खर्च हुनेछ भनेपछि सोही मिति २०६७।६।२ का दिन बेलुका कलंकी आई बसिरहेको अवस्थामा जाहेरवालीहरू, टुपी भन्ने र निजको साथी तथा सूर्यबहादुरसमेत
आए । मैले जाहेरवालीहरूलाई चिनेको छैन । टुपी र निजको अर्को साथीलाई समेत चिनेको छैन । निज टुपी भन्ने र साथी गई जाहेरवालीहरू ३ र सूर्यबहादुर र मसमेत गरी ५ जनाको टिकट काटी तिमीहरू जाँदै गर, हामी पछि आउँछौं भनी हामीलाई बसमा चढाई गए । हामी कहिल्यै पनि नआएको हुँदा हेटौंडामा आई सूर्यबहादुरले निज टुपीलाई फोन गर्दा नलागेको र केही बेरपछि पुनः फोन गर्दा प्रहरीले मसमेतलाई पक्राउ गरेको हो । मैले जाहेरवालाहरूलाई डर, त्रास प्रलोभनमा पारी बिक्री गर्न लान लागेको होइन । मैले कपडा लगिदिएबापत रू.२०,०००।– पाउने र दशैँ नजिक आएको हुँदा खर्च हुने भन्ने कुरा गरी म आएको हुँदा मलाई अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी बिनिता तामाङले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट निज प्रतिवादीहरू कसुरदार हुन् भनी विश्वास गर्ने मनासिब आधार देखिएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम गर्ने गरी हाल मुलुकी ऐन, अ.बं.११८ को देहाय (२) एवं मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिँदा कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न कारागार कार्यालय पर्सामा पठाइदिनु भन्ने मकवानपुर जिल्ला अदालतको मिति २०६७।६।२० को आदेश ।
मिति २०६७।६।२ गते काठमाडौं कलंकीबाट म र साथीहरू ३ जनालाई निज टुपी भन्ने योगबहादुर लामा, सूर्यबहादुर तामाङ र बिनिता तामाङसमेत भई भारततर्फ बिक्री गर्नको लागि गएका हुन् । निज टुपी भन्ने योगबहादुर लामालाई देखाउँदा चिनी अ.बं.१७३ नं. बमोजिम सनाखत गरी दिए भन्नेसमेत व्यहोराको पीडित पि.एल.को सनाखत कागज ।
पक्राउ परेका सूर्यबहादुर तामाङले मैले चलाउने गरेको गाडीमा खलासी काम गर्ने हुँदा निजलाई चिनेको छु । बिनितालाई चिन्दिन । पीडित भनिएका केटीहरू एकै घरमा डेरा गरी बस्ने हुँदा निजहरूलाई राम्रोसँग चिन्दछु । मिति २०६७।६।२ गते निजहरूसँग भेटघाट भई मैले हाँक्ने गरेको बसमा चढी चाबहिलसम्म गई ओर्लिएका थिए । मैले निजहरूलाई भारतमा पठाउने सम्बन्धमा कुनै सहयोग तथा कुरा मिलाई दिने कार्य गरेको छैन । जाहेरी सम्बन्धमा निजहरू नै जानून् । किन फसाए, मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी टुपी भन्ने योगबहादुर लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादी टुपी भन्ने योगबहादुर लामाले प्रतिवादीहरू सूर्यबहादुर र बिनिता मिली पीडितहरूलाई बिक्री गर्ने उद्देश्यले ओसारपसार गर्ने कार्यमा प्रमुख संलग्नता देखिई निजसमेतले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा (३)(१) र (४)(२)(ख) विपरीत कसुर गरेकोमा निज प्रतिवादी टुपी भन्ने योगबहादुर लामालाई सोही ऐनको दफा १५ को उपदफा (१)(ङ)(२) अनुसार सजाय गरी पीडितहरूलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले बेच्न लागेको देखिँदा सो सजायमा थप सोही दफा १५ को उपदफा (१) खण्ड (ख) अनुसार सजाय गरी सोही ऐनको दफा १५ को उपदफा (२) को खण्ड (ग) अनुसार गरी पीडितहरूलाई सोही ऐनको दफा १७ अनुसार क्षतिपूर्ति भराई प्रस्तुत मुद्दालाई सोही ऐनको दफा २२ अनुसार नैतिक पतन हुने फौजदारी कसुर कायम गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६७।७।२८ को पूरक अभियोग माग दाबी ।
मेरो घर जिल्ला काभ्रेपलाञ्चोक भए पनि हाल म जिल्ला ललितपुर, ग्वार्को इमाडोलमा बसोबास गरी पाटन ढोकाको इन्डियन गार्डेन इङ्ग्लिस बोर्डिङ स्कुलमा ड्राइभिङ काम गर्दै आएको छु । जाहेरवालाहरू र अन्य प्रतिवादीहरूलाई मैले चिनेको छैन । अभियोग दाबीअनुसार मानव बेचबिखन तथा ओसारपसार कार्यमा मेरो संलग्नता छैन । मैले अभियोग दाबीअनुसारको कसुर गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी टुपी भन्ने योगबहादुर लामाले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट निज प्रतिवादीहरू कसुरदार हुन् भनी विश्वास गर्ने मनासिब आधार देखिएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम गर्ने गरी हाल मुलुकी ऐन, अ.बं.११८ को देहाय (२) एवं बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने देखिँदा कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न कारागार कार्यालय, पर्सामा पठाई दिनु भनी मकवानपुर जिल्ला अदालतको आदेश ।
मिति २०६७।६।३ को जाहेरी दरखास्त र प्रहरीको बयानमा भएको व्यहोरा र त्यसमा लागेको सहिछाप मेरो हो भनी पीडित जाहेरवाला पि.एल.८/०६७/०६८ ले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरूले हामीलाई बेच्न लगेको कुरा प्रहरीले समाती सोधपुछ गर्दा थाहा पाएका हौं । जाहेरी र बयान व्यहोरा र त्यसमा लागेको सहिछाप मेरो हो भनी एस.टि.सि. ७/०६७/०६८ ले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६७।६।३ को जाहेरी दरखास्त र प्रहरीको बयानमा भएको व्यहोरा र त्यसमा लागेको सहिछाप मेरो हो भनी पीडित जाहेरवाला एल.डि.६/०६७/०६८ ले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी टुपी भन्ने योगबहादुर लामा केटी बेच्ने काम गर्ने मान्छे होइनन् । ड्राइभरको काम गर्छन् भनी प्रतिवादी टुपी भन्ने योगबहादुर लामाको साक्षी गणेशबहादुर लामाले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरवालाहरूलाई प्रतिवादी सूर्यबहादुर तामाङले बेचबिखन गर्न लगेका होइनन् । रक्सौलबाट सामान ल्याउन लगेका हुन् भनी प्रतिवादी सूर्यबहादुर तामाङको साक्षी धनबहादुर खड्काले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरवालाहरूलाई प्रतिवादीहरूले बेचबिखन गर्नको लागि लगेका होइनन् भनी प्रतिवादी सूर्यबहादुर तामाङ र बिनिता तामाङको साक्षी गणेशबहादुर अधिकारीले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
पीडितहरूको किटानी जाहेरी दरखास्त र सोही मिलानको बयान तथा सोलाई प्रमाणित गर्ने गरी अदालतमा उपस्थित भई बकपत्र गरेका छन् । तसर्थ, प्रतिवादीहरू सूर्यबहादुर तामाङ, बिनिता तामाङले अभियोग दाबीबमोजिमको कसुर गरेको देखिँदा निज प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) अनुसार जनही १० (दश) वर्ष कैद र रू.५०,०००।- जरिवाना भई ऐ.ऐनको दफा १७ नं. अनुसार पीडितहरूलाई प्रतिवादीहरूबाट रू.५०,०००।- क्षतिपूर्ति भराई दिने ठहर्छ । प्रतिवादीहरूले पीडितहरूलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यबाट सो कार्य गर्न लागेको भन्ने सम्बन्धमा वादी पक्षबाट यकिन प्रमाण पेस हुन आएको नदेखिँदा ऐ.ऐनको दफा १५(१)(ख) अनुसार र ऐ.ऐनको दफा १५(२) को (ग) बमोजिमसमेत सजाय गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ । प्रतिवादी टुपी भन्ने योगबहादुर लामालाई यिनै पीडितहरूले चिनी सनाखत गरी दिएकोसमेत देखिँदा अभियोग दाबीको कसुरमा यी प्रतिवादीको संलग्नता थिएन, निज निर्दोष हुन् भन्न मिल्ने
देखिँदैन । तसर्थ निजले अभियोग दाबीबमोजिमको कसुर गरेको देखिँदा प्रतिवादी टुपी भन्ने योगबहादुर लामालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) अनुसार १० (दश) वर्ष कैद र रू.५०,०००।- जरिवाना भई ऐ.ऐनका १७ नं. अनुसार पीडितहरूलाई रू.२५,०००।- निजबाट क्षतिपूर्तिसमेत भराइ दिने ठहर्छ । सोही ऐनको दफा १५ को उपदफा (१) खण्ड (ख) र ऐ. को दफा १५ को उपदफा (२) को (ग) अनुसारको सजायको मागदाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू मकवानपुर जिल्ला अदालतबट मिति २०६७।११।३० मा भएको फैसला ।
प्रतिवादीहरूले जाहेरवाली पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी भारतको वेश्यालयमा बिक्री गर्न लान लागेको खुलेको भनी जाहेरवालीहरूलाई सँग साथमा लिई जाने क्रममा पक्राउ परी पीडितहरूको उद्धार भएको अवस्था छ । तत्काल पक्राउ परेका प्रतिवादीहरूको बयानबाट यी पीडितहरूलाई भारत मुम्बईको व्यापारीलाई जिम्मा दिई सोबापत प्रति महिला रू.५०,०००।- लिने सर्त भएको भन्ने खुलेको र सो बयानलाई मिसिल संलग्न अन्य सम्पूर्ण प्रमाणहरूबाट थप समर्थन भएको अवस्थामा यी प्रतिवादीहरूबाट भएको आपराधिक कार्य एवं कसुर र वारदातसँग सम्बन्धित काम कारबाहीबाटै उद्देश्य पत्ता लगाउनु पर्ने हुन्छ । यी अबोध किशोरीहरूलाई बिक्री गर्ने प्रयोजनार्थ भारतको मुम्बईमा लाने भनिन्छ भने प्रस्तुत वारदातको प्रकृति एवं त्यसमा संलग्न व्यक्तिहरूको अवस्थाबाटै वेश्यावृत्तिमा लगाउने उद्देश्यले बिक्री गर्न खोजिएको भन्ने स्पष्ट हुनेमा त्यसतर्फ ध्यान नै नदिई प्रतिवादीहरूले नैतिक पतन देखिने फौजदारी कसुर गरेको भनी दाबी लिएको अवस्थामा सोतर्फ पूर्णरूपमा मौन रही भएको सुरू फैसला अ.बं.१८६ तथा १९२ नं. समेतको विपरीत भएकोले सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।
मुद्दाको एक पक्षको रूपमा रहेका विपक्षी वादीलाई मूलतः प्रमाण ऐन, २०३१ को दफा २५ द्वारा निर्दिष्ट प्रमाणको भार बहन गर्नुपर्ने अनिवार्य दायित्वबाट अवैध र आधारहीन उन्मुक्ति दिई यति गम्भीर फौजदारी मुद्दामा, मिसिल संलग्न कागजातहरूमा प्रस्टै उजागर भएको तथ्य र प्रमाणहरूको निष्पक्ष, कानूनसम्मत, विवेकपूर्ण र न्यायपूर्ण विश्लेषण विवेचना नै नगरी, सर्वमान्य फौजदारी विधिशास्त्रीय मान्यता, प्रचलित कानून र संस्थापित नजिर सिद्धान्तहरू समेतको बर्खिलाफ गरी म पुनरावेदक प्रतिवादीउपर जाहेरवालीको आत्मनिष्ठ मौखिक कथनमात्र पक्री आधारहीन अभियोजनकै मात्र आधारमा कसुरदार ठहर गरी भएको फैसला बदर गरी अभियोग मागदाबीबाट पूर्णतः सफाई दिलाई न्यायपूर्ण फैसला गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सूर्यबहादुर तामाङको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र ।
म पुनरावेदिकाले अभियोग दाबीबमोजिम कसुर गरेको देखिने कुराहरू प्रस्तुत मिसिलबाट प्रमाणित भइरहेको अवस्था छैन । यस्तो परिस्थितिमा मलाई सजाय गर्नसमेत हरहालतमा मिल्ने होइन । मैले कसुर अपराध नगरेको कुरा पूर्णरूपमा पुष्टि भइरहेकोमा त्यसतर्फ न्यायकर्ताले कुनै ध्यान दृष्टिसमेत नदिनु भई कसुरदार ठहर गर्ने आधार प्रमाणबेगरै सुरू मकवानपुर जिल्ला अदालतबाट कसुरदार ठहर गरी भएको फैसला मुलुकी ऐन, अ.बं.१८४(क) र १८५ नं. समेतको विपरीत हुँदा सो फैसला बदर गरी सुपथ न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी बिनिता तामाङको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।
म पुनरावेदक टुपी भन्ने रिङरोडमा बस चलाउने मानिस होइन । मेरो नाम योगबहादुर लामा हो । मैले अभियोग दाबीबमोजिम सजाय हुन जाहेरवालाहरू र मौकामा पक्राउ परेको प्रतिवादीहरूको र मेरोबिच उक्त पक्राउमा परेको मिति २०६७।६।२ गते वा सो मितिदेखि केही अगाडि र पछाडिको मितिहरूमा मेरो मोबाइलमा निजहरूले कल गरी कुराकानी भएको मोबाइलको कड डिटेल पेस गरिएको अवस्था छैन । मेरो साक्षीले मेरो इन्कारी बयानलाई पूर्णरूपमा समर्थन गरी बकपत्र गरिएको अवस्था विद्यमान छ । हामीलाई सूर्यबहादुरसँग रक्सौलसम्म जाउ भनी फकाउने व्यक्ति यिनै हुन् भनी किटानीसाथ जाहेरवालाहरूले भन्न र बकपत्र गर्न सकेको पाइँदैन । यस्तो परिस्थितिमा म पुनरावेदकलाई सजाय गर्नसमेत हरहालतमा मिल्ने होइन । मैले कसुर अपराध नगरेको कुरा पूर्णरूपमा प्रमाणित भइरहेकोमा त्यसतर्फ न्यायकर्ताले ध्यानसमेत नदिई कसुरदार ठहर गरेको सुरू मकवानपुर जिल्ला अदालतको फैसला मुलुकी ऐन, अ.बं.१८४(क) र १८५ नं. समेत विपरीत हुँदा सो फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी योगबहादुर लामाको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।
मानव बेचबिखनको उद्देश्यले हेटौंडासम्म लगेको तर बेचबिखन गरी नसकेको अवस्थामा मानव बेचबिखन गरेको ठहर गरी सुरूले गरेको सजाय फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. को प्रयोजनका लागि परेको प्रतिवादीहरूको पुनरावेदन वादी नेपाल सरकारलाई जानकारी दिई र नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन प्रतिवादीहरूलाई सुनाई नियमानुसार पेस गर्नू भन्नेसमेत व्यहोराको मिति २०६८।७।२९ मा पुनरावेदन अदालत, हेटौंडाबाट भएको आदेश ।
प्रतिवादीहरू सूर्यबहादुर तामाङ र बिनिता तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) अनुसार जनही १० (दश) वर्ष कैद र रू.५०,०००।- (पचास हजार) जरिवाना र ऐ.ऐनका दफा १७ नं. अनुसार पीडितहरूलाई निज प्रतिवादीहरू जना २ बाट रू.५०,०००।- क्षतिपूर्ति भराई दिने र प्रतिवादी टुपी भन्ने योगबहादुर लामालाई ऐ.ऐनको दफा १५(१)(ङ)(२) अनुसार १० (दश) वर्ष को र रू.५०,०००।– (पचास हजार) जरिवाना र ऐ.ऐनको दफा १७ नं. बमोजिम पीडितहरूलाई निजबाट रू.२५,०००।- (पच्चीस हजार) क्षतिपूर्तिसमेत भराई दिने ठहर्याई सुरू मकवानपुर जिल्ला अदालतबाट मिति २०६७।११।३० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।१०।१७ को फैसला ।
पुनरावेदन अदालतको फैसलमा चित्त बुझेन । म प्रतिवादी योगबहादुर लामाले ललितपुरको इन्डियन गार्डेन बोर्डिङ स्कुलको बस चलाउने कार्य गरी आएको छु । मलाई पोल गर्ने सहअभियुक्त सूर्यबहादुर तामाङले बयान गर्दा काठमाडौंको रिङरोडमा बस चलाउने सन्जय लामा (टुपी) ले जाहेरवालाहरूलाई रक्सौलबाट दशैंको साडी ल्याउँदा फाइदा हुन्छ भनी जाहेरवालालाई लिई जाने क्रममा हेटौंडामा पक्राउ परेको भनेका छन् । जाहेरवालाहरूले पनि टुपी भन्ने रिङरोडमा बस चलाउने व्यक्ति भनेका छन्, स्कुलको बस चलाउने म योगबहादुर लामाको नाम उल्लेख नै नगरेको र मैले कुनै कसुर नगरेको अवस्थामा मलाई कसुरदार ठहराएको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भन्ने प्रतिवादी योगबहादुर लामाको यस अदालतमा परेको पुनरावेदन पत्र ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । जाहेरवालाहरूले जाहेरी दिई अदालतमा बकपत्र गर्दैमा मउपरको कसुर साबित हुन सक्दैन । जाहेरी दरखास्त र पीडितको अदालतको बकपत्र एक आपसमा बाझिएको छ । मसँगबाट बसको टिकट र भारतीय रूपैयाँ पाँच हजार पाँच सय बरामद हुनाले मात्र मानव बेचबिखनको लागि हो भन्न मिल्दैन । मैले जाहेरवालाहरूलाई बेच्न लान लगेको होइन । उनीहरू मसँग सल्लाह गरी व्यापार गर्नको लागि गएकोमा झुठ्ठा आरोप लगाएको हो । उनीहरूलाई लाँदा साडी ल्याउँदा लाग्ने भन्सार छल्न सजिलो हुन्छ भनी लान लागेको हो । मलाई कसुरदार ठहराएको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी सफाई पाउँ भन्ने प्रतिवादी दिनेश भन्ने सूर्यबहादुर तामाङको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादी सूर्यबहादुर तामाङतर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामप्रसाद अर्यालले मानव बेचबिखनको कसुर स्थापित हुनका लागि बेचबिखनको उद्देश्यले लगेको हुनु पर्ने अनिवार्य तत्त्व हो । जाहेरवाला र यी प्रतिवादीहरूले रक्सौलबाट साडी लिएर आई व्यापार गर्नका लागि रक्सौल जाने सल्लाह भएबमोजिम जान लागेको कुरा प्रतिवादीले स्वीकार गरेको भए पनि बेचबिखनको लागि जाहेरवालाहरूलाई लगेको भन्ने तथ्यमा पूर्ण इन्कार रहेका छन् । प्रतिवादीउपर अनुमान र शङ्काको भरमा कसुरदार ठहराएको सुरू र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी प्रतिवादीले सफाई पाउनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उक्त बहससमेतलाई सुनी प्रस्तुत मुद्दामा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा कसुरदार ठहर गरेको सुरू र पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरूले जाहेरवालीहरूलाई भारतमा वेश्यावृत्तिको लागि लैजाँदै गरेको अवस्थामा पक्राउ परेकाले निज प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(२)(ख) विपरीत कसुर गरेकोमा सोही ऐनको दफा १५(१)(ङ)(२) बमोजिम सजाय गरी पीडितहरूलाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले बेच्न लगेको हुँदा दफा १५(१) को खण्ड (ख) बमोजिम थप सजायसमेत गरी दफा १५(२) को खण्ड (ग) बमोजिम पीडितहरूलाई क्षतिपूर्तिसमेत दिलाई दफा २२ बमोजिम प्रस्तुत मुद्दालाई नैतिक पतन हुने फौजदारी कसुर कायम गरिपाउँ भन्ने अभियोग माग दाबी रहेको पाइन्छ । प्रतिवादीहरू सूर्यबहादुर तामाङ, बिनिता तामाङ र योगबहादुर लामालाई मानव बेचबिखनको कसुरदार ठहराई उक्त ऐनको दफा १५(१)(ङ)(२) बमोजिम जनही दश वर्ष कैद र रू.पचास हजार जरिवाना हुने तथा दफा १७ बमोजिम प्रतिवादी सूर्यबहादुर तामाङ र बिनिता तामाङबाट रू.पचास हजार एवं प्रतिवादी योगबहादुर लामाबाट रू.पच्चिस हजार पीडितहरूलाई क्षतिपूर्तिसमेत भराइदिने र ऐनको दफा १५ को उपदफा (१) को खण्ड (ख) र दफा १५ को उपदफा (२) को खण्ड (ग) बमोजिमको दाबी पुग्न नसक्ने ठहराएको सुरू मकवानपुर जिल्ला अदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर प्रतिवादी सूर्यबहादुर तामाङ र योगबहादुर लामाको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको रहेछ ।
३. प्रतिवादी योगबहादुर लामाले यस अदालतमा पुनरावेदन गर्दा आफ्नो नाम योगबहादुर लामा भई आफूले स्कुलको बस चलाउने काम गरेको तर सहअभियुक्त र पीडितहरूले टुपी भन्ने व्यक्तिलाई पोल गरी निज टुपी भन्ने व्यक्ति रिङरोडमा बस चलाउने ड्राइभर भएको भन्ने उल्लेख गरेकाले आफूले जाहेरवालाहरूलाई बेचबिखन गर्ने कसुर नगरेको हुँदा सफाई पाउनु पर्छ भन्ने जिकिर लिएको पाइन्छ भने प्रतिवादी सूर्यबहादुरले जाहेरवालीहरूसँग भारत रक्सौलमा गई साडी किनेर ल्याउने सल्लाह भई त्यसतर्फ गएको हुँदा जाहेरवालीहरूलाई बेचबिखन गर्न नलगेको हुँदा सफाई पाउनु पर्छ भन्ने जिकिर लिएको पाइन्छ । सुरू र पुनरावेदन अदालतबाट कसुरदार ठहरिएको प्रतिवादी बिनिताको यस अदालतमा पुनरावेदन परेको नदेखिँदा निजको हकमा प्रस्तुत फैसलामा केही विचार गरिरहन परेन ।
४. यस सम्बन्धमा पुनरावेदक प्रतिवादी सूर्यबहादुर तामाङको हकमा प्रस्तुत मुद्दाको मिसिल संलग्न तथ्यगत अवस्थालाई हेर्दा प्रतिवादीहरूले पीडित जाहेरवालीहरूलाई भारत रक्सौलमा गई सामान किनी लुकाएर ल्याउनको लागि जनही रू.२०,०००।- दिने प्रलोभन देखाई काठमाडौंबाट रात्री बसमा वीरगञ्जतर्फ जाँदै गर्दा हेटौंडा बसपार्कमा प्रहरीले सोधपुछ गर्दा प्रतिवादी सूर्यबहादुर भाग्न खोजेकोमा समातिएपछि प्रतिवादीहरूले जाहेरवालीहरूलाई बिक्री गर्ने उद्देश्यले भारत लगेको थाहा भएकाले कारबाही गरिपाउँ भनी पीडितहरूको किटानी जाहेरी परेको देखिन्छ । पीडितहरूले आफ्नो जाहेरी व्यहोरालाई समर्थन गर्दै अनुसन्धानको क्रममा कागज गरी अदालतमा उपस्थित भई जाहेरी दरखास्तको व्यहोरा पुष्टि गर्दै बकपत्र गरेको देखिन्छ । प्रतिवादीहरूलाई जाहेरवालीहरूको साथमा बसबाट वीरगञ्ज जान लाग्दा पक्राउ गर्ने प्रतिवेदक मेनबहादुर पाख्रिनले मौकामा दिएको प्रतिवेदन व्यहोराबाट जाहेरवालीहरूको उक्त व्यहोरा समर्थित भएको देखिएको छ । प्रतिवादी दिनेश भन्ने सूर्यबहादुर तामाङले मौकामा अनुसन्धानको क्रममा बयान गर्दा जाहेरवालीहरूलाई भारत लगी व्यापारीको जिम्मामा दिई प्रति व्यक्ति पचास हजार रूपैयाँ लिने सर्तमा प्रतिवादी बिनिता तामाङ र जाहेरवालीहरूसमेत भई काठमाडौंबाट रात्री बसमा वीरगञ्जतर्फ जाने क्रममा हेटौंडामा पक्राउ परेको भन्ने उल्लेख गरेको पाइन्छ । त्यस्तै मौकामा पक्राउ गर्ने प्रतिवादी बिनिता तामाङले अनुसन्धानको क्रममा बयान गर्दा प्रतिवादी सूर्यबहादुर तामाङले केटी बेच्ने कुरा आफूलाई पहिले नै थाहा भएको र जाहेरवालीहरूलाई भारत बम्बईमा पुर्याउन सहयोग गर भनेकाले आफूले जाहेरवालीहरूलाई बिस हजार रूपैयाँको प्रलोभन देखाई आफूसमेतसँगै गई जाहेरवालीहरूलाई विश्वासमा पारी वीरगञ्जतर्फ जाँदै गर्दा पक्राउ परेको भनी बयान गरेको पाइन्छ ।
५. यी प्रतिवादी सूर्यबहादुर तामाङले अदालतमा बयान गर्दा जाहेरवालीहरूलाई भारतमा लगी बिक्री गर्ने उद्देश्यले काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको तथ्यमा इन्कार रहे पनि प्रतिवादी टुपी र बिनिता तामाङसँग सल्लाह गरी भारतबाट साडी ल्याउँदा भन्सार छलाउन सजिलो हुन्छ भनी पीडित जाहेरवालीहरूलाई भारततर्फ लाँदै गर्दा हेटौंडामा पक्राउ परेको र प्रतिवादी टुपीले जाहेरवालीहरूलाई बसमा साथ लिई जानु भनी बसमा चढाई पठाएको भन्ने तथ्यमा साबित भएको देखिन आउँछ । त्यसका अतिरिक्त सहअभियुक्त बिनिता तामाङले समेत अदालतको बयानमा टुपी र सूर्यबहादुर भई बसको टिकट काटी जाहेरवालीहरू र सूर्यबहादुरसँगै बसमा चढी आउँदा हेटौंडामा पक्राउ परेको भन्ने कुरा स्वीकार गरेको देखिन आउँछ ।
६. वस्तुतः प्रतिवादी सूर्यबहादुर तामाङले आफूले जाहेरवालीहरूलाई भारतमा बिक्री गर्ने उद्देश्यले लगेको नभई साडीको व्यापार गर्ने प्रयोजनका लागि सँगै लिई गएको भन्ने जिकिर लिएको भए पनि यी जाहेरवालीहरूलाई वीरगञ्जतर्फ जाने रात्री बसमा सँगै लिएर जाँदै गरेको अवस्थामा हेटौंडामा पक्राउ परेको भन्ने तथ्यलाई अदालतको बयानमा पनि स्वीकार गरेको स्थिति छ । अदालतको बयानमा जाहेरवालीहरूलाई बिक्रीको लागि लगेको तथ्यमा इन्कार रहेको देखिए पनि मौकामा यी प्रतिवादी सूर्यबहादुर तामाङले बयान गर्दा जाहेरवालीहरूलाई भारतको बम्बईमा प्रति महिला रू.पचास हजारमा बिक्री गर्ने सर्तमा व्यापारीलाई जिम्मा लगाउने गरी जाहेरवालीहरूलाई अर्का प्रतिवादी बिनिता तामाङको सँगसाथ आफूसमेत भई काठमाडौंबाट वीरगञ्ज जान लाग्दा हेटौंडामा पक्राउ परेको भनी बयान गरेको
पाइन्छ । सहअभियुक्त बिनिता तामाङले समेत मौकाको बयानमा आफू कसुरमा साबित भई यी प्रतिवादीलाई पोल गरेको देखिएको र पीडित जाहेरवालीहरूले आफ्नो जाहेरी दरखास्तको समर्थन गरी अदालतमा उपस्थित भई बकपत्र गरेको देखिएकोले प्रतिवादीको अदालतको इन्कारी बयानलाई प्रमाणमा लिन मिल्ने देखिएन ।
७. प्रमाण ऐन, २०३१ को दफा १०(१) को कानूनी व्यवस्थाअनुसार कुनै काम घटना वा अवस्थाका सम्बन्धमा सो काम गर्ने वा सो काम घटना वा अवस्था प्रत्यक्षरूपमा देख्ने वा थाहा पाउने वा सो काम घटना वा अवस्थाबाट पीडित भएका व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि व्यक्त गरेको कुरा प्रमाणमा लिनु पर्ने व्यवस्था रहेको पाइन्छ । त्यसका अतिरिक्त सोही ऐनको दफा १८ मा कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिनु पर्ने व्यवस्था रहेको पाइन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार प्रस्तुत घटनाबाट पीडित जाहेरवालीहरूले मौकामा दिएको जाहेरी व्यहोरालाई पुष्टि गर्दै अदालतमा आई बकपत्र गरी प्रतिवादीउपरको अभियोग दाबीलाई समर्थन गरेको देखिएकाले पीडित जाहेरवालीहरूले व्यक्त गरेको तथ्यलाई अदालतले ठोस प्रमाणको रूपमा लिनुपर्ने देखिन आयो । उल्लिखित अवस्थामा यी प्रतिवादीसमेतको मिलोमतोमा पीडित जाहेरवालीहरूलाई बेच्नको उद्देश्यले नै लैजान लागेको देखिएकाले प्रतिवादीको अदालतको इन्कारी बयानलाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिएन । आफू निर्दोष रहेको भन्ने प्रतिवादी सूर्यबहादुर तामाङको पुनरावेदन जिकिर मनासिब देखिएन ।
८. अब अर्का पुनरावेदक प्रतिवादी योगबहादुर लामाको पुनरावेदन जिकिरतर्फ हेर्दा निजले आफू मानव बेचबिखनको अपराधमा संलग्न नरहेको, आफ्नो नाम योगबहादुर लामा भएकाले टुपी भनी पोलिएको व्यक्ति आफू नभएकाले सुरू र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएको उल्टी भई सफाई पाउनु पर्ने भन्ने जिकिर लिएको पाइन्छ ।
९. वस्तुतः यी प्रतिवादीलाई टुपी उपनाम गरी सहअभियुक्त सूर्यबहादुर तामाङ र बिनिता तामाङले पोल गरेको देखिएको छ । जाहेरवाली पीडितहरूले पनि जाहेरी दरखास्त एवं बकपत्रमा टुपी भन्ने व्यक्तिले काठमाडौंबाट गाडी चढाएको भन्ने उल्लेख गरेको पाइन्छ । आफ्नो नाम टुपी नभएको भन्ने यी पुनरावेदकको जिकिर रहेको भए पनि मौकामा अनुसन्धानको क्रम यी प्रतिवादीले बयान गर्दा जाहेरवालीहरू र यी प्रतिवादी एउटै घरमा डेरा गरी बसेको, प्रतिवादी सूर्यबहादुर गाडीमा खलासी काम गर्दा चिनेको र मिति २०६७।६।२ मा जाहेरवालीहरू निजैले चलाउने गरेको बसमा चढी चावेलसम्म आएको कुरा स्वीकार गरेको देखिएको छ । अदालतको बयानमा यी प्रतिवादी योगबहादुर तामाङले अन्य प्रतिवादीहरू र जाहेरवालाहरूलाई नचिनेको भन्ने जिकिर लिएको भए पनि टुपी भन्ने व्यक्ति यिनै प्रतिवादी योगबहादुर लामा भएको भनी पीडितहरूले यी प्रतिवादीलाई चिनी अ.बं.१७३ नं. बमोजिम सनाखतसमेत गरी दिएको देखिन्छ । आफूहरूलाई भारत जाउँ भनी ललाई फकाई गर्ने, प्रलोभन देखाउने एवं काठमाडौं कलंकीबाट बसमा चढाई पठाउने टुपी भन्ने व्यक्ति यिनै योगबहादुर लामा भएको भनी पीडितहरूले सनाखत गरेको देखिएको र सहअभियुक्तहरूले समेत यी प्रतिवादीलाई पोल गरेको देखिएको अवस्थामा आफू टुपी भन्ने व्यक्ति नभएको र कसुरमा आफ्नो संलग्नतासमेत नभएको भन्ने प्रतिवादी योगबहादुर लामाको जिकिर मनासिब देखिन आएन ।
१०. वस्तुतः मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीउपर रहने गरी विशेष व्यवस्था गरेको पाइन्छ । सो दफामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ । सो ऐनको उक्त विशेष व्यवस्थाअनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेको प्रतिवादीले तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट आफ्नो निर्दोषिता प्रमाणित गराउन सक्नुपर्नेमा यी प्रतिवादीहरूले आफू निर्दोष रहेको तथ्य वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको देखिएन । ऐनको उक्त व्यवस्थाबमोजिम पीडितहरूको किटानी जाहेरी दरखास्त, प्रतिवादीहरूले मौकामा एक अर्कालाई पोल गरेको साबिती बयान, पीडित एवं जाहेरवालीहरूले जाहेरी व्यहोरा पुष्टि गर्दै अदालतमा आई गरेको बकपत्र र पीडितलाई साडीको व्यापार गर्न भारत लैजान लागेको कुरामा अदालतमा समेत साबित भई प्रतिवादीहरू सूर्यबहादुर तामाङ र बिनिता तामाङले बयान गरेको देखिएबाट निजहरूको अदालतको इन्कारी बयानबाट मात्र कसुरदार नभएको भन्न मिल्ने नदेखिँदा उक्त इन्कारी सफाइको आधारमा हुन सक्ने देखिएन । यस अवस्थामा प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिमको सजाय गरी दफा १७ बमोजिम प्रतिवादीहरूबाट पीडितहरूलाई क्षतिपूर्तिसमेत दिलाई दिन ठहराएको फैसला मनासिब देखिन आएको छ ।
११. तसर्थ उल्लिखित आधार एवं कारणसमेतबाट प्रतिवादीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(ङ)(२) बमोजिम जनही दश वर्ष कैद र रू.पचास हजार जरिवाना गरी दफा १७ बमोजिम प्रतिवादी सूर्यबहादुर तामाङ र बिनिता तामाङबाट पीडितहरूलाई रू.पचास हजार र प्रतिवादी योगबहादुर लामाबाट पीडितहरूलाई रू.पच्चिस हजार क्षतिपूर्तिसमेत भराई दिने ठहराएको सुरू मकवानपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।१०।१७ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीहरूलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
स.प्र.न्या.कल्याण श्रेष्ठ
इजलास अधिकृतः विश्वनाथ भट्टराई
इति संवत् २०७२ साल साउन २९ गते रोज ६ शुभम् ।