निर्णय नं. ४२९० - लागू औषध सम्बन्धी
निर्णय नं. ४२९० ने.का.प. २०४८ अङ्क ५
संयुक्तइजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.पु.नं. २४५
फैसला भएको मिति: २०४८।५।२५।३ मा
पुनरावेदक/प्रतिवादी: ल.पु.जि. सानेपा बस्ने अग्नीकुमार भट्टचन
विरुद्ध
विपक्षी/वादी: प्र.ज.श्याम सुन्दरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : लागू औषध सम्बन्धी
(१) एकपटक क्षेत्राधिकार ग्रहण गरिसकेको मुद्दामा अन्य क्षेत्राधिकारको अभावमा आफ्नो पनि क्षेत्राधिकार नभएको भनी आंशिक फैसला गरेको वागमती विशेष अदालतको फैसला बदर गरी जो जे बुझ्न पर्छ बुझी त्यस अदालतको क्षेत्राधिकार देखिएकोले कानुन बमोजिम निर्णय गर्नु भनी वागमती विशेष अदालतमा पठाएको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. १८)
पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नुबझी प्रतिवादीको यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।
२. अग्नीकुमार भट्टचनको घर खानतलासी लिंदा अं. २५ ग्राम ब्राउन सुगर र अं. ६० ग्राम अफिम फेला परेको भन्ने समेतको मिति ०४२।१२।१२ को बरामदी मुचुल्का ।
३. म पहिले पनि लागू औषध चरेश आदिको व्यापार गर्ने गरी आएको छु । हाल पनि २० के.जी. चरेश बुटवल लालबहादुर गौचनको घरमा राखेको छु । ४।५ वर्ष अघि केबिन राणालाई १५ किलो र घनश्याम अधिकारीलाई पनि धेरै परिणाम चरेश बिक्री गरेको छु भन्ने समेत व्यहोराको अग्नीकुमार भट्टचनको प्रहरी समक्ष भएको बयान ।
४. अग्नीकुमार भट्टचनले २० ग्राम ब्राउन सुगर ६० ग्राम अफिम आफ्नो घरमा राखी लालबहादुर गौचन केबिन राणा र घनश्याम अधिकारीको मिलोमतोबाट बिक्री वितरण गरी लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(ग) र (घ) को कसूर गरेकोले अग्नीकुमार भट्टचन, लालबहादुर गौचन केविन राणा र घनश्याम अधिकारी उपर ऐ.ऐनको दफा १४(ख) बमोजिम सजायँ हुन र अग्नीकुमारले ३७ सालमा एकपटक लागू औषध मुद्दामा सजायँ पाइसकेकोले यो दोस्रो पटक देखिएको घनश्याम अधिकारीले ०३७ साल र ०४१ सालमा लागू औषध मुद्दामा सजायँ पाइसकेकोले सो तेस्रो पटक देखिएकोले निजहरु उपर ऐ.ऐ.को दफा १६ बमोजिम थप सजायँ हुन र ल.पु.न.पं. वडा नं. २ सानेपा स्थित पद्मकुमारी भट्टचनको घरमा लागू औषध राख्न र उत्पादन गर्न दिएकोले निज पद्मकुमारीलाई ऐ.ऐ.को दफा १५ बमोजिम कारवाही भई सजायँ हुन समेत माग गरिएको जि.प्र.का. ललितपुरको प्रहरी प्रतिवेदनपत्र । (साविक पेज नं. १९९)
५. मलाई प्रहरी तालिम केन्द्रमा लगी डर धाक देखाई सही गराए । बरामदको भनिएको अफिम ब्राउन सुगर मेरो घरबाट बरामद भएको होइन भन्ने समेत व्यहोराको अग्नीकुमारको ललितपुर जिल्ला अदालतमा भएको बयान ।
६. मैले अग्नीकुमारसंग लागू औषध किनेको छैन तसर्थ प्रहरी प्रतिवेदन माग बमोजिम सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको घनश्याम अधिकारीले अदालत समक्ष गरेको बयान ।
७. मेरो नाउँको घरबाट लागू औषध बरामद भएको होइन र अग्नीकुमार भट्टचनलाई लागू औषध राख्न उत्पादन गर्न समेत दिएको नहुँदा मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको पद्मकुमारी भट्टचनको अदालतमा भएको बयान ।
८. प्रतिवादीहरु केबिन राणा र लालबहादुर गौचनले शुरुबाट जारी भएको समाव्हान म्यादै गुजारी बसेको देखियो ।
९. अग्नीकुमार लागू औषध बिक्री वितरण गर्ने मानिस होइनन् र पद्मकुमारीको घरबाट लागू औषध बरामद भएको होइन भन्ने समेतको अग्नीकुमार र पद्मकुमारीको साक्षी उदय भट्टचन समेतको बकपत्र ।
१०. घनश्याम अधिकारी राम्रो चाल चलनका मानिस हुन् निजले आरोप अनुसारको कसूर गरेको होइन भन्ने घनश्यामको साक्षी राम डंगोल, घलमान सुबेदी र श्याम श्रेष्ठको बकपत्र ।
११. अग्नीकुमारको घरबाट म समेत भई लागू औषध बरामद भएको हो भन्ने समेतको बरामदी मुचुल्काका मानिस खड्गबहादुर, नरबहादुर थापाले गरेको बकपत्र ।
१२. प्रतिवादी अग्नीकुमारले लागू औषध संचय गरी बिक्री वितरणको कारबाही समेत गरेको देखिन आएकोले निजले लागू औषध नियन्त्रण ऐन, ०३३ को दफा ४(घ) र १६ को समेत कसूर गरेको ठहर्छ र ऐ.ऐ.को दफा १४(ख) बमोजिम कैद वर्ष ७ (सात) र जरिवाना रु. २०,०००।– र दफा १६ ले थप कैद २ वर्ष र जरिवाना रु. ५,०००।– समेत जम्मा कैद वर्ष ९ र जरिवाना रु. २५,०००।– हुने ठहर्छ । पद्मकुमारीले जानी जानी हिरोइन राख्न स्वीकृति दिएको प्रमाणित नहुँदा त्यसतर्फ वादी दावी पुग्न सक्दैन र अन्य प्रतिवादीको हकमा चरेश खरीद बिक्री गरेको भन्ने प्रहरीमा भएको कागजबाट देखिएकोले यस अदालतको क्षेत्राधिकार नहुँदा केही बोली रहन परेन भन्ने समेत व्यहोराको वागमती विशेष अदालतको मिति ०४५।११।२ को फैसला ।
१३. आफ्नो पतिले पटक पटक लागू औषध मुद्दामा सजाय पाइसकेको कुरा थाहा भइसकेपछि लोग्नेले घरमा लागू औषध राखेका कुरा थाहा भएन भनी श्रीमतीको नाउँको घर जफत नगर्ने गरेको फैसला त्रुटिपूर्ण छ र चरेश मुद्दाको निर्णय गर्न अधिकार क्षेत्र भएन भनी प्र. घनश्याम अधिकारी, लालबहादुर गौचन र केबिन राणाको हकमा केही नबोलेको समेत बा.वि.अ.को फैसला मिलेको छैन किनभने क्षेत्राधिकार नभएको भए जुन अदालतको क्षेत्राधिकार छ सोही अदालतमा पठाउनु पर्ने व्यवस्था लागू औषध नियन्त्रण ऐनको दफा २१(क) मा उल्लेख छ तसर्थ उपरोक्त प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
१४. वागमती विशेष अदालतबाट मलाई कसूरदार ठहराई ठहर गरिएको फैसला बदर गरी मेरो निर्दोषिता कायम गरी वादी दावीबाट मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको अग्नीकुमार भट्टचनको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र । वागमती विशेष अदालतको क्षेत्राधिकार बाहिरको भनी इन्साफ नबोलेको मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको (साविक पेज नं. २००) मिति ०४६।७।२० को आदेश ।
१५. एकपटक त्यस अदालतबाट क्षेत्राधिकार ग्रहण गरिसकेको मुद्दा अन्य अदालतबाट कारवाही किनारा हुने वा सर्ने र सार्ने कानुनी व्यवस्थाको अभावमा क्षेत्राधिकार नभएको भनी आंशिक फैसला गरेको वागमती विशेष अदालतको फैसला त्रुटियुक्त हुँदा बदर हुन्छ । जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम निर्णय गर्न मिसिल वागमती विशेष अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको म.क्षे.अ.को फैसला ।
१६. म.क्षे.अ.को फैसलामा अ.बं. १७२(६), प्रमाण ऐन, २०३१ को दफा २५ को प्रतिकूल हुने गरी गरेको निर्णय बदर गरी पाउँ भन्ने अग्नीकुमार भट्टचनको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले २०४२।१२।२७।४ मा ललितपुर जिल्ला अदालतमा दायर भएको मुद्दा २०४३।१।२६ को राजपत्रमा प्रकाशित सूचनाबाट वागमती विशेष अदालतमा सरेको र मिति २०४३।७।२४ मा लागू औषध (नियन्त्रण) पहिलो संशोधन ऐन, २०४३ मा अर्को व्यवस्था पनि भएन । श्री ५ को सरकारले सूचना प्रकाशित गरी एकपटक क्षेत्राधिकार ग्रहण गरिसकेपछि मेरो क्षेत्राधिकार भित्र पर्दैन भन्न मिल्ने होइन भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
१८. यसमा म.क्षे.अ.को इन्साफ मिले नमिलेको के रहेछ सोको निर्णय दिनु पर्ने हुन आयो । यसमा निर्णय तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीले ब्राउन सुगर २० ग्राम र अफिम ६० ग्राम आफ्नो घरमा राखी पक्राउ नपरेका अभियुक्त लालबहादुर गौचन, केबिन राणा र घनश्याम अधिकारी समेतको मिलोमतोबाट बिक्री वितरण गरी लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(ग)(घ) को कसूर गरेको भनी सोही ऐनको दफा १४(ख) बमोजिमको सजायँ हुन मात्र दावी भएको पाइन्छ । वागमती विशेष अदालतमा क्षेत्राधिकार नभएको हुँदा क्षेत्राधिकार भएको अदालतबाट न्याय निरोपण हुने हुँदा इन्साफमा बोलिरहन परेन भनी फैसला गरेको देखिन्छ । प्रस्तुत मुद्दा मिति २०४२।१२।२७।४ मा ललितपुर जिल्ला अदालतमा दायर भएकोमा श्री ५ को सरकारद्वारा नेपाल राजपत्र मिति २०४३।१।२६ अतिरिक्तांक ६ खण्ड ३६ मा प्रकाशित सूचनाद्वारा लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गतका मुद्दा वागमती विशेष अदालतमा कारवाही किनारा गर्न सुम्पिएको छ भनी तोकेर क्षेत्राधिकार ग्रहण गरेको देखिन्छ । २०४३।७।२४ मा लागू औषध (नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०४३ को दफा ४(क) को मुद्दा जिल्ला अदालतमा, सो बाहेक अन्य मुद्दा दफा २१(क) को उपदफा (१) अन्तर्गतको अदालतमा सर्ने छन भन्ने उल्लेख गरेको पाइन्छ । २०४३।१।२६ मा प्रकाशित सूचना अनुसार पुनः अर्को सूचना जारी भएको देखिँदैन । अतः एकपटक क्षेत्राधिकार ग्रहण गरिसकेको मुद्दामा अन्य क्षेत्राधिकारको अभावमा आफ्नो पनि क्षेत्राधिकार नभएको भनी आंशिक फैसला गरेको वागमती विशेष अदालतको फैसला बदर गरी जो जे बुझ्न पर्छ बुझी त्यस अदालतको क्षेत्राधिकार देखिएकोले कानुन बमोजिम निर्णय गर्नु भनी वागमती विशेष अदालतमा पठाएको म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.ओमभक्त श्रेष्ठ
इतिसम्वत् २०४८ साल भाद्र २५ गते रोज ३ शुभम् ।
(साविक पेज नं. २०१)