निर्णय नं. ९५२८ - भन्सार मूल्याङ्कन धरौट फिर्ता

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति : २०७१।११।१५।१
०६७-CR-०७९६
मुद्दा : भन्सार मूल्याङ्कन धरौट फिर्ता
पुनरावेदक / वादी : नेपाल सरकार, भन्सार विभागको महानिर्देशक बोधराज निरौला
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : पशुपति एक्सपोर्ट एन्ड इम्पोर्ट हाउस वीरगञ्जको प्रो. पर्सा जिल्ला लोहारपट्टी वडा नं. ७ बस्ने निर्मलादेवी गोयन्का
पैठारी गरिएको कुनै माल वा वस्तुको धनीबाट पेस भएको कारोबार मूल्य “वास्तविक कारोबार मूल्य कायम गर्ने पद्धति” सँग मेल नखाने भएमा भन्सार अधिकृतले पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यलाई मान्यता नदिई पैठारी गरिएको माल वा वस्तुको अभिलेख मूल्य, मूल्यसूची वा सोही प्रकारको माल वा वस्तुको मूल्यको आधारमा त्यस्तो माल वा वस्तुको मूल्य कायम गरी भन्सार महसुल निर्धारण गर्नुपर्ने व्यवस्था भन्सार ऐन, २०१९ को दफा १३ को उपदफा (४) ले गरेको देखिने ।
(प्रकरण नं.३)
पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य समरूप वा उस्तै प्रकारको वस्तुको मूल्यभन्दा कम देखिएकोले आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ३ बमोजिम त्यसरी मूल्य कम हुनुको यथेष्ट कारण पेस गर्न भनी पैठारीकर्तालाई लेखिएको, सोधिएको वा मौका दिइएको भन्नेसमेत उक्त कारबाहीसम्बन्धी निर्णय फाइलबाट देखिएको छैन । पैठारीकर्ताले गरेको मूल्यसम्बन्धी घोषणालाई अस्वीकार गरी बढी मूल्य कायम गर्दा भन्सार अधिकृतले विश्व व्यापार संगठनको मूल्याङ्कनसम्बन्धी मूलभूत सिद्धान्तलाई अवलम्बन गरेको भन्ने पनि उक्त निर्णयमा उल्लेख भएको पाइँदैन । पैठारीकर्ताले घोषणा गरेको मूल्यलाई अस्वीकार गरी सोभन्दा बढी मूल्य कायम गर्दा उपर्युक्त आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ५ बमोजिम पैठारीकर्ता कम्पनीलाई दिनुपर्ने कारणसहितको लिखित सूचनासमेत दिएको देखिँदैन । यसर्थ वीरगञ्ज भन्सार कार्यालयबाट भएको उपर्युक्त मिति २०६१।१२।२ को मूल्य निर्धारणसम्बन्धी निर्णयमा कानूनले निर्धारण गरेबमोजिमको माथि वर्णित कुनै पनि कार्यविधि वा प्रक्रिया पुरा गरिएको भन्ने देखिन नआउने ।
(प्रकरण नं.८)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता राजन भट्टराई
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता सिताराम अग्रवाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
भन्सार ऐन, २०१९ को दफा १३(६)
आर्थिक अध्यादेश, २०६१ को दफा ७
सुरू निर्णय गर्ने :
वीरगञ्ज भन्सार कार्यालय, भन्सार विभाग, त्रिपुरेश्वर
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय अध्यक्ष श्री गोपाल पराजुली
राजश्व सदस्य श्री तारादेवी जोशी
लेखा सदस्य श्री भगिराज इङ्गनाम
फैसला
न्या.सुशीला कार्की : राजस्व न्यायाधिकरण, काठमाडौंको मिति २०६६।०५।११ को फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ (क) र (ग) बमोजिम पुनरावेदनका लागि अनुमति पाउँ भनी निवेदन परेकोमा यस अदालतबाट मिति २०६७।१०।०७ मा अनुमति प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ :
पशुपति एक्सपोर्ट एन्ड इम्पोर्ट हाउस वीरगञ्जले Invoice no. KAJ 2005/794 Date 06-01-2005 मा KAJ Establishment Pvt. Ltd. Singapore बाट CNF US $ 2600 मा आयात गरेको १० मेट्रिक टन CARDAMOMS MIX GREEN MEDIUM को मूल्याङ्कन गरिपाउँ भनी तेस्रो मुलुक पैठारीसम्बन्धी घोषणापत्र भन्सार कार्यालयमा मिति २०६१।१२।०१ मा पेस गरेको ।
उक्त घोषणापत्रको पिठमा मिति २०६१।१२।०३ को निर्णयानुसार संलग्न इ.नं. KAJ 2005/794 को माल वस्तुको प्रति मेट्रिक टन CNF CAL US $ 3100 मा बिमाबाहेक कारोबार खर्च रू. ४०,०००।– समावेश गरी मूल्य निर्धारण गर्न हुन भन्ने जनिएको ।
पशुपति एक्सपोर्ट एन्ड इम्पोर्ट हाउस वीरगञ्जले Invoice no KAJ 2005/794 Date 06-01-2005 मा प्रति मेट्रिक टन CNF CAL US $ 2600 का दरले आयात गरेको CARDAMOMS MIX GREEN MEDIUM OPEN PODS लाई वीरगञ्ज भन्सार कार्यालयले बढी भन्सार मूल्याङ्कन कायम तथा निर्धारण गरेको कारोबारको मूल्यमा चित्त नबुझाई पुनरालोकनको लागि भन्सार विभागमा मिति २०६१।१२।०८ मा निवेदन दिएकोमा मिति २०६१।१२।२3 को भन्सार विभाग मूल्याङ्कन तथा पुनरावलोकन समितिको सिफारिसबमोजिम भन्सार कार्यालय, वीरगञ्जले कायम गरेको मूल्य नै कायम गर्ने गरी निर्णय हुन पेस गरेको टिप्पणी मिति २०६१।१२।२४ मा सदर भएको ।
आयात गरिएको सामान बैंकमा प्रतितपत्र खोली बीजक मूल्यको आधारमा आयात
गरिन्छ । त्यसरी आयात गरिँदा बीजक मूल्य परिवर्तन गर्न सकिने अवस्था हुँदैन । सोहीबमोजिम आयात गरिएका CARDAMOMS को वास्तविक बीजक मूल्यसहित भन्सार मूल्याङ्कनको लागि निवेदन दिएको अवस्थामा आधार र कारणसमेत नखोली आत्मनिष्ठ आधारमा भन्सार कार्यालय, वीरगञ्जको पूर्वअभिलेख मूल्यअनुसार मूल्याङ्कन कायम गरिएको र सोहीअनुसार भन्सार महसुल असुल गरेको कार्य कानूनसम्मत नहुँदा बदर गरिपाउँ भन्ने व्यहोराको राजस्व न्यायाधिकरण, काठमाडौंमा पेस भएको पुनरावेदनपत्र ।
पुनरावेदकले घोषणा गरेको कारोबार मूल्यलाई अस्वीकार गरी बढी मूल्य कायम गरी महसुल निर्धारण गर्ने गरेको प्रत्यर्थी कार्यालयको निर्णय फरक पर्नेसक्ने देखिएकोले छलफलको लागि अ.बं. २०२ नं. बमोजिम सरकारी वकिल, आन्तरिक राजस्व विभागलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भनी राजस्व न्यायाधिकरण, काठमाडौंबाट मिति २०६५।०४।३० मा भएको आदेश ।
यसमा आयातकर्ताको बीजक मूल्यलाई मान्यता नदिई भन्सार प्रयोजनको लागि बढी भन्सार मूल्याङ्कन कायम गर्ने गरी भएको वीरगञ्ज भन्सार कार्यालयको मिति २०६१।१२।03 को निर्णय र सोलाई समर्थन गर्ने गरी भएको भन्सार विभागको मिति २०६१।१२।२४ को निर्णय न्याय र कानूनसम्मत नहुँदा उल्टी हुने भै करदाताले पेस गरेको भन्सार दरभन्दा बढी भन्सार कायम गरी सोअनुसार लिएको रकम फिर्ता हुने ठहर्छ भनी राजस्व न्यायाधिकरण, काठमाडौंबाट मिति २०६६।०५।११ मा भएको फैसला ।
भन्सार ऐन, २०१९ को दफा १३(६) मा भन्सार महसुल निर्धारण गर्ने प्रयोजनको लागि भन्सारको मुख्य अधिकारी वा निजले तोकेको कुनै भन्सार अधिकृतले माल वा वस्तुको मूल्य कायम गर्दा अभिलेख मूल्य, उत्पादनकर्ता वा वितरकले पेस गरेको मूल्यसूची वा उपलब्ध तथ्याङ्क वा सूचना वा विशेषज्ञ वा सम्बन्धित संस्था वा निकायले सुझावलाई आधार मान्न सक्नेछ भन्ने व्यवस्थाअनुसार नै भन्सार अधिकृतले अभिलेख मूल्यको आधारमा मूल्य कायम गरेको देखिँदा भन्सार अधिकृतले कायम गरेको मूल्य र त्यसको आधारमा भन्सार विभागले समर्थन गर्ने गरेको निर्णय कानूनसम्मत भएको हुँदा राजस्व न्यायाधिकरण, काठमाडौंको फैसला उल्टी गरी वीरगञ्ज भन्सार कार्यालय र भन्सार विभागले कायम गरेको भन्सार मूल्याङ्कनलाई मान्यता दिने फैसला गरिपाउँ भनी भन्सार विभागले यस अदालतमा पेस गरेको पुनरावेदन पत्र ।
यसमा आर्थिक ऐन, २०६१ को अनुसूची १ को दफा ७ (३) र (४) को व्यवस्था अनुसार पहिले पैठारी भएको समान प्रकृतिका सामानका पैठारीकर्ताले घोषणा गरेको मूल्यको आधारमा भन्सार अधिकृतले मूल्याङ्कन गर्न सक्ने हुँदा सोको विपरीत भएको राजस्व न्यायाधिकरण, काठमाडौंको मिति २०६६।०५।११ को फैसला त्रुटिपूर्ण हुँदा राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ (क) र (ग) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ । कानूनबमोजिम गर्नू भनी यस अदालतबाट मिति २०६७।१०।०७ मा भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री राजन भट्टराईले भन्सार कार्यालयले यी प्रत्यर्थी करदाताले आयात गरेको समयभन्दा अघि यस्तै सामानमा भन्सार दर लिएको मूल्यलाई आधार मानी भन्सार महसुल निर्धारण गरेको हुँदा भन्सार कार्यालय वीरगञ्ज र भन्सार विभाग पुनरावलोकन समितिको सिफारिसअनुसार भन्सार महसुल लिएको भन्सार कार्यालयको मूल्याङ्कन कानूनसम्मत हुँदा सो निर्णयलाई उल्टी गर्ने गरेको राजस्व न्यायाधिकरण, काठमाडौंको फैसला उल्टी गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी करदाताका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सिताराम अग्रवालले बैंकबाट प्रतितपत्र खोली बीजक मूल्यसहित सामान आयात गरिएको हो । बीजक मूल्यकै आधारमा सामान आयात गरिएकोले भन्सार मूल्य घोषणा गरिएको अवस्थामा विनाकारण हचुवाको आधारमा बीजक मूल्यलाई अमान्य गरी बढी भन्सार महसुल निर्धारण गरेको कानूनसम्मत छैन । तसर्थ राजस्व न्यायाधिकरण, काठमाडौंको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपयुक्तानुसारको तथ्य एवं बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदकको पुनरावेदन जिकिर पुग्नसक्ने हो, होइन र राजस्व न्यायाधिकरण, काठमाडौंको फैसला मिलेको छ, छैन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।
यसमा आयातकर्ता पशुपति एक्सपोर्ट एन्ड इम्पोर्ट हाउस वीरगञ्जले Invoice No. KAJ 2005/794 Date 06-1-2005 मा KAJ Establishment Pvt. Ltd. Singapore बाट प्रति मेट्रिक टन CNF US $ 2600 मा आयात गरेको १० मेट्रिक टन Cardamoms Mix Green Medium को प्रतितपत्र अनुसार मूल्याङ्कन गरी जाँचपासको लागि प्रत्यर्थी वीरगञ्ज भन्सार कार्यालयमा विवरण पेस गरेकोमा वीरगञ्ज भन्सार कार्यालय र भन्सार विभाग मूल्याङ्कन तथा पुनरावलोकन समितको सिफारिसबमोजिम भनी करदाताको विवरणलाई मान्यता नदिई CNF Cal/Mt Us $ 3100.00 कायम गरी सोहीअनुसार कर असुल गरेकोमा आयातकर्ता कम्पनीले सो निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधिकरण, काठमाडौंमा पुनरावेदन गरेकोमा राजस्व न्यायाधिकरण, काठमाडौंले आयातकर्ता कम्पनीले पेस गरेको वितरणलाई नै मान्यता दिई वीरगञ्ज भन्सार कार्यालयसमेतको निर्णय उल्टी गरी गरेको फैसलाउपर भन्सार विभागले यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी निवेदन गरेकोमा यस अदालतबाट मिति २०६७।१०।७ मा पुनरावेदनको अनुमति प्रदान भएको अवस्था छ ।
२. निर्णयतर्फ विचार गर्दा भन्सार ऐन, २०१९ को दफा १३(६) मा भन्सार महसुल निर्धारण गर्ने प्रयोजनको लागि भन्सारको मुख्य अधिकारी वा निजले तोकेको कुनै भन्सार अधिकृतले माल वा वस्तुको मूल्य कायम गर्दा अभिलेख मूल्य, उत्पादनकर्ता वा वितरकले पेस गरेको मूल्यसूची वा उपलब्ध तथ्याङ्क वा सूचना वा विशेषज्ञ वा सम्बन्धित संस्था वा निकायको सुझावलाई आधार मान्न सक्नेछ भन्ने व्यवस्थाअनुसार नै भन्सार अधिकृतले अभिलेख मूल्यको आधारमा मूल्य कायम गरेको देखिँदा भन्सार अधिकृतले कायम गरेको मूल्य र त्यसलाई भन्सार विभागले समर्थन गर्ने गरेको निर्णय कानूनसम्मत हुँदा सोहीअनुसार मूल्य निर्धारण गरिपाउँ भनी भन्सार विभागले यस अदालतमा पेस गरेको पुनरावेदनपत्रको सम्बन्धमा हेर्दा पुनरावेदकले आयात गरेको सुकुमेलको बिजकअनुसारको मूल्य प्रति मेट्रिक टन US$ 2600.00 रहेकोमा विपक्षी भन्सार कार्यालयले उक्त मूल्यलाई बढाई प्रति मेट्रिक टन US$ 3100 मूल्य कायम गरी भन्सार महसुल निर्धारण गरेको भन्ने तथ्यमा विवाद देखिएन । पैठारीकर्ताले विदेशबाट पैठारी गरेको मालवस्तुको भन्सार महसुल निर्धारण गर्ने सम्बन्धमा भन्सार ऐन, २०१९ को दफा १३ को उपदफा १ देखि ७ सम्मको प्रावधान प्रासंगिक रहेको छ । जुन व्यवस्था निम्न अनुसार उल्लेख गरिएको छः-
भन्सार ऐन, २०१९ को दफा १३ को उपदफा (१), (२) र (३) को प्रावधान अनुसार पैठारी गरिने कुनै माल वा वस्तुको भन्सार महसुल त्यस्तो माल वा वस्तुको कारोबार मूल्यको आधारमा निर्धारण हुने, त्यस्तो कारोबार मूल्य प्रमाणित हुने बिल बिजक तथा अन्य कागजात पैठारीकर्ताले पेस गर्नुपर्ने र त्यसरी पेस गरेको बिल बिजक वा अन्य कागजातको सत्यता प्रमाणित गर्ने जिम्मेवारी पैठारीकर्तामा रहने र सो सम्बन्धी कागजात माग गर्न कानूनले भन्सार अधिकृत र पैठारीकर्ता दुवैको कर्तव्य र दायित्व निर्धारण गरेको देखिन्छ । कानूनको यो प्रावधान भन्सार महसुल निर्धारण गर्नेसम्बन्धी मूल व्यवस्थाको रूपमा रहेको देखिन्छ ।
३. पैठारी गरिएको कुनै माल वा वस्तुको धनीबाट पेस भएको कारोबार मूल्य “वास्तविक कारोबार मूल्य कायम गर्ने पद्धति” सँग मेल नखाने भएमा भन्सार अधिकृतले पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यलाई मान्यता नदिई पैठारी गरिएको माल वा वस्तुको अभिलेख मूल्य, मूल्यसूची वा सोही प्रकारको माल वा वस्तुको मूल्यको आधारमा त्यस्तो माल वा वस्तुको मूल्य कायम गरी भन्सार महसुल निर्धारण गर्नुपर्ने व्यवस्था सोही ऐनको दफा १३ को उपदफा (४) ले गरेको देखिन्छ ।
४. उक्त ऐनको दफा १३ ले भन्सार महसुल निर्धारण सम्बन्धमा गरेको उपर्युक्त प्रक्रियालाई अरू स्पष्ट गर्ने सम्बन्धमा आर्थिक अध्यादेश, २०६१ ले थप व्यवस्थाहरू गरेको देखिन्छ । यस सम्बन्धमा आर्थिक अध्यादेश, २०६१ को अनुसूची -१ को दफा ७ को उपदफा (१) देखि (५) सम्मको प्रावधान प्रासङ्गिक रहेको छ ।
५. आर्थिक अध्यादेश, २०६१ ले गरेको प्रावधान प्रस्तुत मुद्दाका आयातकर्ता कम्पनीले पैठारी गरेको मालसामान भन्सार विन्दुमा जाँचपास गराउँदाको अवस्थामा समेत अवलम्बन गर्नुपर्ने भन्ने देखिएको छ ।
६. आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ अन्तर्गतको प्रावधानले ऐनको दफा १३ बमोजिमको कारोबार मूल्य पैठारीकर्ताले घोषणा गरेको भाडासहितको कुल रकमलाई सम्झनु पर्ने र भन्सार अधिकृतले कारोबार मूल्य कायम गर्दा विश्व व्यापार संगठनको मूल्याङ्कनसम्बन्धी मूलभूत सिद्धान्तहरूको अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको देखिन्छ । यसका अतिरिक्त पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य पहिले पैठारी भएका समरूप वा उस्तै प्रकारका वस्तुको कारोबार मूल्यभन्दा कम देखिएमा भन्सार अधिकृतले त्यस्तो कम हुनुको यथेष्ट कारण र प्रमाण पेस गर्न लगाउनु पर्ने भनी उपर्युक्त दफा ७ को उपदफा ३ ले कार्यविधि तोकेको देखियो । उक्त उपदफा ३ बमोजिम पैठारीकर्ताले पेस गरेको कागजात र कारणको आधारमा पैठारी भएको वस्तुको कारोबार मूल्य पैठारीकर्ताको घोषणाबमोजिम नै अर्थात् सो घोषणा गरेभन्दा पहिलेको समरूप वा उस्तै प्रकारका वस्तुको कारोबार मूल्यभन्दा कम मूल्य प्रमाणित हुन आएमा भन्सार अधिकृतले कारण जनाई पैठारीकर्ताको घोषणाबमोजिमको कम मूल्यलाई मान्यता दिनुपर्ने र त्यस्तो कम मूल्य कायम भएको कुरा पुनरावलोकनको लागि भन्सार विभागमा लेखी पठाउनु पर्ने कार्यविधि उपदफा ४ ले निर्धारित गरेको देखिन्छ ।
७. तर यसअघिका समरूप वा उस्तै प्रकारका वस्तुको कारोबार मूल्यभन्दा कम हुने गरी पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यको हकमा उपदफा ३ बमोजिम प्रमाण पेस गर्न लगाउँदा पनि उपदफा ४ बमोजिम घोषणा गरेको कारोबार मूल्य प्रमाणित हुन नसकेमा भन्सार अधिकृतले उपदफा २ मा उल्लिखित अर्थात् विश्व व्यापार संगठनको मूल्याङ्कनसम्बन्धी मूलभूत सिद्धान्तहरूको प्रतिकूल नहुने गरी कारोबार मूल्य निर्धारण गरी त्यसको कारण सहितको लिखित सूचना पैठारीकर्तालाई दिनु पर्ने कार्यविधि उपयुक्त दफा ७ को उपदफा ५ ले निर्धारण गरेको देखिन्छ ।
८. यसप्रकार पैठारी भएको वस्तुको भन्सार महसुल निर्धारण गर्ने सम्बन्धमा भएको भन्सार ऐन, २०१९ को दफा १३ को प्रावधान र सो प्रावधानलाई अझ स्पष्ट गर्ने सम्बन्धमा आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ ले गरेको उपर्युक्त कानूनी प्रावधानको सन्दर्भमा प्रत्यर्थी वीरगञ्ज भन्सार कार्यालयबाट भएको यससम्बन्धी कारबाही कानून अनुरूप भएको छ, छैन भनी हेर्नु पर्ने भएको छ । यस दृष्टकोणबाट हेर्दा पुनरावेदकले आफूले पैठारी गरेको सुकुमेल (SMALL CARDAMOM Mix Green Medium Open pods) १० मेट्रिक टनको अमेरिकी डलर २६,००० कारोबार मूल्य उल्लेख गरी बिक्रेता KAJ Establishment Pvt. Ltd. Singapore ले जारी गरेको जनवरी ६, २००५ को Commercial Invoice, उक्त सामान आयात गर्नको लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, वीरगञ्ज शाखाबाट खोलिएको प्रतितपत्र तथा सामानको ढुवानीसम्बन्धी कागजातसमेत संलग्न गरी पुनरावेदक भन्सार कार्यालयमा यससम्बन्धी घोषणापत्र पेस गरेको र सोसम्बन्धमा भन्सार कार्यालयबाट उक्त घोषणापत्रको पिठमा “वीरगञ्ज भन्सार कार्यालय अभिलेख शाखाबाट भनी निवेदकको मिति २०६१।१२।१ मा पेस गरेको दर्ता नं. ५७३२ को निवेदनको आधारमा २०६१।१२।३ को निर्णय अनुसार संलग्न इ.नं. KAJ 2005/794 को मालवस्तुको देहायबमोजिम मूल्य निर्धारण गरिएको व्यहोरा अनुरोध छ भन्दै प्रति मेट्रिक टन CNF CAL USD 3100:00 मा बिमाबाहेक कारोबार खर्च रू. ४०,०००।– समावेश गरी मूल्य निर्धारण गर्नुहुन” भन्ने उल्लेख भएको र सोहीबमोजिम वीरगञ्ज भन्सार कार्यालयबाट भन्सार महसुल असुल भएको भन्ने देखिएको छ । उक्त व्यहोरामा उल्लिखित मिति २०६१।१२।3 को निर्णयमा पशुपति एक्पोर्ट एन्ड इम्पोर्ट हाउसले इन्भ्वाइस नं. KAJ 2005/794 Date 6th January 2005 अन्तर्गत ग्वाटेमाला ओरिजिन पैठारी गर्न ल्याएको Cardamom को भन्सार ऐन, २०१९ को दफा १३(१)(२)(३) अनुसार मूल्याङ्कनको लागि निवेदन प्राप्त भएकोमा उल्लिखित सामानको यसअघि कार्यालयबाट मूल्याङ्कन भएको अभिलेख र भन्सार विभागको पत्र समेतको आधारमा Small Cardamom Open Pods बाहेकको प्रति मेट्रिक टन CNF CAL USD 3100. मूल्याङ्कन निर्धारण भएको र आर्थिक अध्यादेश, २०६१ को दफा ७ को उपदफा ५ बमोजिम Similar Goods भएको हुँदा सोही अनुसार मूल्य कायम गरी सोमा बिमाबाहेक कारोबार खर्च ४०,०००।- समेत समायोजन गरी कारोबार मूल्य निर्धारण गर्न मनासिब भनी पेस भएको टिप्पणी मिति २०६१।१२।३ मा सदर भएको भन्ने देखिन्छ । टिप्पणीमा उल्लिखित Similar Goods भएको हुँदा भन्ने वाक्यांशबाहेक पैठारीकर्ता पुनरावेदकले पैठारी गरेको सुकुमेलको सम्बन्धमा पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यलाई अस्वीकार गरी बढी मूल्य कायम गर्दा पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य ऐनको दफा १३ को उपदफा ४ बमोजिम भन्सार कार्यालयले अवलम्बन गरी आएको “वास्तविक कारोबार मूल्य कायम गर्ने पद्धति” सँग मेल नखाएको भन्ने कुनै व्यहोरा उपर्युक्त निर्णयमा उल्लेख भएको देखिँदैन । पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य समरूप वा उस्तै प्रकारको वस्तुको मूल्यभन्दा कम देखिएकोले आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ३ बमोजिम त्यसरी मूल्य कम हुनुको यथेष्ट कारण पेस गर्न भनी पैठारीकर्तालाई लेखिएको, सोधिएको वा मौका दिइएको भन्नेसमेत उक्त कारबाहीसम्बन्धी निर्णय फाइलबाट देखिएको छैन । पैठारीकर्ताले गरेको मूल्यसम्बन्धी घोषणालाई अस्वीकार गरी बढी मूल्य कायम गर्दा भन्सार अधिकृतले विश्व व्यापार संगठनको मूल्याङ्कनसम्बन्धी मूलभूत सिद्धान्तलाई अवलम्बन गरेको भन्ने पनि उक्त निर्णयमा उल्लेख भएको
पाइँदैन । पैठारीकर्ताले घोषणा गरेको मूल्यलाई अस्वीकार गरी सोभन्दा बढी मूल्य कायम गर्दा उपर्युक्त आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ५ बमोजिम पैठारीकर्ता कम्पनीलाई दिनुपर्ने कारणसहितको लिखित सूचनासमेत दिएको देखिँदैन । यसर्थ वीरगञ्ज भन्सार कार्यालयबाट भएको उपर्युक्त मिति २०६१।१२।२ को मूल्य निर्धारणसम्बन्धी निर्णयमा कानूनले निर्धारण गरेबमोजिमको माथि वर्णित कुनै पनि कार्यविधि वा प्रक्रिया पुरा गरिएको भन्ने देखिन आएन ।
९. यसप्रकार पुनरावेदक वीरगञ्ज भन्सार कार्यालयले प्रत्यर्थी पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यलाई अस्वीकार गरी पैठारी भएको वस्तुको बढी मूल्य कायम गरी भन्सार महसुल निर्धारण गर्दा भन्सार ऐन, २०१९ को दफा १३ को उपदफा ४ मा उल्लेख भएअनुसारको कार्य पुनरावेदक कार्यालयले अवलम्बन गरी आएको “वास्तविक कारोबार मूल्य कायम गर्ने पद्धति” को बारेमा केही उल्लेख नभएको, पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्य पहिले पैठारी भएका स्वरूप वा उस्तै प्रकारका वस्तुको कारोबार मूल्यभन्दा कम देखिएकोले त्यसरी कम हुनुको कारण र प्रमाण पेस गर्न आर्थिक अध्यादेश, २०६१ को अनुसूची १ को दफा ७ को उपदफा ३ बमोजिमको कुनै सूचना र अवसर पैठारीकर्तालाई दिएकोसमेत नदेखिएको र पैठारीकर्ताले घोषणा गरेको कारोबार मूल्यलाई अस्वीकार गरी विश्व व्यापार संगठनको मूल्याङ्कनसम्बन्धी मूलभूत सिद्धान्त अवलम्बन गरी बढी मूल्य निर्धारण गरिएको कारणसहितको सूचना उपर्युक्त दफा ७ को उपदफा ५ बमोजिम पैठारीकर्तालाई दिएकोसमेत नदेखिएको स्थितिमा प्रत्यर्थी आयात कर्ताले घोषणा गरेको कारोबार मूल्यभन्दा बढी मूल्य कायम गर्ने गरी भएको पुनरावेदक वीरगञ्ज भन्सार कार्यालयको मिति २०६१।१२।2 को मूल्य निर्धारणसम्बन्धी निर्णय गर्ने गरी भएको र उक्त निर्णयबमोजिमको मूल्यलाई समर्थन गर्ने गरेको प्रत्यर्थी भन्सार विभाग मूल्याङ्कन समितिको मिति २०६१।१२।२४ को निर्णयसमेत मिलेको नदेखिँदा सो निर्णयलाई उल्टी गरी आयातकर्ता कम्पनीले पेस गरेको भन्सार मूल्याङ्कनलाई सदर गर्ने गरेको राजस्व न्यायाधिकरण, काठमाडौंको फैसला मिलेको नै देखियो ।
१०. अतः माथि उल्लिखित कानूनी व्यवस्था र मिसिल संलग्न कागजातहरूबाट आयातकर्ताको बीजक मूल्यलाई मान्यता नदिई भन्सार प्रयोजनको लागि बढी भन्सार मूल्याङ्कन कायम गर्ने गरी भएको वीरगञ्ज भन्सार कार्यालयको मिति २०६१।१२।२ को निर्णय र सो निर्णयलाई समर्थन गर्ने गरी भएको भन्सार विभाग मूल्याङ्कन पुनरावलोकन समितिको मिति २०६१।१२।२४ को निर्णय न्याय र कानूनसम्मत नहुँदा उल्टी हुने भई करदाताले पेस गरेको भन्सार दरभन्दा बढी भन्सार कायम गरी सो लिएको रकम फिर्ता हुने ठहर्छ भनी राजस्व न्यायाधिकरण, काठमाडौंबाट मिति २०६६।०५।११ मा भएको फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । पुनरावेदक भन्सार विभागको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.दीपकराज जोशी
इजलास अधिकृत : प्रेम खड्का
इति संवत् २०७१ साल फागुन १५ गते रोज १ शुभम् ।