निर्णय नं. ९५३१ - अपहरण तथा शरीर बन्धक

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७२।११।५।४
मुद्दा : अपहरण तथा शरीर बन्धक
०७०-CR-०७७०
पुनरावेदक / प्रतिवादी : कपिलवस्तु जिल्ला गजेहडा गा.वि.स. वडा नं. ८ घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका रामबहादुर थारू
विरूद्ध
प्रत्यर्थी / वादी : सुनिलकुमार उपाध्यायको जाहेरीले नेपाल सरकार
०७०-CR-०७७१
पुनरावेदक / प्रतिवादी : रूपन्देही जिल्ला रूद्रपुर गा.वि.स. वडा नं. ३ भैसाही घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका बाबुराम थारू
विरूद्ध
प्रत्यर्थी / वादी : सुनिलकुमार उपाध्यायको जाहेरीले नेपाल सरकार
०७०-CR-०७७२
पुनरावेदक / प्रतिवादी : कपिलवस्तु जिल्ला गजेहडा गा.वि.स. वडा नं. २ घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका दिपु भन्ने दिप नारायण थारू
विरूद्ध
प्रत्यर्थी / वादी : सुनिलकुमार उपाध्यायको जाहेरीले नेपाल सरकार
कुनै पनि सर्तमा व्यक्तिको स्वतन्त्रता कुण्ठित बनाई अपहरण गरी बन्धक बनाउने कार्यलाई स्वाभाविक भनी अर्थ गर्न सकिँदैन । व्यक्तिहरू बिच एकआपसमा लेनदेन गरिएको रकम असुल गर्नको लागि कानूनले विभिन्न उपाय निर्धारण गरेको नै छ । पीडितलाई अपहरण गरी शरीर बन्धक बनाउनुको सट्टा कानूनबमोजिमका निर्धारित उपायहरूको अवलम्बन गर्नुपर्ने ।
(प्रकरण नं.३)
पुनरावेदक प्रतिवादीहरूले आफूले लिनुपर्ने भनिएको रकम उठाउनका लागि पीडित जाहेरवालालाई बन्धक बनाएको देखिँदा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको २ नं. विपरीतको कसुर गरेको देखिन आउने ।
पीडितको दाजु वैदेशिक रोजगारसम्बन्धी व्यवसायमा संलग्न रहेकोले निजसँग यी प्रतिवादीहरू मध्ये बाबुराम थारू र रूद्रनारायण थारूले वैदेशिक रोजगारको लागि रकम लिनुदिनु गरेको कुरा मिसिल संलग्न प्रमाणबाट देखिनुका साथै रकमको लिनुदिनु गरेको यी पीडितसँग नभई निजको दाजुसँग भएको तर अनाहकमा पीडितलाई अपहरण गरी शरीर बन्धक लिने कार्य गरेको देखिएको तथा यिनै प्रतिवादीहरू र जाहेरवाला बिच पक्ष विपक्ष भई चलेको ठगी मुद्दामा ठगी गरेको ठहरी फैसलासमेत भइसकेको अवस्था हुँदा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिँदा लिएको आधारसँग सहमत हुन नसकिने ।
(प्रकरण नं.४)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता लभकुमार मैनाली र विद्वान् अधिवक्ता केन्द्रविक्रम शाह
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री विष्णु सुवेदी
पुनरावेदन अदालतमा फैसला गर्ने :
मा.न्या. श्री ठाकुरप्रसाद शर्मा
मा.न्या. श्री बाबुराम रेग्मी
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत, बुटवलको फैसलाउपर मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा यस अदालतबाट मिति २०७०।७।२७ मा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:-
मिति २०६६।८।२० गतेका दिन बाबुराम चौधरी थारू, बुद्धिराम थारू र बाबुराम चौधरीको भिनाजु नाता पर्ने २ जना मानिस आई छोरा सुनिलकुमार उपाध्यायलाई काम छ भनी घरैदेखि अपहरण गरी लगी राखी फिरौती रकम स्वरूप रू. ९,६०,०००।- माग गरेका हुँदा कारवाही गरी छोरा सुनिलकुमारलाई अपहरण मुक्त गराई पाउँ भन्नेसमेत व्यहोराको सुदर्शनप्रसाद उपाध्यायको निवेदन ।
मिति २०६६।८।१० गते म आफ्नै घरमा बसिरहेको अवस्थामा विपक्षी बाबुराम थारू र निजको ज्वाइँ नाता पर्ने व्यक्तिले जिल्ला रूपन्देही गोनाहा गा.वि.स. वडा नं. २ बाट अनटेस्ट मोटर साइकलमा जबरजस्ती बसाली लगी पेस्तोलसमेत ताकी अज्ञातस्थलमा लगी कोठाभित्र थुनी शरीर बन्धक बनाई कुटपिट गरी ज्यान मार्ने धम्कीसमेत दिई फिरौती रकम स्वरूप रू.१०,००,०००।- माग गरे । उक्त रकम लिन भनी चाँदनी चोकमा अपहरणकारीहरू बाबुराम थारू, मणिराम थारू, चिनक थारू, रूद्रनारायण थारू, दिपु भन्ने दिपनारायण थारू, रघुनाथ वि.क., दुखेप्रसाद थारू, रामबहादुर थारूसमेत भई आएको अवस्थामा प्रहरी कर्मचारीलाई देखी मलाई छाडी भागी गए । निज अपहरणकारीहरूले मलाई अपहरण गरी बन्धक बनाई ८ दिनसम्म राखी फिरौती रकमसमेत माग गरेका हुँदा निजहरूलाई पक्राउ गरी सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको सुनिलकुमार उपाध्यायको जाहेरी
दरखास्त ।
वारदातपश्चात् फरार अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादी बाबुराम थारू, रामप्रसाद थारू, रामबहादुर थारू, रघुनाथ वि.क., चिनका थारू र मणिराम थारूलाई खोजतलास गर्ने क्रममा मिति २०६६।८।३० गते जिल्ला रूपन्देही, रूद्रपुर गा.वि.स. अन्तर्गत भैसाही भन्ने स्थानमा फेला पारी पक्राउ गरी दाखिला गरिएको हो भन्नेसमेत व्यहोराको प्रहरीको प्रतिवेदन ।
मिति २०६६।८।२० गते बाबुराम थारूसमेतले सुनिलकुमार उपाध्यायलाई अपहरण गरी ल्याई खबर गरी हामी चिनका थारू, रामबहादुर थारू, मनिराम थारू, रामबहादुर थारू, रघुनाथ वि.क., रामप्रसाद थारू, रूद्रनारायण थारू, दिपु भन्ने दिपनारायण थारूलाई बोलाई विदेश जाँदा खर्च भएको रू.९,६०,०००।- रकम उठाई दिन सहयोग गरी दिनुपर्यो भनेपछि हामी मिलीजुली उक्त रकम उठाई दिनको लागि सुनिलकुमार उपाध्यायलाई भाग्न उम्कन नदिईकन बन्धक बनाई सुभावती थारू, दुवेप्रसाद थारू र रघुनाथ वि.क.को घरमा गई मिति २०६६।८।२८ गतेसम्म बन्धक बनाई कामको सहयोग गरेका हौं भन्नेसमेत व्यहोराको मनिराम थारू, रामप्रसाद थारू भन्ने राजु थारू, रघुनाथ वि.क., रामबहादुर थारू, चिनका थारूले गरेको एकै मिलानको कागज ।
म र रूद्रनारायण थारूलाई वैदेशिक रोजगारका लागि सुनिलकुमार उपाध्याय र शुशिल उपाध्यायले बैङ्कक पठाइदिएकोमा राम्रोसँग रोजगार नलगाई दिएकोले दुवै जना फर्की आयौं । आउँदा जाँदा गरी दुवै जनाको कुल रू.९,६०,०००।- खर्च भएको रकम उठाउनको लागि जेठान नाता पर्ने दुवेप्रसाद थारूसँग मिली मिति २०६६।८।३० गते सुनिलकुमार उपाध्यायलाई अपहरण गरी मोटरसाइकलमा राखी ८ दिनसम्म जिल्ला कपिलवस्तु, पटना गा.वि.स. गोगापुर बस्ने सोभावती थारू, जेठान नाता पर्ने दुवेप्रसाद थारू र रघुनाथ वि.क.का घरमा बन्धक बनाई राखेको हो । मैले निजको बुवा सुदर्शनसँग रू.९,६०,०००।- रकम दिए मात्र सुनिललाई छाडिदिन्छु भनी फोनमा भनेको हुँ । उक्त रकम मिति २०६६।८।२८ गते भैसाहीमा ल्याइदिन्छु भनी सुदर्शनले भनेपछि मसमेतले सुनिललाई मोटर साइकलमा राखी उक्त स्थानमा आउँदा सादा पोसाकका प्रहरी कर्मचारीलाई देखेपछि निज सुनिललाई छाडी हामी सबै भागी गएका हौं भन्नेसमेत व्यहोराको बाबुराम थारूले मौकामा गरेको बयान ।
जिल्ला रूपन्देही, रूद्रपुर गा.वि.स. वडा नं. ३ स्थित पूर्वमा किसुनप्रसाद थारूको खेत, पश्चिम ग्रावेल सडक, उत्तर बुद्धिराम थारूको खेत, दक्षिण बाटो यति चार किल्लाभित्र बुद्धिराम थारूको घर रहेको उक्त घरको आँगनमा सुनिलकुमार उपाध्यायलाई अपहरण गरी शरीर बन्धक बनाउँदा प्रयोग भएको लु.३प २०३५ र लु.४प ३६१२ नं. को मोटरसाइकल बरामद भएको भन्ने खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला रूपन्देही गोनाहा गा.वि.स. वडा नं. २ पुरैनीस्थित पूर्व ग्रावेल सडक, पश्चिम अवधराज मल्लाहको खेत, उत्तर बाटो, दक्षिण जितेन्द्र मिश्रको घर यति चार किल्लाभित्र सुनिलकुमार उपाध्यायको घर रहेको उक्त घरको पूर्वतर्फको बाटो नजिकबाट मिति २०६६।८।२० गते बाबुराम थारूसमेतले सुनिलकुमार उपाध्यायलाई अनटेस्ट मोटर साइकलमा राखी अपहरण गरी लगेको भन्ने चारकिल्ला सहितको घटनास्थल मुचुल्का ।
जिल्ला रूपन्देही, रूद्रपुर गा.वि.स.वडा नं. ३ स्थित पूर्व जितबहादुर थारूको खेत, पश्चिम तुल्सीराम थारूको घर, उत्तर सिताराम थारूको खेत, दक्षिण सडक यति चारकिल्लाभित्र बाबुराम थारूको २ तले पक्की घर रहेको उक्त स्थानमा खानतलासी गर्दा हातहतियार खरखजाना तथा अपहरण तथा शरीर बन्धक मुद्दासँग प्रमाण लाग्ने कुनै पनि चिजवस्तु फेला नपरेको भन्ने खानतलासी मुचुल्का ।
मिति २०६६।८।२१ गते म आफ्नो पसलमा बसेको अवस्थामा सुदर्शनप्रसाद उपाध्याय आई तपाइँको भाइ बाबुराम थारूसमेतले मेरो छोरा सुनिललाई अपहरण गरी मिति २०६६।८।२० गते मोटरसाइकलमा राखी कता लगे फिर्ता दिएका छैनन्, रू.९,६०,०००।- माग गरेका छन्, बाबुरामसँग भेट गरी सुनिललाई मुक्त गराउनु पर्यो भनेकाले मैले बाबुरामको मोबाइलमा फोन गरी किन अपहरण गरेको हो, यस्तो काम नगर भन्दा सुदर्शनले दिनुपर्ने रकम दिएमात्र छाडी दिने हो, नत्र छाडी दिन्नौ भन्यो । सुनिललाई बाबुराम थारू, दुवेप्रसाद थारू, मणिराम थारू, रामप्रसाद थारू, रघुनाथ वि.क., चिनका थारू, रूद्रनारायण थारूसमेतले मिति २०६६।८।२० गतेदेखि ऐ.२८ गतेसम्म कपिलवस्तुको विभिन्न ठाउँमा बन्धक बनाई राखेका रहेछन् । सुनिलकुमार उपाध्यायलाई अपहरण गर्ने गराउने क्रममा मेरो संलग्नता छैन भन्नेसमेत व्यहोराको बुद्धिराम थारूले गरेको कागज ।
मिति २०६६।८।२० गते प्रतिवादी बाबुराम थारू, रामप्रसाद थारू, रामबहादुर थारू, चिनक थारू, मणिराम थारू, रूद्रनारायण थारू, दिपु भन्ने दिपनारायण थारू, रघुनाथ वि.क. र बाबुराम थारूको भिनाजु नाता पर्ने व्यक्तिसमेत मिली जबरजस्ती मोटर साइकलमा राखी अपहरण गरी लगी बन्धक बनाई फिरौती रकम माग गरेका हुन् । सो सम्बन्धमा मैले निवेदन दिँदा बुद्धिराम थारूसमेत उपर निवेदन दिएको हुँ । पछि बुझ्दा उक्त घटनामा बुद्धिराम थारूको संलग्नता रहेनछ । मेरो छोरालाई अपहरण गर्ने अन्य व्यक्तिहरूलाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको सुदर्शनप्रसाद उपाध्यायले गरेको कागज ।
मिति २०६६।८।२० गते बाबुराम थारू, दुवेप्रसाद थारूसमेतले जिल्ला रूपन्देही गोनाहा २ बाट सुनिलकुमार उपाध्यायलाई अनटेस्ट मोटरसाइकलमा राखी अपहरण गरी लगी निजहरू र रामप्रसाद थारू, रामबहादुर थारू, मणिराम थारू, रघुनाथ वि.क., दिपु भन्ने दिपनारायण थारू, रूद्रनारायण थारूसमेत मिली कपिलवस्तुको पटना गा.वि.स. वडा नं.६ बस्ने सोभावती थारू, ऐ. मझौला बस्ने दुवेप्रसाद थारू र ऐ. बाणगंगा गा.वि.स. वडा नं.९ बस्ने रघुनाथ वि.क. समेतको घरमा ८ दिनसम्म बन्धक बनाई राखी फिरौती रकम स्वरूप रू. १०,००,०००।- माग गरेका हुन् । उक्त अवस्थामा ज्यान मार्ने धम्कीसमेत दिएका हुन् भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।
वारदातपश्चात् फरार रूद्रनारायण थारू, दिपु भन्ने दिपनारायण थारू र दुवेप्रसाद थारूको खोजतलास गर्दा फेला नपरेको भन्ने प्रहरी प्रतिवेदन ।
वारदातमा प्रयोग भएका लु.३प. २०३५ नं. को मोटर साइकलका धनी भन्ने बुझिएका लम्बु भन्ने व्यक्ति र सुनिलकुमार उपाध्यायलाई बन्धक बनाई राख्न सोभावती थारूको घर प्रयोग भएकोले निजहरूलाई उपस्थित गराउनु हुन भनी खटाई पठाइएकोमा निजहरूको खोजतलास गर्दा फेला नपरेका, सोभावति थारूको यकिन नाम सोभावति थारू भन्ने सावित्री थारू रहेको र लम्बु भन्नेको यकिन नाम थर वतन खुलाउन नसकिएको भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
प्रतिवादी बाबुराम थारू, मणिराम भन्ने मनिराम थारू, रामप्रसाद भन्ने राजु थारू, रघुनाथ वि.क. रामबहादुर थारू, चिनका थारू, दिपु भन्ने दिपनारायण थारू, रूद्रनारायण थारू र दुवेप्रसाद थारूको उक्त कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको २ नं. बमोजिमको कसुर हुँदा निजहरूलाई सोही महलको ३ नं. र ७ नं. बमोजिम सजाय गरी ऐ.को १२ नं. बमोजिम प्रतिवादीहरूबाट पीडित जाहेरवाला सुनिलकुमार उपाध्यायलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
सुदर्शन र सुनिलकुमार उपाध्यायसँग चिनजान लेनदेन झै-झगडा रिसइबी केही
थिएन । सह-प्रतिवादीहरूसँग मिति २०६६।८।२० देखि २०६६।८।२८ गतेका बिच भेटघाट भएको छैन । सुदर्शनको निवेदन बारेमा मलाई थाहा
छैन । म पहिला ने.क.पा. माओवादीमा आस्था राख्ने हुँदा त्यसको प्रतिशोध लिन यस्तो किटानी जाहेरी दिएका होलान् । सुनिलकुमार उपाध्याय र बाबुराम थारूबिच विदेश पठाउने सम्बन्धमा विवाद थियो । अपहरण गरे नगरेको थाहा छैन । म सहयोग गर्न गएको
होइन । साथीहरूले बयानमा किन त्यस्तो लेखाए थाहा छैन । मौकाको बयान मेरो होइन । लेखेको कागजमा सही गर भनेकाले सही गरेको हुँ । मोटरसाइकल कसको हो थाहा छैन । कसुर नगरेकोले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रघुनाथ वि.क.ले रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।
सुनिल र सुदर्शनप्रसाद उपाध्यायलाई चिन्दिन । निजहरूसँग लेनदेन रिसइवी केही छैन । सह-प्रतिवादी दुखेप्रसादबाहेक अरूसँग चिनजान छ । मिति २०६६।८।२० गते कसैसँग भेटघाट सम्पर्क भएको
छैन । जाहेरवाला सुनिललाई अपहरण गर्ने फिरौती माग्ने तथा शरीर बन्धक लिने कार्यमा मेरो संलग्नता
छैन । सुनिललाई कसले अपहरण गरे थाहा छैन । बाबुराम र जाहेरवाला बिच लेनदेन भए नभएको मलाई थाहा छैन । मौकाको बयान मेरो होइन । प्रहरीले कुटपिट गरी सही गराएका हुन् । अपहरण र शरीर बन्धक लिने कार्यमा मेरो संलग्नता नभएकाले अभियोगबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामप्रसाद थारू भन्ने राजु थारूले रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।
जाहेरवाला सुनिल र निजको बाबु सुदर्शनसँग चिनजान रिसइवी केही छैन । सह-प्रतिवादी बाबुराम थारू, रामप्रसाद थारू, रघुनाथ वि.क.लाई मात्र चिन्दछु । मिति २०६६।८।२० गते म पिपरामा घर बनाउने काम गर्दै थिएँ र साँझ आफ्नै घरमा गएको हुँ । मेरा विरूद्धको जाहेरी व्यहोरा झुठ्ठा हो । जाहेरवालालाई बन्धक बनाएको सम्बन्धमा मलाई केही थाहा छैन । मलाई सोधपुछ गर्न भनी प्रहरीले मिति २०६६।८।३० मा बाणगंगा ४ बाट पक्राउ गरेको हो । मौकाको बयान मेरो होइन । प्रहरीले आफैँ लेखी डरत्रास देखाई सही गराएका हुन् । सह–प्रतिवादीहरूले मेरो नाम किन लेखाए थाहा भएन । सुनिललाई अपहरण गर्ने कार्यमा मेरो संलग्नता नहुँदा अभियोगबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी मणिराम थारू भन्ने मनिराम थारूले रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।
सह-प्रतिवादीहरू कसैसँग पनि मेरो मिति २०६६।८।२० देखि २०६६।८।२८ गतेसम्म भेट भएको थिएन । सुनिललाई कसले किन अपहरण गरे मलाई थाहा भएन । सुनिलले मेरो नामसमेत लेखी किन किटानी जाहेरी दिए मलाई थाहा भएन । मिति २०६६।८।२८ मा पटना गा.वि.स.मा बाँध बाँध्ने कामको लागि गएको थिएँ । सह-प्रतिवादीहरूले मौकामा गरेको बयानमा मेरो नाम किन उल्लेख गरे मलाई थाहा भएन । मेरो भएको भनिएको बयान मलाई पढेर सुनाएका होइनन् । सही गर भनेकाले सही गरेको हुँ । अभियोगबमोजिम कसुर नगरेकाले सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर थारूले रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।
जाहेरवालालाई चिनेको छैन । रिसइवी झगडा केही छैन । मिति २०६६।८।२० देखि ऐ.२९ सम्म सह-प्रतिवादीसँग भेटघाट सम्पर्क भएको
छैन । सुनिललाई अपहरण गर्ने शरीर बन्धक बनाउने कार्यमा मेरो संलग्नता छैन । कसले अपहरण गरे मलाई थाहा भएन । किन किटानी जाहेरी दिए मलाई थाहा भएन । मौकाको बयान मेरो होइन । प्रहरीले जबरजस्ती सही गराएका हुन् । अपहरणमा मेरो संलग्नता नभएकाले अभियोगबमोजिम मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी चिनका थारूले रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।
जाहेरवाला सुनिलसँग लेनदेन कारोबार भएको थियो । मसँग तमसुक छ । प्रतिवादी रूद्रनारायण र दिपु भन्ने दिपुनारायण थारू मेरो भिनाजु नाताका हुन् । दुवेप्रसाद थारू मेरो जेठान हुन् र अरू सबै मेरा साथी हुन् । सुनिल तथा निजको दाजु सुशिलकुमार उपाध्यायले म र रूद्र नारायणलाई थाइल्यान्डमा रोजगारका लागि २ महिनाअगाडि पठाएका थिए । हामीसँग सुनिल पनि सँगै थाइल्यान्ड गएका थिए । आठ दिन बैङ्ककको होटलमा राखे । त्यसपछि काम लगाई दिन्छु भनी गाडीमा राखी एउटा घरमा छाडी आफू फर्केर नेपाल आएछन् । हामी २ जनाले तीन/तीन लाख गरी रू. छ लाख बुझाएका थियौं । घर बनाउने काम भनेर लगेको थियो काम पाइएन । दुईतर्फको आउने जाने टिकट थियो त्यो पैसा पनि झिकी
दिएछन् । हामी घरबाट टिकट मगाएर नेपाल फर्केका हौं । त्यही खर्च भएको र सुनिललाई दिएको पैसाको हरहिसाब गरी पैसा फिर्ता माग्ने विषयमा मेरो घरमा छलफल गर्दा भेट भएको हो । हामीले सुनिललाई निजको घरबाहिर राखेर हामीले लिनुपर्ने पैसा रू. ९,६०,०००।- माग गरेका हौं । फिरौती मागेका
होइनौं । जाहेरीको व्यहोरा झुठ्ठा हो । मलाई अभियोगबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी बाबुराम थारूले रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६६।६।२० देखि ऐ.२८ सम्म प्रतिवादीहरूसँग भेटघाट फोन सम्पर्क भएको
होइन । जाहेरवालालाई मैले अपहरण गरी फिरौती मागेको छैन । जाहेरवालाले विदेश पठाउँछु भनी लगेको रकम फिर्ता दिनुपर्छ भनी यस्तो जाहेरी दिएका
हुन् । मउपरको जाहेरी झुठ्ठा हो । सह-प्रतिवादी बाबुराम थारूसमेतले मौकामा गरेको बयानमा किन मेरो संलग्नता देखाए थाहा भएन । सुदर्शनले गरेको कागजबारे मलाई थाहा भएन । अभियोगबमोजिम जाहेरवाला सुनिललाई अपहरण गर्ने तथा शरीर बन्धक राख्ने कार्यमा मेरो संलग्नता नभएकोले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी दिपनारायण थारूले रूपन्देही जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादी रूद्रनारायण थारू र दुखेप्रसाद थारूको नाममा तामेल भएको म्यादमा हाजिर नभई गुजारी बसेको ।
जाहेरवाला सुनिलकुमार उपाध्याय, सुदर्शनप्रसाद उपाध्याय, वस्तुस्थिति मुचुल्काका वालकिसुन भर, रामशरण यादव र नन्दलाल मल्लाह, प्रतिवादीका साक्षीहरू दानबहादुर सुनार, श्याम गुरूङ, द्रोपती थारू, बुद्धिराम थारू, मानबहादुर सुनार, गोविन्दप्रसाद थारू र सीताराम थारूले गरेको बकपत्र मिसिल सामेल रहेको ।
फरार प्रतिवादीहरू रूद्रनारायण थारू र दुखेप्रसाद थारूको हकमा प्रस्तुत मुद्दा अ.बं. १९० नं. बमोजिम मुलतबीमा राखिने ठहर्छ । प्रतिवादीहरू बाबुराम थारू, रामबहादुर थारू, दीपनारायण थारू र चिनका थारूउपरको किटानी जाहेरी, पीडित तथा जाहेरवालाको अदालतसमक्षको बकपत्रबाट समर्थित भएको, वस्तुस्थितिका मानिसहरूको भनाइ, लेनदेनको जरियाबाट प्रस्तुत घटना घटेको मिसिल संलग्न तथ्य प्रमाणबाट पुष्टि भएको समेतबाट यी प्रतिवादीहरूले अभियोगबमोजिम कसुर गरेको पुष्टि हुँदा निजहरूलाई जनही ४ वर्ष कैद र जनही पचास हजार जरिवाना हुनुका साथै ऐ. ७ नं. बमोजिम थप जनही २ वर्ष कैद तथा ऐ. ऐनको १२ नं. बमोजिम दैनिक रू. ५००।- का दरले दिन ८ को क्षतिपूर्ति रकमसमेत भराइदिने ठहर्छ । प्रतिवादीहरू रामप्रसाद भन्ने राजु थारू, मनिराम थारू र रघुनाथ वि.क.को नाम हुलिया जाहेरीमा किटान नभएको, जाहेरवालाले निजहरूको वारदातमा संलग्नता नरहेको भनी अदालतमा बकपत्र गरेको वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइ तथा प्रतिवादीहरूको इन्कारी बयानसमेतबाट यी प्रतिवादीहरूले अभियोग मागदाबीबाट सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको रूपन्देही जिल्ला अदालतको मिति २०६७।७।२९ को फैसला ।
सुरू फैसलामा चित्त बुझेन । हामीहरू उपरको जाहेरी र अभियोग मागदाबी मुलुकी ऐन अपहरण तथा शरीर बन्धक लिनेको महलको २,३ र ७ नं. को परिभाषा वा कसुरभित्र पर्दैन । जाहेरवालाकै भनाइलाई मात्र आधार लिई स्वतन्त्र र निर्विवाद सबुद प्रमाणहरूको मूल्याङ्कन नगरी फैसला गरिएको छ । अदालतमा बयान गर्दा हामीहरू कसुरमा इन्कार रहेको साथै जाहेरवाला र पीडित भनिएका सुनिलकुमार समेतले हाम्रो के कस्तो संलग्नता थियो भनी देखाउन सकेका छैनन् । यस्तो अवस्थामा हामीहरूलाई कसुरदार ठहर्याई सजाय गरी क्षतिपूर्तिसमेत भराइदिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा पूर्णरूपमा उल्टी गरी अभियोग मागदाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू बाबुराम थारू, रामबहादुर थारू, दिपु भन्ने दिपनारायण थारू, चिनका थारूको पुनरावेदन अदालत, बुटवलमा दायर पुनरावेदनपत्र ।
सुरू फैसलामा चित्त बुझेन । प्रस्तुत मुद्दाका पीडित सुनिलकुमार उपाध्यायले प्रतिवादीहरू मनिराम थारू, राजु थारू र रघुनाथ वि.क. उपरसमेत किटानी जाहेरी दिएका हुन् । मौकाको बयानमा यी प्रतिवादीहरू आरोपित कसुरमा साबित भएका र अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरूले पनि निज प्रतिवादीहरू उपरको कसुर पुष्टि गर्ने गरी लेखाइदिएको अवस्थामा निज प्रतिवादीहरूलाई सफाई दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, बुटवलमा दायर पुनरावेदनपत्र ।
सुरू जिल्ला अदालते सफाई दिने ठहर गरेका प्रतिवादीहरू मनिराम थारूसमेत ३ जनाका सम्बन्धमा वादी नेपाल सरकारको तर्फबाट तथा कसुरदार ठहर गरिएका प्रतिवादी बाबुराम थारूसमेतको पुनरावेदन परेको अवस्था देखियो । यसका अतिरिक्त अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. र ३ नं. को व्याख्यात्मक प्रश्नलगायत प्रमाण मूल्याङ्कनका दृष्टिले समेत सुरू फैसला विचारणीय देखिएको हुँदा मुलुकी ऐन, अ.बं. २०२ नं. एवं पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ समेतको प्रयोजनार्थ प्रतिवादी बाबुराम थारूसमेतको पुनरावेदन परेको जनाउ पुनरावेदन सरकारी वकिल कार्यालय, बुटवललाई दिई साथै प्रतिवादीहरू मनिराम थारू, राजु थारू र रघुनाथ वि.क.लाई छलफलका लागि झिकाई अरू नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६८।९।११ को आदेश ।
प्रतिवादी बाबुराम थारूसमेतलाई बैंङ्कक पठाउने सिलसिलामा रकम लिनुदिनु भएको कुरा मिसिल संलग्न लिखतबाट देखिएको र सो कुरालाई प्रतिवादीले स्वीकार गरेकोसमेत देखिँदा कुनै फिरौती रकमका लागि शरीर बन्धक लिएको नभई आफूले लिनुपर्ने भनिएको रकम उठाउनका लागि प्रतिवादीहरूले गलत बाटो अवलम्बन गरेको पुष्टि हुन आयो । अतः प्रतिवादीहरू बाबुराम थारू, रामबहादुर थारू, चिनक थारू र दिपनारायण थारूलाई जनही ४ वर्ष र थप २ वर्ष गरी ६ वर्ष कैद र रू.५०,०००।– जरिवाना गरी प्रतिवादीहरूबाट पीडितलाई दैनिक रू. ५००।– का दरले दिन ८ को क्षतिपूर्ति रकमसमेत भराई दिने तथा प्रतिवादीहरू मनिराम थारू, रघुनाथ वि.क., र रामप्रसाद थारूलाई अभियोग दाबीबाट सफाई दिने ठहर्याई सुरू रूपन्देही जिल्ला अदालतबाट मिति २०६७।७।२९ मा भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, बुटवलको मिति २०६९।३।२५ को फैसला ।
मैले जाहेरवाला सुनिललाई अपहरण गरेको होइन । निजसँग उल्लिखित मितिमा भेटघाटसमेत भएको छैन । मेरो भाइ रूद्रनारायण थारूलाई विदेश पठाउँछु भनी जाहेरवालाले रकम लिई ठगी गरेको हुँदा आफूउपरको सम्भावित कारबाहीबाट बच्ने उद्देश्यले मात्र मउपर आरोप लगाएको हो । मेरा साक्षीले मेरो इन्कारी बयानलाई समर्थन पुष्टि हुने गरी बकपत्र गरिदिएका छन् । सुदर्शनप्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा दिएको हुलिया जाहेरी निवेदनमा बाबुराम थारूसमेतका ४ जनाको मात्र नाम उल्लेख भएको छ । मेरो नाम उल्लेख थिएन । मेरो कुन अवस्थामा के कस्तो संलग्नता थियो भन्ने कुरा कहीँ कतैबाट खुल्न सकेको छैन । बुद्धिराम थारूले प्रहरीमा कागज गर्दा बाबुराम थारूलगायतका व्यक्तिहरूको संलग्नता रहेको भनी मेरो नाम उल्लेख गरेका
छैनन् । कसुरमा संलग्न रहेको भन्ने अवस्था कतैबाट पनि नदेखिई निर्दोष प्रमाणित हुँदाहुँदै पनि मलाई कसुरदार कायम गर्ने गरेको फैसला आधारभूतरूपमा गलत एवं त्रुटिपूर्ण छन् । कसुरमा साबित नभई अदालतबाट जारी भएको वारेन्ट म्यादमा उपस्थित हुँदा तथ्ययुक्त इन्कारी बयान दिएको अवस्थामा म के कुन आधारबाट कसुरदार ठहर्ने हो? भन्ने कुरा फैसलामा खुलेको छैन । तसर्थ, सुरू फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत, बुटवलको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को त्रुटि विद्यमान हुँदा दोहोर्याउने निस्सा प्रदान गरी मुद्दा हेरी पुनरावेदन फैसला उल्टी गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपु भन्ने दिपनारायण थारूको यस अदालतमा दायर पुनरावेदन पत्र ।
जाहेरवालाका कथनहरू आपसमा बाझिएका छन् । सफाई पाएका प्रतिवादीहरूको नाम राखी जाहेरी दिएकोमा पछि बकपत्र गर्दा यिनीहरू भए जस्तो नलागेको भनी लेखाएकाले निजका भनाइहरू विश्वासलायक छैनन् । जाहेरवाला वा पीडित भनिएका व्यक्तिले जेसुकै भने पनि विश्वास गर्नुपर्छ भन्ने तर्क युक्तियुक्त हुन सक्दैन । उनी असल नियत भएका मानिस
होइनन् । उनी, उनका दाजु र बाबुसमेत उपर रकम ठगी गरेको सम्बन्धमा मुद्दा दायर छ । प्रस्तुत मुद्दा उठानसम्बन्धी जड भनेको जाहेरवालासमेतले हामीलाई बैङ्कक पठाइदिने भनी लिएको रू.९,६०,०००।– को विषय नै हो । हाम्रो दुर्बल आर्थिक अवस्था चेतनाको कमीका कारण रकम फुत्काई थाइल्यान्डसम्म पुर्याई त्यही अलपत्र छाडी भागेकोले पुनः घरबाट भाडा मगाई नेपाल फर्कनु परेको कुरा मेरो बयान एवं मेरा साक्षी बकपत्रबाट स्थापित भएको छ । जाहेरवाला पीडित व्यक्ति होइनन् । वास्तविक पीडित पक्ष भनेको म र रूद्रनारायण हौं । ठगीको कारवाहीबाट बच्ने र रूपैयाँ फिर्ता गर्नु नपर्ने भन्ने सुनियोजित चाल खेली यो प्रपञ्च मिलाएको हो । फैसलामा यसतर्फ विवेचना भएन । जाहेरवालालाई जबरजस्ती घरबाट लिएर गई ८ दिन बन्धक बनाई राखेको कुरा बनावटी हो । निज हरहिसाब सम्बन्धमा सल्लाह गर्न भनी राजीखुसीबाटै मसँग घरबाट हिँडी मेरो घरमा बसी उसै दिन कुराकानी भई फिर्ता भएका हुन् । बिचको ७ दिन निज कहाँ बसे निजैले जानून् । हामी सबै जनाले अदालतमा सत्य तथ्य खुलाई इन्कारी बयान दिएका छौं । यस्तो अवस्थामा निहित स्वार्थप्रेरित जाहेरवालाले कसैलाई किटान गरेकै आधारमा अभियोग खम्बिर हुने र कसैलाई होइन भनिदिएकै आधारमा दोषी वा निर्दोषी सिद्ध हुने भन्ने कुरा न्यायोचित हुन सक्दैन । सतहीरूपबाट मलाई कसुरदार कायम गरेकोबाट मलाई अन्याय पर्न गएको छ । तसर्थ, सुरू फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत, बुटवलको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को त्रुटि विद्यमान हुँदा दोहोर्याउने निस्सा प्रदान गरी मुद्दा हेरी पुनरावेदन फैसला उल्टी गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी बाबुराम थारूको यस अदालतमा दायर पुनरावेदन पत्र ।
जाहेरवालाको कथनहरू आपसमा बाझिएका छन् । सफाई पाएका प्रतिवादीहरू समेतका नाम राखी जाहेरी दिएकोमा पछि बकपत्र गर्दा यिनीहरू भए जस्तो नलागेको भन्ने लेखाएकाले निजको भनाइ विश्वासलायक छैन । जाहेरवाला वा पीडित भनिएका व्यक्तिले जे भने पनि विश्वास गर्नुपर्छ भन्ने तर्क युक्तियुक्त हुँदैन । उनी असल नियत भएका मानिस होइनन् । उनी, उनका दाजु र बाबुउपर रकम ठगी मुद्दा दायर छ । जाहेरवालाले आफू अपहरित हुँदा मेरो उपस्थिति र संलग्नता भएको लेखेका छैनन् । केबल आफूलाई बन्धक राखेको अवस्थामा सो स्थानहरूमा रहेको भनी उल्लेख गरेका छन् । सफाई पाएका प्रतिवादीहरूसमेत संलग्न भएको भनी जाहेरी दिएकोमा पछि बकपत्र गर्दा यिनीहरू भए जस्तो नलागेको भनी लेखाएका छन् । यसरी जाहेरी र बकपत्र बाझिएका मात्र होइनन्, बकपत्र स्वयम् पनि अस्पष्ट र भ्रामक छ । यस्तोमा ती तीनजना प्रतिवादीहरूसरह समान स्थितिको मैले पनि सफाई पाउनु पर्ने हो । मौकाको मेरो साबितीलाई प्रमाणको आधार मानिएको पाइन्छ । मलाई नसोधीकन जबरजस्ती सहीछाप गराइएको हुँदा मैले अदालतमा इन्कारी बयान गरेको छु । अनुसन्धानमा त सफाई पाएको ३ जनालाई पनि साबित गराइएको छ तर पनि उनीहरू निर्दोष पाइएका छन् । यो कुरा मेरो हकमा पनि लागू हुनेमा त्यसतर्फ ध्यान दिइएन । अनुसन्धानबाट तयार गरेको परिदृश्यलाई नै सत्यतथ्य भनी मानिलिने हो भने पनि अपहरण तथा शरीर बन्धकसम्बन्धी महलको १ र २ नम्बरका परिभाषाहरू अनुरूप मेरो संलग्नता रहेको छैन । सोही महलको ४ नं. मा दुरूत्साहन गर्ने आदेश दिने वा त्यस्तो कसुर हुनुभन्दा अगावै कसुर गर्न सहमति दिने व्यक्तिलाई निजले नै कसुर गरेको मानी सजाय गर्ने व्यवस्था भएकोमा मेरो त्यस्तो भूमिका पनि अनुसन्धानबाट देखिँदैन । यस अर्थमा उक्त १, २ र ४ नम्बरका सम्बन्धमा समेत फैसला गलत छ । तसर्थः सुरू फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत, बुटवलको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को त्रुटि विद्यमान हुँदा दोहोर्याउने निस्सा दिई मुद्दा हेरी सफाई गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर थारूको यस अदालतमा दायर पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दामा उल्लिखित रकमकै सम्बन्धमा प्रस्तुत मुद्दाको प्रतिवादी बाबुराम थारूको जाहेरीले वादी नेपाल सरकार भई रूपन्देही जिल्ला अदालतसमक्ष अपहरण तथा शरीर बन्धक मुद्दाको जाहेरवालासमेत प्रतिवादी भई ठगी मुद्दा चलेको र सो मुद्दामा ठगी गरेको ठहरी फैसला भएको कुरा निवेदकतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री लवप्रसाद मैनाली एवं विद्वान् अधिवक्ता श्री चुडामणि भुषालको बहस निवेदन एवं निजहरूबाट प्रस्तुत उक्त ठगी मुद्दाको प्रतिलिपिसमेतबाट देखिएकोले प्रस्तुत मुद्दाको फैसलामा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलअनुसार समेत सजाय भएको कुरा सो महलको १ नं. २ नं. ३ नं. एवं प्रमाण ऐन, २०३१ को दफा ५४ तथा अदालती बन्दोबस्तको १८४क समेतको कानूनी त्रुटि भएको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम दोहोर्याई हेर्न पुनरावेदनको अनुमति प्रदान गरिदिएको छ । प्रस्तुत अपहरण तथा शरीर बन्धक मुद्दाको मिसिलको साथै कानून व्यवसायीहरूद्वारा पेस भएको ठगी मुद्दाको मिसिलसमेत प्रमाणको निमित्त मगाई नियमानुसार कारवाही गर्नु भनी मिति २०७०।७।२७ मा यस अदालतबाट भएको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री लभकुमार मैनाली र विद्वान् अधिवक्ता श्री केन्द्रविक्रम शाहले जाहेरवालाको अपहरण गरी शरीर बन्धक गर्ने कार्यमा पुनरावेदक प्रतिवादीहरूको के कस्तो किसिमको संलग्नता रहेको थियो भन्ने कुरा स्पष्टरूपमा कहीँ कतैबाट प्रमाणित हुन सकेको छैन । वारदातको सम्बन्धमा जाहेरवालाको भनाइ एकापसमा बाझिएको छ । प्रस्तुत मुद्दा प्रतिवादी बाबुराम थारूसमेतलाई विदेश पठाइदिने भनी पैसा लगेको कारण उठान भएको हो । सोही कारण जाहेरवालासमेत उपर ठगी मुद्दा पनि दायर भएको छ । एकै वारदातमा संलग्न रहेकामध्ये केहीलाई सफाई दिने र केहीलाई कैदमा बस्नु पर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । संगठितरूपमा अपराध गर्ने मक्सदसहित अपराध गरेको सन्दर्भमा मात्र संगठित अपराधको रूपमा लिनुपर्नेमा सो नगरी २ जनाभन्दा बढी प्रतिवादीहरू भएको आधारमा मात्र संगठितरूपमा अपहरण गरेको भनी मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं. बमोजिम थप सजाय गर्ने गरी भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको मिति २०६९।३।२५ को फैसला बदर गरी पुनरावेदक प्रतिवादीहरूलाई सफाई गरिपाउँ भनी बहस गर्नुभयो ।
प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहालले पुनरावेदक प्रतिवादीहरूउपर जाहेरवालाले किटानी जाहेरी गरेका छन् । साक्षीको बकपत्रबाट पनि यी प्रतिवादीहरूको वारदातमा संलग्नता रहेको पुष्टि भइरहेको अवस्थामा अभियोग दाबीबमोजिम कसुरदार ठहर गरी भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।
उपर्युक्तबमोजिम पुनरावेदक तथा प्रत्यर्थीतर्फका विद्वान् अधिवक्ताहरूले गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छ छैन? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? सोही विषयमा केन्द्रित रही निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा प्रतिवादीहरू बाबुराम थारू, मणिराम भन्ने मनिराम थारू, रामप्रसाद भन्ने राजु थारू, रघुनाथ वि.क. रामबहादुर थारू, चिनका थारू, दिपु भन्ने दिपनारायण थारू, रूद्रनारायण थारू, दुवेप्रसाद थारूले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको २ नं. बमोजिमको कसुर गरेको हुँदा निजहरूलाई सोही महलको ३ नं. र ७ नं. बमोजिम सजाय गरी ऐ. को १२ नं. बमोजिम प्रतिवादीहरूबाट क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीहरू बाबुराम थारू, रामबहादुर थारू, दिपनारायण थारू, चिनका थारूलाई अभियोग मागदाबीबमोजिम जनही ४ वर्ष कैद र थप २ वर्ष कैदसमेत गरी जम्मा ६ वर्ष कैद तथा ५०,०००।–जरिवाना गरी प्रतिदिन रू. ५००/ को दरले ८ दिनको क्षतिपूर्तिसमेत भराइदिने एवम् प्रतिवादीहरू रामप्रसाद भन्ने राजु थारू, मनिराम थारू र रघुनाथ वि.क.ले सफाई पाउने ठहर्याई रूपन्देही जिल्ला अदालतबाट भएको फैसला सदर गरी भएको पुनरावेदन अदालत, बुटवलको फैसलाउपर प्रतिवादीहरू रामबहादुर थारू, बाबुराम थारू, दिपु भन्ने दिपनारायण थारूको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन दायर भई यस अदालतको मिति २०७०।७।२७ को आदेशले मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएको देखिन्छ ।
प्रतिवादीहरू मध्ये दुखेप्रसाद थारू र रूद्रनारायण थारूले सुरू म्याद गुजारी बसेको देखिँदा निजहरूको हकमा अ.बं. १९० नं. बमोजिम मुद्दा मुल्तबीमा राख्ने गरी सुरू अदालतबाट आदेश भएको र निजहरूको हकमा कानूनबमोजिम मुद्दा मुल्तबीबाट जगाई कारवाही हुने नै हुँदा प्रस्तुत पुनरावेदनको रोहबाट निजहरूको हकमा केही बोलिरहनु परेन । प्रतिवादीमध्ये चिनका थारूले पुनरावेदन नगरेकोले र अन्य प्रतिवादीहरू मनिराम थारू, रघुनाथ वि.क. रामप्रसाद थारूले सफाई पाउने ठहरी भएको सुरू फैसलालाई पुनरावेदन अदालतबाट समेत सदर हुने ठहर भई अन्तिम भई बसेकोले निजहरूको सम्बन्धमा पनि यस पुनरावेदनको रोहबाट केही बोलिरहनु परेन ।
२. निर्णयतर्फ विचार गर्दा छोरा सुनिलकुमारलाई अपहरण गरी लिई गएकोले कारवाही गरिपाउँ भनी पीडित सुनिलकुमारको बुबा सुदर्सनप्रसाद उपाध्यायले सुरूमा हुलिया जाहेरी दिएपश्चात् पीडित सुनिलकुमार उपाध्यायको किटानी जाहेरी परी प्रस्तुत मुद्दाको अनुसन्धान सुरू भएको देखिन्छ । प्रतिवादीहरूले आरोपित कसुरमा इन्कार रही जाहेरवालाको अपहरण र शरीर बन्धक गर्ने कार्यमा संलग्नता रहेको छैन भनी अदालतमा उपस्थित भई बयान गरेको भए तापनि मिति २०६६।८।२० को दिन जाहेरवाला सुनिलकुमार उपाध्यायलाई अपहरण गरी ल्याई विदेश जाँदा खर्च भएको रकम उठाउनको लागि बन्धक बनाएको हो भनी आरोपित कसुरमा साबित रही मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ । पीडित जाहेरवाला सुनिलकुमार उपाध्याय र निजका बाबु सुदर्शनप्रसाद उपाध्यायले अदालतमा उपस्थित भई आफ्नो किटानी जाहेरीलाई समर्थन गर्ने गरी प्रतिवादीहरूले अपहरण गरी बन्धक बनाई राखेको हो भनी आफ्नो बकपत्रमा लेखाइदिएको पाइन्छ । वस्तुस्थिति मुचुल्काका नन्दलाल मल्लाहले पीडित सुनिलकुमार उपाध्यायलाई मोटरसाइकलको बिचमा बसाली लिई गएको आफ्नै आँखाले देखेको हो भनी बकपत्र गरेको पाइन्छ । वस्तुस्थिति मुचुल्काका रामशरण यादवले पनि नाम थाहा छैन तर जाहेरवालालाई प्रतिवादीहरूले अपहरण गरी शरीर बाधक गरी राखेका हुन् भनी बकपत्रमा उल्लेख गरिदिएको देखिन्छ । यसप्रकार प्रस्तुत मुद्दामा कानूनतः निषेधित कार्य गरी कानूनद्वारा निर्धारण गरिएको बाटो अवलम्बन नगरी प्रतिवादीहरूले पीडित जाहेरवालालाई अपहरण गरी शरीर बन्धक बनाएको कसुर पुष्टि हुन आयो ।
३. पुनरावेदक प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गर्दा मौकाको बयान इच्छापूर्वक गरिएको होइन, जबरजस्ती गराइएको हो भनी जिकिर लिएको देखिए तापनि निजहरूको उक्त कथन स्वतन्त्र एवं वस्तुनिष्ठ प्रमाणबाट प्रमाणित हुन सकेको छैन । मौकाको बयानको क्रममा आफूले वैदेशिक रोजगारीको लागि जाहेरवाला र निजको दाजुलाई रकम बुझाएको तर सर्त अनुरूपको रोजगारीमा संलग्न नगराएको कारण थाइल्यान्ड पुगी फर्किनु परेको हुँदा रकम फिर्ता लिनको लागि अपहरण गर्नु परेको हो भनी बताएको देखिएको छ । कुनै पनि सर्तमा व्यक्तिको स्वतन्त्रता कुण्ठित बनाई अपहरण गरी बन्धक बनाउने कार्यलाई स्वाभाविक भनी अर्थ गर्न सकिँदैन । व्यक्तिहरू बिच एकआपसमा लेनदेन गरिएको रकम असुल गर्नको लागि कानूनले विभिन्न उपाय निर्धारण गरेको नै
छ । पीडितलाई अपहरण गरी शरीर बन्धक बनाउनुको सट्टा कानूनबमोजिमका उक्त निर्धारित उपायहरूको अवलम्बन गर्नुपर्ने थियो ।
४. मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको २ नं. ले ... कसैले कुनै व्यक्तिलाई बल प्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई डर त्रास देखाई, जोरजुलुम गरी, हातहतियार देखाई ... त्यसउपर अनधिकृत तवरले नियन्त्रणमा लिई थुन्न हुँदैन, सो गरे शरीर बन्धक लिएको मानिन्छ भन्ने उल्लेख गरेको पाइन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूले आफूले लिनुपर्ने भनिएको रकम उठाउनका लागि पीडित जाहेरवालालाई बन्धक बनाएको देखिँदा अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको २ नं. विपरीतको कसुर गरेको देखिन आयो । यसप्रकार यी पुनरावेदक प्रतिवादीहरू उपर अपहरण गर्ने तथा शरीर बन्धक बनाएको कसुर ठहर गरी सोअनुरूप सजाय गरेको फैसलामा अन्यथा भएको देखिएन । पीडितको दाजु सुसिलकुमार उपाध्याय वैदेशिक रोजगारसम्बन्धी व्यवसायमा संलग्न रहेकोले निजसँग यी प्रतिवादीहरू मध्ये बाबुराम थारू र रूद्रनारायण थारूले वैदेशिक रोजगारको लागि रकम लिनुदिनु गरेको कुरा मिसिल संलग्न प्रमाणबाट देखिन्छ । रकमको लिनुदिनु गरेको यी पीडितसँग नभई निजको दाजुसँग भएको तर अनाहकमा पीडितलाई अपहरण गरी शरीर बन्धक लिने कार्य गरेको देखिएको तथा यिनै प्रतिवादीहरू र जाहेरवाला बिच पक्ष विपक्ष भई चलेको ठगी मुद्दामा ठगी गरेको ठहरी फैसलासमेत भइसकेको अवस्था हुँदा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिँदा लिएको आधारसँग सहमत पनि हुन सकिएन ।
५. अतः माथि उल्लिखित आधार र कारणबाट पीडित जाहेरवालालाई संगठितरूपमा अपहरण गरी शरीर बन्धक लिने कार्य गरेको हुँदा पुनरावेदक प्रतिवादीहरू बाबुराम थारू, रामबहादुर थारू र दिपु भन्ने दिपनारायण थारूलाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. अनुसार जनही ४ वर्ष कैद र ऐ. ७ नं. अनुसार थप २ वर्ष गरी जम्मा ६ वर्ष कैद तथा रू. ५०,०००।– जरिवाना गरी प्रतिवादीहरूबाट पीडितलाई ऐ. १२ नं. अनुसार दैनिक रू. ५०० का दरले दिन ८ को दरले क्षतिपूर्ति रकमसमेत भराई दिने ठहर्याएको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।७।२९ को फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, बुटवलको मिति २०६९।३।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.बैद्यनाथ उपाध्याय
इजलास अधिकृत : मीना गुरूङ
इति संवत् २०७२ साल फागुन ५ गते रोज ४ शुभम् ।