निर्णय नं. ९५३२ - बाली

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला मिति : २०७२।३।२८।२
०६८-CI-०५८८
मुद्दाः बाली
पुनरावेदक / वादी : राम सेवकको छोरा जिल्ला बाँके बेतहनी गा.वि.स. वडा नं.१ बस्ने रामखेलावन बाहुन
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : लक्ष्मीकान्तको छोरा जिल्ला बाँके बेतहनी गा.वि.स. वडा नं. १ बस्ने चन्द्रकिशोर बाहुनसमेत
जग्गा मिच्नेको १८ नं. मा कहीँकतै पनि “फैसला अन्तिम भएको मितिले” भन्ने नभई “हक छुट्टिई अन्तिम किनारा भएका मितिले” भन्ने उल्लेख भएको र अंश मुद्दामा भएको फैसलाअनुसार बन्डा छुट्ट्याई दा.खा. दर्ता गर्ने गरी लगत कट्टाको आदेश मिति २०६४।१।६ मा मात्र भएकोले हक छुट्टिने कार्यले मिति २०६४।१।६ मा मात्र पूर्णता पाएको भन्ने जिकिरका सम्बन्धमा हेर्दा बन्डा छुट्याउने, दाखिलखारेज गर्नेलगायतका कार्य हक बेहक छुट्याउने कुरासित सम्बन्धित नभई अन्तिम फैसलाको कार्यान्वयनको पाटो भएकोले अंश मुद्दाबाट हकबेहक छुट्टिने कुरामा अंश पाउने ठहरी अन्तिम फैसला भएको मिति नै मुद्दाको अन्तिम किनारा मिति मान्नुपर्ने हुन्छ । अत: बन्डा छुट्ट्याई दा.खा. दर्ता गर्ने गरी आदेश भएको मिति अन्तिम किनारा मिति हो भन्ने पुनरावेदन जिकिरसित पनि सहमत हुन नसकिनुका साथै बाली भराइ पाउने हदम्याद नै गुजारी फिराद पर्न आएको र प्रत्यर्थी प्रतिवादीले एकलौटीरूपमा बाली खाएको भन्ने ठोस सबुत प्रमाण वादीले गुजार्न नसकेको अवस्थामा वादीदाबी पुग्न नसक्ने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट :
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, जग्गा मिच्नेको १८ नं.
मुलुकी ऐन, जग्गा पजनीको १८ नं.
सुरू फैसला गर्ने :
मा.जि.न्या. श्री सिताप्रसाद पोखरेल
पुनरावेदन तहमा फैसला गर्नेः
मा.न्या. श्री रमेश पोखरेल
मा.न्या. श्री रत्नबहादुर बागचन्द
फैसला
न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतमा दायर भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
म फिरादी वादी भई विपक्षीमध्येका प्रतिवादी चन्द्रकिशोर बाहुन, रामचन्द्र बाहुन शर्माउपर यसै बाँके जिल्ला अदालतमा संवत् २०५९ सालको दे.नं. ११८२ को अंश मुद्दा दायर गरी आएकोमा बाँके जिल्ला अदालतबाट मिति २०६०।९।२० गते फैसला हुँदा वादी दाबीबमोजिम वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण सम्पत्तिबाट वादीले २ खण्डको १ खण्ड अंश पाउने ठहर भई पुनरावेदन अदालत, नेपालगञ्जबाट समेत सोही फैसला सदर भई अन्तिम भएको । म फिरादीको अंश भागमा परेको जिल्ला बाँके वेतहनी गा.वि.स. वडा नं. १ग कि.नं. १४७, २०७, २१२, २१७, ३०९, ३१०, ३२४, ३२६, ३२९ ऐ. वडा नं. ९ख कि.नं. १३१ का जग्गामा म फिरादीको आधा अंश हक लाग्ने हुँदा ज.वि. १-०-१४१/२ जग्गा पार्दछ । उक्त जग्गाहरूमा न्यूनतमरूपमा पनि प्रतिकठ्ठा ५० के.जी. मकै, ५० के.जी. तोरी, ३० के.जी. अरहर र ३० के.जी. तिल उब्जाउ हुने गर्दछ । २०६० सालदेखि मकै प्रतिकिलो रू.१०।- अरहर रू.४०।- मा किनबेच भइरहेको छ । तसर्थ उल्लिखित जग्गामध्येमा प्रतिवर्ष मकै र अरहर ४३० के.जी. उत्पादन हुने गर्दछ । सोको प्रचलित मूल्यअनुसार अरहरको प्रतिवर्ष रू.१७,२००।- मकैको रू.८,१५०।- पर्दछ । जिल्ला बाँके बेतहनी गा.वि.स. वडा नं. १क कि.नं. ४५४ ऐ. वडा नं. १ग, कि.नं. ५०, ५१, ५३,५५, ७१, २०७ र ७० जग्गामा धान प्रतिकठ्ठा १ क्विन्टल र मसुरो प्रति कट्ठा ४० के.जी. हुने हुँदा सोको प्रचलित मूल्य मोटो धानको प्रतिकिलो रू.११।- र मसुरोको रू.२५।- मा किनबेच हुने गर्दछ । तसर्थ म फिरादीको जम्मा ज.वि. ०-१६-१४ को प्रतिवर्ष धान १६५० के.जी. र मसुरो ६४० के.जी. हुने हुँदा प्रतिवर्ष धानको रू.१८,१५०। र मसुरोको रू.१६,०००।- पर्ने हुँदा ६ वर्षको धानको रू.१,०८,९००।- र मसुरोको रू.९६,०००।- बालीको मूल्य पर्दछ । अतः प्रतिवादीहरूबाट दिए सो बाली नदिए प्रचलित मूल्यअनुसार बालीको हुने रू.४,१७,०००।- दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिराद पत्र ।
यसै अदालतबाट सुरू फैसला हुनासाथ विपक्षी वादीले २०६० सालकै बालीदेखी आधा जग्गा कब्जा गरी स्वयम् बाली खाइरहेका छन् । फिराद दाबी झुठ्ठा हुँदा खारेज गरिपाऊँ । विवादित जग्गा राप्ती नदीको नजिकको जग्गा हो प्रायः धनहरमा भने एकबाली धानमात्र लाग्छ, भिरपाखोमा कोदो, तील र कताकति मकै बाली लाग्छ । तोरी, अरहर, मुसुरो लाग्दैन । वादीको फिराद दाबी जग्गा मिच्नेको १८ नं. बमोजिम हदम्याद नाघी दायर भएकोले स्वतः खारेजभागी छ, जग्गा मिच्नेको १८ नं. को कानूनी व्यवस्थाअनुसार जग्गाको झगडा परेको बाली हकमा जग्गाको हक छुट्टिई अन्तिम किनारा भएको मितिले १ वर्षभित्र नालेस नदिए लाग्न सक्दैन भन्ने उल्लेख छ । यी वादीले दिएको अंश मुद्दाको अन्तिम फैसला मिति २०६१।८।२१ मा भएकोले सो मितिले १ वर्षभित्र मुद्दा नदिई मिति २०६५।३।१७ मा मात्र मुद्दा दायर भएकोले जग्गा मिच्नेको १८ नं. को कानूनी हदम्याद नाघी दर्ता भएको फिराद स्वतः खारेजभागी छ । खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिउत्तर जिकिर ।
यसमा मुख नमिलेका कुरामा दुवै पक्षका साक्षी बुझ्नु र वादी दाबीमा उल्लिखित जग्गाको बाली सम्बन्धमा दुवै थरीको मुख नमिलेकोले बाली उत्पादन सम्बन्धमा के-कति उत्पादन हुन्छ । साँध सँधियार भद्र भलाद्मीसमेत बुझी नियमानुसार पेस गर्नु भन्ने मिति २०६६।१।२१ गतेको सुरू अदालतको आदेश ।
बुझिएका प्रतिवादीका साक्षी रिखीराम कुर्मीले वादीले आफ्नो हिस्साको जग्गाको आयस्ता आफैँले खाई आएका छन् भन्नेसमेत व्यहोराको बकपत्र ।
आदेशानुसार बाली उत्पादन सम्बन्धमा डोरबाट भई आएको मिति २०६६।९।४ को सर्जमिन मुचुल्का ।
मिति २०६४।१।६ को लगतकट्टा आदेशबमोजिम हक कायम भई सोही मितिबाट हक कायम हुने हुँदा वादीको भागमा परेको वेतहनी गा.वि.स. वडा नं. १क र १ग को कि.नं. ४५४, ५०, ५१, ५३, ५५, ७१, २०७, ७० का जग्गाबाट प्रतिवर्ष प्रतिकठ्ठा धान ५० के.जी. र मुसुरो १५ के.जी.का दरले २०५९ सालदेखि २०६५ सालसम्मको बाली वा दाबीबमोजिमको मूल्य वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतको मिति २०६६।१०।१० को फैसला ।
जग्गा मिच्नेको १८ नं. को कानूनी व्यवस्थाअनुसार झगडा परेको जग्गाको बाली सम्बन्धमा अन्तिम फैसला भएको मितिले १ वर्षभित्र नालिस दिनुपर्नेमा वादी प्रतिवादीबिच चलेको अंश मुद्दामा पुनरावेदन अदालतबाट मिति २०६१।८।२१ मा अन्तिम फैसला भएको मितिलाई हदम्याद कायम गर्नुपर्नेमा लगत कट्टा भएको आदेशलाई अन्तिम फैसला कायम गर्दै हदम्यादभित्रको भनी वादीले २०६० सालदेखि हालसम्म ६ वर्षको बाली भराई पाउँ भनी दाबी गरेकोमा वादी दाबीभन्दा बाहिर गई २०५९ सालदेखि २०६५ सालसम्म सातवर्षको बाली भराई दिने ठहर्याएको सुरू बाँके जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी हदम्याद नाघी दायर भएको वादी दाबी खारेज गर्ने गरी इन्साफ पाउँ भन्ने व्यहोराको पुनरावेदन पत्र ।
सुरू अंश मुद्दाको फिराद गर्दा प्रतिवादीले जग्गा भोग चलन गर्न नदिएको भन्ने दाबी गरेको नदेखिएको र प्रस्तुत मुद्दा मुलुकी ऐन, जग्गा मिच्नेको १८ नं. को हदम्यादको त्रुटि सन्दर्भमा समेत सुरू फैसला फरक पर्नसक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने मिति २०६७।१२।१ को आदेश ।
प्रस्तुत मुद्दामा वादीले मिति २०६५।३।१७ मा बालीको हकमा फिराद दायर गरेको देखिँदा जग्गा मिच्नेको १८ नं. को हदम्याद मिति २०६२।८।२० मा अन्त्य भएको दुई वर्ष सात महिनाभन्दा बढी अवधि नघाई फिराद दायर भएको देखिन्छ । बाली उत्पादन भएको भनिएको २०५९ सालदेखि २०६५ सालसम्मको वादीको तत्कालीन सामान्य दरभाउ (Standard rate) खुल्न आउँदैन । त्यसरी उब्जनीको दरभाउ नखुलेको अवस्थामा सम्बन्धित निकायबाट सम्बन्धित वर्षको उब्जनीको दरभाउ बुझी यकिन गरी हिसाब गर्नुपर्नेमा २०५९ देखि २०६५ सम्मको वादी उब्जनीको सम्बन्धित निकायबाट दरभाउ नबुझी सबै वर्षहरूको दरभाउ एकै समान हुने गरी हचुवा गणना गरी सोहीअनुसार उब्जनीको रकम अंक तय गरी दाबी लिएको र पुनरावेदकहरू र प्रत्यर्थीबिच चलेको अंश मुद्दाको अन्तिम निर्णय मिति २०६१।८।२१ मा भएको देखिएको अवस्थामा मिति २०६५।३।१७ मा परेको फिरादलाई जग्गा मिच्नेको १८ नं. को हदम्यादभित्रै परेको भनी वादी दाबी पुग्ने गरी भएको फैसला त्रुटिपूर्ण देखिँदा उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालतको फैसला ।
प्रस्तुत मुद्दामा सुरू फैसला बदर गरी मलाई हराई फैसला गरिँदा मुलुकी ऐन, जग्गा मिच्नेको १८ नं. को “जग्गाको झगडा परेको बालीको हकमा जग्गाको हक छुट्टिई अन्तिम किनारा भएको मितिले एक वर्षभित्र नालेस नदिए लाग्न सक्दैन” भनी प्रस्ट रहेको प्रावधानको मनोगत अर्थ गरिएको प्रस्ट छ । यदि मुद्दामा भएको फैसलालाई नै हक छुट्टिएको अन्तिम किनारा भएको अर्थ गर्न मिल्दैन । फैसलापछि बन्डा छुट्याउने मिसिल खडा हुने र फैसला कार्यान्वयन नभएसम्म हक नछुट्टिने र बिगोमा अंशबन्डा छुट्ट्याउने मुद्दा अदालतमा विचाराधीन रही आएको अवस्थामा हक छुट्याउने कार्य अन्तिम भइसकेको अर्थ गर्न नमिल्ने प्रस्ट छ । किनभने बिगोसम्बन्धी कारवाहीको क्रममा जि.अ.नि. २०५२ को नियम १३, दण्ड सजायको ४६ नं. र अ.बं. १७ नं. को प्रयोग हुने भएबाट सो प्रावधानहरूको प्रयोग मुद्दामा अन्तरकालिन आदेशको सन्दर्भमा हुने प्रस्ट छ । यसरी मुद्दाको कारबाहीले पूर्णता नपाएसम्म हक छुट्टिई अन्तिम किनारा भएको भनी सम्झन अर्थ गर्न नमिल्नेमा पनि जग्गा मिच्नेको १८ नं. को गलत र मनोगत अर्थ गरी भएको फैसला प्रत्यक्षरूपमा जग्गा मिच्नेको १८ नं. जिल्ला अदालत नियमावली, २०५२ को नियम १३, द.स. को ६१ नं. र अ.बं. १७ नं. को आसय मनसाय कानूनी प्रावधानको प्रत्यक्षतः गम्भीर कानूनी त्रुटिपूर्ण छ । जग्गा मिच्नेको १८ नं. मा कहीँकतै पनि “फैसला अन्तिम भएको मितिले” भन्ने नभई “हक छुट्टिई अन्तिम किनारा भएका मितिले” भन्ने शब्दावली विधायिकाले प्रयुक्त गरेको हुँदा जग्गा मिच्नेको १८ नं. मा Letter of Sprite ले सो भिन्नता प्रस्ट गर्दछ । यसरी फैसला हुनु र हक छुट्टिनु बेग्लै तथ्य र अवस्था भएकोमा सोतर्फ विचारै नगरी जग्गा मिच्नेको१८ नं. को मनोगत अर्थ गरी भएको फैसला प्रत्यक्षतः जग्गा मिच्नेको १८ नं. को गम्भीर कानूनी त्रुटिपूर्ण छ । अंश मुद्दामा फैसलाअनुसार बन्डा छुट्ट्याई मेरो नाउँमा दा.खा. दर्ता गर्ने गरी लगत कट्टा आदेश मिति २०६४।१।६ मा भएको कारणले हक छुट्टिने कार्यले मिति २०६४।१।६ मा पूर्णता पाएकोले मुद्दाको अन्तिम किनारा मिति २०६४।१।६ मा भएको प्रस्ट छ । मुद्दामा मेरो बिगो दर रेटका सम्बन्धमा पनि सप्रमाण प्रतिवाद गरिएको छैन । यस अवस्थामा वादीको दररेटमा मुख नमिलेको भनी मनोगत आधारमा अर्थ गर्न मिल्दैन र बालीको दर रेटको सम्बन्धमा पक्षले नै विवाद नउठाएको अवस्थामा अदालत स्वयम्ले नै विवाद उठाई मुख नमिलेको भनी अर्थ गर्न मिल्ने होइन, त्यसमा पनि सो आधारले नै अदालत स्वयम् मुद्दा जग्गा मिच्नेको१८ नं. को म्यादभित्रै रहेको तथ्यलाई स्वीकारी मुद्दामा प्रमाण बुझिनु पर्ने नबुझिएको भनी सुरू फैसला बदर गरिएकोमा सो प्रत्यक्षरूपमा न्याय प्रशासन ऐन, २०४८ को दफा १४(ग) को त्रुटिपूर्ण छ । पुनरावेदन सुन्ने अदालतले त्यस्तो प्रमाण स्वयम् बुझी फैसला गर्न सक्ने प्रावधान न्याय प्रशासन ऐन, २०४८ को दफा १४(ग) मा र अ.बं. १८४क को प्रयोग गर्न पाउने अवस्थामा पनि सो अधिकारको प्रयोग गरी बुझ्नुपर्ने प्रमाण बुझी इन्साफ गर्नुपर्नेमा सो नगरी सुरूको कानूनसम्मत फैसला बदर गरी दिई बाली नै नपाउने भनी मलाई हराई भएको फैसला प्रत्यक्षतः जग्गा मिच्नेको १८ नं., अ.ब. १८४क नं., न्याय प्रशासन ऐन, २०४८ को दफा १४(ग) र प्रमाण ऐन, २०३१ को दफा ३, २६, २८ र ५४ को प्रतिबन्धात्मक वाक्यांशको गम्भीर कानूनी त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दाबीबमोजिम गरिपाउँ भन्ने पुनरावेदन पत्र ।
नियमबमोजिम आजको साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरियो ।
यसमा यी पुनरावेदक वादी र विपक्षीमध्येका प्रतिवादी चन्द्रकिशोर बाहुन, रामकुमार बाहुन शर्मा भई चलेको दे.नं. ११८२ को अंश मुद्दामा भएको फैसलाबमोजिम यी पुनरानवेदक वादीले २ खण्डको १ खण्ड अंश पाउने ठहर भई पुनरावेदन अदालत, नेपालगञ्जबाट समेत सोही फैसला सदर भई अन्तिम भएको र यी पुनरावेदकले दाबीको वेतहनी गा.वि.स. वडा नं. १ग कि.नं. १४७, २०७, २१२, २१७, ३०९, ३१०, ३२४, ३२६, ३२९ ऐ. वडा नं. ९ख कि.नं. १३१ का जग्गाबाट आधा अर्थात् ज.वि. १-०-१४१/२ जग्गा पाउनेमा उल्लिखित जग्गाहरूमा न्यूनतमरूपमा पनि प्रतिकठ्ठा ५० के.जी. मकै, ५० के.जी. तोरी, ३० के.जी. अरहर र ३० के.जी. तिल उब्जा भई सोको बजार मोल प्रतिवर्ष अरहरको रू.१७,२००।- मकैको रू.८,१५०।- पर्दछ । त्यसैगरी, साथै जिल्ला बाँके बेतहनी गा.वि.स. वडा नं. १क कि.नं. ४५४ ऐ. वडा नं. १ग, कि.नं. ५०, ५१, ५३,५५, ७१, २०७ र ७० जग्गामा धान प्रतिकठ्ठा १ क्विन्टल र मुसुरो प्रति कट्ठा ४० के.जी. हुने हुँदा सोको प्रचलित मूल्य मोटो धानको रू.१८,१५०।- र मुसुरोको रू.१६,०००।- पर्ने हुँदा उल्लिखित बालीहरूको ६ वर्षको हुने जम्मा रू.४,१७,०००।– पर्ने हुँदा प्रतिवादीहरूबाट दिए सो बालीनै नदिए प्रचलित मूल्यअनुसार बालीको हुने रू.४,१७,०००।- दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिराद भएकोमा सुरूले वादी दाबीअनुसार दाबीबमोजिमको मूल्य प्रतिवादीबाट भराई लिन पाउने ठहर्याई फैसला गरेकोमा पुनरावेदन अदालतबाट सुरूको फैसला उल्टी भई वादी दाबी पुग्न नसक्ने ठहर्याई भएको फैसलाउपर प्रस्तुत पुनरावेदन पर्न आएको पाइयो ।
२. निर्णयतर्फ विचार गर्दा पुनरावेदक यी वादी र प्रत्यर्थी प्रतिवादीबिच चलेको अंश मुद्दाबाट यी वादीले दाबीका कित्ता जग्गाबाट अंश पाउने गरी २०६१।८।२१ मा भएको फैसला अन्तिम भइरहेको देखियो । सो अंश मुद्दामा सुरू फैसला भएको २०६० देखि २०६५ सालसम्म ६ वर्षको बाली भराई पाउँ भन्ने वादी दाबी देखिन्छ । सुरू अदालतबाट फैसला हुनासाथ आधा जग्गा कब्जा गरी वादीले खाइरहेका र दाबीको जग्गामा वादीले दाबी गरेअनुरूपको बाली उत्पादन नभएको साथै वादीको फिराद दाबी जग्गा मिच्नेको १८ नं. बमोजिम हदम्याद नाघी दायर भएकोले बाली भराइ पाउने हैन भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । जग्गा मिच्नेको १८ नं. अनुसार जग्गाको झगडा परेको बाली हकमा जग्गाको हक छुट्टिई अन्तिम किनारा भएको मितिले १ वर्षभित्र नालेस नदिए लाग्न सक्दैन भन्ने कानूनी व्यवस्था रहेको
पाइन्छ । यी वादीले दिएको अंश मुद्दा मिति २०६१।८।२१ मा पुनरावेदन अदालत, नेपालगञ्जबाट फैसला भई फैसला अन्तिम भएको देखिन्छ । यी पुनरावेदक वादीले आफूले अंश पाउने जग्गाको अन्तिम फैसला भएको मितिबाट सो जग्गाको बाली भराइ पाउन नालिस गर्ने हदम्याद सुरू हुनेमा २०५९ सालदेखिकै बाली भराइ पाउन माग गरेको देखिन्छ । जग्गा पजनीको १८ नं. ले जग्गामा हक पुगेको मितिदेखि हदम्याद सुरू हुनेमा मिति २०६१।८।२१ मा पुनरावेदन अदालत, नेपालगञ्जबाट फैसला भई फैसला अन्तिम भएकोमा २०६५।३।१७ मात्र बालीतर्फ फिराद गरी म्यादभित्र फिराद दिन सकेको एकातर्फ देखिँदैन भने अर्कोतर्फ सो जग्गाहरूको बाली प्रतिवादीहरूले मात्र एकलौटीरूपमा खाएको भन्ने ठोस सबुत प्रमाण पनि पेस गर्न सकेको पाइँदैन । प्रतिवादीका साक्षी रिखीराम कुर्मीले समेत उल्लिखित जग्गाको बाली प्रतिवादीहरूले मात्र एकलौटी खाएको नभई वादीले आफ्नो हिस्साको बाली आफैँले खाएको भनी बकपत्र गरेको देखिन्छ ।
३. जग्गा मिच्नेको १८ नं. मा कहीँकतै पनि “फैसला अन्तिम भएको मितिले” भन्ने नभई “हक छुट्टिई अन्तिम किनारा भएका मितिले” भन्ने उल्लेख भएको र अंश मुद्दामा भएको फैसलाअनुसार बन्डा छुट्ट्याई दा.खा. दर्ता गर्ने गरी लगत कट्टाको आदेश मिति २०६४।१।६ मा मात्र भएकोले हक छुट्टिने कार्यले मिति २०६४।१।६ मा मात्र पूर्णता पाएको भन्ने जिकिरका सम्बन्धमा हेर्दा बन्डा छुट्याउने, दाखिलखारेज गर्नेलगायतका कार्य हकबेहक छुट्याउने कुरासित सम्बन्धित नभई अन्तिम फैसलाको कार्यान्वयनको पाटो भएकोले अंश मुद्दाबाट हकबेहक छुट्टिने कुरामा अंश पाउने ठहरी अन्तिम फैसला भएको मिति नै मुद्दाको अन्तिम किनारा मिति मान्नुपर्ने हुन्छ । अत: बन्डा छुट्ट्याई दा.खा. दर्ता गर्ने गरी आदेश भएको मिति अन्तिम किनारा मिति हो भन्ने पुनरावेदन जिकिरसित पनि सहमत हुन सकिएन । तसर्थ बाली भराइ पाउने हदम्याद नै गुजारी फिराद पर्न आएको र प्रत्यर्थी प्रतिवादीले एकलौटीरूपमा बाली खाएको भन्ने ठोस सबुत प्रमाण वादीले गुजार्न नसकेको अवस्थामा वादीदाबी पुग्न नसक्ने ठहर्याई भएको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०६८।१।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ वादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.गोविन्दकुमार उपाध्याय
इजलास अधिकृतः उमानाथ गौतम
इति संवत् २०७२ साल असार २८ गते रोज २ शुभम् ।