शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५३६ - वैदेशिक रोजगार ठगी

भाग: ५८ साल: २०७३ महिना: बैशाख अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

 माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा.

फैसला मिति : २०७२।६।१३।४

०७०-CR-०२८९

 

मुद्दा : वैदेशिक रोजगार ठगी

 

निवेदक / वादी : चक्रबहादुर बोहरासमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : मोरङ जिल्ला, इटहरी गा.वि.स. वडा नं. ६ घर भई हाल श्रृष्टि ओभरसिज इन्प्लोयमेन्ट सर्भिसेज प्रा.लि. का सञ्चालक ध्रुवबहादुर अधिकारीसमेत

 

प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादी दाबी प्रमाणित गर्ने दायित्व वादीको हो । वादी नेपाल सरकारले आफ्नो अभियोग दाबी पुष्टि गर्नु पर्दछ । तर प्रस्तुत मुद्दामा प्रतिवादीउपर कसुर गरेको भनी लेख्ने लेखाउने जाहेरवालाहरू ती आफ्ना साक्षीलाई बकपत्र गराई दाबी खम्बिर गर्न नसकेको अन्य शङ्कारहित सबुद प्रमाणसमेत पेस गर्न नसकेको देखिँदा प्रतिवादीलाई सफाई दिएको फैसला मिलेकै देखिने ।

(प्रकरण नं.४)

 

निवेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० तथा ४३ नं. 

प्रमाण ऐन, २०३१ को दफा २५ 

 

सुरू तहमा फैसला गर्नेः-

माननीय सदस्य श्री अग्निप्रसाद थपलिया

माननीय सदस्य श्री डा. रवि शर्मा अर्याल

 

फैसला

न्या.देवेन्द्र गोपाल श्रेष्ठ : वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) अनुसार वैदेशिक रोजगार न्यायाधिकरणको फैसलाउपर यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

रिलायबल इन्टरनेसनल प्रा.लि.का सञ्चालकहरू देवेन्द्र कार्की, विश्व कार्की र श्रृष्टि इम्प्लोइमेन्ट ओभरसिज प्रा.लि. का सञ्चालकहरू ध्रुवबहादुर अधिकारी, सह-सञ्चालक दिपसुन्दर ढकाल, सञ्चालक दुर्गाबहादुर कुँवर र सो मेनपावरका स्टाफ राजेश गौतमसमेतले वैदेशिक रोजगारको सिलसिलामा दुबई रोजगारीका लागि पठाइदिन्छौं भनी हामी पीडित पक्षहरू जाहेरवालाहरू दुई जनाको सक्कल राहदानी र विभिन्न मितिमा फरक फरकका दरले जम्मा रकम रू. ७८,००,०००।– (अठहत्तर लाख रूपैयाँ) बुझिलिएअनुसार सो मुलुकमा काम गर्न पठाइदिने सर्तमा नक्कली भिजिट भिसा र दुबईको नेपाली राजदुतावासको प्रथम सचिवको सही भएको कागज देखाई विभिन्न किसिमको प्रलोभनसमेत देखाई झुट्ठा आश्वासन दिई आलटाल गरी भाखा मिति सारी श्रृष्टि इम्प्लोमेन्ट प्रा.लि.का सञ्चालक दुर्गाबहादुर कुँवर हाल फरार भई लुकिछिपी हिँडेको र रिलायबल इन्टरनेसनल प्रा.लि.का मुख्य सञ्चालक ध्रुवबहादुर अधिकारी हाल सम्पर्कमा रहे तापनि लुकिछिपी हिँडेको हुनाले हामी पीडितहरूको सो सक्कल राहदानी र साँवा रकमसमेत ठगी खाने नियत गरेको हुनाले निज विपक्षी मेनपावर कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरी हाम्रो राहदानी, साँवा र सो रकमको क्षतिपूर्तिबापत ५० प्रतिशत हर्जानासमेत दिलाई भराई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला चक्रबहादुर बोहरासमेत ७० जनाले संयुक्तरूपमा वैदेशिक रोजगार विभागसमक्ष पेस गरेको जाहेरी दरखास्त ।

म रिलायबल इन्टरनेसनल प्रा.लि. को मेनेजिङ डाइरेक्टर हुँ । उक्त प्रा.लि केदार गौतम, दिपसुन्दर ढकाल, म र देवेन्द्र कार्कीले सेयर नाफाबाट बराबर बाँडिलिने सर्तमा सञ्चालन गर्दै आएको हौं । दुर्गा कुँवरले रिलायबल मेडिकल सेन्टर खोलेको भन्ने गर्दथ्यो र ऊ हामीकहाँ कहिलेकाहीँ आई मेडिकल गर्ने मानिसहरू मकहाँ पठाइदिनुस् भन्ने गरे तापनि हालसम्म उसकोमा मानिसहरू पठाउने गरेको छैन । श्रृष्टि ओभरसिज इम्पलोइमेन्ट प्रा.लि. को सञ्चालक म होइन । यसमा प्रा.लिका मुख्य सञ्चालक महेन्द्र भन्ने व्यक्ति हुन् । म र दिपसुन्दर ढकालले उक्त प्रा.लि.को सामान मात्र रिलायबल इन्टरनेसनल प्रा.लि.मा थप्ने उद्देश्यले रू. १,५०,०००।– (एक लाख पचास हजार रूपैयाँ) मा किनेको हो, श्रृष्टि मेनपावर किनेको होइन । मैले जाहेरीमा उल्लिखित रकम बुझेको होइन । जाहेरीसाथ पेस भएको नक्कली भिसा र राजदुतावासको कागजात सबै दुर्गाबहादुर कुँवरले दिएको हो । उक्त कागजात कहाँबाट ल्याएको हो मलाई थाहा भएन । मैले दुबई पठाउनको लागि विभागबाट पूर्व स्वीकृति लिएको छैन र मैले रकम पनि उठाएको 

छैन । रू. ७८ लाखको कागज मलाई जबरजस्ती गराएको हो । मिति २०६६।३।१२ को कागजमा भएको सहीछाप मेरो हो तर करकापमा भएको हो । म रिलायबलको सञ्चालक नभए तापनि सञ्चालकहरू २ जना केदार गौतम र राजेन्द्रबहादुर कार्कीको लिखित सहमति अनुसार म, देवेन्द्र कार्की र दिपसुन्दर ढकालले १ जना मानिस उडाएबापत रू. ५ हजार सञ्चालकलाई दिने गरी काम गरिरहेका छौं भन्नेसमेत व्यहोराको प्रतिवादी ध्रुवबहादुर अधिकारीले गरेको बयान ।

प्रतिवादी ध्रुवबहादुर अधिकारीलाई उपस्थित नगराएमा निजले बेहोर्नु पर्ने सम्पूर्ण क्षतिपूर्तिको दायित्व हामीले लिनेछौं भनी मिरा कुँवर, सुभाष जि.सी. र रूपक गौतमले संयुक्तरूपमा वैदेशिक रोजगार विभागसमक्ष मिति २०६६।३।१५ मा दिएको निवेदनको आधारमा प्रतिवादी ध्रुवबहादुर अधिकारीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ बमोजिम साधारण तारेखमा राखी अग्रिम अनुसन्धान गर्नु भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार विभागबाट मिति २०६६।३।१५ मा भएको निर्णय ।

प्रतिवादी ध्रुवबहादुर अधिकारीलाई विभागले खोजेको बखत उपस्थिति गराउने गरी हाजिर जमानीमा बुझिलियौं । खोजेको बखत उपस्थित गराउन नसकी निज प्रतिवादी फरार रहेमा निज प्रतिवादीले तिर्न बुझाउनु पर्ने गरी ठहर भएको रकम हामीले तिर्ने बुझाउने छौं र हामीले नतिरे नबुझाएमा हाम्रो घरघरानाबाट असुलउपर गरिलिएको हाम्रो मन्जुरी छ भन्ने व्यहोराको मिरा कुँवरसमेतले बुझिलिएको भरपाई कागज मिसिल संलग्न रहेको ।

प्रतिवादी अर्जुन कटुवाल वैदेशिक रोजगारको लागि भनेर दुबईमा बसी निजकै भाइ नेपालमा बस्ने पर्वत कटुवालले वैदेशिक रोजगारको लागि काम लगाइदिन्छु भनी हामीलाई निजले नै फोन गरी भाइहरूलाई रू. १,२०,०००।– दिनु भनेबमोजिम दिएपछि निज प्रतिवादी पर्वत कटुवालले दुबईबाट भिसा पठाएको छ आउनु भनेपछि भिसा लिएर श्रम कार्यालय, बानेश्वरमा आएपछि निज अर्जुन कटुवालले पठाएको भिसा नक्कली रहेको थाहा पाएँ । भावना तिमिल्सिनाबाट पनि सेल्स सुपरभाइजरको लागि रू. १,००,०००।– बुझाउन लगाई भिसा पठाएकोमा पछि श्रम कार्यालयबाट नक्कली भएको प्रमाणित भएपछि निजले हामीलाई समेत अन्य व्यक्तिहरूलाई पनि यसरी नै धेरै रूपैयाँ ठगी गरेको रहेछ । निजको भाइ पर्वत कटुवाललाई किन हामीलाई नक्कली भिसा बनाई ठगी गरेको भनी सोध्दा मैले होइन अर्जुन कटुवालले हो भनेकाले हाम्रो रूपैयाँ फिर्ता पाउँ भनी दुबईमा फोन गर्दा उल्टै जे गर्छस् गर् पैसा पाउँदैनौं, यस्ता धेरै छन् फिर्ता दिनुपर्‍यो भन्ने भनेर धाकधम्की दिई हाम्रो निजले रूपैयाँ खाई भिसासमेत नक्कली पठाई वैदेशिक रोजगारको लागि भनी ठगी गरेको हुनाले निजलाई वैदेशिक रोजगार ऐनअन्तर्गत कारवाही गरी हाम्रो सम्पूर्ण साँवा ब्याजसमेत निजबाटै भराई निजलाई ऐनबमोजिम जरिवाना जे गर्नुपर्छ गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदकहरू बलराम कट्टेल र भावना तिम्सिनाले संयुक्तरूपमा वैदेशिक रोजगार विभागमा दिएको उजुरी निवेदनपत्र ।

म दुबईमा विगत ६ वर्षदेखि विभिन्न काम 

गर्छु । हाल मैले काम गरिरहेको कम्पनीले मलाई आर्थिक मन्दीको कारणले कामबाट बर्खास्त गरेकाले नेपाल आएको हुँ । फेरि जानको लागि अर्को कम्पनीमा कुरा गरिरहेको छु र चाँडै नै भिसा पठाउँछ भनेको छ । मैले हालसम्म एक जना पनि वैदेशिक रोजगारका लागि लगेको छैन र भिसा पठाएको छैन । दुर्गाबहादुर कुँवर, ध्रुवबहादुर अधिकारी, दिपसुन्दर ढकाल र सन्तोष ढकाललाई म चिन्दिन । पर्वत कटुवाल मेरो ठुलोबुबाको छोरा हो, निजसँग मेरो केही लेनदेन व्यवहार तथा कारोबार छैन । चक्रबहादुर बोहरासमेतका विभिन्न व्यक्तिहरूलाई पर्वत कटुवालले मेरो दाइ दुबईमा छ दुबईबाट दाइले भिसा पठाउँछ र एयरपोर्टमा रिसिभ गर्नसमेत अर्जुन कटुवाल नै आउँछ भनी वैदेशिक रोजागरीमा पठाउन भनी भिसा देखाई रकम असुलउपर गरेर फरार रहेकोमा प्रतिवादीमध्येका दुर्गाबहादुर कुँवरले मलाई पर्वत कटुवाल र अर्जुन कटुवालले डुबायो भनी भन्ने गरेको कुरा मलाई केही पनि थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी अर्जुन कटुवालको बयान ।

निज प्रतिवादी अर्जुन कटुवालका भाइ केशव कटुवाल र बहिनी टीका कटुवालले विभागमा खोजेका बखत उपस्थित गराउन हाम्रो जिम्मामा बुझिलिन तयार छौं भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार विभागमा मिति २०६६।३।२१ मा दिएको निवेदनअनुसार प्रतिवादी अर्जुन कटुवाललाई हाजिर जमानीमा खोजेको बखतमा उपस्थित हुने गरी हाजिर जमानीमा बसेको देखिन्छ ।

मेरो कम्पनीको नाम श्रृष्टि ओभरसिज इम्पोइमेन्ट सर्भिस प्रा.लि. हो । यो कम्पनी पहिला पुष्पा गौतम र विनय शर्मा दाहालले स्थापना गरेका हुन् र २०६० सालमा उनीहरूबाट हामी ३ जना म, जिवलाल बस्याल र विमला घिमिरेले किनेको हो र अरू २ जना बाहिर हुनुहुन्छ, म नै कार्यकारी निर्देशक भएर काम गरिरहेको छु । हामीले कम्पनी किनेपछि कसैलाई सेयर बेचेको छैन र कम्पनी पनि बेचेको 

छैन । हाल चालु अवस्थामा रहेको छ तर हामी यसलाई खारेज गर्ने प्रक्रियामा छौं । त्यसैले हाम्रो प्रा.लि.का फर्निचरलगायतका सामानहरू बेचिसकेका छौं । सामान ध्रुव अधिकारीले रू. १,५०,०००।– (एक लाख पचार हजार रूपैयाँ) मा किनेको हो । मैले सामान बेच्ने बेलामा कुनै कागजात गरेको छैन । मैले सामान मात्र बेचेको हो, ऊ मेरो कर्मचारी पनि होइन, मैले प्रमाणपत्र बोर्ड आदि केही पनि दिएको छैन, यसरी हाम्रो नाम बेचेर कसैले नक्कली काम गर्दछ भने विभागबाट अनुसन्धान गरी कडा कारवाही होस् भन्नेसमेत व्यहोराको श्रृष्टि ओभरसिज इम्पलोइमेन्ट सर्भिस प्रा.लि.का सञ्चालक राधा पौडेलले गरेको बयान कागज ।

मेरो कम्पनीको नाम रिलाएवल इन्टरनेसनल प्रा.लि. हो । यो कम्पनी म र राजेन्द्रबहादुर कार्की भएर स्थापना गरी हालसम्म कसैलाई कुनै पनि तरहले सेयर बिक्री वितरण गरेको छैन । म आफैँले कार्यकारी निर्देशकको रूपमा काम गरिरहेको र हालसम्म कसैलाई कुनै तरहले प्रा.लि. सञ्चालन गर्न दिएको छैन । ध्रुव अधिकारीलाई साबिकदेखि हालसम्म कुनै पनि व्यहोरामा हाम्रो कम्पनीको कार्यकारी निर्देशकको हैसियतले काम गर्न पाउने गरी कुनै पनि कागज गरिदिएका छैनौं र निज हाम्रो प्रा.लि. को कर्मचारी पनि होइन । मैले सुने अनुसार निज ध्रुव अधिकारी श्रृष्टि भन्ने मेनपावर किन्न गएको थियो रे, के के भयो थाहा छैन र हामीले श्रृष्टिको फर्निचर किन्ने कुनैपनि कुरा गरेका छैनौं । उसले भनेबमोजिम हामीले हालसम्म कसैलाई कुनै पनि प्रकारको करार गरेर काम गर्न नदिएको हुँदा मानिस उडाएबापत रू. ५ हजार लिने भन्ने कुरा नै रहेन भन्नेसमेत व्यहोराको रिलाएवल इन्टरनेसनल प्रा.लि.का सञ्चालक केदार गौतमले गरेको बयान कागज । 

म रिलाएवल मेनपावर कम्पनीको सञ्चालक होइन । उक्त कम्पनी मेरो अङ्कल र फुपाजूको भएको कारणले गर्दा मेरा चिनजानका व्यक्तिहरूले हामीलाई विदेश पठाइदिनु पर्‍यो भन्दा म कहिलेकाहीँ के कस्तो डिमान्ड आएको छ भनी बुझ्न जानेसम्म गरेको थिएँ । सोबाहेक मेरो उक्त प्रा.लि. सँग कुनै सम्बन्ध 

छैन । उजुरकर्ताहरूलाई  मैले देखेको तथा चिनेको छैन र उनीहरूसँग मैले हालसम्म कुनै कुरा गरेको छैन । के 

कति कारणले र आधारले मलाई रिलाएवलको सञ्चालक साथै हाम्रो रकम ठगी गर्‍यो भनेका हुन् निजहरूलाई बुझिपाऊँ । मैले थाहा पाएसम्म रिलाएवलका सञ्चालक मेरो काका राजेन्द्रबहादुर कार्की फुपाजू केदार गौतम हुनुहुन्छ । उनीहरूले लगभग २/३ वर्ष पहिलादेखि सो कम्पनी चलाउनु भएको जस्तो लाग्छ । म कहिलेकाहीँ मात्र साथीभाइको लागि जाने भएकोले अरू विस्तृत कुरा केही पनि थाहा छैन । मैले हालसम्म सो प्रा.लि.मा कुनै कारोबार नभएको साथै कुनै हैसियतले आजसम्म रिलाएवलमा काम नगरेको व्यक्तिलाई उजुरकर्ताले के कति कारणले सञ्चालक भनी उल्लेख गरेका हुन्? सो सम्बन्धमा र मैले कुन कुन उजुरकर्तालाई भेटेर के कसरी डिल गरेँ साथै कोसँग कति रकम लिएको हुँ? उजुरकर्ताले सो प्रस्ट पारिदिनुपर्‍यो र निजहरूलाई विभागले बुझिदिनुपर्‍यो साथै कुनै सम्बन्ध र सरोकारै नभएको व्यक्तिलाई समेत निवेदन दिने व्यक्तिहरूलाई कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको विश्व कार्कीले गरेको बयान ।

म कतार स्टिल फिक्सरको काम गर्न गएको थिएँ, त्यहाँ मेरा भाइले मसँग मेरो कम्पनीमा सेक्युरिटी गार्डमा काम गर्ने पर्वत कटुवालको दाइ अर्जुन कटुवाल दुबईमा रहेछ र उसले २/४ वटा भिसा पठाएको रहेछ र यहाँ पर्वत कटुवालले पनि दाइले पठाएको भिसाअनुसार दुबईमा सेक्युरिटी गार्डमा मानिस पठाइरहेको छ, तपाइँ पनि जानुहोस् भनी पर्वत कटुवालसँग भेट गराइदियो । पैसा नेपालमा नै दिनेलिने सहमतिमा मेरो Apply गर्ने काम पर्वत कटुवालले कतारबाट नै गरिदियो । निज पर्वतले मलाई बोलाएर म त पर्सि १५ तारिकमा नेपाल जाँदै छु, तिमी दुबई जानको लागि नेपाल आउनुपर्छ भिसा लगाउनका लागि ५०० डलर खर्च भएको छ, भनी  दुबईमा भएको अर्जुन कटुवालसँग उसले मेरै अगाडि कुरा गर्‍यो र मलाई पनि विश्वास लाग्यो । यत्तिकैमा पर्वत कटुवालले मलाई April १८ तारिखको मेरो दुबईको भिसा Fax हालिदियो । म नेपाल आएपछि उसले नमोबुद्ध गेस्ट हाउसमा लाग्यौं, त्यहाँ दुर्गाबहादुर कुँवर र पर्वतसँगै कतारमा एउटै कम्पनीमा काम गर्ने सन्तोष ढकाल पनि थिए । निजले मलाई जेष्ठ १० गते जसरी पनि उड्नुपर्छ, पैसाको तयारी गरेर आउनु भन्यो र म घर गएँ । जेष्ठ २ गते तिम्रो मेडिकल गर्नुपर्‍यो, तिम्रो मानिस छ भने मेडिकल फेल भएको २ जनाको ठाउँमा हालिदिन सक्छु भन्यो र मैले मेरो भिनाजु र भतिजको राहदानीसमेत लिई काठमाडौंमा आएँ र रू. ५०,०००।– पर्वतलाई दिएँ । त्यो बेला दुर्गाबहादुर कुँवर पनि थियो । निजले मेरो आफ्नै मानिसको रिलाएवल र श्रृष्टि मेनपावर छ, मैले त्यहीँबाट काम गर्ने हो भन्दै मलाई गौशालाको साउथ एसियन भन्ने मेडिकलमा मेडिकल गराई अब तिमी १० गते उड्ने गरी पैसा सबै तयारी गरेर आउनु भनेको, म घर गएर ८/९ गतेदेखि फोन गर्दा पर्ख अब चाँडै हुन्छ म फोन गर्छु भन्यो । निजले ज्येष्ठ २१ गते फोन गरेर २६ गतेको फ्लाइट छ भनी बोलाई आउँदा ८/१० दिनमा हुन्छ, पैसा चैं चाहियो भन्यो । फेरि मलाई पर्वत कटुवालले असार ७ गते फोन गरेर भाइ तिमीहरूको १२ गतेको फ्लाइट पक्का भयो, मलाई पैसा आज नै चाहियो, मैले टिकटको पैसा बुझाउन जानु छ, तिमी नजाने हो भने ३ जनाको ५०० डलरको दरले मेरो पैसा फिर्ता गर भन्यो र हामीले ८ गते बिहान १० बजेतिर ऊ बसेको नमोबुद्ध गेस्ट हाउसमा गएर रू. ४ लाख बुझायौं । उसले ११ गते बेलुका तिमी टिकट लिन आऊ र १२ गते बिहान आएर सबैसँग परिचय गर्ने र बेलुका ७ बजे उड्ने 

भन्यो । ११ गते बिहान पर्वतलाई फोन गर्दा मोबाइल स्विच अफ भयो र सन्तोषलाई फोन गर्दा भोलि बिहानै गेस्ट हाउसमा आउनु भन्यो । भोलि बिहान ६ बजेतिर पर्वत र सन्तोषलाई फोन गर्दा दुवै जनाको फोन लागेन र शङ्का लागि तुरून्त गेस्ट हाउसमा पुग्दा उनीहरू त्यहाँबाट भागिसकेका रहेछन् । त्यहाँ अरू साथीहरू पनि धेरै जम्मा भइसकेका र होहल्ला गर्दै रहेछन्, कुरा बुझ्दा डेढ करोड रूपैयाँ लिएर भाग्यो भन्ने सुनियो । पैसा ध्रुवले लिएको होइन । भोलिपल्ट श्रृष्टि मेनपावर आउँदा त्यहाँ अरू धेरै जना पीडितहरू जम्मा भएको र श्रृष्टिको सञ्चालक ध्रुव भएको हुँदा हामी सबै पीडित मिली ध्रुवलाई कागज गराएको हौं । हामीलाई मुख्य गरेर पर्वत कटुवाल, अर्जुन कटुवाल र सन्तोष ढकालले मिलेर ठगी गरेका हुन्‌ । निजहरूलाई पक्राउ गरी हाम्रो रकम दिलाई पाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला तुलाबहादुर बुढाथोकीले गरेको बयान ।

मलाई दुर्गाबहादुर कुँवरले दुबईको Visa देखाई यो Original visa हो, तपाइँको प्लेन टिकट OK गर्नको लागि पैसा चाहिन्छ भनेकाले मैले रू. ५०,०००।– निजलाई दिएँ । रसिद दिनुहोस्‌ भन्दा किन रसिद चाहियो । म नै रसिद हुँ, तपाइँलाई विश्वास लाग्दैन भने पैसा नदिनुहोस् नजानुहोस्, विश्वास नै ठुलो कुरा हो भन्यो । त्यसको ३ दिनपश्चात् निजले मेडिकल गर्नुछ भनी श्रृष्टि ओभरसिजमा बोलाई रिलाएवल मेडिकल सेन्टरमा फोन गरिदियो र म त्यहाँ मेडिकल गर्न गएँ । मेडिकल गरेपश्चात् शुक्रबारको फ्लाइट छ साँझ ७ बजेसम्म तपाइँहरूले एयरपोर्टमा इन्ट्री गरिसक्नु पर्दछ र म पनि त्यहीँ आउछु बाँकी पैसा पनि त्यहीँ लिउँला र टिकट पनि दिउँला भनेको थियो । हामीले दिनभरि सम्पर्क गरिरह्‌यौ, तर सम्पर्क हुन सकेन, एकपटक दुर्गाबहादुसँग सम्पर्क हुँदा निजले मेरो मोबाइलको बेट्री सिद्धिन लागेको छ, ध्रुवबहादुर अधिकारीसँग सम्पर्क गर्नु भनी ९८५११०४७९ नं. दियो र सम्पर्क गर्दा तपाइँहरूको काम हुँदैछ पछि ७ बजे सम्ममा म आफैँ फोन गर्छु भनेको थियो तर फोन आएन र भोलिपल्ट बिहान हामी सबैजना श्रृष्टिमा जम्मा हुँदा सबैजना स्टाफहरू भाग्यो भन्ने कुरा थाहा भयो । पछि २/३ बजेतिर ध्रुवबहादुर अधिकारी श्रृष्टिमा आयो । हामीले निजलाई तपाइँको कम्पनीमा नै बसेर कुराकानी भएको हुँदा तपाइँले जिम्मा लिनुपर्छ भन्दा वहाँले मेरो पनि फसेको छ, तपाइँहरूले मलाई पनि साथ दिनुपर्छ भन्नुभयो र हामीले कुराकानी गरिरहेका बखतमा नै दुर्गा कुँवरको India बाट फोन आयो र फोनमा उसले मलाई पर्वत कटुवालले फसाएर पैसा लिएर गयो । निज पर्वतले नै तपाइँहरूलाई दुबईमा अर्जुन कटुवालले Receive गर्न आउँछु भनेको थियो तर त्यही पर्वतको कारणले म भाग्नु पर्‍यो भन्यो । त्यसपछि हामीले ध्रुवलाई यो सबै कारोबार तपाइँको अफिसमा नै भएको हुँदा तपाइँले जिम्मेवारी लिनुपर्छ भनी हामीले तीनकुने प्रहरीमा उजुरी गरी निजलाई लिएर गयौं र भोलिपल्ट श्रममा आएका हौं । म ड्राईभर काममा जानको लागि दुर्गाबहादुर कुँवरसँग कुरा गरेको थिएँ । मलाई फ्रुजन ग्रुपमा पठाइदिन्छु, मेरो चिनेको मानिस अर्जुन कटुवाल पनि त्यही कम्पनीमा काम गर्छ ऊ एरिया मेनेजर हो, उसले नै भिसा पठाएको र ऊ नै एयरपोर्टमा Receive गर्न आउँछ । तपाइँलाई जम्मा रू. १,८०,०००।– लाग्छ र तलब चैं त्यहाँको २२ सयदेखि ३५ सयसम्म हुन्छ भनेको थियो । यसरी कुराकानी र कारोबार दुर्गाबहादुर कुँवरसँग नै भएको भए तापनि यो सम्पूर्ण काम निज ध्रुवबहादुर अधिकारीको मेनपावर श्रृष्टिमा नै भएकोले हामीहरू सबैजना मिलेर तपाइँले हाम्रो रकमको जिम्मेवारी लिनुपर्छ भनी कागज गराउँदा तपाइँहरूले मलाई पनि उनीहरूलाई खोज्न सहयोग गर्नुपर्छ म तपाइँहरूलाई जेपनि गरिदिन्छु भनी कागज गरिदिएको हो । हामीलाई दुर्गाबहादुर कुँवर, पर्वत कटुवाल, सन्तोष ढकाल र अर्जुन कटुवालको आपसी मिलोमतोमा ठगेका छन् । विभागले शीघ्र पहल गरी हाम्रो रकम असुलउपर गरिदिनु पर्‍यो भन्नेसमेत व्यहोराको जाहेरवाला गोपीकृष्ण मैनालीले गरेको बयान ।

रिलायबल इन्टरनेसनल सर्भिसेज प्रा.लि.का सञ्चालकहरू ध्रुव अधिकारी, दुर्गा कुँवरसमेतले म बलराम खड्कालगायत काशी रावत, विपिन थापासमेत २ जनालाई वैदेशिक रोजगारको लागि कतार मुलुकमा पठाउन मिति २०६५।१२।२७ गतेका दिन जनही नगद रू. १,००,०००।– का दरले जम्मा रकम रू. २,००,०००।– म बलराम खड्काबाट बुझिलिई नगदी रसिद र कुनै भरपाई कागजसमेत नदिई मेरो भान्जा काशी रावत, सालो भाइ विपिन थापा, बलबहादुर खड्का, पूर्णबहादुर बुढा, गगन राना, हर्कबहादुर मगर, बहादुर धामी, जितबहादुर बुढा, विर्खबहादुर धामीसमेत ९ जनाको सक्कल राहदानीसमेत बुझिलिई निज विपक्षी सञ्चालकहरूले वैदेशिक रोजगारको लागि उक्त कतार देशमा पठाइदिने बहानामा विभिन्न किसिमको प्रलोभन र झुट्टा आश्वासनसमेत दिई हालसम्म पनि रोजगारीका लागि नपठाई रकम पनि फिर्ता नगरी आलटाल गरी लुकिछिपी हिँडेको हुनाले निजहरूलाई अविलम्ब पक्राउ गरी उक्त २ जनाको साँवा रकम र ९ जनाको सक्कल राहदानीसमेत दिलाई वैदेशिक रोजगार ऐन, २०६४ अनुसार हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको बलराम खड्कासमेतको तर्फबाट परेको जाहेरी ।

प्रतिवादी ध्रुवबहादुर अधिकारीलाई विभागले खोजेको बखत उपस्थित गराउनेछु, यदि मैले निजलाई विभागले खोजेको बखत उपस्थित गराउन नसकेमा निजले बहन गर्नुपर्ने दायित्व विभागबाट ठहर भएमा र सो दायित्व निज ध्रुवबहादुर अधिकारीले बहन नगरेमा सोसमेत बहन गर्नेगरी निज ध्रुवबहादुर अधिकारीलाई निजको साडुदाइ नाताका जुठे कार्कीले बुझिलिएको कागज ।

श्रृष्टि मेनपावरलगायत पर्वत कटुवाल, सन्तोष ढकाल, अर्जुन कटुवाल र दुर्गा कुँवरहरूले हामीलाई झुक्याएर नक्कली भिसा देखाई १०४ जनालाई ठगी गरेको कारण निज व्यक्तिहरूलाई अहिलेसम्म फेला पार्न नसकेको कारण निजहरूको किनबेचको कारोबार, आर्थिक स्थितिको रेकर्ड उपलब्ध गराईदिनु हुन र सम्बन्धित निकायसमक्ष निवेदन गरी रेकर्ड उपलब्ध गराइदिनु हुन भन्नेसमेत व्यहोराको निवेदकहरू युवराज ढकाल र महेन्द्र चापागाईले वैदेशिक रोजगार विभागमा दिएको निवेदनपत्र ।

म मेरा साथीहरू राजेन्द्रबहादुर कार्की र केदार गौतमको रिलाएवल इन्टरनेसनल प्रा.लि.मा आउने जाने गर्दथिएँ । सोही रिलाएवलमा कहिलेकाहीँ आउने दुर्गा कुँवरले विभिन्न व्यक्तिहरूलाई दुबईलगायतको देशमा पठाइदिन्छु भनी रकम ठगी गरेर फरार भयो रे, अनि पीडितहरूले रिलाएवलमा आउँदा जजसलाई देखे उनीहरू सबैजना विपक्षी बनाई जाहेरी दिएका छन् भन्ने सुनेको र के रहेछ भनी बुझ्न आएकोमा यहीँ विभागमा आएर थाहा भयो, मसमेतलाई विपक्षी बनाई चक्रबहादुर बोहरासमेतले जाहेरी दिएका 

रहेछन् । तर त्यस्ता जाहेर गर्ने ७० जना कसैलाई पनि म चिन्दिन । मैले कसैसँग कुनै किसिमको कुराकानी गर्नका साथै आर्थिक कारोबारसमेत केही गरेको 

छैन । म सो रिलायबलको कुनै सञ्चालकसमेत नभएको हुँदा मलाई के कसरी किन जाहेरी दिएका 

हुन् ? त्यस्ता जाहेरकर्ताहरूलाई नै बुझिपाऊँ । यदि मैले कुनै जाहेरकर्तासँगबाट वैदेशिक रोजगारमा पठाइदिने भनी रकम लिएको प्रमाणित भएमा त्यस्तो सम्पूर्ण रकम हर्जानासहित फिर्ता गर्नुका साथै कानूनबमोजिमको कारवाहीसमेत सहन बुझाउनु तत्पर छु । को कसले कसरी ठगी गरे मलाई केही थाहा जानकारी छैन र मेरो अगाडि कसैले पनि कुनै कारोबार नगरेको हुँदा यसैले ठगी गर्‍यो भन्न म सक्दिन । तर सुनेअनुसार जाहेरवालाहरूलाई दुर्गा कुँवर, पर्वत कटुवाल र सन्तोष ढकालले ठगी गरेको रे । म निर्दोष व्यक्तिको चरित्र हत्या गर्ने किसिमले जाहेरी दिएका रहेछन्, मैले हालसम्म कसैलाई वैदेशिक रोजगारको नाममा ठगी गरेको छैन भन्नेसमेत व्यहोराले दिपसुन्दर ढकालले गरेको बयान कागज ।

म रोजगारको सिलसिलामा कतारमा 

थिएँ । दुबईमा काम गर्ने प्रकाश कार्की भन्ने व्यक्तिले मेनपावरसम्बन्धी काम गर्दथे । उसैमार्फत म पनि कतार गएको थिएँ । उनैले पठाएको भिसाबाट ३ जनालाई दुबई पठाएँ । प्रकाश कार्कीले फ्रिजन कम्पनीमा काम छ तिमी पनि दुबई आऊ, अरू मानिसहरू पनि खोज भनेकाले २००९ मार्च १५ मा म मानिस खोज्नका लागि कतारबाट काठमाडौं आएँ । मेरो साथी सन्तोष ढकाल पनि २/३ दिनमा कतारबाट काठमाडौं आए । प्रकाश कार्कीले दुबईबाट फ्रिजन ग्रुपको डिमान्ड लेटर लमजुङका मानिस हस्ते पठाए । सन्तोष ढकाल, म र दुर्गाबहादुर कुँवर मिली मानिस खोज्यौं र कलेक्सन गर्‍यौं । मानिस जम्मा भएपछि उनीहरूका आवश्यक कागजपत्र दुबई पठाएँ । एक डेढ महिनापछि पहिलो चरणमा ४२ जनाको भिसा पठाएपछि सन्तोष ढकाल र दुर्गाबहादुर कुँवरबाट केही पैसा उठाई दुर्गाबहादुर कुँवरबाट रू. ९,५०,०००।– मैले व्यक्तिगतरूपमा तुलाबहादुर बुढाथोकीबाट रू.८०,००,०००।– चन्द्रप्रकाश पराजुलीबाट रू.२,००,०००।– खगेन्द्र ढकालबाट रू. ३,८०,०००।– समेत जम्मा रू. २८,१०,०००।- (अट्ठाईस लाख दश हजार रूपैयाँ) मैले बुझेँ । यस रकममध्येबाट ट्राभल चेकको लागि विनोद रायलाई ४२ थान पासपोर्ट र रू. १५,००,०००।– (पन्ध्र लाख रूपैयाँ) बुझाएँ । बाँकी रकम प्रेम कार्की र पुष्पा अर्याललाई विना भरपाई बुझाएँ । त्यस रकममध्ये मैले कसैको ऋण तिर्न दाजु इन्द्रबहादुर कटुवालको नाममा रू. २,०५,०००।– पठाएँ । यसपछि प्रकाश कार्कीले दोस्रो चरणमा ३० जनाको भिसा पठाएको थियो । २०६६।३।१० गते ट्राभल चेकको  लागि रू. १५,००,०००।– (पन्ध्र लाख रूपैयाँ) बुझाएँ र ७२ थान पासपोर्ट निज विनोद रायलाई बुझाएँ । एयरपोर्ट सेटिङको लागि भनी विनोद रायले सम्पूर्ण पासपोर्ट लिई सुन्धारा गेस्टहाउसमा आए । उसले साथी लिएर आउँछु भनेर आफ्ना चप्पल छोडी मेरो जुत्ता लगाएर गएको । त्यसपछि उनी आएनन् । अर्को दिन बिहान मलाई फोन गरी म आउँदैछु १ घण्टा त्यहीँ नै बस्नु भन्यो । ऊ फर्की नआएपछि आफूसँग भएको ७२ थान पासपोर्ट उक्त गेस्ट हाउसको रिसेप्सनमा केही छिन राखिदिन भनी उसलाई फोन गरी म उसैको खोजीमा हिँडे । त्यसपछि मैले मेरो भाइ सन्तोष ढकाललाई फोन गरेँ, ऊ हाम्रो कोठामा आयो कि भनी बुझेँ तर ऊ गएको बुझिएन । त्यसपछि दिनको १० बजेसम्म म कोठामा आइपुग्छु, टिकट र पासपोर्ट लिएर साथीहरूलाई मेरै कोठामा राख्नु भनी मैले सन्तोष ढकाल र दुर्गाबहादुर कुँवरलाई भनेँ । बिहान १० बजेसम्म पनि विनोद राय हाम्रो सम्पर्कमा नआएकोले म उसैको खोजीमा 

निस्केँ । त्यसपछि मेरा सबै साथीहरू जसले मलाई रकम बुझाएको थिए उनीहरू सँगसमेत सम्पर्कमा 

रहिन । मैले उक्त रू. २८,१०,०००।– बाहेक अन्य रकम बुझेको छैन । डिमान्ड पठाउने काम प्रकाश कार्की र उसकै मानिस विनोद रायले गरे, टिकट र ट्राभल चेक बनाउने काम हामीले गर्छौं भन्दाभन्दै नदिएर विनोद रायले गरेँ । यहाँबाट मानिस दुबई पुगेपछि एयरपोर्टमा लिनआउने काम स्वयम् प्रकाश कार्कीले गर्ने भने । Demand Letter देखाएर प्रचार प्रसार गरी रकम उठाउने काम सन्तोष ढकाल, दुर्गाबहादुर कुँवर र म स्वयम्‌ले गरेका हौं । जाहेरवालाले माग दाबी गरेको जम्मा रू. ७८,००,०००।– रकम म, दुर्गा बहादुर कुँवर र सन्तोष ढकालले व्यहोर्नुपर्छ । मैले गरेको दुबई पठाउने कारोबारमा दुर्गाबहादुर कुँवर र सन्तोष ढकाल मात्र संलग्न छन्, अरू उल्लेख भएका व्यक्तिहरू देवेन्द्र कार्की, विश्व कार्की, ध्रुवबहादुर अधिकारी, दिपसुन्दर श्रेष्ठसमेतले मसँग सम्बन्धित भै काम गरेका छैनन् । माथि मैले बुझेको भनी उल्लेख गरेको रकम मैले तिर्ने बुझाउनेछु । मैले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न स्वीकृति लिएको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी पर्वत कटुवालले गरेको बयान ।

म एजेन्टको काम गर्थें । रिलायबल इन्टरनेसनल प्रा.लि. र इम्प्लोइमेन्ट सर्भिससँग मेरो कुनै सम्बन्ध, सम्पर्क छैन । मैले पर्वत कटुवालसँग मिलेर दुबई वैदेशिक रोजगारमा मानिस पठाउने गरी चन्द्रमणि सुवदीसमेत बाट लिएको रकममा आफ्नो २,००,०००।– समेत गरी थप मैले निज पर्वत कटुवाललाई बुझाएको हुँ । मलाई पर्वत कटुवालले दुबईबाट अर्जुन कटुवालले डिमान्ड पठाएका छन्, भिसा पठाउने, त्यहाँ पुगेपछि काम लगाउने र समस्या परे रेखदेखसमेत सम्पूर्ण काम गर्नेछन् भनी भनेका 

थिए । पर्वत कटुवाल र प्रकाश कार्की बिच राम्रो सम्बन्ध थिएन । प्रकाश कार्कीले पर्वत कटुवाललाई डिमान्ड र भिसा पठाएको होइन । अर्जुन कटुवालले नै भिसा र डिमान्ड पठाएका हुन् । मैले रकम बुझिलिँदा युवराज ढकाललाई भरपाई गरी अन्यका हकमा विश्वासका भरमा रकम बुझिलिएको हुँ । सबै रकम मैले पर्वत कटुवाललाई कुनै कागज लिखत नगराई बुझाएको हुँ । पर्वत र म दुवैजना कतारमा एउटै फ्याक्ट्रीमा ११/२ वर्षसम्म सँगसँगै काम गरेर चिनजान भएको हो । तुलाबहादुर बुढाथोकीलाई कतारबाट दुबईको भिसाको लागि कोसिस गरे, नभएपछि नेपाल पुगेपछि मिलाइदिन्छु भनेको हुँदा र अवुदाबीमा पुलिसको डिमान्डका कागजपत्रहरू समेत देखाएको हुँदा मैले पर्वत कटुवाललाई विश्वास गरी दुबईमा मानिस पठाउने गरी रकम जम्मा गरी निजलाई बुझाएको हुँ । मुख्य योजनाकारमध्ये नेपालमा पर्वत कटुवाल हुन्, दुबईमा अर्जुन कटुवाल हुन् । पर्वत कटुवालले दुबईमा अर्जुन कटुवाललाई भिसा शुल्क भनी पनौतीको कृषि विकास बैंकबाट रू. २५,००,०००।– पठाएको बैंक भौचर मलाई देखाएका थिए । मैले पर्वत कटुवालसँग मिलेर काम गरेको हो । उठाएको रकम सबै टिकट भिसाको लागि चाहिन्छ भनी टिकट लिन गएका मानिस फर्किएर 

आएनन् । मिति २०६६।३।१२ गते बिहान टिकट ल्याएर सोही दिन साँझको फ्लाइट छ भनेका थिए । बिहान पौने १० बजेसम्म फोन सम्पर्क हुँदा टिकट लिएर आउँदैछु भनेकोमा त्यसपछि मोबाइल स्वीच अफ गरी सम्पर्कमा नै नआई भागेछन् । ठूलो रकमको व्यवहार म र दुर्गा कुँवरले मिलाउन नसक्ने भएपछि आफ्नो ज्यान बचाउन भाग्न बाध्य भई भाग्यौं । मैले उठाएको सबै रकम तिर्ने बुझाउने जिम्मेवारी मेरै 

हो । सबै रकम पर्वत कटुवाललाई बुझाएको हुँ, निजसँग असुल गरी सबैलाई बुझाउनेछु । मैले वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत लिएको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी सन्तोष ढकालले गरेको बयान ।

चक्रबहादुर बोहरासमेतको जाहेरी दरखास्तमा उल्लिखित विपक्षीहरू पर्वत कटुवाल, सन्तोष ढकाल र दुर्गाबहादुर कुँवरले हामीहरूसँग वैदेशिक रोजगारको लागि लिएको निम्नबमोजिमको रकमको विवरण खुलाई पेस गरेको भनी निवेदकहरू लालप्रसाद सिंखडा, चन्द्रप्रकाश पराजुली, राजु शाह र नाराय प्रसाद वेलवासेसमेतले वैदेशिक रोजगार विभाग समक्ष दिएको निवेदन पत्र । 

 

(१) वैदेशिक रोजगारको लागि दुबई जाने क्रममा सन्तोष ढकाललाई नगद रकम बुझाउने (दिने) व्यक्तिहरूको नाम र जम्मा रकमः- 

सि.नं. रकम बुझाउनेको नाम रकम रू. सि.नं. रकम बुझाउनेको नाम रकम रू.

१. चन्द्रमणि सुवेदी ५,००,०००।- २. पूर्णबहादुर ढकाल ३,२९,०००।-

३. रामप्रसाद ढकाल ९०,०००।- ४. विनोद फुयाल ९०,०००।-

५. देवीप्रसाद ढकाल १,१०,०००।- ६. देव (जीवन) ब. ढकाल १,१५,०००।-

७. राजु शाह १,००,०००।- ८. जितेन्द्र रसाइली २०,०००।-

९. चन्द्रप्रकाश पराजुली १,२०,०००।- १०. किशोर लिम्बू १,२०,०००।-

११. पवित्रा मगर ३०,०००।- १२. युवराज ढकाल १,१०,०००।-

१३. धनबहादुर मगर १,३५,०००।- १४. महेन्द्र खड्का २५,०००।-

जम्मा १८,९४,०००।-

 

 

(२) वैदेशिक रोजगारको लागि दुबई जाने क्रममा पर्वत कटुवाललाई नगद रकम बुझाउने (दिने) व्यक्तिहरूको नाम र जम्मा रकमः- 

सि.नं. रकम बुझाउनेको नाम रकम रू. सि.नं. रकम बुझाउनेको नाम रकम रू.

१. चन्द्रप्रकाश पराजुली २,००,०००।- २. विकास मगर   १०,०००।-

३. तुलाबहादुर बुढाथोकी ८०,०००।- ४. खगेन्द्र ढकाल ५,२५,०००।-

जम्मा ८,१५,०००।-

 

 

(३) वैदेशिक रोजगारको लागि दुबई जाने क्रममा दुर्गा कुँवरलाई नगद रकम बुझाउने (दिने) व्यक्तिहरूको नाम र जम्मा रकमः- 

सि.नं. रकम बुझाउने व्यक्तिको नाम रकम रू. सि.नं. रकम बुझाउने व्यक्तिको नाम रकम रू.

१. गोपीकृष्ण मैनाली ५०,०००।- २. लालप्रसाद सिंखडा १,८०,०००।-

३. नारायण वेलवासे १,६०,०००।- ४. दिपेन्द्र कटुवाल ५०,०००।-

५. शेखर काफ्ले १,५०,०००।- ६. गणेश आचार्य १,५०,०००।-

७. गिरीराज सुवेदी १,५०,०००।- 8. केशरनाथ बस्नेत १,५०,०००।-

९. सुभाष जि.सी. ५०,०००।- १०. राजेन्द्रकुमार के.सी. १,००,०००।-

११. रत्नविक्रम डाँगी ५०,०००।- १२. गणेशकुमार डाँगी १,५०,०००।-

१३. प्रेमकुमार के.सी. ५०,०००।- १४. प्रेम श्रेष्ठ १,००,०००।-

१५. उत्तम श्रेष्ठ १,६०,०००।- १६. विनबहादुर सुनुवार १,००,०००।-

१७. शिव भट्टराई १,००,०००।- १८. प्रदिप कार्की १,५०,०००।-

१९. यज्ञप्रसाद भण्डारी १,५०,०००।- २०. गणेश कार्की १,५०,०००।-

२१.पासाङ्ग शेर्पा४०,०००।-

जम्मा २३,९०,०००।-

 

    

चन्द्रप्रकाश पराजुलीसँग रू. २,००,०००।–विकास मगरसँग रू. १०,०००।-, तुलाबहादुर बुढाथोकीसँग रू. ८०,०००।– र खगेन्द्र ढकालसँग रू. ३,८०,०००।– लिएको भनी मिति २०६६।८।२२ को बयानमा उल्लेख भए तापनि रू. ५,२५,०००।– नै लिएको हो । सन्तोष ढकालसँग रू. १९,४४,०००।– र दुर्गाबहादुर कुँवरसँग रू. ९,५०,०००।– मात्र बुझेको हुँ । सोभन्दा अरू कुनै रकम लिएखाएको छैन । जुनजुन व्यक्तिबाट मैले रकम बुझिलिएको छु सो रकम मैले सबैलाई फिर्ता गर्नेछु भन्नेसमेत व्यहोराको प्रतिवादी पर्वत कटुवालले गरेको पूरक बयान ।

उपर्युक्त व्यहोराका जाहेरी दरखास्त, उजुरी निवेदनपत्र, बयान, रकम बुझाएको विवरणसमेतका आधार प्रमाणबाट प्रतिवादीमध्येका मुख्य व्यक्तिहरू पर्वत कटुवाल, दुर्गाबहादुर कुँवर र सन्तोष ढकालले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र नलिई जाहेरवालाहरूलाई वैदेशिक रोजगारमा दुबई पठाइदिने भनी रू. २८ लाख उठाई रोजगारीमा नपठाएका र रकमसमेत फिर्ता नगरेको साथै निजहरूको उक्त कार्यमा आफूले भिसा पठाइदिने र आफ्नो भाइ नाता पर्ने पर्वत कटुवाललाई पैसा दिए फरक पर्दैन भन्ने प्रतिवादीमध्येका अर्जुन कटुवाल र कागजातहरू सक्कली नै हुन् कारोबार गरे फरक पर्दैन भन्ने जाहेरवालाहरूबाट आफूले रकम लिएको भनी कागज गरिदिने प्रतिवादीमध्येका ध्रुवबहादुर अधिकारीको समेत यस कार्यमा संलग्नता देखिएको र निजहरूले समेत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजत लिएको नदेखिएको हुँदा प्रतिवादीहरू पर्वत कटुवाल, दुर्गाबहादुर कुँवर, सन्तोष ढकाल, अर्जुन कटुवाल र ध्रुवबहादुर अधिकारीको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० तथा दफा ४३ विपरीतको देखिएको हुँदा निजहरूलाई ऐ. ऐनको दफा ४३ बमोजिम सजाय गर्न र जाहेरवालाहरूको मागदाबी रू. ७८,००,०००।– (अठहत्तर लाख रूपैयाँ) र सोको ५० प्रतिशतले हुने हर्जाना रू. ३९,००,०००।– (उनन्‍चालिस लाख रूपैयाँ) समेत गरी जम्मा १,१७,००,०००।– (एक करोड सत्र लाख रूपैयाँ) निज प्रतिवादीहरूबाट असुलउपर गराइदिने माग दाबी लिई काठमाडौं जिल्ला अदालतसमक्ष मिति २०६६।।९।१९ मा पेस भएको अभियोग पत्र ।

प्रतिवादीहरू पर्वत कटुवाल र दुर्गाबहादुर कुँवरलाई चिन्दछु, अन्यलाई चिन्दिन । म कतारबाट फर्की नेपाल आएको हुँ । जाहेरवालाहरूले पर्वत कटुवाललाई चिन्नुहुन्छ, निजले दुबईमा काम लगाउने भनेकोले निज पर्वत कटुवालसँग कुरा गर्नुपर्‍यो मेरो रोहवरमा पर्वत कटुवाल पनि सँगै रहेको र मैले करिब २२ जनासँग गरी रू. १९,४४,०००।– (उन्नाइस लाख चवालिस हजार रूपैयाँ) लिएर पर्वत कटुवाललाई दिएको हो । म रोहवरमा बसेको कारणले मलाईसमेत विपक्षी बनाई जाहेरी दिएको हो । मैले उक्त रकम ठगी गरेको होइन । मैले रकम लिएर पर्वत कटुवाललाई दिएको हुँदा पर्वत कटुवालसमेत मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी सन्तोष ढकालले काठमाडौं जिल्ला अदालतसमक्ष मिति २०६६।९।२० मा गरेको बयान ।

प्रतिवादीहरूसँग चिनजान छ, सोमध्ये ध्रुवबहादुर अधिकारीलाई पक्राउ भएपछि चिनेको हो । म यसभन्दा पहिला कतारमा काम गर्थेँ दुबईमा रोजगारी पाउने जानकारी भएपछि कतारबाट नेपाल 

फर्किआएँ । दुर्गाबहादुर कुँवरसमेतले विदेशमा रोजगार गर्न पठाइदिन्छु भनी को कसबाट कति रकम उठाए मलाई थाहा भएन । दुबई पठाइदिन्छु भनी रकम लिई पठाउन नसकेको कुरा मलाई पछि थाहा भएको 

हो । मैले कसैसँग रकम नलिएको र ठगी नगरेको हुँदा अभियोगपत्रको व्यहोरा झुट्टा हो । मैले कसैलाई ठगी नगरेको हुँदा मलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी पर्वत कटुवालले काठमाडौं जिल्ला अदालतमा गरेको 

बयान ।

तत्कालप्राप्त प्रमाणहरूबाट हालै प्रतिवादीहरू कसुरदार होइनन् भन्न सकिने अवस्था नरहेको र अ.बं. ११८ नं. को देहाय ५ को अवस्था विद्यमान रहेको देखिएको हुँदा पछि बुझ्दैजाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.बं. ११८ नं. को ५ र १० नं. अनुसार प्रतिवादी पर्वत कटुवालबाट रू. ३०,००,०००।– (तिस लाख रूपैंयाँ) नगदै धरौट वा सो बराबरको जेथा जमानत र प्रतिवादी सन्तोष ढकालबाट रू. १०,००,०००।– (दश लाख रूपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारेखमा राख्नु र दिन नसके थुनामा राखी मुद्दामा पुर्पक्ष गर्न दिनु भन्नेसमेत व्यहोराको आदेश मिसिल सामेल रहेको छ ।

काठमाडौं जिल्ला अदालतको मिति २०६७।३।२२ को आदेशानुसार प्रस्तुत मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा सरिआएको ।

प्रतिवादीहरू मध्येका दुर्गाबहादुर कुँवरसँग सामान्य चिनजान छ, अन्य प्रतिवादीहरूसँग चिनजान छैन । मैले कुनै पनि जाहेरवालाहरूलाई वैदेशिक रोजगारमा पठाउने भनी रकम लिएको छैन । मलाई उक्त लिखतमा साक्षी बसेका जयन्त डाँगी र उत्तम श्रेष्ठ र सामान्य चिनजान भएको छिरिङ भन्ने व्यक्तिले नयाँ बानेश्वरको मिलन चोकमा बोलाएका र त्यहाँ २५/३० जना नचिनेका मानिसहरू भेला भई यसले दुर्गाबहादुर कुँवरलाई चिनेको रहेछ, यसको पनि संलग्नता होला भनी मलाई गालिगलौज गरी ज्यानसमेत मार्ने धम्की दिई उक्त कागजमा जबरजस्ती सहीछाप गर्न लगाएका हुन् । अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा मैले मानिस विदेश पठाएको भनेको होइन, रिलायबल म्यानपावरबाट गएका हुन् भनेको हो, बयानको अन्य व्यहोरा ठिक छ । अनुसन्धानको क्रममा जाहेरवाला तुलाबहादुर बुढाथोकीले गरेको कागजमा पैसा मैले नलिएको भन्ने कुरा ठिक हो, मलाई कागज गराएको पनि ठिक हो, अरू कुरा कहाँ के गरे मलाई थाहा 

भएन । पर्वत कटुवालले कोसँग कति रकम लिए मलाई थाहा भएन । म श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि.को सञ्चालक होइन, उक्त कम्पनीमा काम गरेको पनि छैन र मैले अभियोग दाबीबमोजिम कसुर अपराध नगरेको हुँदा सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ध्रुवबहादुर अधिकारीले वैदेशिक रोजगार न्यायाधिकरणमा गरेको बयान ।

यसमा प्रतिवादी मुलकी ऐन, अ.बं. ११८ को देहाय ५ र १० बमोजिम रू. २०,०००।– नगदै धरौट वा सो बराबरको जेथा जमानत दिए लिए तारेखमा राखी र सो दिन नसके थुना राखी मुद्दाको पुर्पक्ष गर्नु दिनु भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०६७।३।२९ मा भएको थुनछेक आदेश ।

प्रतिवादी ध्रुववहादुर अधिकारी ठगी गर्ने व्यक्ति होइनन् । निज कस्मिक एयरमा जागिर 

खान्थे । हाल उनी TOFEL अध्ययन गरिरहेका छ । निजले वैदेशिक रोजगार गरेको थाहा छैन । २०६६ असारताका घरको फर्निचर किन्नको लागि बानेश्वर जाँदा निजलाई २५/३० जनाले घेरेर राखेको देखेको हो । के भएको रहेछ भनी बेलुका निजलाई सोध्दा मलाई जबरजस्ती वैदेशिक रोजगारको कागज गराए भनेर प्रतिवादीले नै मलाई भनेको हुनाले थाहा पाएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी ध्रुववहादुर अधिकारीका साक्षी नगेन्द्रबहादुर बस्नेतले मिति २०६७।९।८ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा भएको व्यहोरा ठिक साँचो हो र सोमा भएको सहीछाप मेरै हो । मलाई श्रृष्टि इम्प्लोइमेन्ट कम्पनीका सञ्चालक दुर्गाबहादुर कुँवरले वैदेशिक रोजगारीमा दुबई मुलुकीमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, मासिक दुबईको १६०० तलब हुन्छ भनी मबाट रू. ५०,०००।– लिई उक्त रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नदिएकाले म ठगिन पुगेको हुँ । ध्रुवबहादुर अधिकारीसँग मेरो कुनै कारोबार छैन, उनी पनि सञ्चालक हुन् भन्ने सुनेकाले निजको नाम पनि उल्लेख गरिएको हो । दुर्गा बहादुर कुँवरलाई रकम बुझाएको लिखत कागज प्रमाण केही छैन, विश्वासका आधारमा कागज नगराएको हो भन्नेसमेत व्यहोराको जाहेरवाला माधवप्रसाद घिमिरेले मिति २०६८।९।६ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा भएको व्यहोरा ठिक साँचो हो र सोमा मेरो सहीछाप छैन, सही गर्न छुटेको हो । मलाई वैदेशिक रोजगारमा दुबई मुलुकमा सेल्सम्यानमा मासिक १६५० तलब पाउने गरी काममा लगाइदिन्छु भनी मसँग प्रतिवादी दुर्गाबहादुर कुँवरले रू. ७०,०००।– लिई उक्त रोजगारमा नपठाएको र रकमसमेत फिर्ता नगरेकाले म ठगिन पुगेको हुँ । मैले विश्वासका आधारमा रकम दिएको हुँ, लिखत कागज प्रमाण केही छैन भन्नेसमेत व्यहोराको जाहेरवाला तर्कबहादुर वलीले मिति २०६८।९।६ मा गरेको 

बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा भएको व्यहोरा ठिक साँचो हो र सोमा भएको सहीछापसमेत मेरो हो । मलाई वैदेशिक रोजगारमा दुबई मुलुकमा ड्राइभरको काममा मासिक स्यालरी २२०० दिराम पाउने गरी लगाइदिन्छु भनी प्रतिवादी दुर्गाबहादुर कुँवरले मसँगबाट रू. ५०,०००।– लिई उक्त रोजगारमा नपठाई रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन्‌ । प्रतिवादी दुर्गाबहादुर कुँवरले अन्य प्रतिवादी पनि यस म्यानपावरका मानिस हुन् भनेकाले निजहरू उपर पनि जाहेरी दिएको हुँ । अन्य प्रतिवादीहरूसँग मेरो कुनै लेनदेन कारोबार भएको होइन । मैले विश्वासका आधारमा रकम दिएको हुँ, लिखत प्रमाण कागज केही छैन भन्नेसमेत व्यहोराको जाहेरवाला दिपेन्द्र कटुवालको मिति २०६८।९।६ मा गरेको बकपत्र ।

मेरो एकाघरको दाजु जाहेरवाला केदारनाथ बस्नेत हाल वैदेशिक रोजगारको लागि साउदी अरबमा रहेको भनी भाइ कर्णबहादुर बस्नेतले दिएको मिति २०६८।८।६ को निवेदन, मेरो छोरा जाहेरवाला गणेश आचार्य हाल मलेसियामा रोजगारको लागि गएको भनी बाबु रामप्रसाद आचार्यले मिति २०६८।८।६ मा दिएको निवेदन, मेरो भाइ जाहेरवाला जितेन्द्र रसाइली रोजगारको सिलसिलामा मलेसिया गएको भनी दाजु नगेन्द्र रसाइलीले मिति २०६८।९।६ मा दिएको निवेदन, दाइ जाहेरवाला चरित्र ढकाले रोजगारको सिलसिलामा मलेसिया गएको भनी मेघराज ढकालले मिति २०६८।९।६ मा दिएको निवेदन, भाइ जाहेरवाला टेकबहादुर थापा रोजगारको सिलसिलामा साउदी गएको भनी अमरबहादुर थापाले मिति २०६८।९।६ मा दिएको निवेदन ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी सन्तोष ढकालले वैदेशिक रोजगारीमा दुबई मुलुकमा सुपरमार्केटको सेल्सम्यानमा काममा लगाइदिन्छु, दुबईको मासिक १६५० स्यालरी हुन्छ भनी निजले मबाट रू. १,१५,०००।– लिई उक्त रोजगारीमा नपठाई मेरो उक्त रकम ठगी गरेका हुन् । पैसा बुझाउँदा पर्वत कटुवाल पनि सँगै थिए । निजले पनि मलाई उक्त रोजगारीमा जान प्रलोभन देखाई विश्वास दिलाएका थिए । त्यही भएर निजलाई पनि प्रतिवादी बनाएको 

हो । अन्य प्रतिवादीहरू पनि सोही कम्पनीको स्टाफ हुन् भन्ने सुनेकोले प्रतिवादी बनाएको हो । रकम बुझाएको लिखत कागज प्रमाण केही छैन भन्नेसमेत व्यहोराको जाहेरावाला देवबहादुर ढकालले मिति २०६८।९।७ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी दुर्गाबहादुर कुँवरले वैदेशिक रोजगारीमा दुबई मुलुकमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, दुबईको मासिक स्यालरी १६०० हुन्छ भनी निजले मबाट रू. ५०,०००।– लिई त्यसतर्फ नपठाई मेरो उक्त रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन् । प्रतिवादीहरू मध्ये ध्रुवसिं अधिकारी मेनपावरको डाइरेक्टर भएकाले प्रतिवादी बनाएको हो । अन्य प्रतिवादीहरूसँग मेरो चिनजानै नभएको तर हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरू मध्ये कसै न कसैले लिएको हुनसक्ने हुनाले प्रतिवादी बनाइएको हुनसक्छ । विश्वासका आधारमा दुर्गाबहादुर कुँवरलाई रकम बुझाएको हुँ, रकम बुझाएको लिखत कागज प्रमाण केही छैन भन्नेसमेत व्यहोराको जाहेरवाला रामजी खड्काको मिति २०६८।९।७ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी दुर्गाबहादुर कुँवरले वैदेशिक रोजगारीमा दुबई मुलुकमा सेल्सम्यानको काममा लगाइदिन्छु, दुबईको मासिक स्यालरी १६०० हुन्छ भनी निजले मबाट रू. ५०,०००।– लिई रोजगारीमा नपठाई मेरो उक्त रकम ठगी गरेका हुन् । प्रतिवादीहरू मध्ये पर्वत कटुवाल र सन्तोष ढकालले दुबईबाट भिसा पठाउँछन्‌ भनी दुर्गाबहादुर कुँवरले भनेकोले निजहरूलाई पनि प्रतिवादी बनाएको हो । अन्य प्रतिवादीहरूसँग मेरो कुनै कारोबार नभएको तर हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरूमध्ये कसै न कसैले लिएको हुनसक्ने हुनाले प्रतिवादी बनाइएको हो । विश्वासका आधारमा दुर्गाबहादुर कुँवरलाई रकम बुझाएको हुँ, रकम बुझाएको लिखत कागज प्रमाण केही छैन भन्नेसमेत व्यहोराको जाहेरवाला यज्ञबहादुर भण्डारीले मिति २०६८।९।७ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी दुर्गाबहादुर कुँवरले वैदेशिक रोजगारीमा दुबई मुलुकमा सेल्सम्यानमा काममा लगाईदिन्छु दुबईको मासिक स्यालरी १६०० हुन्छ भनी निजले मबाट रू. ४५,०००।– लिई उक्त काममा नपठाई मेरो उक्त रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन् । हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरू मध्ये कसै न कसैले लिएको हुनाले प्रतिवादी बनाइएको हो । निज दुर्गाबहादुर कुँवरलाई रकम बुझाएको रिसिप्ट यसै बकपत्रसाथ पेस गरेको छु । मेरो पासपोर्ट दुर्गाबहादुर कुँवरसँगै छ भन्नेसमेत व्यहोराको जाहेरवाला प्रेमबहादुर के.सी.ले मिति २०६८।९।७ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी दुर्गाबहादुर कुँवरले वैदेशिक रोजगारीमा दुबई मुलुकमा सेल्सम्यानमा काममा लगाइदिन्छु दुबईको मासिक स्यालरी १५०० भन्दामाथि हुन्छ भनी निजले मबाट रू. १,००,०००।– लिई उक्त काममा नपठाई मेरो उक्त रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन् । हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरूमध्ये कसै न कसैले लिएको हुनाले प्रतिवादी बनाइएको हो । निज दुर्गाबहादुर कुँवरलाई रकम बुझाएको सक्कल लिखत मेरो साथीसँग छ, १ महिनाभित्रमा पेस गर्नेछु भन्नेसमेत व्यहोराको जाहेरवाला राजेन्द्रकुमार के.सी.ले मिति २०६८।९।७ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी दुर्गाबहादुर वैदेशिक रोजगारीमा दुबई मुलुकमा सेल्सम्यानको काम दिलाईदिन्छु, दुबईको मासिक स्यालरी १६०० हुन्छ भनी निजले मबाट रू. ५०,०००।– लिई उक्त काममा नपठाई मेरो उक्त रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन् । हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरूमध्ये कसै न कसैले लिएको हुनाले प्रतिवादी बनाइएको हो । निज दुर्गाबहादुर कुँवरलाई रकम बुझाएको सक्कल रिसिप्ट यसै बकपत्रसाथ पेस गरेको छु भन्नेसमेत व्यहोराको जाहेरवाला रत्नविक्रम डाँगीले मिति २०६८।९।७ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी पर्वत कटुवालले वैदेशिक रोजगारीमा दुबई मुलुकमा ड्राइभर काम दिलाइदिन्छु, दुबईको मासिक स्यालरी १६५० हुन्छ भनी निजले मबाट रू. १,१०,०००।– लिई उक्त काममा नपठाई मेरो उक्त रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन् । हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरूमध्ये कसै न कसैले लिएको हुनाले प्रतिवादी बनाइएको हो । विश्वासको आधारमा पर्वत कटुवाललाई रकम दिएको हुँ, रकम दिएको लिखत कागज प्रमाण केही छैन भन्नेसमेत व्यहोराको जाहेरवाला प्रेमप्रसाद खनालले मिति २०६८।९।७ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी सन्तोष ढकालले वैदेशिक रोजगारीमा दुबई मुलुकमा सेल्सम्यानको काम दिलाइदिन्छु, दुबईको मासिक स्यालरी १६५० हुन्छ भनी निजले मबाट रू. १,२०,०००।– लिई उक्त काममा नपठाई मेरो उक्त रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन् । हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरूमध्ये कसै न कसैले लिएको हुनाले प्रतिवादी बनाइएको हो । निज प्रतिवादी सन्तोष ढकाल एउटै गाउँको मानिस र अङ्कल नातासमेत पर्ने हुँदा विश्वासको आधारमा रकम दिएको हुँ, लिखत गरेको छैन भन्नेसमेत व्यहोराको जाहेरवाला मेघराज ढकालले मिति २०६८।९।७ मा गरेको बकपत्र ।  

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई दुर्गाबहादुर कुँवरले वैदेशिक रोजगारीमा दुबई मुलुकमा सेक्युरिटी गार्डमा काम दिलाइदिन्छु, दुबईको मासिक स्यालरी १६०० हुन्छ भनी निजले मबाट रू. ५०,०००।– लिई उक्त काममा नपठाई मेरो उक्त रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन् । हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरू मध्ये कसै न कसैले लिएको हुनाले प्रतिवादी बनाइएको हो । निज दुर्गाबहादुर कुँवरलाई रकम बुझाएको सक्कल रिसिप्ट हाल मसँग साथमा नभएको र घरमा छुटेकोले १ महिनाभित्रमा पेस गर्नेछु भन्नेसमेत व्यहोराले जाहेरवाला लाक्पासाङ शेर्पाको मिति २०६८।९।७ मा गरेको बकपत्र ।

मिति २०६६।३।१४ को जाहेरीमा उल्लिखित व्यहोरा ठिक साँचो हो । मलाई प्रतिवादी दुर्गाबहादुरले वैदेशिक रोजगारीमा दुबई मुलुकमा सेल्सम्यानको काम दिलाइदिन्छु, दुबईको मासिक स्यालरी १६५० हुन्छ भनी निजले मबाट रू. १,००,०००।– लिई उक्त काममा नपठाई मेरो सो रकमसमेत फिर्ता नगरी ठगी गरेका हुन् । हामी जाहेरवालाहरू धेरै जना भएका र हाम्रो एउटै जाहेरी दरखास्त भएको हुँदा कोही न कोही जाहेरवालाको रकम प्रतिवादीहरू मध्ये कसै न कसैले लिएको हुनाले प्रतिवादी बनाइएको हो । निज दुर्गाबहादुर कुँवरलाई रू. १,००,०००।– दिएको मिति २०६६।३।१ को  रिसिप्ट यसै बकपत्रसाथ पेस गरेको छु भन्नेसमेत व्यहोराको जाहेरवाला टङ्गेल शेर्पाको मिति २०६८।९।७ मा गरेको बकपत्र ।

म निवेदकहरू बलराम कट्टेल र भावना तिम्सिनालाई चिन्दिन । मैले निजहरूलाई वैदेशिक रोजगारको लागि काम दिलाइदिन्छु भनी फोन गरी भिसा पठाएको होइन । पर्वत कटुवालसँग मेरो वैदेशिक रोजगारसम्बन्धी कुनै लेनदेन व्यवहार छैन । नचिनेको मानिसहरूलाई दुबईबाट फोन गरीगरी भिसा पठाउने कुरै भएन । मैले निजहरूलाई वैदेशिक रोजगारमा काममा लगाइदिन्छु भनी कुनै रकम लिई ठगी गरी खाएको होइन, छैन । निवेदनसाथ पेस भएका कागजातहरू कहाँबाट ल्याई कसरी पेस गरे सो सम्बन्धमा मलाई केही थाहा जानकारी भएन । प्रतिवादीहरू सन्तोष ढकाल, पर्वत कटुवाल र जाहेरवालाहरू गोपीकृष्ण मैनाली, तुलाबहादुर बुढाथोकीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयानमा वैदेशिक रोजगारमा मानिस पठाउनमा मेरोसमेत संलग्नता रहेको भनी किन त्यस्तो बयान गरे मलाई थाहा भएन । पर्वत कटुवालले कृषि विकास बैंकबाट मलाई रू. २,५०,०००।– पठाएको होइन, बैंकमा बुझ्दा पनि हुन्छ । मैले दुबईबाट कसैलाई एउटा पनि भिसा पठाएको छैन, कसैलाई पठाउँछु भनेको पनि छैन । मैले वैदेशिक रोजगार सम्बन्धमा कसैलाई केही आश्वासन दिएको छैन । कसैलाई एयरपोर्टमा रिसिभ गर्न आउँछु भनेको पनि होइन र वैदेशिक रोजगारमा मानिस पठाउनका लागि भनेर कसैलाई सरसल्लाह समेत दिएको छैन । मैले वैदेशिक रोजगार व्यवसाय गर्ने गरेको छैन र इजाजत पनि लिएको छैन । प्रतिवादीहरूमध्ये सन्तोष ढकाल र ध्रुवबहादुर अधिकारी तथा जाहेरवालाहरूले मसँग चिनजान नभएको भनी र निजहरू तथा मेरो भाइ नाताका प्रतिवादी पर्वत कटुवालले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष बयान तथा बकपत्र गर्दा वैदेशिक रोजगारमा मानिसहरू पठाउन मेरो संलग्नता छ भन्ने पोलसमेत गरेका छैनन् । म वैदेशिक रोजगारको कारोबार गर्ने मानिस होइन । अन्य जाहेरवालाहरूले म उपर उजुरी नै गरेका छैनन् । मलाई कसुरदार देखाउने प्रमाण कागज उजुरीकर्ताहरूले पेस गर्न नसकेका र अभियोगपत्र साथसमेत पेस गर्न नसकेको अवस्था हुँदा हचुवाको भरमा मउपर लगाइएको अभियोग दाबी झुठा हो । म निर्दोष छु झुट्ठा अभियोगबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अर्जुनबहादुर कटुवालले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष मिति २०६९।८।११ मा गरेको बयान ।

यसमा यी अभियुक्त अर्जुनबहादुर कटुवाल आज यस न्यायाधिकरण र मिति २०६६।३।२१ मा अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गर्दै आफूले जाहेरवालाहरूलाई नचिनेको र विगत लामो समयदेखि दुबईमा कार्यरत्‌ रहेको र हालसम्म कसैलाई वैदेशिक रोजगारमा पठाएको र कसैले वैदेशिक रोजगारमा काम लगाइदिन रकम पठाएकोसमेत होइन । आफूले कसैलाई दुबईबाट भिसासमेत पठाइदिएको होइन भनी बयान गरेको भए तापनि जाहेरवालामध्ये बलराम कट्टेल र भावना तिमल्सेनाले हामीलाई यी अभियुक्तले दुबईबाट फोन गरी पर्वत कटुवाललाई रकम दिनु वैदेशिक रोजगारमा दुबईमा काम दिलाई दिउँला भनेकाले पर्वत कटुवाललाई रकम दिएको भनी जाहेरी दिएको र प्रहरीमा कागज गर्ने तुलाबहादुर बुढाथोकीको बयान व्यहोरासमेतबाट यी अभियुक्तले दुबईबाट केही भिसा पठाएको भन्नेसमेत उल्लेख भएको देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा मुलुकी ऐन, अ.बं. ११८ को देहाय ५ र १० लाई एवम् मिसिल कागज प्रमाणसमेतको स्थितिलाई विचार गरी यी अभियुक्तबाट रू. १०,०००।– (दशहजार रूपैयाँ) नगदै धरौटी लिई तारेखमा राखी प्रस्तुत मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत व्यहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०६९।८।११ मा भएको थुनछेक आदेश ।

म वैदेशिक रोजगारीको सिलसिलामा दुबईको आवुधावी स्थित एक कम्पनीमा काम गर्दै आएकोमा मलाई कम्पनीले तुरून्त बोलाई जानुपर्ने भएकोले यस न्यायाधिकरणबाट तोकी पाएको मिति २०६९।८।२९ को तारेखमा उपस्थित हुन र मैले बयानको क्रममा राखेका मेरा साक्षीहरूको समेत बकपत्र गराउन नसक्ने हुँदा सो कुराको जानकारी गराउँदै मेरो मिसिल संलग्न भएका कागज प्रमाणहरू हेरी बुझी न्याय इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अर्जुनबहादुर कटुवालले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष मिति २०६९।८।१५ मा दिएको निवेदन पत्र ।

प्रतिवादीहरूले वैदेशिक रोजगार व्यवसाय गर्ने अनुमति प्राप्त नगरेको कुरामा विवाद छैन । प्रतिवादीहरू मध्येका पर्वत कटुवालले आरोपित कसुरमा अधिकारप्राप्त अधिकारीसमक्ष साबिती, प्रतिवादी सन्तोष ढकालले न्यायाधिकरणसमक्ष समेत साबिती बयान र प्रतिवादी दुर्गाबहादुर कुँवरले सफाई सबुद पेस नगरी आरोपित कसुरमा मौनता साँधी बसेको कुरा किटानी जाहेरी दरखास्त मिलानको बकपत्र र पेस भएको बैंक भौचर, भरपाई र वैदेशिक रोजगार सम्बन्धित कागजातसमेतबाट समर्थित भएकाले यी प्रतिवादीहरू पर्वत कटुवाल, सन्तोष ढकाल र दुर्गाबहादुर कुँवरले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ अन्तर्गतको कसुर गरेको देखिँदा जाहेरवालाहरूलाई विदेश पठाउन नसकेको अवस्थालाई समेत विचार गरी वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम निज प्रतिवादीहरूलाई जनही २।०।० (दुई वर्ष) कैद, रू. २,००,०००।– (दुई लाख रूपैयाँ) का दरले जरिवाना भई निज प्रतिवादीहरूबाट दामासाहीले जाहेरवालाहरूको हर्जानासहितको रकम भराई दिने ठहर्छ । प्रतिवादीहरू मध्येका ध्रुवबहादुर अधिकारीको हकमा अभियोग माग दाबी समर्थित हुन नसकेको र प्रतिवादी अर्जुनबहादुर कटुवालको हकमा अभियोग माग दाबी प्रमाणित गर्ने भरपर्दो, विश्वसनीय र यथेष्ट प्रमाणको अभाव देखिँदा प्रतिवादीहरू ध्रुवबहादुर अधिकारी र अर्जुनबहादुर कटुवालले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भनी मिति २०७०।२।६ मा वैदेशिक रोजगार न्यायाधिकारणमा भएको फैसला ।

उक्त फैसला मिलेको छैन, प्रतिवादी ध्रुवबहादुर अधिकारीले सुरेशकुमार श्रेष्ठसमेतका जाहेरवालाहरूबाट मिति २०६६।३।१२ मा रू. २७,३५,०००।– रकम बुझी कागज गरेको देखिन्छ । श्रृष्टि ओभरसिज Employment का सञ्चालकले सो रकम बुझी कागज गरेको अवस्थामा जाहेरवालाहरूले कागज गराएका हुन् भन्ने आधारमा मात्र सफाई दिन मिल्दैन । प्रतिवादी अर्जुनबहादुर कटुवालउपर पनि बलराम कट्टेल र भावना तिमिल्सिनाले किटानी जाहेरी दिएकोमा त्यसतर्फ कुनै विवेचना गरिएको 

छैन । पर्वत कटुवाल सन्तोष ढकाल र दुर्गाबहादुर कुँवर कसुरदार ठहर गरेको भए तापनि प्रतिवादी ध्रुवबहादुर अधिकारीले बुझी लिएको रकम यिनै प्रतिवादीले लिएको हुँदा बिगो कायम नगरी गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा नमिलेको हुँदा वैदेशिक रोजगार न्यायाधिकरणको फैसला सो हदसम्म बदर गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

नियमबमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहालले किटानी जाहेरी परी अनुसन्धानको क्रममा ठोस प्रमाण सङ्कलन गरी पेस भएको अभियोग माग दाबीबमोजिम सबै जाहेरवालाहरूले बिगो र हर्जाना भराइदिनु पर्नेमा समान कसुरमा आरोपीमध्ये केही प्रतिवादीहरूलाई सजाय गर्ने केहीलाई उन्मुक्ति दिने र केही जाहेरवालाहरूले बिगो भरी नपाउने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम बिगो हर्जना भराई सबै आरोपीहरूलाई सजाय गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

अब, वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंको मिति २०७०।२।६ को फैसला मिलेको छ छैन? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने सक्ने हो होइन? भनी निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, चक्रबहादुर बोहरा, सुरेशकुमार श्रेष्ठ र बलराम कट्टेलसमेतले विभिन्न मितिमा दिएको जाहेरी दरखास्तका आधारमा वैदेशिक रोजगार विभागले अनुसन्धान गरी दायर भएको प्रस्तुत मुद्दामा प्रतिवादी ध्रुवबहादुर अधिकारीको समेत यस कार्यमा संलग्नता देखिएको र वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतसमेत लिएको नदेखिँदा प्रतिवादीहरू पर्वत कटुवाल, दुर्गाबहादुर कुँवर, सन्तोष ढकाल, अर्जुन कटुवाल र ध्रुवबहादुर अधिकारीको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० तथा ४३ नं. विपरीतको हुँदा निजहरूलाई ऐ. ऐनको दफा ४३ बमोजिम सजाय गर्न र जाहेरवालाहरूको मागदाबीको रू. ७८,००,०००।– (अठहत्तर लाख रूपैयाँ) र सोको ५० प्रतिशतले हुने हर्जाना रू. ३९,००,०००।– (उनन्‍चालिस लाख रूपैयाँ) समेत गरी जम्मा १,१७,००,०००।– (एक करोड सत्र लाख रूपैयाँ) निज प्रतिवादीहरूबाट असुलउपर गराई पाउँ भनी अभियोग पत्र पेस भएकोमा प्रतिवादीहरू मध्येको पर्वत कटुवाल, सन्तोष ढकाल र दुर्गाबहादुर कुँवरलाई जनही २ दुई वर्ष कैद र रू. २,००,०००।– (दुई लाख) जरिवाना हुने र जाहेरवालाहरूको बिगो रू. ५२,७९,०००।– (बाउन्न लाख उनासी हजार) बिगो कायम गरी निज प्रतिवादीहरूबाट जाहेरवाला चन्द्रमणि सुवेदीसमेतका ४१ जना जाहेरवालाहरूले दामाशाहीले रू. २६,३९,५००।– (छब्बिस लाख उनान्चालिस हजार पाँच सय) हर्जानासहित रू. ७९,१८,५००।– (उनासी लाख अठार हजार पाँच सय) भरिपाउने ठहर्‍याएको, र प्रतिवादीहरू मध्येका ध्रुवबहादुर अधिकारी र अर्जुनबहादुर कटुवालाई आरोपित कसुरबाट सफाई पाउने ठहर्‍याएको वैदेशिक रोजगार न्यायाधिकारणको फैसलाउपर प्रतिवादीहरू पर्वत कटुवाल, सन्तोष ढकाल र दुर्गाबहादुर कुँवरले उक्त फैसलाउपर यस अदालतमा पुनरावेदन नगरेको र वादी नेपाल सरकारले सो फैसलामा यी तीन जना प्रतिवादीहरूलाई बिगो घटी कायम गरेको र प्रतिवादी ध्रुवबहादुर अधिकारी र अर्जुन कटुवाललाई सफाई दिएको नमिलेको भनी जिकिर लिएको देखियो ।

३. प्रतिवादी ध्रुवबहादुर अधिकारीको हकमा विचार गर्दा निजले मौकामा बयान गर्दा मिति २०६६।३।१२ गते सुरेशकुमार श्रेष्ठसमेतलाई गरिदिएको कागजमा भएको सहिछाप मेरो नै हो तर करकापमा भएको हो भनी बयान गरेको र अदालतमा बयान गर्दा पनि मैले पैसा नलिएको, मलाई कागज गराएको पनि ठिक हो भनी मौकाको बयानलाई समर्थन गरिरहेको देखियो । मिति ०६६।३।१२ को कागजमा नाम उल्लिखित जाहेरवालाहरू मध्येका जाहेरवाला माधवप्रसाद घिमिरेले अदालतमा गरेको बकपत्रमा श्रृष्टि इम्प्लोइमेन्ट कम्पनीका सञ्चालक दुर्गाबहादुर कुँवरले वैदेशिक रोजगारमा पठाउन मसँग रू. ५०,०००।– लिएका हुन् लिखत प्रमाण केही छैन । ध्रुवसिंह अधिकारीसँग मेरो कुनै कारोबार छैन भनी यी प्रतिवादी ध्रुवबहादुर अधिकारीलाई कसुरमा गडाउ गर्न सकेको देखिएन । जाहेरवालाहरू मध्येका तर्कबहादुर वलीले गरेको बकपत्रमा आफूबाट प्रतिवादी दुर्गाबहादुर कुँवरले रू. ७०,०००।– लिएको हो लिखत कागज प्रमाण केही छैन भनी बकपत्र गरेको पाइन्छ । त्यसैगरी जाहेरवालाहरू दिपेन्द्र कटुवाल, रामजी खड्का, यज्ञबहादुर भण्डारी, प्रेमबहादुर के.सी., राजेन्द्रकुमार के.सी. रत्नविक्रम डाँगी, लाक्पासाङ शेर्पासमेतले पनि अदालतमा बकपत्र गर्दा रकम दुर्गा कुँवरलाई बुझाएको र कागज प्रमाण केही छैन भनी बकपत्र गरेको 

पाइन्छ । अनुसन्धानकै क्रममा मौकामा तुलाबहादुर बुढाथोकी र गोपी कृष्ण मैनालीले रकम ठगी गर्ने यी प्रतिवादी होइनन् भनी गरेको कागजका साथै गणेश डाँगीसमेतका जाहेरीवालाहरूले आफ्नो जाहेरी दरखास्तमा निज प्रतिवादीको नाम उल्लेख नगरेको तथा प्रतिवादी पर्वत कटुवाल, सन्तोष ढकालसमेतले अधिकारप्राप्त अधिकारी र न्यायाधिकरणसमक्ष बयान गर्दा निजलाई पोल गरेकोसमेत नदेखिँदा निज प्रतिवादी ध्रुवबहादुर अधिकारीको हकमा अभियोगदाबी समर्थित हुन सक्ने देखिएन । 

४. प्रतिवादी अर्जुन कटुवालको हकमा विचार गर्दा यी प्रतिवादीका विरूद्ध पूरक जाहेरी दिने जाहेरवाला बलराम कट्टेल र भावना तिमिल्सिनाले आफ्नो भनाइलाई समर्थन गर्ने गरी बकपत्र गरेको अवस्था नभएको प्रतिवादी पर्वत कटुवाल, सन्तोष ढकालसमेतले आफ्नो बयान गर्ने क्रममा निज अर्जुन कटुवाललाई पोल गरी बयान गरेको नदेखिनुका साथै निज प्रतिवादी आरोपित कसुरमा सुरूदेखि नै पूर्ण इन्कार रहेको र मिसिल संलग्न कागज प्रमाणहरू समेतबाट निज प्रतिवादी अर्जुन कटुवालले विदेश पठाउने भनी जाहेरवालाहरूको रकम बुझिलिएको समेत देखिएन । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादी दाबी प्रमाणित गर्ने दायित्व वादीको 

हो । वादी नेपाल सरकारले आफ्नो अभियोग दाबी पुष्टि गर्नु पर्दछ । तर प्रस्तुत मुद्दामा यी प्रतिवादीउपर कसुर गरेको भनी लेख्ने लेखाउने जाहेरवालाहरू ती आफ्ना साक्षीलाई बकपत्र गराई दाबी खम्बिर गर्न नसकेको अन्य शङ्कारहित सबुद प्रमाणसमेत पेस गर्न नसकेको देखिँदा प्रतिवादीलाई सफाई दिएको फैसला मिलेकै देखियो । 

५. प्रतिवादी पर्वत कटुवाल, दुर्गाबहादुर कुँवर र सन्तोष ढकाललाई पनि प्रतिवादी ध्रुवबहादुर अधिकारीले लिएको रकमसमेत बिगो कायम गर्नुपर्नेमा नगरेको फैसला त्रुटिपूर्ण भएको भन्ने वादी नेपाल सरकारको मागदाबीतर्फ विचार गर्दा मिति २०६६।३।१२ को कागजमा नाम उल्लिखित जाहेरवालाहरूले प्रतिवादी ध्रुवबहादुर अधिकारीले जाहेरवालाहरूबाट रकम बुझिलिएको हो भनी गडाउ बकपत्र गर्न नसकी प्रतिवादी दुर्गा कुँवरलाई बुझाएको भनी बकपत्र गरेको र सुरेशकुमार श्रेष्ठसमेतका ३१ जनाले के कति रकम प्रतिवादीहरूलाई बुझाएको हो ? सोको सक्कल लिखत पेस गरी दाबी प्रमाणित गर्नसमेत नसक्नुका साथै मिसिल संलग्न दरखास्त, भरपाई र भौचर तथा अरू सबुद प्रमाणसमेतको अभावमा उक्त मितिको कागज शङ्कारहितरूपमा स्थापित हुन नसकेकोले ध्रुवबहादुर अधिकारीले लिएको रकमसमेत बिगो कायम गरी हर्जाना भराई पाउँ भन्ने जिकिरसँग सहमत हुन नसकी उपर्युक्त मिसिल संलग्न कागज प्रमाणहरू समेतबाट मिति ०६६।३।१२ को कागजबमोजिमको बिगो रकम नभराई अभियोग दाबीभन्दा कम बिगो कायम गरेको भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

६. अतः वैदेशिक रोजगार न्यायाधिकरणबाट मिति २०७०।२।६ मा भएको फैसला मिलेकै देखिँदा अन्यथा भन्न मिलेन सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : गीता श्रेष्ठ

इति संवत्‌ २०७२ साल असोज १३ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु