निर्णय नं. ४२९१ - कर्तव्य ज्यान

निर्णय नं. ४२९१ ने.का.प. २०४८ अङ्क ५
संयुक्तइजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत् २०४६ सालको फौ.पु.नं. ३३८
फैसला भएको मिति: २०४८।५।२४।२ मा
पुनरावेदक/वादी : बिजुले थापाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : सल्यान कारागोठी गा.वि.स. वडा नं. ९ बस्ने कुलबहादुर रोका
मुद्दा : कर्तव्य ज्यान
(१) ज्यानसम्बन्धी महलको १४ नं. अनुसार मार्नु पर्ने सम्मको रिसइवी, मनसाय नभएको, जोखिमी हतियार प्रयोग नभएको, सामान्य मनस्थिति नभई मानसिक उद्धिग्नता उद्वेगद्वारा अकस्मात उत्तेजित हुन आई रिसको झोंकमा आफूसंग भएका वा वरपर रहेका वस्तुले हान्दा मरेको हुनु पर्ने ।
(प्रकरण नं. १८)
(२) रिसका आवेशमा तत्काल आई केही सामान्य लात, मुक्का वा यस्तै अन्य वस्तुले हानी मृतकको मृत्यु भएको नभई प्रतिवादीले मार्ने साधन बरियो खोजी ल्याई डोरीले घाँटी कसी मृत्यु गराएको देखिएकोले शुरु अञ्चल र क्षे.अ.ले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. लगाई सजायँ गरेको मिलेन ।
(प्रकरण नं. १८)
(३) मार्ने र मर्नेको सम्बन्ध लोग्ने स्वास्नीको देखिएको र अपराधको अवस्था विचार गर्दा प्रतिवादीको कलिलो उमेर भएकोले परिपक्वता आई नसकेको हुँदा १७ दिन अघिमात्र सौता ल्याएको कारणबाट मर्नेले आफ्नो लोग्नेलाई केही कुरा भनेकोबाट क्रोधित भई अपराध गरेको अवस्था देखिएबाट कानुनमा तोकिए बमोजिमको हदैसम्मको सजायँ गर्दा चर्को हुन जाने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने ।
(प्रकरण नं. १८)
पुनरावेदकतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनमा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ :–
२. कुलबहादुर रोकाले मेरो छोरी फुमलीलाई विवाह गरी निजबाट डेढ वर्षको छोरी १ समेत भएकोमा निजले पुतलीलाई दोश्रो विवाह गरी बसेकोमा ०४४।८।१२ (साविक पेज नं. २०२) गते राती निज कुलबहादुर रोका सहितको परिवार आफ्नो घरमा सुतिरहेका रहेछन्, निजहरु मध्ये मेरो छोरी फुमली रोका आफू सुतेको कोठामा नै मरी मृत्यु भएको भन्ने कुरा आज २०४४।८।१३ गते बिहान ६ बजे कुलबहादुरका बाबु दलबहादुरबाट सुनी थाहा पाई जाहेर गरेको छु, फुमलीलाई कुलबहादुर र पुतली रोकाले नमालुम कुन समयमा के कारणबाट कसरी कर्तव्य गरी मारेका हुन् कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने बिजुले थापाको २०४४।८।१३ को जाहेरी दर्खास्त ।
३. दुवै आँखा चिम्लिएकी, नाक, मुख सुकेको, दायाँतर्फको चिउँडो मुनि घाँटीमा अं. ६ इन्च जती छाला खुइलिएको दागी देखिएको लाशको योनीबाट रगत जस्तो दाग देखिएको ठीक हो भन्ने समेत व्यहोराको मिति २०४४।८।१४ को घटनास्थल लाश प्रकृति मुचुल्का ।
४. २०४४।८।१२ गतेको बेलुकीको खाना खाई म गाउँतर्फ गएको र गाउँबाट राती घरमा आई जेठी श्रीमती फुमली सुत्ने गरेको कोठामा घरको बाहिर झ्यालबाट चढी गई निजलाई करणी गर्न लाग्दा निजले गाली गरेको र मैले करणी गरिसकेपछि पनि निजले विभिन्न प्रकारका अपशब्द प्रयोग गर्दै गाली गरेकोले मलाई ज्यादै रिस उठी निजलाई बरियोले निजको घाँटी कसी मारेको हुँ भनी प्र.कुलबहादुर रोकाले २०४४।८।३० गते प्रहरीमा गरेको बयान ।
५. २०४४।८।१२ गतेको बेलुकाको खाना फुमलीले मलाई समेत खान दिई म आफू सुत्ने गरेको कोठामा सुतेको र फुमली पनि आफू सुत्ने कोठामा सुतेकी थिई सोको भोलिपल्ट बिहानै मेरो लोग्ने कुलबहादुरले आफ्नो बाबुसंग आज राती जेठी फुमली आफ्नो सुतेको कोठामा मरेको छ भन्दा थाहा पाई हेर्दा फुमलीको लाश देखेको हुँ, निज के कसरी मरेकी हुन् भन्ने मलाई थाहा थिएन, लोग्नेले मारेको हुन भनी भनेकाले लोग्नेले मारेका रहेछन भन्ने कुरा थाहा पाएको छु भन्ने समेत व्यहोराको श्रीमती पुतली रोकाको २०४४।८।२३ मा प्रहरीमा गरेको बयान ।
६. प्रतिवादी कुलबहादुर रोकाले फुमलीलाई मैले मारेको हुँ भनेकाले निजले नै मारेको रहेछन भन्ने कुरा थाहा पाएको हौं भन्ने व्यहोराको एकै मिलानको मिति २०४४।८।२८ गतेको सरजमीन मुचुल्का ।
७. प्र.कुलबहादुरले फुमलीलाई करणी गर्न खोज्दा अपशब्द प्रयोग गरी गाली गरेको र करणी गरिसकेपछि पनि विभिन्न प्रकारको गाली गरेको रिसले प्र.कुलबहादुरले फुमलीलाई मार्ने उद्देश्य लिई बरियोले फुमलीको घाँटी कसी मारेको प्रष्ट देखिन आएकोले निज कुलबहादुर रोका मतवालालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायँ गरी पाउँ भन्ने २०४४।९।५ को प्रहरी प्रतिवेदन माग दावी ।
८. मृतक फुमली २०४४।८।१२ गतेको राती मेरो गाई गोठनिर भिमलको रुखमा पासो लगाई झुण्डिई मरिछ, ऐ. १३ गतेको बिहान अं. ५ बजेतिर भाउज्यूले झुण्डिएको देखी मलाई र बुबा दलबहादुरलाई बोलाई गई हेर्दा झुण्डिएको देखी श्रीमतीको छाती मैले छामे अलि अलि तातो भएकोले बाच्छेकी भनी झुण्डिएको पासो आंसीले काटी घरमा ल्याई सुत्ने गरेको कोठामा राखेका हौं । मैले फुमलीलाई कर्तव्य गरी मारेको होइन, २०४४ साल कार्तिक २४ गते पुतलीलाई विवाह गरेपछि मर्ने फुमलीको बाबु जाहेरवालाले छोरी माथि सौता ल्याए बापत रु. ५,०००।– ल्याउ भनी भनेका थिए मैले रु. १,१००।– फुमलीलाई दिएको थिएँ सो विषयमा फुमलीको बाबु र मेरो भनाभन भएको थियो, सोही रिसइवीले झुण्डि मरेकोलाई कर्तव्य गरी मारे भनी झुठ्ठा जाहेरी दिएका हुन् भन्ने समेत प्र.कुलबहादुरले २०४४।९।६ मा अदालतमा गरेको बयान ।
९. प्रतिवादी कुलबहादुरले अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा फुमलीलाई करणी गरिसकेपछि निजले अपशब्द प्रयोग गरी गाली गरेकीले (साविक पेज नं. २०३) बरियो (नाम्लो) घाँटीमा कसी मारेको भनी अपराध स्वीकार गरेको देखिएको र अदालतमा इन्कार रहे पनि लाश प्रकृति मुचुल्काबाट समेत अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती कागजलाई पुष्टि भएको देखिँदा प्र.कुलबहादुर रोकाको कर्तव्यबाट फुमलीको मृत्यु भएको देखिँदा प्र.कुलबहादुरलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने सल्यान जिल्ला अदालतको मिति २०४५।६।११ को फैसला ।
१०. सल्यान जिल्ला अदालतले प्र.कुलबहादुरलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको मात्र कसूर गरेको ठहराई गरेको फैसला न्यायसंगत भएन, सबूद प्रमाणको मूल्यांकन गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारका तर्फबाट राप्ती अञ्चल अदालतमा परेको पुनरावेदन ।
११. करणी गर्दाको अवस्थामा फुमलीले अपशब्द गाली गरेको कारणबाट तत्काल आवेशमा आई बरियोले घाँटीमा कसी बाँधी दिएको कारणबाट निजको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा डाक्टरले व्यक्त गरेको रायबाट समेत देखिन आएको, साथै शुरु जिल्ला अदालतको फैसलामा उल्लेख भएका बुँदा प्रमाण समेतका आधारमा शुरुको इन्साफ मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने राप्ती अञ्चल अदालतको मिति २०४५।११।८ को फैसला ।
१२. प्रस्तुत मुद्दा ज्यानसम्बन्धीको महलको १४ नं. अन्तर्गतको कसूर हुन नसक्ने अवस्था प्रष्ट देखिएकोले सबूद प्रमाणको मूल्यांकन नै नगरी प्र.लाई ज्यानसम्बन्धी महलको १४ नं. अनुसार सजायँ गरेकोलाई सदर ठहर्याएको राप्ती अञ्चल अदालतको फैसला बदर गरी प्र.कुलबहादुर रोकालाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरी पाउँ भन्ने श्री ५ को सरकारको तर्फबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्रमा अ.बं. २०२ नं. बमोजिम छलफलको लागि म्याद दिई पेश गर्नु भन्ने उक्त अदालतको आदेश ।
१३. यसमा प्रतिवादी अदालतमा इन्कार रहे पनि प्रहरीमा भएको बयानलाई शव परीक्षणको प्रतिवेदनबाट पुष्टि गरेकोले प्रहरीमा भएको बयान कुटपिटको डरले भएको मान्न मिलेन । सजायँतर्फ विचार गर्दा प्रहरी प्रतिवेदन अनुसार ज्यानसम्बन्धीको १३(३) को माग दावी भए पनि प्रतिवादी कुलबहादुर र मर्ने फुमली बीच रिसइवी वा झैं झगडा भएको कुरा मिसिलबाट देखिन आउँदैन । मार्ने पूर्व मनसाय वा नियोजित षडयन्त्र नभई करणी गर्दा र गरिसकेपछि पनि फुमलीले गरेको गाली अपशब्द सहन नसकी तत्काल आवेशमा आई बरियोले घाँटी कसी मारेको देखिँदा ज्यानसम्बन्धीको १४ नं. अनुसार सजायँ गरेको सल्यान जिल्ला अदालतको इन्साफ मनासिब ठहराएको राप्ती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१४. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा ज्यानसम्बन्धी महलको १३(३) नं. प्रकृया पूरा भएकोमा ऐ.को १४ नं. लगाई कम सजायँ गर्ने गरेको फैसला बदर गरिपाउँ भनी यस अदालतमा दर्ता हुन आएको श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१५. पोष्टमार्टम समेतबाट मृतकको घाँटी थिची मारेको भन्ने देखिँदा १४ नं. अन्तर्गत सजायँ गर्ने गरेको म.प.क्षे.अ.को फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. अनुसार विपक्षी थुनामा रहेको कारागार मार्फत सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्तइजलासको आदेश ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट उपस्थित विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले कान्छी श्रीमती ल्याएको १७ दिनमा नै फुमलीको कर्तव्यबाट मृत्यु भएको छ, प्रतिवादीको पूर्व रिसइवी थिएन भन्नु गलत हो । ज्यान (साविक पेज नं. २०४) सम्बन्धी महलको १४ नं. मा मनसाय बिना तत्काल उठेको रिस थाम्न नसकी साधारण लाठा, ढुड्डा, लात, मुक्का हान्दा मरेमा १४ नं. आकृष्ट हुने हो । तर प्रस्तुत मुद्दामा बरियोले घाँटी कसी मारेको छ, बरियोले घाँटी कसी मारेको अवस्थामा ज्यानसम्बन्धी महलको १४ नं. आकर्षिक हुने होइन, १३(३) नं. बमोजिम नै सजायँ हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले मेरो पक्षको मार्ने मनसाय थिएन । मृतक सुतेको कोठामा झ्यालबाट गई करणी गर्दा अपशब्द बोली गाली गरेकोले सो सहन नसकी नजीक भएको बरियोले थिचेको हो । यदि मार्ने मनसाय भएको भए पहिले नै जाँदा कुनै हतियार लिएर जान्थ्यो । सो लगेको छैन । मार्ने मनसाय भएको भए करणी नगर्दै मार्ने थियो । मृतकको गाली अपशब्द सहन नसकी डोरी भेट्टाएर घाँटीमा थिचिएको हो, यस्तो अवस्थामा १३(३) आकर्षित हुन सक्दैन, म.प.क्षे.अ.सम्मले जुन १४ नं. प्रयोग गरेको छ, त्यो न्यायिक मन प्रयोग गरेको हुनाले सो बमोजिम नै हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१७. यसमा क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१८. यसमा मृतक फुमलीलाई विवाह गरी स्वास्नी तुल्याई राखेकोमा निज प्रतिवादीले पुनः २०४४।७।२५ मा पुतली भन्ने केटीसंग अर्को विवाह गरी बसेको र २०४४।८।१२ गते राती फुमली आफू सुतेको कोठामा मरेको भन्ने कुरा ऐ.१३ गते दलबहादुरबाट थाहा पाएकोले कुलबहादुर र पुतली के कसरी कर्तव्य गरी मारेका हुन् कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने जाहेरी दर्खास्त भएकोमा प्रतिवादी प्रहरीमा साविती र अदालतमा इन्कारी बयान गरेको पाइन्छ । प्रहरीमा भएको साविती बयानलाई पोष्टमार्टम रिपोर्टले समर्थन गरेको देखिँदा कर्तव्यवाला यी प्रतिवादी होइनन् भन्न सकिने अवस्था देखिँदैन, ज्यानसम्बन्धी महलको १३(३) लाग्नेमा ऐ.को १४ नं. लगाएको मिलेन भन्ने सम्बन्धमा विचार गर्दा ज्यानसम्बन्धी महलको १४ नं. अनुसार मार्नु पर्नेसम्मको रिसइवी मनसाय नभएको, जोखिमी हतियार प्रयोग नभएको, सामान्य मनस्थिति नभई मानसिक उदिग्नता उद्वेगद्वारा अकस्मात उत्तेजित हुन आई रिसको झोकमा आफूसंग भएको वा वरपर रहेका वस्तुले हान्दा मरेको हुनु पर्ने देखिन्छ । प्रस्तुत मुद्दामा झ्यालको बाटोबाट जेठी पत्नी कहाँ दोश्रो विवाह भएको १७ दिनका दिन कान्छी श्रीमतीसंग राम्रो हित्तचित्त रहने सहज अवस्थामा गई करणी गर्दा तिरस्कृत भएकी जेठीले गाली सम्म गरेकै कारणले उठी गई टर्चले बरियो खोजी ल्याई घाँटीमा बाँधी नमरुन्जेल बरियो कसिरहेको अवस्था हुँदा रिसका आवेशमा तत्काल आई केही सामान्य लात मुक्का वा यस्तै अन्य वस्तुले हानी मृतकको मृत्यु भएको नभई प्रतिवादीले मार्ने साधन बरियो खोजी ल्याई डोरीले घाँटी कसी मृत्यु गराएको देखिएकोले शुरु अञ्चल र म.प.क्षे.अ.ले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. लगाई सजायँ गरेको मिलेन । सजायँको हकमा दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम नै सजायँ हुने ठहर्छ । सो ठहर्नाले शुरु अञ्चल र म.प.क्षे.अ.को फैसला उल्टी हुने ठहर्छ ।
१९. मार्ने र मर्नेको सम्बन्ध लोग्ने स्वास्नीको देखिएको र अपराधको अवस्था विचार गर्दा प्रतिवादीको कलिलो उमेर भएकोले परिपक्वता आई नसकेको हुँदा १७ दिन अघि मात्र सौता ल्याएको कारणबाट मर्नेले आफ्नो लोग्नेलाई केही कुरा भनेकोबाट क्रोधित भई अपराध गरेको अवस्था देखिएबाट कानुनमा तोकिए बमोजिमको हदैसम्मको सजायँ गर्दा चर्को हुन जाने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने ठहर्छ । प्रतिवादी थुनामा रहेको देखिँदा शुरु जिल्ला अदालतले ठेकेको लगत नै कायम हुने ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.लक्ष्मणप्रसाद अर्याल
इतिसम्वत् २०४८ साल भाद्र २४ गते रोज २ शुभम् ।
(साविक पेज नं. २०५)