निर्णय नं. ९५३७ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७२।१०।७।५
०६९-CR-०२७९
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / वादी : मोतिलाल वि.क.को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : बागलुङ जिल्ला वोवाङ्ग गाउँ विकास समिति वडा नं. ७ बस्ने यामबहादुर कामी
०६९-RC-०१०५
वादी : मोतिलाल वि.क.को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : दलबहादुर कामी
प्रतिवादीले मृतकलाई लक्ष्य गरी मुङ्ग्रो प्रहार गरेको नभए पनि मृतकका छोरा राजिनलाई ठिक पार्ने मनसाय लिई कम्मरमा छुरी बाँधी हातमा मुङ्ग्रो लिई गएको र राजिनलाई हान्ने मनसायले मुङ्ग्रो प्रहार गरेकोमा मृतकलाई लाग्न गएको भन्ने निज प्रतिवादीको बयानबाटै खुल्न आएबाट प्रतिवादी दलबहादुरले राजिन वि.क.लाई मार्ने मनसाय लिई वारदातस्थलमा गएकोमा राजिनलाई प्रहार गरेको मुङ्ग्रोले बिचमा छुट्याउन आएका आसबहादुरलाई लागेर मृत्यु हुन गएकोसम्म देखिन्छ । राजिन र दलबहादुरको बिचमा आसबहादुर नआएका भए सो मुङ्ग्रोको प्रहारबाट राजिनको मृत्यु हुने अवस्था देखिएकाले त्यहाँ प्रतिवादीको आपराधिक मनसाय थिएन भन्न सकिने अवस्था पनि नदेखिने ।
एउटालाई लक्षित गरी प्रहार गर्दा अर्को व्यक्तिलाई लाग्न गई मृत्यु हुन्छ भने त्यस्तो अवस्थामा मनसाय तत्त्वको अभाव रहेको भनी व्याख्या गर्न मिल्दैन । त्यस्तोलाई सरेको मनसायबाट भएको आपराधिक कार्य मान्नु पर्ने ।
(प्रकरण नं.५)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता शोमकान्त भण्डारी
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प. २०६४, नि.नं. ७८४४ अङ्क ५
ने.का.प. २०६१ नि.नं. ७४६६ पृ. १४८६
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२), १३ (३), १८८ नं.
सुरू फैसला गर्ने अदालत :
मा.जि.न्या. श्री रामेश्वरनाथ अमात्य
पुनरावेदन तहमा फैसला गर्ने अदालत :
मा.न्या. श्री सारदाप्रसाद घिमिरे
मा.न्या. श्री भुपेन्द्रप्रसाद राई
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : पुनरावेदन अदालत, बागलुङको मिति २०६८।१२।२१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ र १० बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः
मिति २०६६।७।२ गतेको साँझ अं. २० बजेको समयमा जिल्ला बागलुङ वोवाङ्ग गाउँ विकास समिति वडा नं. ७ बस्ने आसबहादुर कामीलाई ऐ. ऐ. बस्ने दलबहादुर कामी, यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीले चारैतिरबाट घेरा हाली काठको मुङ्ग्रो एवम् फलामको छुरासमेतले प्रहार गरी घटनास्थलमा नै निज आसबहादुर कामीको मृत्यु भएको हुँदा निजहरूलाई कर्तव्य ज्यान मुद्दामा कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मोतिलाल वि.क. को जाहेरी दरखास्त ।
बागलुङ जिल्ला वोवाङ्ग गाउँ विकास समिति वडा न. ७ स्थित मर्मदेखि पूर्व शेरबहादुर कामीको बारी, पश्चिम जङ्गे कामीको पाखोबारी, उत्तर भक्तलाल कामीको बारी, दक्षिण बले कामीको बारी यति ४ किल्लाभित्र पर्ने जङ्गबहादुर कामीको बारीमा पूर्व टाउको, पश्चिम खुट्टा गरी बायाँ कानसमेतबाट रगत बगी मृतक आसबहादुर कामीको लास रहेको, लासको बायाँतर्फ टाउको नजिक काठको मुङ्ग्रो, सो साथ काठको दोवनी भएको फलामको चक्कु रहेको, टाउको माथि १.५ इन्चको काटिएको घाउ र बायाँ कान काटिएको अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल एवम् लास जाँच मुचुल्का ।
टाउकोमा गहिरो चोटको कारण मृतकको मृत्यु भएको भन्ने प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङ बागलुङको शव परीक्षण प्रतिवेदन ।
मृतक आसबहादुर वि.क. मेरा माइला बुबा
हुन् । निजका कान्छा छोरा राजिन वि.क. हुन् । निज राजिन वि.क.सँग बारीको साँधको विषयलाई लिएर झगडा हुने गर्दथ्यो । मिति २०६६।७।२ गते तिहार भएको हुँदा रमाइलो गर्दै थिएँ । अं. २०.०० बजेतिर राजिन वि.क. मसँग झगडा गर्न थाल्यो । जग्गाको विषयलाई लिएर साइलाबाबाको बारीको बिच भागमा आएर राजिन वि.क.ले विभिन्न किसिमले गाली गालौज गरिरहेको अवस्थामा मलाई रिस उठी घरबाट फलामको चक्कु कम्मरमा बाँधी लुकाएँ र गोठबाट काठको मुङ्ग्रो लिई यसलाई ठिक पार्छु भनी गएकोमा मलाई पछाडिबाट निज राजिन वि.क.ले ढुङ्गाले प्रहार गर्न थाल्यो । सोही अवस्थामा मृतक माइला बुबा आसबहादुर वि.क. बिचमा आई यसो नगर भनी सम्झाई बुझाई गर्न लागे । मलाई असाध्यै रिस उठी हातमा समाती राखेको काठको मुङ्ग्रोले निज मृतकको टाउकोमा प्रहार गरेँ, निज बेहोस भएर जमिनमा पल्टे, त्यसपछि स्थानीय मानिसहरू जग्गामा भेला भए, म भागी बुर्तिवाङ बजारतर्फ आउँदै गर्दा मिति २०६६।७।४ मा प्रहरीले प्रकाउ गरेका हुन् । जाहेरीमा उल्लिखित गामबहादुर कामी, यामबहादुर कामी र कुमारसिंह कामी उक्त वारदातमा मसँग रहेका होइनन् । म एक्लैले आसबहादुरको हत्या गरेको हुँ भन्नेसमेत व्यहोराको दलबहादुर कामीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
मिति २०६६।७।२ का दिन तिहारको टीका लगाउन भाइ यामबहादुर र म दिदीकोमा आएका
थियौं । प्रतिवादी दलबहादुर मेरा भिनाजु हुन् र शेरबहादुर कामी भिनाजुका बाबु हुन् । दिदीकहाँ टीका लगाई खाई पिई बसेको अवस्थामा दिदीका सासू ससुराले आज खाना यहीँ खाने हो भनी खानासमेत बनाउँ थिए । भिनाजु दलबहादुर वि.क. को घरदेखि २ मिनेटको टाढा सासू ससुराको घर पर्छ । त्यस्तैमा अँध्यारो भएको थियो । बेलुका अन्दाजी ७.३० बजेतिर मानिसहरू कराएको, हो हल्ला गरेको आवाज
सुनियो । को कहाँ के भयो भनी बाहिर निस्की हेर्दा मेरा भिनाजु दलबहादुरले आसबहादुर कामीलाई कुटपिट गरी मारेको भन्ने हल्ला सुनियो र दलबहादुरलाई स्थानीय मानिसहरूले खोज तलास गर्न थाले । हामी चुपचाप दिदीका ससुराको घरमा सुत्यौं । जग्गाको रिसइवीको कारण झगडा भई भिनाजु दलबहादुरले काठको मुङ्ग्रो र चक्कुले प्रहार गरी आसबहादुरलाई मारेको भन्ने कुरा भोलिपल्ट बिहान जम्मा भएका मानिसहरूले भन्दा थाहा पाएको हो । मैले कुनै अपराध कसुर गरेको छैन भन्नेसमेत व्यहोराको गामबहादुर कामीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
मिति २०६६।७।२ का दिन अं. १२ बजेको समयमा मेरो घर वोवाङ्ग गाउँ विकास समिति वडा नं. ६ बाट ऐ. वडा नं. ७ मर्म भन्ने स्थानमा मेरी श्रीमती र म भई ससुराली आउनको लागि हिँडी दिउसो १ बजे आई पुगियो । प्रतिवादी दलबहादुर मेरा जेठान हुन् । म ससुरालीको घरमा बसिरहेको थिएँ, सोही साँझ अं. ७.३० बजेको समयमा हल्ला खल्ला गरेको आवाज सुनी कहाँ के भयो भनी बाहिर निस्कँदा दलबहादुरले आसबहादुर वि.क. लाई काठको मुङ्ग्रोले प्रहार गरी घटनास्थलमा नै निजको मृत्यु भएको छ भनी मानिसहरू दलबहादुरलाई खोज्न थालेका थिए । गामबहादुर कामी, यामबहादुर कामी र म दलबहादुर कामीका बाबाको घरमा नै सुत्यौं । मिति २०६६।७।३ गते बिहान घटनास्थलमा जाँदा आसबहादुरको लास देखेको हुँ । खोज तलास गर्ने क्रममा मसमेतलाई प्रहरीले प्रक्राउ गरी इलाका प्रहरी कार्यालय, बुर्तिवाङ हुँदै बागलुङमा ल्याएका हुन्, मैले निजलाई कर्तव्य गरी मारेको होइन भन्नेसमेत व्यहोराको कुमारसिंह कामीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
मिति २०६६।७।२ का दिन तिहारको टीका लगाउन दाइ गामबहादुर र म दिदीको घरमा आएका थियौं । प्रतिवादी दलबहादुर मेरा भिनाजु हुन् । शेरबहादुर कामी भिनाजुका बाबु हुन् । दिदीकहाँ टीका लगाई खाई पिई बसेको अवस्थामा दिदीका सासू ससुराले खाना यहीँ खाने हो भनी खानासमेत बनाउँदै थिए । भिनाजु दलबहादुर वि.क.को घरदेखि अं. २ मिनेट टाढा सासू ससुराको घर पर्छ । अँध्यारो भएको थियो । बेलुका अं. ७.३० बजेतिर मानिसहरू कराएको, हो हल्ला गरेको आवाज सुनियो । कहाँ के भयो भनी बाहिर निस्की हेर्दा मृतकका आफन्तहरूले ढुङ्गा हानेका र सो ढुङ्गा मेरो टाउकोमा लागी सामान्य चोटसमेत लागेको छ । मेरा भिनाजु दलबहादुरले आसबहादुर कामीलाई कुटपिट गरी मारेको भन्ने हल्लासमेत सुनियो । दलबहादुरलाई स्थानीय मानिसहरूले खोज तलास गर्न थाले । हामी चुप चाप दिदीका ससुराको घरमा सुत्यौं । जग्गाको रिसइबीको कारण झगडा भई भिनाजु दलबहादुरले काठको मुङ्ग्रो र चक्कुले प्रहार गरी आसबहादुरलाई मारेको भन्ने कुरा भोलिपल्ट बिहान जम्मा भएका मानिसहरूले भन्दा थाहा पाएको हो । मैले कुनै अपराध कसुर गरेको छैन भन्नेसमेत व्यहोराको यामबहादुर कामीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
मिति २०६६।७।२ गतेको साँझ अं. ८ बजेको समयमा मृतकको घर नजिकै गाउँका मानिसहरू होहल्ला गरेको आवाज सुनी कहाँ के भयो भनी बाहिर निस्की हेर्दा उक्त स्थानमा आसबहादुरको मृत लास लडेको थियो । टाउकोमा रगत बगिरहेको थियो । काठको मुङ्ग्रो र चक्कु घटनास्थलमा थियो । के भएको भनी जाहेरवालालाई सोध्दा दलबहादुर कामीसमेतका मान्छेहरूले काठको मुङ्ग्रो, फलामको चक्कुसमेत लिई बाबा आसबहादुर वि.क. लाई टाउकोमा प्रहार गरी निजको घटनास्थलमा मृत्यु भएको हो भनेपछि मात्र थाहा पाएका हौं । मृतक आसबहादुरलाई दलबहादुर कामीले बारीको आँठ साँधमा पटकपटक झगडा हुने गरेको र सो रिसइबीले कर्तव्य गरी मारेका हुन् । सो रात दलबहादुरलाई खोजी गर्दा निज भागेका हुन् भन्नेसमेत एकै मिलान व्यहोराको बुझिएका आसिमान वि.क., भकारे वि.क., भोपपाल कामी, निर्माण कामी, भिमलाल कामी र राजेन्द्र कामीसमेतका मानिसहरूले लेखाई दिएको घटना विवरण एवम् वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीहरू दलबहादुर कामी, गामबहादुर कामी, यामबहादुर कामी र कुमारसिंह कामीले आसबहादुर कामीलाई कर्तव्य गरी मारेको पुष्टि हुँदा प्रतिवादीहरूको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐ. १३(३) नं. बमोजिमको कसुर भएको हुँदा निजहरूमध्ये दलबहादुर कामीको चोटबाट मृतक आसबहादुरको मृत्यु भएको देखिँदा निज प्रतिवादी दलबहादुर कामीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुन र मार्नको लागि संयोग पारिदिने अन्य ३ जना प्रतिवादीहरू गामबहादुर कामी, यामबहादुर कामी र कुमारसिंह कामीलाई ऐ.१३(३) नं. बमोजिम जन्मकैदको सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
मिति २०६७।७।२ गते बिहानदेखि दिउँसो १२ बजेसम्म तिहारको दिन हुँदा टीका टाला गरी घरमा खानपान गरी बसेको थिएँ । सो दिन १२ बजेतिर मेरो ससुराली वोवाङ्ग गाउँ विकास समिति वडा नं. ७ मा जान भनी घरबाट मेरी श्रीमतिसँग ससुराली गएको र सोही दिनको २ बजे ससुराली पुगेको हो । ससुराली गएर खानपान भयो, ससुरालीमा गएर रक्सी पिइयो, साँझ खाना खाई ससुरालीमा नै बसेको हो । सो दिन ससुराको घरभित्र भएकाले घटनाको बारेमा केही थाहा भएन । मेरो ससुरालीको घर र मृतक आसबहादुर कामीको घर ५ मिनेटको फरकमा पर्छ । हल्ला खल्ला भएको थियो तर रातको समय भएकाले म झगडा भएको ठाउँमा गइन । सोही दिन राती ८.३० बजेको समयमा गाउँका सबै मानिस जम्मा भई प्रतिवादी दलबहादुर कामीले मृतक आसबहादुर कामीलाई मारेको भनी हल्ला गरेका थिए । दलबहादुर कामी र आसबहादुर बाबु छोरा पर्दछन् । रातको समय भएको हुँदा मरेको ठाउँमा जान हुँदैन भनेको हुँदा भोलिपल्ट बिहान उज्यालो भएपछि मृतक आसबहादुरलाई हेर्न निजको घरतिर जाँदा मृतकलाई खेतमा देखेको हो । मिति २०६६।७।३ मा बुर्तिवाङबाट प्रहरीहरू गई लाससमेत उठाई बुर्तिवाङ ल्याएका हुन् । सोही दिन प्रहरीले दलबहादुर कामीलाई प्रकाउ गरी लाससँगै ल्याएका हुन् र सोही दिन म, यामबहादुर, गामबहादुरसमेतले लास बोकी ल्याएको हो । त्यसै दिनबाट प्रहरीले मसमेतलाई थुनामा राखेको हो । मसमेतलाई लगाएको अभियोग झुट्ठा हो, म निर्दोष छु । अभियोगबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी कुमारसिंह वि.क. को बागलुङ जिल्ला अदालतसमक्षको बयान ।
मिति २०६६।७।२ का बिहान म मेरो घरमा थिएँ । तिहारको दिन भएको र काकाकी छोरीले हामी २ भाइलाई टीका लगाई बिहानको खानपान हाम्रो घरमा भएको थियो । सो दिनको ४ बजे मेरो भाइ यामबहादुर र म मेरी दिदीको घरमा टीका लगाउन गएको हो, हाम्रो घर र दिदीको घर ३० मिनेटको फरकमा पर्दछ । हामी २ भाइ दिदीको घरमा ४.३० बजेको समयमा पुगेपछि दिदीको हातबाट टीका लगाई खानपिन गरी दिदीका सासू ससुराको घरमा बास बसेको हो । त्यस दिन म, मेरो भाइ यामबहादुर, कुमारसिंह कामी सुरालीको घरमा खानपान गरी सँगै बसेको हो । त्यस दिन हामी दिदीको घरमा पुग्ने बेलामा भिना दलबहादुर घरमा थिए । साँझ परेपछि प्रतिवादी भिना दलबहादुर कहाँ जानुभयो हाम्रो भेटघाट भएन । उक्त दिनको ७.३० बजेको समयमा मृतक आसबहादुरलाई प्रतिवादी दलबहादुरले मार्यो भनी हल्ला खल्ला गरेका थिए, रातिको समय भएकाले हामी भोलिपल्टमात्र घटनास्थलमा जाँदा आसबहादुरलाई मृत अवस्थामा देखेको हो । मृतकको टाउकोमा चोट लागेको थियो । लास मृतकको घर अगाडि खेतबारीमा थियो । गाउँलेले दलबहादुरले मारे भनेका थिए । त्यस घटनामा हामी समावेश छैनौं । म निर्दोष छु । अभियोगबमोजिम सजाय पाउनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी गामबहादुर कामीको बागलुङ जिल्ला अदालतसमक्षको बयान ।
मृतक आसबहादुर मेरा माइलो बुबा हो । उहाँलाई मार्नुपर्ने पूर्व रिसइबी केही थिएन । ढोरपाटनमा मेरो र माइलो बुबाको जग्गा एक आपसमा जोडिएको
छ । मेरो जग्गाबाट माइलो बुबाको छोराले बाटो मागेका थिए । मैले बाटो बन्द गरेको थिएँ । पछि माइलो बुबाको छोरा राजिनले मेरो आलु लगाएको जग्गामा धेरै ढुङ्गा फालिदिएपछि मेरो बुबा र माइलो बुबाले सम्झाएपछि हामीहरूबिच रिसइबी बाँकी थिएन । तिहारको ३ दिन अगाडि मेरो माइलो बुबाको छोरा जाहेरवाला भाइ मोतिलालले मेरो घरमा गई तिमीहरू झगडा गरौला केही नर्गनु भनी सम्झाई जानुभयो । मिति २०६६।७।२ का दिन म मेरी श्रीमतिसँग मेरो ससुराली गई टीकाटाला गरी खानपिन गरी साँझपख घरमा फर्की आएकामा भाइ राजिनले रक्सी खाई बसेको रहेछ । मेरो घरदेखि करिब ५ मिनेट जति पर पश्चिमतिर मृतक माइलो बुबाको घर र बिचमा साँहिलो बुबा जङ्गबहादुरको घर पर्दछ । मृतकको छोरा राजिनले रक्सी खाई आफ्नो घरदेखि साँहिलो बुबाको घरमा आई बाटो मिच्ने तँ को होस् आइज लड्न भनी मलाई गाली गरिरहेको, म टेप बजाउँदै नाच्दै गरेको अवस्थामा पछाडिबाट मेरो दाहिने हातको फिरपातामा जोडले हानेकाले मलाई पनि रिस उठी गाई भैँसीलाई किलो ठोक्ने मुङ्ग्रो भेटिएकाले सोही मुङ्ग्रोले झटारा हान्दा हामीहरूलाई छुट्याउन आउनु भएका माइलो बुबालाई उक्त झटारोले टाउकोमा लाग्न गएछ । रात परेको अँध्यारो हुँदा मैले देखिन । सो मुङ्ग्रोको एकै पटकको चोटले मृतकको मृत्यु भएछ । सानो तरकारी काट्ने छुरी मेरो साथमा थियो तर सो चक्कुले मैले हानेको हैन । मृतकको मृत्यु मैले हानेको मुङ्ग्रोको झटारोबाट भएको हो । भाइ राजिनले मलाई जोडले ढुङ्गाले हानेपछि निजलाई हान्दा मृतकलाई लाग्न गई मृत्यु भएको हो । सह प्रतिवादीहरू सो दिन घटनास्थलमा थिएनन् । मैले रिसइबीले माइलो बुबालाई हानेको होइन । अचानक माइलो बुबालाई लाग्न गई मृत्यु भएको हो । कानूनले जे जो ठर्हछ सोअनुसार नै सजाय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दलबहादुर कामीको बागलुङ जिल्ला अदालतसमक्षको बयान ।
मिति २०६६।७।२ गते तिहारको टीकाको दिन भएको र प्रतिवादी दलबहादुरकी श्रीमती मेरी दिदी भएकी हुँदा सो दिन तिहारको टीका लगाउन म र मेरो दाजु गामबहादुर बेलुकी अ. ४.०० बजेको समयमा दिदीको घरमा गई टीका टालो गरी दिदीका सासू ससुरा बस्ने घरमा खाना खानको लागि बोलाउनु भएकाले साँझ पख हामी दिदीको ससुरा बस्ने घरमा गई खाना खाइरहेका थियौं । खाना खाई सकेपछि हामी बाहिर निस्कँदा आसबहादुरका छोराहरूले बाहिर हल्ला खल्ला गरी ढुङ्गा हानिरहेका रहेछन् । ढुङ्गाले मेरो पनि टाउकोमा लागेकाले हामी भित्र पसी सुतेका
हौं । त्यसपछि बाहिर निस्किन । बाहिर कति बेला कस्तो घटना भयो मलाई थाहा भएन । भोलिपल्ट बिहान ६, ७ बजेतिर गाउँलेहरूले हो हल्ला गरेपछि वारदात स्थलमा गई बुझ्दा दलबहादुरले आसबहादुरलाई मार्यो भनी गाउँलेहरूले भन्दा थाहा पाएका हौं । मृतकलाई कुटपिट गर्न गएको होइन । मृतकलाई के कति बजेको समयमा के कस्तो हतियारले को कसले कर्तव्य गरी मारेको हो मलाई थाहा छैन । मउपर लगाइएको अभियोग दाबी झुट्ठा हो । आरोपित अभियोगबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी यामबहादुर कामीको बागलुङ जिल्ला अदालतसमक्षको बयान ।
प्रतिवादीहरूका साक्षी बलबहादुर वि.क., बेगबहादुर वि.क., हर्कबहादुर कायत, बलबहादुर घर्ती, जङ्गबहादुर वि.क. र सरकारी साक्षी जाहेरवाला मोतिलाल वि.क. तथा आसिमान वि.क., राजेन्द्र कामी, भोपपाल वि.क., भकारे कामी, निर्माण कामीसमेतका व्यक्तिहरूको बागलुङ जिल्ला अदालतसमक्षको बकपत्र मिसिल सामेल रहेको ।
आसबहादुरसँग पूर्व रिसइबी पनि नभएको र आसबहादुरलाई मारौं भनी झटारो पनि नहानेको, प्रतिवादी दलबहादुरले घटनास्थलमा कुनै किसिमको हातहतियार लगी गएको अवस्था नभएको, मृतक आसबहादुरको छोरा राजिनसँग साँध सिमानामा झगडा भई राजिनले प्रतिवादी दलबहादुरलाई ढुङ्गाले हान्दा रिस उठी तत्काल मुङ्ग्रोले राजिनलाई हान्दा निजलाई छुट्याउन भनी आएका आसबहादुरलाई लाग्न गई निजको मृत्यु हुन गएको हुँदा आसबहादुरको मृत्यु भवितव्यबाट हुन गएको पुष्टि हुन आएकाले प्रतिवादी दलबहादुर कामीलाई ज्यानसम्बन्धीको महलको ६ (२) नं. बमोजिम १ वर्ष ३ महिना कैद सजाय हुने र अन्य प्रतिवादी गामबहादुर, यामबहादुर र कुमार सिंहले आसबहादुरलाई मार्ने काममा संयोग गर्नका लागि सहयोग गरेको भन्ने प्रमाणित हुन नआएकाले निजहरूले सफाई पाउने ठहर्छ भन्ने बागलुङ जिल्ला अदालतको मिति २०६७।६।१८ को फैसला ।
प्रस्तुत मुद्दामा प्रतिवादीहरूको पूर्व रिसइबीका कारण राजिनलाई ज्यानै मार्ने मनसायले प्रहार गर्दा सँगै भएका व्यक्ति आसबहादुरलाई समेत चोट प्रहार गरी सोही चोटको कारणबाट निज आसबहादुरको मृत्यु हुन गएको अवस्था छ । सुरू अदालतबाट मनसाय तत्त्वअन्तर्गत पर्ने सरेको मनसायतर्फ कुनै विवेचना नै नगरी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत गई मुख्य अभियुक्तलाई भवितव्यको कसुरमा सजाय ठहर गरी अरू प्रतिवादीहरूलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू अभियोग दाबीबमोजिम कसुर ठहर गरी सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत बागलुङमा परेको पुनरावेदन ।
यसमा मैले आशबहादुर वि.क.को टाउकोमा काठको मुङ्ग्रोले प्रहार गरेको कारण निजको मृत्यु भएको हो भनी मौकाको बयानमा प्रतिवादी दलबहादुर कामी कसुरमा साबित छन् भने अदालतको बयानमा पनि राजिनलाई हान्न खोज्दा आसबहादुरलाई लाग्न गएको भन्ने कुरा स्वीकार गरी बयान गरेको अवस्था
छ । निजको साबिती बयानलाई बरामदी काठको मुङ्ग्रो, लास प्रकृति तथा पोस्टमार्टम रिपोर्टले मृतकको शरीरको टाउको, नाक, कान, नाडीसमेतका विभिन्न भागमा घाउ चोट देखाएको अवस्थाले पुष्टि गरिरहेको सन्दर्भमा सरेको मनसायको व्याख्या गरी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित (ने.का.प. २०६४, नि.नं. ७८४४, पुनरावेदक वादी नेपाल सरकार विरूद्ध कन्हैया राय कुर्मीसमेत भएको कर्तव्य ज्यान मुद्दा) सिद्धान्तसमेतको परिप्रेक्ष्यमा सुरू फैसला कानून व्याख्या र प्रमाणको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम छलफलका लागि विपक्षी झिकाई आए वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०६८।३।७ को पुनरावेदन अदालत बागलुङको आदेश ।
प्रतिवादी दलबहादुर कामीले मृतक आसबहादुर कामीलाई मुङ्ग्रोले हिर्काई कर्तव्य गरी मारेको देखिन आएकोमा सुरू बागलुङ जिल्ला अदालतले प्रतिवादी दलबहादुर कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६ (२) नं. अनुसार भवितव्य ठहर्याई १ वर्ष ३ महिना कैद गर्ने गरी मिति २०६७।६।१८ मा गरेको फैसला नमिली सो हदसम्म केही उल्टी हुने भई निज प्रतिवादी दलबहादुर कामीलाई अभियोग मागदाबीअनुरूप ज्यानसम्बन्धीको महलको १३ (३) नं. अनुसार सर्वस्वसहित जन्मकैद हुने र अन्य प्रतिवादी यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीसमेतलाई सफाई दिई गरेको सुरूको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी दलबहादुर कामी र मृतक आसबहादुर कामीबिच नाता सम्बन्ध भएको, निजहरूबिच रिसइबी भएको नदेखिएको, मृतकका छोरा राजेन्द्र कामी र प्रतिवादी दलबहादुर कामीको बिच जग्गाको साँध सम्बन्धमा झैझगडा हुँदै आएकोमा वारदात मिति समयमा राजेन्द्र कामीले सोही जग्गाको साँध सिमानाको विषयमा निहुँ खोजी निजहरूको बिच झगडा हुँदा वारदातमा प्रतिवादीले लिई गएको किल्ला ठोक्ने काठको मुङ्ग्रोले प्रहार गर्दा बिचमा मृतक आसबहादुर यसो नगर भनी छुट्याउन आउँदा निजलाई लाग्न गई आसबहादुरको मृत्यु भएको देखिएबाट निज प्रतिवादीलाई कानूनबमोजिम ज्यानसम्बन्धीको महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुँदा चर्को पर्ने चित्तमा लागेकाले निज प्रतिवादी दलबहादुर कामीलाई १० वर्ष कैद सजाय गर्न मनासिब लागेकाले अ.बं. १८८ नं. बमोजिम यो राय व्यक्त गरी साधकको लागि सम्मानित सर्वोच्च अदालतमा पठाइदिनु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, बागलुङको मिति २०६८।१२।२१ को फैसला ।
प्रतिवादीहरू यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीसमेतले नियोजितरूपमा काठको मुङ्ग्रो, चक्कु प्रहार गरी आसबहादुरलाई मारेको भनी परेको किटानी जाहेरी, जाहेरवालाले अदालतमा आई गरिदिएको बकपत्र, बुझिएका निर्माण वि.क. र भकारे कामीको बकपत्र, लास जाँच प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदनसमेतका प्रमाणबाट पुष्टि गरिरहेको छ । यी प्रतिवादीहरूले घटना हुँदा आफू अन्यत्र रहेको भनी लिएको Alibi जिकिर प्रमाणित गर्न सकेका छैनन् । यस्तो अवस्थामा यी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाई दिने ठहर गरी भएको सुरूको फैसला सदर गरी भएको पुनरावेदन अदालत, बागलुङको फैसला प्रमाण ऐन, २०३१ तथा सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भई त्रुटिपूर्ण रहेकाले बागलुङ जिल्ला अदालत तथा पुनरावेदन अदालत, बागलुङबाट यी प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाई दिने गरी भएको फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरू यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतसमक्ष परेको पुनरावेदन ।
प्रतिवादी दलबहादुर कामीको पुनरावेदन नपरेको हुँदा निजका हकमा साधकको रोहबाट साधकमा दर्ता भएको रहेछ ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री शोमकान्त भण्डारीले यी प्रतिवादीहरू रहेको स्थान र घटनास्थलको दुरी जम्मा ५ मिटरको रहेको भन्ने निजहरूको बयानबाटै देखिएको अवस्थामा प्रतिवादीहरूले वारदातको समयमा वारदातस्थलमा नभएको भनी Alibi को जिकिर लिए पनि सो कुरालाई तथ्ययुक्त प्रमाणबाट पुष्टि गर्न सकेका छैनन् । त्यस्तै वारदातस्थलबाट काठको मुङ्ग्रो र फलामको चक्कु बरामद भएकोमा दुवै हतियार एउटै व्यक्तिले प्रयोग गरेको भन्न नमिल्ने हुँदा यी प्रतिवादीहरूलाई सफाई दिने गरी भएको फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक वादीको तर्फका विद्वान् उपन्यायाधिवक्ताले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन र पुनरावेदन अदालत, बागलुङको मिति २०७०।३।१० को रायसहितको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६६।७।२ गते आसबहादुर कामीलाई दलबहादुर कामी, यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीले चारैतिरबाट घेरा हाली काठको मुङ्ग्रो एवम् फलामको छुरासमेतले प्रहार गरी हत्या गरेका हुँदा निजहरूलाई कारवाही गरिपाउँ भनी परेको जाहेरीबाट उठान भएको प्रस्तुत मुद्दामा निज प्रतिवादीहरूमध्ये प्रतिवादी दलबहादुर कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरी अन्य प्रतिवादीहरू यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीलाई ऐ. को १३ (३) नं. बमोजिम जन्म कैदको सजाय माग गरी अभियोगपत्र दायर भएको देखिन्छ । प्रतिवादीहरूमध्ये दलबहादुर कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं. अनुसार भवितव्य ठहर्याई १ वर्ष ३ महिना कैद गरी तथा अन्य प्रतिवादीहरूलाई कसुरबाट सफाई दिई भएको सुरू फैसलामा वादी नेपाल सरकारको पुनरावेदन अदालत, बागलुङमा पुनरावेदन परेकामा प्रतिवादी दलबहादुर कामीको हकमा भएको फैसला केही उल्टी गरी निजलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई निजको हकमा अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद सजाय हुन राय जाहेर गरी तथा अन्य प्रतिवादीहरूको हकमा सुरू फैसलालाई सदर ठहर्याई भएको पुनरावेदन अदालत, बागलुङको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको र प्रतिवादी दलबहादुर कामीको हकमा साधको रोहमा दर्ता भएको देखिन्छ ।
३. प्रतिवादीहरू यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा सह प्रतिवादी दलबहादुर कामीले अधिकारप्राप्त अधिकारिसमक्ष तथा अदालतमा आई बयान गर्दा मृतकका छोरा राजिन र दलबहादुर बिच झगडा भएको अवस्थामा राजिनलाई लक्ष्य गरी मुङ्ग्रो हानेकोमा निजहरू बिचको झगडा छुट्याउन भनी सोही बखत आसबहादुर आएकाले निजलाई लागी मृत्यु हुन गएको भनी लेखाएको देखिन्छ । त्यस्तै उक्त वारदातमा अन्य प्रतिवादीहरूको संलग्नता रहेको भनी पोल गरेको नभई उक्त वारदात आफू एक्लैबाट घट्न गएको भनी लेखाएको पाइन्छ । यी प्रतिवादीहरूलाई पोल गर्ने जाहेरवाला तथा प्रत्यक्षदर्शीको रूपमा रहेका वादीका साक्षीहरूले मृतकलाई मार्नमा यी प्रतिवादीहरूले के कस्तो कार्य गरी के कसरी संयोग पारिदिएका हुन् भनी स्पष्टरूपमा भन्न सकेको देखिँदैन । यी प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारिसमक्ष तथा अदालतसमक्षको बयानमा उक्त वारदातको समयमा वारदातस्थलमा नरहेको, भोलिपल्टमात्र वारदातस्थलमा जाँदा दलबहादुर कामीले मुङ्ग्रोले हानी मृतकलाई मारेको भन्ने सुनेको भनी एकै मिलान व्यहोरा लेखाएको र सो व्यहोरालाई प्रतिवादीहरूका साक्षीहरूले अदालतमा आई बकपत्र गर्दा प्रतिवादीहरू दलबहादुरका बाबु आमाको घरमा बसी चाडपर्व मनाइरहेका र निजहरूले उक्त वारदातको बारेमा भोलिपल्टमात्र थाहा पाएका भनी लेखाएबाट समर्थित भइरहेको पाइन्छ । यी प्रतिवादीहरूले मृतकलाई मार्न संयोग पारिदिएको भन्ने तथ्ययुक्त प्रमाणबाट पुष्टि नभएको अवस्थामा शङ्काको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी न्यायको सिद्धान्त यी प्रतिवादीहरूको हकमा आकर्षित हुने नै देखिँदा प्रतिवादीहरू यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
४. त्यस्तै प्रतिवादी दलबहादुर कामीलाई ज्यानसम्बन्धीको महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरी भएको पुनरावेदन अदालत, बागलुङको फैसलाको सम्बन्धमा साधकको रोहबाट हेर्दा मृतकको मृत्यु गहिरो टाउकाको चोटबाट भएको भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिएको हुँदा मृतकको मृत्यु कर्तव्यबाट भएको भन्नेमा विवाद देखिएन । मृतक आसबहादुर वि.क. प्रतिवादीका माइलो बाबु नाताका व्यक्ति रहेको र मृतक र प्रतिवादी बिच पूर्व रिसइबी रहेको भन्ने नदेखिए पनि प्रतिवादी दलबहादुर कामी र मृतकका छोरा राजिन भन्ने राजेन्द्र वि.क. बिच जग्गाको साँध सम्बन्धमा पहिलेदेखि नै झगडा हुँदै आएको भन्ने देखिन आयो । प्रतिवादी दलबहादुर कामीले अधिकारप्राप्त अधिकारिसमक्ष बयान गर्दा वारदातको दिन अं. २०.०० बजेतिर राजिन वि.क.ले जग्गाको विषयलाई लिएर झगडा गरी गाली गलौज गरेकाले निजलाई ठिक पार्न भनी फलामको चक्कु कम्मरमा बाँधी गोठबाट काठको मुङ्ग्रो लिई गएकोमा यस्तो नगर भनी मृतक आसबहादुर बिचमा आई सम्झाई बुझाई गर्न लागेका र मलाई असाध्यै रिस उठी हातमा रहेको मुङ्ग्रोले आसबहादुरको टाउकामा हानेको र गाउँले भेला हुन थालेकाले भाग्दै गर्दा पक्राउ परेको भनी लेखाएको देखिन्छ । अदालतसमक्ष बयान गर्दा वारदात समयमा राजिन वि.क.ले बाटो मिच्ने तँ को होस् भनी गाली गरी मलाई पछाडिबाट ढुङ्गाले प्रहारसमेत गरेकाले रिस उठी गाई भैंसीको किलो ठोक्ने मुङ्ग्रो भेटिएकाले सोही मुङ्ग्राले झटारो हान्दा हामीलाई छुट्याउन आएका माइलो बुबाको टाउकामा लाग्न गई वहाँको मृत्यु भएछ, मसँग सानो छुरी साथमा थियो तर मैले छुरीले हानेको होइन भनी लेखाएको देखिन्छ । प्रतिवादी दलबहादुरले हानेको झटारोबाटै मृतकको मृत्यु भएकोमा यी प्रतिवादी अधिकारप्राप्त अधिकारी तथा अदालतमासमेत साबित रहेको अवस्था छ ।
५. प्रतिवादी र मृतकबिच कुनै रिसइवी नभए पनि मृतकका छोरा राजिनसँग पटकपटक जग्गाको साँधको सम्बन्धलाई लिएर झगडा हुने गरेको र वारदातको दिन पनि राजिन वि.क.ले जग्गासम्बन्धी विवाद झिकी प्रतिवादी दलबहादुरलाई गाली गलौजसमेत गरेको भन्ने देखिएको अवस्थामा मृतकका छोरा राजिन र प्रतिवादीबिच जग्गाको विषयमा पहिलेदेखि नै झैझगडा हुने र रिसइबी पनि रहेको भन्ने देखियो । यी प्रतिवादीले मृतकलाई लक्ष्य गरी मुङ्ग्रो प्रहार गरेको नभए पनि मृतकका छोरा राजिनलाई ठिक पार्ने मनसाय लिई कम्मरमा छुरी बाँधी हातमा मुङ्ग्रो लिई गएको र राजिनलाई हान्ने मनसायले मुङ्ग्रो प्रहार गरेकोमा मृतकलाई लाग्न गएको भन्ने निज प्रतिवादीको बयानबाटै खुल्न आएबाट प्रतिवादी दलबहादुरले राजिन वि.क.लाई मार्ने मनसाय लिई वारदातस्थलमा गएकोमा राजिनलाई प्रहार गरेको मुङ्ग्रोले बिचमा छुट्याउन आएका आसबहादुरलाई लागेर मृत्यु हुन गएकोसम्म देखिन्छ । राजिन र दलबहादुरको बिचमा आसबहादुर नआएका भए सो मुङ्ग्रोको प्रहारबाट राजिनको मृत्यु हुने अवस्था देखिएकाले त्यहाँ प्रतिवादीको आपराधिक मनसाय थिएन भन्न सकिने अवस्था पनि देखिएन । कुनै निश्चित घटना कुनै अवस्थामा दोषपूर्ण मानिन्छ भने त्यो कार्य अनिच्छित वस्तु (व्यक्ति वा सम्पत्ति) माथि घट्न पुग्छ भने पनि त्यसमा मनसाय नरहेको भन्ने कुराको महत्त्व रहँदैन । उसको आपराधिक दुराशय एउटा वस्तुबाट अर्कोमा सर्दछ भन्ने कानूनी अनुमान रहन्छ । यस्तो अवस्थामा अभियुक्तलाई कानूनी प्रयोजनको लागि मनसायपूर्वक प्रहार गरेको ठानी व्यवहार गरिनु पर्ने भनी नेपाल सरकार विरूद्ध कन्हैया राय कुर्मीसमेतको मुद्दा (ने.का.प. २०६४, नि.नं. ७८४४ अङ्क ५) मा प्रतिपादित सिद्धान्तसमेतको आधारमा एउटालाई लक्षित गरी प्रहार गर्दा अर्को व्यक्तिलाई लाग्न गई मृत्यु हुन्छ भने त्यस्तो अवस्थामा मनसाय तत्त्वको अभाव रहेको भनी व्याख्या गर्न मिल्दैन । त्यस्तोलाई सरेको मनसायबाट भएको आपराधिक कार्य मान्नु पर्छ । यसै सन्दर्भमा श्री ५ को सरकार विरूद्ध नरबहादुर रेउलेको मुद्दामा “लक्षित व्यक्तिउपर कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्को अनिच्छित व्यक्तिउपर भएमा पनि सोही अपराध मानिने । एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्को अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अवस्थामा कर्ताको आपराधिक मनसाय समाप्त भएको मानिने नभई सरेको (Transferred) मानिने हुँदा मनसाय प्रेरित हत्याको फौजदारी दायित्व सिर्जना हुने” (ने.का.प. २०६१ नि.नं. ७४६६ पृ. १४८६) भनी सिद्धान्तसमेत प्रतिपादन भएको छ । प्रस्तुत मुद्दामा प्रतिवादी दलबहादुर कामीले राजिन वि.क.लाई लक्ष्य गरी प्रहार गरेको मुङ्ग्रोले मृतक आसबहादुर कामीलाई लाग्न गई निजको मृत्यु भएको देखिएको छ ।
६. मुङ्ग्रो प्रहार गर्दा मानिसको कुनै पनि संवेदनशील अङ्गमा लाग्न गयो भने त्यसबाट मानिसको मृत्यु हुन सक्छ भन्ने सुझबुझ भएको व्यक्तिले अनुमान गर्न सक्ने कुरा हो । प्रतिवादी दलबहादुर सो कुरातिर विचार गर्न सक्ने अवस्थामा थिएनन् भन्ने कहीँ कतैबाट देखिएन । यस्तो अवस्थामा प्रतिवादी दलबहादुर कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं. अनुसार भवितव्य ठहर्याई १ वर्ष ३ महिना कैद गर्ने गरी भएको सुरू बागलुङ जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी गरी निज प्रतिवादी दलबहादुर कामीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरी भएको पुनरावेदन अदालत, बागलुङको मिति २०६८।१२।२१ को फैसला मिलेको देखिन्छ ।
७. अब प्रतिवादी दलबहादुर कामीलाई ज्यानसम्बन्धीको महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने भई निज प्रतिवादी दलबहादुर कामीलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद सजाय गर्न व्यक्त भएको रायको सम्बन्धमा विचार गर्दा दलबहादुर कामी र मृतक आसबहादुर वि.क. एक आपसमा नातेदार रहेको र निजहरू बिच पहिलेदेखि नै रिसइबी रहे भएको भन्ने नदेखिएको, मृतकका छोरा राजिन भन्ने राजेन्द्र वि.क.सँग जग्गाको साँध सम्बन्धलाई लिएर प्रतिवादीको झैझगडा हुँदै आएको र वारदात मिति र समयमा पनि सोही विषयलाई लिएर प्रतिवादी दलबहादुर र राजिनबिच झगडा हुँदा प्रतिवादीले लिई गएको किल्ला ठोक्ने काठको मुङ्ग्रोले राजिनलाई प्रहार गरेकामा निजहरूको झगडा छुट्याउन आएका आसबहादुरलाई लाग्न गई मृतकको मृत्यु भएको भन्ने देखिएको र प्रतिवादीले उक्त घटनालाई नलुकाई अनुसन्धान, अभियोजन तथा अदालतलाई सहयोगसमेत गरेको देखिएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम ज्यानसम्बन्धीको महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने भई निजलाई १० वर्ष कैद सजाय गर्न मनासिब देखी अ.बं. १८८ नं. बमोजिम पुनरावेदन अदालत, बागलुङबाट व्यक्त भएको राय मुनासिब नै देखिन्छ ।
८. तसर्थ माथि विवेचित आधार प्रमाणबाट प्रतिवादीहरू यामबहादुर कामी, गामबहादुर कामी र कुमारसिंह कामीलाई सफाई दिने गरी भएको सुरूको फैसला सदर गरी प्रतिवादी दलबहादुर कामीलाई सुरू अदालतबाट ज्यानसम्बन्धीको महलको ६(२) नं. बमोजिम १ वर्ष ३ महिना कैद गर्ने गरी भएको फैसला सो हदसम्म केही उल्टी गरी प्रतिवादी दलबहादुर कामीलाई ज्यानसम्बन्धीको महलको १३ (३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई अ.बं. १८८ नं. बमोजिम निज प्रतिवादी दलबहादुर कामीलाई १० वर्ष कैद सजाय गर्ने राय व्यक्त गरी भएको पुनरावेदन अदालत, बागलुङको मिति २०६८।१२।२१ को रायसहितको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी दलबहादुर कामीलाई १ वर्ष ३ महिना कैद हुने ठहर्याई सुरू जिल्ला अदालतबाट भएको फैसला केही उल्टी भई निजलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्याई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद सजाय गर्न राय व्यक्त भएको पुनरावेदन अदालत, बागलुङको रायसहितको फैसला सदर हुने ठहरेकाले निज प्रतिवादीलाई सुरू जिल्ला अदालतले ठहराएको १ वर्ष ३ महिना कैद भुक्तान भइसकेको देखिँदा निजलाई ठहरेको १० वर्ष कैदमा उक्त अवधि कट्टा गरी बाँकी हुन आउने ८ वर्ष ९ महिना कैदको लगत कसी असुल गर्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइदिनू ...............................१
प्रतिवादी दलबहादुर कामीलाई सर्वस्व गर्नु नपर्ने भएको हुँदा निजको सर्वस्व रोक्का भएको भए फुकुवा गरिदिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइदिनू .........२
प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू ..........................................३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू .......४
उक्त रायमा सहमत छु ।
न्या.जगदीश शर्मा पौडेल
इजलास अधिकृतः इन्दिरा शर्मा
इति संवत् २०७२ साल माघ ७ गते रोज ५ शुभम् ।