निर्णय नं. ९५३१ - हातहतियार तथा खरखजाना

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७२।५।३१।५
०६९-CF-०००५
मुद्दा : हातहतियार तथा खरखजाना
पुनरावेदक / प्रतिवादी : धनुषा जिल्ला, जनकपुर नगरपालिका वडा नं.२ बस्ने संजयकुमार साह
विरूद्ध
प्रत्यर्थी / वादी : प्र.नि. मोहनकुमार शेर्पाको प्रतिवेदन तथा रामजीवनप्रसाद गुप्ताको जाहेरीले नेपाल सरकार
निमित्त प्रमुख जिल्ला अधिकारीले मुद्दाको निर्णय नै गरेको नभई प्रमुख जिल्ला अधिकारी अनुपस्थित रहेको अवस्थामा बकपत्रका लागि उपस्थित गराइएका साक्षीको बकपत्र गराई मुद्दाको कारवाही अगाडि बढाएकोसम्म देखिएको छ । त्यसरी प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारीले गराएको बकपत्र प्रमुख जिल्ला अधिकारीबाट अनुमोदन गराउनै पर्ने अनिवार्य कानूनी व्यवस्था देखिँदैन । मूलतः बकपत्र भएको हो, होइन र बकपत्र गराइँदा इच्छाविपरीत गराइएको छ, छैन भन्ने कुरा हेरिनु पर्ने ।
अनुचित प्रभाव नपारी सहजरूपमा बकपत्र भएको अवस्थामा मुद्दाको कार्यविधिगत कुरामा निमित्त प्रमुख जिल्ला अधिकारीले साक्षीको बकपत्रसम्म गराएको देखिन्छ । बकपत्र गर्ने र गराउनेले कुनै आपत्ति गरेको देखिँदैन । प्रतिवादीले बकपत्रमा जिरह गर्न पाउने नै हुन्छ । बकपत्र गर्ने व्यक्ति उही हो र गराउने निकाय पनि उही भएको अवस्थामा प्रतिवादीले जिरह लिई आफ्नो प्रतिरक्षा गर्न पाउने नै भएकोमा अन्यथा कुरा झिकी त्यस्तो बकपत्रलाई शून्यकृत गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, लभकुमार मैनाली र विद्वान् अधिवक्ता जयनारायण पौडेल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्र थापा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा निर्णय गर्ने :
प्र.जि.अ. श्री रेवतीराज काफ्ले
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री भोलाप्रसाद खरेल
मा.न्या. श्री गिरीराज पौड्याल
सर्वोच्च अदालतमा फैसला गर्ने :
मा.न्या.श्री अवधेशकुमार यादव
मा.न्या.श्री कमलनारायण दास
फैसला
न्या.बैद्यनाथ उपाध्याय : यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच रायमा मतक्यैता नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
धनुषा जिल्ला, सखुवा महेन्द्रनगर गा.वि.स. वडा नं.१ स्थित सडकमा स्थानीय व्यक्तिहरूले घेराउ गरी राखेको अवस्थामा अनिल भन्ने निर्मलकुमार सिंह, उमाशंकर अरगरीया, राजकुमार पुर्वे, राजकरण यादव, ओमप्रकाश यादव, धर्मेन्द्र पाठक, सन्तोषकुमार साह, श्याम शर्मा, शम्भु यादव, रामविनोद यादव, रामबाबु भन्ने विन्देश्वर साह र संजयकुमार साहसमेतलाई प्रक्राउ गरी शरीर तलासी गर्दा संजय साहको हातमा भोजपुर लेखेको काठको बिँड भएको १५ इन्च लम्बाई भएको खुकुरी थान-१ र निजले सर्टभित्र कम्मरमा लुकाई राखेको अवस्थामा कक भएको अवस्थामा अङ्ग्रेजीमा अटोमेटिक पेस्तोल ९ एम.एम.११ राउन्ड पेस्तोल नं.१७४० लेखेको पेस्तोल नाल-१ गोली लोड भएको अवस्थामा फेला परेको र कालोदापसहित २७१/२ इन्च लम्बाई भएको तरवार थान-१ समेत बरामद भएको हो भन्नेसमेत व्यहोराको बरामदी तथा खानतलासी मुचुल्का ।
मिति २०६०।२।३ गतेका दिन ११.०० बजेको समयमा जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं.२ मा बस्ने उमाशंकर यादव, ऐ. बस्ने टकला भन्ने संजयकुमार साह, ऐ. बस्ने सन्तोषकुमार साह, ऐ. बस्ने शम्भु यादव, ऐ. बस्ने विनोद यादव, ऐ.बस्ने रामबाबु भन्ने विन्देश्वर साह, ऐ. वडा नं.१६ बस्ने राजकरण यादव, ऐ.बस्ने राजकुमार पुर्वे, ढल्केवर गा.वि.स.वडा नं.३ बस्ने श्याम शर्मा, ऐ. वडा नं.६ बस्ने धर्मेन्द्र पाठक, ऐ.जनकपुर नगरपालिका वडा नं.२६ बस्ने निर्मल सिंहसमेत भई जिल्ला धनुषा, सखुवा महेन्द्रनगर गा.वि.स. वडा नं.१ स्थित महेन्द्रनगर बजारमा हातहतियार खुकुरीसमेत बोकी होहल्ला अशान्ति गरी हिँडेको अवस्थामा स्थानीय जनताहरू मिली निजहरूलाई घेराउ गरी राखेको छ र निजहरूले गोलीसमेत फायर गरेका छन् भन्ने खबर प्राप्त हुनासाथ यस कार्यालयबाट मसमेतको टोली खटी गई उल्लिखित मानिसहरूलाई प्रक्राउ गरी निजहरूको शरीर तलासी गर्दा संजय साहको साथबाट खुकुरी थान-१ र कक भएको ९ एम.एम.११ राउन्ड लेखेको नं.१७४० लेखेको पेस्तोल थान-१ गोली लोड भएको अवस्थामा फेला परेको, उक्त पेस्तोल कार्यालयमा ल्याई मेकानिकबाट लोड भएको गोलीसमेत निकाली हेर्दा गोली राउन्ड ३ लोड अवस्थामा फेला परेको हुँदा संजय साहसमेतलाई पक्राउ गरी बरामद भएको हात हतियारसमेत बोकी अशान्ति मच्चाएको, शान्ति भङ्ग गरेको हुँदा निजहरूमध्ये संजयकुमार साहउपर हातहतियार खरखजाना ऐनअन्तर्गत तथा अन्य विनोद यादवसमेत उपर केही सार्वजनिक अपराध ऐनअन्तर्गत कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्रहरीको प्रतिवेदन ।
म जाहेरवालासँग भुस्साको दोहोरो कर लिनेसम्बन्धमा टकला भन्ने संजयकुमार साहसँग रिसइवी थियो । मिति २०६०।२।३ गते सबैलाबाट ट्रकमा भुस्सा लोड गरी आउँदा संजय साहसमेतले वीरेन्द्र बजारमा मेरो ट्रक रोकी चालकलाई धाक धम्की दिई छाडी दिए, सोही दिन संजयकुमार साहसमेत हातहतियार लिई महेन्द्रनगर चोकस्थित सुरेन्द्र गिरीको घरमा गई घर प्रवेश गरी निजको श्रीमतीलाई जथाभावी गाली गलौज गरी धम्की दिएको, सोही दिन ९ बजेको समयमा स.ई.विश्वनाथ गुप्ता मेरो घरमा आई तपाइँउपर संजय साहले उजुरी गरेको छ सोधपुछ गर्नु छ भनी थानामा लगी कुटपिटसमेत गरी सोही दिन ११ बजेतिर ती व्यक्तिहरू महेन्द्रनगरको मूल सडकमा आई संजय साहले हातमा पेस्तोल लिएको अरू विपक्षीहरूले हातमा तरवार, खुकुरीसमेत लिई सडकमा बिचबिचै फायरिङ गर्दै गएकोले त्यहाँ भएको स्थानीय व्यक्तिहरू आतङ्कित भई लखेट्न खोज्दा निजहरू भागेर ईलाका प्रहरी कार्यालय, महेन्द्रनगरमा प्रवेश गरेबाट जनताहरू आक्रोशित भई घेराउ गर्दा सोही समयमा सेनासमेत आएको र संजय साहको साथबाट पेस्तोल र तरवार खुकुरीसमेत बरामद भएको हुँदा निजहरूउपर केही सार्वजनिक अपराध र हातहतियार खरखजाना ऐनअनुसार कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको रामजीवन प्रसाद गुप्ताको जाहेरी दरखास्त ।
मिति २०६०।२।३ गते अं.११ बजेको समयमा म आफ्नै घरमा थिएँ । मिति २०६०।२।२ गते राति अं.७ बजेको समयमा इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको प्रहरीहरू आउनु भई मेरो पति सुरेन्द्र गिरीलाई खोज्दै हुनुहुन्थ्यो । मिति २०६०।२।३ गते बिहान ९.०० बजेको समयमा पनि स.ई.साव विश्वनाथ गुप्ता, हाल पक्राउमा परेका संजय साहसमेत १२ जना मेरो घरमा आई सुरेन्द्र गिरीलाई खोजी मलाईसमेत संजय साहले गाली गरी धम्कीसमेत दिई गएका थिए । त्यसपछि रामजीवन प्रसाद गुप्तालाई पक्राउ गरी ल्याएको कुरा सुने र सोही कारण समाजका मानिसहरूले चक्काजामसमेत गरे, अं.११.०० बजेको समयमा संजय साहसमेत १२ जनालाई पक्राउ गरी संजय साहको साथबाट पेस्तोल, खुकुरी र विनोद यादवको साथबाट तरवारसमेत बरामद भएको कुरा मैले सुनेको हुँ र पछि बुझ्दा जाहेरवाला रामजीवन प्रसाद गुप्ता र संजय साहको पूर्व रिसइवी भएको कारण त्यसप्रकारको घटना भएको भन्ने थाहा पाएँ भन्नेसमेत व्यहोराको बुझिएकी गीता गिरीले गरेको कागज ।
मिति २०६०।२।३ गते बिहान अ.९.०० बजेको समयमा बजारतर्फ जान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको स.ई. सावले रामजीवन प्रसाद गुप्तालाई पक्राउ गरी लाँदै गरेको देखें, निजलाई कार्यालयभित्र लगेपछि रोए कराएको आवाज सुनें, रामजीवन प्रसाद गुप्तालाई किन पक्राउ गरी लगेका हुन मलाई थाहा भएन, त्यस्तैमा अं.११.०० बजेको समयमा बजारतर्फ होहल्ला हुन थाल्यो गोली फायरसमेत हुन् थाल्यो, स्थानीय जनताहरू आतङ्कित भई गोलीसमेत फायर गर्ने संजय साहसमेतलाई घेरी लखेट्दै आएका र संजय साहले गोली फायर गर्दै मेरो अगाडि कोही आएमा मारी दिन्छु भनेको, इलाका प्रहरी कार्यालयतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले पक्राउ गरी हातहतियार तथा पेस्तोलसमेत संजय साह र विनोद यादवको साथबाट बरामद गरी आतङ्क गर्ने १२ जनालाई पक्राउ गरी ल्याएको
हो । निजहरूले त्यसप्रकारको गोलीसमेत फायर गरी अशान्ति मच्चाउने काम किन गरे सो कुरा मलाई थाहा छैन भन्नेसमेत व्यहोराको बुझिएका रमेश काफ्लेले गरिदिएको कागज ।
मिति २०६०।२।३ गते शनिबारको दिन सखुवा महेन्द्रनगरअन्तर्गत सखुवा बजारसमेत भएकोले म सखुवा महेन्द्रनगर बजारतर्फ नै थिएँ । दिनको ११.०० बजेको समयमा बजारतर्फ होहल्ला हुन थाल्यो । त्यस्तैमा उत्तरतर्फबाट मानिसहरूको भिड आएको देखेँ र सो ठाउँतर्फ गोलीसमेत फायर हुन
थाल्यो । सोही क्रममा स्थानीय जनताहरूले हाल पक्राउमा परेका संजय साह, विनोद यादव, शम्भु यादवसमेत १२ जनालाई लखेट्दै आएका, संजय साहले मेरो अगाडि कोही नआइज आएमा गोली ठोकी मारी दिन्छु भन्दै गोली फायर गरी भाग्दै आई रहेको अवस्थामा देखेको हुँ । त्यसपछि प्रहरीले निजहरूलाई पक्राउ गरी संजय साहको साथबाट पेस्तोलसमेत बरामद भएको देखेको हुँ । निजहरूले के कुन कारण बजारमा गोली फायर गरी अशान्ति गरी हो हल्ला गरेका हुन् सो कुरा मलाई थाहा भएन र रामजीवनप्रसाद गुप्तासँग के कुन रिसइवी छ छैन मलाई थाहा भएन भन्नेसमेत व्यहोराको बुझिएका मो.नेजाम अन्सारीले गरेको कागज ।
बरामद भई आएको हतियार पेस्तोल तथा गोली राउन्ड ३ र खुकुरी मेरो साथबाट बरामद भएको हो । उक्त पेस्तोल आजभन्दा २ महिना अगाडि भारतको पटनाबाट भा.रू.६,५००।- मा खरिद गरी ल्याएको हो । उक्त हतियार आफू धनुषा जिल्लाको जि.वि.स. को ठेकेदार भएको र बरमझियातर्फ कर उठाउन जाँदा माओवादीहरूबाट चन्दा मागी धम्कीसमेत दिने गरेको हुँदा आफनो सुरक्षाको लागि राखेको थिएँ । गोली ५ राउन्ड थियो । २ राउन्ड फायर भयो बाँकी ३ राउन्ड हो । मेरो बालुवा गिटीसम्बन्धी कर उठाउने ढाट धनुषा सखुवा महेन्द्रनगरमा पनि छ, उक्त ठाउँमा मेरा कर्मचारीहरू बस्ने गरेका छन् । महेन्द्रनगरका मानिसहरूले गिटी तथा बालुवाको कर दिँदैनौँ भनी जबरजस्ती कर नतिरी लाने गरेकोले र मिति २०६०।२।२ गतेका दिन पनि मेरा कर्मचारी रामचन्द्र दास र हुलास पूर्वेसमेतलाई राजु गुप्ता र निजकै भाई रामजीवन गुप्ताले कुटपिटसमेत गरी जबरजस्ती गिटी बालुवा लगेको, तेरो ठेकेदारलाई बोलाउ भनी भनेका रहेछन् उक्त कुरा टेलिफोनबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालयमा गई मौखिकरूपमा जानकारी गराएँ । रामजीवन गुप्ताले प्रहरीमा किन उजुरी गर्नुहुन्छ, मिति २०६०।२।३ गते आउनुहोस्, छलफल गरौंला भनेकाले मैले हुन्छ भने । प्रहरी कार्यालयमा लिखित निवेदन दिइन । जनकपुरतर्फ आउने क्रममा रातो रंगको जिपबाट मलाई लखेटेको हुँदा मिति २०६०।२।३ गते बिहान पुनः इलाका प्रहरीमा जानकारी गराएँ । मेरा कर्मचारीहरूलाई कुटपिट गरेको सम्बन्धमा छलफल गर्न बोलाउँछन् होला भनी आफ्नो ढाटमा बसिरहेको थिएँ । त्यस्तैमा बजारमा रामजीवनप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको भन्ने हल्ला भयो । निजलाई पक्राउ गरेको हामीले देखेनौं, सोही सम्बन्धमा जनताले १० बजेको समयमा चक्काजाम गरिसकेका थिए । अ.११ बजेको समयमा हामीहरू बसिरहेको अवस्थामा १५,१६ सय मानिसहरू हातहातमा लाठी ढुङ्गा, खुकुरीसमेत लिई हामी बसेको ठाउँमा आई ढुङ्गा प्रहार गर्नका लागि हामीलाई घेराउ गर्न लागेकोले मेरो साथमा भएको पेस्तोल निकाली हवाई फायर गरी हामी ज्यान बचाउनको लागि इलाका प्रहरी कार्यालयतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरी मेरो साथमा भएको पेस्तोल तथा खुकुरी र विनोद यादवको साथमा भएको तलवारसमेत बरामद गरेको हो । हामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयमा लाँदा रामजीवन गुप्तालाई हामीले देखेनौं । निजलाई पक्राउ गरेको थियो थिएन मलाई थाहा छैन । हामीहरूलाई स्थानीय जनताले मार्छन् भन्ने डरले हवाई फायर गरी खुकुरी देखाई भागेकोसम्म हो । मैले कुनै अशान्ति गरेको होइन । मैले यसभन्दा अगाडि कुनै मुद्दाहरूमा सजाय पाएको छैन । निरजराज निरौलाको जाहेरीले जिल्ला प्रशासन कार्यालय, धनुषामा चलेको मिति २०५८।८।२९ गतेको वारदातको केही सार्वजनिक अपराध मुद्दा कारवाहीयुक्त अवस्थामा छ भन्नेसमेत व्यहोराको प्रतिवादी संजयकुमार साहको बयान ।
मिति २०६०।२।३ गते अं.११ बजेको समयमा म महेन्द्रनगर बजारमा थिएँ । बजारमा होहल्ला भइरहेको थियो । उक्त दिन बजारसमेत भएकोले धरै मानिसहरूको भिडभाड थियो । एक्कासी उत्तरतर्फ संजयकुमार साहको बालुवा गिटीको कर उठाउने ढाटतर्फ गोली फायर भएको आवाज आयो । स्थानीय जनताहरूले हाल पक्राउमा परेका १२ जनालाई लखेट्दै आएको देखी संजय साहले गोली फायर गर्दै कोही पनि मेरो अगाडि आएमा मारी दिन्छु भन्दै हिँडेको देखेको हुँ । प्रहरीहरूले संजय साहसमेत १२ जनालाई पक्राउ गरी पेस्तोल तथा खुकुरीसमेत बरामद गरेको हो । निजहरूले के कुन कारण त्यस प्रकारको अशान्ति गरे मलाई थाहा भएन, जाहेरवाला रामजीवन गुप्तासँग के कुन झैझगडा थियो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको बुझिएका अमरनाथ मण्डलले गरेको
कागज ।
यसमा हालसम्म सङ्कलन भएका सबुद प्रमाणको आधारमा प्रतिवादी संजयकुमार साहले अवैध हातहतियार खरखजाना ल्याई आफ्नो साथमा राखी प्रयोगसमेत गरेको पुष्टि हुन आएकोले निजले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२), ४(२) तथा दफा ५ अनुसारको कसुर गरेको पुष्टि भएकोले सोही ऐनको दफा २० को उपदफा २ को (क), (ख), (ग) अनुसार कार्यवाही र सजाय हुनका साथै बरामद भएको पेस्तोल र गोली दफा १६ बमोजिम जफत गरिपाउँ भन्नेसमेत व्यहोराको जिल्ला प्रशासन कार्यालयमा दायर भएको अभियोगपत्र ।
मैले अभियोग दाबीबमोजिमको कसुर अपराध गरेको छैन । बरामद भएको हतियार पेस्तोल, खुकुरी, तरवार मेरो होइन । बरामद भएको हतियारमध्ये पेस्तोल राजु गुप्ताको हो । खुकुरी र तरवार कसको हो मलाई थाहा छैन । निज राजु गुप्ताले ५०/६० जना मानिसहरूका साथ हात हतियार लाठी, भाला, खुकुरीसमेत ल्याई घेराउ गरी जबरजस्ती कुटपिट गरी हात बाँधी कम्मरमा पेस्तोल घुसारिदिएका हुन् । मैले गोली फायर गरेको छैन । बरामदी मुचुल्कामा भएको सहिछाप मेरै हो । प्रहरी निरीक्षक मोहन शेर्पाले मउपर किन जाहेरी प्रतिवेदन दिनुभयो मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी संजयकुमार साहले सुरू जिल्ला प्रशासन कार्यालयमा गरेको बयान ।
वादी पक्षका साक्षी जितेन्द्रकुमार साह, रमेश काफ्लेले जिल्ला प्रशासन कार्यालयमा गरेको बकपत्र ।
प्रतिवादी संजयकुमार साहले तोकिपाएको तारेख गुजारी बसेको, साक्षी सबुद प्रमाण पेस गर्न नसकेको साथै यसै लगाउको फौ.नं. ३२।८७ को केही सार्वजनिक अपराध र सजाय मुद्दामा निजले अभियोग पत्रअनुसार कसुर अपराध गरेको ठहरी आजै मुद्दा फैसला भएको स्थितिमा निज प्रतिवादी संजयकुमार साह निर्दोष हुन् भनी भन्न नमिल्ने हुँदा अभियोग पत्रअनुसार हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२), ४(२) तथा दफा ५ अनुसारको कसुर अपराध गरेको अभियोगमा ऐनको दफा २० को उपदफा २ को (क), (ख), (ग) ले १ वर्ष ९ महिना कैद र नगद रू. ५,०००।- जरिवाना हुने ठहर्छ भन्ने जिल्ला प्रशासन कार्यालय, धनुषाको मिति २०६१।३।३० को फैसला ।
संजयकुमार साहको साथबाट पेस्तोल बरामद भएको भन्ने कुरा पुष्टि हुन सकेको छैन । वादी पक्षकै साक्षीहरूको बकपत्रबाट पनि बरामदी मुचुल्का झुट्ठा रहेको प्रमाणित भइरहेको अवस्थामा अभियोग दाबीबाट मलाई सफाइ दिनुपर्नेमा जबरजस्ती सजाय गर्ने मनसायबाट अभिप्रेरित भई कैद तथा जरिवाना गर्ने गरी गरिएको फैसला तथ्य एवं कानूनविपरीत भएकोले बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी संजयकुमार साहको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदन पत्र ।
स्पष्ट किटानी जाहेरी, जाहेरी तथा प्रतिवेदनलाई पुष्टि गर्ने गरी मौकामा बुझिएका व्यक्तिको कागज एवं बकपत्र, वस्तुस्थिति तथा बरामदी मुचुल्का, प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानसमेतका आधार प्रमाणबाट प्रतिवादीले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२),४(२) तथा दफा ५ को कसुर गरेको प्रमाणबाट स्थापित हुँदा ऐ. को दफा २० को उपदफा २ को (क), (ख), (ग) ले १ वर्ष ९ महिना कैद तथा रू. ५,०००।- जरिवानासमेत हुने ठहर्याई गरेको सुरू जिल्ला प्रशासन कार्यालय, धनुषाको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको मिति २०६३।२।३० को फैसला ।
पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन । म निवेदक प्रतिवादीको साथबाट बरामद भएको भनिएको पेस्तोल तथा खुकुरी प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रतिवेदकसमेतको बकपत्रबाट पुष्टि हुन सकेको छैन । जाहेरवालाको जाहेरी व्यहोरा र मिसिल संलग्न अन्य तथ्य फरक परेको तथा हातहतियार बरामद गर्दा मुलुकी ऐन, अदालती बन्दोबस्तको १७२ नं. को प्रक्रिया तथा सकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ८ र ९ को प्रक्रिया पालन गरिएको छैन । अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएकोमा अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबितीलाई आधार मानी दोषी ठहर गर्न कानूनतः मिल्दैन । फौजदारी मुद्दामा वादी दाबी प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ ले वादी पक्षको हुनेमा प्रतिवादीले प्रमाण पेस गर्न नसकेको भनी कसुर ठहर गरेको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला प्रतिपादित सिद्धान्त एवं कानून प्रतिकूल भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी संजयकुमार साहको यस अदालतमा पर्न आएको निवेदन ।
यसमा प्र.नि.मोहनकुमार शेर्पाको सुरू प्रतिवेदन (जाहेरी) मा सखुवा महेन्द्रनगरमा वारदातस्थल देखाएको छ भने पछिबाट जाहेरी दिने रामजीवन प्रसाद गुप्ताले इलाका प्रहरी कार्यालय, महेन्द्रनगरमा प्रहरीले सर्च गर्दा केही हातहतियार बरामद नभएको सोही ठाउँमा आर्मीले सर्च गर्दा प्रतिवादीबाट हातहतियार बरामद गरी मुचुल्का तयार गरेको भन्ने भनाइ रहेकोबाट २ वटा जाहेरीमा देखाएको वारदातस्थल नै फरकफरक रहेको भन्ने देखिन आयो । निज दुवै जाहेरवालाहरू अदालतमा उपस्थित भई बकपत्र नगरेको अवस्थामा निजहरूको भनाइलाई प्रमाणमा ग्रहण गरेको तथा निमित्त प्र.जि.अ.समक्ष जितेन्द्रकुमारले गरेको बकपत्रलाई समेत प्रमाणमा ग्रहण गरी पुनरावेदन अदालतबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा १८ एवं अ.बं. ३५ तथा १८४ नं. को कानूनी त्रुटि हुनुका साथै ने.का.प. २०४६ अंक ४ नि.नं. ३७८८ पृष्ठ ३९० र ने.का.प. २०४१ नि.नं. १९१७ अंक २ पृष्ठ १८७ मा प्रतिपादित नजिरको पालना नभएको देखिँदा प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को आधारमा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०६३।४।२८ को आदेश ।
यसमा यस अदालतबाट मिति २०६३।४।२८ को मुद्दा दोहोर्याउने निस्सा प्रदान गर्दा जाहेरवाला नबुझेको भन्ने आधारमा निस्सा दिएको र सुरू जिल्ला प्रशासन कार्यालयले जाहेरवाला झिकाउँदा त्यतिबेला जाहेरवाला रामजीवनप्रसाद गुप्ता एपेन्डिसाइटिसको अपरेसनको उपचार गरी ठिक भएपछि उपस्थित गराउने भन्ने जवाफ दिएको मिति २०६१।३।१४ को इलाका प्रहरी कार्यालय, महेन्द्रनगर, धनुषाको पत्रबाट देखिएको, तर तत्पश्चात् पनि निजलाई बुझ्ने अर्को आदेश भएको देखिएन । तसर्थ निस्सा प्रदान गर्दा गरिएको आदेशअनुसार जाहेरवाला निज रामजीवनप्रसाद गुप्ता तथा मोहनकुमार शेर्पालाई बकपत्रको लागि झिकाई बकपत्र गराई नियमानुसार पेस गर्नू भन्ने यस अदालतको मिति २०६७।६।११ को आदेश ।
मैले जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय, धनुषामा दिएको छैन तर सेनाले भनेअनुसार जाहेरी दरखास्तमा सही गरेको हुँ भन्नेसमेत व्यहोराको जाहेरवाला रामजीवनप्रसाद गुप्ताले यस अदालतमा मिति २०६७।७।१६ मा गरेको बकपत्र ।
मिति २०६०।२।३ गते मानिससमेत पक्राउ गरी बरामदी मुचुल्का तथा बरामद भएको हतियारसमेत दाखिल गरेको विषयको प्रतिवेदन मैले जिल्ला प्रहरी कार्यालय, धनुषामा दिएको हो । प्रतिवेदनमा भएको सही मेरै हो भन्नेसमेत व्यहोराको प्रतिवेदक जाहेरवाला प्रहरी निरीक्षक मोहनकुमार शेर्पाले यस अदालतमा मिति २०६८।१।२३ मा गरेको बकपत्र ।
प्रतिवादी संजयकुमार साहले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२), ४(२) तथा दफा ५ को कसुर गरेको प्रमाणबाट स्थापित हुँदा ऐ. ऐनको दफा २० को उपदफा २ को खण्ड क, ख, ग ले १ वर्ष ९ महिना कैद तथा रू.५,०००।- जरिवानासमेत हुने ठहर्याई गरेको सुरू जिल्ला प्रशासन कार्यालय, धनुषाको निणर्यलाई सदर गरेको पुनरावेदन अदालत, जनकपुरको मिति २०६३।२।३० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय ।
प्रतिवादीहरूउपरको आरोपित कसुर प्रमाणित हुन नआएको, गिट्टी, बालुवा, कवाडको सामानमा कानूनबमोजिम उठाउन पाउने करको ठेक्का लिएको व्यक्ति प्रतिवादी संजयकुमार साहसँग सो कर उठाउने सम्बन्धमा स्थानीय व्यक्तिहरूसँग विवाद परी स्थानीय व्यक्तिहरूको भिडले घेराउ गरेको कारणबाट भागी उम्की ई.प्र.का. महेन्द्रनगरमा लुकी बसेको अवस्थामा सेनाको टोली आई कानूनविपरीत आफ्नो निर्देशनमा अनधिकृतरूपले बरामदी मुचुल्का खडा गराई मुद्दा सिर्जना गरेको देखिएकोले प्रतिवादीहरूले झुट्टा आरोपबाट सफाइ पाउने ठहर्छ भन्ने यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री कमलनारायण दासको छुट्टै राय ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी संजयकुमार साहका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री लभकुमार मैनाली र विद्वान् अधिवक्ता श्री जयनारायण पौडेलले जाहेरवाला रामजीवन प्रसाद गुप्ता र प्रतिवेदक प्रहरी निरीक्षक मोहनकुमार शेर्पालाई वादी पक्षले मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित गराई जाहेरी र प्रतिवेदनको व्यहोरालाई पुष्टि गराउन सकेको अवस्था छैन । सर्वोच्च अदालतको आदेशानुसार निजहरूले सर्वोच्च अदालतमा उपस्थित भई बकपत्र गर्दा यी पुनरावेदक प्रतिवादीका साथबाट कुनै हातहतियार बरामद भएको आफूले नदेखेको भनी लेखाइदिएका छन् । त्यसमा पनि बरामदी मुचुल्का रितपूर्वक तयार भएको नदेखिँदा त्यस्तो बरामदी मुचुल्काको व्यहोरा निजका विरूद्धमा प्रमाणमा लाग्न सक्दैन । बरामदी मुचुल्काका जितेन्द्रकुमार साह र मौकामा कागज गर्ने रमेश काफ्लेको बकपत्र मुद्दा हेर्ने अधिकारीसमक्ष नभई निमित्त प्रमुख जिल्ला अधिकारीसमक्ष भएको
देखिन्छ । निमित्त प्रमुख जिल्ला अधिकारीलाई मुद्दा मामिलामा बकपत्रलगायतका काम कारवाही गर्ने अधिकार कुनै कानूनले प्रदान गरेको नदेखिँदा अनधिकृत व्यक्तिले गराएको बकपत्र पुनरावेदकका विरूद्धमा प्रमाणमा लाग्न सक्दैन । यसप्रकार वादी पक्षले अभियोग दाबीबमोजिमको वारदात नै पुष्टि गर्न नसकेको अवस्थामा निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी माननीय न्यायाधीश श्री कमलनारायण दासले व्यक्त गर्नुभएको राय सदर हुनुपर्छ भनी र प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सुरेन्द्र थापाले प्रतिवादी संजयकुमार साहले हातहतियारसमेत लिई सार्वजनिक स्थानमा अशान्ति मच्चाएको र निजबाट हतियार बरामद भएको कुरामा निज मौकामा साबित रहेका छन् । वादी पक्षका साक्षी जितेन्द्रकुमार साह र रमेश काफ्लेको बकपत्रबाट समेत बरामदी मुचुल्काको व्यहोरा पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा निमित्त प्रमुख जिल्ला अधिकारीसमक्ष भएको निजहरूको बकपत्रलाई अनधिकृत भन्न मिल्दैन । सर्वोच्च अदालतसमक्ष बकपत्र गर्दा प्रतिवेदक मोहनकुमार शेर्पाले बरामदी मुचुल्कामा उल्लिखित व्यहोरा ठिक साँचो हो भनी र जाहेरवाला रामजीवनप्रसाद गुप्ताले जाहेरी दरखास्तको सहिछाप आफ्नो भएको कुरा स्वीकार गरिरहेको देखिँदा निज प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको कुरा पुष्टि भइरहेको हुँदा पुनरावेदन अदालत, जनकपुरले गरेको फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री अवधेशकुमार यादवले व्यक्त गर्नुभएको राय सदर हुनुपर्दछ भनी बहस
गर्नुभयो ।
उपर्युक्तबमोजिम विद्वान् वरिष्ठ अधिवक्ताहरू, विद्वान् अधिवक्ता तथा विद्वान् उपन्यायाधिवक्ताले गर्नुभएको बहससमेत सुनी मिसिल कागजातहरू अध्ययन गरी हेर्दा, पुनरावेदक प्रतिवादी संजयकुमार साहलाई कसुरदार कायम गरी सजायसमेत हुने ठहर्याई सुरू जिल्ला प्रशासन कार्यालयले गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री अवधेशकुमार यादवले व्यक्त गरेको राय र निज प्रतिवादीलाई अभियोग दाबीबाट सफाइ दिने गरी माननीय न्यायाधीश श्री कमलनारायण दासले व्यक्त गरेको रायमध्ये कसको राय सदर हुने हो भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी संजयकुमार साहले अवैध हातहतियार खरखजाना ल्याई आफ्नो साथमा राखी प्रयोगसमेत गरेको हुँदा निजलाई हातहतियार तथा खरखजाना ऐन, २०१९ को दफा ३(२), ४(२) तथा दफा ५ अनुसारको कसुरमा ऐ. को दफा २० को उपदफा २ को (क), (ख), (ग) अनुसार सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएको प्रस्तुत मुद्दामा सुरू जिल्ला प्रशासन कार्यालय, धनुषाले निजलाई १(एक) वर्ष, ९(नौ) महिना कैद तथा रू. ५०००।- जरिवाना हुने ठहर्याई गरेको फैसला पुनरावेदन अदालत, जनकपुरबाट सदर हुने ठहरी फैसला भएको देखियो । पुनरावेदन अदालतको उक्त फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (क) र (ख) बमोजिम दोहोर्याई हेरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भनी प्रतिवादी संजयकुमार साहको यस अदालतमा निवेदन परेकोमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा संयुक्त इजलाससमक्ष पेस हुँदा माननीय न्यायाधीश श्री अवधेशकुमार यादवले पुनरावेदन अदालतको फैसला सदर हुने राय व्यक्त गर्नुभएको र माननीय न्यायाधीश श्री कमलनारायण दासले निज प्रतिवादी संजयकुमार साहलाई अभियोग दाबीबाट सफाइ दिने गरी राय व्यक्त गर्नु भई मतैक्य हुन नसकेकाले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१)(क) बमोजिम प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेस हुन आएको देखियो ।
३. प्रस्तुत मुद्दासँग सम्बद्ध मिसिल अध्ययन गरी हेर्दा, प्रहरी निरीक्षक मोहनकुमार शेर्पाको प्रतिवेदन र रामजीवनप्रसाद गुप्ताको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको उठान भएको
देखिन्छ । प्रहरी निरीक्षक मोहनकुमार शेर्पाको प्रतिवेदन हेर्दा, प्रतिवादी संजयकुमार साहसमेतले धनुषा जिल्ला सखुवा महेन्द्रनगर गा.वि.स. स्थित महेन्द्रनगर बजारमा हातहतियारसमेत बोकी हो-हल्ला अशान्ति गरी गोलीसमेत फायर गरेको भन्ने खबर प्राप्त भएकोले प्रहरी टोली खटी गई निजहरूलाई पक्राउ गरी शरीर तलासी लिँदा संजयकुमार साहको साथबाट खुकुरी थान-१, पेस्तोल थान-१ गोली लोड भएको अवस्थामा फेला परेको भन्ने व्यहोरा उल्लेख गरेको
देखिन्छ । त्यस्तै रामजीवनप्रसाद गुप्ताको जाहेरी हेर्दा, मिति २०६०।२।३ गते दिनको ११.०० बजेको समयमा महेन्द्रनगरको मूलसडकमा प्रतिवादी संजयकुमार साहले हातमा पेस्तोल र अन्य व्यक्तिहरूले हातमा तरवार खुकुरीसमेत लिई सडकमा फाइरिङ गर्दै गएकाले त्यहाँका स्थानीय मानिसहरू आतङ्कित भई लखेट्न खोज्दा निजहरू भागेर इलाका प्रहरी कार्यालय, महेन्द्रनगरमा प्रवेश गरेकाले जनताहरू आक्रोशित भई घेराउ गरेका र संजयकुमार साहको साथबाट पेस्तोल, खुकुरीसमेत बरामद भएको भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ ।
४. सुरू मिसिल संलग्न मिति २०६०।२।३ को बरामदी मुचुल्का हेर्दा, भोजपुर लेखेको काठको बिँड भएको १५ इन्च लम्बाई भएको खुकुरी थान-१ र मेड इन जर्मन लेखिएको ९ M.M. ११ राउन्ड, नं. १७४० को गोली लोड भएको अटोमेटिक पेस्तोल थान-१ समेत संजयकुमार साहको साथबाट बरामद भएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । प्रतिवादी संजयकुमार साहले अनुसन्धानको क्रममा आफू बालुवा गिट्टीसम्बन्धी कर उठाउने ठेकेदार भएको र स्थानीय मानिसहरूसँग करसम्बन्धमा विवाद भई जनताहरूले घेराउ गर्न लागेकोले साथमा भएको पेस्तोल निकाली हवाई फायर गरी ज्यान बचाउनका लागि इलाका प्रहरी कार्यालय जाने क्रममा प्रहरीले पक्राउ गरी मेरो साथमा भएको पेस्तोल तथा खुकुरी बरामद गरेको हो भनी आफूसँग हतियार रहेको कसुरजन्य तथ्यमा साबित रहेको देखिन्छ । तर जिल्ला प्रशासन कार्यालयमा बयान गर्दा हतियार आफ्नो नभएको राजु गुप्ताले घुसारी दिएको भन्ने निजको भनाइ रहेको छ । यसप्रकार निजबाट हतियार बरामद भएको तथ्यमा विवाद रहेन ।
५. निज पुनरावेदक प्रतिवादीले बरामदी मुचुल्का सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ८ र अ.बं. १७२ नं. को रित पुर्याई तयार भएको छैन, सरकारी कर्मचारीलाई रोहवरमा नराखिएको हुँदा त्यस्तो बरामदी मुचुल्का प्रमाणयोग्य छैन भनी पुनरावेदनमा जिकिर लिएको देखिन्छ । सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को उक्त दफा ८ मा वस्तुस्थिति मुचुल्का तयार गर्दा तथा कुनै व्यक्ति, वस्तु वा ठाउँको खानतलासी लिँदा त्यस्तो ठाउँमा भएका कम्तीमा दुईजना स्थानीय व्यक्तिहरू र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाका एकजना सदस्य वा त्यस्तो सदस्य नभए कुनै सरकारी कार्यालयको एकजना कर्मचारीलाई रोहवरमा राख्नुपर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । पुनरावेदक प्रतिवादीले अ.बं.१७२ नं. को पनि जिकिर लिएको देखिन्छ । उक्त कानूनी प्रावधानहरूले अनुसन्धान र तहकिकातको सिलसिलामा खानतलासी लिँदाको कार्यविधिलाई व्यवस्थित गर्न खोजेको देखिन्छ । प्रस्तुत मुद्दामा अनुसन्धान र तहकिकातको सिलसिलामा पूर्वतयारीका साथ खानतलासीको कार्य गरिएको देखिँदैन । अपितु अपर्झट वारदातको प्रकृतिबाट नै तत्कालै बरामद भएको हतियारको बरामदी मुचुल्का तयार गर्नुपर्ने परिस्थिति सिर्जना भएको अवस्था छ । यसरी तत्काल बरामद गर्नुपर्ने अवैध सामान बरामद गर्दा अनुसन्धान गर्दा जस्तो चाहिने व्यक्तिहरू खोज्नतर्फ लाग्दा पेस्तोलसहित समाउन पनि नसकिने हुन जान्छ । कानूनको व्यवस्था समाजमा अमनचयन गर्नको लागि हो । कानूनको गलत व्याख्या गरी अपराध हुन दिनु
होइन । सरकारले कुनै कार्य गर्दा कसैको अधिकार कुण्ठित नहोस् भन्ने अवधारणाबाट अनुसन्धानको कार्यविधि व्यवस्थित गरिएको हुन्छ । यी सामान्य अवस्थाका कुरा हुन् । तर कोही बन्दुक पड्काउँदै अघि बढिरहेको छ भने त्यसलाई पक्राउ नगरी बरामदीलाई अनुसन्धान गर्दा जस्तो गरी अमुक मानिसहरू रोहवरमा चाहिन्छ वा अमुक दर्जाको व्यक्ति बरामदी मुचुल्कामा हुनुपर्छ भनी मानिस खोज्नतर्फ लाग्ने कुरा गर्नु पूर्ण अव्यावहारिक हुनुको साथसाथै समाजमा अमनचयन गर्न आएको कानूनको अवान्छित अर्थ लाग्न
जान्छ । अतः उक्त कानूनी व्यवस्थालाई निरपेक्ष रूपमा ग्रहण गरी सरकारी कर्मचारीलाई बरामदी मुचुल्काको रोहवरमा नराखिएको भन्ने आधारमा मात्र स्थानीय मानिसहरूलाई रोहवरमा राखी जिम्मेवार प्रहरी कर्मचारीहरूले अन्य कुराको रित पुर्याई तयार गरेको बरामदी मुचुल्काको वैधता शून्य हुन्छ भनी अर्थ गर्नु पनि उपयुक्त हुने देखिँदैन ।
६. प्रतिवेदक मोहनकुमार शेर्पाले यस अदालतमा बकपत्र गर्दा बरामदी मुचुल्का तथा बरामद भएको हतियारसमेत दाखिल गरेको विषयको प्रतिवेदन आफूले नै जिल्ला प्रहरी कार्यालयमा दिएको, प्रतिवेदनमा भएको सही आफ्नै भएको तथा बरामदी मुचुल्कामा उल्लिखित व्यहोरा सही साँचो हो भनी बरामदी मुचुल्का र मौकामा आफूले दिएको प्रतिवेदनसमेतलाई सनाखतसमेत गरिदिएको
देखिन्छ । त्यसै गरी जाहेरवाला रामजीवनप्रसाद गुप्ताले जाहेरी दरखास्तमा लागेको सहिछाप आफ्नो भएको कुरा स्वीकार गरी बकपत्र गरी प्रस्तुत मुद्दाको मूल विषय यी पुनरावेदक प्रतिवादीका साथबाट अबैध पेस्तोल बरामद भएको कुरा समर्थित भएको देखिँदा बकपत्रमा उल्लिखित अन्य सहायक भाषिक कुराका आधारमा निजबाट हतियार बरामद भएन भनी मान्न मिल्दैन । अपितु, वास्तवमा हतियार बरामद भएको हो वा होइन भनी विचार गर्नुपर्ने हुन्छ । यी पुनरावेदक प्रतिवादीले अनुसन्धानको सिलसिलामा आरोपित कसुरमा साबित भई मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा पनि पेस्तोल आफ्नो नभई राजु गुप्ताले जबरजस्ती कम्मरमा घुसारी दिएको भनेबाट निजबाट पेस्तोल बरामद भएको तथ्य स्वीकार गरेको नै देखियो । केवल सो पेस्तोल अरू कसैले घुसारी दिएको कारणबाट निजसँग रहन गएको हो वा निजले आफैँले राखेका हुन भन्नेसम्मको विवाद रहेको देखिन्छ । आफूबाट अवैध हतियार बरामद भएको अवस्थामा अन्यथा जिकिर लिएमा सोको पुष्टि जिकिर लिनेले नै गर्नुपर्ने हुन्छ । निजले सो कुराको प्रमाण पेस गरी पुष्टि गर्न सकेको देखिँदैन । आफूबाट अवैध पेस्तोल बरामद भएको कुरा स्वीकारै गरेको अवस्थामा आफूसँग रहनु पर्ने कारण प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिँदा सो हतियार निजले जानी बुझी गैरकानूनीरूपले धारण गरेका हुन् भनी मान्नुपर्ने
हुन्छ । यसरी सार्वजनिक स्थलमा पेस्तोल जस्तो अवैध सङ्गिन हतियार बोकी अरूतर्फ देखाई हवाई फायर गरेकोबाट अशान्ति मच्चिएको र शान्ति भङ्ग भएको देखिन्छ । तसर्थ जाहेरी दरखास्त, यी पुनरावेदक प्रतिवादीले मौकामा र मुद्दा हेर्ने अधिकारीसमक्ष गरेको बयान तथा मौकामा कागज गर्ने रमेश काफ्ले र बरामदी मुचुल्काका जितेन्द्रकुमार साहले गरेको बकपत्रसमेतबाट निजले अभियोग दाबीबमोजिमको कसुर अपराध गरेको कुरा पुष्टि भइरहेको देखिँदा आफूबाट पेस्तोल बरामद नभएको भन्ने निजको पुनरावेदन जिकिर र निजतर्फका कानून व्यवसायीको बहससँग सहमत हुन सकिएन ।
७. अब बरामदी मुचुल्काका मानिस जितेन्द्रकुमार साह र मौकामा बुझिएका व्यक्ति रमेश काफ्लेको बकपत्र अनधिकृत व्यक्ति निमित्त प्रमुख जिल्ला अधिकारीसमक्ष भएको र सो बकपत्र प्रमुख जिल्ला अधिकारीबाट अनुमोदनसमेत नभएको हुँदा त्यसले वैधता प्राप्त गर्न सक्दैन, त्यसरी बकपत्र गराउने अधिकार निमित्त प्रमुख जिल्ला अधिकारीलाई नभएको हुँदा सो बकपत्र ने.का.प २०४१ अङ्क २ नि.नं. १९१७ मा प्रतिपादित सिद्धान्तसमेत विपरीत छ भनी पुनरावेदक प्रतिवादीतर्फका विद्वान् कानून व्यवसायीहरूको जिकिरसम्बन्धमा विचार गर्दा, हातहतियार खरखजाना ऐन, २०१९ अन्तर्गतको मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई भएकोमा विवाद छैन । प्रस्ततु मुद्दामा बरामदी मुचुल्काका जितेन्द्रकुमार साह र मौकामा बुझिएका व्यक्ति रमेश काफ्लेको बकपत्र निमित्त प्रमुख जिल्ला अधिकारीसमक्ष भएको देखिन्छ । उल्लिखित प्रतिपादित सिद्धान्त भएको मुद्दाको रोहमा प्रमुख जिल्ला अधिकारी कार्यालयमा मौजुद रहेको अवस्थामा निमित्त प्रमुख जिल्ला अधिकारीले प्रतिवादीको बयान गराएको भई बयान अनधिकृत व्यक्तिले गराएको भनी सो बयानले कानूनी मान्यता नपाउने गरी फैसला भएको
देखिन्छ । तर, प्रस्तुत मुद्दामा प्रमुख जिल्ला अधिकारी कार्यालयमा हाजिर रहेको अवस्थामा निमित्त प्रमुख जिल्ला अधिकारीले प्रतिवादीहरूको बयान गराएको नभई निजको अनुपस्थितिमा साक्षीहरूको बकपत्रसम्म गराएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी कार्यालयमा मौजुद नै रहेको अवस्थामा निमित्त प्रमुख जिल्ला अधिकारीले साक्षीको बकपत्र भनी प्रतिवादीले जिकिर लिनसकेको पनि देखिँदैन । यसरी निमित्त प्रमुख जिल्ला अधिकारीले मुद्दाको निर्णय नै गरेको नभई प्रमुख जिल्ला अधिकारी अनुपस्थित रहेको अवस्थामा बकपत्रका लागि उपस्थित गराइएका साक्षीको बकपत्र गराई मुद्दाको कारवाही अगाडि बढाएकोसम्म देखिएको छ । त्यसरी प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारीले गराएको बकपत्र प्रमुख जिल्ला अधिकारीबाट अनुमोदन गराउनै पर्ने अनिवार्य कानूनी व्यवस्था देखिँदैन । मूलतः बकपत्र भएको हो, होइन र बकपत्र गराइँदा इच्छाविपरीत गराइएको छ, छैन भन्ने कुरा हेरिनु पर्दछ । बकपत्र भएको तथ्यमा विवाद छैन । बकपत्र हुँदा अनुचित प्रभाव पारियो भन्ने जिकिर पनि रहेको छैन । अनुचित प्रभाव नपारी सहजरूपमा बकपत्र भएको अवस्थामा मुद्दाको कार्यविधिगत कुरामा निमित्त प्रमुख जिल्ला अधिकारीले साक्षीको बकपत्रसम्म गराएको देखिन्छ । बकपत्र गर्ने र गराउनेले कुनै आपत्ति गरेको देखिँदैन । प्रतिवादीले बकपत्रमा जिरह गर्न पाउने नै हुन्छ । बकपत्र गर्ने व्यक्ति उही हो र गराउने निकाय पनि उही भएको अवस्थामा प्रतिवादीले जिरह लिई आफ्नो प्रतिरक्षा गर्न पाउने नै भएकोमा अन्यथा कुरा झिकी त्यस्तो बकपत्रलाई शून्यकृत गर्न मिल्ने देखिएन । अन्ततः निर्णय भने प्रमुख जिल्ला अधिकारीबाट नै भएको देखिँदा उल्लिखित नजिर प्रस्तुत मुद्दामा आकर्षित हुन सक्ने देखिएन । तसर्थ न्यायिक तथा व्यावहारिक दृष्टिबाट समेत उक्त बहस जिकिरसँग पनि सहमत हुन सकिएन ।
८. तसर्थ माथि उल्लिखित आधार प्रमाणबाट यी पुनरावेदक प्रतिवादी संजयकुमार शाहले अवैध हतियार पेस्तोल आफ्नो साथमा राखेको र बरामदी मुचुल्कामा उल्लेख भएअनुसार उक्त हतियार निजको साथबाट बरामद भएको कुरा पुष्टि हुन आएकोले निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी संयुक्त इजलासका माननीय न्यायाधीश श्री कमलनारायण दासले व्यक्त गर्नुभएको रायसँग सहमत हुन सकिएन । अतः यी प्रतिवादी संजयकुमार साहलाई अभियोग दाबीबमोजिमको कसुर अपराधमा १(एक) वर्ष ९(नौ) महिना कैद र रू. ५०००।- जरिवाना हुने ठहर्याई सुरू जिल्ला प्रशासन कार्यालय, धनुषाले मिति २०६१।३।३० मा गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६३।२।३० को फैसला सदर हुने ठहर्याई संयुक्त इजलासका माननीय न्यायाधीश श्री अवधेशकुमार यादवले व्यक्त गरेको राय मनासिब देखिँदा सदर हुने ठहर्छ । अभियोग दाबीबाट सफाइ पाउनुपर्दछ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार मिसिल बुझाइदिनू ।
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत : सन्तोषप्रसाद पराजुली
इति संवत् २०७२ साल भदौ ३१ गते रोज ५ शुभम् ।