निर्णय नं. ९५४० - बन्डा बदर, दर्ता बदर दर्ता कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७२।८।२०।१
०६८-CI-०६९१
मुद्दा : बन्डा बदर, दर्ता बदर दर्ता कायम
पुनरावेदक / वादी : रौतहट जिल्ला, सोनरनीया गा.वि.स.वडा नं. ३ बस्ने महिन्द्र ठाकुर लोहार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : रौतहट जिल्ला, सोनरनीया गा.वि.स.वडा नं. ३ बस्ने लालबाबु प्रसाद यादवसमेत
मुद्दामा प्रतिवादीहरूका पितासमेतले २०२२ सालमा नै वादीका पितालाई राजीनामा गरी दिएको जग्गा प्रतिवादीका पिताले आफ्नै नाममा नापी दर्ता गराई आफू र छोराहरूका बिचमा बन्डापत्र पारित गरेको कार्य दूषित प्रकृतिको भै सो दूषित कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने देखिएन । तसर्थ प्रस्तुत मुद्दामा जग्गा पजनीको २क नं. बमोजिमको हदम्याद आकर्षित हुन नसक्ने भनी हदम्यादको आधारमा फिराद खारेज हुने ठहर्याएको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको देखिन नआउने ।
(प्रकरण नं.६)
पुनरावेदक वादीका बाबुले प्रतिवादीका बाबुसमेतबाट मिति २०२२।८।११ मा गरिलिएको राजीनामा लिखतलाई प्रतिवादीहरूका बाबुले लिखितरूपमा स्वीकार गरिरहेको एवम् दाबीको जग्गामा वादीको घरबास रहेको कुरा अंश मुद्दाको तायदातीबाट देखिइरहेको तथा उक्त जग्गा नामसारी दाखिल खारिज गरिलिन पाउने वादीको हक सुरक्षित नै रहेको हुँदासमेत वादी दाबी पुग्ने गरी ठहर निर्णय गर्नुपर्नेमा वादीको फिराद हदम्यादका आधारमा खारेज हुने ठहर्याई सुरू जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदनको फैसला त्रुटिपूर्ण देखिँदा उल्टी भई वादी दाबीको कि.नं. ६८ को ०-२-१० जग्गामध्ये पश्चिमतर्फबाट ०-१-५ जग्गाको प्रतिवादीहरूका बिचमा मालपोत कार्यालय, रौतहटबाट मिति २०५८।६।३ मा पारित भएको बन्डापत्र र सोका आधारमा भएको प्रतिवादी प्रमोदकुमार यादवका नामको सो हदसम्मको दर्तासमेत बदर भई वादीका नाममा दर्ता कायम हुने ।
(प्रकरण नं.७)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू मात्रिका निरौला, नवराज उपाध्याय र उद्धव चौलागाई
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०६७ अंक २ नि.नं. ८३१२
ने.का.प.२०६८ अंक १० नि.नं. ८७०२
सम्बद्ध कानून :
न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख)
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री पुरूषोत्तमप्रसाद ढकाल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री पुरूषोत्तम पराजुली
मा.न्या. श्री विदुर विक्रम थापा
फैसला
न्या.देवेन्द्र गोपाल श्रेष्ठ : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।९।१८ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः-
पिता बंगाली ठाकुर लोहारको एक श्रीमती स्व.रेश्मी देवी र दुई छोरामा जेठा जोगिन्द्र ठाकुर र कान्छो म वादी हौं । पिताको मिति २०४२।४।१० मा मृत्यु भई निजको हक खाने हामी दाजुभाइ छौं । पिताले विपक्षीका पिता चोवालाल राय यादवबाट निजका नाम दर्ताको तत्कालीन गा.पं. सोनरनीया वडा नं. २ को साबिक कि.नं. २००३ को ०-२-१६ जग्गामध्ये उत्तरतर्फबाट ०-१-८ जग्गा निज चोवालालले र.नं. ४४२ मिति २०२२।८।११ बाट र विपक्षीका काका गंगाराम रायले कि.नं.२००३ को ०-२-१६ मध्ये दक्षिणतर्फबाट ०-१-८ जग्गा र.नं. ४४३ मिति २०२२।८।११ मा मालपोत कार्यालय, बाराबाट राजीनामा लिखत पारित गरी लिई जोत आवाद गर्दै आएकोमा सर्भे नापीमा कि.नं. २००३ बाट कि.नं. ६८ कायम भएको र नरघटी भई ०-२-१० क्षेत्रफल कायम भई भोगी आएकोमा दा.खा. दर्ता नगराउँदै पिताको मृत्यु भयो । मेरो दाजु योगेन्द्र ठाकुर वादी भई मलाई प्रतिवादी बनाई २०५७ सालको दे.नं. १४६१ को अंशदर्ता मुद्दा दिएकोमा आधीआधी अंश पाउने ठहरी मिति २०५८।३।१८ मा फैसला भई हाल कि.नं. ६८ को उक्त जग्गामध्ये पश्चिमतर्फबाट आधा ०-१-५ जग्गा मैले भोग चलन गर्दै आएको छु, मेरो हक स्थापित भएको उक्त जग्गा र.नं. १७१० मिति २०५८।६।३ मा मालपोत कार्यालय, रौतहटबाट विपक्षीहरूले आफ्नो बन्डापत्रमा पारी पारित गराएको कुरा मिति २०६४ साल फागुनमा मालपोत कार्यालयबाट नक्कल लिई थाहा पाएकोले कि.नं. ६८ को ०-२-१० जग्गामध्ये पश्चिमतर्फबाट मेरो हक जति ०-१-५ जग्गाको हदसम्म बन्डापत्र बदर दर्ता बदर गरी मेरो नाममा दर्ता कायम गरिपाउँ भन्ने फिरादपत्र ।
दाबीको कि.नं. ६८ को ०-२-१० जग्गा हाम्रो बाबु चोवालाल रायको भोग चलनको भई नापी फिल्डबुकमा निजकै नाममा दर्ता कायम भएको जग्गा हो, कथित २०२२ सालमा पारित गरेको जग्गा नापी हुँदा आफ्नो नाममा किन नापी नगराएको हो, साबिक दर्तावालाका नाममा नापी भएको भए जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८क ले तोकेको १२० दिनभित्र जग्गा यकिन गर्नुपर्ने र सो समयभित्र पनि खोजमेल नगरे तत्कालीन मुलुकी ऐन, जग्गा पजनी १७ नं. ले एकाको जग्गा अर्काले दर्ता गराएकोमा थाहा पाएको ६ महिनाभित्र र जग्गा मिच्नेको १८ नं. ले काम भए गरेको मितिले २ वर्षभित्र उजुर गर्नु पर्ने गरी तोकेको हदम्यादको विपरीत दाबी गरेको फिराद हदम्याद र अ.बं.८२ नं. को हकदैयाविपरीत हुँदा झुठ्ठा दाबी अ.बं.१८० नं. बमोजिम खारेज गरिपाउँ भन्ने प्रतिउत्तर पत्र ।
वादीको हकमा जग्गा पजनीको २क को कानूनी व्यवस्था क्रियाशील हुन नसक्नुका साथै प्रस्तुत विवादको सम्बन्धमा तत्कालीन जग्गा पजनीको १७ नं. ले काम भए गरेको मितिले २ वर्षभित्र नालेस गर्नुपर्ने भन्ने हदम्याद आकर्षित हुने भई वादीले हाल उल्लेख गरेको विद्यमान जग्गा पजनीको १७ नं. को हदम्याद आकर्षित नहुने हुँदा हदम्यादको आधारमा प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने सुरू रौतहट जिल्ला अदालतको मिति २०६५।१२।२६ को
फैसला ।
मेरा पिताले विपक्षीका पिताबाट खरिद गरेको उक्त जग्गा पिताको जीवनकालसम्म चोवालालकै नाममा रहेको भन्ने म तथा दाजुबिच चलेको प्रमाणको अंश मुद्दाबाट देखिएको छ । उक्त राजीनामा लिखतअनुसारको जग्गा मिति २०२२।८।११ देखि नै पिताले भोगी आएको र पिताको शेषपछि मैले भोग चलन गरी आएको हो । सो जग्गा दर्तावालाकै नाममा साबिकअनुसार दर्ता रहेकोमा दा.खा. का लागि ढिलो माग गरेको कारणबाट उक्त लिखत बदर वा निष्क्रिय भएको भन्न मिल्दैन । मेरो पिताले खरिद गरेको लिखतबमोजिमको कि.नं. ६८ को जग्गा प्रतिवादीहरूले बन्डापत्र गर्न कानूनले मिल्ने पनि
होइन । जग्गा पजनीको २क को सुविधा मैले नपाउने भनि आत्मनिष्ठ आधारमा भएको सुरू फैसला तथ्य, कानून र प्रतिपादित सिद्धान्तसमेतको आधारमा त्रुटिपूर्ण हुँदा उल्टी गरी फिराद दाबीबमोजिम इन्साफ पाउँ भन्नेसमेत व्यहोराको वादीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।
विवादित जग्गा वादीका बाबु बंगाली ठाकुरले चोवालाल रायबाट मिति २०२२।८।११ मा राजीनामा पारित गरी लिएकोमा विवाद नभएको स्थितिमा मुलुकी ऐन, जग्गा पजनीको महलको २क नं. मा भएको कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा सुरू रौतहट जिल्ला अदालतबाट मिति २०६५।१२।२६ मा भएको फैसला फरक पर्ने हुँदा छलफलका निमित्त प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।१२।१५ को आदेश ।
वादीका पिताले नै आफ्नो हकको परित्याग गरेको मान्नु पर्ने भई आफ्नो अधिकारप्रति सुतेर बस्ने पक्षका हकमा अदालतले कुनै मद्दत गर्न नसक्ने हुँदा हदम्यादको आधारमा फिराद दाबी खारेज हुने ठहर्याएको सुरू फैसलालाई अन्यथा मान्नु पर्ने देखिएन । तसर्थ सुरू रौतहट जिल्ला अदालतले दाबी खारेज हुने ठहर्याई गरेको मिति २०६५।१२।२६ को फैसला मुनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।९।१८ को फैसला ।
पुनरावेदन अदालत, हेटौंडाले गरेको फैसलामा चित्त बुझेन । मेरा पिताले मिति २०२२।८।११ मा विपक्षीहरूका पिताबाट लिखत पारित गरी लिएको विवादित कि.नं. ६८ को जग्गामध्ये उत्तरतर्फको ज.वि. ०-१-८ जग्गा मेरै हकभोगको जग्गा हो भनी विपक्षीका पिताले लिखितरूपमा स्वीकार गरेको अवस्था
छ । जहाँसम्म दा.खा. को प्रश्न हो, बिक्रेताकै नाममा रहेको जग्गा खरिदकर्ताले दश रूपैयाँ जरिवाना तिरी जहिलेसुकै दा.खा. गराउन पाउने व्यवस्था मुलुकी ऐन, जग्गा पजनीको २क नं. मा रहेको छ । दा.खा. को निम्ति मालपोत कार्यालय, रौतहटमा मिति २०५४।५।३० मा कारवाही चलाएकोमा विपक्षीका बाबु चोवालाल रायले मिति २०५४।१०।२० मा जवाफ लगाउँदा प्रस्टरूपमा मेरा बाबुको नाममा पारित भएको लिखत एवम् भोगलाई स्वीकार गरेका छन् । उक्त जग्गा खरिद गरेदेखि नै मेरा पिताले घर निर्माण गरी बसोबास गरिरहेको घरबासको जग्गा हो । अनवरत भोगलाई जग्गा मिच्नेको १७ नं. को हदम्याद नाघेको भनी भएको फैसला त्रुटिपूर्ण
छ । मालपोत कार्यालयमा दा.खा. को प्रक्रिया चल्दा चल्दैको अवस्थामा विपक्षीहरू बिच बन्डा भएको भन्ने तथ्यलाई अस्वीकार गरी फैसला गरिएको छ । अतः पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरी उक्त त्रुटिपूर्ण फैसला बदर गरी वादी दाबीबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।
यसमा मिति २०२२।८।११ को राजीनामा गरिदिने चोवालालले यही साबिक २००३ हाल कि.नं. ६८ को जग्गाबाट वादीका पिता बंगाली ठाकुरलाई बिक्री गरेको स्वीकारी मालपोत कार्यालयमा निवेदन गरेको तथा २०५७ सालको नं. १४६१ को बंगालीका छोराबिच चलेको अंश मुद्दामा २००३ को जग्गा तायदातीमा पर्नुका अतिरिक्त घर बसोबास रहेकोसमेत लेखिएको अवस्थामा हदम्यादको प्रश्न उठाई खारेज गरेको पुनरावेदन अदालतको फैसलामा अ.बं. १८४क नं., प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा ने.का.प. २०६७ नि.नं. ८३१२ को त्रुटि रहेको देखिँदा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतबाट मिति २०६८।८।९ मा भएको आदेश ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री मात्रिका निरौला, श्री नवराज उपाध्याय र श्री उद्धव चौलागाईले दाबीको कि.नं. ६८ को जग्गा साबिक कि.नं. २००३ बाट कायम भएको भन्ने कुरामा विवाद छैन । उक्त जग्गा वादीका पिता बंगाली ठाकुरले विपक्षीका पिता चोवालाल र काका गंगारामबाट मिति २०२२।८।११ मा गरिलिएको राजीनामाभित्रको जग्गा भएको तथा वादी र निजका दाजुसमेत दुई अंशियार भएकोले उक्त जग्गाको आधामा वादीको हक रहेको कुरा स्पष्ट छ । विपक्षीका पिता चोवालालले उक्त जग्गा निजले वादीका पितालाई गरिदिएको लिखतभित्रको भएको र सो जग्गामा वादीको भोगमा रहेको कुरा स्वीकार गरेका छन् । यसरी दाबीको जग्गा वादीको हक भोगमा रहेको हुँदा जग्गा पजनीको महलको २क नं. बमोजिम जहिलेसुकै पनि दाखिल खारिज नामसारी गरी लिन पाउनेमा हदम्यादका आधारमा फिराद खारेज हुने ठहर्याएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर भई वादी दाबीबमोजिम विपक्षीका नामको दर्ता बदर गरी वादीका नाममा दर्ता कायम हुनु पर्दछ भनी बहस गर्नुभयो ।
उपर्युक्तबमोजिम विद्वान् अधिवक्ताहरूले गर्नुभएको बहस सुनी पुनरावेदनसहितका मिसिल कागजात अध्ययन गरी हेर्दा, वादीको फिराद खारेज हुने ठहर्याई सुरू रौतहट जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिले नमिलेको के रहेछ र वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, पिता बंगाली ठाकुरले विपक्षीका पिता चोवालालसमेतबाट मिति २०२२।८।११ मा राजीनामा गरिलिई भोगचलन गरी आएको जिल्ला रौतहट गा.वि.स. सोनरनीया वडा नं. २ को साबिक कि.नं. २००३ को ०-२-१६ जग्गा नापीमा कि.नं. ६८ मा ०-२-१० कायम भएकोमा उक्त जग्गा दा.खा. दर्ता नगराउँदै पिताको मृत्यु भएको, पिताका म र दाजु योगेन्द्र ठाकुर दुई छोरा हुँदा दाजु योगेन्द्र ठाकुरले दायर गरेको अंश मुद्दामा मैले उक्त जग्गाबाट समेत आधी अंश पाउने ठहरी मिति २०५८।३।१८ मा फैसला भएको र सो कि.नं. ६८ को जग्गामध्ये पश्चिमतर्फबाट आधा ०-१-५ जग्गा मैले भोग चलन गरी आएको छु । विपक्षीहरूले उक्त जग्गा आफ्ना भागमा पारी मिति २०५८।६।३ मा बन्डापत्र पास गरेको हुँदा सो कि.नं. ६८ को जग्गामध्ये पश्चिमतर्फबाट मेरो हक जति ०-१-५ जग्गाको उक्त बन्डापत्र बदर गरी विपक्षीका नामको दर्तासमेत बदर गरी मेरा नाममा दर्ता कायम गरिपाउँ भन्ने वादी दाबी भएको प्रस्तुत मुद्दामा वादीको फिराद हदम्यादभित्रको नभएको भनी सुरू रौतहट जिल्ला अदालतले फिराद खारेज हुने ठहर्याई गरेको फैसला पुनरावेदन अदालत, हेटौंडाबाट समेत सदर हुने ठहरी फैसला भएको देखियो । उक्त फैसलामा चित्त नबुझाई मुद्दा दोहोर्याई हेरी दाबीबमोजिम इन्साफ पाउँ भनी वादीको यस अदालतमा निवेदन परेकोमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा यस इजलाससमक्ष पेस हुन आएको देखियो ।
३. यसमा प्रस्तुत मुद्दासँग सम्बद्ध मिसिल कागजातहरूको अध्ययनबाट रौतहट जिल्ला सोनरनीया गा.वि.स. वडा नं. २ को साबिक कि.नं. २००३ को ०-२-१६ जग्गामध्ये उत्तरतर्फबाट ०-१-८ जग्गा प्रतिवादीहरूका पिता चोवालालबाट र सोही जग्गाको दक्षिणतर्फबाट ०-१-८ जग्गा प्रतिवादीहरूका काका गंगारामबाट वादीका पिता बंगाली ठाकुरले मिति २०२२।८।११ मा राजीनामा गरी लिएको र सोही जग्गा नापीमा कि.नं. ६८ को ०-२-१० जग्गा कायम भै नापी दर्ता भएको भन्ने देखियो । उक्त जग्गा तत्कालीन अवस्थामा वादीका बाबु बंगाली ठाकुरले आफ्ना नाममा दा.खा. दर्ता नगराई दाता चोवालालकै नाममा नापी दर्ता भएको देखियो । वादीका पिताको परलोक भएपश्चात् वादीले २०५४ सालमा उक्त जग्गा आफ्ना नाममा दा.खा. दर्ता गरिपाउँ भनी मालपोत कार्यालय, रौतहटमा निवेदन गरेकोमा प्रतिवादीहरूका बाबु चोवालालले मिति २०५४।१०।२० मा लिखितजवाफ फिराउँदा दाबीको जग्गा वादीका बाबु बंगाली ठाकुरलाई राजीनामा गरिदिएको कुरा स्वीकार गरेको देखिन्छ । त्यस्तै वादीका दाजु योगेन्द्र ठाकुरले यी पुनरावेदक वादी महिन्द्र ठाकुरउपर रौतहट जिल्ला अदालतमा दायर गरेको २०५७ सालको दे.नं. १४६१ को अंशदर्ता मुद्दामा यी पुनरावेदकले पेस गरेको तायदातीमा उक्त जग्गा उल्लेख भएको र उक्त जग्गासमेतबाट दुई भागको एक भाग अंश पाउने ठहरी उक्त अदालतबाट मिति २०५८।३।१८ मा भएको फैसला अन्तिम भएर बसेको देखियो । तत्पश्चात् सोही कि.नं. ६८ समेतका जग्गा प्रतिवादीमध्येका प्रमोदकुमार यादवका अंश भागमा पर्ने गरी मिति २०५८।६।३ मा प्रतिवादीहरूका पिता चोवालाल र प्रतिवादीहरूका बिचमा बन्डापत्र पारित गरेको देखियो ।
४. यसप्रकार वादी दाबीको कि.नं. ६८ को जग्गा वादीका बाबु बंगाली ठाकुरले प्रतिवादीका बाबु चोवालालसमेतबाट मिति २०२२।८।११ मा गरिलिएको राजीनामाभित्रको जग्गा हो भन्ने कुरा प्रतिवादीहरूकै बाबु चोवालालले लिखितरूपमा स्वीकार गरेको देखिँदा त्यसतर्फ थप केही विवेचना गरिरहनु परेन । विवादित जग्गा दाताले आफ्नै नाममा नापी दर्ता गराएको देखिएको र उक्त जग्गा यी पुनरावेदक वादीकै भोगमा रहेको कुरा उल्लिखित अंश मुद्दाको तायदातीबाट पनि देखिइरहेको छ । आफूले राजीनामाबाट खरिद गरिलिएको जग्गा खरिदकर्ताले नापी दर्ता गराउनु पर्ने हो तापनि आफूले बिक्री गरेको जग्गा खरिदकर्ताको नाममा नापी दर्ता दाखिल खारिज गराई दिनुपर्ने दायित्वबाट बिक्रीकर्ता पन्छिन र आफूले बिक्री गरेको कुरा बिर्सेर बिक्री गरेको जग्गा आफ्नै नाममा नापी दर्ता गरी दर्ता कायम राखी राख्न मिल्ने हुँदैन । यसरी साबिक दर्तावालाले आफूले बिक्री गरेको जग्गा पूर्ववत्रूपमा आफ्ना नाममा दर्ता कायम राखी राख्न खोज्नु दूषित प्रकृतिको व्यवहार हुन जान्छ ।
५. अब सुरू तथा पुनरावेदन अदालतले प्रस्तुत मुद्दामा मुलुकी ऐन, जग्गा पजनीको २क नं. को हदम्याद आकर्षित नहुने भनी हदम्यादको आधारमा फिराद खारेज हुने ठहर्याई गरेको फैसला र सो सम्बन्धमा पुनरावेदकले लिएको जिकिरतर्फ विचार गर्दा, जग्गा पजनीको उक्त २क नं. मा “आफ्नो हक हुन आई दाखिल खारेज गर्नुपर्ने भएको र दर्तावाला मरी हकवालाको नाममा सर्नेमा समेत पैंतिस दिनभित्र दाखिल दर्ता नगराई म्याद गुजारी बसेकोमा पछि दाखिल दर्ता गराउन दरखास्त दिएमा जतिसुकै अवधि व्यतित भए पनि दश रूपैयाँ दस्तुर लिई नामसारी दाखिल खारिज गरी दिनुपर्छ । यो ऐन लागू हुनुभन्दा पहिले जग्गाको नामसारी दाखिल खारिज गर्ने म्याद गुज्रेका कलमहरूमा समेत सोबमोजिम दस्तुर लिई नामसारी दाखिल खारिज गरिदिनुपर्छ” भन्ने व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार आफ्नो हक हुन आएको जग्गा दाखिल खारिज गर्दा र दर्तावालाको शेषपछि हकवालाको नाममा नामसारी दाखिल खारिज गर्नु पर्दासमेत पैंतिस दिनभित्र गर्नु पर्ने तर उक्त म्याद गुज्रेमा दश रूपैयाँ दस्तुर तिरी जहिलेसुकै पनि नामसारी दाखिल खारिज गर्न सकिने र साबिकमा कुनै कारणले नामसारी दाखिल खारिज गर्ने म्याद गुज्रेकोमा समेत सोबमोजिम नै दश रूपैयाँ दस्तुर तिरी नामसारी दाखिल खारिज गर्न सकिने देखिन्छ । वस्तुतः उक्त कानूनी व्यवस्थाले कुनै जग्गामा हक पुग्नेले वा निजको शेषपछि हक हुनेले साबिक हकवालाको नाममा रहेको जग्गा नामसारी दाखिल खारिज गर्नका लागि कुनै अवधि निश्चित नगरी सम्बन्धित हकवालाको स्वेच्छामा छोडेको देखिन्छ । उक्त कानूनी व्यवस्थाबमोजिम पिताले राजीनामा गरिलिएको दाबीको जग्गा साबिकमा जुनसुकै कारणले दाखिल खारिज नामसारी गराउन नसकी म्याद गुज्रन गएको भएपनि यी पुनरावेदक वादीलाई जहिलेसुकै पनि आफ्ना नाममा नामसारी दाखिल खारिज गरिलिन पाउने हक सुरक्षित नै रहेको देखियो ।
६. यसै सन्दर्भमा पुनरावेदक श्यामकला बानियासमेत र प्रत्यर्थी जिल्ला प्रशासन कार्यालय, बाँकेसमेत भएको परमादेश मुद्दा (ने.का.प.२०६७ अंक २ नि.नं. ८३१२) मा नामसारी दाखिल खारिजका लागि यति अवधिभित्र सम्बन्धित निकायमा जानु पर्ने गरी कानूनले सीमित गरेको नपाइँदा निश्चित अवधिभित्र नामसारी दाखिल खारिज नगर्दैमा त्यस्तो सम्पत्तिमाथिको हक समाप्त हुने अवस्था नदेखिने भनी तथा पुनरावेदक रामप्रसाद राना र प्रत्यर्थी लालबहादुर बुढा भएको दूषित दर्तासमेत मुद्दा (ने.का.प.२०६८ अंक १० नि.नं. ८७०२) मा एकपटक कानूनबमोजिम राजीनामा पास गरी हक हस्तान्तरण गरिसकेको जग्गा पुनः नापीमा आफ्नो नाममा गैरकानूनी तवरबाट नापी दर्ता गराएको अवस्थामा त्यस्तो हक नपुग्ने हदको दर्तालाई दूषित दर्ता मान्नुपर्ने हुँदा त्यस्तो कार्यलाई मान्यता दिइनु उपयुक्त नहुनुका साथै दूषित दर्ताबाट प्राप्त गर्नेको हक सिर्जना हुन नसक्ने भनी सिद्धान्त प्रतिपादन भइरहेको देखिँदासमेत प्रस्तुत मुद्दामा प्रतिवादीहरूका पितासमेतले २०२२ सालमा नै वादीका पितालाई राजीनामा गरी दिएको जग्गा प्रतिवादीका पिताले आफ्नै नाममा नापी दर्ता गराई आफू र छोराहरूका बिचमा बन्डापत्र पारित गरेको कार्य दूषित प्रकृतिको भै सो दूषित कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने देखिएन । तसर्थ प्रस्तुत मुद्दामा जग्गा पजनीको २क नं. बमोजिमको हदम्याद आकर्षित हुन नसक्ने भनी हदम्यादको आधारमा फिराद खारेज हुने ठहर्याएको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको देखिन आएन ।
७. अतः यी पुनरावेदक वादीका बाबुले प्रतिवादीका बाबुसमेतबाट मिति २०२२।८।११ मा गरिलिएको राजीनामा लिखतलाई प्रतिवादीहरूका बाबुले लिखितरूपमा स्वीकार गरिरहेको एवम् दाबीको जग्गामा वादीको घरबास रहेको कुरा अंश मुद्दाको तायदातीबाट देखिइरहेको तथा उक्त जग्गा नामसारी दाखिल खारिज गरिलिन पाउने वादीको हक सुरक्षित नै रहेको हुँदासमेत वादी दाबी पुग्ने गरी ठहर निर्णय गर्नुपर्नेमा वादीको फिराद हदम्यादका आधारमा खारेज हुने ठहर्याई सुरू रौतहट जिल्ला अदालतले मिति २०६५।१२।२६ मा गरेको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।९।१८ को फैसला त्रुटिपूर्ण देखिँदा उल्टी भई वादी दाबीको कि.नं. ६८ को ०-२-१० जग्गामध्ये पश्चिमतर्फबाट ०-१-५ जग्गाको प्रतिवादीहरूका बिचमा मालपोत कार्यालय, रौतहटबाट मिति २०५८।६।३ मा पारित भएको बन्डापत्र र सोका आधारमा भएको प्रतिवादी प्रमोदकुमार यादवका नामको सो हदसम्मको दर्तासमेत बदर भई वादीका नाममा दर्ता कायम हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम वादीको फिराद हदम्यादका आधारमा खारेज हुने ठहर्याएको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी भै वादी दाबीको कि.नं. ६८ को ०-२-१० जग्गामध्ये पश्चिमतर्फबाट ०-१-५ जग्गाको प्रतिवादीहरूका बिचमा मालपोत कार्यालय, रौतहटबाट मिति २०५८।६।३ मा पारित भएको बन्डापत्र र सोका आधारमा भएको प्रतिवादी प्रमोदकुमार यादवका नामको सो हदसम्मको दर्तासमेत बदर भई वादीका नाममा दर्ता कायम हुने ठहरेकाले सोबमोजिम गरिपाउँ भनी ऐनका म्यादभित्र वादीको दरखास्त परे फैसलाबमोजिम गरी दिनका लागि मालपोत कार्यालयमा लेखी पठाउनु भनी सुरू रौतहट जिल्ला अदालतमा लेखी पठाइदिनू ....१
वादीले फिरादसाथ राखेको कोर्ट फी रू.३००।-, पुनरावेदन अदालतमा राखेको कोर्ट फी रू.४५।- र यस अदालतमा राखेको कोर्ट फी रू.४५।– समेत जम्मा कोर्ट फी रू.३९०।– वादीले प्रत्यर्थी प्रतिवादीहरूबाट भरी पाउने हुँदा उक्त कोर्ट फी रकम भराइपाउँ भनी पुनरावेदक वादीको दरखास्त पर्न आए कानूनबमोजिम भराइदिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइदिनू .....................................................१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाइदिनू ..........................................१
उक्त रायमा सहमत छु ।
स.प्र.न्या.कल्याण श्रेष्ठ
इजलास अधिकृतः सन्तोषप्रसाद पराजुली
इति संवत् २०७२ साल मङ्सिर २० गते रोज १ शुभम् ।