निर्णय नं. ९५४१ - सम्पत्ति शुद्धीकरण

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७२।१०।११।२
मुद्दा : सम्पत्ति शुद्धीकरण
०७०-CR-१३४१
पुनरावेदक / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत ओमप्रसाद अधिकारीसमेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.६ स्थायी ठेगाना भई काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स.वडा नं.१ बस्ने सरिता गिरी राईसमेत
०७०-CR-१७२२
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.६ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स.वडा नं.१ बस्ने सरिता गिरी राई
विरूद्ध
प्रत्यर्थी / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत ओमप्रसाद अधिकारीसमेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार
०७१-CR-१४२९
पुनरावेदक / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, पाल्चोक गा.वि.स.वडा नं.२ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स.वडा नं.१ बस्ने सेति गिरी
विरूद्ध
प्रत्यर्थी / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अनुसन्धान अधिकृत ओमप्रसाद अधिकारीसमेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३०(५) मा “यस ऐनअन्तर्गतको कसुर गर्न उद्योग गर्ने, गर्न मद्दत गर्ने वा दुरूत्साहन दिनेलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार सम्पत्ति शुद्धीकरणको कसुरमा प्रत्यक्षरूपमा संलग्न नरही त्यस्तो कसुर गर्न उद्योग गर्ने, मद्दत गर्ने वा त्यस्तो कसुर गर्न दुरूत्साहन गर्नेलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मुख्य कसुरदारलाई हुने सजायको आधी सजाय हुने देखिन्छ । प्रतिवादी सरिता गिरीका नाममा अद्यापि विभिन्न बैंकमा नगद मौज्दात तथा जग्गा रहेको र निजले आफ्नो पति निर्मल राईको मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाई निर्मल राईका नाममा रहेको सम्पत्ति आफ्ना नाममा नामसारी गराई आफ्ना नजिकका नातेदार बाबु, आमा, दाजु, भाउजूका नाममा कुनै रकम नलिई तहतह हक हस्तान्तरण गरिदिएको देखिन्छ । उक्त सम्पत्ति निजले आफ्नै प्रयत्नबाट आर्जन गरेको नदेखिनुका साथै वादी नेपाल सरकारले पनि निजले सो सम्पत्ति आफैँले आर्जन गरेको भनी दाबी लिन सकेकोसमेत देखिँदैन । यसप्रकार यी पुनरावेदक प्रतिवादी सरिताले आफ्नो पति निर्मल राईले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरी आर्जन गरेको सम्पत्ति प्राप्त गरेको तथा निजका नामको सम्पत्ति आफ्ना नाममा नामसारी गरी तहतह हस्तान्तरण गरी पतिले गरेको कसुर अपराधको कार्यमा सहयोगीको भूमिका निभाएको देखिने ।
(प्रकरण नं.४)
प्रतिवादी सरिताका नाममा रहेका नगद, घरजग्गा तथा निजले अन्य प्रतिवादीहरूलाई हक हस्तान्तरण गरिदिएका सम्पत्तिहरू निजले आफैँले कुनै कार्य गरी आर्जन गरेको भन्ने नदेखिई निजले निर्मल राईको श्रीमतीका नाताले प्राप्तसम्म गरेको देखिन्छ । त्यसैगरी अन्य प्रत्यर्थी प्रतिवादीहरूले आफ्नी छोरी, बहिनी तथा नन्द नाताकी प्रतिवादी सरिताको आग्रहमा निजका नामको सम्पत्ति आफ्ना नाममा नामसारीसम्म गराई लिएको देखिन्छ । प्रत्यर्थी प्रतिवादीहरू सम्पत्ति शुद्धीकरणको कसुरजन्य कार्यमा प्रत्यक्ष संलग्न रहेको मिसिल प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा निजहरूलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गरी सजाय गर्नु न्यायोचित हुने नदेखिने ।
(प्रकरण नं.५)
प्रतिवादी सरिता गिरी राईले आफ्ना नाममा रहेको नगद, जग्गालगायतका सम्पत्ति आफ्नो वैध आर्जनको हो भनी देखाउन नसकेको, निजले प्रतिवादी निर्मल राईका नाममा रहेको सम्पत्ति आफ्ना नाममा नामसारी गराई अन्य प्रतिवादीहरूका नाममा तहतह हस्तान्तरण गरी प्रतिवादी निर्मल राईलाई सम्पत्ति शुद्धीकरणको कसुर अपराध गर्ने कार्यमा सहयोगीको भूमिका निभाएको देखिँदा निजलाई २ वर्ष कैद र रू.२,२५,९१,१५३।- जरिवाना हुने र निजका नामको सम्पत्ति जफत हुने तथा अन्य प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको विशेष अदालत, काठमाडौंको मिति २०७०।९।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ।
(प्रकरण नं.७)
वादीका तर्फबाट :
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव र विद्वान् अधिवक्ता कमलमणि श्रेष्ठ
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
अध्यक्ष मा.न्या.श्री केदारप्रसाद चालिसे
सदस्य मा.न्या.श्री मोहनरमण राई
सदस्य मा.न्या. श्री भूपेन्द्रप्रसाद राई
फैसला
स.प्र.न्या. कल्याण श्रेष्ठ : विशेष अदालत, काठमाडौंको मिति २०७०।९।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :
मिति २६ अगस्त २०११ (वि.सं.०६८/५/९) मा भारतीय राजदूतावासले श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, काठमाडौंलाई भारतीय नागरिक निरन्जन होजाईले नेपालमा निर्मल राई भन्ने झुठो परिचय बनाई ४१५९३९४ नम्बरको पासपोर्ट ०३-०८-२००८ (बि.सं.०६५/४/१९) मा लिई विभिन्न देश भ्रमण गरेको साथै नेपालमा विभिन्न कारोबार गरेको र विभिन्न सम्पत्ति जम्मा गरी बैंक खाताहरूसमेत सञ्चालन गरेकोले सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही हुन भन्ने उजुरी पत्र ।
मिति ०८/११/२०११ (वि.सं. ०६८/०७/२२) मा श्री एस.बी.आई. बैंक हात्तिसार, काठमाडौंले निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स प्रा.लि.को नाममा २२५२५२४०२०००११ नं. को खाता खोली कारोबार गरेको र हाल सो खातामा रू.१०,२११/- रहेको भन्ने व्यहोराको पत्रसाथ कारोबारसम्बन्धी कागजातहरू ।
मिति २०६८/०७/२७ मा एभरेष्ट बैंक लि.बानेश्वरले प्रतिवादी सरिता गिरी राईको नाममा उक्त बैंकमा भएको हि.नं.००१००५१८२००२८७ मा रू.१,४३,८८,९९१/७५ मौज्दात रहेको भन्ने व्यहोराको पत्रसाथ कारोबारसँग सम्बन्धित कागजातहरू ।
मिति २०६८/०८/१४ गते प्रतिवादी सेति गिरीको घरबाट बा.८ च.४४५९ नम्बरको प्राडो जिप, ल्यापटप, चेकबुक, नागरिकता प्रमाणपत्रहरू समेतका कागजातहरू बरामद भएको खानतलासी बरामदी मुचुल्का ।
ऐ.ऐ. मितिमा प्रतिवादी सरिता गिरी राईसँग रू.१,४३,८८,९९१/७५ धरौटी माग गरिएको पत्र र सो पत्रमा धरौटी राख्न सक्दिन भन्ने प्रतिवादी सरिता गिरी राईको हस्ताक्षरसमेत भएको पत्र ।
मेरो ससुराबाट अंशबन्डा भई आएको सम्पत्तिले जेनतेन खान पुग्छ । जिल्ला काठमाडौं गा.वि.स. जोरपाटी वडा नं.१ नारायणटारमा मेरो नाममा दर्ता भएको १२ आना जमिनमा बनेको अढाई तले पक्की घर मेरो ज्वाइँ निर्मल राईले किनेको हो । पछि सो घर छोरी सरिता गिरी राईले नामसारी गरी लिएकोमा छोरी सरिता गिरीले करकाप गरी मेरो नाममा नामसारी गरी दिएको मात्र हो । यसबापत मैले कुनै रकम तिरेको छैन भन्ने प्रतिवादी सेति गिरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गरेको बयान ।
मैले मेरी छोरीको विवाह निर्मल राईसँग गरिदिएको हो । बिहेको समयमा र बिहेपछि पनि मैले छोरीलाई कुनै दाइजो वा सम्पत्ति दिएको छैन । मेरो छोरी सरिता गिरी राईको नाममा नामसारी भई आएको बा.८ च ४४५९ नम्बरको प्राडो जिप छोरीले करकाप गरी मेरो माईलो छोरा राजु गिरी र छोराबाट मेरो नाममा नामसारी गरेको मात्र हो, रकम तिरे भरेको छैन भन्ने व्यहोराको प्रतिवादी रामचन्द्र गिरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गरेको बयान ।
मिति २०६८/८/१३ गतेको प्रतिवादी सरिता गिरी राईको नाममा भएको खाता नं. ००१००५१८२००२८७ मा निर्मल राइको सिङगापुरस्थित CITI Bank को खाता बाट USD १,८३,२०९।- जम्मा हुन आएको भन्ने व्यहोराको एभरेष्ट बैंक लि.मुख्य कार्यालयलको पत्र ।
मिति २०६८/८/२० गतेको निर्मल राई र सरिता गिरी राईको विवाह दर्ता कार्यालयको अभिलेखमा नभएको भन्ने गा.वि.स.को कार्यालय, जोरपाटी काठमाडौंको पत्र ।
मिति ६ डिसेम्बर २०११ (०६८/८/२०) गते Nabil Bank ले निर्मल राईको नामको १६०१०१७५००२४२ खातामा मौज्दात नरहेको, साथै रामचन्द्र गिरीको नाममा ०२१००१७५५६६३९ नम्बरको बैंक खाता रहेको सो खातामा रू.५००/- मौज्दात रहेको भनी सो खाताहरूको कारोबारको स्टेटमेन्ट संलग्न कागजातहरू पठाएको ।
मेरो कुनै चल अचल सम्पत्ति छैन । पहिले किनेको बा. २ ख ५२५४ नं.को भाडा बस बेचेर मैले मेरो श्रीमतीको नाममा जोरपाटी-१ मा करिब २.५ आनामा बनेको १ तले घर किनेको हो । बा. ८ च ४४५९ नं. को प्राडो जिप बहिनी सरिता गिरी राईले जिद्दी गरेकोले मैले मेरो नाममा नामसारी गरिलिएको थिएँ । पछि म विदेश जाने सोच बनाएकाले बावु रामचन्द्र गिरीको नाममा नामसारी गरिदिएको हो । सोबापत रकमको लेनदेन भएको छैन भन्ने प्रतिवादी राजु गिरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गरेको बयान ।
मिति २०६८/८/२१ गतेको सरिता गिरी राईको नामबाट नामसारी हुँदै हाल रामचन्द्र गिरीको नाममा रहेको बा.८ च ४४५९, सरिता गिरी राई र राजु गिरी हुँदै हाल पेमा दोर्जे शेर्पाको नाममा रहेको बा.१ ज ३८१८, सरिता गिरी राई र राजु गिरी हुँदै हाल नेपाल गुरूङ को नाममा रहेको बा.६ च २४५२, सरिता गिरी राई र राजु गिरी हुँदै हाल सरोजकुमार खड्काको नाममा रहेको बा.७ च ६५२३ र सरिता गिरी राई र राजु गिरी हुँदै हाल रामचन्द्र नेपालको नाममा रहेको बा.१च ४७०३ नम्बरको सवारी साधनहरू रोक्का राखिएको भन्ने यातायात व्यवस्था कार्यालय, बाग्मतीको पत्र ।
भिन्न मितिमा जोरपाटी-१ स्थित कि.नं.७९ को क्षेत्रफल ३७९.८० ब.मी., कि.नं. २४२ को क्षेत्रफल ९०.०७ ब.मी., कि.नं.२०२ को क्षेत्रफल ९३.४० ब.मी. (घरसमेत रहेको), कि.नं.२१४ को क्षेत्रफल २३.८५ ब.मी., कि.नं.२१६ को क्षेत्रफल ७०८.०० ब.मी. र कि.नं. ११२ को क्षेत्रफल १११.२० ब.मी. (घरसमेत रहेको) को जग्गा रोक्का राखिएको भन्ने मालपोत कार्यालय चाबहिलको पत्र ।
विभिन्न मितिमा चपली भद्रकालीस्थित कि.नं.२०८२ क्षेत्रफल ०-४-३-२ र कि.नं. २०८४ क्षेत्रफल ०-०-२-२ (घरसमेत रहेको) घरजग्गा तथा चपली भद्रकालीस्थित कि.नं.२०८३ क्षेत्रफल ०-०-०-२ र कि.नं. २०८५ क्षेत्रफल ०-५-१-२ को जग्गा रोक्का राखिएको भन्ने मालपोत कार्यालय, चाबहिलको पत्र ।
मिति २०६८।९।०४ मा जिल्ला सुनसरी धरान न.पा.७ स्थित कि.नं.१०४९ क्षेत्रफल
०-१-० (एक कठ्ठा) मा बनेको घरसहितको जग्गा रोक्का राखिएको भन्ने मालपोत कार्यालय, सुनसरीको पत्र ।
मिति २०६८/८/२० गतेको सेति गिरीको घरबाट बा. ३३ प २५०२ नम्बरको स्कुटर र विभिन्न कागजातहरू बरामद गरिएको खानतलासी बरामदी मुचुल्का ।
मेरो चल अचल सम्पत्तिको हकमा काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. -१ मा करिब
०-२-२-० आनामा बनेको १ तले पक्की घर छ सो घर मेरो बाबु चन्द्रबहादुर गिरीले दिएको दाइजो रकम र मेरो भाइ तथा भाउजूले वैदेशिक रोजगारबाट आर्जित रकम पठाएकोमा सो पैसासमेतले जम्मा मूल्य रू.१९,००,०००/- मा नन्द सरिता गिरी राईबाट किनेको हो र मसँग भएको २ तोला सुन मेरो श्रीमान् राजु गिरी र ससुरा रामचन्द्र गिरीले किनिदिएको हो भन्ने प्रतिवादी सिता गिरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गरेको बयान ।
मिति २०६८/८/२२ गतेको निर्मल राई र सरिता गिरी राईको विवाह दर्ता यस कार्यलयमा भएको नदेखिएको र निर्मल राईको मृत्यु दर्ता यसै कार्यालयमा भएको भन्ने व्यहोराको पत्र संलग्न राखी निर्मल राईको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि साथ पठाएको महानगरपालिका कार्यालय, काठमाडौंको पत्र ।
मेरो विवाहभन्दा अगाडि म आमाबुबाका साथ सिन्धुपाल्चोकमा बस्थेँ । परिवारको पेसा खेतीपाती थियो । खेतीपातीबाट जेनतेन गुजारा चलेको
थियो । २०५८ सालमा पुरै परिवार काठमाडौं आएका हौं । बाबुआमाको पेसा ज्यामी, मजदुरी हो । मैले ०६५ साल मङ्सिरमा निर्मल राईसँग हिन्दु परम्पराअनुसार गुह्येश्वरी मन्दिरबाट विवाह गरेकी हुँ । विवाहमा मलाई कुनै दाइजो दिएको थिएन । मेरो श्रीमान्को जीवनस्तर आर्थिकरूपले उच्चस्तरको थियो । निजको काठमाडौं सुकेधारामा निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स प्रा.लि. नामको कम्पनी थियो । निज निर्मल राईको जिल्ला काठमाडौं, जोरपाटी गा.वि.स वडा नं.१ नारायणटारमा ०-१२-० (१२ आना) जग्गामा बनेको अढाई तले घर, ऐ.ऐ. सुकेधारामा १ वटा घर छ भन्ने सुनेको तथा सवारी साधनमा कार-१ र ट्याक्सी-२ वटा थियो । नेपाल एस.बि.आई.बैंकबाट L/C खोलेर निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स प्रा.लि.को नाममा ल्याएको बा.४ च ४४५९ नम्बरको प्राडो जिप पछि मैले सो प्रा.लि.बाट आफ्नो नाममा नामसारी गरिलिएको हुँ । उल्लिखित घर र सवारी साधनहरू मैले निर्मल राई करिब डेढ वर्षअघि बेपत्ता भएपछि निजको मृत्यु भएको भन्ने झुठ्ठा व्यहोरा लेखाई मृत्यु दर्ता गरी निजको हकदारको हैसियतले आफ्नो नाममा नामसारी गरी लिएकी हुँ । आफूले नामसारी गरी लिएका सवारी साधन र घर मैले पछि आमा, बुबा र दाजुको नाममा नामसारी गरिदिएकी हुँ । निर्मल राई बेपत्ता भएपछि निजको साथी हुँ भन्ने मानिसले भारतबाट मलाई फोन गरी पैसा आउँदै छ, खाता खोल्नु भनेकाले मैले बानेश्वरको एभरेष्ट बैंकमा खाता खोलेको थिएँ । सो खातामा रू.१,४३,८८,९९१/७५ आएको छ । सो पैसा छोराको लागि भनेर निर्मलको साथी हुँ भन्ने मान्छेले नै मलाई फोनबाट जानकारी गराएको थियो । मसँग भएको सम्पूर्ण सम्पत्ति निज निर्मल राईबाट नै आएको हो । निजको कारोबार, व्यवसाय र सम्पत्तिको स्रोतको बारेमा मलाई थाहा छैन । निजको श्रीमती भएको कारणले निजको सम्पत्तिमा मेरो हकदाबी छ प्रतिवादी सरिता गिरी राईले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गरेको बयान ।
मिति २०६८/८/२३ गतेको निर्मल राईको नाममा निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स प्रा.लि. र निर्मल ट्रेडर्स प्रा.लि. दर्ता रहेको व्यहोराको कम्पनी रजिस्ट्रारको कार्यालयको पत्र ।
मिति ०६८/८/२५ गते प्रतिवादी सरिता गिरी राईको नाममा एभरेष्ट बैंक चाबहिलमा रहेको लकरको खानतलासी लिँदा लकर खाली रहेको तथा कुनै पनि सामान बरामद नभएको खानतलासी बरामदी
मुचुल्का ।
मिति ०६८/८/२३ गतेको निर्मल राई र सरिता गिरी राईको नाममा खाता भएको तथा निर्मल राईको खाता नं.०१८००५०१२००७०८ मा रू.५४६५।५० र सरिता गिरीको खाता नं.०१०८००५०१२०३८३७ मा रू.३७०९७।४३ मौज्दात रहेको खाताहरूको विवरण र बैंक स्टेटमेण्टसहित एभरेष्ट बैंक चाबहिल शाखाले पठाएको पत्र ।
मिति ९ डिसेम्बर २०११ को निर्मल राई र सरिता गिरी राईको नाममा खाता भएको तथा निर्मल राईको धरान शाखाको खाता नं.०१६७९३१७-०१ मा रू.४७।३४ र सरिता गिरी राईको नयाँबानेश्वर शाखाको खाता नं.१७२२७३८६१-०१ मा रू.१०,४८,९०५।१४ मौज्दात रहेको खाताहरूको विवरण र बैंक स्टेटमण्टसहित स्ट्याण्डर्ड चार्टर्ड बैंकले पठएको पत्र ।
मिति ०६८/८/२० गतेको निर्मल राईको नाममा यस कार्यालयबाट ना.प्र.नं. ३२५५६/०६३/०६४ को नागरिकता जारी भएको
हो । सो नागरिकता लिँदा निजको बुबा जगतबहादुर राई, जिल्ला सुनसरी धरान- ८ बस्ने सन्तोष लामा तामाङले निज निर्मल राईको सनाखत गरेका हुन् भन्ने व्यहोराको पत्र संलग्न राखी नागरिकता प्रमाणपत्रको लागि निर्मल राईले दिएको निवेदन फाराम, जगतबहादुर राई र सन्तोष लामा तामाङको समेत नागरिकता प्रमाणपत्रको छायाँप्रतिसहित इलाका प्रशासन कार्यालय, धरान, सुनसरीले पठाएको पत्र ।
मिति २०६८/८/२६ गतेको निर्मल राईले उक्त कार्यालयबाट ३२५५६/२१३ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिँदा पेस गरेका निवेदन फाराम नागरिकता प्रमाणपत्रको छायाँकपी, धरान-८ बाट काठमाडौं बसाइँसरी आएको भन्ने काठमाडौं महानगरपालिकाको दर्ता नम्बर ७९४ बसाई सराईको प्रमाणपत्र तथा इलाका प्रशासन कार्यालय, धरानले निजले धरानबाट लिएको नागरिकता प्रमाणपत्रको विवरण उल्लिखित पत्रको छायाँकपीसमेत जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पठाएको ।
मिति २०६८/८/२७ गतेको निर्मल राईको नाममा यस कार्यालयबाट बसाइसराइँको प्रमाणपत्र जारी नभएको तथा द.नं.७९४, मिति २०६५/४/७ मा रामशरण पन्थको बसाइसराइँ दर्ता भएको भन्ने व्यहोराको काठमाडौं महानगरपालिकाको पत्र ।
मिति २०६८/८/२६ गतेको कम्फोर्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निर्मल राईको व्यक्तिगत र निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स प्रा.लि.को नाममा यस संस्थामा खाता रहेको भनी खाता खोल्दा पेस गरेका कागजातहरू र बैंक स्टेटमेन्टहरू (हाल रकम मौज्दात नरहेको) संलग्न राखी पठाएको पत्र ।
मिति २०६८/८/२० गतेको निर्मल राईको नाममा ४१५९३९४ र सरिता गिरी राईको नाममा ४३१४८९२ नम्बरको राहदानी जारी भएको तथा निर्मल राईको पासपोर्ट नम्बर ३७५९०५५ र ३३१९८४७ हरू यस कार्यालयबाट जारी नभएको भनी जारी भएका पासपोर्टको अभिलेखको छायाँकपीसहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पठाएको पत्र ।
मिति २०६८/८/२७ गतेको प्रतिवादी सरिता गिरी राईको नाममा उक्त बैंकमा भएको खाता नम्बर ००१००५०१८२००२८७ मा रू.१,४३,८८,९९१।७५ मौज्दात रहेको बैंक स्टेटमेन्ट र खाता खोल्दा पेस गरेको कागजातहरू सहित Everest Bank बानेश्वरले पठाएको पत्र ।
१२ डिसेम्बर २०११ (मिति २०६८/८/२६) मा NABIL Bank LTD ले निर्मल राईको खाता नम्बर १६०१०१७५००२४२ मा मौज्दात नरहेको, सरिता गिरी राईको खाता नं.०२१००१७५४८४१९ मा रू.५,०४,५५४।२६ र रामचन्द्र गिरीको खाता नं.०२१००१७५५६६३९ मा रू.५००।- मौज्दात रहेको र उक्त नम्बरको खाताहरू रोक्का राखी सो खाताहरूको बैंक स्टेटमेन्ट र अन्य कागजात पठाएको पत्र ।
मिति २०६८/९/४ गतेको इलाका प्रहरी कार्यालय, धरानले निर्मल राईको नागरिकता प्रमाण-पत्र सम्बन्धमा निजको बाबु जगतबहादुर राई, सनाखत गर्ने सन्तोष लामा तामाङ र बुझिएका मानिसहरूको कागज पठाएको ।
मेरो १ जना श्रीमती र २ जना छोराहरू मानबहादुर राई र राजकुमार राईमात्र हुन् । २०६३ सालमा सन्तोष लामा तामाङले मलाई १ जना राई थरको केटाको बाबुआमा कोही पनि छैनन्, तपाइँ बाबु बनी नागरिकता निकाल्न पर्यो भनेर मलाई अनुरोध गरी कोही कसैले सोधेमा छोरा हो भन्नु भनी सिकाएर इलाका प्रशासन कार्यालय, धरानमा लगी सहिछाप गराई नागरिकता बनाइदिएको हो । सोबापत मैले रू.१५००।- पाएको हुँ । वास्तवमा निर्मल राई मेरो छोरा होइन भन्ने निर्मल राईको बाबु जगतबहादुर राईले इलाका प्रहरी कार्यालय, धरानका प्रहरी निरीक्षक देवीप्रसाद फागोसमक्ष गरेको कागज ।
म निर्मल राईलाई चिन्दिन । २०६३ साल मङ्सिर महिनातिर भारतमा बस्ने मेरो बहिनी ज्योति तामाङले एकजना भाइको नागरिकता निकाली दिनु, पैसा खर्च गर्छ भनेर निर्मल राईलाई लिएर आएकोमा मैले जगतबहादुर राईलाई बाबु हुन अनुरोध गरी निजलाई झुठो बाबु बनाई आफूले समेत निर्मल राई जगतबहादुरकै जेठो छोरो हो भनी सनाखत गरी नागरिकता प्रमाणपत्र बनाइदिएको हो । नागरिकता प्रमाणपत्र बनाइदिएबापत मैले रू.५०००।- लिएको
हो । सोही पैसाको लोभमा परी नागरिकता बनाइदिएको मात्र हो वास्तवमा निर्मल राई जगतबहादुर राईको छोरा नै होइनन् भन्ने सन्तोष लामा तामाङले इलाका प्रहरी कार्यालय, धरानका प्रहरी निरीक्षक देवीप्रसाद फागोसमक्ष गरेको कागज ।
मिति २०६८/९/३ गते जिल्ला सुनसरी धरान-८ बस्ने जगतबहादुर राईको १ मात्र श्रीमती हरिमाया राई हुन् । सोबाहेक निजको दोस्रो कोही श्रीमती छैन । निजको २ छोरा र १ छोरीमात्र छन् । निर्मल राई जगतबहादुर राईको छोरा होइन भन्ने एकै व्यहोराको बुझिएका मानिसहरूको कागज ।
मिति २०६८/९/१ मा श्री निर्वाचन आयोगले पठाएको पत्र संलग्न धरान-८ को मतदाता नामावलीमा जगतबहादुर राईको २ जना छोराहरू मानबहादुर राई र राजकुमार राईको मात्र नाम देखिएको । निर्मल राईको नाम समावेश नभएको ।
18 December 2011 (मिति २०६८/९/३) मा श्री हिमालयन बैंक लि. चाबहिलले निर्मल ट्रेडर्स प्रा.लि. को नाममा भएको खाता नं.०२३-०२३०९७२००१७ मा रू.९९५४०।- रहेको बैंक स्टेटमेन्ट र सम्बन्धित कागजातहरू पठाएको ।
मिति २०६८/८/२८ गतेको निर्मल राईको नाममा ३७५९०५५ नम्बरको राहादानी यस कार्यालयबाट २०६४/८/९ मा जारी भएको हो भन्ने व्यहोराको इलाका प्रशासन कार्यालय, धरानको पत्र ।
22 December, 2011 मा नेपाल SBI बैंकले निर्मल राई हाउजिङ् एन्ड प्रोपर्टी डिलर्स प्रा.लि. को नाममा बौद्ध शाखामा भएको खाता नं.२०५२५२४०२०००३७ मा रू.२१,७१५।९८ र कमर्सियल शाखा लैनचौरको खाता नं.२२५२५२४०२०००११ मा रू.१०,२११।- मौज्दात रहेको, सरिता गिरी राईको नाममा भएको खाता नम्बर २०५१५२४१४०१२७३ मा मौज्दात रकम रू.८५७/४३ भएको बैंक स्टेटमेन्टसमेत संलग्न अन्य कागजातहरू पठाएको ।
मिति २०६८/९/५ गतेको निर्मल राईको नाममा ३३१९८४७ नम्बरको राहादानी यसै कार्यालयबाट जारी भएको हो भन्ने व्यहोराको जिल्ला प्रशासन कार्यालय, सुनसरीको पत्र ।
मिति २०६८/९/१४ मा हामीले निर्मल राईसँग घर तथा जग्गाहरू मूल्य तिरेर किनेका हौं । निर्मल राईलाई हामीले चिनेको जानेको पनि थिएन र निजको कारोबार र व्यवसायको बारेमा हामीलाई केही थाहा पनि छैन । हामीले निर्मल राईको गैरकानूनी कारोबारको बारेमा थाहा नपाईकन घर जग्गाहरू खरिद गरेका हौं भन्ने एकै व्यहोराको बुझिएका मानिसहरूको कागज ।
मिति २०६८/९/२० मा मैले जिल्ला काठमाडौं गा.वि.स. चपली वडा नं.९ को कित्ता नं. २०८२,२०८३,२०८४ र २०८५ को जम्मा क्षेत्रफल ११ आनामा बनेको घर कान्तिपुर दैनिकमा उक्त घरजग्गा बिक्रीसम्बन्धी विज्ञापन पढेर निर्मल राईसँग किनेको हो मैले उक्त घरजग्गा मेरो बानेश्वर-१० मा भएको घरजग्गा बिक्री गरेर किनेको हो । निर्मल राईको गैरकानूनी कारबाही र व्यवसायको बारेमा मलाई केही पनि थाहा छैन भन्ने व्यहोराको शारदा श्रेष्ठले गरेको कागज ।
मैले बा.७ च ६५२३ नम्बरको कार सरिता गिरी राईबाट रू.१८,००,०००।- मा खरिद गरिलिएको हो । म निर्मल राईलाई चिन्दिन र उसको गैरकानूनी कारबाही र व्यवसायको बारेमा मलाई केही पनि थाहा छैन भन्ने व्यहोराको मिति २०६८/९/२४ मा सरोजकुमार खड्काले गरेको कागज ।
मैले बा.६च २४५२ नम्बरको कार कान्तिपुर हार्डवेयर प्रा.लि.को नामबाट रू.६०,००,०००।- मा खरिद गरिलिएको हो । म निर्मल राईलाई चिन्दिन र उसको गैरकानूनी कारबाही र व्यावसायको बारेमा मलाई केही पनि थाहा छैन भन्ने व्यहोराको मिति २०६८/९/२४ गते नेपाल गुरूङले गरेको कागज ।
मैले बा.१ ज ३८१८ नम्बरको भाडा कार राजु गिरीबाट रू.१२,५०,०००।– मा खरिद गरी लिएको हो । म निर्मल राईलाई चिन्दिन र उसको गैरकानूनी कारोबार र व्यावसायको बारेमा मलाई केही पनि थाहा छैन भन्ने व्यहोराको मिति २०६८/९/२४ गते पेमा दोर्जे शेर्पाले गरेको कागज ।
मिति २०६८/९/२५ गतेको सरिता गिरी राई र निर्मल राईको सम्बन्धमा यस कार्यालयबाट समेत अनुसन्धान गर्नुपर्ने भएकोले तहाँ विभागबाट चलेको मुद्दामा छुटी जाने भएमा यस कार्यालयमा पठाइदिनु भन्ने व्यहोराको महानगरीय प्रहरी परिसर काठमाडौंको पत्र ।
मिति २०६८/०९/२६ गतेको निर्मल राईको सम्बन्धमा नागरिकता ऐन तथा राहदानी ऐनलगायतमा अनुसन्धान गर्नुपर्ने भएकोले कागजातहरूको सक्कल प्रतिहरू यस कार्यालयमा पठाइदिनु भन्ने व्यहोराको महानगरीय प्रहरी परिसर, काठमाडौंको पत्र ।
मेरो काठमाडौं जोरपाटीमा किराना पसल थियो । सोही पसलमा निर्मल राई आएको बेला मेरो भेटघाट र चिनजान भएको हो । निजले पछि मलाई घरजग्गा किन्ने, घरको मर्मत गर्ने तथा बिक्री गर्ने काम लगाएकोले उक्त काममा कमिसन लिई सोही कमिसनको लोभमा गरेको हो, निजको गैरकानूनी कारोबार र व्यवसायको बारेमा मलाई थाहा पनि छैन र म निजको गैरकानूनी कारोबारमा सलंग्न छैन भन्ने अनुसन्धानको क्रममा कुलबहादुर विष्टले गरेको
कागज ।
मिति २०६८।१०।३ गते बिमा समितिलाई निर्मल राई, सरिता गिरी राई, रामचन्द्र गिरी, सेति गिरी, राजु गिरी, निर्मल ट्रेडर्स प्रा.लि. र निर्मल राई हाउजिङ एन्ड प्रपर्टी डिलर्स प्रा.लि. को नाममा कुनै बिमा कम्पनीहरूमा सेयरहरू छन्, छैनन्? छन् भने कुनै प्रकारले धितो वा बन्धक दिन र बिक्री वितरण गर्न नपाउने गरी रोक्का राखी दिनको लागि लेखिएकोमा बिमा कम्पनीहरूमा सेयर नभएको भन्ने विभिन्न मितिमा बिमा कम्पनीहरूले पत्र पठाएको ।
मिति २०६८।१०।०३ गते नेपाल राष्ट्र बैंकलाई निर्मल राई, सरिता गिरी राई, रामचन्द्र गिरी, सेति गिरी, राजु गिरी, निर्मल ट्रेडर्स प्रा. लि. र निर्मल राई हाउजिङ एन्ड प्रपर्टी डिलर्स प्रा.लि. को नाममा कुनै बैंक तथा वित्तीय संस्थाहरूमा सेयरहरू छन्, छैनन्? छन् भने कुनै प्रकारले धितो वा बन्धक दिन र बिक्री वितरण गर्न नपाउने गरी रोक्का राखिदिनको लागी लेखिएकोमा सेयर नभएको भन्ने विभिन्न मितिमा बैंक तथा वित्तीय संस्थाहरूले पत्र पठाएको ।
मिति २०६८।१०।३ गते नेपाल स्टक एक्सचेन्ज लि.लाई निर्मल राई, सरिता गिरी राई, रामचन्द्र गिरी, सेति गिरी, राजु गिरी, निर्मल ट्रेडर्स प्रा. लि. र निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स प्रा.लि. को नाममा कुनै बैंक, वित्तीय संस्था, कम्पनी वा फर्महरूमा सेयरहरू छन्, छैनन? छन् भने कुनै प्रकारले धितो वा बन्धक दिन र बिक्री वितरण गर्न नपाउने गरी रोक्का राखिदिनको लागि लेखिएको पत्र ।
मिति २०६८।१०।४ गते परराष्ट्र मन्त्रालयमार्फत भारतीय राजदुताबासबाट भारत सरकारले जारी गरेको निर्मल राई भन्ने निरन्जन होजाईको फोटोसमेत स्पष्ट देखिने परिचयपत्रको सक्कल वा प्रमाणित प्रतिलिपि र निजको वर्तमान अवस्थासमेत खुलाई पठाई दिनको लागि लेखेको पत्र ।
विरूद्ध खण्डमा उल्लिखित प्रतिवादी निरन्जन होजाई भन्ने निर्मल राई विदेशी नागरिक हुँदाहुँदै झुठा विवरण दिई नेपाली नागरिकता लिएकोले नागरिकता ऐन, २०६३ को दफा २१(१) बमोजिम सजाय गरिपाउन र उक्त नागरिकता लिनको लागि झुठो विवरण तयार पार्ने कार्यमा संलग्न जगतबहादुर राई, सन्तोष लामा तामाङ, नुनुलाल उराँव र अशोककुमार ओझासमेतलाई सोही ऐनको दफा २१(२) बमोजिम सजाय हुन मागदाबी लिई जिल्ला सरकारी वकिलको कार्यालय, सुनसरीबाट सुनसरी जिल्ला अदालतमा अभियोगपत्र पेस गरिएको भन्ने देखिएको ।
बा.२ ख ५२५४ नं. को गाडी श्याम लामाबाट निजकै स्वामित्वमा रहेको लालुपाते फाइनान्सबाट ऋण लिई खरिद गरेको र उक्त गाडी पछि राकेश गुरूङलाई फाइनान्समा भएको ऋण निजले नै तिर्ने भर्ने गरी बेचिदिएको हुँ । मैले उक्त गाडी बेचेर मेरी बहिनीको नाममा रहेको ट्याक्सीहरू २ वटा एकमुष्ट रू.१६,००,०००।– (सोह्र लाख रूपैयाँ) मा खरिद गरी लिएको र सो ट्याक्सीहरू मध्ये बा.१ ज ३८१८ रू.१२,१०,०००।– (बाह्र लाख दश हजार रूपैयाँ) मा पेमा दोर्जे शेर्पालाई र बा.१ ज ४७०३ नं.को ट्याक्सी गंगा भण्डारीलाई रू.१२,१५,०००।– (बाह्र लाख पन्ध्र हजार रूपैयाँ) मा बेचेको हुँ । सो रकममध्येबाट मैले मेरो श्रीमतीको नाममा जिल्ला काठमाडौं जोरपाटी गा.वि.स. मा कि.नं.२०२ को जग्गा किन्दा लिएको ऋण तिरिदिएको हो भन्ने प्रतिवादी राजु गिरीले मिति २०६८/१०/११ मा गरेको पूरक बयान ।
मिति २०६८/१०/३ गतेको सरिता गिरी राईको घरबाट बरामद भएको lenevo 300Y400 model (CPU-1.66GHZ Intel core Z RAM 512 MB Hard disk 150GB HDD) Laptop को मूल्याङ्कन करीब रू.१२,०००।– अनुमान गरिएको आन्तरिक राजश्व विभाग सूचना प्रविधि शाखाको पत्र ।
२०६५ सालतिर यकिन मिति थाहा भएन सो समयमा मेरो अफिसमा निर्मल राई र अन्य केही व्यक्ति जग्गाको बैनाबट्टाको कागज लेखाउनका लागि आएका थिए, सोही समयमा निजसँग देख भेट भएको
थियो । पछि पुन: निर्मल राई अफिसमा आई कम्पनी दर्ता गर्नुछ भनी भनेकाले कानून व्यवसायीको हैसियतले निजको दुईवटा कम्पनीको नियमावली र प्रबन्धपत्रको मस्यौदा तयार गरी निजबाट अख्तियारनामा लिई निर्मल ट्रेडर्स प्रा.लि. र निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स प्रा.लि. नामक कम्पनी दर्ता गराई दिएको र केही कागजातसमेत प्रतिलिपि प्रमाणित गरिदिएको थिएँ । यसबापत रू.१५,०००।– (पन्ध्र हजार रूपैयाँ) पारिश्रमिक लिएको थिएँ । निर्मल राईसँग त्यसपछि भेटघाट भएको छैन । निजसँग कुनै सम्बन्ध, लेनदेन, कारोबार छैन र निजको गैरकानूनी कारोबार र व्यवसायको बारेमा मलाई केही थाहा थिएन, छैन भन्ने अधिवक्ता भिमप्रसाद पौडेलले मिति २०६८/१०/१७ मा अनुसन्धानको क्रममा गरेको कागज ।
मेरो आफ्नो नाममा भएको का.जि. जोरपाटी-१ को कि.नं.२०२ को जग्गा मेरो भाइले मलेसियाबाट र भाउजूले कुबेतबाट पठाएको पैसा जुन पछि तिर्ने सर्तमा लिएको, दाइजो, विवाहमा टीकाटाला गरेको पैसा र श्रीमान्ले गाडी बेचेर आएको पैसा साथीभाइलाई ऋण दिएकोमा सो पैसा उठाई सो र अन्य केही ऋणसमेत गरी किनिदिनुभएको हो । मेरो श्रीमान्ले निजको नाममा भएको २ वटा ट्याक्सीहरू बेचेर आएको पैसाले सो घरजग्गा किन्दा लिएको ऋण तिरिदिनु भएको हो । हाम्रो कारोबार आफ्नै नातागोतामा मात्र भएकोले कुनै कागजात तयार नै नगरी कारोबार भएको थियो । सो घरजग्गाबाहेक मेरो नाममा अन्य कुनै सम्पति छैन भन्ने प्रतिवादी सिता गिरीले मिति २०६८।१०।२० मा गरेको पुरक बयान ।
मिति ६ फेब्रुअरी २०१२ (बि.सं.२०६८।१०।२३) मा नेपालस्थित भारतीय दूताबासले निरन्जन होजाइ मिति ०१-०७-२०१० मा भारतमा पक्राउ परी १२-०८-२०११ सम्म हिरासतमा रहेर हाल उच्च अदालत गुहावटी भारतद्वारा अन्तरिम धरौटीमा छुटेको भन्नेसमेतको व्यहोराको पत्र संलग्न निज निरन्जन होजाईको PAN Card र फोटोहरू प्रमाणित प्रतिलिपिहरू मिसिल संलग्न रहेको ।
नेपालस्थित भारतीय राजदूताबासको पत्रसाथ प्राप्त भारतीय नागरिक निरन्जन होजाईको फोटो र भारत सरकार कर विभागबाट जारी भएको निजकै नामको PAN card मा भएको निरन्जन होजाईको फोटो प्रतिवादी सरिता गिरी राईलाई सनाखत गरिदिनको लागि देखाई सोध्दा उक्त फोटोहरू हेरेँ देखेँ, फोटोमा भएको व्यक्तिलाई म राम्ररी चिन्दछु, निज मेरा श्रीमान् निर्मल राई हुन् । जोरपाटी गा.वि.स. वडा नं.१ स्थित कि.नं.२०२ को जग्गा र सो जग्गामा भएको घर रू.१८,१३,५००।– (अठार लाख तेह्र हजार पाँच सय) मा बेचेकी हुँ, उक्त जग्गा बेचेर आएको पैसा घर खर्च र निर्मल राई बेपत्ता भएपछि निजको खोजतलासमा खर्च गरेँ । मेरो श्रीमान् बेपत्ता भएपछि अब आउँदैन होला भन्ने लागेर काठमाडौं महानगरपालिकामा निजको मृत्यु भैसकेको भन्ने झुठा विवरण दिई मृत्यु दर्ता प्रमाणपत्र बनाई जोरपाटी-१ मा रहेको कि.नं. ७९ को जग्गा र सो जग्गा बनेको अढाई तले घर आफ्नो नाममा ल्याई मेरो उमेर बाँकी नै रहेकोले मेरो छोरालाई दिनुहुनेछ भनी फकाई आमा सेति गिरीको नाममा बकसपत्र गरिदिएको हुँ । मृत्यु दर्ता प्रमाणपत्रकै आधारमा निर्मल राईको नाममा रहेका २ वटा ट्याक्सीहरू दाजु राजु गिरीलाई बेचेको, बा. ८ च ४४५९ नं.को प्राडो जिप निर्मल राई नेपालमै छँदा एल.सी. खोलेर मगाएको र निज नभएका बखत मेरो नाममा आउने गरी कागज बनाएकोले बेपत्ता भएपछि मेरो नाममा आएको हो । पछि सो गाडी मेरो नामबाट दाजु राजु गिरी हुँदै बुबा रामचन्द्र गिरीको नाममा नामसारी गरिदिएको हो, सोबापत मैले कुनै रकम लिएको छैन । मेरो अन्य तिनवटा बैंकमा पनि खाताहरू छन्, अनुसन्धानको क्रममा थाहा नहोस् भनेर लुकाउने उद्देश्यले नभनेकी हुँ । विभिन्न बैंकहरूमा भएको पैसा गाडी घर बेचेर आएको हो । मौज्दात रकमबाहेक रकम मैले घर खर्च र श्रीमान् निर्मल राईको खोजीमा खर्च भएको हो भन्ने प्रतिवादी सरिता गिरी राईले मिति २०६८।१०।२६ मा गरेको पूरक बयान ।
सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २२ र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३१ को प्रयोजनार्थ जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा निर्णयका लागि फाइल पठाइएको ।
जिल्ला सरकारी वकिल, काठमाडौंबाट निरन्जन होजाई र सरिता गिरी राईलाई सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा ३०(२) अनुसार र राजु गिरी र सिता गिरीलाई सोही ऐनको दफा ३०(५) अनुसारको सजायको मागदाबी लिई मुद्दा चलाउने गरी २०६८।११।१५ मा भएको निर्णय ।
प्रस्तुत विषयमा सम्पति शुद्धीकरण अनुसन्धान विभागबाट भएको अनुसन्धान तथा सरकारी वकिल कार्यालयबाट प्राप्त निर्णयपत्रसमेतको आधारमा विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले निम्नअनुसारको कसुरजन्य कार्य गरेको कुरा तथ्य र प्रमाणको आधारमा पुष्टि भएकोले निम्नानुसारको मागदाबी लिई पेस भएको अभियोगपत्र :-
१. प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईको हकमा :
निज प्रतिवादीले भारत तथा नेपालमा गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनीरूपमा शुद्धीकरण गर्न निर्मल हाउजिङ र निर्मल ट्रेडर्स जस्ता संस्थाबाट कारोबार गरी विभिन्न बैंकहरूमा रहेको निज तथा निजले सञ्चालन गरेको संस्थाको नामको बैंक खाताहरूको नगद रू.१,९२,४४३।७२, निजको लगानीमा खरिद गरी सरिता गिरी हुँदै सेति गिरीको नाममा राखिएको जोरपाटी गा.वि.स.को १२ आना जग्गाको मूल्य रू.१,१०,००,०००।–, सरिता गिरीको नाममा रहेको कि.नं.२४२ को मूल्य रू.१५,००,०००।–, सरिता गिरी हुँदै सिता गिरीको नाममा जोरपाटी गा.वि.स.को २.२ आना जग्गा र सोमा बनेको घरको रू.३०,००,०००।–, निजले निर्मल राईबाट विभिन्न व्यक्तिहरूलाई बिक्री गरेको जोरपाटीको जग्गाको मूल्य रू.१,६४,००,०००।–, निर्मल राईले चपलीको जग्गा शारदा श्रेष्ठलाई बिक्री गर्दाको जग्गाको मूल्य रू.२,०६,३३,१७१।४४, निर्मल राईको धरानको घरजग्गाको मूल्य रू.३९,३९,५५२।८४, सरिता गिरीले राजु गिरी हुँदै बिक्री गरेको बा.१ ज. ३८१८, बा.६ च.२४५२, बा.७ च.६५२३, बा.१ ज.४७०३ का गाडीहरू बिक्री गरेको जम्मा मूल्य रू.९०,७०,०००।– तथा लुकाएको प्राडो गाडी बा.८ च.४४५९ को मूल्य रू.४५,००,०००।–, सरिता गिरी राईको विभिन्न बैंकका खाताको रकम रू.१,५९,८०,४०६।०१ तथा स्कुटरको मूल्य रू.१,१९,९००।– र ल्यापटपको रू.१२,०००।– समेत गरी जम्मा रू.८,६३,४७,४७४।०१ को कानूनीरूपमा स्रोत नखुलेको सम्पत्तिको कारोबार गरेको देखिएको हुँदा निज प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित र दफा ४, २८ र २९ बमोजिमको कसुर अपराध भएकोले निज प्रतिवादीलाई सोही ऐनको दफा ३०(२) बमोजिम सजाय गरी र निजको स्वामित्वमा भएका सम्पूर्ण सम्पत्तिहरू दफा ३४ बमोजिम जफत गरिपाऊँ ।
२. सरिता गिरी राईको हकमा :-
निज प्रतिवादी सरिता गिरी निर्मल राईसँग विवाह गर्नुअघि निजहरू सामान्य ज्याला मजदुरी गरी खाने व्यक्ति भएको, निर्मल राईसँग विवाह गरेपश्चात् निर्मल राईलाई पतिको रूपमा राखी नागरिकता लिएको, सोपश्चात् विभिन्न बैंकमा खाता खोली उक्त बैंक खातामा गैरकानूनी रूपमा निर्मल राइले आर्जन गरेको रकमहरू जम्मा गरेको, विभिन्न ठाउँमा घर जग्गाहरू खरिद गरी भाउजू, आमाको नाममा नामसारी गरी लुकाउने कार्य गरेको, विभिन्न ५ थान गाडीहरू खरिद गरी कुनै बिक्री गरिएको र कुनै नामसारी गरिएको, निर्मल राईलाई मृत्यु भएको भनी मृत्यु दर्ता प्रमाणपत्र बनाएको र निजलगायतका प्रतिवादीहरूले बयान गर्दा आफ्नो बैध स्रोतबाट उक्त सम्पत्ति आर्जन गरेको हो भनी खुलाउन नसकेको हुँदा निज प्रतिवादी सरिता गिरी राइको बैंक खातामा रहेको नगद रू.१,५९,८०,४०६।०१, निजको नामबाट भाउजूको नाममा नामसारी गरिएको जग्गाको रू.३०,००,०००।– आमाका नाममा नामसारी गरिएका घर जग्गाको रू.१,१०,००,०००।– र निजकै नाममा रहेको जग्गाको मूल्य रू.१५,००,०००।–, निजको नाममा रहेको स्कुटर र ल्यापटपको मूल्य रू.१,३१,९००।–, निजको नाममा रहेको तथा दाजुको नाम हुँदै विभिन्न व्यक्तिहरूलाई बिक्री गरिएका ४ थान गाडीको तथा बुबाको नाममा नामसारी गरिएको गाडीको मोल बिगो रू.१,३५,७०,०००।– समेत जम्मा मोल बिगो रू. ४,५१,८२,३०६।०१ कानूनीरूपमा स्रोत नखुलेको सम्पत्तिको सञ्चित तथा कारोबार गरेको देखिएको हुँदा निज प्रतिवादी सरिता गिरी राईको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित र दफा ४, २८ र २९ बमोजिमको कसुर अपराध भएकोले निजलाई सोही ऐनको दफा ३०(२) बमोजिम सजाय र निजको स्वामित्वमा भएका सम्पूर्ण सम्पत्तिहरू दफा ३४ बमोजिम गरिपाऊँ ।
३. प्रतिवादीहरू रामचन्द्र गिरी, सेति गिरी, राजु गिरी र सिता गिरीको हकमा
निज प्रतिवादीहरूमध्ये रामचन्द्र गिरी, राजु गिरी, सिता गिरी, सेति गिरीले सरिता गिरीको निर्मल राईसँग विवाह गराउन पूर्व निजहरू सामान्य मजदुरी गरी जीवन गुजारा गर्दै आएकोमा छोरी तथा बहिनी सरिता गिरीको विवाह निर्मल राईसँग गराएपश्चात् प्रतिवादी सरिता गिरीको नाममा जम्मा हुन आएका सम्पत्तिहरूमध्ये मूल्य रू.४५,००,०००।– पर्ने बा.८ च ४४५९ नं.को गाडी सरिता गिरी राईबाट राजु गिरी हुँदै प्रतिवादी रामचन्द्र गिरीको नाममा नामसारी गरिएको, का.जि.जोरपाटी गा.वि.सको १२ आना जग्गा र सो जग्गामा बनेको साढे दुई तल्ले घरको मूल्य रू.१,१०,००,०००।– पर्ने प्रतिवादी सरिता गिरीको नामबाट प्रतिवादी सेति गिरीको नाममा नामसारी गरिएको, का.जि.जोरपाटी गा.वि.स.को २.२ आना जग्गामा रहेको १ तले घरको मूल्य रू.३०,००,०००।– पर्ने प्रतिवादी सरिता गिरीको नामबाट सिता गिरीको नाममा नामसारी गरिएको र प्रतिवादी सरिता गिरीको नाममा रहेको बा.१ज ३८१८, बा.६च २४५२, बा. ७ च ६५२३ र बा.१ज ४७०३ नं.को गाडीहरूको मूल्य रू.९०,७०,०००।– पर्ने गाडी प्रतिवादी राजु गिरीले आफ्नो नाममा नामसारी गरी पुन: आफ्नो नामबाट अन्य व्यक्तिहरूलाई बिक्री वितरण गरेको तथ्य पुष्टि भएको देखिँदा निज प्रतिवादीहरूको उक्त कार्यले प्रतिवादीहरू निर्मल राई र सरिता गिरी राईको गैरकानूनीरूपमा आर्जित सम्पत्तिलाई लुकाउने छिपाउने कार्यमा मद्दत पुर्याएको देखिएको हुँदा निजहरूको सो कार्य सम्पति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ ले निषेधित गरेको र दफा ४, २८ र २९ अनुसार कसुर भएको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ३०(५) अनुसार सजाय गरी र निजहरूको नाममा कायम रहेको सम्पत्ति दफा ३४ अनुसार जफत हुने गरिपाऊँ ।
मेरा श्रीमान् र मसमेत हङकङबाट मिति थाहा भएन आउने क्रममा पासपोर्ट नक्कली रहेछ भनी सिभिल ड्रेसमा रहेका व्यक्तिले गौशाला प्रहरी कार्यालयमा ल्याई मलाई छोडिदियो र श्रीमान्लाई त्यहाँ राखी सार्वजनिक केश चलायो । सो मुद्दामा रू.५,०००।- (पाँच हजार) धरौटीमा रिहा भएपछि त्यसको ८/१० दिनपछि सिभिलमा १५/१६ जना प्रहरी आई पछाडि हात बाँधी हतकडी लगाई कन्चटमा पेस्तोल ताकेर आफ्नै बलेरो जीपमा राखी श्रीमान्लाई लगेको हो । २ घन्टापछि निजले मलाई फोन गरी मलाई टाढाटाढा लगिसक्यो भन्दै गर्दा अब राखराख भनेकोसम्म सुनेको हुँ । त्यसपछि एकचोटि भारतबाट अरू नै व्यक्तिले फोन गरी हिन्दीमा तपाइँको बुढाको केश छ, सकिएपछि आउँछ भनेको थियो । पछि मैले सोही नम्बरमा फोन गर्दा तेरो बुढा यहाँ छैन, अब आउँदैन मरिसक्यो भनी हिन्दीमा नै भनेको थियो । त्यसैले मैले फोन गर्न छाडेर त्यतिकै बसेको हुँ भन्ने व्यहोरासमेत भनेको थिएँ । सो व्यहोरा नलेखी अन्य मैले भन्दै नभनेका कुरा मात्र लेखाएको रहेछ । त्यसमध्ये निर्मल राईसँग विवाह भएको, सुकेधाराको घर राईकै नाममा थियो र मैले बेच्न पाउने भएकोले अधिकृत वारेसनामा मेरो नाममा भएको हुँदा मैले सो घर एक करोड उनान्सय लाखमा श्रेष्ठ थरको व्यक्तिलाई बिक्री गरी नेपालको एस.वि.आई.बैंकमा राखी सो पैसा बैंकबाट झिकी सिंगापुरमा राख्न दिएको, सम्पत्तिको स्रोत घरजग्गा कारोबारबाट कमाएको र कम्पनीमा निर्मल राई हाउजिङ प्रोपर्टी डिलर्स र अर्को पनि कम्पनीको नाम भनेको, निजको मृत्यु भएको भन्ने कुरा सुनेको आधारमा कानूनबमोजिम नै मृत्यु दर्ता प्रमाणपत्र बनाएको भनेको, निर्मल राईको सम्पत्तिमा मेरो र मेरो नाबालक छोराको पुरै हक लाग्ने हो भनेकोमा सो सबै बयान होइन भनी भनेको भन्ने लेखिएको रहेछ । विवाहपूर्व मसँग सम्पत्ति थिएन, आमाबाबुसँग मात्र थियो र बैंक खाता पनि थिएन । विवाह भएपछि निर्मल राईको सम्पत्तिमा हकप्राप्त हुने भएबमोजिमको हुन गएको हो । निर्मल राईसँग मैले विवाह गर्नु अगाडिदेखि उसँग सुकेधारामा बंगला (१२ आनामा बनेको) नारायणटारमा १२ आनामा बनेको २ वटा बंगला र १६ आना जति जग्गा पनि सोही ठाउँमा थियो । Ravu गाडी र २ वटा ट्याक्सी तथा एउटा बाइक पनि थियो । बैंक खाता कहाँकहाँ थियो, मलाई थाहा भएन । पछि पतिको बेपत्ता भएको भनी मृत्यु दर्ता प्रमाणपत्र गराई नारायणटारको १२ आनामा बनेको घर, २ वटा ट्याक्सी, गेस गाडी मेरो नाममा नामसारी गराई ल्याएको हो भने बाँकी सम्पत्ति निर्मलले नै बिक्री गरेर गैसकेको थियो । मेरो श्रीमान्ले व्यापार व्यवसाय गरी कानूनी प्रक्रियाद्वारा नै प्राप्त गरेको सम्पत्ति हो । खाता खोलेको मिति याद छैन । त्यसमध्ये एक करोड त्रिचालिस लाख सिंगापुर बैंकबाट मेरो खातामा आएको हो । अन्य पैसा भाउजूलाई घर बिक्री गरेको, २ वटा ट्याक्सी र १ वटा गेस गाडी बिक्री गरेको पैसाबाट र ट्याक्सी भाडासमेत जम्मा भै सो रकम जम्मा भएको हो । घर खर्च चलाउन श्रीमान् नभएको, म २ जिउको भई अप्रेसनसमेत गर्नु परेकोसमेत कारणबाट पैसाको जरूरी परेकोले गाडी, ट्याक्सी बिक्री गरेको हो । घरजग्गा म बिरामी परेको बेला सेवा गरेको र पछि पनि एक्लो हुने भई सेवा गर्नुपर्ने भएकोले पछिको लागि भनी आमाको नाममा बकसपत्र गरी दिएको
हुँ । घर परिवारको नाम सोध्दा घर धरान भन्दथे, बाबु विदेशको लाहुरे हो र सोही ठाउँमा मरिसकेको, आमा अरूसँग बिहे गरिसकेको र दाजुभाई पनि छैन भनी भन्दथे । तर मलाई विश्वास लागेको थिएन । सम्पत्तिको स्रोतको बारेमा सोध्दा पनि पतिले घरजग्गाको काम गरी कमाएको हो, भनेका थिए । मसँग विवाहमा माइती र अन्य नातेदारसमेतबाट टिका लगाएर दिएको ३०।४० हजार दक्षिणा मात्र हो । बिहे भएपछि २ वर्षसम्म सँगै बस्यौँ । त्यसपछि कहाँ गए मलाई थाहा छैन । निर्मलको खाता सिंगापुरमा थियो । मेरो नाममा विदेशमा खाता छैन । सिंगापुरमा गएको बखत मलाई बैंकको डकुमेन्ट देखाएका थिए । अरू मान्छेले पनि कुरा गर्दा पैसा बैंकमा भएको जानकारी पाएको हुँ । मैले राजीखुसीले मेरो श्रीमान्को कुनै अत्तापत्ता नभएको र मृत्यु भैसकेको भन्ने आधारमा म एक्लो मान्छे बच्चा सानै भएको र म बिरामी भइरहने हुँदा आमाको नाममा घरजग्गा र गाडी दाजुको नाममा गरेपछि दाजु विदेश जानुभएकाले पुनः बुबाको नाममा सारिएको हो । मैले नारायणटारकै अर्को एउटा घर करिब रू.१८,१३,०००।- (अठार लाख तेह्र हजार) मा भाउजूलाई बिक्री गरेको हुँ । भाउजूको स्रोत वहाँको भाइ विदेशमा भएकोले सो पैसाबाट किन्नु भएको हो । विवाह दर्ताको प्रमाणपत्र निर्मललाई पक्रेर भारत लग्दा सबै उसँगै गएकोले मसँग छैन । नबिल बैंकमा रू.५,००,०००।– (पाँच लाख), स्टाण्डर्ड चार्टर बैंकमा रू.११,००,०००।– (एघार लाख) र एभरेष्ट बैंकमा रू.११००।- (एक हजार एक सय) र सोही बैंकको अर्को खातामा करिब १,४३,००,०००।- (एक करोड त्रिचालिस लाख) छ । निर्मल राईले नै पठाएको हुनुपर्छ । के कसरी कमाएको हो मलाई थाहा छैन । म २ जिउको भएकाले सो खर्चका लागि पठाएको होला । जग्गा, घर तथा गाडीहरू खरिद बिक्री गरेका लिखतहरू पछि पेस गर्नेछु भन्ने प्रतिवादी सरिता गिरी राईले अदालतमा गरेको बयान ।
दाबीको घरजग्गा नन्द सरिता गिरीबाट रू.१९,००,०००।- (उन्नाइस लाख) मा पास गरी लिएको हो । पास गर्दाको खर्चसमेत गर्दा करिब रू.२०,००,०००।- (बिस लाख) परेको हो । विदेशमा (मलेसिया) हुने भाई रामचन्द गिरीले रू.२,००,०००।- (दुई लाख), भाउजू निरू गिरीले रू.२,५०,०००।- (दुई लाख पचास हजार) माइतीका बुबा आमाले दिएको ९५,०००।- (पन्चानब्बे हजार) र अरू श्रीमान् राजु गिरीले जोरजाम गरी किनेको जग्गा हो । उक्त घर सानो भएकोले मेरो श्रीमान्समेतले भनेकाले बुढाबुढी भइसकेका सासू ससुरालाई राखी हामी घर बहालमा बसेका छौं । उक्त जग्गा नन्दले के कसरी प्राप्त गरेकी हुन् थाहा भएन । मैले प्रतिवादीहरू निर्मल राई तथा सरिता गिरी राईको गैरकानूनी भनिएको सम्पत्तिलाई लुकाउने छिपाउने कार्य नगरेकोले अभियोग दाबीबमोजिम मलाई सजाय हुनुपर्ने होइन । म निर्दोष हुँदा सफाइ पाउँ भन्ने प्रतिवादी सिता गिरीले अदालतमा गरेको बयान ।
म तथा मेरो परिवारमा हाल म, मेरो श्रीमती र २ छोरा छौँ । हाम्रो नाममा कुनै बैंक खाता छैन । श्रीमती सिता गिरीको नाममा का.जि.जोरपाटी-१ कि.नं.२०२ मा बनेको १ तल्ले पक्की घर र २ तोला सुन मात्र छ । उक्त घर एउटा बा.२ ख ५३५४ नं. को बस किनेकोमा सो बेची अन्य नपुग ऋणसमेत खोजी उक्त घर किनेको हो । खेतीपातीबाट अन्य आर्जन भएबाहेक अन्य पैतृक सम्पत्ति परेको छैन । साथै उक्त सुन १ तोला विवाहमा तथा १ तोला पछि किनेको हो । म र मेरा दाजु गणेश गिरी मिली साथीभाइसँग सरसापट गरी रू.१२ लाखमा बस किस्ताबन्दीमा तिर्ने गरी लिएकोमा रूटमा चलाई आएको पैसाबाट किस्ता तिरेको हो । उक्त बसको जम्मा मूल्य रू.२७ लाख ९० हजार हो र बेच्दा २८ लाखमा बेचेको हो । गाडी बहिनी सरिता गिरीका नामबाट मेरो नाममा हुँदै अन्य व्यक्तिका नाममा गएको सही सत्य हो । गाडीमध्ये बा.१ज ३८१८ र बा.१ ज ४७०३ का गाडीहरू मैले एकमुष्ट रू.१६ लाखमा खरिद गरी लिएकोमा मैले एउटालाई रू.१२ लाख १५ हजार र अर्कोलाई १२ लाख १० हजारमा केही समयपछि बिक्री गरेको हो । अन्य बा.६ च.२४५२ र बा.७ च.६५२३ नं. का गाडीहरू बहिनी ज्वाइँले नै बेचेका हुन् । के कसरी बेचे थाहा छैन । मैले उक्त गाडी एकजना मेरो मोबाइलका अधिकृतले गाडी भाडामा चाहियो भन्ने जानकारी पाएर मेरो नाममा नामसारी गरी राखी केही समयपछि भाडामा नगई म रोजगारको सिलसिलामा विदेश जान लागेको हुँदा बुबाको नाममा नामसारी गरिदिएँ । उक्त गाडी बहिनी सरिता गिरीलाई भनेर म आफैँले हेरविचार गरिदिनु पर्ने भएकोले पैसा नदिई नामसारी मात्र गरेको हुँ । बा.८ च ४४५९ को गाडी सरिता गिरीले जिद्दी गरी नामसारी भएको भनी लेखिएको रहेछ । उक्त कुरामध्ये जिद्दी शब्दबाहेक अन्य मेरो बयान व्यहोरा ठिक छन् । मेरो कुनै कसुरको कार्य नगरेकोले मागदाबीबमोजिम मलाई सजाय हुने होइन, सफाइ पाउँ भन्ने प्रतिवादी राजु गिरीले अदालतमा गरेको बयान ।
ज्वाइँ बेपत्ता भएपछि हाल बसोबास गर्दै आएको छोरी सरिताको घरमा आई श्रीमान्, म र छोरी सँगै बस्दथ्यौं । हाल हामी बसोबास गर्दै आएको १२ आना जग्गामा बनेको साढे दुई तलाको घर छोरी सरिताले राजीनामा वा बकसपत्र के कसो गरेको हो, मेरो नाममा नामसारी गरिदिएको हो । उक्त घरजग्गा नामसारी गर्दा कुनै लेनदेन भएको छैन । सायद उसले मेरा नाममा जग्गाघर नामसारी गर्दा आमाबुबासँगै बस्नुहोला, एउटा सानो छोरा छ भनी गरेको
हुनसक्छ । ज्वाइँ निर्मल राईलाई घरबाटै कन्चटमा गोली ताकी लगेपछि उसलाई हनुमान ढोका लग्ने भनिएकोमा त्यहाँ नलगिएको र अन्यत्रैबाट यहाँ छ भनी एकपटक फोन छोरीलाई आएकोमा दुई / तिन दिनपछि त्यही नम्बरमा फोन गर्दा तेरो श्रीमान् मरिसक्यो फोन नगर् भनी जवाफ आएकोमा मरिसकेछन् भनी छोरीले आफ्नो नाममा गराई मेरो नाममा नामसारी गरिदिएको हो । ज्वाइँ पहिला घरजग्गाको काम गर्नुहुन्थ्यो । उहाँको पहिलादेखिको सम्पत्ति हो वा पछि कमाएको के हो थाहा भएन भन्ने प्रतिवादी सेति गिरीले अदालतमा गरेको बयान ।
राजु गिरीका नाममा दर्ता रहेको प्राडो जिप मेरो नाममा छ । अरू मेरो गाउँमा पैतृक सम्पति
छ । पहिला ज्वाइँले गाडी लिने गरी कारबाही अगाडि बढाएका रहेछन् । सो गाडी छोरी सरिताको नाममा नामसारी भै आएको थियो । छोरी सरिताको सानो बच्चा काखमा भएको र महिला मान्छे यताउता गर्न कठिन हुन्छ भनी गतसाल दाजु राजु गिरीको नाममा राखेको थियो । तर पछि छोरा राजु गिरी विदेश जाने भनी तयार गर्न लागेकाले मेरा नाममा आयो । म अनपढ भएकाले कुन व्यहोराबाट आयो मलाई थाहा भएन । म सोझो मान्छे भएको हुँदा त्यसरी गैरकानूनीरूपमा आर्जन गरी मेरा नाममा आएको कुरा थाहा नभएकोले सो गाडी पनि जफत हुने होइन भनी प्रतिवादी रामचन्द्र गिरीले अदालतमा गरेको बयान ।
प्रतिवादी सिता गिरी दिदी नाताकी चिनजानकी मानिस हुन् । अन्य कारोबार रिसइवी केही छैन । उहाँ पहिला गाउँमा बस्ने आफ्नो दु:खसुख गरी खाने व्यक्ति भएकोले पनि अपराध गरेको होइन । निज प्रतिवादी सिता गिरीले केही रकम निजले मेरो दिदी तथा दाजुसँग सहयोग लिनुभएको हो । निजको दिदी र दाजु विदेशमा कमाउन जानुभएको थियो । सिता गिरी निर्दोष हुँदा निजले सफाइ पाउनु पर्दछ भन्ने प्रतिवादी सिता गिरीको साक्षी विष्णु गिरीले गरेको बकपत्र ।
प्रतिवादीसँग चिनजान छ, नाता लेनदेन कारोबार रिसइवी केही पनि छैन । प्रतिवादी राजु गिरीले सरिता गिरी र निर्मल राईका नाउँमा भएको सम्पत्ति लुकाउने छिपाउने कार्य गरेको छैन । निज पहिलेदेखि नै गाडी व्यवसाय गरी आएका व्यक्ति हुन् । राजु गिरीले २०६३।०६४ सालदेखि गाउँबाट खसी बोका ल्याई महिनाको ८ वटा जति बेच्नुहुन्थ्यो । सोबाट घरखर्च कटाएर महिनाको २५।३० हजार जति आम्दानी हुन्थ्यो । त्यसपछि काठमाडौं मेलम्ची रूटको बस किनेका र उक्त बस बेचेर बा.१ ज ३८१८, बा. ६ च २४५२ नम्बरको गाडी किनेको हो । पछि सो गाडीहरू पनि लगत्तै बेचेको हो । निजले कारोबारबाट कमाएको पैसा तथा म आफूले पनि निजलाई केही रकम सहायता गरेको थिएँ, सोही रूपैयाँबाट तथा निजले जग्गाको किनबेचको काम पनि गरेको हुनाले निजले आफ्नै रकमबाट सो गाडीहरू किनेको हो । निर्मल होजाई र सरिता गिरीलाई सघाएको होइन । प्रतिवादी राजु गिरीले कसुर नगरेकाले सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी राजु गिरीको साक्षी दिपक खड्काले गरेको बकपत्र ।
प्रतिवादी सरिता गिरी राईसँग चिनजान छ, लेनदेन, कारोबार, रिसइवी केही पनि छैन । प्रतिवादीले निर्मल राई नेपाली भनी घरजग्गा र गाडीको व्यवसाय गरी बसेका व्यक्तिसँग निजले विवाह गरेको हुँदा सो विवाहपश्चात् निजको नाममा आएको घर जग्गाहरू, सम्पतिहरू सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले आएका होइनन् । किनकि सरिता गिरीको सामान्य क्षमता, शैक्षिक योग्यता र पारिवारिक अवस्थाले पनि सम्पत्ति शुद्धीकरण गर्ने हैसियत राख्दिनन् । सरिता गिरीको निर्मल राईसँग होटलमा चिनजान भई निर्मल राईले विवाहको प्रस्ताव राखेपश्चात् घर सल्लाहले विवाह गरिदिएको हुँदा सरिता गिरीको कुनै पनि दोष छैन । प्रतिवादी सरिता गिरीका नाउँको बैंक खातामा देखाएर नै रकम आएकोले शुद्धीकरण गरेको होइन, शुद्धीकरण गर्ने उद्देश्यले पठाएको भए हुण्डीमार्फत नै आउन सक्थ्यो होला । निर्मल होजाईले काठमाडौंमा घर, जग्गा बेचेका, सोही घरजग्गा किनबेचको कार्य नै स्रोत देखिएको हुँदा सरिता गिरी राईले आरोपित कसुरबाट सफाइ पाउनुपर्छ भन्ने प्रतिवादी सरिता गिरी राईको साक्षी बाबुराम गिरीले गरेको बकपत्र ।
प्रतिवादीहरू एकै गाउँ बस्ने भएकोले चिनजान राम्रै छ । नाता, लेनदेन, रिसइवी केही छैन । निजहरू अशिक्षित र आफ्नो दु:खसुखमा नै रमाई गाउँको खेती किसानी गर्ने व्यक्तिहरू भएकोले निजहरूबाट यस्तो कार्य हुनै सक्दैन । रामचन्द्र गिरी पनि गाउँको केही पैतृक सम्पत्ति बेचबिखन गरी मजदुरी, ठेक्का पट्टा गर्दै काठमाडौं बस्दै आएका छन । छोरी सुत्केरी हुँदा सम्पूर्ण स्याहार सुसार पनि आमाबाबुले गरेका छन् । छोरी र बच्चाको संरक्षण गरेकोले छोरीले सघाएकी होलिन् । निर्मल राई (होजाई) को सम्पत्ति लुकाउन छिपाउन सघाउन सक्ने अवस्थाका मानिस पनि होइनन् । प्रतिवादी रामचन्द्र गिरी तथा सेति गिरी निर्दोष हुँदा सफाइ पाउनु पर्दछ भन्ने प्रतिवादी रामचन्द्र गिरीको साक्षी गोविन्द भारतीले गरेको बकपत्र ।
प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईको हकमा निज फरार रहेको देखिएको साथै निज गैह्रनेपाली नागरिक देखिएको, निजले झुठ्ठा विवरण दिई २०६३ सालमा निर्मल राईको नामबाट नेपाली नागरिकताको प्रमाणपत्रसमेत लिई २०६४ सालदेखि नै नेपालमा घरजग्गा खरिद गरी मिति २०६५।२।९ मा निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स र मिति २०६५।९।७ मा निर्मल ट्रेडर्स प्रा.लि. नामको एकल सेयरधनी भएको क्रमशः रू.७५ लाख र रू.५० लाखको चुक्ता पुँजी रहेका व्यावसायीक फर्महरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरी आफ्नो र ती फर्महरूको नामबाट घरजग्गा एवं सवारी साधनसमेत करोडौ रूपैयाँको कारोबार गरेको देखिएको, त्यसरी कारोबारमा लगानी गरेको रकमको आयस्रोत निज निर्मल राई भन्ने निरन्जन होजाईसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकी प्रतिवादी सरिता गिरी राईसमेतबाट खुल्न सकेको नदेखिएकोले प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईले गरेको घरजग्गा कारोबारमा, सवारी साधनहरूमा, निज र निजको नामको व्यावसायीक फर्म र निजकी श्रीमती सरिता गिरी राईको नाममा विभिन्न बैंकमा रहेको मौज्दात रकम, सिंगापुर सिटी बैंकबाट पठाएको सरिता गिरी राईको बैंक खाताको रकम तथा निजको साथमा रहेको स्कुटर र ल्यापटपसमेतमा गरेको लगानीसमेतको जम्मा बिगो रू.८,६३,४७,४७४।०१ (आठ करोड त्रिसठ्ठी लाख सत्चालिस हजार चार सय चौहत्तर रूपैयाँ एक पैसा) सम्पत्ति प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ र २८ अन्तर्गतको कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको ठहराई निजका नाममा रहेका घर जग्गा र निज तथा निजका नामको निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स, निर्मल ट्रेडर्स प्रा.लि. का नाममा विभिन्न बैंकमा रहेको नगद मौजदातसमेत ऐ. ऐनको दफा ३४(१) अनुसार जफत हुने र निजलाई उक्त ऐनको दफा ३०(२) बमोजिम कैद वर्ष ४ र बिगो बमोजिम रू.८,६३,४७,४७४।०१ (आठ करोड त्रिसठ्ठी लाख सत्चालीस हजार चार सय चौहत्तर रूपैयाँ एक पैसा) जरिवाना हुने, प्रतिवादी मध्येकी सरिता गिरी राईको हकमा निजले आफ्नो बैद्य स्रोतको आय हो भनी आफ्नो जिम्मा भएको र आफूले हक हस्तान्तरण गरेको घरजग्गा एवं सवारी साधन तथा बैंक मौज्दातसमेतको स्रोत देखाउन नसकेको, निर्मल राई भन्ने निरन्जन होजाई र निजको नाममा खोलिएको निर्मल राई हाउजिङ एन्ड प्रोपर्टी डिलर्स, निर्मल टेडर्स प्रा.लि. समेतको नाउँबाट सम्पत्ति शुद्धीकरण गरी आर्जन गरेको रू.४,५१,८२,३०६।०१ को घरजग्गा र सवारी साधनसमेत आफ्नो नाममा नामसारी गर्ने, हक हस्तान्तरण गर्नेसमेतको कार्य गरी प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईलाई सम्पत्ति शुद्धीकरण गर्न मद्धत एवं दुरूत्साहन गरी निज प्रतिवादी सरिता गिरी राईले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३०(५) अन्तर्गतको कसुर गरेको ठहराई निजलाई सोही दफा ३०(५) बमोजिम प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईलाई भएको कैद वर्ष ४ को आधा कैद वर्ष २ र निजले सम्पत्ति शुद्धीकरण गर्न दुरूत्साहन गरेको बिगो रू.४,५१,८२,३०६।०१ को आधा रू.२,२५,९१,१५३।- (दुई करोड पच्चिस लाख एकानब्बे हजार एक सय त्रिपन्न रूपैयाँ ) जरिवाना हुने र निजको नाउँमा भएको जग्गा, बैंक मौज्दात, स्कुटर र ल्यापटप सोही ऐनको दफा ३४(१) बमोजिम जफत हुने तथा प्रतिवादीहरू राजु गिरी, सेती गिरी, रामचन्द्र गिरी, सिता गिरीका हकमा निजहरू उपरको अभियोग दाबी पुग्न नसकी सफाइ पाउने ठहराई विशेष अदालत, काठमाडौंको मिति २०७०।९।१९ को फैसला ।
प्रतिवादीहरू सरिता गिरी र निर्मल राई भन्ने निरन्जन होजाई बिच वैवाहिक सम्बन्ध स्थापित भएपछि प्रतिवादी सरिता गिरीको नाममा अभियोग दाबीबमोजिम रू.४,५१,८२,३०६।०१ बराबरको चलअचल सम्पत्ति प्राप्त भई निजले धारण, भोग चलन र मुनाफासहित हस्तान्तरण गरेको, आफ्नो पति निर्मल राईको मृत्यु भएको भन्ने झुठ्ठा विवरण दिई मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गरी तत् समयसम्म प्रतिवादी निर्मल राईका नाममा रहेको सम्पत्ति पनि आफ्ना नाममा नामसारी गरी गराई धारण, भोगचलन र लुकाउने नियतले आफ्नै माइतीपट्टिका सहोदर दाजु, भाउजू, आमा र बाबुसमेतका नाममा हस्तान्तरण गर्नेसम्मका काममा प्रत्यक्षतः संलग्न रहेको तथ्य अनुसन्धानबाट स्पष्ट खुलिरहेको र अदालतले स्वीकार गरेको अवस्थामा आरोपित कसुर गर्न गराउनमा सहयोगीसम्मको भूमिका निर्वाह गरेको भनी मान्न मिल्दैन । निज प्रतिवादी सरिता गिरीले विवाहकै कारणले मात्र सम्पत्ति प्राप्त गरेको देखिँदैन बरू नागरिकता किर्ते, राजश्व छली जस्ता कसुरहरूमा प्रत्यक्ष संलग्न भई सम्पत्ति शुद्धीकरणको मुख्यकर्ता भएको देखिइरहेको अवस्थामा अमुक व्यक्तिको दुरूत्साहनकर्ता मात्र हो भनी कल्पना गरी भएको फैसलाले संगठित कसुरमा एकमात्र मुख्य कसुरदार हुन्छ भन्ने आत्मगत मान्यता राखेको र निजलाई दाबीभन्दा कम सजाय गरिएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादीहरू रामचन्द्र गरी, सेति गिरी, राजु गिरी र सिता गरी मूल प्रतिवादी निर्मलका ससुरा, सासू, जेठान, जेठानी नाताका व्यक्ति भएको, प्रतिवादी निर्मलसँग नाता सम्बन्ध हुनुपूर्व निजहरूको हैसियत निम्नस्तरको रहेको देखिन्छ । प्रतिवादी निर्मल सरिता हुँदै राजु, सिता, रामचन्द्र, सेतिका नाममा सम्पत्ति हस्तान्तरण भएको देखिन्छ । यी प्रतिवादीहरू सरिता गिरीको अवैध सम्पत्ति लुकाउने कार्यमा मनसायपूर्वक संलग्न भई सोको प्रतिफलसमेत प्राप्त गरिरहेको देखिँदा मुख्य कसुर गर्ने निरन्जन र सरिताका सहयोगी मतियार मान्नु पर्नेमा सोविपरीत निजहरूलाई सजाय नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सबै प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको यस अदालतमा पर्न आए पुनरावेदन पत्र ।
विशेष अदालतले गरेको फैसलामा चित्त
बुझेन । मैले अधिकारप्राप्त अधिकारी र अदालतमा बयान गर्दा इन्कार रही बयान गरेकी छु । भएको सम्पूर्ण सम्पत्ति मेरो श्रीमान्ले कहाँबाट कसरी आर्जन गरे भन्ने बारेमा मलाई केही थाहा छैन । मैले निर्मल राईसँग विवाह गरी श्रीमतीको नाताले निजको सम्पत्ति नामसारी गर्नु कुनै कसुर हुन सक्दैन । निर्मल राईको मृत्यु भयो भन्ने खबर आएपछि निजको नामको सम्पत्ति नामसारी गरी बिक्री तथा हक हस्तान्तरण गरेकोसम्म हो । निज निर्मल राईसँग चिनजान तथा विवाह हुनुभन्दा अघिदेखि नै निजले निर्मल हाउजिङ एन्ड प्रोपर्टी डिलर्स तथा निर्मल ट्रेडर्स प्रा.लि.सञ्चालन गरी कारोबार गरी आय आर्जन गरी आएको अवस्थामा मलाई निर्मल राईलाई कसुर गर्न सहयोगीको भूमिका निभाई दुरूत्साहन गर्ने कार्य गरेको भनी ठहर गर्न मिल्दैन । अतः विशेष अदालतले कसुरदार ठहराई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सरिता गिरीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
विशेष अदालतले गरेको फैसलामा चित्त
बुझेन । हामीहरूका नामको घर जग्गा र सवारी साधन निर्मल राई भन्ने निरन्जन होजाइले सम्पत्ति शुद्धीकरणको कसुर गरी आर्जन गरेको देखिएको भनी जफत हुने ठहर फैसला भएको छ । जबकि बा.८च ४४५९ नं. को गाडी र काठमाडौं जिल्ला जोरपाटी गा.वि.स.वडा नं.१ को कि.नं. ७९ को घरजग्गा निर्मल राई भन्ने निरन्जन होजाईको नाममा दर्ता नै छैन । निर्मल राईका नाममा दर्ता नभई हामी प्रतिवादीहरूका नाममा दर्ता रहेको सवारी साधन र घर जग्गा जफत गर्ने गरेको हदसम्मको फैसला त्रुटिपूर्ण छ । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको हामी कसुरदार कायम हुन नसकी अभियोग दाबीबाट सफाइ पाएको अवस्थामा दफा ३४(१) बमोजिम हामीहरूका नामको सवारी साधन र घरजग्गा जफत गर्न नमिल्नेमा जफत गर्ने गरी भएको हदसम्मको उक्त फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू सेति गिरी र रामचन्द्र गिरीको यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान् अधिवक्ता श्री कमलमणि श्रेष्ठले प्रतिवादी सरिता गिरीलाई निर्मल राईको श्रीमती भएको नाताले मात्र कसुरदार ठहर गर्न मिल्दैन । प्रतिवादी निर्मल राईले सरिता गिरीसँग विवाह गर्नुभन्दा अगाडि नै विभिन्न कम्पनीहरू सञ्चालन गरी आय आर्जन गरी आएको र निजका नामको सम्पत्ति प्रतिवादी सरिताले आफ्ना नाममा नामसारीसम्म गरेको अवस्थामा प्रतिवादी सरिताले निर्मल राईलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्नमा दुरूत्साहनकर्ताको भूमिका निर्वाह गरेको भनी कसुरदार ठहर गरी सजाय गरेको विशेष अदालतको फैसला त्रुटिपूर्ण छ । त्यस्तै अरू पुनरावेदक प्रतिवादीहरू सेति गिरी र रामचन्द्र गिरीले आरोपित कसुरमा सफाइ पाएको अवस्थामा निजहरूका नामको सम्पत्ति जफत गर्ने गरी भएको विशेष अदालतको फैसलासमेत त्रुटिपूर्ण हुँदा बदर गरी पुनरावेदक प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भनी बहस गर्नुभयो ।
उपर्युक्तबमोजिम विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी पुनरावेदनसहितका मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदक प्रतिवादीहरू सरिता गिरी, सेती गिरी र रामचन्द्र गिरीका हकमा विशेष अदालत, काठमाडौंले गरेको फैसला मिले नमिलेको के रहेछ तथा वादी नेपाल सरकार तथा पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईले स्रोत नखुलेको रू. ८,६३,४७,४७४।०१ बराबरको अवैधानिक सम्पत्तिको कारोबार गरेको र प्रतिवादी सरिता गिरी राईले रू.४,५१,८२,३०६।०१ बराबरको स्रोत नखुलेको सम्पत्ति सञ्चित तथा कारोबार गरेको देखिएको र निजहरूको उक्त कार्य सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) ऐन, २०६४ को दफा ३, ४, २८, २९ बमोजिमको कसुर अपराध भएकोले निजहरूलाई ऐ. ऐनको दफा ३०(२) बमोजिम सजाय गरी दफा ३४ बमोजिम निजहरूका नामको सम्पत्ति जफत गरिपाउन तथा प्रतिवादीहरू रामचन्द्र गिरी, सेति गिरी, राजु गिरी, सिता गिरीले प्रतिवादीहरू निर्मल राई र सरिता गिरीले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने छिपाउने कार्यमा मद्दत पुर्याएको देखिएको र निजहरूको उक्त कार्य ऐ. ऐनको ३, ४, २८, २९ अनुसारको कसुर अपराध हुँदा निजहरूलाई ऐ. ऐनको दफा ३०(५) बमोजिम सजाय गरी निजहरूका नामको सम्पत्ति ऐ. दफा ३४ अनुसार जफत गरिपाउँ भन्ने अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाईका हकमा अभियोग दाबीबमोजिम नै कसुर अपराध गरेको ठहर गरी ४ वर्ष कैद रू.८,६३,४७,४७४।०१ जरिवानासमेत हुने र प्रतिवादी सरिता गिरी राईको हकमा निजले निर्मललाई सम्पत्ति शुद्धीकरण गर्न मद्दत एवं दुरूत्साहन गरी ऐ. ऐनको दफा ३०(५) अनुसारको कसुर गरेको ठहर गरी निजलाई २ वर्ष कैद र रू. २,२५,९१,१५३।- जरिवाना हुने र निजका नामको जग्गा बैंक मौज्दात, स्कुटर, ल्यापटपसमेत जफत हुने तथा प्रतिवादीहरू राजु गिरी, सेती गिरी, रामचन्द्र गिरी र सिता गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहराई विशेष अदालत, काठमाडौंबाट फैसला भएको देखिन्छ । उक्त फैसलाउपर प्रतिवादीमध्ये सरिता गिरीलाई दुरूत्साहनकर्ता मात्रको कसुरदार ठहर गरी घटी सजाय गरेको र अरू प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको फैसला बदर गरी सबै प्रत्यर्थी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी
नेपाल सरकारको तथा विशेष अदालतले दुरूत्साहनकर्ता ठहर गरी सजाय गरेको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी प्रतिवादी सरिता गिरी राईको र हामीहरूका नामको सवारी साधन, घरजग्गा जफत गर्ने ठहर्याएको फैसला बदर गरिपाउँ भनी प्रतिवादीहरू सेती गिरी र रामचन्द्र गिरीको यस अदालतमा छुट्टाछुट्टै पुनरावेदन परी पेस हुन आएको देखियो ।
३. प्रस्तुत मुद्दासँग सम्बद्ध मिसिल कागजातको अध्ययनबाट मुख्य प्रतिवादी निर्मल राई भन्ने निरन्जन होजाई अदालतबाट जारी भएको म्याद गुजारी फरार रहेका र निजलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गरी कैद तथा जरिवानाको सजाय गरी निजले शुद्धीकरण गरेको सम्पत्ति जफतसमेत हुने ठहर्याई विशेष अदालत, काठमाडौंबाट फैसला भएको देखियो । यी पुनरावेदक प्रतिवादी सरिता गिरी निज प्रतिवादी निर्मल राईको पत्नी भएको कुरामा विवाद रहेको देखिँदैन । निज प्रतिवादी सरिताका नाममा विभिन्न बैंकमा नगद मौज्दात रहनुका साथै निजका नाममा जग्गासमेतका सम्पत्ति रहेको र निजले ती सम्पत्तिहरूको बैध स्रोत देखाउन खुलाउन सकेको पाइँदैन । त्यसका अलावा निजले प्रतिवादी निर्मल राईका नाममा रहेका घरजग्गा तथा सवारी साधनलगायतका सम्पत्ति आफ्ना नाममा नामसारी गराई आफ्ना माइतीतर्फका नजिकका नाताका बाबु, आमा, दाजु, भाउजूहरू रामचन्द्र गिरी, सेती गिरी, राजु गिरी, सिता गिरीसमेतका नाममा हक हस्तान्तरण गरिदिएको देखिन्छ । निज प्रतिवादी सरिता गिरीबाट आफ्ना नाममा घरजग्गा गाडीलगायतका सम्पत्ति हक हस्तान्तरण गरी लिने प्रतिवादीहरू रामचन्द्र गिरी, सेती गिरी, राजु गिरी, सिता गिरीले अनुसन्धान अधिकारी र अदालतसमक्ष समेत बयान गर्दा ती सम्पत्तिहरू सरिता गिरीलाई रकम तिरेर लिएको भन्न नसकी सरिताले भनेबमोजिम नामसारीसम्म गराएको भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादी सरिताले आफ्ना बाबु, आमा, दाजु, भाउजूका नाममा हक हस्तान्तरण गरेको सम्पत्ति आफूले निर्मल राईको श्रीमतीको नाताले प्राप्त तथा नामसारी गरिलिएको भन्नुबाहेक ती सम्पत्तिको समेत वैध स्रोत खुलाउन सकेको देखिँदैन ।
४. निज प्रतिवादी सरिता गिरीले आफूले प्रतिवादी निर्मल राईको श्रीमतीको नाताले निजका नामको सम्पत्ति प्राप्त तथा नामसारीसम्म गरेकै आधारमा सम्पत्ति शुद्धीकरणको दुरूत्साहनकर्ताको कसुरदार ठहर गरेको विशेष अदालतको फैसला मिलेको छैन भनी लिएको जिकिरका सम्बन्धमा विचार गर्दा, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३०(५) मा “यस ऐनअन्तर्गतको कसुर गर्न उद्योग गर्ने, मद्दत गर्ने वा दुरूत्साहन दिनेलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त कानूनी व्यवस्थाअनुसार सम्पत्ति शुद्धीकरणको कसुरमा प्रत्यक्षरूपमा संलग्न नरही त्यस्तो कसुर गर्न उद्योग गर्ने, मद्दत गर्ने वा त्यस्तो कसुर गर्न दुरूत्साहन गर्नेलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मुख्य कसुरदारलाई हुने सजायको आधी सजाय हुने देखिन्छ । प्रतिवादी सरिता गिरीका नाममा अद्यापि विभिन्न बैंकमा नगद मौज्दात तथा जग्गा रहेको र निजले आफ्नो पति निर्मल राईको मृत्यु भएको भनी मृत्युदर्ता प्रमाणपत्र बनाई निर्मल राईका नाममा रहेको सम्पत्ति आफ्ना नाममा नामसारी गराई आफ्ना नजिकका नातेदार बाबु, आमा, दाजु, भाउजूका नाममा कुनै रकम नलिई तहतह हक हस्तान्तरण गरिदिएको देखिन्छ । उक्त सम्पत्ति निजले आफ्नै प्रयत्नबाट आर्जन गरेको नदेखिनुका साथै वादी नेपाल सरकारले पनि निजले सो सम्पत्ति आफैँले आर्जन गरेको भनी दाबी लिन सकेकोसमेत
देखिँदैन । यसप्रकार यी पुनरावेदक प्रतिवादी सरिताले आफ्नो पति निर्मल राईले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरी आर्जन गरेको सम्पत्ति प्राप्त गरेको तथा निजका नामको सम्पत्ति आफ्ना नाममा नामसारी गरी तहतह हस्तान्तरण गरी पतिले गरेको कसुर अपराधको कार्यमा सहयोगीको भूमिका निभाएको देखिँदा निजले लिएको उक्त पुनरावेदन जिकिरसँग सहमत हुन
सकिएन ।
५. अब प्रतिवादी सरिता गिरीलाई अभियोग मागदाबी बमोजिम मुख्य प्रतिवादीसरह सजाय गर्नुपर्नेमा निजलाई दुरूत्साहनकर्तासम्मको कसुरदार ठहर गरेको र अन्य प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाइ दिएको विशेष अदालतको फैसला मिलेको छैन भनी वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकिरसम्बन्धमा विचार गर्दा, प्रतिवादी सरिताका नाममा रहेका नगद, घरजग्गा तथा निजले अन्य प्रतिवादीहरूलाई हक हस्तान्तरण गरिदिएका सम्पत्तिहरू निजले आफैँले कुनै कार्य गरी आर्जन गरेको भन्ने नदेखिई निजले निर्मल राईको श्रीमतीका नाताले प्राप्तसम्म गरेको देखिन्छ । त्यसैगरी अन्य प्रत्यर्थी प्रतिवादीहरूले आफ्नी छोरी, बहिनी तथा नन्द नाताकी प्रतिवादी सरिताको आग्रहमा निजका नामको सम्पत्ति आफ्ना नाममा नामसारीसम्म गराई लिएको देखिन्छ । प्रत्यर्थी प्रतिवादीहरू सम्पत्ति शुद्धीकरणको कसुरजन्य कार्यमा प्रत्यक्ष संलग्न रहेको मिसिल प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा निजहरूलाई अभियोग दाबीबमोजिम कसुरदार ठहर गरी सजाय गर्नु न्यायोचित हुने नदेखिँदा वादी नेपाल सरकारको उक्त जिकिरसँग सहमत हुन सकिएन ।
६. त्यसैगरी आफूहरूलाई अभियोग दाबीबाट सफाइ दिएपछि आफ्ना नामको सवारी साधन तथा घरजग्गा जफत गर्न मिल्दैन भनी प्रतिवादीहरू रामचन्द्र गिरी र सेती गिरीले लिएको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, यी पुनरावेदक प्रतिवादी रामचन्द्र गिरीका नाममा रहेको बा ८च ४४५९ नं. को गाडी र सेती गिरीका नाममा रहेको कि.नं. ७९ को जग्गा र सोमा बनेको घरसमेत प्रतिवादी निर्मल राईले सम्पत्ति शुद्धीकरणको कसुर गरी आर्जन गरेको ठहरी फैसला भएको देखिन्छ । उक्त गाडी तथा घरजग्गा प्रतिवादी निर्मल राईको नामबाट निजकी पत्नी प्रतिवादी सरिता गिरीले आफ्ना नाममा नामसारी गराई यी पुनरावेदक प्रतिवादीहरूका नाममा हस्तान्तरण गरेको देखिन्छ । उक्त गाडी तथा घरजग्गा यी पुनरावेदक प्रतिवादीले कुनै रकम दिएर खरिद गरेको भन्ने नदेखिई छोरीको आग्रहमा आफ्ना नाममा राखेकोसम्म हो भनी निजहरूले अनुसन्धानको क्रममा र अदालतसमक्ष समेत बयान गरिरहेको देखिँदा ती सम्पत्ति निजहरूको आफ्नो आर्जनको नभई अर्काले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरी आर्जन गरेको भन्ने देखिँदा निजहरूको उक्त जिकिरसँग पनि सहमत हुन सकिएन ।
७. अतः माथि उल्लिखित आधार कारणबाट प्रतिवादी सरिता गिरी राईले आफ्ना नाममा रहेको नगद, जग्गालगायतका सम्पत्ति आफ्नो वैध आर्जनको हो भनी देखाउन नसकेको, निजले प्रतिवादी निर्मल राईका नाममा रहेको सम्पत्ति आफ्ना नाममा नामसारी गराई अन्य प्रतिवादीहरूका नाममा तहतह हस्तान्तरण गरी प्रतिवादी निर्मल राईलाई सम्पत्ति शुद्धीकरणको कसुर अपराध गर्ने कार्यमा सहयोगीको भूमिका निभाएको देखिँदा निजलाई २ वर्ष कैद र रू.२,२५,९१,१५३।- जरिवाना हुने र निजका नामको सम्पत्ति जफत हुने तथा अन्य प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको विशेष अदालत, काठमाडौंको मिति २०७०।९।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरू सरिता गिरी राई, रामचन्द्र गिरी, सेती गिरी तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम विशेष अदालत, काठमाडौंको फैसला सदर हुने ठहरेकाले पुनरावेदक प्रतिवादी सरिता गिरी राईले यस अदालतमा पुनरावेदन गर्दा जेथा जमानत दिई रोक्का रहेको जग्गा निजलाई लागेको कैद तथा जरिवाना असुल भएपछि फुकुवा गरिदिनु भनी विशेष अदालत, काठमाडौंमा लेखी पठाइदिनू --------------------------------------------१
यस अदालतको मिति २०७१।१२।११ को आदेशानुसार प्रतिवादी सरिता गिरी राईलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि मासिक खर्च रू.३०,०००।- उपलब्ध गराउनु भनी भएका आदेशानुसारको रकम अब निजलाई उपलब्ध हुन नसक्ने भएकोले सोको जानकारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पठाइदिनू ---------------१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसलाको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार मिसिल बुझाइदिनू ---------------------१
उक्त रायमा सहमत छु ।
न्या. जगदीश शर्मा पौडेल
इजलास अधिकृतः सन्तोषप्रसाद पराजुली
इति संवत् २०७२ साल माघ ११ गते रोज २ शुभम् ।