शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५४२ - लेनदेन

भाग: ५८ साल: २०७३ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७२।२।३२।२

०६९-CI-०१४८

 

मुद्दाः लेनदेन ।

 

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३० ठमेल बस्ने संजीव तुलाधर

विरूद्ध

प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, नंखेल गा.वि.स. वडा नं. ९ बस्ने शम्भूलालदेव प्रधान

 

सुरू जिल्ला अदालतले फैसला गर्दा वादीको वारेसले दिएको निवेदन र सो निवेदनमा निमित्त स्रेस्तेदारले गरेको तोक आदेशतर्फ न्यायिक मनको प्रयोग गर्न सकेको अवस्था देखिँदैन । वादीको वारेसले दिएको निवेदन व्यहोराबाट र निमित्त स्रेस्तेदारको तोक आदेशको व्यहोराबाट वादीको वारेसले जानाजान तारेख गुजारी बसेको भन्ने देखिँदैन । वादी अमेरिकामा बस्ने गरेका हुँदा निजलाई उपस्थित गराउनको लागि समय माग गरी तारेख रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी वादीको वारेसले दिएको निवेदनमा निवेदन मागबमोजिम पक्षलाई उपस्थित गराउने समय प्रदान गरी तारेखमा राखी राख्न मिलेन भनी नि. स्रेस्तेदारबाट आदेश भएको कारण वादीको वारेस तारेखमा नबसेको भन्ने देखिँदा यस्तो अवस्थालाई वादी पक्ष स्वयंले जानाजान तारेख गुजारी बसेको भन्ने अर्थ गर्न मिल्दैन । अदालतकै आदेशअनुसार वादीको वारेस तारेखमा नबसेको र प्रतिवादीले रकम तिर्न बाँकी नरहेको भनी तारेखमै बसिराखेको भन्ने आधारमा मुद्दा डिसमिस गरिएकोलाई तथ्यको विश्लेषण गरी भएको भन्न    नमिल्ने ।

(प्रकरण नं.२)

वादी अमेरिकामा बस्ने गरेको र वादी वारेस तारेखमा बस्न खोज्दाखोज्दै निजलाई तारेखमा राखी राख्न परेन भनी आदेश गरिदिएको कारणले तारेखमा नबसेको देखिनुलाई वादीको वारेसले जानीजानी तारेख गुजारी थाम्ने थमाउने म्यादसमेत गुजारी बसेको भन्न नमिल्ने ।

पक्षलाई उपस्थित गराउन समय माग गरी तारेखमा रहन पाउँ भनी निवेदन दिएपछि पक्ष उपस्थित गराउन समय दिन नपर्ने कानूनबमोजिमको कारण भए सोही कुरा स्पष्ट खुलाई आदेश गरिनुपर्नेमा तारेखमै बस्छु भनी रहेको वारेसलाई तारेखमा राखि राख्न मिलेन भनी आदेश दिनुलाई न्यायसम्मत भन्न नमिल्ने ।

पक्षलाई उपस्थित गराउन समय दिन नपर्ने कानूनबमोजिमको कुनै कारण नै रहे पनि सो कारणले वारेसलाई तारेखमा राख्न नपर्ने भन्ने हुँदैन । वादीले पैसा लिन बाँकी छ भनिरहेको र प्रतिवादीले पैसा तिरिसकेको छु भनेको अवस्थामा विवादको निराकरण गर्नको लागि पनि वादी स्वयंलाई उपस्थित गराई जो बुझ्नुपर्ने हुन्छ त्यतापट्टि लाग्नुको सट्टा वादीको वारेसकै तारेख टुटाउने कार्य हुन गएको देखिदा नि. स्रेस्तेदारको आदेश नै गलत देखिन्छ । त्यस्तो गलत आदेशको भर गरी वादीको वारेसले तारेख छोडेको भन्ने अर्थ गरी भएको डिसमिस फैसलालाई न्यायको रोहबाट हेर्दा त्रुटिपूर्ण भन्नुपर्ने हुन्छ । त्यसैले सुरूको डिसमिस फैसलालाई रितपूर्वकको भन्न नमिल्ने भई सुरूको फैसला बेरितको ठहर्‌याई पक्षहरूलाई तारेख तोकी पुनः इन्साफका लागि मिसिलसमेत सुरूमा पठाएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिई अन्यथा भन्न नमिल्ने ।

(प्रकरण नं.३)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

सुरू तहमा फैसला गर्नेः 

मा.जि.न्या.श्री बलभद्र बास्तोला

पुनरावेदन तहमा फैसला गर्ने : 

मा.न्या.श्री एकराज आचार्य

मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल

 

फैसला

न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६९।०१।१०।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतसमक्ष पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर देहायबमोजिम रहेको छ :

 

तथ्य खण्ड

फिराद दाबीको सङ्क्षिप्त व्यहोरा

विपक्षीले म फिरादीबाट मिति २०५६।०८।०१।४ मा लिएको साँवा रू.१२,०००००।- (बाह्र लाख) र सोको फिराद दायर गर्दासम्म ८ वर्ष ६ महिना २ दिन अवधिको १० प्रतिशतको दरले हुने ब्याज रकम रू.१०,२०,६६८।- (दश लाख बिस हजार छ सय अठसठ्ठी रूपैयाँ) समेत गरी जम्मा रू.२२,२०,६६८।- (बाइस लाख बिस हजार छ सय अठसठ्ठी रूपैयाँ) र फैसला भई लेनदेन रकम असुलउपर नभएसम्मको ब्याज र कोर्ट फीलगायतका दस्तुरसमेत विपक्षीबाट भराइपाऊँ ।

 

प्रतिवादी संजीव तुलाधरले पेस गरेको प्रतिउत्तरको सङ्क्षिप्त व्यहोरा

विपक्षीको फिरादपत्र स्वतः खारेजभागी छ । मिति २०५६।०८।०१ मा विपक्षी र मेरो बिचमा भएको तमसुकको सक्कलप्रति निज विपक्षीका मानिस उमेशमान अमात्यले मलाई फिर्ता गरेका 

हुन् । म प्रतिउत्तर पत्रवालासँग रकम बुझी लिई सकेको अवस्थामा पनि मलाई दुःख दिने नियतले दायर गरेको विपक्षीको फिराद दाबी खारेजभागी हुँदा अ.बं. १८० नं. बमोजिम खारेज गरिपाऊँ । 

 

प्रतिवादीका वारेस लक्ष्मणप्रसाद फुँयालले अ.बं. ७८ नं. बमोजिम गरेको बयान

वादीले पेस गरेको मिति २०५६।०८।०१ को रू. १२,००,०००।- (बाह्र लाख रूपैयाँ) को सक्कल तमसुक व्यहोरा साँचो भएपनि वादीले पेस गरेको तमसुक प्रतिवादीले बनाउँदा एक प्रति मात्र बनाई वादीलाई दिएको र उक्त सक्कल तमसुक वादीका भानिज नाताका उमेशमान अमात्यमार्फत रकम चुक्ता गरी सक्कल तमसुक वादीबाट प्रतिवादीले फिर्ता लगेकोले सो फिर्ता लिएको तमसुक प्रतिवादीबाट यसै अदालतमा पेस भएकै छ । वादीले पेस गरेको सक्कल तमसुक प्रतिवादीले लेखाइदिएको होइन । सो लिखत व्यहोरा ठिक हो । सोमा भएको ल्याप्चे र सहीछाप प्रतिवादी संजिव तुलाधरको नभई किर्ते हुँदा जाँच गरिपाऊँ ।

 

वादीका वा. राजेन्द्र श्रेष्ठले अ.बं. ७८ नं. बमोजिम गरेको बयान

प्रतिवादीले पेस गरेको रकम बुझाएको भर्पाई सद्दे नभई किर्ते खडा गरेका हुन् । मैले पेस गरेको सक्कल तमसुक प्रतिवादी वारेसले व्यहोरा साँचो भएपनि सोमा लागेको ल्याप्चे र सही किर्ते हो भनी गरेको बयान झुट्ठा हो । लिखत सद्दे नै हुँदा साँवा र ब्याज प्रतिवादीबाट भराई पाउनुपर्छ ।

 

वादीका साक्षी रामलाल प्रधानले गरेको बकपत्र

लेनदेन कारोबार भएको हो । प्रतिवादीले साँवा ब्याज दिनुपर्ने हो ।

 

वादीका साक्षी रामलाल प्रधानले गरेको बकपत्र

लेनदेन कारोबार यी दुवै बिच भएको हो । अरू थाहा भएन । साँवा ब्याज दिनुपर्ने हो ।

 

प्रतिवादीका साक्षी रजत गुरूवाचार्यले गरेको बकपत्र

प्रतिवादीले वादीबाट उक्त मितिमा रू. ९,००,०००।- रूपैयाँ लिई बाह्र लाख रूपैयाँ ब्याजसमेत गरी कागज गरेको हो । उक्त सबै रकम वादीलाई दिइसकेका छन् । प्रतिवादीले वादीका भान्जा उमेशमान अमात्यले सबै रकम बुझी भरपाईसमेत गरी पुरानो तमसुक फिर्ता ल्याएर दिएका हुन् । सबै रकम चुक्ता भइसकेको छ । वादीले उमेशमान अमात्यलाई चिनाई दिई लिएर आई पैसा बुझी भरपाई गरिदिएको हो । मिति २०६५।२।३१ मा सबै चुक्ता भएको हो । सोही अनुसार कागजसमेत गरिदिएको हो । वादी शम्भुलालदेव प्रधान आफैँ आई उमेशमानलाई चिनाएर बाँकी पैसा उहाँलाई नै दिनु भनी भनेको हुँदा पैसा दिएको हो तमसुकसमेत उमेशमान अमात्यसँग नै  थियो ।

 

लिखत अन्तर साक्षी बद्रीनारायण फैजुले गरेको बकपत्र

उक्त मितिको लिखतकागज देखाउँदा देखेँ सुनेँ । सोमा भएको व्यहोरा ठिक साँचो हो । लिखत उल्लेख भएबमोजिम दुवै पक्ष बिच लेनदेन भएको 

हो । सोमा साक्षीको रूपमा मैले सहीसमेत गरेको ठिक साँचो हो । सो सही मेरै हो । लेनदेन कारोबार पहिले नै लिइसकेको हुनाले पछि सो कागज तयार गरी सहीछाप गरेकोसमेत हो । म लेनदेन भएको बेलामा थिइन । सुरूमा मेरो अगाडि १०(दश) लाखको कारोबार भएको हो । पछि कागज गर्दा खेरी बाह्र लाखको कागज गरेको हो । २(लाख) बढी के कसरी ब्याजसमेत उल्लेख गरी लेखाएको होला सो कागज गर्दा बाह्र लाखको लेनदेन कारोबार भएको थिएन । पहिले भएको कारोबारको व्यहोरा लेखी कागज भएको हो ।

 

लिखत भरपाइमा उल्लिखित व्यक्ति उमेशमान अमात्यले सुरूमा गरेको बकपत्र

मिति २०६४।११।५ र २०६५।०२।३१ गतेको दुवै मितिको भरपाई कागज देखाउँदा देखेँ सोमा भएको व्यहोरा मैले लेखी भरपाई गरी सही गरेको 

हो । उक्त भरपाई जमलको नबिल बैंङ्कको अगाडिको क्याफेमा गरिदिएको हुँ । उक्त देखाइएको भरपाईको पछाडि उल्लिखित व्यहोरा मैले लेखेको होइन । उक्त कुनै व्यहोरा मैले भरपाई गर्दा लेखिएको थिइन । मैले सादा कागजमा लेखी भरपाई गरी सही गरेको हो । व्यहोरा मैले नै लेखेकोसमेत साँचो हो । दुवै पक्षबिचको अगाडि पछाडिको कारोबार सम्बन्धमा मलाई केही थाहा छैन । मलाई चिनाएपश्चातको वादीले सक्कल तमसुक दिएको र तमसुक दिनुअगाडि मलाई प्रतिवादी संजीव तुलाधरसँग चिनाई दिएको र संजीवले पनि अब शम्भू दाई तपाइँँ आउनु पर्दैन पैसा म तपाइँँको भान्जालाई नै दिन्छु भनी भनेको हुँदा तमसुकमा उल्लिखित रकम केही मैले लिईसकेँ बाँकी रू.३,२५,०००।- तिमी निज प्रतिवादीसँगै लिनु भनी मलाई सक्कल तमसुक दिनुभयो सोहीअनुसार म उक्त बाँकी रू. ३,२५,०००।- पैसा लिनको लागि प्रतिवादी संजीव तुलाधरको घरमा बारम्बार गई रहेँ २ वर्ष लगाएर उक्त रकम मैले पाएँ अब सो लिखतमा उल्लिखित रकम लिनदिन बाँकी नभएको हुँदा उक्त सक्कल लिखत प्रतिवादी संजीव तुलाधरलाई दिएकोसमेत साँचो हो ।

 

सुरू भक्तपुर जिल्ला अदालतको मिति २०६७।३।३१।५ को डिसमिस फैसला

वादी वा राजेन्द्र श्रेष्ठले मिति २०६६।११।१८ देखि तारेख गुजारी मिति २०६६।१२।१३ मा वादीले वारेस बदली गोपालबहादुर श्रेष्ठलाई राखी निजले दिन २५ गुज्रेको तारेख थामी पाउँ भनी निवेदन दिई पुनरावेदन अदालत, पाटनको मिति २०६७।१।३१ को आदेशले गुज्रेको म्याद थाम्ने आदेश भएको र पछि पुनः यिनै वारेसले मिति २०६७।२।३० देखि आजका मितिसम्म तारेख गुजारी अ.बं. ५९ नं. तथा ६२ नं. बमोजिम थाम्ने थमाउने म्यादसमेत भुक्तान भैसकेको र प्रतिवादीले वादी दाबीलाई स्वीकार नगरी प्रतिउत्तर फिराई तारेखमा रही रहेको स्थिति हुँदा प्रस्तुत मुद्दा अ.बं. १८५(क) नं. बमोजिम डिसमिस हुने ठहर्छ । 

 

वादी शम्भुलाल देव प्रधानले पुनरावेदन अदालत, पाटनमा गरेको पुनरावेदन पत्र

सुरू अदालतबाट तोकेको तारेख मेरा वारेसले गुजारी बसेको नभई स्वयं सुरू अदालतले झुक्यानमा पारी तारेख टुटाएको पक्षलाई उपस्थित गराउने मनासिब माफिकको समय पाउँ भनी दिएको निवेदनमा कुनै समय नै उपलब्ध नगराई पक्षको वारेस निवेदनसहित अदालतमा उपस्थित हुँदाहुँदै सोही दिनबाट तारेख छाडेको भनी तारेख पर्चामा जनाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०६७।३।३१ मा डिसमिस हुने ठहराएको फैसला उल्टी गरी प्रतिवादी र मबिच १२ लाख लिनु दिनु गरिसकेपछि प्रतिवादीबाट आजका मितिसम्म कुनै रकम प्राप्त नगरेको म पुनरावेदकका तर्फबाट उमेशमान अमात्य नाम गरेका व्यक्तिलाई कुनै रकम बुझी लिन अख्तियारी एवं मन्जुरी नदिएको र निजको तर्फबाट रकम प्राप्त नगरेकोले फिरादमा उल्लिखित रकम दिलाई भराई पाऊँ ।

 

पुनरावेदन अदालत, पाटनको मिति २०६७।११।२ को विपक्षी झिकाउने आदेशः

वादीको वारेसले वादी अमेरिकामा भएकोले निजलाई उपस्थित गराउन अन्दाजी २ महिनाको समय माग गरी मिति २०६७।२।३० मा निवेदन गरेकोमा निवेदन मागबमोजिम पक्षलाई उपस्थित गराउने समय प्रदान गरी तारेखमा राखिरहन मिलेन भनी नि. स्रेस्तेदारबाट सोही मितिमा तोक आदेश गरेको देखिँदा उक्त आदेशबमोजिम वादी वा. तारेखमा नरहेको, नबसेकोमा सोही मितिदेखि तारेख गुजारी बसेको भनी मुद्दा डिसमिस गर्ने गरी सुरू भक्तपुर जिल्ला अदालतबाट भएको मिति २०६७।३।३१ को डिसमिस फैसला फरक पर्ने हुँदा छलफलका लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नू ।

 

पुनरावेदन अदालत, पाटनको मिति २०६९।०१।१०।१  को फैसलाः

वादीको वारेस मिति २०६७।२।३० मा अदालतसमक्ष उपस्थित भएको भन्ने कुरा देखिँदादेखिँदै वादीले मिति २०६७।२।३० देखि आजको तारेख गुजारी अ.बं. ५९ नं. तथा ६२ नं. बमोजिम थाम्ने थमाउने म्यादसमेत भुक्तान भैसकेको र प्रतिवादीले वादी दाबीलाई स्वीकार नगरी प्रतिउत्तर फिराई तारेखमा रहिरहेको स्थिति हुँदा प्रस्तुत मुद्दा अ.बं. १८५(क) नं. बमोजिम हुने ठहर्‌याई सुरू भक्तपुर जिल्ला अदालतले मिति २०६७।३।३१ मा गरेको डिसमिस फैसला बेरितको देखिँदा बदर हुने ठहर्छ । पक्षहरूलाई तारेख तोकी जे जे बुझ्नुपर्ने हो बुझी पुनः कानूनबमोजिम इन्साफ गर्नु भनी मिसिल सुरू भक्तपुर जिल्ला अदालतमा पठाइदिनु । 

 

इन्साफ खण्डः

नियमबमोजिम निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितका मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरी पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्नेसम्बन्धमा विचार गरी निर्णय गर्नु परेको छ ।  

यसमा वादीको मुख्य फिराद दाबीमा प्रतिवादीले लिएको ऋण रकम म्यादभित्र नबुझाएकोले साँवा ब्याजसमेत भराई पाउँ भन्ने देखिन्छ । प्रतिवादीको प्रतिउत्तर जिकिर हेर्दा सोमा तमसुकअनुसारको रकम वादीले बुझिसकेको हुँदा फिराद खारेज गरिपाउँ भन्ने रहेको देखिन्छ । सुरू भक्तपुर जिल्ला अदालतले वादी पक्षले तारेख गुजारी बसेको आधारमा मुद्दा डिसमिस हुने फैसला गरेको र पुनरावेदन अदालत, पाटनबाट सुरूको फैसला बेरितको देखिएको भनी बदर गरी पुनः इन्साफको लागि मिसिलसमेत सुरूमा पठाउने ठहर्‌याई फैसला भएकोमा सो फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन पर्न आएको देखियो । 

२. निर्णयतर्फ विचार गर्दा सुरू जिल्ला अदालतले फैसला गर्दा वादीको वारेसले दिएको निवेदन र सो निवेदनमा निमित्त स्रेस्तेदारले गरेको तोक आदेशतर्फ न्यायिक मनको प्रयोग गर्न सकेको अवस्था देखिँदैन । वादीको वारेसले दिएको निवेदन व्यहोराबाट र निमित्त स्रेस्तेदारको तोक आदेशको व्यहोराबाट वादीको वारेसले जानाजान तारेख गुजारी बसेको भन्ने देखिँदैन । वादी अमेरिकामा बस्ने गरेका हुँदा निजलाई उपस्थित गराउनको लागि समय माग गरी तारेख रही मुद्दाको पुर्पक्ष गर्न पाउँ भनी वादीको वारेसले दिएको निवेदनमा निवेदन मागबमोजिम पक्षलाई उपस्थित गराउने समय प्रदान गरी तारेखमा राखी राख्न मिलेन भनी नि. स्रेस्तेदारबाट आदेश भएको कारण वादीको वारेस तारेखमा नबसेको भन्ने देखिँदा यस्तो अवस्थालाई वादी पक्ष स्वयंले जानाजान तारेख गुजारी बसेको भन्ने अर्थ गर्न 

मिल्दैन । अदालतकै आदेशअनुसार वादीको वारेस तारेखमा नबसेको र प्रतिवादीले रकम तिर्न बाँकी नरहेको भनी तारेखमै बसिराखेको भन्ने आधारमा मुद्दा डिसमिस गरिएकोलाई तथ्यको विश्लेषण गरी भएको भन्न मिल्दैन ।

३. वादी अमेरिकामा बस्ने गरेको र वादी वारेस तारेखमा बस्न खोज्दाखोज्दै निजलाई तारेखमा राखी राख्न परेन भनी आदेश गरिदिएको कारणले तारेखमा नबसेको देखिनुलाई वादीको वारेसले जानीजानी तारेख गुजारी थाम्ने थमाउने म्यादसमेत गुजारी बसेको भन्न मिलेन । पक्षलाई उपस्थित गराउन समय माग गरी तारेखमा रहन पाउँ भनी निवेदन दिएपछि पक्ष उपस्थित गराउन समय दिन नपर्ने कानूनबमोजिमको कारण भए सोही कुरा स्पष्ट खुलाई आदेश गरिनुपर्नेमा तारेखमै बस्छु भनिरहेको वारेसलाई तारेखमा राखिराख्न मिलेन भनी आदेश दिनुलाई न्यायसम्मत भन्न मिलेन । पक्षलाई उपस्थित गराउन समय दिन नपर्ने कानूनबमोजिमको कुनै कारण नै रहे पनि सो कारणले वारेसलाई तारेखमा राख्न नपर्ने भन्ने हुँदैन । वादीले पैसा लिन बाँकी छ भनिरहेको र प्रतिवादीले पैसा तिरिसकेको छु भनेको अवस्थामा विवादको निराकरण गर्नको लागि पनि वादी स्वयंलाई उपस्थित गराई जो बुझ्नुपर्ने बुझ्न पर्ने हुन्छ त्यतापट्टि लाग्नुको सट्टा वादीको वारेसकै तारेख टुटाउने कार्य हुन गएको देखिँदा नि. स्रेस्तेदारको आदेश नै गलत देखिन्छ । त्यस्तो गलत आदेशको भर गरी वादीको वारेसले तारेख छोडेको भन्ने अर्थ गरी भएको डिसमिस फैसलालाई न्यायको रोहबाट हेर्दा त्रुटिपूर्ण भन्नुपर्ने हुन्छ । त्यसैले सुरूको डिसमिस फैसलालाई रितपूर्वकको भन्न नमिल्ने भई सुरूको फैसला बेरितको ठहर्‌याई पक्षहरूलाई तारेख तोकी पुनः इन्साफका लागि मिसिलसमेत सुरूमा पठाएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिई अन्यथा भन्न मिलेन ।

४. अतः पुनरावेदन अदालत, पाटनको मिति २०६९।०१।१०।१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न  सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।  

 

उक्त रायमा सहमत छु ।

न्या.गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृत: बाबुराम सुवेदी

इति संवत् २०७२ साल जेठ ३२ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु