निर्णय नं. ९५४५ - गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति : २०७२।३।१३।१
मुद्दाः गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
०६७-CR-०३५३
पुनरावेदक / वादी : अनुसन्धान अधिकृत दिनेशहरि अधिकारीको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
विपक्षी / प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं. १० बुद्धनगर बसोबास गरी तातोपानी भन्सार कार्यालयमा खरिदार पदमा कार्यरत भरतप्रसाद घिमिरेसमेत
०६७-CR-१०६२
पुनरावेदक / प्रतिवादी : भरतप्रसाद घिमिरेकी श्रीमती काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. १० बुद्धनगर बस्ने वर्ष ४५ की रमादेवी घिमिरेसमेत
विरूद्ध
विपक्षी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत दिनेशहरि अधिकारीको प्रतिवेदनले नेपाल सरकार
०६७-CR-१०६३
पुनरावेदक / प्रतिवादी : चतुर्भुज घिमिरेको छोरा, भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं.९ बस्ने ऐ. को छोरा नारायण प्रसाद घिमिरेसमेत
विरूद्ध
विपक्षी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत दिनेशहरि अधिकारीको प्रतिवेदनले नेपाल सरकार
जसका नाममा बिल बिजक देखिन्छ त्यो वस्तु उसैको हुनेमा त्यसको अनदेखा गरी सोको विपरीत प्रतिवादीको भाइको व्यापारिक कारोबारको घडी छापा मार्दा भरतप्रसाद घिमिरेको घरमा फेला परेको उल्लेख गरी सोको स्रोतसमेत निजले नै पुष्टि गर्नुपर्छ भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं.१२)
विवादित रकम जसका नाममा रोक्का रहेको छ उसैको हुन्छ । जहाँसम्म बैंकमा रोक्का रहेको रकम प्रतिवादीले गैरकानूनी आर्जन गरी भ्रष्टाचार गरेका हुन् भनी आरोपित गरिसकेपछि बैंकको खातावालालाई पनि प्रतिवादी बनाई मुद्दा चलाउन सक्नुपर्ने हुन्छ । खातावाला व्यक्तिलाई अभियुक्त बनाई मुद्दा दायर पनि नगर्ने र अर्काको खातामा रहेको रकमसमेत यिनै प्रतिवादीको हो भनी सो रकमको समेत स्रोत पुष्टि गर्नुपर्दछ भनी उक्त रकममा समेत यिनै प्रतिवादी भरतप्रसाद घिमिरेको कायम गरी गैरकानूनी आर्जन भनी सजाय ठहर गर्नु न्यायोचित नहुने ।
अभियोग लगाउने पक्षले आफूले लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्नुपर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त हो । भ्रष्टाचारलगायत कतिपय फौजदारी मुद्दामा प्रमाणको भार प्रतिवादीले नै पुर्याउनु पर्ने गरी व्यवस्था गरिएको भएपनि अभियोग लगाउने पक्षले अभियोग लगाइसकेपछि आफ्नो दायित्वबाट पुरै पन्छिन मिल्छ भनी अर्थ गर्न नमिल्ने ।
(प्रकरण नं.१५)
प्रतिवादीका नाममा रहेको सम्पत्ति निजको कारोबार र सो कारोबारबाट बढे बढाएको छ छैन भन्ने कुराको मापन निजको कारोबारबाट हेर्न सकिने विषय हुन्छ । रू. ३ लाख १० हजारमा आफ्नो पैतृक सम्पत्ति बिक्री गरेको कार्यलाई प्रतिवादीले पेस गरेको गा.वि.स. कार्यालयको कागजलाई अन्यथा नभएपछि सोपश्चात् खरिद भएको जग्गाको सम्पत्तिमा स्रोत नखुलेको भन्न नमिल्ने ।
तत्कालीन निजामती सेवा ऐनले निजामती कर्मचारीलाई ऋण लिनेदिने कार्य गर्न रोक लगाएको देखिँदैन । मुलुकी ऐन लेनदेन व्यवहारको २ नं. समेतले त्यसलाई कानूनी बैद्यता दिएको देखिन्छ । ऋण लिनेदिने कानूनी व्यवस्थाको बैद्यतामा वादी पक्षले प्रश्न उठाएको देखिँदैन । कानूनद्वारा रोक नलगाएको कारोबारबाट प्रतिवादीले आर्जन गरेको सम्पत्तिमा गैरकानूनी आर्जन हो भनी अर्थ गर्न नमिल्ने ।
उद्योगको आय गणना गर्ने कार्यमा प्रतिवादीले दिएको कारोबारको सूचीलाई आयोगले अन्यथा गर्न मिल्दैन । बढी कारोबार र आय बढी देखिएमा त्यसमा कर प्रणालीले प्रतिवादीलाई करको दायित्वतर्फ कानूनबमोजिम असुल गर्न सक्छ र आयोगले त्यसतर्फ सम्बन्धित कर कार्यालयलाई सचेत गर्न र बुझ्न सक्छ त्यस्तो भएको नदेखिँदा प्रतिवादीले पेस गरेको आयलाई अन्यथा भन्न नमिल्ने ।
छोरीको ट्युसन फी ससुराबाट प्राप्त रकम र दिदीबाट प्राप्त गरेको अंकलाई हेर्दा प्रतिवादीको कारोबार सगोलको अवस्था र निजको हैसियतलाई नसुहाउने प्रकृतिको देखिँदैन । प्रतिवादीले पेस गरेको आयको स्रोतलाई अवैध हो भन्ने कायम गर्दा त्यसलाई पुष्टि गर्ने प्रमाण आधार पनि हुनुपर्ने ।
प्रतिवादीको भागमा पर्ने कुल सम्पत्ति निजको पैतृकसम्बन्धी त्यसबाट बढे बढाएको सम्पत्ति कृषि आय तथा सगोलका परिवारले गरेको कारोबार र त्यसबाट आर्जन गरेको सम्पत्तिमा प्रतिवादीको के कति हिस्सा पर्न आउने हो सोतर्फ पनि यथेष्ट प्रमाणबाट प्रतिवादीको दान दातव्य उपहार बिलासितापूर्ण जीवन यापन गरेको भन्ने देखिनुपर्ने ।
आय र व्ययको स्रोत मापन गर्ने मात्रको कार्य त कर प्रणालीले नै सुनिश्चित गरेको हुन्छ । करको दायित्वमा कानून प्रतिकूल भए तत् निकायबाट हेरिने विषयलाई भ्रष्टाचारको अभियोगमा सजाय गर्नु उपयुक्त हुँदैन । प्रतिवादीले गरेको कारोबार निजले कारोबार गरेबापत राज्यलाई बुझाएको कर र निजको आयस्रोत अस्वाभाविक देखिएको हुनुपर्दछ । कर तिर्दैमा भ्रष्टाचारबाट उन्मुक्ति हुन नसक्ने ।
(प्रकरण नं.१७)
पैतृक सम्पत्तिको आधार विना पनि कसैले आफ्नै उद्यमताले आय आर्जन उपायहरू अवलम्बन गरेको हुन्छन् भने उद्यमता र कारोबारविहीन सम्पत्ति देखिन्छ भने त्यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० द्वारा अनुमानित गरी कसुरदार ठहर गर्नुपर्ने नै हुन्छ । कुनै निजामती कर्मचारीले उद्योग र आय आर्जन गर्ने कारोबार नै गर्न पाउँदैन भन्न
मिल्दैन । जग्गाको किनबेच समयको अन्तरालमा त्यसको मूल्यमा वृद्धि र कारोबार गर्दा मालपोत कार्यालयमा देखाउने मूल्य र वास्तविकरूपमा भएको कारोबारमा धेरै नै अन्तर भने रहेको हुन्छ भनी अनुमान गर्न नसकिने ।
(प्रकरण नं.१८)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, अधिवक्ता रामप्रसाद भण्डारी, माधवकुमार बस्नेत र यादवप्रसाद ढुंगाना
अवलम्बित नजिर :
सम्बद्ध कानून :
आदेश
न्या.गोपाल पराजुली : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तातोपानी भन्सार कार्यालयका खरिदार भरतप्रसाद घिमिरेले भ्रष्टाचार गरी करौडौं रूपैयाँको सम्पत्ति कमाएको भन्ने व्यहोराको रमेश घिमिरेले मिति २०५८।१२।१२ मा रामकृष्णलगायतका व्यक्तिले मिति २०५९।४।२९ मा र उत्तमकुमार श्रेष्ठले मिति २०५८।१०।३ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आवश्यक कारवाहीको लागि दिएको निवेदनको आधारमा उक्त आयोगले विस्तृत अनुसन्धान गर्दा निम्न लिखित व्यहोरा भएको देखिन आयो ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बुद्धनगर, बुद्ध मार्ग घर नं. ७७१।८२ को भरतप्रसाद घिमिरेको घर मिति २०५९।५।१ मा खानतलासी गर्दा इटालियन प्रयोग नगरेको गुड्ने चार पाङ्ग्रा भएको तिन हजार वाटको थास हिटर, सोफा २ सेट, टेबुल, रिमोट कन्ट्रोल भएको स्पिकरसहितको सि.डि. प्लेयर, सोनियो कम्पनीको ईलेक्ट्रिक हिटर, ८।१२ को गलैँचा र नेपाली कार्पेट टाँसिएको, काठको सिसा भएको सो केस थान–२, तिन खण्ड भएको भित्तामा फीक्स गरिएको लम्बाई १० र चौडाई ८ फिटको काठको दराज, रा.वा. बैंक रानी विराटनगरको पास बुक, रमादेवी घिमिरेको नामको ने.बै.लि. विराटनगरको पासबुक र रू.४५,०००।–जम्मा गरेको भौचर, चेकबुक, भरतप्रसाद घिमिरेको रा.वा. बैंक रानी विराटनगरको चेकबुक, रमादेवी घिमिरेको नेपाल अरब बैंक लि.को चेक बुक, मूल्याङ्कन आ.व.२०५८/५९ लेखिएको ३६ पृष्ठको सेतो कागजमा लेखिएको कापी, यु.यस डलर ८३८, भा.रू.८२८१०, ने.रू.१८,७८,५००।– प्रयोगमा रहेको २५ इन्चको सोनी टि.भि. र भि.सि.डि., पेन्टियम थ्री कम्प्युटर, सिको जेन्टस, लेडिज सिको, राडो जेन्टस, यामाहा जेन्टस, रोमान्सन जेन्टस, सिटिजन घडीहरू एवं पुरानो र नयाँ विभिन्न खाले घडी थान २२, वाकमेन, पानासोनी टेलिफोन, घरको कागजात भएको फाइल थान –४, डायरी ४ थान, रमादेवी, रिंकु, रूबी र रितेशको पार्सपोर्ट, सुनको बुट्टेवाला थान २ (अन्दाजी २ तोला), सुनको वुट्टे सिक्री थान १ (अन्दाजी १ तोला), सुनका औंठीहरू (अन्दाजी ५ तोला), सुनको चुरा थान ४ (अन्दाजी २ तोला), गिन्नीको नेक्लेस एक सेट (अन्दाजी १ तोला), सुनको नेकलेस एक सेट (अन्दाजी ३ तोला), सुनको व्रास्लेट थान २ (अन्दाजी ४ तोला), सुनको बिस्कुट थान १ (अन्दाजी १५ तोला), सुनको बिस्कुट थान १ (अन्दाजी २ तोला), सुनको चुरा, नेकलेस थान २ (अन्दाजी ३ तोला), सुनको नेक्लेस सेट थान १ (अन्दाजी ३ तोला), गहनासम्बन्धी बिलहरू, झ्यालमा फिट गरेको एयर कन्डिसन थान एक, पानासोनि भिडियो क्यामेरा थान एक, ओभन थान १ देखिएकोमा सोमध्ये निम्नबमोजिमका नगद, सुन चाँदी, घडी कागजातहरू बरामद गरेको देखिएको ।
नगद
(क) भारतीय रूपैयाँ ८२,८१०। –
(ख) ने.रू. १८,७८,५००। –
(ग) यु.यस. डलर ८३८।-
सुन र चाँदी
(क) ५ टेल सुन उल्लेख भएको लामो आकारको बिस्कुट गोटा १
(ख) १० तोलाको RNA लेखेको सुनको बिस्कुट गोटा १
(ग) बिचमा प्वाल भएको सुनको टुक्रा (९९९९ लेखेको) थान १
बैंक कारोबारसम्बन्धी कागजात
१. ने.बै.लि.को रमादेवी घिमिरेको नामको पासबुक, चेकबुक, ऐ. नामको नबिल बैंकको चेकबुक ।
२. विष्णुप्रसाद उपाध्यायको रा.वा. बैंकको पास बुक, भौचरहरू, चेकबुक र सही गरिएका चेकहरू ।
३. रा.वा. बैंक रानी विराटनगरको भरतप्रसाद घिमिरेको नामको पास बुक ।
४. नेपाल बंगालादेश बैंकको डिपोजिट स्लिप ।
५. भरतप्रसाद घिमिरेको रा.वा.बैंकको चेक ।
६ कृष्णप्रसाद अधिकारीको नामको नेपाल बंगलादेश बैंकको चेक थान ।
७. नारायण घिमिरेको नामको रू.१५,८०,०००।– सूर्य पस्मिना उल्लेख भएको नबिल बैंकको मिति २०५९/३/२२ उल्लेख भएको चेक थान १ र ऐ.ऐ.को रू. १०,००,२३५/– लेखिएको चेक समेत रहेको विभिन्न टिपोट लेखिएको खाम ।
जग्गासम्बन्धी कागजात
जग्गाधनी पुर्जा ५ थान, राजीनामा र बकसपत्र गरी ४ थान ।
अन्य कागजात
क. अर्थ मन्त्रालय, भन्सार कार्यालय, बिमा संस्थान र सञ्चय कोषसम्बन्धी फाइल ।
ख. संगम फाइलमा रहेको १२ थान कागजसहितको फाइल ।
ग. चार थान पासपोर्ट ।
घ. ४ थान डायरी ।
ङ मूल्याङ्कन टिपोट ।
च. सादा मेमो टिपोट कागज ।
३१,९००।– मूल्य बराबरको घडीहरू
क. रातो बट्टामा रहेका सिटिजन जेन्टस घडी (लेदर बैन्ड) थान १
ख. रातो बट्टामा रहेको राडो पहेलो रंग घडी थान १
ग. रातो बट्टाभित्र रहेको लेडिज रोमान्सन चारकुने घडी थान १
घ. रातो बट्टाभित्र रहेको कालो र पहेँलो डायल भएको सिको जेन्टस घडी थान २
ङ रातो बट्टाभित्र रहेको यामाहा घडी थान १
च. निलो बट्टामा रहेको रोमान्सन जेन्टस सेतो डायल घडी थान १
छ. निलो बट्टाभित्र रहेको सेतो डायल भएको घडी थान १
ज कालो बट्टाभित्र रहेको स्वीस लरिन सेतो डायल भएको घडी थान १
झ हरियो बट्टामा रहेको सिको जेन्टस घडी थान १
ञ. रातोबट्टामा रहेको सिको लेडिज घडी थान १
ट. कालो बट्टाभित्र रहेको सिटिजन खरानी रंगको थान १
ठ. रोमान्सन घडी थान १
ड. निलो डेकेम्ब्रिजमा रहेको Cherles लेडिज घडी थान १
अन्य
डिजिटल डायरी २ र सोम्सोनाइट ब्रिफकेस थान १
(घ) पारिवारिक स्थिति
भरतप्रसाद घिमिरेको पुर्ख्यौली घर रामेछाप जिल्ला मन्थली गा.वि.स. मा रहेको र २०३५ सालमा महोत्तरीको खयरमारा गा.वि.स.मा केही वर्ष बसी जनकपुर न.पा. वडा नं. १४ रजौलमा बसोबास गरी २०५१ सालको अन्ततिर का.म.न.पा.वडा नं. १० बुद्ध नगरमा बस्दै आएको देखिन्छ । निजको दाजुभाइहरू बिच आ–आफ्नो व्यवहार अलगअलग रहेको
देखिन्छ । भरतप्रसाद घिमिरेको पिता चतुर्भुज घिमिरेको जेठा छोरा भरतप्रसाद घिमिरे, माहिलो मुकुन्दप्रसाद घिमिरे, साँहिलो जनार्दनप्रसाद घिमिरे, काँहिलो नारायणप्रसाद घिमिरे, ठाँहिलो गणेश प्रसाद घिमिरे, कान्छो प्रकाश घिमिरे रहेका र यी सबैको विवाह भएको र सबै भाइका छोराछोरी गरी १४ जना रहेको
देखिन्छ । भरतप्रसादका माता पिता दुवै भरतप्रसाद घिमिरेसँग नै बसेका छन् । भरतप्रसाद घिमिरेको पुर्ख्यौली घर रामेछापमा हाल चतुर्भुज घिमिरेको नाममा जग्गा जमिन रहेको छ । निजकी श्रीमती घर गृहस्थी, माहिलो भाइ मुकुन्द र निजकी श्रीमती जनकपुरमा घर गृहस्थी, साँहिलो भाइ जनार्दन र निजकी श्रीमती महेन्द्रनगर धनुषामा घर गृहस्थी गरी बसेका छन् भने काहिलो भाइ नारायण र निजकी श्रीमती क्रमशः व्यापार र नोकरी, ठाँहिलो भाइ गणेश र निजकी श्रीमती क्रमशः व्यापार र गृहस्थी, ठुलो कान्छो भाइ व्यापार र निजकी श्रीमती नोकरी, ठाँहिलो भाइ गणेश र कान्छो भाइ प्रकाश तथा निजकी श्रीमती आ–आफ्नै व्यापार व्यवसाय गरी बसेका छन् । भरतप्रसाद घिमिरेको ३ जना छोरा छोरी रहेका र तीमध्ये १८ वर्षे छोरी रिंकुले निष्ट कलेजबाट आ.एस्सी.सकेकी, १५ वर्षे छोरो रितेश हाल होलिल्यान्ड स्कुल काठमाडौंमा कक्षा १० मा तथा १३ वर्षे छोरी रूवी मोडर्न इन्डियन स्कुल काठमाडौंमा कक्षा ७ मा अध्ययनरत देखिन्छ ।
(ङ) वर्तमान सम्पत्ति विवरण
घर
रमादेवी घिमिरेको नामको का.जि.का.म.न.पा.वडानं. १०, कि.नं. २८५,४३७ र ९१ को क्रमशः ०–५–२–०, ०–२–३–२ र ०–३–२–० जग्गामा मूल्य रू.२९,०९,६०७।३१ पर्ने घर निर्माण भएको देखिन्छ ।
जग्गासम्बन्धी विवरण
भरतप्रसाद घिमिरेको नामको जग्गा
१. महोत्तरी जिल्लाको खयरमारा गा.वि.स.वडा नं.५ ग को कि.नं. ६१,०–१०–१४ जग्गा २०४१/७/१ मा रू. ५,०००।– मा राजीनामा गरी लिएको । ०–१०–१४ क्षेत्रफलमध्ये ०–३–० जग्गा खोलाले कटान गरेको एवं किनबेच गर्दा रू.३५,०००।– मा किनबेच गर्न सकिने जग्गाको जि.वि.स. कार्यालय, महोत्तरीको मिति २०५९/७/२६ को पत्रबाट रू. ८५,६००।– मूल्य पर्ने ।
२. का.जि.जोरपाटी गा.वि.स.वडा नं.७ (घ) कि.नं.५३३, ०–८–०–० जग्गा गा.वि.स.को कार्यालय, जोरपाटीको मुचुल्काबाट चलनचल्तीमा प्रति रोपनी रू. ६,५०,०००।– पर्ने भनी उल्लेख भएको आधारमा सो जग्गाको मूल्य रू. ३,२५,०००।– पर्ने देखियो ।
रमादेवी घिमिरेको नामको जग्गा
१. मोरङ वखरी वडा नं. ६(ग) कित्ता नं. ८४३ को रू. ३,३७,५००।– मूल्य पर्ने ०–१–१० जग्गा ।
२. का.जि.का.म.न.पा.वडा नं. १० अन्तर्गत कि.नं. २९७ क्षे.फ. ०–१–०–०, कि.नं. २५८ क्षे.फ. ०–५–२–० र कि.नं. २३५ को क्षे.फ. ०–४–१–३ समेत गरी ०–१०–३–३ जग्गा । उक्त जग्गाको काठमाडौं महानगरपालिकाको मिति २०५९।७।१२ को प्राप्त मुचुल्काअनुसार चलन चल्तीको मूल्य रू. १२,५७,८१२।५० पर्ने ।
३. भक्तपुर बालकोट गा.वि.स. वडा नं.४ कि.नं.८३९ क्षे.फ. ०–४–०–० जग्गा र कि.नं. ८४० को क्षे.फ.०–३–१–०
जग्गा । उक्त जग्गाको मूल्याङ्कन सम्बन्धमा गाउँ विकास समितिको कार्यालय, बालकोट भक्तपुरले मिति २०५९।७।७ मा जि.वि.स. भक्तपुरलाई लेखेको पत्र र मुचुल्काअनुसार प्रति रोपनी रू. १० लाखमा किनबेच हुने गरेको भनी लेखी आएको ।
४. साबिक बालकुमारी गा.वि.स. वडानं. ३ हाल मध्यपुर ठिमी नगरपालिका १४ मा रहेका कि.नं. ४०९, ४११, २१७, ४१० र २३० को क्रमशः क्षे.फ. ०–६–१–०, ०–५–०–०, ०–१–१–०, ०–४–२–० र १–१–०–२ जग्गाको मध्यपुर ठिमी नगरपालिकाले जि.वि.स. भक्तपुरलाई मिति २०५९।७।५ मा लेखेको पत्र र संलग्न मुचुल्काअनुसार माथि उल्लिखित जग्गाको आसपासका जग्गाहरू चलन चल्तीमा प्रतिरोपनी रू. ११,००,०००।– मा किनबेच भइरहेको जानकारी आएको ।
५. साबिक कालिमाटी वडा नं. १(क) हाल वडा नं. १३ को कि.नं. ४३७ को ०–२–३–२ र कि.नं. ९१ को ०–३–२–० जग्गाको मूल्य सम्बन्धमा काठमाडौं महानगरपालिकाको मिति २०५९। ७।१४ को प्राप्त पत्र र मुचुल्काअनुसार चलन चल्तीको मूल्य प्रति आनाको ९५ हजारले ६,०५,६२५।– पर्ने मूल्याङ्कन भै आएको ।
६. काठमाडौं जिल्ला गोंगबु गा.वि.स. वडा नं. ६ मा रहेको कि.नं. ९६८ को ०–९–१–० जग्गाको मूल्याङ्कन प्रतिरोपनी सरकारी मूल्य रू. ९,६०,०००।– र चलन चल्तीको मूल्य प्रति रोपनी रू.३२,००,०००।– रहेको भन्ने कुरा गा.वि.स.को कार्यालय गोंगबुको मिति २०५९/६/२५ को मुचुल्कामा लेखी आएको ।
७ जि.महोत्तरी २५ नं. बहादुरगञ्ज गा.वि.स. वडानं. ३ (ख) कि.नं. ३९५ को क्षे.फ. ०–१–० जग्गा मिति २०४८/१२/२० मा रू. १५,०००।– मा खरिद गरेको र हाल रजिस्ट्रेसन मूल्याङ्कनको लागि रू. ७५,०००।– प्रति कठ्ठा मूल्याङ्कन भएको एवं हाल उक्त जग्गाको गा.वि.स. र मालपोत कार्यालयले गरेको प्रचलित मूल्य रू.२ लाख प्रति कठ्ठा रहेको भनी जि.वि.स. महोत्तरीको मिति २०५९/७/२६ को पत्रमा उल्लेख भएको ।
८. ऐ.ऐ. वडा नं. ७(ख) कि.न. ३६२ (हाल माईस्थान) को ०–२–४ जग्गाको रू. ८८,०००।- पर्ने प्रतिवेदनबाट देखिन्छ ।
चतुर्भुज घिमिरेको नामको जग्गा
रामेछाप साबिक भलुवाजोर गा.वि.स.मा करिब ९ रोपनी जग्गा ।
सेयर
रमादेवी घिमिरेको नाममा साझा स्वास्थ्य सेवा सहकारी संस्था लि.मा रू.१००। – दरका जम्मा मूल्य रू. ५००।– का ५ कित्ता सेयर रहेको ।
बैंक ब्यालेन्ससम्बन्धी विवरण
१. रमादेवी घिमिरेको नामको नेपाल बैंक लि. सिटी अफिस, विराटनगरको बचत खाता नं. १४९९४ मा रू. १४९७।३७ रहेको ।
२. भरतप्रसाद घिमिरेको नामको रा.वा.बैंक रानी शाखा, विराटनगरको बचत खाता नं. १४९० मा रू. ९३०।२५
३. भरतप्रसाद घिमिरेको नामको रा.वा. बैंक मुख्य शाखा कार्यालय काठमाडौंको बचत खाता नं. ००१८८४ मा रू. ५३,३९९।१६ रहेको । (यस मुद्दाका प्रतिवादी भरतप्रसाद घिमिरेको भनी दाबी लिए तापनि अर्कै भरतप्रसाद घिमिरेको देखिई खाता फुकुवा भएको)
४ अनुसन्धानको सिलसिलामा खुल्न आएको कृष्ण पस्मिना आर्टसको प्रोप्राइटर कृष्णबहादुर कुँवरलाई ब्याजमा लगाएको रू. २५,००,०००।–
बरामद भएको नगद
भरतप्रसाद घिमिरेको घरबाट मिति २०५९/५/१ मा खानतलासी हुँदा बरामद भएका नगदसम्बन्धी विवरण निम्नानुसार रहेको छ ।
(क) भारतीय रूपैयाँ ८२,८१०।– (भा.रू. ८२,८१०।– भा.रू. १०० को ने.रू. १६०।– का दरले नेपाली रूपैयाँमा सटही गर्दा हुने रू. १,३२,४९६।–)
(ख) ने.रू. १८,७८,५००। –
(ग) यु.यस. डलर ८३८। (प्रति डलर रू. ७८ का दरले सटही गर्दा हुने ने.रू.६५,३६७।–)
बरामद भएको सुन
मिति २०५९/५/१ मा भरतप्रसाद घिमिरेको घरबाट बरामद हुन आएका सुनको तौल र मूल्याङ्कन गर्नको लागि आयोगबाट अनुरोध गरिएबमोजिम नेपाल सुन चाँदी व्यवसायी संघको मिति २०५९/७/१५ को पत्रबाट सुनको ढिक्का ३ टुक्रा (३४१.३०० ग्राम) को १० ग्रामको बजार दर रू.८,२५०।- का दरले हुने २,८१,५७२।५० भनी उल्लेख भै आएको देखिन्छ । साथै ३१,९००।– मूल्य बराबरको राडो, रोमान्सन, सिंको, सिटिजनलगायतका १४ वटा घडी पनि देखिन्छ ।
प्रतिवादी भरतप्रसाद घिमिरेको नोकरी विवरण
नोकरी विवरण
शैक्षिक योग्यताः– एस.एल.सी.
जन्म मिति :–२०१२/१०/९ हालको वतनः– का.म.न.पा.वडा नं. १० बुद्धनगर, बुद्धमार्ग ।
स्थायी वतनः–जिल्ला, रामेछाप, भलुवाजोर गा.वि.स. वडा नं. ४ मन्थली । घर नं.– ७७१। ८२
सुरू नियुक्ति / पदस्थापना
कार्यालय पद देखि सम्म जम्मा अवधी तलब स्केल कैफियत
पिंगाना गा.वि.स. महोत्तरी गा.पं. सचिव २०३४।३।२९
२०३८।१२।३०करिब ४ वर्ष ९ महिना२२५–१५
३५५–४५ ०३८।४।१ देखि
०३८।३।३१ सम्म
सरूवा
कार्यालय पद देखि सम्म जम्मा अवधि तलब स्केल कैफियत
मालपोत कार्यालय महोत्तरीखरिदार २०३८।११।१०४०।१०।१५करिब २ वर्ष २ महिना३५५–४४५
अर्थ मन्त्रालय राजश्व समूह
कार्यालय पद देखि सम्म जम्मा अवधि तलब
स्केल कैफियत
नेपालगन्ज भन्सार कार्यालय खरिदार ०४०।१०।१६ ०४४।६।१५
करिब ३ वर्ष ८ महिना३५५–४४५
डाईनिया छोटी भन्सार कार्यालय, विराटनगर ,,
०४४।६।१६
०४७।८।९
करिब ३ वर्ष २ महिना७५०–९५९
०४५।३।३१ सम्म
विराटनगर भन्सार कार्यालय ,,
०४७।८।१०
०४९।८।३०
करिब २ वर्ष(१२४०–१५२४)
०५४।४।१२ देखि
त्रि.वि.भ.कार्यालय
,,
०४९।९।१
०५२।५।५
करिब २ वर्ष ८ महिना१५५०–१८३४
अर्थ मन्त्रालय
,,
०५२।५।६
०५२।८।५
करिब ३ महिना१५५०–१८३४
भन्सार विभाग
,,
०५२।८।१०
०५४।४।२०
करिब १ वर्ष ८ महिना१८५०–२१३४
अर्थ मन्त्रालय
,,
०५४।४।२१
०५५।५।२७
करिब १ वर्ष १ महिना१८५०–२१३४
भन्सार विभाग
,,०५५।५।२८
०५५।८।१५
करिब ३ महिना२५००–२७८४
त्रिभुवन विमानस्थल भन्सार कार्यालय ,, ०५५।८।१६
०५८।९।२५
करिब ३ वर्ष १ महिना२५००–२७८४
०५७।४।१ देखि
तातोपानी भन्सार कार्यालय ,, ०५८।९।२६
हालसम्मकरिब ७ महिना२५००–२७८४ ४१००–५७००
हाम्रो पुर्ख्यौली घर रामेछाप जिल्ला मन्थली गा.वि.स. वडा नं.४ मा भई हामी २०३५ सालमा जनकपुरको जलेश्वरमा बसाई आएका हौं । महोत्तरी जिल्लाको खयरमारा गा.वि.स. वडा नं.५ मा केही वर्ष बसी त्यहाँबाट पनि जनकपुर नगरपालिका वडा नं.१४ रजौलमा बसोबास गरी २०५१ सालको अन्ततिर का.म.न.पा.वडा नं.१० बुद्ध नगरमा सगोल परिवारका साथ बसिरहेका छौं । रामेछापमा पिता/काकाको नाममा जग्गा मात्र छ, घर छैन । खयरमारामा सगोलको परिवारमा जग्गा मात्र छ । जनकपुर न.पा.वडा नं. १४, धनुषा महेन्द्रनगर र बुद्धनगरमा समेत घर छ । मेरा पिता चतुर्भुज घिमिरेका नाममा रामेछाप जिल्ला भलुवाजोर गा.वि.स. वडा नं. ४(ङ) कि.नं. ९ मा ४–९–०–२, ऐ.गा.वि.स. वडा नं. ४(छ) कि.नं. १९ मा ३–१२–१–३ जग्गा छ । त्यसैगरी मेरो सहोदर भाइ जनार्दनप्रसाद घिमिरेको नाममा धनुषा हरिहरपुर वडा नं. १(ग) कि.नं. २००८ को ०–१–० जग्गामा बनेको १ तले पक्की पुरानो काठको घर, धनुषा सखुवाको वडा नं. ८ ख.कि.नं. १३२ मा १–०–० धान खेत र महोत्तरी रतवाडा वडा नं. १ कि.नं. ५७३ मा ०–०–७ जग्गा छ ।
मेरो नाममा का.जि.जोरपाटी वडा नं. ७ (घ) कि.नं. ५३३ को ०–८–०–० जग्गा, जिल्ला महोत्तरी खयरमारा गा.वि.स.मा ०–१०–० जग्गा छ । मेरी श्रीमती रमादेवी घिमिरेको नाममा मोरङ वखरी वडा नं. ६ (ग) कि.नं. ८४३ मा ०–१–१–० जग्गा, का.जि.का.म.न.पा.वडा नं. १० कि.नं. २३५ मा क्षे.फ.०–४–१–३ जग्गा, ऐ.को कि.नं. २९७ मा ०–१–०, जग्गा, का.जि.का.न.पा.वडा नं. १० कि.नं. २५८ मा ०–५–२–० घर जग्गा, ऐ. वडा नं. १(क) हाल कि.नं.४३७ मा ०–२–३–२ जग्गा, ऐ.को वडा नं. १(क) कि.नं. ९१ मा ०–३–२–० जग्गा, जिल्ला भक्तपुर बालकुमारी गा.वि.स.वडा नं.३ कि.नं.२३०, ४०९, २१७, ४११, ४१० मा क्रमशः १–१–२–०, ०–६–१–०, ०–१–१–०, ५–०–०,४–२–० क्षे.फ.का जग्गा, ऐ. बालकोट गा.वि.स.वडा नं ४ कि.नं.८४० र ८३९ मा क्रमशः ०–३–१–० र ०–४–०–० जग्गा, काठमाडौं जिल्ला गोंगबु गा.वि.स. वडा नं.६ कित्ता नं.९६८ मा ०–९–१–० जग्गा, महोत्तरी जिल्ला बहादुर गन्जमा ०–१–० जग्गा छन् । का.जि.नगर वडा नं. १० कि.नं. २३४ को ०–४–१–३ जग्गा बिक्री भइसकेको छ ।
मेरा भाइ नारायण घिमिरेका नाममा जनकपुर न.पा. वडा न. १४ रजौलको ०–१–० मा बनेको पक्की घर, माहिलो भाइ मुकुन्द घिमिरेको नाममा धनुषा सखुवा गा.वि.स. र महोत्तरी खयरमारामा जग्गा छ । मेरो नाममा रा.वा.बैंक विराटनगर रानी शाखामा र मेरी श्रीमती रमादेवी घिमिरेका नाममा नेपाल अरब बैंक विराटनगर, नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगरमा बैंक खाता छ । यसबाहेक मेरा परिवारका नाममा अन्य खाता र लकर छैन । मलाई थाहा भएसम्म मेरा एकासगोलका माता, पिता, श्रीमती, छोरा, छोरी, भाइबुहारीसमेतका नाममा सेयर बचत तथा सञ्चित रकम छैन । मैले मेरो नाममा राष्ट्रिय बिमा संस्थानमा २० वर्षे बिमा गरेको छु । मेरा भाइ कुमारप्रसाद घिमिरेको न्युरोडमा घिमिरे ट्रेड एन्ड जनरल सप्लायर्स फर्म छ । प्रकाश घिमिरेको बिजुलीबजारमा प्रकाश इन्टरप्राइजेज सप्लायर्स, नारायण घिमिरेको न्युरोडमा मल्टी प्रिन्टर्स, गणेश घिमिरेको वीरगन्जमा गौरी शंकर इम्पोरियम (हाल काठमाडौं गौशालामा), बुहारी बिनीता घिमिरेको बिजुलीबजारमा एक्स्टेरियर इन्टेरियर नामक व्यापारिक फर्म छ । भाइ नारायण घिमिरेको नामको भ्याली पम्प सर्भिस हाल बन्द छ । म बुद्धनगर बस्ने कृष्ण भट्टराई र अमर थापासमेत मिली हाते र बिजुलीबाट चल्ने पस्मिना तान सञ्चालन गरी आएकोमा हाल बन्द छ । त्यसैगरी मेरा नाममा ७४८६ नं.को मोटरसाइकल र भाइ प्रकाश घिमिरेको नाममा ८११३ नं. को मारूती कार छ । मेरा एकासगोलका परिवारमा माता पिता, दिदी एक, काका एक, श्रीमती, छोरी २, छोरा १, ६ जना भाइहरू, ६ जना भाइ बुहारीहरू, ७ जना भतिजा र ४ जना भतिजीहरू रहेका छन् । किशोरी घिमिरे भाउजू, बत्सला प्याकुरेल माहिलो ससुराकी कान्छी बुहारी, कृष्णप्रसाद अधिकारी मेरो जेठानको छोरी ज्वाइँ हुन् । विष्णुप्रसाद उपाध्यायलाई चिने पनि नाता छैन । सूर्य पस्मिनासँग चिनजान भए पनि कारोबार छैन । कृष्ण पस्मिनाका मालिक कृष्णबहादुर कुँवरलाई राम्ररी चिन्दछु ।
मैले आफ्नो नाममा Life Insuarance Corporation of India, Sitamp Bo Muzafarpur मा ४८/४.१९६ पोलिसी नं. ५३१६७०३५३ मा परिपक्क हुने गरी रू. १ लाख भारतीय रूपैयाँको जीवन बिमा गराएको हुँ । सुरूमा जम्मा गरेको रकमबाहेक अन्य रकम जीवन बिमा गराउने व्यक्ति फेला नपरेकोले अरू थप वर्षको रकम बुझाएको छैन । राष्ट्रिय बिमा संस्थानमा मिति २०४८।१०। २३ मा गराएको रू.५० हजारको बिमाको रकम बिमा गरिएको मितिदेखि मेरो तलबबाट बुझाइरहेको छु । मलाई थाहा भएसम्म एकासगोलका परिवारका नाममा जीवन बिमा गराएको छैन । त्रि.वि.स्थल भन्सार कार्यालयको किरणबहादुर र कान्छा उप्रेतीको नामको प्रज्ञापन–पत्र मेरा घरबाट बरामद भएको सम्बन्धमा किरणको हकमा लिलाम बिक्रीबाट प्राप्त २१ इन्चको कलर टि.भी.र कान्छा उप्रेतीको नामबाट हिरो होन्डा जेनेरेटर आफ्नै घरको प्रयोगको लागि खरिद गरी लिएको हो । मेरो साथी गोपाल कर्माचार्य डिल्लीबजारमा बस्दछन् । कृष्णप्रसाद अधिकारीले गोपाल कर्माचार्यलाई ऋण दिएको कागज म साक्षी बसी कागज मेरै घरमा रहेको हो । रकम कृष्ण अधिकारीकै हो । उज्वल प्याकुरेल मेरो जेठानको छोरो हुन् । जीवन अमात्यसँग रू. ३,००,०००।– रकम लेनदेन भएको कागज निजले मेरैमा छोडेकोले बरामद भएको हो ।
सूर्य पस्मिनाले काटेको नबिल बैंक, कान्तिपथका चेकहरू मेरो भाइ नारायण र सूर्य पस्मिना बिचको सम्झौताअनुसार नसाटेको हुन सक्छ । भाइ नारायणका नामका ती चेक रकम मेरो होइन । एकासगोलका भाइ भएकोले ती चेकहरू मेरो घरबाट बरामद भएको हो । श्री इन्टरनेशनल न्युरोडको लेटरप्याडमा गरिएको हरहिसाब भएको १ महिनापछि नै सिद्धिएकोले हाल कुनै पनि कारोबार छैन । भूलबस कागजात फाइलमा नै रहन गएको हो । विष्णुप्रसाद दाहालसँग २०४५। ०४६ सालतिर कर्मचारीको नाताले चिनचान भएको हो । नाता सम्बन्ध र कारोबार छैन । रा.वा.बैंक गौशाला, काठमाडौंमा विष्णुप्रसाद दाहालको नामको खाताको चेक भौचर मेरा कोठाबाट बरामद भएकोसम्बन्धमा निज विष्णुको छोरा र मेरो भाइ प्रकाश साथी हुन् र निज विष्णु दाहालको छोरा विदेश जानुभन्दा अघि रू. ५,६२,०००।–, रू. ८,००,०००।– विदेश जाने प्रयोजनका लागि विभिन्न मानिसहरूसँग सरसापट गरी राखिदिएको र विष्णुप्रसाद दाहालले पठाएको निजहरूको नातामार्फत मलाई पठाइदिने भएकोले उक्त रकम मेरो भन्ने देखिन आए तापनि सो रकम मेरो होइन । मेरा घर कोठाबाट बरामद भएको डायरी मेरो हो । मेरो डायरीमा मेरो हस्ताक्षरबाट लेनदेन कारोबार भएका व्यक्तिमध्ये मैले लिनुपर्ने र दिनुपर्ने व्यक्तिहरूको बारेमा जानकारी भएसम्म ठेगानासमेत उल्लेख गरिदिएको छु । डायरीमा उल्लिखित व्यक्तिहरूमध्ये कृष्ण पस्मिना आर्टसका कृष्ण कुँवरसँग रू. २५ लाख लिन बाँकी छ र सोबाहेक अरूसँग लिन दिन बाँकी छैन । मकवानपुर जिल्लामा मेरो जानकारी भएसम्म मेरो र मेरा एकासगोलका परिवारका नाममा जग्गा जमिन छैन । म र कृष्णप्रसाद भट्टराई मिली सञ्चालन गरेको पस्मिनाको तान दुई वर्षदेखि पस्मिनाको व्यापार मन्दी आएकोले बन्द भएको हो । प्रमाणपत्र लिएर सञ्चालन गरेको
होइन । पस्मिना तान सञ्चालन गर्दा १ जना मानिस राखी उसलाई समेत केही प्रतिशत दिई कम गरेकोले २१/२ वर्ष सञ्चालन गरेको र आम्दानी खर्च विवरण ७ दिनभित्र पेस गर्नेछु । मैले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा र अर्थ मन्त्रालयमा सम्पत्ति विवरण पेस गर्दा कानूनी ज्ञान नभएकोले मेरा पिता–माता, काका, दिदी, म, मेरा परिवार र भाइ बुहारी भतिजा, भतिजीसमेतको नाम उल्लेख गर्न छुट भएको हो । सरकारलाई ढाँट्न खोजेको होइन । माता पितालगायत सम्पूर्ण परिवार एकासगोलमा नै छौं । श्रीमतीको र मेरो खाताको नाममा भएको रकम न्यून भएकाले उल्लेख नगरेको हो । मिति २०५४/४/४ मा पेस गरेको सम्पत्ति विवरणमा रामेछाप जिल्लाअन्तर्गत भलुवाजोर गा.वि.स. मन्थलीमा मेरा पिता चतुर्भुज घिमिरेको नाममा १० रोपनी मात्र जग्गा भनी भूलले लेखिन गएको हो । तर जग्गा काकासमेतको नाममा ६१ रोपनी भएको पछि २०५७ सालमा आएर सबैलाई वितरण गरी करिब ९ रोपनी पिताको नाममा रहेको छ ।
दिदी विवाह भएर गएकी र काका खड्गप्रसाद हामीसँगै बसे तापनि निजहरूको सम्पत्तिमा हाम्रो हक लाग्दैन । अंशियार चाहिँ होइनन् । मदन अग्रवालको श्री इन्टरनेशनलको फर्ममा भाइ नारायणले काम गर्ने गरेको हो । सो फर्मसँग मेरो सम्बन्ध छैन । सो फर्मको प्याड चाहिँ खेस्राको रूपमा प्रयोग भएको हो । डायरीमा उल्लिखित गोपाल कर्माचार्य फील्म बनाउने हुँदा बेलाबखत आपसी समझदारीबाट लेनदेन हुने गरेको थियो । हाल निजसँग कुनै पनि किसिमको लेनदेन छैन । डायरीमा उल्लिखित हात्तीवन र रूपैयाँको सम्बन्धमा हात्तीवनमा पस्मिना तान राखेको र त्यहाँ कार्यरत मिस्त्रीलाई रकम दिन उल्लिखित रकम
हो । सूर्य पस्मिना लक्ष्मण श्रेष्ठको नाममा दर्ता हो कि भन्ने मात्र शंका लाग्छ । पहिले कुरिया गाउँमा बस्दा लक्ष्मण श्रेष्ठको पनि घर कुरिया गाउँमै भएकोले सम्पर्क भएको हो । मेरो सम्पर्क र अभिभावकको नाताले भाइ नारायणलाई चिनाई व्यापारको सिलसिलामा लक्ष्मण श्रेष्ठसँग सम्पर्क गराइदिएको र निजसँगको कारोबारका कागजात मेरो घरबाट बरामद भएको हो । मेरो घरकोठाबाट बरामद भएको ने.रू.१८,७८,५००।– र भा.रू.८२,८१०।– घर खानतलासी गर्नु भन्दा २/३ दिन पहिले भाइ नारायणको व्यापारिक कारोबारको रकम र भाइ प्रकाशको व्यापारिक कारोबारको रकम हो । घरमूलीको नाताले मेरी श्रीमतीलाई राख्न दिने गरेको र उक्त रकम उनीहरूको नै हो । मेरो भाइ गणेश घिमिरेको पसल वीरगन्जमा थियो ।३ लाख मलाई दिएको र दिनेश अग्रवालले पहिले गरिरहेको गौशालाको दोकान भाइ गणेशले लिएको र सो कुरा मेरो कोठाबाट बरामद भएको Memo डायरीमा उल्लेख भएको हो । Memo डायरीमा कृष्ण घिमिरे, प्रकाश सीताबाट प्राप्त गर्नुपर्ने रकम भनी उल्लेख भएको रकम हात्तीवनमा र कृष्ण भट्टराईको घरमा चलाएको पस्मिना तानको हिसाब हो । उनीहरू हाल कहाँ छन्
चिन्दिन । सोही डायरीको रू.६,७५,७०९।– रकम मैले पाउनु पर्ने नाफाको रकम हो । डायरीमा उल्लिखित अशोक शर्मा मेरा मामा दिलहरी पौडेलको ज्वाइँ
हुन् । उनलाई रू.१,३०,०००।– दिनु भनी जनकपुरबाट पैसा पठाएको थियो । सो पैसा दिएको हुँ । सोही डायरीमा गणेशलाई गएको भनी लेखिएको रकमका सम्बन्धमा गणेश मेरो भाइ हो र गौशालामा दोकान सार्दा उसले राख्न दिएको व्यापारको रकम उसैले लगेको हो ।
Great Eastern Life १९९७ को फेब्रुअरी ३ देखि ८ सम्मको हिसाब सरसापटको व्यक्तिगत हरहिसाब हो । सोही डायरीको माधब सापकोटा र सुरेशसँगको हरहिसाब पनि सरसापटको हो । डायरीमा उल्लिखित रामकृष्ण श्रेष्ठसँग मेरो परिचय नै छैन । कसरी कुन समयमा नाम लेखियो याद छैन । सोही डायरीको मार्च २०–२३ को पानामा उल्लिखित रकम साथी भाइसँग सरसापट चलिरहने हुँदा उल्लेख गरेको हो । डायरीमा उल्लिखित विष्णु दाहालसँगको रू. १० हजार निज विष्णुले नारायण भाइसँग सापट लगेको रकम हो । सोही डायरीमा उल्लिखित A भन्ने व्यक्ति को हो, लामो समय भएकोले सम्झना छैन । डायरीको मे २९–३१ र जुन १ का पानामा भएको कारोबारका सम्बन्धमा मदनलाल अग्रवाल र कृष्ण अधिकारीको नाममा मेरो रोहवरमा पैसाको लेनदेन भएको हो । सोबापत जग्गा धरौटी राखी जग्गा पास गराएको हो । साक्षीसम्म बसेको छु । उक्त रकम बसन्तबहादुर श्रेष्ठले लगेको र यसबाहेक त्यसमा मेरो संलग्नता छैन । सोही डायरीको गोपाल कर्माचार्यसँगको हिसाब पुरानो भएकोले सबै कुरा याद छैन । छोरी रिंकुका नाममा जग्गा छैन । जग्गाको विवरण यसअघि नै पेस गरेको छु । डायरीमा उल्लिखित गाडी भाडाका सम्बन्धमा धेरै पुरानो भएकोले सम्झना छैन । सोही डायरीको Income को पानामा उल्लेख भएको सम्बन्धमा शाहीजी र मीन दाइ मेरो पडोसी भएकोले घरयासी लेनदेनको हिसाब हो । हाल लेनदेन छैन । सोही डायरीको Financial Summary को पानाको सम्बन्धमा देवी सर र मीनबहादुर मेरा छिमेकी भएकोले घर नजिकको जग्गाको लेनदेनको हिसाब हो । हाल लेनदेन छैन । माथि उल्लिखित विषयको डायरी हेरी सनाखत गरिदिएको छु ।
१९९० जनवरीको Toyota डायरीको पानाको सम्बन्धमा M अग्रवाल पहिले पुरानो बानेश्वरमा बस्दथे हाल विशाल बजारमा बस्छन् । M गोयल र M अग्रवाल एउटै मानिस हुन् । M अग्रवाल भनेको मुन्ना अग्रवाल हो । निजलाई रू.२०,००,०००।– सापट दिएको थिएँ । गोपाल कर्माचार्यसँग भाइहरूको व्यापारको सम्बन्धमा लेनदेन हुन्थ्यो । डायरीको जुलाईको पानामा उल्लिखित हिसाब व्यक्तिगत दाजुभाइको हिसाब हो । अगस्टको पानामा उल्लिखित युनिक राणालाई चिन्दिन । सेप्टेम्बरको पानाको हिसाब पस्मिनाको काम गर्दाको हिसाब हो । डिसेम्बरको पानामा सन्तोष दाहालको पैसाको टिपोट हो । सन्तोष दाहाल कान्छा भाइको साथी हो । डायरीको Feb.२००० को पानाको हिसाबको सम्बन्धमा मुकुन्द रिसाल मेरो माहिलो भाइको मित भएकोले मैले रू.२ लाख सापट लिएको र भाइहरूको व्यापारको सिलसिलामा पुष्प पौडेलसँग पनि रू.३,५०,०००। – सापट लिएको थिएँ । हाल रकम तिरिसकेँ । डायरीको खालीपानामा उल्लेख भएको हिसाब पस्मिना चलाउँदा हिसाब मिलान गर्दा मैले पाउनु पर्ने रकम उल्लेख भएको हो ।
Impregilo २००० लेखिएको डायरीको डिसेम्बर २७–३१ सम्ममा उल्लेख भएका व्यक्तिसँगको कारोबारसम्बन्धमा दाहाल ज्वाइँलाई मैले दिन बाँकी रू.५ लाख रहेको छ । के गुरूङसँग रू. २५ लाख मैले ०५९ वैशाख, जेष्ठ र असारमा ३ पटक गरी लिएको, लेखनाथ शर्मासँग ने.रू.२ लाख सापट दिई लिइसकेको, माधव सापकोटासँग निजको श्रीमतीको जग्गा लिँदा बाँकी रहेको रकम भुक्तानी गरेको, टेलिफोन इन्डेक्स पानाको हिसाबका सम्बन्धमा गोविन्द सुवेदीको सापट लिएको दिनुपर्ने रकम दिएको हो । सोही डायरीको टेलिफोन इन्डेक्स पानामा उल्लेख भएको जीवन मानन्धरको हिसाब सम्बन्धमा जीवन मानन्धरलाई मेरो जेठानको छोरा उज्वल प्याकुरेलले रू. ३ लाख मिति २०५८।१०।१० मा चुक्ता हुने गरी मेरो रोहवरमा दिएको र मेरो रोहवरमा नै चुक्ता भैसकेको छ । टेलिफोन इन्डेक्स पाना उल्लेख भएका कुलबहादुर विष्ट हाल भन्सार विभागमा खरिदार पदमा कार्यरत छन् । निजसँग सरसापटको हिसाब
हो । हाल निजसँग लेनदेन छैन । के.वी.गुरूङ र के.वि.जी एउटै व्यक्ति हुन् । यसको सम्बन्धमा रू.२५ लाख कारोबार भएकोमा २०५९ असारसम्मको रकम चुक्ता गरिसकेको कुरा यो भन्दा पहिले उल्लेख गरिसकेको
छु । सोही डायरीको टेलिफोन इन्डेक्स पानामा उल्लेख भएअनुसारको रू.२९,४०,०००।– रकम अगाडीको कारोबार रकम हो । डायरीको अन्तिम पानाको हिसाब माथि नै उल्लेख भएको हिसाब जस्तो लाग्छ । डायरीको कभरको भित्री पेजमा लिन बाँकी व्यक्तिका हिसाबका सम्बन्धमा हाल ती व्यक्तिहरू कहाँ बस्छन् थाहा छैन । तिनीहरूसँग रकम लिन दिन छैन । ती मध्ये S.B भन्ने व्यक्ति श्यामबहादुर लामा हुन् । निजलाई आफूले सिधै नचिनेका र साथीहरूको माध्यमबाट मात्र चिनजान भएर रकम दिएको हो ।
DHI Worldwide Express लेखिएको डायरीको Monthly Objective लेखिएको पानाको हिसाबसम्बन्धमा गोविन्द सुवेदीबाट मैले २ लाख सापटी लिएको र म भन्सारमा भएकोले केही सस्तो मूल्यमा पाउने हुँदा रू.२ लाख मध्येबाट नै कर्डलेस खरिद गरी दिएको हो । सोही डायरीको २००० जनवरी ७–९ को पानामा जीवन अमात्यसँगको कारोबार उज्वल प्याकुरेलसँग भएको कारोबार हो । डायरीको जनवरी २००० को १३–१६ पानामा कृष्ण कुँवरसँगको कारोबारको सम्बन्धमा रू.५० लाखमध्ये रू.२९ लाख मुन्ना गोयल अग्रवालबाट सापट लिएको रकम हो । बाँकी रू.२१ लाख जनकपुर न.पा. वडा नं.१४ का दीपक घिमिरेबाट लिई दिएको हुँ । सोमध्ये रू.२५ लाख लिइसकेको छु भने २५ लाख बाँकी
छ । अग्रवाललाई मैले पहिले दिएको रू.१२,५०,०००।– (रू.२९ लाखमध्ये) प्राप्त गरेको छु । २७–३० को पानामा उल्लिखित रकम विष्णुप्रसाद उपाध्यायको खातामा विष्णुप्रसाद उपाध्यायले नै पठाएर जम्मा गरेको जस्तो लाग्छ । मेरो माता पिता वृद्ध हुनुभएको कारणले र म जेठो छोरो भएको एवं एकासगोलको परिवारको नाताले घर खर्चको बन्दोबस्त संकलन, वितरण र नियन्त्रण कार्य मैले नै गर्ने गरेको छु । २०४५ सालमा चामल, तेल, घ्यू, दाल, आलुसमेत आफ्नो खेतीबाट उत्पादन हुने भएकोले सो कटाउँदा मासिक २७००।–, २०५० सालमा मासिक रू.३,२००।–, २०५५ सालमा रू.९,०००।– र २०५९ सालमा रू. १६,०००।– खर्च हुने गरेको थियो । भाइहरूको आम्दानी व्यापार वृद्धि, महङ्गी वृद्धिसमेतले खर्च घटबढ हुने गरेको छ । हालसम्म खेतीबाट नै चामल, तेल, दाल, आलुसमेत आउँदै छ । मेरो छोरा छोरी, भतिजा भतिजीको मासिक स्कुल फी ५,९००।– जति तिर्ने गरेको छ । म र मेरा परिवारको सदस्य कुनै पनि क्लव वा संस्थामा सदस्य छैनन् । मेरो विवाह २०३५ सालमा, सम्झना भएअनुसार माहिलो भाइको विवाह २०३७ सालमा, जनार्दनको २०३८/३९ सालमा, नारायणको २०४८/४९ सालमा, कुमारको २०५३ सालमा, प्रकाश र गणेशको २०५७ सालमा भएको हो । मेरो विवाह पिताले नै गरिदिएको हो । भाइ मुकुन्दको विवाहमा रू.११,६००।–, जनार्दनको विवाहमा रू.१०,५००।–, नारायणको विवाहमा रू. १७,५००।–, कुमारको विवाहमा रू.१९,६००।–, प्रकाशको विवाहमा रू.३०,६००।– र गणेशको विवाहमा रू. ४१,३००।– खर्च भएको छ । मेरो डायरीहरू मेरा हस्ताक्षरबाट लेखिएका हुन् ।
कृष्णप्रसाद भट्टराई र म मिलेर सञ्चालन गरेको पस्मिना व्यवसायको कुनै नाम पनि थिएन र कसैको नाममा दर्ता पनि थिएन । सुरूमा रू.९०,०००।– मा सञ्चालन गरेको थियो । बुद्धनगरमा काठको ८ वटा हाते तान राखेको थियो । प्रत्येक तानमा १ जनाले काम गर्दथे । हात्तीवनमा श्रेष्ठ थर भएको मानिसको घरमा बिजुलीबाट चल्ने ४ वटा तान राखी सञ्चालन गरेको थियो । बुद्धनगरमा कृष्ण भट्टराईको जग्गामा टहरा बनाई करिब २ वर्ष सञ्चालन गरेको र भाडा तिर्नु
परेन । हात्तीवनमा प्रतिमहिना रू.२,५००।– भाडा तिर्ने गरेको थियो । पस्मिनाका नाफा नोक्सानको विवरण ७ दिनभित्र पेस गर्नेछु । तान सञ्चालन गरेबापत कर तिरेको छैन । कृष्ण पस्मिनाको प्रो कृष्ण कुँवरसँग म र कृष्ण भट्टराईको चिनजान हो । निजसँगको कारोबारको विषयमा माथि नै उल्लेख गरेको छु । कृष्ण पस्मिनासँग मिलेर हामीले पस्मिनाको काम गरेको होइन । सूर्य पस्मिनाको प्रो.लक्ष्मण श्रेष्ठ वा निजको परिवार
होला । मेरो भाइ नारायण, लक्ष्मण श्रेष्ठसँग व्यापारमा संलग्न देखिन्छ । म र मेरो परिवारको सदस्यलाई चिठ्ठा, अपुताली र आकस्मिक लाभ प्राप्त भएको छैन ।
२०३४ सालभन्दा अगाडि हाम्रो रामेछाप जिल्ला मन्थली गा.वि.स.मा रहेको जग्गा जमिन र पशुपालनबाट वार्षिक रू.३०,०००।– आयस्रोत थियो । म जागिरमा प्रवेश गर्दा वार्षिक उल्लिखित रकम र सुनको हकमा २०/२५ तोला, चाँदी ५१ तोला थियो । करिब ६१ रोपनी जग्गा थियो । हामीले महोत्तरी खयरमारामा २०३५ सालतिर रामेछापको आयस्रोतबाट २ बिगाहा जग्गा खरिद गर्यौं । २०३५ सालदेखि २०४० सालसम्म खेतीपाती, जग्गा जमिन, बाख्रापालन, परेवापालन, माछापालन, टायर गाढासमेतबाट वार्षिक रू.४५,०००।– थप हुँदै गएको र खयरमारामा जग्गा जमिन अरूको बटैयासमेत गरेको कारणले गर्दा घरखर्च सबै कटाई रू.५१,०००।– आम्दानी हुने गरी आय बढ्दै गरेको अवस्थामा ३ जना दाजुभाइको विवाह हुँदा थप ७ तोला सुन र चाँदी २१ तोला थप भएको थियो । २०४० सालमा पहाडबाट आएको आम्दानीमध्येबाट नै ३ जनाको विवाहमा करिब रू. ३१,६००।– खर्चसमेत भएको हो । म २०३४ सालमा सेवा प्रवेश गरेदेखि २०४० सालसम्मको मैले पाउने पारिश्रमिक, २०३८ सालदेखि मेरो भाइ नारायणले जनगणनामा काम गरेको तलब, भत्ता, भाइ मुकुन्दले सुर्ती विकास कम्पनीमा काम गरेको तलब भत्ता एवं निजले उक्त कम्पनीको जग्गा पनि बटैया गरेको थियो । खयरमारामा रू.११,०००।– मा जग्गा खरिद गरी २ वटा घर बनाउँदा रू.७,५००।– लागेको थियो ।
२०४० सालसम्म पहाडबाट आएको आम्दानी र खयरमारामा भएको जग्गा जमिन खेतीपाती जग्गा वटैया, बाख्रापालन, माछापालनसमेतबाट २०४१ सालदेखि २०४५ सालसम्म वार्षिक ६१,५००।– का दरले आम्दानी वृद्धि हुदै गयो । उक्त समयमा मेरो तलब, भत्ता, भाइ मुकुन्दले सुर्ती विकास कम्पनीमा काम गरेको, भाइ नारायणले जनकपुर चुरोट कारखानामा काम गरेको, भाइ गणेशले जनकपुर नगरपालिकामा काम गरेको, भाइ गणेशले जनकपुर नगरपालिकाअन्तर्गत पिडारी चोकमा किराना पसलसमेत गरेको आम्दानीमध्येबाट खयरमारा गा.वि.स.वडा नं.५ मा म र भाइ नारायण घिमिरेको नाममा करिब रू. १० हजारमा १ बिगाहा जग्गा खरिद गरेको हो । भाइ नारायणको नाममा जनकपुर न.पा.वडा नं.१४ मा १५ धुर जग्गा २०४२ सालमा खरिद गरी घर बनाउँदा करिब रू.१,४५,०००।– लागेको
छ । २०४१ सालदेखि २०४५ सालसम्म रामेछापबाट वार्षिक रू.४५,०००।– आम्दानी भएको थियो । साथै जनकपुरमा बनेको घर २०४३ सालदेखि २०४५ सालसम्म प्रतिमहिना ८५०। – का दरले घर भाडासमेत आएको छ । २०४६ देखि २०५० सालसम्म रामेछाप जिल्लाको जग्गाबाट वार्षिक ४९,५००।– का दरले आम्दानी भएको थियो । खयरमाराको घर जग्गाबाट वटैयाबाट, माछापालनबाट, बाख्रापालनबाट, घरखर्च कटाई वार्षिक रू.७५,४००।– का दरले आम्दानी हुने गरेको थियो । भाइ नारायणले साझा स्वास्थ्य सेवा र साझा भण्डारमा काम गरेको र भाइ गणेशले उक्त समयमा जनकपुरमा र काठमाडौं पुतलीसडकमा दोकानसमेत गरी आय आर्जन गरेको सम्पत्तिबाट बालकोटमा ०–७–१–० जग्गा करिब मूल्य रू.१५,०००।– मा खरिद गरेको हो । भाइ र मेरी श्रीमती रमा देवी घिमिरेको नाममा कलंकीमा करिब ०–७–१–० जग्गा खरिद गरेको माथि उल्लिखित आयस्रोतबाटै हो र मेरो ७४८६ नं.को मोटरसाइकल करिब १७,५००।– मा खरिद गरेको हो ।
२०५१ सालदेखि २०५५ सालभित्र रामेछापबाट वार्षिक रू.५२,०००।– का दरले आम्दानी भै रहेको थियो । २०५२ सालसम्म खयरमाराबाट प्रतिवर्ष सबै खर्च कटाएर माथि उल्लिखित भएको आम्दानीबाट वार्षिक रू.९५,०००।–, जनकपुरको घरभाडाबापत प्रतिमहिना २०००।– का दरले, भाइ मुकुन्द र भाइ गणेशको दोकानको नाफा प्रतिवर्ष १,२५,०००।– मलाई दिने गरेका थिए । भाइ कुमार घिमिरेले होटल शेर्पामा काम गरेको तलब, मेरो आफ्नो तलब २०५३ देखि २०५५ सम्मको महेन्द्रनगरको खेतबाट आएको वार्षिक ६५,०००।– का दरले हुने आम्दानी, २०५२ सालमा खयरमारामा भएको २ वटा (काठले बनाएको) घरसमेतबाट प्रति घर रू.१ लाखका दरले हुने आम्दानी र पस्मिनाको आम्दानीसमेतबाट ठिमीमा करिब रू.२ लाखको जग्गा, गोंगबुमा करिब ०–९–१–० जग्गा, बुद्धनगरमा करिब ०–११–०–० जग्गा, जोरपाटीमा करिब ०–८–०–० जग्गा खरिद गरेको हो । महेन्द्रनगरको जग्गा २०५४ सालमा घर परिवारको सरसल्लाहबाट मेरी श्रीमती रमा देवी घिमिरे, भाइ जनार्दनप्रसाद घिमिरे, मुकुन्दप्रसाद घिमिरे र मेरो नामबाट कानूनले दिएका अधिकारक्षेत्रभित्रबाट बकसपत्र प्राप्त गरे पनि कानूनको सुविधा मात्र प्रयोग गरी खरिद गरेकोले र उक्त खरिद भएको जग्गामध्ये २०५२/०५३ मा एकासगोलको परिवारको सल्लाहबाट श्रीमती रमादेवी घिमिरेको नाममा बुद्धनगरमा घर र भाइ नारायणको नाममा २०५४/५५ सालमा १ तले घर बनाएको हो । २०५३ सालदेखि बुद्धनगरको घरबाट मासिक रू.५०००।– का दरले घरभाडा बापत प्राप्त हुदै आएको छ । माथि उल्लिखित आयस्रोतबाट नै जनकपुर महेन्द्रनगरमा घर बनाएको हो । मेरी श्रीमती रमा देवी घिमिरेको पेवाबाट आएको रकमबाट मोरङ वखरीमा ०–१–१० जग्गा र जिल्ला महोत्तरी बर्दिवास गा.वि.स. मा मेरी श्रीमतीको नाममा जग्गा र नारायण घिमिरेको नाममा मोटरसाइकल पनि खरिद भएको थियो । ठिमीको जग्गाबाट प्रतिवर्ष रू. ५०,०००।– आयस्रोत हुन्छ ।
खयरमाराको जग्गामा हाल कोही पनि बस्ने गरेको छैन । २०५६ सालदेखि हालसम्ममा उक्त जग्गाबाट प्रतिवर्ष ५५,०००।– का दरले आयस्रोत हुदै आएको छ । महेन्द्रनगरको खेती, पस्मिनाको कारोबारबाट वार्षिक रू.८५,०००।–, जनकपुरको घर भाडाबाट प्रति महिना २०००।–, ठिमी (बालकुमारी) को जग्गाबाट प्रतिवर्ष रू.५५,०००।– का दरले आम्दानी भएको छ । २०५६ देखि २०५७ सालसम्म रामेछापको जग्गा जमिनबाट वार्षिक ५५,६००।– का दरले आम्दानी भएको छ । २०५७ सालमा पहाडमा भएको जग्गा काका खडग प्रसादलाई दिई बाँकी रहेको जग्गाबाट प्रतिवर्ष २२,५००।– का दरले आम्दानी भइरहेको अवस्था छ । भाइ नारायण र प्रकाशले दिएको रकम, मेरो तलब, भाइ गणेश, कुमारको तलब, भाइबुहारी उमा, विनिता घिमिरेको तलबसमेतको आयबाट भाइ प्रकाशले फाइनान्स कम्पनीबाट गाडी लिएको हो । हाल उक्त गाडी फाइनान्सलाई नै दिएको छ । भाइ प्रकाशका नाममा मोटरसाइकल, गणेशका नामको जोरपाटीमा ०–८–०–० जग्गासमेत खरिद गरेको छ । जग्गाहरू बकसपत्र गरिलिएको भनिए तापनि राजीनामा कागजमा उल्लेख भएको मूल्य दिएरै खरिद गरेको हो ।
भाइ नारायण घिमिरेले २०४६/४७ तिर रा.वा.बैंक जनकपुरबाट लिएको ऋण, २०५२ सालमा कृषि विकास बैंकबाट लिएको ऋण, २०५४ सालमा रमा देवी घिमिरेले एल्पिक फाइनान्सबाट लिएको ऋणसमेत व्यापार व्यवसायमा लगानी गरिएको पनि आयस्रोतको विषय हो । हामीले सगोल परिवारबाट नै अथक परिश्रम र मिहिनेत गरी माथि उल्लेख भएअनुसारको आम्दानीबाट सम्पत्ति आर्जन गरेको
हो । मेरो परिवारका कुनै सदस्यलाई दुर्घटना र ठुलो रोग लागि उपचार गराएको छैन ।
जिल्ला महोत्तरी बहादुरगन्ज २५नं.वडा नं.७ (ख) कि.नं. ३६२ को क्षे.फ.०–२–४ जग्गा श्रीमतीको भाउजूले मेरो श्रीमतीलाई बकसपत्र गरी दिएको जग्गा हुँदा सम्पत्ति विवरणमा नखुलाइएको हो । भाइ नारायण घिमिरेको ठिमीको घर सम्पत्ति विवरणमा छुट भए तापनि आयोगको बयानमा खुलाएको
छु । कृष्णबहादुर कुँवरसँगको कारोबारको सम्बन्धमा रू.५० लाख रूपैयाँमध्ये जनकपुर न.पा. वडा नं. ९ बस्ने दीपक घिमिरेको रू.२१ लाख, रामेछाप पकरवास गा.वि.स.वडा नं.५ बस्ने हिरण्य पौडेलको रू.८,२५,०००।–, का.म.न.पा.१० बुद्धनगर बस्ने सृजना के.सी.को रू.१५ लाख र पुल्चोक बस्ने इन्दिरा न्यौपानेको रू.५,७५,०००।– समेत निजहरूले २०५४ सालदेखि ब्याजमा लगाई दिनु भनी दिएको हुँदा उक्त रकम ब्याजमा लगाएको हो । रकम मेरो होइन । मेरी श्रीमती जेठी बुहारी भएकी र पिता वृद्ध भएको कारणले पिता माताबाहेक ७ जना दाजुभाइमध्ये भाइ प्रकाश र कुमारको नाममा जग्गा जमिन नराखी सम्पूर्ण परिवारको सरसल्लाहले अंश बन्डा भएको बखत सबैले अंशबन्डा पाउने गरी मेरी श्रीमतीको नाममा जग्गा जमिन खरिद गरेको हो । वृद्ध मातापिता र सम्पूर्ण परिवारसमेतलाई राख्न घर बनाएको हुँदा उच्च जीवन यापन गरेको
छैन । मेरो घरमा बरामद भएको डलर भाइ नारायणले राख्न दिएको हो र निज व्यापार र एन.जि.ओ.को काममा विदेश आउने जाने सिलसिलामा सुविधाबाट प्राप्त गरेको हो । मैले डलर सञ्चय गरेको होइन । घडी र डिजिटल डायरी भाइ गणेश घिमिरेले वीरगन्जमा भएको पसल सार्ने क्रममा मेरो घरमा राखेको हो । मूल्यको हकमा निजलाई नै थाहा होला । गरगहनाहरू मेरी श्रीमतीलाई आमा र भाइ बुहारीहरूले राख्न दिएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी भरतप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो एकासगोलमा भरतप्रसाद घिमिरेसमेत ७ जना छोरा, ७ जना बुहारी, १४ जना नाति नातिनीहरू र मेरी श्रीमती छौं । छोरी र खडगप्रसाद अंशियार
होइनन् । छोरीको विवाह भैसकेको छ भने खडगप्रसाद लठेव्रो छ । मैले अंश भाग पिताबाट २००० सालभन्दा अगाडि नै करिब ६० रोपनी जग्गा प्राप्त गरेको थिएँ । २०५७ सालमा भतिजाको नाममा केही जग्गा गए पनि हाल करिब ३० रोपनी जग्गा मेरो नाममा छ । यसै गरी अंश भागमा माटो ढुङ्गाबाट बनेको २ तले घर, केही नगद, ३०–४० तोला सुनका गरगहना परेका थिए । मेरा छोरा बुहारीका नाममा धनुषा, महोत्तरी काठमाडौं, भक्तपुर, विराटनगरमा भएका जग्गा तथा घर मेरो सम्पत्तिबाट बढे बढाएको आर्जन तथा छोरा बुहारीहरूको कमाइबाट खरिद गरेको हो । ७ जना छोरा र ३ जना बुहारी आय आर्जन गर्दछन् । छोराहरू सबै जना आआफ्नो काम
गर्दछन् । सबैले मिलेर बाबुआमा पालेका छन् । एकै ठाउँमा आयस्ता जम्मा गरी एउटैको खटनपटन चल्ने गरेको छैन । मेरो नामको जग्गामा मकै, धान, कोदोसमेतको खेती हुन्छ । सरदर ५०/६० हजारको आयस्ता प्राप्त गर्ने गरेको छु । रामेछापमा अहिले घर छैन । मेरो नाममा बैंक खाता, लकर सेयर, बचतपत्र केही छैन भन्नेसमेत व्यहोराको चतुर्भुज घिमिरेको अधिकारप्राप्त अधिकारीसमक्षको बयान कागज ।
मेरो विवाह २०३५ सालमा भरतप्रसाद घिमिरेसँग भएको हो । मेरो स्थायी ठेगाना २०५१ सालदेखि मात्र का.म.न.पा.वडा नं.१० बुद्धनगर भएको हो । सोअघि महोत्तरी जिल्ला खयरमारा गा.वि.स. मा बस्दथ्यौँ । श्रीमान् जागिरको सिलसिलामा विभिन्न स्थानमा रहँदा म खयरमारा नै बसी खेतीपाती गाई, भैंसी, बाख्रा, माछापालन, जस्ता व्यवसाय गरी आयमूलक कार्य गर्दथेँ । त्यस्तो आयमूलक कार्यबाट वार्षिक रू.७०।७५ हजार आय हुने गरेको थियो । तत्पश्चात् बुद्धनगरको घरबाट मासिक रू. ५ हजारले वार्षिक ६० हजार रूपैयाँ आम्दानी हुने गरेको छ । भक्तपुर बालकुमारीको करिब २ रोपनी जग्गा २०५५ सालदेखि वार्षिक रू. २५ हजार प्रति रोपनीका दरले मौखिकरूपमा नगदे बाली लगाउन दिएको र वार्षिक रू. ५० हजार आम्दानी हुने गर्दछ ।
मोरङ वखरी वडा नं.६ (ग) कि.नं.८४३ को ०–१–१० जग्गा र महोत्तरी बर्दिवासको करिब १ कठ्ठा जग्गा मेरो बुबाआमा र दाजुले दिएको एवं मेरो पेवासमेतको रकमबाट खरिद गरेको हो । का.म.न.पा.वडा नं.१० को जग्गामा हामी सगोलमा नै रहेको हुँदा मेरा नाममा जग्गा खरिद गरिएको हो । कालिमाटी काठमाडौंको कित्ता नं.४३७ र ९१ को ०–५–०–२ जग्गा ठाँहिलो देवरका नाममा खरिद गरिएको हो । बालकुमारी भक्तपुरको कि.नं. ४०९,४१०,४११ को १–३–०–० जग्गा, काठमाडौं गोंगबुको कि.नं.९६८ को ०–९–१–० जग्गा, भक्तपुर बालकुमारीको कि.नं. २३०, २१७ को १–२–३–० जग्गा, बालकोटको कि.नं.८३९ र ८४३ को ०–७–१–० जग्गा पनि हामी सबै सगोलमा नै रहेको हुँदा मेरा नाममा खरिद गरिएको हो । यी सबै जग्गाहरू माथि उल्लिखित आयस्ताबाट खरिद भई मेरो नाममा छन् । मेरा नाममा बुद्धनगरमा एउटा घर र सानो टहरो छ । २०५१ सालको सुरूमा निर्माण सुरू गरी २०५२ सालको अन्ततिर घर निर्माण सम्पन्न भएको हो । उक्त घर मेरा नाममा भए पनि देवर र श्रीमान्हरूले घर निर्माण खर्च व्यहोरेको हुँदा मलाई लागत थाहा भएन । किशोरी देवी घिमिरे परको जेठानी र वत्सला प्याकुरेल मेरो माहिलो बुबाको बुहारी भाउजू नाताका हुन् । निजहरूले कुनै बकस दिएको छैन । साझा स्वास्थ्य सेवा सहकारी संस्थामा सेयर भएको थाहा छैन । विराटनगर र काठमाडौंमा बैंक खाता खोलेको जस्तो लाग्छ । मेरा नामको भक्तपुर, बालकोट र गोंगबुको जग्गा देवर र देवरानीका नामका घरभन्दा फरक जग्गा देखाउन सक्तिन । माहिलो देवर जनकपुरधाम पिडारी चोकमा, साहिलो धनुषा महेन्द्रनगरमा, काहिँलो ठिमीमा र बाँकी अरू देवर बुद्धनगरको घरमा सँगै बस्दछौं ।
नगद, घडी, गहना हाम्रो घर कोठाबाट बरामद भएको हो । बरामद भएको रकम देवर प्रकाश र नारायणको हो । कति थियो थाहा छैन । राखी दिनको लागि मात्र राखिदिएको हो । उक्त रकम कहाँबाट कसरी ल्याएको हो थाहा छैन । बरामदी मुचुल्काका गहना म र मेरा परिवारका हुन् । बरामद भएको घडी देवर गणेशको हो । जेठी छोरी रिन्कु १९ वर्षकी छन् । छोरा रितेश होलिल्यान्डमा पढ्छ र ऊ १५ वर्ष भएको छ । अर्की छोरी मोडर्न इन्डियन स्कुल चोभारमा ७ कक्षामा पढ्छिन् । उनी १३ वर्षकी छ । बुद्धनगरको घर, जनकपुर र ठिमीमा साधारण टेलिफोन छ र प्रकाश र नारायण देवरसँग मोबाइल फोन छ । मेरो श्रीमान्ले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी जग्गा जमिन खरिद नगरेको हुँदा जफत हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रमादेवी घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
का.जि. कालिमाटी वडा नं. १ (क) कि.नं. ८५ को जग्गा म र वत्सला प्याकुरेलले संयुक्तरूपमा खरिद गरेको हो । भरतप्रसाद घिमिरेले पनि उक्त ठाउँको जग्गा हामीले किनेकै मानिससँग खरिद गरेकोले कागजात भरतप्रसाद घिमिरेले लगेको
हुनुपर्छ । हामीले खरिद गरेको जग्गाको रकम भरतले हालेको होइन । देखाइएको रजिस्ट्रेसनको लिखत
हेरेँ । रू.४ लाख चानचुनमा बिक्री गरेको हो । रमादेवीलाई बकस दिएको होइन भन्नेसमेत व्यहोराको किसोरी घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
म सन् १९९४ देखि नै होटल शेर्पामा कार्यरत छु । मेरी श्रीमती रूक्मिणी घिमिरे माउन्टेन एयरलाइन्समा काम गर्दछिन् । म र मेरी श्रीमती बुद्धनगरको घरमा बस्दछौं । उक्त घर हामी सबैको
हो । म र मेरो श्रीमतीको नाममा घर जग्गा, बैंक खाता, लकर, सेयर बचतपत्र, ऋणपत्र छैन । घिमिरे एन्ड ट्रेड जनरल सप्लायर्स २०४९ सालदेखि मेरा नाममा दर्ता भई सञ्चालनमा छ । उक्त फर्मको सम्पूर्ण कारोबार मेरा दाजु नारायण घिमिरेले गर्नुहुन्छ । आय व्यय कारोबार मलाई थाहा छैन । घरमा मेरी श्रीमतीको २/३ तोला गरगहना रू. ३।४ हजार जति नगद होला । मैले काम गर्ने होटलबाट मासिक रू. ५,२००।– प्राप्त गरी सो रकम आफ्नो तथा श्रीमतीको लागि लुगाफाटोलगायत खर्च गरी बचेको रकम कहिले नारायण दाइ, कहिले भाउजू, बुबा आमालाई दिन्छु । मेरो खर्चको हिसाब नारायण दाइले गर्नुहुन्छ । पर्दा सबै दाजुभाइले सबैलाई सहयोग गर्दछौं । ८११३ नं.का मारूती कारको प्रयोग भाइ प्रकाशले गर्छ भन्नेसमेत व्यहोराको कुमारप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो विवाह २०५३ सालमा भएको हो । म माउन्टेन एयरमा २०५८ सालदेखि अफिस हेल्पर पदमा कार्यरत छु । मासिक तलब रू.३,५००।– र अन्य ओभरटाइमलगायतका सुविधा गरी मासिक रू.५,५००।- देखि रू.६०००।– सम्म लिने गरेकी छु । उक्त रकम आफ्नो निजी काममा र घर खर्च गरी बचेको श्रीमान्लाई दिन्छु । विवाहमा ७ तोला सुन पाएकी छु । मेरो नाममा जग्गा जमिन बैंक लकर, खाता, सेयर, बचत ऋण पत्र छैन । म र मेरो देवर जेठाजूहरू आफ्नो इलम गरी छुट्टाछुट्टै ढङ्गबाट आम्दानी गरी आउनु भए तापनि सगोलमा नै बस्दै आएका छौँ भन्नेसमेत व्यहोराको रूक्मिणी घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो विवाह नारायणप्रसाद घिमिरेसँग २०५० सालमा भएको हो । म सगरमाथा इन्स्योरेन्स कम्पनीमा २०५३ सालदेखि कार्यरत छु । मैले मासिक रू.७,०००।– पाउने गरेको छु । विवाह पूर्व २ तोला सुन १० तोला चाँदी थियो । विवाहमा बुबा आमाबाट १२ तोला सुन र पतिको घरबाट ५ तोला सुन प्राप्त भएको छ । बुबाले २ पटक गरेर नगद रू.१,५०,०००।– दिनुभएको थियो । मेरो २ वटा छोरा स्कुलमा पढ्छन् । श्रीमान् व्यापार
गर्नुहुन्छ । मेरो श्रीमान्का नाममा महोत्तरी खयरमारामा जग्गा, जनकपुरमा घर जग्गा, ठिमी भक्तपुरमा घर जग्गा छ । मेरो कृषि विकास बैंक पुतलीसडक र बंगलादेश बैंक पुतलीसडकमा बचत खाता रहेको र उक्त दुवै बैंकमा गरी अन्दाजी रू.१,५०,०००।– छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको रू.१०० दरको जम्मा ५० वटा सेयर मेरो नाममा र एभरेष्ट बैंकको रू.१००।– दरको ४० वटा सेयर श्रीमान्को नाममा छ । श्रीमान्को नाममा बा.७.प ९१६० नं. को मोटरसाइकल छ । श्रीमान्को नाममा मल्टी प्रिन्टर्स नामको फर्म छ । मेरो घरमा नगद रू.१०,०००।– जति र २० तोला सुन छ । म र मेरो जेठाजुहरू र देवरहरू आ–आफ्नो इलम गरी आ–आफ्नो ढंगबाट आम्दानी गर्दै आएका छौँ । तर सबैले आफूलाई चाहिने खर्च आम्दानी एकै ठाउँमा जम्मा गरेर त्यसैबाट लिँदै आएका छौँ । हाम्रो भक्तपुरको घरमा भएको टेलिफोन सामुदायिक एकीकृत मञ्चको नाममा दर्ता भए तापनि त्यसको महसुल हामी
तिर्छौ । मोबाइल मल्टि प्रिन्टर्सको नाममा रहेको र महसुल श्रीमान्ले नै तिर्नुहुन्छ । मेरो देवर प्रकाशले प्रयोग गर्ने कार र मोबाइलको खर्च देवरले तिर्नु हुन्छ भन्नेसमेत व्यहोराको उमा घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो विवाह प्रकाश घिमिरेसँग भएको हो । विवाहपूर्व मेरो माइती मावलीबाट जग्गा जमिन चिज वस्तु प्राप्त भएको थिएन । विवाहको समयमा अन्दाजी २० तोला सुनको गहना र नगद रू.५५,०००।– प्राप्त भएको हो । मेरो अफिसको नाम EXTERIOR INTERIOR हो । उक्त फर्म मेरो नाममा वाणिज्य विभागमा दर्ता छ । २०५८ साल मङ्सिरदेखि छ । उक्त फर्मले घर, अफिस, पसल, होटल, रेस्टुरेन्ट आदिको आन्तरिक सजावट के कसरी गर्ने भन्ने विषयमा सल्लाह दिने र जिम्मा दिएमा काम सम्पन्न पनि गर्ने गर्दछ । म दिल्लीमा १९९३। ९४ तिर अध्ययन गर्दा बैंक खाता दिल्लीमा थियो ।१९९५ मा फर्केपछि खाता बन्द पनि नगरेको र क्रियाशील पनि रहेको छैन । मेरो श्रीमान्को नाममा प्रकाश इन्टरप्राइजेजको नाममा बगंलादेश बैंकमा खाता छ । अन्यत्र खाता, बचत पत्र, ऋण पत्र र घर जग्गा छैन । मेरो पतिको नाममा मोटरसाइकल २ थान छ । कार थियो, बेचिसकेको जस्तो लाग्दछ । नामसारी भएको नभएको थाहा
छैन । मेरो नाममा दर्ता रहेको फर्ममा मबाहेक ९ जना कर्मचारी छन् । उक्त फर्म सुरू गर्दा रू.६,५०,०००।– लगानी थियो । सो लगानीको स्रोत फर्म दर्ता गर्नुअघि स्वतन्त्ररूपमा काम गरेर कमाएको सम्पत्तिबाट हो । कर बुझाएको छैन । मेरो फर्मले प्रतितपत्र खोली कारोबार गरेको छैन । फर्मको आम्दानी खर्चको विवरण र कर तिरेको विवरण पेस गर्नेछु । मेरो आय वार्षिक सरदर रू.३,००,०००।– हुन्छ । यो आम्दानी सन् १९९६ देखि हालसम्म यथावत् छ । टेलिफोन महसुल म र श्रीमान्ले व्यहोरेको छौ । मेरो सो आर्जन आफूखुसी खर्च र सञ्चित गर्ने गरेकी छु । मसँग हाल घरमा रू.५,००,०००।– नगद र २५ तोला सुन छ । मेरो आम्दानीबाट कसैको नाममा कुनै पनि जग्गा जमिन घर किनेको छैन । हामीहरू छुट्टाछुट्टै इलम गर्दछौँ र छुट्टाछुट्टै आम्दानी सञ्चय गर्दछौँ भन्नेसमेत व्यहोराको विनीता घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो विवाह २०५७ सालमा भएको हो । मेरी श्रीमती विनीता घिमिरे इन्टेरियर डिजाइनर हुनुको साथै उनको नाममा व्यापारिक फर्म पनि भएकोले डिजाइनिङ र व्यापार पनि गर्दै छिन् । म, मेरी श्रीमती र छोरा का.म.न.पा.वडा नं.१० अवस्थित हाम्रो मूल घरमा बस्दै आएका छौं । मेरो प्रोपाइटरसिपमा रहेको प्रकाश इन्टरप्राइजेजको नाममा नेपाल बंगलादेश बैंक पुतलीसडकमा ०६५६०१० नं. को खाता छ । मेरो नाममा २ वटा मोटरसाइकल छ । प्रकाश इन्टरप्राइजेज नामक फर्म वाणिज्य विभाग तथा कर कार्यालयमा दर्ता गरी हार्डवेयर तथा रङ्गरोगनको कारोबार गर्ने गरी मिति २०५६ सालमा दर्ता गरेको हो । म र मेरी श्रीमतीलाई कुनै चिठ्ठा अपुताली परेको छैन । मेरो नाममा दर्ता रहेको फर्मबाट मैले विभिन्न प्रोजेक्ट संस्था सम्मेलन केन्द्र व्यक्तिगत घर व्यापारिक कम्प्लेक्स आदि जस्ता घरहरूमा साधारण तथा स्प्रे मर्मत गरिने रङ्ग रोगन कार्य गर्दै आएको छु । मेरो फर्मको पुँजी रू.४,००,०००।– छ । फर्ममा २०५६ सालदेखि मासिक तलब खाने ३ जना कर्मचारी र २० देखि ३० जना कामदारहरू छन् । फर्मको २०५९ सालसम्मको आय व्यय विवरण आन्तरिक राजश्व कार्यालयमा पेस गरेको छु । सो विवरणको प्रमाणित प्रतिलिपि पेस गर्नेछु । मेरो फर्मबाट आ.व. ०५५/५६ मा १,००,०००।– ०५६/५७ मा रू.१,००,०००।– ०५७/ ५८ मा रू.९,००,०००।–, ०५८/५९ मा रू.१०,००,०००।– जति खुद नाफा भएको छ । मेरो नाममा दर्ता भएको फर्मबाट हुने आम्दानी मेरो हो । सोबाहेक अन्यत्र आयस्रोत छैन । फर्मले गरेको कामको भुक्तानी गर्दा बिल भरपाई दिने गरेको छ । मैले काम गरी भुक्तानी प्राप्त गरेको संस्था, निकाय व्यक्तिहरू उल्लेख गरेको छु । ती निकायबाट भुक्तानी प्राप्त गरेको प्रमाण पेस गर्नेछु । बा.३.च.८११३ नं.को कार बेचिसकेँ । म र मेरी श्रीमतीसँग हाल ४/५ लाख नगद छ । गरगहनाको हकमा आयोगले छापा मारेपछि छोडिआएका करिब २०–२५ तोला जति घरमा छ । ती म र मेरी श्रीमतीका हुन् । मेरो कमाई घर खर्च र मेरो व्यक्तिगत खर्चमा खर्च भई बचेको जे जति रकमहरू हुन्छन् तीलगायत मेरा दाजुहरूको रोहवरमा खर्च गरिन्छ । मैले मेरो कमाईले २ वटा मोटरसाइकल किनेको हो भन्नेसमेत व्यहोराको प्रकाश घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरी श्रीमती उमा घिमिरे सगरमाथा इन्स्योरेन्स कम्पनीमा काम गर्दछिन् । मेरो छोराहरू स्कुलमा पढ्दैछन् । म र मेरी श्रीमती तथा छोराहरू भक्तपुर ठिमी न.पा. वडा नं. ९ मा बस्दै आएका
छौं । मेरी श्रीमतीको नाममा घरजग्गा बचत वा ऋणपत्र, बैंक लकर, सवारी साधन छैन । बैंक खाता छ । मेरो नाममा जनकपुर नगरपालिका वडा नं. १४ मा घर जग्गा, महोत्तरी खयरमारा गा.वि.स वाड नं. ५ मा जग्गा, भक्तपुर ठिमी न.पा. मा घरजग्गा रहेको छ । त्यसै गरी मोटरसाइकल थान १, बैंक अफ काठमाडौंमा बचत खाता, नेपाल अरब बैंकमा बचत खाता, बैंक अफ काठमाडौंमा मेरो नाममा र एभरेष्ट बैंकमा म र मेरा २ छोराहरूको नाममा, नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंकमा मेरा छोराहरूको नाममा साझा भण्डार र साझा सेवामा मेरो र मेरी श्रीमतीको नाममा सेयर रहेको छ । मेरी श्रीमतीको नाममा कुनै व्यापारिक फर्म दर्ता छैन । मेरा नाममा भ्याली पम्प सर्भिस, मल्टी प्रिन्टर्स नामका फर्म छन् । घिमिरे ट्रेड एन्ड जनरल सप्लायर्स कुमारप्रसाद घिमिरेको नाममा दर्ता रहे तापनि सम्पूर्ण कारोबार मैले नै गरेको छु । सामुदायिक एकीकृत मञ्च नामको संस्थाको नामको टेलिफोन र मल्टी प्रिन्टर्स फर्मको मोबाइल फोन मैले प्रयोग गरेको हो । मेरो नाममा एक मोबाइल टेलिफोन छ ।
भ्याली पम्प सर्भिस २०४८ मङ्सिरमा उद्योग विभागमा दर्ता रहेको र सो फर्मको चालु तथा स्थिर पुँजी रू.३ लाख हो । २०४४ सालमा म साझा स्वास्थ्य सेवा महाँकाल स्थानमा लेखापाल रहँदा तलब भत्ता, २०४५ सालदेखि २ वर्ष ट्युसन पढाई मासिक रू.५०००।– का दरले आम्दानी गर्दथे । २०३८ सालमा राष्ट्रिय कृषि गणनामा काम गरी आय आर्जन गर्दथेँ । २०४१ देखि २०४४ सम्म जनकपुर चुरोट कारखानामा लेखापाल पदमा कार्यरत थिएँ । तलब भत्ता र बुबाले दिएको रकम एवं सरसापटको समेतबाट भ्याली पम्प सर्भिस सञ्चालन गरेको हो । मेरो भाइको नामबाट दर्ता भएको घिमिरे ट्रेड एन्ड जनरल सप्लायर्स नामको फर्म २०५० साल पुसमा दर्ता भएको हो । यस फर्मको सुरू पुँजी रू.१ लाख हो । भ्याली पम्प सर्भिस र घिमिरे ट्रेड एन्ड जनरल सप्लायर्सको कारोबारबाट सरकारलाई तिर्नुपर्ने करसमेत बुझाई प्रशस्त मात्रामा आय आर्जन गरेकोले स्रोत जुटाउन गाह्रो परेन । मैले यस क्रममा व्यवसायलाई अझ वृद्धि गर्नका लागि सेन्ट्रल फाइनान्सबाट ५०,०००।– ऋण पनि लिएको थिएँ । यी तिनै वटा फर्मको आयव्यय विवरण सम्बन्धित निकायहरूमा बुझाएको छु । अडिट रिपोर्टलगायतका कागजात पेस गर्नेछु । मेरो र मेरा भाइका नाममा रहेको माथि उल्लिखित फर्मबाट वार्षिक रू.५०,०००।– खुद आय हुन्छ । सामान सप्लाई गर्दा स्थानीय बजार र भारतबाट खरिद गरी सप्लाई गर्ने गरेको छु । खासा तिब्बतबाट सामान आयात गर्ने गरेको तर मेरो नामको सामान अरूको फर्मको नामबाट टि.टि. गरी छुटाउने गर्दछु । म र मेरो सगोलका परिवारले काठमाडौं बुद्धनगर वडा नं.१० मा २०५३ सालमा घर बनाएको हो । भक्तपुर ठिमीमा २०५४/०५५ सालतिर बनाएको हो । म र मेरो परिवारका सदस्यहरू २०४४ देखि २०५२ सालसम्म एकै ठाउँमा डेरा गरी बस्ने गरेका थियौँ ।
जनकपुर चुरोट कारखानामा २०४१/५/३१ देखि २०४४/६/५ सम्म काम गर्दा तलब, घरभाडा, लेखा भत्ता, बोनससमेत गरी मासिक २५००।–, साझा भण्डार लि.मा २०४५/२/१ देखि २०५२ असारसम्म जागिर गर्दा तलब, घर भाडा, लेखा भत्तासमेत गरी मासिक रू.३०००।– पाउँथेँ । मेरो बुबाले आफ्नो पैतृक सम्पत्तिबाट २०४४ सालमा रू.३ लाख दिनुभएको थियो । विभिन्न गैरसरकारी संघ संस्थाले सञ्चालन गरेको तालिमबाट भत्ता प्राप्त गर्थे । म स्वयं सहकारी बचतसम्बन्धी प्रशिक्षण दिने काम गरी पारिश्रमिक प्राप्त गर्थे । विदेश इन्डोनेसिया गएको छु । म र मेरो परिवारका नाममा काठमाडौं बुद्धनगर, भक्तपुर ठिमी, धनुषा, महेन्द्रनगर, जनकपुर वडा नं.४ मा क्रमशः रमादेवी घिमिरे, जनार्दनप्रसाद घिमिरे र मेरो नाममा घर रहेका छन् । मेरो आयले कोही कसैको नाममा घर जग्गा किनेको छैन । हामीले कमाएको सम्पत्ति एकासगोलको हो । सबैको बराबरी मेहनत छ ।
बुद्धनगरको घरबाट बरामद भएको नेपाल अरब बैंक कान्तिपथ शाखाबाट जारी भएको २ थान चेकका सम्बन्धमा सूर्य पस्मिना उद्योगलाई आवश्यक पर्ने पस्मिनासम्बन्धी सिल्क धागोसमेतका वस्तुहरू डेलिभरी गराएबापत पाउनु पर्ने रकम हो । तर उक्त वस्तुहरू मेरो घरायसी कारणले नभ्याएकोले डेलिभरी हुन नसकी ती चेकबाट भुक्तानीसमेत नभएको हो । गुणस्तरीयताको ग्यारेन्टीको लागि मलाई चेकहरूमा रकम उल्लेख गरिदिएको थियो । यससम्बन्धमा भएका सम्झौताको कागज पेस गरेको छु । हामी सगोलका परिवार भएका कारणले गर्दा दाजु भरतप्रसाद घिमिरे र भाउजू रमादेवी घिमिरे रहने बस्ने घरमा आफू व्यापारी भएकोले सुरक्षाको दृष्टिले राखिएको हुँदा ती चेकहरू त्यहाँ फेला पेरेको हो । विदेशी मुद्रा सुरक्षाको दृष्टिले दाजु भाउजूलाई राख्न दिएको भन्नेसमेत व्यहोराको नारायणप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
म मेरी श्रीमती कमला घिमिरेका नाममा बैंक ब्यालेन्स, बैंक लकर, सेयर, बचत वा ऋणपत्र केही छैन । मेरा नाममा धनुषा महेन्द्रनगर गा.वि.स मा १ कठ्ठा जग्गामा बनेको ३ कोठाको घर र सोही गा.वि.स वडा नं.५ मा एक बिगाहा जग्गा छ । श्रीमती र मेरो नाममा व्यापारिक फर्म दर्ता छैन । टेलिफोन पनि
छैन । हामीसँग घर व्यवहार चलाउने १–२ हजार रूपैयाँ र करिब १ तोला सुनको गहना छ । मेरो जेठो छोरा साउथ प्वाइन्ट स्कुलमा बुद्धनगरमा कक्षा ५ मा पढ्छन् । मेरा नाममा रहेका माथिका जग्गा घर पुर्ख्यौली सम्पत्ति र आयस्ताबाट खरिद गरेको हो भन्नेसमेत व्यहोराको जनार्दनप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
म र मेरी श्रीमतीका नाममा बैंक ब्यालेन्स, बैंक लकर, सेयर बचत, ऋणपत्र र सवारी साधन
छैन । मेरा नाममा धनुषा महेन्द्रनगर सखुवामा ७ धुर जग्गा ऐ.गा.वि.स. वडा नं. ६ मा ३० कठ्ठा जग्गा छ । हाल मेरो भाइ नारायणप्रसाद घिमिरेको घरमा जनकपुर न.पा.वडा नं. १४ मा बसेको छु । मेरी श्रीमतीको नाममा घर जग्गा छैन । हाल म र मेरी श्रीमतीसँग रू.२,०००।– नगद जति छ । मेरो आयस्ता बच्चाबच्ची पढाउन र घर खर्चको क्षेत्रमा खर्च हुन्छ । मेरो जेठो छोरा काठमाडौं बुद्धनगरमा बसी भि.एस. निकेतनमा I.Com पढ्छ । अन्य २ छोरी जनकपुरमा मोडल पब्लिक स्कुलमा पढ्छन् । २०३३ सालदेखि २०३५ साल कार्तिकसम्म अस्थायी र त्यसपछि स्थायी भई २०५१ साल आश्विनसम्म सुर्ती विकास कम्पनीमा काम गरेको हो । मैले सुर्ती विकास कम्पनीमा काम गर्दा प्राप्त गर्ने तलब, भत्ता र अवकाश हुँदा प्राप्त गरेको कुल रकम रू.७६ हजार जति प्राप्त गरेको थिएँ । मेरो नामको माथि उल्लिखित महेन्द्रनगरको जग्गा २०५१/०५२ सालतिर रू.१ लाख ४५ हजारमा खरिद गरेको
हो । सो जग्गा माथि उल्लिखित कम्पनीबाट प्राप्त रकम र खेतीपाती, पशुपालन गरी आय आर्जन गरेको रकमसमेतबाट खरिद भएको हो भन्नेसमेत व्यहोराको मुकुन्दप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरी श्रीमती कविता घिमिरेका नाममा घर जग्गा, बैंक खाता लकर, सेयर, बचत वा ऋणपत्र केही छैन । मेरा नाममा तीमध्ये का.जि.जोरपाटी गा.वि.स.मा ८ आना जग्गा कृषि विकास बैंक गौशालामा ३४२८९३ नं. को बचत खाता रहेको छ । मेरी श्रीमतीको नाममा कुनै व्यापारिक फर्म छैन । मेरा नाममा २०५३ सालमा गौरीशंकर स्टेसनरी सप्लायर्स नामको फर्म दर्ता गरी हालसम्म कारोबार गर्दै आएको छु । उल्लिखित फर्महरू पर्सामा दर्ता रहेका छन् । २०५३ सालदेखि २०५५ सम्म स्टेसनरी सामानको कारोबार गरेको र हाल भएको फर्मबाट TV रेडियो, घडी, VCP इलेक्ट्रोनिकसम्बन्धी सामानको कारोबार गर्दछु । श्रीमती र मेरो नाममा टेलिफोन छैन । श्रीमतीको विवाहमा प्राप्त १० तोला सुन होला, नगद १–२ हजारसम्म होला । मेरो नाममा कृषि विकास बैंक बत्तीसपुतलीमा रू.५। ६ हजार नगद होला । मेरो आम्दानी प्रतिवर्ष ३ देखि ४ लाखसम्म
हुन्छ । संयुक्त परिवारमा खर्च गरिन्छ । म र मेरी श्रीमती छोरा काठमाडौं बुद्धनगरमा बस्दछौँ भन्नेसमेत व्यहोराको गणेशप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
भरतप्रसाद घिमिरेलाई २०४५/०४६ देखि कर्मचारीको नाताले चिनेको हो । नाता सम्बन्ध छैन । कर्मचारीको नाताले १।२ हजार सरसापटी लिनेबाहेक निजसँग लेनदेन कारोबार छैन । सम्पत्ति लुकाउने काममा सहयोग पनि गरेको छैन । राष्ट्रिय वाणिज्य बैंक गौशालाबाहेक अन्यत्र मेरो खाता छैन । भरत घिमिरेको घरबाट बरामद भएका चेकहरू र चेकको दस्तखत र पासबुक मेरो हो । भरतलाई खाता प्रयोग गर्ने अख्तियारी दिएको छैन । मेरो छोरालाई लन्डन पढ्न स्वीकृत आएको अवस्थामा खर्च व्यहोर्ने स्रोत देखाउनु पर्ने हुँदा काठमाडौंको गोपी कृष्ण मुविजका मालिक उद्धव पौडेलसँग अनुरोध गरेपछि निजले आर्थिक सहयोग गरेको र त्यसबेला मेरो छोरा पनि उक्त हलमा नै काम गर्थे । त्यसपछि मैले चेकबुक पासबुक पाई चेकबुकमा सही गरी रकम उल्लेख नगरी छोरालाई छोडेको थिएँ । मेरो छोरा उक्त हलमा काम गर्दाकै अवस्थाको कुरो भएको र ३, ४ जना मिली कोठा लिई बसेको हुँदा उक्त चेकको सुरक्षाको लागि भरतप्रसाद घिमिरेका भाइ प्रकाश घिमिरे मेरो छोरासगै पढ्ने साथी भएको कारण निजलाई राख्न दिएको कारणले भरतको घरमा चेकसमेतका कागजात फेला परेको हो । मेरो छोरा सन्तोषले लन्डनमा गएपछि फोनबाट कलेजले जुनसुकै समयमा पनि खाता हेर्न सक्ने हुँदा कारोबार राखी राख्नु भनेपछि प्रकाश घिमिरेलाई रकम झिक्ने राख्ने गरिदिनु भनेको थिएँ । भरतले के हिसाबले डायरी र बैंकमा कारोबार गर्नुभयो मलाई थाहा छैन । उद्धव पौडेल मेरा भान्जा हुन् । निजले नै बैंकमा रूपैयाँ जम्मा गरी कारोबार गरेको हो भन्नेसमेत व्यहोराको विष्णुप्रसाद उपाध्यायले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
का.जि.का.म.न.पा.कालिमाटीको कि.नं.८५ समेतको जग्गा खरिदसम्बन्धी कागजातका सम्बन्धमा म र किशोरी घिमिरेले संयुक्तरूपले जग्गा किनेको र भरतप्रसाद घिमिरेले श्रीमती रमादेवी घिमिरेसमेत भएको बखतमा जग्गा पास गरेको थियो, त्यस समयमा जग्गाको पुर्जाहरू भरतप्रसाद घिमिरेले लगेको हुँदा निजको घरबाट बरामद भएको हो । हामीले किनेको जग्गामा रूपैयाँ भरतले हालिदिएको पनि होइन । देखाएको कागजात हेरेँ । मैले र किशोरी घिमिरेले लिएको संयुक्त जग्गाबाट ६ आना जति जग्गा रमा घिमिरेलाई प्रतिआना १०–१२ हजार रूपैयाँ लिई बकसपत्रबाट बिक्री गरेको हो भन्नेसमेत व्यहोराको बत्सला प्याकुरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
भरतप्रसाद घिमिरेलाई ४–५ वर्षअघि चिनेको हो । घरमा समेत आवतजावत् छ । म चलचित्र निर्माण गर्ने पेसामा रहेको र यदाकदा ठुलो रकमको आवश्यकता पर्ने भएकोले निज भरतप्रसाद घिमिरे र निजले बन्दोबस्त गरी दिएका मानिसबाट एकपटक रू.७ लाख ऋण लिएको छु । ७ लाख रूपैयाँको कागज गरिदिएको छु । हाल निजले र निजले बन्दोबस्त गरिदिएका मानिससँगको ऋण फिर्ता गर्न बाँकी छैन । देखाएका डायरी र विवरण हेरेँ । ऋण सापट लिएका सन्दर्भमा टिपिएको हो भन्नेसमेत व्यहोराको गोपाल कर्माचार्यले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको
बयान ।
म हाल आन्तरिक राजश्व विभागमा काम
गर्दछु । भरतसँग कुनै नाता सम्बन्ध छैन । एउटै समूहका कर्मचारी भएको र बुद्धनगरमा नजिकै घर भएकोले चिनजान भएको हो । भरत घिमिरेसँग मिलेर पस्मिनाको कारोबार गरेको हो । MEMO लेखिएको डायरीको रकम मैले पाउनु पर्ने होइन । काम रोकिएका बखतमा हिसाब किताब गर्दाको समयमा लेखिएको हुनुपर्छ । Toyota डायरीको सेप्टेम्वर १९९९ को पानाको कारोबारको रकम पस्मिना खरिद बिक्रीसँग सम्बन्धित
हुनुपर्छ । पस्मिना बिक्री भै जम्मा भई आएको रकम दिँदाको अवस्थामा लेखिएको हुनुपर्छ भन्नेसमेत व्यहोराको कृष्णप्रसाद भट्टराईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
म तातोपानी भन्सार कार्यालयमा खरिदार पदमा कार्यरत छु । भरतप्रसाद घिमिरेसँग नाता
छैन । कर्मचारीको हैसियतमा सँगै काम गर्दा चिनेको
हो । निजसँग घरायसी सर–सापट हुने गर्दथ्यो । लेनदेन कारोबार केही छैन । Impregilo २००० नामक डायरीमा उल्लिखित व्यहोराका सम्बन्धमा निज भरत घिमिरेसँग मैले पटकपटक गरी सापटी लिएको र उक्त रकम मेरी छोरीको विवाह गर्नलाई लिएको
हुँ । सोबापत पैसा तिर्न नसक्दा मेरी श्रीमतीको नाममा रहेको जोरपाटीको ०–८–०–० जग्गा पास गरिदिएको हुँ भन्नेसमेत व्यहोराको माघवप्रसाद सापकोटाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
हाल म जिल्ला अदालत धनुषामा कार्यरत छु । भरत घिमिरे मेरो श्रीमतीको फुपाजु भएकोले म वहाँलाई भिनाजु भन्दछु । भरत घिमिरे र गोपाल कर्माचार्यसँग लेनदेन कारोबार छैन । २०५६ सालतिर मेरो पैसा ब्याजमा लगाइदिन्छु भनी भरतले भनेको हुँदा ७ लाख दिएको थिएँ । देखाइएको लिखतको लिखितमदेखि शुभम्सम्मको व्यहोराको र साक्षी खण्डको अक्षर मेरो
हो । पैसा दिँदा म उपस्थित थिइन । गोपाल कर्माचार्यलाई चिनेको पनि थिइन । पैसा लिन म र भरत गएका र भरतले नै लिखत लानुभएकोले निजको घरबाट बरामद भएको हो । देखाइएका डायरीको पानाको व्यहोरा हेरेँ । अर्काको व्यक्तिगत डायरीमा उल्लिखित कुराहरूबारे जानकारी भएन । वसन्तलाल श्रेष्ठ भन्ने व्यक्तिलाई म चिन्दिन भन्नेसमेत व्यहोराको कृष्णप्रसाद अधिकारीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
भरतप्रसाद घिमिरेलाई २०४९/०५० देखि नै चिन्दछु । निजले केही रकम ब्याजमा लगाइदिनु भनेकोले उक्त कुरामा म सहमत भएपछि निजले पटकपटक गरी मेरो प्रोप्राइटरसिपमा रहेको कृष्ण पस्मिना आर्टसको नेपाल बैंक अफ सिलोनस्थित चल्ती खाता नं. ५०६ मा अन्दाजी रू.३५ लाख जम्मा गरिदिनु भएको थियो । सो रकमबाहेक पनि निजले ०५७ असारदेखि कार्तिकसम्म पटकपटक गरी १५ लाख मलाई घरमा आइदिनुभएको हो । माथि उल्लिखित चल्ती खातामा जम्मा गरेको भौचर निज भरतले दिँदा मैले बैंकबाटै स्टेटमेन्ट लिन्छु कारोबारको सम्झनाको लागि तपाइँले नै राख्नुहोस् भनेको
थिएँ । यसरी ५० लाखको लेनदेन हुँदा कुनै कागजात भएको थिएन । सापटी रकमको १ वर्षभन्दा बढी २४ प्रतिशतका दरले तिनतिन महिनामा ब्याज
बुझाउँदथेँ । पछि व्यापारमा मन्दी आएपछि सापटी रकमको १८ प्रतिशत ब्याज दिने र रू.२५ लाख मात्र चलाउने कुरा हुँदा हामी सहमत भई २०५८ सालको पुस माघदेखि २०५९ सालको आधा रकम फर्काउँदा रू.५० लाखको ब्याजसमेत दिएको थिएँ । बाँकी रकम रू.२५ लाखको २०५९ साल असार मसान्तसम्मको ब्याज २०५९ साल साउन महिनाको १५–१६ गतेतिर भुक्तानी दिँदा अब भरत र मेरो बिच सावाँतर्फको रू.२५ लाख मात्र र २०५९ साल साउन १७ गतेदेखिको ब्याज मैले दिनुपर्नेछ भन्नेसमेत व्यहोराको कृष्णबहादुर कुँवरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
भरतप्रसाद घिमिरेसँग २०५७ सालदेखि चिनजान छ । का.म.न.पा. वडा नं.१० बस्ने उज्वल प्याकुरेललाई भरतप्रसादको घरमा जाँदा चिनेको हो । सो समयमा भरतप्रसाद घिमिरेसँग केही रकम मागेकोमा निजले आफूसँग नभएको हुँदा अरूसँग मिलाई दिन्छु भनेको र निज भरतले उज्वल प्याकुरेलसँग रू.३ लाख २०५८ सालतिर चलनचल्तीको ब्याजमा मिलाई दिएको हो भन्नेसमेत व्यहोराको जीवनलाल अमात्यले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
भरतप्रसाद घिमिरे र म छिमेकी हौँ । उनको र मेरो घर निर्माण लगभग एकै समयमा भएको हुँदा हामी बिच लेनदेन हुन्थ्यो । हाल लेनदेन छैन । मैले केही सामान किनिदिन अनुरोध गर्दथेँ र उनले त्यसको हिसाब माग्दथे । त्यही हिसाब किताब उनले डायरीमा राखेको होला र निजको डायरीमा उल्लिखित सिसाकलमबाट लेखिएको रू.३,८०,०००।– को हिसाब संयुक्त बाटोको हिसाब हुनुपर्दछ भन्नेसमेत व्यहोराको देवी भण्डारीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जीवनलाल अमात्यलाई लगभग १४–१५ महिना अघिदेखि चिन्दछु । २०५८/५/१३ गतेको कागज हेरेँ, सो कागजको ३ लाख मेरो हो । जग्गा बिक्री र कृषि उत्पादनबाट प्राप्त रकम भरत घिमिरेमार्फत ब्याजमा लगाउन जीवनलाल अमात्यलाई दिएको हुँ भन्नेसमेत व्यहोराको उज्वल प्याकुरेलले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
भरतप्रसाद घिमिरेसँग कुनै सम्बन्ध छैन । निजका भाइ नारायण घिमिरे व्यापारिक काम गर्ने हुँदा चिनजान भएको हो । म पस्मिना उद्योग सञ्चालन गर्ने भएकाले पस्मिना यार्न एवं शिल्क यार्न आवश्यक पर्ने हुँदा नारायण घिमिरेलाई पस्मिना यार्न र शिल्क यार्न बुझाउने सर्तमा कागज गरेको र बैंकमा रकम पर्याप्त नभएकोले निजलाई ग्यारेन्टी स्वरूप नेपाल अरब बैंक कान्तिपथका २ वटा चेक दिएको हो । नारायण घिमिरेसँगको यस कारोबारसम्बन्धी सम्झौताको फोटोकपी पेस गरेकी छु । ती चेकको भुक्तानी मिति २०५९/३/२३ मा मात्र दिनु भनी नेपाली खामको भित्री भागमा श्रीमान्ले सही गरेको हो । उक्त चेकबाट भुक्तानी भएको छैन भन्नेसमेत व्यहोराको रेणुका श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
भरत घिमिरेलाई २०४९ सालदेखि चिन्दछु । भरत घिमिरेबाट मैले २०४९ साल पछि २०५२ साल अगाडि रू.२ लाख ५० हजार सापटी लिएको र केही महिनामा सबै फिर्ता गरेकोले हाल निजसँग कुनै लेनदेन बाँकी छैन । निजको डायरीमा लेखिएको रू.९०,०००।– के बापत लेखिएको हो थाहा छैन भन्नेसमेत व्यहोराको कृष्णप्रसाद घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
भरत घिमिरेसँग कुनै प्रकारको सम्बन्ध
छैन । नारायणप्रसाद घिमिरेसँग सानोतिनो व्यापारको सम्बन्ध चिनजान भई कारोबार छ । नेपाल अरब बैंक कान्तिपथ शाखाका २ वटा चेक हेरेँ । उक्त चेक सूर्य पस्मिनाले नारायण घिमिरेलाई पस्मिना यार्न र शिल्क धागो खरिद गर्न तत्काल बैंकमा पैसा नभएकोले ग्यारेन्टीको लागि दिइएको हो भन्नेसमेत व्यहोराको लक्ष्मण श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
म आन्तरिक राजश्व कार्यालय क्षेत्र नं. २ मा कर अधिकृत छु । भरत घिमिरे र मेरो घर रामेछाप मन्थली भएकोले चिन्दछु । कुनै नाता छैन । सोधिए अनुसार DHL डायरीमा लेखिएको व्यहोराका सम्बन्धमा मैले भरत घिमिरेलाई मिति २०५७/५/६ मा घरायसी सम्बन्धको हिसाबले रू.२ लाख दिएको थिएँ । त्यसमध्ये एकपटक रू.१३ हजारको टेलिफोन सेट तथा रू.६५ हजारको कम्प्युटर निजबाट लिएको हो । २०५८/३/१५ मा उक्त रकम रू.५० हजार फिर्ता लिएको र त्यसपछि रू.१० हजार फिर्ता लिएको
हो । Impregilo २००० डायरीमा रू.५० हजार लगेको भनेको रकम DHL डायरीको नै रकम हो । आजका मितिसम्म भरत घिमिरेसँग रू.६२ हजार लिनुपर्ने छ भन्नेसमेत व्यहोराको गोविन्दप्रसाद सुवेदीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रेडियो टेक्निसियन पदमा कार्यरत छु । भरत घिमिरेलाई ७–८ वर्षदेखि जागिरको सिलसिलामा र छिमेकीको नाताले चिन्दछु । भरतप्रसाद घिमिरेको Great Eastern Life नामक डायरीको फेब्रुअरी ३–५ को पानाको कारोबार सम्बन्धमा भरतप्रसाद घिमिरेसँग सरसापटी बापत लिएको रकम हो र चुक्ता गरिसकेको छु । सोही डायरीको Financial Summary पानाको विवरणका सम्बन्धमा भरतले के प्रसङ्गमा लेखेको हो, थाहा भएन । सोही डायरीको Personal Directory मा लेखिएको हिसाब बाटो खरिद गर्ने विषयमा भएको कुराकानीअनुसारको हिसाब भरतले लेखेको हुनुपर्छ भन्नेसमेत व्यहोराको नेत्रबहादुर शाहीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
म वीरगन्ज भन्सार कार्यालयमा ना.सु. पदमा कार्यरत छु । भरतप्रसाद घिमिरेलाई जागिरको सिलसिलामा २०४९ सालदेखि चिन्दछु । देखाइएका डायरीहरू Impregilo २००० डायरीको डिसेम्बर २७–२९ को पानाको सम्बन्धमा रू.१० हजार घरायसी व्यवहारको सापटी लिएको हो । रकम चुक्ता गरिसकेको छु । Great Eastern Life १९९७ को डायरी बुकको फेब्रुअरी ३–५ को पानाको हिसाब घर खर्च गर्न आवश्यक परी रू.१५ हजार भरतबाट लिएको रकम हो र चुक्ता गरिसकेको छु । सोही डायरीको अप्रिल ३–६ को पानाको हिसाब रू.२५ हजार छोरीको विवाह गर्दा सापटी लिएको रकम हो र चुक्ता गरिसकेको छु । १९९९ टोयटा नामक डायरीको मे १९९९ पानाको रू.५० हजार २ महिनामा नै फिर्ता गर्ने गरी घरखर्चबापत लिएको रकम हो र चुक्ता गरिसकेको
छु । सोही डायरीको जनवरी २००० को पानाको रू.५० हजार भरतप्रसाद घिमिरेसँग घरायसी सापटी लिएको र चुक्ता गरिसकेको छु भन्नेसमेत व्यहोराको परमेश्वर यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेची भन्सार कार्यालयमा खरिदार पदमा कार्यरत छु । भरतप्रसाद घिमिरेलाई कर्मचारीको हैसियतमा चिन्दछु । म जागिरको सिलसिलामा विभिन्न ठाउँमा जानुपरेकोले भरतप्रसाद घिमिरेसँग रू.१५ हजार पटकपटक गरी मैले भनेअनुसार छोराले लिएको हो । उक्त रकम तिरिसकेको छु । सोही डायरीको नोभेम्बर १६–१७ को पानाको हिसाबका सम्बन्धमा काठमाडौंमा बसेर पढ्ने मेरो छोरा र जेठो छोराको विवाह गर्न भरत घिमिरेसँग पटकपटक रू.१ लाख ४० हजार लिएको र सो पटकपटक गरी लिएको रकम भरतले डायरीमा लेखेको जस्तो लाग्छ । उक्त रकम पटकपटक गरी चुक्ता गरिसकेको छु भन्नेसमेत व्यहोराको छविराम पराजुलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
सुरेश भट्टमार्फत भरत घिमिरेलाई चिनेको
हो । काभ्रे वालुवा गा.वि.स मा मेरो र श्रीमतीको नाममा रहेको जग्गा सुरेश भट्टमार्फत मदन अग्रवाल र कृष्ण अधिकारीलाई रू.८ लाखमा रजिस्ट्रेसन गरिदिएकोले सोही सिलसिलामा भरतले Great Eastern Life १९९७ को डायरीमा टिपेको हुनुपर्छ । भरतसँग मेरो कुनै लेनदेन छैन भन्नेसमेत व्यहोराको वसन्तबहादुर श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
तथ्य र प्रमाणको विवेचनाबाट प्रतिवादी भरतप्रसाद घिमिरेसँग रहेको कुल सम्पत्ति रू.१,८०,६०,८०४/०९ मध्ये रू.१,६५,००,२७९/०९ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम गैरकानूनीरूपमा आर्जन गरेको पुष्टि हुन आएकोले साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अनुसार अपराध भएको सन्दर्भलाई दृष्टिगत गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसुर गरेको सिद्ध हुन आएकोले सो सम्पत्ति निजले आफ्नी पत्नी रमादेवी घिमिरेसमेतका नाममा राखेकाले निजहरूको नामको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा १६(ग) लाई समेत मध्यनजर राखी अपराध गर्नमा मुख्य भूमिका निर्वाह गर्ने प्रतिवादी भरतप्रसाद घिमिरेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम रू.१,६५,००,२७९/०९ बिगोबमोजिम जरिवाना तथा हदैसम्म कैद र सो सम्पत्ति जफतसमेतको सजाय गरिपाउँ तथा निजको गैरकानूनी आर्जनको सम्पत्ति प्रतिवादी रमादेवी घिमिरेका नाममा उपर्युक्तानुसार रहेकोले उक्त अवैध आर्जनको सम्पत्ति ऐ. ऐनको दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) र ३० बमोजिम जफत गरिपाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र ।
मेरो पिता, माता, मसमेत ७ दाजुभाइ बिच अंशबन्डा भएको छैन । भाइहरू पनि व्यापार व्यवसाय गर्दछन् । भाइ नारायण एन.जि.ओ. आई.एन.जि.ओ.मा र इलेक्ट्रिकल गुड्स तथा अन्य सामानहरू आयात गर्दछन् । हामी ७ भाइकै कमाई बाबुआमा बसेको घरमा जम्मा गरी सबैको सल्लाह अनुसार जग्गा घर जोड्ने गर्दछौँ । बरामदमा देखाइएको ने.रू. तथा विदेशी मुद्रा र सुन भाइ नारायण र प्रकाश घिमिरेले व्यापार गर्दा आर्जन गरेका हुन् । आमाबाबुको सल्लाहअनुसार मेरो श्रीमतीलाई राख्न दिएका हुन् । मेरो नोकरी र बाहिर भएको कारोबारको संरक्षण म, जेठो दाजु र आमाबाबुको सल्लाहबाट हुने हुँदा भाइहरूले राख्न दिएको सगोलको आर्जन हो । बुबा, भाइ, बुहारीहरूलाई अलग अलग बस्छौँ भन्नुस् नत्र थुनामा राखी मुद्दा चलाउँछौं भन्ने धम्की दिई आफ्नो आर्जनबाट छुट्टी बसेको भन्ने बाध्य पारी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान गराएको कुरा बुवा भाइ, बुहारीबाट पछि थाहा पाएँ । निजहरूलाई अदालतबाट बुझिपाऊँ । अख्तियारले फसाउन काल्पनिक उजुरी गरेको हो । यु.एस.डलर ८३८ भाइ नारायण घिमिरे विभिन्न गैर सरकारी संस्था र व्यापारको सिलसिलामा विदेश आवतजावत गरिरहने हुँदा सुविधामा पाएको रकम हो । ने.रू. र भा.रू.को हकमा भाइ नारायण र प्रकाश घिमिरेले सामानहरू आयात गर्दा र प्रकाशले रंग रोगनको व्यापार गर्न भारतमा गई सामान खरिद गरी ल्याउनको लागि लिएर जानलाई राखेको हो । सो रूपैयाँहरू मेरो आर्जनको होइन । सुन ५ टेलको १ टुक्रा भाइ नारायणको हो ।१० तोलाको टुक्रा भाइ प्रकाशको हो । बिचमा प्वाल भएको सुन र चाँदी सबै परिवारको संयुक्त सम्पत्तिबाट मेरो छोरी रिङकुको विवाहलाई खरिद गरेको हो । भाइहरूले राख्न दिएको र विवाहमा दाइजो उपहार स्वरूप आएको आदिसमेत सगोलमा नै राखिएको हो । डायरी, ब्रिफकेस घडीहरू मेरो ठाँहिलो भाइ गणेश घिमिरेको वीरगन्जमा घडी पसल छोड्दा घरमा ल्याई राखी हाल गौशालामा पसल गरी
बस्छ । कहाँबाट खरिद गरेको हो भाइलाई नै थाहा छ । डायरी ब्रिफकेस, लालपुर्जा कुनै भाइका हुन् कुनै घरका हुन् । मेरो श्रीमतीको नाममा दर्ता रहेको का.म.न.पा. वडा नं.१० कि.नं.२८५, ४३७ र ९१ को क्रमसँग क्षे.फ.०–५–२–०, ०–२–३–२ र ०–३–२–० जग्गा २०५२ सालमा रामेछापको पुर्ख्यौली जग्गाको कृषि आय, महोत्तरी खयरमाराको कृषि आयबाट र भाइ नारायण घिमिरेको आयबाट खरिद गरी रू.१३,२५,०००।– मा अढाई तलाको वाल सिस्टमको घर बनाएको हो । त्यसमा मेरो तलब पनि पर्यो
होला । साथै श्रीमतीको गहना पनि बिक्री गरी बनाएको
हो ।
मेरो नामको महोत्तरी जिल्ला खयरमाराका कि.नं.६१ को ०–१०–१४ जग्गा २०४१ सालमा रजिस्ट्रेसनमा उल्लेख भएको मूल्यमा रामेछापको कृषि आयबाट खरिद गरेको र जोरपाटीको वडा नं.७ कि.नं.५३३ क्षे.फ.०–८–०–० जग्गा विन्दुदेवी सापकोटालाई हरेक काममा सहयोग गरेबापत निज विन्दुले बकस दिएको जग्गा हो । निजलाई
बुझिपाऊँ । साथै मोरङ बखरी ६(ग) कि.नं.८४३ को जग्गा मेरी श्रीमतीले आफ्नो पिता, माता, दाजु, भाउजूले दिएको पेवाको रकमबाट ४८,०००। – मा, मध्यपुरठिमी १४ कि.नं.२३० को जग्गा श्रीमतीले निजकी आमाजू जानुकादेवी खतिवडाबाट रू.१,०५,०००। – सापटी लिई खरिद गरेको हो । भक्तपुर जिल्ला बालकोटको कि.नं.८३९ र ८४० को जग्गा श्रीमतीले बकस पाएको हो । हाल कि.नं.४११ को जग्गा छिमेकी सँधियार भएकोले देवीप्रसाद भण्डारीले हा.वा. गरी श्रीमतीलाई बकस गरी दिएको हो । कि.नं.४१० को जग्गा सबिता बस्याललाई श्रीमती रमाले रिझायबापत निजबाट बकस पाएको हो । कि.नं.४०९ र २१७ का जग्गा मेरो श्रीमतीको नाममा बकस आएका हुन् । का.जि. गोगंबुको कि.नं.९६८ जग्गा नाति प्रजापती, सेकनी प्रजापती, सानुकाजी महर्जन, गोपीकृष्ण ढुङ्गानासमेतबाट श्रीमतीले बकस पाएकी हुन् । का.जि.कालीमाटी कि.नं.९१, ४३७ का जग्गाहरू गोमा सिजापती र मेरो जेठानी नातापर्ने किशोरी घिमिरे, माहिला ससुराको कान्छी बुहारी वत्सला प्याकुरेललाई श्रीमतीले रिझाएबापत बकस पाएका जग्गा हुन् । महोत्तरीको कि.नं.३९२ को जग्गा श्रीमतीले माइतीबाट प्राप्त पेवाले खरिद गरेको हो । महोत्तरीको कि.नं.३६२ को ०–२–४ जग्गा मेरो श्रीमतीले आफ्नो भाउजूबाट दाइजो स्वरूप प्राप्त गरेको हो । यस विषयमा श्रीमतीलाई प्रस्ट थाहा छ बुझिपाऊँ । मैले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको बयान म टाइफाइटको बिरामी भई घरमा बिदा बसेको बेला पक्राउ गरी मानसिक यातना दिई हामीले जे भन्छौँ त्यही लेख भनी ड्राफ्ट गरी बयानमा सार्न लगाएको थियो । मेरो खुसीराजीले गरेको बयान होइन । सही र हस्ताक्षर मेरै हो । श्रीमतीलाई पनि त्रासमा पारी बयान गराएको हुनुपर्छ । साझा स्वास्थ्य सेवा सहकारी संस्था लि.को १०० दरको ५०० को ५ कित्ता सेयर मेरो श्रीमतीको नाममा मेरो तलबबाट खरिद गरेको हो ।
विराटनगरको खाता तलब जम्मा गर्न खोलेको हो । ने.वै.लि.को एउटा खातामा रहेको रकम श्रीमतीको माइतीबाट दशैं तिहारमा टीकाटालोबाट प्राप्त रकम हो । रा.वा.बैंक, काठमाडौंको रू.५३,३९९।१६ भनेको गलत हो । उक्त खाता नं.००१८८४ मेरो होइन । अख्तियारले देखाएको तथ्य गलत हो । कृष्णबहादुर कुँवरलाई ब्याजमा लगाएको २५,००,०००।– को सम्बन्धमा जनकपुरमा बस्ने दीपकराज घिमिरेले रू.१२,००,०००।–, श्रृजना के.सी.ले ७,२५,०००।–, इन्दिरा न्यौपानेले रू.५,७५,०००।– समेत २०५४ सालदेखि ब्याजमा लगाउन दिएका हुन् । निजहरू बुझिपाऊँ । साथै मैले २०५४ सालदेखि २०५७ सालको बिचमा पटक पटक गरी श्रृजना के.सी.सँग रू.१५,००,०००।–, हिरण्यप्रसाद पौडेलबाट रू.८,२५,०००।–, दीपकराज घिमिरेबाट २१,००,०००।– र इन्दिरा न्यौपानेबाट ५,७५,०००।– समेत रू.५०,००,०००।– लिई कृष्णबहादुर कुँवरलाई ब्याजमा लगाएको हो । ब्याज निजहरूले नै लिने गर्छन् । रू.२५,००,०००।– बुझाइसकेको छु । रू.२५,००,००।– बुझाउन बाँकी
छ । म दुवैथरीको चिनजानको मानिस हुँदा कागज गरी मैले लिई कृष्णबहादुरलाई ब्याजमा लगाइदिएकोसम्म हो । मेरो लगानी छैन । मेरो मासिक आम्दानी घरभाडा रू.५,०००।–, तलब लगभग ५,०००।–, रामेछापको कृषि आय वार्षिक ५०/६० हजार, महोत्तरीको कृषि आयबाट करिब १,००,०००।–, जनकपुर महेन्द्रनगर र ठिमीमा रहेका एकासगोलका घरहरूबाट करिब मासिक ७,०००।–, ०५७ सालदेखि छोरी रिङकुले ट्युसन पढाई आउने मासिक रू.३,०००।–, बालकुमारीको जग्गाबाट वार्षिक ५०,०००।–, जोरपाटी, बालकोट, कलंकी र गोङगबु समेतका जग्गाको भाडा बापत रू.७२,०००।–, भाइ बुहारीहरूबाट मासिक करिब १,२५,०००।– प्राप्त हुन्छ । खर्चको हकमा मासिक पढाई, उपचार, खाना, धारा, बिजुली, टेलिफोन समेतमा रू.१६,०००।– खर्च हुन्छ । चामल, दाल, घ्यु महोत्तरी, धनुषाबाट आउँछ । अख्तियारमा बयान गर्ने व्यक्तिहरूले डर त्रासमा झुट्ठा बयान लेखाएको भनेको हुँ । सो कुरा निजहरू म जेलमा बस्दा भेट्न आउँदा भनेका थिए । अख्तियारले मेरो सम्पत्तिको बढी मूल्याङ्कन गरेको छ । चिनजानका मानिसबाट कृष्णबहादुर कुँवरलाई ऋण दिएको र तिरेको रकमको पनि अख्तियारले बिगो देखाएको छ । मेरो श्रीमतीले बैंकबाट ऋण लिएको र पस्मिना कटाईसमेतका आयलाई न्यून देखाई घरजग्गा कर तिरेकोलाई देखाइएको छैन ।
मेरो महोत्तरी खयरमाराको २ वटा घर बिक्री भएको २,००,००।– मेरी श्रीमतीको महोत्तरीको ०–२–४ जग्गामा बनेको घरको रू.१,१०,०००।– र श्रीमतीकै नाममा रहेको मोरङको जग्गा, मेरो नाममा रहेको का.म.न.पा.१० को जग्गा बिक्रीबाट आएको रकमसमेत मेरो स्रोतमा देखाइएको छैन । ऋण लिएको कागज पेस गर्दा पनि बेवास्ता गरी बिगो कायम गरेको छ । त्यस्तैगरी दिदी जानुका खतिवडाबाट घर बनाउन लिएको रू.५,००,०००।– र भाइहरूले व्यापार गर्न हरिप्रसाद उपाध्यायबाट लिएको रकम रू.५,५०,०००।– समेत आयोगको बयानमा लेख्न खोज्दा नदिएकोले सो कुरा लेखाउन पाएको थिइन । ऋण लिएको सत्य हो । निजहरू बुझिपाऊँ । मेरो तलब र भन्सारमा सुन पक्रिदा रू.३५,०००।– कमिसन पाएको रकम समेतबाट बिमामा खर्च गरेको हो । घरबाट बरामद भएका डायरी मेरो हो । खेस्राको रूपमा राखेको हुँ । धेरैअगाडि देखिका हुन् । देखाइएका घर जग्गाका कागज कुनै मेरा, कुनै भाइहरूका र कुनै श्रीमतीका हुन् । डायरीमा उल्लेख भएका व्याक्तिहरूसँग कुनै लेनदेन छैन । साथै छोरा छोरीलाई महँगा स्कुलमा र विदेशमा पढाएको छैन भन्नेसमेत व्यहोराको प्रतिवादी भरतप्रसाद घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादी भरतप्रसाद घिमिरेले हाल रू.१,०८,२५,०००। – धरौट दिए लिई तारेखमा राख्नु, दिन नसके थुनामा राखी मुद्दामा पुर्पक्ष गर्नु भन्नेसमेतको व्यहोराको यस अदालतको मिति २०५९/९/१ को आदेश ।
अभियोग दाबी झुट्ठा हो । मेरो नाममा रहेको मोरङ बखरी ६(ग) कि.नं.८४३ को ०–१–१० जग्गा दाइजो पेवाको रकमबाट खरिद गरेको हो । का.जि.का.म.न.पा. वडा नं.१० को ३ कित्ता जग्गामध्ये कि.नं.२३० को ०–६–० जग्गाबाट ०–०–२–० बिक्री गरी कि.नं.२५८ को जग्गा सूर्यकुमारीबाट बकस पाएको र बाँकी पैतृक र देवर नारायण घिमिरेको नोकरी तथा व्यापार गरी आएको आयबाट खरिद गरी मेरो नाममा राखेको हो । कुनै अवैध आर्जनको रकमबाट खरिद गरेको होइन । काठमाडौं कालीमाटीको कि.नं.९१, ४३७ को ०–६–१–२ को जग्गा गोमा सिजापती र किशोरी घिमिरेबाट बकस पाएको हो । रकम तिरी खरिद गरेको होइन । भक्तपुर बालकोटको कि.नं.८३९ र ८४० को ०–७–१ को जग्गा माहिला वाग श्रेष्ठ, सानो नेत्रबहादुर, केदारबहादुर राउतलाई घरायसी व्यवहारमा लामो समयसम्म सहयोग गर्दा खुसी भई बकस दिएको हो । रकम तिरी खरिद गरेको होइन । काठमाडौं गोङगबुको कि.नं.९६८को ०–९–१–० जग्गा नाति प्रजापती, सेकनी प्रजापती, सानुकाजी महर्जन, गोपीकृष्ण ढुङ्गानाले निजहरूलाई घरायसी काममा सहयोग पुर्याए बापत बकस दिएका हुन् । बालकुमारीको कि.नं.४११ को जग्गा मेरो कुलेसो जोडिएका सँधियार देवीप्रसाद भण्डारीले सहयोग गरेबापत र कि.नं.४१० को जग्गा सबिता वस्यालबाट बकस पाएको हो । त्यो जग्गा पनि खरिद गरी लिएको होइन । मध्यपुरठिमी न.पा.वडा नं.३ कि.नं.२३० को जग्गा मेरो आमाजू जानुकादेवी खतिवडाबाट १,०५,०००।- सापट लिई खरिद गरेको हुँ । महोत्तरीको कि.नं.३६२ जग्गा भाउजू हिराकुमारी प्याकुरेलबाट दाइजो स्वरूप प्राप्त गरेकी हुँ । साथै बालकुमारी ३ कि.नं. ४०९ र २१७ को जग्गा आषाबहादुर प्रजापतीबाट बकस पाइएको
हो । त्यसैले मेरो नाममा भएका जग्गा अवैध आर्जनको रकमबाट खरिद गरेको होइन । भरत घिमिरेसँग ०३६ सालमा विवाह भई आएदेखि म घरको जेठी बुहारी हुँदा सबै व्यवहार मैले सम्हाल्दै आएकी छु । श्रीमान् सरकारी सेवामा हुनुहुन्छ । देवर नारायण घिमिरे ज.चु.का.लि. लगायत साझा भण्डार, भोटाहिटी र अन्य कार्यालयमा समेत नोकरी गर्नु भई नोकरी छुटी हाल व्यापार गर्नुहुन्छ । देवर मुकुन्द घिमिरे सुर्ती विकास कम्पनीमा ०३३ सालदेखि नोकरी गरी हाल राजनीति तथा व्यापार दुवै पेसामा हुनुहुन्छ । ठाँहिला देवर गणेश र कान्छो देवर प्रकाश व्यापार व्यवसायमा
हुनुहुन्छ । साहिँलो देवर कृषि पेसामा हुनुहुन्छ । देवर कुमार घिमिरे होटल शेर्पा काठमाडौंमा ०५२ सालदेखि नोकरीमा हुनुहुन्छ । देउरानी उमा, रूकमणी नोकरी, विनीता घर सजावटसम्बन्धी इन्जिनियरिङ पेसामा कार्यरत हुनुका साथै व्यापार गर्छिन् । अन्य देउरानी गृहस्थी र कृषिमा संलग्न छन् । छोरी रिङकु ट्युसन पढाई आर्जन गर्छिन् । बरामद भएको नेपाली रूपैयाँ नारायण घिमिरे र प्रकाश घिमिरे देवरहरूले व्यापारबाट रकम जम्मा गरी सुरक्षाको लागि मलाई राख्न दिएको हो । भारतीय रूपैयाँ देवर प्रकाश घिमिरेको हो । देवर नारायण घिमिरेको एन.जि.ओ.मा पनि काम हुँदा विदेश गई रहने भएकोले डलर उहाँकै हो ।
बरामदी सुनमध्ये ५ टेल उल्लेख भएको सुनको टुक्रा देवर नारायणको हो । अर्को टुक्रा देवर प्रकाशको हो । बिचमा खाल्डो परेको सुन सगोलको सम्पत्तिबाट खरिद भएको हो । घडीहरू देवर नारायण घिमिरेले वीरगञ्जको पसल छाडी गौशालामा पसल गर्न सुरू गरेकाले उक्त पसलको लागि ल्याएको हो । हिरण्यप्रसाद पौडेल, सृजना के.सी., इन्दिरा न्यौपाने, दीपकराज घिमिरे, हरिप्रसाद उपाध्यायसमेतबाट रकम ल्याई रकम ब्याजमा लगाई दिन्थ्यौं । सो कुरा कृष्णबहादुर कुँवरलाई बुझिएमा स्पष्ट हुने नै छ । हामीले पस्मिनाको पनि व्यापार गर्थ्यौं । सो काम गर्न पनि ऋण लिएका थियौं । ऋण लिएको रकम पस्मिनाको कारोबार बन्द भएपछि ब्याजमा दिएको पनि
हुनसक्छ । साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मलाई बयान गराउँदा सामान्यरूपमा तपाइँको जग्गा कहाँकहाँ छ भनी सोधिएको
थियो । यो कसरी प्राप्त भयो भनी सोधिएन । आयोगले लेखी राखेको बयानमा सही गराएका हुन् । तपाइँको श्रीमान्लाई सजिलो हुने पारेका छौँ बचाउनु पर्यो भनेकाले विश्वासमा परी सही गरिदिएकी हुँ । व्यहोरा मैले भनेबमोजिम लेखिएको होइन । मैले दाइजो र पेवाबाट प्राप्त भएका जग्गाहरू बाहेक घरायसी कृषि, आयस्ता, देवर देउरानीको नोकरी र व्यापार व्यवसायबाट र जग्गा जमिन बिक्रीबाट साथै बैंकबाट लिएको ऋणबाट आर्जित रकमसमेतबाट खरिद गरेको हो । घर करिब ११/१२ लाख जतिको लागतमा निर्माण गरेको हो । मेरो श्रीमान्को तलब जग्गा खरिद गर्दा लगानी गरेको छैन । त्यसैले मेरो नामको जग्गा जफत हुनुपर्ने होइन ।
का.जि.का.न.पा. वडा नं.१० कि.नं.२३० को जग्गा मध्ये ०–२–० जग्गा रू.१२,५००।– मा मिति ०५३/३/३ मा, ऐ. कि.नं.२३४ को ०–४–१–३ जग्गा २,२२,०००।– मा मिति ०५८/६/१७ मा, विराटनगर न.पा. १० नं. को कि.नं.४३७ को साढे एघार धुर जग्गा रू. ५१,७५०।- मा मिति ०५१/६/१९ मा, रौतहट चन्द्रनिगाहपुर १ कि.नं.१०९७ को जग्गा रू.८०,०००।– मा, महोत्तरी खयरमारा (माइस्थान) को एउटा रू ३,१०,०००।– मा बिक्री गरी आएको रकम हाम्रो आय हो । साथै महेन्द्रनगरको जग्गाबाट ०५२ देखि ०५९ सालसम्म प्रतिवर्ष ५५ देखि ६० हजारका दरले प्राप्त हुने कृषि आयबाट जग्गा जमिन खरिद गरी घर निर्माण गरेको हो । दिदीसँग लिएको ५ लाखमध्ये १ लाख ५ हजारको जग्गा खरिद गरी बाँकी रकम घर निर्माण र अन्य घर खर्चमा प्रयोग भएको
छ । घर बनाउँदा एल्पिक फाइनान्सबाट कर्जा लिएको, देवरहरूले बैंकबाट कर्जा लिएको, निजहरूको तलब व्यापारबाट आय भएका रकम साथै ससुराले दिएको रू.२,३०,०००।– र पहाडको २०३२ सालदेखिको आम्दानीबाट घर निर्माण गरेको हो । २०३६ देखि ०५१ सालसम्मको महोत्तरी खयरमाराको जग्गाबाट, बाख्रा पालन, भैँसीपालन तथा कृषि आयसमेतबाट वार्षिक ९० देखि ९५ हजारसम्म आम्दानी हुन्थ्यो । बुद्धनगरको घर भाडा, जनकपुरको घर भाडा र खयरमारा, विराटनगर, महोत्तरी, काठमाडौं, भक्तपुरको जग्गाको आम्दानी हुन्थ्यो । जोरपाटी, जनकपुर, ठिमीका घरजग्गा, देवरहरू मुकुन्द, जनार्दनका नाममा महोत्तरी, धनुषामा रहेको जग्गा हाम्रो सगोलको हो । कि.नं.२९७ को जग्गा बाटोको हो । सबैले सामूहिकरूपमा प्रयोग गर्ने गरेको
छ । तर स्वामित्व भने गाउँका सबै मानिसको सल्लाहले मेरो नाममा राखेको हो । पस्मिनाको कारोबारबाट ६,७५,०००।– नाफा भएको थियो । साथै श्रीमान्ले कमिसनबापत रू.२९,४०२/५६ प्राप्त गर्नुभएको
थियो । घरभाडामा रू.५३,६२५।- मात्र स्रोतमा लिएकोले रू.३,९०,०००।– नै कायम गरिपाऊँ । पस्मिनाको नाफाको रू.५०,०००।– स्वयम् कर घोषणा गरी कर तिरेको छु भन्नेसमेत व्यहोराको प्रतिवादी रमादेवी घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी रमादेवी घिमिरेलाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग)) बमोजिम तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेतको व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६०। २। ८ गतेको आदेश ।
प्रतिवादीका साक्षी ऋषि घिमिरे, कृष्णबहादुर कुँवर, दीपकराज घिमिरे, हरिप्रसाद उपाध्याय, इन्दिरा न्यौपाने, सृजना के.सी. र हिरण्यप्रसाद पौडेल तथा वादीका साक्षी इ.दीपक श्रेष्ठ, नवराज प्याकुरेल, जयन्त कुमार राजवंशीसमेतले आफ्नोआफ्नो पक्षलाई सर्मथन गर्दै गरेको वकपत्रहरू मिसिल सामेल रहेको देखिन्छ ।
म हार्डवेयर तथा रंग रोगनको व्यापार गर्दछु । मेरो श्रीमती इन्टेरियर डिजाइनर हुनुको साथै फर्निचर फर्निसिङ्ग बनाई बिक्री गर्दछिन् । मेरो व्यापारबाट लगभग ३/४ लाख र श्रीमतीको आय पनि ४/५ लाख हुन्छ । हामी ७ दाजुभाइ र बुबा आमासमेत ९ अंशियार सगोलमा छौं । अंशबन्डा भएको छैन । आम्दानीको हिसाब बुबाआमा वृद्ध भएकोले जेठो दाजु भरतले नै राख्ने गरेको र घर व्यवहारसमेत दाजुले नै हेर्नुभएको छ । मेरो र श्रीमतीको आर्जनबाट हालसम्म १६/१७ लाख रकम दाजुलाई दिएको छु । बरामदी मुचुल्कामा उल्लिखित RNA लेखिएको १० तोलाको सुन मैले भाउजूलाई राख्न दिएको हो । भा.रू.८२,८१०।– भारतमा व्यपारको सिलसिलामा सामान खरिद गर्नको लागि छुट्याएको र ने.रू.अन्दाजी ५०,०००।– समेत मैले मेरो चालु पुँजीको रकम राख्न दिएको हो । मैले प्रकाश इन्टरप्राइजेज फर्मबाट ७५।८० लाखको काम गरेको छु भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका प्रकाश घिमिरेले यस अदालतमा गरेको
बयान ।
प्रकाश घिमिरेले नगद र सुन मेरो भनेकोले कारणीसरह देखिँदा तारेखमा राखी नियमानुसार गर्नु भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति ०६०/१२/२० को आदेश ।
मैले २०४४ सालदेखि स्टेसनरी औषधी सप्लाई, रोअर पम्प जडान, इनार निर्माण र छपाईसम्बन्धी, होटल व्यवस्थापन काम गर्दै आई ०३८ सालदेखि राष्ट्रिय कृषि गणना, जनकपुर चुरोट कारखाना, साझा स्वास्थ्य सेवा, साझा भण्डार लि.साथै अन्य सरकारी गैरसरकारी संघ संस्थामा काम गरेको छु । व्यापार व्यवसाय गरेको देखिने प्रमाण पेस गरेको
छु । हामी सबै परिवार सगोलमा छौँ, हामी दाजुभाइ तथा मेरो श्रीमतीसमेत नोकरी तथा व्यापार र कृषिमा आबद्ध छौँ । सम्पत्तिको स्रोत नोकरी व्यपार, घर बहाल, कृषि पशुपालन हो । साथै व्यापारको लागि वित्तीय संस्थाबाट ऋणसमेत लिएको छ । बुद्धनगरको कि.नं.२३१ को घर, जनकपुरको मेरो नामको घर, जनार्दन नामको जनकपुरको २ वटा घर, पिताको नामको पुर्ख्यौली १० रोपनी जग्गा, दाइ भरत, भाउजू रमा, दाजुहरू मुकुन्द, जनार्दन र भाइ गणेश घिमिरेसमेतका नामको काठमाडौं, भक्तपुर, विराटनगर, धनुषा, महोत्तरीका जग्गा तथा घरहरू हाम्रो एकासगोलका जग्गा तथा घर हुन् । हाम्रो घरमा भेटिएका भनिएका रकम रू.१८,७६,३६३।– तातोपानी भन्सारमा भन्सार छुटाउनको लागि विभिन्न व्यपारीसँग उठाई सुरक्षाको लागि बुद्धनगरको घरमा भाउजू रमालाई राख्न दिएको र सोको प्रमाण डे बुकको प्रतिलिपि छ । भारू मेरो कान्छो भाइ प्रकास घिमिरेको हो । पाँच टेलको एउटा सुन मेरो हो । यु.एस.डलर भाउजूलाई राख्न दिएको हो । श्रीमतीले रू.५०,००,०००।– भन्दा बढी आर्जन गरेको छ । अरब बैंकबाट मेरा नाममा जारी भएको चेक सूर्य पस्मिना उद्योगलाई चाहिने सिल्क धागोसमेतका वस्तुहरू डेलिभरी गराएबापत पाउने रकमको हो । तर सम्झौताबमोजिम कार्य सम्पन्न नभएकोले भुक्तानी नभएको हो । उक्त चेकसमेत मैले मूल घरमा राखेको थिएँ । यसबाट पनि सम्पूर्ण कारोबार नगद कागजात मूलघरमा नै राख्ने प्रस्ट हुन्छ । त्यसैले दाजु भाउजू जसको नाममा रहेको सम्पत्ति भएपनि सगोलकै सम्पत्ति हुन् भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका नारायणप्रसाद घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
नारायणप्रसाद घिमिरेले केही सम्पत्ति आफ्नो हो भनेकाले निजलाई तारेखमा राखी कानूनबमोजिम गर्नु भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति ०६१/१/७ को आदेश ।
हामी बुबाआमा तथा छोराबुहारीबिच अंशबन्डा भएको छैन । मूलघर बुद्धनगरमा हामी पति पत्नी, ४ छोरा, बुहारी ७ जना नाति नातिना छौ । छोरी जानकीको २८ सालमा विवाह भए तापनि हामी सँगै बस्छिन् । नोकरी गर्छिन् । माइलो छोरा जनकपुर घरमा, साँहिलो धनुषामा, काँहिलो भक्तपुर ठिमीमा सगोलबाटै बनेको घरमा बस्छन् । आर्जन तथा लगानी सल्लाहबाट सगोलबाटै हुने गरेको छ । पैतृक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिको रेखदेख जेठो छोरा भरत र बुहारी रमाले हेर्ने गरेका छन् । सोमा अन्य छोरा बुहारीको सहयोग हुने गरेको छ । छोरी जानकीको नोकरी तथा अन्य पेवा दाइजोसमेत छोरा भरतलाई नै राख्न दिएको छ । २०३२ सालदेखिको रामेछापको खेतीबाट वार्षिक ५०/६० हजार आम्दानी हुने गर्छ । हालसम्म सम्पूर्ण घर जग्गा जोड्नमा छोरा भरत र बुहारीले नै खर्च र व्यवहार गरेका छन् । बुद्धनगरको घरमा फेला परेको केही गरगहना मेसिन, कम्प्युटर, फर्निचर आदि छोराको विवाहमा दाइजो आएका हुन् भने केही सामान पैतृक सम्पत्तिबाट खरिद गरेका हुन् । नगद सगोलको आर्जनबाट प्राप्त गरेको हो । बुद्धनगरको घर बनाउँदा २,३०,०००।- दिएको थिएँ । भिन्न हुँदा २००० सालमा ६० रोपनी जग्गा थियो । ०५४ सालमा ३० रोपनी र ०५७ सालमा ९ नौ रापनी भयो भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका चतुर्भुज घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
अ.बं.१३९ नं. बमोजिम बुझिएका चतुर्भुज घिमिरे प्रतिवादीसरह देखिँदा तारेखमा राख्नु भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति ०६१/५/२८ को आदेश ।
भाइ भरतलाई मेरो तलब भत्ता दान दक्षिणासमेत गरी मेरो आम्दानीबाट ०४८ सालसम्म पटकपटक गरी रू.५,००,०००।– कर्जा दिएको छु । सोमध्येबाट बुहारीको नाममा ठिमीमा १,०५,०००/– को जग्गा किनिदिएका छन् । मेरो नाममा राख्दा घरतर्फका मानिसले दाबी गर्लान् भनी बुहारी रमादेवीका नाममा राखेको हो । करिब ४ (चार) लाख रकम भाइ भरतबाट लिन बाँकी छ । म मालपोत कार्यालय, चाबहिलमा परिचारिका पदमा कार्यरत छु । मैले इच्छाएको व्यक्ति भाइ भरत हुन् । म आफ्नो घरमा नबसी भरत घिमिरेसँग बसेकी छु भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं बुझिएकी जानुकादेवी खतिवडाले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
म मेरो बाबु आमालगायत ७ जना दाजुभाइ बुहारीलगायत ३२ जनाको परिवार एकासगोलमा
छौँ । घरको व्यवहार दाजु भरत र भाउजू रमाले हेर्नुहुन्छ । सगोलको सम्पत्ति भएकोले सबैको हक लाग्छ । हाल अंश दिलाई पाउँ भनी का.जि.अ.मा अंश मुद्दा दायर गरेको छु । मेरो गौशालामा श्री गणेश इम्पोरियम साबिकमा गौरी शंकर इम्पोरियम र गौरी शंकर स्टेसनरी पसल थियो । हाल श्री गणेश इम्पोरियम नामक पसल छ । म तयारी पोसाक, घडी, भि.सी.डी. इलोक्ट्रोनिक सामानसमेतको व्यापार गर्दछु । वार्षिक ३/४ लाख आम्दानी हुन्छ । मेरो र श्रीमतीको खर्च कटाई बाँकी रकम दाजु भरत र भाउजूलाई दिन्छु । सबैको सल्लाहबाट लगानी हुन्छ । घरमा भेटिएको घडीहरू मैले वीरगञ्जबाट गौशालामा पसल सार्दा राखेको हो भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका गणेश घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
अ.बं.१३९ नं. बमोजिम बुझिएका गणेश घिमिरेले सगोलको सम्पत्ति भएकोले मेरोसमेत हक लाग्छ भनेकोले निजलाई तारेखमा राख्नु । जानुकादेवी खतिवडालाई प्रतिवादीसरह नदेखिँदा तारेखमा राखिरहनु परेन भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६१।६।४ को आदेश ।
भरत घिमिरे र रमा घिमिरे मेरो आफ्नै जेठाजु र जेठानी दिदी नाताको हुनुहुन्छ । हामीहरू जम्मा ३२ जनाको परिवार छौँ । हामी बिच अंशबन्डा भएको छैन । अख्तियारले जफतमा दाबी लिएको चलअचल सम्पत्ति भरत घिमिरे र रमा घिमिरेको मात्र होइन । त्यस सम्पत्तिमा हाम्रो पनि हक लाग्छ भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएकी उमा घिमिरे र रूक्मणी घिमिरेले एकै मिलानले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
हामी ३२ जनाको परिवार छौँ । हामी बिच अंशबन्डा भएको छैन । अख्तियारले जफतमा दाबी लिएको सम्पत्तिमा मेरो पनि हक लाग्छ । परिवारका सदस्यका नामको जहाँ जहाँको घर जग्गा छ सबै बराबर हक लाग्ने घर जग्गा हो भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका जनार्दनप्रसाद घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
हामी ३२ जनाको परिवार छौँ । त्यसमा दिदी जानुका देवी खतिवडा पनि सँगै बस्नुहुन्छ । उहाँ सरकारी नोकरी गर्नुहुन्छ । दिदीको हरहिसाब दाजु भरत घिमिरेले नै राख्नुहुन्छ । हामीहरू बिच अंशबन्डा भएको छैन । दिदीको ईच्छाएको व्यक्ति पनि दाजु भरत नै हुनुहुन्छ । मेरो घिमिरे ट्रेड एन्ड जनरल सप्लायर्स नामक फर्म पनि छ भन्नेसमेत व्यहोराको अ.बं.१३९ नं. बमोजिम बुझिएका कुमारप्रसाद घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
हामीहरू ३२ जनाको परिवार छौ । हामी अंशी बिच अंशबन्डा भएको छैन । आयोगले दाबी लिएको सम्पत्तिमा मेरो पनि हक लाग्छ भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका मुकुन्दप्रसाद घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
भरतप्रसाद घिमिरे र रमा घिमिरे मेरो छिमेकी हुनुहुन्छ । भरत घिमिरे र मैले २०५५ सालदेखि साझेदारीमा पस्मिना व्यवसाय सञ्चालन गर्दै आएका थियौँ । सुरूमा घर नजिकै हाते तान सञ्चालन गरेको भए तापनि पछि ललितपुरको हात्तीवनमा विद्युतीय तान सञ्चालन गरी २०५८ सालसम्म काम गर्यौँ । त्यसबाट भरत घिमिरेले रू.६,७५,०००।- नाफा लिनुभएको थियो भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका कृष्णप्रसाद भट्टराईले विशेष अदालत, काठमाडौंमा गरेको बयान ।
अ.बं. १३९ नं. बमोजिम बुझिएका मुकुन्दप्रसाद घिमिरे, कुमारप्रसाद घिमिरे, जनार्दनप्रसाद घिमिरे, रूक्मणी घिमिरे, उमा घिमिरे र कृष्णप्रसाद भट्टराई प्रतिवादीसरह नदेखिँदा तारेखमा राखिरहनु परेन भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको मिति २०६२/१२/२१ को आदेश ।
पेस भएको अभियोगपत्र, प्रतिवादी भरतप्रसाद घिमिरेको बयान र बहसनोटबमोजिम हिसाबकिताब गर्दा प्रतिवादी भरतप्रसाद घिमिरे र पत्नी रमादेवी घिमिरेसँग जम्मा रू. १,०४,९१,८९२।६४ बराबरको चल अचल सम्पत्ति रहेको देखिन आयो । त्यसमध्ये स्रोत खुलेको रू. २८,४४,९९६।५६ बराबरको सम्पत्ति देखियो । निज प्रतिवादी तथा निजकी पत्नी रमादेवी घिमिरेको नाममा रहेको घर जग्गा, लगानी र बैंक खातालगायतका सम्पत्तिसमेतबाट स्रोत नखुलेको रू. ७६,४६,८९६/०८ बराबरको सम्पत्ति रहे भएको देखिन आयो ।
निज प्रतिवादी राष्ट्रसेवक भएको र आफूसँग रहे भएको सम्पत्तिको वैध स्रोत देखाउन नसकेकोले निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम भ्रष्टाचारको कसुर गरेको
ठहर्छ । सो ठहरेकोले प्रतिवादी भरतप्रसाद घिमिरेलाई बिगोबमोजिम रू. ७६,४६,८९६।०८ र सो बाट बढे बढाएको गैरकानूनी चल अचल सम्पत्ति जफत हुने हठर्छ ।
बिगो रू. ७६,४६,८९६।०८ बराबरको चल अचल सम्पत्ति जफत गर्नुपर्ने भएकाले सोबापत प्रतिवादीहरूको घरबाट बरामद भएको नगद रूपैयाँ, भारतीय रूपैयाँ र अमेरिकन डलर गरी रू. २०,७६,३६०।- र २,८१,५७२।- पर्ने सुनको टुक्रा र बिस्कुट, रू. ३१,९००।- मूल्य भएको १४ थान घडी, कृष्ण पस्मिना आर्टसमा रोक्का रहेको साँवा ब्याजसहितको रू. २६,५०,०००/- का.जि.का.म.न.पा. वडा नं. १० कि.नं. २३० र २३५ को जग्गा र सोमा बनेको घर र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौको मिति २०६७/१/८ को फैसला ।
विशेष अदालत, काठमाडौंको फैसलामा कानूनी एवं तथ्यगत त्रुटि रहेकोले बदर गरी सफाइ पाउँ भनी प्रतिवादी भरतप्रसाद घिमिरेसमेतको तर्फबाट सर्वोच्च अदालतसमक्ष पुनरावेदन पत्र दर्ता रहेको ।
विशेष अदालत, काठमाडौंको फैसलामा प्रतिवादीहरूको एकमुष्ठ आय र व्यय गणना भएको, सम्पत्तिको खरिद मूल्य नभई हालको मूल्य कायम गरेको, आय सँगसँगै खर्च रकम नहेरेको, घरको निर्माण लागत कम गरेको, फर्निचरको मूल्याङ्कन आधा गरेको, दशैं खर्च बचत हुने उल्लेख भएको, घर भाडा पुरै प्राप्त भएको उल्लेख गरी मान्यता दिएको, कमिसन, सञ्चय कोष सापटी, तलबी बिदा आदिको आधिकारिकता पुष्टि नगरी बैध आय मानेको, स्रोत नुखुलेको जग्गाको आयलाई बैध मानी भएको फैसलामा बिगो कम कायम गरी सजाय ठहर गरेको हदसम्म उक्त फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीहरूलाई आरोपपत्र मागदाबीबमोजिम नै सजाय गरी गैरकानूनी आर्जनको सम्पत्ति जफत गरिपाउँ भन्नेसमेत व्यहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रबहादुर सापकोटाले प्रतिवादीको बचत हुने आयबाट अनुसन्धान हुँदा देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन सक्छ सक्दैन भनी सम्पत्ति सिर्जना हुँदाको समयक्रमका हिसाबले विश्लेषण एवं परीक्षण गर्नुपर्नेमा नगरी गरेको फैसला मिलेको
छैन । प्रतिवादीले जाँच अवधिमा आर्जित जग्गाको मूल्य भ्रष्ट्राचार निवारण ऐन, ०५९ को दफा २० अनुरूप हाल प्रचलितमा कायम गरिनुपर्छ । प्रतिवादीको आय आर्जनको बिगोमा पारिवारिक खर्च कट्टा
गरिनुपर्दछ । प्रतिवादीले काठमाडौं बुद्धनगरमा निर्माण गरेको घरको बिगो प्राविधिक मूल्याङ्कनलाई कायम मानेर पनि सोभन्दा कम मूल्य कायम गरेको मिलेको छैन । अवैध सम्पत्ति लगानी गरी निर्माण गरेको घरबाट भाडा रकम प्राप्त गरेको भएपनि सो भाडा अवैध आर्जन मानिन्छ । जाँच अवधिमा प्रतिवादीले भन्सार कमिसन, बिदाको रकम, सञ्चय कोष सापटी रकम आय कायम गरिएकोमा प्रतिवादीले आयोगसमक्ष गरेको विवरण र गरेको बयान तथा सम्पत्ति विवरण फाराममा सो रकमबारे उल्लेख गर्न नसकेकोले ती रकम आय कायम हुन नसक्ने त्यसैगरी स्रोत नखुलेको जग्गाहरूको कृषि आय र जग्गामा भाडामा लगाएको कायम गर्न मिल्दैन ।
प्रतिवादीले आरोपपत्रमा उल्लेख गरेका विभिन्न ठाउँमा पटकपटक जग्गा खरिद गरेको कुरालाई फैसलामा स्वीकारिएकै छ । ती जग्गा खरिद गरेको कुरालाई फैसलामा स्वीकारिएकै छ । ती जग्गाहरू खरिद गर्दाका बखत खरिदारस्तरका प्रतिवादीको त्यस समयको आयले खाम्ने देखिँदैन । गैरकानूनी आर्जनको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति पनि जफत हुने भन्ने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ मा भएको प्रावधानअनुरूप पनि स्रोत नखुलेको सम्पत्तिको हालको (अनुसन्धानको क्रममा कायम) मूल्यलाई नै कायम गरिनु मनासिब देखिन्छ । फेरि यी प्रतिवादीले ८ कित्ता जग्गा हालैको बकसपत्र गरी असम्बन्धित व्यक्तिबाट लिएकोले आर्जित सम्पत्ति स्रोत लुकाउने दुस्चेष्टा गरेको बुझिन आउँछ ।
आय आर्जनको बिगो कायम गर्ने क्रममा अनुसन्धानका बेला प्रतिवादीको काठमाडौं बुद्धनगरस्थित घरको प्राविधिकबाट गरिएको मूल्याङ्कनलाई विशेष अदालतको फैसलामा अन्यथा मानिएको छैन । सो घरको निर्माण लागत आरोपपत्रमा प्राविधिक मूल्याङ्कनअनुसार नै २९,०५,६०७।३१ कायम गरिएको छ । प्राविधिक मूल्याङ्कनलाई स्वीकारिएको स्थितिमा घरमा निर्माण लागत अंक कम गर्न मिल्दैन । “प्राविधिकबाट गरिएको घरको निर्माण लागत मूल्याङ्कनलाई अन्यथा भन्न नमिल्ने....” भनी नेपाल सरकारको विरूद्ध केशवराज गौतमसमेत भएको भ्रष्टाचार मुद्दामा (ने.का.प. २०६९, अंक २ नि.नं.८७७० पृष्ठ २५९) प्रतिपादन भएको सिद्धान्त एवं व्यक्तिगत घर निर्माण लागतमा कर ओभरहेडको २० प्रतिशत नपर्ने हुँदा सोबापतको रकम घटाउन नमिल्ने भन्ने प्रतिवादी युवराज शर्मा भएको मुद्दामा (ने.का.प.२०६९, अंक ९ नि.नं. ८८८६) स्थापित नजिर प्रतिकूल भएको फैसला त्रुटिपूर्ण रहेको छ ।
प्रतिवादीले काठमाडौं बुद्धनगरस्थित घरबाट रू.३,९०,०००।- घरभाडा प्राप्त गरेको भन्दै प्रतिवादीको आयमा समावेश गरिएको छ । उक्त घर निर्माण लागतको १३.७५ प्रतिशतमात्र स्रोत खुलेको भन्ने आरोपपत्र दाबी रहको र सो दाबीलाई फैसलामा पनि स्वीकारिएको छ । सो भाडा रकम वैध आय भनी प्रतिवादीले सप्रमाण पुष्टि गर्न सकेको पनि छैनन् । अवैध लगानीबाट आर्जित (बढे बढाएको) सम्पत्ति जफत हुने भ्रष्टाचार निवारण ऐन, २०५९ को प्रावधान रहेकोले उक्त भाडा रकमलाई आय कायम गर्न मिल्दैन ।
जाँच अवधिभित्र प्रतिवादी भरतप्रसाद अधिकारी भन्सार कार्यालयमा रहँदा प्राप्त गरेको कमिसन भनी रू.२९,४०२।५६ आय कायम गरिएको छ । सो कमिसन रकम प्रतिवादीले के कार्यबापत कहिले प्राप्त गरेका हुन् स्पष्ट हुन सकेको छैन । प्रतिवादीले सम्पत्ति विवरण फाराममा, आयोगसमक्ष पेस गरेको विवरण र गरेको बयानमा सो कमिसनको रकमबारे कुनै उल्लेख नुहुनुबाट कमिसन बुझेको भन्ने प्रतिवादीको जिकिर सत्य प्रतित हुँदैन । कर्मचारी सञ्चय कोषबाट आंशिक भुक्तानी गर्ने गरी लिएको सञ्चय कोष सापटी रकम रू.६४,०००।- भुक्तानी भएको विवरणबारे यकिन गरी हचुवामा आय कायम गरिएको देखिन्छ । त्यस्तै बिदाको रकम बुझेको भन्ने आधिकारिक प्रमाण बिना नै आय कायम गरिएको फैसला बुँदा पनि मिलेको छैन ।
प्रतिवादीको कृषि आय गणना गर्ने क्रममा आरोपपत्रमा निज भरतप्रसाद घिमिरेको महोत्तरी खयरमाराको ०-१०-१४ जग्गा को कृषि आय
(०-४२-०५९ सम्मको) रू.१,९८,९९९।- मानिएको छ । आरोपपत्रमा उल्लिखित विवरणका कि.नं. ३९५, ३६२, ८४३, ९६८, ९१, ८५, ८३९, ८४०, ४११, ४१०, ४०९, २१७ र २३० का जग्गा र रामेछापमा प्रतिवादीका बाबु चतुर्भुजका नाउँमा रहेको ९ रोपनी जग्गाको कृषि आयक रू.६,९८,०००।- कायम गर्ने गरी फैसला गरिएकै छ । उक्त जग्गाहरूमध्ये काठमाडौं उपत्यकाभित्र २-१२-२-१, तराईमा महोत्तरी बयरमाराको सहित ०-१५-१८ क्षेत्रफलको जग्गा रहेको देखिन्छ । काठमाडौं उपत्यकाभित्रमा जग्गा घडेरी जग्गा हुँदा कृषि उत्पादनबाट न्यून कृषि आय हुने हुन्छ । ती जग्गाको कृषि आय पारिवारिक खर्चमा लागेको भनी आरोप पत्रमा उल्लेख गरिएकै छ । अब फेरि दोहोरो पर्ने ती जग्गाको कृषि आय कायम गर्न पनि
मिल्दैन । तराईमा रहेका ०-१५-१८ क्षेत्रफलको जग्गामध्ये ०-१०-१४ को रू.१,९८,०००।- कृषि आय कायम गरिएकै छ । बाँकी तराइको अत्यन्त कम क्षेत्रफलको जग्गाबाट त्यति धेरै कृषि आय हुन सक्ने पनि देखिँदैन । माथि लेखिएका कित्ता नं. का जग्गाहरू वैध स्रोत नखुलेका सम्पत्ति भनी फैसलामा नै मानिएको छ । यस अवस्थामा पनि प्रतिवादीको कोरा जिकिर र तथ्यगत अनुमानबाट सर्वोच्च अदालतबाट प्रतिवादी रामाज्ञा चतुर्वेदी भएको तथा प्रतिवादी खुमबहादुर खड्का प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा समेत अपनाइएको प्रक्रिया र प्रतिपादित सिद्धान्तको बर्खिलाप एवं बेप्रामाणिक आधारमा आरोप पत्रभन्दा धेरै बढी कृषि आय कायम गरिएको फैसला बुँदा सरासर त्रुटिपूर्ण देखिन्छ ।
उपर्युक्त पुनरावेदन जिकिरमा अतिरिक्त आरोपपत्र भन्दा फरकरूपमा भएको फैसलाको बुँदाका हकमा पनि उल्लेख गरिनु आवश्यक
देखिन्छ । प्रतिवादीले आर्जित गरेको सम्पत्तिको बिगो र केही आयका स्रोतसम्बन्धमा नमिलेको फैसला बुँदा माथि उल्लेख गरिएकै छ । त्यसका अलावा प्रतिवादीको आयस्रोतका सम्बन्धमा फैसलामा रहेका त्रुटिहरू निम्नानुसार औंल्याइएको छ ।
प्रतिवादीको जाँच अवधिभरमा रू.४,१०,८००।- पारिश्रमिक आय कायम गरिएकोमा फैसलाबाट रू.६,३५,३७५।- हुने भनिएको छ । प्रतिवादीको ०३५ सालदेखि ०५८/०५९ सालसम्मको तलबको आय कायम गरिएकै छ । अदालतको फैसलामा आरोप पत्र दाबीभन्दा बढीभन्दा बढी रकम तलब आय कायम गरिँदा कर्मचारी सञ्चय कोष बापत कट्टा गरिने १० प्रतिशत रकम घटाइनु पर्नेतर्फ ख्याल गरिएको छैन । आरोप पत्र दाबीको अंक आधिकारिक प्रमाणबाट नमिलेको हो भने कहिलेको कति रकम नमिलेको रहेछ भन्नेतर्फ स्पष्ट नगरीकनै एकमुष्टरूपमा हचुवा तवरले आरोप पत्र दाबी भन्दा रू.२,२४,५७३।- बढी तलब आय कायम गरेको फैसला यथार्थपरक छैन ।
विशेष अदालतको फैसलामा प्रतिवादीले २०३८ देखि २०५९ सालसम्म प्रत्ये वर्ष पाउने दशैं खर्चबापतको रकम भनी रू.४२,७५७।- आयस्रोतमा जोडिएको छ । दशैंबापतको रकम वास्तवमा चाडबाड मनाउने सुविधाबापत प्रदान गरिने हुँदा तत्काल सोही कार्यमा खर्च भई जाने प्रकृतिको रकम हो । हाम्रो संस्कार चलनका कुरासँग जोडिएको दशैं खर्च रकम बचत आय हुन नसक्ने यथार्थतालाई फैसलामा नजर अन्दाज गरिएको छ । जुन मिलेकै छैन ।
प्रतिवादी भरतप्रसाद घिमिरेले गरेको बयानमा आफ्नो परिवारको मासिक घरायसी खर्च रू.१६,०००।- हुने बच्चाबच्चीको स्कुल फी मासिक रू.५,९००।- लाग्ने भनी देखाएको देखिन्छ । प्रतिवादीको दैनिक जीवनमा पारिवारिक भरणपोषण, शिक्षा, स्वास्थ्य उपचार, धारा, बत्ती, टेलिफोन महसुल भुक्तानी, मनोरन्जन आदि कार्यमा खर्च हुन जाने कुरालाई पनि बिर्सन मिल्दैन । प्रतिवादी केशर जङ्ग खड्का भएको भ्रष्टाचार मुद्दामा (२०६२ सालको स.फौ.पु.वे.नं. ३१२५ फैसला मिति २०६९/३/१३) पनि प्रतिवादीको कायम आय स्रोतबाट मनासिबरूपमा देखिने पारिवारिक खर्च कट्टा गरिनुपर्ने भनिएकाले त्यसतर्फ केही नबोलिएको विशेष अदालतको फैसला बुँदा न्यायोचित देखिँदैन ।
यी प्रतिवादी भरतप्रसाद घिमरेलाई आरोपित कसुरमा मागदाबीबमोजिम कैद सजाय गरी जरिवाना एवं सम्पत्ति जफत गर्ने फैसलाको ठहर बुँदाका हकमा वादी नेपाल सरकारको विमति नरहेकोले त्यस हदसम्म नै फैसला बुँदा कायम हुन अनुरोध गरिन्छ । माथि उल्लिखित आधार र कारणबाट आरोप पत्रमा दाबी लिइएको बिगो (अवैध आर्जनको सम्पत्तिको र आयस्रोत) का सम्बन्धमा फैसला तथ्यपरक, प्रमाण सङ्गत र स्थापित नजिर अनुकूल नभएकाले उपर्युक्त प्रकरणहरूमा विवेचना गरिएअनुरूप आरोप पत्र दाबी एवं पुनरावेदन जिकिरबमोजिम हुन सम्मानित अदालतसमक्ष सादर अनुरोध गरिन्छ भनी बहस तथा बहसनोट प्रस्तुत गर्नुभयो ।
प्रतिवादीका तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, अधिवक्ता रामप्रसाद भण्डारी, अधिवक्ता माधवकुमार बस्नेत र अधिवक्ता यादवप्रसाद ढुंगानासमेतले बहस गर्दै प्रस्तुत मुद्दा दायर हुँदाको समयमा भरतप्रसाद घिमिरेको परिवारमा ७ जना दाजुभाइ एवं बुबा आमा २ जना गरी ९ अंशियार रहनुभएको छ । निजहरू एकासगोलमा रही संयुक्त पारिवारिक सदस्यको रूपमा विभिन्न उद्योग व्यवसाय सञ्चालन गरी आएको व्यहोरा निजहरूको बयानबाट तथ्यगतरूपमा पुष्टि भइरहेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गलत तर्क एवं मनोगत आधार ग्रहण गरी भरतप्रसाद घिमिरेको परिवारका सदस्यहरूको बिचमा अंशबन्डा भइसकेको भन्ने त्रुटिपूर्ण निष्कर्षका साथ पेस भएको आरोपपत्र मागदाबीबमोजिम नै विशेष अदालतबाट फैसला भएको छ । भरतप्रसाद घिमिरे एकासगोलकै अंशियार हुन् भन्ने तथ्य प्रतिवादी भरतप्रसाद घिमिरे एवं रमादेवी घिमिरेको बयान एवं अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट बुझिएका भाइ, भाइबुहारी, तथा पितासमेतका परिवारका अन्य सदस्यहरूको बयान एवं विशेष अदालत, काठमाडौंबाट मुद्दाको पुर्पक्षको क्रममा बुझिएको एवं प्रतिवादी कायम गरिएका भाइ एवं पितासमेतका सगोलका परिवारका अन्य सदस्यहरूको भनाइबाट पुष्टि हुन्छ ।
प्रतिवादी भरतप्रसाद घिमिरेको परिवारको ९ सदस्यहरूबिच अंशबन्डा नभई एकासगोलमा रहेको व्यहोरा वादी गणेशप्रसाद घिमिरे विरूद्द चतुर्भुज घिमिरेसमेत ८ भएको संवत् २०६१/०६२ सालको दे.मि.नं. २६०२ नं. को अंशचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट भएको मिति २०६२/०२/२० गतेको फैसला एवं संवत् २०६३ सालको दे.पु.नं. १६७१/३१४९ नि.नं. १६२ को अंश मुद्दामा पुनरावेदन अदालत, पाटनबाट भएको अन्तिम फैसलाबमोजिम प्रस्तुत मुद्दा दर्ता रहँदाको समयमा प्रतिवादी भरतप्रसाद घिमिरेको ७ जना दाजुभाइ एवं बुबाआमासमेतका ९ अंशियार सदस्यरूबिच अंशबन्डा नभएको व्यहोरा पुष्टि भइरहेकोमा क्षेत्राधिकार सम्पन्न अदालतबाट भएको उल्लिखित अन्तिम फैसलाविपरीत हुने गरी विशेष अदालतबाट भएको फैसला नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११६ प्रतिकूल भई त्रुटिपूर्ण रहेको छ ।
मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. बमोजिम अंशबन्डाको लिखत अनिवार्य रजिस्ट्रेसन गराउनुपर्छ । प्रतिवादीको परिवारको सदस्यहरूबिच अंशबन्डा भै लिखत रजिस्ट्रेसन पारित भएको
छैन । भएको व्यहोरा आरोपपत्र एवं विशेष अदालत, काठमाडौंको फैसलामा उल्लेख हुन सकेको पनि छैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघरसँगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था रहेको छ । त्यसैगरी अंशबन्डाको महलको १८ नं. मा सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने व्यवस्था रहेकोमा विशेष अदालत, काठमाडौंबाट उल्लिखित कानूनी व्यवस्था एवं अंश मुद्दामा भएको फैसलासमेतको विपरीत हुने गरी प्रतिवादी भरतप्रसाद घिमिरेको सगोलको ९ अंशियार सदस्यहरूबिच बन्डा लाग्ने सम्पत्तिको स्रोतसमेत निज प्रतिवादी एक जनाले मात्र पुष्टि गर्नुपर्ने गरी भएको फैसला त्रुटिपूर्ण रहेको छ भन्नेसमेत व्यहोराको बहसनोट पेस गर्दै सोही व्यहोरा समर्थित बहस गर्नुभयो ।
उपर्युक्तबमोजिम बहस सुनी प्रतिवादीहरूले आरोपित कसुर गरेको हो, होइन भन्नेसम्बन्धमा विवेचना गरी निर्णय दिनुपर्ने देखियो ।
प्रतिवादी भरतप्रसाद घिमिरे तथा निजको परिवारको नाममा रहेको कुल सम्पत्ति रू. १,८०,६०,८०४।०९ मध्ये रू. १,६५,००,२७९।०९ बराबरको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम गैरकानूनीरूपमा आर्जन गरेकोले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ अनुसार अपराध भएको सन्दर्भलाई दृष्टिगत गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसुर गरेकोले सो सम्पत्ति निजले आफ्नी पत्नी रमादेवी घिमिरेसमेतको नाममा राखेकोले निजहरूको नामको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा १६(ग) लाई समेत मध्यनजर राखी अपराध गर्नमा मुख्य भूमिका निर्वाह गर्ने प्रतिवादी भरतप्रसाद घिमिरेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम रू. १,६५,००,२७९।०९ बिगोबमोजिम जरिवाना तथा हदैसम्म कैद र सो सम्पत्ति जफतसमेतको सजाय गरिपाउँ तथा निजको गैरकानूनी आर्जनको सम्पत्ति प्रतिवादी रमादेवी घिमिरेका नाममा उपर्युक्तानुसार रहेकोले उक्त अवैध आर्जनको सम्पत्ति ऐ. ऐनको दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) र ३० बमोजिम जफत गरिपाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र विशेष अदालत, काठमाडौंमा दायर हुन आएकोमा सुरू विशेष अदालतबाट निज प्रतिवादी राष्ट्रसेवक भएको र आफूसँग रहे भएको सम्पत्तिको वैध स्रोत देखाउन नसकेकोले निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम भ्रष्टाचारको कसुर गरेको ठहर्याई प्रतिवादी भरतप्रसाद घिमिरेको बिगोबमोजिम रू. ७६,४६,८९६।०८ र सो बाट बढे बढाएको गैरकानूनी चलअचल सम्पत्ति जफत हुने र सोबापत प्रतिवादीहरूको घरबाट बरामद भएको नगद रूपैयाँ, भारतीय रूपैयाँ र अमेरिकन डलर गरी रू. २०,७६,३६०।- र २,८१,५७२।- पर्ने सुनको टुक्रा र बिस्कुट, रू. ३१,९००।- मूल्य भएको १४ थान घडी, कृष्ण पस्मिना आर्टसमा रोक्का रहेको सावाँ ब्याजसहितको रू. २६,५०,०००।- (का.जि.का.म.न.पा. वडा नं. १० कि.नं. २३० र २३५ को जग्गा र सोमा बनेको घर र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौबाट मिति २०६७।१।८ मा फैसला भई सो उपर प्रतिवादी भरत घिमिरे तथा रमादेवी घिमिरेको तर्फबाट आरोपित कसुरमा सफाइ पाउँ भनी तथा वादी नेपाल सरकारको तर्फबाट अभियोग मागदाबीबमोजिम हदैसम्म सजाय गरिपाउँ भनी यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा सुरू विशेष अदालतले प्रतिवादी भरतप्रसाद घिमिरेसँग जम्मा देहायको सम्पत्ति रहेको भनी उल्लेख गरेको देखियो ।
१. जग्गा खरिदतर्फको ....................७,०९,२२८।-
२. घर निर्माणतर्फको ................२१,७१,९०२।०२
३. प्रतिवादीको घरबाट बरामद भएको
नगद ..................................२०,७६,३६३।-
४. सुन तर्फको ............................२,८१,५७२।-
५. बरामद भएको घडीको ..................३१,९००।-
६. सेयर तर्फको ...................................५,००।-
७. बैंक मौज्दात ..............................२४२७।६२
८. मोटरसाइकलको .........................१८,०००।-
९. VDIS तर्फको ............................५०,०००।-
१०. लगानी तर्फको ......................५१,५०,०००।-
जम्मा रू. १,०४,९१,८९२।६४
३. त्यसैगरी प्रतिवादी भरतप्रसाद घिमिरे र निजको एकाघरको श्रीमतीको नाममा निम्न शीर्षकअनुसारको रू.२८,४४,९९६। ५६ वैध आयको रूपमा आर्जन भएको भनी उल्लेख गरेको देखिन्छ ।
१. तलब ...................................६,३५,३७३।–
२. दशैं खर्च ...................................४२,७५७।–
३. कमिसन ................................२९,४०२।५६
४. बिदाबापतको रकम ........................६,७१४।–
५. कर्मचारी सञ्चय कोष सापटी ..........६४,०००।–
६. घर भाडा ..............................३,९०,०००।–
७. पस्मिना कारोबारको आम्दानी .....२,१२,५००।–
८. कृषि आय .............................६,९८,०००।–
९. जग्गा बिक्रीको ........................३,६६,२५०।–
१०. एलपिक फाइनान्सको ऋण .........४,००,०००।–
जम्मा रू. २८,४४,९९६।५६
४. यसरी पेस भएको अभियोगपत्र, प्रतिवादी भरतप्रसाद घिमिरेको बयान र बहसनोटबमोजिम हिसाबकिताब गर्दा प्रतिवादी भरतप्रसाद घिमिरे र पत्नी रमादेवी घिमिरेसँग जम्मा रू.१,०४,९१,८९२।६४ बराबरको चल अचल सम्पत्ति रहेको र त्यसमध्ये स्रोत खुलेको रू.२८,४४,९९६।५६ बराबरको सम्पत्ति देखियो । निज प्रतिवादी तथा निजकी पत्नी रमादेवी घिमिरेको नाममा रहेको घर जग्गा, लगानी र बैंक खातालगायतका सम्पत्तिसमेतबाट स्रोत नखुलेको रू.७६,४६,८९६।०८ बराबरको सम्पत्ति रहे भएको भनी विशेष अदालतले ठहर गरेको देखिन आयो ।
५. साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ मा राष्ट्रसेवक भएको वा हुने भएको कुनै व्यक्तिले आफ्नो ओहदाको वा सोसम्बन्धी कुनै काम गर्न वा गराइदिएबापत वा नगर्न वा नगरिदिएबापत आफैँ वा अरू कसैको निमित्त कानूनले लिन पाउने पारिश्रमिकबाहेक अरू रिसवत कसैबाट लिएमा वा लिन मन्जुर गरेमा वा लिने प्रयत्न गरेमा निजलाई कसुरको मात्राअनुसार २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ । रिसवत लिइसकेको भए सो रिसवतसमेत जफत भै सरकारी कोषमा दाखिला गरिनेछ भन्नेसमेत व्यवस्था भएको देखिन्छ । दफा ७(१) मा सरकारी सेवामा रहेको कुनै राष्ट्रसेवकले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले वा राष्ट्र वा नेपाल सरकार वा सरकारी मान्यता प्राप्त कुनै संस्था वा व्यक्तिलाई गैरकानूनी हानि पुर्याउने बदनियतले नेपाल कानून जानी जानी पालन नगरेको वा नेपाल सरकारसँग गरेको शपथ वा सर्त वा कबुलियत, सम्झौता जानीजानी पालन नगरेमा वा सरकारी सुविधा वा अधिकारको दुरूपयोग गरेमा वा त्यस्तो सुविधा वा अधिकारप्राप्त गरेमा वा ती लेखिएमध्ये कुनै काम कुरा गर्ने प्रयत्न गरेमा निजलाई कसुरको मात्राअनुसार १ वर्षदेखि ३ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनेछ । दफा १५ मा यो ऐनअन्तर्गत सजाय हुने कुनै कसुरमा अभियोग लागेको कुनै राष्ट्रसेवकको साथमा निजको र निजको परिवारका सदस्यहरूको थाहा भएसम्मको आम्दानीको स्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति भएको वा निजले त्यसरी नमिल्दो उच्च जीवनस्तर बनाएको वा अरूलाई ठुलो दान दातव्य बकस दिएको फेला परेमा निजले अदालतलाई त्यसको सन्तोषजनक हुने सबुद दिन सकेमा बाहेक गैरकानूनीरूपले रिसवत लिएको अनुमान गरिनेछ र केवल सो अनुमानको आधारमा कसुरदार ठहर्याई अदालतबाट फैसला भएको छ भन्दैमा सो फैसला बदर हुन सक्दैन । दफा १६ग मा यस परिच्छेदअन्तर्गत सजाय हुने कसुरसँग सम्बन्धित ठहरिएको चल तथा अचल सम्पत्ति यस ऐनअन्तर्गत कसुरदार ठहरिएको राष्ट्रसेवक वा व्यक्तिले आफ्नो परिवार वा अरू कुनैको नाममा राखेको भए तापनि सो सबै सम्पत्ति जफत हुनेछ । दफा २९ मा “.......परिच्छेद २ अन्तर्गत सजाय हुने कसुर गरी त्यसबाट आफू वा अन्य कुनै व्यक्तिलाई गैरकानूनी लाभ वा कुनै व्यक्तिलाई गैरकानूनी हानि पुर्याएको रहेछ भने त्यस्तो कसुरबापत हुने सजायको अतिरिक्त त्यस्तो व्यक्तिसँग गैरकानूनी लाभ वा हानि गरेको बिगो असुल गरिनेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ ।
६. त्यस्तै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) मा कुनै राष्ट्रसेवकले उपदफा (१) बमोजिम गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्तिसमेत जफत गरिनेछ । दफा ४७ मा कुनै व्यक्तिले यो ऐन वा प्रचलित कानूनबमोजिम भ्रष्टाचार गरेको मानिने कुनै कार्य गरी आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको अन्य सम्पत्तिसमेत आफ्नो वा अरू कसैको नाममा राखेको प्रमाणित भएमा त्यस्तो सम्पत्ति जफत हुनेछ भन्नेसमेत व्यवस्था भएको देखिन्छ । साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सो ऐन वा अन्य प्रचलित कानूनबमोजिम भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको अन्य सम्पत्तिसमेत आफ्नो वा अरू कसैको नाममा राखेको प्रमाणित भएमा त्यस्तो सम्पत्ति जफत हुनेछ भन्नेसमेत व्यवस्था भएको देखिन्छ ।
७. प्रतिवादी भरतप्रसाद घिमिरेको घरबाट बरामद भएको उक्त रकममध्ये नेपाली रू. १८,३२,२५०।- (अमेरिकन डलर ८३८ को नेपाली रकम रू. ६५३६७।- र भा.रू. ८२८१०।- को नेपाली रकम रू. १,३२,४९६।- समेत जम्मा रू. २०,७६,३६०।-) बराबरको नगद बरामद भएको र उक्त रकम प्रतिवादी भरतप्रसाद घिमिरेको सम्पत्तिमा समावेश गरी बिगो कायम गरेको मिलेको छ छैन भन्नेसम्बन्धमा विचार गर्नुपर्ने देखियो ।
८. उल्लिखित रकम मध्ये रू. १८,३२,२५०।- र अमेरिकन डलर ८३८ को ने.रू. ६५३६७।- नारायण घिमिरेको र भा.रू. ८२८१०।- को ने.रू. १३२४९६।- प्रकाश घिमिरेको भएको व्यहोरा प्रतिवादी भरतप्रसाद घिमिरेले आफ्नो बयानमा उल्लेख गरेको देखिन्छ । नारायण घिमिरेको अदालतको बयानको स.ज. ७ र प्रकाश घिमिरेको अदालतको बयान स.ज. ११ समेत सोही व्यहोरा उल्लेख गरेको
देखिन्छ । त्यसैगरी प्रतिवादी भरतप्रसाद घिमिरेको घरबाट नगद रू. २०,७६,३६०।- को अतिरिक्त नारायण घिमिरेको नामको सूर्य पस्मिना उल्लेख भएको नबिल बैंकको रू. १५,८०,०००।- र १०,००,२३५।- गरी जम्मा रू. २५,८०,३३५।- बराबरको २ वटा चेक बरामद भएकोमा उक्त चेक नारायण घिमिरेको व्यापारिक कारोबारको भएको व्यहोरालाई मान्यता दिएको देखिन्छ भने रकमको हकमा भरतप्रसाद घिमिरेको बिगोमा कायम गरिएको देखिन्छ ।
९. प्रतिवादी भरतप्रसाद घिमिरेको भाइहरू नारायण घिमिरेको नाममा भ्याली पम्प सर्भिस, घिमिरे ट्रेड एन्ड जनरल सप्लायर्स, जि.एन. इन्टरप्राइजेज, एवं मल्टी प्रिन्टर्स दर्ता रहेको (आयोगको स.ज. ८) एवं खासा तिब्बतबाट ट्रेड लिंक इन्टरनेसनल, सिग्देल ट्रेड कन्सर्न आदि फर्मको नामबाट खासा तिब्बतबाट सामान आयात एवं टि.टि. गर्ने गरेको (आयोगको स.ज. २१) (अदालतको स.ज. ७) त्यसैगरी प्रकाश घिमिरेको नाममा प्रकाश इन्टरप्राइजेज नामक फर्म एवं निजको श्रीमती विनिता घिमिरेको नाममा एक्सटेरियर इन्टेरियर नामक व्यापारिक फर्म दर्ता गरेको
देखिन्छ । भाइ नारायण घिमिरेको बसोबास ठिमीस्थित घर निजको व्यापारिक कारोबार स्थल न्युरोडबाट टाढा पर्ने, निजको श्रीमती सगरमाथा इन्स्योरेन्स कम्पनीमा नोकरी गर्ने एवं दुईजना छोराहरू विद्यालयमा अध्ययनरत रहेको कारण आफू बसोबास गरेको घरमा नगद एवं गरगहना राख्न सुरक्षित नरहेको एवं व्यापारिक कारोबारको विभिन्न व्यक्तिहरूको भन्सार छुट्याउने प्रयोजनको लागि लिएको रकम बैंकबाट कारोबार गर्न असहज भएको कारण मूलघर जहाँ बुबा, आमा, दाजु, भाउजू एवं भाइ बुहारीको बसोबास रहेको घरमा सुरक्षित हुने महसुस गरी भाउजू रमादेवी घिमिरेलाई नेपाली रकम, अमेरिकी डलर एवं चेकसमेत राख्न दिएको भन्ने देखिन आएको छ । विदेशी मुद्रा सटहीको हकमा नारायण घिमिरेले विदेश इन्डोनेसिया एवं हङ्गकङ्ग भ्रमण गर्ने क्रममा अमेरिकी डलर १००० सटही गरेको व्यहोरा निजको राहदानीको पछाडि लागेको छापबाट देखिन आएको छ । जुन कुरा निजले अदालतमा उपस्थित भई गरेको बयानको स.ज. ७ र आयोगको स.ज. ४६ र ४७ मा गरेको बयान व्यहोराबाट समर्थित हुन आएको देखिन्छ ।
१०. प्रतिवादीको अर्को भाइ प्रकाश घिमिरे प्रतिवादीसँगै एकै घरमा बस्ने एवं निजको व्यापारिक फर्मको बढी कारोबार भारतमा हुने तथा निज एवं निजको श्रीमती व्यापारिक कामको सिलसिलामा हिँडिरहनुपर्ने भएकोले भा.रू. ८२८१०।- भाउजू रमादेवी घिमिरेलाई राख्न दिएको भन्ने भनाइ प्रकाश घिमिरेको अदालतको बयानको स.ज. ११ मा उल्लेख गरेको देखिन्छ भने उक्त रकम प्रतिवादी भरतप्रसाद घिमिरेले भाइहरूको भएको उल्लेख गरी आयोगमा बयान गरेको
देखिन्छ । सो विषयमा नारायण घिमिरे एवं प्रकाश घिमिरेलाई अनुसन्धानको सिलसिलामा बुझ्नुपर्नेमा सो गरेको नदेखिनुका साथै भाइहरूको व्यापारिक कारोबारको प्रकृतिबाट पनि सो नगद निजहरूको कारोबारको प्रयोजन सुरक्षाको दृष्टिकोणबाट समेत प्रतिवादी भरतप्रसाद घिमिरेको घरमा रहन सक्ने उल्लिखित तथ्य एवं परिस्थितिबाट स्वाभाविकरूपमा देखिन आएको छ । त्यसैगरी आरोपपत्रको पेज नं. २९/३० मा ‘क’ देखि ‘ठ’ सम्म प्रतिवादीको पारिवारका सदस्यहरूबिच अंशबन्डा भइसकेको पुष्टि गर्ने आधारको रूपमा उक्त बरामद रकम नारायण घिमिरेको उल्लेख गरेपनि बिगो कायम गर्ने क्रममा उक्त रकमको स्रोतसमेत प्रतिवादी भरतप्रसाद घिमिरेले नै पुष्टि गर्ने गरी उल्लेख गरेको देखिँदा नारायण घिमिरेले आफ्नो व्यापारिक कारोबार प्रस्ट गरिरहेको अवस्थामा नारायण घिमिरेले एकासगोलमा आर्जन गरेको रूपैयाँ पनि भरत घिमिरेकै हो भनी दोहोरो मापदण्ड अवलम्बन गरी आरोपपत्र दायर गरेको देखिन आएकोले उक्त बरामदित बिगो रकम रू. २०,७६,३६०।- को स्रोत प्रतिवादी भरतप्रसाद घिमिरेले पुष्टि गर्नुपर्छ भनी अर्थ गर्न मिल्ने देखिँदैन ।
११. प्रतिवादीबाट बरामद भएको मूल्य रू. २८१५७२।– को सुनसमेत गैरकानूनी आर्जन हो भन्ने आरोपपत्रको सन्दर्भमा हेर्दा अनुसन्धानको सिलसिलामा प्रतिवादी भरतप्रसाद घिमिरेको घरमा छापा मार्ने क्रममा ५ टेल उल्लेख भएको १५ तोलाको सुनको टुक्रा १, १० तोलाको सुनको बिस्कुट १ तथा अर्को २ तोलाको सुनको टुक्रा १ समेत गरी जम्मा ३४१.३०० ग्राम सुन बरामद भएकोमा उक्त बरामद भएको सुनमध्ये १० तोलाको सुनको बिस्कुट प्रतिवादीसँग एउटै घरमा बस्ने भाइ प्रकाश घिमिरेले राख्न दिएको, ५ टेल उल्लेख भएको १५ तोलाको सुनको टुक्रा नारायण घिमिरेले व्यापारिक कारोबारको चेक, नगद रूपैयाँसँगै सुरक्षाको दृष्टिकोणले राख्न दिएको एवं २ तोलाको सुनको बिस्कुट प्रतिवादीले आफ्नो छोरीको विवाहको लागि राखेको उल्लेख गरी प्रतिवादी भरतप्रसाद घिमिरेले बयान गरेको
देखिन्छ । एकाघर सगोलमा रहेको भाइमध्ये प्रकाश घिमिरे प्रतिवादीको जुन घरमा छापा मारिएको भनिएको हो सोही घरमा सँगै बसेको देखिन्छ । निजको नाममा प्रकाश इन्टरप्राइजेज नामक फर्म एवं निजको श्रीमती विनिता घिमिरेको नाममा एक्सटेरियर इन्टेरियर नामक व्यापारिक फर्म दर्ता रही कारोबार गरेको भन्ने देखिन्छ । बरामद भएको सुन मध्ये RNA लेखिएको १० तोलाको सुन आफूले खरिद गरी भाउजूलाई राख्न दिएको उल्लेख गरी प्रकाश घिमिरेले विशेष अदालत, काठमाडौंमा गरेको बयानको स.ज. ११ मा उल्लेख गरेको देखिन्छ । त्यसैगरी नारायण घिमिरेले ५ टेलको १५ तोलाको सुन आफ्नो हो । निजी प्रयोगको लागि व्यापार व्यवसायको रकम एवं श्रीमतीको पेवा रकमसमेत बाट खरिद गरी घरमूली भाउजू रमादेवी घिमिरेलाई सुरक्षाको दृष्टिकोणले राख्न दिएको भनी अदालतमा गरेको बयानको स.ज. ७ मा उल्लेख गरेको देखिन्छ । उल्लिखित घटनाक्रमहरूबाट ३४१.३०० ग्राम सुनको कुल मूल्य रू. २ तोला प्रतिवादी भरतप्रसाद घिमिरेको बिगोमा समावेश गरी सोको स्रोतसमेत निजले पुष्टि गर्नुपर्छ भन्न मिल्ने देखिँदैन ।
१२. बरामद भएको रू. ३१,९००।- घडीसमेत गैरकानूनी आर्जन हो भनी लिएको दाबीको सन्दर्भमा उक्त घडी बिगोमा समावेश गर्न मिल्ने हो होइन भन्नेसम्बन्धमा विचार गर्दा प्रतिवादीको घरबाट राडो, रोमान्सन, सिको, सिटिजनलगायतका मूल्य रू. ३१,९००।- पर्ने १४ थान घडी बरामद भएको भनी आरोपपत्रमा दाबी लिइएको देखिन्छ । उल्लिखित घडीहरू भाइ गणेश घिमिरेको वीरगञ्जस्थित पसल काठमाडौंस्थित गौशालामा सार्ने क्रममा का.म.न.पा. वडा नं. १० बुद्धनगरस्थित घरमा ल्याइराखेको हो । जुन घरमा भाइ गणेश घिमिरे अद्यपि बसिरहनु भएको छ । भाइ गणेश घिमिरेको नाममा गौरीशंकर इम्पेरियम नामको प्राइभेट फर्म २०५८/६/१८ मा वाणिज्य कार्यालय, वीरगञ्जमा दर्ता रही व्यापारिक कारोबार सञ्चालनमा रहेको छ । सो फर्मको नाममा मिति १७/०६/२०५८ मा दर्ता रहेको प्यान प्रमाणपत्रमा कारोबारहरूमा रेडियो, टि.भि. तथा विद्युतीय सामग्रीको कारोबार उल्लेख रहेको छ । गौरीशंकर इम्पेरियमले उक्त घडीहरू मिति २०५८/७/८, २०५८/७/१२ एवं २०५८/७/१६ मा वैदेही ओभरसिज प्रा.लि.बाट जम्मा रू. २२,५२८।- मा खरिद भएको कर बिजक रहेको एवं सोही व्यहोरा उल्लेख गरी प्रतिवादी भरतप्रसाद घिमिरेले अदालतमा बयानसमेत गरेको देखिन्छ । जसका नाममा बिल बिजक देखिन्छ त्यो वस्तु उसैको हुनेमा त्यसको अनदेखा गरी सोको विपरीत प्रतिवादीको भाइ गणेश घिमिरेको उक्त व्यापारिक कारोबारको घडी छापा मार्दा भरतप्रसाद घिमिरेको घरमा फेला परेको उल्लेख गरी सोको स्रोतसमेत निजले नै पुष्टि गर्नुपर्छ भन्न मिल्ने देखिँदैन । तसर्थ विवादित घडीसमेतको वस्तु गणेश घिमिरेको कायम हुन्छ ।
१३. प्रतिवादीले लगानी गरेको भनिएको लगानीतर्फको रकम रू. ५१,५०,०००।– गैरकानूनी आर्जनको हो होइन र उक्त रकम बिगोमा समावेश गर्न मिल्छ मिल्दैन भन्ने सन्दर्भमा विचार गर्दा कृष्ण पस्मिना आर्टसका प्रो. कृष्णबहादुर कुँवरलाई ब्याजमा लगानी गरेको रकम रू. ५०,००,०००।- को सम्बन्धमा घरबाट बरामद भएको डायरीमा लेखिएको खेस्रा टिपोट एवं क्यास डिपोजिट स्लिपबाट प्रमाणित भएको एवं ब्याजबापतको रकमसमेत प्रतिवादी भरतप्रसाद घिमिरेले नै प्राप्त गर्ने गरेको भनी कृष्ण कुँवरले बयान गरेको आधारमा उक्त रू.५०,००,०००।- मध्ये २५,००,०००।- भरतप्रसाद घिमिरेले फिर्ता लिई कुनै चल अचल सम्पत्ति खरिद गरेको नदेखिएकोले फिर्ता पाएको रकम २५ लाख, फिर्ता हुन बाँकी २५ लाख एवं १ लाख ५० हजार ब्याजसमेत जम्मा रू. ५१,५०,०००।- प्रतिवादीको स्रोत नखुलेको आम्दानी मानी गैरकानूनी आर्जन भनी दाबी लिएको देखिन्छ । सोसम्बन्धमा विचार गर्दा प्रतिवादी भरतप्रसाद घिमिरेले सो रकम आफ्नो नभई अन्य व्यक्तिहरूको रकम आफूमार्फत लगानीसम्म गरिदिएको व्यहोरा अ.दु.अ.आ. एवं अदालतमा समेत बयान गरेको देखिन्छ । प्रतिवादीको अ.दु.अ.आ. मा भएको बयानको स.ज. १३ मा जनकपुरका दिपक घिमिरेको २१ लाख, रामेछाप पकरवासका हिरण्यदेव पौडेलको रू. ८,२५,०००।-, बुद्धनगरकी श्रृजना के.सी. को रू. १५,००,०००।-, पुल्चोककी इन्दिरा नेउपानेको रू. ५,७५,०००।- विभिन्न मितिमा ब्याजमा लगाइदिनु भनेकोले ब्याजमा लगाइदिएको हो । उक्त रकम मेरो होइन भनी बयान गरेको देखिन्छ । त्यसैगरी प्रतिवादी भरत प्र. घिमिरेको अदालतमा भएको बयानको स.ज. १७ मा कृष्ण कुँवरलाई ब्याजमा दिएको रकम २५ लाखको सम्बन्धमा दिपकराज घिमिरेबाट रू. १२,००,०००।- श्रृजना के.सी. बाट रू. ७,२५,०००।-, इन्दिरा नेउपाने बाट रू. ५,७५,०००।- समेत २५ लाख २०५४ सालदेखि ब्याजमा लगाउन दिएका हुन् । स.ज. १९ मा २०५४ देखि २०५७ बिचमा अन्य व्यक्तिको रकम ५० लाख आफूमार्फत ब्याजमा लगाएको हो । आफू जमानी मात्र बसेको हो । २५ लाख बुझाइसकेको र २५ लाख बुझाउन बाँकी रहेको उल्लेख गरेको देखिन्छ ।
१४. ऋण लिने व्यक्ति कृष्ण कुँवरको आयोगको बयानमा आफू उद्योगी रहेको र भरतप्रसाद घिमिरेले ब्याजमा रकम चलाइदिनु पर्यो भनेकाले सहमति जनाएको हो । स.ज. ५ मा मेरो कृष्ण पस्मिना आर्टसको नेपाल बैंक अफ सिलोनको खाता नं. ५०६ मा पटकपटक गरी अन्दाजी ३५ लाख जम्मा गरिदिनु भएको हो । २०५७ असारदेखि कात्तिकसम्म अन्दाजी पटकपटक गरी १५ लाख मलाई दिनुभएको हो । लेनदेन गर्दा कागज भएको थिएन । व्यक्तिगत विश्वासमा पस्मिना उद्योगको लागि रकम कारोबार भएको
हो । सर्त ३ महिनामा २४ प्रतिशत ब्याज बुझाउने थियो । २०५८ सालको पुसदेखि २०५९ को वैशाखसम्म २५ लाख फिर्ता गरी ब्याज १८ प्रतिशत कायम गरेको हो । उक्त रकमको ब्याज समेत बुझाइसकेको छु । अब बाँकी २५ लाखको साँवा र ब्याज हो भनी उल्लेख भएको देखिन्छ । त्यसैगरी कृष्ण कुँवरको अदालतमा भएको बयानको स.ज. ५ मा २०५७ असारदेखि कार्तिकसम्म ब्याजमा ५० लाख भरत घिमिरेमार्फत सापटी लिएको हुँ ।२५ लाख २०५८ पुसदेखि ०५९ वैशाखसम्म निजमार्फत फिर्ता भैसकेको छ । २६ लाख ५० हजार अख्तियारको आदेशअनुसार बैंकमा रोक्का रहेको उल्लेख गरेको देखिन्छ । स.ज. ६ मा सापटी लिएको रकम दिपक, इन्दिरा, श्रृजनालगायतका मैले नचिनेको मानिसहरूको भन्नुभएको उल्लेख गरेको एवं स.ज. ११ मा रकम लेनदेनको प्रमाणसम्बन्धमा रकम कारोबार नगदमा नै भएको हो भरपाई केही छैन भन्ने व्यहोरा लेखाएको देखिन्छ । सापटी दिने व्यक्तिहरू दिपक, इन्दिरा, श्रृजना, हिरण्यसमेतका व्यक्तिहरूलाई अनुसन्धानको क्रममा बुझिएकोसमेत मिसिल प्रमाणबाट देखिँदैन ।
१५. दिपकराज घिमिरेको अदालतमा भएको बकपत्रको स.ज. ७ मा २०५४ सालमा ९ लाख, ०५६ सालमा ७ लाख, ०५७ सालमा ५ लाख गरी जम्मा २१ लाख दिएको हो । ०५८ मा ९ लाख फिर्ता भयो अब १२ लाखको साँवा ब्याज लिन बाँकी उक्त रकम भरत घिमिरेमार्फत २०५७ सालमा कृष्ण कुँवरलाई लगानी गरेको हो । फिर्ता पाएको रकम भरत घिमिरेमार्फत कृष्ण कुँवरबाट प्राप्त गरेको हो । रकम कारोबार हुँदा भरत घिमिरेसँग कागज भएको थियो । फोटोकपी बकपत्रको क्रममा पेस भएको छ । स.ज. ८ मा ऋण दिएको रकमको स्रोतको सम्बन्धमा रामेछाप, मन्थलीको जग्गा बिक्री गरी प्राप्त रकम, जनकपुर एवं मन्थलीको घर भाडा रकम, खेतीबाट भएको आय एवं व्यापार व्यवसायको आय, श्रीमतीको नोकरी र २ छोराहरूको जागिरको आयसमेत उल्लेख गरेको देखिन्छ । स.ज. ९ मा मन्थलीको जग्गा ५०/६० लाखमा बिक्री गरेको, मन्थलीको घरभाडा ५ हजार जसको कर तिरेको छ । जनकपुरको घर ग्रामीण विकास बैंकले १७,५०,०००।- मा बहालमा लिएको छ । जनकपुरको २ बिगाह घडेरी बिक्री गरी प्रति कठ्ठा १ लाखले बिक्री गरेको २५/३० लाख लिएको हो । हिरण्यप्रसाद पौडेल, सृजना के.सी, इन्दिरा नेउपाउनेसमेतको व्यक्तिहरूले अदालतसमक्ष उपस्थित भई आफूहरूले ब्याजमा लगाउन रकम दिएको व्यहोरा उल्लेख गरी बकपत्र गरेको देखिनुको साथै लेनदेन कारोबारको कागजातसमेत प्रमाणको रूपमा पेस गरेको पाइन्छ । आरोपपत्र मागदाबीमा ५० लाखमध्ये २५ लाख फिर्ता आएको भनेपनि सोबाट सम्पत्ति खरिद नभएको एवं नगद पनि देखाउन नसकेकोले ५० लाख र ब्याज १ लाख ५० हजार समेत रू. ५१,५०,०००/- पुरै रकम बिगोमा समावेश गरेको एवं सोको स्रोत पुष्टि हुन नसकेको दाबी गरिएको र सोही आधारमा विशेष अदालतको फैसलाले बिगो ठहर गरेको देखिन्छ । विवादित रकम जसका नाममा रोक्का रहेको छ उसैको हुन्छ । जहाँसम्म बैंकमा रोक्का रहेको रकम प्रतिवादीले गैरकानूनी आर्जन गरी भ्रष्टाचार गरेका हुन् भनी आरोपित गरिसकेपछि बैंकको खातावालालाई पनि प्रतिवादी बनाई मुद्दा चलाउन सक्नुपर्ने हुन्छ । खातावाला व्यक्तिलाई अभियुक्त बनाई मुद्दा दायर पनि नगर्ने र अर्काको खातामा रहेको रकमसमेत यिनै प्रतिवादीको हो भनी सो रकमको समेत स्रोत पुष्टि गर्नुपर्दछ भनी उक्त रकममा समेत यिनै प्रतिवादी भरतप्रसाद घिमिरेको कायम गरी गैरकानूनी आर्जन भनी सजाय ठहर गर्नु न्यायोचित हुँदैन । यसै सन्दर्भमा ने.का.प. २०६९ अंक २ पृष्ठ २५९ मा प्रकाशित वादी नेपाल सरकार प्रतिवादी लिलाराज गौतमसमेत भएको भ्रष्टाचार मुद्दामा प्रतिपादित सिद्दान्त “व्यक्तिगतरूपमा लेखिएको र परीक्षण गर्न नसकिने निजी डायरीलाई कानूनबमोजिमको अकाट्य प्रमाणको रूपमा ग्रहण गर्दै जाने हो भने त्यसले गलत संस्कार र कृत्रिम प्रमाणको सिर्जनालाई बढावा दिने हुँदा अदालतले त्यस्ता कृत्रिम र बनावटी प्रमाणको सिर्जना हुने प्रक्रियालाई अपनाउन र प्रोत्साहन गर्न मिल्दैन भन्ने सिद्धान्त स्थापित भएको पाइन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी भरतप्रसाद घिमिरेको घरमा छापा मारिएको भनिएको व्यक्तिगत डायरीमा गरिएको खेस्राको आधारमा रू. ५१,५०,०००/- प्रतिवादीकै रकम हो भनी सम्पत्तिको बिगोमा कायम गरी सोको स्रोत खुल्नुपर्नेमा खुलाउन नसकेको भन्ने उल्लेख गरी भएको विशेष अदालत, काठमाडौंको फैसला उक्त सिद्धान्तसमेतका आधारमा समेत मिलेको देखिएन । अभियोग लगाउने पक्षले आफूले लगाएको अभियोग शंकारहित तवरबाट पुष्टि गर्नुपर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त हो । भ्रष्टाचारलगायत कतिपय फौजदारी मुद्दामा प्रमाणको भार प्रतिवादीले नै पुर्याउनु पर्ने गरी व्यवस्था गरिएको भएपनि अभियोग लगाउने पक्षले अभियोग लगाइसकेपछि आफ्नो दायित्वबाट पुरै पन्छिन मिल्छ भनी अर्थ गर्न
मिल्दैन । प्रस्तुत अभियोगको सन्दर्भमा विभिन्न व्यक्तिहरूसँग लेनदेन कारोबार गरेको र अर्कै व्यक्तिको रकम आफूबाट बरामद भएको भनी प्रतिवादीले जिकिर लिएको अवस्थामा ती व्यक्तिहरूसँग बुझी स्पष्ट मागदाबी लिनु वादी पक्षको दायित्व हुन आउँछ सो गरेको मिसिलबाट देखिँदैन ।
१६. त्यसैगरी वादी नेपाल सरकार प्रतिवादी गणेश अर्यालसमेत भएको मुद्दा नं. ०६३-RI-०६५ को भ्रष्टाचार मुद्दाको पेज नं. ३८ को दोस्रो परिच्छेदमा उल्लिखित व्यहोरा “............खाताबाट झिकिएको रकम अर्थात् खातामा बाँकी नै नरहेको रकमको स्रोत पुष्टि गर्नुपर्ने अवस्था रहँदैन । खाता खोली बैंकिङ् कारोबार गर्नु स्वाभाविकरूपमा भइरहने कुरा हो । त्यो सञ्चय वा सुरक्षा वा जुनसुकै कारणले खातामा जम्मा गरी कारोबार गरिएको हुन सक्छ । खाताबाट झिकिएको रकमहरू आफ्नो फौजदारी दायित्वबाट बच्ने उद्देश्यले कतै लुकाएको भन्ने हो भने त्यो तथ्यगत हिसाबले नै पुष्टि गर्नुपर्ने हुन्छ । खाताबाट रकम झिकिनु नै रकम लुकाएको अनुमानको आधार बनाउन मिल्दैन । यस्तो प्रश्नहरूमा अपराध अनुसन्धानको पक्ष सतही नबनी गम्भीर र क्षमतावान् हुनु जरूरी छ । यथार्थमा कुनै राष्ट्रसेवकले अमूक सम्पत्ति कति आर्जन गर्यो भन्ने प्रयोजनको लागि तत्काल कति उसको साथमा वा नियन्त्रणमा छ भन्ने आधारमा मूल्याङ्कन गरिने हो न कि कति थियो वा हुन सक्थ्यो होला भनी अनुमान गर्ने हो भनी स्थापित नजिर सिद्धान्तबमोजिम पहिला नै फिर्ता पाइसकेको अस्तित्वमा नै नरहेको २५ लाख रकमलाई बिगोमा समावेश गर्न मिल्ने देखिँदैन । त्यसैगरी अन्य व्यक्तिहरूको बाँकी रकम २५ लाख साँवा र १ लाख ५० हजार ब्याजसमेत गरी जम्मा २६ लाख ५० हजारको हकमा प्रतिवादी भरतप्रसाद घिमिरेमार्फत भई कृष्ण कुँवरलाई ब्याजमा लगानी गरिदिएको भए पनि उक्त रकम भरतप्रसाद घिमिरेको नभएको एवं हाल पनि उक्त रकम कृष्ण कुँवरको बैंक खातामा रोक्का रहेकोले उक्त रकम रू. ५१,५०,०००।- प्रतिवादी भरतप्रसाद घिमिरेको मानी बिगोमा समावेश गर्न मिल्ने देखिँदैन ।
१७. प्रतिवादीका नाममा रहेको सम्पत्ति निजको कारोबार र सो कारोबारबाट बढे बढाएको छ छैन भन्ने कुराको मापन निजको कारोबारबाट हेर्न सकिने विषय हुन्छ । रू. ३ लाख १० हजारमा आफ्नो पैतृक सम्पत्ति बिक्री गरेको कार्यलाई प्रतिवादीले पेस गरेको गा.वि.स. कार्यालयको कागजलाई अन्यथा नभएपछि सोपश्चात् खरिद भएको जग्गाको सम्पत्तिमा स्रोत नखुलेको भन्न मिल्दैन । तत्कालीन निजामती सेवा ऐनले निजामती कर्मचारीलाई ऋण लिनेदिने कार्य गर्न रोक लगाएको देखिँदैन । मुलुकी ऐन लेनदेन व्यवहारको २ नं. समेतले त्यसलाई कानूनी बैद्यता दिएको देखिन्छ । ऋण लिनेदिने कानूनी व्यवस्थाको बैद्यतामा वादी पक्षले प्रश्न उठाएको देखिँदैन । कानूनद्वारा रोक नलगाएको कारोबारबाट प्रतिवादीले आर्जन गरेको सम्पत्तिमा गैरकानूनी आर्जन हो भनी अर्थ गर्न मिल्दैन । प्रतिवादीले विभिन्न मानिसहरूसँग ऋण लिनेदिने कार्य गरेको र त्यसलाई मौकामा नै प्रतिवादीले आफ्नो बयानद्वारा पुष्टि हुने गरी बयान गरिदिएको देखिन्छ भने त्यसलाई साहुले समर्थन गरी कागज गरेकोसमेत देखिन आएको छ । त्यसरी कानूनबमोजिम ऋण लिनेदिने कार्य गर्दा उक्त कार्यका सम्बन्धमा मान्यता दिन मिल्ने नमिल्ने के हो भन्ने विषयमा निर्णय गर्दा प्रस्ट आधार र कारण उल्लेख गर्नुपर्ने हुन्छ । यदि प्रतिवादीसँगको मिलेमतोमा त्यसरी नक्कली कागज खडा गरी झुठ्ठा कागज गराएको पाइएमा त्यस्तो कार्यका उपर पनि अभियोजन पक्षले अभियोग लगाउन सक्ने नै हुन्छ । यी प्रतिवादीको कारोबारको स्वरूप हेर्दा पस्मिनाको कारोबार गरेको भन्नेबारेमा स्वयं आयोगको अभियोगमा उल्लेख भएको र त्यसरी पस्मिना उद्योग सञ्चालन गर्ने त्यसमा पनि ऋण सापटी लिन नमिल्ने भन्न मिल्दैन । उद्योगको आय गणना गर्ने कार्यमा प्रतिवादीले दिएको कारोबारको सूचीलाई आयोगले अन्यथा गर्न मिल्दैन । बढी कारोबार र आय बढी देखिएमा त्यसमा कर प्रणालीले प्रतिवादीलाई करको दायित्वतर्फ कानूनबमोजिम असुल गर्न सक्छ र आयोगले त्यसतर्फ सम्बन्धित कर कार्यालयलाई सचेत गर्न र बुझ्न सक्छ त्यस्तो भएको नदेखिँदा प्रतिवादीले पेस गरेको आयलाई अन्यथा भन्न मिल्दैन । छोरीको ट्युसन फी ससुराबाट प्राप्त रकम र दिदीबाट प्राप्त गरेको अंकलाई हेर्दा प्रतिवादीको कारोबार सगोलको अवस्था र निजको हैसियतलाई नसुहाउने प्रकृतिको देखिँदैन । प्रतिवादीले पेस गरेको आयको स्रोतलाई
अवैध हो भन्ने कायम गर्दा त्यसलाई पुष्टि गर्ने प्रमाण आधार पनि हुनुपर्दछ । प्रतिवादीको भागमा पर्ने कुल सम्पत्ति निजको पैतृकसम्पत्ति त्यसबाट बढे बढाएको सम्पत्ति कृषि आय तथा सगोलका परिवारले गरेको कारोबार र त्यसबाट आर्जन गरेको सम्पत्तिमा प्रतिवादीको के कति हिस्सा पर्न आउने हो सोतर्फ पनि यथेष्ट प्रमाणबाट प्रतिवादीको दान दातव्य उपहार बिलासितापूर्ण जीवन यापन गरेको भन्ने देखिनुपर्छ । आय र व्ययको स्रोत मापन गर्ने मात्रको कार्य त कर प्रणालीले नै सुनिश्चित गरेको हुन्छ । करको दायित्वमा कानून प्रतिकूल भए तत् निकायबाट हेरिने विषयलाई भ्रष्टाचारको अभियोगमा सजाय गर्नु उपयुक्त हुँदैन । प्रतिवादीले गरेको कारोबार निजले कारोबार गरेबापत राज्यलाई बुझाएको कर र निजको आयस्रोत अस्वाभाविक देखिएको हुनुपर्दछ । कर तिर्दैमा भ्रष्टाचारबाट उन्मुक्ति हुन सक्दैन र भ्रष्टाचार र कर व्यक्तिले बुझाएको करभित्र अन्तरनिहित आयको विवरण उसले बुझाएको कर त्यस करबाहेक अन्य लुकाएका आयहरू समेतलाई दफा २० ले इङ्गित गर्दछ । तर प्रतिवादीका सबै बयान र पेस गरेका कागजहरूमा अनुसन्धान नै नगरी हचुवाको भरमा दफा २० को प्रयोग गर्दा हिसाबको व्यवस्थापनमा कानूनले दिएको प्राकृतिक व्यक्तिको छुटलाई पनि मनन गरी भ्रष्टाचार ठहर गर्ने वा भ्रष्टाचार नठहर्नेसम्बन्धमा विवेचना हुन जरूरी हुन्छ । त्यसैगरी प्रतिवादी भरतप्रसाद घिमिरे खरिदार जस्तो निम्न पदमा कार्यरत कर्मचारी भएको देखिन्छ । खासगरी भ्रष्टाचार निवारण ऐनको दफा २० मा भएको कानूनी व्यवस्थाले स्रोत नखुलेको सम्पत्तिलाई गैरकानूनी आर्जन मान्नुपर्ने र त्यस्तो अवस्थाका व्यक्तिको सम्पत्तिलाई गैरकानूनी आर्जन मानी उक्त सम्पत्तिको स्रोत खुलाउन लगाउने र स्रोत खुलेको देखिएमा गैरकानूनी आर्जन मानी सजाय ठहर गर्नुपर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । भ्रष्टाचारका विभिन्न स्वरूप र प्रकृति
हुन्छन् । साथै भ्रष्टाचार गर्ने तौर तरिका पनि भिन्नभिन्न हुन्छन् । कुनै खास घटना वा वारदात प्रधान
भ्रष्टाचारलाई प्रत्यक्ष अपराधको कोटीमा राख्न सकिन्छ । सानोतिनो काम गरिदिन थोरै रकम घुस रिसवत लिइने यस्ता भ्रष्टाचारमा प्रायः Front Desk तहको संलग्नता बढी रहने गरेको पाइन्छ । प्रतिवादीको पदीय हैसियतलाई हेर्दा निज निम्न स्तरको पदमा कार्यरत रहेको देखिएको निज नीति निर्माण गर्ने तहमा कार्यरतसमेत नरहेको र आदेश तथा निर्देशन दिन सक्ने हैसियतसमेत रहेको अवस्था नदेखिएको र निज र निजका परिवारका सदस्यहरूको व्यापारिक कारोबारको अवस्थाबाट निजले आफूले आर्जन गरेको सम्पत्तिको स्रोत खुलेकै देखिन आएको अवस्था छ । ऐनको मक्सद हेर्दा कतिपय माथिल्लो तहका पदाधिकारीहरूबाट नीतिगत निर्णयहरूमा भ्रष्टाचार हुन सक्ने र त्यस्तो सम्पत्तिको स्रोत खुल्न नसक्ने अवस्था हुने भएकाले त्यस प्रकारका भ्रष्टाचारजन्य कसुरलाई सजायको दायरामा ल्याउनका लागि दफा २० को कानूनी व्यवस्था भएको पाइन्छ ।
१८. सर्वोच्च अदालतले गरी आएका फैसलाहरूमा त्यसतर्फ केही सिद्धान्तहरूको विकास गरी व्याख्या भएको देखिन्छ । पैतृक सम्पत्तिको आधार विना पनि कसैले आफ्नै उद्यमताले आय आर्जनमा उपायहरू अवलम्बन गरेका हुन्छन् भने उद्यमता र कारोबार विहीन सम्पत्ति देखिन्छ भने त्यस्तो अवस्थामा दफा २० द्वारा अनुमानित गरी कसुरदार ठहर गर्नुपर्ने नै हुन्छ । कुनै निजामती कर्मचारीले उद्योग र आय आर्जन गर्ने कारोबार नै गर्न पाउँदैन भन्न मिल्दैन । जग्गाको किनबेच समयको अन्तरालमा त्यसको मूल्यमा वृद्धि र कारोबार गर्दा मालपोत कार्यालयमा देखाउने मूल्य र वास्तविकरूपमा भएको कारोबारमा धेरै नै अन्तर भने रहेको हुन्छ भनी अनुमान गर्न नसकिने हुँदैन । ऐनको दफा २० यस्तो व्यवस्था भनेकै अनुमानद्वारा प्रतिवादीलाई दोषी ठहर गर्दा प्रमाण ऐन २०३१ को दफा ६ बमोजिम गरिने अनुमानमा पनि न्यायकर्ताको दृष्टि पुग्न जरूरी हुन्छ ।
१९. प्रस्तुत मुद्दा दायर हुँदाको समयमा भरतप्रसाद घिमिरेको परिवारमा ७ जना दाजुभाइ एवं बुवा आमा २ जना गरी ९ अंशियार रहेको र निजहरू एकासगोलमा रही संयुक्त पारिवारिक सदस्यको रूपमा विभिन्न उद्योग व्यवसाय सञ्चालन गरी आएको व्यहोरा निजहरूको बयानबाट पुष्टि भइरहेको अवस्थामा मनोगत आधारमा भरतप्रसाद घिमिरेको पारिवारिक सदस्यहरूका बिचमा अंशबन्डा भइसकेको भन्ने त्रुटिपूर्ण निष्कर्षका आधारमा आरोपपत्र मागदाबीबमोजिम विशेष अदालत, काठमाडौंबाट सजाय गरेको मिलेको नहुँदा उल्टी गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिरतर्फ पनि हेर्नुपर्ने
देखियो ।
२०. प्रतिवादी भरतप्रसाद घिमिरे एकासगोलमा रही संयुक्त पारिवारिक सदस्यको रूपमा विभिन्न उद्योग व्यवसाय सञ्चालन गरी आएको व्यहोरा निजहरूको बयान व्यहोराबाट खुल्न आएको देखिन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतप्रसाद घिमिरेको परिवारका सदस्यहरूको बिचमा अंशबन्डा भैसकेको भन्ने आरोपपत्र मागदाबी लिएको देखिए पनि प्रतिवादी भरतप्रसाद घिमिरे एकासगोलकै अंशियार हुन् भन्ने तथ्य प्रतिवादी भरतप्रसाद घिमिरे एवं रमादेवी घिमिरेको बयान एवं अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट बुझिएका भाइ, भाइ बुहारी, तथा पितासमेतका परिवारका अन्य सदस्यहरूको बयान एवं विशेष अदालत, काठमाडौंबाट मुद्दाको पुर्पक्षको क्रममा बुझिएको एवं प्रतिवादी कायम गरिएका भाइ एवं पितासमेतका सगोलका परिवारका अन्य सदस्यहरूको भनाइबाट देखिन आएको छ ।
२१. त्यसैगरी प्रतिवादी भरतप्रसाद घिमिरेको परिवारको ९ सदस्यहरूबिच अंशबन्डा नभई एकासगोलमा रहेको व्यहोरा वादी गणेशप्रसाद घिमिरे विरूद्द चतुर्भुज घिमिरेसमेत ८ जना भएको संवत् २०६१/०६२ सालको दे.मि.नं. २६०२ नं. को अंशचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट भएको मिति २०६२/०२/२० गतेको फैसला एवं संवत् २०६३ सालको दे.पु.नं. १६७१/३१४९ नि.नं. १६२ को अंश मुद्दामा पुनरावेदन अदालत, पाटनबाट भएको अन्तिम फैसला हेर्दा यसमा पुनरावेदक वादी र प्रतिवादीबिच नाता अंशियारमा विवाद नभएको र बन्डा भइसकेको भन्ने सबुद प्रमाणसमेत नभएको अवस्थामा अंशियार कायम गरी ९ भागको १ भाग पुनरावेदक वादीले अंश भाग पाउने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६२/०२/२०/६ को फैसला सो हदसम्म मिलेको हुँदा सदर हुने ठहर्छ । जहाँसम्म फैसलाको ठहर खण्ड र तपसिल खण्डमा समेत अंशियारमध्येको भरतप्रसाद घिमिरे र निजको श्रीमती रमा घिमिरेउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हुँदा सो मुद्दामा अन्तिम किनारा भएपछि पुनरावेदक वादीले फैसलाबमोजिम बन्डा छुट्याई लिन पाउने व्यहोरा उल्लेख भएको देखिन्छ ।
२२. मुलुकी ऐन, रजिस्ट्रेसनको महलको १ नं. बमोजिम अंशबन्डाको लिखत अनिवार्य रजिस्ट्रेसन गराउनुपर्छ । प्रतिवादीको परिवारको सदस्यहरूबिच अंशबन्डा भई लिखत रजिस्ट्रेसन पारित भएको छैन । भएको व्यहोरा आरोपपत्र एवं विशेष अदालत, काठमाडौंको फैसलामा उल्लेख हुन सकेको पनि छैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा एकाघरसँगका अंशियारहरू मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था रहेको छ । त्यसैगरी अंशबन्डाको महलको १८ नं. मा सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सबै अंशियारको भाग लाग्ने व्यवस्था रहेकोमा विशेष अदालत, काठमाडौंबाट उल्लिखित कानूनी व्यवस्था एवं अंश मुद्दामा भएको फैसलासमेतको विपरीत हुने गरी प्रतिवादी भरतप्रसाद घिमिरेको सगोलको ९ अंशियार सदस्यहरूबिच बन्डा लाग्ने सम्पत्तिको स्रोतसमेत निज प्रतिवादी एकजनाले मात्र पुष्टि गर्नुपर्ने गरी भएको फैसला त्रुटिपूर्ण रहेको देखिन्छ । खासगरी मुद्दा दर्ता रहँदाको समयमा प्रतिवादी भरतप्रसाद घिमिरेको ७ जना दाजुभाइ एवं बुबा आमासमेतका ९ अंशियार सदस्यरूबिच अंशबन्डा नभएको व्यहोरा स्पष्ट भएको र क्षेत्राधिकार सम्पन्न पुनरावेदन अदालत, पाटनबाट भएको उल्लिखित अन्तिम फैसलाविपरीत हुने गरी विशेष अदालत, काठमाडौंबाट फैसला भएको देखिन्छ ।
२३. प्रतिवादी भरतप्रसाद घिमिरेका नाममा आफ्नो सगोलको परिवारबाट छुट्टिई भिन्न भई नसकेको र सगोलका ९ जना अंशियारहरूको समान अंश हक लाग्छ भन्ने कुरा काठमाडौं जिल्ला अदालतको अंश मुद्दाको फैसला तथा प्रतिवादी भरतप्रसाद घिमिरेले अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा विशेष अदालत, काठमाडौंमा गरेको बयान व्यहोरा तथा बुझिएका निजका परिवारका सदस्यहरू समेतको भनाइबाट पुष्टि हुन आएकोले सगोलको परिवारको नाममा रहेको श्रीसम्पत्तिमा सबै अंशियारहरूको समान हक प्राप्त हुने देखिन्छ । त्यसै गरी प्रतिवादी भरतप्रसाद घिमिरेको घरबाट बरामद भएको नगद रूपैयाँ भारतीय रूपैयाँ र अमेरिकन डलर गरी २०,७६,३६०/- प्रतिवादी भरतप्रसाद घिमिरेका घरबाट बरामद भएको भारतीय रूपैयाँ, नेपाली रूपैयाँ तथा US डलरसमेत प्रतिवादीका अर्का भाइ नारायणप्रसाद घिमिरे र प्रकाश घिमिरेको हो भन्ने प्रतिवादीको अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा विशेष अदालतसमक्ष भएको बयान व्यहोरा तथा निज प्रकाश घिमिरे तथा भाइ नारायणप्रसाद घिमिरेको भनाइबाट पुष्टि हुन आएको देखिन्छ । त्यसै गरी कृष्ण पस्मिना आर्टसको नाममा कृष्ण कुँवरको खातामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा रोक्का रहेको रकम कृष्ण कुँवरको भएको भन्ने र प्रतिवादी भरतप्रसाद घिमिरको अनुसन्धानको क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा विशेष अदालतसमक्ष भएको बयान व्यहोराबाट पुष्टि हुन आयो । प्रतिवादी भरतप्रसाद घिमिरेलाई लागेको प्रस्तुत मुद्दामा प्रतिवादी भरतप्रसाद घिमिरेको घरबाट बरामद भएको नेपाली रूपैयाँ भारतीय रूपैयाँ तथा US डलर अन्य व्यक्तिको रकम रहेको र जुन रकम विभिन्न सिलसिलामा प्रतिवादी भरतप्रसाद घिमिरे तथा निजको श्रीमतीलाई राख्न दिएको पुष्टि भएकोले उक्त बरामदित रकमसमेत प्रतिवादी भरतप्रसाद घिमिरेको कायम गरी सजाय गर्ने आधार देखिन
आएन । अभियोजन पक्षले परिवारका अन्य सदस्यका नाममा रहेको सम्पत्तिसमेत निज भरतप्रसाद घिमिरेकै मानी गैरकानूनी आर्जनको भन्ने उल्लेख गरी आरोप पत्र पेस गरेको भएपनि प्रतिवादी निजकी श्रीमतीबाहेक घर परिवारका अन्य सदस्यहरूलाई अभियोजन गर्न सक्नुपर्ने हुन्छ । अन्यथा एकासगोलका परिवारले आ-आफ्नो व्यवसायबाट कमाएको रकम घरमा राखेकै कारणले एकजना प्रतिवादी मात्र दोषी हुन् भनी हेर्न मिल्दैन । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान र सो बयानको मिलानमा मुद्दामा बुझिएका व्यक्तिहरूले गरेको बयान बकपत्रलाई प्रमाणमा नलिनु पर्ने कुनै आधार देखिँदैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को कानूनी व्यवस्थाले अप्रत्यक्ष र परिस्थितिजन्य प्रमाणबाट पनि अभियोग सिद्ध गर्न सकिन्छ । तर जहाँ प्रत्यक्ष प्रतिवादीका एकासगोल परिवारको आर्जन व्यवसाय कारोबार गरेका र कर तिरेका प्रत्यक्ष प्रमाण छन् त्यसलाई उपेक्षा गरेर प्रतिवादीका उपर सजाय गर्नु भनेको प्रत्यक्षदर्शी प्रमाणसम्बन्धी व्यवस्थाको नै उपहास हुन जाने देखिन्छ । कसैले कुनै कुरा डायरीमा लेखिएको आत्मपरक भाषालाई सोही डायरीकै आधारमा प्रतिवादीको हो भनी कायम गर्दै जाने हो भने त्यस्ता घरसारमा हुने आत्मपरक दायरीलाई प्रमाणको रूपमा स्वीकार गर्दै हुँदै नभएको विषयको दायित्व बहन गर्नु पर्ने जस्तो अवस्था उत्पन्न हुन जाने देखिन्छ । जो प्रमाण कानूनको प्रतिकूल हुनुका साथै वस्तुनिष्ठ प्रमाणप्रति उपेक्षा भई अदालतले अबलम्बन गर्ने न्यायिक परिपाटीसमेत विचलन हुन जाने अवस्था आउँछ । यसै सन्दर्भमा वादी नेपाल सरकार प्रतिवादी गणेश अर्यालसमेत भएको भ्रष्टाचार मुद्दामा “...............खाताबाट झिकिएको रकम अर्थात् खातामा बाँकी नै नरहेको रकमको स्रोत पुष्टि गर्नुपर्ने अवस्था रहँदैन । खाता खोली बैंकिड कारोबार गर्नु स्वाभाविकरूपमा भइरहने कुरा हो । त्यो सञ्चय वा सुरक्षा वा जुनसुकै कारणले खातामा जम्मा गरी कारोबार गरिदिएको हुन सक्छ । खाताबाट झिकिएको रकमहरू आफ्नो फौजदारी दायित्वबाट बच्ने उद्देश्यले कतै लुकाएको भन्ने हो भने त्यो तथ्यगत हिसाबले नै पुष्टि गर्नुपर्ने हुन्छ । खाताबाट रकम झिकिनु नै रकम लुकाएको अनुमानको आधार बन्न सक्दैन । यस्ता प्रश्नहरूमा अपराध अनुसन्धानको पक्ष सतही नबनी गम्भीर र क्षमतावान् हुनु जरूरी छ । यथार्थमा कुनै राष्ट्रसेवकले अमूक सम्पत्ति कति आर्जन गर्यो भन्ने प्रयोजनको लागि तत्काल कति उसको साथमा वा नियन्त्रणमा छ भन्ने आधारमा मूल्याङ्कन गरिने हो न कि कति थियो वा हुन सक्थ्यो होला भनी अनुमान गर्ने हो । भन्ने सिद्धान्तसमेत स्थापित भएको पाइन्छ । उक्त नजिर सिद्धान्त र प्रस्तुत मुद्दाको तथ्यगत अवस्था एउटै देखिन आएकोले पहिला नै फिर्ता पाइसकेको, अस्तित्वमा नै नरहेको २५ लाख रकमलाई बिगोमा समावेश गर्न मिल्दैन । त्यसैगरी अन्य व्यक्तिहरूको बाँकी रकम २५ लाख साँवा र १ लाख ५० हजार ब्याजसमेत गरी जम्मा २६ लाख ५० हजारको हकमा प्रतिवादी भरतप्रसाद घिमिरेमार्फत भई कृष्ण कुँवरलाई ब्याजमा लगानी गरिदिएको भए पनि उक्त रकम भरतप्रसाद घिमिरेको नभएको एवं हाल पनि उक्त रकम कृष्ण कुँवरको बैंक खातामा रोक्का रहेकोले उक्त रकमसमेत प्रतिवादी भरतप्रसाद घिमिरेको मानी बिगोमा समावेश गर्न नमिल्ने देखिँदा उक्त रकमसमेत कृष्ण कुँवरले नै फिर्ता पाउनु पर्ने देखिन्छ ।
२४. यसरी माथि उल्लिखित विश्लेषण र वादी नेपाल सरकारले लिएको जग्गा खरिदतर्फको ७०९२२८।– र घर निर्माण तर्फको २१७१९०२/०२ को रकमको सम्बन्धमा यिनै प्रतिवादीले आफ्नो सम्पत्तिको स्रोतसमेत खुल्ने गरी तराईतर्फको घरजग्गा बिक्री गरी ल्याएको रू. ३ लाख १० हजारसमेतको स्रोतलाई अन्यथा गर्न सक्ने देखिएन । सोही स्रोतका आधारमा बढे बढाएको र प्रतिवादीका एकासगोलका भाइहरूले आफ्नो व्यवसायबाट आर्जन गरी कमाएको आम्दानीबाटै घर निर्माण र जग्गा खरिद गरेको देखिएकोले घर निर्माणतर्फ केहीमा विशेष अदालतले छुट दिई केहीमा ठहर गरेको हदसम्मको फैसलालाई मुनासिब भन्न मिलेन ।
२५. त्यसरी नै प्रतिवादीको घरबाट बरामद भएको नगद, सुन, घडीतर्फ पनि माथि विश्लेषण गरिएका आधार र कारणहरूबाट ती सबै नगद र घडीहरू प्रतिवादीको कायम हुन नसक्ने भई प्रतिवादीकै भाइहरूको हो भनी निजले लिएको जिकिरलाई अन्यथा गर्न सकिएन । सम्पत्तिको स्रोत खुलाउने दायित्व प्रतिवादीमा जाने भ्रष्टाचार ऐन, २०५९ को दफा २० को व्यवस्था र प्रतिवादीले लिएको जिकिरहरू कस्ता छन् भनी हेर्नु पनि वाञ्छनीय हुन्छ ।
२६. प्रतिवादीले लिएका जिकिरहरूलाई अन्यथा गर्ने वादी पक्षबाट ठोस तथ्ययुक्त प्रमाणहरू सङ्कलित नभएको अवस्थामा प्रतिवादीको जिकिरलाई बेमुनासिब भन्न मिल्दैन । सेयरतर्फको रू.५००।– र बैंक मौज्दाततर्फ रू.२४२७।६२ लाई समेत विशेष अदालतको गैरकानूनी आर्जन मानेको देखिन्छ । त्यति सामान्य न्यून रकम सामान्य हिसाबले जो कसैसँग रहन सक्ने प्रकृतिको देखिँदा त्यस्तो न्यून रकमको सेयर तथा नगद रकमलाई समेत गैरकानूनी आर्जन मान्नु स्वाभाविक मान्न सकिँदैन तसर्थ त्यसतर्फ समेतको वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिँदैन ।
२७. मोटरसाइकलतर्फ स्रोत नखुलेको भन्नेतर्फ विचार गर्दा प्रतिवादीका भाइहरूको कारोबार हेर्दा भ्याली पम्प सर्भिस, इम्पोरियम चलाउने Export तथा Import को कारोबार गर्ने सोको करसमेत विधिवत् बुझाउँदै आएको अवस्था देखिँदा अघि नै खरिद भएको मोटरसाकइकलको डिप्रसेसनसमेत नकटाई दाबी लिएको मिलेको देखिएन । सगोलमा रहँदा प्रतिवादीका भाइहरूले समेत प्रयोग गरेको मोटरसाइकललाई प्रतिवादीको एकलौटी कायम गरी सजाय गर्न सकिने नदेखिँदा त्यसतर्फ समेत सुरू विशेष अदालतको फैसलालाई मुनासिब मान्न मिलेन ।
२८. त्यस्तै VDS तर्फको ५०,०००।- (पचास हजार) लाई स्रोत नखुलेको सम्पत्ति भनी वादी पक्षले दाबी लिएको देखिन्छ । माथि उल्लिखित प्रतिवादीका भाइहरूले गरेको कारोबार आर्जन गरेको सम्पत्ति जो अप्रकटरूपमा हिसाब किताब राखी सरकारलाई बुझाउनु पर्ने करभन्दा पनि बढी आर्जन भएबापत सरकारलाई नै बुझाएको करलाई अन्यथा गर्न सक्ने देखिएन । जहाँ खर्च भइसकेको छ खर्चलाई समेत आम्दानी मानी प्रतिवादीको साथमा नरहेको सम्पत्तिमा समेत लिएको दाबी माथि उल्लिखित गणेश अर्यालको मुद्दामा प्रतिपादित कानूनी सिद्धान्तसमेतले वादी दाबी न्याय सङ्गत नदेखिँदा त्यसतर्फ समेत सफाइ पाउने ठहर्छ ।
२९. लगानीतर्फको ५१,५०,०००।- तर्फको हकमा फैसलाको ठहर खण्डको विभिन्न प्रकरणमा विवेचना भएको र कृष्णबहादुर कुँवरका नाउँमा रहेको बैंक खाताको दायित्व प्रतिवादीमा जानसक्ने वस्तुनिष्ठ आधार र प्रमाण नदेखिएको निज कृष्णबहादुर र प्रतिवादीका बिचमा नाता सम्बन्ध नभई निजका नाउँमा सम्पत्ति राखी लुकाएको भन्नेतर्फ निजलाई प्रतिवादी नै नबनाएको अवस्थामा सो सम्पत्ति नै कृष्णबहादुर कुँवरको हुने गरी विवेचना भएकोले त्यसतर्फ समेतको वादी दाबी मनासिब देखिन आएन ।
३०. तसर्थ माथि उल्लेख गरिएको आधार कारण र प्रमाणबाट प्रतिवादी भरतप्रसाद घिमिरे आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । प्रतिवादीहरूको एकमुष्ठ आय र व्यय गणना भएको, सम्पत्तिको खरिद मूल्य नभई हालको मूल्य कायम गरेको, आय सँगसँगै खर्च रकम नहेरेको, घरको निर्माण लागत कम गरेको, फर्निचरको मूल्याङ्कन आधा गरेको, दशैं खर्च बचत हुने उल्लेख भएको, घर भाडा पुरै प्राप्त भएको उल्लेख गरी मान्यता दिएको, कमिसन, सञ्चय कोष सापटी, तलबी बिदा आदिको आधिकारिकता पुष्टि नगरी बैध आय मानेको, स्रोत नखुलेको जग्गाको आयलाई बैध मानी भएको फैसलामा बिगो कम कायम गरी सजाय ठहर गरेको हदसम्म सुरू विशेष अदालत, काठमाडौंको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीहरूलाई आरोपपत्र मागदाबीबमोजिम साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम भ्रष्टाचारको कसुर ठहर गरी सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । विशेष अदालत, काठमाडौंको मिति २०६७/९/१ को फैसला उल्टी भई प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ । सो ठहरेकोले अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी भरतप्रसाद घिमिरेले आरोपित कसुरबाट सफाइ पाउने ठहरेकाले सुरू विशेष अदालतको मिति २०६७/१/८ को फैसलाबमोजिम निज प्रतिवादीलाई लागेको कैद वर्ष १ तथा रू ७६,४६,८९६/०८ बराबर जरिवाना गर्ने गरी रहेको लगत कट्टा गरिदिनु भनी लेखी
पठाइदिनू .....................................................१
पुनरावेदक प्रतिवादी भरतप्रसाद घिमिरेउपरको अभियोग दाबी पुग्न नसकी निजले आरोपित कसुरबाट सफाइ पाउने ठहरेकाले बरामद भएको रोक्का रहेको एवं प्रतिवादीको तर्फबाट धरौटी प्रस्तुत मुद्दाको कारवाहीको क्रममा राखेको सम्पत्ति एवं जेथा फिर्ता वा फुकुवा गरिपाउँ भनी कानूनका म्यादभित्र निज प्रतिवादीको दरखास्त परे नियमानुसार फिर्ता र फुकुवा गर्न सम्बन्धित कार्यालयमा लेखि पठाउनु भनी श्री विशेष अदालत, काठमाडौंमा लेखि पठाइदिनू .........२
प्रतिवादी भरतप्रसाद घिमिरेको घरबाट बरामद भएको मिति २०५९।५।१ को बरामदी मुचुल्कामा उल्लेख भएको ५ टेल उल्लेख भएको १५ तोलाको सुनको टुक्रा १, १० तोलाको सुनको बिस्कुट १ तथा अर्को २ तोलाको सुनको टुक्रा १ समेत गरी जम्मा ३४१.३०० ग्राम सुन बरामद भई विशेष अदालतको धरौटी खातामा आम्दानी बाँधेको देखिन आएको देखिँदा उक्त बरामद भएको सुनमध्ये १० तोलाको सुनको बिस्कुट प्रतिवादीसँग एउटै घरमा बस्ने भाइ प्रकाश घिमिरेले र ५ टेल उल्लेख भएको १५ तोलाको सुनको टुक्रा प्रतिवादीका भाइ नारायण घिमिरेले कानूनबमोजिम फिर्ता माग्न आए कानूनको रित पुर्याई फिर्ता दिनू भनी लेखि पठाइदिनू ..............................................३
प्रतिवादी भरतप्रसाद घिमिरेले आरोपित कसुरबाट सफाइ पाउने ठहरेकाले रू. ३१,९००।– मूल्य पर्ने १४ थान घडीहरू विशेष अदालत, काठमाडौंमा जिन्सी खातामा आम्दानी बाँधेको देखिँदा सो घडी प्रतिवादी भरतप्रसाद घिमिरेका एकासगोलका भाइ गणेश घिमिरेले फिर्ता माग्न आए कानूनको रित पुर्याई फिर्ता दिनू ....................................................४
प्रतिवादी भरतप्रसाद घिमिरेले अभियोग मागदाबीबाट सफाइ पाउने ठहरेकाले निजको घरबाट बरामद भएको मिति २०५९।५।१ को बरामदी मुचुल्कामा उल्लिखित भारतीय रूपैयाँ ८२,८१०।– US डलर ८३८।– र ने. रू. १८३२२५०।– विशेष अदालत, काठमाडौंमा धरौटीमा आम्दानी बाँधेको देखिँदा र प्रतिवादीका भाइ नारायणप्रसाद घिमिरेको तर्फबाट र भा.रू. ८२८१०।– प्रतिवादीका भाइ प्रकाश घिमिरेका तर्फबाट फिर्ता माग्न आए कानूनको रित पुर्याई फिर्ता दिनू भनी लेखी पठाइदिनू .....................................................५
विशेष अदालत, काठमाडौंको पत्रले कृष्ण पस्मिना आर्टसको नाममा नेपाल बैंक अफ सिलोनको खाता नं. ५०६ मा रोक्का रहेको रू.२६,५०,०००।– रकम कृष्ण पस्मिना आर्टसका कृष्ण कुँवरको ठहरेकाले उक्त रकम रोक्का रहेको भए निजले फुकुवा गरिदिनु भनी निवेदन दिएका बखत फुकुवा गरिदिनू भनी लेखी पठाइदिनू .....................................................७
रमादेवी घिमिरेको नामको का.जि.का.म.न.पा. वडा नं. १० को कि.नं. २३० र २३५ को जग्गा र सो जग्गामा बनेको घरसमेत रोक्का रहेको देखिँदा फुकुवा गरिदिनु भनी लेखी पठाइदिनू .......................................८
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ............................९
उक्त रायमा सहमत छु ।
न्या.दीपकराज जोशी
इजलास अधिकृत : रामप्रसाद बस्याल
इति संवत् २०७२ साल असार १३ गते रोज १ शुभम् ।