निर्णय नं. ९५४६ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
फैसला मिति : २०७२।७।३०।२
मुद्दा : कर्तव्य ज्यान
०६७-CR-१३१८
पुनरावेदक / वादी : सोमप्रसाद डोटेलको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : नुवाकोट जिल्ला, विदुर न.पा.वडा नं.१ वस्ने रत्नमाया थपलियासमेत
०६८-CR-००२२
पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला विदुर न.पा. वडा नं. १ घर भई हाल कारागार कार्यालय नुवाकोटमा थुनामा रहेको बलराम भन्ने हरिप्रसाद थपलिया
विरूद्ध
प्रत्यर्थी / वादी : सोमप्रसाद डोटेलको जाहेरीले नेपाल सरकार
प्रतिवादी रत्नमाया थपलियाले मृतक दुर्गा थपलियाको लासलाई दबाउने र अपराधबाट छोरा हरिप्रसादलाई बचाउने उद्देश्यले मृतक दुर्गा थपलिया आफैँ झुन्डिई मरेकी भन्ने देखाउन लास झुन्डाउने कार्यमा सम्म सहयोग गरेको देखिन्छ । मृतक दुर्गा थपलियाको मृत लासलाई झुन्डाउने कार्यमा सम्म यी प्रतिवादी रत्नमायाले प्रतिवादी हरिप्रसादलाई सहयोग गरेको देखिन आएकोले निजको उक्त कार्य ज्यानसम्बन्धीको महलको २२, २३ र २४ नं. मा उल्लिखित कसुर देखिन आई ऐ.को २५ नं. अनुसार निजलाई रू.२०।- जरिवाना हुने ।
(प्रकरण नं.५)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता हरिबहादुर कार्की तथा वैतनिक कानून व्यवसायी अधिवक्ता किरणकुमारी गुप्ता
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्नेः
मा.जि.न्या. श्री मोहनकृष्ण खनाल
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
फैसला
न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६७।५।१५ को फैसलाउपर वादी तथा प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
मेरी छोरी दुर्गा र बलराम भन्ने हरिप्रसाद थपलियाको २०६१ सालमा सामाजिक परम्पराअनुसार विवाह भई एक नातिको जायजन्म भई घरव्यवहार सञ्चालन गर्ने क्रममा मेरो छोरीलाई निजको सासू रत्नमाया थपलियासमेतले विभिन्न यातना दिँदै आएकोमा प्रहरीमा समेत उजुरी गरेकी र मिति २०६४।४।३२ गते राति निज छोरीको घरमा नै मृत्यु भएको छ भन्ने थाहा पाई गई हेर्दा छोरीको मृत्यु कर्तव्यबाट भएको देखिएको । आफैँ आत्महत्या गर्नुपर्ने कुनै कारणसमेत नभएको । छोरीको घाँटीमा डोरीको पासो लागेको, छोरीको शरीरको यत्रतत्र भागमा निलडामसमेत देखिएको कारण निज छोरीलाई निजकै श्रीमान् बलराम भन्ने हरिप्रसाद थपलिया र सासू रत्नमाया थपलियासमेतले नै कर्तव्य गरी मारी अपराध ढाकछोप गर्न झुन्डाएको हुँदा आवश्यक कारवाही गरिपाउँ भन्ने सोमप्रसाद डोटेलको जाहेरी दरखास्त ।
निज बलराम थपलियाको मूलढोका ढक्याएको अवस्थामा बन्द गरेको हुँदा ढोका खोली हेर्दा मकैको घोगा तथा खोयाहरू छरपस्ट अवस्थामा देखिएको, भात तथा तरकारी छोपी राखेका अवस्थामा भई भात १।२ पन्यू मात्र निकालेको अवस्थामा देखिएको, सो घरको माथिल्लो तलामा गई हेर्दा खोस्टासहितका मकैहरू छरबर अवस्थामा देखिएको, बार्दलीतर्फ गई हेर्दा बार्दलीको छानाको बलोमा बरियोसहितको नाम्लो बाँधी घाँटीमा कसिएको अवस्थामा घुँडासमेत टेकेर झुन्डिएको अवस्थामा मृतक लास रहेको, मृतकको कम्मरअगाडिको भाग तथा तिध्राको भाग प्लाइउडमा अडेस लागेको मृतकको खुट्टा तथा टाउकोमा निलडामहरू भएको भन्ने घटनास्थल लास जाँच प्रकृति मुचुल्का ।
मृतको बायाँपट्टि कन्चटमा चोट देखिएको सोही चोटको कारण मृत्यु भएको हुन सक्ने भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।
मिति २०६४।४।३२ गतेका दिन मेरो श्रीमती मेला पर्ममा गई साँझ ७ बजेतिर फर्की आएपछि एकछिन मकै छोडाई गरी खाना खाउँलाभन्दा निज श्रीमतीले अटेर गरी नमानेपछि हामीबिच खोयाले हानाहान हुँदा श्रीमती ममाथि जाई लागेकी हुँदा आमाले समेत तिमीहरूको के चाल हो भनी कराउँदा श्रीमती ममाथि नै आइलागेपछि मैले कुटपिट गरी धकेलिदिँदा निज घरको बरन्डामा जाने ढोकाको चौकोसमा ठोक्किन पुगी लडिन् र निज लडेपछि पनि मैले निजलाई हातपात गर्दा निज चुपचाप केही नगरी लडि बसे पछि हेर्दा निज मरिसकेको जस्तो लागी अब पर्ने भइयो के गर्ने भनी आमासँग सल्लाह गर्दासमेत आफैँ झुन्डी मरेको भन्ने देखाउने भन्नुभएको हुँदा म तथा आमासमेत भई झुन्डाई दिएको हौं भन्नेसमेत व्यहोराको प्र.वलराम भन्ने हरिप्रसाद थपलियाले प्रहरीमा गरेको बयान ।
मैले छोराबुहारीको झगडा भई कुटपिट हुँदा बुहारी भुइँमा ढलेकीले अब यसलाई झुन्डी मरेको भनी देखाउनु पर्छ भनेपछि घरको बार्दलीमा लगी झुन्डाइदिने काममा सहयोग गरेको हुँ भनी प्र.रत्नमाया थपलियाले प्रहरीमा गरेको बयान ।
मिति २०६४।५।१ गते बिहान उज्यालो भएपछि घरबाहिर निस्की हेर्दा निजको घरमा बत्ती बलिरहेको र ढोकासमेत ढप्किरहेका अवस्थामा देखी मैले वरपर छिमेक घरमा भन्दा के भएछ हेरौँ भनेपछि हेर्दा निज दुर्गा थपलिया घुँडा टेकेको अवस्थामा झुन्डिएको मृत अवस्थामा देखियो । बलराम भन्ने हरिप्रसाद थपलिया र निजको श्रीमतीबिच यसभन्दा पहिले पनि पटकपटक वादविवाद झैझगडा भई प्रहरीमा समेत मिलापत्र भएको थियो । मृत लासको प्रकृति हेर्दा आफैँ मरेको हुन सक्ने अवस्थामा नदेखिको हुँदा निजलाई निजकै श्रीमान्समेत भई कर्तव्य गरी मारी घटना ढाकछोप गर्न मसमेतलाई भ्रममा पारी आमा बिरामी भइन् भन्ने बहाना बनाई राति नै अस्पताल गएको रहेछन् भन्नेसमेत व्यहोराको शंकर थपलिया, विष्णुप्रसाद थपलिया, गोमा थपलिया, हिमप्रसाद भट्टसमेतको मानिसहरूको घटना विवरण कागज ।
निज दुर्गा थपलियाको मृत्यु निजकै श्रीमान् बलराम भन्ने हरिप्रसाद थपलिया, सासू रत्नमायाको कर्तव्यबाटै भएको हुनुपर्छ भन्ने वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीहरूले दिनभरि काम गरी आएकी निज दुर्गालाई खाना खानु अगाबै मकै नङ्ग्याउने छोडाउने आदेश दिँदा निजले आफू थाकेको कारणबाट इन्कार गरेपछि त्यसको निहुँमा निज दुर्गा थपलियासँग झगडा गरी निजलाई प्रतिवादी हरिप्रसाद थपलिया र प्र.रत्नमाया थपलियासमेत भई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत कर्तव्य गरी मारी ऐ. महलको १३(३) नं. बमोजिम कसुर अपराध गरेको देखिँदा सो कसुरमा निज प्रतिवादीहरूलाई सोही महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोगपत्र मागदाबी ।
मेरो र श्रीमती बिच बेलाबेलामा झगडा चाहिँ भइरहन्थ्यो । एकपटक मेरो श्रीमतीले प्रहरीमा उजुर गरी मलाई उपस्थित गराएर मिलापत्र गरी घर गई बसेको हो । त्यही कारणले माइती पक्षबाट जाहेरी दिएका हुन् । उनी आफैँ झुन्डी मरेकी हुन् । मैले मारेको होइन भनी प्रतिवादी बलराम भन्ने हरिप्रसाद थपलियाले अदालतसमक्ष गरेको बयान ।
मृतक बुहारी र छोराबिच बेलाबेलामा झैझगडा भइरहन्थ्यो । मिति २०६४।४।३२ गतेका दिन निज बुहारी गाउँको मेलापात गरी साँझ घरमा आउँदा मैले खाना पकाइराखेको थिएँ । तिमीहरूले पकाएको खाना खान्न भनेपछि बुहारी बाहिर काठको बार्दलीमा बसेकी थिई । छोराले बार्दलीबाट तानी ल्यायो र त्यसपछि राँडीले पकाएको खान्न भनी मकैको घोगाले
हिर्कायो । त्यसपछि छोराले ढोकाको चौकोसतर्फ धकेली दिई चौकोसमा ठोकिएकी हुन् । मैले बुहारीलाई मारेको होइन मार्नुपर्ने कारण पनि छैन चौकोसमा ठोकिई चोटपटक निलडाम लागेको हो भनी प्र.रत्नमाया थपलियाले अदालतसमक्ष गरेको बयान ।
निज दुर्गा र प्रतिवादीहरू बिच समयसमयमा झगडा भइरहने र कुटपिटसमेत हुने गरेको हुँदा मृतक दुर्गा थपलियाले आफैँ आत्महत्या नगरी प्रतिवादीहरू हरिप्रसाद थपलिया र रत्नमाया थपलिया भई कर्तव्य गरी मारी झुन्ड्याएको हुनुपर्छ भनी बुझिएका मानिसहरू गोमा थपलिया, गोपाल थपलिया, श्याम थपलिया, हरि थपलिया, शंकर थपलिया, विष्णुप्रसाद थपलिया, हिमप्रसाद भट्ट, श्यामराज पाण्डे, जाहेरवाला सोमप्रसाद डोटेलसमेतका मानिसहरूले अदालतमा आई गरेको बकपत्र ।
मृतकलाई प्रतिवादी हरिप्रसादले कुटपिट गरी मारी मरिसकेपछि झुन्डाउने कार्यसमेत गरेको हुँदा निजले अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम कसुर गरेको ठहर्छ । अर्की प्रतिवादी रत्नमायाको हकमा हेर्दा निजको मृतकलाई मार्ने मनसाय रहे भएको नदेखिएको, मृतकको मृत्युपश्चात् मृतक झुन्डी मरेको देखाउन झुन्डाउने कार्यमा सहयोग गरी ज्यान मारेको कार्य दबाउने भगाउने कार्य गरेको निजले ज्यानसम्बन्धीको महलको २२ नं.अनुसारको कसुर गरेको ठहर्छ । एकाघरमा मानो नछुट्टी सँग बसेको जाहानले दबाए भगाएको ज्यानसम्बन्धीको महलको २४ नं.बमोजिम प्रतिवादीलाई सजाय नहुने हुँदा निजलाई खतबात लाग्दैन । निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत मिति २०६६।२।१४ मा सुरू नुवाकोट जिल्ला अदालतबाट भएको फैसला ।
बुझ्नुपर्ने कुरालाई नबुझी हेर्नु जाँच्नु पर्ने प्रमाणको यथोचित परीक्षण नगराई घटनावलीको परिवेश र अभियुक्तको अवस्थाको समग्र विश्लेषण र विवेचना नगरी न्यायिक मनको प्रयोग गरी सन्तुलित र स्वच्छरूपमा मुद्दाको समीक्षा नगरी अभियोग पत्रलाई मात्र समर्थन गर्दै प्रत्यक्षदर्शीको अभावमा सर्वस्वसहित जन्मकैद गर्ने ठहर गरी सुरू नुवाकोट जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी पुनरावेदन जिकिरबमोजिम इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी हरिप्रसाद थपलियाको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
मिसिल प्रमाणबाट प्रतिवादी रत्नमायासँग पनि मृतकको बारम्बार झैझगडा हुने गरेको र यसै कारण गाउँ समाज एवं प्रहरीसमेतमा पटकपटक मिलापत्र भएको र जुन दिन घटना भयो सो दिनसमेत मृतक र प्रतिवादी रत्नमाया बिच झगडा भई मृतकलाई कुटपिट गरेको भन्ने तथ्य लास जाँच मुचुल्का, पोस्टमार्टम रिपोटसमेतबाट देखिएको र मिसिल संलग्न रहेका सम्पूर्ण प्रमाणहरूबाट मृतक दुर्गा थपलियालाई कर्तव्य गरी मार्ने कार्यमा यी प्रतिवादी रत्नमायाको समेत प्रत्यक्षरूपमा संलग्नता रहे भएको पुष्टि भइरहेको अवस्थामा आत्मनिष्ठ आधारमा निज प्रतिवादी रत्नमायालाई सफाइ दिने हदसम्मको सुरूको फैसला मिसिल संलग्न प्रमाणका रोहमा त्रुटिपूर्ण भई बदर भागी भएकोले सो फैसला बदर गरी प्रतिवादी रत्नमायालाई पनि अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा प्रतिवादी रत्नमाया थपलियाले अधिकारप्राप्त अधिकारीसमक्ष झगडाको सूत्रधार आफू भएकोमा र लास झुन्डाउन सहयोग गरेकोमा साबित भई बयान दिइरहेको परिप्रेक्ष्य र वारदातको प्रकृतिसमेतबाट विचार गर्दा निजलाई सफाइ दिएको सुरू फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६७।३।१ मा पुनरावेदन अदालतबाट भएको आदेश ।
यसमा प्रतिवादी हरिप्रसाद थपलियाले आफ्नी पत्नी नाताकी दुर्गालाई मार्नुपर्नेसम्मको पूर्ण रिसइवी नदेखिएको र तत्काल उठेको रिस थाम्न नसकी धक्का दिँदा ढोकाको चौकसमा ठोकिन गई टाउकोमा चोट लाग्न गएको कारणबाट मृत्यु भएको देखिँदा प्रतिवादी हरिप्रसाद थपलियालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं.अनुसार १०(दश) वर्ष कैदको सजाय हुने ठहर्छ । अर्की प्रतिवादी रत्नमाया थपलियाको ज्यान मार्ने कार्यमा संलग्नता रहेको नदेखिई बुहारी दुर्गाको मृत्यु भैसकेपछि आत्महत्या गरी मरेको प्रतित पार्ने उद्देश्यले लास झुन्डाउने कार्यमा सम्म मद्दत गरेको देखिँदा निजलाई ज्यानसम्बन्धीको महलको २२,२३,२४ नं. विपरीतको कसुरमा ऐ.को २५ नं. बमोजिम रू.२० (बिस) जरिवाना हुने
ठहर्छ । सोबमोजिम नगरेको हदसम्म सुरू नुवाकोट जिल्ला अदालतको मिति २०६६।२।१४ को फैसला उल्टी हुन्छ । सफाइ पाउँ भन्ने प्रतिवादी हरिप्रसाद थपलियाको र प्रतिवादी रत्नमायालाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्ने वादी नेपाल सरकारको पुनरावदेन जिकिर पुग्न सक्दैन भन्नेसमेत पुनरावेदन अदालत, पाटनको मिति २०६७।५।१५ को फैसला ।
प्रतिवादी हरिप्रसाद थपलिया र रत्नमाया थपलियाले मृतक दुर्गा थपलियालाई कर्तव्य गरी मारी सो अपराधबाट बच्न मृतकको लासलाई झुन्डाएको भन्ने जाहेरी दरखास्त परेको देखिन्छ । मृतक र प्रतिवादीहरू बिच पहिला पनि पटकपटक वादविवाद झगडा हुँदै आएकोमा गाउँ र प्रहरीमा गई मिलापत्र गर्ने गरेको देखिन्छ । मृतकलाई कुटपिट गरेको भन्ने तथ्य लास जाँच मुचुल्का, पोस्टमार्टम रिपोर्टसमेतबाट देखिएको छ । मृतक दुर्गा थपलियालाई यी प्रतिवादीहरूले कर्तव्य गरी मारी अभियोग दाबीअनुसारको कसुर गरेको पुष्टि हुँदाहुँदै अभियोग मागदाबीभन्दा न्यून सजाय गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
घरायसी बादविवादका कारण मैले मृतक दुर्गा थपलियालाई धकेल्दा आफ्नै घरको ढोकाको चौकसमा संयोगवश ठोकिन पुगी निज दुर्गाको मृत्यु भएको अवस्था छ । यस्तो अवस्थामा भवितव्यअन्तर्गत सजाय गर्नुपर्नेमा आवेश प्रेरित हत्या मानी सजाय गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । मृतक दुर्गा थपलियाको टाउकोमा परेको चोटको कारणबाट मात्रै मृत्यु भएको र मैले अन्य कुनै कारणले कर्तव्य गरी मारेको कुरा मिसिलबाट देखिएको छैन । मेरो मृतकलाई मार्ने मनसाय नभई भवितव्यबाट घटना घट्न पुगेको अवस्था हुँदा पुनरावेदन अदालतले गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी न्याय इन्साफ दिलाई पाउँ भन्नेसमेत प्रतिवादी हरिप्रसाद थपलियाको पुनरावेदन पत्र ।
यसमा पुनरावेदक बलराम थपलियाले यस अदालतमा पुनरावेदन गर्दा भवितव्यबाट घटेको घटनाका सम्बन्धमा ज्यानसम्बन्धीको महलको ५ नं. को कसुरमा सजाय गर्नुपर्नेमा ऐ.को १४ नं. बमोजिम सजाय गरेको भन्ने जिकिर लिएको देखिएकोले प्रतिवादीलाई गरिएको सजायको मात्रा तथा कसुर कायम गर्न प्रयोग गरिएको १४ नं. को कानूनी व्यवस्था विचारणीय देखिँदा अ.बं. २०२ नं. को प्रयोजनको लागि दुवै पक्षको पुनरावेदन पत्रको जानकारी एक अर्कालाई गराई नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।१२।१९ को आदेश ।
नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापाले मृतक र प्रतिवादीहरू बिच पहिला पनि पटकपटक झैझगडा हुने गरेको र वारदात मितिका दिन प्रतिवादीहरूले मृतक दुर्गा थपलियालाई कुटपिट गरी मारी मृत लासलाई झुन्डाएको अवस्था विद्यमान हुँदा प्रतिवादीहरूलाई अभियोग मागदाबीभन्दा कम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो । पुनरावेदक प्रतिवादी बलराम भन्ने हरिप्रसाद थपलियाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री हरिबहादुर कार्की तथा वैतनिक कानून व्यवसायी अधिवक्ता श्री किरणकुमारी गुप्ताले प्रतिवादीमध्येकी रत्नमाया थपलियाको मिति २०७१।६।२९ मा मृत्यु भैसकेको हुँदा निजका हकमा कानूनबमोजिम होस् । प्रतिवादी हरिप्रसाद थपलियाले मृतक दुर्गा थपलियालाई मार्नुपर्नेसम्मको पूर्व रिसइवी केही नभएको र वारदात मिति र समयमा प्रतिवादी रत्नमाया र मृतक दुर्गाका बिच मकै छोडाउने क्रममा वाद विवाद भनाभन भएकोमा प्रतिवादी हरिप्रसादले मृतकलाई धकेल्दा आफ्नो घरको ढोकाको चौकसमा ठोकिन गई टाउकोमा चोट लागी मृत्यु हुन गएको अवस्था विद्यमान हुँदा पुनरावेदन अदालतले वारदातलाई भवितव्य ठहर गर्नुपर्नेमा ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम आवेश प्रेरित हत्यामा सजाय हुने ठहराएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी न्याय इन्साफ दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
किटानी जाहेरी, घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का, शवपरीक्षण प्रतिवेदन, प्रतिवादीहरूले प्रहरीमा गरेको साबिती बयानसमेतका सङ्कलित सबुद प्रमाणहरूबाट प्रतिवादीहरू हरिप्रसाद थपलिया र रत्नमाया थपलियाले मृतक दुर्गा थपलियालाई कर्तव्य गरी मारी ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐ. को १३(३) नं. बमोजिमको कसुर अपराध गरेको देखिँदा निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दामा सुरू नुवाकोट जिल्ला अदालतले प्रतिवादी हरिप्रसाद थपलियालाई सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादी रत्नमाया थपलियाले अभियोग दाबीबाट सफाइ पाउने ठहराई मिति २०६६।२।१४ मा गरेको फैसलाउपर प्रतिवादी रत्नमाया थपलियालाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको र आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भनी प्रतिवादी हरिप्रसाद थपलियाको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परी पुनरावेदन अदालतबाट सुरूको फैसला उल्टी गरी प्रतिवादी हरिप्रसाद थपलियालाई ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष कैद हुने र प्रतिवादी रत्नमाया थपलियालाई ज्यानसम्बन्धीको महलको २५ नं. बमोजिम रू.२०।- जरिवाना हुने ठहराई मिति २०६७।५।१५ मा गरेको फैसलाउपर चित्त नबुझी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको र प्रस्तुत वारदातलाई भवितव्य ठहराई न्याय इन्साफ दिलाई पाउँ भनी प्रतिवादी हरिप्रसाद थपलियाको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
यसमा पुनरावेदन अदालत, पाटनको मिति २०६७।५।१५ को फैसला मिलेको छ छैन? वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने विषयमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू बलराम भन्ने हरिप्रसाद थपलिया र रत्नमाया थपलियाले दुर्गा थपलियालाई कर्तव्य गरी मारेकोले निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरिपाउन अभियोग मागदाबी गरिएकोमा पुनरावेदन अदालतबाट प्रतिवादी हरिप्रसाद थपलियालाई ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम र प्रतिवादी रत्नमाया थपलियालाई ज्यानसम्बन्धीको महलको २५ नं. बमोजिम सजाय गर्ने ठहराएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर तथा प्रस्तुत वारदातलाई भवितव्य ठहर गरी न्याय इन्साफ दिलाई पाउँ भन्नेसमेत प्रतिवादी हरिप्रसाद थपलियाको पुनरावेदन जिकिर रहेको सन्दर्भमा मिसिल संलग्न कागज प्रमाणहरू अध्ययन गरी हेर्दा मेरी छोरी दुर्गा थपलिया र प्रतिवादी बलराम भन्ने हरिप्रसाद थपलियाको २०६१ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । मिति २०६४।४।३२ गते राति निज छोरी दुर्गाको आफ्नै घरमा मृत्यु भएको छ भन्ने थाहा पाई गई हेर्दा छोरीको मृत्यु कर्तव्यबाट भएको देखिएको, आत्महत्या गर्नुपर्ने कुनै कारण नदेखिएको, छोरीको शरीरका विभिन्न भागमा निलडाम देखिएको र घाँटीमा डोरीको पासो लागेको कारणले निज छोरी दुर्गालाई निजकै श्रीमान् हरिप्रसाद थपलिया र सासू रत्नमाया थपलियासमेतले कर्तव्य गरी मारी अपराध ढाकछोप गर्न झुन्डाएको अवस्था हुँदा आवश्यक कारवाही गरिपाउँ भन्ने मृतक दुर्गा थपलियाका बाबु जाहेरवाला सोमप्रसाद डोटेलको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दाको अनुसन्धान कारवाही सुरू भएको देखिन आयो ।
३. यी पुनरावेदक प्रतिवादी बलराम भन्ने हरिप्रसाद थपलियाले अदालतसमक्ष बयान गर्दा मृतक दुर्गा थपलिया आफैँ झुन्डिई मरेकी हुन् । मैले मारेको होइन भनी आरोपित कसुरमा इन्कार रहेको देखिए तापनि मौकामा अधिकारप्राप्त अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मिति २०६४।४।३२ गतेका दिन मेरो श्रीमती दुर्गा थपलिया मेलापर्वमा गई साँझ ७ बजेतिर घरमा फर्की आएकी र एकछिन मकै छोडाई खाना खाउँला भन्दा अटेर गरेकीले हामीहरू बिच मकैको खोयाले हानाहान हुँदा श्रीमती ममाथि जाईलागेको हुँदा आमाले समेत तिमीहरूको यो के चाला हो भनी कराउँदा मैले श्रीमतीलाई कुटपिट गरी धकेली दिँदा घरको बरन्डामा जाने ढोकाको चौकोसमा ठोकिन पुगी लडिन् र लडेपछि मैले हतपत गर्दा चुपचाप रहेकीले निजलाई मरेको जस्तो लागि अब पर्ने भइयो भनी आमासँग सल्लाह गरी आफैँ झुन्डिई मरेको भन्ने देखाउन आमासमेत भई मृतकको लासलाई झुन्डाई दिएका हौँ भनी वारदात घटना विवरणलाई उल्लेख गर्दै मृतक दुर्गा थपलियालाई आफूले कुटपिट गरी धकेल्दा ढोकाको चौकोसमा ठोकिई मृत्यु भएको भन्ने कुरामा साबित रही बयान गरेको देखिन्छ । निजले मौकाको आफ्नो बयानलाई अन्यथा भन्नसकेको अवस्था देखिँदैन । मकै छोडाउने विषयमा मृतक र प्रतिवादीहरू बिच सामान्य झैझगडा भनाभन हुँदा मकैको घोगाले हानहान भइरहेको अवस्थामा प्रतिवादी हरिप्रसादले मृतक दुर्गालाई एक्कासी धकेलिदिँदा ढोकाको चौकसमा ठोकिन गई ढलेकी भन्ने तथ्यलाई प्रतिवादीले स्वीकार गरेको देखिन्छ । बुझिएका मानिसहरू, लास जाँच प्रकृति मुचुल्का, मृतकको Autopsy Report लगायतका मिसिल संलग्न कागजबाट मृतक दुर्गा थपलियाको टाउकोमा लागेको चोटका कारणबाट मृत्यु भएको भन्ने तथ्य पुष्टि भइरहेको देखिन्छ । मिति २०६४।५।२ मा भएको शवपरीक्षण प्रतिवेदन (Autopsy Report) मा “The most probable cause of death is cardio pulmonary arrest due to head injury noted in left frontal region of the head”. भनी उल्लेख भएबाट प्रस्तुत वारदातमा मृतक दुर्गाको टाउकोमा गम्भीर चोट परेको कारणबाट नै निजको मृत्यु भएको अवस्था देखिन आयो । यसरी प्रतिवादी हरिप्रसाद थपलियाले धकेल्दा ढोकाको चौकोसमा टाउको ठोक्किई चोट लागेको कारणले मरेकी दुर्गा थपलियाको लासलाई प्रतिवादीहरू मिलेर झुन्डाउने कार्य गरी आत्महत्या गरी मरेकी भन्ने देखाउने प्रयास गरेको देखिन्छ । प्रस्तुत वारदातमा प्रतिवादीहरू र मृतक दुर्गा थपलियाबिच मार्नुपर्नेसम्मको कुनै पूर्व रिसइवी रहेको वा प्रतिवादीहरूले त्यस्तो पूर्व रिसइवी राखी मृतकलाई मार्नुपर्नेसम्मको कुनै योजना बनाएको र सोही योजना मुताबिक प्रहार गरी सोही चोटले मृतक दुर्गा थपलियाको मृत्यु हुन गएको भन्ने मिसिल संलग्न कागजबाट देखिँदैन । जाहेरवाला सोमप्रसाद डोटेललगायतका सरकारी साक्षीको रूपमा मौकामा कागज गरी अदालतसमक्ष बकपत्र गर्ने मानिसहरूले निज प्रतिवादी हरिप्रसाद थपलिया र मृतक दुर्गा थपलियाबिच बेलाबेलामा झैझैगडा हुने गरेको भने तापनि पतिपत्नी नाताका यी प्रतिवादी हरिप्रसाद र मृतकबिच दाम्पत्य जीवनमा हुने सामान्य प्रकृतिका घरायसी झगडालाई मार्नुपर्नेसम्मको पूर्व रिसइवीका रूपमा मान्न सकिने स्थिति देखिँदैन । प्रस्तुत वारदातमा मृतकलाई यी प्रतिवादीले लुकी चोरीकन हानेको, जोखिमी हतियार प्रयोग गरेको अवस्था नभई सामान्य घरायसी विषयमा विवाद उत्पन्न भई प्रतिवादी हरिप्रसाद थपलियाले आवेशमा आई मृतकलाई हातले धकेलिदिएको कारणबाट मृतकको टाउको ढोकाको चौकोसमा ठोकिन पुगी मृत्यु भएको देखिन्छ । मृतक दुर्गा थपलियालाई यी प्रतिवादीले मकै छोडाउन भनेकोमा निज मृतकले मकै छोडाउन नमानेको कारणले प्रतिवादी एक्कासी आवेशमा आई मृतकलाई धकेलिदिँदा घटना घट्न गएको अवस्था देखिएकोले यस्तो प्रकृतिको वारदातलाई मनसायप्रेरित हत्या भन्न मिल्ने नदेखिँदा प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन
सकिएन ।
४. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. मा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको सन्दर्भमा प्रस्तुत वारदातमा यी प्रतिवादी हरिप्रसाद थपलियाको कार्य माथि विवेचित आधार प्रमाणबाट ज्यानसम्बन्धीको महलको १४ नं. मा उल्लिखित आवेश प्रेरित हत्याको कसुर अपराध भएको भन्ने कुरा प्रमाणित हुन आएको देखिन्छ । प्रस्तुत वारदातलाई भवितव्य ठहर गरिपाउँ भन्ने प्रतिवादी हरिप्रसादको पुनरावेदन जिकिर रहेतर्फ हेर्दा ज्यानसम्बन्धीको महलको ५ नं. मा “ज्यान लिने इवीलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको
पाइन्छ । प्रस्तुत वारदातमा यी प्रतिवादी हरिप्रसाद थपलिया र मृतक दुर्गा थपलियाबिच मकै छोडाउने विषयमा भनाभन झैझगडा भई मकैको घोगाले हानहानसमेत हुँदा प्रतिवादी हरिप्रसाद एक्कासी आवेशमा आई मृतक दुर्गालाई कुटपिट गरी धकेल्दा निज दुर्गा थपलिया ढोकाको चौकसमा ठोकिन गई टाउकोमा चोट लागी सोही चोटको कारणले मृत्यु भएको देखिएबाट प्रस्तुत घटनालाई भवितव्यवस घट्न गएको भनी भन्न मिल्ने नदेखिँदा प्रतिवादीको पुनरावेदन जिकिर मनासिब मान्न मिलेन ।
५. प्रतिवादी रत्नमाया थपलियाको हकमा विचार गर्दा निज वारदात स्थलमा उपस्थित रहेकी देखिए तापनि निज प्रतिवादी रत्नमायाले मौकामा अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दासमेत आफूले मृतक दुर्गा थपलियालाई कुटपिट नगरेको, नमारेको भनी कसुरमा इन्कार रही बयान गरेकी देखिन्छ । घरमा मकै छोडाउने विषयमा सासू बुहारी बिच केही भनाभन भएपनि प्रतिवादी रत्नमायाले बुहारी मृतक दुर्गा थपलियाउपर कुनै प्रकारको चोट प्रहार गरेको भन्ने कुरा मिसिल संलग्न प्रमाण कागजबाट खुल्न आएको देखिँदैन । निजको मौकाको बयान, प्रतिवादी हरिप्रसाद थपलियाको बयानसमेतको कागज प्रमाणबाट निज प्रतिवादी रत्नमाया थपलियाले मृतक दुर्गा थपलियाको मृत्यु भैसकेपछि मृतकको लासलाई दबाउने र अपराधबाट छोरा हरिप्रसादलाई बचाउने उद्देश्यले मृतक दुर्गा थपलिया आफैँ झुन्डिई मरेकी भन्ने देखाउन लास झुन्डाउने कार्यमा सम्म सहयोग गरेको देखिन्छ । मृतक दुर्गा थपलियाको मृत लासलाई झुन्डाउने कार्यमा सम्म यी प्रतिवादी रत्नमायाले प्रतिवादी हरिप्रसादलाई सहयोग गरेको देखिन आएकोले निजको उक्त कार्य ज्यानसम्बन्धीको महलको २२, २३ र २४ नं. मा उल्लिखित कसुर देखिन आई ऐ.को २५ नं. अनुसार निजलाई रू.२०।- जरिवाना हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला मनासिब नै देखिन आयो । निज प्रतिवादी रत्नमाया थपलियाको मिति २०७१।६।२९ मा मृत्यु भैसकेको भनी प्रतिवादी हरिप्रसाद थपलियाका कानून व्यवसायी अधिवक्ता हरिबहादुर कार्कीले बहसको क्रममा आजै निज प्रतिवादी रत्नमाया थपलियाको मृत्यु दर्ता प्रमाणपत्रको फोटोकपी पेस गरेको अवस्था हुँदा मुलुकी ऐन, अ.बं. १७६ नं. बमोजिम गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुँदै मर्यो भने सो मर्नेलाई खत बात लाग्दैन भन्ने कानूनी व्यवस्था रहेकोले निज प्रतिवादी रत्नमाया थपलियालाई कुनै खतबात लाग्ने अवस्था देखिन आएन ।
६. अतः मिसिल संलग्न आधार प्रमाणको विवेचना गरी सुरू नुवाकोट जिल्ला अदालतबाट मिति २०६६।२।१४ मा प्रतिवादी बलराम भन्ने हरिप्रसाद थपलियालाई ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने र प्रतिवादी रत्नमाया थपलियाले अभियोग दाबीबाट सफाइ पाउने ठहराएको फैसला केही उल्टी गरी निज प्रतिवादी बलराम भन्ने हरिप्रसाद थपलियालाई ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने र प्रतिवादी रत्नमाया थपलियालाई ऐ.को २५ नं. बमोजिम रू.२०।- जरिवाना हुने ठहराएको पुनरावेदन अदालत, पाटनको मिति २०६७।५।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र प्रतिवादी बलराम भन्ने हरिप्रसाद थपलियाको पुनरावेदन जिकिर पुग्न सक्दैन । यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालय काठमाडौंलाई र पुनरावेदक प्रतिवादीलाई समेत दिई प्रस्तुत मुद्दाको दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ओमप्रकाश मिश्र
इजलास अधिकृत : तारादत्त बडू
इति संवत् २०७२ साल कात्तिक ३० गते रोज २ शुभम् ।