निर्णय नं. ९५४८ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
फैसला मिति : २०७२।८।२४।५
०६९-CR-०२२९
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : जिल्ला दैलेख सिगौडी गाउँ विकास समिति वडा नं. ८ को हाल कारागार कार्यालय, दैलेखमा थुनामा रहेको जग्गे भन्ने जगतबहादुर भण्डारी
विरूद्ध
प्रत्यर्थी / वादी : देवबहादुर बडुवालको जाहेरीले नेपाल सरकार
प्रतिवादीले एकातिर आत्मरक्षाको जिकिर लिएको देखिन्छ भने अर्कोतिर अ.बं. १८८ नं. बमोजिम घटी सजाय पाउनु पर्ने जिकिर पनि लिएको देखिन्छ । आत्मरक्षाको जिकिर पुगेको खण्डमा प्रतिवादीले अभियोगदाबीबाट सफाइ पाउने अवस्था रहन्छ । अ.बं. १८८ नं. को राय भनेको ज्यानसम्बन्धीको महलको १३ नं. को कसुरदार ठहरिएकालाई कसुर गर्दाको परिस्थितिको विचार गरेर घटी सजाय गर्ने कानून हो । अ.बं. १८८ नं. को माग गर्नु भनेको आफूबाट उक्त १३ नं. को कसुर भएको हो भन्ने प्रतिवादीको स्वीकारोक्ति हो ।
(प्रकरण नं.१०)
पुनरावेदक / प्रतिवादीका तर्फबाट :
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को दफा ९(२) को (क)(१), दफा १८
बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री ठाकुरप्रसाद शर्मा
पुनरावेदन तहमा फैसला गर्ने :
मा.का.मु. मुख्य न्या. श्री गोविन्दकुमार श्रेष्ठ
मा.न्या. श्री रत्नबहादुर बागचन्द
फैसला
न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :–
जिल्ला दैलेख सिगौडी गा.वि.स. वडा नं. ८ निमाएलस्थित पूर्वमा टापु ठाडो घर, पश्चिममा मौटुसा वरपिपल, उत्तरमा मृतकको घर दक्षिणमा राउतेरानाउला यति चार किल्लाभित्र रहेको बेसार बारीमा घाँस काटिरहेको अवस्थामा मृतकले नदेखिने गरी निजका देवर जग्गे भण्डारीले धारिलो हँसिया प्रयोग गरी मारेको, निज जग्गे भण्डारीले स्थानीयबासीहरूले किन मारेको भनी सोद्धा अन्धा बुबालाई गाली गरेको हुनाले एक्कासी रिसको आवेशमा आई धारिलो हँसिया प्रयोग गरी मारेको भनी बरामद भएको लासको प्रकृति हेर्दा हातमा सानो हँसिया रहेको, सानो एक मुठो घाँस हातमा रहेको, मृतकको सिरान पूर्वतिर खुट्टा दक्षिणतिर खुम्चिएर रहेको अवस्था देखियो । साथै घटनास्थलदेखि अन्दाजी २० मिटर पूर्व वारदातमा प्रयोग भएको काठको बिँड भएको फलामको हँसिया थान एक फेला परेको उक्त हँसिया प्रहरीले लगेको ठिक साँचो हो । मृतक लासको बायाँ गाला, कान गर्धन धारिलो हतियारले काटेको अवस्थामा रहेको भन्ने घटनास्थल लास जाँच मुचुल्का ।
मेरी दिदी हरिचना भण्डारी मिति २०६७।४।३० को दिउँसो अन्दाजी ३.३० बजे घर नजिक रहेको बारीमा बेसार गोडिरहेको समयमा निजकै माइलो देवर जग्गे भन्ने जगतबहादुर भण्डारीले के कति कारणले हो हरिचना भएको ठाउँमा गई खुर्पा आँसीले एक्कासी गर्धनमा काट्दा दिदीको तत्काल मृत्यु भएको हो । अपराध गर्ने जगतलाई पक्राउ गरी प्रहरी चौकीमा जिम्मा दिएका छौं । निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको मिति २०६७।५।१ को जाहेरी दरखास्त ।
Alleged history of death following hitting by sickle over neck. मृत्युको कारणमा the cause of death is hypovolemic shock due to external hemorrhage. भन्ने शव परीक्षण प्रतिवेदन ।
मिति २०६७।४।३० गते मैले मेरो भाउजूलाई आँसीले काटी मारेको हुँ । मिति २०६७।४।३० गते बिहान अं. ७ बजेतिर रोटी खाई म खेतमा पानी लगाउन गएँ । खेतमा पानी लगाएर अं. १५.३० बजे घरमा
आइपुगें । म सिधै मेरो घरमा नआई मान्ने भण्डारीको घरमा गएँ । मेरो बुबा पनि मान्ने भण्डारीको घरमा बसिरहेका थिए । जनक भण्डारीले महको कुरा निकाल्यो । जनकले मेरो बुबाले मह दिँदा महमा पानी हालेको थिएन । तेरी भाउजू हरिचनाले प्रेम भण्डारीलाई चोट लागेको ठाउँमा मह लगाउन दिँदा पानी हालेको रहेछ भन्यो । त्यसपछि मलाई मेरो बुबाले तैंले किन मह खाएर महमा पानी हालेको भनी कराए । मैले मह खाएको छैन भन्दा मेरो र बुबाको बोलाबोल भयो । त्यसपछि म रूँदै मान्ने भण्डारीको घरबाट आफ्नो घरमा आएँ । बुबा घरमा आएर गोर्ख बडुवालको पिंडालु गोड्न जाउ भनेपछि घरको बारमा आँसी थियो सोही आँसी लिएर पिंडालु गोड्न भनी जान लाग्दा भाउजू हरिचना भण्डारी आफ्नै हल्दी बारीमा हल्दी गोड्दै हुनु हुन्थ्यो । मैले भाउजूलाई मैले मह खाएको छैन । महमा पानी हालेको भन्नु भएको रहेछ भन्दा भाउजूले तेरो बुबा र तँमध्ये एक जनाले मह खाई महमा पानी हाली राखेको हो भनेपछि भाउजू र मेरो बोलाबोल र पछि हात हालाहाल भएपछि मैले भाउजू हरिचना भण्डारीको गर्धनमा जोडले मैले बोकेको आँसी प्रहार गरेँ । आँसी प्रहार गरेपछि भाउजू लड्नुभयो । त्यसपछि मुखमा आँसीले काटी दिएँ भाउजूको मृत्यु भयो । त्यसपछि मैले आँसी खोल्सामा फ्याँकी माथि डाँडामा गएँ । हरिचना भण्डारीलाई म एक्लैले मारेको हुँ । अन्य कोही कसैको संलग्नता छैन । सबै गाउँलेको अगाडि मैले नै भाउजूलाई मारेको कुरा स्वीकार गरेको हुँ भन्ने अभियुक्त जगतबहादुर भण्डारीले अनुसन्धान अधिकारसमक्ष गरेको बयान ।
मिति २०६७।४।३० गते दिउँसो जग्गे भण्डारी र मेरो बिच मह खाई पानी मिसाएर राखेको भन्ने विषयमा बोलाबोल भएपश्चात मैले जग्गे भण्डारीलाई पिंडालु गोड्न पठाएको थिएँ । सो समयमा बुहारी कहाँ थिइन् मलाई थाहा भएन । हामी सुतेको एक घण्टापछि जग्गे भण्डारी घरमा आयो । पिंडालु गोडिस् भन्दा गोर्ख बडुवालको घरमा कोही पनि रहेनछन् भन्यो । त्यसपछि मैले पानी ल्याउन लगाई पानी खाएँ । जग्गे घरबाट कहाँ गयो सो मलाई थाहा भएन । कान्छो छोरा र म गोर्ख बडुवालको घरमा गयौं । सो दिन राति सूर्य भण्डारी, लोग बडुवाल, शेरे भण्डारी र जग्गे गोर्ख बडुवालको घरमा गई जग्गे भण्डारीले घरमा हरिचना भण्डारी नभएको कुरा गरेँ । माइतमा खबर गर म आँखा देख्दिन मैले के गरौं भनेँ । मिति २०६७।३।३१ मा सबेरै म र कान्छो छोरा गोर्ख बडुवालको घरबाट उठी आफ्नो घरमा आउँदा जग्गे सूर्य भण्डारीको घरमा सुतिरहेको देखी छोरालाई उठाई भाउजू घरमा आई आइन भनेपछि जग्गे उठी जग्गे अघिअघि म र कान्छो छोरा पछिपछि घरतर्फ आयौं । मेरो छोरा जग्गेले भाउजू बेसार बारीमा मरेकी छिन् भनी मलाई भन्यो । सोही समयमा सम्धिनी पनि आइपुगिन् । बेसार बारीमा गई हेर्दा बुहारी हरिचना भण्डारी मृत अवस्थामा रहिछन । म राम्रोसँग आँखा नदेख्ने हुनाले कहाँ कहाँ के कस्तो चोट थियो राम्रोसँग देखिन । पछि सबै गाउँले भेला जम्मा भई प्रहरीलाई खबर गरी सोधपुछ गर्दा मेरो छोरा जग्गे भण्डारीले भाउजूसँग मेरो झगडा भएकोले भाउजूलाई आँसीले काटी मैले मारेको हुँ भनी भनेकोले जग्गेले नै बुहारी हरिचना भण्डारीलाई कर्तव्य गरी मारेको कुरा थाहा पाएको हुँ भन्ने व्यहोराको दाने भण्डारीले मौकामा गरिदिएको घटना विवरण कागज ।
तिजको गीत हेरेर अं. १८ बजे लाटिकन बजारबाट सूर्य भण्डारी, जग्गे भण्डारी र म घरतिर फर्कियौं । जग्गे र सूर्य जग्गे भण्डारीको घरको बार्दलीमा बसे म घर गएँ । राती मलाई केही थाहा भएन । भोलिपल्ट बिहान अं. ६ बजेतिर गाउँका मानिसहरू भेला भए । हरिचनाको लास भएको ठाउँमा म पनि गई हेर्दा लासलाई कपडाले ढाकेको थियो । त्यहाँका मानिसहरूले प्रहरीलाई खबर गर्दा प्रहरी आई सोधपुछ गर्दा जग्गे भण्डारीले भाउजूले खान पनि नदिने गरेको र भाउजूसँग झगडा परेकोले मैले नै मारेको हुँ भनी गाउँ समाजको अगाडि स्वीकार गरेकाले जग्गे भण्डारीले हरिचना भण्डारीलाई मारेको भन्ने थाहा पाएको हुँ । अन्य को को भई मारेको हो मलाई थाहा भएन भन्ने हिक्मत भण्डारीले गरेको घटना विवरण कागज ।
मेरी श्रीमती हरिचना भण्डारीको मेरो घर परिवारमा त्यति राम्रो सम्बन्ध थिएन । म घरमा नभएको बेला घर परिवारमा झैझगडा हुने गरेको
थियो । म पढाईको सिलसिलामा प्राय: सुर्खेतमा नै बस्ने गर्दथेँ । म मिति २०६७।३।९ गते घरबाट पढाइको लागि सुर्खेत गएको थिएँ । उतै कोठा लिएर बसेको थिएँ । मिति २०६७।४।३१ गते अन्दाजी ७.०० बजेको समयमा मसँगै पढ्ने मेरो साथी भरत माझीको मोबाइलमा मेरो फोन आएछ । साथीले मलाई फोन दियो । फोनमा श्रीमतीलाई जन्डिस भएर हेपाटाइटिस बि भएर मरेको हो भन्ने खबर पाई म तुरून्तै घरतर्फ लागें । बाङ्गेसिमल भन्ने ठाउँमा आइपुगेपछि मैले पि.सि.ओ.बाट मलाई फोन आएको नम्बरमा घटना भएको निश्चित हो होइन भनी बुझ्न फोन गर्दा हेपाटाइटिस बि भएको होइन काटेर मारेको हो भन्ने कुरा मलाई फोन गर्ने सिगौडी ८ बस्ने सर्जन बडुवालले भनी थाहा पाएँ । म त्यसपछि सरासर घरतिर आएँ । घर आउँदै गर्दा प्रहरीले लास सदरमुकामतर्फ लगिसकेको भन्ने खबर पाएँ र मेरो भाइ जग्गे भण्डारीले श्रीमतीलाई काटी मारेको भन्ने कुरा बाटैमा थाहा भएकोले म घरमा नगै बिच बाटोबाटै दैलेख आउन हिँडेँ । जाक्सीमा प्रहरीले लास ल्याउँदै गरेको भेटी प्रहरीसँगै आएको हुँ । घटना के कसरी भएको रहेछ भनी बुझ्दा मिति २०६७।३।३० गते मेरो बुबाले मेरी श्रीमतीले झगडा गरेको कारण सोही रिसको कारण भाइ जग्गे भण्डारीले मेरी श्रीमतीलाई हँसियाले काटी मारेका रहेछन् । अन्य को को घटनामा संलग्न छन् सो मलाई थाहा भएन । मेरी श्रीमतीलाई मेरै भाइ जग्गे भण्डारीले मारेकोमा पूर्ण विश्वास लाग्छ । निजलाई हदैसम्मको कारवाही गरियोस् भन्ने भद्र भण्डारीले गरेको घटना विवरण कागज ।
छोरी हरिचना भण्डारीलाई मैले निजको लागि चोली ल्याइदिएकोले छोरीलाई चोली दिनु पर्यो भनी छोरीको घरमा जाँदा छोरी हरिचना भण्डारीको घरमा ताल्चा लगाई घरमा कोही पनि थिएनन् । घरमा कोही नभएपछि वरपर सोध्दा छोरी कहाँ गएकी भन्ने कुरा थाहा नलागेपछि म र श्रीमती आफ्नो घरमा
गयौं । साँझ १९.०० बजेको हुँदो हो मेरो घरबाट छोरीको घरको धुरीमा कपडा सुकाइरहेको देखी मेरी श्रीमतीले घरबाटै डाँको हाली मोते भण्डारीलाई छोरी घरमा आइ कि आइन भन्दा मोते भण्डारीले आएको छैन भनेपछि गाउँघरमा खोज्दा भेटेनौं । रातको १२ बजेसम्म खोज्दा नभेटेपछि घरमा आई सुत्यौं । भोलिपल्ट बिहान छोरी घरमा आई कि आइन बुझ्न भनी श्रीमतीलाई छोरीको घरतिर पठाएँ । श्रीमती छोरीको घरतर्फ आई मेरी श्रीमती रोई कराई गरेको सुनी छोरी मरेकी रहिछ भनी थाहा पाई म पनि घरबाट छोरीको घरतर्फ झरेँ । छोरी हरिचना भण्डारी घरदेखि पश्चिम छोरीकै बेसार बारीमा मृत अवस्थामा रहेको देखेँ । छोरीको गर्धन मुखमा धारिलो हतियारले काटेको थियो । गाउँलेहरू पनि भेला जम्मा भई प्रहरीलाई खबर गर्यौं । प्रहरी आएपछि सोधपुछ गर्दा जग्गे भन्ने जगतबहादुर भण्डारीले गाउँको मानिसहरूका सामुन्नेमा भाउजूसँग मेरो झगडा परेको कारण मैले आँसी खुर्पी प्रहार गरी मारेको हुँ भनेकाले जग्गे भन्ने जगतबहादुर भण्डारीले नै मेरी छोरी हरिचना भण्डारीलाई कर्तव्य गरी मारेका हुन भन्ने कुरा थाहा पाएँ । उक्त घटनामा संलग्न अन्य कोही व्यक्ति भएमा अनुसन्धान गरी कडाभन्दा कडा कारवाही गरिपाउँ भन्ने नमराज बडुवालले गरेको घटना विवरण कागज ।
मिति २०६७।३।३० गते दिउँसो भाउजू घरै भएको र आफूले भाउजूले दिएको रोटीसमेत खाएको र त्यसपछि दाइलाई बुबाले गोर्ख बडुवालको पिंडालु गोड्न पठाएको । दाई पिंडालु गोड्न गएकोमा एक डेढ घण्टापछि फर्की आएका हुन् । सोही समयमा बुबाले भाउजूलाई बोलाउँदा भाउजू बोलिनन् । साँझ म र बुबा गोर्खे बडुवालको घरमा कुर्न गयौँ । भोलिपल्ट घर फर्कने बेलामा नम भण्डारीको घरको दलानमा मेरो दाइ र सूर्य भण्डारी सुतिरहेका थिए मेरो बुबाले दाइलाई उठाई घाँस कहाँ छ भाउजू कहाँ छन् भनी सोधेपछि दाइ
उठे । दाइ अघिअघि म र बुबा पछिपछि घरमा आयौं । म र बुबा घरको नजिकै पुग्ने बेला दाइ अलि अगाडि गई बेसार बारीमा पुगी बुबा भाउजू त यहाँ मरेकी छन् भनी बुबालाई भनेँ । दाइले भाउजूलाई कर्तव्य गरी मारेका हुन् भन्ने व्यहोराको लोकिन भण्डारीले मौकामा गरेको कागज ।
मिति २०६७।४।३१ गते बिहान अन्दाजी ६.०० बजे जग्गेका बाबु दाने भण्डारी र भाइ लोकिन भण्डारी मेरो घरमा आई जग्गे भण्डारीलाई उठाई घरतर्फ गए । केही समयपछि मेरो बुहारीलाई के भयो यस्तो भनी रून लागेको सुनी म उठी सोही समयमा मृतकको आमा र दिदी पनि आएकोमा घटनास्थल जाँदा लास घोप्टो अवस्थामा थियो । घाँटीमा काटेको घाउ थियो । अनुहार कानमा काटेको घाउ थियो । प्रहरीहरू आएर जग्गेलाई सोधपुछ गर्दा सबै सामु जग्गे भण्डारीले भाउजूलाई आँसीले काटी मारेको भनेको
हो । मृतक हरिचना भण्डारीको गाउँमा अन्य कोही कसैसँग झैझगडा रिसइवी भएजस्तो लाग्दैन भन्ने व्यहोराको सूर्य भण्डारीले मौकामा गरिदिएको कागज ।
लाटिकान चौतारीमा म बसेकै बेला हरिचना हराएको भन्ने कुरा सुनेँ । गाउँका महिलाहरूसँग म घरमा आएँ । मेरी आमा हरिचना हराएकीले यताउति खोज्दै हुनुहुन्थ्यो । म घरमा बसें । राति के भयो भन्ने कुरा मलाई केही थाहा भएन । भोलिपल्ट बिहान मेरी आमा रूँदै हरिचनाको लास भएको ठाउँमा
जानुभयो । अन्य मानिस पनि भेला जम्मा भएका
थिए । लास घोप्टो अवस्थामा थियो । पछि बुझ्दा जग्गे भण्डारीले आँसीले काटी मारेको भन्ने सुनी थाहा पाएको हुँ भन्ने व्यहोराको जनक भण्डारीले मौकामा गरेको कागज ।
महमा पानी मिलाएको विषयमा देवर भाउजूबिच हात हालाहालसमेत भएको अवस्थामा प्रतिवादीले आफू साथ रहेको आँसी खुर्पाले भाउजूको गर्धनमा प्रहार गरी भुइँमा ढलेपछि पनि नाक, मुख, कानमा समेत प्रहार गरी मृतकलाई कर्तव्य गरी मारेको पुष्टि भएको हुँदा र निजको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. विपरीतको भएको देखिँदा निजलाई सोही ऐनको दफा १३(१) नं. बमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्ने व्यहोराको अभियोगपत्र ।
मिति २०६७।४।३० गते दिउँसो ३.३० बजेको समयमा खेतबाट घर आइसकेपछि बुबासँग महको विषयमा झगडा परी बुबाले पिटेपछि म रूँदै
बसेँ । त्यसपछि पिंडालु गोड्न जा भनेपछि पिंडालु गोड्न बारीमा गएँ । मृतक भाउजू हरिचना नजिकै बेसार गोडिरहनु भएको थियो । मलाई देख्नासाथ भाउजूले तिम्रा बाबु छोराले मह खाइसक्यौ भनेर तिमीहरूलाई नखानु होस् भन्दै मृतक भाउजूले आफ्नो हातमा भएको हँसिया लिई मसँग गाली गर्दै झम्टन आइन् र मलाई नहान भन्दाभन्दै मृतकले उल्टो हँसियाले मेरो शरीरमा प्रहार गर्न थालेपछि म पनि आफ्नो रक्षा गर्नको लागि हँसियाले भाउजूको हातमा हान्छु भन्दा मृतकको पछाडि गर्धन घाँटीमा हँसियाको प्रहार भई निजको मृत्यु भएको हो । निजको मृत्यु मेरो कर्तव्यबाट भएको हो । मृतकलाई मैले मार्ने कुनै पूर्व योजना नभई मेरो आत्मरक्षाको क्रममा मृत्यु भएको हो । मैले मृतकको गर्धन र गालामा २ पटक रिसको आवेगमा हँसियाले हानेपछि निजको मृत्यु हुन पुगेको हो । मेरो कुनै मनसाय नभई उक्त घटना घटेको हो भन्ने जगतबहादुर भण्डारीले सुरू अदालतमा गरेको बयान ।
मृतक हरिचना भण्डारीलाई प्रतिवादी जगतबहादुर भण्डारीले गर्धन र मुखमा आँसी प्रहार गरी हत्या गरेको कुरा मैले फोनबाट थाहा पाएको हुँ । झगडा महको विषयमा भएको हो भन्ने कुरा सुनेको हुँ । मौकामा गरेको कागजको व्यहोरा मेरै हो भन्ने मौकामा कागज गर्ने भद्रबहादुर भण्डारीले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी जगतबहादुर भण्डारीले मृतकको गर्धन र मुखमा खुर्पा आँसीले प्रहार गरी हत्या गरेका हुन् । के कुन कारणले हत्या गरेका हुन् सोसम्बन्धमा मलाई थाहा छैन । मौकामा गरेको कागजको व्यहोरा सहीछाप मेरै हो भन्ने व्यहोराको मौकामा कागज गर्ने दाने भण्डारीले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक हरिचना भण्डारीलाई निजले मह खाएको दोष लगाई झगडा गरी प्रतिवादी जगतबहादुर भण्डारीले बेसार बारीमा आँसी खुर्पाले मृतकको गर्धन मुखमा हानी मारेका हुन् भन्ने मैले दैलेख बजारमा सुनी थाहा पाएको हुँ । दैलेख बजारमै लास हेर्दा गर्धनमा र मुखमा काटिएको थियो । मौकामा गरेको कागजको व्यहोरा मेरै हो भन्ने व्यहोराको मौकामा कागज गर्ने देवबहादुर बडुवालले सुरू अदालतमा गरेको बकपत्र ।
मृतक छोरी हरिचनालाई मह खाएको दोष लगाई झगडाको सिलसिलामा प्रतिवादी जगतबहादुर भण्डारीले आँसीले मुख तथा गर्धनमा हानी मारेछन् । साउन महिनामा हो, गते बार याद भएन, भोलिपल्ट बिहान ६ बजेतिर लास भेटिएको हो । मुख तथा गर्धनमा काटिएको चोट थियो । दुवै घुँडा भाँचिएको अवस्थामा देखेको हुँ । छोरीको मृत्यु निज प्रतिवादी जग्गे भन्ने जगतबहादुर भण्डारीको कर्तव्यबाट नै भएको हो भन्ने मौकामा कागज गर्ने नमराज बडुवालले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६७।९।२ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निमायल सिंगौडीको पत्रसाथ प्रतिवादीको कक्षा र उत्तीर्ण गरेको स्थानान्तरण प्रमाणपत्र सुरू मिसिल सामेल रहेको ।
मिति २०६७।७।२४ गतेको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला महाराजगञ्ज, काठमाडौंको बरामद भएको आँसीको जाँच प्रतिवेदन सुरू मिसिल सामेल रहेको ।
प्रतिवादीले आफू र बाबुलाई मृतकले मह खाई भाँडोमा पानी राखिदिएको भनी निहुँ खोजेको कारण आफूले धारिलो हँसियाले प्रहार गरी मारेको हो भनी स्वीकार गरी बयान गरेको रहेछ । घटनास्थल प्रकृति मुचुल्काबाट मृतकको हातमा घाँस काट्ने हँसिया र अर्को हातको मुठीमा केही घाँस रहेको भनी उल्लेख भएको रहेछ । प्रतिवादीले आरोपित कसुर गरेकोमा अदालतसमक्ष समेत स्वीकार गरी बकपत्र गरेका रहेछन् । मौकामा बुझिएका व्यक्तिहरू जनक भण्डारी, सूर्य भण्डारी, लोकिन भण्डारी, नमराज बडुवाल, हिक्मत भण्डारी र दाने भण्डारीले मौकामा कागज गर्दा प्रतिवादीले मृतकलाई काटी मारेको भन्ने कुरा स्वीकार गरेको भन्ने उल्लेख गरिदिएका रहेछन् । अदालतसमक्ष आई बकपत्र गर्ने मौकाका दाने भण्डारी र भद्र भण्डारीले अदालतसमक्ष आई बकपत्र गर्दासमेत प्रतिवादीले मृतकको गर्धनमा धारिलो हतियार प्रहार गरी मारेको भनी किटानी गरिदिएका रहेछन् । प्रतिवादीबाट प्रहार गरी मारेको हँसियासमेत बरामद भई आएको देखिई मृतकलाई प्रतिवादीले मारेको भन्ने कुरामा विवाद देखिन नआई मृतकको गर्धनमा हँसिया प्रहार गरी मारेको ठहर्छ ।
प्रतिवादीउपर ज्यानसम्बन्धीको महलको १ नं. र १३(१) नं. अनुसारको कसुर अपराधमा १३(१) नं. अनुसारको सजायको मागदाबी लिइएको भए तापनि प्रतिवादीउपर जाहेरी पर्दा प्रतिवादीको उमेर २० वर्ष उल्लेख भएको, प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा उमेर १७ वर्ष उल्लेख गरे पनि जिल्ला शिक्षा कार्यालय, दैलेखको जिल्ला स्तरीय परीक्षा मार्कसिट, नेपाल मा.वि. निमाचल सिंगौडीको मिति २०६७।५।२७ को पत्र, जिल्ला शिक्षा कार्यालय, दैलेखको मिति २०६७।६।९ को पत्रसमेतबाट प्रतिवादीको जन्म मिति २०५२।२।३ उल्लेख भई निज अपराध गर्दाको अवस्थामा १६ वर्ष पुरा भएको भन्ने देखिन नआएकोले प्रतिवादीउपर ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. को अभियोगदाबी स्थापित हुन सक्ने स्थिति नदेखिई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं. अनुरूपको कसुर अपराध स्थापित हुन आएकोले निजलाई उक्त नं. अनुसार कैद वर्ष १० मात्र हुने ठहर्छ । प्रतिवादीलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा १५ अनुसार कठोर सजाय दिनु उपयुक्त नदेखिएकोले हतकडी नलगाउनुको साथै एकान्त कारावास वा उमेर पुगेका सजाय पाएका कैदीसाथ नराखी बालसुधार गृहमा पठाई दिनु भनी कारागार कार्यालय, दैलेख तथा जिल्ला प्रशासन कार्यालय, दैलेखलाई लेखी पठाई दिनु पर्ने ठहर्छ भन्ने दैलेख जिल्ला अदालतको मिति २०६७।१२।२२ को फैसला ।
मौकामा बुझिएका नमराज भण्डारीसमेतको बकपत्रबाट उक्त वारदात घटनाको बारेमा प्रस्ट गराइदिएका छन् । त्यसैगरी निज भाउजू हरिचना भण्डारीलाई उक्त कर्तव्य गरी मारेकोमा इमान्दारिताका साथ आफ्नो भएको सत्य तथ्यमा आधारित भई सम्मानित अदालतमा बयान गरेको छु । जुन स्वीकार गरी पश्चाताप गरी अपराधलाई स्वीकार गरेको छु । मैले सम्मानित अदालतलाई आफू नाबालक अवस्थामा भएको बेला उक्त अपराध भएको हुँदा सोसम्बन्धमा अनुरोधसमेत गरेको थिएँ । त्यसैले मलाई दैलेख जिल्ला अदालतबाट मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(१) नं. को अभियोग स्थापित हुन नसक्ने भनी बालबालिका ऐन, २०४८ को दफा ११(३) अनुरूप १० वर्ष कैद मेरो लागि अत्यन्तै चर्को भएको हुँदा सम्मानित अदालतबाट मुलुकी ऐन, अ.बं. १८८ नं बमोजिम न्यूनतम सजाय गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी जग्गे भन्ने जगतबहादुर भण्डारीको पुनरावेदन पत्र ।
प्रतिवादीले गरेको कसुर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(१) नं. अन्तर्गतको नै भएकोमा कुनै विवाद छैन जहाँसम्म सजाय निर्धारण गर्ने विषय छ निज प्रतिवादीको उमेर १६ वर्षभन्दा कम भएको कारण उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधी मात्र सजाय हुने व्यवस्था बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) ले गरेको हो । अतः निज प्रतिवादीको हकमा ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुर स्थापित नै नगरी बालबालिकासम्बन्धी ऐनको दफा ११(३) को कसुर स्थापित गरेको हदसम्म प्रस्तुत फैसला बदर गरी सुरू अभियोग दाबी बमोजिमकै कसुर ठहर गरी सजायको हकमा मात्र बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम १० वर्ष कैद सजाय कायम गरिपाउँ भन्ने व्यहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
वादी नेपाल सरकारको र प्रतिवादीको दोहोरो पुनरावेदन दायर भएको देखिँदा वादीको पुनरावेदनको जानकारी प्रतिवादीलाई र प्रतिवादीको पुनरावेदनको जानकारी वादीलाई दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, सुर्खेतबाट भएको मिति २०६८।७।३० को आदेश ।
जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, मौकामा बुझिएका मानिसहरूको कागज तथा अदालतमा गरेको बकपत्र, प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको साबिती बयान तथा कसुर स्वीकार गरी गरेको अदालतको बयान तथा मृतकको Post Mortem Report लगायत मिसिल संलग्न अन्य कागज प्रमाणबाट प्रतिवादीले आफ्नी भाउजू मृतक हरिचना भण्डारीलाई आँसीले प्रहार गरी काटी मारेको भन्ने वादी दाबीको अभियोग शङ्कारहित तवरबाट पुष्टि भइरहेको देखिन्छ ।
मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. का प्रावधानको दाबी गरी प्रस्तुत मुद्दाको अभियोग पत्र दायर भएको देखिँदा मागदाबीबमोजिमको कसुर अपराध र सो कसुर अपराधसँग सम्बन्धित कानूनी प्रावधानबमोजिम प्रतिवादीको कसुर अपराध कायम गर्नुपर्ने देखिन्छ भने सजायको हकमा उपर्युक्त ऐनको प्रावधानबमोजिम हुन मागदाबी गरिए पनि त्यस्तो अपराध बालबालिकाले गरेको पाइएमा त्यस्तो अपराधमा सजाय तोक्दा बाल अधिकार मैत्री कानूनको रूपमा विकसित नयाँ कानून बालबालिकासम्बन्धी ऐन, २०४८ को प्रावधान आकर्षित हुने व्यवस्था भइरहेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी १६ वर्षमुनिको नाबालक रहेको देखिँदा निजले गरेको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. अन्तर्गतको कसुरमा सिद्धान्ततः सजाय गर्दा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) आकर्षित हुने
देखिन्छ । बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) मा “चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा मुनिका बालकले कुनै अपराध गरे निजलाई कानूनबमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधा सजाय हुन्छ” भन्ने व्यवस्था भइरहेको र प्रस्तुत मुद्दामा प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं. र १३(३) नं. को कसुर गरेको देखिँदा यस व्यवस्थाले उमेर पुगेको व्यक्तिलाई सर्वस्वसहित जन्मकैद गर्नुपर्ने भन्ने भएको देखिँदा १६ वर्षमुनिको प्रतिवादीलाई उल्लिखित बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अन्तर्गत सजाय गर्दा उमेर पुगेको मानिसलाई हुने सर्वस्वसहित जन्मकैदको आधा सजाय गर्दा प्रतिवादीलाई १०(दश) वर्ष कैद सजाय हुने देखिँदा प्रतिवादीलाई सो १०(दश) वर्ष कैद सजाय तोक्नु मनासिब नै हुने साथै बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा १५ बमोजिम प्रतिवादीलाई कठोर सजाय दिन हतकडी लगाउन एकान्त कारावासमा राख्न वा उमेर पुगेका कैदीको साथमा राख्न उपयुक्त नहुने देखिँदा प्रतिवादीलाई बाल सुधार गृहमा पठाउनु जायज ठहरिन्छ ।
अतः उपर्युक्त उल्लिखित तथ्य, प्रमाण तथा विश्लेषणको रोशनीमा प्रतिवादी जग्य भन्ने जगतबहादुर भण्डारीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुर कायम गरी सजायको हकमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार गर्नु पर्नेमा ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुर कायम नगरिएको सुरू दैलेख जिल्ला अदालतको फैसला सो हदसम्म नमिलेको देखिँदा केही उल्टी हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।९।२५ को फैसला ।
मैले मह खाएको विषयलाई लिएर मेरो भाउजू हरिचना भण्डारीसँग भनाभन हुँदा बेसार बारीमा भएका बखत भाउजूले आफूले बेसार गोड्न लागेको हँसियाको पछाडिको भागले मलाई प्रहार गरी रहँदा त्यो अवस्थामा मैले प्रतिकार नगरे भाउजूको उक्त प्रहारले मेरो मृत्यु हुन सक्ने प्रवल सम्भावना रहेको हुँदा मैले आफ्नो प्रतिरक्षार्थ हँसियाले प्रहार गर्दा भाउजूको मृत्यु हुन गएको, मैले भाउजूलाई मार्नु पर्ने कुनै पूर्व रिसइवी तथा कारण नभएको तथा मैले भाउजूलाई मार्ने कुनै मनसाय पनि नभएको कुरालाई इमान्दारितापूर्वक अनुसन्धान अधिकारी तथा अदालतमा स्वीकार गरी बयान गरेको छु । मैले ज्यानसम्बन्धीको महलको ७ नं. बमोजिम आफ्नो रक्षार्थ प्रतिकार गर्दा निज भाउजूलाई प्रहार गर्दा निजको मृत्यु हुन गएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं. बमोजिम नगरी ऐ. को १३(१) नं. बमोजिमको कसुर कायम गरी सजाय गरेकोमा मलाई चर्को पर्ने हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं. बमोजिम मलाई अभियोग मागदाबीबाट फुर्सद गरिपाऊँ ।
मैले उक्त कर्तव्य गरेकोसम्बन्धमा मौकामा बुझिएका नवराज भण्डारीसमेतको बकपत्रसमेतबाट उक्त वारदात घटनाबाट प्रस्ट गराइदिएका छन् । तसर्थ मैले निज भाउजू हरिचना भण्डारीलाई आफ्नो प्रतिरक्षार्थ प्रहार गर्दा निजको मृत्यु भएको व्यहोरा इमान्दारिताका साथ आफ्नो सत्य तथ्य बयान अदालतमा गरेको छु । साथै आफ्नो प्रतिरक्षार्थ प्रहार गर्दा भाउजू हरिचनाको मृत्यु हुन गएको कुरा स्वीकार गरी पश्चाताप गरी अपराधलाई स्वीकारी अदालतमा अनुरोधसमेत गरेको छु । सम्मानित दैलेख जिल्ला अदालतले मलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. स्थापित हुन नसक्ने भनी बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुरूप १० वर्ष कैदको फैसला गरेकोमा पुनरावेदन अदालतले उक्त फैसलालाई केही उल्टी गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुर कायम गरी गरेको फैसला अन्यायपूर्ण साथै बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) को विपरीत उक्त फैसला बमोजिमको सजाय मलाई चर्को पर्न जाने हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं. बमोजिम अभियोग मागदाबीबाट फुर्सद पाऊँ ।
मेरो पुनरावेदन जिकिरका अतिरिक्त मैले अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा बयान गर्दा भएको सत्य साँचो बयान इमान्दारितापूर्वक गरेको तथा उक्त वारदात गराउन पर्ने मेरो भाउजू हरिचनासँग न त कुनै रिसइवी नै थियो न त मैले निजलाई मार्नुपर्ने कुनै पूर्व योजना नै बनाएको थिएँ । उक्त कुनै कारण नभई म नाबालक अवस्थाको र भाउजू मभन्दा धेरै उमेर भएकी, हट्टाकट्टा भएकी र निजको प्रहारबाट मेरो ज्यानसमेत जान सक्ने प्रबल सम्भावना भएको हुँदा मैले आफ्नो प्रतिरक्षार्थ भाउजूको हातमा प्रहार गर्न खोज्दा अन्त लाग्न गई भाउजूको मृत्यु हुन गएको हुँदा मबाट अन्जानमा नै मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं. बमोजिमको कार्य हुन गएको कुरालाई नजर अन्दाज गर्दै पुनरावेदन अदालत, सुर्खेतले मलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुर कायम गरी गरेको फैसला त्रुटिपूर्ण भएको हुँदा बदर गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७ नं. बमोजिम अभियोग मागदाबीबाट सफाइ पाउँ भन्ने जगतबहादुर भण्डारीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल अध्ययन गरियो ।
आजको पेसीमा पुनरावेदक वा निजको कानून व्यवसायी उपस्थित भई बहस जिकिर गर्न सक्नु भएको देखिएन ।
प्रस्तुत मुद्दाको निर्णयको लागि आवश्यक तथ्य र प्रतिवादीको पुनरावेदन जिकिर सङ्क्षेपमा यस्ता छन् :
मिति २०६७।४।३० गते दिउँसो अं. ३/३.३० बजेको समयमा प्र. जग्गे भन्ने जगतबहादुर भण्डारीले मह खाई महमा पानी मिसाएको विषयमा आफ्नो बाबु दाने भण्डारीसँग बोलाबोल गरी रिसकै क्रममा नजिकै बेसार बारीमा भाउजू हरिचना भण्डारीलाई फेला पारी आफूलाई महमा पानी मिसाएको आरोप किन लगाएको भनी देवर भाउजूबिच बोलाबोल हात हालाहाल भई प्रतिवादीले हँसिया (खुर्पा) आँसीले भाउजूको गर्धन, नाक, मुख, कानमा समेत प्रहार गरी मारेकोले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भनी प्रतिवादी विरूद्ध अभियोगपत्र दायर भएको देखिन्छ ।
उक्त अभियोगदाबी पुग्ने ठहराई प्रतिवादी १६ वर्ष पुरा भएको देखिन नआएकोले बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं. अनुसार कैद वर्ष १० हुने र प्रतिवादीलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा १५ अनुसार हतकडी नलगाउनु भन्नेसमेतको सुरू दैलेख जिल्ला अदालतको मिति २०६७।१२।२२ को फैसला रहेको छ ।
सुरू फैसलामा चित्त नबुझाई आफूले पश्चाताप गरी अपराधलाई इमान्दारीका साथ स्वीकार गरेको र नाबालकसमेत भएकोले १० वर्ष कैद गरेको अत्यन्तै चर्को भएकोले मुलुकी ऐन, अ.बं. १८८ नं बमोजिम न्यूनतम सजाय गरिपाउँ भनी प्रतिवादीले र ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुर स्थापित नै नगरी बालबालिकासम्बन्धी ऐनको दफा ११(३) को सजाय गरेको सुरू अदालतको फैसला नमिलेकोले अभियोगदाबीको कसुर ठहर गरी सजायको हकमा मात्र बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम १० वर्ष कैद सजाय कायम गरिपाउँ भन्ने व्यहोराको पुनरावेदक वादी नेपाल सरकारले पुनरावेदन अदालतमा पुनरावेदन गरेको पाइन्छ ।
प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुर कायम नगरेको सुरू दैलेख जिल्ला अदालतको फैसला सो हदसम्म नमिलेको देखिँदा केही उल्टी हुने र बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं. अनुसार कैद वर्ष १० तथा सोही ऐनको दफा १५ अनुसार प्रतिवादीलाई हतकडी नलगाउने ठहराएको समेतको सुरू जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।९।२५ को फैसला देखिन्छ ।
उक्त फैसलामा चित्त नबुझाई प्रतिवादीले यस अदालतमा गरेको पुनरावेदन पत्रमा मह खाएको विषयलाई लिएर भाउजूसँग भनाभन हुँदा भाउजूले हँसियाको पछाडिको भागले प्रतिवादीलाई प्रहार गरेकोले प्रतिरक्षार्थ हँसियाले प्रहार गर्दा भाउजूको मृत्यु हुन गएको हो । आफू नाबालक र भाउजू धेरै उमेरकी हट्टाकट्टा भएकीले प्रतिरक्षा नगरेको भए आफ्नो ज्यान जाने हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. को कसुर कायम गरेको चर्को पर्ने हुँदा ऐ. को ७ नं. बमोजिम अभियोग मागदाबीबाट फुर्सद गरिपाउँ भन्ने व्यहोराको प्रतिवादीको जिकिर देखिन्छ ।
अब पुनरावेदन अदालत सुर्खेतले गरेको फैसला मिले नमिलेको र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।
२. तत्सम्बन्धमा विचार गर्दा २०६७।४।३० गते बिहान अं. ७ बजेतिर मान्ने भण्डारीको घरमा बुबाले मह खाएर महमा पानी हालेको भनी आफूलाई आरोप लगाएको, घरमा आएपछि बुबाले भनेअनुसार आँसी लिएर पिंडालु गोड्न जान लाग्दा आफ्नै हल्दी बारीमा हल्दी गोड्दै गर्नुभएकी भाउजू हरिचनासँग भेट भएको, आफूउपर मह खाई महमा पानी हालेको निराधार आरोप लगाएको सम्बन्धमा कुरा गर्दा भाउजूले तेरो बुबा र तँमध्ये एक जनाले मह खाई महमा पानी राखेको हो भनेको, भाउजू र निजको बोलाबोल हात हालाहाल भएको, त्यसपछि प्रतिवादीले आँसी प्रहार गरी मार्ने मनसायले नै भाउजूको हत्या गरेको र सो कुरा गाउँलेको अगाडिसमेत स्वीकार गरेको भनी आरोपित कसुरमा साबित भई प्रतिवादीले मौकामा बयान गरेको पाइन्छ ।
३. यी प्रतिवादीले सुरू अदालतमा बयान गर्दासमेत महको कुरामा भाउजूसँग विवाद भएको र सो क्रममा प्रतिवादीले मृतक भाउजूलाई आँसीले हानी मारेकोमा साबित छन् । तर अदालतको बयानमा प्रतिवादीलाई देख्नासाथ भाउजूले बाबु छोराले मह खाइसक्यौ भन्दै कराउन थालेपछि मह खाएको होइन भन्दाभन्दै मृतक भाउजूले हँसिया लिई गाली गर्दै झम्टेर हल्लाउन र उल्टो हँसियाले प्रहार गर्न थालेपछि रक्षाको लागि हँसियाले भाउजूको हातमा हान्छुभन्दा मृतकको पछाडि गर्धन घाँटीमा हँसियाको प्रहार भई निजको मृत्यु भएको मृतकलाई मार्ने कुनै पूर्व योजना नभई आत्मरक्षाको क्रममा मृत्यु भएको हो भनी उल्लेख गरेपनि सोही बयानमा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानको व्यहोरा ...र सहिछाप आफ्नो हो अन्धा बुबा र मलाई गाली गरेको हुँदा रिसको आवेगमा ...मारेको हूँ ...मार्ने मनसायले भाउजूलाई मारेको हो भन्ने कुरा लेखाएको होइन साक्षी प्रमाण केही छैन भनी उल्लेख गरेको देखिन्छ ।
४. प्रतिवादीको मौकाको साबितीको पुष्टि मृतकको घटनास्थल लास जाँच मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदनबाट भएको छ ।
५. त्यसैगरी महको विषयमा बाबुछोरा बिच बोलाबोल भएको र भाउजूसँग समेत झगडा भएकोले भाउजूलाई आँसीले काटी मारेको हुँ भनी प्रतिवादीले गाउँलेको अगाडि भनेको भन्ने व्यहोराको प्रतिवादीको पिता दाने भण्डारी, हिक्मत भण्डारी, सुर्य भण्डारी, मृतकको पिता नमराज बडुवालसमेतले गरेको घटना विवरण कागज र श्रीमती हरिचना भण्डारीको घर परिवारमा त्यति राम्रो सम्बन्ध थिएन । म घरमा नभएको बेला घर परिवारमा झैझगडा हुने गरेको थियो । रिसको कारण भाइ जग्गे भण्डारीले मेरी श्रीमतीलाई हँसियाले काटी मारेका रहेछन् भनी मृतकका पति र प्रतिवादीका दाजु भद्र भण्डारीले गरेको मौकाको कागज एवम् मौकामा गरेको कागजको व्यहोरा र सहीछाप आफ्नै हो भनी दाने भण्डारी, भद्रबहादुर भण्डारी, देवबहादुर बडुवाल, नमराज बडुवालले सुरू अदालतमा बकपत्र गरेकोसमेतको लिखतबाट समर्थित भएको छ । प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम ती कागज प्रतिवादी विरूद्ध प्रमाण लाग्ने देखिन्छ ।
६. मृतक भाउजूले आफ्नो ज्यान लिनेगरी हँसियाले हान्न लागेकी आफूभन्दा मृतक भाउजू उमेरले जेठी र हट्ठाकट्ठा रहेकीले आत्मरक्षाको लागि आफूले मृतक भाउजूलाई हँसिया प्रहार गरी मारेको हो भन्ने प्रतिवादीको कथन मान्न नसकिने कारणहरूमा :
शव परीक्षण प्रतिवेदनमा मृतकको उचाई ४ फिट उल्लेख भएको छ । प्रतिवादीको उमेर १६ वर्षभन्दा कम देखिन आई मृतकभन्दा प्रतिवादी कान्छो देखिन आएपनि प्रतिवादीको उचाई ५’४” देखिएबाट जीउडालको हिसाबले मृतकभन्दा प्रतिवादी नै बलियो र अग्लो देखिन आएकाले आफूभन्दा मृतक जेठी र हट्ठाकट्ठा रहेकी भन्ने प्रतिवादीको जिकिर भ्रामक देखिन्छ ।
७. प्रतिवादीले मौकाको बयानमा आत्मरक्षाको जिकिर लिन सकेको देखिँदैन । मौकाको बयान हुँदा प्रमाण ऐन, २०३१ को दफा ९(२) को (क)(१) बमोजिम प्रतिवादी सचेत अवस्थामा नरहेको, (२) निजलाई बाध्य पारिएकोसमेतको कार्य गरी इच्छाविरूद्ध साबिती बयान गर्ने स्थितिमा पारिएको, (३) निजलाई धम्की वा विश्वास पर्ने आश्वासन दिएको परिणामस्वरूप निज साबित भएकोसमेतको अवस्था विद्यमान रहेको कुरालाई प्रतिवादीले सिद्ध गर्नुपर्छ । तर प्रतिवादीबाट त्यस्तो कुनै कुरा आउन सकेको छैन ।
८. मृतकको हातमा सानो एक मुठो घाँस रहेको भन्ने लासजाँच मुचुल्काबाट मृतकले प्रतिवादीलाई हँसियाले काट्न झम्टेको भन्ने प्रतिवादी जिकिरलाई खण्डित गर्दछ । घाँसमा हात रहेकी मृतकले आफूभन्दा बलिया र अग्ला यी प्रतिवादीको ज्यान लिने गरी हँसियाले हान्न खोजेकी भन्ने कुरा प्रमाणित गर्दैन । प्रतिवादीको शरीरमा कुनै घाखत रहेको छैन । कदाचित मृतकले हान्न खोजेकी भए पनि प्रतिवादीले मृतकलाई सजिलै नियन्त्रणमा लिन सक्ने वा हार गुहार गरी अरूको सहयोग माग्न सक्ने वा भाग्न उम्कन सक्ने अवस्था नरहे नभएको अवस्था पनि देखिँदैन । अतः प्रस्तुत वारदातमा प्रतिवादीले जिकिर लिएअनुरूप मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ७(१) नं. बमोजिम मृतकले प्रतिवादीको ज्यान लिनासम्मको जोरजुलुम गरेको कुरा नै प्रमाणित हुन सकेको छैन ।
९. सोही लास जाँच मुचुल्कामा मृतकको घाँटी आधा काटेर घोप्टो परेको, कान १ काटिएको, मुख काटिएको, गालामा निलडाम रहेको भनी र मृतकको शव परीक्षण प्रतिवेदनमा chop wound 18 cm long, semi-circular extending from chin then to mouth, cheek extending backward below left ear with nape of neck 7 cm below occiput. Left mandible fractured. Cervical vertebra transected at fourth cervical vertebra level. Major artery and vein of neck on left side was also transected. Incised wound of 5x4 cm and 1 cm deep over right shoulder र मृत्युको कारणमा the cause of death is hypovolemic shock due to external hemorrhage भनी उल्लेख भएको पाइन्छ । मृतकउपरको यत्रो विघ्नको नृशंस प्रहारलाई आत्मरक्षाको सिद्धान्तले स्वीकृति दिँदैन ।
१०. यी प्रतिवादीले एकातिर आत्मरक्षाको जिकिर लिएको देखिन्छ भने अर्कोतिर अ.बं. १८८ नं. बमोजिम घटी सजाय पाउनु पर्ने जिकिर पनि लिएको देखिन्छ । आत्मरक्षाको जिकिर पुगेको खण्डमा प्रतिवादीले अभियोगदाबीबाट सफाइ पाउने अवस्था रहन्छ । अ.बं. १८८ नं. को राय भनेको ज्यानसम्बन्धीको महलको १३ नं. को कसुरदार ठहरिएकालाई कसुर गर्दाको परिस्थितिको विचार गरेर घटी सजाय गर्ने कानून हो । अ.बं. १८८ नं. को माग गर्नु भनेको आफूबाट उक्त १३ नं. को कसुर भएको हो भन्ने प्रतिवादीको स्वीकारोक्ति हो ।
११. आत्मरक्षाको जिकिर प्रमाणित गर्ने भार सो जिकिर लिने प्रतिवादीमा रहन्छ । तर निजले अदालतमा बयान गर्दा आफ्नो कुनै सबुद प्रमाण नरहेको भनी उल्लेख गरेको अवस्था छ ।
१२. यिनै सब कारणहरूले ज्यानसम्बन्धीको महलको ७ नं. को आत्मरक्षाको प्रतिरक्षा पुनरावेदक प्रतिवादीको हकमा आकर्षित गर्न मिल्ने देखिँदैन ।
१३. अतः सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी पुनरावेदक प्रतिवादी जग्गे भन्ने जगतबहादुर भण्डारीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसुर गरेको ठहराई वारदात हुँदाको अवस्थामा प्रतिवादी १६ वर्षभन्दा कम उमेरका भएकाले प्रतिवादीलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं. बमोजिम १० दश वर्ष कैद सजाय हुने र सोही ऐनको दफा १५ बमोजिम प्रतिवादीलाई बाल सुधार गृहमा पठाउने ठहराएको समेतको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।९।२५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ ।
१४. प्रतिवादीलाई मुलुकी ऐन, अ.बं. १८८ नं. को राय लगाउनु पर्ने हो कि भन्ने हकमा उक्त अ.बं. १८८ नं. सर्वस्वसहित जन्मकैद वा जन्मकैद भएका प्रतिवादीको हकमा मात्र आकर्षित हुने कानूनको रूपमा निर्माण भएको देखिन्छ । यी प्रतिवादीलाई १३(१) नं. को कसुरदार कायम गरेपनि बालबालिकासम्बन्धी ऐन, २०४८ ले नै किन नहोस् जम्मा १० वर्ष कैद भएको अवस्था छ । त्यस अतिरिक्त मृतकको मृत्युको लागि कुनै न कुनैरूपमा मृतक दोषी रहेको देखिनु र प्रतिवादीले गरेको वारदातप्रति समाजले प्रतिवादीप्रति पनि थोरै भएपनि सहानुभूति देखाउनु पर्ने कुरा मिसिलबाट स्पष्ट हुनुपर्छ । मृतकले घर धानेकी र मृतकको मृत्युबाट प्रतिवादीका अन्धा बाबु दाने भण्डारी टुहुरा जस्तै भएको कुरा मिसिलमा भएको निजको कागज र बकपत्रबाट खुल्दछ । मृतकको पति भद्र भण्डारी पनि अकारण आफ्नी पत्नीको ज्यान लिने प्रतिवादीप्रति आक्रोशित छन् । मृतकको पति घरमा नरहेका एक्ली असहाय भाउजूलाई उन्मादी भएर निहूँ खोजी नृशंस तवरबाट धेरै ठाउँमा काटी मारी हत्या गर्ने यी प्रतिवादीलाई उक्त १८८ नं. लाग्ने अवस्था छैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमति छ ।
न्या.ओमप्रकाश मिश्र
इजलास अधिकृत : गेहेन्द्रराज रेग्मी
इति संवत् २०७२ साल मङ्सिर २४ गते रोज ५ शुभम् ।