शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७२३ - ज्यान मार्ने उद्योग

भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११

ने.का.प. २०६८,           अङ्क ११

निर्य नं. ८७२३

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की

संवत् २०६६ सालको CR–०६८७

आदेश मितिः २०६८।५।१२।२

मुद्दा :ज्यान मार्ने उद्योग 

पुनरावेदक प्रतिवादीः गण्डकी अञ्चल कास्की जिल्ला, हेमजा गा.वि.स. वडा नं. ६ बस्ने पदमलाल           त्रिपाठीको छोरा बर्ष २३ को जीतेन्द्र त्रिपाठी

विरुद्ध

प्रत्यर्थी वादीः श्रीराम त्रिपाठीको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.न्या.श्री पवनकुमार शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री खेमराज शर्मा

मा.न्या.श्री चोलेन्द्र शम्शेर ज.ब.रा.

 

§  ज्यान मार्ने उद्योगको अपराधका लागि पनि ज्यान मार्ने सरहकै सवै तत्व विद्यमान देखिनु पर्दछ । केवल तेस्रो पक्षको हस्तक्षेपलगायतका कुनै कारणले ज्यान भने मर्न नपाएको अवस्थामा सो अपराध उद्योग मात्र हुने 

§  मनसायको निर्धारण कार्यको प्रकृतिका आधारबाटै हुने 

§  अरूलाई मार्ने मात्र मनसाय राख्ने व्यक्तिले आफूलाई पनि सोही स्थानमा सोही रुपमा मार्ने प्रयास गर्दैन । अपराध गर्नेले सो उद्देश्य पूरा पनि होस् र आफू कानूनका आँखा छल्न सफल पनि हुन सकियोस् भन्ने सोचाइ राख्दछ भत्रे अपराध मनोविज्ञानको सामान्य सिद्धान्त हो भत्रे कुरा बिर्सेर न्याय गर्न नसकिने 

(प्रकरण नं.४)

§  आफू समेत मर्ने मनसाय र आफू बाहेक अरुलाई मार्ने मनसायमा आधारभूत अन्तर हुन्छ । चोटको गाम्भीर्यता नै मार्ने मनसायको द्योतक हुन नसक्ने 

§  आत्महत्या वा आत्महत्याको प्रयासका सम्बन्धमा आत्महत्या घोषणापत्रको विशेष प्रामाणिक महत्व हुन्छ । आत्महत्या घोषणा पत्रलाई प्रमाणमा लिनु पूर्व सो उद्घोषकर्ताले नै लेखेको, निजले आफूखुशी लेखेको र त्यसमा कसैको कुनै षडयन्त्र नभएको कुरा भने यकीन हुनुपर्ने 

§  पत्रमा अपराध छल्न षडयन्त्र भएको शंका गर्ने ठाउँ नहुनु, मर्नुपर्ने नैराश्यता प्रकट हुनु, नैराश्यका घोषणापत्रमा दर्शाइएका कारण झूठा हुन् भन्ने नदेखिनु, सम्बन्धित व्यक्तिले नै सो घोषणापत्र लेखेकोमा विवाद नहुनु र सम्बन्धित व्यक्तिले स्वेच्छाले लेखेको होइन कि भन्ने शंका गर्नुपर्ने ठाँउ नभएमा त्यो पत्रलाई आत्महत्या घोषणाका रूपमा ग्रहण गर्नुपर्ने 

(प्रकरण नं.५)

§  शरीरमा रहेको घाउहरूको प्रकृतिले मात्र मार्ने मनसाय रहेको प्रमाणित हुँदैन । सामूहिक आत्महत्याको प्रयास भन्ने प्रमाणित हुने अवस्थालाई ज्यान सम्बन्धी महलको १५ नं. को कसूर भनी सजाय गर्न न्यायोचित नहुने 

(प्रकरण नं.१०)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता सरोज प्याकुरेल

प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता मदनबहादुर धामी

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १५ नं.

 

फैसला

न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम निस्सा प्रदान भई यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः

जिल्ला कास्की हेम्जा गा.वि.स. वडा नं. ६ स्थित जीतेन्द्र त्रिपाठीको घर कोठामा प्रतिवादी जीतेन्द्र त्रिपाठीले जीवन त्रिपाठीलाई छुरा हानेको भनी देखाइएको घटनास्थल कोठामा ८ ईञ्च लम्वाईको "KIWI" लेखिएको चक्कु र "BoLom" लेखिएको डिब्बा फेला परेको, उक्त डिब्बाबाट विषादिको गन्ध आइरहेको, खाटको सिरानीमुनि अन्तिम पत्र लेखेको चिठ्ठी फेला परेको, सिरकको खोलमा रगतका टाटाहरू देखिएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का 

जीतेन्द्र त्रिपाठीले मलाई निजको घर कोठामा बोलाई मासु, पेप्सी खान दिएका, सो खाने कुरामा मट्टितेल जस्तो गन्ध आएको थियो, मलाई सो खाने कुरा खाएपछि वाकवाक भई रिंगटा समेत लागेकोले म आफ्नै घरमा जान्छु भन्दा निजले म तिमीलाई पछि घरमा पुर्‍याई दिउँला भनेको हुँदा म जीतेन्द्रको खाटमा सुते, म निदाएको जस्तो भएको अवस्थामा निज जीतेन्द्रले मेरो पेटको भागको कपडामाथि सारी मेरो पेटमा चक्कु प्रहार गरेका हुन्, मैले सो चोट सहन नसकी हारगुहार गर्दा निजले सिरकले मेरो मुख थुनी कागज समेत मेरो मुखमा कोची दिएका थिए भन्ने समेत व्यहोराको घाइते जीवन त्रिपाठीको कागज 

मिति २०६३।७।१३ गते साँझ ६.३० वजेको समयमा हेम्जा गा.वि.स. वडा नं. ६ हनुमान चोकस्थित जीतेन्द्र त्रिपाठीको घर कोठामा निज जीतेन्द्र त्रिपाठीले मेरो छोरा जीवन त्रिपाठीलाई पेटमा छुरा हानी ज्यान मार्ने उद्योग गरेको भन्ने समेत व्यहोराको श्रीराम त्रिपाठीको जाहेरी 

घाइते जीवन त्रिपाठीलाई वारदातपश्चात् उपचारको लागि मणिपाल अस्पताल लैजाने क्रममा म समेत घाइते सँगै रहेको अवस्थामा मैले जीवन त्रिपाठीलाई घटनाको बारेमा सोध्दा जीतेन्द्रले मलाई निजको घरमा बोलाई मासु र पेप्सी खान दिएको, सो खाने कुरा खाएपछि मलाई झुम्म बनाएको, रिंगटा लागेको थियो त्यसपछि म जीतेन्द्रको खाटमा सुतेको अवस्थामा निज जीतेन्द्रले मलाई मेरो पेटमा छुरा प्रहार गरेका हुन् भनी घाइते जीवन त्रिपाठीले बताएका थिए, निजको समयमा नै उपचार व्यवस्था मिलाएको कारण ज्यान बच्न सफल भएको हो भन्ने समेत व्यहोराको पिताम्बर त्रिपाठी र शेषमणि त्रिपाठीको कागज 

घटनास्थलबाट उठाइएको "Revofolie" लेखिएको सिसीको पदार्थ, स्प्राइटको प्लाष्टिकको बोतल, डायरी, रातो मसीले लेखेको चिठ्ठी,   विषादि समेत देखाउँदा उक्त सामानहरू घटनास्थलबाट बरामद भएको देखो चिनो । म र जीवन त्रिपाठी दुवै जनाले सँगै आत्महत्या गर्ने भन्ने सल्लाहबमोजिम थोरै थोरै बिषादि खाई मैले जीवनको पेटमा चक्कु प्रहार गरे, त्यसपछि जीवनले मलाई चक्कु प्रहार गरेका हुन् भन्ने समेत व्यहोराको जीतेन्द्र त्रिपाठीको कागज 

जीवन त्रिपाठीलाई मैले जीतेन्द्र त्रिपाठीको कोठामा घाइते अवस्थामा देखेको हुँ । निजको अवस्था अत्यन्तै गम्भीर भएकोले मुकुन्द त्रिपाठी, शिवमणि त्रिपाठी र दामोदर त्रिपाठी समेतले काठको फल्याक समेतको टेवा दिई उपचारको लागि मणिपाल अस्पताल लगेका हुन् । अस्पताल लैजाने क्रममा जीवनले मलाई जीतेन्द्रले छुरी हानेको हो भनी बताएका थिए । निज जीवनको आन्द्रा भुंडीबाहिर निस्केको थियो । समयमा उपचार पाएको कारण जीवन त्रिपाठीको ज्यान बच्न सफल भएको हो भन्ने समेत व्यहोराको बुझिएका गम्वर सिँह खड्का, दामोदर त्रिपाठी र मुकुन्द त्रिपाठीको कागज 

जीवन त्रिपाठी र जीतेन्द्र त्रिपाठी दुवै जनालाई जीतेन्द्र त्रिपाठीको घर कोठामा घाइते अवस्थामा देखेको हुँ । घटनाको सम्बन्धमा मलाई थाहा भएन भन्ने समेत व्यहोराको शिवमणि त्रिपाठीको कागज 

मिति २०६३।७।१३ गते साँझ अं. ६.३० बजेको समयमा म भान्सा कोठामा रहेको अवस्थामा जीवनले कराएको आवाज सुनी म माथि कोठामा जाँदा कोठा बन्द अवस्थामा थियो । जवर्जस्ती ढोका खोलीभित्र प्रवेश गरी हेर्दा जीवन त्रिपाठी र जीतेन्द्र त्रिपाठीलाई एउटै खाटमा घाइते अवस्थामा देखेको हुँ । जीवनको आन्द्राभुंडी बाहिर निस्केको थियो । सोपश्चात् मैले हारगुहार गरी टोल छिमेकी भेला जम्मा भई निजहरू दुवै जनालाई उपचारको लागि अस्पताल लगेका हुन् भन्ने समेत व्यहोराको घनश्याम त्रिपाठीको कागज 

प्रतिवादीहरूको समान प्रकृतिको घा जाँच केश फाराम हेर्दा पूर्व सल्लाहबमोजिम एक अर्कालाई ज्यान मार्ने मनसायले नै मिति २०६३।७।१३ गते प्रतिवादी जीतेन्द्र त्रिपाठीको घरमा कोही नभएको मौका पारी दुवै प्रतिवादीले वियर, मासु र विषादि समेत खाई पहिला जीतेन्द्र त्रिपाठीले जीवन त्रिपाठीलाई चक्कुले पेटमा हानेको र सोही चक्कुले जीवनले सोही वखत जीतेन्द्र त्रिपाठीको पेटमा हानेको भन्ने प्रतिवादी जीतेन्द्र त्रिपाठीको अनुसन्धानको क्रममा वयान, घा जाँच केश फाराममा उल्लिखित पेटमा लागेको दुवै घाइतेको चोट मर्ने अवस्थासम्मको भएको र बेलैमा उपचार पाएका कारण यी प्रतिवादी बाच्न सफल भएको हो भन्ने तथ्य मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि हुन आयो । तर, प्रतिवादी जीवनले कागज गरेमुताविक निजलाई जीतेन्द्रले चक्कुले हानेपछि सोही चक्कुले आफूलाई समेत आफैँले जीवनले हानेको हो भनी गरेको कागज अन्य प्रत्यक्षदर्शीहरूको अभावमा पुष्टि हुन सकेन र प्रतिवादी जीतेन्द्रले जीवनलाई चक्कु हानेपछि सोही चक्कुले आफूलाई हान्न पर्ने अवस्था समेत नदेखिँदा र यी प्रतिवादीहरूले एकअर्कालाई बिना रिसइवी मार्नेसम्मको कार्य पूर्व सल्लाहबमोजिम गरेको तथ्य मिसिल संलग्न प्रतिवादी जीतेन्द्र त्रिपाठीले लेखेको अन्तिम पत्र समेतको कागजातबाट पुष्टि हुन आएकाले निज प्रतिवादीद्वयको सो कार्य मुलुकी ऐन ज्यानसम्बन्धीको १ र १५ नं. मा वर्णित कसूर अपराध भएको पुष्टि हुन आएकोले सोही महलको १५ नं. बमोजिम प्रतिवादी जीतेन्द्र त्रिपाठी र जीवन त्रिपाठीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र 

म र जीवन मिल्ने साथी भएको, ऊ एस. एल. सी. फेल भएको म आफ्नै श्रीमतीका कारण विरक्त भएका थियौं । हामी दुवै जनाले एकआपसमा सल्लाह गरी आत्महत्या गरी मर्ने योजना बनाएका थियौं । सोही योजनाबमोजिम मिति २०६३।७।१३ गतेका दिन ४ वजेको समयमा सँगै बसी मासु बियर खायौं, स्प्राइटमा बिष मिसाएर दुवै जनाले खायौं । त्यसपछि दुवै जनालाई वमीट भयो । हाम्रो मर्ने स्थिति देखिएन । भाई स्कूलबाट आएर दाई भोक लाग्यो भनी बोलाउन थाल्यो । बाँकी रहेको मासु भाईलाई देऊ र चक्कु लिएर आइजा भनी जीवनले भनेकाले मैले भाईलाई मासु खान दिएँ र पसलतिर पठाएँ । कोठाबाट तरकारी काट्ने छुरी लिएर कोठामा आएँ । त्यसपछि उक्त चक्कुले जीवनले खाटमा सुतेर टीसर्ट माथि सारेर आफैँले आफ्नो पेटमा हान्यो । मैले त्यस्तो देखेपछि बाँकी विष सबै पियर मैले पनि जीवन सुतेको खाटमा गएर म आफैँले जीवनको पेटमा गाडेको छुरी तानेर मेरो पेटमा हानेको हुँ । मैले अभियोग माग दावीबमोजिमको कुनै कसूर अपराध गरेको होइन । म निर्दोष छु सफाइ पाऊँ भन्ने समेत प्रतिवादी जीतेन्द्र त्रिपाठीले शुरु अदालतमा गरेको बयान 

मिति २०६३ कार्तिक १३ गते म मेरो अङ्कलको घरमा काम गरिरहेको बेलामा जीतेन्द्र त्रिपाठी आएर उसले मलाई आफ्नो घरमा जाऊँ भनी बोलाएर लगे । निजले मलाई मासु खाऊँ भनी भने र मैले १ पीस मात्र खाएको थिएँ । त्यो मासुमा निकै मट्टितेल गनाएको थियो र मैले उसलाई त्यो मासु खाँदिन भन्दा खाऊँन केही पनि हुँदैन भन्दै आफूले झिक्दै खादैँ गर्‍यो र मैले १/२ पीस मात्र खाएको थिएँ । टाउको दुख्न थाल्यो । मैले स्प्राइट खाऊँ भन्दा उसले मलाई वियर पनि खाऊ भनेर दियो र मलाई वान्ता भयो । मैले घर जान्छु भन्दा म लगिदिउँला भनी भन्यो र उसको खाटमा सुतेको थिए । त्यसैबेला उसले मेरो टिसर्ट माथि तान्यो त्यतिवेला मलाई घुमाइरहेको थियो र मेरो पेटमा छुरी हान्यो र मैले तलाई के गरेको थिएँ र तैले मलाई यसो गरिस् भनी सोध्दा उसले मलाई तिमी र म सँगै मर्ने भनेर यसो गरेको हुँ भनी उसले मलाई भन्यो र आफ्नो पेटमा छुरी हानेछ र बिष खाएछ र फेरि माथि खाटमा आएर मेरो कानमा बिष हालिदियो र मलाई मेरो हात समाती भन्यो तिमी र म सँगै मर्ने त्यसैले मैले पनि छुरी मेरो पेटमा हानेको छु। छामत   भनी मेरो हात उसको पेटमा लग्यो र मैले छाम्दिन भनी हात तल झारो र ऊ जव नबोल्ने भयो तव मैले उसको घरमा तल उसका परिवारको आवाज सुनेको थिएँ । मैले जीतेन्द्रलाई ज्यान मार्ने उद्देश्यले छुरी हानेको होइन । मैले कुनै अपराध गरेको छैन । अभियोग दावीबमोजिम सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको जीवन त्रिपाठीले कास्की जिल्ला अदालतमा गरेको बयान 

प्रतिवादी जीतेन्द्र त्रिपाठीले जीवन त्रिपाठीलाई धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने उद्देश्यले प्रहार गरेको र मौकामा उपचार पाएकै कारण ज्यान बचेको पाइँदा प्रतिवादी जीतेन्द्र त्रिपाठीले अभियोग मागदावीको कसूर गरेको ठहर्छ । निज जीतेन्द्र त्रिपाठीलाई ज्यानसम्बन्धीको १५ नं.बमोजिम ५ बर्ष कैद हुने ठहर्छ र प्रतिवादी जीवन त्रिपाठीले छुरी हानेको भन्ने पुष्टि हुन नआएकोले निजले अभियोग मागदावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु कास्की जिल्ला अदालतको मिति २०६५।५।२३ को फैसला 

यी प्रतिवादीहरू दुवै जना आपसी सहमतिबाट मार्ने मर्ने सहमत भै विष सेवन र छुरा प्रहारको घटना घटाएको पुष्टि भैरहेको अवस्थामा जीतेन्द्र त्रिपाठीलाई मात्र सजाय गरी प्रतिवादी जीवन त्रिपाठीलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादी जीवन त्रिपाठीलाई पनि अभियोग मागदावीबमोजिमको सजाय गर्नुपर्नेमा नगरेको हकमा चित्त बुझेन तसर्थ जीवन त्रिपाठीलाई सफाइ भएको फैसला सो हदसम्म बदरभागी हुँदा बदर गरी अभियोग मागदावीबमोजिम नै सजाय गरिपाऊँ भन्ने समेत ब्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र 

हामी जीवन त्रिपाठी र जीतेन्द्र त्रिपाठीले आत्महत्या गर्न खोजी घटेको घटनामा मलाई दोषी करार गरी ५ वर्ष कैद सजाय हुने गरी गरेको कास्की जिल्ला अदालतको मिति २०६५।५।२३ को फैसला न्यायिक मनको अभावबाट भएको हुँदा फैसला बदर गरी मलाई टस्सफाइ दिलाई पाऊँ भन्ने समेत ब्यहोराको प्रतिवादी जीतेन्द्र त्रिपाठीले पुनरावेदन अदालतमा गरेको पुनरावेदन पत्र 

प्रतिवादी जीतेन्द्र त्रिपाठीले जीवन त्रिपाठीलाई छुरा प्रहार गरी मृत्युको मुखमा पुर्‍याएको अवस्थामा तत्काल उपचार पाएकै कारणले मात्र बाच्न सफल भएको हुँदा प्रतिवादी जीतेन्द्र त्रिपाठीको कार्य मुलुकी ऐन ज्यानसम्बन्धीको १ र १५ नं. बमोजिम कसूर कायम गरी सजाय हुन मागदावी भएको प्रस्तुत मुद्दामा जाहेरी व्यहोरा, प्रतिवादी जीवन त्रिपाठीको बयान, मौकामा भएको घनश्याम त्रिपाठीको कागज समेतबाट प्रतिवादी जीवन त्रिपाठीले तत्काल उपचार पाएकै कारणले मात्र ज्यान बच्न सकेको, एकआपसमा मर्ने सल्लाह भएको भनी प्रतिवादीहरूले मिति २०६३।७।१३ मा लेखेको अन्तिम पत्रमा खुलाइएको भए तापनि प्रतिवादी जीतेन्द्र त्रिपाठीले प्रहार गरेको छुरा प्रहारबाट जीवन त्रिपाठी घाइते भएका र मौकामा उपचार पाएकै कारणले बाच्न सफल भएको देखिएको छ । आत्महत्याको सामूहिक प्रयास भनी निजहरूको अन्तिम पत्रमा जनिए तापनि प्रतिवादी जीतेन्द्रको प्रहारबाट जीवन त्रिपाठीको मरणासन्न अवस्था बनेको प्रतिवादी जीवनले उक्त प्रयासमा सक्रियता जनाएको मिसिलबाट नदेखिएको अवस्थामा प्रतिवादी जीतेन्द्रउपर ज्यान मार्ने उद्योगमा जाहेरी परी कारवाही चलेको र अनुसन्धानबाट जाहेरीअनुसार प्रतिवादी जीतेन्द्रले प्रहार गरेको छुरा प्रहारबाट जीवन त्रिपाठीको मरणासन्न अवस्था सिर्जना भै तत्काल उपचार पाएकै कारणले मात्र बाच्न सफल भएको देखिएको अवस्थामा शुरु कास्की जिल्ला अदालतले मिति २०६५।५।२३ मा फैसला गर्दा प्रतिवादी जीतेन्द्र त्रिपाठीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १ र १५ नं. को कसूर ठहर गरी ५ वर्ष कैदको सजाय हुने गरी गरेको फैसलालाई अन्यथा भन्न मिलेन । शुरु कास्की जिल्ला अदालतको मिति २०६५।५।२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी जीवन त्रिपाठीको पनि जीतेन्द्र त्रिपाठीलाई मार्ने मनसाय देखिएको भनी प्रतिवादी जीवन त्रिपाठीलाई सजाय हुनुपर्छ भनी गरेको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत ब्यहोराको पुनरावेदन अदालत पोखराको फैसला 

म निवेदकको प्रतिवादी जीवन त्रिपाठीलाई मार्ने मनसाय थिएन । मनसायरहित र दुवै जनाको आत्महत्या गर्ने योजनालाई गुमराहमा पारी बिना रिसइवी मैले चक्कु प्रहार गरेको भन्नु सर्वोच्च अदालतबाट नेकाप २०५१, अङ्क १२ नि.नं. ५०१७ पृष्ठ ९४५ मा प्रतिपादित सिद्धान्तप्रतिकूल हुँदा प्रस्तुत फैसला बदर गरिपाऊँ । प्रस्तुत घटनाको प्रत्यक्षदर्शी हामी प्रतिवादी दुई जनाबाहेक अन्य कोही छैनन् । बुझिएका व्यक्तिले घटना घटी दुवै जना वेहोस भएपश्चात् देखेको अवस्था हो । हाम्रो होस घटनापश्चात् हस्पिटलमा मात्र आएको हो । चोट दुवैको समान छ, जुन तथ्य घा जाँच केश फारामले प्रष्ट पारेको छ । दुवैले विष खाएका छौं, जुन प्रमाणमा ग्रहण गरिएन । दुवै जनाले तत्काल उपचार नपाएको भए दुवै जना मर्ने थियौं । जीवन ३ दिनपछि वयान गर्न सक्षम भएका छन् । मेरो ८/९ दिनमा होस आएको छ । यी मिसिलबाट पुष्टि भएको तथ्य एकआपसमा आआफूलाई हानेको विषयमा प्रतिवादी जीवनलाई सफाइ र मलाई दोषी करार हुने गरी भएको शुरु एवं पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । समान रुपको घटनाक्रम, समान केश फाराम, मेरै घरमा घटना घटेको, घटनाको प्रकृति, बुझिएका व्यक्ति प्रत्यक्षदर्शी नभएका, सुनी जान्ने प्रमाण प्रमाणको रुपमा नरहने, मेरो कलिलो उमेर भएको समेतको स्थितिमा प्रमाण, कानून र नजीरको मूल्याङ्कन नभई कास्की जिल्ला अदालतले ५ वर्ष कैद हुने गरी गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण हुँदा उक्त त्रुटिपूर्ण फैसला बदर गरी निवेदन जिकीरवमोजिम गरी इन्साफ गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी जीतेन्द्र त्रिपाठीले यस अदालतमा प्रस्तुत गरेको मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदन पत्र 

यसमा प्रतिवादी जीतेन्द्र त्रिपाठीले प्रतिवादी जीवन त्रिपाठीसमेत भई सँगै आत्महत्या गर्ने प्रयास गरेको भनी अदालतमा समेत बयान गरेको र पुनरावेदन अदालत पोखराको फैसलामा समेत प्रतिवादीहरूले मिति २०६३।७।१३ का दिन सामूहिक आत्महत्याको प्रयास असफल भएको भन्ने उल्लेख गरेको देखिन्छ । प्रतिवादी जीवन त्रिपाठीको भनाईमा निजलाई प्रतिवादी जीतेन्द्र त्रिपाठीले छुरा प्रहार गरेको भनेको र जीतेन्द्र त्रिपाठीले प्रतिवादी जीवन त्रिपाठीले आफैँ छुरा हानेको भनेको भई कसले प्रहार गरेको भन्ने कुराको सवूद प्रमाणको मूल्याङ्कनमा यकीन निर्णय गरेको नदेखिएको र सामूहिक आत्महत्या असफल प्रयास गरेको भए प्रतिवादीमध्येका एक जनालाई सफाइ दिई निवेदक प्रतिवादी जीतेन्द्र त्रिपाठीको हकमा मात्र कसूर कायम गरी सजाय गर्ने गरेको निर्णयमा मुलुकी ऐन अ. वं. १८४, १८५ नं. प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को त्रुटि विद्यमान देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने मिति २०६७।१।१० को यस अदालतको आदेश 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी जीतेन्द्र त्रिपाठीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सरोज प्याकुरेलले जीवन त्रिपाठीको वयान बाझिएको कारण प्रमाणयोग्य नभएको, प्रतिवादीहरू जीवन र जीतेन्द्र दाजुभाइ र सहपाठी भएका, अपराध देख्ने चश्मदिद गवाह कोही नभएको, समान अपराध गरेकोमा प्रतिवादी जीतेन्द्रलाई मात्र सजाय गर्नु न्यायसंगत नहुँदा पुनरावेदन अदालतको फैसला उल्टी भै प्रतिवादी जीतेन्द्र त्रिपाठीले सफाइ पाउनु पर्छ भनी गर्नु भएको बहस र प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री मदनबहादुर धामीले वारदात जीतेन्द्रको घरमा भएको छ । अपराध को कसले गरेको हो भन्ने तर्फ हेर्दा सो प्रतिवादी जीतेन्द्रले गरेको भन्ने देखिएको हुँदा पुनरावेदन अदालतवाट भएको फैसला सदर हुनुपर्छ भनी गर्नुभएको बहस समेत सुनियो 

यसमा दुवै जना प्रतिवादीबीच पूर्व रिसइवी नभएको, मार्ने मनसाय नभएको, समान स्थितिका प्रतिवादीमध्ये एकलाई सजाय र अर्कालाई सफाइ दिइनु अन्यायिक रहेको, प्रत्यक्षदर्शी कोही नभएको अवस्थामा कानून र नजीरको मूल्याङ्कन नभई भएको पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्ने भन्ने मुख्य पुनरावेदन जिकीर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पोखराले गरेको फैसला मिलेको छ, छैन र पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्ने हो, होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो 

२. निर्णयतर्फ विचार गर्दा यस मुद्दामा रहेका केही निर्विवाद तथ्यहरूमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्था छ । यहाँ दुवै प्रतिवादी जीतेन्द्र र जीवनको घा जाँचबाट दुवैको अवस्था मर्नेसम्मको छ, दुवैका शरीरमा गम्भीर घाउहरू छन्, दुवै बन्द कोठाभित्र एउटै खाटबाट घाइते अवस्थामा अपस्पताल पुर्‍याइएका छन्, निजहरू घाइते अवस्थामा रहेको कोठाबाट चक्कु (छुरी) विषादिको डिब्बा र सिरानीको मुन्तिरबाट अन्तिम पत्र लेखिएको चिठ्ठी वरामद भएको छ । दुवैको घाउको प्रकृति लगभग समान छ । दुवै साथी हुन् र एकले अर्कालाई मार्नुपर्ने कारण केही छैन । जीवनलाई सफाइ दिए विरुद्ध वादीको यस अदालतमा कुनै चुनौती छैन । निर्विवाद तथ्यहरूको यस पृष्ठभूमिमा प्रतिवादीहरू जीवन र पुनरावेदक जीतेन्द्रलाई ज्यानसम्बन्धी महलको १५ नं. को मूल अभियोग रहेको छ 

३. ज्यानसम्बन्धी महलको १५ नं. को व्यवस्था हेर्दा, “ज्यान मार्ने मनसायले गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्ने वा मार्नका लागि अरु जुनसुकै उद्योग गरी मर्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गै वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि वाह्र वर्षसम्म कैद गर्नुपर्छभन्ने कानूनी व्यवस्था भएको पाइन्छ । यही कानूनी व्यवस्थाका सन्दर्भमा प्रतिवादी जीतेन्द्र त्रिपाठीको अर्का सफाइ पाएका प्रतिवादी जीवन त्रिपाठीको ज्यान मार्ने मनसाय सवूद प्रमाणको रोहमा रहे नरहेको निर्क्यौल गर्नुपर्ने अवस्था छ 

४. मनसाय अपराधको महत्वपूर्ण कडी हो । मनसायकै आधारमा अपराध निर्क्यौल हुन्छ । ज्यान सम्बन्धी महलको १५ नं. ले पनि कसैको ज्यान मार्ने मनसायले गरिने उद्योगलाई अपराध घोषित गर्दै त्यस्तो अपराध गर्नेलाई सजायको व्यवस्था गरेको छ । ज्यान मार्ने उद्योगको अपराधका लागि पनि ज्यान मार्ने सरहकै सवै तत्व विद्यमान देखिनु पर्दछ । केवल तेस्रो पक्षको हस्तक्षेपलगायतका कुनै कारणले ज्यान भने मर्न नपाएको अवस्थामा सो अपराध उद्योग मात्र हुने हो । मनसायको निर्धारण कार्यको प्रकृतिका आधारबाटै हुने हो । प्रस्तुत विवादको प्रकृति हेर्दा सो कार्य एक प्रतिवादीले अर्को प्रतिवादीलाई ज्यान मार्ने मनसाय राखी भएको छ वा दुवै जनाले आत्महत्या गर्ने उद्देश्यले अभिप्रेरित छ भत्रे कुराको निरोपण गर्नुपर्ने भएको छ । यसतर्फ विचार गर्दा जीवन त्रिपाठीलाई मार्ने नै मनसायले पेटमा छुरी प्रहार भएको भए पुनरावेदक प्रतिवादी जीतेन्द्रलाई पनि सोही प्रकृतिको चोट लाग्नु पर्ने कुनै कारण वादीले देखाउन सकेको छैन । यी पुनरावेदक समेतलाई पनि पेटमा छुरी प्रहारकै मर्ने सम्मको चोट रहेको तथ्य मिसिलबाट पुष्टि हुन्छ । व्यक्तिले झूठो बोल्न सक्दछ, तर चोटले झूठो वर्णन गर्न जान्दैन । यस अवस्थामा प्रतिवादीहरू मध्ये कसको कुन भनाई प्रमाणबाट सत्यको निकट छ भन्ने कुरा निर्णयकर्ताले निधो गर्नुपर्ने हुन्छ । आत्महत्या गर्ने उद्देश्यले नै योजना बनाई मासु र विषादि सेवन गरिएको कुरा आत्महत्या गर्ने तैयारीका रुपमा रहेको कुरा घटनास्थलबाट वरामद आत्महत्या घोषणा (Suicide Note) ले पुष्टि गरिरहेको छ । विषादि सेवन अप्रभावकारी भएपछि चक्कु (छुरी) प्रहार भई दुवै जना गम्भीर अवस्थामा घाइते भएको कुरा सफाइ पाएका प्रतिवादी जीवन त्रिपाठीको अदालत समेतमा व्यक्त भएको कथनबाट पुष्टि हुन्छ । जीवन त्रिपाठीलाई लागेको घाउचोटलाई मुख्य रूपमा आधार मानेर प्रतिवादीमध्येका यी पुनरावेदकलाई ज्यान मार्ने उद्योग ठहर भएको छ तर सोही प्रकृतिको घाउ पुनरावेदक जीतेन्द्र त्रिपाठीलाई पनि सोही बेला लागेको छ भन्ने कुरालाई निर्णय गर्दा जानकारीमा लिइएको पाइत्र । अरूलाई मार्ने मात्र मनसाय राख्ने व्यक्तिले आफूलाई पनि सोही स्थानमा सोही रुपमा मार्ने प्रयास गर्दैन । अपराध गर्नेले सो उद्देश्य पूरा पनि होस् र आफू कानूनका आँखा छल्न सफल पनि हुन सकियोस् भन्ने सोचाइ राख्दछ भत्रे अपराध मनोविज्ञानको सामान्य सिद्धान्त हो भत्रे कुरा बिर्सेर न्याय गर्न सकिँदैन 

५. आफू समेत मर्ने मनसाय र आफू बाहेक अरुलाई मार्ने मनसायमा आधारभूत अन्तर हुन्छ । चोटको गाम्भीर्यता नै मार्ने मनसायको द्योतक हुन सक्दैन । प्रस्तुत विवादमा यी पुनरावेदकको कार्यमा रहेको मनसाय तत्व निर्धारण गर्न अन्तिम पत्र भनी लेखिएको पत्रको विश्लेषण गर्नुपर्दछ । आत्महत्या वा आत्महत्याको प्रयासका सम्बन्धमा आत्महत्या घोषणापत्रको विशेष प्रामाणिक महत्व हुन्छ । आत्महत्या घोषणा पत्रलाई प्रमाणमा लिनु पूर्व सो उद्घोषकर्ताले नै लेखेको, निजले आफूखुशी लेखेको र त्यसमा कसैको कुनै षडयन्त्र नभएको कुरा भने यकीन हुनु पर्दछ । यो पत्र कृत्रिम हो भन्न सकिने अवस्था छैन । यो घाइतेहरूको कोठाभित्र सिरानीमुनिबाट बरामद भएको छ । यो पत्र जीवन त्रिपाठीको ज्यान लिई आत्महत्याको रुपमा भ्रम सिर्जना गर्ने उद्देश्यले पुनरावेदक प्रतिवादी जीतेन्द्र त्रिपाठीबाट षडयन्त्रपूर्वक तयार भएको मान्न सकिने अवस्था पनि छैन । कारण एउटा प्रतिवादीले अर्को प्रतिवादीको ज्यान लिनुपर्ने कुनै कारण छैन । यति मात्र नभई पत्रमा एकजना प्रवेशिकामा दुईपटक अनुत्तीर्ण भएको र अर्को प्रतिवादीको श्रीमतीसँग पारिवारिक समस्या रहेको तथ्य बनावटी हो भन्ने कतैबाट देखिँदैन । पत्रको व्यहोराले नै यो स्वाभाविक र सहज देखा पर्दछ । पत्रमा अपराध छल्न षडयन्त्र भएको शंका गर्ने ठाउँ नहुनु, मर्नुपर्ने नैराश्यता प्रकट हुनु, नैराश्यका घोषणापत्रमा दर्शाइएका कारण झूठा हुन् भन्ने नदेखिनु, सम्बन्धित व्यक्तिले नै सो घोषणापत्र लेखेकोमा विवाद नहुनु र सम्बन्धित व्यक्तिले स्वेच्छाले लेखेको होइन कि भन्ने शंका गर्नुपर्ने ठाँउ नभएमा त्यो पत्रलाई आत्महत्या घोषणाका रूपमा ग्रहण गर्नुपर्ने हुन्छ । यी सबै कसीको विद्यमानताले प्रस्तुत मुद्दामा अन्तिम पत्र भनिएको लिखतले आत्महत्या घोषणा (Suicide Note) को रूपमा हुनुपर्ने सबै प्रकृतिलाई समेटेको छ । आत्महत्या सफल नहुनु अर्को कुरा हो, तर यो पत्रको प्रामाणिक महत्वलाई स्वीकार नगर्नु प्रमाणको मूल्याङ्कनमा देखिएको गम्भीर कमजोरी हो 

६. चार पृष्ठको उक्त पत्र हामी दुवै जना सल्लाह गरेर आफैँ आत्महत्या गरेका हौँ, यसमा कसैलाई शङ्का मान्नु पर्दैन । आफूखुशी आत्महत्या गर्‍यौंभनी शुरु भएको छ । पत्रका केही अनुच्छेद् निम्नानुसार छन्ः

आमा वुवा छरछिमेकका दाजुभाइ दिदी वहिनी एवं साथीहरूमा हामि अभागी भनौ कि पापि (जीवन, जीतेन्द्र) दुइ जनाको तर्फवाट सवैलाई अन्तीम सम्झना, हामि मोर्नुको कारण फरक फरक छ तर दुवै जनाको हृदयमा चोट लागेर हामिले सल्लाह गरेर यो वाटो अंगालेका हौ त्यसको लागि हामी दुवैको आमा बुबासँग माफी माग्न चाहन्छौ । आज हामि जस्ता आफ्नै चाहना र आफ्नै कारणवाट आफ्नो प्राण फाल्ने नालायकलाई सम्झिएर रुन वेकाम छ । के गर्नु विवशताले गर्दा नालायक बन्नु पर्‍यो अनि नचाहँदा नचाहँदै आत्महत्या गर्न वाध्य हुनु पर्‍यो । हामि के कारणले गर्दा आत्महत्या गर्न वाध्य भयौ भन्ने कुरा त दुवै जनाको आमा बुबाहरूलाई थाहा छ हामिलाई कस्तो कस्तो पिर परेको छ भन्ने कुरा त यथावत् सवै गाउँलेलाई थाहा छ । एउटालाई विवाह गरेर निस्किएको पिर एउटालाई दुइ दुइ चोटी  मा फेल भएको पिर यस्तै यस्तै कारण अनि समाजमा तिरष्कृत र वेइजती भएर वाँच्न नसक्ने अवस्था भएपछि हामिले यो अवस्था अगाल्न पुगेका हौ । विन्ती छ सवैलाई हामि दुवै जनालाई एउटै चितामा जलाउनु होला किनभने हामि एक साथ प्राण फालेपछि एकैसाथ सँगै जल्न चाहन्छौ यदि छुट्टै जलाउनु भयो भने तपाइहरूलाई जस्तो ठूलो पाप कसैलाई पनि लाग्ने छैन । हाम्रो इच्छा पूरा नभय पनि यो इच्छा पूरा गरिदिनुहोस् विन्ती छ 

जीवनः अहिले त दुइ दुइ पटक फेल भए अब म कहिल्यै पनि S.L.C. पास हुन सक्ने भइन किनकी अहिले एउटा विषय दिदा फेल भएको अर्को बर्ष सवै दिंदा हुनि भन्ने मलाई आँसै छैन न पढ्न सके न केही काम जान्दछु, न पढाइ न काम मेरो जिन्दगी वेहाल अनि डुल्ने वाहेक केही भएन झन अहिलेत वरिपरिका सबै ऋबmउगक  जाने अझ आफूभन्दा सानी वहिनी Campus जाने मलाई त झन धिकार लाएर आयो । त्यही भएर आत्महत्या गर्न पुगे त्यसको लागी म आफै विवश छु 

जीतेन्द्र : सानो उमेरमा विवाह गर्नाले अनी भने जस्ती र सोचे जस्ती श्रीमती नपर्नाले आज यो हालतमा पुग्नु पर्‍यो । आमा यति सानो उमेरमा समाज अनि साथिहरूका अगाडि वेइज्जत बनाउने कलङ्किनी श्रीमती भएको कारण निर्दोष भएर पनि समाजमा दोषि हुन पुगे सवै सामु नराम्रो हुन पुगे एउटी इज्जत नभएकी अनी सोचाइ नभएकी छोटो चित्त भएकी आइमाइले गर्दा, यो आइमाइलाई मेरो क्रिया पनि गर्न नलगाउँनु त्यसले पहिलेनै मलाई मारिसकेकी छ 

७. उपरोक्त पत्रांसले वारदातलाई विशुद्ध आत्महत्याको लागि भएको प्रयास देखाउँछ । ज्यान मार्ने उद्योगको तत्व यस पत्रबाट सो घटनामा देखा पर्दैन । एक्लो पत्रमात्र प्रस्तुत भएको नभई सोमा वर्णित तथ्यहरू पुष्टि हुने आधार प्रमाण पनि भए सो घोषणाले प्रमाणहरूको समूहमा महत्वपूर्ण स्थान ओगट्दछ 

८. प्रस्तुत विवादमा एक्लो पत्र मात्र नभएर सोलाई पुष्टि गर्ने पुनरावेदक समेतलाई लागेका चोटहरू घा जाँचमा उल्लिखित छन् । यी चोटहरू झूठा हुन सक्दैनन् । पुनरावेदक जीतेन्द्रका शरीरका चोटलाई विशेषज्ञ डाक्टरले निम्नानुसार उल्लेख गरिदिएको पाइन्छः

घाउको प्रकारः "4.5 cm Size"

Type of injury:– "अङ्गभङ्ग"

प्रयोग गरिएको हतियारः "Sharp single edged weapon (Knife)"

विरामीको अवस्थाः "Unconscious and in shock"

मर्ने वा नमर्नेः "Fatal"

जीवन त्रिपाठीको चोटको प्रकृति पनि निम्नानुसार छः

घाउको प्रकारः "4.5 Cm."

Type of injury: "अङ्गभङ्ग"

प्रयोग गरिएको हतियारः "Sharp single edged weapon (Knife) "

विरामीको अवस्थाः "Pt. was Unconscious and in shock"

मर्ने वा नमर्नेः "Fatal"

 

            ९. पुनरावेदकलाई लागेका चोट जीवन त्रिपाठीको प्रहारबाट भएका हुन् वा होइनन् भन्ने कुराले महत्व राख्दैन । ती चोटको प्रकृतिले नै वारदातको उद्देश्य र प्रकृतिका विषयमा प्रकाश पार्दछ 

            १०. पुनरावेदक जीतेन्द्र त्रिपाठीको शरीरमा रहेको उपरोक्त घाउहरूको प्रकृतिले निजको जीवन त्रिपाठीलाई मात्र मार्ने मनसाय रहेको प्रमाणित हुँदैन । पुनरावेदक स्वयं पनि मर्न उद्यत रहेको उल्लिखित पत्रका अतिरिक्त निजको शरीरका यी चोटहरूले समेत प्रकट गर्दछ । तसर्थ सामूहिक आत्महत्याको प्रयास भन्ने प्रमाणित हुने अवस्थालाई ज्यान सम्बन्धी महलको १५ नं. को कसूर भनी पुनरावेदकलाई सजाय गर्न न्यायोचित देखिएन 

११. जहाँसम्म जिल्ला र पुनरावेदन अदालतले जीवन त्रिपाठीलाई प्रहार गर्ने व्यक्ति यी पुनरावेदक रहेको भनी निजलाई मात्र ज्यान मार्ने उद्योगको कसूरदार मानी सजाय गरिएको अवस्था छ, त्यो प्रमाणसंगत देखिंदैन । प्रहार गरिएको भनिएको हतियारको विँडको हस्तरेखा परीक्षण भई त्यो जीतेन्द्र त्रिपाठीसँग मात्र मिल्ने देखिएको अवस्था छैन । वारदात हुँदा अन्य प्रत्यक्षदर्शी कोही छैनन् । जीवन त्रिपाठीको भनाईमा एकरुपता पाइन्न । जीवन त्रिपाठीलाई पनि वादीले प्रतिवादीका रुपमा अभियोग लगाएवाट निजको हैसियत सहअभियुक्तको हुन पुगेको छ । सहअभियुक्तको कथन अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएसम्म कुनै पनि मूल्यको प्रमाण हुन सक्दैन । अनुसन्धान अधिकारी तथा अदालतसमक्ष जीवन त्रिपाठीका कथनमा देखिएको आधारभूत अन्तर नै ती सत्यभन्दा आवेग र वनावटीपनको प्रतीक देखा परेका छन् । अनुसन्धान अधिकारी र अदालतसमक्ष भएको निज जीवन त्रिपाठीको कथनमा देखा परेका अन्तर विरोधले ती दुवैलाई अविश्वसनीय बनाएको छ । पुनरावेदक जीतेन्द्र त्रिपाठी अदालतमा समेत सामूहिक आत्महत्याको प्रयासमा सावित रहेको पाइन्छ । घटनाका पछाडि रहेका कारणले नै अपराधको प्रकृति निर्धारण गर्दछ । मिसिल संलग्न आत्महत्या घोषणा पत्र र दुवै प्रतिवादीका शरीरमा रहेका घाउ चोटको प्रकृति र अनुसन्धानकर्ताले जीतेन्द्र र जीवन दुवैलाई समान रुपमा कसूरदार रहेको मानी अभियोग पत्र दायर गरिरहेको अवस्था समेतमा विचार गर्दा पुनरावेदक जीतेन्द्र त्रिपाठीले ज्यान सम्बन्धी महलको १५ नं. को कसूर गरेको ठहर गर्न न्यायसंगत देखिएन । तसर्थ पुनरावेदन अदालतबाट भएको मिति २०६६।३।८ को फैसलामा प्रतिवादी जीवन त्रिपाठीलाई सफाइ दिइएविरुद्ध नेपाल सरकारको कुनै चुनौती नरहेबाट सोतर्फ केही बोलिरहन परेन । प्रतिवादी जीतेन्द्र त्रिपाठीका हकमा सो फैसला उल्टी भै पुनरावेदक प्रतिवादी जीतेन्द्र त्रिपाठीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नू 

 

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरु कास्की जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको फैसला केही उल्टी भई प्रतिवादी जीतेन्द्र त्रिपाठीले सफाइ पाउने ठहरी फैसला भएकोले प्रतिवादी जीतेन्द्र त्रिपाठीलाई ५ वर्ष कैद हुने ठहराई कास्की जिल्ला अदालतले राखेको कैदको लगत कट्टा गरी दिनु भनी शुरु कास्की जिल्ला अदालतमा लेखी पठाई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.प्रा.डा.भरतबहादुर कार्की

 

इति संवत् २०६८ साल भदौ १२ गते रोज ६ शुभम्

इजलास अधिकृतः विष्णु अवस्थी 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु