निर्णय नं. ९५६२ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा.
फैसला मिति : २०७२।१०।२८।५
मुद्दा : कर्तव्य ज्यान
०७०-CR-०२१२
पुनरावेदक / वादी : पर्वत जिल्ला हुवास गा.वि.स. वडा नं.६ बस्ने रघुनाथ न्यौपानेसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : गुल्मी जिल्ला बलीथुम गा.वि.स. वडा नं.२ बस्ने संगिता भन्ने सम्झना क्षेत्री बोहरा
०६९-CR-०७३८
पुनरावेदक / प्रतिवादी : गुल्मी जिल्ला बलीथुम गा.वि.स. वडा नं.२ बस्ने संगिता भन्ने सम्झना क्षेत्री बोहरा
विरूद्ध
प्रत्यर्थी / वादी : रघुनाथ न्यौपानेसमेतको जाहेरीले नेपाल सरकार
०७२-RC-००३३
वादी : रघुनाथ न्यौपानेसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : कपिलवस्तु जिल्ला चनही गा.वि.स. वडा नं.६ बस्ने विकास भन्ने माधव घिमिरे
कसैले कानूनद्वारा निषेधित कार्य गरेमा वा कानूनद्वारा गर्नुपर्ने कार्य नगरेमा फौजदारी दायित्व सिर्जना हुन्छ । प्रतिवादी सम्झना क्षेत्रीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष मलाई चन्द्रबहादुर बोहरासँग घृणा लागेर आउने र माधव घिमिरेसँग माया लागेर आउन थाल्यो । माधव घिमिरेले मलाई विवाह गर्छु भन्दा मैले बाधा अवरोधहरू छन् उसले बाधा अवरोध मैले हटाउँछु भन्यो । मैले कसरी भन्दा चन्द्रबहादुरलाई सफाया गरी दिन्छु, ठीक पारी दिन्छु भन्यो भनी बयान गरेको पाइन्छ । यसरी प्रतिवादीले सफाया गरी दिन्छु भनी मौकामा भनेको कुरा प्रति कुनै उजुर आपत्ति नगरी त्यसलाई समर्थन गरी बसेको र सोही अनुसारको घटना घटी फौजदारी अपराधको दूष्परिणाम निस्केपछि जाहेरी दिएको देखिने ।
घटना घटाउन सहमति जनाई अपराधको दूष्परिणाम निस्केपछि जाहेरी दिएको आधारमामात्र प्रतिवादीले फौजदारी दायित्वबाट सफाई पाउन सक्ने अवस्था नरहने ।
(प्रकरण नं.७)
वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता खगराज पौडेल
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
मा.न्या. श्री चन्द्रबहादुर सारू
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री ईश्वरप्रसाद खतिवडा
मा.न्या. श्री बाबुराम रेग्मी
फैसला
न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा दफा १०(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः-
जिल्ला रूपन्देही बुटवल नगरपालिका वडा नं.१२ चारपाला सामुदायिक वनस्थित पूर्वमा गोरेटो बाटो, पश्चिम उत्तर दक्षिणमा सालघारी जङ्गल यति चार किल्लाभित्रको बिचमा पश्चिम टाउको पूर्व खुट्टा घोप्टो अवस्थामा मृतक चन्द्रबहादुर बोहराको लास रहेको । मृतकको नाक, मुखबाट तरल पदार्थ
निस्केको । अनुहारमा रगत लतपतिएको, अनुहारको बायाँ साइडमा केही दबे जस्तो भई नीलडाम देखिएको, दुवै ओठ सुन्निएको । पछाडि बायाँ पाता र दायाँ पट्टि कम्मरमा नीलडाम देखिएको । बायाँ आँखा माथि थिचिएको जस्तो, मृतक विष्णु न्यौपाने पूर्व टाउको पश्चिम खुट्टा भएको घोप्टो अवस्थामा रहेको । मृतकको नाक मुखबाट तरल पदार्थ निस्केको पछाडि पाताको भागमा र दायाँ कम्मरको भागमा नीलडाम देखिएको निधारको बायाँ आँखा माथि थिचिएको । अनुहारको दुवै भागमा नीलडाम जस्तो देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का ।
जिल्ला रूपन्देही बुटवल नगरपालिका वडा नं.१२ चारपाला सामुदायिक वनस्थित पूर्वमा गोरेटो बाटो, पश्चिम उत्तर दक्षिणमा सालघारी जङ्गल यति चार किल्लाभित्र वनको बिचमा मेरो श्रीमान् चन्द्रबहादुर बोहराको लास रहेको । मिति २०६७।३।३१ गते चारपाला सामुदायिक जङ्गलमा मृतक अवस्थामा २ (दुई) जनाको लास फेला परेको ब्रिगेडमा जानकारी आएको लास हेर्दा मेरै श्रीमान् र विष्णु न्यौपानेको भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको सम्झना क्षेत्रीको मिति २०६७।३।३२ को जाहेरी दरखास्त ।
मेरो दाजु विष्णु न्यौपाने कृष्णसेन ब्रिगेडमा कार्यरत हुनुहुन्थ्यो । मिति २०६७।३।३० गते विष्णु न्यौपाने र चन्द्रबहादुर सामान खरिद गर्न निस्केको र दुवै जना उक्त ब्रिगेडमा नआएको हुँदा खोजतलासको क्रममा स्थानीय मानिसहरूले चारपाला जङ्गलमा दुवै जना मृत अवस्थामा छन् भन्ने जानकारी गराएको हुँदा सुरक्षाकर्मीहरूको सहयोगबाट लासहरू लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा ल्याएको कुरा थाहा
पाएँ । उक्त स्थानमा गई हेर्दा मृतक मेरो दाजु भएको हुँदा अभियुक्तहरूलाई खोजी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको रघुनाथ न्यौपानेको जाहेरी दरखास्त ।
मिति २०६७।३।३० गते कृष्णसेन स्मृति ब्रिगेड सैनामैनाबाट चन्द्रबहादुर बोहरा र विष्णु न्यौपाने नजिकको पसलमा आवश्यक सामान खरिद गर्न भनी निस्केका र उक्त ब्रिगेडमा आएका थिएनन् । चारपाला सामुदायिक जङ्गलमा मृतक अवस्थामा दुई (२) जनाको लास फेला परेको र निजहरू दुवै जनाको शरीरमा नीलडाम भएको कारण कर्तव्यबाट मृत्यु भएको भन्न सकिने अवस्था हुँदा अनुसन्धान गरी दोषी पत्ता लगाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको कृष्णबहादुर वि.क. को मिति २०६७।३।३२ को जाहेरी दरखास्त ।
जिल्ला रूपन्देही बुटवल नगरपालिका वडा नं.४ स्थित चारपाला सामुदायिक वनको पूर्व ठाडो खोल्सा तथा जङ्गल, पश्चिम खोल्सा तथा जङ्गल, दक्षिण अन्दाजी ५० मि. को दूरीमा गोरेटो बाटो यति चार किल्लाभित्र रहेको सालका पोथ्राहरूसमेत भएको उक्त स्थानको पश्चिम पट्टि ढिस्को, छेउमा मोटो र अग्लो सुरिलो रूखसमेत भएको घटनास्थलमा २ वटा नीलो सेतो सिसाको बिर्को, अण्डाका बोक्राहरू, सलाईका काँटीहरू चुरोटका ठुटा, सेतो पुरानो प्लास्टिक, २ वटा च्यातिएको रातो कुरमुरेका टुक्रा रहेको । उक्त स्थानमा ५०० एम एलको बिर्को बिनाको कोकको खाली बोतल रहेको । उक्त बोतलको पिँधमा २/३ थोपा जति तरल पदार्थ रहेको । उक्त स्थानमा १८० एम एलको डाइमन जिनको पिँधमा २/४ थोपा तरल पदार्थ भएको बिर्को लगाएको अवस्थाको सिसा फेला परेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
म कृष्णसेन स्मृति ब्रिगेड कमान्डर भएको हुँदा रोलकलमा प्रायः सबैसँग भेट हुन्थ्यो । सम्झना क्षेत्रीले कपाल काट्ने हुँदा म निजलाई अनौठो मान्दथे । सम्झना क्षेत्रीले चन्द्रबहादुर बोहरासँग विवाह गरेको, निजहरू श्रीमान् श्रीमती हुन् भन्ने मलाई थाहा थियो । सम्झना क्षेत्री र चन्द्रबहादुर बोहरा बिच केही वैमनस्यता जस्तो भई ३ नं. बटालिएनमा छलफलसमेत भएको र संगिता भन्ने सम्झना क्षेत्री र विकास भन्ने माधव घिमिरे बिच हेलमेल र बोलचाल बढी भएकोले यी दुईको सम्बन्धको बारेमा चन्द्रबहादुर बोहरालाई चित्त नबुझेको र माधव घिमिरेले चन्द्रबहादुर बोहरासँग पनि नजिक सम्बन्ध भएको देखिन्थ्यो भन्ने कुरा पछि थाहा पाएकी हुँ । सम्झना र माधवको सम्बन्ध बढ्दै गएको भन्ने कुरा निजहरूको साथीहरूले भन्दथे । यी सबै परिस्थितिका कारण विकास भन्ने माधव घिमिरेले सम्झना क्षेत्रीलाई पाउनका लागि सम्झना क्षेत्रीको सल्लाहमा कुनै न कुनै तवरले ठीक पार्नुपर्छ भन्ने उद्देश्यले चन्द्रबहादुरको मिल्ने साथी विष्णु न्यौपानेलाईसमेत साथमा लगी कुनै विष खुवाई कमजोर स्थिति बनाई मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको कमला नहरकीले गरेको कागज ।
म कृष्णसेन स्मृति ब्रिगेड कमान्डर ए कम्पनीको १ नं. प्लाटुनको कमान्डर भएको हुँदा रबी भन्ने चन्द्रबहादुर, मुस्कान भन्ने विष्णु न्यौपाने, माधव घिमिरे र सम्झना क्षेत्री सँगै भएकोले म निजहरूलाई राम्रोसँग चिन्दथे । चन्द्रबहादुर बोहरा र सम्झना क्षेत्री श्रीमान् श्रीमती हुन् । सबै एउटै प्लाटुनमा भएको हुँदा विकासले संगितालाई मन पराएको कुराहरू आएका थिए । विकास भन्ने माधव घिमिरेले मैले जसरी भए पनि संगिता भन्ने सम्झना क्षेत्रीलाई आफ्नो बनाएर छाड्छु भन्ने गर्दथे । चन्द्रबहादुर बोहराले सम्झना र माधवको सम्बन्धको कुरा जानकारी पाएपछि चन्द्रबहादुरले सम्झनालाई सम्झाउने यसो नगर भन्दा सम्झनाले चन्द्रबहादुर बोहरालाई बढी नै गाली गर्ने घृणा गर्ने नराम्रो व्यवहार गर्ने गर्दथिइन् । चन्द्रबहादुर बोहराको मिल्ने साथी विष्णु न्यौपानेसँग पनि निजको सम्बन्ध राम्रो थियो । विकास भन्ने माधव घिमिरेले कुनै न कुनै तरिकाबाट चन्द्रबहादुर बोहरालाई पाखा लगाएर संगिता भन्ने सम्झना क्षेत्रीलाई पाउन सक्ने हुँदा रणनीतिकरूपमा चन्द्रबहादुरसँग राम्रो सम्बन्ध बनाई संगिता नजिक पुगी निजको कमी कमजोरीहरू पत्ता लगाई उसलाई ठीक पार्न र सम्झनालाई आफ्नो बनाउने उद्देश्यले योजना बनाएको हुनुपर्छ । उक्त दिन टेलरकोमा कपडा लिन जान्छु भनी सोधेँ । मैले हुन्छ भनेको थिएँ । बाहिर जानलाई पास माग्न आएनन् । कति बेला बाहिर निस्के सो मलाई थाहा भएन । दिउँसो ११:५५ बजे तिर विष्णु न्यौपाने र चन्द्रबहादुर बोहरा बाहिर गएका रहेछन् । निजहरू निस्कने गेट नजिक सन्दीप भन्ने राजेन्द्र घ.म. को ड्युटी रहेछ । निजले पास मागेपछि विष्णु न्यौपाने गेटमै बसी चन्द्रबहादुर बोहरा आई पास लिएर गएका रहेछन् । त्यसपछि दुवै जना फर्किएर आएनन् । मिति २०६७।३।३१ गते चारपाल सामुदायिक जङ्गलमा विष्णु न्यौपाने र चन्द्रबहादुर बोहराको लास छ भन्ने कुराको जानकारी पाएको हो । निजहरूलाई माधव घिमिरेले सम्झना क्षेत्रीलाई पाउनको लागि षड्यन्त्र रची योजनाअनुसार विष वा लागु औषध खुवाई मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको नुरदेव बस्यालले गरेको कागज ।
विष्णु न्यौपाने कृष्ण सेन स्मृति ब्रिगेडमा काम काज गर्दै आएका थिए । चन्द्रबहादुर बोहराको श्रीमती सम्झना बोहरा क्षेत्री र माधव घिमिरे बिच भित्रीरूपमा प्रेम सम्बन्ध थियो । चन्द्रबहादुर बोहरालाई हत्या गरी एक आपसमा विवाह गरौला भन्ने निजहरूको भित्री सल्लाहबमोजिम रक्सीमा विष मिलाउने र खुवाउने निर्णय गरी अभियुक्त माधव घिमिरेले चन्द्रबहादुर बोहरासँग मिल्ने मेरो भाइ विष्णु न्यौपानेसहित चारपाला वनमा गएको अवस्थामा चन्द्रबहादुर बोहरालाई मात्र विषादी मिश्रित रक्सी खुवाउने अनुकूल नमिलेको कारण जानाजान दुवै जनालाई विषादी मिश्रित रक्सी खुवाई ज्यान लिएका हुन् भन्ने यकिन भएको हुँदा निजहरूलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको रामप्रसाद न्यौपानेको मिति २०६७।४।४ को जाहेरी दरखास्त ।
माधव घिमिरेको सम्झनासँग प्रेम सम्बन्ध रहेछ । २०६७ सालको जेठ महिनामा चन्द्रबहादुर बोहरा ब्रिगेडमा आएर आफ्नो घरायसी समस्या दर्शाई उक्त कम्पनीको ए कम्पनीमा ज्वाइन भएपछि श्रीमान् श्रीमतीबिच झगडा भएको र निजहरूलाई कमान्डरहरूले सम्झाई बुझाई गरेका रहेछन् । माधव घिमिरे दाउरा लिन जङ्गलमा गएको अवस्थामा सम्झना मेरी हो भनेको चन्द्रले थाहा पाएपछि केही चिसोपन भएको रहेछ । पछि माधवले आफ्नो के कस्तो रणनीति अपनाएर हो चन्द्रबहादुरसँग राम्रो सम्बन्ध सुधार गरेका थिए । मिति २०६७।३।३० गते माधव घिमिरे बिहान ११ बजे तिर साइड गेटबाट निस्केका रहेछन् । सोही दिन दिउँसो चन्द्रबहादुर बोहरा र विष्णु न्यौपाने गेट पास लिएर केशवको पसलमा गएर फर्किने भनेका रहेछन् । निजहरू बेलुकासम्म नआएपछि खोज तलास भयो । कहीँकतै सम्पर्क भएन । सोही दिन साँझ २ नं. बटालिएनको खोलातर्फको आडबाट माधव घिमिरे कम्पनीमा प्रवेश गरेको रहेछन् । निज चलाख ठग पाराको मानिसलाई जे कुरामा पनि कनभिन्स गरी मोड्न सक्ने खालको थिए भन्ने कश्मिर भन्ने कविराज बस्नेतको कागज ।
म कृष्ण सेन स्मृति ब्रिगेडमा भएकोले सम्झना क्षेत्री, चन्द्रबहादुर बोहरा, विष्णु न्यौपाने र माधव घिमिरेलाई चिन्दछु । सम्झना क्षेत्री र चन्द्रबहादुर बोहरा श्रीमान् श्रीमती हुन् । चन्द्रबहादुर बोहरा २०६६ सालको माघ महिनामा घरतिर गएका थिए । सो अवस्थामा सम्झनाले यस्तो दलितसँग बिहे गरेँ भनिन् र निजको विवाह भएको कुरामा सन्तुष्ट भएको जस्तो लाग्दैनथ्यो । चन्द्रबहादुरसँग बेलाबखत फोन सम्पर्क भई रहन्थ्यो । म बस्ने कोठामा पानी खाने माटोको घैंटो राखेकोले सम्झना र अन्य साथीहरू पनि पानी खान आउने गर्थे । विकास भन्ने माधव घिमिरे अरूको तुलनामा बढी आउने सम्झनासँग हाँस्ने बोल्ने गर्न
थाले । सोही क्रममा माधवले एउटा मोबाइल र युटिएलको सिमसमेत सम्झनालाई दिएका रहेछन् । निजले एस. एम. एस. पठाउने र फोन गर्ने गर्थे । जङ्गलमा दाउरा लिन गएको अवस्थामा माधव घिमिरेले सम्झना मेरो
हो । मैले चाहेमा लैजान सक्छु भनेका रहेछन् । ०६७ साल जेठको तेस्रो हप्तातिर चन्द्रबहादुर बोहरा क्याम्पमा आई ज्वाइन भएपछि निज श्रीमान् श्रीमती बिच झगडा भएकोले कम्पनीमा लगेर छलफलसमेत भएको थियो । सम्झना चन्द्रबहादुरसँग झगडा गरी रहने र माधवसँग बढी झुकाव राख्ने गर्दथिइन् । सोही कारणले चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेको जङ्गलमा कर्तव्यबाट मृत्यु भएको रहेछ भन्ने व्यहोराको रक्षा भन्ने हिरा वि.क. को कागज ।
मेरो आफ्नै घरमा पसल छ । २०६७।३।३० गते ११:३० बजेतिर कृष्ण सेन स्मृति ब्रिगेड सैनामैनाका रवि भन्ने चन्द्रबहादुर बोहरा र मुस्कान भन्ने विष्णु न्यौपाने मेरो पसलमा आई केहीबेर बसी मुस्कान भन्ने विष्णु न्यौपानेले कुरमुरे २ प्याकेट लिएर गए । कता गए के गरे मलाई थाहा भएन । मिति २०६७।३।३१ गते चारपाला सामुदायिक वनमा भेटिएको लास बारे मलाई थाहा भएन भन्ने केशवबहादुर थापाको कागज ।
जिल्ला कपिलवस्तु गजेडा गा.वि.स. वडा नं.७ सिद्धिपुर ४ नं. स्थित पूर्व तौलिहवा जाने सडक, पश्चिम केशर सिंह सेनको घर घडेरी, उत्तर केशर सिंह सेनकै र दक्षिण सागर होटल यति चार किल्लाभित्र रहेको पूर्व मोहडाको ३ तले पक्की चोपलाल रावलको घर उक्त घरको पूर्व मोहडातर्फबाट फलामको सिँढीबाट घरको बिच तलाको पूर्व मोहडाको कोठामा निस्कने बाटो उक्त सिँढीको अगाडि कोठाको सटरभित्र काठ र सिसाको र्याकमा गाडा सेतो रङ्गको नोकिया १६५० मोडेलको सिम कार्ड बिनाको मोबाइल बरामद भएको खानतलासी बरामदी मुचुल्का ।
जिल्ला रूपन्देही पर्रोहा गा.वि.स.६ सैनामैनास्थित पूर्वमा क्याम्प प्रशासन जाने गोरेटो बाटो, पश्चिम पोखरी, उत्तर झिंगामारा जाने बाटो वा डाँडो, दक्षिण सानो खोल्सा र स्वास्थ्य चौकीको भवन यति चार किल्लाभित्र रहेको पश्चिम मोहडा भएको ३ कोठे टिनको छाना भएको भवनको पूर्वतर्फको दराजको माथिल्लो भागमा हरियो रङ्गको बाकसमा नागरिकता, १६०० मोडेलको मोबाइलसमेत बरामद गरेको भन्ने व्यहोराको बरामदी खान तलासी मुचुल्का ।
मिति २०६७।३।३० गते रवि भन्ने चन्द्रबहादुर बोहरा र मुस्कान भन्ने विष्णु न्यौपानेलाई कर्तव्य गरी मारी फालेको सम्बन्धमा प्रतिवादीलाई खोजतलास गर्दै जाने क्रममा कृष्ण सेन स्मृति ब्रिगेडका सदस्य विकास भन्ने माधव घिमिरे र सम्झना क्षेत्रीले कर्तव्य गरी मारेको भन्ने खुल्न आएको हुँदा निजहरूलाई पक्राउ गरी दाखिला गरेको छु भन्नेसमेत व्यहोराको प्र.नि. माधवप्रसाद बुढाथोकीको प्रतिवेदन ।
मिति २०६७।३।३० गते शिविरदेखि २ कि.मि. नजिक जङ्गलमा चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेलाई मार्ने योजना बनाई शिविर बाहिर चारपाला जङ्गलमा बोलाई रक्सीमा विषादी मिलाई मारी फालेका रहेछन् । मेरो भाइ चन्द्रबहादुर बोहराको श्रीमती सम्झना भन्ने संगिता क्षेत्रीको विकास भन्ने माधव घिमिरेसँग प्रेम चली निजहरूले मार्ने योजना बनाई मारेको हुँदा सजाय होस् भन्ने व्यहोराको झलकबहादुर बोहराको जाहेरी दरखास्त ।
२०६६ साल वैशाखमा म, विष्णु न्यौपाने, चन्द्रबहादुर बोहरा र वसन्त सेन स्मृति ब्रिगेडदेखि सरूवा भई पर्रोहा ६ स्थित कृष्ण सेन स्मृति ब्रिगेडमा आयौँ । म र चन्द्रबहादुर बोहराबिच प्रेम सम्बन्ध भएपछि २०६६ साल असारमा विवाह गर्यौँ । विवाहभन्दा पहिला हाम्रो सम्बन्ध जति राम्रो थियो, विवाहपछि सम्बन्ध त्यति राम्रो भएन । म कृष्ण सेन स्मृति ब्रिगेडको ३ नं. बटालिएनको ए कम्पनीमा हुँदा माधव घिमिरेसँग मेरो सम्बन्ध बढ्यो । मलाई विस्तारै चन्द्रबहादुर बोहरासँग घृणा लागेर आउने र माधव घिमिरेसँग केही माया लागेर आउन थाल्यो । २०६६ सालको चैत महिनादेखि माधव घिमिरेसँग सम्पर्क र सम्बन्ध बढ्दै जान थाल्यो । सुरू सुरूमा एस.एम.एस. हुन थाल्यो । एस.एम.एस. पश्चात् भेट भई कुराकानी हुन थाल्यो । पटकपटक जङ्गलमा दाउरा खोज्न गएको बेलामा पनि माधवले मलाई जसरी भए पनि तिमीलाई विवाह गर्छु भन्थ्यो । बाधा अवरोधहरू छन् एक्लै निर्णय गर्न सक्दिन भनेँ । उसले बाधा अवरोध मैले हटाउँछु भन्यो । कसरी भनी प्रश्न गर्दा चन्द्रबहादुरलाई मैले सफाया गरी दिन्छु । साइड लगाई दिन्छु, ठीक पारिदिन्छु भन्यो । मैले मिति २०६७।३।२४ गतेका दिन म आफ्नो दाइको विवाहमा गएको अवस्थामा फोन र एस.एम.एस. गरी ३० गतेभित्र जसरी भए पनि आउ भन्यो । त्यसपछि म २७ गते घरबाट
आएँ । चन्द्रबहादुरसँग एकछिन कुराकानी भयो । त्यसपछि गयो । ऐ. २८ गते दिँउसो विकाससँग कुराकानी भयो । ३० गते दिँउसो १२:३० बजे सम्भावना भन्ने पवित्रा गैरेको मोबाइलबाट चन्द्रबहादुर बोहरालाई फोन गर्दा लागेन । ऐ. ३० गते साँझ चन्द्रबहादुर बोहरा र विष्णु न्यौपाने नआएपछि खोज तलास भयो । ऐ. ३१ गते बुटवल नगरपालिका १४ स्थित जङ्गलमा लास फेला नपर्दै मैले माधव घिमिरेलाई चन्द्रबहादुर भेटिएनन् भन्दा पीर नगर भनेका थिए भन्नेसमेत व्यहोराको प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्रीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
करिब एक डेढ वर्ष पहिले मुस्कान भन्ने विष्णु न्यौपाने, रवि भन्ने चन्द्रबहादुर बोहरा, संगिता भन्ने सम्झना क्षेत्री वसन्त सेन स्मृति ब्रिगेडबाट कृष्ण सेन ब्रिगेडमा आएको हुँदा निजहरूसँग चिनजान
भयो । यसै क्रममा मैले सम्झना क्षेत्रीलाई भित्रभित्रै मन पराउन थालेँ । २०६६ चैत महिनादेखि हाम्रो सम्पर्क र कुराकानी अलि बढी हुन थाल्यो । चैत महिनामा मैले सम्झनालाई सिमसहितको मोबाइल पनि दिएको थिएँ । पछि म सम्झनाको कोठामा जाने आउने पनि बढि गर्न थालेँ । मैले निजलाई मन पराएर विवाह गर्ने प्रस्ताव पनि राखेँ । सम्झनाले बाधा अवरोधहरू धेरै छन् मैले एक्लै निर्णय गर्न सक्दिन भनिन् । मैले तिमीलाई जसरी भए पनि विवाह गर्छु भनेको थिएँ । हाम्रो सम्बन्धको बारेमा सम्झनाको श्रीमान् चन्द्रबहादुर बोहराले थाहा पाएपछि पटकपटक मैले दिएको मोबाइल पनि खोसेका थिए । निजहरू बिच समय समयमा झगडा पनि भई रहन्थ्यो । २०६७।३।२४ गते सम्झनालाई विवाह गर्छुभन्दा निजले बिचमा अवरोध छ के गर्छौ भनेकी थिइन् । मैले चन्द्रबहादुर बोहरालाई ठीक पारी तिमीलाई आफ्नो बनाउँछु भनेँ । त्यसपछि निजले लौ गर, तेती हिम्मत छ भनेकी थिइन् । त्यसपछि म झन् हौसिई उपायहरू सोच्न थाले । मिति २०६७।३।३० गते बिहान ४ बजेबाट ६:३० बजेसम्मको मेरो ड्युटी भएकोले रक्सीमा विषादी मिसाई खुवाई चन्द्रबहादुर बोहरालाई खुवाउँछु भनी मार्ने योजना बनाए । सोही दिन बिहान ७:३० बजेतिर आज रक्सी खाऔं भनी विष्णु न्यौपानेले भने, चन्द्रबहादुरले पनि हुन्छ
भनेँ । त्यसपछि मैले मौका यही हो भन्ने सोची कपडा सिलाउन र कपाल काट्न बाहिर जान भनी प्रदीप भन्ने कमान्डरलाई सोधेको थिएँ । चन्द्रबहादुर, विष्णुलाई म बाहिर गई व्यवस्था गर्दछु, तपाईँहरू आउनु भनी पास पनि नलिई ड्युटीवालाको आँखा छली बाहिर निस्केँ र बासगढीस्थित कौसल एग्रोभेटमा गई थाएडेन नामक विषादी रू.८०।– मा किनेर फर्किएर मुर्गिया मिलन रेस्टुरेन्टमा आई रक्सी कोकहरूसमेत किनेँ । केही मैले खाएँ केही रक्सी र कोकमा थाएडेन नामक विषादी मिसाएँ । करिब १२ बजेको हुनुपर्छ, तेती बेला मलाई चन्द्रबहादुरले मिस्कल गरेँ । त्यसपछि मैले फोन गरी म आउँदै छु भनेपछि हाम्रो कम्पाउन्डको बाहिरपट्टि केशवको पसलमा विष्णु न्यौपाने र चन्द्रबहादुर बोहरा आई बसेका रहेछन् । त्यहाँ भेट भएपछि मैले रक्सी ल्याएको छु जाऊँ जङ्गलतिर उतै खाऔँला भनेँ । विष्णु न्यौपानेले कुरमुरे र चुइगम किने र मेरो योजनाअनुसार निजहरूलाई जङ्गलतिर लगेँ । माथि ढिस्कोमा गएपछि नखोलेको एक एक क्वाटर रक्सी कुरमुरेसँग खायौँ । रक्सी लाग्दै गएपछि मैले पछाडि झोलामा राखेको विषादी मिसाएको रक्सी पनि विष्णु न्यौपानेले देखी ल्याउ त्यो पनि खाउँ, किन राखेको भन्यो र मैले अब मलाई पुग्यो तिमीहरूले खाने भए खाउ भनेपछि विष्णुले पहिला र चन्द्रबहादुरले पछि खाए । त्यसपछि मेरो योजना त सफल भयो र विष्णु पनि मर्छ कि भनी डराउँदै अब दुवैलाई मार्नु पर्छ नत्र पोल थाहा हुन्छ भन्ने सोची एकछिन च्याउ खोज्न जाउँ भनी केही माथितिर लाग्यौँ । विस्तारै पहिला विष्णु न्यौपाने र पछि चन्द्रबहादुर बोहराले टाउको दुख्यो र रिँगटा लाग्न लाग्यो भन्न थाले । त्यसो भए एक छिन आराम गर भनी ठूलो ढुङ्गा भएको ठाउँमा बसे । दुवै जना लल्याकलुलुक भए । निजहरूको नजिकै पुगी बाँच्छन् कि भनी निजहरूको टाउको मैले ढुङ्गामा ठोक्काई दिएँ र टाउको बटारी दिएँ । निजहरू मरे होला भनी निजहरूको मोबाइलसमेत लिई त्यहाँबाट गएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी माधव घिमिरेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मैले माधव घिमिरेलाई पहिलेदेखि चिनेकी थिएँ । तर, चन्द्रबहादुर बोहरा, सम्झना क्षेत्री, विष्णु न्यौपानेको कम्पनी अलगअलग भएकोले चिनेकी थिइन । २०६६ साल असार महिनाको ११/१२ गते तिर महिलाहरूलाई कम्पनीमा फेरवल गरेपछि सम्झना क्षेत्री मसमेत भएको सि कम्पनीमा आएकी
थिइन् । निज सि कम्पनीमा आएपछि निज र विकास भन्ने माधव घिमिरेको प्रेम सम्बन्ध छ भन्ने थाहा पाएकी थिएँ । निज बस्ने कोठामा चन्द्रबहादुर, विष्णु र माधव आउने गर्दथे । त्यसपछि निजहरूलाई पनि मैले चिनेकी थिएँ । सो अवस्थामा सम्झनासँग मोबाइल सेट
थिएन । चन्द्रबहादुर बोहराले सम्झनालाई फोन गर्नुपरेमा मेरो मोबाइल र कहीलेकाँही दिदीको मोबाइलबाट फोन गर्दथेँ । सम्झनाले आफ्नो सिमकार्ड अरूको मोबाइलमा राखी कता कता फोन गर्दथिइन् भन्ने पनि सुनेकी
थिएँ । चन्द्रबहादुर बोहरा सम्झनालाई भेट्न आएमा पनि निजले खासै वास्ता गर्दिन थिइन् । २०६७।३।३० गते दिउँसो अं.१२:२३ बजेको समयमा रवि भन्ने चन्द्रबहादुर बोहराले मेरो मोबाइलमा फोन गरी सम्झनालाई खोजेको थियो । म सो अवस्थामा बाहिर थिएँ । पछि आएर सम्झनालाई चन्द्रबहादुरले फोन गरेका थिए । उक्त दिन मसमेत गेटमा ड्युटी बसेको अवस्थामा चन्द्रबहादुर र विष्णु न्यौपानेको मृत्यु भएको भन्ने थाहा भएको हो । मृत्यु के कसरी भयो भन्ने सम्बन्धमा बुझ्दा विकास भन्ने माधव घिमिरेले सम्झनालाई मन पराउने भएकोले सम्झनाको श्रीमान् चन्द्रबहादुर बोहरा भएको हुँदा सम्झनालाई प्राप्त गर्ने इच्छाले बाधक बनेको रवि भन्ने चन्द्रबहादुरलाई कुनै तरिकाले सफाया गरेपछि प्राप्त गर्न सजिलो हुने ठानी निज माधव घिमिरेले नै मारेको हुनुपर्छ । विष्णु न्यौपानेसमेत सँगै गएको हुँदा निज बचेमा घटनाको साक्षी हुन्छन् भनी अपराधलाई छिपाउनका लागि विष्णु न्यौपानेलाईसमेत निजले कुनै तरिका अपनाई मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको सम्भावना भन्ने पवित्रा गैरेले गरेको कागज ।
Death is due to coma resulting from above mentioned injuries भन्ने र Visera containing Liver, Spleen Lung, Kidney, Stomach and Contents heart and blood sent for analysis on the request of police भन्ने उल्लेख भएको ।
प्रहरीले परीक्षण गर्दा Organo-chlorine insecticide पाइएको भन्ने केन्द्रीय प्रहरी प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
उक्त दिन माधव घिमिरे मेरो पसल कौसल एग्रोभेटमा आएको जस्तो लाग्छ । निजले रू.८०।– पर्ने १००।– एम.एल. को थाएडेन नामक विषादी किनेर लगेको जस्तो लाग्दछ भन्नेसमेत व्यहोराको पुष्पा ज्ञवालीले गरेको कागज ।
मिति २०६७।३।३० गतेका दिन अं. ११ देखि १२ बजेको बिचमा पछि नाम थाहा भएका विकास भन्ने माधव घिमिरे मेरो रेस्टुरेन्टमा आएका थिए । सो अवस्थामा रेस्टुरेन्टमा अरू मानिसहरू
थिएनन् । पछि निजले पुनः ३ वटा डाइमन जिनको क्वाटर मागे । ३ वटा क्वाटर माग्दा मैले किन हो यति धेरै भन्दा मैले लिएर जाने हो, यहाँ खाने होइन, ल्याउनु भने । त्यसपछि मैले १८० एम.एल. का पुनः ३ वटा डाइमन जिन दिएँ । निजले हिसाब गरी सोही टेबुलबाट मलाई पैसा दिए र निज गएपछि टेबुल सफा गर्दा सुरूमा मागेको डाइमनको सिसी र कोकको बोतलसमेत त्यहाँ थिएन र निजले आफू साथ नै लिई गएको हुनुपर्छ भन्नेसमेत व्यहोराको कमल न्यौपानेले गरेको कागज ।
उक्त दिन म आफ्नै मोबाइल उपचार केन्द्रमा थिएँ । माधव घिमिरेले मलाई पैसाको समस्या छ, मोबाइल किनी दिनुपर्यो भनी २ वटा १६५० मोडलको मोबाइल लिएर आएका थिए । मैले उक्त मोबाइलहरू मध्ये एउटा मोबाइल रू.८००।– मा किनी दिएको हुँ भन्नेसमेत व्यहोराको कृष्ण पौडेलले गरेको कागज ।
उक्त दिन म पोस्ट नजिकको गेटमा ड्युटीमा थिएँ । अं. १२ बजेको समयमा अशोक, रामचन्द्र सापकोटा, चन्द्रबहादुर, विष्णु न्यौपानेसमेतले गेट पास लिएर आएका थिए । गेटपास लिएर आएको कारणले मैले चारै जनालाई छाडी दिए । प्र. माधव घिमिरे कताबाट गएको हो, सो मलाई थाहा भएन । उक्त दिन बाहिर गएका चन्द्रबहादुर र विष्णु न्यौपाने मिति २०६७।३।३१ गते बुटवल न.पा.१४ चारपाला सामुदायिक वनमा मृत अवस्थामा फेला परे भन्ने कुरा जानकारी पाएको हुँ । प्र. माधव घिमिरे र सम्झना क्षेत्रीबिच प्रेम सम्बन्ध भएको कारण माधव घिमिरेले चन्द्रबहादुर बोहरालाई सफाया गरिदिएँ । सम्झनालाई प्राप्त गर्ने उद्देश्यले रक्सी र कोकमा विष मिसाई खुवाएर कर्तव्य गरी मारेको हो भन्नेसमेत व्यहोराको सन्दीप भन्ने राजेन्द्र जि.एम. ले गरेको कागज ।
मृतक चन्द्रबहादुर बोहरा, विष्णु न्यौपाने, माधव घिमिरे, सम्झना क्षेत्रीलाई म राम्ररी चिन्दछु । सम्झना क्षेत्री र चन्द्रबहादुर बोहरा श्रीमान् श्रीमतीसमेत हुन् । चन्द्रबहादुर बोहरा र सम्झनाको खासै राम्रो सम्बन्ध थिएन । बेलाबखत झगडा गरी रहन्थे । सम्झना र माधव घिमिरे राम्रो बोलीचाली गर्दथे । निजहरू एकअर्का प्रति धेरै नजिकिएका थिए । मिति २०६७।३।३० गतेका दिन उक्त ब्रिगेडमा मेडिकल लाईनमा काम गर्ने रामचन्द्र सापकोटा एस.एल.सी. पास भएको उपलक्ष्यमा कोक खुवाउँछु भनेको हुँदा भित्र केन्टिन बन्द भएका कारण निज र म बाहिर गेट नजिकैको पसलमा आउँदै थियौँ । सोही क्रममा चन्द्रबहादुर र विष्णु न्यौपाने पनि बाटोको साइड गेटमा आएका थिए । सो अवस्थामा ड्युटीवालालाई गेट पास नभई बाहिर नछाड्नु लुज भएको छ भने । त्यसपछि चन्द्रबहादुर बोहरालाई गेटपास लिन पठाएँ । निज गएर गेटपास लिएर आए । निजले हल्का सामान लिनु छ भन्थे । म र रामचन्द्रले गेट नजिकैको केशवको पसलमा कोक खाएका हौँ । चन्द्र र विष्णु त्यहीँ बसेका थिए । जाउँ भन्दा केही बेर काम छ भन्थे त्यसपछि हामी दुई जना फर्कियौं । निजहरू ३/४ बजेसम्म नफर्किएपछि फोनसमेत गर्दा लागेको थिएन । मिति २०६७।३।३१ गते बुटवल न.पा. १४ चारपाला सामुदायिक वनमा दुवैजना मृत अवस्थामा रहेछन् । सम्झना क्षेत्री र माधव घिमिरेको प्रेम सम्बन्ध रहेको सम्झनाले चन्द्रलाई भन्दा माधवलाई बढी माया गर्ने निजहरूको प्रेम सम्बन्धको बिचमा चन्द्रबहादुर बोहरालाई बाधक भएको ठानी निजहरू दुवै जनाको मिलेमतोमा माधव घिमिरेले चन्द्रबहादुर बोहरालाई सफाया गरी सम्झनालाई प्राप्त गर्ने इच्छाले योजना बनाई मारेका हुन् भन्नेसमेत व्यहोराको अशोक भण्डारीले गरेको कागज ।
मिति २०६७।३।३० गते कृष्ण सेन ब्रिगेड सैनामैनामा कार्यरत चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेलाई माधव घिमिरे र सम्झना क्षेत्रीको मिलेमतोमा मादक पदार्थ रक्सीमा विष मिसाई सेवन गराई कर्तव्य गरी मारेका हुन् भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी विकास भन्ने माधव घिमिरे र संगिता भन्ने सम्झना क्षेत्री बोहराको सल्लाह मिलेमतोमा रक्सी र कोकमा विषादी मिलाई जङ्गलमा विकास भन्ने माधव घिमिरेले लगी मिति २०६७।३।३० गते चन्द्रबहादुर र विष्णु न्यौपानेलाई विष मिश्रित कोक र रक्सी खुवाई मृतक विषादीको असरले लल्याक लुलुक भएपछि टाउको ढुङ्गामा ठोक्काई घाँटीसमेत बटारी कर्तव्य गरी मारेको तथ्य घटनास्थल तथा लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूको मौकाको बयान तथा वस्तुस्थितिका मानिसहरूको कागज व्यहोराबाट पुष्टि भएकोले निज प्रतिवादी विकास भन्ने माधव घिमिरेलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय र प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्री बोहरालाई सोही महलको ऐ. १३(४) नं. बमोजिम जन्म कैदको सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग दाबी ।
मृतक चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेलाई चिन्दछु । निजहरूसँग सैनामैना क्याम्पको अगाडि केशव भन्नेको पसलमा भेट भएको हो । रामप्रसाद न्यौपानेसमेतले दिएको किटानी जाहेरी कागज झुट्ठा
हो । अधिकारप्राप्त अधिकारीसमक्ष भएको व्यहोरा झुट्ठा हो । सहीछाप मेरै हो । सम्झना क्षेत्रीको बयान सम्बन्धमा मलाई केही थाहा भएन । सम्झनाको मसँग प्रेम सम्बन्ध भएको कुरा झुट्ठा हो । अभियोग दाबीबमोजिम कसुर नगरेकोले मलाई सजाय हुनपर्ने होइन भन्ने व्यहोराको प्रतिवादी विकास भन्ने माधव घिमिरेले सुरू अदालतमा गरेको बयान ।
जाहेरवालाहरूसँग चिनजान, लेनदेन, पूर्व रिसइवी केही छैन । सहप्रतिवादी र म जनमुक्ति सेनाको सैनामैनामा काम गर्छौं । २०६६ साल चैत महिनादेखि चिनजान भएको हो । मृतक चन्द्रबहादुर मेरा पति
हुन् । चन्द्रबहादुर र विष्णु न्यौपाने २०६७।३।३० गते १२.३० बजे बाहिर गएका हुन् । पतिले पवित्रा गैरेसँग फोन गरेका रहेछन् । उक्त दिन निजहरू आएनन् । घटना कसरी घटाए भन्ने कुरा थाहा भएन । घटना भएको असार ३१ गते थाहा भएको हो । मैले इलाका प्रहरी कार्यालय, बुटवलमा जाहेरी दिएको हुँ । मेरो श्रीमान्सँग कहिले काँही झगडा हुने गर्दथ्यो । मेरो माधवसँग हेलमेल भएको पनि होइन । मेरो र माधव घिमिरेबिच प्रेम सम्बन्ध भएको भन्ने व्यहोरा गलत
हो । निजले कहाँ कहाँ गई के के किने कहाँ लगे मलाई केही थाहा भएन । बरामदी सामान मलाई थाहा
भएन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान व्यहोरा मेरो होइन । के लेखे थाहा भएन, सही गर भनेर सही गरेकी हुँ । के कारणले मारेका हुन् मलाई थाहा भएन । घटनामा मेरो संलग्नता छैन । त्यसैले मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्री बोहराले सुरू अदालतमा गरेको बयान ।
प्रतिवादीहरूले अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार गरे तापनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित भई बयान गरेको देखियो । प्रतिवादीहरू उपरको किटानी जाहेरी, प्रहरीमा कागज गर्ने व्यक्तिहरूको भनाई, घटनास्थल तथा लास प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन जस्ता तत्काल प्राप्त प्रमाणहरूबाट प्रतिवादीहरू अभियोजित कसुरका कसुरदार रहेको तथ्य पुष्टि भएको हुँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादीहरूलाई मुलुकी ऐन अ.बं. ११८ (२) नं. बमोजिम थुनामा राख्न अ.बं. १२१ नं. बमोजिम थुनुवा पूर्जी दिई कारागार कार्यालयमा पठाउनु भन्ने सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।५।१ को आदेश ।
जाहेरवाला रघुनाथ न्यौपाने, रामप्रसाद न्यौपानेले प्रहरीमा कागज गर्ने नुरदेव बस्याल सन्दिप भन्ने राजेन्द्र जि.एम.ले गरेको बकपत्र मिसिल सामेल रहेको ।
किटानी जाहेरी, प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान, मौकामा बुझिएका नुरदेव बस्याल र राजेन्द्र जि.एम.ले गरेको कागज, घटनास्थल प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनसमेतबाट मिति २०६७।३।३० गते चन्द्रबहादुर बोहरालाई मार्ने योजना बनाई चारपाला जङ्गलमा लगी रक्सी र कोकमा थायेडिन विषादी मिसाई चन्द्रबहादुर र विष्णु न्यौपानेसमेतलाई खुवाई त्यसको असरबाट मृतकहरू लल्याक लुलुक भएपछि निजहरूको टाउको बटारी ढुङ्गामा ठोक्काई कर्तव्य गरी प्रतिवादी माधव घिमिरेले मारेको भन्ने पुष्टि भएकोले निज प्रतिवादी माधव घिमिरेलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(१) को कसुरमा सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्रीसँग प्रतिवादी माधव घिमिरेले तिमीलाई पाउन चन्द्रबहादुरलाई सफाया गर्छुभन्दा त्यसमा सहमति जनाई हिम्मत छ भने हैरौँ न त भनी प्रतिवादीलाई अपराध गर्न दुरूत्साहन गरेकी संगिता भन्ने सम्झनाको यही बचनको उक्साहटमा प्रतिवादी माधव घिमिरेले ज्यान मार्नेसम्मको कार्य गर्न पुगेको देखिन्छ । प्रतिवादी सम्झना क्षेत्रीलाई ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(४) नं. को कसुरमा जन्म कैदको सजाय हुन्छ । यी प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्री घटनास्थलमा उपस्थित नभएको, विषादी ल्याउने कार्यमा संलग्न नभएको केवल प्रतिवादी माधव घिमिरेले चन्द्रबहादुरलाई सफाया गर्छु भन्दा हिम्मत छ हेरौं न भनी व्यक्त गरेको शब्दले माधवलाई उत्साहित बनाएर घटना घट्न गएकोले निजलाई ज्यानसम्बन्धीको महलको १३(४) नं. को कसुरमा जन्म कैद गर्दा चर्को पर्न जाने र सो भन्दा कम सजाय गर्दा पनि न्यायको मकसद पुरा हुने देखिँदा अ.बं. १८८ नं. बमोजिम निजलाई १० (दश) वर्ष कैद सजाय हुन भनी छुट्टै राय प्रस्तुत गरेको भन्ने सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।१२।१० को फैसला ।
मृतक चन्द्रबहादुर बोहरालाई मैले मारेको होइन । वारदातमा मेरो संलग्नता भएको प्रमाण पनि छैन । प्रतिवादीमध्येका चन्द्रबहादुरले निज मृतकहरूलाई मार्न रक्सीमा विष मिसाई खान दिएको कारण नै मृत्युको कारण हो भनी पुष्टि भएको देखिएको छ । ज्यान जस्तो जघन्य अपराधमा प्रत्यक्ष प्रमाणको अभावमा सजाय गर्न मिल्ने होइन । मैले मेरो श्रीमान् चन्द्रबहादुर बोहराको मृत्यु गर्ने दोषीलाई कारवाहीको माग राखी जाहेरी दरखास्त दिई कारवाही गराएको अवस्थामा मेरो संलग्नता रहेको भनी सजाय गरेको त्रुटिपूर्ण फैसला उल्टी गरी झुठा दाबीबाट सफाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्रीको पुनरावेदन पत्र ।
प्रतिवादी विकास भन्ने माधव घिमिरेका नाउँमा मिति २०६८।१२।२८ मा पुनरावेदनको म्याद तामेल भएकोमा म्यादभित्र पुनरावेदन परेको नदेखिँदा निजको हकमा साधकको रोहमा दर्ता भएको पाइयो ।
घटनामा प्रत्यक्ष संलग्न नभएको अवस्थामा पनि पुनरावेदक प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्री बोहरालाई ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम सजाय गरेको सुरू जिल्ला अदालतको फैसला प्रमाणको मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. एवम् पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, बुटवलको मिति २०६८।१२।२७ को आदेश ।
प्रतिवादी विकास भन्ने माधव घिमिरेले अदालतमा इन्कारी बयान गरे पनि मौकामा बयान गर्दा मिति २०६७।३।२४ गते सम्झनालाई विवाह गर्छु भन्दा बिचमा अवरोध छ के गर्छौ ? भनेकी थिइन् । मैले चन्द्रबहादुरलाई ठीक पारी तिमीलाई आफ्नो बनाउँछु भने । त्यसपछि सम्झनाले लौ गर त हिम्मत् छ भनेकी थिइन् । त्यसपछि मिति २०६७।३।३० मा चन्द्रबहादुरलाई मार्ने योजना बनाई कौसल एग्रोभेटमा गई थाएडिन नामक विषादी किनी सो विषादी रक्सीमा मिसाई विष्णु न्यौपाने र चन्द्रबहादुरलाई खुवाई दिएँ । त्यसपछि निजहरू लल्याक लुलुक भएपछि निजहरूको टाउको ढुङ्गामा बटारी हत्या गरिदिएँ भनी आरोपित अभियोग दाबीमा साबित रहेको पाइन्छ । मौकामा बुझिएका नुरदेव बस्यालसमेतको बकपत्रबाट प्रतिवादीको मौकाको बयान पुष्टि भएको देखियो । प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्री मृतक चन्द्रबहादुरलाई मार्ने मत सल्लाहमा पसेको । तर, ज्यान मार्ने योजना, षड्यन्त्र बनाएको देखिएन । तसर्थ, प्रतिवादी विकास भन्ने माधव घिमिरेलाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने सजाय गरेको सुरू रूपन्देही जिल्ला अदालतको फैसला मिलेकै हुँदा सदर हुने र प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्रीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम सजाय गरेको फैसला केही उल्टी भई प्रतिवादीलाई ऐ. महलको १७(३) नं. बमोजिम ३ (तीन) वर्ष कैद हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६९।२।२८ को फैसला ।
पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्रीले अधिकारप्राप्त अधिकारीसमक्ष आफ्नो सम्बन्ध चन्द्रबहादुर बोहरासँग टाढिदै र प्रतिवादी माधव घिमिरेसँग बढ्दै गएकोले माधव घिमिरेले जसरी भए पनि विवाह गर्छु भन्यो । मैले बाधा अवरोध धेरै छन् भन्दा उसले बाधा अवरोध हटाउँछु भन्यो । मैले कसरी भनी प्रश्न गर्दा सफाया गरिदिन्छु भन्यो । हिम्मत छ मैले भनेँ उसले गरी हाल्छु भन्यो । यसरी यी प्रतिवादी सम्झनाको योजना, सल्लाह र सहमतिबाट चन्द्रबहादुरको कर्तव्य भएको प्रस्ट देखिन्छ । प्रतिवादी सम्झनाको सल्लाहअनुरूप नै मृतकको मृत्यु भएको हो । प्रतिवादी सम्झना क्षेत्रीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम सजाय गर्नुपर्नेमा ऐ. महलको १७(३) नं. बमोजिम सजाय गरेको पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
मैले चन्द्रबहादुरलाई मार्ने कुनै पूर्व योजना, षड्यन्त्र, तयारी गरेको तथा चन्द्रबहादुरलाई मार्न प्रतिवादी माधव घिमिरेलाई सल्लाह दिएको छैन । "हिम्मत भए हेरौँ न त" भन्ने शब्दावली प्रयोग गरेको भन्ने शङ्का र अनुमानका आधारमा मलाई सजाय गरिएको छ । वारदातमा मेरो कुनै संलग्नता रहे भएको छैन । मेरो प्रतिवादी माधव घिमिरेसँग कुनै प्रेम सम्बन्ध रहेको छैन । मैले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा आरोपित कसुर स्वीकार गरेको छैन । झुठा अभियोग दाबीका आधारमा मलाई सजाय गरेको पुनरावेदन अदालत, बुटवलको त्रुटिपूर्ण फैसला उल्टी गरी सफाई दिलाई पाउँ भन्ने प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्रीको पुनरावेदन पत्र ।
प्रतिवादी विकास भन्ने माधव घिमिरेका हकमा पुनरावेदन अदालत, बुटवलले गरेको फैसलाउपर यस अदालतको साधक दायरीमा दर्ता भई पेस भएको
रहेछ ।
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान् सहन्यायाधिवक्ता श्री खगराज पौडेलले प्रतिवादी संगिता क्षेत्रीको प्रतिवादी विकास भन्ने माधव घिमिरेसँग प्रेम सम्बन्ध भएको तथ्य प्रतिवादीहरूको बयानसमेतले पुष्टि गरेको छ । प्रतिवादीहरू बिच बढ्दै गएको सम्बन्धमा तगारोको रूपमा चन्द्रबहादुर रहेकोले निजलाई समाप्त गरेपछि प्रतिवादीहरूको सम्बन्ध कायम हुने प्रस्ट भएकोले प्रतिवादी संगिता भन्ने सम्झनाको योजना, सल्लाह र षड्यन्त्रअनुरूप चन्द्रबहादुरसमेतको हत्या गरेको मिसिल संलग्न प्रमाणहरूले पुष्टि गरेको
छ । प्रतिवादी सम्झनाले "हिम्मत भए हेरौँ न त" भनी उक्साएकोले त्यसै उक्सावटबाट उत्प्रेरित भई मृतकको मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट पुष्टि गरेको
छ । यस्तो अवस्थामा संगिता भन्ने सम्झनालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम सजाय गर्नुपर्नेमा ऐ. महलको १७(३) नं. अनुसार तिन वर्ष कैद सजाय गरेको पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी सुरू जिल्ला अदालतको फैसला सदर गरिपाउँ भनी बहस गर्नुभयो ।
विद्वान् सहन्यायाधिवक्ताको उपर्युक्त बमोजिमको बहस सुनी पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन, पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू उपर परेको किटानी जाहेरी, घटनास्थल लासजाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, प्रतिवादीहरूले अदालत तथा मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, शव परीक्षण प्रतिवेदन (Autopsy Report), मौकामा बुझिएका व्यक्तिहरूको कथनसमेतबाट चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेको मृत्यु कर्तव्यबाट भएको तथ्यमा विवाद रहेको देखिएन ।
३. प्रतिवादी विकास भन्ने माधव घिमिरेका हकमा साधक दर्ता भई पेस भएको देखिँदा सो सम्बन्धमा विचार गर्नुपर्ने देखियो । मेरा पति चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेलाई कर्तव्य गरी हत्या गरेकोले दोषी छानबिन गरी सजाय गरिपाउँ भनी प्रतिवादीउपर परेको जाहेरीका आधारमा अनुसन्धान भई सङ्कलित सबुद प्रमाणका आधारमा प्रतिवादीहरू माधव घिमिरे र संगिता भन्ने सम्झना क्षेत्रीले मृतक चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेलाई कर्तव्य गरी हत्या गरेको पुष्टि भएकोले प्रतिवादी विकास भन्ने माधव घिमिरेलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने प्रतिवादीउपर माग दाबी रहेको पाइन्छ । प्रतिवादी विकास भन्ने माधव घिमिरेले अदालतमा आरोपित कसुरमा इन्कारी बयान गरे तापनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष मृतक चन्द्रबहादुरकी पत्नी सम्झना क्षेत्रीसँग प्रेम सम्बन्ध भई विवाह गर्छु भन्दा बिचमा अवरोध छ के गर्छौ भनी सम्झनाले भन्दा मैले चन्द्रबहादुर बोहरालाई ठीक पारी तिमीलाई आफ्नो बनाउँछु भनेँ । त्यसपछि सम्झनाले लौ गर तेती हिम्मत छ भनेकी थिइन् । त्यसपछि म (माधव घिमिरे) हौसिएर मार्ने योजना बनाई कौसल एग्रोभेटमा गई थाएडिन नामक विषादी किनी मृतकहरूलाई चारपाला सामुदायिक वनमा लगी रक्सीमा विषादी मिसाई खान दिएँ । त्यसपछि निजहरू लल्याक लुलुक भए । तत्पश्चात् निजहरूको टाउको ढुङ्गामा ठोक्काई बटारी दिए भनी प्रतिवादी माधव घिमिरेले घटनाको श्रृङ्खलाबद्धरूपमा वर्णन गरी आरोपित अभियोग दाबीमा साबित भई बयान गरेको देखिन्छ । प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्रीले २०६६ सालको चैत महिनादेखि माधव घिमिरेसँग सम्पर्क र सम्बन्ध बढ्दै जान थाल्यो । सुरूसुरूमा एस.एम.एस. हुन थाल्यो । एस.एम.एस. पश्चात् भेट भई कुराकानी हुन थाल्यो । पटकपटक जङ्गलमा दाउरा खोज्न गएको बेलामा पनि माधवले मलाई जसरी भए पनि तिमीलाई विवाह गर्छु भन्थ्यो । बाधा अवरोधहरू छन् एक्लै निर्णय गर्न सक्दिन भन्दा उसले बाधा अवरोध म हटाउँछु
भन्यो । कसरी भनी प्रश्न गर्दा चन्द्रबहादुरलाई सफाया गरी दिन्छु । साइड लगाई दिन्छु भनी प्रतिवादी माधव धिमिरेको मौकाको बयान ब्यहोरालाई समर्थन हुने गरी बयान गरेको देखिन्छ । मिति २०६७।३।३२ को Autopsy Report मा Death is due to coma resulting from above mentioned injuries भन्ने उल्लेख भएको र परीक्षण गर्न पठाएको भिसेरा नमूनामा Organo-chlorine insecticide पाइएको भन्ने केन्द्रीय प्रहरी प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट देखिन्छ । एग्रोभेटका पसले पुष्पा ज्ञवाली तथा रेस्टुराँका पसले कमला न्यौपानेले मौकामा अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी माधव घिमिरेलाई थाएडिन तथा कोक बिक्री गरेको भनी कागज गरी दिएको
देखिन्छ । मौकामा अनुसन्धानको क्रममा बुझिएका सन्दीप भन्ने राजेन्द्र जि.एम.र अशोक भण्डारीसमेतका व्यक्तिहरूले प्रतिवादीको मौकाको बयानलाई समर्थन र पुष्टि हुने गरी हुने गरी बकपत्र गरेको देखिन्छ ।
४. टाउको जस्तो अति संवेदनशील अङ्ग ढुङ्गामा ठोक्काउँदा मानिस मर्ने परिणाम (Fore see) प्रतिवादीले पहिला नै देखेको र त्यो परिणाम प्राप्तिका लागि लल्याक लुलुक भएको टाउको ढुङ्गामा ठोक्काई बटारी चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेको मृत्यु यी प्रतिवादीको कर्तव्यबाट भएको देखिँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ (१) नं. बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्याएको पुनरावेदन अदालतको फैसलामा कानूनी त्रुटि रहेको देखिएन ।
५. अब प्रतिवादी संगिता भन्ने सम्झना क्षेत्रीलाई अभियोग दाबी अनुसार मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्नुपर्ने देखियो । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. हेर्दा "जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नमा बचन दिनेलाई वा वारदात भैरहेको ठाउँमा गई मार्नलाई संयोग पारी दिना निमित्त मर्ने मानिसको जीउमा हात हाली पक्री समाती दिनेलाई जन्मकैद गर्नुपर्छ" भन्ने कानूनी प्रावधान रहेको देखियो । यस दफाको अध्ययनबाट जुनसुकै कुरा गरी ज्यान मार्न बचन दिने वा वारदातस्थलमा गई मार्नलाई मर्ने मानिसको जीउमा हात हाली पक्री समाती मार्ने संयोग पारी दिए जन्म कैद गर्नुपर्ने
देखिन्छ ।
६. तर, प्रस्तुत मुद्दामा प्रतिवादी संगिता भन्ने सम्झना बोहराले मृतक चन्द्रबहादुर बोहरा र विष्णु न्यौपानेलाई मार्नु भनी बचन दिएको तथा वारदातस्थलमा मौजुद भई मर्ने मानिसहरूको जीउमा हात हाली पक्री संयोग पारी दिएको तथ्य मिसिल प्रमाणबाट
देखिँदैन । प्रतिवादी सम्झना बोहराले मार भनी वचन दिएपछि मैले मृतकलाई मारेको हो भन्ने प्रतिवादी विकास भन्ने माधव घिमिरेले बयानका क्रममा व्यक्त गरेको देखिँदैन । प्रतिवादी सम्झनाले अदालतमा इन्कारी बयान गरे पनि मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा २०६६ साल चैतदेखि माधव घिमिरेसँग सम्बन्ध बढ्न थाल्यो । पटकपटक जङ्गल जाँदा माधवले जसरी भए पनि तिमीलाई विवाह गर्छु भन्थ्यो । बाधा अवरोधहरू छन् एक्लै निर्णय गर्न सक्दिन भन्दा उसले बाधा अवरोध मै हटाउँछु भन्यो । कसरी भन्दा चन्द्रबहादुरलाई सफाया गर्छु, साइड लगाई दिन्छु भन्यो भनी बयानमा उल्लेख गरेको देखिन्छ । मौकामा बुझिएका कविराज बस्नेत, रक्षा भन्ने हिरा वि.क. समेतको कागजबाट प्रतिवादी सम्झना क्षेत्री बोहराले मृतकलाई मार्ने वचन दिएको वा वारदातस्थलमा मौजुद रही मर्नेको जीउमा हात हालेको वा मार्न संयोग पारी दिएको भन्ने मिसिल संलग्न प्रमाणबाट नदेखिएको अवस्थामा प्रतिवादी सम्झना क्षेत्री बोहरालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. अनुसार सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने अवस्था रहेको देखिएन ।
७. अब प्रतिवादी सम्झना क्षेत्री बोहराले अभियोग दाबीबाट सफाई पाउँ भनी दिएको पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्नुपर्ने देखियो । प्रतिवादी सम्झना क्षेत्री बोहराले प्रतिवादी विकास भन्ने माधव घिमिरेसँग प्रेम सम्बन्ध नभएको भनी अदालतमा बयानका क्रममा जिकिर लिए तापनि प्रतिवादी माधव घिमिरे र अनुसन्धानका क्रममा बुझिएकी पवित्रा गैरेसमेतको कागजबाट प्रतिवादी सम्झना क्षेत्री बोहराको माधव घिमिरेसँग प्रेम सम्बन्ध रहेको
देखिन्छ । प्रतिवादी माधव घिमिरेसँग प्रेम सम्बन्ध भएको र सोमा बाधक आफ्नो पति चन्द्रबहादुर बोहरा भएकोले निजलाई माधव घिमिरेले सफाया गरी दिन्छु भन्दा "लौ हेरौँ न त" भनी वारदात हुनुपूर्व भनेको तथ्य मिसिलबाट देखिन्छ । सहप्रतिवादी माधव घिमिरेले सम्बन्ध कायम गर्न पीर नगर म चन्द्रबहादुरलाई सफाया गरी दिन्छु भन्दा "हेरौँ न त" भनेको तथ्य प्रतिवादी माधव घिमिरे र सम्झना क्षेत्री बोहरा दुबैको मौकाको बयानबाट देखिन्छ । कसैले कानूनद्वारा निषेधित कार्य गरेमा वा कानूनद्वारा गर्नुपर्ने कार्य नगरेमा फौजदारी दायित्व सिर्जना हुन्छ । प्रतिवादी सम्झना क्षेत्रीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष मलाई चन्द्रबहादुर बोहरासँग घृणा लागेर आउने र माधव घिमिरेसँग माया लागेर आउन थाल्यो । माधव घिमिरेले मलाई विवाह गर्छु भन्दा मैले बाधा अवरोधहरू छन् उसले बाधा अवरोध मैले हटाउँछु भन्यो । मैले कसरी भन्दा चन्द्रबहादुरलाई सफाया गरी दिन्छु, ठीक पारी दिन्छु भन्यो भनी बयान गरेको पाइन्छ । यसरी प्रतिवादीले सफाया गरी दिन्छु भनी मौकामा भनेको कुरा प्रति कुनै उजुर आपत्ति नगरी त्यसलाई समर्थन गरी बसेको र सोही अनुसारको घटना घटी फौजदारी अपराधको दूष्परिणाम निस्केपछि जाहेरी दिएको देखिन्छ । घटना घटाउन सहमति जनाई अपराधको दूष्परिणाम निस्केपछि जाहेरी दिएको आधारमामात्र यी प्रतिवादीले फौजदारी दायित्वबाट सफाई पाउन सक्ने अवस्था रहँदैन ।
८. यस सम्बन्धमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७ नं. को देहाय ३ मा "अरू किसिमसँग मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहनेलाई र लेखिए देखिबाहेक अरू किसिमको मतलबीलाई ६ महिनादेखि ३ वर्षसम्म कैद गर्नुपर्छ" भन्ने कानूनी प्रावधान रहेको देखियो । यस दफाको अध्ययनबाट कुनै किसिमको मत सल्लाहमा पसेकोमा मार्ने ठाउँमा गई केही नगरी हेरी रहने वा अरू कुनै किसिमका मतलबीलाई ६ महिना देखि ३ वर्षसम्म कैद गर्नुपर्ने देखिन्छ ।
९. प्रस्तुत मुद्दामा प्रतिवादी सम्झना क्षेत्री वारदातस्थलमा मौजुद भएको वा चन्द्रबहादुर बोहरालाई मार भनी निजले बचन दिएको
देखिँदैन । तर, प्रतिवादीले चन्द्रबहादुरलाई सफाया गरी दिन्छुभन्दा त्यसो गर्नु हुन्न भनी नरोकी अपराध हुन जाने काममा मतलबीको रूपमा यी प्रतिवादीले काम गरेको देखिन्छ । यसरी प्रतिवादी सम्झना क्षेत्रीले मृतक चन्द्रबहादुर बोहरासमेतलाई मार्ने मतलबमासम्म पसेको मिसिल संलग्न प्रतिवादीहरूका मौकाको बयानसमेतका कागजप्रमाणहरूबाट देखिँदा प्रतिवादी सम्झना क्षेत्रीलाई मतलबीसम्म ठहर्याई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७ (३) नं. बमोजिम सजाय गरेको पुनरावेदन अदालतको फैसलामा कानूनी त्रुटि रहेको देखिएन ।
१०. अतः माथि उल्लिखित आधार र कारणसमेतबाट प्रतिवादी विकास भन्ने माधव घिमिरेलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादी सम्झना क्षेत्रीलाई ऐ. महलको १३(४) नं. बमोजिम जन्म कैद हुने ठहर्याएको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।१२।१० को फैसलामा प्रतिवादी माधव घिमिरेका हकमा सुरूको फैसला सदर गरी र प्रतिवादी सम्झना क्षेत्रीको हकमा सुरू जिल्ला अदालतको फैसला केही उल्टी गरी निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम ३ (तीन) वर्ष कैद सजाय हुने ठहर्याएको पुनरावेदन अदालत, बुटवलको मिति २०६९।२।२८ को फैसला मिलेको देखिँदा साधकसमेत सदर हुने ठहर्छ । पुनरावेदक वादी, प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीबाट लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत : प्रेमप्रसाद न्यौपाने
इति संवत् २०७२ साल माघ २८ गते रोज ५ शुभम् ।