शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५६७ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर जबरा

फैसला मिति : २०७२।९।१३।२

 

मुद्दा : कर्तव्य ज्यान

 

०६९-CR-०४७८

पुनरावेदक / प्रतिवादी : जिल्ला ओखलढुंगा नारायणस्थान गाउँ विकास समिति वडा नं ४ ठेगाना भई हाल जगन्नाथदेवल कारागार थुनामा रहेका संजिव भन्ने संजिभ गुरूङसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : लेखबहादुर रेग्मी मगरको जाहेरीले नेपाल सरकार

 

०६९-CR-०९०६

पुनरावेदक / वादी : लेखबहादुर रेग्मी मगरको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला ओखलढुंगा नारायणस्थान गाउँ विकास समिति वडा नं ४ ठेगाना भई हाल जगन्नाथदेवल कारागार थुनामा रहेका संजिव भन्ने संजिभ गुरूङसमेत

 

आजभोलि कुनै कारण वादी नेपाल सरकारले वतनको र जिल्ला अदालतले जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क लाई निहूँ बनाई कसुरदार प्रतिवादीहरूको हकमा पछि मुद्दा चलाउने वा फैसला हुने भनी उल्लेख गर्ने गरेको पाइन्छ । तर पछिबाट ती कसुरदार विरूद्ध अभियोगपत्र दायर वा फैसला हुने कुनै कामकुरा नहुदा कसुरदारले व्यापकरूपमा कसुरबाट उन्मुक्ति पाएको देखिन्छ । ती सब कुरामा पुनरावेदन परेको पनि 

पाइँदैन । वतन स्पष्ट नभएको वा फरार भएको प्रतिवादीउपर अभियोगपत्र दायर हुन कुनै कानूनी बाधा नदेखिने । 

जिल्ला अदालत नियमावली, २०५२ को नियम २२क अनुसार उल्लिखित मोबाइल नम्बरमा वा राष्ट्रिय दैनिक पत्रिकामा पनि म्याद सूचना प्रकाशित गर्ने भन्ने कानून पनि रहेभएकै छ । इमानदार प्रयासका बाबजूद प्रतिवादीको अत्तोपत्तो नलागेको अवस्थाको लागि जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क को निर्माण भएको कुराको हेक्का रहनु आवश्यक हुने ।

अभियोजनकर्ताले प्रतिवादीको बाबु बाजेको नाम थर र प्रतिवादीहरूको वतन खुली आएमा अभियोगपत्र दायर हुने भन्ने कुरा उल्लेख गरी अभियोगपत्र दायर गर्ने गरी कामकारवाही गर्न पाउने कुराको कानूनी वा नजिरगत आधार 

देखिँदैन । कानूनी निकायले कानूनले तोकेको कुराबाहेक आफुखुशी जथाभावी गर्दा दण्डहीनता र स्वेच्छाचारिता मौलाउने कुराको हेक्का रहनु आवश्यक भएकोले यो फैसलाको जानकारी यस अदालतको अनुगमन शाखालाई र नेपाल सरकारको महान्यायाधिवक्ता र प्रहरी प्रधान कार्यालयसमेतलाई उपलब्ध गराउने ।

(प्रकरण नं.२०)

 

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता डा. रजितभक्त प्रधानाङ्ग र विद्वान अधिवक्ता निर्मला शाक्य

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

मा.न्यायाधीश श्री जगतप्रसाद श्रेष्ठ

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात

मा. न्यायाधीश श्री हरिकुमार पोखरेल

 

फैसला

न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ सरस्वतीनगरस्थित पूर्व याङतारू सेकुवा कर्नर घर, पश्चिममा गोपिकृष्णबाट साततलेतर्फ जाने सडक, उत्तरमा सानुमाया डंगोलको नाममा दर्ता रहेको जग्गा यति चारकिल्लाभित्र सडकको पूर्व किनारमा रगत रहेको, सो नजिकै भुइँमा रगत जस्तो रातो पदार्थ लागेको गोलाई १० इन्च, लम्बाई ५ इन्च भएको सेतो रङ्गको ढुंगा रहेको सोही ढुंगा रहेको स्थानमा मिति २०६७।७।१७ गते अं २०.०० बजेको समयमा श्यामबहादुर रेग्मी मगरलाई संजिभ गुरूङसमेतले लात, मुक्का तथा ढुङ्गासमेत प्रहार गरी कुटपिट गरी गम्भीर घाइते बनाएको र घटनास्थलमा फेला परेको उल्लिखित ढुङ्गा प्रहरीले उठाई लगेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

मिति २०६७।७।१७ गतेका बेलुका काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित रहेको याङतारू सेकुवा कर्नरबाट म जाहेरवालाको भाइ वर्ष ३१ को श्यामबहादुर रेग्मी मगर तथा निजका साथीहरू अशोककुमार यादवसमेत खाजा खाई घरतर्फ फर्कने क्रममा सोही बेलुका अं २०.४० बजेको समयमा मेरो भाइ श्यामबहादुर रेग्मी मगरलाई प्रतिवादीहरू राना भन्ने देव लामा, बरूण लामा, आशिष गुरूङ, संजिभ गुरूङसमेतका ७।८ जना मानिसहरूले लात, मुक्का र ढुङ्गासमेतले टाउकोसमेत शरीरका विभिन्न भागमा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको उपचारको क्रममा सोही राति अं ११.४५ बजेतिर मृत्यु भएकाले भाइलाई कुटपिट गरी कर्तव्य गरी मार्ने बरूण लामा, आशिष गुरूङ, राना भन्ने देव लामा, संजिभ गुरूङसमेतलाई कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको लेखबहादुर रेग्मी मगरको जाहेरी दरखास्त ।

मृतक श्यामबहादुर रेग्मी मगरको निधारको बायाँ साइडमा २ इन्च लम्बाई २ इन्च चौडाई भएको काटेको घाउ, बायाँ गालामा निलो घाउ, मुखबाट रगत बगेको, अनुहारको भाग सुन्निएको, च्यापुको दायाँ साइडमा निलो खोस्रिएको घाउ, बायाँ कन्चटमा सुन्निएको भन्ने मृतकको लासजाँच प्रकृति मुचुल्का ।

मिति २०६७।७।१७ गतेका दिन अं १६.३० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ सरस्वतीनगर स्थित बीमा समितिको भवन नजिकै एक्कासी साथीहरू आशिष गुरूङ, बरूण लामा र राजु श्रेष्ठसँग भेट भयो । निजहरूसँग साततले स्थित स्नुकर बाजी खेली हामी सबैजना काठमाडौं महानगरपालिका ७ सरस्वतीनगरमा रहेको याङतारू सेकुवा कर्नरमा खाजा खान गयौं । साथी राना भन्ने देव लामालाई पनि मैले सोही स्थानमा खाजा खान बोलाए । साथी राजुको ब्रत भएको र केही खान नमिल्ने भएकोले निज केही बेरमा आफ्नो घरतिर गए । हामी ४ जना बसी सेकुवा र बियर अर्डर गरी खान थाल्यौं । हामीलाई हल्का बियरको नशासमेत लागेको थियो । हामी खाजा खाने क्रममा पछि नाम थाहा भएका मृतक श्यामबहादुर रेग्मी मगर र निजका साथीहरू गरी जम्मा ३ जना मानिसहरू पनि सोही स्थानमा आई अर्को टेबुलमा बसी खाजा खान थाले । खाजा खाने क्रममा बरूण र पछाडितर्फ टेबुलमा बसेका मृतकको आँखा तरातर भएछ । बरूणले मृतकलाई आमाचकारी गाली गर्‍यो । उताबाट मृतकले पनि आफ्ना जग्गा में कुत्ता भी शेर होता हे भन्यो । बरूणलाई रीस उठेर आज यसलाई ठीक पार्नुपर्छ भन्दै कुरा गर्न 

थाल्यो । मृतक पनि निजका साथीहरूसँग गुनगुन कुरा गर्न थाले । बरूण र आशिषले मृतकलाई पिट्ने सल्लाह गर्न थाले । मैले र देवले यो हाम्रो टोल हो झगडा नगरौं भनी सम्झाए । सबै जना खाई सकेपछि मैले बिल तिरें । म र देव अगाडि होटल बाहिर निस्के । बरूण र आशिष पछिपछि निस्के । होटल बाहिर निस्केर पनि बरूण र आशिष मान्छे कुट्नु पर्छ भन्दै सल्लाह गर्न थाले । मलाई पनि निज बरूणले के हो आज मान्छे कुट्ने होइन भन्दै थिए । देव रोडदेखि पारी बाटो तिर गए । म नजिकै सडक किनारमा भुइँमा बसेर गिटी बालुवा खेलाउँदै थिएँ । पुलिसको जस्तो भेन आयो । पुलिसको भेन होइन रहेछ । बरूण र आशिष सल्लाह गर्दै उभिएका थिए । देव केही पर थियो । केही बेरमा होटल भित्रबाट मृतकसमेत ३ जना बाहिर निस्किनासाथ बरूण र आशिषले एक्कासि दौडेर गई मृतक श्यामबहादुर रेग्मी मगरलाई कुटपिट गरी जमिनमा ढाले । मैले के गरेको भनी हेर्न जाँदा मृतकको अनुहारसमेतबाट रगत बगेर बेहोस जस्तो अवस्थामा थियो । मृतकलाई ढाली सकेपछि मृतकका साथीहरूलाई पनि बरूण र आशिषले गाली गर्दै धकेली रहेका थिए । केही बेरमा आशिष र बरूण सो ठाउँबाट भागे । त्यै क्रममा होटलवाला समेतले थाहा पाई बाहिर निस्के । मलाई डर लाग्यो र म सो स्थानबाट भागेर घरतर्फ गएको हुँ भन्ने संजिव भन्ने संजिभ गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६७।७।१७ गतेका बेलुका साथी संजिभ गुरूङले मलाई फोन गरी याङतारू सेकुवा कर्नरमा खाजा खान बोलाएका कारण म उक्त सेकुवा कर्नरमा गएँ । सेकुवा कर्नरमा संजिभ गुरूङ, बरूण लामा, राजु श्रेष्ठ र आशिष गुरूङ बसी खाजा खाँदै रहेछन् । राजु श्रेष्ठको ब्रत भएको कारण निजले केही खाएनन् र केही बेरमा निज आफ्नो घरतर्फ गए । संजिभसमेत हामी ४ जना बसी सेकुवा र बियर खान थाल्यौ । हामी खाजा खाँदै गर्दा पछि नाम थाहा भएका मृतक श्यामबहादुर रेग्मी मगर र निजका साथीहरू २ जना पनि सोही होटलभित्र अर्को टेबुलमा बसी खाजा खान थाले । खाजा खाँदै गर्दा साथी बरूण र मृतकबिच आँखा तरातर भएछ । बरूणले मृतकलाई आमाचकारी गाली गर्‍यो । उताबाट मृतकले पनि आफ्ना जग्गा में कुत्ता भी शेर होता हे भनेर जवाफ दिएपछि बरूणलाई रीस उठेछ र आज यसलाई ठीक पार्नुपर्छ भन्न थाल्यो । मृतक पनि आफ्नो साथीसँग गुनगुन गर्न थाल्यो । बरूण र आशिषले झगडा गर्ने कुरा गरे । हामीले निजहरूलाई सम्झाउने कोसिस गर्‍यौं । खाएको बिल संजिभले तिरे । म र संजिभ अगाडि-अगाडि बाहिर निस्कियौं । आशिष र बरूण पछिपछि निस्किए । होटल बाहिर निस्किएर म रोड पारी उभिएर बसेको थिए । बरूण र आशिष होटलको ढोका बाहिर बसी सल्लाह गर्दै थिए । संजिभ रोड किनारमा घरतर्फ जाऔं भन्दै बसेका थिए । त्यसै बेलामा पुलिसको जस्तो भ्यान आयो । पुलिसको भ्यान होइन रहेछ । केही बेरमा मृतक र निजका साथीहरू होटलबाट निस्किए । बरूण र आशिषले दौडेर गई मृतकलाई लात मुक्कासमेतले अनुहारमा प्रहार गर्न थाले । मृतक रगताम्य भई सोही स्थानमा ढले । मैले सो स्थानमा गै छुट्‍याउन लाग्दा मृतक रगताम्य थियो । आशिष र बरूणले मृतकका साथीहरूलाई पनि कुटपिट गर्न खोजेपछि मृतकको साथीहरू भागे । होटलभित्रबाट मानिसहरू समेत बाहिर निस्के । सबैजना भागे । म पनि सो स्थानबाट आफ्नो घर कोठातिर भागेको हुँ । कुटपिट गर्दा म रोड बारी थिए । तत्काल छुट्‍याउन भ्याइन भन्नेसमेत व्यहोराको प्रतिवादी राना भन्ने देव लामाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

Left side of the face is swollen; laceration measuring 1x0.5cm over the left occipital region; a 4x2cm bone deep laceration over the left forehead, 2cm left to the anterior midline and 9.5cm from top of the head with surrounding contusion; abrasion measuring 2x1cm over the left cheekbone; a contusion measuring 6x3cm over left lateral neck extending up to area behind the left pinna and multiple abrasion ranging from few millimeters to 2 x1 cm over left neck, just below angle of mandible र cause of the death मा Blunt force trauma to the head भन्ने व्यहोराको मृतक श्यामबहादुर रेग्मी मगरको शव परीक्षण प्रतिवेदन ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ सरस्वतीनगर स्थित रहेको याङतारू सेकुवा कर्नर म र मेरो श्रीमान थिरेन्द्र थाम्सुहाङ्गले सञ्चालन गर्दै आएका छौं । मिति २०६७।७।१७ गतेका बेलुका अं ६ बजेको समयतिर आशिष गुरूङ, बरूण लामा, संजिभ गुरूङ र राजु भन्ने ४ जना व्यक्ति खाजा खान सो सेकुवा कर्नरमा आए । निजहरू एकै टेबुलमा बसी खाजा खान थाले । केही बेरमा निजहरूका साथी राना भन्ने देव लामा पनि आए र सँगै टेबुलमा बसी सेकुवा र बियर खान थाले । राजु भन्ने व्यक्ति उठेर घरतर्फ 

लागे । निजहरू ४ जना बसी बियर र सेकुवा खादैँ थिए । पछि मृतक श्यामबहादुर रेग्मी मगर र निजका साथीहरू २ जना गरी जम्मा ३ जना पनि होटलमा आई अर्को टेबुलमा बसी खाजा खान थाले । मेरो श्रीमान् थिरेन्द्र होटल बाहिर टेबुलमा बसी गाउँका साथीसँग कुराकानी गर्दै बसेका थिए । संजिभका ग्रुपहरू अलि चर्को स्वरमा हल्ला गर्दै कुराकानी गरिरहेको सुनेको थिएँ । मैले खासै मतलब गरिन । म काउन्टरमा बसिरहेकी थिएँ । बेलुका पौने आठ बजेतिर संजिभका ग्रुपहरू बिल तिरेर होटल बाहिर निस्की गएका थिए । मृतकका ग्रुपहरू बसी खाँदै थिए । २०।२५ मिनेट पछि मृतकहरू पनि उठे । त्यसै समयमा बेलाबखतमा होटलमा खाजा खान आउने कमल भन्ने व्यक्ति पनि होटलभित्र आई यता उता हेरी बाहिर निस्केर कता गए मैले 

देखिन । मृतक अलि अगाडि होटल बाहिर निस्केका थिए । निजका साथीहरूले बिल तिरेर निजहरू पनि बाहिर निस्केका थिए । त्यसै बेलामा बाहिर मानिसहरूले हल्ला गरी मार्‍यो मार्‍यो भन्दै कराएको सुनें । होटलको ढोका बाहिर निस्केर हेर्दा सडक छेउमा श्यामबहादुर रेग्मी मगर रगताम्य भई लडेका र आशिष गुरूङले लातले मुख छाड्दै पिटेको देखेँ । मैले हारगुहार मागेँ । त्यसपछि आशिष पनि भागेर गए । मृतकका साथीहरू पनि सो स्थानमा आई मृतकलाई उठाए । तत्काल हामी वरपरका मानिसहरूले घाइतेलाई ट्‍याक्सीमा हाली उपचारको लागि अस्पतालतर्फ पठाएका हौ । उपचार गराउँदा गराउँदै श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको हो भन्ने व्यहोराको दुर्गा आङदाङवे लिम्बुको कागज ।

मिति २०६७।७।१७ गते बेलुका अं ६ बजेतिर मेरो सेकुवा कर्नरमा आशिष गुरूङ, बरूण लामा, संजिभ गुरूङ, र राजु भन्ने व्यक्ति आई खाजा अर्डर गरी खान थाले । केही बेरपछि निजहरूका साथी राना भन्ने देव लामा पनि आए । निजहरू एकै टेबुलमा बसी बियर र सेकुवा खान थाले । निजहरूका साथी राजु केही बेर बसी होटलबाट निस्की गए । पछि मृतक श्यामबहादुर रेग्मी मगरसमेत निजका साथीहरू २ जना गरी जम्मा ३ जना पनि होटलमा आएर अर्कै टेबुलमा बसी खाजा खान थाले । मेरो गाउँको दाजु नाताका मानिस आएको कारण म चाहि होटलको पश्चिमतर्फ बाहिर दाजुसँग बसी कुराकानी गर्न थालेँ । बेलुका अं ७.४५ बजेतिर होला बरूण लामा, आशिष गुरूङ, संजिभ गुरूङ र राना भन्ने देव लामासमेतका मानिसहरू होटलबाट गएको थाहा पाएँ । निजहरू कहाँ कता गए मैले देखिन । निजहरू गएको अं २०।२५ मिनेटपछि मृतकसमेतका मानिसहरू पनि उठे । मृतक चाहि निजका साथीहरू भन्दा केही अगाडि होटलको ढोका बाहिर निस्केका रहेछन् । मृतकका साथीहरूले बिल तिरे । सोही बखत कमल श्रेष्ठ पनि उक्त होटलमा आई यता उता हेरी होटलबाहिर निस्केर गएका थिए । निज कमल किन आए मलाई थाहा भएन । म होटलको किचनतिर गएको थिएँ । एक्कासी होटल बाहिर मान्छे मार्‍यो भन्दै कराएको सुनेपछि म तत्काल काउन्टर नजिकै आई ढोकादेखि बाहिर हेर्दा सडक किनारमा श्यामबहादुर रेग्मी मगर रगताम्य भई ढलेको अवस्थामा देखे । तत्काल काउन्टरको फोनबाट १०० मा फोन गरी प्रहरीलाई जानकारी गराएँ । होटलबाहिर गई घाइतेलाई उठाउँदा टाउकोसमेतमा चोट लागि अचेत जस्तो 

थिए । तत्काल मसमेतले उपचार गराउन अस्पतालतर्फ पठाएकोमा उपचार गराउँदा गराउँदै निजको मृत्यु भएको रहेछ । प्रतिवादीहरू आशिष गुरूङ, बरूण लामा, संजिभ गुरूङ, देव लामासमेतका मानिसहरूको ग्रुपका केटाहरूले श्यामबहादुर रेग्मी मगरलाई कुटपिट गरेको पछि थाहा पाएँ भन्नेसमेत व्यहोराको याङतारू सेकुवा कर्नरका सञ्चालक थिरेन्द्र थाम्सुहाङको कागज ।

मिति २०६७।७।१७ गते बेलुका ६ बजेतिर म, मृतक श्यामबहादुर रेग्मी मगर र राकेश महतो काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर स्थित याङतारू सेकुवा कर्नरमा खाजा खान गएका थियौं । हामीले सेकुवा र अलिअलि रक्सी अर्डर गरी एउटै टेबुलमा बसी खान थाल्यौं । होटलभित्र अर्को टेबुलमा आशिष गुरूङ, संजिभ गुरूङ, बरूण लामा र राना भन्ने देव लामा पनि बसी खाजा रक्सी खाँदै गरेको देखेका हौं । निज आशिष गुरूङसमेतका केटाहरू होहल्ला नाचगान गर्दै गीत गाउन थाले । हामीले आफ्नै तालले यताउति हेर्दा निजहरूले हामीहरूलाई आमाचकारी गाली गरे । हामी चुप लागेर बस्यौं । बाहिर गएपछि ठीक पार्नुपर्छ भन्दै कुरा गर्न थाले । त्यसपछि निजहरू बिल तिरेर होटल बाहिर निस्केर गएका थिए । हामी निजहरू गएको अं २०।२५ मिनेट पछि उठ्‍यौ । मृतक श्यामबहादुर रेग्मी मगर गर्मी भयो भन्दै होटलको ढोका बाहिर उभिएर बसे । म र राकेश महतोले बिल तिर्‍यौं । बेलुका लगभग ८ बजेको थियो होला । हामी बिल तिरेर बाहिर निस्की जान लाग्दा एक्कासि संजिभ गुरूङ, राना भन्ने देव लामा, बरूण लामा, आशिष गुरूङ, कमल भन्नेसमेत ५।६ जना मानिसहरूले हातमा ढुङ्गा लिई आई श्यामबहादुर रेग्मी मगरलाई जताततै प्रहार गर्न थाले । मृतक सोही स्थानमा जमीनमा ढले । निजहरूले लात मुक्काले प्रहारसमेत गरेँ । म र साथी राकेशलाई पनि लात्ता मुक्काले प्रहार गरे । हामीहरूले हारगुहार माग्यौं । होटलको साहुजी र साहुनीसमतेले थाहा पाए । त्यसपछि सो स्थानबाट सबैजना मानिसहरू भागेर गएपछि मसमेतले घाइते श्यामबहादुर रेग्मी मगरलाई उपचार गराउन अस्पताल लगेका हौं । उपचारको क्रममा निज श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको हो भन्ने व्यहोराको अशोककुमार यादवको कागज ।

मिति २०६७।७।१७ गतेका बेलुका अं ६ बजेतिर म, अशोककुमार यादव र मृतक श्यामबहादुर रेग्मी मगर काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर स्थित याङतारू सेकुवा कर्नरमा खाजा खान आएका थियौं । सोही होटलमा अर्को टेबुलमा बरूण लामा, आशिष गुरूङ, संजिभ गुरूङ, राना भन्ने देव लामासमेत बसी बियर र सेकुवाहरू खाँदै रहेछन् । हामी पनि बसी खाजा खान थाल्यौं । निजहरू अलि ठूलो स्वरले हल्ला गर्दै गीत गाउने नाच्ने गर्न थाले । हामीले हेर्दा निजहरू मध्येको संजिभ गुरूङसमेतले के हेरेको भनी निजहरूले गाली गरे । निजहरूले यिनीहरूलाई ठीक पार्नुपर्छ भन्दै कुराकानी गरेपछि निजहरू बिल तिरेर होटलबाट बाहिर निस्केर गएका थिए । हामी चुप लागेर बस्यौं । निजहरू गएको अं २०।२५ मिनेट पछि हामीहरू पनि उठ्‍यौ । मृतकलाई गर्मी भएकोले काउन्टर नजिकै ढोका बाहिर उभिएर बसे । म र अशोक बिल तिर्न थाल्यौ । बिल तिरेर हामी तिनै जना घरतर्फ जाँदै गर्दा एक्कासि बरूण लामा, आशिष गुरूङ, संजिभ गुरूङ, राना भन्ने देव लामा र अन्य २ जना मानिसहरू समेत हातमा ढुङ्गा लिई आई श्यामबहादुर रेग्मीलाई जताततै प्रहार गरे । मृतक सोही स्थानमा रगताम्य भई लडेका 

थिए । ढलेका मृतकमाथि पनि संजिभ, देवसमेतले लात्ता मुक्कासमेत प्रहार गरे । अन्य निजका मतियारहरूले हामीहरूलाई समेत लात मुक्का प्रहार गरे । हामीहरूले हारगुहार माग्यौ । पछि होटलका साहुजीसमेतले थाहा पाएपछि निजहरू सबैजना सो स्थानबाट भागी फरार भए । मसमेतले घाइते श्यामबहादुर रेग्मी मगरलाई उपचार गराउन अस्पताल लगेका हौं । पछि उपचारको क्रममा निज श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको हो भन्ने व्यहोराको राकेश महतोको कागज । 

मिति २०६७।७।१७ गते बेलुका काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर स्थितमा बरूण लामा, आशिष गुरूङ, संजिभ गुरूङ, राना भन्ने देव लामा, कमलसमेतले श्यामबहादुर रेग्मी मगरलाई लात, मुक्का र ढुङ्गा प्रहार गरी कुटपिट गरी घाइते बनाएका र पछि उपचारको क्रममा निज श्यामबहादुर रेग्मी मगरको मृत्यु भएको भन्ने सुनी थाहा पाएका हौं भन्नेसमेत व्यहोराको करिब करिब एकै मिलानको प्रकाशकुमार मगर, सानु पूर्वछाने मगर र होमराज खपाङ्गी मगरको घटना विवरण कागज ।

घटनाका दिन कमल श्रेष्ठ हामीसँग भेट भएको छैन । निजलाई हामीले घटनाका दिन देखेका छैनौ । कमल श्रेष्ठले निज श्यामबहादुर रेग्मी मगरलाई कुटपिट गरेको देखेनौ । हामीले कुटेका छैनौं । बरूण र आशिषले कुटेका हुन भन्ने व्यहोराको प्रतिवादीहरू संजिव भन्ने संजिभ गुरूङ र राना भन्ने देव लामाको ततिम्बा 

बयान ।

मृतक श्यामबहादुर रेग्मी मगरको मृत्यु टाउकोमा प्रहार भएको चोटबाट भएको देखिन्छ । प्रतिवादीहरू मध्ये निजको टाउकोमा ढुंगाले प्रहार कसले गरेको थियो भन्ने हालसम्मको अनुसन्धानबाट यकिन हुन सकेको अवस्था देखिन नआएको र सबै प्रतिवादीको संलग्नतामा उक्त वारदात घटित भएको हुँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग दाबी ।

मलाई संजिभ लामाले खाजा खाउँ भनी फोन गरेको हुँदा म खाजा खान मिति २०६७।७।१७ गते याङतारू सेकुवा कर्नरमा गई २ गिलास बियर खाएको हुँ । बियर खाएको अवस्थामा बरूण लामा र मृतकको बिच आँखा तरातर भएपछि बरूणलाई यस्तो सामान्य कुरामा झगडा गर्न हुँदैन भनी म र संजिभ लामा घरतिर गयौं । बरूण र आशिष सोही होटलमा थिए । निज मृतकलाई को कसले कुटपिट गरेको हुन कसरी निजको मृत्यु भयो मलाई थाहा छैन । म माथि लगाएको आरोप झुट्ठा हो । अनुसन्धान अधिकारीसमक्षको बयानमा आशिष र बरूणले मृतकलाई कुटपिट गर्ने सल्लाह भएबमोजिम निजलाई आशिष एवं बरूणले कुटपिट गरेको हो भनी मैले भनेको होइन । बाँकी बयान व्यहोरा ठिकै हो । सोमा भएको सहीछाप मेरै हो भन्नेसमेत व्यहोराको प्रतिवादी राना भन्ने देव लामाले अदालतमा गरेको बयान ।

मिति २०६७।७।१७ गते बेलुकी ६ बजेतिर बरूण लामा, आशिष गुरूङ, देव लामा र मसमेतका साथीहरूले चाबहिल स्थित याङतारू सेकुवा कर्नरमा रक्सी बियर र सेकुवा खाएका हौं । बियर खाँदा मृतकको र बरूण लामा तथा आषिश गुरूङको आँखा तरातर भएको थियो । बियर खाइसकेपछि म र देव लामा घर गयौं । निज मृतकलाई को कसले कुटपिट गरे मलाई थाहा भएन आषिश र बरूण सोही होटलमा थिए । मैले मृतकलाई कुटपिट गरेको होइन । म माथिको आरोप झुट्ठा हो । अनुसन्धानको सिलसिलामा गरेको बयानमध्ये मृतकलाई कुटपिट गर्नु पर्छ भनी आशिषले भनेबमोजिम सल्लाह भई निजलाई आशिष र बरूणले कुटपिट गरेको हो भनी मैंले भनेको होइन । अरू बाँकी कुरा मैले भनेको हुँ सो व्यहोरा ठिकै हो । सहिछाप मेरै हो भन्नेसमेत व्यहोराको प्रतिवादी संजिव भन्ने संजिभ गुरूङले अदालतमा गरेको बयान ।

मौकामा भएको कागजमा भएको सहिछाप मेरो हो व्यहोरा मेरो होइन । पुलिसले व्यहोरा लेखाई सही गर भनेकाले डरले सहि गरेको हुँ । घटनापूर्व म, मृतक र अशोक यादव एउटा टेबुलमा बसेर खाना खाइरहेका थियौं । मृतकसँग आशिष या बरूण कसको हो आखाँ तरातर भयो । त्यसपछि सामान्य विवाद 

भयो । उनीहरूले अलि ठूलो स्वरले गाली गरे । मृतकले आफ्नो जग्गा में कुत्ता भी शेर होता हे भने । त्यसपछि आशिष गुरूङ उठ्यो । अनि पछि नाम थाहा भएका संजिव गुरूङले आफ्नो एरियामा झगडा गर्नुहुँदैन भने । वातावरण शान्त भयो । त्यसपछि देव लामा र संजिभ गुरूङ उठेर हिडेँ । २०/२५ मिनेट पछि हामी बाहिर निस्कदा एक्कासि मृतक श्यामलाई आशिष गुरूङले ढुंगाले तथा लात्तामुक्काले हिर्काए । वारदातस्थलमा संजिभ गुरूङ र राना भन्ने देव लामा थिएनन भन्ने व्यहोराको राकेश महतोले अदालतमा गरेको बकपत्र ।

हाल नाम थाहा भएका मृतक श्यामबहादुर रेग्मीलाई आशिष गुरूङले लातले मुखमा हानेको सम्म मैले देखेको हो । संजिभ गुरूङ र देव लामाहरू २०/२५ मिनेट अगाडि नै बिल तिरेर गइसकेका थिए भन्ने व्यहोराको दुर्गा आङदाङ्वे लिम्बूले अदालतमा गरेको बकपत्र । 

सडकमा होहल्ला हुँदा श्यामबहादुर रेग्मी मगरलाई ढलेको अवस्थामा देखी प्रहरीलाई १०० नम्बरमा फोन गरी प्रहरी आई घाइतेलाई ट्याक्सीमा लगेको हो भन्ने व्यहोराको थिरेन्द्र थाम्सुहाङ्गले अदालतमा गरेको बकपत्र ।

मृतक श्यामबहादुर मगरलाई कोकस्ले कर्तव्य गरी मारेको हो सो सम्बन्धमा मलाई केही थाहा छैन । प्रतिवादीहरू उक्त घटनामा संलग्न 

छैनन । प्रहरीले व्यहोरा लेखी मलाई सही गर भनेकोले जाहेरी दरखास्तमा सहिसम्म गरेको हुँ भन्ने व्यहोराको लेखबहादुर रेग्मी मगरले अदालतमा गरेको बकपत्र ।

मैले निजहरूलाई कारवाही हुनुपर्छ भनेको छैन । म झुट्ठो बोल्न जान्दिन मान्छेहरू किन थुनिए पुलिसहरू नै जानुन । पुलिसहरूले भनेकोले कागजमा सही गरेको हुँ भन्ने व्यहोराको सानु पूर्वछाने मगरले अदालतमा गरेको बकपत्र ।

प्रहरीमा भएको कागजमा लागेको सहिछाप मेरो हो । व्यहोरा होइन । मृतकलाई को कस्ले कसरी कर्तव्य गरी मारेका हुन सो सम्बन्धमा मलाई केही जानकारी छैन । सही गर भनेकोले डरले सहिछाप गरेको हो भन्ने व्यहोराको होमराज खपाङ्गी मगरले अदालतमा गरेको बकपत्र ।

प्रहरीमा भएको कागजमा लागेको सहिछाप मेरो हो । व्यहोरा मेरो होइन । मृतकलाई को कस्ले कर्तव्य गरी मारे सो सम्बन्धमा मलाई केही थाहा छैन भन्ने व्यहोराको प्रकाशकुमार मगरले अदालतमा गरेको बकपत्र ।

प्रहरीमा भएको कागजमा सहीसम्म मैंले गरेको हुँ । व्यहोरा भने प्रहरीले तयार गरेका थिए नसुनी सही गर्न भनेकोले सही गरेको मात्र हुँ । म मृतक श्यामबहादुर मगरसँग खाजा खाने बेलामा सँगै थिए । राकेश पनि थियो । राकेश, म र मृतक एउटा टेबुलमा र अर्को टेबुलमा प्रतिवादी र अरू दुई जना थिए । खाजा खाएको बेलामा अर्को टेबुलमा होहल्ला भएको थियो । त्यसपछि केही भनाभन भयो । यी प्रतिवादीहरूले हाम्रो एरिया हो झगडा नगरौं भनी एकजनाले गीत गायो । त्यसपछि खाजा खाएर पछि नाम थाहा भएका देव लामा र संजिभ गुरूङ २०/२५ मिनेट अगाडि नै त्यहाँबाट हिडेका हुन । हामीले खाजा खाएपछि हामी बाहिर निस्कँदा कस्ले हो मृतकलाई आक्रमण गरी ढाले । मलाई पनि हात मुक्का लागे । उक्त घटना कस्ले घटाएका हुन यी प्रतिवादीले होइन ।  पहिले गइसकेका थिए । फरार रहेका आशिषले घटाएको शंका लाग्छ । यी प्रतिवादीहरू निर्दोष छन् भन्ने व्यहोराको अशोककुमार यादवले अदालतमा गरेको बकपत्र ।

मैले दिएको प्रतिवेदनमा देखिएका बाहिरी चोटहरू निम्न छनः देब्रेपट्टिको अनुहार सुन्निएको, टाउको पछाडिको भागको देब्रेपट्टि १x०.५ सेमीको च्यातिएको घाउ छ जुन धार नभएको वस्तुमा जोडका साथ लाग्न गई देखिन्छ । निधारको देव्रेपट्टि ४x२ सेमीको च्यातिएको घाउ छ । देब्रे पट्टिको गालामा घिस्त्रिएको घाउ, घाटीको गुनापट्टि ६x३ गुनाको निलडाम, साना देखि २x१ सेमीका धेरै घस्रिएका चोटहरू देब्रेपट्टि कान मुनि । भित्री अंगहरू जाँच गर्दा दाहिने पट्टि दोस्रो र तेस्रो र देब्रे पट्टि छैटौं कानको वरिपरिको मांसपेशी निलो भई चोट लागेको । पेटभित्र ५० एमएल खैरो रङको तरल पदार्थ रहेको जुनबाट रसायन गन्ध आएको र पेटको भित्री वालमा साना घाउहरू रहेको । टाउकोको भित्री जाँच गर्दा दुवैतिरको कञ्चटको मांसपेशी र दाहिनेपट्टिको निधार मुनि निलडाम रहेको । खप्परमा कुनै फ्र्याक्चर नरहेपनि acceleration र deceleration ले गर्दा दिमाग खप्परको भित्री भागसँग ठक्कर खान गई रगत जमेको र दिमागको देब्रे पट्टि temporal lobe मा चोट पुग्न गएको । शरीरको बाहिरी भागमा देखिएको घाउचोटहरू धार नभएको वस्तुसँगको जुधाईमा देखिन्छन तर ती घाउहरू हतियारको प्रयोगबाट भएको हो वा लडी खसी भएको हो भन्ने कुरा यकिन साथ खुल्दैन भन्ने व्यहोराको शव परीक्षण गर्ने डा.जेनश आचार्यले अदालतमा गरेको बकपत्र । 

घटना घटेको थाहा भएको हो । प्रतिवादी देव लामाको संलग्नता छैन । कस्ले घटायो थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी देव लामाका साक्षी प्रकाश पुडासैनीले अदालतमा गरेको बकपत्र ।

हामी तीन जना साथीहरू अं ७ बजेतिर तिहारको अवसरमा खाजा खान याङतारू सेकुवा कर्नरमा बसेका थियौं । अर्को टेवुलमा संजिभ गुरूङ र देव लामासमेतले खाजा खाँदै रमाइलो गरिरहेका 

थिए । संजिभ गुरूङहरू अं ८ बजे तिर बिल तिरेर बाहिर गए । त्यसको २०/२५ मिनेट पछि अर्को टेबुलमा भएका मानिसहरू पनि बाहिर निस्के । केहिबेर पछि मार्‍यो मार्‍यो भन्ने आवाज सुनियो । संजिभ गुरूङ र देव लामाको उक्त घटनामा संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादीहरूका साक्षी जीवन राईले अदालतमा गरेको बकपत्र ।

मैले जानेसम्म सबैसँग मिलीजुली बस्ने अहिलेसम्म कोही कसैसँग पनि झैझगडा गरेको थाहा छैन । यो घटनामा उसको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी संजिभ गुरूङको साक्षी दिनेश शाहीले अदालतमा गरेको बकपत्र । 

हालसम्मको अनुसन्धानको क्रममा वारदातमा संलग्न भनी नाम खुल्न आएका फरार व्यक्तिहरू बरूण लामा, आशिष गुरूङ र कमल श्रेष्ठको बाजे बाबुको यकिन नाम थर निजहरूको यकिन ठेगानासमेत खुली नआएको हुँदा पछि निजहरूको बाजे बाबुको यकिन नाम, थर निजहरूको यकिन ठेगाना खुली वा पक्राउमा परी आएका बखत कानूनबमोजिम हुने व्यहोरा सादर अनुरोध गरिएको छ भनी अभियोग पत्रसमेतमा उल्लेख भएको ।

यी प्रतिवादीहरू र मृतकसमेतका व्यक्ति होटलमा खाजा खाँदा फरार प्रतिवादी बरूण भन्नेसँग आँखा जुधेको र निजले यी मृतकसमेतका साथीहरूलाई कुटपिट गर्नुपर्छ भनी प्रतिवादीहरूसँग सल्लाह गरेको मिसिलबाट देखिन्छ । मृतकका साथमा रहेका अशोककुमार यादव र राकेश महतोले यी प्रतिवादीहरू समेतका व्यक्तिले कुटपिट गरेको र उपचारको क्रममा मृतकको मृत्यु भएको भनी लेखाई दिएकोमा अदालतमा बकपत्र गर्दा यी दुई प्रतिवादीहरूले कुटपिट नगरेको निजहरू त्यहाँ उपस्थित नरहेको भनी बकपत्र गरेको देखिन्छ । शव परीक्षण प्रतिवेदनमा blunt force trauma to the head भनी मृत्युको कारण उल्लेख भएको देखिन्छ । प्रतिवादीहरूको ग्रुप र मृतकको ग्रुप बिच झगडा भएपनि यी दुवै प्रतिवादीहरूले चोट नछाडेको तर घटनास्थलमा यी प्रतिवादीहरूले आफू उपस्थित भएको तथ्यलाई स्वीकार गरी मौकामा बयान गरेको देखिन्छ । दुई ग्रुपबिच झगडा भएको मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादीहरूको कार्य ज्यानसम्बन्धी महलको १७(२) नं. को देखिँदा निजहरूलाई ५ वर्ष कैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६८।९।१३ को फैसला ।

हामी प्रतिवादीहरूले आरोपित कसुर गरेमा इन्कार भई अनुसन्धान अधिकारी तथा अदालतमा बयान गरेका छौं । जाहेरवालाले घटना नदेखेको र अन्य व्यक्तिले भनेको आधारमा जाहेरी दिएको प्रहरीले जाहेरी दरखास्तमा सही गर भनेकोले सही गरेको हुँ हामी प्रतिवादीहरू निर्दोष रहेको भनी अदालतमा बकपत्र गरेका छन् । प्रत्यक्षदर्शी भनिएका राकेश महतो तथा अशोककुमार यादवले प्रस्तुत वारदातमा हामी प्रतिवादीहरूको संलग्नता छैन भनी बकपत्र गरेको अवस्था छ । घटनापूर्वका तथ्य स्वीकार गर्नु अपराध स्वीकार गर्नु होइन । वस्तुनिष्ठ प्रमाण बिना दोषी ठहर गर्न मिल्दैन भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त एवं नेकाप २०६५ अंक ४ निनं ७९५३ पृष्ठ ४२३ मा प्रतिपादित सिद्धान्तसमेत विपरीत अनुमानको आधारमा भएको फैसला त्रुटिपूर्ण हुँदा सुरू काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी सफाई पाउँ भन्ने व्यहोराको संजिव भन्ने संजिभ गुरूङ र राना भन्ने देव लामाको संयुक्त पुनरावेदन पत्र । 

मृतकको टाउको समेतका शरीरमा विभिन्न भागमा चोटपटक लागि कर्तव्यबाट मृत्यु भएको, होटलमा खाजा खाँदा मृतकसँग प्रतिवादी समूहको आँखा तरातर र भनाभन भएको, होटल बाहिर मृतकलाई कुटपिट भएको र प्रतिवादीहरू उपर किटानी जाहेरी परेको अवस्थामा यी प्रतिवादीहरूले कुटपिट वारदात भइरहँदा टुलुटुलु हेरी कुटपिट नगरेको भन्ने अनुमान गरी मूल कसुरदार यी प्रतिवादीहरूलाई मतलबीको रूपमा अभियोग दाबीभन्दा कम ज्यानसम्बन्धी महलको १७(२) नं. को सजाय गरेको काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारसमेतको पुनरावेदन पत्र ।

यसमा पुनरावेदक प्रतिवादीहरूलाई मुद्दाको तथ्य नकेलाई ज्यानसम्बन्धीको महलको १७(२) नं बमोजिम सजाय गरेको सुरूको फैसला फरक पर्न सक्ने भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।४।१६ को विपक्षी झिकाउने आदेश ।

यो मुद्दामा घटना वारदात भएको तथ्यमा विवाद छैन । होटलमा खाजा खाँदाका अवस्थामा मृतकसँग बरूण र मृतकको बिच आँखा तरातर भएपश्चात मृतकले आफ्नो जग्गा में कुत्ता भी शेर होता है भनेपश्चात बरूण र आशिषले झगडा गर्न खोजेको र आफूले बिल तिरी बाहिर निस्केको । आशिष र बरूणले मृतकसमेत तीनजना बाहिर निस्किए पश्चात् मृतकलाई लात, मुक्कासमेतले प्रहार गरी सोही ठाउँ जमीनमा मृतकलाई ढाली दिएको हो आफ्नो संलग्नता छैन भनी यी पुनरावेदक देव लामा र संजिभ गुरूङले मौका तथा अदालतसमक्ष कसुरमा इन्कार रहेको देखिन्छ ।

घटनाको प्रत्यक्ष चश्मदीद व्यक्ति मृतकसँग खाजा खाने अशोककुमार यादव र राकेश महतो रहेका छन् । निजहरू दुवैले मौकामा खाजा खाँदाको अवस्थामा दुई पक्ष दुई टेबुलमा बसेका, प्रतिवादीहरूले ठूलो स्वरमा हल्ला गर्दै गीत गाउने नाच्ने गर्न थालेको, हामीहरूले गीत गाएको हेर्दा निजहरू मध्ये संजिव भन्ने संजिभ गुरूङले के हेरेको भन्दै गाली गरेकोले हामीहरू चुप लागि बसेको । निजहरूले आपसमा यिनीहरूलाई बाहिर ठीक पार्नुपर्छ भन्दै कुराकानी गरेको, प्रतिवादीहरू निस्केको २०।२५ मिनेट पछि हामीहरू उठेर घरतर्फ जाने सल्लाह गरी बिलको पैसा अशोकले तिरेको, श्यामबहादुर रेग्मी मगर गर्मी भयो भनी बाहिर नजिकै उभिएको, एक्कासि प्रतिवादी संजिभ, देव लामा, आशिष गुरूङ, बरूण लामा र अन्य २ जना मानिसहरू हातमा ढुङ्गा बोकी आई मृतक श्यामबहादुर रेग्मी मगरलाई जताततै प्रहार गरेको, श्यामबहादुर रेग्मी मगर सोही स्थानमा जमीनमा ढलेर रगताम्य भएको, श्यामबहादुर रेग्मी मगरको सोही चोटपटकबाट उपचारको क्रममा मृत्यु भएको भनी किटानी कागज गरिदिएको देखिन्छ । जाहेरवाला मृतकका दाजु लेखबहादुर रेग्मी मगरले पनि साथीहरूसँगै मिति २०६७।७।१७ गते खाजा खाई रेष्टुरेन्टबाट फर्कन लाग्दा अचानक प्रतिवादीहरूले मृतकउपर हमला गरी लात, मुक्का तथा ढुङ्गाले प्रहार गरी कुटपिट गरेकै कारण शिक्षण अस्पतालमा उपचार हुँदाकै क्रममा मृतकको मृत्यु भएको भनी यी प्रतिवादी संजिभ गुरूङ, राना भन्ने देव लामासमेत उपर किटानी जाहेरी दरखास्त दिएको देखिन्छ ।

शव परीक्षण प्रतिवेदनमा मृतकको जिउमा विभिन्न कुटपिटको चोट रहेको र मृतक श्यामबहादुर रेग्मी मगरको मृत्यु blunt force trauma to the head टाउकोमा ठूलो प्रहारकै चोट पीडाबाट भएको देखिन्छ । यस्तो अवस्थामा मृतकसँग गएका अशोककुमार यादव र राकेश महतोले घटना वारदातको वास्तविक तथ्यमै फरक पर्ने गरी प्रतिवादीहरूलाई चिन्दिन, संजिभ गुरूङले आफ्नो एरियामा झगडा गर्नु हुँदैन भनेका, देव लामाले गीत गाएर रमाइलो गरेको झगडा गर्नु हुँदैन भनेको भन्दै अन्तमा प्रतिवादीहरू दोषी होइनन निजहरूले सफाई पाउनु पर्छ भनी यस अदालतमा बकपत्र गरेको व्यहोरा मिसिलका तथ्यसँग हुबहु मेल खान आएको देखिएन । जाहेरवाला लेखबहादुर रेग्मी मगरले समेत जाहेरी सहीछाप मेरो हो व्यहोरा फरक छ, निजहरू उक्त घटनामा संलग्न छैनन्, अभियोगदाबीबाट सफाई पाउनु पर्छ भनी आफ्नो जाहेरीलाई नै झुट्ठा (hostile) विरोधाभाष बकपत्र गरिदिएको मिसिल संलग्न घटना वारदात प्रकृतिसँग मेल खान सकेको देखिएन । मौकामा आफैँ गवाह भई लेखाई दिएको सबुद प्रमाणलाई पुनः झुट्ठा कुराको प्रमाण पेस गरी अदालतमा बकपत्र गरेको अवस्था हुँदा मुलुकी ऐन, अबं १६९ नं अनुसार अशोककुमार यादव, राकेश महतो एवं जाहेरवाला लेखबहादुर रेग्मी मगरलाई जनही तजवीजी रू. १०००।- जरिवाना हुने ठहर्छ ।

सुरू जिल्ला अदालतले प्रतिवादी राना भन्ने देव लामा र संजिव भन्ने संजिभ गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम जनही ५ वर्ष कैद गरेको फैसला केही उल्टी हुने 

ठहर्छ । मृतकले आफ्नो जग्गामे कुत्ता भी शेर होता है भनेकै हुँदा सोही रिसइवीबाट मृतक बाहिर निस्के पश्चात लात, मुक्कासमेत हिर्काई सोही चोट पीडाबाट मृतकको मृत्यु भएकोले प्रतिवादी राना भन्ने देव लामा र संजिव भन्ने संजिभ गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ को कसुरमा सोही १४ नं. बमोजिम जनही दस वर्ष कैद हुने ठहर्छ । ज्यानसम्बन्धीको १ र १३ नं को कसुरमा सोही १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको र सफाई पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिरसमेत नपुग्ने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।६।२ को फैसला ।

पुनरावेदन अदालत, पाटनसमेतको फैसलामा चित्त नबुझाई प्रतिवादीहरू संजिभ र राना भन्ने देव लामाले यस अदालतमा गरेको पुनरावेदनमा हामीहरूको मौकामा तथा अदालतमा भएको बयानबाट वारदातमा हाम्रो संलग्नता नभएको यथार्थ तथ्य खुलेको छ । पुनरावेदन अदालतबाट फैसला हुँदा त्यसतर्फ हेरिएको छैन । मृतकसमेतका मानिसहरू रेष्टुरेण्टमा खाजा खाँदा छुट्टाछुट्टै टेबलमा बसी खाजा खाएको, हामी सँगका साथीले झगडा गर्न खोज्दा हामीले झगडा गर्न हुँदैन भनी सम्झाएको, हामी रेष्टुरेण्टबाट हिंड्दा मृतकलगायतका व्यक्तिहरू त्यहीं खाजा खाँदै रहेका थिए भनी हामीले साँचो व्यहोरा उल्लेख गरेका हौं । मृतकसँगै खाजा खाने राकेश महतो तथा अशोककुमार यादवको मौकामा भएको कागजसमेतमा हामी प्रतिवादीहरू २०।२५ मिनेट अगाडि नै गएको भनी बयान गरेका छन् । रेष्टुरेण्ट धनी दुर्गा आङदम्बे लिम्बुसमेतको बयानबाट उक्त व्यहोराको पुष्टि भइरहेको छ । अभियोगपत्रमा समेत हामी पुनरावेदक प्रतिवादीहरू खाजा खाँदा रेष्टुरेण्टमा रहेका भए तापनि हामीले मृतकसँग झगडा नगरेको, मृतकसँग कुनै रिसइबी नरहेको, मृतकको मृत्यु हामीहरूको कुटपिटको कारण घटेको होइन भन्ने अभियोगदाबी व्यहोरा पनि 

देखिन्छ । 

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) मा वर्णित कसुर सिद्ध हुन घेरा दिने, बाटो गौडा छेक्ने वा भाग्न उम्कन नदिई मार्नलाई संयोग पारी दिने किसिमको के कुन कार्य हामी प्रतिवादीहरूले गरेको भन्ने कुरा काठमाडौं जिल्ला अदालतको फैसलामा उल्लेख छैन । मिसिल संलग्न प्रमाणबाट सुरू फैसला पुष्टि हुने स्थिति छैन । त्यसै गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. को अवस्थाको कसुर कायम हुन sudden and temporary loss of self-control को अवस्था विद्यमान हुनुपर्दछ । मिसिल संलग्न प्रमाणबाट होटलमा खाजा खाँदाको अवस्थामा अन्य साथीसँगै मृतकको आँखा तरातर भएपश्चात हामी पुनरावेदकले झगडा गर्न हुँदैन भनी सहजीकरण गरी स्थिति सामान्य भएपछि धेरै समय होटलमा बसी खाजा खाई हामी हिडेका, हामी होटलबाट हिडेको २०।२५ मिनेट पछि मात्र मृतक र निजका साथी राकेश महतो तथा अशोक यादव होटल बाहिर निस्केको भन्ने तथ्य राकेश, अशोक र दुर्गा आङदाम्बे लिम्बुको भनाईबाट पुष्टि भइरहेको छ । रिसारिस नभएको र हात हालाहालको स्थिति नभएको अवस्थामा ज्यानसम्बन्धी महलको १४ नं. आकर्षण हुने अनुमान कसरी गरियो फैसलामा पुष्टि गरिएको छैन । ज्यानसम्बन्धी महलको १४ नं. अनुसार हामीलाई कुनै रीस नै उठेको छैन । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. को त्रुटिपूर्ण व्याख्या गरी भएको फैसला फौजदारी विधिशास्त्रको developing principle समेत विपरीत छ ।

पुनरावेदन अदालत, पाटनबाट भएको फैसलामा राकेश महतो तथा अशोक यादवले गरेको अनुसन्धान अधिकारीसमक्षको मौकाको कागजसँग नमिल्ने गरी अदालतमा बयान गरेबाट अदालतमा भएको बयान विश्वासनीय देखिएन भन्ने आत्मनिष्ट आधार लिइएको छ । उक्त आत्मनिष्ट आधारलाई मान्ने हो भने फौजदारी मुद्दामा प्रमाणको मूल्याङ्कन अदालतबाट गर्नुपर्ने प्रमाण ऐनको समग्र व्यवस्थाको औचित्य समाप्त हुन जान्छ । स्वतन्त्र न्यायालयमा भएको बकपत्रलाई नजरअन्दाज गरी अनुसन्धानको क्रममा भएको कागजको व्यहोरालाई सत्य अनुमान गरिनु प्रमाण मूल्याङ्कन एवं परीक्षणको वैज्ञानिक एवं न्यायिक मान्यताविपरीत हुन जान्छ ।

घटना पूर्वको तथ्य स्वीकार गर्नु अपराध स्वीकार गर्नु होइन । वस्तुनिष्ठ प्रमाण बिना दोषी ठहर गर्न मिल्दैन भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त एवं सम्मानित सर्वोच्च अदालतबाट वादी नेपाल सरकार प्रतिवादी फटक भन्ने अनुप सहनीसमेत भएको कर्तव्य ज्यान मुद्दामा ने.का.प. २०६५ अंक ४ नि.नं. ७९५३ पृष्ठ ४२३ मा प्रकाशित फैसलामा प्रतिपादित सिद्धान्तसमेत विपरीत भएको फैसला त्रुटिपूर्ण छ ।

प्रमाण ऐन, २०३१ को दफा २५ ले फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादीमा रहने भन्ने व्यवस्था गरेको छ । अभियोगपत्रमा समेत वारदात यो यसबाट घटित भएको भन्ने सिद्ध नगरी गोलमटोल भाषामा अभियोग दायर भएको छ । अतः काठमाडौं जिल्ला अदालतले पुनरावेदक प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम ५ वर्ष कैद गरेको फैसला र सो फैसलालाई केही उल्टी गरी पुनरावेदन अदालत, पाटनले ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद गरेको फैसला उल्टी गरी सफाई दिलाई पाउँ भन्ने जिकिर देखिन्छ ।

त्यसै गरी सो फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारले यस अदालतमा दिएको पुनरावेदनमा मृतकको टाउकोसमेतका शरीरमा विभिन्न भागमा चोटपटक लागेको र कर्तव्यबाट मृत्यु भएको भन्ने तथ्यलाई फैसलामा स्वीकार गरिएको छ । होटेलमा खाजा खाँदाको अवस्थामा मृतकसँग प्रतिवादीका समूहका केहीसँग आँखा तरातर भएपछि गालीगलौज भनाभन भएको र होटेलबाट बाहिर आएपछि निज बरूण र आशिष भन्नेले कुटपिट गर्दा आफूहरू त्यहीँ लडेको र डरले भागेको भन्ने प्रत्यर्थी प्रतिवादीहरूको मौकाको भनाई रहेको देखिए पनि निजहरू उपर किटानी जाहेरी, प्रत्यक्षदर्शी अशोककुमार यादव, राकेश महतोले अनुसन्धानको क्रममा गरेको कागजमा उल्लिखित कथनबाट प्रतिवादीहरू समेत भई मृतकलाई कुटपिट गरेको देखिँदा घटनास्थलमै नरहेको कुटपिट गरेको होइन भन्ने प्रतिवादीहरूको भनाई पत्यारलाग्दो छैन ।

प्रत्यक्षदर्शी अशोककुमार यादव र राकेश महतोले समयको अन्तरालसँगै विविध कारणले वास्तविकताविपरीत कुराहरू लेखाएको देखिन्छ । निज अशोककुमार यादव र राकेश महतोले अदालतमा बकपत्र गर्दा प्रत्यर्थीहरू घटनास्थलमै नरहेको भनी लेखाएको कुरा स्वयम्‌ प्रत्यर्थी प्रतिवादीहरूले अदालतमा गरेको बयानसमेतबाट खण्डित छ । जुन कुराहरू स्वयम् प्रतिवादीहरूले नै स्वीकार गरेका छन् ती कुराहरू पनि होइन भनी लेखाउनु भनेको कसुरदारलाई बचाउने मनसाय मात्र हो । अरू प्रतिवादीहरूले कुटपिट गर्दा प्रतिवादीहरू संजिभ र राना भन्ने देव लामाले टुलुटुलु हेरी कुटपिट नगरेको भन्ने अनुमान गर्न मिल्दैन ।

प्रतिवादीहरू धेरैजना रहेको अवस्थामा सबैजना व्यक्तिहरू एकैचोटि आवेसमा आउने कुरा व्यावहारिकरूपमा सम्भव हुँदैन । रेष्‍टुरेन्टभित्र भएको विवादलाई लिई अर्को पक्षलाई मार्ने मनसाय बनाई ढुकेर २०।२५ मिनेट पछि मृतक व्यक्तिसमेत बाहिर निस्किए पश्चात प्रतिवादीहरूले रिसइवी लिई घटना घटाएबाट प्रस्तुत वारदात मनसायप्रेरित देखिन्छ न कि आवेशप्रेरित । शवपरीक्षण प्रतिवेदन तयार गर्ने डा. जेनश आचार्यको बकपत्र व्यहोराबाट समेत मृतकलाई आन्तरिक र बाह्यरूपमा अनगिन्ती चोटहरू लागेको देखिन्छ । धेरै चोटहरूको विवरणबाट समेत प्रस्तुत हत्यामा संलग्न प्रतिवादीहरू धेरै रहेको र यसैका चोटले मृतकको मृत्यु भएको भन्ने पुष्टि नभएको अवस्थामा सबै प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्नुपर्ने हुन्छ । यसै सम्बन्धमा “कुनै पनि फौज्दारी प्रकृतिको ज्यान अपराध सिद्ध हुन पूर्व रिसइवी र मनसाय नै विद्यमान हुनुपर्छ भन्न सकिन्न । यसलाई वारदातको स्थिति र अवस्थाले पनि प्रमाणित गर्ने हुन्छ । मृतकसँग कुनै पूर्व रिसइवी नभए पनि अस्वाभाविकरूपबाट मार्ने षडयन्त्र गरेको सो षडयन्त्रमा संलग्न रहे भएको कुरा संलग्न प्रमाणहरूबाट पुष्टि भएको देखिन आए दोषी प्रमाणित हुन्छ ।” भनी चन्द्रबहादुर समेत विरूद्ध नेपाल सरकार ने.का.प. २०४८ को पृष्ठ २७४ मा प्रकाशित नजिर र “यो यसको चोटबाट ज्यान मरेको भनी प्रमाणबाट खुल्न नसकेको अवस्थामा ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिमको कसुर कायम गरी सजाय गर्नु पर्ने” भनी नेपाल सरकार विरूद्ध रामसेवक फरकारसमेत भएको मुद्दामा सर्वोच्च अदालत बुलेटिन २०६७ वर्ष १९ अंक १६ पृ. २१ मा प्रकाशित फैसलामा प्रतिपादित सिद्धान्तको त्रुटिपूर्ण भएको छ । अतः पुनरावेदन अदालतसमेतको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम प्रतिवादीहरू संजिभ र राना भन्ने देव लामालाई सजाय गरिपाउँ भन्नेसमेतको जिकिर देखिन्छ ।

यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ वादी नेपाल सरकारको पुनरावेदन परेको जानकारी प्रत्यर्थी प्रतिवादीलाई गराई र प्रतिवादीको पुनरावेदन परेको हकमा महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७१।११।४ गतेको यस अदालतको आदेश ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । 

वादी नेपाल सरकारका तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापाले प्रतिवादीहरू संजिभ गुरूङ र राना भन्ने देवलामा पनि होहल्ला गर्नमा संलग्न रहेका, वारदातको सुरूदेखि अन्तसम्म वारदातस्थलमा रहेका, मृतकलाई बचाउने कुनै काम नगरेका जस्ता परिस्थितिजन्य प्रमाण र यी प्रतिवादीहरू समेतले मृतक र आफूहरूलाई कुटपिट गरेको भनी प्रत्यक्षदर्शी राकेश र अशोकले मौकामा गरेको कागज तथा मृतकको शव परीक्षण प्रतिवेदनसमेतका ठोस र निर्विवाद प्रमाणबाट अभियोगदाबीको वारदातमा यी प्रतिवादीहरूको संलग्नताको पुष्टि शंकारहित तवरबाट प्रमाणित छ । वादविवाद भएको २०।२५ मिनेटको cooling period पछि भएको कर्तव्यको वारदात ज्यानसम्बन्धीको १४ नं. भित्र पर्ने होइन । अतः प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(२) नं. बमोजिम सजाय गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला र सो फैसलालाई उल्टी गरी प्रस्तुत वारदातलाई ज्यानसम्बन्धी महलको १४ नं को कसुर ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपुर्ण भएकोले दुवै फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता डा. श्री रजितभक्त प्रधानाङ्ग र विद्वान् अधिवक्ता श्री निर्मला शाक्यले अभियोगदाबीको कसुर गरेमा प्रतिवादीहरू मौकामा र अदालतमा समेत इन्कार छन् । वारदातमा प्रत्यक्षदर्शी भनिएका अशोककुमार यादव, राकेश महतो एवं दुर्गा आङदम्बे लिम्बु तथा जाहेरवाला लेखबहादुर रेग्मी मगरले उल्लिखित वारदातमा यी प्रतिवादीहरू संलग्न नरहेको भनी अदालतमा बकपत्र गरेको अवस्था छ । मौकामा कागज गर्नेले सो कागजलाई अदालतमा बकपत्र गरी समर्थन नगरेसम्म उक्त लिखतलाई प्रमाणमा लिन मिल्दैन । अतः अशोक कुमारसमेतको मौकाको कागज प्रतिवादीहरू विरूद्ध प्रमाण लाग्न सक्तैन । प्रतिवादीहरू उपर दायर भएको अभियोगपत्रमा प्रतिवादीहरूले यो यस्तो किसिमले मृतकलाई कुटपिट गरेको भन्ने कुरा स्पष्ट उल्लेख छैन । वादी नै प्रतिवादीहरूको कार्यमा आश्वस्त छैन । बिलकुल गोलमटोल भाषामा अभियोगपत्र दायर भएको छ । परिस्थितिजन्य प्रमाणलाई बहुतै सतर्कतापूर्वक प्रतिवादी विरूद्ध प्रयोग गर्नु पर्ने हुन्छ । प्रमाणका प्रत्येक कडी मालाकाररूपमा आबद्ध हुनुपर्छ र त्यसले प्रतिवादीको कसुरबाहेक अरू तिर संकेत गरेको हुनहुँदैन । त्यस किसिमको परिस्थितिजन्य प्रमाण प्रस्तुत मुद्दामा छैन । अतः शंकायुक्त प्रमाणलाई परिस्थितिजन्य प्रमाण बनाई पुनरावेदकहरूलाई कसुरदार ठहराएको पुनरावेदन अदालत, पाटनसमेतको फैसला उल्टी गरी प्रतिवादीहरूलाई सफाई दिई इन्साफ पाउँ भनी गर्नुभएको बहस सुनियो ।

प्रतिवादीहरूले मृतक श्यामबहादुर मगरलाई कर्तव्य गरी मारेकाले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भनी प्रतिवादीहरू विरूद्ध अभियोगदाबी दायर रहेकोमा प्रतिवादीहरूको ग्रुप र मृतकको ग्रुपबिच झगडा भएपनि मृतकका साथमा रहेका अशोककुमार यादव र राकेश महतोले अदालतमा गरेको बकपत्रसमेतको प्रमाणबाट यी दुवै प्रतिवादीहरूले मृतकउपर चोट नछाडेको तर घटनास्थलमा यी प्रतिवादीहरू उपस्थित भएको देखिँदा प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम ५ वर्ष कैद हुने ठहरी काठमाडौं जिल्ला अदालतबाट फैसला भएको 

पाइन्छ । 

वारदातमा कुनै पनि किसिमले संलग्न नरहेको हामीलाई काठमाडौं जिल्ला अदालतले ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम कसुरदार ठहराएको नमिलेकोले सफाई पाउँ भनी पुनरावेदक प्रतिवादीहरूले तथा यी प्रतिवादीहरू मृतकलाई कुटपिट हुँदा वारदातस्थलमा रहेकोमा मौकामा साबित रहेका र चस्मदीद साक्षीहरू अशोककुमार यादव र राकेश महतोले गरेको मौकाको कागजबाट प्रतिवादीहरूले मृतकलाई कुटपिटसमेत गरेको प्रमाणित भएकोले अभियोग दाबीमा परिवर्तन गरी प्रतिवादीहरूलाई ऐ. ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम ५ वर्ष कैद गरेको काठमाडौं जिल्ला अदालतको फैसला नमिलेकोले उल्टी गरी अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी वादी नेपाल सरकारले पुनरावेदन अदालत, पाटनमा पुनरावेदन गरेको पाइन्छ । पुनरावेदन अदालत, पाटनले फैसला गर्दा वारदातस्थलमा उपस्थित रहेको भन्ने प्रतिवादीहरूको मौकाको साबिति र अशोककुमार यादव तथा राकेश महतोको मौकाको कागजमा यी प्रतिवादीहरूले पनि मृतकउपर कुटपिट गरेको भनी उल्लेख भएको कुरालाई आधार बनाई प्रतिवादीहरू वारदातमा संलग्न रहेको निष्कर्षमा पुगी वारदातलाई आवेशप्रेरित वारदात ठहराई यी प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १० वर्ष कैद गरेको पाइन्छ । त्यसमा चित्त नबुझाई सफाई पाउँ भनी यी प्रतिवादीहरूले तथा अभियोगदाबीको ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भनी वादी नेपाल सरकारले पुनरावेदन गरेको देखिन्छ । उक्त पुनरावेदन जिकिर माथि तथ्य खण्डमा उल्लेख भएकैले त्यसलाई यो ठहर खण्डमा पुनरावृत्ति गर्नु परेन । आवश्कताअनुसार तलका प्रकरणहरूमा यी जिकिरहरूलाई उल्लेख गर्दै खण्डन वा समर्थन गरिने छ । 

यस अदालतबाट दुवै पक्षको पुनरावेदन एकअर्कालाई सुनाउने र जानकारी दिने भनी विपक्षी झिकाउने आदेश भई पेस हुन आएको प्रस्तुत मुद्दामा वादी र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन र पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने प्रश्नमा निर्णय दिनुपर्ने भयो ।

२. निर्णयतर्फ विचार गर्दा मृतकको शरीरमा लागेको left side of the face is swollen; laceration measuring 1x0.5cm over the left occipital region; a 4x2cm bone deep laceration over the left forehead, 2cm left to the anterior midline and 9.5cm from top of the head with surrounding contusion; abrasion measuring 2x1cm over the left cheekbone; a contusion measuring 6x3cm over left lateral neck extending up to area behind the left pinna and multiple abrasion ranging from few millimeters to 2 x1 cm over left neck, just below angle of mandible घाउ चोट र Blunt force trauma to the head भनी उल्लेख भएको मृत्युको कारण तथा स्वयं प्रतिवादीहरूको बयान एवं मिसिल प्रमाणबाट मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने देखिन्छ ।

३. प्रतिवादीहरू विरूद्धको अभियोगपत्रमा मिति २०६७।७।१७ गते अं. २० बजे मृतक श्यामबहादुर रेग्मी मगरको हत्याको वारदात घटाउने मुख्य भूमिका फरार प्रतिवादीमध्येका बरूण लामा र आशिष गुरूङको रहेको र प्रतिवादीहरू राना भन्ने देव लामा तथा संजिभ गुरूङसमेत वारदातमा संलग्न रहेको देखिन आयो । मृतकको मृत्यु टाउकोमा प्रहार भएको चोटबाट भएको देखिएको सो प्रहार कस्ले गरेको थियो अनुसन्धानबाट यकिन हुन नसके पनि सबै प्रतिवादीको संलग्नतामा उक्त वारदात घटित भएको भनी पक्राउ परेका प्रतिवादीहरू संजिभ गुरूङ र राना भन्ने देव लामा विरूद्ध मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. को दाबी लिई आशिष गुरूङ र वरूण लामाको हकमा “हालसम्मको अनुसन्धानको क्रममा वारदातमा संलग्न भनी नाम खुल्न आएका फरार व्यक्तिहरू बरूण लामा, आशिष गुरूङ र कमल श्रेष्ठको बाजे, बाबुको यकिन नाम, थर निजहरूको यकिन ठेगानासमेत खुली नआएको हुँदा पछि निजहरूको बाजे बाबुको यकिन नाम, थर निजहरूको यकिन ठेगाना खुली वा पक्राउमा परी आएका बखत कानूनबमोजिम हुने व्यहोरा सादर अनुरोध गरिएको छ” भन्ने व्यहोरा रहेको देखिन्छ । 

४. प्रतिवादीहरू संजिभ गुरूङ र राना भन्ने देव लामाले मौकामा बयान गर्दा आफूहरूलाई कुनै थाहा जानकारी नै नदिई प्रतिवादीहरू आशिष गुरूङ र बरूण लामाले एक्कासी कुटपिट गरी मृतकलाई मारेका हुन । निज बरूण लामा र आशिष गुरूङले मृतकसमेतलाई कुटपिट गर्नुपर्छ भन्दा आफू यही टोलमा बस्ने हुँदा झगडा नगरौं भनी सम्झाएको र सम्झाउँदा सम्झाउँदै वारदात भएको हो भन्ने जिकिर लिएको देखिन्छ भने अदालतमा बयान गर्दा आशिष गुरूङ र बरूण लामाले मृतकसमेतलाई कुटपिट गर्नुपर्छ भनी आफूसँग सोधेको भनी आफूहरूले मौकाको कागजमा भनेको होइन सोबाहेक मौकाको कागजमा उल्लेख भएका अरू सबै व्यहोरा आफूहरूले भनेबमोजिम लेखेको ठिक हो भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरूको अदालतको बयानमा समेत आफूहरू वारदातको सुरूदेखि मृतकलाई कुटपिट भई निज जमीनमा ढलुञ्जेल वारदातस्थलमा रहेको भनी उल्लेख भएबमोजिम प्रतिवादीहरू वारदातस्थलमा उपस्थित रहेको र निजहरूकै सामुन्ने वारदात भएको कुरा प्रमाणित छ । 

५. जहाँसम्म बरूण लामा र आशिष गुरूङले मृतकहरूलाई कुटपिट गर्नु पर्छ भनी प्रतिवादीहरूलाई भनेको हो भनी मौकाको बयानमा आफूहरूले भनेको होइन भन्ने प्रतिवादीहरूको इन्कारीको प्रश्न छ प्रतिवादीको मौकाको बयानको प्रमाणिकताको सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क)(१) मा सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो, (२) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन, (३) सो अभियोग बारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारवाहीको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्य रूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्न सक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसंगतरूपमा विश्वास गरेको थियो भन्ने व्यवस्था रहेको देखिन्छ । यस अनुसार यी प्रतिवादीहरू मौकामा बयान गर्दा सक्षम र स्वतन्त्र नरहेको अवस्था मात्र प्रतिवादीको मौकाको साबितिलाई प्रमाणमा लिन मिल्ने हुँदैन । ती अवस्थाहरूलाई प्रमाणित गर्ने भार प्रतिवादीमा रहन्छ । उक्त भारलाई प्रतिवादीले पूरा गर्न नसकेमा प्रतिवादीको साबिति उक्त ऐनको दफा ९ उपदफा (१) बमोजिम प्रतिवादीहरूका विरूद्ध प्रमाण लाग्ने हुन्छ । 

६. प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) बमोजिम अनुसन्धान अधिकारी वा अरू कसैले यो यस किसिमले बाध्य गरेको वा यातना दिएको वा धम्की दिएको र सो को परिणामस्वरूप आफूहरूको स्वेच्छा विरूद्ध मौकाको बयान भएको हो भन्ने तर्फ प्रतिवादीहरूले अदालतको बयानमा तथ्ययुक्त जिकिर लिन र प्रमाण गुजार्न सकेको देखिँदैन । आफुहरू वारदातमा सरीक नभएको र झगडा गर्न हुँदैन भनी बरूण र आशिषलाई सम्झाएको भन्ने अभियोजनलाई बेफाइदा र प्रतिवादीहरूलाई फाइदा हुने प्रतिवादीहरूको मौकाको कथन र त्यसमाथि वारदात घटाउने मुख्य भूमिका फरार बरूण र आशिषको रहेको भन्ने व्यहोरा उल्लेख गरी गोलमटोल अभियोगपत्र दायर भएको भन्ने प्रतिवादीहरूको जिकिरबाट प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को अवस्थाको विद्यमानताको पुष्टि हुँदैन । उल्टो अभियोजन पक्षले प्रतिवादीहरूलाई बचाउने वा कम सजाय हुने हिसाबले मौकामा कृत्रिम बयान तयार पारेको हो कि भन्ने आशंका गर्ने प्रशस्त ठाउँ रहेको आभास हुन्छ । अतः प्रतिवादीहरूले गरेको निजहरूको मौकाको बयान निजहरूको राजीखुशीको बयान देखिँदा बरूण र आशिषले मृतकसमेतलाई कुटपिट गर्नुपर्छ भनी प्रतिवादीहरूसँग सल्लाह गरेको र निजहरूले मृतकलाई कुटपिट गर्ने कुराको यी प्रतिवादीहरूलाई पूर्व जानकारी रहेको देखिन्छ ।

७. यस अवस्थामा यी प्रतिवादीहरूले मृतकलाई बचाउने काम नगरेको सम्म हो वा मृतकलाई कुटपिट गरी ज्यानसम्बन्धीको महलको १३(३) नं. कै कसुर गरेको हो भन्ने प्रश्नको निरोपण थप सबुद प्रमाणको मूल्याङ्कनबाट हुनु आवश्यक छ । तत्सम्बन्धमा हेर्दा मौकामा कागज गर्नेहरू अशोककुमार यादव र राकेश महतो वारदात हुनुपूर्वदेखि र मृतकउपर कुटपिट भई निज ढलेपछि मृतकलाई अस्पताल लगी उपचार गराउने मृतकका साथी र वारदातका प्रत्यक्षीदर्शी देखिन्छन् । अशोककुमार यादवको मौकाको कागजमा निज आशिष गुरूङसमेतका केटाहरू होहल्ला नाचगान गर्दै गीत गाउन थाले । हामीले आफ्नै तालले यताउति हेर्दा निजहरूले हामीहरूलाई आमाचकारी गाली गरे । हामी चुप लागेर बस्यौं । बाहिर गएपछि ठीक पार्नुपर्छ भन्दै कुरा गर्न थाले । त्यसपछि निजहरू बिल तिरेर होटल बाहिर निस्केर गएका थिए । हामी निजहरू गएको अं २०।२५ मिनेट पछि उठ्‍यौं । मृतक श्यामबहादुर रेग्मी मगर गर्मी भयो भन्दै होटलको ढोका बाहिर उभिएर बसे । म र राकेश महतोले बिल तिर्‍यौं । बेलुका लगभग ८ बजेको थियो होला । हामी बिल तिरेर बाहिर निस्की जान लाग्दा एक्कासी संजिभ गुरूङ, राना भन्ने देव लामा, बरूण लामा, आशिष गुरूङ, कमल भन्नेसमेत ५।६ जना मानिसहरूले हातमा ढुङ्गा लिई आई श्यामबहादुर रेग्मी मगरलाई जताजतै प्रहार गर्न थाले । मृतक सोही स्थानमा जमीनमा ढले । निजहरूले लात मुक्काले प्रहार समेत गरे । म र साथी राकेशलाई पनि लात्ता मुक्काले प्रहार गरे । हामीहरूले हारगुहार माग्यौं ।... भन्ने व्यहोरा रहेको देखिन्छ । अर्का प्रतिवादी राकेश महतोको मौकाको कागजमा पनि निजहरू अलि ठूलो स्वरले हल्ला गर्दै गीत गाउने नाच्ने गर्न थाले । हामीले हेर्दा निजहरू मध्येको संजिभ गुरूङसमेतले के हेरेको भनी निजहरूले गाली गरे । निजहरूले यिनीहरूलाई ठीक पार्नुपर्छ भन्दै कुराकानी गरेपछि निजहरू बिल तिरेर होटलबाट बाहिर निस्केर गएका थिए । हामी चुप लागेर बस्यौं । निजहरू गएको अं २०।२५ मिनेट पछि हामीहरू पनि उठ्‍यौं । मृतकलाई गर्मी भएकोले काउन्टर नजिकै ढोका बाहिर उभिएर बसे । म र अशोक बिल तिर्न थाल्यौं । बिल तिरेर हामी तिनै जना घरतर्फ जाँदै गर्दा एक्कासि बरूण लामा, आशिष गुरूङ, संजिभ गुरूङ, राना भन्ने देव लामा र अन्य २ जना मानिसहरू समेत हातमा ढुङ्गा लिई आई श्यामबहादुर रेग्मीलाई जताततै प्रहार गरे । मृतक सोही स्थानमा रगताम्य भई लडेका थिए । ढलेका मृतकमाथि पनि संजिभ, देवसमेतले लात्ता मुक्कासमेत प्रहार गरे । अन्य निजका मतियारहरूले हामीहरूलाई समेत लात मुक्का प्रहार गरे । हामीहरूले हारगुहार माग्यौं भन्ने व्यहोरा रहेको देखिन्छ । उक्त कागजहरूबाट मृतकलाई बरूण लामा र आशिष गुरूङले मात्र नभई प्रतिवादीहरू संजिभ गुरूङ र बरूण लामाले समेत कुटपिट गरेका र मृतक ढलेपछि पनि संजिभ गुरूङ तथा देव लामाले मृतकलाई लात्ता मुक्काले प्रहार गरेका र बरूण तथा आशिष गुरूङले राकेश महतो तथा अशोककुमार यादवसमेतलाई कुटपिट गरेको भनी स्पष्ट लेखाई दिएको देखिन्छ ।

८. पुनरावेदक प्रतिवादीहरूले जाहेरवाला, राकेश महतो र अशोककुमार यादवले अदालतमा बकपत्र गर्दा मृतकउपर कुटपिट हुनु अगावै प्रतिवादीहरू देव लामा तथा संजिभ गुरूङ वारदातस्थलबाट हिडिसकेकोले निजहरूको वारदातमा संलग्नता छैन । प्रहरीले लेखी ल्याएको कागजमा सुनाउँदै नसुनाई सही गराएको हो भनी उल्लेख गरेकाले निजहरूको मौकाको कागजलाई हामीहरू विरूद्ध प्रमाणमा लिएको प्रमाण ऐन, २०३१ को दफा १८ विपरीत भयो भनी जोडदार तर्क दिनु भएको देखिन्छ । तर प्रमाण ऐन, २०३१ को दफा १८ लाई प्रमाण ऐन २०३१ को समग्र संरचना एवं अन्य सम्बन्धित कानून जस्तो कि मुलुकी ऐन, अ.बं. १६९ नं., सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८(२)(क) र झुट्ठा बकपत्र गर्ने साक्षीहरूको सम्बन्धमा सर्वोच्च अदालतबाट भएका फैसलाहरूमा प्रतिपादित सिद्धान्त एवं नेपालको अन्तरिम संविधान २०६३ को धारा १०० (१) मा नेपालको न्यायसम्बन्धी अधिकार यो संविधान र अन्य कानून तथा न्यायका मान्य सिद्धान्तअनुसार अदालत तथा न्यायिक निकायहरूबाट प्रयोग गरिनेछ भन्ने सन्दर्भसमेतको रोहमा हेर्नु र प्रयोग गर्नु न्यायोचित हुन्छ । साक्षीले मौकामा व्यक्त गरेको कुरा निजले अदालतमा आएर समर्थन गर्नुपर्छ भन्ने प्रमाण ऐन, २०३१ को दफा १८ को मनसाय निज साक्षीले अदालतमा आएर झुट्ठा कुराको बकपत्र गरेको खण्डमा त्यस्तो झुट्ठा बकपत्रलाई मान्यता दिनुपर्छ र मौकाको सत्य तथ्य व्यहोरालाई बेवास्ता गर्नुपर्छ भन्ने होइन । साक्षीले अदालतमा झुट्ठा बकपत्र गर्दैमा निजहरूको मौकाको कागज स्वतः अमान्य भएमा झुट्ठा बकपत्र hostile witness का सम्बन्धमा विश्वभरि र नेपालमा समेत अनेकन व्याख्या र नजिर बन्नु पर्ने थिएन । प्रमाण ऐन, २०३१ को दफा १० अनुसार घटनास्थलमा आफूहरूले समेत कुटाई खाएका राकेश महतो र अशोककुमार यादवको मौकाको कागज आफैँमा प्रमाणयोग्य रहेको कुरा उक्त दफा १० तथा तत्सम्बन्धमा यस अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित नजिरहरू समेतबाट स्पष्ट हुन्छ ।

९. उल्लिखित कानून र सिद्धान्तको रोहमा यस अदालतले साक्षीहरू राकेश महतो र अशोककुमार यादवको मौकाको कागज र अदालतको बकपत्रमा भिन्नता रहेको स्थितिमा कुन लिखतले किन मान्यता पाउने हो भनी बोल्नु पर्ने हुन्छ ।

१०. तत्सम्बन्धमा विचार गर्दा बरूण लामा र आशिष गुरूङ दुई जना मात्रले मृतक र मृतकका दुई साथीलाई नियन्त्रणमा लिई कुटपिट गरेर मृतकको ज्यान नै जाने परिणाम आउने सम्भावना कम रहन्छ । निजहरूबाट छुरी बन्दुक आदि घातक साधनको प्रयोग भएको भए बेग्लै कुरा हुन्थ्यो । तर प्रस्तुत वारदातमा लातमुक्का र ढुंगा आदिको प्रयोग भएको भनिएको 

छ । यस स्थितिमा मृतक र मृतकका साथीहरूलाई यी प्रतिवादीहरू समेतले कुटपिट गरेको भन्ने व्यहोराको साक्षीहरू राकेश र अशोककुमार यादवको मौकाको कागज तथ्ययुक्त देखिन्छ । अशोककुमार र राकेश महतोले अदालतमा बकपत्र गर्दा पनि यी प्रतिवादीहरू समेतको संलग्नतामा सेकुवा कर्नरमा होहल्ला भएको, मृतक र प्रतिवादीको समूहबिच आँखा तरातर भएपछि मृतकसमेतलाई प्रतिवादीको समूहले ठूलो स्वरले गाली गरेका, मृतकले आफ्नो जग्गा में कुत्ता भी शेर होता हे भनेको र आपसमा भनाभन र झगडा भएको भन्ने व्यहोरा लेखाएकै पाइन्छ । जहाँसम्म संजिभ गुरूङले आफ्नो एरियामा झगडा गर्नुहुँदैन भनेपछि वातावरण शान्त भएको र त्यसपछि देव लामा र संजिभ गुरूङ उठेर हिंडेको र २०/२५ मिनेट पछि मृतकको समूह बाहिर निस्कँदा एक्कासि मृतक श्यामलाई आशिष गुरूङले ढुंगाले तथा लात्तामुक्काले हिर्काएको र वारदातस्थलमा संजिभ गुरूङ र राना भन्ने देव लामा थिएनन भनी गरेको बकपत्रको सवाल छ बरूण र आशिषसमेतका साथमा मादक पदार्थ बियर खाई होहल्ला गर्दै नाचगान गर्ने यी पुनरावेदक प्रतिवादीहरू समेतको जरियाबाट विवाद भएको अवस्थामा वारदातबाट प्रतिवादीहरू निःस्पृह भई अलगथलग रहे होलान भन्ने निष्कर्षको लागि यो अदालतले भरपर्दो प्रमाण खोज्छ । 

११. प्रतिवादीहरू राना भन्ने देव लामा र संजिभ गुरूङले मौकामा कागज गर्दा बरूण लामा र आशिष गुरूङले कुटपिट गरेपछि मृतक ढलेका, निजहरूले मृतकका साथीहरूलाई पनि कुटपिट गरेका र हारगुहार सुनेर मान्छेहरू आएका त्यसपछि मात्र आफूहरू वारदातस्थलबाट भागेको भनी उल्लेख गरेको र सो व्यहोरालाई अदालतको बयानमा समेत स्वीकार गरेको देखिन्छ । यस अवस्थामा वारदात हुनुभन्दा २०/२५ मिनेट पहिलेनै प्रतिवादी राना भन्ने देव लामा र संजिभ गुरूङ हिँडिसकेका भन्ने राकेश महतो र अशोककुमार यादवको बकपत्र स्पष्ट झुट्ठा 

देखिन्छ । प्रतिवादी विरूद्धका मौकाका प्रमाणहरू स्वाभाविक प्रवाहमा छन् भने मौकाको कागज विरूद्धको बकपत्रमा पर्याप्त पश्चात विमर्श afterthought को प्रभाव छ । यस्तो प्रभाव पर्ने र सो कारणबाट विपरीत hostile बकपत्र हुने कुरालाई कानून र अदालतले भोगे र व्यहोरेकै हुन् । प्रस्तुत मुद्दामा पनि त्यस्तै भएको छ । ती बकपत्रहरूमा यी साक्षीहरूले प्रहरीमा भएको कागजमा सहि सम्म गरेको हो व्यहोरा भने प्रहरीले तयार गरेका थिए नसुनी सहि गर्न भनेकोले सहि गरेको भनी रहेको कथन ज्यादै कृत्रिम देखिन्छ । यो बकपत्र स्पष्टरूपमा प्रतिवादीहरूलाई बचाउने हिसाबले सौदाबाजी भनौं वा प्रतिवादीहरूको डर त्रास भनौं वा जुनसुकै कारण भनौं प्रायोजित बकपत्र देखिन्छ । यस्ता बकपत्रहरू मुलुकी ऐन, अ.बं. १६९ नं. र सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८(२)(क) द्वारा नियन्त्रित हुन्छन् । प्रमाण ऐन, २०३१ को परिच्छेद ८ मा जिरहसमेतको व्यवस्था गर्नुपर्ने कारण पनि यस्तै बकपत्रका लागि भएको हो । यस मुद्दामा अरू कुराको विचार नगरी साक्षीका बकपत्रलाई मात्र निर्णायक बनाउँदा न्याय सम्पादन गर्ने जिम्मा न्यायाधीशको नभई साक्षीहरूको जिम्मामा रहने दुष्‍परिणाम उत्पन्न हुन पुग्छ । यसै सन्दर्भमा मुलुकी ऐन, अ.बं. १८९ नं. फैसलाको नमूनामा यस्तो व्यहोराले यस्तो भएकोमा यस्तो यस्तो फलानो फलानो प्रमाण भएको हुनाले यो यो रित प्रमाण र यो यो कानूनले यो ठहर्छ भनी उल्लेख भएको महत्त्वपूर्ण छ । यिनै सब कारणहरूबाट साक्षीहरू अशोककुमार यादव, राकेश महतो एवं जाहेरवाला लेखबहादुर रेग्मी मगरले झुट्ठा बकपत्र गरेको ठहर गरी निजहरूलाई मुलुकी ऐन, अ.बं. १६९ नं. अनुसार जनही रू. १०००।- तजबीजी जरिवाना गरेको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म मिलेको देखिन्छ । 

१२. प्रतिवादीहरू राना भन्ने देव लामा र संजिभ गुरूङ होटलबाट बाहिर निस्केर पनि आफ्नो निवासका लागि प्रस्थान गरेको पाइँदैन । यी प्रतिवादीहरू फरार रहेका बरूण लामा र आशिष गुरूङसँग वारदातस्थलमा मृतकसमेत कहिले आउँछन भनी लामो कालसम्म कुरेर बसेको कुरामा न्याकर्ताले ध्यान दिनु आवश्यक छ । यो तथ्यले पुनरावेदक प्रतिवादीहरू मृतकसमेतलाई कुटपिट गर्न नै त्यहाँ कुरेर बसेको भन्ने निष्कर्षबाहेक अरू निष्कर्ष आउने अवस्था छैन । यही तथ्यले साक्षीहरू राकेश महतो र अशोककुमार यादवको बकपत्रलाई झुट्ठा ठहराएको अवस्था छ । यी प्रतिवादीहरूले साँच्चि नै झगडा नगर्ने र मृतकलाई कुटपिट नगर्ने मनसाय लिएको भए निजहरूले बरूण र आशिष गुरूङलाई समेत सम्झाई बुझाई वारदातस्थलबाट अन्यत्र लानका लागि प्रयास गर्नु पर्थ्यो । यी प्रतिवादीहरूबाट आफ्नै गठमेलका साथीहरूलाई घर जाउँ भन्ने अनुरोध गर्ने काम सम्म पनि भएको पाइँदैन । प्रतिवादीहरूले सो प्रयास गर्दा पनि बरूण लामा र आशिष गुरूङले नमानेको भए निजहरूलाई छोडी घर जान यी प्रतिवादीलाई कुनै कुराले रोकेको थिएन । बरूण लामा र आशिष गुरूङले मृतकहरूलाई कुट्‍ने कुराको जानकारी पाएर पनि केही नगर्ने र निजहरूले मृतकलाई कुटपिट गरेर जमिनमा ढालेपछि मात्र भागेको भन्ने प्रतिवादीहरूको काम र आचरण आफैँमा दोषपूर्ण छ । तर कुरा त्यतिमा मात्र सीमित नभई यी प्रतिवादीहरू पनि समूहगत कुटपिटमा संलग्न रहेको देखिन्छ ।

१३. यसै प्रसङ्गमा प्रतिवादीहरूबाट ने.का.प. २०६५ अंक ४ नि.नं. ७९५३ समेतका केही नजिरहरू उल्लेख भएका देखिन्छ । सबुद प्रमाणको मूल्याङ्कनका आधारमा निर्णय गर्नुपर्ने विषयका सम्बन्धमा बनेका नजिरहरूले सम्बन्धित मिसिलको प्रमाणको रोहमा प्रतिपादन गर्ने सिद्धान्तहरूले सिर्फ एक मार्गदर्शकको कामबाहेक थप कुनै बाध्यात्मक स्वरूप लिन सक्दैनन् । शंकाको सुविधा अभियुक्तले पाउँछ, निर्विवाद प्रमाणबाट कसुर प्रमाणित हुनुपर्छ, कसुर प्रमाणित गर्ने भार वादीमा रहन्छ, प्रमाण भनेको प्रत्यक्ष हुनुपर्छ, परिस्थितिजन्य प्रमाणका एकएक कडी मालाकार हुनुपर्छ, मौकाको बयान स्वतन्त्र प्रमाणहरूबाट समर्थित हुनुपर्छ, मौकाको कागज र अदालतको बकपत्रमा विरोधाभास हुनुहुँदैन जस्ता कुराहरू उल्लेख भई सिद्धान्त प्रतिपादन भएका फैसलाहरूको मुख्य आधार नै निर्णयकर्तालाई मागदर्शन सम्म गर्ने हो । कुनैपनि नजिरले फलानाको यो व्यहोराको कागज वा बकपत्र मान्य वा अमान्य हुने भनेर पछि पर्ने मुद्दामा असर पर्ने गरी मुद्दाको तथ्यगत कुराको छिनोफानो गर्ने गरी सिद्धान्त प्रतिपादन गरेका 

हुँदैनन । प्रत्येक प्रमाण मूल्याङ्कनसम्बन्धी नजिरको जग भनेको मिसिल संलग्न प्रमाण हो जसको मूल्याङ्कनमा प्रशस्त फैलाव (wide margin) रहन्छ । मुद्दामा प्रमाण मूल्याङ्कन गर्ने न्यायकर्ताको विवेकलाई उल्लिखित वा कुनै पनि नजिरहरूले प्रतिस्थापन गरेका छैनन ।

१४. अतः आफूहरू मृतकसमेतलाई कुटपिट गर्ने कार्यमा संलग्न नरहेको भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१५. प्रस्तुत वारदातलाई ज्यानसम्बन्धी महलको १४ नं. को वारदात ठहराएको मिलेन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर देखिन्छ । उक्त १४ नं. आकर्षित हुनको लागि मृतक र मृतकका साथीहरूबाट प्रतिवादीहरूले रीस थाम्नै नसक्ने गरी कुनै कामकुरा वा वचनको प्रयोग भएको र त्यो काम वा वचनले साँच्चि नै प्रतिवादीहरूले नियन्त्रण गुमाउन सक्ने प्रभाव उत्पन्न  गरेको प्रमाणित हुनुपर्छ । मृतकहरू मात्र होइन जस्ले पनि चर्को स्वरमा नाचगान गर्नेलाई हेर्छन नै । प्रतिवादीहरूले आँखा जुधाउने र मृतकहरूले आँखा निहुराउने भन्ने कुरा हुँदैन । मृतकहरूलाई आमाचकारी गाली गर्ने काम प्रतिवादीहरूबाटै भएको देखिन्छ । त्यसको जवाफमा मृतकले “आफ्ना जग्गामे कुत्ता भी शेर होता हे” भनी दिएको जवाफ निश्चय पनि उत्तेजनापूर्ण छ । तर झगडाको सुरूआत मृतक वा निजका साथीहरूबाट भएको देखिँदैन । मृतकले उल्लिखित शब्दहरू उच्चारण गर्नासाथ मृतकउपर प्रहार भएको नभई सो भनाभन पछि पनि लगभग आधा घण्टाको समय cooling period बितेको 

छ । त्यसपछि प्रतिवादीहरूका बिचमा मृतकसमेतलाई कुटपिट गर्ने सरसल्लाह भएको, त्यसलाई कार्यान्वयन गर्न प्रतिवादीहरू होटलबाट बाहिर पुगेर मृतक र उसका साथीहरूलाई कुरेर बसेको, मृतकसमेत होटल बाहिर पुग्नासाथ प्रतिवादीहरूले मृतकउपर सामूहिकरूपमा अनेकन पटक चोट छाडी कुटपिट गरेको र सो को परिणामस्वरूप भएको मृत्युको वारदातलाई ज्यानसम्बन्धीको १४ नं. ले समेटेको देखिँदैन । प्रतिवादीहरूले समेत आफूहरू १४ नं. को अवस्थामा नरहेको भनी निजहरूको पुनरावेदनपत्रमा विस्तृत जिकिर लिएको स्मरणीय छ ।

१६. नेपालको ज्यानसम्बन्धी कानूनले अरू मुलुक जस्तो मनसायपूर्ण ज्यान कसुर murder र सोबाहेकको ज्यान कसुर culpable homicide/manslaughter बिच कुनै वर्गीकरण गरेको 

पाइँदैन । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. मा यसै महलका अरू नम्बरबमोजिम ज्यानमाराको बात नलाग्ने अवस्थामा बाहेक कसैले अरूको ज्यान मर्ने गैह्र कुरा गर्दा उसै बखत वा ऐनका म्यादभित्र ज्यान मरेमा सो ज्यान मार्नेलाई भनी उल्लेख भएको खास गरेर ज्यान मर्ने गैह्र कुरा गर्दा भन्ने वाक्यांशले ज्यान लिने मनसाय वा गम्भीर grievous कुटपिट गर्ने मनसायको क्रममा भएको मृत्यु murder र सोबाहेकका अरू मनसायरहित गैरकानूनी कुटपिट आदिबाट भएको मृत्यु culpable homicide/manslaughter दुवैलाई समेटेको देखिन्छ । पुनरावेदक प्रतिवादी मनिता राई भएको ०७०-CR-०३४६ को कर्तव्य ज्यान मुद्दामा मिति २०७१।५।११ मा भएको फैसलामा "नियतपूर्वक भएको हत्या वा सांघातिक कुटपिटलाई murder र ज्यान लिने वा सांघातिक कुटपिट गर्ने नियत भएपनि प्रतिवादीले आफ्नो नियन्त्रण गुमाएको loss of self-control कारणले वा diminished responsibility को अवस्था परेर वा suicide pact जस्ता mitigating factors रहेका कारणले voluntary manslaughter मा परिणत हुने वा ज्यान वा सांघातिक कुटपिट गर्ने नियत नरहेको involuntary manslaughter ज्यान वारदात हुने भन्ने बेलायत आदि देशमा रहेको कानूनी व्यवस्था वा संयुक्त राज्य अमेरिकाको कोडमा प्रथम first, द्वितीय second degree murder वा Section 1112 (a) Manslaughter is the unlawful killing of a human being without malice. It is of two kinds: Voluntary - Upon a sudden quarrel or heat of passion. Involuntary - In the commission of an unlawful act not amounting to a felony, or in the commission in an unlawful manner, or without due caution and circumspection, of a lawful act which might produce death. (b) Within the special maritime and territorial jurisdiction of the United States, whoever is guilty of voluntary manslaughter, shall be fined under this title or imprisoned not more than 15 years, or both; Whoever is guilty of involuntary manslaughter, shall be fined under this title or imprisoned not more than 8 years, or both समेतको वा भारतमा जस्तो murder वा culpable homicide जस्तो वर्गीकरण रहेकोमा मुलुकी ऐन, १४ नं. मा आवेशप्रेरित हत्या, ऐ. को ५ र ६ नं. को accidental killing, ऐ. को १६ र १७ नं. को सजाय कम हुने अवस्थाका षडयन्त्र र मतियारसम्बन्धी व्यवस्थाबाहेकका अरू कुरामा यहाँको न्याय व्यवस्थाले ती मुलुकहरूको फौजदारी विधिशास्त्र जस्तो वर्गीकरण गर्न सकेको देखिँदैन । उक्त ५, ६, १४, १६ र १७ नं. बाहेकका अरू अवस्थामा ज्यानसम्बन्धीको १३ नं. (ले) ... मानिस मार्ने कार्य गर्न नहुने भनी निषेधात्मक दृष्टिकोण राखेको (देखिँदा) ... प्रतिपादित सिद्धान्तको परिधिभित्र रही सजाय गर्नुपर्ने र सजाय चर्को परेमा अ.बं. १८८ नं. को प्रयोग गरी न्याय सम्पादन गर्नुपर्ने हुन्छ ।” भनी ज्यानसम्बन्धी नेपाल कानून र सजाय बारे धारणा व्यक्त भएको 

पाइन्छ । त्यसैगरी ने.का.प. २०७१ अंक ९ मा प्रकाशित पुनरावेदक प्रतिवादी सीता भन्ने लालहीरा कामी भएको ज्यान मुद्दामा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं. ...ले felony murder rule र constructive intent अर्थात Sometimes crimes may be satisfied by proof of the basic mens rea of a lesser offence than that charged – this is sometimes called 'constructive' crime भन्ने सिद्धान्तलाई स्वीकार गरेको कुरा स्मरण रहोस भनी उल्लेख छ । ती नजिरसँग यो इजलास सहमत छ । 

१७. प्रस्तुत वारदातलाई उक्त १३ नं. मा रहेको murder र culpable homicide / manslaughter मध्ये कुन चाहिले समेटेको भनी हेर्दा ज्यानसम्बन्धी महलको भवितव्यको कसुरतर्फ प्रतिवादीहरूको कुनै जिकिर देखिँदैन । कुटपिट गर्नेनै नियतबाट भएको वारदातको परिणामस्वरूप मृतकको मृत्यु भएको यसमा भवितव्य कसुर आकर्षित हुन नसक्ने कुरा निश्चित सिद्धान्तको रूपमा प्रतिपादन भइसकेको पाइन्छ । ज्यानसम्बन्धी महलको १४ नं. आकर्षित नहुने कुरा पनि माथि उल्लेख भएकैछ । तर प्रतिवादीहरूले मृतकको ज्यान लिने पूर्व मनसाय राखी प्रस्तुत वारदात घटाएको भन्न मिल्दैन । जाँड रक्सीको सुरमा आँखा हेराहेर भई आफ्नो समूहको श्रेष्ठता कायम राख्नु पर्ने अहंको तुष्टिकोलागि रक्सीको सुरमा यो वारदात घट्न गएको छ । मृतकहरूलाई घातक कुटपिट गर्ने वा मृतकको ज्यान लिने मनसायसाथ नै वारदात भएको हो कि होइन भन्ने कुराको निरोपणमा दुविधा उत्पन्न भएकोछ । तर प्रतिवादीहरू समेतले मृतकलाई कुटपिट गरेका र सो को परिणामस्वरूप मृतकको मृत्यु भएको कुरा मान्न कुनै दुविधा छैन । प्रतिवादीहरूको यो कार्य भनेको बेलायतको कानूनले मानेको manslaughter र भारतको कानूनले मानेको culpable homicide को कसुर देखिन्छ । यसमा अदालतसँग कसुरको मात्रा अनुसार प्रतिवादीलाई जन्मकैद सम्म गर्न सक्ने तजबीज हुन्छ । यो तजबीजको प्रयोग अ.बं. १८८ नं. र सो सन्दर्भमा भएका व्याख्याहरूको आधारमा गर्नुपर्ने हुन्छ । 

१८. प्रतिवादीहरू भर्खरका अल्लारे केटा भएका, मृतकले "आफ्ना जग्गा में कुत्ता भी शेर होता हे" भनी प्रतिवादीहरूलाई उत्तेजना दिएको, प्रतिवादीहरू रक्सीको सुरमा रहेका, लात मुक्का ढुंगा आदिको कुटपिटको वारदात मृतकको दुखद मृत्युमा परिणत भएको भएपनि मृतकका आफन्तजनले प्रतिवादीहरूलाई क्षमा गरेको कुरा निजहरूको झुट्ठा बकपत्रबाट पुष्टि भएको यो वारदातमा प्रतिवादीहरूलाई ऐनबमोजिम सजाय गर्नु निश्चितरूपमा चर्को हुने देखिन्छ । अरब मुलुकहरूमा पनि मृतकका आफन्तलाई कसुरदारले blood money बुझाएमा र त्यसलाई निजहरूले स्वीकार गरेमा प्रतिवादीलाई मृत्युदण्डबाट क्षमादान हुने गरी घटी सजाय हुने कानून रहेको पाइन्छ । यी सब कारण र वारदातको समग्र अवस्थाबाट प्रतिवादीहरूलाई ८ वर्ष कैद हुनु उपयुक्त देखिन्छ । 

१९. अतः माथि विवेचित आधार कारणबाट सुरू जिल्ला अदालतले प्रतिवादी राना भन्ने देव लामा र संजिव भन्ने संजिभ गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(२) नं. बमोजिम जनही ५ वर्ष कैद गरेको फैसला उल्टी गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम जनही दस वर्ष कैद गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६९।६।२ को फैसला मिलेको नदेखिँदा उल्टी भई अभियोगदाबी अनुरूपनै मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम प्रतिवादी राना भन्ने देव लामा र संजिभ गुरूङलाई जन्मकैद हुने र मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम ८ (आठ) वर्ष कैदको राय लगाउने ठहर्छ । अभियोगदाबीबाट सफाई पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

२०. जाहेरी दरखास्तमा र प्रतिवादीहरूको मौकाको बयानमा खोटाङ जिल्ला नेर्पा गा.वि.स. वडा नं. ८ घर भई हाल का.म.पा. वडा नं. ७ सरस्वतीनगर बस्ने वर्ष २७।२८ को आशिष गुरूङ-१, दोलखा जिल्ला घर गा.वि.स. नखुलेको हाल मण्डिखाटार बस्ने ९८५१०४१९०३ सम्पर्क नम्बर भएको वर्ष २९।३२ को बरूण लामा भन्ने व्यहोरासमेतको परिचयात्मक विवरण उल्लेख हुँदाहुँदै नाम खुल्न आएका फरार व्यक्तिहरू बरूण लामा, आशिष गुरूङ र कमल श्रेष्ठको बाजे, बाबुको यकिन नाम, थर निजहरूको यकिन ठेगानासमेत खुली नआएको हुँदा पछि निजहरूको बाजे बाबुको यकिन नाम, थर निजहरूको यकिन ठेगाना खुली वा पक्राउमा परी आएका बखत कानूनबमोजिम हुने व्यहोरा सादर अनुरोध गरिएको छ भन्ने व्यहोरा रहेको प्रस्तुत अभियोगदाबीले निज बरूण लामा र आशिष गुरूङउपर अभियोगपत्र दायर नगरेबाट वादीले जनविश्वास गुमाएको देखिन्छ । आजभोलि बिना कुनै कारण वादी नेपाल सरकारले वतनको र जिल्ला अदालतले जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क लाई निहूँ बनाई कसुरदार प्रतिवादीहरूको हकमा पछि मुद्दा चलाउने वा फैसला हुने भनी उल्लेख गर्ने गरेको पाइन्छ । तर पछिबाट ती कसुरदार विरूद्ध अभियोगपत्र दायर वा फैसला हुने कुनै कामकुरा नहुदा कसुरदारले व्यापकरूपमा कसुरबाट उन्मुक्ति पाएको देखिन्छ । ती सब कुरामा पुनरावेदन परेको पनि पाइँदैन । वतन स्पष्ट नभएको वा फरार भएको प्रतिवादीउपर अभियोगपत्र दायर हुन कुनै कानूनी बाधा देखिँदैन । मुलुकी ऐन, अ.बं. ११२ नं. कागजको खोस्टो होइन । अ.बं. ११० नं. ले नसमेटेका प्रतिवादीहरूकै लागि अ.बं. ११२ नं. बनेको हो । त्यसमाथि जिल्ला अदालत नियमावली, २०५२ को नियम २२क अनुसार उल्लिखित मोबाइल नम्बरमा वा राष्ट्रिय दैनिक पत्रिकामा पनि म्याद सूचना प्रकाशित गर्ने भन्ने कानून पनि रहेभएकै छ । इमानदार प्रयासका बाबजूद प्रतिवादीको अत्तोपत्तो नलागेको अवस्थाको लागि जिल्ला अदालत नियमावली, २०५२ को नियम १९क को निर्माण भएको कुराको हेक्का रहनु आवश्यक छ । अभियोजनकर्ताले प्रतिवादीको बाबु बाजेको नाम थर र प्रतिवादीहरूको वतन खुली आएमा अभियोगपत्र दायर हुने भन्ने कुरा उल्लेख गरी अभियोगपत्र दायर गर्ने गरी कामकारवाही गर्न पाउने कुराको कानूनी वा नजिरगत आधार देखिँदैन । कानूनी निकायले कानूनले तोकेको कुराबाहेक आफुखुशी जथाभावी गर्दा दण्डहीनता र स्वेच्छाचारिता मौलाउने कुराको हेक्का रहनु आवश्यक भएकोले यो फैसलाको जानकारी यस अदालतको अनुगमन शाखालाई र नेपाल सरकारको महान्यायाधिवक्ता र प्रहरी प्रधान कार्यालयसमेतलाई उपलब्ध गराई अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

पुनरावेदक प्रतिवादीहरू राना भन्ने देव लामा र संजिभ गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैद हुने र मुलुकी ऐन, अ.बं. १८८ नं. बमोजिम ८ वर्ष कैदको राय लगाउने ठहरेकोले पुनरावेदन अदालत, पाटनको मिति २०६९।६।२ को फैसला उल्टी भई निजहरूलाई जनहि ८ (आठ) वर्ष कैद हुने भएकोले पुनरावेदन अदालत, पाटनको फैसलाको तपसिल खण्ड १ कायम नरहने हुँदा अनुसन्धानको क्रममा पक्राउ परी मिति २०६७।७।१८ गतेबाट कारागार थुनामा रहेका यी प्रतिवादीहरूलाई अन्य कारणले थुनामा राख्नु नपर्ने भए मिति २०७५।७।१७ गते सम्म थुनामा राखी मिति २०७५।७।१८ गते थुनामुक्त गरी दिनु भनी संशोधित कैदी पुर्जी कारागार कार्यालयमा पठाउनु भनी काठमाडौं जिल्ला अदालतमा लेखी पठाउनू .......................१

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................२

 

उक्त रायमा सहमत छु ।

न्या. चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृतः इन्द्रकुमार खड्का

इति संवत् २०७२ साल पुस १३ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु