निर्णय नं. ९५७१ - गौबध

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७२।९।३०।५
०७०-CR-०१७९
मुद्दा : गौबध
पुनरावेदक / प्रतिवादी : जिल्ला संखुवासभा, दिदिङ गाउँ विकास समिति वडा नं. २ घर भई हाल खाँदबारी नगरपालिका वडा नं. ३ बस्ने हाल कारागार कार्यालय, संखुवासभामा थुनामा बस्ने कुमार दर्जीसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : केशकुमारी पोखरेलको जाहेरीले नेपाल सरकार
पुनरावेदक प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा बाच्छी मारेको होइन भनी कसुरमा इन्कार रहे पनि अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा भएको सहीछाप आफ्नै भएको हो भनी गरेका र अधिकारप्राप्त अधिकारीसमक्षको बयान अचेत अवस्थामा गरेको वा बाध्य पारी वा यातना दिई वा यातना दिने धम्की दिई वा आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको भनी अदालतमा बयान गर्दा भन्न सकेको देखिँदैन । अधिकारप्राप्त अधिकारीसमक्ष स्वतन्त्ररूपमा स्वेच्छाले कसुर स्वीकार गरी बयान दिएपछि अदालतसमक्ष बयान गर्दा इन्कार रहेको आधारमा मात्र कसुरदार होइनन् भन्न नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प. २०६६ अङ्क ४ नि.नं. ८११५
सम्बद्ध कानून :
मुलुकी ऐन चौपायको महलको ११ नं.
सुरू फैसला गर्ने अदालत :
मा. जि. न्यायाधीश श्री शालिग्राम कोइराला
पुनरावेदन तहमा फैसला गर्ने अदालत :
मा. न्यायाधीश श्री शम्भुबहादुर खड्का
मा. न्यायाधीश श्री बिदुरविक्रम थापा
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।२।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
मिति २०६८।३।२९ गते प्रतिवादीहरू रामबहादुर दर्जी, कुमार दर्जी र धनबहादुर राई मेरो घरमा आई मैले पाली राखेको कालो रङ्गको बाच्छी पाल्नका लागि भनी किन्न मागेकाले मैले रू. ५००।– नगद लिई उक्त बाच्छी बिक्री गरेकी थिएँ । तर यी प्रतिवादीहरूले पाल्न लैजाने भनी ढाँटी झुक्याई मसँगबाट लगी बाच्छी काटी गौबध अपराध गरेका हुँदा उल्लिखित प्रतिवादीहरूलाई मुलुकी ऐन चौपायाको महलबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको केशकुमारी पोखरेलको जाहेरी दरखास्त ।
पूर्वमा सुमन चोक माल्टा जाने बाटो, पश्चिममा राजकुमार पराजुलीको खेत, उत्तरमा पाङ्गा खोला र दक्षिणमा काँसी रूम्टी जङ्गल यति ४ किल्लाभित्र रहेको पूर्व मोहडा फर्किएको जमिनको भागमा ढुङ्गामाथि आगो बालेको, कोइला अङ्गार वरिपरि छरिएका, जनावरको लादी केही मात्रामा सोही ठाउँमा नै रहेको, गन्हाई दुर्गधित अवस्थाको वातावरण रहेको, प्रतिवादी कुमार दर्जीले गाई काटी मासु खाँदवारी नगरपालिका वडा नं ३ को कैजले पुच्छारको सोती गहिरोमा भएको माल्टा सुमन चोक जाने आउने बाटोमा रहेको ग्याविङ्ग तार पर्खालसँगै रहेको खाल्डोमा गाडी लुकाएको भनी बताएकाले खनी माटो पन्छाई हेर्दा सडेगलेको अवस्थामा मासु फेला परेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।
म, मेरा काकाको छोरा रामबहादुर दर्जी, ठेगाना थाहा नभएको मोटे भन्ने धनबहादुर राई गरी तिनजना खाँदबारी माल्टासम्म जाने बाटोमा तारजाली भर्ने काम गर्दै आएकामा २०६८।३।२९ गतेका दिन काम गरी थकाई लागेको हुँदा थकाई मेटाउन अलि–अलि रक्सी खाई जाहेरवाली केशकुमारी पोखरेलको घरमा गाईको बाच्छी बेच्ने छ भन्ने सुनेको हुँदा तिनै जनाको सल्लाहअनुसार जाहेरवालीको घरमा जाँदा निजको कान्छो छोरा नाम थाहा नभएको बरखान्ते मात्र घरमा भएको र आमा खोई भनी सोद्धा मेला जानुभएको छ भनेको, बाच्छी बेच्ने छ भनी सोद्धा कालो रङ्गको बाच्छी देखाई सो बाच्छीको दाम रू. ५००।– भनेकाले निजकी आमालाई बोलाउन लगाएकोमा पैसा दिए भई हाल्छ भनेकाले निजलाई रू. ५००।- दिई किनेका हौं । तिनैजना भई बाच्छी लिएर आउँदा बाटोमा बाच्छीको पछाडिको दाहिने खुट्टा भाँची घिर्सादै लिएर आयौं र हामी बसेको कटेरोमा बाँधी राति १२ बजेको समयमा एक कि.मी टाढा माल्टा खोलामा बाच्छीलाई घिस्याउँदै लिएर गएपछि पहिला भाइ रामबहादुर दर्जीले ढुङ्गाले बाच्छीको थुतुनामा हान्यो । बाच्छीले दाँया बाँया मुख हल्लायो । त्यसपछि मोटे राईले ठूलो ढुङ्गाले टाउकोमा हान्यो । बाच्छी बाँ बाँ गरी भुइँमा लडी छट्पटायो । त्यसपछि मैले लाईट देखाउँदै खुट्टाले बाच्छीको मुख र टाउकोमा थिचेँ । भाइ रामबहादुरले पछाडि खुट्टामा खुट्टाले थिच्यो । मोटे राईले बाच्छीको राम्रोसँग सास जान नपाई हतार हतार खुकुरीले छाला छिल्न थाल्यो । टाउको, खुट्टा, छाला र लादी सोही माल्टा खोलामा फाली दियौं र मासु लिएर आई कटेरोमा पकाई रक्सीसँग खायौं भन्नेसमेत व्यहोराको प्रतिवादी कुमार दर्जीको अधिकारप्राप्त अधिकारीसमक्षको
बयान ।
म, मेरो बडा बाबुको छोरा कुमार दर्जी र घर ठेगान थाहा नभएको मोटे भन्ने धनबहादुर राईसमेत तीनजना भई खाँदवारीबाट माल्टासम्म जाने सडक बाटोमा दैनिक तारजाली भर्ने काममा रोड बाटोमै कटेरो हाली काम गर्दै आएकामा २०६८।३।२९ गतेका दिन काम गरी कटेरोमा आई अलिअलि रक्सी खायौं । तिनै जनाको सल्लाहमा जाहेरवालीको घरमा गई निजको कान्छो छोरासँग कालो रङ्गको सिङ नपलाएको सानो गाईको बाच्छी रू. ५००।– मा किनी बाच्छी लिएर आयौं । बाटोमा आउँदा बाच्छीको पछाडिको दाहिने खुट्टा भाँची बाच्छीलाई घिसार्दै हामी बसेको कटेरोमा पुर्याई बाँधी राति अं. १२ बजेको समयमा अं. १ कि.मी टाढा माल्टा खोलामा बाच्छीलाई घिस्याउँदै लगी मैले पहिला ढुङ्गाले बाच्छीको थुतुनामा हानें । त्यसपछि मोटे राईले ठुलो ढुङ्गा उचालेर बाच्छीको टाउकोमा हान्यो । बाच्छी कराउँदै भुइँमा लडी छट्पटायो । त्यसपछि मैले खुट्टाले बाच्छीको मुख र टाउकोमा
थिचेँ । मोटे र दाजु कुमारले बाच्छीको राम्ररी सास पनि जान नपाउँदै हतार हतार छाला छिले । बाच्छीको टाउको, खुट्टा, छाला र लादी माल्टा खोलामा फालिदियौं, मासु ल्याएर कटेरामा पकाई रक्सीसँग खायौं भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर दर्जीको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
हाम्रो पारिवारिक सल्लाहअनुसार मिति २०६८।३।२९ गतेका दिन रू. ५००।- मा प्रतिवादी कुमार दर्जीसमेतका तिनजना व्यक्तिहरूलाई बाच्छी बिक्री गरेका हौं । पाल्न लैजाने भनी धनबहादुर राई, कुमार दर्जी र रामबहादुर दर्जीले उक्त बाच्छी डोर्याउँदै लगेका हुन् । मिति २०६८।४।१ गते उक्त बाच्छी यी तिनै जनाको मिलेमतोमा काटी मासु खाएको भनी आमाले सुनाउँदा सुनी प्रहरीमा निवेदन गर्न पठाएको हुँ । निज प्रतिवादीहरूले राष्ट्रिय जनावर गाईको बाच्छीलाई निर्मम तरिकाले कुटी हत्या गरेको भन्ने पनि सुनेको हुँदा निज अभियुक्तहरूलाई कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्छ भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने एकराज पोखरेलको मौकाको कागज ।
प्रतिवादीहरूले मासु खाने नियतले जाहेरवालाको घरबाट बाच्छी खरिद गरी लगी मिति २०६८।३।२९ गते राति नै काटी मासु खाएको भन्ने कुरा घटनास्थलमा मासुसमेत फेला परेको हुँदा मलाई विश्वास लाग्यो । पशु चौपाया गाई जातको बाच्छी काटी जुनसुकै तरिकाले पनि हत्या गर्न नहुने भनी निषेधित जनावर भन्ने थाहा पाई हत्या गर्ने सबै अभियुक्तलाई कानूनबमोजिम सजाय हुनुपर्छ । उक्त गाई मार्नमा प्रतिवादी मोटे भन्ने धनबहादुर राईको मुख्य भूमिका रहेको हुनुपर्छ भन्नेसमेत व्यहोराको शान्ति बर्देवा, गीता दर्जी, भानुभक्त पोखरेल, लोकबहादुर घिमिरे र श्यामसुन्दर बोगटीको एकै मिलान व्यहोराको वस्तुस्थिति मुचुल्का ।
यी प्रतिवादीहरू मोटे भन्ने धनबहादुर राई, रामबहादुर दर्जी र कुमार दर्जीसमेतले जाहेरवाली केशकुमारी पोखरेलको घरबाट रू. ५००।- मा खरिद गरी लगेको गाईको बाच्छी मिति २०६८।३।२९ गते राति २३:५५ बजेको समयमा काटी मारी खाई मुलुकी ऐन चौपायको महलको १ नं. विपरीत ऐ. ११ नं. को गौबधको अपराध गरेको पुष्टि भएको हुँदा प्रतिवादीहरू मोटे भन्ने धनबहादुर राई, रामबहादुर दर्जी र कुमार दर्जीलाई ऐ. महलको ११ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग पत्र ।
हामी प्रतिवादीहरू तिनैजना एकै ठाउँमा जाली भर्ने काम गर्ने व्यक्ति भएको र प्रतिवादीमध्येका मोटे भन्ने धनबहादुर राईले जाहेरवालीको घरबाट सानो बाच्छी ल्याई एक्लैले काटी मारी पकाई म र प्रतिवादी रामबहादुर दर्जीलाई राति मासु खान बोलाएकाले हामी तिनै जनाले मासु खायौं । मासुसँग रक्सीसमेत भएको हुँदा केको मासु भनी नसोधी खायौं । गाईको बाच्छी मोटे भन्ने धनबहादुर राईले काटेको हो वा मरेको हो मलाई थाहा छैन । गाईको बाच्छी ल्याउने धनबहादुर राई नै हुन् । मसमेत भई गाई काटी गौबध गरेको होइन । अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा भएको सहीछाप मेरो हो तर व्यहोरा मैले भनेबमोजिम लेखिएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी कुमार दर्जीको संखुवासभा जिल्ला अदालतसमक्षको बयान ।
मिति २०६८।३।२९ गते म र मेरा दाजु नाताका कुमार दर्जी, ठेगाना थाहा नभएका मोटे भन्ने धनबहादुर राई दिनभरि बाटोमा जाली भरी बेलुकी ४ बजेतिर काम छाडी धनबहादुर राई गाउँतिर डुल्न गएको र हामी दाजुभाइ केही रक्सी खाई खाना बनाई खाई सुतिरहेका थियौं । रातको १२ बजेतिर धोक्रोमा मासु लिई आई निजैले रक्सीसँग हामीलाई पनि मासु खान दिएको हुँदा हामीले खाएका हौं । केको मासु दियो थाहा
भएन । गाईको बाच्छी किनी ल्याई मसमेत भई मारेको होइन । अधिकारप्राप्त अधिकारीसमक्षको बयान मैले भनी लेखाएको होइन प्रहरीले पढी नसुनाई सहीछाप गर्न लगाएकाले सहीछाप गरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर दर्जीको संखुवासभा जिल्ला अदालतसमक्षको बयान ।
यी प्रतिवादी कुमार दर्जी र जाहेरवालीका भाइ बिच झगडा परेको र जाहेरवालीको भाइले यी प्रतिवादीलाई खुकुरीले काटेको विषयमा प्रहरीमा उजुर परी जरिवानासमेत भएको हुँदा सोही रिसइवीले यी प्रतिवादीहरूलाई बाच्छी काटी मासु खाएको भनी उजुर गरेका हुन् । यी प्रतिवादीले गाईको बाच्छी काटी मासु खाएका होइनन् भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी इश्वरकुमार राईले संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरवालीको देवर ज्ञानबहादुर घिमिरे र प्रतिवादी कुमार दर्जीबिच क्यारमबोड खेल्दा झगडा भई ज्ञानबहादुर घिमिरेले प्रतिवादी कुमार दर्जीलाई घाँटीमा खुकुरीले प्रहार गरेकामा निजले गल्ती स्वीकार गरी मिलापत्र भएको थियो । सोही रिसईवीले प्रतिवादीलाई फसाउन गौ हत्या गरेका भनी उजुर गरेको हो । यी प्रतिवादीहरूले बाच्छी काटी मारी मासु खाएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी रामबहादुर गुरूङले संखुवासभा जिल्ला अदालतमा गरेको
बकपत्र ।
बाच्छी किन्न दुईजना मानिसहरू आएका थिए । एकजना अपरिचित थिए भने अर्को एकजना प्रतिवादीमध्येका रामबहादुर दर्जी थिए । कुमार दर्जीले पठाएको भनेपछि मैले ७–८ महिनाको नसप्रेको बाच्छी रू. ५००।- मा बेचेको हो । गाईको बाच्छी काटी खाएको सम्बन्धमा प्रहरीले भनेपछि थाहा पाएकी हुँ । उक्त बाच्छी मैले मिति २०६८।३।२९ गते बिक्री गरेको हो । गौबध गरेको घटना सम्बन्धमा मलाई केही थाहा छैन भन्नेसमेत व्यहोराको जाहेरवाली केशकुमारी पोखरेलले संखुवासभा जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
बाच्छी काटी मारी खाएको मैले देखिन । गाउँ घरमा यी प्रतिवादी कुमार दर्जीसमेतले गाईको बाच्छी काटी खाए अरे भन्ने कुरा छिमेकीबाट सुनी थाहा पाएकी हुँ । वस्तुस्थिति मुचुल्कामा भएको व्यहोरा र सहीछाप मेरै हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्कामा बस्ने गीता दर्जीले संखुवासभा जिल्ला अदालतमा गरेको बकपत्र ।
यसमा प्रतिवादी मोटे भन्ने धनबहादुर राईको अभियोग पत्रमा स्पष्ट वतन खुलाएको नपाइँदा वतन खुलेका प्रतिवादीहरू कुमार दर्जी र रामबहादुर दर्जीको हकमा मुद्दा दर्ता गरी स्पष्ट वतन नखुलेका प्रतिवादी मोटे भन्ने धनबहादुर राईको हकमा वतन खुली आएको बखत ठहरेबमोजिम हुने गरी जिल्ला अदालत नियमावली, २०५२ को नियम १९(क) को उपनियम ३ बमोजिम दरपीठ गरी दिएको छ । सोको जानकारी जिल्ला सरकारी वकिल कार्यालय, चैनपुरलाईसमेत दिनु भन्नेसमेत व्यहोराको संखुवासभा जिल्ला अदालतको दरपीठ आदेश ।
प्रतिवादीहरू कुमार दर्जी र रामबहादुर दर्जीलाई मुलुकी ऐन, अ.बं. ११८ को देहाय २ बमोजिम मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय, खाँदबारीमा पठाउनेसम्बन्धी मिति २०६८।४।२२ को संखुवासभा जिल्ला अदालतको थुनछेक आदेश ।
यसमा मौकामा कागज गर्ने एकराज पोखरेललाई बुझ्नै पर्ने अवस्था देखिँदा निजको नाममा अ.बं. ११५ नं. बमोजिम ७ दिने म्याद जारी गरी पठाई म्यादमा उपस्थित भए बकपत्र गराउनु भन्ने आदेश भई निजको नाममा मिति २०६८।१।२५ मा म्याद जारी भई तामेली मितिमा उपस्थित नभई उक्त म्याद गुजारी बसेको अवस्था रहेछ ।
प्रतिवादीहरूले जाहेरवालीसँग मिति २०६८/३/२९ मा गाईको बाच्छी खरिद गरी लगी रातको समयमा काटी मारी खाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, चौपायाको महलको ११ नं. बमोजिम गौबध गरेको ठहर्नाले प्रतिवादीहरू कुमार दर्जी र रामबहादुर दर्जीलाई मुलुकी ऐन, चौपायाको महलको ११ नं. बमोजिम जनही बाह्र (१२) वर्ष कैदको सजाय हुने ठहर्छ भन्नेसमेत व्यहोराको संखुवासभा जिल्ला अदालतको मिति २०६९/३/२४ को फैसला ।
हामी प्रतिवादीहरूले गाईको बाच्छी जाहेरवालाबाट पाल्ने भनी लगेको तथा काटेको होइन । मोटे भन्ने धनबहादुर राईले जाहेरवालासँग बाच्छी किनेर ल्याएको भन्ने कुरा जाहेरवालाले अदालतमा आई बकपत्र गर्दा बाच्छी किन्न २ जना आएका थिए, एकजनालाई चिनिन एकजना चाहिँ रामबहादुर दर्जी थिए, कुमार दर्जीले पठाएको भनेपछि बेचेको हो भनी गरेको बकपत्रबाट म प्रतिवादी कुमार दर्जी बाच्छी किन्न नगएको भन्ने कुरा प्रस्ट छ । म कुमार दर्जीलाई जाहेरवालाले नै उन्मुक्ति दिएको अवस्थालाई सुरू फैसलाले मनोगतरूपमा हामीले बाच्छी किनेर ल्याई काटी मासु खाएको भनी हदैसम्मको फैसला भएकोमा हामीलाई अन्यायपूर्ण भएको हुँदा उक्त फैसला उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादीहरू कुमार दर्जी र रामबहादुर दर्जीको पुनरावेदन अदालत, धनकुटामा परेको संयुक्त पुनरावेदन पत्र ।
यसमा प्रतिवादीको अदालत समक्षको इन्कारी, जाहेरवालाले कुमार दर्जी बाच्छी किन्न आएको भनी भन्न नसकेको, वादीका साक्षीको बकपत्र हुन नसकेको, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको साबितीकै आधारले प्रतिवादीले गौबध गरेको ठहर गरेको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि अ.बं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, धनकुटालाई पेसीको सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, धनकुटाको मिति २०६९।११।१५ को आदेश ।
प्रतिवादी कुमार दर्जी र रामबहादुर दर्जीले मनसायपूर्ण तरिकाले जाहेरवालाको घरबाट गाईको बाच्छी खरिद गरी ल्याई काटी मासु खाई अभियोग दाबीबमोजिमको कसुर अपराध गरेको देखिएकाले प्रतिवादीहरूले गाईको बाच्छी काटी गौबध गरेको हुनाले प्रतिवादीहरू कुमार दर्जी र रामबहादुर दर्जीलाई मुलुकी ऐन, चौपायाको महलको ११ नं. बमोजिम जनही १२ (बाह्र) वर्ष कैदको सजाय हुने ठर्याई सुरू संखुवासभा जिल्ला अदालतबाट मिति २०६९।३।२४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०७०।२।१९ को पुनरावेदन अदालत, धनकुटाको फैसला ।
हामी प्रतिवादीहरूले बाच्छी मारेको भन्ने वादी पक्षले कुनै प्रमाण पुर्याउन सकेको छैन । जाहेरी दरखास्त आफैँमा प्रमाण होइन । मोटे भन्ने धनबहादुरले बाच्छी किनेर ल्याई काटी मासु पकाएको रहेछ हामीलाई थाहा थिएन । निजले हामीलाई रक्सी र मासु खान बोलाएको हुँदा हामीले केको मासु नसोधी खाएकोसम्म हो । निज धनबहादुरले आफैँले बाच्छी मारेका हुन् वा मरेको बाच्छीको मासु पकाएका हुन् हामीलाई थाहा भएन । बाच्छी मार्नमा हाम्रो कुनै भूमिका नरहेको र हामीले के कसरी बाच्छी मारेको भनी जाहेरीलगायतका मिसिलसंलग्न प्रमाणबाट पुष्टि हुन नसकेको एवं हामीले अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कारी रहेको अवस्थालाई मूल्याङ्कन नगरी हामीले गर्दै नगरेको कसुरमा कसुरदार ठहराई जनही १२ वर्ष कैद सजाय गर्ने गरी भएको सुरूको फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत, धनकुटाको फैसला प्रमाण ऐन, २०३१ को दफा २५, नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को उपधारा ५ र ७ को व्यवस्था तथा अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको त्रुटिपूर्ण हुँदा सुरू तथा पुनरावेदन अदालत, धनकुटाको उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू कुमार दर्जी तथा रामबहादुर दर्जीको यस अदालतसमक्ष परेको संयुक्त पुनरावेदन पत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री किरणकुमारी गुप्ताले मेरा पक्षले बाच्छी मारेको होइन भनी अदालतसमक्ष इन्कार रहेका र साथीले मासु खान बोलाएकोमा केको मासु भनी नसोधी मासु मात्र खाएको भनी गरेको बयानको कुनै मूल्याङ्कन नगरी गौबध गरेको भनी कसुरदार ठहर गरी भएको सुरू तथा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाई दिनुपर्ने भनी गर्नुभएको बहस सुनियो ।
पुनरावेदक प्रतिवादीहरूको तर्फका विद्वान वैतनिक अधिवक्ताले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल संलग्न प्रमाण कागजातहरू अध्ययन गरी हेर्दा प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन र पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।२।१९ को फैसला मिलेको छ, छैन भन्नेसम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू कुमार दर्जी, रामबहादुर दर्जी र मोटे राई भन्ने धनबहादुर राईले जाहेरवालीको घरबाट गाईको बाच्छी खरिद गरी रातको समयमा काटी मारी मुलुकी ऐन चौपायको महलको १ नं. विपरीत ११ नं. को गौबधको अपराध गरेको हुँदा ऐ. महलको ११ नं. बमोजिम सजायको माग दाबी लिई अभियोग दायर भएको देखिन्छ । प्रतिवादीहरू कुमार दर्जी र रामबहादुर दर्जीले मुलुकी ऐन चौपायको महलको ११ नं. बमोजिम गाईको बाच्छी काटी मारी गौबध गरेको कसुरमा ऐ. नं. बमोजिम जनही बाह्र वर्ष कैदको सजाय हुने ठहराई भएको सुरू संखुवासभा जिल्ला अदालतको फैसलाउपर यी पुनरावेदकहरूको पुनरावेदन अदालत, धनकुटामा पुनरावेदन परेकामा सुरू फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत, धनकुटाको फैसलाउपर प्रस्तुत पुनरावेदन परेको देखियो ।
३. हामीले गाईको बाच्छी काटी मारेको भन्ने आधारयुक्त प्रमाणको अभावमा हाम्रो अदालतसमक्षको इन्कारी बयानको मूल्याङ्कन नगरी अदालतभन्दा बाहिर भएको साबिती बयानलाई आधार मानी हामीलाई कसुरदार ठहर गरी भएको सुरू तथा पुनरावेदन अदालतको फैसला बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा यी प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा तिनजना मिली बाच्छीलाई मारेको भनी एक आपसमा तथा फरार प्रतिवादी धनबहादुर राईसमेतलाई पोल गरी बाच्छीलाई मारेको घटनालाई सिलसिलेवाररूपमा लेखाएको पाइन्छ । प्रतिवादी कुमार दर्जीले देखाएको स्थानमा उक्त बाच्छीको मासु फेला परेको भन्ने घटनास्थल प्रकृति मुचुल्काबाट देखिएको छ । जाहेरवालीले अदालतसमक्ष आई बकपत्र गर्दा यी प्रतिवादीहरूमध्ये रामबहादुर दर्जी र अर्को एकजना अपरिचित व्यक्तिले कुमार दर्जीले अह्राएको भनी बाच्छी खरिद गर्न आएकाले बाच्छी बेचेको भनी लेखाइदिएको अवस्थामा केको मासु हो भन्ने थाहानपाई मासुमात्र खाएको भन्ने प्रतिवादीहरूको भनाई विश्वसनीय देखिएन ।
४. यी पुनरावेदक प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा बाच्छी मारेको होइन भनी कसुरमा इन्कार रहे पनि अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा भएको सहीछाप आफ्नै भएको हो भनी गरेका र अधिकारप्राप्त अधिकारीसमक्षको बयान अचेत अवस्थामा गरेको वा बाध्य पारी वा यातना दिई वा यातना दिने धम्की दिई वा आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको भनी अदालतमा बयान गर्दा भन्न सकेको देखिँदैन । अधिकारप्राप्त अधिकारीसमक्ष स्वतन्त्ररूपमा स्वेच्छाले कसुर स्वीकार गरी बयान दिएपछि अदालतसमक्ष बयान गर्दा इन्कार रहेको आधारमा मात्र कसुरदार होइनन् भन्न मिल्दैन । यसै सन्दर्भमा “अदालतसमक्ष इन्कार रहँदैमा सफाइ पाउने भन्ने हुँदैन । अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई समर्थन गर्ने अन्य तथ्यहरू छन् भने ती तथ्यहरूलाई घटनाको समग्रतासँग दाँजेर हेर्नुपर्ने” भनी ने.का.प. २०६६ अङ्क ४ नि.नं. ८११५ मा सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । जाहेरी दरखास्त र सो जाहेरी दरखास्तलाई समर्थन गर्ने गरी प्रतिवादीमध्येका रामबहादुर दर्जीसमेत भई बाच्छी किनी लगेका भनी जाहेरवालीले अदालतमा आई गरेको बकपत्र, प्रतिवादीमध्येका कुमार दर्जीले देखाएको स्थानबाट बाच्छीको मासु बरामद भएकोसमेतका तथ्यगत घटनाक्रमबाट प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीहरूले बाच्छी काटी मारी गौबधको कसुर गरेको भनी अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई समर्थन गरिरहेको र बाच्छी मार्नमा हाम्रो कुनै संलग्नता थिएन भन्ने प्रतिवादीहरूको जिकिरलाई खण्डित गरिरहेको अवस्था हुँदा अभियोग दाबीबाट सफाई पाउँ भन्ने पुनरावेदकहरूको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
५. तसर्थ माथि विवेचित आधार कारणबाट यी पुनरावेदक प्रतिवादीहरू कुमार दर्जी र रामबहादुर दर्जीलाई मुलुकी ऐन, चौपायाको महलको ११ नं. बमोजिम जनही १२ (बाह्र) वर्ष कैदको सजाय हुने ठहर्याई भएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत, धनकुटाको मिति २०७०।२।१९ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
प्रस्तुत फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीहरूलाई दिनू भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू ----------------------------------------१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू -----२
उक्त रायमा सहमत छु ।
न्या. जगदीश शर्मा पौडेल
इजलास अधिकृतः इन्दिरा शर्मा
इति संवत् २०७२ साल पुस ३० गते रोज ५ शुभम् ।