शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५८४ - उत्तरपुस्तिका कोडिङसमेतको अनियमित कार्य गरी भ्रष्टाचार गरेको

भाग: ५८ साल: २०७३ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७२।६।१७।१

०७०-CR-०२३७

 

मुद्दा : उत्तरपुस्तिका कोडिङसमेतको अनियमित कार्य गरी भ्रष्टाचार गरेको

 

पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट ऐ. का सचिव केशवप्रसाद भट्टराई

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : अनन्त महतोको छोरा पर्सा जिल्ला, जितपुर गा.वि.स. वडा नं. ६ घर भई हाल मोरङ जिल्ला, विराटनगर उप–महानगरपालिका वडा नं. १३ तीनटोलिया बस्ने पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायका डिन प्रा.डा. रामकुमार सिंहसमेत

 

उत्तरपुस्तिका कोडिङ गर्ने कार्य यस्तो तथा यसरी मात्रै गर्न सक्ने भन्नेनिश्चित कार्यविधि भएको देखिएको छैन । कोडिङ हुनैपर्ने बाध्यात्मक कार्यविधिको स्पष्टताको पुष्टि वादीद्वारा गरेको पनि देखिँदैन । विश्वविद्यालयको प्रवेश परीक्षा जस्तो गहन विषयको परीक्षामा उत्तरपुस्तिका परीक्षण गर्न कोडिङ विना सम्भव पनि नदेखिने । 

(प्रकरण नं.६)

आफ्नो जिम्माको परीक्षासँग सम्बन्धित उत्तरपुस्तिका तथा सोसँग सम्बन्धित कागजातहरू प्रतिवादीले बुक गरेको होटलमा राख्न नसक्ने भन्ने कहीँ कतैबाट स्थापित पनि छैन । परीक्षासँग सम्बन्धित पदाधिकारीले अवस्थाअनुसार परीक्षाको गोपनीयता तथा संवेदनशीलतालाई ध्यानमा राख्दै सोको लागि उचित निर्णय गर्न सक्ने नै मान्नु पर्ने ।

उत्तरपुस्तिकाको व्यवस्थापन परीक्षा उपसमितिका जिम्मेवार पदाधिकारीद्वारा होटलमा गरिएको कोडिङको कार्यलाई गैरकानूनी मान्न मिल्ने नदेखिने ।

(प्रकरण नं.७)

भ्रष्टाचार नैतिक पतन देखिने गम्भीर प्रकृतिको कसुर हो । फौजदारी कसुर प्रमाणद्वारा सुस्पष्टरूपमा स्थापित भएको अवस्थामा मात्र प्रतिवादीलाई दोषी मान्न सकिन्छ । प्रचलित कानूनको बाध्यात्मक व्यवस्थाको उल्लङ्घन तथा कानूनले गर्न भनेको कुराको पालना नगरेमा मात्र फौजदारी दायित्वको सिर्जना हुन्छ । फौजदारी दायित्वको पुष्टि नभईकन दोषी ठहर गर्न विधिशास्त्रले नदिने ।

(प्रकरण नं.८)

 

पुनरावेदक / वादीका तर्फबाट : सहन्यायाधिवक्ता राजनप्रसाद भट्टराई

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७ र २१

 

फैसला

न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ उपदफा १ को खण्ड (क) बमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :

पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकायबाट  B.Sc‍ Nursing को दोस्रो पटक भएको प्रवेश परीक्षाका उत्तरपुस्तिकाहरू उक्त परीक्षा उप-समितिका सदस्य नवीन भट्टराई, परीक्षा उप-समितिका संयोजक डा. मुक्तिनाथ भट्टराई तथा चिकित्साशास्त्र संकायका डिन रामकुमार सिंहसमेतको मिलोमतोमा गौशालास्थित होटल भिजनमा राखी गैरकानूनीरूपमा कोडिङसमेत गर्न लागेको भन्ने व्यहोराको उजुरी निवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष मिति २०६८।८।२८ मा प्राप्त भई मिसिल सामेल  रहेको ।

का.जि., का.म.न.पा. वडा नं. ९ बत्तिसपुतलीस्थित होटल भिजन नेपाल प्रा.लि. को नवीन भट्टराईको नाममा बुक भएको कोठा नं.४०३ बाट एकाउन्न वटा B.Sc. Nursing विषयको ह्वाइट हाउस कलेज सेन्टरका उत्तरपुस्तिका र विद्यार्थी हाजिरी फाराम दश थान तथा खाली उत्तर पुस्तिका एक पाकेट तथा उक्त विषयलगायत अन्य विषयका प्रश्नपत्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट खटिई गएको टोलीले बरामद गरेको बरामदी मुचुल्का मिसिल सामेल रहेको ।

का.जि.,का.म.न.पा. वडा नं.९ स्थित होटल भिजन नेपाल प्रा.लि.को कोठा नं.४०३ पूर्वाञ्चल विश्वविद्यालयका परीक्षाको उप-समितिका सदस्य नवीन भट्टराईले २०६८।८।२३ देखि बुक गरी बसी आएको देखिएको, उक्त कोठा खोली हेर्दा B.Sc. Nursing विषयको ह्वाइट हाउस परीक्षा केन्द्रका दोस्रो प्रवेश परीक्षाका उत्तरपुस्तिका थान–५१ (एकाउन्न) र १० थान विद्यार्थी हाजिरी फाराम तथा खाली उत्तरपुस्तिका एक प्याकेट र उक्त नर्सिङ विषयका प्रश्नपत्रसमेत फेला परेको हुँदा उल्लिखित कागजातहरू मुचुल्का तथा शिल छाप गरी प्रतिवेदन पेस गर्नुको साथै उक्त कार्यमा संलग्न चिकित्साशास्त्र संकायका डिन प्रा.डा. रामकुमार सिंह, उक्त परीक्षा उप-समितिका संयोजक डा. मुक्तिनाथ भट्टराई र उक्त परीक्षा उप-समितिका सदस्य नवीन भट्टराईसमेतलाई अ.दु.अ.आ.मा उपस्थित गराएका छौं भन्नेसमेत व्यहोराको प्र.ना.उ. उत्तम पाण्डेसमेतको प्रतिवेदन मिसिल सामेल रहेको ।

का.जि., का.म.न.पा. वडा नं.९ तिलगंगा कोलोनीस्थित मुक्तिनाथ भट्टराईको साली रूक्मणी ज्ञवाली (सुवेदी) को घरबाट विभिन्न केन्द्रका उत्तरपुस्तिकाहरू अटोमेटिक नम्बरिङ मेसिन थान–१ (एक) र सोमा प्रयोग हुने मसीसमेत बरामद गरेको बरामदी मुचुल्का मिसिल सामेल रहेको ।

राजविराज परीक्षा केन्द्रका प्रवेश परीक्षासँग सम्बन्धित उत्तरपुस्तिकाहरू बुद्ध एयरको सिनामंगल, काठमाडौंस्थित कार्गो सेक्सनबाट पठाउने सुरेन्द्रप्रसाद न्यौपाने र पाउने श्री नवीन भट्टराईको नाम उल्लिखित स्टिच लागेको C.N.११३८४८४ बाट आएको पहेंलो खाम बरामद भएको बरामदी मुचुल्का ।

मिति २०६८।४।३१ गते उपकुलपति महेश्वरमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चिकित्साशास्त्र संकायअन्तर्गतका शैक्षिक कार्यक्रमहरू B.Sc Nursing, PBN, B.Pharmacy / BPH का प्रवेश परीक्षा मिति २०६८।५।२४ गते र २५ गते गर्ने र शैक्षिक सत्र ०६८।०६९ को प्रवेश परीक्षालाई व्यवस्थित गर्न उपकुलपतिको प्रत्यक्ष निगरानीमा रहने गरी चिकित्साशास्त्र संकायका डीनको संयोजकत्वमा परीक्षा नियन्त्रक, सह-डीन, सह-डीन नभएको अवस्थामा उक्त संकायबाट मनोनित वरिष्ठ शिक्षक रहने गरी ३ सदस्यीय चिकित्साशास्त्र संकाय प्रवेश परीक्षा समिति गठन गर्ने र त्यसको सदस्य सचिवमा परीक्षा नियन्त्रक रहने गरी गरेको निर्णयसहितको निर्णय पुस्तिका (माइनुट बुक) मिसिलसमेत रहेको ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति एवं कार्यकारी परिषद्का अध्यक्ष प्रा. महेश्वरमान श्रेष्ठको अध्यक्षतामा मिति २०६८।८।२९ गते बसेको कार्यकारी परिषद्‌को बैठकबाट पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायअन्तर्गत मिति २०६८।८।२४ र २५ गते लिइएको प्रवेश परीक्षा विशेष कारणवश रद्द गर्ने निर्णय भएको र सो निर्णयबमोजिमको सूचना मिति २०६८।९।१ गतेको कान्तिपुर दैनिकमा प्रकाशन भएको प्रतिलिपि मिसिल सामेल रहेको ।

पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायअन्तर्गतको दोस्रो पटकको प्रवेश परीक्षा समितिको संयोजकको हैसियतले प्रवेश परीक्षामा संलग्न छु, उक्त परीक्षा B.Sc Nursing, BPN, BPH / B.Pharmacy विषयको दोस्रो पटकको प्रवेश परीक्षा थियो, उक्त परीक्षाका लागि नेपालगञ्ज, पोखरा, बुटवल, नारायणघाट, काठमाडौं, विराटनगर, राजविराज र जनकपुरमा परीक्षा केन्द्रहरू तोकिएका थिए, उक्त परीक्षाका उप–समितिका संयोजक र सदस्यहरू मबाट समेत तोकिएको हो, परीक्षा समिति मेरो संयोजकत्वमा डा. मुक्तिनाथ भट्टराई सदस्य र सदस्य सचिवमा परीक्षा नियन्त्रक तीर्थकुमार श्रेष्ठलाई तोकिएको थियो, उक्त प्रवेश परीक्षा सञ्चालनको लागि उप–समितिमा संयोजक डा. मुक्तिनाथ भट्टराई, सदस्यहरूमा डा. भूपेन्द्र चरण श्रेष्ठ, नवीन भट्टराई, गिरीराज कोइराला, मोहन पोखरेल, डा. रञ्जना शर्मा र श्रीमती कविता अधिकारीलाई तोकिएको थियो, केन्द्राध्यक्षको लागि परीक्षा केन्द्र तोकिएको कलेजको प्रिन्सिपललाई तोक्ने व्यवस्था भएकाले उहाँहरूलाई नै तोकिएको हो, परीक्षा उप–समितिलाई उत्तरपुस्तिकाहरू सङ्कलन गर्न, प्रश्नपत्र बनाउन, परीक्षा लिने, कपी जाँच गरी रिजल्ट निकाल्नेसमेत प्रवेश परीक्षासम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी दिइएको हो भन्नेसमेत व्यहोराको प्रवेश परीक्षा समितिका अध्यक्ष एवं संयोजक प्रा.डा. रामकुमार सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

उक्त संकायअन्तर्गतको परीक्षा समितिले मेरो संयोजकत्वमा उप-समिति गठन गरेपछि मात्र मलाई दोस्रो प्रवेश परीक्षा हुने कुरा अवगत भयो, उक्त उप-समितिलाई प्रश्नपत्र तयार गर्ने, उत्तरपुस्तिका परीक्षण गरी नतिजाको सूची तयार गर्ने काममा परीक्षा समितिसँग समन्यव गरी काम गर्ने जिम्मेवारी दिइएको थियो, अन्य प्रशासनिक काम यस समितिअन्तर्गत रहेको थिएन, उक्त परीक्षा B.Sc Nursing, BPN, BPH / B.Pharmacy विषयको दोस्रो पटकको प्रवेश परीक्षा थियो, परीक्षाका लागि नेपालगञ्ज, पोखरा, बुटवल, नारायणघाट, काठमाडौं, विराटनगर, राजविराज र जनकपुरमा परीक्षा केन्द्रहरू तोकिएका थिए, २०६८ मङ्सिर २१ गते उप–समितिको पहिलो बैठक बोलाइएको थियो, तर अचानक मङ्सिर २० गते मेरो पिताजीको स्वास्थ्य स्थिति बिग्रेको खबर आएकोले सोबारेमा मैले परीक्षा समितिका अध्यक्ष तथा डीनज्यूलाई अवगत गराई म गैंडाकोट नवलपरासीतर्फ गएको हुँ, त्यसैले मङ्सिर २१ गतेदेखि २६ गतेसम्म भएका कामहरूमा मेरो संलग्नता रहेको छैन, उप-समितिको बैठक बसे नबसेको मलाई जानकारी छैन, उक्त परीक्षाका उत्तरपुस्तिका काठमाडौं पठाउने र सो सङ्कलन गर्ने Focal Person को रूपमा काठमाडौं खटिएका नवीन भट्टराईलाई अह्राइएको थियो, परीक्षा समितिका अध्यक्ष डीनज्यूसँग परामर्श गरी उहाँकै आदेशमा निज नवीन भट्टराईलाई विधिवत्‌ ढङ्गले उत्तरपुस्तिका कोडिङ गर्ने काम गर्दै गर्न फोनमार्फत भनेको हुँ, कुन ठाउँमा बसी काम गर्ने भन्ने कुरा डीनज्यूबाट स्पष्ट नभएकाले मैले पनि स्पष्ट किटान गरी नभनेको हो, मिति २०६८ साल मङ्सिर २७ गते नवीन भट्टराईबाट राजविराज, चितवन र बुटवल केन्द्रका सबै विषयका र काठमाडौं केन्द्रका बि.एस्सी नर्सिङबाहेकका सम्पूर्ण उत्तरपुस्तिका र कोडिङ मेसिन बुझी लिएँ, भोलिपल्ट बिहान विराटनगर जाने कार्यक्रम भएको हुनाले उक्त रात आफैँसँग सुरक्षित राखेको थिएँ, बुद्ध एयरको कार्गोमा राजविराजका उत्तरपुस्तिका रहेको, मैले उक्त कार्गो नम्बर पाइसकेको थिएँ, कार्गो कसको नाममा कुन हालतमा आयो मलाई जानकारी छैन, साथै विश्वविद्यालयको परीक्षा सञ्चालनसम्बन्धी विस्तृत कार्यविधिसहितको निर्देशिका भए नभएकोसमेत मलाई जानकारी छैन, म हरेक पटक काठमाडौं आउँदा विश्वविद्यालयको काठमाडौंस्थित सम्पर्क कार्यालयमा सम्पर्क गर्ने गरेकै छु, आफ्नो सम्पर्क कार्यालय हुँदाहुँदै त्यसको उपयोग नगर्ने भन्ने सवाल नै आउँदैन भन्नेसमेत व्यहोराको प्रवेश परीक्षा समितिका सदस्य एवं परीक्षा उप-समितिका संयोजक डा. मुक्तिनाथ भट्टराईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

म उक्त प्रवेश परीक्षा उप-समितिको सदस्य तोकिएको थिएँ, उक्त कार्यको लागि उप-समितिको सदस्यको हैसियतले मलाई प्रश्नपत्र तयार गर्ने, उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गर्नेसम्मको जिम्मेवारी थियो, साथै काठमाडौं केन्द्रको लागि पर्यवेक्षकको जिम्मेवारीसमेत तोकिएको थियो, मिति २०६८।८।२३ गते उक्त परीक्षा सञ्चालनको लागि करिब ३:०० बजेतिर काठमाडौं आएका हौं, काठमाडौंमा सम्पर्क व्यक्ति कृष्णप्रसाद भुसाल (एसिएनको अध्यक्ष) लाई काठमाडौं आउँदै गरेको जानकारी गराएको हुँ, मङ्सिर २४ गते बिहान निजले नै हामीलाई परीक्षा केन्द्र हिमालयन ह्वाइट हाउस खुमलटारसम्म पुर्‌याएका हुन्‌, परीक्षा सकिएपश्चात् सोही कलेजका प्रिन्सिपलले हामीलाई पुरानो बानेश्वरसम्म ल्याइदिएका हुन्, मङ्सिर २५ गते बिहान निज भुसालकै गाडीमा पुनः परीक्षा केन्द्रतर्फ गएका हौं र परीक्षा सकिएपछि निजकै गाडीमा पुरानो बानेश्वरसम्म आएका हौं, कोडिङ मेसिन ढाकाजीले परीक्षा केन्द्रसम्म ल्याइदिएका हुन्, सोही बेलुका डा. मुक्तिनाथ भट्टराईले कोडिङको काम सुरू गर्न भन्नुभयो, मङ्सिर २६ गते बिहान डा. मुक्तिनाथ भट्टराईले भन्नु भएअनुसार काठमाडौं केन्द्रको बि.एस्सी नर्सिङ विषयको उत्तरपुस्तिकाहरू रहेको बन्दी खाम खोले र कोडिङ गर्नको लागि रोल नम्बरको आधारमा मिलाएँ, सबै कपी कलेक्सन नभई कोडिङ गर्न नसकिने भयो र कोडिङको काम रोकियो, अन्य परीक्षा केन्द्रहरूको समेत उत्तरपुस्तिकाहरू सङ्कलन गर्नुपर्ने भएकोले सोही दिन काठमाडौं केन्द्रको बि.एस्सी नर्सिङ विषयको बाहेक अरू सबै उत्तरपुस्तिकाहरू र कोडिङ मेसिनसमेत झोलामा राखी एयरपोर्ट गएँ, यति एयरलाइन्सबाट जनकपुर र विराटनगरको कापीहरू बुझें, सोही अवस्थामा होटलवालाले फोन गरी विद्यार्थीहरूले आफू बसेको होटेलको कोठामा ताला लगाउने भनी खबर गरे, सोही फोनबाट विद्यार्थीहरूले मसँग पनि कुरा गरे, त्यसपछि विश्वविद्यालयको गाडी विमानस्थल आयो । म उक्त गाडीमा गइन । मैले उक्त झोला चाँहि गाडीमा राखेँ तर कसैलाई पनि भनिन यस बिचमा मैले घटनाको जानकारी डा. मुक्तिनाथ भट्टराईलाई गराएँ, उक्त झोला सोही गाडीमा नै छाडी उक्त दिन बेलुका म पुरानो बानेश्वर आई काकाको घरमा सुतें तर सो उत्तरपुस्तिकाहरू भएको झोला उक्त गाडीमा भएको कुरा कसैलाई जानकारी गराइन र जिम्मा पनि दिइन, मङ्सिर २७ गते अं.१२:३० बजे डा. मुक्तिनाथ भट्टराई काठमाडौं आउनुभयो, करिब ३:०० बजेको हाराहारीमा मैले उत्तरपुस्तिकाहरू र कोडिङ मेसिन भएको झोला निजलाई हस्तान्तरण गरेको हुँ, परीक्षासँग सम्बन्धित संवेदनशील कागजातहरू होटलमा राख्ने कुरा जायज होइन तर डिन र डा. भट्टराईसँगको छलफलमा बारम्बार बन्दको कारणले दु:ख पाएकाले तपाइँको जिम्मामा राख्नु भनेकाले राखेको हुँ, योभन्दा अघिल्लो पटक पनि कपीहरू यसरी नै कुरियरमार्फत मगाइएका थिए, त्यसैले यसपटक पनि एयरलाइन्सको कार्गोमार्फत मेरो नाममा प्राप्त भएका हुन्, निज कृष्णप्रसाद भुसाल प्राइभेट कलेज संगठन एसिएनका अध्यक्ष तथा नेम्स कलेजका सञ्चालक हुन्, निजसँग मेरो कुनै नाता सम्बन्ध छैन, निजसँग विराटनगरमा मेरो चिनजान भएको हो भन्नेसमेत व्यहोराको नवीन भट्टराई (प्रवेश परीक्षा उप-समितिका सदस्य एवं पर्यवेक्षक) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

म उक्त प्रवेश परीक्षाको परीक्षा समितिको सदस्य सचिवमा तोकिएको थिएँ, उक्त परीक्षा समितिको बैठकमा समेत गएको हुँ, बैठकमा प्रवेश परीक्षा उप-समिति गठन गरी उक्त उप-समितिलाई परीक्षा सञ्चालन, प्रश्नपत्र तयारीदेखि उत्तरपुस्तिकाको कोडिङ गरी IOE पुल्चोकमा परीक्षणको लागि दिने भन्ने निर्णय भएको थियो, परीक्षा उप-समितिको बैठक बसे नबसेको मलाई कुनै जानकारी गराइएन, परीक्षासँग सम्बन्धित संवेदनशील कागजातहरू आफ्नो कार्यालय हुँदाहुँदै सो कार्यालयमा नै राख्नु पर्ने तथा प्रहरी कार्यालयमा सुरक्षित राख्नु पर्ने, कुनै कारणवस यी दुवै स्थान प्राप्त हुन नसकेमा मात्र कारण जनाई यथासक्य गोप्य र शिलछाप यथावत् रहने गरी सुरक्षित राख्नु पर्ने हो, शिलबन्दी प्याकेट आफूखुसी होटेलमा खोलेको हो भने परीक्षाको मर्यादाविपरीत हो र परीक्षामा खटिएका व्यक्तिले यस्तो कार्य गर्न मिल्दैन, यस्ता महत्त्वपूर्ण कागजातहरू व्यक्तिको नाममा नभई कार्यालयको नाममा नै पठाउनु पर्ने हो, उक्त परीक्षा सञ्चालनमा आफू नआएको र डीनज्यू नै आउनुभएको हुँदा के कुन कारणले सम्पर्क कार्यालयको प्रयोग गर्न चाहनु भएन मलाई थाहा भएन भन्नेसमेत व्यहोराको तीर्थकुमार श्रेष्ठ (परीक्षा नियन्त्रक एवं प्रवेश परीक्षा समितिका सदस्य सचिव) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

उक्त परीक्षा सञ्चालन गर्नको लागि मेरो कलेजमा परीक्षा केन्द्र तोकिएको र मलाई केन्द्राध्यक्षमा बहाली गरेको थियो । मिति २०६८।८।२४ र २५ गते उक्त केन्द्रमा सञ्चालित दोस्रो पटकको प्रवेश परीक्षाको प्रश्नपत्र र उत्तर सिटहरू विश्वविद्यालयबाट खटिएका आधिकारिक व्यक्ति नवीन भट्टराईबाट परीक्षा केन्द्रमा नै प्राप्त गरेको हुँ, परीक्षा समाप्त भएपछि उक्त परीक्षाका उत्तरपुस्तिकाहरू निजले माग गरेकोले निजकै जिम्मा दिएको हुँ, विश्वविद्यालयले मलाई केन्द्राध्यक्ष तोकिएको पत्रसमेत निज नवीन भट्टराइले २४ गते परीक्षा केन्द्रमा नै मलाई दिएका हुन्, मबाट उत्तरपुस्तिका लिएपछि उक्त उत्तरपुस्तिकाहरू निजले के कहाँ लिएर गए मलाई थाहा भएन, उक्त उत्तरपुस्तिकाहरू सम्पर्क कार्यालयमा बुझाउने भनी कहीँ कसैले पनि विश्वविद्यालयबाट निर्देशन नदिएकोले विश्वविद्यालयको आधिकारिक प्रतिनिधिको जिम्मा दिएको हुँ भन्नेसमेत व्यहोराको राजीवकुमार सिंह (प्रवेश परीक्षा केन्द्र काठमाडौंका केन्द्राध्यक्ष) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

उक्त संकायअन्तर्गतको दोस्रो पटकको प्रवेश परीक्षा उप-समितिमा राखिएको कुरा मौखिकरूपमा मात्र थाहा भएको हो, आधिकारिकरूपमा कुनै पत्र प्राप्त भएको छैन, साथै उप-समितिको बैठकसमेत बसे नबसेको कुनै जानकारी छैन, परीक्षासँग सम्बन्धित उत्तरपुस्तिकालगायतका संवेदनशील र महत्त्वपूर्ण कागजातहरू भएको बन्दी खाम होटलमा बसी आफूखुसी खोल्नु परीक्षाको मर्यादाविपरीत हो, साथै उक्त कागजातहरू यसरी खोल्न नमिल्ने हो, के कुन कारणले यसरी खोलिएको हो जानकारी भएन, साथै विश्वविद्यालयसँग सम्बन्धित कागजातहरू के कति कारणले कार्यालयको नाम ठेगानामा प्राप्त नभई व्यक्तिगत नाम नम्बरमा प्राप्त हुन आएका हुन् थाहा भएन, यस्तो क्रियाकलाप गर्न नमिल्ने हो भन्नेसमेत व्यहोराको एकै मिलानको डा. भूपेन्द्र चरण श्रेष्ठ, डा. रञ्जना शर्मा ढुंगेल, कविता अधिकारी, मोहनप्रसाद पोखरेल, गिरिराज कोइराला (प्रवेश परीक्षा उप-समितिका सदस्यहरू) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

म उक्त प्रवेश परीक्षाको काठमाडौं केन्द्रको लागि पर्यवेक्षकको रूपमा तोकिएको थिएँ, केन्द्राध्यक्षसँग समन्वय गरी परीक्षालाई मर्यादित बनाउनु मेरो काम कर्तव्य थियो, मिति २०६८।८।२३ गते परीक्षा उप–समितिका सदस्य नवीन भट्टराई र म अं.४:१० बजे विराटनगरबाट काठमाडौं एयरपोर्ट आई गौशालास्थित होटल भिजनमा बस्यौ । मङ्सिर २४ र २५ गते बिहान परीक्षा केन्द्रमा गई परीक्षा सञ्चालन गरी होटेलमा आएका हौं, मङ्सिर २६ गते बिहान अन्य केन्द्रहरूको समेत उत्तरपुस्तिका लिन नवीन सर र म एयरपोर्ट गएका हौं, सो बखत नवीन सरले एउटा झोला पनि बोक्नुभएको थियो, यति एयरलाइन्सको आफिसबाट विराटनगर र जनकपुरको उत्तरपुस्तिका नवीन सरको नाममा भएकाले उहाँले नै बुझ्नुभयो, एयरपोर्ट पुगेको केही समयपछि हामी बसेको होटलमा तालाबन्दी भयो भन्ने कुरा नवीन सरलाई फोन आयो, उत्तरपुस्तिकाहरू होटलभित्र भएकाले तालाबन्दी गरेको भन्ने बुझियो, उक्त बेलुकी म सम्पर्क कार्यालयमा गई सुतेँ, मङ्सिर २७ गते अं. ११ बजे डा. मुक्तिनाथ सर काठमाडौं आइपुग्नुभयो, सोही बेलुकी म गाडी चढी घरतिर लागें भन्नेसमेत व्यहोराको निरोध सुवेदी (सहायक एवं प्रवेश परीक्षाका पर्यवेक्षक) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

परीक्षा सञ्चालन गर्न म पर्येवेक्षकको हैसियतले राजविराज केन्द्रमा खटिएको हुँ, उक्त परीक्षा सम्पन्न भएपश्चात् काठमाडौंबाट नवीन भट्टराई सरले उक्त केन्द्रको उत्तरपुस्तिकाहरू विराटनगर गई एयरपोर्टबाट मेरै नाममा कुरियर गरी काठमाडौं पठाइदिनु भन्ने निर्देशन (आदेश) भएकाले विराटनगर गएर बुद्ध एयरबाट कुरिएर गरी पठाइएको हो, निज नवीन भट्टराईकै निर्देशनअनुसार पाउने नवीन भट्टराई फोन नम्बर ९८५२०४९३१५, पठाउने सुरेन्द्र न्यौपाने फोन नम्बर ९८१५–३४४८४१ र ९८४२१–९५७०८ लेखी एयर कुरियर गरी पठाएको हुँ भन्नेसमेत व्यहोराको सुरेन्द्रप्रसाद न्यौपाने (सहायक एवं प्रवेश परीक्षाका पर्यवेक्षक) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

उक्त परीक्षाको बारेमा मिति २०६८।८।२३ गते बेलुकासम्म सम्पर्क कार्यालयमा कुनै जानकारी नआएको, मिति २०६८।८।२४ गते बिहान वरिष्ठ अधिकृत गिरिराज सरसँग सम्पर्क हुँदा काठमाडौंको परीक्षा केन्द्र हिमालयन ह्वाइट हाउस कलेजमा रहेको र मलाई त्यस केन्द्रमा  पर्येवेक्षक खटाएको भन्ने जानकारी आएकाले उक्त केन्द्रमा खटिएको हुँ, मेरो आफ्नो कार्य व्यस्तताले उक्त परीक्षामा म पुरा बस्न नसकी केन्द्राध्यक्ष र नवीन भट्टराईसँग बिदा मागी म त्यहाँबाट निस्केको हुँ, मिति २०६८।५।२५ गते नवीन भट्टराई सरले नम्बरिङ मेसिन माग्नुभएकाले उक्त मेसिन लिएर म परीक्षा केन्द्रमा गई अं. ११:३० बजेतिर उहाँको जिम्मा लगाई फर्किएको हुँ, यसरी नम्बरिङ मेसिन बाहिर लगेर दिन त मिल्दैन थियो तर परीक्षा प्रयोजनको लागि भनेर माग्नु भएकोले दिएको हुँ, यसअघिको प्रवेश परीक्षा सम्पर्क कार्यालयमा नै बसी उक्त कार्यालयबाटै कोडिङलगायतको कार्य गरी गरिएको थियो, यस पटक के कुन कारणले सम्पर्क कार्यालयको प्रयोग नगरी होटलबाट भएको हो मलाई जानकारी भएन भन्नेसमेत व्यहोराको ढाकाराज पोखरेल (सहायक एवं प्रवेश परीक्षाका पर्यवेक्षक) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

उक्त परीक्षा सञ्चालन गर्नको लागि मलाई पोखरा केन्द्रमा खटाइएको जानकारी संकायका कर्मचारीबाट थाहा पाएको हुँ तर २०६८।८।२३ गते रजिष्ट्रारज्यूबाट फोटोकपी मेसिन बिग्रिएकाले टोनर, ड्रम किट लिएर तुरून्त विराटनगर पठाउनु भन्ने आदेश भएबमोजिम पोखरा जान नसकेको हुँ, काठमाडौंमा भएको प्रवेश परीक्षा सम्बन्धमा मेरो कुनै जिम्मेवारी नभएको र मलाई कुनै जानकारीसमेत नभएको, उक्त परीक्षा सञ्चालन गर्न काठमाडौं आएका प्रतिनिधिहरूले र संकायबाट समेत सम्पर्क कार्यालयमा कुनै सम्पर्क एवं जानकारी नदिनु भएकोले उक्त परीक्षाको बारेमा आफू अनभिज्ञ रहेको, उक्त परीक्षामा सम्पर्क कार्यालयको भौतिक सामान र कार्यालयसमेतको प्रयोग गरिएन भन्नेसमेत व्यहोराको विनय भट्टराई (काठमाडौं सम्पर्क कार्यालयका अधिकृत) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

उक्त परीक्षा सञ्चालन गर्नको लागि मलाई कुनै जिम्मेवारी दिइएको थिएन, मिति २०६८।९।२३ गते दिउँसो १ बजे नवीन भट्टराईले विराटनगरबाट परीक्षा सञ्चालनको लागि काठमाडौं आउँदै गरेको जानकारी गराउनुभएको थियो र काठमाडौं विमानस्थलमा आएर लिफ्ट माग्नुभयो, मैले उनीहरूलाई बत्तिसपुतलीस्थित भिजन होटलमा पुर्‌याई दिएँ, भोलिपल्ट २४ गते बिहान ९ बजे परीक्षा केन्द्र ह्वाइट हाउस खुमलटारसम्म पुर्‌याई दिएको हुँ, मिति २०६८।९।२५ गतेको परीक्षा सञ्चालनको लागिसमेत मेरो गाडी केन्द्राध्यक्ष राजीव सिंहको ड्राइभरलाई दिएको हुँ, मैले गाडी दिनेबाहेक अन्य कुनै सहयोग गरेको छैन, उक्त परीक्षामा मेरो कलेजबाट जनस्वास्थ्य विषयमा २३ जना र बि.एस्सी नर्सिङ विषयमा ९ जना विद्यार्थी सम्मिलित थिए, उक्त परीक्षा सञ्चालनको लागि सम्पर्क कार्यालयमा नभई होटलमा भएको कुरा पछि थाहा पाएँ, होटलमा बसी आफुखुसी उत्तरपुस्तिकाहरू खोल्न कुनै पनि हालतमा मिल्दैन, गलत नियतले नभई गुणस्तर कायम गर्न र परीक्षा पद्दतिलाई संस्थागत गर्न नवीनजीले गाडी मागेकाले दिएको हुँ, सोबाहेक मेरो कुनै संलग्नता छैन भन्नेसमेत व्यहोराको कृष्णप्रसाद भुषाल (नेसनल एकेडेमी फर मेडिकल साइन्सेस एन.ए.एम.एस. का प्रिन्सिपल) ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

उक्त प्रवेश परीक्षाका उत्तरपुस्तिकाहरू काठमाडौंस्थित सम्पर्क कार्यालयमा केन्द्रित गरी चेक गर्नु पर्नेमा सो नगरी गौशालास्थित होटल भिजन नेपालमा विभिन्न प्रलोभनमा परी चेकजाँच गरिरहेको भन्ने सूचनाका आधारमा मिति २०६८ मङ्सिर २६ गते उक्त होटलमा पुगी होटलका डाइरेक्टर विनोद के.सी.सँग जानकारी माग गर्दा विश्वविद्यालयबाट परीक्षाको लागि काठमाडौं केन्द्रमा खटिएका कर्मचारीहरू उक्त होटलको ४०३ नम्बर कोठामा बसेको र अहिले होटेलबाट बाहिर निस्केको भन्ने जवाफ प्राप्त भएको हो,  हामीले उक्त कोठा खोली दिन अनुरोध गर्दा निज डाइरेक्टले रूममा बस्नेको अनुमति बेगर खोल्न नसक्ने भनेपछि एक विज्ञप्ति निकाल्दै उक्त रूममा तालाबन्दी गर्ने निर्णय गरेका हौं, चिकित्साशास्त्र संकायका डिन डा.आर.के.सिंहलगायतका कर्मचारीहरूले विश्वविद्यालय ऐन नियमले दिएको अख्तियारको दुरूपयोग गरेको हुनाले यससम्बन्धी छानबिन गर्ने निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी गर्ने निर्णय गरी उजुरी दर्ता गराइएको हो भन्नेसमेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएका उमेशकुमार थापाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।

पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध नवीन भट्टराईसमेत जम्मा २ जना मिति २०६८।८।२३, २४ र २५ गते जम्मा ३ दिन मेरो होटेलको ४०३ नम्बर कोठामा बसेका हुन् । उक्त कोठा नवीन भट्टराइकै नाममा बुक भएको छ, के कुन कारणले काठमाडौं आएका हुन् मलाई जानकारी छैन, निजहरू बिहान जाने र बेलुका आउने गर्थे के कुन काम गर्थे मलाई जानकारी भएन, मिति २०६८।८।२६ गते अं.२ बजे ८-१० जना व्यक्तिहरू आई उक्त कोठामा को बस्छ भनी सोधीखोजी गरी तालाबन्दीसमेत गरेका हुन्, के कुन कारणले ताला लगाएका हुन मलाई थाहा भएन, पछि अख्तियारको टोली आई ताला खोली कागजपत्रहरू लिई गएका हुन भन्नेसमेत व्यहोराको विनोद के.सी. (होटल भिजन नेपाल प्रा.लि.का सञ्चालक) को अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।

मिति २०६८।०८।२४ र २५ गते सञ्चालित चिकित्साशास्त्र संकायअन्तर्गतको दोस्रो पटकको प्रवेश परीक्षामा उक्त संकायका डिन प्रा.डा.रामकुमार सिंहको हस्ताक्षरित पत्रादेसानुसार हामीहरू चितवन, विराटनगर, जनकपुर, बुटवल, नेपागञ्ज, राजविराजलगायतका परीक्षा केन्द्रहरूमा पर्यवेक्षकको रूपमा खटिएका हौं, उक्त परीक्षा सञ्चालनमा केन्द्राध्यक्षलाई सहयोग गर्ने, परीक्षालाई व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गराई उपयुक्त माध्यमबाट सम्बन्धित निकायमा परीक्षासम्बन्धी जानकारी गराउने जिम्मेवारी हामीहरूलाई दिइएको थियो, परीक्षासँग सम्बन्धित उत्तरपुस्तिकालगायतका संवेदनशील सिलबन्दी कागजातहरू होटलमा लगेर आफूखुसी खोल्नु परीक्षाको मर्यादाविपरीत हो, यसो गर्न नमिल्ने हो भन्नेसमेत व्यहोराको परीक्षा पर्यवेक्षकहरू किशोरकुमार श्रेष्ठ, सुकेश कर्ण, जयराम चौधरी, देवीप्रसाद कट्टेल, कृष्णप्रसाद ढुंगाना र आश्विनीकुमार झाको एकै मिलानको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

प्रवेश परीक्षा सम्पन्न भइसकेपछि उक्त परीक्षासँग सम्बन्धित शिलबन्दी उत्तरपुस्तिकाहरू रहेको खामको प्याकेट पूर्वाञ्चल विश्वविद्यालयको काठमाडौंस्थित सम्पर्क कार्यालयमा ल्याउनु पर्नेमा परीक्षाको परिणाममा फेरबदल गर्ने बदनियतले आपसी सहमति गरी नवीन भट्टराईले होटलमा लगी उत्तरपुस्तिकाहरू रहेको शिलबन्दी खामको शिल तोडेको स्पष्ट देखिएकोले प्रतिवादीहरू प्रा.डा. रामकुमार सिंह, डा.मुक्तिनाथ भट्टराई र नवीन भट्टराईले दूषित मनसायद्वारा अभिप्रेरित भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा १७ को कसुरजन्य अपराधको ऐ. ऐनको दफा २१ बमोजिम उद्योग गरेको पुष्टि हुन आएकोले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, दफा १७ तथा दफा २१ बमोजिमको कसुरमा सोही ऐनको दफा १३, १७ तथा २१ र दफा ३ (१) (घ) बमोजिम सजाय गरी उल्लिखित बिगो रकम रू.३,२८,९५०।– (तीन लाख अठाईस हजार नौं सय पचास) जनही निज प्रतिवादीहरूलाई जरिवानासमेत गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६९।०६।२६ को आरोप पत्र ।

म २०६६ सालदेखि पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायअन्तर्गत कलेज अफ मेडिकल एन्ड अलाइन्स साइन्सेज (पुकमास) मा शिक्षक सहायक (बायोकेमेष्ट्रि) भई कार्यरत छु । B.Sc. Nursing को दोस्रो प्रवेश परीक्षाको सिलसिलामा २०६८ मङ्सिर २३ गते म काठमाडौं आई उक्त होटल पूर्वाञ्चल विश्वविद्यालय ठेगाना लेखी बुक गरेको हो, परीक्षा सञ्चालनपश्चात् परीक्षा उप-समितिका संयोजक डा. मुक्तिनाथ भट्टराईको फोन निर्देशनअनुसार उप-समितिलाई प्राप्त अधिकार र कार्यक्षेत्रभित्र रही नतिजा तयार पार्ने क्रममा रहेको अवस्था थियो, २०६८।८।२६ गते अन्य केन्द्रको उत्तरपुस्तिकाहरू सङ्कलन गर्न म कोठाबाहिर गएको बेला विद्यार्थीहरूले उक्त कोठामा ताला लगाई दिए, सो घटनाको जानकारी मैले संयोजक मुक्ति भट्टराईलाई तत्काल गराएँ, मङ्सिर २७ गते डा. मुक्तिनाथ भट्टराईसँग विद्यार्थीहरूको वार्ता भई पुन: २८ गते डेपुटी कन्ट्रोलर मोहनबहादुर बस्नेतलगायतसँग वार्ता भई विश्वविद्यालय प्रतिनिधि, विद्यार्थी प्रतिनिधि र प्रहरी प्रभाग गौशालाका प्रहरीको उपस्थितिमा होटलको ताला खोली मुचुल्का तयार गर्दै गर्दा अ.दु.अ.आ. का प्रतिनिधि आई प्रहरीले तयार गरेको मुचुल्का काम नलाग्ने भन्दै च्याती नयाँ मुचुल्का तयार गरेको हो, बारम्बार विश्वविद्यालय विभिन्न संगठनहरूले बन्द गरी समयमा कुनैपनि विश्वविद्यालयको कार्य सम्पन्न गर्न नसकेको हुँदा उप-समितिको कार्यक्षेत्रभित्र रही साथै विश्वविद्यालयको ऐन नियमभित्र पर्ने भनी डा. मुक्तिले दिनुभएको मौखिक आदेशानुसार असल नियतले तत्काल नतिजा प्रकाशन गर्न कोडिङ कार्य गर्नका निमित्त उक्त कपीहरू खोलिएको हुन् । पूर्वाञ्चल विश्वविद्यालयको प्रचलित नियम, परम्परा र उप-समितिको क्षेत्राधिकारभित्र रही उप-समितिका संयोजक डा. मुक्तिनाथ भट्टराईको मौखिक आदेश निर्देशनबमोजिम उत्तरपुस्तिकाको शिलबन्दी खोलिएको हो, पहिलो पटकको प्रवेश परीक्षा २०६८।५।२४ र २५ मा भएको थियो, त्यस ताका विश्वविद्यालय पूर्णरूपले तालाबन्दी थियो, त्यस समयमा पनि सुरक्षित स्थानमा परीक्षासम्बन्धी कार्य भएको थियो, दोस्रो पटक २०६८ मङ्सिर २४ र २५ को परीक्षा सञ्चालनको तयारी हुँदा पनि (२३ गते सम्म) विश्वविद्यालय पूर्णरूपले तालाबन्दी थियो, जसका कारणले होटलमा बस्नु परेको हो, जुन पूर्वाञ्चल विश्वविद्यालयको नियमले निषेध गरेको छैन, म बसेको होटल तथा मैले परीक्षासम्बन्धी गरेका कार्यहरू निरन्तर फोनमार्फत उपल्लो निकायलाई जानकारी गराएको थिएँ, उत्तरपुस्तिकाको शिलबन्दी खोलेपनि त्यसको नतिजा फेरबदल गर्न सकिने होइन, उद्देश्य पनि थिएन, तसर्थ मैले कुनै गैरकानूनी कार्य गरेको होइन, छैन, विश्वविद्यालयलाई उक्त कार्यले कुनै क्षति पुर्‌याएको छैन, तसर्थ मलाई झुट्टो अभियोग दाबीबाट सफाई दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी नविन भट्टराईको मिति २०६९।९।५ मा विशेष अदालतमा भएको बयान ।

यो यस व्यक्ति वा आफूलाई गैरकानूनी लाभ पुर्‌याउने बद्‌नियतले काम गरेको तथ्य अनुसन्धानबाट नदेखिए तापनि उत्तरपुस्तिकाको खाम खोलिएको कुरा बरामदी मुचुल्काबाट देखिन आएकोले आरोपित कसुरमा यी प्रतिवादीको संलग्नता रहेको छैन भनी भन्न सकिने स्थिति हालै नरहेकोले बुझ्दैजाँदा प्राप्त प्रमाणबाट ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीबाट विशेष अदालत ऐन,२०५९ को दफा ७(घ) अनुसार रू.२,००,०००।- (अक्षेरूपी दुई लाख मात्र) धरौट माग गरिएको छ, सोबापत निजले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखाबाट जारी भएको रू.७,५०,०००।- को बैंक ग्यारेन्टी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा धितो राखेको देखिँदा सोहीबाट उक्त धरौट रू.२,००,०००।- (दुई लाख) उक्त ऐनको दफा ७(च) बमोजिम यथावत् रोक्का गरी बाँकी फुकुवा गरी कानूनबमोजिम गर्नु भन्नेसमेत व्यहोराको मिति २०६९।९।५ को विशेष अदालतको आदेश आदेशानुसार निज प्रतिवादी तारेखमा रहेको । 

दोस्रो पटक लिइने B.Sc. Nursing समेतका परीक्षा सञ्चालन गर्ने प्रयोजनका लागि चिकित्साशास्त्र संकायअन्तर्गतको परीक्षा समितिको सदस्य तथा प्रवेश परीक्षा उप-समितिको संयोजक तोकिएको थिएँ, प्रस्तुत मुद्दाको प्रतिवादीहरू नविन भट्टराई उप-समितिको सदस्य र चिकित्साशास्त्र संकायका डिन प्रा.डा. रामकुमार सिंह परीक्षा समितिका अध्यक्ष हुनुहुन्थ्यो, मिति २०६८ मङ्सिर २४ र २५ गते काठमाडौंलगायत विभिन्न ८ केन्द्रमा परीक्षा सञ्चालन भएको हो, सुरूको कार्ययोजनाअनुसार सम्पूर्ण उत्तरपुस्तिका काठमाडौंमा सङ्कलन गरी कोडिङ गरिसकेपछि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको CIT मा परीक्षणको लागि लैजाने कार्यक्रम थियो, सोही प्रयोजनको लागि काठमाडौंका पर्यवेक्षक नविन भट्टराईलाई  खटाएको हो, सोहीअनुरूप निज प्रतिवादी नविन भट्टराईले कोडिङको काम गरेको हो, मैले परीक्षा उप-समितिको संयोजकको हैसियतले उप-समितिको सदस्य नविन भट्टराईलाई कोडिङको काम गर्ने अनुमति दिएको हो । स्थानको बारेमा मैले केही भनेको होइन छैन, परीक्षा चल्दै गरेको बखत मेरो बाबु बिरामी भएकोले म चितवन थिएँ, यो परीक्षा दोस्रो प्रवेश परीक्षा हो, पहिलो प्रवेश परीक्षामा एकदमै न्यून विद्यार्थी भर्ना भएकोले यसबाट जेहेन्दार र वर्गीकृत छात्रवृत्ति छनौट नहुने, पूर्णशुल्कील भर्ना पुर्‌याउनको लागि भएको परीक्षामा उपस्थित भएका सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएको अवस्थामा पनि थुप्रै कोटा बाँकी रहेको परिस्थितिमा परीक्षाको परिणाममा कोडिङ गर्ने प्रकृयाले फरक पारी नतिजा फेरवदल गर्ने उद्देश्य राख्नु पर्ने अवस्था नै थिएन, उत्तरपुस्तिका (Answer Sheet) कम्प्युटर प्रणालीद्वारा परीक्षण गरिने हुँदा फेरबदल गर्ने सम्भावना रहँदैन, पूर्वाञ्चल विश्वविद्यालयको प्रचलन र परम्पराअनुसार नै उक्त कार्य गरिआएको हो, अ.दु.अ.आ.मा काम सकी तारेख लिएर घर विराटनगर जाने प्लेन चढ्नै लाग्दा ३ जना अ.दु.अ.आ. का कर्मचारी आई सोधपुछ बाँकी छ भनी फर्काई ल्याएको थियो, साँझ परिसकेको हुँदा बेलुका फर्कदा साथै लगेको झोला ल्याउन गाह्रो हुने सम्भावना देखी उपरोक्त कर्मचारीहरूकै उपस्थितिमा मेरी साली रूक्मिणी ज्ञवालीलाई म फर्कदासम्मको लागि मैले विराटनगर केन्द्रीय कार्यालय लैजान लागेको सामान (उत्तरपुस्तिकासमेत) राख्न दिएको र त्यही सामान पछि बरामद गरेको हो, अभियोग दाबी सुनेँ, परीक्षा उप-समितिको स‍ंयोजक म भएको कारणले प्रतिवादी नविन भट्टराईलाई पर्यवेक्षक तोकी (डीनज्यूले) आवश्यक काम भएको हो, मैले प्रतिवादी नविन भट्टराईलाई कोडिङको काम गर्ने निर्देशन दिएको हुँ, जुन मेरो जिम्मेवारी हो, स्थानको र प्रक्रियाको बारेमा मैले केही भनेको होइन, परीक्षाको परिणाम फेरबदल गर्ने नियत होइन, सबै काम प्रचलित कानून र परम्पराबमोजिम नै छ, म निर्दोष हुँदा अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रा.डा. मुक्तिनाथ भट्टराईको मिति २०६९।९।११ मा विशेष अदालतमा भएको बयान ।

प्रतिवादी मुक्तिनाथ भट्टराई B.Sc Nursing समेतको दोस्रो पटकको प्रवेश परीक्षा सञ्चालन गर्ने प्रयोजनका लागि गठन भएको समितिको सदस्य र उप-समितिका संयोजक रहेको तथ्यमा विवाद नभएको, उक्त प्रवेश परीक्षाको उत्तरपुस्तिकाहरू काठमाडौंमा सङ्कलन गरी Coding समेतको कार्य गर्नको लागि निजले प्रतिवादी नविन भट्टराईलाई खटाएको देखिएको, प्रतिवादी नविन भट्टराईले उत्तरपुस्तिका होटलमा लगी खामको सिलबन्दी तोडेको अवस्थामा बरामद भएको, यी प्रतिवादीले उत्तरपुस्तिका सङ्कलन र Coding गर्न अपनाउनु पर्ने गोप्यताबारे निर्देशन दिने कार्य नगरी केही उत्तरपुस्तिकासमेत यी प्रतिवादीले आफ्नी सालीका घरमा राखेको तथ्य बरामदी मुचुल्काबाट देखिएकोले दाबीको कसुरमा यी प्रतिवादीको संलग्नता नरहेको भन्ने अवस्था तत्काल नदेखिएको हुँदा बुझ्दै जाँदा प्राप्त प्रमाणबाट ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीबाट विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) अनुसार रू.२,००,०००।- (अक्षेरूपी दुई लाख मात्र) धरौट माग गरिएको छ । सो धरौटको रकम प्रतिवादीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दिएको सिद्धार्थ बैंक लिमिटेड, दमक शाखाबाट जारी भएको बैंक ग्यारेन्टीबाट उक्त धरौट रू.२,००,०००।- (दुई लाख) उक्त ऐनको दफा ७(च) बमोजिम यथावत् रोक्का गरी बाँकी फुकुवा गरी कानूनबमोजिम गर्नु भन्नेसमेत व्यहोराको मिति २०६९।९।११ को विशेष अदालतको आदेश र आदेशानुसार निज प्रतिवादी तारेखमा रहेको ।

म विगत ३ वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयको चिकित्साशास्त्र संकायको डीनको हैसियतले काम गर्दै आएको छु, उक्त विश्वविद्यालयको उपकुलपतिज्यूको प्रत्यक्ष निगरानीमा रहने गरी मूल कमिटी (प्रवेश परीक्षा समिति) र प्रवेश परीक्षाको उप-समिति गठन गरिएको थियो, म मूल समितिको अध्यक्ष थिएँ, अरू २ जना सदस्य थिए, परीक्षा नियन्त्रक सदस्य र मुक्तिनाथ भट्टराई पनि सदस्य सचिव हुनुहुन्थ्यो, मैले आफ्नो अधिकार प्रत्यायोजन परीक्षा सञ्चालन उप-समितिलाई गरेको थिएँ, प्रवेश परीक्षासम्बन्धी सम्पूर्ण काम सोही उप-समितिले नै गर्दछ, प्रवेश परीक्षा उप-समितिको अध्यक्ष डा. मुक्तिनाथ भट्टराई हुनुहुन्थ्यो र बाँकी सदस्य ६ जना थिए, उक्त उप-समितिले प्रश्नपत्र तयार गर्ने, संपरीक्षण गर्ने, परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका जाँच गरी परीक्षाफल तयार गरी मूल समितिमा पेस गर्ने लगायतका सम्पूर्ण कार्यहरू गर्दछ, उक्त प्रवेश परीक्षा उप-समितिले तयार गरेको परीक्षाफल मूल समितिमा छलफल गराई उपकुलपतिको अनुमतिले परीक्षाफल प्रकाशन गर्ने काम मूल समितिको अध्यक्षको हैसियतले मेरो हो‍, यो परीक्षा प्रवेश परीक्षा हो, त्यो पनि दोस्रो पटक लिइएको थियो, प्रतिवादी नविन भट्टराईले होटलमा लगी उत्तरपुस्तिकाको शिल तोडेको भएपनि त्यसले गोपनीयता भङ्ग हुने होइन, उक्त शिल सुरक्षाको लागि ‍लगाइएको हो र प्रतिवादी नविन भट्टराईले उक्त प्रवेश परीक्षाको परिणाम फेरबदल गर्न सक्ने होइन, किनकि उक्त उत्तरपुस्तिका कम्प्युटरले जाँच गर्ने हो, परीक्षाको गुरूत्वको हिसाबले पनि परिणाम फेरबदल गर्नु पर्ने होइन, प्रतिवादीहरू मुक्ति भट्टराई र नविन भट्टराईले परीक्षा सञ्चालन गर्ने सन्दर्भमा मसँग कुनै सल्लाह गरेनन्, सम्पर्क पनि गरेका होइनन्, गर्नु पर्ने पनि होइन, परीक्षा विवादित बनेको कुरा मैले उपकुलपतिबाट थाहा पाएको हुँ, आरोपित कसुर मैले नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रा.डा. रामकुमार सिंहको मिति २०६९।९।१८ को विशेष अदालतमा भएको बयान ।

प्रतिवादी प्रा.डा. रामकुमार सिंहले आरोपपत्रमा लिएको दाबी इन्कार गरी बयान गरेको, २०६८।८।२४ र २५ गते मा सञ्चालन भएको प्रवेश परीक्षा सञ्चालन गर्न यी प्रतिवादी रामकुमार सिंह संयोजक भएको परीक्षा समितिको मिति २०६८।८।१६ को वैठकले डा. मुक्तिनाथ भट्टराईको संयोजकत्वमा नविन भट्टराईसमेतको ७ सदस्यीय प्रवेश परीक्षा उप-समिति गठन गर्ने निर्णय गरी सोही उप-समितिमार्फत प्रवेश परीक्षा सञ्चालन भएको देखिएको, काठमाडौं बत्तीसपुतलीस्थित होटल भिजन नेपाल प्रा.लि. को कोठा नं.४०३ बाट बरामद भएको उत्तरपुस्तिकाको सिलबन्दी खोल्ने समेतको कार्यमा यी प्रतिवादीको संलग्नता रहेको नदेखिएकोले यी प्रतिवादीले दाबीको कसुर गरेको भन्ने तत्काल प्राप्त प्रमाणबाट देखिन नआएकोले बुझ्दै जाँदा प्राप्त प्रमाणबाट ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) अनुसार यी प्रतिवादी रामकुमार सिंहलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न यो आदेश पर्चा जारी गरिदिएको छ भन्नेसमेत व्यहोराको विशेष अदालतको मिति २०६९।९।१८ को आदेश ।

डा.रामकुमार सिंह पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकायको डिन भएको हुनाले परीक्षा समितिको संयोजकसम्म हुनुहुन्थ्यो, यो परीक्षा उप-समितिमार्फत सञ्चालन भएको हो, उप-समितिको संयोजक एवं सदस्यहरूलाई अनियमित कार्य गर्न उहाँबाट केही निर्देशन भएको होइन, उप-समितिले आफैँ कार्य गरेको हो, उप-समितिले गरेको कामको जिम्मेवारी डीनले बहन गर्नु पर्ने होइन, यो कसुरमा यी प्रतिवादीको कुनै संलग्नता छैन, म उहाँलाई पहिलेदेखि चिन्दछु, उहाँ सानैदेखि असल चालचलन एवं आचरणको मान्छे हो, उहाँबाट कुनै अनियमितता भएको छैन र अनियमित कार्य गर्न कुनै निर्देशन दिनुभएको पनि छैन, उहाँमाथिको अभियोग दाबी झुट्टा हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामकुमार सिंहको साक्षी हरिशंकरप्रसाद थारूले विशेष अदालतमा गरेको बकपत्र ।

मिति २०६८।८।२८ ग‍ते मुक्तिनाथ भट्टराई काठमाडौंबाट विराटनगर जाँदै गर्दा एयरपोर्ट पुगिसकेपछि एयरपोर्टबाट मलाई फोन गरी उहाँले मलाई रिङरोडमा आउनु भन्नुभयो, उहाँले सरकारी गाडीमा सञ्चारग्राम अगाडि गाडीबाटै एउटा झोला मलाई दिनुभयो र यो लगेर राख भन्नुभयो, त्यो गाडीमा प्रहरीका मान्छेहरू पनि थिए, मैले उहाँले दिएको झोला लगेर राखेको हो, सो झोलाभित्र के थियो मलाई थाहा थिएन, उक्त झोला २०६८।९।१ मा प्रहरीहरू मेरो घरमा आई लिएर गएका हुन्, उहाँलाई प्रहरीको रोहवरमा अख्तियारमा लगिएको हो, मेरो विचारमा उहाँले कुनै गलत काम गर्नुभएको छैन, उहाँलाई फसाउन यस्तो झुटा मुद्दा दर्ता गरिएको हुनसक्छ भन्नेसमेत व्यहोराको प्रतिवादी मुक्तिनाथ भट्टराईकी साक्षी रूकमणी ज्ञवालीले विशेष अदालतमा गरेको बकपत्र ।

मिति २०६८।८।२३ मा मेरो होटलको कोठा नं.४०३ पूर्वाञ्चल विश्वविद्यालय / नविन भट्टराईको नाममा बुक भई सो कोठा लिएको हो, उक्त मितिमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीहरू नविन भट्टराई र निरोध सुवेदी बसेका थिए, अन्य व्यक्ति आउने जाने गरेको जानकारी छैन, सो कोठा २०६८।८।२६ मा ८-१० जना विद्यार्थी हौं भन्ने व्यक्तिहरू आई ताला लगाएका हुन्, कारणको बारेमा मलाई थाहा भएन, विद्यार्थी र विश्वविद्यालय प्रतिनिधि बिच गौशाला प्रहरीको रोहवरमा ताला खोली प्रहरीले मुचुल्का उठाउने क्रममा अख्तियारका प्रतिनिधि कर्मचारी आई उक्त मुचुल्का छोडी अर्को मुचुल्का बनाएका हुन् । गौशाला प्रहरीको रोहवरमा ताला खोलिएको हो, अ.दु.अ.आ.का कर्मचारी पछि आएका हुन् भन्नेसमेत व्यहोराको विनोद के.सी. भन्ने लव खत्रीले विशेष अदालतमा गरेको बकपत्र ।

हामी परीक्षा सञ्चालनको लागि पर्यवेक्षकको रूपमा मिति २०६८।८।२३ गते काठमाडौंमा परीक्षा सञ्चालन उप-समितिका सदस्य नविन भट्टराईसँगै आएका हौ, सो मितिमा गौशालाको होटल भिजनमा बसी २४ र २५ गते परीक्षा सञ्चालन गरी २६ गते जनकपुर र राजविराजको कपी बुझ्न एयरपोर्ट गएको बेला सो होटलको हामी बसेको कोठामा ताला लगाएको भन्ने कुरा नविन सरलाई फोन आएकोले मलाई जानकारी गराउनुभएको हो, २६ गते म काठमाडौंमा बसें र २७ गते Night  बस चढी म विराटनगर फर्किएको हुँ, त्यसपछि अरू के भयो मलाई थाहा भएन, कपीहरू होटलबाट बरामद भएको हो, विश्वविद्यालयमा तालाबन्दी भएको कारणले परीक्षा सञ्चालन गर्न काठमाडौंमा होटलमा बस्नु परेको हो, उप-समितिका संयोजक डा. मुक्तिनाथ भट्टराईसँग नविन सरको टेलिफोनमा भएको निर्देशनअनुसार काम भएको हो, उक्त परीक्षामा कुनै अनियमितता दाबी गरेझैं भएको छैन भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारका साक्षी निरोध सुवेदीले विशेष अदालतमा गरेको बकपत्र ।

पूर्वाञ्चल विश्वविद्यालय वि.एस्सी. नर्सिङ विषयसमेतको प्रवेश परीक्षा सञ्चालन सम्बन्धमा ८ वटा केन्द्रमध्ये म बुटवल केन्द्रमा पर्यवेक्षकको रूपमा खटिएको थिएँ, बुटवल केन्द्रमा परीक्षा सम्पन्न भएपछि पूर्ववत् निर्देशनअनुसार काठमाडौं केन्द्रमा खटिनुभएका पर्यवेक्षक एवं उप-समितिका सदस्य नविन भट्टराईलाई सिलबन्दी उत्तर पुस्तिकाहरू बुझाउन काठमाडौं आउदाँ उहाँहरू बसेको होटलमा विद्यार्थीले ताला लगाएको कारण नविन भट्टराईलाई उक्त उत्तरपुस्तिका निजको असमर्थताका कारण बुझाउन नसकी विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुझाएको हो, निज नविन भट्टराईलगायत प्रवेश परीक्षामा खटिएका सम्पूर्ण कर्मचारीहरूलाई आफ्नो कार्य सम्बन्धमा स्पष्ट निर्देशनसहित उत्तरपुस्तिका कोडिङ गरी पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा बुझाउने कार्य सम्पन्न गर्नै पर्ने अवस्थामा प्रवेश परीक्षा मूलसमिति र उप-समितिको प्राप्त निर्णय / निर्देशनबमोजिम काम गरिआएको अवस्थामा अनियमितता नभएको भन्ने मलाई लाग्दछ, भन्ने नवीन भट्टराईको साक्षी देवीप्रसाद कट्टेलले विशेष अदालतमा गरेको बकपत्र ।

प्रतिवादी डा.रामकुमार सिंह, प्रतिवादी डा.मुक्तिनाथ भट्टराई र प्रतिवादी नवीन भट्टराईले बदनियतसाथ परीक्षाको परिणाम फेरबदल गर्ने कार्यको उद्योगसमेत गरेको भन्ने आरोपपत्रमा लिएको दाबी मिसिल संलग्न सबुदप्रमाणबाट पुष्टि भएको नदेखिएकोले निज प्रतिवादीहरू उपरको आरोपपत्रको दाबी पुग्न नसकी निजहरूले सफाई पाउने ठहर्छ भन्ने मिति २०७०।२।९ मा विशेष अदालतबाट भएको फैसला ।

बत्तिसपुतलीस्थित होटल भिजनको कोठा नं. ४०३ समेतका ठाउँमा खानतलासी गर्दा उक्त ठाउँहरूबाट सो परीक्षासँग सम्बन्धित उत्तरपुस्तिका, विद्यार्थी हाजिर फाराम, खाली उत्तर पुस्तिकालगायतका कागजात र Coding गर्ने मेसिनसमेत बरामद भएको तथ्य बरामदी मुचुल्काबाट देखिन्छ । सो तथ्य प्रतिवादीले आयोग र अदालतसमक्ष बयान गर्दासमेत स्वीकार गरेको अवस्था छ । परीक्षासँग सम्बन्धित उत्तरपुस्तिकालगायतका कागज होटलमा आफुखुसी खोलिनु परीक्षाको मर्यादाविपरीतको कार्य हो । किटानी उजुरी र सोलाई समर्थन गर्ने खानतलासी बरामदी मुचुल्का, प्रतिवादीहरूको बयान एवम् अनुसन्धानको क्रममा बुझिएका मानिसहरूको कागज व्यहोरासमेतबाट उक्त वारदात भएको तथ्य स्थापित हुँदाहुँदै सफाई हुने फैसला गरिएको छ ।

उत्तरपुस्तिकाको सिलबन्दी खाम खोल्नु, Coding गर्नु र गर्न लगाउनुसम्मको प्रतिवादीहरूको उक्त कार्य स्वाभाविकरूपमा परीक्षाको परिणाम फेरबदल गर्ने पूर्वावस्था भएको सामान्य तथ्यलाई पनि स्वीकार नगरी निजहरूको सो कार्यबाट प्रश्न पत्रको गोपनीयता भङ्ग हुने र परीक्षाको परिणाम फेरबदल हुन सक्ने पूर्वास्थाको सिर्जना नभएको भन्दै भएको उक्त फैसला त्रुटिपूर्ण छ । परीक्षा समितिका अध्यक्ष रामकुमार सिंहले अनुसन्धानको क्रममा यस आयोगमा बयान गर्दा सो परीक्षा सञ्चालन गर्न डा. मुक्तिनाथ भट्टराईलाई अधिकार प्रत्यायोजन गरिएको हो । सो परीक्षा सञ्चालन गर्न मसँग सल्लाह लिनु भएन भनी लेखाएको व्यहोरालाई अदालतसमक्ष आई सनाखत गरेका छन् । त्यसै गरी उक्त प्रवेश परीक्षा उप-समितिका सदस्य प्रतिवादी नविन भट्टराईले पनि यस आयोगसमक्ष बयान गर्दा डा. भट्टराईको निर्देशनअनुसार सो कार्य भएको हो । उक्त सिलबन्दी खाम खोल्दा म स्वयम्‌ पनि होटल कोठा भित्रै थिएँ भनी लेखाएको साविति बयान व्यहोरा अदालतमा आई सनाखत गरेका छन् । डा. मुक्तिनाथ भट्टराईले पनि अनुसन्धानको क्रममा बयान गर्दा प्रवेश परीक्षा उप-समितिका सदस्य नविन भट्टराईले मैले दिएको निर्देशनअनुसार नै सो कार्य गरेका हुन् भनी सो कसुर भएको तथ्यलाई स्वीकार गरी पोलपोल गरी बयान लेखाएको अवस्थामा ने.का.प. २०४०, नि.नं. १७३७ मा प्रतिपादित नजिरसमेतको पालना नगरी यी प्रतिवादीहरूलाई कसुरबाट सफाई हुने गरी भएको विशेष अदालतको फैसला उल्टी गरी अभियोग माग दाबीबमोजिम गरिपाउँ भन्ने पुनरावेदन पत्र ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न प्रमाण कागजातहरूको अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित सहन्यायाधिवक्ता श्री राजनप्रसाद भट्टराईले परीक्षासँग सम्बन्धित उत्तरपुस्तिकालगायतका कागज होटलमा आफूखुसी खोलिनु परीक्षाको मर्यादाविपरीतको कार्य हो । किटानी उजुरी र सोलाई समर्थन गर्ने खानतलासी बरामदी मुचुल्का, प्रतिवादीहरूको बयान एवम् अनुसन्धानको क्रममा बुझिएका मानिसहरूको कागज व्यहोरासमेतबाट उक्त वारदात भएको तथ्य स्थापित हुँदाहुँदै सफाई दिइएको छ । सिलबन्दी खाम खोल्नु, Coding गर्नु र गर्न लगाउनुसम्मको प्रतिवादीहरूको उक्त कार्य स्वाभाविकरूपमा परीक्षाको परिणाम फेरबदल गर्ने पूर्वावस्था भएको सामान्य तथ्यलाई पनि स्वीकार गरिएको छैन । पुनः जाँच लिँदा भएको खर्च पनि भ्रष्टाचार नै हो भनी बहस गर्नुभयो । 

२. प्रवेश परीक्षा सम्पन्न भइसकेपछि उक्त परीक्षासँग सम्बन्धित शिलबन्दी उत्तरपुस्तिकाहरू रहेको खामको प्याकेट पूर्वाञ्चल विश्वविद्यालयको काठमाडौंस्थित सम्पर्क कार्यालयमा ल्याउनु पर्नेमा परीक्षाको परिणाममा फेरबदल गर्ने बदनियतले आपसी सहमति गरी नवीन भट्टराईले होटलमा लगी उत्तरपुस्तिकाहरू रहेको शिलबन्दी खामको शिल तोडेको स्पष्ट देखिएकोले प्रतिवादीहरू प्रा.डा. रामकुमार सिंह, डा.मुक्तिनाथ भट्टराई र नवीन भट्टराईले दूषित मनसायद्वारा अभिप्रेरित भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र दफा १७ को कसुरजन्य अपराधको ऐ. ऐनको दफा २१ बमोजिम उद्योग गरेको पुष्टि हुन आएकोले निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, दफा १७ तथा दफा २१ बमोजिमको कसुरमा सोही ऐनको दफा १३, १७ तथा २१ र दफा ३ (१) (घ) बमोजिम सजाय गरी उल्लिखित विगो रकम रू.३,२८,९५०।– (तीन लाख अठाईस हजार नौं सय पचास) जनही निज प्रतिवादीहरूलाई जरिवानासमेत गरिपाउँ भन्नेसमेत व्यहोराको आरोपपत्र भएको प्रस्तुत मुद्दामा विशेष अदालतले प्रतिवादीहरू उपरको आरोपपत्रको दाबी पुग्न नसकी प्रतिवादीहरूले सफाई पाउने ठहर्‌याई फैसला भएउपर अख्तियार दुरूपयोग अनुसन्धान आयोगको यस अदालतमा पुनरावेदन परेको पाइयो ।

३. पुनरावेदकको मुख्य पुनरावेदन जिकिरमा होटल भिजनको कोठा नं. ४०३ मा खानतलासी गर्दा उक्त ठाउँहरूबाट सो परीक्षासँग सम्बन्धित उत्तरपुस्तिका, विद्यार्थी हाजिर फाराम, खाली उत्तर पुस्तिकालगायतका कागजात र Coding गर्ने मेसिनसमेत बरामद भएको तथ्य बरामदी मुचुल्काबाट देखिन्छ । सो तथ्य प्रतिवादीले आयोग र अदालतसमक्ष बयान गर्दासमेत स्वीकार गरेको परीक्षासँग सम्बन्धित उत्तरपुस्तिकालगायतका कागज होटलमा आफुखुसी खोलिनु परीक्षाको मर्यादाविपरीतको कार्य हो । उत्तरपुस्तिकाको सिलबन्दी खाम खोल्नु, Coding गर्नु र गर्न लगाउनुसम्मको प्रतिवादीहरूको उक्त कार्य स्वाभाविकरूपमा परीक्षाको परिणाम फेरबदल गर्ने पूर्वावस्था भएको परीक्षा समितिका अध्यक्ष रामकुमार सिंहले अनुसन्धानको क्रममा यस आयोगमा बयान गर्दा सो परीक्षा सञ्चालन गर्न डा. मुक्तिनाथ भट्टराईलाई अधिकार प्रत्यायोजन गरिएको हो । सो परीक्षा सञ्चालन गर्न मसँग सल्लाह लिनु भएन भनी लेखाएको व्यहोरालाई अदालतसमक्ष आई सनाखत गरेका छन् । त्यसै गरी उक्त प्रवेश परीक्षा उप-समितिका सदस्य प्रतिवादी नविन भट्टराईले पनि यस आयोगसमक्ष बयान गर्दा डा. भट्टराईको निर्देशनअनुसार सो कार्य भएको हो उक्त सिलबन्दी खाम खोल्दा म स्वयं पनि होटल कोठाभित्रै थिएँ भनी लेखाएको साबिती बयान व्यहोरा अदालतमा आई सनाखत गरेका छन । डा. मुक्तिनाथ भट्टराईले पनि अनुसन्धानको क्रममा बयान गर्दा प्रवेश परीक्षा उप-समितिका सदस्य नविन भट्टराईले मैले दिएको निर्देशनअनुसार नै सो कार्य गरेका हुन् भनी भनेको अवस्थासमेत हुँदाहुँदै प्रतिवादीहरूलाई कसुरबाट सफाई हुने गरी भएको फैसला उल्टी गरी अभियोग माग दाबीबमोजिम गरि पाउन जिकिर लिएको देखिन्छ ।

४. पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकायअन्तर्गत मिति २०६८।४।३१ गते उपकुलपति महेश्वरमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले चिकित्साशास्त्र संकायअन्तर्गत सञ्चालित B.P.H., B.Pharmacy, PBN, B.Sc Nursing शैक्षिक कार्यक्रमहरूको शैक्षिक सत्र ०६८।०६९ को नयाँ भर्ना तथा विश्वविद्यालयले सम्बन्धन प्राप्त क्याम्पसहरू मार्फत उपलब्ध गराउने सम्बन्धमा विभिन्न छलफल तथा निर्णयहरू गरेको देखिन्छ । सो निर्णयको नि.नं. ४ मा प्रवेश परीक्षा व्यवस्थित गर्न उपकुलपतिको प्रत्यक्ष निगरानीमा रहने गरी चिकित्साशास्त्र संकायका डिनको संयोजकत्वमा परीक्षा नियन्त्रक र सह-डीन वा सह-डिन नभएको अवस्थामा चिकित्साशास्त्र संकायका डिनबाट मनोनित वरिष्ठ शिक्षक रहने गरी ३ सदस्यीय चिकित्साशास्त्र संकाय प्रवेश परीक्षा समिति गठन गर्ने निर्णय भएको र नि.नं.५ मा सो मूल समितिअन्तर्गत रहने गरी विभिन्न क्याम्पसको प्रिन्सिपल, शिक्षक तथा कर्मचारी गरी ७ सदस्य चिकित्साशास्त्र संकाय प्रवेश परीक्षा उप-समिति गठन गर्ने र सो समितिलाई प्रवेश परीक्षाको लागि प्रश्न पत्र निर्माण गर्ने, गराउने, प्रश्नपत्रको संपरीक्षण गर्ने गराउने, प्रवेश परीक्षा सञ्चालन गराउने, उत्तर पुस्तिका परीक्षण एवं संपरीक्षण गर्ने गराउने, परीक्षाफल प्रकाशित गर्न आवश्यक कागजात तयार गरी मूल समितिलाई उपलब्ध गराउनेसमेतको अधिकार प्रदान गर्ने निर्णय भएको देखियो । सोही निर्णयअनुसार डा. भूपेन्द्रचरण श्रेष्ठको संयोजकत्वमा ७ सदस्य प्रवेश परीक्षा उपसमिति गठन गरेको र सो परीक्षा उपसमितिले मिति २०६८।५।२४ र २५ मा प्रवेश परीक्षा सञ्चालन गरेको र परीक्षाफलसमेत प्रकाशित गर्ने निर्णय मिति २०६८।६।६ को प्रवेश परीक्षा समितिको बैठकले गरेको देखियो ।

५. पहिलो प्रवेश परीक्षामा एकदमै न्यून विद्यार्थी भर्ना भएकोले दोस्रो प्रवेश परीक्षा सञ्चालनको लागि प्रवेश परीक्षा समितिका संयोजक प्राध्यापक प्रा.डा. रामकुमार सिंहको संयोजकत्वमा बसेको मिति २०६८।८।१६ को बैठकले दोस्रो पटकको प्रवेश परीक्षा समितिका सदस्य डा. मुक्तिनाथ भट्टराईको संयोजकत्वमा डा. भूपेन्द्रचरण श्रेष्ठ, मोहनप्रसाद पोखरेल, नवीन भट्टराई, डा. रञ्जना शर्मा ढुंगेल, श्रीमती कविता अधिकारीलाई सदस्य र गिरीराज कोइराला सदस्य सचिव रहने गरी ७ सदस्यीय प्रवेश परीक्षा उप-समिति गठन गर्ने गरी निर्णय भएको पूर्वाञ्चल विश्वविद्यालयको निर्णय पुस्तिका (माईनुट बुक) बाट देखिन्छ । सो निर्णयले सो समितिलाई पश्नपत्र तयार गर्ने, परीक्षा सञ्चालन गराउने र नतिजा प्रकाशन गर्नेसम्मको जिम्मेवारी तोकि‍दिएको देखिन्छ । सोही अनुरूप चिकित्साशास्त्र संकायअन्तर्गतका शैक्षिक कार्यक्रमहरू B.Sc Nursing, PBN, B.Pharmacy / BPH का दोस्रो पटकको प्रवेश परीक्षा मिति २०६८।८।२४ र २५ गते काठमाडौं, पोखरा, राजविराज, विराटनगर, जनकपुर, नेपालगञ्ज, भरतपुर र बुटवलमा गरी जम्मा ८ वटा केन्द्रहरूमा सञ्चालन भएको देखिन्छ ।

६. डा. मुक्तिनाथ भट्टराई प्रवेश परीक्षा उप-समितिका संयोजक र नविन भट्टराई सदस्य रहेको देखियो । होटलमा बसी कोडिङको लागि उत्तरपुस्तिकाको शिल खोलेको भनी प्रतिवादी नवीन भट्टराईले स्वीकार गरेको र डा.मुक्तिनाथ भट्टराईले पनि उक्त परीक्षाका उत्तरपुस्तिका काठमाडौं पठाउने र सो सङ्कलन गर्ने Focal Person को रूपमा काठमाडौं खटिएका नवीन भट्टराईलाई अह्राइएको थियो, परीक्षा समितिका अध्यक्ष डीनज्यूसँग परामर्श गरी उहाँकै आदेशमा नवीन भट्टराईलाई विधिवत्‌ढङ्गले उत्तरपुस्तिका कोडिङ गर्ने काम गर्दै गर्न फोनमार्फत भनेको हुँ भनी अधिकारप्राप्त अधिकारी तथा अदालतमा गरेको बयानमासमेत उल्लेख गरेबाट संयोजकको निर्देशनअनुसार नै कोडिङको लागि उत्तरपुस्तिका खोलिएको देखिन आयो । उत्तरपुस्तिका कोडिङ गर्ने कार्य यस्तो तथा यसरी मात्रै गर्न सक्ने भन्ने निश्चित कार्यविधि भएको देखिएको छैन । कोडिङ हुनैपर्ने बाध्यात्मक कार्यविधिको स्पष्टताको पुष्टि वादीद्वारा गरेको पनि देखिँदैन । विश्वविद्यालयको प्रवेश परीक्षा जस्तो गहन विषयको परीक्षामा उत्तरपुस्तिका परीक्षण गर्न कोडिङ विना सम्भव पनि देखिँदैन । प्रतिवादी नविन भट्टराई प्रवेश परीक्षा उप-समितिका सदस्य रहेको र कोडिङको काम गर्न प्रवेश परीक्षा उप-समितिका संयोजकले नविन भट्टराईसमेतलाई जिम्मेवारी दिएको देखिन्छ । परीक्षा सञ्चालन गर्ने ‍क्रममा नविन भट्टराईलाई Focal Person को रूपमा काठमाडौं खटाएको देखियो । निज काठमाडौं मिति २०६८।८।२३ मा आएको र सो समयमा पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी रहेको कारण होटलमा बस्नु परेको भनी निजले विशेष अदालतसमक्ष बयान गरेको देखिन्छ । Focal Person को रूपमा रहेका नविन भट्टराईले विभिन्न परीक्षा केन्द्रबाट उत्तरपुस्तिकाहरू प्राप्त गर्न, सुरक्षित ठाउँमा कोडिङको काम गर्न डिन तथा सो परीक्षा उप-समितिका संयोजकले दिएको निर्देशनअनुसार काम गरेको भनी भनिरहेको र सो कुरालाई परीक्षा उप-समितिका संयोजकले समर्थन गरेको अवस्था देखिइरहेको छ ।

७. का.जि., का.म.न.पा. वडा नं.९ स्थित होटल भिजन नेपाल प्रा.लि.को कोठा नं.४०३ प्रतिवादी नविन भट्टराईले बुक गरेको र त्यही आफू बसी परीक्षासँग सम्बन्धित आफ्नो जिम्माको उत्तरपुस्तिकाहरू राखेको कुरामा विवाद देखिएन । आफ्नो जिम्माको परीक्षासँग सम्बन्धित उत्तरपुस्तिका तथा सोसँग सम्बन्धित कागजातहरू प्रतिवादीले बुक गरेको होटलमा राख्न नसक्ने भन्ने कहीँ कतैबाट स्थापित पनि छैन । परीक्षासँग सम्बन्धित पदाधिकारीले अवस्थाअनुसार परीक्षाको गोपनीयता तथा संवेदनशीलतालाई ध्यानमा राख्दै सोको लागि उचित निर्णय गर्न सक्ने नै मान्नु पर्छ । "प्रतिवादी नविन भट्टराईले होटलमा लगी उत्तरपुस्तिकाको शिल तोडेको भएपनि त्यसले गोपनीयता भंग हुने होइन, उक्त शिल सुरक्षाको लागि ‍लगाइएको हो र प्रतिवादी नविन भट्टराईले उक्त प्रवेश परीक्षाको परिणाम फेरबदल गर्न सक्ने होइन, किनकी उक्त उत्तरपुस्तिका कम्प्युटरले जाँच गर्ने हो, परीक्षाको गुरूत्वको हिसाबले पनि परिणाम फेरबदल गर्नु पर्ने होइन" भनी डिनले आफ्नो बयानमा उल्लेख गरेको देखिन्छ । उत्तरपुस्तिकाको व्यवस्थापन परीक्षा उपसमितिका जिम्मेवार पदाधिकारीद्वारा होटलमा गरिएको कोडिङको कार्यलाई गैरकानूनी मान्न मिल्ने देखिँदैन ।

८. भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ मा  प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्नेलाई सजायअन्तर्गत "सरकारी निकाय वा सार्वजनिक संस्थाबाट सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र निर्धारित समयभन्दा अगावै अधिकारप्राप्त अधिकारीले विशेष परिस्थिति परेको कारण जनाई खोलेमा वा खोल्न लगाएमा बाहेक कुनै राष्ट्रसेवकले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‌याउने बदनियतले कुनै पनि प्रकारले त्यस्तो प्रश्नपत्रको गोपनीयता भंग गरेमा वा गर्न लगाएमा वा परीक्षाको परिणाममा फेरबदल गरेमा वा गर्न लगाएमा त्यस्तो राष्ट्रसेवकलाई तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रूपैयाँदेखि दश हजार रूपैयाँसम्म जरिवाना हुनेछ ।" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । कम्प्यूटर प्रणालीद्वारा परीक्षण गरिने उत्तर‍पुस्तिकाहरू कोडिङ गर्ने उद्देश्यले उत्तरपुस्तिकाको सिलबन्दी खाम खोल्नेसम्मको मात्र कार्य प्रतिवादीद्वारा गरेको पुष्टि भएको अवस्थामा प्रतिवादीहरूबाट भ्रष्टाचारको कार्य गरेको भनी मान्न मिल्ने देखिँदैन । भ्रष्टाचार नैतिक पतन देखिने गम्भीर प्रकृतिको कसुर हो । फौजदारी कसुर प्रमाणद्वारा सुस्पष्टरूपमा स्थापित भएको अवस्थामा मात्र प्रतिवादीलाई दोषी मान्न सकिन्छ । प्रचलित कानूनको बाध्यात्मक व्यवस्थाको उल्लङ्घन तथा कानूनले गर्न भनेको कुराको पालना नगरेमा मात्र फौजदारी दायित्वको सिर्जना हुन्छ । फौजदारी दायित्वको पुष्टि नभईकन दोषी ठहर गर्न विधिशास्त्रले दिँदैन । प्रतिवादीको मनसाय तथा कार्य अनियमितता गर्ने तथा भ्रष्टाचार गर्ने प्रति उन्मुख नदेखिई उत्तरपुस्तिकाको coding सँग सम्बन्धित रहेको देखिँदा प्रतिवादीहरूको कार्य फौजदारी दायित्वबाट मुक्त देखियो । गैरकानूनी लाभ वा हानि पुर्याउने कार्य के कसरी भयो भन्ने कुराको पुष्टि हुन सकेको अवस्थासमेत नहुँदा प्रस्तुत मुद्दामा प्रतिवादीहरूको संलग्नता पुष्टि हुन आएको देखिँदैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्नेलाई सजायः भन्ने शिर्षकमा "कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको वा सोसम्बन्धी कर्तव्य पालन गर्दा नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियत गरी हिनामिना, हानि नोक्सानी वा दुरूपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्रा अनुसार दफा ३ बमोजिमको सजाय हुनेछ र त्यसरी हिनामिना, हानि नोक्सानी वा दुरूपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट असुलउपर गरिनेछ ।" भन्ने उल्लेख भएको देखिन्छ । प्रतिवादी नवीनकुमार भट्टराईलाई जिम्मा दिएको उत्तरपुस्तिकाहरू कम्प्युटरबाट परीक्षण गर्ने उद्देश्यको लागि प्रतिवादीले बुकिङ गरे‍को होटलको कोठामा कोडिङ गर्ने प्रयोजनका लागि उत्तरपुस्तिकाको खाम बन्दी खोल्नेसम्मको कार्यबाट प्रश्न पत्रको गोपनीयता भंग, परीक्षाको परिणाममा फेरबदल हुन सक्ने पूर्वावस्थाको सिर्जना र सोबाट उक्त दफा १७ बमोजिम पूर्वाञ्चल विश्वविद्यालयको सम्पत्तिको हानि नोक्सानी हुन सक्ने स्थितिको सिर्जना हुने सक्ने देखिँदैन । यसरी हेर्दा प्रतिवादीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीतको कार्य मान्न मिल्ने देखिएन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्बन्धित उत्तरपुस्तिकाहरूसमेत आफ्नो कब्जामा लिएबाट पूर्वाञ्चल विश्वविद्यालयको कार्यकारी परिषद्‌को मिति २०६८।९।२९ को बैठकबाट उक्त B.Sc. Nursing को दोस्रो पटक लिएको प्रवेश परीक्षा रद्द गर्नुपर्ने परिस्थितिको सिर्जनासमेत भएको देखियो । यसरी प्रतिवादीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७, र २१ प्रतिकूल देखिन नआएको हुँदा प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदकको जिकिरसँग सहमत हुन सकिएन ।

९. उपर्युक्त विवेचित आधार कारणबाट विशेष अदालतबाट मिति २०७०।२।९ मा प्रतिवादीहरू उपरको आरोपपत्रको दाबी पुग्न नसकी निजहरूले सफाई पाउने ठहराई गरेको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.ओमप्रकाश मिश्र

 

इजलास अधिकृतः रामप्रसाद पौडेल

इति संवत् २०७२ साल असोज १७ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु