शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५९० - मोही नामसारी

भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७२।१०।१४।५

 

मुद्दा : मोही नामसारी

 

०६८-DF-०००८

पुनरावेदक / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल बस्ने तुयुमै व्यञ्जनकारको अधिकृत वारेस काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं.३ बस्ने रमेशकाजी यंगोल श्रेष्ठ

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल बस्ने मोहनमाया व्यञ्जनकार मरी मु.स.गर्ने ऐ.ऐ बस्ने आशामाया व्यञ्जनकारसमेत

 

०६८-DF-०००९

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.३४ बस्ने गोपाललाल अमात्यसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.९ बस्ने तुयुमै व्यञ्जनकार

 

मुद्दामा रहेको विवादित विषयसँग सम्बद्ध प्रमाण बुझ्ने क्रममा विशेषज्ञबाट जाँच भई प्राप्त हुन आएको रायलाई प्रमाणमा लिन मिल्ने वा नमिल्नेसम्बन्धमा विवेचना गरी प्रमाणमा लिन नमिल्ने भए आधार कारणसहित सो रायलाई खण्डन गरी मिसिल संलग्न अन्य तथ्यपूर्ण प्रमाणको आधारमा मात्र निष्कर्षमा पुग्नु पर्ने । 

(प्रकरण नं.४)

दाबीको जग्गाको नापीका बखत तयार भएको फिल्डबुकमा मोही जनिएको व्यक्तिको ल्याप्चे छापसमेत लागेको अवस्था देखिएको, मोही महलमा उल्लिखित व्यक्ति आफू भएको भनी एकै नाम गरेका दुई व्यक्तिले दाबी गरेको, मिसिल संलग्न प्रमाणबाट उक्त व्यक्ति यही हो भनी वस्तुगतरूपमा एकिन हुन नसकेको अवस्थामा विशेषज्ञले जाँच गरी दिएको राय प्रतिवेदन प्रस्तुत मुद्दामा निर्णायक प्रमाण हुन सक्ने कुरामा विवाद हुन सक्दैन । दुई भिन्नाभिन्नै व्यक्तिको ल्याप्चे छापमा तात्त्विक र आधारभूतरूपमा भिन्नता हुने भएकोले कुनै लिखतमा परेको ल्याप्चेछाप दुईमध्ये जसको ल्याप्चेसँग भिड्छ सोही व्यक्ति नै उक्त लिखतको ल्याप्चे छापकर्ता व्यक्ति हो भनी मान्नु पर्ने ।

(प्रकरण नं.५)

वस्तुतः कुनै व्यक्तिको एकभन्दा बढी नाम हुन सक्ने तथा गाउँ घरमा बोलाउने नाम र कार्यालयको आधिकारिक नाम फरक हुन सक्ने हुन्छ । त्यस्तै एकै ठाउँमा एउटै नाम भएका एकभन्दा बढी व्यक्तिहरू हुन सक्ने हुँदा कसैको नाममात्र मिलेको आधारमा हकै नपुग्ने कुरामा हक कायम हुन सक्ने वा कुनै व्यक्तिको एकभन्दा बढी नाम भई कुनै एउटा नामबाट व्यवहार गरी आएको अवस्थामा विना आधार सो व्यक्ति आधिकारिक व्यक्ति होइन भनी भन्न मिल्दैन । त्यस्तो अवस्थामा आधिकारिक व्यक्ति यही हो भन्ने कुरा अन्य प्रमाणबाट एकिन हुन नसकेको अवस्थामा हस्ताक्षर वा ल्याप्चे छापको जाँच गरी विशेषज्ञले दिएको राय प्रतिवेदनका आधारमा निष्कर्षमा पुग्न मिल्ने । 

(प्रकरण नं.८)

 

वादीका तर्फबाट : विद्वान् अधिवक्ता रमेशकाजी श्रेष्ठ

प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, पदमराज काफ्ले र विद्वान् अधिवक्ता राम राउत र बसन्त गौतम

अवलम्बित नजिर :

सम्बद्ध कानून :

भूमिसम्बन्धी ऐन, २०२१

प्रमाण ऐन, २०३१ को दफा २३(७)

 

सुरू फैसला गर्ने :

भूमिसुधार अधिकारी श्री बैद्यनाथ चौधरी

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती

मा.न्या.श्री जगदीश शर्मा पौडेल

संयुक्त इजलासमा फैसला गर्ने :

मा.न्या.श्री रामकुमार प्रसाद शाह

मा.न्या.श्री तर्कराज भट्ट

 

फैसला

न्या.देवेन्द्र गोपाल श्रेष्ठ : यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरूबीच मतैक्य हुन नसकी मिति २०६८।४।२७ मा रायबझी फैसला भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- 

काठमाडौं जिल्ला, साबिक नयाँ बानेश्वर वडा नं.६(ख) कि.नं.१३३ को क्षेत्रफल  ०-९-२ नयाँ नापीबाट कायम काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१०(ण) कि.नं.१५६ को क्षेत्रफल ०-९-३-२ जग्गाको मोही मेरो आमा मोहनमाया भन्ने बम्हुनी व्यञ्जनकार भई जोत आबाद गरी जग्गाधनी अर्जुनलाल अमात्यलाई कुत बुझाई आएकोमा अर्जुनलालको मृत्युपश्चात छोरा सुरेशलालसमेतलाई कुत बुझाई आएकोमा आमाको मिति २०५१।६।२ मा स्वर्गवास भई उक्त जग्गा मैले नै जोतकमोद गरी जग्गाधनीहरूलाई कुतबाली बुझाउँदै आएकी, उक्त जग्गाको बाली बुझाउँदा मेरा नाममा बाली बुझाएको भरपाई दिनुस भन्दा नामसारी भएपछि दिउँला भनी भरपाई नदिई बाली बुझ्दै आएको र २०६० सालको बाली धरौटीसमेत राखेकी हुँदा आमाको हकखाने हकदार म निवेदिका भएकीले मेरो नाममा उक्त जग्गाको मोही नामसारी गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६घ बमोजिम जग्गाधनी तथा मोहीसमेतलाई बाँडफाँड गरिपाउँ भन्नेसमेत व्यहोराको तुयुमै व्यञ्जनकारको निवेदन माग दाबी । 

तुयुमै व्यञ्जनकार विवाहित हुन् । भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोही नामसारी गरी लिन पाउने हकदार होइनन् । मोही नामसारी गरी पाउने कानूनबमोजिमको हकदार नै नभएको व्यक्तिको नाममा मोही नामसारी हुन सक्तैन । निवेदन मागदाबी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुरेशलाल अमात्यसमेतको लिखित प्रतिक्रिया ।

निवेदिका तुयुमैका नाममा मोही नामसारी हुने होइन । मोही नै मरिसकेको भन्ने कारण देखाई मोही नामसारी माग गर्ने विपक्षीको निवेदन झुट्ठा हो । निज कानूनबमोजिमको नाताभित्रकी पनि नभएकी, विवाहित भएकी र दाबी नै हचुवा हुँदा निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको मोहनमायाको लिखित प्रतिक्रिया ।

प्रमाण ऐन, २०३१ को दफा २८ अनुसार वादीले आफू मोहनमायाको हकदार हुँ भन्ने प्रमाणसमेत पेस गर्न नसकेको र आजै मोहनमाया व्यञ्जनकारको लगाउ मिसिल नं.१५४ बाट निज मोहनमाया व्यञ्जनकारले मोहियानी हकको प्रमाणपत्र पाउने गरी निर्णय भइसकेको हुँदा यसमा केही गरिरहन परेन । वादी दाबी खारेज हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०६१।९।६ को फैसला ।

जग्गाधनीहरूबाट हाम्रो वास्तविक मोही मेरो स्व. आमा मोहनमाया भन्ने बम्हुनी व्यञ्जनकार हुन भनी लिखित प्रतिउत्तर दिएको अवस्थामा सुरूले मोहनमाया व्यञ्जनकार नामको उनाउ व्यक्तिलाई मोही प्रमाणपत्र पाउने ठहर्‍याई म पुनरावेदकको नाममा मोही नामसारी नहुने गरी वादी दाबी खारेज गरेको सुरूको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी मागदाबीबमोजिम मोही नामसारी गरिपाउँ भन्नेसमेत व्यहोराको वादी तुयुमै व्यञ्जनकारको अधिकृत वारेस रमेशकाजी श्रेष्ठको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

कबुलियत र फिल्डबुकमा लागेको मोहीको ल्याप्चे सहिछापसँग हाल मोही हुँ भनी आएका मोहनमाया व्यञ्जनकारको ल्याप्चे सहिछाप एक आपसमा जाँच गराउनु पर्नेमा त्यस्तो कुनै पनि प्रमाण नबुझी भूमिसुधार कार्यालयले विपक्षी मोहनमाया व्यञ्जनकारको नाममा मोही प्रमाणपत्र दिने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुरेशलाल अमात्यसमेतको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।

यसमा यसै लगाउको दे.पु.नं.१२१८/२९१४, १३६८/३०९४ को मोही प्रमाणपत्र मुद्दामा विपक्षीलाई झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी भएकोले प्रस्तुत मुद्दामा पनि छलफलको निमित्त अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६२।७।३ को आदेश ।

विपक्षीको पुनरावेदन हकदैया विहीन हुँदा खारेज गरी भूमिसुधार कार्यालय, काठमाडौंको फैसला कायम राखी पाउँ भन्नेसमेत व्यहोराको मोहनमायाको पुनरावेदन अदालत, पाटनमा परेको लिखित प्रतिवाद ।

प्र. मोहनमाया व्यञ्जनकार प्रस्तुत मुद्दाको मोही हुन् भन्ने देखिएको र विपक्षीहरूले सो तथ्यको विश्वसनीय सबुद प्रमाणबाट खण्डन गर्न सकेको अवस्था नदेखिँदा मोहनमायाको नाममा प्रस्तुत मुद्दाको जग्गाको मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्‍याई मिति २०६१।९।६ मा भूमिसुधार कार्यालय, काठमाडौंबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनबाट मिति २०६३।६।३० मा भएको फैसला ।

दाबी नै नभएको कुरामा अदालतले निर्णय दिन मिल्दैन । प्रस्तुत मुद्दाको दाबी मोही नामसारी गरी जग्गा बाँडफाँडको भएकोले मोही हकको स्थायी प्रमाण दिने ठहर्‍याएको फैसला मिलेको छैन । अतः वादी दाबीभन्दा बाहिर गई भूमिसुधार कार्यालय काठमाडौंले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को त्रुटि देखिँदा मुद्दा दोहोर्‍याई हेरी सो फैसला उल्टी गरी मोही नामसारी गरी जग्गा बाँडफाँड गरिपाउँ भन्नेसमेत व्यहोराको वादी तुयुमै व्यञ्जनकारको यस अदालतमा परेको निवेदनपत्र ।

यसमा सम्बद्ध कुराको मात्र प्रमाण बुझ्नुपर्ने कानूनी व्यवस्था रहेको सन्दर्भमा बम्हुनी व्यञ्जनकार र मोहनमाया व्यञ्जनकारको ल्याप्चे सहिछाप परीक्षण गरी विशेषज्ञको बकपत्रसमेत भइसकेको अवस्थामा त्यसतर्फ प्रवेश नगरी लेखा तथा रेखा विशेषज्ञको व्यक्त गरेको राय सम्बद्ध प्रमाण नरहेको भनी गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।६।३० को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ को गम्भीर कानूनी त्रुटि विद्यमान देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने व्यहोराको यस अदालतबाट मिति २०६५।११।२१ मा भएको आदेश ।

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजका एकासगोलका पति, पत्नी, छोरी, आमा, बाबु, धर्मपुत्र, छोरा बुहारी, नाति, नातिनी बुहारी वा दाजु भाइहरूमध्ये जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भनी स्पष्टसँग उल्लेख छ । दर्तावाला मोही मोहनमायाको नातासम्बन्धी केही नभएको मोहियानी प्रमाणपत्र माग गर्ने मोही मोहनमाया व्यञ्जनकार उनाउ व्यक्ति भएको र मोही मोहनमाया व्यञ्जनकारको छोरी तुयुमै व्यञ्जनकार विवाहित भई छोरासमेत भइसकेको अवस्थामा भूमिसुधारसम्बन्धी ऐनको बर्खिलाप उनाउ व्यक्ति मोहनमाया व्यञ्जनकारलाई मोही नामसारी प्रमाणपत्र दिने कार्य बदरभागी भएकोले निजका नाममा मोही नामसारी हुन नसक्ने भएकोले मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुरेशलाल अमात्यसमेतको यस अदालतमा परेको  निवेदनपत्र ।

यसमा यसै लगाउको निवेदक वादी तुयुमै व्यञ्जनकारको अधिकृत वारेश रमेशकाजी यंगोल श्रेष्ठ विरूद्ध मोहनमाया व्यञ्जनकारसमेत भएको संवत् २०६३ सालको दो.नि.नं.११३८ को मोही नामसारी मुद्दामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी भई पुनरावेदन अदालत, पाटनको मिति २०६३।६।३० गतेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ को गम्भीर कानूनी त्रुटि विद्यमान देखिँदा न्याय प्रसाशन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने व्यहोराको यस अदालतबाट भएको मिति २०६५।११।२१ को आदेश ।

वादी तुयुमैकी आमा बमनी भन्ने मोहनमायाको ल्याप्चेसँग फिल्डबुकको मोही महलमा लागेको सहिछापसँग मिलेको र जीवित प्रतिवादी मोहनमाया व्यञ्जनकारसँग नमिलेको देखिएकोले बमनी भन्ने मोहनमाया नै उक्त कि.नं.१५६ को मोही भनी ल्याप्चे लगाउने व्यक्ति हो भन्ने देखिन आएकोले निजलाई मोही ठहर गर्नुपर्नेमा नठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेको देखिएन । साथै निज मोहीकी छोरी यी वादी तुयुमै अविवाहित रहेको भन्ने निजले २०४४ सालमा लिएको नागरिकताबाट देखिँदा तथा निज विवाहित हो भन्ने अन्य कुनै तथ्यपूर्ण विवादरहित र निश्चयात्मक प्रमाण विपक्षी जग्गाधनीहरूले पेस गर्न सकेको नभई सो कुराको मौलिक जिकिरसम्म लिएकोले तथ्यपूर्ण प्रमाण र आधार विना जग्गाधनीको सो जिकिर मान्न मिल्ने देखिँदैन । आफ्नो जिकिरलाई तथ्यपूर्ण एवं निश्चयात्मक प्रमाणबाट समर्थित गराउन नसकेको अवस्थामा निज वादी तुयुमै विवाहित रहेको भनी ठहराउन मिल्ने हुँदैन । यस्तो अवस्थामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही देखिएको निज बम्हुनी भन्ने मोहनमायाको मोहियानी हक निजको छोरी यी तुयुमै व्यञ्जनकारको नाममा नामसारी हुनेसमेत ठहर्‍याउनु पर्नेमा सो नगरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी भई तुयुमै व्यञ्जनकारको नाममा मोही नामसारी हुने ठहर्छ भन्ने यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय ।

विशेषज्ञले दिएको राय प्रमाणमा ग्रहण गर्न राय प्रस्ट, तर्कसंगत र तथ्यसम्मत हुनुपर्दछ । विशेषज्ञले दिएको राय आफैँमा अस्पष्ट र विवादस्पद देखिएको अवस्थामा प्रमाणमा ग्रहण गर्न मिल्ने हुँदैन । बम्हुनी भन्ने तुयुमै व्यञ्जनकारकी आमा प्रस्तुत मुद्दाको विवादित जग्गाको मोही हुन भन्ने कुरा कुनै तथ्ययुक्त प्रमाणबाट देखिन पुष्टि हुन नआएको र मोहनमाया ज्यापू, व्यञ्जनकार, विन्दुकार भन्ने व्यक्ति एउटै हुन भन्ने नरपालिकाको सिफारिससमेतबाट समर्थन हुन आएको तथा मोहनमाया मोही भएको ४ नं. अस्थायी जोताह निस्सा, फिल्डबुक उत्तारसमेतबाट पुष्टि भइरहेको देखिएको र दाबीको कि.नं.१५६ को जग्गाको मोहनमाया व्यञ्जनकारले मोही हकको प्रमाणपत्र पाउने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने ठहरी पुनरावेदक तुयुमै व्यञ्जनकार विपक्षी सुरेशलाल अमात्यसमेतसँगको ०६५-CI-०५७१ र ०५६९ समेतको मोही प्रमाणपत्र पाउँ भन्ने मुद्दामा आज यसै इजलासबाट फैसला भएको र प्रस्तुत मुद्दा पनि सोही मुद्दासँग अन्तरप्रभावी हुँदा सो मुद्दामा उल्लिखित आधार र कारणसमेतबाट प्रस्तुत मुद्दामा पनि तुयुमै व्यञ्जनकारको नाममा मोही नामसारी गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहराएको सुरू भूमिसुधार कार्यालय, काठमाडौंको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री तर्कराज भट्टको छुट्टै राय ।

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदिका वादी तुयुमै व्यञ्जनकारका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रमेशकाजी श्रेष्ठले दाबीको कि.नं. १५६ को जग्गाको मोही पुनरावेदिकाकी आमा मोहनमाया भन्ने बम्हुनी व्यञ्जनकार हुन् । सो कुरा फिल्डबुकमा लागेको ल्याप्चे र पुनरावेदिकाकी आमाको नागरिकतामा लागेको ल्याप्चे छाप जाँच गरी विशेषज्ञले दिएको राय प्रतिवेदनसमेतले प्रस्ट गरेको छ । यी पुनरावेदिका तुयुमै निज मोही मोहनमायाको हक खाने अविवाहित छोरी भएकीले निजका नाममा मोही नामसारी हुने गरी माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहले व्यक्त गर्नुभएको राय मनासिब हुँदा सोही राय सदर कायम हुनुपर्दछ भनी बहस गर्नुभयो । प्रत्यर्थी मोहनमाया व्यञ्जनकारका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री पदमराज काफ्ले र विद्वान् अधिवक्ता श्री राम राउतको दाबीको जग्गाको फिल्डबुकको जोताहा महलमा मोहनमाया ज्यापू भन्ने उल्लेख भएको, उक्त मोहनमाया ज्यापू भन्ने व्यक्ति र प्रत्यर्थी मोहनमाया व्यञ्जनकार भन्ने व्यक्ति एकै भएको भनी काठमाडौं महानगरपालिकाले सिफारिससमेत गरिदिएको हुँदा प्रत्यर्थी मोहनमाया व्यञ्जनकार दाबीको जग्गाको मोही हुन् भन्ने कुरा स्पष्ट हुन्छ । विशेषज्ञले दिएको राय विरोधाभाष पूर्ण रहेको हुँदा त्यस्तो रायलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन । दाबीको जग्गा मोही र जग्गा धनीबीच बाँडफाँड भई बिक्रीसमेत भइसकेको अवस्था हुँदा माननीय न्यायाधीश श्री तर्कराज भट्टले व्यक्त गर्नुभएको राय सदर हुनुपर्दछ भनी र पुनरावेदक गोपाललाल अमात्यसमेतका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री बसन्त गौतमले पुनरावेदिका वादी तुयुमै व्यञ्जनकारको विवाह भइसकेको हुँदा निजले भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोही नामसारी गरी लिन पाउने हकदार होइनन् । प्रत्यर्थी प्रतिवादी मोहनमाया व्यञ्जनकार दाबीको जग्गाको मोही नभएकोले पुनरावेदन अदालतले गरेको फैसला उल्टी हुनुपर्दछ भनी बहस गर्नुभयो ।

यसमा अर्जुनलाल अमात्यका नाम दर्ताका साबिक बानेश्वर ६(ख) को कि.नं. ११३ हालको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १०(ण) कि.नं. १५६ को ०-९-३-२ जग्गाको मोही मेरी आमा मोहनमाया भन्ने बम्हुनी व्यञ्जनकार भएकोमा जग्गाधनी अर्जुनलालको परलोकपश्चात हाल उक्त जग्गा निजका छोरा गोपाललाल र सुरेशलालसमेतका नाममा रहेको, आमा मोहनमायाको मिति २०५१।६।२ मा मृत्युपश्चात म निवेदिकाले मोहीको हैसियतले कमाई आएको हुँदा निजको हकदार म निवेदिकाको नाममा उक्त जग्गाको मोही नामसारी गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको दाबी रहेको देखिन्छ । दाबीको जग्गाको विपक्षीकी आमा मोही नभई म मोहनमाया व्यञ्जनकार मोही भएको, वादी तुयुमै व्यञ्जनकारको विवाहसमेत भइसकेको हुँदा निजका नाममा मोही नामसारी हुने होइन भन्नेसमेतको मोहनमाया व्यञ्जनकारको र वादी तुयुमैको विवाह भइसकेकोले निज कानूनबमोजिमको हकदार नभएकोले निजका नाममा मोही नामसारी गर्न मिल्दैन भन्नेसमेतको जग्गाधनी सुरेशलाल अमात्यसमेतको लिखित प्रतिक्रिया भएको प्रस्तुत मुद्दामा मोही नामसारी गरिपाउँ भन्ने वादी दाबी खारेज हुने ठहर्‍याएको सुरू भूमिसुधार कार्यालयको निर्णय सदर हुने ठहर्‍याई पुनरावेदन अदालत, पाटनबाट फैसला भएको देखिन्छ । उक्त फैसला उपर मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी वादी तुयुमै व्यञ्जनकार र जग्गाधनी सुरेशलाल अमात्यसमेतको निवेदन परी यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई संयुक्त इजलाससमक्ष पेस हुँदा माननीय न्यायाधीशहरूबीच मतैक्य नभई माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहले वादी दाबी खारेज हुने ठहर्‍याएको सुरू भूमिसुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी वादी दाबीबमोजिम वादी तुयुमै व्यञ्जनकारका नाममा मोही नामसारी हुने गरी राय व्यक्त गर्नुभएको र माननीय न्यायाधीश श्री तर्कराज भट्टले मोही नामसारी गरिपाउँ भन्ने वादी दाबी खारेज हुने ठहर्‍याएको सुरू भूमिसुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने गरी छुट्टै राय व्यक्त गर्नु भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

उपर्युक्तबमोजिम विद्वान् कानून   व्यवसायीहरूले गर्नुभएको बहस सुनी पुनरावेदनसहितका मिसिल कागजात अध्ययन गरी उल्लिखित तथ्य भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी दाबीको जग्गाको मोहियानी हक पुनरावेदक वादी तुयुमै व्यञ्जनकारका नाममा नामसारी हुने गरी माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहले व्यक्त गर्नुभएको राय र दाबीको जग्गाको मोही नामसारी गरिपाउँ भन्ने वादी तुयुमै व्यञ्जनकारको दाबी खारेज हुने ठहर्‍याएको सुरू भूमिसुधार कार्यालयको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री तर्कराज भट्टले व्यक्त गर्नु रायमध्ये कुन राय कायम हुने हो भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, सम्बद्ध मिसिल कागजातहरूको अध्ययनबाट दाबीको साबिक कि.नं. ११३ हालको कि.नं. १५६ को जग्गाको हालका जग्गाधनी साबिक जग्गाधनी अर्जुनलालका छोराहरू गोपाललाल र सुरेशलाल अमात्य रहेको कुरामा विवाद देखिँदैन । उक्त साबिक कि.नं. ११३ जग्गाको मिसिल संलग्न फिल्डबुकको प्रतिलिपि हेर्दा जोताहाको महलमा मोहनमाया ज्यापू भन्ने उल्लेख भएको देखिन्छ । त्यस्तै जोताहाको अस्थायी निस्सा तथा जग्गाधनी प्रमाण पुर्जामा समेत मोही मोहनमाया ज्यापूको नाम उल्लेख भएको देखिन्छ । यी पुनरावेदक वादी तुयुमैले जोताहाको महलमा उल्लिखित मोहनमाया ज्यापू आफ्नी आमा मोहनमाया भन्ने बम्हुनी व्यञ्जनकार भएकी, निजको मृत्यु भइसकेकोले निजको हक खाने आफू अविवाहित छोरी हुँदा दाबीको जग्गाको मोहियानी हक आफ्ना नाममा नामसारी गरिपाउँ भनी दाबी लिएको र लिखित जवाफ प्रस्तुतकर्ता मोहनमायाले जोताहाको महलमा उल्लिखित मोहनमाया ज्यापू भन्ने व्यक्ति आफू भएकोले वादीका नाममा मोही नामसारी हुने होइन भनी जिकिर लिएको देखिएकोले उक्त जग्गाको मोही यी पुनरावेदिका वादी तुयुमै व्यञ्जनकारकी आमा मोहनमाया भन्ने बम्हुनी व्यन्जनकार हुन् वा लिखित जवाफ प्रस्तुतकर्ता मोहनमाया हुन् भन्ने नै प्रस्तुत मुद्दाको मुख्य विवादित विषय रहेको देखिन आयो ।

३. मिसिल संलग्न साबिक कि.नं. ११३ को जग्गाको फिल्डबुकको जोताहा महलमा मोहीमाया ज्यापू भन्ने उल्लेख भई निजको ल्याप्चे छापसमेत लागेको देखिन्छ । हालका जग्गाधनीहरू गोपाललाल, सुरेशलालले यी पुनरावेदिका तुयुमैकी आमा दाबीको जग्गाको मोही होइनन् भनी प्रस्टरूपमा भन्न नसकी वादी तुयुमै विवाहित भएकीले भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम निजका नाममा मोही नामसारी गर्न मिल्दैन भन्नेसम्मको जिकिर लिई लिखित प्रतिक्रिया व्यक्त गरेको देखिन्छ । दाबीको उक्त जग्गाको २ नं. अनुसूची मोहनमायाको नाममा प्रकाशित भई जोताहाको ४ नं. अस्थायी निस्सा पनि मोहनमायाकै नाममा तयार भएको अवस्था देखिएको छ ।

४. यसप्रकार दाबीको जग्गाको मोही आफ्नी आमा मोहनमाया भन्ने बम्हुनी हुन् भन्ने वादी र उक्त जग्गाको मोही आफू भएको भनी प्रत्यर्थी मोहनमायाले जिकिर लिएको सन्दर्भमा वास्तविक मोही पहिचान गर्ने प्रयोजनका लागि पुनरावेदन अदालत, पाटनले उक्त जग्गाको फिल्डबुक र २ नं. अनुसूचीमा लागेको ल्याप्चे छाप वादीकी आमा बम्हुनी भन्ने मोहनमायाको ल्याप्चे छापसँग भिड्छ वा प्रत्यर्थी मोहनमायाको ल्याप्चे छापसँग भिड्छ, रेखा विशेषज्ञबाट जाँच गराउनु भनी लगाउको मोही प्रमाणपत्र मुद्दामा भएका आदेशानुसार विशेषज्ञबाट ल्याप्चे छाप जाँच गरी राय प्रतिवेदन प्राप्त भई जाँच गर्ने विशेषज्ञको बकपत्रसमेत भएको देखिन्छ । पुनरावेदन अदालतले फैसला गर्दा उपर्युक्तबमोजिम ल्याप्चेछाप जाँच गरी विशेषज्ञले दिएको राय प्रतिवेदनलाई बेवास्ता गरी सो राय प्रतिवेदन प्रमाणमा लाग्ने नलाग्ने भन्ने सम्बन्धमा कुनै विवेचना नै नगरी केवल तुयुमैकी आमाको नाम मोही महलका उल्लिखित नामसँग नमिलेको भन्ने एक मात्र आधारमा पुनरावेदिका वादी तुयुमैका नाममा मोही नामसारी नहुने भनी निष्कर्षमा पुगेको देखिन्छ । मुद्दामा रहेको विवादित विषयसँग सम्बद्ध प्रमाण बुझ्ने क्रममा विशेषज्ञबाट जाँच भई प्राप्त हुन आएको रायलाई प्रमाणमा लिन मिल्ने वा नमिल्ने सम्बन्धमा विवेचना गरी प्रमाणमा लिन नमिल्ने भए आधार कारणसहित सो रायलाई खण्डन गरी मिसिल संलग्न अन्य तथ्यपूर्ण प्रमाणको आधारमा मात्र निष्कर्षमा पुग्नु पर्ने हुन्छ । प्रस्तुत मुद्दा पर्नु अगावै सरकारी निकायबाट आधिकारिक रूपमा तयार भएको फिल्डबुक, २ नं. अनुसूची जस्ता कागजमा लागेको ल्याप्चे छापसँग मोही दाबी गर्ने व्यक्तिहरूको ल्याप्चे छाप जाँच गरी दिएको विशेषज्ञको रायलाई कुनै वस्तुगत आधार कारणसमेत उल्लेखै नगरी प्रमाणको रूपमा ग्रहण नगरेको पुनरावेदन अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा कानूनसङ्गत रहेको देखिन आएन ।

५. यसरी दाबीको जग्गाको नापीका बखत तयार भएको फिल्डबुकमा मोही जनिएको व्यक्तिको ल्याप्चे छापसमेत लागेको अवस्था देखिएको, मोही महलमा उल्लिखित व्यक्ति आफू भएको भनी एकै नाम गरेका दुई व्यक्तिले दाबी गरेको, मिसिल संलग्न प्रमाणबाट उक्त व्यक्ति यही हो भनी वस्तुगतरूपमा एकिन हुन नसकेको अवस्थामा विशेषज्ञले जाँच गरी दिएको राय प्रतिवेदन प्रस्तुत मुद्दामा निर्णायक प्रमाण हुन सक्ने कुरामा विवाद हुन सक्दैन । दुई भिन्ना भिन्नै व्यक्तिको ल्याप्चे छापमा तात्त्विक र आधारभूतरूपमा भिन्नता हुने भएकोले कुनै लिखतमा परेको ल्याप्चेछाप दुईमध्ये जसको ल्याप्चेसँग भिड्छ सोही व्यक्तिनै उक्त लिखतको ल्याप्चे छापकर्ता व्यक्ति हो भनी मान्नु पर्ने हुन्छ । यस अर्थमा दाबीको जग्गाको फिल्डबुकमा मोही जनिएको व्यक्तिको ल्याप्चे छापसँग पुनरावेदिका वादी तुयुमैकी आमा बम्हुनी भन्ने मोहनमाया र प्रत्यर्थी मोहनमायामध्ये जसको ल्याप्चे छाप मिल्छ सो व्यक्ति नै सो जग्गाको मोही हो भनी अदालतले मान्नु पर्ने हुन्छ । ल्याप्चे छाप जाँच गरी विशेषज्ञले राय प्रतिवेदन दिएको तथा विशेषज्ञले अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको अवस्थामा त्यस्तो रायलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) बमोजिम प्रमाणमा लिनुपर्ने हुन्छ ।

६. मिसिल संलग्न विशेषज्ञको राय प्रतिवेदन हेर्दा, फिल्डबुकको जोताहाको महलमा लागेको ल्याप्चे छाप पुनरावेदिका वादी तुयुमैकी आमा बम्हुनी भन्ने मोहनमायाको नागरिकताको प्रमाणपत्रमा लागेको ल्याप्चे छाप तथा प्रत्यर्थी मोहनमायाको ल्याप्चे छापसँग जाँच गरिएकोमा फिल्डबुकको उक्त ल्याप्चे छाप र तुयुमैकी आमाको नागरिकताको ल्याप्चे छाप तुलना गर्दा समानताका विन्दुहरू पाईएको र ती दुवै ल्याप्चेहरू चक्र आकारका रहेको भन्ने उल्लेख भएको देखिन्छ भने प्रत्यर्थी मोहनमायाको औंठाछाप फिल्डबुकको ल्याप्चे छापसँग मिल्दैन भनी स्पष्टरूपमा राय व्यक्त भएको देखिन्छ । उक्त राय व्यक्त गर्ने विशेषज्ञको बकपत्र भएको र प्रत्यर्थी मोहनमायाका तर्फबाट जिरहसमेत गरेको देखिएकोमा प्रत्यर्थीले उक्त रायलाई वस्तुगत आधारमा अन्यथा हो भनी पुष्टि गर्न सकेको नदेखिँदा विशेषज्ञको उक्त राय प्रस्तुत मुद्दामा प्रमाणमा लिन मिल्ने नै देखियो ।

७. यसका अतिरिक्त प्रत्यर्थी मोहनमाया व्यञ्जनकारले फिल्डबुकको जोताहाको महलमा उल्लिखित व्यक्ति आफू भएको भनी जिकिर लिए पनि दाबीको जग्गाको प्रकाशित २ नं. अनुसूची पुनरावेदिका वादी तुयुमैका साथमा रहेको भनी निजका कानून व्यवसायीले बहसको क्रममा उक्त अनुसूचीको सक्कलै प्रति इजलाससमक्ष प्रस्तुत गर्नुभएकोमा उक्त सक्कल अनुसूची पुनरावेदिकाका साथमा कसरी रहन गएको हो प्रत्यर्थी तथा निजतर्फका विद्वान् कानून व्यवसायीले सोको युक्तिसंगत आधार कारण प्रस्तुत गर्न सकेको देखिएन । प्रत्यर्थी मोहनमायाले काठमाडौं महानगरपालिका १० नं. वडा कार्यालयले मोहनमाया ज्यापू, मोहनमाया विन्दुकार र मोहनमाया व्यञ्जनकार भन्ने एकै व्यक्ति भन्ने बुझिएको भनी गरिदिएको सिफारिसपत्रबाहेक निज दाबीको जग्गाको मोही भनी स्पष्टरूपमा देखिने वस्तुगत आधार प्रमाण प्रस्तुत गर्न सकेको देखिँदैन । यी पुनरावेदिका विवाहित हुँदा निजका नाममा मोही नामसारी हुन सक्दैन भनी जग्गाधनीले दाबी लिए पनि मिसिल संलग्न निज तुयुमैले मिति २०४४।१२।१ मा लिएको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिको पतिको महल खाली रहेको देखिन्छ भने निज विवाहित रहेको कुरा जग्गाधनीले प्रमाणद्वारा पुष्टि गर्न सकेकोसमेत नदेखिँदा निज तुयुमैको विवाह भइसकेको भनी मान्न मिलेन । त्यस्तै प्रत्यर्थी मोहनमायाका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरूले दाबीको जग्गा बाँडफाँड भई बिक्रीसमेत भइसकेको भनी बहसको क्रममा जिकिर लिए पनि मुद्दा चल्दा चल्दैको अवस्थामा मोही नै नभएका व्यक्ति र जग्गा धनीबीच जग्गा बाँडफाँड गरेको कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने पनि हुँदैन ।

८. वस्तुतः कुनै व्यक्तिको एकभन्दा बढी नाम हुन सक्ने तथा गाउँ घरमा बोलाउने नाम र कार्यालयको आधिकारिक नाम फरक हुन सक्ने हुन्छ । त्यस्तै एकै ठाउँमा एउटै नाम भएका एकभन्दा बढी व्यक्तिहरू हुन सक्ने हुँदा कसैको नाम मात्र मिलेको आधारमा हकै नपुग्ने कुरामा हक कायम हुन सक्ने वा कुनै व्यक्तिको एकभन्दा बढी नाम भई कुनै एउटा नामबाट व्यवहार गरी आएको अवस्थामा विना आधार सो व्यक्ति आधिकारिक व्यक्ति होइन भनी भन्न मिल्दैन । त्यस्तो अवस्थामा आधिकारिक व्यक्ति यही हो भन्ने कुरा अन्य प्रमाणबाट एकिन हुन नसकेको अवस्थामा हस्ताक्षर वा ल्याप्चे छापको जाँच गरी विशेषज्ञले दिएको राय प्रतिवेदनका आधारमा निष्कर्षमा पुग्न मिल्नेनै हुँदा पुनरावेदिका वादी तुयुमैकी आमा बम्हुनी भन्ने मोहनमायाको ल्याप्चे छापसँग दाबीको जग्गाको फिल्डबुकको जोताहाको महलमा लागेको ल्याप्चे छाप मिलेको र प्रत्यर्थी मोहनमाया व्यञ्जनकारको औंठाछापसँग मिलेको नदेखिएको तथा निज प्रत्यर्थीले आफू दाबीको जग्गाको मोही भएको कुरा प्रमाणद्वारा पुष्टि गर्न नसकेको अवस्थामा निज प्रत्यर्थी दाबीको जग्गाको मोही देखिएको भनी मोही नामसारी गरिपाउँ भन्ने वादीको दाबी खारेज हुने ठहर्‍याएको सुरू भूमिसुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने गरी यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री तर्कराज भट्टले व्यक्त गर्नुभएको रायसँग सहमत हुन सकिएन ।

९. अतः माथि विवेचित आधार कारणबाट यी पुनरावेदिका वादी तुयुमैकी आमा मोहनमाया भन्ने बम्हुनी व्यञ्जनकार दाबीको कि.नं. १५६ जग्गाको मोही भएको कुरा पुष्टि हुन आएको देखिँदा उक्त जग्गाको मोही हक नामसारी गरिपाउँ भन्ने वादी दाबी खारेज हुने ठहर्‍याएको सुरू भूमिसुधार कार्यालय, काठमाडौंको मिति २०६१।९।६ को निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६३।६।३० को फैसला मिलेको नदेखिँदा उल्टी गरी यी पुनरावेदिका वादी तुयुमै व्यञ्जनकारका नाममा दाबीको उक्त कि.नं. १५६ को जग्गाको मोहीहक नामसारी हुने गरी यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहले व्यक्त गर्नुभएको राय मनासिब देखिँदा सदर हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

१. माथि ठहर खण्डमा लेखिएबमोजिम वादी दाबी खारेज हुने ठहर्‍याएको सुरू भूमिसुधार कार्यालयको निर्णय सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी भई वादी दाबीको साबिक कि.नं. ११३ हालको कि.नं. १५६ को जग्गाको मोहीहक यी पुनरावेदिका वादी तुयुमै व्यञ्जनकारका नाममा नामसारी हुने ठहरेकाले उक्त जग्गाको मोही हक यी पुनरावेदिका वादीका नाममा नामसारी गरी मोही प्रमाण पत्रसमेत बनाई दिनु भनी सुरू भूमिसुधार कार्यालयमा लेखी पठाइदिनू ।

२. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाइदिनू । 

 

उक्त रायमा हामी सहमत छौं ।

स.प्र.न्या.कल्याण श्रेष्ठ

न्या.बैद्यनाथ उपाध्याय

 

इजलास अधिकृतः सन्तोषप्रसाद पराजुली

इति संवत् २०७२ साल माघ१४ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु