शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५९२ - अंश चलन

भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति :२०७२।११।६।५

०६८-NF-०००३

 

मुद्दाः- अंश चलन

 

पुनरावेदक / वादी : सुनसरी जिल्ला, नरसिंह गा.वि.स. वडा नं. ७ बस्ने महावीर साहुसमेत

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला, नरसिंह गा.वि.स. वडा नं. ७ बस्ने सरजुग साहु मरी मु.स. गर्ने ऐ.ऐ. बस्ने झवरीदेवी साहु

 

कुनै सम्पत्ति बन्डा हुने अथवा नहुने भन्ने प्रश्नको निर्णय मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. र यस अदालतबाट तत्सम्बन्धमा भएको फैसलाहरूबाट प्रतिपादित सिद्धान्तको सेरोफेरोमा रही गर्नुपर्ने ।

गंगाप्रसाद र सुकुमेर कुमारीको परिवारको मूल पुरूष प्रतिवादी सरयुग रहेकाले सो परिवारका कुनै सदस्यको नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको मानिने ।

सो सम्पत्तिबाट सरयुगका अंशियार वादीहरूको अंश नपुग्ने भन्नका लागि प्रतिवादी कायम गरिएका गंगाप्रसाद र सुकमेर आफ्नो पिता ससुरा प्रतिवादी सरयुग साहुसँग कानूनबमोजिमको लिखतबाट अंश लिई वा मानु छुट्टिई भिन्न बसेको वा उल्लिखित सम्पत्ति दान बकस भई निजहरूले पाएको वा निजहरूलाई भएको राजीनामा लिखतमा उल्लिखित जग्गाहरू निजहरूले एकलौटी खान पाउने र अरू अंशियारको हक नपुग्ने जस्तो कुनै व्यहोरा रहेको वा आफूहरूले रोजगार नोकरी गरी वा मूर्तिकार, गीतकार, संगीतकार, कलाकार, चित्रकार वा कुनै पेसाकर्मी आदि भई निजी आर्जन गरेको प्रमाण देखिनु आवश्यक हुने ।

गंगाप्रसादले उक्त जग्गाहरू आफ्नो ज्ञान सीपबाट निजी तवरबाट आर्जन गरेको भन्ने जिकिर लिन नसकी बाबुले आफ्ना नाममा खरिद गरिदिएको भनेको देखिन्छ भने प्रतिवादी सुकुमेर कुमारीको राजीनामामा बाबुले थैली तिरी निजका नाममा खरिद गरी दिएको दाइजोको जग्गा भन्नेलगायतका कुनै पनि कुरा उल्लेख भएको देखिँदैन । ती जग्गाहरू आफ्नो विवाह हुनुपूर्व खरिद गरेको भन्ने निजको जिकिर पनि नरहेको र राजीनामाको तीन पुस्तेमा निजको पति रामप्रसाद साहु भन्ने उल्लेख भएको देखिँदा उल्लिखित जग्गाहरू पिता पुर्खाको पुर्ख्यौली सम्पत्तिबाट बढेबढाएको धनबाट प्रतिवादी गंगाप्रसाद र सुकुमेरको नाममा खरिद भएको प्रमाणित हुन आउने ।

पुर्ख्यौली सम्पत्तिबाट खरिद भएको जग्गामा प्रतिवादीभन्दा माथिल्लो पुस्ताका निजको परिवारको मूल पुरूष प्रतिवादी सरयुग र प्रतिवादी सरयुगका अंशियार वादीहरूको अंश भाग लाग्ने र त्यसपछि प्रतिवादी सरयुगको भागबाट प्रतिवादी गंगाप्रसादसमेतका समकालीन अंशियारको भाग लाग्ने र गंगाप्रसादको भागबाट मात्र प्रतिवादी सुकुमेरको अंश लाग्ने अवस्था रहने ।

(प्रकरण नं.८)

मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. समेतको सही व्याख्या गरेकोले तिनसँग असहमति जनाउनु पर्ने अवस्था देखिएन । प्रस्तुत मुद्दाको तथ्यसँग ती नजिर मिले भिडेको देखिँदा प्रस्तुत मुद्दामा मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिभन्दा अगावै प्रतिवादीका छोरा तथा बुहारीका नाममा निजहरूका पिता तथा ससुराले थैली तिरी खरिद गरेको जग्गाहरू बन्डा नलाग्ने ठहर्‍याएको यस अदालतको संयुक्त इजलासको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी हुने ।

(प्रकरण नं.१३)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता तुलसीराम निरौला

अवलम्बित नजिर :

ने.का.प.२०५७, अङ्क १०/११, नि.नं.६९५६

सम्बद्ध कानून :

मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं.

 

सुरू तहमा फैसला गर्नेः-

जि.न्या. श्री पुरूषोत्तम भण्डारी

पुनरावेदन तहमा फैसला गर्नेः

मा.न्या. श्री बोधरीराज पाण्डे

मा.न्या. श्री कृष्णप्रसाद बस्याल

यस अदालतको संयुक्त इजलासमा फैसला गर्नेः-

मा.न्या. श्री रामकुमार प्रसाद शाह

मा.न्या. श्री प्रेम शर्मा

 

फैसला

न्या.गोविन्दकुमार उपाध्याय : यस अदालतको संयुक्त इजलासबाट मिति २०६६।७।११ मा भएको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकन हुँदा हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

बाबु झपटु र आमा दाइजी देवी साहुको ३ भाइ छोरामा जेठो म फिरादी महावीर साहु, माहिलो विपक्षी र कान्छो म विन्देश्वरी साहु हौं । आमाबाबुको पहिले नै मृत्यु भइसकेको हुँदा घरको मुख्य दामकाम गर्ने विपक्षी हुनुभएको, सगोलको पैतृक सम्पत्तिसमेत विपक्षीहरूकै जिम्मामा राखी सगोलबाटै खेतीपाती गरी बराबर बाँडी भोगी खाई आएका थियौं । हामीहरूबीच अंशबन्डा भएको छैन । परिवार बढ्न गई सगोलमा बसी व्यवहार गर्न मनमुटाव भई बाबुको नामको जग्गा नामसारी गरौं तथा विपक्षीहरूका नाममा भएको पैतृक तथा सगोलको आर्जनको सम्पत्तिसमेत बाँडफाँड गरी अंशबन्डा गरौं भनी विपक्षीहरूलाई भन्दा हाम्रो नामको जग्गासमेतबाट तिमीहरूलाई अंशबन्डा गर्न हाम्रो मन्जुर छैन बाबुको नामको जग्गासमेत हामी नामसारी गर्न दिँदैनौं भनी अंशबन्डा गर्न इन्कार गरी बालीसमेत दिँदैनौं भनी अन्यायपूर्ण कुरा गरेकोले फिराद गरेका छौं । विपक्षी घरको मुख्य दामकाम गर्ने व्यक्ति भएको र पैतृक तथा सगोलको आर्जनको सम्पत्ति विपक्षीहरूकै जिम्मामा भएको हुँदा विपक्षीहरूबाट सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई सम्पूर्ण सम्पत्तिलाई ३ भाग लगाई २ भाग हामीलाई दिलाई चलनसमेत चलाई पाउँ भन्ने फिरादपत्र ।

बाबु स्व. झपटु साह नाम दर्ताको नामसारी हुन बाँकी जग्गा म सरजुग साहु छुट्टिई भिन्न भएपछि बाबुआमा जीवित रहेसम्म बाबुआमासमेतका विपक्षीहरूले र बाबुआमाको मृत्युपछि यी विपक्षीहरूले खाई भोगी आएका छन् । म एकासगोलमै भएको र मुख्य भई व्यवहार गरेको भन्ने दाबी झुठ्ठा हो । बाबु झपटु साह जीवित छँदै २०१८ सालमा यी वादीहरू र बाबु आमासमेतबाट मेरो भागमा पर्ने चल सम्पत्ति बन्डा छुट्याई मेरो भाग लिई मानु छुट्टिई भिन्न बसेको, साहुको पुँजीबाट धान तोरी, पाटासमेतको काँटा व्यापार गरी आएको रूपैयाँबाट २०२० सालमा बरही झाँगडबाट टप्पुको ५–१०–८ जग्गा राजीनामा गरी लिई परिवारसमेत भिन्न बसी निर्वाह गरेको छु । बाबु झपटु साहुको नाम दर्ताको पैतृक अचल जग्गाबाट मात्र मैले बन्डा छुट्याई लिन बाँकी छ । मैले निजी तवरबाट खरिद गरी लिएको राजीनामा लिखत र सो लिखतमा उल्लिखित वतनको साथै भूमिसुधार लागू भएपछि २०२२ सालमा आ–आफ्ना हक दर्ता भोगका जग्गाको बाबु झपटु साहुले र म सरजुग साहुले अलगअलग ७ नं. फाँटवारी भरेबाट समेत म २०१८ सालदेखि छुट्टिई भिन्न भई बसेको देखिन्छ । हाम्रो बाबुकै पालादेखि भारत अररिया जिल्लाअन्तर्गत अचल जग्गा भएकोले सो ठाउँको जग्गा पहिले नै बन्डा गरी मेरो हक जति म सरजुग साहुबाट विपक्षी महावीर साहुले आफ्नो पत्नी जागेश्वरी देवी साहुका नाममा राजीनामा  गराई लिएका छन् । यदि अंशबन्डा नभएको र सगोलमै बसेको भए बन्डा गर्नुपर्ने सम्पत्ति अंशियारबीच राजीनामा गराई लिनपर्ने अवस्था हुँदैनथ्यो । फिराद पर्नुअगाडि नै हामी छुट्टिई भिन्न भइसकेपछि आ–आफ्नो निजी आर्जनको यो जिल्ला र भारतमा समेत आफ्ना नाममा छुट्टै दर्ता भएकै छन् । हाम्रो बन्डा गर्नुपर्ने सगोलको पैतृक पिता स्व. झपटु साहुको नाउ दर्ताको जग्गाबाट मैले बन्डा लिन बाँकी रहेको छ । आयस्ता सबै तपाइँहरूले खानुभएको छ, मलाई मर्का पर्‍यो, सो बाबु नामको जग्गा नामसारी गरी अंशबन्डा गरौं भन्दा इन्कार गरी मैले छुट्टिएपछि किनेको जग्गासमेत बन्डा गर्नुपर्छ भनेकाले विवाद भएको थियो । मेरो निजी आर्जनको सम्पत्तिसमेत बन्डा गरी खान सकिन्छ कि भनी झुठ्ठा मुद्दा गरेको हुँदा फुर्सद दिलाई पाउँ भन्ने प्रतिवादी सरजुग साहुको प्रतिउत्तर । 

प्रतिवादी सरयुग साहु २०५८।१०।२७ गते कालगतिले मृत्यु भई निजको श्रीमती झवरी देवी साहुले २०५८।११।२७ मा प्रस्तुत मुद्दा सकार गरेको देखिएको ।

वादी प्रतिवादीबीच अंशबन्डा भएको छैन । सरजुग साहुले घरको मुख्य भई काम गर्छन् । वादीलाई अंश दिएका छैनन्, सबै सम्पत्ति पैतृक सम्पत्तिबाट आर्जन गरेका हुन् । छुट्टीएर बसेका छैनन् । वादीलाई अंश दिनु पर्ने हो भन्नेसमेत व्यहोराको वादीका साक्षी बसिर मियाको बकपत्र ।

सरयुग साहु २०१८ कार्तिक १५ गतेदेखि छुट्टै बसेका हुन् । सरजुग साहुको नामको सम्पत्ति बन्डा हुने होइन । बाबुको सम्पत्तिबाट अंश पाउने हो भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी डोमी उरावको बकपत्र ।

मेरा पिता सरजुग छुट्टिई भिन्न भइसकेपछि प्रतिउत्तरमा लेखिएबमोजिम आफ्नो निजी आर्जन गरे जति जग्गा सरजुग साहुका नाउमा साबिक दर्ता भई सोबमोजिम भूमिसुधार लागू हुँदा ७ नं. फाँटवारी पिताले नै दाखेल गर्नुभएको र सर्भे नापीमा बाबुकै नाममा नापी दर्ता भई हामी प्रतिवादीहरूको भोगचलनमा रहेको छ । बाजेकै नाममा नापी भई निजका नाममा हालसम्म दर्ता कायम रहेको छ भन्ने प्रतिवादीका वारेस रामप्रसाद साहले गरेको कागज ।

बाबु झपटु साहको ७ नं. फाँटवारीमा उल्लेख भएका जग्गा हजुरबुबा रामचरण साहु तेलीका नामको पैतृक सम्पत्तिबाट आएको हो । सरजुग साहुको फाँटवारीमा उल्लेख भएको जग्गा सगोलको आर्जनबाट खरिद गरी सरजुगकै नाममा दर्ता गरिएको हो र सर्भे नापीमा पिताका नामको जग्गा पिताकै नाममा र विपक्षी नामको जग्गा विपक्षीकै नाममा हाल कायम रहेको छ भन्ने वादी वा.स. विन्देश्वरी साहुले गरेको कागज ।

यसमा प्रतिवादीले पेस गरेको ७ नं. फाँटवारीको सक्कल सम्बन्धित भूमिसुधार कार्यालयबाट झिकाई उक्त ७ नं. फाँटवारीमा उल्लिखित जग्गाहरू को कसले के कुन व्यहोराबाट के कसका नाममा के कति जग्गा नापीमा दर्ता गराएका छन् सो अ.बं. १३३ नं. बमोजिम दुवै पक्षबाट खुलाउन लगाउनू । साथै विगतका वर्षहरूमा भएको निर्वाचनको मतदाता नामावली वादी प्रतिवादी बसेको गा.वि.स. बाट झिकाउनु भन्ने मिति २०५९।१।१८ को आदेशानुसार वादी प्रतिवादीहरूका नाउँको मतदाता नामावलीसमेत गाउँ विकास समितिबाट प्राप्त भएको ।

अचल सम्पत्ति बन्डा हुन बाँकी नै रहेको अवस्थामा फिराद परेको मितिलाई मानु छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिनसम्मको वादी प्रतिवादी जिम्माको बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी लिई पेस भएको फाँटवारी आपसमा सुनाई नपुग कोर्ट फी वादीबाट दाखिल गर्न लगाई अचल सम्पत्ति जग्गाको दर्ता बुझी नियमानुसार पेस गर्नु भन्ने २०५९।५।२ को आदेशानुसार वादी प्रतिवादीबाट दुवै पक्षबाट तायदाती फाँटवारी पेस भई मिसिल संलग्न रहेको ।

एकलौटी खानका लागि तायदाती फाँटवारीमा नदेखाई लुकाई राखेका पैतृक घरहरू फाँटवारीमा समावेश गरिपाउँ भन्ने प्रतिवादी झवरी देवी साहको मिति २०५९।७।१७ को निवेदन मिसिल सामेल 

रहेको ।

वादी प्रतिवादीबाहेकका अन्य व्यक्तिका नाममा जग्गा दर्ता रहेको देखिँदा निजहरूलाई अ.बं. १३९ नं. बमोजिम बुझी पेस गर्नु र प्रतिवादीले मिति २०५९।७।१७ मा पेस गरेको पैतृक घरसम्बन्धी निवेदन वादीलाई अ.बं. १३९ नं. बमोजिम सुनाई कागज गराउनू । साथै गंगाप्रसाद साहका नामको ईनरूवा ९ हाल न.पा. २ को कि.नं. २०२ को दर्ता स्रेस्ता उतार मालपोत कार्यालयबाट झिकाउनु भन्ने २०५९।११।१४ को आदेश ।

प्रतिवादीले निवेदनमा उल्लेख गरेका घरहरू प्रस्तुत मुद्दा परे पछि बनाएका हुँदा र बन्डा गर्नु नपर्ने हुँदा तायदाती फाँटवारीमा नदेखाएको हो भनी वादीले २०५९।१२।१ मा गरेको कागज ।

तायदातीमा उल्लिखित जग्गाको दर्ता स्रेस्ताउतार प्राप्त भई मिसिल सामेल रहेको र प्रतिवादीको तायदाती फाँटवारीमा उल्लिखित जग्गाको राजीनामा प्रतिलिपिसमेत प्राप्त भएको ।

मेरा नाउँमा दर्ता कायम रहेको जिल्ला सुनसरी, नरसिंह  गाउँ विकास समिति, वडा नं. ८क कि.नं. २७ को ०–२–७ जग्गा सगोलको आर्जनको हुँदा बन्डा लाग्ने हो भन्ने शिवनारायण साहु तेलीले २०५९।१२।२३ मा अ.बं १३९ नं. बमोजिम गरेको बयान ।

म नाबालक हुँदै २०४३ सालमा मेरा पिताले सालिग्राम रौनियारबाट बसन्तपुर ९क कि.नं. १६६ को ०–३–० जग्गा खरिद गरी मेरा नाममा राखी दिनुभएको जग्गा बाबु सरजुगको निजी आर्जनको हो र हाल इनरूवा न.पा. बडा नं. २ कि.नं. २०२ को ०–१–० जग्गा मेरा पिता सरजुगले भारत बास्मतियाअन्तर्गतको अंश भागको जग्गा विपक्षीमध्ये महावीरकी पत्नी जागेश्वरी देवीलाई राजीनामा गरी सो रूपैयाँले खरिद गरी दिनुभएको मेरा बाबुको निजी आर्जनको हुँदा सोबाट वादीहरूले अंश पाउने होइन भनी अ.बं. १३९ नं. बमोजिम बुझिएका गंगाप्रसाद साहुले गरेको बयान ।

मेरा नाउँमा दर्ता रहेको भोक्राहा गाउँ विकास समिति कि.नं. २१३ को १–०–० जग्गा र ऐ. कि.नं. २१४ को ०–६–६ जग्गा मेरा बाबु मोही नारायण साहुले आफ्नो रूपैयाँबाट खरिद गरी मेरा नाउँमा राखिदिनुभएको मेरो आफ्नो दाइजोको जग्गा हुँदा वादी प्रतिवादी कसैको अंश हक लाग्ने होइन भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएकी सुकमेर कुमारी साहुले गरेको बयान ।

यसमा अ.बं. १३९ नं. बमोजिमको म्यादमा हाजिर भई बयान गर्नेमध्येका गंगाप्रसाद साहुले तायदाती फाँटवारीमा उल्लिखित आफ्नो नामको जग्गा बाबु सरजुग साहुले अंश पाएको जग्गा बेची खरिद गरेको र नीजि आर्जनको जग्गा हो वादीको अंश लाग्ने होइन भनी बयान गरेको र सुकुमेर कुमारी साहुले उक्त जग्गा मेरो दाइजोको हुँदा एकलौटी हकको जग्गा हो बन्डा गर्नुपर्ने होइन भनी बयान गरेको देखिँदा निजहरूलाई कारणी सरह तारेखमा राख्नु भन्नेसमेतको मिति २०५९।१२।२४ को आदेशानुसार निज गंगाप्रसाद साहु र सुकमेर कुमारी साहु कारणी सरह तारेखमा रहेका ।

यसमा प्रतिवादीले फाँटवारीमा नदेखाएको ट्रेक्टर र मोटर साइकल बन्डा छुट्याई पाउँ भनी वादीले दिएको निवेदन व्यहोरा प्रतिवादीलाई सुनाई निस्सा मिसिल सामेल राख्नु भन्ने मिति २०६०।३।८ को आदेश ।

मेरा बाबु सरजुग साहुले २०२० सालमा खरिद गरेको ५–१२–१५ जग्गा र मेरी श्रीमती सुकमेर कुमारीका नामदर्तासमेतको जग्गा कृषि विकास बैंङ्कमा धितो राखी श्रीमती सुकमेर कुमारीका नामबाट ट्रेक्टर खरिद गरी लिएकाले बन्डा गर्नुपर्ने होइन साथै मेरो भाइ गंगाप्रसाद साहुको विवाहमा दहेज दिएको मोटरसाइकल निजको एकासगोलको दाजु म रामप्रसाद साहुको नाउँमा खरिद गरी दिएकाले बन्डा गर्नु नपर्ने हुँदा तायदातीमा नदेखाएको हो भनी प्र.वा. रामप्रसाद साहुले उक्त निवेदन सुनी गरेको कागज ।

वादी प्रतिवादीका बाबु झपटुका नाममा नामसारी भइआएको सोहीअनुसार बाबु झपटुले ७ नं. फाँटवारी भरेको जग्गा पैतृक देखिएको, प्रतिवादी सरयुगले २०२० सालमा राजीनामा गराउँदा निज मानु छुट्टिई बेगल बसेको नदेखिँदा प्रमाण ऐन, २०३१ को दफा ६ अनुसार समेत सगोलको सम्पत्ति रहेको अनुमान गर्नुपर्ने हुँदा सो जग्गा सगोलको देखिन्छ ।  त्यसपछि प्रतिवादी आफ्नो बाबुबाट मानु बेगल गरी अलग बसेको कुरा छुट्टै भरेको ७ नं. फाँटवारीबाट र निर्वाचन प्रयोजनको लागि प्रकाशित नामावलीमा वादीहरूको घर नं. १५८ र प्रतिवादीको घर नं. १११ रहेबाट र प्रतिवादीबाट वादी महावीरकी पत्नीको नाउँमा भारतको जग्गाको हक हस्तान्तरण भएको लिखत र गा.वि.स.को सिफारिससमेतबाट स्पष्ट 

हुन्छ । प्रतिवादी जेठो नभई महावीर जेठो व्यक्ति भएकोले प्रतिवादीले सगोलको सम्पत्तिबाट जग्गा खरिद गरी बढे बढाएको मान्न मिलेन । यस अवस्थामा निजले तथा निजका छोरा स्वास्नी बुहारीले निजीरूपबाट खरिद गरेको सम्पत्ति निजहरूको निजी सम्पत्ति देखिँदा ऋणका हकमा साहुको दाबी परेका बखत ठहरेबमोजिम हुने नै हुँदा पैतृक जग्गा र प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित जग्गा सम्पत्तिमध्ये २०२१ सालमा मानो छुट्टिनुभन्दा अगाडि २०२० सालमा प्रतिवादी सरजुग साहुका नाममा खरिद भएको जग्गाबाट सम्म ३ भागको २ भाग बन्डा पाउने 

देखिन्छ । सोबाहेक सरजुग साह र निजका परिवारका अन्य सदस्यहरूको नाउँमा रहेको सम्पत्ति अलग भई छुट्टै व्यवहार गरेपछि आर्जन गरेको सम्पत्ति देखिँदा अरूमा बन्डा लाग्न सक्तैन भन्ने व्यहोराको सुरू सुनसरी जिल्ला अदालतको मिति २०६०।३।३० को फैसला ।

फिराद परेको २०५८।५।१४ को मितिको अघिल्लो दिनलाई मानु छुट्टिएको मिति कायम गरेको सुरू जिल्ला अदालतको मिति २०५९।५।२ को आदेश यथावत् छँदै प्रतिवादी २०२१ सालदेखि छुट्टै बसेको भनी भएको फैसला अन्तिम आदेशविपरीत 

छ । ने.का.प. २०४९ अंक १ नि.नं. ४४६१ को मुद्दामा मानु छुट्टिएको पारित लिखत हुनुपर्छ भनी सिद्धान्त प्रतिपादित छ । प्रमाण ऐन, २०३१ को दफा ६(क) को अनुमान सो ऐनको दफा २९ बमोजिम अन्यथा गर्ने दायित्व प्रतिवादीबाट पूरा हुन सकेको छैन । ने.का.प. २०३२ को पृष्ठ ८९ मा प्रकाशित नि.नं. ९००, ऐ. २०५१ पृष्ठ ९१२ मा प्रकाशित नि.नं. ५००९, ऐ. २०५५ अंक ६ मा प्रकाशित नि.नं. ६५५३, ऐ. २०५३ अंक ५ नि.नं. ६१९४ र ऐ. अंक ६ नि.नं. ६२०८ को नजिरले पनि सगोलको धनमाल बन्डा गर्नु सिद्धान्त प्रतिपादन गरेको छ । प्रतिवादी गंगा प्रसादले सुरू अदालतमा बयान गर्दा निजका नाम दर्ताको कि.नं. १६६ र २०२ को जग्गा बाबुले खरिद गरी दिएको बाबुको निजी आर्जनको सम्पत्ति हो भनी जिकिर लिएको, तथा सुकुमेर कुमारीको नाम दर्ताको कि.नं. २१३,२१४ को जग्गा बाबु मोही नारायणले खरिद गरी मेरा नाममा राखिदिएको भन्ने जिकिर लिएकि छन तर त्यसको प्रमाण पेस गर्न सकेको छैन । त्यस्तै २०२० सालमा खरिद भएको जग्गासमेत धितो राखी सुकुमेर कुमारीका नाममा खरिद भएको ट्रेक्टर तथा रामप्रसादका नाममा दर्ता भएको मोटरसाइकलसमेत बन्डा लगाएको छैन । शिव नारायण साहको नाममा २०३५।११।२१ मा खरिद भएको जग्गा बन्डा लाग्ने ठहर गर्दै विपक्षी झवरी देवीका नाम दर्ताको कि.नं. १४६ र २१० समेतका विपक्षीको तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्ति बन्डा लाग्ने ठहर गर्नुपर्नेमा सो नगरी हामीलाई हराएको हदसम्मको सुरू फैसला बदर गरी हाम्रो जिकिर अनुरूप न्याय पाउँ भन्ने व्यहोराको वादी महावीर साहुसमेतको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनपत्र ।

मेरो पतिले २०१८ सालमा भिन्न भई छुट्टै व्यवहार गरी छुट्टै बसी आफ्नो निजी ज्ञानसीप प्रयासबाट आर्जन गरी कमाई गरी २०२० सालमा खरिद गरेको जग्गा हुँदा अन्य अंशियारलाई अंश दिनु नपर्ने सम्पत्ति बन्डा लाग्छ भन्नेसम्मको सुरू फैसला बदर गरी इन्साफ गरिपाउँ भन्ने व्यहोराको झवरी देवीको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनपत्र ।

वादी र प्रतिवादीसमेतको पुनरावेदन परेको देखिँदा दुवै पक्षलाई एक अर्काको पुनरावेदन परेको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६१।३।३ को 

आदेश ।

७ नं. फाँटवारी, भोग बिक्री व्यवहारसमेतबाट प्रतिवादीहरू मिती २०५८।५।१३ मा मात्र छुट्टिएको भन्न नमिल्ने भई २०२१ सालमा नै प्रतिवादी सरजुग भिन्न भएको देखिन आएपछि २०२१ साललाई मानो छुट्टिएको मिति कायम गरेको सुरू फैसला मिलेकै 

देखियो । तायदाती फाँटवारीमा उल्लिखित जग्गा सम्पतिमध्ये २०२१ सालको मानो छुट्टिनुभन्दा अगाडि २०२० सालमा सरजुग साहुका नाममा खरिद भएको जग्गाबाट सम्म तीन भागको दुई भाग बन्डा लाग्ने र सोबाहेक सरजुग साहु र निजका परिवारका अन्य सदस्यहरूका नाउँमा रहेको सम्पति अलग भइसकेपछि आर्जन गरेको देखिँदा अरूमा बन्डा लाग्न नसक्ने ठहर्‍याएको सुनसरी जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत, विराटनगरको मिति २०६१।८।१३ को फैसला ।

वादी प्रतिवादीबीच मुख नमिलेको अवस्थामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने अवस्थामा एकपटक मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरी सकेपछि सोविपरीत २०२१ साललाई मानो छुट्टिएको मिति कायम गर्न मिल्दैन । प्रतिउत्तरमा पैतृक सम्पत्ति बन्डा गर्न बाँकी छ भनी जिकिर लिएको अवस्था छ । २०१८ सालमा छुट्टिई भिन्न भएको कुनै प्रमाण प्रतिवादीबाट पेस भएको छैन । यस्तो अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६ (क) बमोजिम उक्त सम्पत्ति संगोलको सम्पत्ति मान्नु पर्ने हुन्छ । मानो छुट्टिएको लिखत रजिस्ट्रेसन पारित नभएको अवस्थामा प्रतिवादी तथा निजका स्वास्नी छोरा बुहारी नाम दर्ताको सम्पत्तिबाट हामीले अंश नपाउने गरी भएको पुनरावेदन अदालतको फैसला अंशबन्डाको महलको २, १८ र ३२ नं. तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरी उक्त फैसला बदर गरी इन्साफ पाउँ भन्ने व्यहोराको वादीको यस अदालतमा परेको निवेदनपत्र ।

हामी वादी प्रतिवादीका पिता एवं ससुरा झपटु साहुकै जीवनकालमा मिति २०१८।७।१५ मा वादीहरू विन्देश्वरी साहु र महावीर साहुबाट सरजुग साहु छुट्टिई भिन्न भई बसेको अवस्थामा व्यापारबाट आर्जित रूपैयाँबाट २०२० सालमा बरही झाँगडबाट टप्पुको ५–१०–८ जग्गा राजीनामा गरी परिवार पाल्दै आएको तथ्य २०२१ सालमा भरेको ७ नं. फाँटवारीबाट पुष्टि हुन्छ । बाबु बाजेकै पालादेखि भारत अररिया जिल्लाअन्तर्गतको अचल जग्गा पहिलेनै बन्डा गरी आफ्नो हक जति सरजुग साहुबाट विपक्षी महावीर साहुले आफ्नी पत्नी जागेश्वरी देवी साहुका नाममा राजीनामा गराई लिएको पाइन्छ । मानो नछुट्टिई सगोलमा बसेको भए अंशियारबीच राजीनामा गराई सम्पत्ति लिनु दिनुपर्ने अवस्था हुँदैनथ्यो । ने.का.प. २०४८ पृष्ठ ६३३ नि.नं. ४३८८ मा अंशियार अंशियारबीच सुक्रीबिक्री भएको देखिँदा अंश पाउँ भन्ने कथनसँग सहमत हुन नसकिने भन्ने नजिरसँग सो फैसला बाझियो । मानो छुट्टिएपछि २०२० सालमा खरिद गरेको सम्पत्ति पैतृक सम्पत्तिबाट नै बढे बढाएको हो भनी वादीले पुष्टि गर्न सकेको पाइँदैन । ने.का.प. २०४६ नि.नं. ४०१४ मा पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्तविपरीत फैसला भयो । वादी प्रतिवादीको घर नं. क्रमशः १५८ र १११ भई अलग अलग बसी व्यवहार गरेको यस्तोमा ने.का.प. २०४५ नि.नं. ३६०२ मा प्रतिपादित सिद्धान्तअनुसार अंशबन्डा गर्न मिल्दैन । उपर्युक्त प्रमाणहरू एवं सर्वोच्च अदालतबाट प्रतिपादित विभिन्न कानूनी सिद्धान्तसमेतको आधारमा २०२० सालमा सरजुग साहुले आफ्नो निजी आर्जनबाट खरिद गरेको अचल सम्पतिबाट समेत ३ भागको २ भाग वादीले अंश भाग पाउने गरी भएको सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी प्रतिउत्तर जिकिर एवं पुनरावेदन जिकिरबमोजिम इन्साफ पाउँ भन्ने व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदनपत्र ।

यसमा फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने भन्ने सिद्धान्त कायम भएको ने.का.प. २०५३, अकं ८, नि.नं. ६२५२, पृष्ठ ६६६ मा ७ नं. फाराम बेग्ला बेग्लै भर्दैमा अंश भइसकेको भन्न नमिल्ने भनी सिद्धान्त कायम भइरहेकोमा मानो छुट्टिएको मितिसम्बन्धमा मुख नमिलेको र प्रमाण नभएको अवस्था देखिई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती माग गरेपश्चात २०२० सालमा मानो छुट्टिएको भन्ने अर्थ गरी सुरूबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला प्रमाणको मूल्याङ्कनमा गम्भीर त्रुटि भई सर्वोच्च अदालतबाट ने.का.प.२०५०, अक.१, नि.नं.४६७९ को मुद्दामा कायम भएको नजिरसमेतको विपरीत भई अ.वं. १८४क नं., प्रमाण ऐन, २०३१ को दफा ५४,अंशबन्डाको ३० नं. को त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) को आधारमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेतको यस अदालतको मिति २०६३।३।२ को आदेश ।

विपक्षी वादीसँगको अंशदर्ता मुद्दामा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई विचाराधीन रहेकै अवस्थामा सो मुद्दामा मेरो पति तथा श्रीमतीको नाममा दर्ता भएको क्रमशः जिल्ला सुनसरी नरसिहं गाउँ विकास समिति, वडा नं. ७ को कि.नं. ९ को ५–१२–१५ तथा ऐ.भोक्राहा गाउँ विकास समितिको कि.न.२१३ को १–०–० र ऐ. कि.नं. २१४ को ०–६–६ जग्गा कृषि विकास बैङ्क शाखा कार्यालयलौकही, सुनसरीले मिति २०६४।१।३ मा लिलाम गर्न लागेकोले उक्त लिलाम रोक्का गरिपाउँ भन्नेसमेतको झवरी देवी साहुको मिति २०६३।१२।२२ को निवेदन ।

यसमा अन्तरकालीन आदेशका निम्ति परेको निवेदन पेस नगरी मुद्दा नै पेस गरेको देखिएकोले निवेदनसमेत पेसीमा चढाई पेस गर्नु भन्ने यस अदालतको मिति २०६३।१२।२३ को आदेश ।

प्रस्तुत मुद्दामा कृषि विकास बैङ्क संलग्न रहेको वा पक्ष रहेको भन्ने नदेखिएको अवस्थामा पक्ष नै नभएको कार्यालयबाट डाँक लिलाम गर्न लागेको विषयमा प्रस्तुत निवेदनबाट अन्तरकालीन आदेश जारी गरी डाँक लिलाम रोक्न पर्ने अवस्था नहुँदा मागबमोजिमको आदेश जारी गर्नु परेन कानूनबमोजिम गर्नु भन्नेसमेतको यस अदालतको मिति २०६३।१२।२५ को आदेश ।

यसमा तायदाती माग गर्दा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी माग गरिएकोमा फैसला गर्दा २०२१ साललाई मानो छुट्टिएको मिति कायम गरी निर्णय गरेको देखियो । यी निवेदक प्रतिवादीले २०१८ सालमा नै मानो छुट्टिएको जिकिर लिएको अवस्थामा पुनरावेदन अदालतको फैसला विरोधाभाषपूर्ण देखिएको र लगाउको दे.पु.नं. ९०४९ को मुद्दामा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भइरहेको स्थितिबाट समेत प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसलामा अ.बं.१८४क नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । लगाउको दे.पु.नं ९०४९ को मुद्दासमेत साथै राखी पेस गर्नु भन्ने यस अदालतको मिति २०६५।१।१८ को आदेश ।

यी वादी प्रतिवादीको पुस्तेवारी र नाता सम्बन्धमा कुनै विवाद नभई निजहरूको मुख मिलेको छ । वादीहरूले अंशबन्डा नै नभएकोले आफूले पाउनु पर्ने अंश भाग दिलाई पाउँ भनी मुख्य दाबी लिएको देखिन्छ भने प्रतिवादीले २०१८ सालमा नै छुट्टिई भिन्न भई बसेकाले अंश दिनु पर्ने होइन भनी जिकिर लिएको देखिन आउँछ । कानूनबमोजिम निजहरूबीच बन्डापत्र भएको वा मानो छुट्टिएको लिखत पारित भएको नदेखिनुका साथै सोसम्बन्धी घरसारमा कुनै लिखत भएको भन्नेसमेत निजहरूले जिकिर लिन सकेको 

छैन । बन्डा भएको वा मानो छुट्टिएको मितिका सम्बन्धमा वादी प्रतिवादीबीच मुख नमिली विवाद सिर्जना भएको अवस्थामा फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने भन्ने निर्धारित र निश्चित व्यवस्थाका सम्बन्धमा विवाद गरिरहनु पर्नेसमेत देखिँदैन । सुरू जिल्ला अदालतले तायदाती फाँटवारी माग्ने गरी आदेश गर्दा सोही मार्गदर्शित प्रावधान अवलम्बन गरी फिराद परेको दिन अर्थात् मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरी सो को अघिल्लो दिनसम्मको बन्डा गर्नुपर्ने चल अचल सम्पत्तिको वादी प्रतिवादीबाट तायदाती फाँटवारी माग गरेको पनि पाइन्छ र उक्त मितिका सम्बन्धमा दुवै पक्षले चित्त बुझाई सो आदेश भई बसेको देखिएको अवस्थामा कुनै तथ्यपूर्ण र वस्तुनिष्ठ आधार कारणसमेत उल्लेख नै नगरी पछि फैसला गर्दा अदालतले सो लाई परिवर्तन गरी २०२१ साललाई मानो छुट्टिएको मिति कायम गरेको युक्तिसङ्गत र तथ्यपरक नभई आधारहिनसमेत देखिन आउँछ ।

प्रतिवादी सरयुग साहु र निजका बाबु स्व. झपटु साहुले २०२१ साल पछि मात्र भूमिसम्बन्धी ऐन, २०२१ को प्रयोजनको निमित्त ७ नं. फाँटवारीको लगत अलग-अलग भरेको देखिन्छ र सोही ७ नं. फारामलाई आधार मानी मानो छुट्टिएको मिति कायम गरेको छ। तर कुनै अंशियार वा निजका बाबु छोराले ७ नं. फाँटवारी अलग-अलग भरेपनि अन्य प्रयोजनका लागि भरेको उक्त फाँटवारीलाई निजहरू छुट्टि भिन्न भई अंशबन्डासमेत भएको भनी अकाट्‍य प्रमाणको लिखतको रूपमा स्वीकार गर्न मिल्ने हुँदैन । अंशियारहरूबीच पारित बन्डापत्र वा व्यवहार प्रमाणबाट छुट्टिएको देखिने अन्य आधारभूत र निश्चयात्मक प्रमाणको अभावमा यस्तो ७ नं. फाँटवारी अंशबन्डाको प्रयोजनका लागि प्रमाण हुन सक्दैन । यस अदालतबाट सहजराम पासीसमेत विरूद्ध खबुनी पासीनसमेत भएको (ने.का.प. २०५३, नि.नं. ६२५२, पृष्ठ ६६६, अंक ८) अंश मुद्दामा तत्‍सम्बन्धमा सिद्धान्तसमेत प्रतिपादित भइसकेको अवस्थामा ७ नं. फाँटवारीलाई सदासर्वदा अंशबन्डाको अकाट्‍य प्रमाणको रूपमा ग्रहण गरी २०२१ साललाई मानो छुट्टिएको मिति कायम गरेको निर्णय स्थापित न्यायिक परिपाटी तथा मान्यताविपरीत रहेको 

देखिन्छ ।

जहाँसम्म सुरू तथा पुनरावेदन अदालतको फैसलामा निर्वाचन आयोगद्वारा २०५१ मा प्रकाशित मतदाता नामावलीमा वादी प्रतिवादीहरूको घर नम्बर, निजहरूको नाउँ फरक फरक स्थानमा रहेको देखाइएकोलाई वादी प्रतिवादी छुट्टि भिन्न भई बसेको भनी आधार लिएको छ । सोसम्बन्धमा विचार गर्दा कुनै निर्वाचनमा मतदाताको नामावली तयार गर्दा मतदाता हुन उमेर, योग्यता, बासस्थान तथा घर सङ्केत नम्बर उल्लेख गरिनुपर्ने भन्ने निर्वाचन नियमावलीको आवश्यकताबमोजिम संकलित भएको तथ्य र व्यहोरालाई निर्वाचनको प्रयोजनका लागि मात्र उपयोग हुनुपर्ने हुँदा सोही निर्वाचन प्रयोजनको लागि मात्र सो घर नं. र वडा नं. समेत पृथक भएको मान्नु पर्ने 

हुन्छ । मतदाता नामावलीमा अलग-अलग ठाउँमा बसोबास रहेको वा छुट्टाछुट्टै नाम उल्लेख हुँदैमा सो नामावली अंशियारहरूबीच अंशबन्डा भइसकेको भनी अकाट्‍य प्रमाणको स्वरूप ग्रहण गर्न सकिने हुँदैन । पारित भएको मानो छुट्टिएको लिखत वा अन्य यस्तै प्रकारको विवाद हुन नसक्ने लिखत वा कानूनी कारवाहीद्वारा छुट्टिएको देखिने निर्विवाद तथ्यको अभावमा ७ नं. फाराम भरेको वा मतदाता नामावलीमा पृथक-पृथक घर बसोबास भएको जस्ता कुरालाई मानो छुट्टिएको मिति निर्धारण गर्ने अकाट्‍य प्रमाणको रूपमा ग्रहण गर्न सकिने हुँदैन । यसरी वादी प्रतिवादी छुट्टि भिन्न बसेको भन्ने बन्डापत्र वा व्यवहार प्रमाण जस्ता वस्तुनिष्ठ सबुत प्रमाणसमेत नभएको अवस्थामा वादीहरूले अंशबन्डा प्राप्त गरी वा मानो छुट्टिई पृथकरूपमा बसी आफ्नो खति उपति आ-आफ्नो गरी बसेका छन् भनी मान्न मिल्ने हुँदैन। अन्यथा प्रमाणित गर्ने प्रतिवादीको दायित्व भएकोमा सो दायित्व प्रतिवादीले पूरा गरेको नदेखिँदा वादी प्रतिवादी अंशियार भएको तथ्यमा समेत विवाद नभएको अवस्थामा फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने र सो को अघिल्लो दिनसम्मको सगोलको सम्पत्तिबाट वादीले प्रतिवादीबाट अंश भाग पाउने देखिन्छ ।

जहाँसम्म भारत अररिया जिल्लामा रहेको अचल सम्पत्ति जति वादी महावीर साहुले आफ्नी पत्नी जागेश्वरी देवी साहुका नाउँमा सरयुग साहुका नामबाट राजीनामा पास गराई हक हस्तान्तरण गरी लिएको अवस्थामा मानो छुट्टिएको होइन भनी भन्न न्यायोचित नहुने भन्ने पुनरावेदक प्रतिवादीतर्फका कानून व्यवसायीको जिकिर छ । सोतर्फ हेर्दा उक्त हक हस्तान्तरण गर्ने कार्य नेपाल सरहद बाहिर भएको तथा सो सम्बन्धी कुनै प्रमाणिक लिखतका आधारभूत प्रमाणसमेत पुनरावेदकबाट प्रस्तुत हुन नसकेको अवस्थामा निश्चयात्मक, वस्तुनिष्ठ एवं तथ्यपूर्ण लिखत प्रमाणको अभावमा विद्वान कानून व्यवसायीको उक्त बहस जिकिरसँग सहमत हुन सकिएन ।

अब तायदातीमा उल्लिखित सम्पत्ति जग्गामध्ये जिल्ला सुनसरी बसन्तपुर गाउँ विकास समिति वडा नं. ९(ख) कि.नं. १४६ को ४-३-१२१/२ जग्गा आफ्नो पेवा रकमबाट खरिद गरेको भनी सरयुग साहको पत्नी झवरी देवी साहुले जिकिर लिएपनि त्यस्तो सम्पत्तिलाई पेवा भन्दैमा सो स्थापित हुने नभई उक्त जग्गा पेवा रकमबाट खरिद गरेको वस्तुनिष्ठ प्रमाण प्रतिवादीहरूबाट पेस हुन सकेको छैन । पेवा भन्नाले स्त्री अंशधनको ४ नं. बमोजिम लोग्ने वा लोग्नेपट्टिका अंशियारले सबै अंशियारको मन्जुरीको लिखत गरी दिएको र लोग्नेपट्टिका अरू नातेदार वा इष्टमित्रले दिएको चल अचल र सोबाट बढे बढाएको सम्पत्ति पेवा ठहर्छ भन्ने व्यवस्थाबमोजिम यी प्रतिवादी झवरी देवीले लोग्नेपट्टिका कुन अंशियार वा नातेदारबाट सो सम्पत्ति प्राप्त गरेको हो सो कुरा भन्न र तत्‍सम्बन्धी लिखत भए सोसमेत पेस गर्न सकेको पाइँदैन । उक्त कि.नं. १४६ को लिखतमा सो कुरा उल्लेख हुनुपर्नेमा सो को अभाव देखिँदा सो सम्पत्ति पेवाबाट पाएको देखिने अवस्थाको अभावमा सो सम्पत्तिमा समेत बन्डा नलाग्ने भन्ने जिकिर मनासिव एवं कानून अनुकूल देखिएन ।

अतः उपर्युक्त विवेचित आधार प्रमाणसमेतबाट यी वादी प्रतिवादीहरू २०२१ सालमा मानो छुट्टिएको भन्ने देखिने अवस्था तथ्यपरकरूपमा पुष्ट्‍याई नभएको अवस्थामा अघि फिराद परेको दिनलाई मानो छुट्टिएको भनी कायम गरी पछि २०२१ साललाई मानो छुट्टिएको मिति कायम गरी फैसला गर्नुपर्ने कानूनबमोजिम र युक्तिसंगत अवस्था र कारण नदेखिँदा सो मितिपश्चात आर्जन गरेको सम्पत्ति बन्डा नलाग्ने भनी सुरू सुनसरी जिल्ला अदालतबाट भएको फैसला तथा सो लाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६१।८।१३ को फैसला सो हदसम्म त्रुटिपूर्ण देखिएकोले उक्त फैसलाहरू केहि उल्टी भई फिराद परेको दिन अर्थात् मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिनसम्मको बन्डा गर्नुपर्ने तायदाती फाँटवारीमा उल्लिखित प्रतिवादीका अन्य परिवारका नाममा रहेकोबाहेकका सम्पत्तिलाई ३ भाग लगाई सो ३ भागको २ भाग वादीहरूले अंश पाउने ठहर्छ भन्ने यस अदालतको संयुक्त इजलासबाट मिति २०६६।७।११ मा भएको फैसला ।

सम्मानित अदालतको संयुक्त इजलासबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी फैसला भएपनि उक्त फैसलामा अन्तिम हरफमा प्रतिवादीका अन्य परिवारका नाममा रहेकाबाहेकका सम्पत्तिलाई मात्र बन्डा गर्ने भनी उल्लेख गरिएको वाक्यांश उक्त फैसलाको मर्म र भावनाविपरीत छ । सम्मानित अदालतबाट २०२१ साललाई मानो छुट्टिएको मान्ने कि फिराद परेको दिनलाई मान्ने भन्ने प्रश्नको बारेमा व्याख्या गरी फिराद परेको मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरेपश्चात प्रतिवादी र निजका परिवारको नाममा रहेका अन्यथा प्रमाणित हुन नसकेका जुनसुकै सम्पत्ति स्वतः बन्डा लाग्नुपर्ने स्पष्ट छ । फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरिसकेको अवस्थामा के कति कारणबाट प्रतिवादीका अन्य परिवारको सम्पत्ति बन्डा नलाग्ने हो सो कुरा उल्लेखनै नगरी भएको फैसला ने.का.प. २०४१ अंक ९ पृष्ठ ७६२ मा प्रतिपादित सिद्धान्त विपरीत छ । विपक्षीले मिति २०५९।७।१२ मा पेस गरेको तायदातीमा उल्लेख भएको विपक्षीको बुहारी सुकुमेर कुमारीका नामको जिल्ला सुनसरी भोक्राहा गा.वि.स. वडा नं. ४(छ) कि.नं. २१३ को १-०-० जग्गा मिति २०४५।१०।२१ र ऐ. कि.नं. २१४ को ०-६-६ जग्गा मिति २०४६।२।३२ मा राजीनामाबाट आएको देखिन्छ । त्यस्तै विपक्षीका कान्छा छोरा गंगाप्रसादका नामको जिल्ला सुनसरी इनरूवा न.पा. वडा नं. २ को कि.नं. २०२ को ०-१-० जग्गा मिति २०४६।३।१ मा र ऐ. बसन्तपुर गा.वि.स. वडा नं. ९(क) कि.नं. १६६ को ०-३-० जग्गा मिति २०४३।४।२४ मा राजीनामाबाट आएको देखिन्छ । उक्त जग्गाहरू फिराद परेको मितिभन्दा अगावै पैतृक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिबाट खरिद गरी लिएको सम्पत्ति रहेको कुरा प्रमाणित भइरहेको छ । उक्त सम्पत्ति निजी आर्जनको भनी विपक्षीहरूले जिकिर लिन पनि नसकेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम अन्यथा प्रमाणित नभएसम्म उल्लिखित सम्पत्तिमा हाम्रो पनि अंश हक लाग्ने स्पष्ट हुँदाहुँदै बिना कुनै आधार एवं कारण विपक्षीका परिवारको सम्पत्तिबाहेक गरी भएको फैसला प्रमाण ऐन, २०३१ को उक्त दफा ६(क), अंशबन्डाको १८ नं. तथा ने.का.प. २०५२ अंक २ नि.नं. ५०४७ पृष्ठ ११४, ने.का.प. २०५७ अंक १०/११ नि.नं. ६९५६ पृष्ठ ७९३ र ने.का.प. २०५३ अंक ११ नि.नं. ६२९३ पृष्ठ ८०४ मा प्रतिपादित सिद्धान्तविपरीत छ । अतः विपक्षीका छोरा तथा बुहारीका नामका उल्लिखित जग्गा हामीलाई बन्डा नलगाई ति सम्पत्तिहरूलाई बाहेक गरी सम्मानीत अदालतको संयुक्त इजलासबाट भएको फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकन गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको वादीहरूको यस अदालतमा पर्न आएको निवेदन ।

यसमा २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरिए पनि प्रतिवादीका छोरा गंगाप्रसाद साहुको नाममा जिल्ला सुनसरी इनरूवा ९(क) हाल सुनसरी न.पा. वडा नं. २ कि.नं. २०२ को जग्गा मिति २०४६।३।१ मा, ऐ. बसन्तपुर गा.वि.स. वडा नं. ९(क) कि.नं. १६६ को जग्गा मिति २०४३।४।२४ मा र प्रतिवादीका छोरा तथा बुहारी सुकुमेर कुमारीको नाममा ऐ. भोक्राहा गा.वि.स. वडा नं. ४(छ) कि.नं. २१३ को जग्गा मिति २०४५।१०।२१ र कि.नं. २१४ को जग्गा मिति २०४६।२।३२ मा राजीनामाको लिखतबाट खरिद गरी लिएका जग्गाहरू बन्डा गरिएको पाइएन । निजका छोरा बुहारीलाई जिल्ला अदालतले अ.बं. १३९ नं. बमोजिम बुझी कारणी सरह मानी फैसला भएको र फिराद परेको अघिल्लो मिति अर्थात् २०५८।५।१३ लाई मानो छुट्टिएको मिति स्वीकार गरेपछि सो मितिपूर्व नै राजीनामाबाट आर्जन भई प्रतिवादीका सगोलका छोरा बुहारीका नाममा रहेका उक्त सम्पत्तिहरू बन्डा नहुने ठहर गरी यस अदालतबाट मिति २०६६।७।११ मा भएको फैसलामा ने.का.प. २०४१, अंक २, नि.नं. १८९३, पृष्ठ ९३ र ने.का.प. २०५७, अंक १०/११, नि.नं. ६९५६, पृष्ठ ७९३ मा प्रतिपादित कानूनी सिद्धान्त प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) अनुरूप पुनरावलोकन गर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतबाट मिति २०६८।४।८ मा भएको 

आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहालले प्रस्तुत मुद्दामा मानो छुट्टिएको मिति फिराद परेको मिति २०५८।५।१३ कायम भएको यस अदालतको संयुक्त इजलासको फैसलालाई प्रतिवादीले स्वीकार गरिबसेको अवस्थामा सो मितिसम्मको सगोलको सम्पत्ति बन्डा गर्नुपर्ने हुन्छ । प्रतिवादी सरयुगको छोरा तथा बुहारीको नाममा रहेका जग्गाहरू निजहरूको निजी आर्जन समेतको बन्डा नलाग्ने सम्पत्ति भएको कुनै प्रमाण गुज्रन आएको छैन । यस अवस्थामा परिवारभित्रका जो सुकैको नाममा राखे राखिएको सम्पत्ति बन्डा नगरेको संयुक्त इजलासको फैसला त्रुटिपूर्ण भएकोले सो हदसम्म उक्त फैसला उल्टी गरी निजहरूको नाममा दर्ता रहेको जग्गासमेत बन्डा गरिपाउँ भनी र प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री तुलसीराम निरौलाले वादीहरूको अंशियार भनेको प्रतिवादी सरयुग मात्र भएका र प्रतिवादीहरू गंगाप्रसाद र सुकुमेर वादीहरूका अंशियार नरहेकाले निजहरूको सम्पत्तिमा प्रमाण ऐन, २०३१ को दफा ६(क) को अनुमान आकर्षित हुँदैन । यसमा संयुक्त इजलासले न्यायसम्मत फैसला गरेकोले उक्त फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

यसमा झपटुका तीन छोरामा वादी महावीर जेठो, प्रतिवादी माहिलो र वादी विन्देश्वरी कान्छो छोरा भई वादी प्रतिवादी दाजुभाइ नाताका 

देखिन्छन् । आफूहरूले ३ भागको २ भाग अंश पाउनुपर्ने भन्ने वादीहरूको जिकिर रहेको छ भने बाबु झपटु साह जीवित छँदै २०१८ सालमा यी वादीहरू र बाबु आमासमेतबाट मेरो भागमा पर्ने सम्पत्ति बन्डा छुट्याई मानु छुट्टिई भिन्न बसी साहुको पुँजीबाट धान तोरी, पाटासमेतको काँटा व्यापार गरी आएको रूपैयाँबाट २०२० सालमा बरही झाँगडबाट टप्पुको ५–१०–८ जग्गा राजीनामा गराएको र बाबु झपटु साहुको नाम दर्ताको पैतृक अचल जग्गाबाट मात्र मैले बन्डा छुट्याई लिन बाँकी छ । भूमिसुधार लागू भएपछि २०२२ सालमा आ–आफ्ना हक दर्ता भोगका जग्गाको बाबु झपटु साहुले र म सरजुग साहुले अलगअलग ७ नं. फाँटवारी भरेको तथा बाबुकै पालादेखि भारत अररिया जिल्लाको जग्गा पहिले नै बन्डा गरी आफ्नो जग्गा वादी महावीर साहुले निजको पत्नी जागेश्वरी देवी साहुका नाममा राजीनामा गराई लिएका छन् । निजी आर्जनको सम्पत्तिसमेत बन्डा गरी खान सकिन्छ कि भनी झुठ्ठा मुद्दा गरेको हुँदा फुर्सद दिलाई पाउँ भन्ने प्रतिवादीको प्रतिवाद जिकिर पाइन्छ ।

पैतृक जग्गा र २०२१ सालमा मानो छुट्टिनुभन्दा अगाडि २०२० सालमा प्रतिवादी सरजुग साहुका नाममा खरिद भएको जग्गाबाट सम्म ३ भागको २ भाग बन्डा पाउने देखिन्छ । सोबाहेक सरजुग साह र निजका परिवारका अन्य सदस्यहरूको नाउँमा रहेको सम्पत्ति अलग भई छुट्टै व्यवहार गरेपछि आर्जन गरेको सम्पत्ति देखिँदा बन्डा लाग्न सक्तैन भनी सुरू सुनसरी जिल्ला अदालतको मिति २०६०।३।३० को फैसला । त्यसमा चित्त नबुझाई प्रतिवादी गंगा प्रसादको नाममा दर्ता रहेको कि.नं. १६६ र २०२ को जग्गा, सुकुमेर कुमारीको नाम दर्ताको कि. नं. २१३ र २१४ को जग्गा, २०२० सालमा खरिद भएको जग्गासमेत धितो राखि सुकुमेर कुमारीका नाममा खरिद भएको ट्रेक्टर तथा रामप्रसादका नाममा दर्ता भएको मोटरसाइकल र प्रतिवादी झबरी देवीका नाम दर्ताको कि.नं. १४६ र २१० समेत बन्डा गरिपाउँ भनी वादीहरूले र २०२० सालमा खरिद गरेको जग्गा पनि बन्डा गरेको मिलेन भनी प्रतिवादीले पुनरावेदन अदालत, विराटनगरमा पुनरावेदन गरेकोमा पुनरावेदन अदालत, विराटनगरले दुवै पक्षको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्‍याई सुरू फैसला सदर गरेको देखिन्छ ।

उक्त फैसलालाई वादी प्रतिवादी दुवैले चुनौती गरी यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी निवेदन दिएको र दुवैको निवेदनमा निस्सा प्रदान भएको अवस्था छ ।

त्यसमा यस अदालतको संयुक्त इजलासबाट फैसला हुँदाः- 

क) कानूनबमोजिम वादी प्रतिवादीबीच बन्डापत्र भएको वा मानो छुट्टिएको लिखत पारित भएको वा सोसम्बन्धी घरसारमा कुनै लिखत भएको नदेखिएको । बन्डा भएको वा मानो छुट्टिएको मितिका सम्बन्धमा वादी प्रतिवादीबीच मुख नमिली विवाद सिर्जना भएको अवस्थामा फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने भन्ने निर्धारित र निश्चित व्यवस्थाका सम्बन्धमा विवाद गरिरहनु पर्ने देखिँदैन । सुरू जिल्ला अदालतले सोहीबमोजिम फिराद परेको दिन अर्थात् मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरेको र उक्त मितिका सम्बन्धमा दुवै पक्षले चित्त बुझाई बसेको अवस्थामा कुनै तथ्यपूर्ण र वस्तुनिष्ठ आधार कारणसमेत उल्लेख नै नगरी पछि फैसला गर्दा सोलाई परिवर्तन गरी २०२१ साललाई मानो छुट्टिएको मिति कायम गरेको युक्तिसङ्गत र तथ्यपरक नभई आधारहीनसमेत देखिन आउँछ ।

ख) प्रतिवादी सरयुग साहु र निजका बाबु झपटु साहुले भूमिसम्बन्धी ऐन, २०२१ को प्रयोजनको निमित्त ७ नं. फाँटवारीको लगत अलगअलग भरेको देखिन्छ । अंशियारहरूबीच पारित बन्डापत्र वा व्यवहार प्रमाणबाट छुट्टिएको देखिने अन्य आधारभूत र निश्चयात्मक प्रमाणको अभावमा अन्य प्रयोजनका लागि भरेको यस्तो ७ नं. फाँटवारी अंशबन्डाको प्रयोजनका लागि प्रमाण हुन सक्दैन । तत्‍सम्बन्धमा यस अदालतबाट ने.का.प. २०५३ अंक ८ मा प्रकाशित नि.नं. ६२५२ को अंश मुद्दामा सिद्धान्तसमेत प्रतिपादित भइसकेको देखिन्छ ।

ग) त्यसैगरी निर्वाचन आयोगद्वारा २०५१ मा प्रकाशित मतदाता नामावलीमा वादी प्रतिवादीहरूको घर नम्बर, निजहरूको नाउँ फरक फरक स्थानमा रहेको देखाएकोलाई वादी प्रतिवादी छुट्टिई भिन्न भई बसेको भनी सुरू र पुनरावेदन अदालतको फैसलाले आधार लिएको हकमा निर्वाचन नियमावलीको आवश्यकताबमोजिम संकलित भएको तथ्य र व्यहोरालाई निर्वाचनको प्रयोजनका लागि मात्र उपयोग हुनुपर्ने हुँदा सोही निर्वाचन प्रयोजनको लागि मात्र सो घर नं. र वडा नं. समेत पृथक भएको मान्नुपर्ने हुन्छ । पारित भएको, मानो छुट्टिएको लिखत वा अन्य यस्तै प्रकारको विवाद हुन नसक्ने लिखत वा कानूनी कारवाहीद्वारा छुट्टिएको देखिने निर्विवाद तथ्यको अभावमा ७ नं. फाराम भरेको वा मतदाता नामावलीमा पृथक-पृथक घर बसोबास भएको जस्ता कुरालाई मानो छुट्टिएको मिति निर्धारण गर्ने अकाट्‍य प्रमाणको रूपमा ग्रहण गर्न सकिने र अंशियारहरूले अंश प्राप्त गरी वा मानो छुट्टिई पृथकरूपमा बसी आफ्नो खति उपति आ-आफ्नो गरी बसेका छन् भनी मान्न मिल्ने हुँदैन । अतः फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गर्नुपर्ने र सोको अघिल्लो दिनसम्मको सगोलको सम्पत्तिबाट वादीले प्रतिवादीबाट अंश भाग पाउने देखिन्छ ।

घ) भारत अररिया जिल्लामा रहेको अचल सम्पत्ति जति वादी महावीर साहुले आफ्नी पत्नी जागेश्वरी देवी साहुका नाउँमा सरयुग साहुका नामबाट राजीनामा पास गराई हक हस्तान्तरण गरी लिएको अवस्थामा मानो छुट्टिएको होइन भनी भन्न न्यायोचित नहुने भन्ने पुनरावेदक प्रतिवादी तर्फका कानून व्यवसायीको जिकिर छ । सोतर्फ हेर्दा उक्त हक हस्तान्तरण गर्ने कार्य नेपाल सरहदबाहिर भएको तथा सोसम्बन्धी कुनै प्रामाणिक लिखतका आधारभूत प्रमाणसमेत पुनरावेदकबाट प्रस्तुत हुन नसकेको अवस्थामा निश्चयात्मक, वस्तुनिष्ठ एवं तथ्यपूर्ण लिखत प्रमाणको अभावमा विद्वान् कानून व्यवसायीको उक्त बहस जिकिरसँग सहमत हुन सकिएन ।

ङ) कि.नं. १४६ को ४-३-१२१/२ जग्गा आफ्नो पेवा रकमबाट खरिद गरेको भनी सरयुग साहको पत्नी झबरी देवी साहुले जिकिर लिएपनि स्त्री अंशधनको ४ नं. बमोजिम लोग्ने वा लोग्नेपट्टिका अंशियारले सबै अंशियारको मन्जुरीको लिखत गरी दिएको र लोग्नेपट्टिका अरू नातेदार वा इष्टमित्रले दिएको चल अचल र सोबाट बढे बढाएको सम्पत्ति पेवा ठहर्छ भन्ने व्यवस्थाबमोजिम यी प्रतिवादी झवरी देवीले लोग्नेपट्टिका कुन अंशियार वा नातेदारबाट सो सम्पत्ति प्राप्त गरेको हो सो कुरा भन्न र तत्‍सम्बन्धी लिखत भए सोसमेत पेस गर्न सकेको पाइँदैन । उक्त कि.नं. १४६ को लिखतमा पनि सो को अभाव देखिँदा सो सम्पत्ति बन्डा नलाग्ने भन्ने जिकिर मनासिब देखिएन ।

च) अतः जिल्ला अदालतबाट भएको फैसला तथा सोलाई सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६१।८।१३ को फैसला केही उल्टी भई फिराद परेको दिन अर्थात् मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरी सोको अघिल्लो दिनसम्मको बन्डा गर्नुपर्ने तायदाती फाँटवारीमा उल्लिखित प्रतिवादीका अन्य परिवारका नाममा रहेकोबाहेकका सम्पत्तिलाई ३ भाग लगाई सो ३ भागको २ भाग वादीहरूले अंश पाउने ठहर्छ ।

 

२. संयुक्त इजलासबाट फिराद परेको मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरेको अवस्थामा के कति कारणबाट सो मितिभन्दा पहिले प्रतिवादीका अन्य परिवारको नाममा रहेको जग्गाहरू बन्डा नलाग्ने हो सो कुरा उल्लेख नै नगरी भएको फैसला ने.का.प. २०४१ अंक ९ पृष्ठ ७६२ मा प्रतिपादित सिद्धान्तविपरीत छ । प्रतिवादीको बुहारी सुकुमेर कुमारीका नामको कि.नं. २१३ को १-०-० जग्गा मिति २०४५।१०।२१ र ऐ. कि.नं. २१४ को ०-६-६ जग्गा मिति २०४६।२।३२ मा र कान्छा छोरा गंगाप्रसादका नामको कि.नं. २०२ को ०-१-० जग्गा मिति २०४६।३।१ मा र कि.नं. १६६ को ०-३-० जग्गा मिति २०४३।४।२४ मा फिराद परेको मितिभन्दा अगावै पैतृक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिबाट राजीनामा भएको कुरा प्रमाणित छ । उक्त सम्पत्ति निजी आर्जनको भनी विपक्षीहरूले जिकिर लिन नसकेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम अन्यथा प्रमाणित नभएसम्म त्यसलाई बाहेक गरेको फैसला प्रमाण ऐन, २०३१ को उक्त दफा ६(क), अंशबन्डाको १८ नं. तथा ने.का.प. २०५२ अंक २ नि.नं. ५०४७ पृष्ठ ११४, ने.का.प. २०५७ अंक १०/११ नि.नं. ६९५६ पृष्ठ ७९३ र ने.का.प. २०५३ अंक ११ नि.नं. ६२९३ पृष्ठ ८०४ मा प्रतिपादित सिद्धान्तविपरीत रहेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकन गरी न्याय पाउँ भनी वादीहरूले निवेदन दिएको पाइन्छ ।

३. यसमा २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरिए पनि प्रतिवादीका छोरा गंगाप्रसाद साहुको नामको कि.नं. २०२ को जग्गा मिति २०४६।३।१ मा, कि.नं. १६६ को जग्गा मिति २०४३।४।२४ मा र बुहारी सुकुमेर कुमारीको नाममा कि.नं. २१३ को जग्गा मिति २०४५।१०।२१ र कि.नं. २१४ को जग्गा मिति २०४६।२।३२ मा राजीनामाको लिखतबाट खरिद गरी लिएका जग्गाहरू बन्डा गरिएको पाइएन । निजका छोरा बुहारीलाई जिल्ला अदालतले अ.बं. १३९ नं. बमोजिम बुझी कारणीसरह मानी फैसला भएको र फिराद परेको अघिल्लो मिति अर्थात् २०५८।५।१३ लाई मानो छुट्टिएको मिति स्वीकार गरेपछि सो मितिपूर्व नै राजीनामाबाट आर्जन भई प्रतिवादीका सगोलका छोरा बुहारीका नाममा रहेका उक्त सम्पत्तिहरू बन्डा नहुने ठहर गरी यस अदालतबाट मिति २०६६।७।११ मा भएको फैसलामा ने.का.प. २०४१, अंक २, नि.नं. १८९३, पृष्ठ ९३ र ने.का.प. २०५७, अंक १०/११, नि.नं. ६९५६, पृष्ठ ७९३ मा प्रतिपादित कानूनी सिद्धान्त प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) अनुरूप पुनरावलोकन गर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको पूर्ण इजलासको आदेश देखिन्छ ।

४. यस अदालतको संयुक्त इजलासको फैसलामा फिराद परेको दिन अर्थात् २०५८।५।१३ मानु छुट्टिएको मिति कायम हुने भन्ने कुरा व्यक्त भई सो मितिसम्मको सगोलको श्री सम्पत्ति बन्डा गर्नुपर्ने भनी भएको फैसलालाई प्रतिवादीले स्वीकार गरी बसेको हुँदा यस मुद्दामा निर्णय गर्नुपर्ने प्रश्न भनेको सो मितिसम्ममा प्रतिवादीको छोरा गंगाप्रसाद र बुहारी सुकुमेरका नाममा रहेको उल्लिखित जग्गाहरू बन्डा हुने नहुने भन्ने नै देखिन्छ ।

५. गंगाप्रसादका नामको कि.नं. २०२ को जग्गा मिति २०४६।३।१ मा र कि.नं. १६६ को जग्गा मिति २०४३।४।२४ मा तथा सुकुमेर कुमारीका नामको कि.नं. २१३ को जग्गा मिति २०४५।१०।२१ मा र कि.नं. २१४ को जग्गा मिति २०४६।२।३२ मा राजीनामामार्फत निजहरूका नाममा आएको देखिन्छ ।

६. दर्तावाला गंगाप्रसादले सुरू जिल्ला अदालतमा बयान गर्दा कि.नं. १६६ को जग्गा पिताले शालिग्राम रौनियारबाट खरिद गरी मेरा नाममा राखिदिनुभएको हुँदा उक्त जग्गा बाबु सरजुग साहुको निजी आर्जनको जग्गा हो, कि.नं. २०२ को जग्गा पिताले भारत बासमतियामा रहेको जग्गा बिक्री गरी आएको रूपैयाँमध्येबाट मेरा नाममा खरिद गरी दिनुभएको बाबुको निजी आर्जनको जग्गा हो भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ ।

७. त्यस्तै सुकुमेर कुमारीले सुरू जिल्ला अदालतमा बयान गर्दा कि.नं. २१३ र २१४ को जग्गा दाता दुखन साहु तेलीबाट आफ्ना बाबु मोहीनारायणले आफ्नो रूपैयाँबाट खरिद गरी मलाई दाइजो दिएको मेरो मात्र एकलौटी हकको दाइजोको जग्गा हुँदा वादी प्रतिवादी कसैको हक लाग्ने होइन भन्ने व्यहोरा उल्लेख गरेको देखिन्छ । उक्त जग्गाहरूमध्ये कि.नं. २१३ मिति २०४५।१०।२१ मा र कि.नं. २१४ मिति २०४६।२।३२ मा दुखन साहु तेलीबाट थैली राखी राजीनामाको माध्यमबाट निजका नाममा आएको मिसिल संलग्न राजीनामाको प्रतिलिपिबाट देखिन्छ ।

८. कुनै सम्पत्ति बन्डा हुने अथवा नहुने भन्ने प्रश्नको निर्णय मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. र यस अदालतबाट तत्सम्बन्धमा भएको फैसलाहरूबाट प्रतिपादित सिद्धान्तको सेरोफेरोमा रही गर्नुपर्ने हुन्छ । गंगाप्रसाद र सुकुमेर कुमारीको परिवारको मूल पुरूष प्रतिवादी सरयुग रहेकाले सो परिवारका कुनै सदस्यको नाममा रहेको सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको मानिने हुन्छ । सो सम्पत्तिबाट सरयुगका अंशियार वादीहरूको अंश नपुग्ने भन्नका लागि प्रतिवादी कायम गरिएका गंगाप्रसाद र सुकमेर आफ्नो पिता ससुरा प्रतिवादी सरयुग साहुसँग कानूनबमोजिमको लिखतबाट अंश लिई वा मानु छुट्टिई भिन्न बसेको वा उल्लिखित सम्पत्ति दान बकस भई निजहरूले पाएको वा निजहरूलाई भएको राजीनामा लिखतमा उल्लिखित जग्गाहरू निजहरूले एकलौटी खान पाउने र अरू अंशियारको हक नपुग्ने जस्तो कुनै व्यहोरा रहेको वा आफूहरूले रोजगार नोकरी गरी वा मूर्तिकार, गीतकार, संगीतकार, कलाकार, चित्रकार वा कुनै पेसाकर्मी आदि भई निजी आर्जन गरेको प्रमाण देखिनु आवश्यक हुन्छ । तर त्यस्तो कुनै पनि प्रमाण निजहरूले गुजार्न सकेको देखिँदैन । गंगाप्रसादले उक्त जग्गाहरू आफ्नो ज्ञान सीपबाट निजी तवरबाट आर्जन गरेको भन्ने जिकिर लिन नसकी बाबुले आफ्ना नाममा खरिद गरिदिएको भनेको देखिन्छ भने प्रतिवादी सुकुमेर कुमारीको राजीनामामा बाबुले थैली तिरी निजका नाममा खरिद गरी दिएको दाइजोको जग्गा भन्नेलगायतका कुनै पनि कुरा उल्लेख भएको 

देखिँदैन । ती जग्गाहरू आफ्नो विवाह हुनुपूर्व खरिद गरेको भन्ने निजको जिकिर पनि नरहेको र राजीनामाको तीन पुस्तेमा निजको पति रामप्रसाद साहु भन्ने उल्लेख भएको देखिँदा उल्लिखित जग्गाहरू पिता पुर्खाको पुर्ख्यौली सम्पत्तिबाट बढेबढाएको धनबाट प्रतिवादी गंगाप्रसाद र सुकुमेरको नाममा खरिद भएको प्रमाणित हुन आउँछ । पुर्ख्यौली सम्पत्तिबाट खरिद भएको जग्गामा प्रतिवादी गंगाप्रसादभन्दा माथिल्लो पुस्ताका निजको परिवारको मूल पुरूष प्रतिवादी सरयुग र प्रतिवादी सरयुगका अंशियार वादीहरूको अंश भाग लाग्ने र त्यसपछि प्रतिवादी सरयुगको भागबाट प्रतिवादी गंगाप्रसादसमेतका समकालीन अंशियारको भाग लाग्ने र गंगाप्रसादको भागबाट मात्र प्रतिवादी सुकुमेरको अंश लाग्ने अवस्था रहन्छ ।

९. पुनरावलोकनको निस्साले आधार लिएको ने.का.प. २०४१, अंक २, नि.नं. १८९३ को देवकुमारी पाण्डेको अंश मुद्दामा यस अदालतको ७ सदस्यीय पूर्ण इजलासको फैसलामा प्र.प्रयागराजले लाजिम्पाट तथा खिचापोखरीको घर जग्गा आफ्नो श्रीमती शंखकुमारीको दाइजो पेवाबाट खरिद गरी बनाएको जिकिर लिएको पाइन्छ । लाजिम्पाट तथा खिचापोखरीको जग्गा शंखकुमारीको नाउँबाट खरिद हुँदा राजीनामामा दाइजो पेवाबाट आर्जन भएको भन्ने नदेखिएको सिर्फ लाजिम्पाटको जग्गा शंखकुमारीले छोराहरूलाई दिएको बकसपत्रमा मात्र आफूले दाइजो दान दक्षिणा पाई त्यसबाट बढे बढाएको भन्नेसम्म उल्लेख गरेको पाइन्छ । आफूले प्राप्त गर्दाको स्थितिमा उल्लेख गर्न नसकेको कुरा आफूले आफ्ना छोराहरूलाई बकसपत्र दिँदा उल्लेख गरेको कारणले मानो छुट्टिएको मितिभन्दा अगाडि शंखकुमारीको नाममा दर्ता भएको घर जग्गा शंखकुमारीको आफू खुसी गर्न पाउने सम्पत्ति हो भन्न नमिल्ने हुँदा तायदातीमा समावेश गरी बन्डा हुनु पर्ने नै देखिन्छ ।

१०. खिचापोखरीको घर जग्गा बन्डा हुनुपर्ने हो होइन भन्ने तर्फ हेर्दा वादीले खिचापोखरीको घरको सम्बन्धमा प्रयागराजको नाउँमा दर्ता भनी देखिएको नमिलेको भन्ने कारणबाट उक्त घर जग्गा बन्डा गर्न नमिल्ने भनी ०३७।९।५ को फुल बेञ्चले बहुमतबाट निर्णय गरेको देखिन्छ । वादीको फाँटवारी नमिलेकै स्थितमा पनि प्रतिवादीको लेखाइबाट पनि विवादको खिचापोखरीको घर जग्गा मानो छुट्टिनुभन्दा पहिलेको देखिएमा जुनसुकै अंशियारको नाममा भए पनि बन्डा गर्नु नै देखिन्छ । यस स्थितिमा उक्त घर जग्गा बन्डा नहुने ठहराएको फुल बेञ्चको उक्त निर्णय मिलेको देखिएन ।

११. प्र.प्रयागराज तथा प्र.मिनराजले १६ सालमा अंशियारमध्येकै एकअर्काका छोरा तथा स्वास्नीसमेतलाई गरी दिएको बकसपत्रका जग्गाहरू बन्डा गर्न हुने वा नहुने भन्ने सम्बन्धमा ०३७।९।५ को फुल बेञ्चले बहुमतबाट उक्त जग्गाहरू बन्डा गर्न नमिल्ने भन्ने ठहर गरेको पाइन्छ । उक्त बकसपत्रका जग्गाहरू बकसपत्रदाताको निजी आर्जनको सम्पत्ति नभई पैतृक सम्पत्तिहरू देखिन आएका छन् । उक्त सम्पत्तिहरू प्रतिवादी अंशियारबाहेकका गैरव्यक्तिहरूलाई बिक्री बकसपत्र गरी दिएको नभई अंशियारहरूकै छोरा तथा स्वास्नीलाई दिएको 

देखिन्छ । मानो छुट्टिएको मितिभन्दा अघिको सगोलको पैतृक सम्पत्ति बन्डा नहुने भन्न मिलेन । लक्ष्मणराजसमेतले यी वादी देवकुमारीउपर दिएको तायदाती बदर मुद्दामा म.क्षे.अ.को ०३२।१।२ को निर्णयउपर बक्स भएका हुकुम प्रमांगीबमोजिम इन्साफ जाँच हुँदा निज लक्ष्मणराजसमेतले प्रयागराजबाट बकस पाएको भनेको जग्गाहरूको तायदाती बदर नहुने आज यसै बेञ्चबाट निर्णय भएकोसमेतबाट उक्त बकसपत्रका जग्गाहरू समेत वादीले ५ भागको १ भाग अंश पाउने ठहर्छ भनी पुर्ख्यौली सम्पत्ति वा सोबाट बढे बढाएको सम्पत्ति जुनसुकै अंशियार वा अंशियारको परिवारका सदस्यका नाममा दर्ता रहेको भएपनि सो सम्पत्ति अंशियारहरूका बीचमा बन्डा लाग्ने भन्ने सिद्धान्त प्रतिपादन गरेको पाइन्छ ।

१२. त्यसैगरी ने.का.प. २०५७, अंक १०/११, नि.नं. ६९५६ को इन्ताज अलि मनिहार वि. सहिर अलि मनिहारसमेत भएको नि.नं. ६९५६ को अंश मुद्दामा “राजीनामा लिखत पास भएको जग्गा खरिद गरेको भन्नेसम्मको आधारमा सगोलमा रहेको अवस्थामा निजीतवरबाट आर्जन गरेको भन्ने तथ्य प्रमाणको अभावमा प्रमाण ऐन, २०३१ को दफा ६(क) बमोजिम त्यस्तो सम्पत्ति सगोलकै सम्पत्तिबाट बढे बढाएको सम्पत्ति मान्नु पर्ने हुँदा निजी आर्जनको बन्डा नलाग्ने सम्पत्तिसमेत बन्डा गर्ने गरेको पुनरावेदनको फैसला त्रुटिपूर्ण भएको भन्न मिल्ने देखिएन” भनी यस अदालतको संयुक्त इजलासबाट फैसलाभएको देखिन्छ ।

१३. ती नजिरले मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. समेतको सही व्याख्या गरेकोले तिनसँग असहमति जनाउनु पर्ने अवस्था देखिएन । प्रस्तुत मुद्दाको तथ्यसँग ती नजिर मिले भिडेको देखिँदा प्रस्तुत मुद्दामा मिति २०५८।५।१३ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिभन्दा अगावै प्रतिवादीका छोरा तथा बुहारीका नाममा निजहरूका पिता तथा ससुराले थैली तिरी खरिद गरेको जग्गाहरू बन्डा नलाग्ने ठहर्‍याएको यस अदालतको संयुक्त इजलासको फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई उक्त कि.नं. १६६, २०२, २१३ र २१४ का जग्गाबाट समेत यी पुनरावेदक वादीहरूले ३ भागको २ भाग अंश पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू । 

तपसिल

१. माथि ठहर खण्डमा लेखिएबमोजिमको यस अदालतको संयुक्त इजलासबाट भएको फैसला केही उल्टी भई प्रतिवादीका छोरा गंगाप्रसाद साहु नामदर्ताको सुनसरी जिल्ला, इनरूवा न.पा. वडा नं. २ कि.नं. २०२, ऐ. बसन्तपुर गा.वि.स. वडा नं. ९(क) कि.नं. १६६ तथा बुहारी सुकुमेर कुमारी साहु नामदर्ताको सुनसरी जिल्ला, भोक्राहा गा.वि.स. वडा नं. ४(छ) को कि.नं. २१३ र २१४ जग्गाबाट समेत वादीहरूले ३ भागको २ भाग अंश पाउने ठहरेकाले कानूनबमोजिम वादीहरूलाई उक्त जग्गाबाट समेत ३ भागको २ भाग अंश छुट्याई चलनसमेत चलाई दिनु भनी सुरू जिल्ला अदालतमा लेखी पठाइदिनू ।

२. वादीले प्रस्तुत मुद्दामा भरी पाउने सम्पूर्ण कोर्ट फीसम्बन्धमा यस अदालतको संयुक्त इजलासको मिति २०६६।७।११ को फैसलाको तपसिल खण्डमा उल्लेख भइसकेको देखिँदा सोसम्बन्धमा केही गरिरहनु परेन ।

३. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल बुझाइदिनू ।

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.देवेन्द्र गोपाल श्रेष्ठ

न्या.जगदीश शर्मा पौडेल

 

इजलास अधिकृत: सन्तोषप्रसाद पराजुली

इति संवत् २०७२ साल फागुन६ गते रोज ५शुभम्।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु