निर्णय नं. ४२९५ - जग्गा निखनाई पाउँ
निर्णय नं. ४२९५ ने.का.प. २०४८ अङ्क ५
संयुक्तइजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको दे.वि.नम्बर ३७
फैसला भएको मिति: २०४७।४।२४।४ मा
निवेदक/प्रतिवादी: जि.झापा केराबारी गा.पं. वार्ड नं. ५ बस्ने नन्दकुमारी नेपालसमेत (साविक पेज नं. २१५)
विरुद्ध
विपक्षी/वादी: जि.झापा गौरीगंज गा.पं. वार्ड नं. ९ बस्ने गणेशप्रसाद भट्टराई
मुद्दा : जग्गा निखनाई पाउँ
(१) पानी झर्ने भन्ने साँध जोडिएको कारणबाट मात्र सन्धी पर्ने भन्न मिल्ने देखिएन ।
(प्रकरण नं. १६)
निवेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की
विपक्षी, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.प्रचण्डराज अनिल
१. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।८ को फैसला उपर चित्त नबुझाई इन्साफ जाँच गरी पाउन हु.प्र.बक्स पाउँ भन्ने प्रतिवादी पक्षको निवेदनमा इन्साफ जाँचको लागि हु.प्र.बक्स भए बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ ।
२. केराबारी गा.पं. वडा नं. १ को कि.नं. ००७ र १११ को दर्तावाल चरम हेमराज सतारले रु. ९०००।– मा ०३४।१।१३ मा चुडामणि नेपाललाई रजिष्ट्रेशन पास गरी दिएको जग्गा मध्ये ००७ र ००८ को वार्ड नं. १ को नक्शाको सिमाना पर्छ । नक्शा १ख को कि.नं. ३३०, ३३१, ३३२, ३२८, ३२७, ३३६, ३२५ दक्षिणतर्फ भिरालो भई पानीको बहाव दक्षिणतर्फ चलनमा ०८ नं. को कित्तामा उकालो ०७७ को चरम हेमराजबाट इजाजत लिई माटो बनाई ७ नं. को होली परेको ठाउँबाट ८ नं. कित्तामा पानी पुर्याई खेती हुने गरेको दक्षिण कित्ता १११ वा उत्तर कित्ता नं. ११० मा पानी पुर्याई खेती चली रहेकोले दुवै कित्ता सन्धिसर्पन पर्ने जग्गा भू.प्र.का.मा ०३४।९।११ मा थैली धरौट राखी उजूर गरेकामा बाटो पैनी गोरु हिंडाएको भए परापूर्वको निकासा सम्बन्धमा पहिले नै उजूरी गर्न पर्ने भनी सन्धिसर्पन स्वीकारी मुलुकी ऐन सातौं संशोधन ०३४।९।२७ जारी भएको कानुनले लिखित नपाउने इन्कार गर्ने भएको र सन्धिसर्पन नपर्ने भन्ने फैसला हुन गयो सो उपर मेरो अञ्चलाधीश कार्यालयमा पुनरावेदन गर्दा ०३६।१२।६ मा अदालत जान भनी निर्णय भएकोले र यस पूर्व नै चुडामणि नेपालको मृत्यु भएकोले निजको हक खाने हकदार उपर फिराद गर्नु पर्ने परिस्थितिले र दुवै कित्ता नं. ००७ र १११ समेत मुख्य पानीकै सन्धिसर्पन नपरेकोले सन्धिसर्पन कायम गरी निखनाई पाउँ भन्ने समेत वादीको फिराद ।
३. दावीको ००७ नं. को जग्गा पनि चुडामणीको नाउँमा दर्ता रहेको कि.नं. ३३१ को उत्तरपट्टि पर्छ र सो जग्गाको साँध देखि दक्षिण हुँदै पूर्वसम्म उक्त ७ नं. को जग्गाको विपक्षको पूर्वपट्टि छ । सो हुँदा दुवैपट्टी ८ नं. को कित्तामा घरबास छ सो देखि पूर्व उत्तर दक्षिणको साँध विपक्षको घर पूर्व आसानबाट निक्लँदा मूल सडक निस्कन्छ । यस्तो विषयमा पैनीको आवश्यक पर्दैन । दावीको कि.नं. १११ को जग्गामा जान लागी फिरादी घर अगाडिबाट दक्षिण जाँदा निजको कि.नं. ११० को जग्गामा वादी पानीको निकासा छ सो निकासी १११ को जग्गामा जान्छ कित्ता नाघेर गएपछि मात्र पुगिन्छ । यस्तो हुँदा सन्धिसर्पनको सुविधा मिल्दैन सन्धिसर्पनको अर्थ हो भने घरले चर्चेको जग्गा जमीन घरबाट निक्लने निकासा गौचर पानीघाट हो तसर्थ यी सबैबाट अलग्गै भएकोले फिरादीको फिराद खारेज गरी पाउँ भन्ने समेत प्रतिवादीको प्रतिउत्तरपत्र । (साविक पेज नं. २१६)
४. आवत जावत गर्ने कुनै जग्गाको बाटो पर्ने नदेखिनाले आवत जावत गर्न बाटो नपर्ने जग्गा सीमाना जेडिएकोसम्म आधारमा सन्धिसर्पन पर्छ भन्नु नमिल्ने हुँदा सन्धिसर्पन कायम गराई निखनाई पाउँ भन्ने संधियार वादीको दावा पुग्न नसक्ने हुँदा झुठ्ठा दावा लिई फिराद गरेको ठहर्छ भन्ने समेत झापा जि.अ.को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन झापा जिल्ला अदालतको फैसला बदर गरी मेरो शुरु दावी र पुनरावेदन जिकिर बमोजिम न्यायाचित फैसला गरी पाउँ भन्ने समेत वादी गणेशप्रसाद भट्टराइको पुनरावेदन ।
६. वादीले निखन्ने सम्बन्धमा दिएको उजूरीमा पानीको निकासा गोरु ल्याउने बाटो निकास भन्ने उल्लेख भएको प्रस्तुत फिरादपत्रको लेखमा पानीको सन्धिसर्पन भन्ने लेखिएकोबाट पनि वादीको आफ्नै कुरा बाझिएको र पुनरावेदनपत्र साथ दाखिल गरेको सर्वोच्च अदालतको फैसला एवं पुनरावेदनमा उल्लेख नजीर यसै मुद्दाको विषय वस्तुसंग मेल खाने नभएकोले माथि उल्लेख गरिएको आधार प्रमाणबाट पुनरावेदन जिकिर युक्ति नदेखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन शुरु झापा जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतको ०३९।३।१५।३ को फैसला ।
७. उक्त फैसला उपर चित्त बुझेन । नबाँझिएको कुरालाई बाझिएको भन्ने लेखी मिल्ने कानुनी सिद्धान्तलाई नमिल्ने भन्ने ठहर गरी भए गरेको फैसला माथि उल्लेखित आधारमा प्रत्यक्ष कानुनी त्रुटिपूर्ण हुँदा तसर्थ पुनरावेदनको अनुमति पाउँ भन्ने समेत ०४०।१०।१० गतेको वादी गणेशप्रसाद भट्टराईको निवेदन ।
८. मिसिल सामेल रहेको नक्शा ट्रेसबाट कि.नं. ००७ र ००८ को माझमा साँधमा बाटो देखिन नआएकोले मे.अं.अ.को फैसलामा प्रमाणको मूल्यांकन सम्बन्धी त्रुटि गरेको समेत देखिँदा निवेदन माग बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत सिंगलबेञ्चको ०४०।३।१५।३ को आदेश ।
९. यसमा भई आएको नक्शा मुचुल्कामा कि.नं. ००७ बाट कि.नं. ००८ मा पानी लाग्ने भन्ने कुरा उल्लेख भएको र कि.नं. १११ र कि.नं. ११० का जग्गाहरु साँधको खेत भएको भौगोलिक स्थिति खेतबाट अर्को खेतमा पानी लाउने र निकास समेत हुने खेतीको याममा सामान्य प्रक्रिया नै हुने हुँदा कि.नं. ००८ र कि.नं. ११० जग्गाको काखले वादी गणेशप्रसाद उक्त कि.नं. ००७ र कि.नं. १११ को जग्गाहरु सन्धिसर्पन पर्ने संधियार कायम हुने र दावी बमोजिम निखनाई पाउने समेत ठहर्छ सो नठहराएको शुरु र मेची अञ्चल अदालतको फैसला समेत त्रुटिपूर्ण भई सदर हुन्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।८ को फैसला ।
१०. ओरालोमा मेरो जग्गा र उकालोतर्फ विपक्षीको भएको प्राकृतिक स्थितिमा मेरो तलको जग्गाबाट माथि पानी पट्छ भनी सन्धिसर्पन कायम गरी पू.क्षे.अ. बाट भएको फैसला त्रुटिपूर्ण छ । सर्वोच्च अदालत डिभिजनबेञ्चको नाममा उक्त फैसला इन्साफ जाँच गरी दिनु भनी हु.प्र.बक्स पाउँ भन्ने समेत प्रतिवादी पक्षको परेको निवेदन ।
११. यसमा व्यहोरा साँचो भए पूर्वाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको बिन्तिपत्रमा लेखिएको जग्गा निखनाई पाउँ भन्ने मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत हु.प्र.भई आएको ।
१२. यसमा बक्स भई आएको हु.प्र.बमोजिम गर्न विविधको लगतमा दर्ता गरी निवेदकलाई सूचना दिई सम्बन्धित मिसिल नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति २०४४।११।१० को आदेश ।
१३. यसमा वादीले आफ्नो फिरादमा नै उल्लेखित जग्गाहरुको बनौट उत्तरबाट दक्षिणतर्फ भिरालो भई पानीको बहाव दक्षिणतर्फ चल्ने भनी उल्लेख गरेकोमा कि.नं. ००७ बाट कि.नं. ००८ को जग्गामा पानी (साविक पेज नं. २१७) लागी खेती गरी आएको भन्ने र कि.नं. १११ रोपनी उत्तरतर्फ कि.नं. ११० मा पुर्याई खेती चलाई आएको भन्ने समेत उल्लेख गरेको देखियो । वादीको जग्गा देखि दक्षिणतर्फ रहेका प्रतिवादीका जग्गाबाट उकालोतर्फका वादीका जग्गामा पानी लाग्ने भन्न नमिल्ने हुनाले वादी प्रतिवादीका जग्गाहरु साँध जोडिएकै कारणले मात्र अरु सबूद प्रमाण बिना सन्धिसर्पन पर्छ भन्न नमिल्नेमा सन्धिसर्पन ठहर्याई वादी दावी बमोजिम निखनाई पाउने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा छलफलका लागि विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत यस अदालत संयुक्तइजलासको मिति ०४६।३।१३ को आदेश ।
१४. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की तथा विपक्षी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले गर्नु भएको बहस समेत सुनियो ।
१५. प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१६. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा कि.नं. ००७ बाट कि.नं. ००८ मा पानी बग्ने भनी लेखिएको फिराद दावी भएकोमा प्रतिउत्तरमा खण्डन भएको देखिएन । मिसिल सामेल रहेको मिति ०४२।४।१२ को नक्शा कुण्डलीको भौतिक अवस्था हेर्दा पनि वादीलाई सन्धी पर्ने देखिएको हुँदा कि.नं. ००७ को जग्गा वादीले निखन्न पाउने ठहर्छ । कि.नं. १११ को हकमा सो कि.नं. १११ कि.नं. ११० भन्दा दक्षिणतर्फ रहेको नक्शा कुण्डलीबाट देखिन्छ । कि.नं. ११० बाट कि.नं. १११ मा पानी झर्ने भन्ने देखिएको छ । साँध जोडिएको कारणबाट मात्र सन्धी पर्ने भन्न मिल्ने देखिएन । तसर्थ कि.नं. १११ को जग्गा हक सफा भन्ने पाउने ठहर्याएको इन्साफ त्रुटिपूर्ण देखिँदा सो हदसम्म बदर हुन्छ भरिदिनु पर्ने थैलीको हकमा दुई कित्ताको अलग अलग मूल्य खोलिएको नभई दुवै कित्ताको जम्मा जग्गाको मूल्य रु. ९०००।– राखिएको हुँदा कि.नं. ००७ को जग्गाको दामासाहीले मूल्य कायम गरी निखन्न दिने ठहर्छ । पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।१०।८ को इन्साफ केही उल्टी हुन्छ । इन्साफ जाँचमा आएको हुँदा केही गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४७ साल श्रावण २४ गते रोज ४ शुभम् ।