शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५९८ - अपहरण गरी बन्धक बनाएको

भाग: ५८ साल: २०७३ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति :२०७२।६।११।२

०६९-CR-०६३२

 

मुद्दा :अपहरण गरी बन्धक बनाएको

 

पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही मसिना गा.वि.स. वडा नं. ५ बस्ने मोहिउद्दीन मुसलमानको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला रूपन्देही मसिना गा.वि.स. वडा नं. ३ पण्डितपुर बस्ने मोसिवर शेषको छोरा मुन्सी भन्ने सहाबुद्दीन शेष

 

अपहरणको वारदातमा दुई वा सोभन्दा बढि व्यक्तिको संलग्नता रहेको निर्विवाद पुष्टि भएको अवस्थामा मात्र मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ७ नं. आकर्षित हुने हुन्छ । अपहरणको कसुरमा दुई जना वा सोभन्दा बढी समूह भई घटित भएमा कसुरको गम्भीरता र घनत्व बढन जान्छ र त्यस्तो भएमा कानूनले थप सजायको व्यवस्था गरेको देखिन्छ । तर, त्यस्तो थप सजाय गर्नु पूर्व दुई जना वा सोभन्दा बढी व्यक्तिको अपहरण कार्यमा संलग्नता थियो भनी वादी पक्षले प्रमाणित गर्न सक्नुपर्ने ।

वारदातमा संलग्न व्यक्तिहरूको हुलिया तथा वतनसमेत कही कतैबाट खुल्न र खुलाउन सकेको देखिँदैन । प्रतिवादी मुन्सी भन्ने सहावुद्दिन शेखका अतिरिक्त अन्य अस्थित्वमा नै नरहेका दुई जना व्यक्तिहरू समेतको संलग्नताको अनुमान गरी मुलुकी ऐन, अपहरण र शरीर बन्धक लिनेको महलको ७ नं. अनुरूप थप सजाय गर्नु न्यायोचित देखिन आएन । दुई जना वा सो भन्दा बढी व्यक्तिहरूको संलग्नता शंकारहित तथा निर्विवाद पुष्टि हुन नसकी रहेको अवस्थामा प्रतिवादी साहवुद्दिन शेषलाई मुलुकी ऐन, अपहरण र शरीर बन्धक लिनेको ७ नं. बमोजिम थप सजाय हुनुपर्दछ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् सहन्यायधिवक्ता संजिवराज रेग्मी

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं.

 

सुरू फैसला गर्नेः 

जिल्ला न्यायाधीश श्री रामकृष्ण खनाल

पुनरावेदन तहमा फैसला गर्नेः 

मा. न्यायाधीश श्री नारायण प्रसाद दाहाल

मा. न्यायाधीश श्री नीता गौतम दीक्षित 

 

फैसला

न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छः

म जिल्ला रूपन्देही मसिना गा.वि.स.वडा नं. ५ नौकाडिह गाउँको स्थाई वासिन्दा हुँ । मेरै गा.वि.स. वडा नं. ३ पण्डितपूर गाउँ निवासी नजिमुन निसालाई मेरो छोरा ईर्साद अहमद मुसलमानले चलाएको मोटरसाइकलले ठक्कर दिई मृत्यु भएकोमा सोसम्बन्धमा कृयाखर्च र क्षतिपूर्तिबापतको एक लाख दश हजार रूपैयाँ बुझाइसकेको छु । सो बारेमा खुनको बदला खुन चाहिन्छ भनी विपक्षी मुन्सीले भनेका 

थिए । मेरो छोरा विगत ५ महिनादेखि इमाम अहमद विन हम्बल तौलिहवामा कक्षा ६ मा अध्ययन गरिरहेको घरमा गएको बेलामा घटना भयो। घटनाको ३/४ दिन पछाडी पुनः अध्ययन गर्न आएकोमा मिति २०६६/११/७ गते बिहान सोही मदरसाको गेट अगाडिबाट मुन्सीसमेतका ३ जना मानिसहरूले मोटरसाइकलमा हाली अपहरण गरी लगेकोले मेरो छोराको खोजतलास गरी मेरो जिम्मा पाउँ र विपक्षीलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको मोहीउद्दीन मुसलमानको खोजतलास गरिपाउँ भन्ने मिति २०६६।११।७ मा जिल्ला प्रहरी कार्यालय, कपिलबस्तुमा दिएको 

निवेदन ।

जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं. ९ तौलिहवा स्थित पूर्व पश्चिम तौलिहवा बहादुरगंज सडक खण्ड, उत्तर एमान हम्वलविन विकाश केन्द्र तौलिहवाको भवन गेट र दक्षिण पानी टंकी यति चार किल्लाभित्र आदर्श टोल भन्ने स्थानमा जाहेरवालाको छोरा इर्साद अहम्मद मुसलमानलाई मुन्सी भन्ने सहाबुद्दिन शेष र अन्य २ जना मानिसहरूले अपहरण गरी लिई गएको भन्नेसमेत व्यहोराको मिति २०६६।११।८ को घटनास्थल मुचुल्का ।

मेरो छोराले चलाएको मोटरसाइकलले मसिना गा.वि.स.वडा नं. ३ बस्ने नजिमुन निसालाई ठक्कर दिएकोले निजको मृत्यु भएको थियो । सोही विषयमा विपक्षी मुन्सी भन्ने सहाबुद्दिन शेषलाई कृयाखर्च र क्षतिपूर्तीबापतको रकम बुझाई सकेको थिएँ । त्यसको ३/४ दिन पछि मेरो छोरा अध्ययन गर्ने मदरसाको गेटबाट छोरालाई अपहरण गरी लगेको कुरा जानकारी हुन आएको र सोसम्बन्धमा सुराक लगाउँदा निजहरूले मेरो छोरालाई भारतको नौगढमा लगी राखेको थाहा पाएको थिएँ । निजहरूले रू. एक लाख भारतीय रूपैयाँ माग गरेका र नदिएमा छोराको ज्यान मार्ने धम्की दिएका थिए । यस्तैमा मिति २०६६।१२।२ गते बिहान १०.०० बजे मेरो छोरा नेपालको रंगपुर भन्ने स्थानमा आएको थाहा पाई सो स्थानमा गई घटना बारेमा छोरालाई सोध्दा मलाई अपहरण गरी लैजाने बेलामा तेरो बाबु बसपार्कमा आउनुभएको छ । बोलाएका छन जाउँ भन्दा तपाईहरू को हो भनी सोध्दा केही नबताई मुख आँखा बाँधी मोटरसाइकलमा बसाली लगेका हुन् । अभियूक्तहरूलाई शरीर बन्धक लिनेको महलबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मोहिउद्धिन मुसलमानको मिति २०६६।१२।३ मा परेको जाहेरी दरखास्त ।

मुन्सी भन्ने सहाबुद्दिन शेषसँग पूर्व रिसइवी थियो । वारदातका दिन म सामान किन्न भनी मैले पढिरहेको इमाम हम्बल मदरसाबाट बाहिर निस्किएकोमा विरूद्ध खण्डमा उल्लिखित मानिसहरू तिम्रो बुबाले बसपार्कमा बोलाउनुभएको छ भनी मलाई मोटरसाइकलमा राखी भारतमा लगी राखेको र रू. एक लाख दिएपछि मात्र छोडी दिन्छौ भन्दै मलाई अज्ञात स्थानमा लुकाई छिपाई राखेकोमा म एक्लै भएको अवस्थामा सो स्थानबाट भाग्न सफल भएको र नेपाल प्रवेश गरेपछि प्रहरी कार्यालय कहाँ छ भनी स्थानीय मानिसहरूसँग सोधपुछ गर्दै स्थानीय मानिसहरूले समेत सहयोग गरी प्रहरी चौकी रंगपुरमा पुग्न सकेकोमा प्रहरीले उद्धार गरेको हो । प्रतिवादी मुन्सी भन्ने सहाबुद्दिन शेषलाई राम्रोसँग चिन्दछु । अन्यलाई राम्रोसँग चिनेको छैन भन्नेसमेत व्यहोराको पीडित इर्साद अहम्मद मुसलमानको कागज ।

जिल्ला कपिलवस्तु रंगपुर गा.वि.स. वडा नं. ५ स्थित उत्तर रंगपुर गाउँ दक्षिण नेपाल भारतको सिमाना, पूर्व सार्वजनिक जग्गा र पश्चिम खेत यति चार किल्लाभित्र सिमानाबाट पीडित इर्साद अहम्मद अपहरण गरी राखिएको स्थलबाट भागी फेला परेको भन्नेसमेत व्यहोराको मुचुल्का ।

वारदात मिति र समयमा म आफ्नै रिक्सा ट्रेक्टर लिई वारदात स्थलतर्फ गएकोमा पछि नाम, थर र वतन थाहा भएको मुन्सी भन्ने सहाबुद्दिन शेषसमेतका मानिसहरू वारदात स्थलमा रहेका थिए । सोहि समयमा इमान हम्वल मदरसाबाट बाहिर निस्किएको इर्साद अहम्मद मुसलमानलाई निज मानिसहरूले मोटर साइकलमा हाली लिई गएको देखिएकोमा पछि सो संबन्धमा बुझ्दा निज मानिसहरूले इर्साद अहम्मद मुसलमानलाई अपहरण गरी लिई गएको रहेछन । मिति २०६६/१२/२ गते निज इर्साद अहम्मद मुसलमानलाई रंगापुर गा.वि.स. वडा नं. ५ बाट उद्धार भएको थाहा भएको हुँदा निज प्रतिवादीउपर कानूनबमोजिम कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको बुझिएका मानिसहरू सुखराम कोरी, सुरेन्द्र कोरी, सुरेन्द्रनाथ चौबेले गरेको कागज र सोही व्यहोरा लेखाई उमेश तमाल, राजु पाण्डे र सलिम खानसमेतले मिति २०६७।२।२० मा गरेको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।

यसमा मोहीउद्दीन मुसलमानले दिएको जाहेरी दरखास्त, घटनास्थल मुचुल्का इर्साद अहम्मद मुसलमानले गरी दिएको कागजलगायतका अन्य कागज प्रमाणहरूको आधारमा हेर्दा मिति २०६६/११/७ गतेको दिन मुन्सी भन्ने सहाबुद्दिन शेषसमेतले पीडित इर्साद अहम्मद मुसलमानलाई अपहरण गरी भारतको नौगढ भन्ने ठाउँमा लगी कोठामा बन्धक बनाई राखी भा.रू.१ लाख नदिए मार्ने धम्की दिएको सङ्कलित कागज प्रमाणहरूबाट पुष्टि भइरहेको र प्रतिवादी शाहबुद्दिन शेष फरार रहेको देखिदा निजको उक्त कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. बमोजिमको कसुर अपराध भएकोले निजलाई सोहि महलको ३ नं. बमोजिम सजाय गरी २ जना भन्दा बढी मिली नाबालक पीडित इर्सादलाई अपहरण गरी बन्धक बनाएको देखिँदा ऐ.को ७ र ९नं. बमोजिम थप सजाय हुन र पीडितलाई पुग्न गएको शारीरिक मानसिक क्षतिको विचार गरी ऐ. को १२ नं. बमोजिम मनासिब माफिकको क्षतिपूर्ति प्रतिवादीबाट भराई पाउँ भन्नेसमेत व्यहोराको मिति २०६७।२।२४ को अभियोग पत्र ।

फरार रहेका प्रतिवादी मुन्सी भन्ने सहाबुद्दिन शेषका नाउँमा मिति २०६७/३/१ मा जारी भएको बारेन्टसहितको म्यादी पुर्जी निजकै घरको ढोकामा टाँस गरेको भन्ने मिति २०६७/११/२ गते तामेल भएको म्याद मिसिल सामेल रहेको ।

इर्साद अहम्मदलाई स्कुल मदरसाबाट ३ जना मानिसहरूले मोटरसाइकलमा राखी अपहरण गरी लगेको भन्ने हल्ला सुनी थाहा पाएको भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने वादीतर्फका साक्षी सुखराम कोरीले गरेको बकपत्र ।

मुन्सी भन्ने सहाबुद्दिन शेष र अन्य २ जना नचिनेका मान्छे आएका र सहाबुद्दिनले मलाई यिनी इर्साद हुन् भनी चिनाएका थिए । मलाई बुबाले बसपार्कमा बोलाएका छन् भनी मोटरसाइकलमा आँखामा पट्टि बाधी भारतको कोठामा लगी थुनी राखेकोमा म झ्याल खोली हामफाली कब्जाबाट उम्की भागी आएको हुँ भन्ने व्यहोराको पीडित इर्साद अहम्मद मुसलमानले गरेको बकपत्र ।

सहाबुद्दिन शेषको दाजुको श्रीमती निसालाई इर्साद अहम्मदले चलाएको मोटर साइकलले चोट लागेको थियो । केहि दिन पछि निजको मृत्यु भएको थियो। पछि प्रहरीमा गई रू. १,१०,०००/- क्षतिपूर्तिसमेत दिएको थिए । निजले मलाई बदला लिएरै छाड्छु भनी चुनौती दिएका थिए । त्यसकारणले पीडित इर्सादलाई अपहरण गरेका हुन् भन्नेसमेत व्यहोराको जाहेरवाला मोहीउद्दिन मुसलमानको बकपत्र ।

मिसिल संलग्न प्रमाणबाट यी प्रतिवादी मुन्सी भन्ने सहाबुद्दिन शेषले पीडित इरसाद अहम्मद मुसलमानलाई निज पढ्ने मदरसा स्कुलबाट अपहरण गरी लगी कोठामा बन्धक बनाई राखेको पुष्टि भएकोले मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ९ वर्ष कैद र रू. ७५,०००/- (पचहत्तर हजार) रूपैयाँ जरीवाना हुने ठहर्छ । यसमा २ जना भन्दा बढी भई अपहरण गरेको भन्ने कुरा मिसिलबाट ठोसरूपमा पुष्टि हुन सकेको नदेखिँदा उक्त ऐनको ७ नं. को दाबी पुग्न नसक्ने र नाबालकलाई अपहरण गरेको भन्ने देखिन आएकोले उपर्युक्त उल्लिखित सजायमा ऐ. ऐनको ९ नं. बमोजिम थप सजाय २ वर्ष कैदसमेत हुने र ऐ. ऐनको १२ नं. बमोजिम पीडितलाई अपहरण गरी लगेको दिन देखि छुटकारा भएको दिनसम्म प्रति दिनको रू. ५००/- (पाँच सय) को दरले पीडितले प्रतिवादीबाट क्षतिपूर्तिबापतको रकम भरी पाउने ठहर्छ भन्ने मिति २०६८/५/२५ को सुरू कपिलवस्तु जिल्ला अदालतको फैसला ।

सुरू जिल्ला अदालतको मिति २०६८/५/२५/१ को फैसलामा चित्त बुझेन । मिसिल संलग्न प्रमाणहरूको न्यायिक मूल्याङ्कन नगरी प्रतिवादी मुन्सी भन्ने सहाबुद्दिन शेषलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं. बमोजिमको अभियोग मागदाबीबाट सफाइ दिई अभियोग मागदाबी भन्दा कम सजाय गरी भएको सुरू कपिलवस्तु जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादी मुन्सी भन्ने सहाबुद्दिन शेषलाई सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने मिति २०६९/१/१४ को वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

यसमा जाहेरी दरखास्त, वस्तुस्थिति मुचुल्का, घटनास्थल मुचुल्का, पीडित इर्साद अहम्मद मुसलमान तथा जाहेरवालाले अदालतसमक्ष गरेको बकपत्रसमेतले मुन्सी भन्ने साहबुद्दिन शेषले इर्साद अहम्मद मुसलमानलाई अपहरण गरी भारतमा लगी राखेकोले अभियोग दाबीबमोजिम मुलुकी ऐन, शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ९ वर्ष कैद र रू. ७५,०००/- (पचहत्तर हजार) रूपैयाँ जरीवाना, नाबालकलाई अपहरण गरेकोले ऐ. को ९ नं. बमोजिम थप २ वर्ष कैद गरी जम्मा ११ वर्ष कैद र ऐ. महलको १२ नं. बमोजिम पीडितलाई अपहरण गरी लगेको दिनदेखि छुटकारा भएको दिनसम्म प्रतिदिन रू. ५००/- (पाँच सय) का दरले पीडितलाई प्रतिवादीबाट क्षतिपूर्तिबापतको रकम रू. १२,०००/- (बाह्र हजार) भराई दिने तर वारदातमा दुई जना वा सो भन्दा बढीको संलग्नता नदेखिदा ऐ. ७ नं. तर्फको बादी दाबी नपुग्ने गरी भएको कपिलबस्तु जिल्ला अदालतको मिति २०६८/९/२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६९/३/१२ को फैसला ।

यसमा पीडित इर्साद अहम्मद मुसलमानलाई मदरसाको गेट अगाडिबाट प्रतिवादी मुन्सी भन्ने साहबुद्दिन शेषसमेतका ३ जना अपरिचित मानिसहरूले मोटरसाइकलमा चढाई लगेको तथ्य मिसिल संलग्न प्रमाण कागजहरूबाट पुष्टि हुन आएको छ । पीडित स्वयंले आफूलाई मुन्सीलगायतका ३ जना व्यक्तिहरूले अपहरण गरेको भनी कागज गरेको अवस्था छ । १५ वर्षका पीडितलाई एउटै व्यक्तिले आँखामा पट्टी बाँधेर लाने अवस्था रहँदैन । मौकामा बुझिएका व्यक्तिहरूले समेत अपहरणमा ३ जना व्यक्ति संलग्न रहेका भनी गरेको कागजलाई बकपत्र गरी पुष्टि गरी रहेको अवस्थामा प्रतिवादी साहबुद्दिन शेषलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ७ नं. बमोजिम सजायको मागदाबी नठहर्ने र अन्य प्रतिवादीहरू माथिको दाबी पुग्न नसक्ने ठहर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादी सहाबुद्दिन शेषलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मिति २०६९/१०/२५ मा परेको पुनरावेदनपत्र ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् सहन्यायधिवक्ता श्री संजिवराज रेग्मीले मुन्सी भन्ने सहाबुद्दिन शेखसमेतका ३ जना मानिसहरूले मोटरसाइकलमा राखि लगेको भन्ने व्यहोरा जाहेरी दरखास्त, बुझिएका व्यक्तिहरूको कागज, पीडितले गरेको कागज र प्रत्यक्षदर्शी सुखराम कोरीले गरेको कागजसमेतका कागजातहरूबाट अपहरण गरी लगेको पुष्टि भएको छ । त्यसैगरी पीडित वर्ष १५ का रहेको र निजलाई एकजना मात्र व्यक्तिले अपहरण गरी लान सक्ने अवस्थासमेत नहुदा अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो । उपर्युक्तबमोजिमको बहस सुनी वादी नेपाल सरकारको पुनरावेदन साथ पेस भएका मिसिल र संलग्न कागजातहरू समेत अध्ययन गरी हेर्दा अभियोग दाबी पुग्न सक्ने हो ? होइन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो ? होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने 

देखियो । 

२. निर्णयतर्फ विचार गर्दा जिल्ला रूपन्देही मसिना गा.वि.स. वडा नं. ५ बस्ने जाहेरवाला मोहिउद्दिन मुसलमानका छोरा ईर्साद अहमदलाई प्रतिवादी मुन्सी भन्ने सहाबुद्दिन शेषसमेत ३ जना व्यक्तिहरूले मिति २०६६।११।७ गते मदरसाको गेट बाहिरबाट अपहरण गरी भारतको नौगढमा लगी बन्धक बनाएको र मिति २०६६।१२।१ गते पीडित बन्धकबाट भाग्न सफल भई नेपाल आएको तथ्य खुलाई कागज गरेबाट प्रतिवादीको उपर्युक्त कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक बनाएको महलको १ र २ नं. विपरीतको कसुर अपराधमा निजलाई सोही महलको ३ नं. बमोजिम सजाय गरी दुई जनाभन्दा बढी भई उक्त कार्य गरेको हुँदा ऐ. ७ र ९ नं. बमोजिम थप सजाय हुन र ऐ. १२ नं. बमोजिम क्षतिपूर्तीसमेत दिलाई भराई पाउने मागदाबीसहित अभियोगपत्र दायर भएको 

पाइयो । प्रस्तुत मुद्दामा यी प्रतिवादी मुन्सी भन्ने साहबुद्दिन शेषले जाहेरवालाका छोरा ईर्साद अहमद मुसलमानलाई अपहरण गरी मुलुकी ऐन, अपहरण गर्ने र शरीर बन्धक लिनेको महलको १ र २ नं. को कसुर अपराध गरेको ठहर भएकोमा प्रतिवादीको सोसम्बन्धमा पुनरावेदन परेको नहुदा सोतर्फ केही बोलिरहन परेन ।

३. प्रस्तुत मुद्दाका प्रतिवादी मुन्सी भन्ने साहबुद्दिन शेष मौकामा फरार रही सुरू अदालतबाट जारी भएको म्यादमा समेत उपस्थित नभइ फरार रहेको देखियो । निज माथिको अभियोग दाबी हेर्दा २ जना भन्दा बढी मिलेर अपहरण गरी बन्धक बनाएको अवस्थामा भनी मुलुकी ऐन, अपहरण गर्ने र शरीर बन्धक लिनेको महलको ७ नं. बमोजिम हुलहुज्जत तर्फ थप सजाय नगरेकोतर्फ नेपाल सरकारको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । सो सन्दर्भमा विचार गर्दा पीडित ईर्साद अहमद मुसलमानलाई मिति २०६६।११।७ गते निजको स्कुल मदरसाको गेट अगाडिबाट प्रतिवादी मुन्सी भन्ने साहबुद्दिन शेषसमेतका तीन जना मानिसहरूले मोटरसाइकलमा हाली लगेकोले निजहरूलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्ने पीडितका पिता मोहिउद्दिन मुसलमानले मिति २०६६।११।८ मा निवेदन दिएकोमा मुन्सी भन्ने साहबुद्दिन शेष र अन्य नचिनेका दुईजनासमेत तीन जनाले अपहरण गरी भारतको नौगढमा लगी रू. एकलाख नदिए ज्यान मार्ने धम्की दिएका छन् भनी जाहेरी दिएको रहेछ । पीडितले आफूलाई मदरसाको गेट बाहिर टंकीमा सामान किन्न आएको अवस्थामा बोलाई तेरो बुबा बसपार्कमा आएको छ भनी मुन्सी र अन्य २ जना व्यक्तिहरूले आँखामा पट्टी बाँधी भारतको नौगढमा लगी राखेका थिए भनी कागज गरेकोमा निज व्यक्तिहरू को हुन र तिनीहरूको हुलिया कस्तो रहेको थियो भनी खुलाउन सकेको देखिँदैन । त्यसैगरी आफूलाई जम्मा ३ जना भई अपहरण गरेको बताउने यी पीडितले निजहरू कति वटा मोटरसाइकलमा आएका थिए,सोतर्फ कुनै अनुसन्धान भएको र खुल्न आएकोसमेत देखिँदैन । एउटै मोटरसाइकलमा तीन जना व्यक्ति आई निज १५ वर्षका पीडित ईर्साद अहमदसमेत ४ जना भई गएको भन्ने जिकिर सहज र स्वभाविकसमेत देखिँदैन ।

४. अपहरणको वारदातमा दुई वा सोभन्दा बढि व्यक्तिको संलग्नता रहेको निर्विवाद पुष्टि भएको अवस्थामा मात्र मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ७ नं. आकर्षित हुने 

हुन्छ । अपहरणको कसुरमा दुई जना वा सोभन्दा बढी समूह भई घटित भएमा कसुरको गम्भीरता र घनत्व बढन जान्छ र त्यस्तो भएमा कानूनले थप सजायको व्यवस्था गरेको देखिन्छ । तर, त्यस्तो थप सजाय गर्नु पूर्व दुई जना वा सोभन्दा बढी व्यक्तिको अपहरण कार्यमा संलग्नता थियो भनी वादी पक्षले प्रमाणित गर्न सक्नुपर्ने हुन्छ । प्रस्तुत वारदातमा दुई वा सो भन्दा बढी व्यक्तिहरूको संलग्नता रहेको भनी अभियोग पत्रमा स्पस्ट दाबी लिन सकेको पनि देखिँदैन । वारदातमा संलग्न व्यक्तिहरूको हुलिया तथा वतनसमेत कही कतैबाट खुल्न र खुलाउन सकेको देखिँदैन । प्रतिवादी मुन्सी भन्ने सहावुद्दिन शेखका अतिरिक्त अन्य अस्थित्वमा नै नरहेका दुई जना व्यक्तिहरू समेतको संलग्नताको अनुमान गरी मुलुकी ऐन, अपहरण र शरीर बन्धक लिनेको महलको ७ नं. अनुरूप थप सजाय गर्नु न्यायोचित देखिन आएन । दुई जना वा सो भन्दा बढी व्यक्तिहरूको संलग्नता शंकारहित तथा निर्विवाद पुष्टि हुन नसकी रहेको अवस्थामा प्रतिवादी साहवुद्दिन शेषलाई मुलुकी ऐन, अपहरण र शरीर बन्धक लिनेको ७ नं. बमोजिम थप सजाय हुनुपर्दछ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

५. अतः प्रतिवादी मुन्सी भन्ने साहबुद्दिन शेषलाई मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ९ वर्ष कैद र नावालकलाई अपहरण गरेकोमा ऐ. को दफा ९ बमोजिम थप २ वर्षसमेत जम्मा ११ वर्ष कैद र रू. ७५०००।–जरीवाना तथा ऐ. १२ नं. बमोजिम बन्धकमा रहेको प्रतिदिन रू. ५००।- का दरले हुन आउने रू. १२०००।– प्रतिवादीबाट पीडितलाई भराई दिने तर ऐ. ७ नं. अनुरूपको थप सजाय नहुने ठहर गरी सुरू कपिलबस्तु जिल्ला अदालतबाट मिति २०६८।५।२५ मा भएको फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६९।३।१२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू । 

 

उक्त रायमा सहमती छ ।

न्या.गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृतः शा.अ. तीर्थराज भट्टराई

इति संवत् २०७२ साल असोज ११ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु