निर्णय नं. ९६०० - आगलागी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७२।६।१२।३
मुद्दा : आगलागी
०७०-CR-००५८
पुनरावेदक / प्रतिवादी :जिल्ला तेह्रथुम सग्रान्ती बजार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार शाखा तेह्रथुममा थुनामा रहेको लक्ष्मीप्रसाद खत्री
विरूद्ध
प्रत्यर्थी / वादी : बुद्धराज लम्जेलसमेतको जाहेरीले नेपाल सरकार
०७०-CR-०५८१
पुनरावेदक / वादी : बुद्धराज लम्जेल समेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला तेह्रथुम सग्रान्ती बजार गा.वि.स. वडा नं. ९ घर भई हाल कारागार कार्यालय तेह्रथुममा थुनामा रहेको लक्ष्मीप्रसाद खत्री
सुकेको खरबारीमा सलाईको काँटी फाल्दा खरबारीमा आगो लाग्न सक्छ र त्यसबाट नजिकका घरमा आगो लाग्न सक्छ भन्ने कुरा सामान्य विवेक भएको मानिसलाई थाहा हुन सक्ने विषय हो । यसरी सामान्य विवेकसम्म नराखी आफूले गर्न लागेको कार्यबाट अर्काको हानी नोक्सानी हुन्छ भन्ने जानीबुझी त्यस्तो कार्य गर्ने र त्यसबाट नोक्सानी हुन गएमा प्रतिवादीले लापरबाही गरेको मानिने ।
आफूद्वारा हुने कार्यबाट दुष्परिणाम निस्कन सक्दछ भन्ने जानीजानी उसले गरेको कार्यबाट आपराधिक कार्य घटन गएमा उसको मानसिक अवस्था पूर्णतया निर्दोष रहेछ भनी मान्न मिल्दैन । यो मनसायकै एउटा स्वरूप हुँदा निजमाथि फौजदारी दायित्व आकर्षित हुन्छ । तसर्थ प्रस्तुत वारदात मनसायपूर्वक घटेको होइन भन्ने बयान जिकिर र गम्भीर लापरबाहीबाट घटना घटेको पुष्टि भइरहेको परिप्रेक्षमा प्रतिवादीले आपराधिक दायित्वबाट उन्मुक्ति पाउनुपर्दछ भन्ने पुनरावेदन जिकिर मुनासिब देखिन नआउने ।
(प्रकरण नं.५)
प्रतिवादीले फरक फरक ठाउँमा आगो लगाएर एकभन्दा बढी घरमा क्षति भएको अवस्था नभएको र थप घरमा आगो लगाउन प्रतिवादीको प्रत्यक्ष संलग्नता रहेको तथ्य स्थापित हुन आएको
देखिँदैन । जहाँसम्म एकभन्दा बढी घरमा क्षति भएको हुँदा आगो लगाउनेको ४ र ५ नं. आकर्षित हुन्छ भन्ने अभियोग दाबी छ सोतर्फ हेर्दा प्रतिवादीले प्रत्यक्षरूपले घरमै गएर जानीजानी आगो लगाएको नभई प्रतिवादीको गम्भीर लापरबाहीको कारण खरबारीमा फालेको सलाईको काँटीबाट आगो सल्कदै गई जाहेरवालाहरूको घर र स्कुलसमेत जली नस्ट भएकोमा यस्तो वारदातलाई छुट्टाछुटै वारदात कायम गरी सजाय गर्न मिल्ने पनि नदेखिने ।
(प्रकरण नं.६)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय हर्कबहादुर भट्टराई, रामप्रसाद पण्डित तथा वैतनिक अधिवक्ता किरण गुप्ता
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, आगो लगाउनेको महलको ४ र ५ नं.
सुरू तहमा फैसला गर्ने :
जिल्ला न्या. श्री गोपालप्रसाद बास्तोला
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का
माननीय न्यायाधीश श्री विदुर बिक्रम थापा
फैसला
न्या.जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) अनुसार यसै अदालतको क्षेत्राधिकार भित्रको भइ दायर हुन आएको प्रस्तुत मुद्दाको सारसंक्षेप यसप्रकार रहेको छः-
जिल्ला तेह्रथुम सक्रान्ति बजार गा.वि.स. वडा नं. ९ स्थित पूर्वमा जीवनचन्द्र श्रेष्ठको घर, पश्चिममा तुलसी गौतमको घर, उत्तरमा हुलाकी बाटो र दक्षिणमा पदमबहादुर लम्जेलको घर यति चार किल्लाभित्रको छविलाल गौतमको घरमा बस्दै आएको ओमबहादुर लम्जेलको ढुङ्गा माटोले बनेको फुसको छानो भएको ३ तलेघर सो घरमा मिति २०६८/११/२५ गते १५:३० बजेको समयमा ओमबहादुर लम्जेलको घर नजिक रहेको खरवारीबाट आगो सल्कीन गई सोही आगो घरमा समेत सल्कन गई घरमा रहेको सबै सामानहरू जलि नष्ट भएको साथै नजिकै रहेको पूराना गाउँ प्रा.वि.मा समेत आगो लागि पूर्णरूपमा नष्ट भएको र सोही स्कुलमा बस्ने एकल महिला छत्रमाया सिटौलाको अं. मूल्य ५१,४०००/- बराबरको धनमालसमेत जलि नष्ट भएको भन्नेसमेत व्यहोराको जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट मौकामा भएको चार किल्लासहितको घटनास्थल मुचुल्का ।
मिति २०६८/११/२५ गते दिनको ३:३० बजेको समयमा सक्रान्ती बजार ९ बस्ने प्र. लक्ष्मीप्रसाद खत्रीले मैले बन्धकीमा लिएको छविलाल गौतमको घरवारीमा रहेको खरवारीमा आगो लगाइदिएकोले सोही आगो नियन्त्रण गर्न नसकी घर तथा मतान पूर्णरूपमा जलि नष्ट भएको र पुराना गाउँ प्रा.वि. समेत जलेर नष्ट भई मेरो मूल्य रू. ४,०९,७००/- को सामान जली नष्ट भएको र घरधनी छविलाल गौतमको सामानको बारेमा निजले नै जाहेरी दिने हुँदा आगो लगाउने प्रतिवादी लक्ष्मीप्रसाद खत्रीलाई पक्राऊ गरी कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको बुद्धराज लम्जेल (सार्की) ले दिएको जाहेरी दरखास्त ।
मिति २०६८/११/२५ गतेका दिन म आफ्नै घरमा बसी रहेकी थिएँ । दिनको अं.३:०० बजेको समयमा लक्ष्मीप्रसाद खत्री र केशव खत्री मेरै घर नजिकैको बाटो भएर आफ्नो घरतर्फ जाँदै
थिएँ । निजहरू जाँदाजाँदै मेरो घर माथि रहेको छविलाल गौतमको पाखो बारीमा आगो सल्केको देखि लाठेहरू नभएको अवस्था तिमीहरूले आगो लगाएर खतम पार्यौ भन्दै मसमेत आगो बलेको ठाँउमा गई आगो निभाउन खोज्दा झन बढेर गएको हो । उक्त आगो बढ्दै गई ओमबहादुर लम्जेल बस्दै गरेको छविलाल गौततमको घर तथा मतान र ऐ. ठाउँमा रहेको पुराना गाउँ प्रा.वि. समेतमा आगो लागी पूर्णरूपमा क्षति भएको हो । गाउँका मानिसहरू भेला भई आगो नियन्त्रणमा लिएपछि लक्ष्मीप्रसाद खत्री र केशव खत्रीलाई फेला पारी सोधपुछ गर्दा लक्ष्मी खत्रीले कोया खोलाबाट घर फर्कने क्रममा चुरोट खानको लागि सलाई बाली बलेको काटी खरवारीमा फालिदिएकाले सोही आगो सल्कदै गई आगलागी भएको हो भन्ने व्यहोराको नरमाया सार्कीले मौकामा गरी दिएको कागज ।
मिति २०६८/११/२५ गते दिउँसो बेसी खेतमा काम गर्न गएको थिएँ । काम सकी घर फर्की आउने क्रममा गाउँकै दाजु नाता पर्ने लक्ष्मी खत्रीसित बाटोमा भेट भई आउँदै गर्दा सक्रान्ती ९ स्थितमा आई चुरोट सल्काई बाली, बली रहेको सलाइको काटी खरबारीमा फाल्दा सोही आगो सल्कन गई छविलाल गौतमको घर गुवाली र पूराना गाउँ प्रा.वि. समेत जलि नष्ट भएको हो । उक्त आगोलागीबाट छविलाल गौतमको घर बस्ने ओमबहादुर लम्जेल तथा पूराना गाउँ प्रा.वि.को के कति धनमाल जलि नष्ट भयो । सो कुरा खुलाउन सक्दिन उक्त आगो लागि हुनु बली रहेको सलाईको काटी खरबारीमा फाल्नु हो भनी केशव खत्रीले मौकामा गरिदिएको घटना विवरण कागज ।
मिति २०६८/११/२६ गते बेलुका म आफ्नो घरमा आउँदा स्थानीय मानिसहरूले तपाइँको दाजुको छोरा लक्ष्मी खत्रीले छविलाल गौतमको खरबारीमा आगो लगाउँदा उक्त आगो डडेलो लाग्दै गई छविलाल गौतमको घर, मतान तथा पुराना गाउँ प्रा.वि. समेतमा आगो लागी जली नष्ट भएको भन्ने सुनी थाहा पाएको
हुँ । घटना स्थलमा गई हेर्दा जलेको घर तथा स्कुलसमेत देखेको हुँ भनी चुडामणि खत्रीले गरिदिएको घटना विवरण कागज ।
मिति २०६८/११/२५ गते सक्रान्ती १ स्थित डाँडा गाउँमा मेरो आफन्तको विवाहमा गएको थिएँ । विवाहमा जान अघि मेरो कान्छा छोरा लक्ष्मी खत्रीलाई गाई वस्तुलाई घाँस हालेर आइज भनी पठाएको
थिएँ । विवाहबाट फर्केर घरतर्फ आउँदै गर्दा बीच बाटोबाटै ओमबहादुर लम्जेलको घर तर्फ ठूलो धुँवाको मुस्लो देखिएकोले के भएछ भनी घटनास्थलतर्फ आउँदा ओमबहादुर लम्जेलको घर मतान र पूराना गाउँ प्रा.वि. स्कुलमा आगो लागी पूर्णरूपमा क्षति भइसकेको थियो । हामी जम्मा भएको मानिसहरूले केहि गर्न सकेनौं । बुझ्दा मेरो कान्छा छोरा लक्ष्मी खत्री बेसीबाट घर आउने क्रममा सक्रान्ती ९ स्थित छविलाल गौतमको पाखो बारीमा आई पूगी चुरोट सल्काएर बलेको सलाइको काँटी खरबारीमा फालेको कारणले सोही सलाईको काँटीबाट आगलागी भई उक्त घटना भएको रहेछ । छविलाल गौतमको घर तथा पूराना गाउँ प्रा.वि.को के कति क्षति भयो मलाई थाहा भएन भनी मानबहादुर खत्रीले मौकामा गरिदिएको घटना विवरण कागज ।
मिति २०६८/११/२५ गते आगो लागी सम्बन्धित मुद्दामा जिल्ला प्रहरी कार्यालयमा ल्याएका वर्ष १३ को केशव खत्रीलाई खोजी भएको बखत यस कार्यालयमा उपस्थित गराउने गरी जिम्मा जमानीमा दिएको भन्नेसमेत व्यहोराको मौकामा चुडामणी खत्रीले गरिदिएको भरपाई कागज ।
मिति २०६८/११/२५ गते खाना खाई सक्रान्ती ९ स्थित बेसीमा गाई गोठ भएकोले गाई वस्तुलाई घाँस पानी दिनको लागि गोठमा गई दिउँसो अं. ३३० बजेको समयमा घर फर्कदै गर्दा चुरोट खान मन लागी साथमा भएको चुरोट सल्काई बलेको सलाइको काँटी त्यहि बाटो नजिकै भएको खरबारीतर्फ फाली केही अगाडि हिडेपछि पछाडि एक्कासी आगो बलेको देखि आगो नियन्त्रण गर्न फर्केर जाँदै गर्दा ऐ. बस्ने नरमाया कार्कीले समेत देखि म सँगै रहेका काकाको छोरा केशव खत्री, म र नरमाया सार्की भई आगो निभाउन खोज्दा हावा चलेको कारण आगो निभाउन नसकी घरमा समेत लागेपछि डरले घरमा नगई गाउँमा लुकेर बसेपछि आगोले जाहेरवाला बुद्धराज लम्जेल बस्दै आएको छविलाल गौतमको घर मतान र पूराना गाउँ प्रा.वि. समेत जलेर नष्ट भई पूर्णरूपमा क्षति भएको हो । उक्त आगलागीबाट के कति धन सम्पत्ति क्षति भयो, एकिन खुलाई भन्न सक्दिन । उक्त आगो मैले जानीजानी लगाएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
बुद्धराज लम्जेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मसमेत भएको आगोलागी मुद्दामा म यस कार्यालयको प्रहरी हिरासत थुनामा रहेको हुँदा मिति २०६८/१२/७ गतेबाट सञ्चालन हुने एस.एल.सी. परीक्षामा सहभागी हुन पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले जिल्ला प्रहरी कार्यालय, तेह्रथुममा दिएको निवेदन ।
म जाहेरवाला काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३२ मा अस्थायी बसोवास गर्न भनी २०६८/२/९ गतेदेखि घरबाट हिँडेको र मेरो घरजग्गा ऐ. बस्ने ओमबहादुर लम्जेल सार्कीलाई व्याज मराउनी खाने र घर भित्रका सामानहरू रूङने गरी राखिगएकोमा उल्लिखित मिति र समयमा प्रतिवादी लक्ष्मी खत्रीले मेरो खरबारीमा आगो लगाइदिई उक्त आगो बल्दै गई मेरो घर मतानसमेत जली मेरो घरभित्र ताला लगाई राखेको सामानहरू सबै जली अं. मूल्य रू.१३,६३,०००/- बराबरको क्षति भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्ने व्यहोराको छविलाल गौतमले दिएको जाहेरी दरखास्त ।
मिति २०६८/११/२५ गते अं. १५:०० बजेको समयमा जिल्ला तेह्रथुम सक्रान्ती बजार गा.वि.स. वडा नं. ९ बस्ने लक्ष्मी खत्रीले ऐ.ऐ. बस्ने छविलाल गौतमको खरबारीमा आगो लगाई उक्त आगो सल्कदै आई छविलाल गौतमको घर, मतान र उक्त घरभित्र रहेको छविलाल गौतमको रू.१०,४८,०००/- को मालसामान र उक्त घर बन्धकी लिई बस्ने ओमबहादुर लम्जेलको धनमाल तथा अन्नपात मूल्य रू.६,६५,०००/- बराबरको क्षति भएको भन्नेसमेत व्यहोराको मौकामा भएको गाउँ सर्जमिन मुचुल्का ।
मिति २०६८/११/२५ गते अं.१५:०० बजेको समयमा प्रतिवादीले लगाएको आगोले छविलाल गौतमको घर, मतानसमेत जलि सोको नजिक रहेको पूराना गाउँ प्राथमिक विद्यालय र सो विद्यालयभित्र रहेका मालसामानहरू जलि मूल्य रू. ८,१०,०००/- र सोही स्कुलमा बसोबास डेरा गरी बस्ने एकल महिला छत्रमाया सिटौलाको धनमाल अन्नपात तथा नगद समेत गरी मूल्य रू. ५१,४००/- बराबरको क्षति भएको भन्नेसमेत व्यहोराको गाउँ सर्जमिन मुचुल्का ।
मिति २०६८/११/२५ गते दिउँसो अन्दाजी ३:३० बजेको समयमा मेरो आमा नरमाया सार्कीले गाउँमा रहेको छविलाल गौतमको घरमा आगो लागेको छ भनेको कुरा सुनि थाहा पाएको हुँ । प्रतिवादी लक्ष्मी खत्रीसमेत भई उक्त आगो नियन्त्रण गर्दा नियन्त्रणमा आउन नसकी छविलाल गौतमको घर मतान तथा त्यहि गाउँमा रहेको पूराना गाउँ प्रा.वि.को भवनसमेत जली नष्ट भएको हो। आगो कसरी लागेको हो भन्ने बारेमा बुझ्दा प्रतिवादी लक्ष्मी खत्रीले चुरोट खान सल्काएको आगो खरबारीमा लागी सोही आगो सल्कदै गई छविलाल गौतमको घर तथा पूराना गाउँ प्रा.वि. समेतमा लाग्न गएको रहेछ । उक्त आगलागीबाट जाहेरवाला बुद्धराज लम्जेलको घरमा भएको नगद तथा जिन्सी सामान, छविलाल गौतमको घरमा भएको सामानहरू तथा पूराना गाउँ प्रा.वि.को भवनमा भएको भौतिक सम्पत्तिहरू समेत जलेर नष्ट भएको हो । उक्त आगो लगाउने कार्यमा अन्य कोही कसैको संलग्नता रहेको छैन भन्ने व्यहोरासहित खड्गबहादुर लम्जेल, सुरेन्द्र लम्जेल, गोपाल लम्जेलसमेतका स्थानीय मानिसहरूले प्राय एकै मिलान हुने गरी गरिदिएको वस्तुस्थिति मुचुल्का ।
अनुसन्धानको सिलसिलामा संकलित मिसिल संलग्न प्रमाणकागजातहरू, घटनास्थल मुचुल्का, बुद्धराज लम्जेल तथा छविलाल गौतमको जाहेरी दरखास्त, पूराना गाउँ प्राथमिक विद्यालयको क्षतिपूर्ति बारेको पत्र, सर्जमिन मुचुल्का, नरमाया सार्कीसमेतका मानिसहरूको घटना विवरण कागज, प्रतिवादीको बयान तथा वस्तुस्थिति मुचुल्कासमेतका प्रमाणहरूबाट मिति २०६८/११/२५ गते दिउँसो अं.१५:३० बजेको समयमा प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले छविलाल गौतमको खरवारीमा आगो लगाई निजको घर, मतान तथा चर्पी र पूराना गाउँ, प्राथमिक विद्यालय भवनसमेतमा आगलागी गरी छविलाल गौतमले घरमा राखेको माल सामानसमेत गरी अं. मूल्य रू.१०,४८,०००/- बराबरको सरसामान, निजकै घरमा बस्ने बुद्धराज लम्जेलको अं. रू.६,६५,०००/- मूल्य बरारबरको मालसामान पुराना गाउँ प्राथमिक विद्यालयको रू.८,१०,०००/- मूल्य बराबरको भवन र उक्त विद्यालयमा बस्ने एकल महिला छत्रमाया सिटौलाको अं. रू. ५१,४००/- मूल्य बराबरको सरसामान जली नष्ट भएको आगलागी मुद्दाको बारदात स्थापित हुन आएकोले उक्त कसुर मुलुकी ऐन, आगो लगाउनेको महलको १ नं. विपरीत ४, ५ र ६ नं. बमोजिमको कसुर भएको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी लक्ष्मीप्रसाद खत्रीलाई ऐ. को ४, ५ एवं ६ नं. बमोजिम सजाय गरी धनमालको क्षतिबापत मालधनी छविला गौतमलाई रू.१०,४८,०००।- ओमबहादुर लम्जेललाई रू. ६,६५,०००/- पूरानागाउँ प्राथमिक विद्यालयलाई रू. ८,१०,०००/- र छत्रमाया सिटौलालाई रू.५१,४००/- निज प्रतिवादीबाटै ऐ. को ९ नं. बमोजिम भराई पाउन मागदाबी लिई दायर भएको अभियोग पत्र ।
मिति २०६८/११/२५ गते बिहानको खाना खाई मकै छर्ने बाँझो खन्न भनी खेतमा गई दिनभर बाझो खनी मेरो काकाको छोरा केशव खत्रीसमेत सँगै घर जान भनी खेतबाट हिँडी जाहेरवाला छविलाल गौतमका खरबारी हुँदै घर जाने क्रममा सो खरबारीमा बेलुकी ३:३० बजे पुगेपछी मलाई चुरोट खान मन लागेकाले सलाई पारी चुरोट सल्काई सलाईको काँटी सो खरवारीको बाटोमा नै फाली घरतर्फ केही पर पुगेपछि सो खरबारीमा आगो लागेको देखी सल्केको आगो म र केशव खत्रीसमेत भई निभाउँदा सकेनौ । पछि आगो सल्कदै छविलाल गौतमको घर, पाली, ट्वाइलेट र पूराना गाउँ प्राथमिक विद्यालयको केहि काठहरू समेत जली नष्ट भएको हो । मैले जानीजानी आगो लगाएको होइन । अचानक आगो लागी जाहेरवालाको घर जलेको हो । मैले चुरोट सल्काई सलाइको काँटी फालेको निभेको रहेनछ । कति क्षति भयो भन्न सक्दिन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले अदालतमा गरेको बयान ।
यी प्रतिवादीले लापरवाही पूर्वक सलाईको काँटी फाली जाहेरवाला छवीलाल गौतमको घर, पाली र पूराना गाँउ प्राथमिक विद्यालय जली नष्ट भएको कुरा तत्काल प्राप्त प्रमाण कागजातहरूबाट पुष्टि भइरहेको देखिँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अ.बं.११८ को देहाय दफा २ बमोजिम प्रतिवादी लक्ष्मीप्रसाद खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्नु भन्ने मिति २०६८/१२/२१ को आदेश ।
मिति २०६८/११/२५ गते मैले बन्धकी लगाएको जिल्ला तेह्रथुम सक्रान्ती बजार गा.वि.स. वडा नं. ९ को खरबारीबाट आगो लाग्दै गरेको गाउँका मान्छेले देखी कराउँदा आगो लाग्दै आई निभाउने प्रयास गर्दा नसकी मैले बन्धकी लगाएको घरमा आगो सल्किई घरभित्र रहेका सुन २ तोला ३६,०००/- पर्ने कलर टि.भी. रू.६०,०००/- पर्ने ३ थान मोबाइल, नगद रू.१,९०,०००/- भाडा कुँडा लत्ताकपडा गरी रू.७,००,०००/- बराबरकै क्षति भएको छ । उक्त आगलागी प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले चुरोट सल्काई सलाईको काँटी ननिभाइ फालेका कारण आगो लागेको भन्ने निजै लक्ष्मीप्रसाद खत्रीबाट थाहा पाएको हुँदा मेरो क्षति भएको बिगो यी प्रतिवादीले तिर्नुपर्छ भन्नेसमेत व्यहोराको जाहेरवाला बुद्धराज लम्जेलले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०६८/११/२५ गते म घरमा नभएकाले आगो लगाएको देखिन । सो दिन ३:३० बजे घटनास्थलमा आउँदा हाल पढाई सञ्चालन नभएको अर्कै ठाउँमा भवन सरेको पूराना गाउँ प्राथमिक विद्यालयको खाली भवन र बुद्धराज लम्जेलले बन्धकी लगाएको छवीलाल गौतमको घरसमेत जल्दै गरेको देखेँ । प्रतिवादीले आगो लगाएको देखिँन । बुद्धराज लम्जेलले कमाउँदै गरेको घरबारीमा रहेको खरबारीमा प्रतिवादीले चुरोट खाई सलाईको काँटी ननिभाइ फालेको कारण आगो लागेको भन्ने सुनेको हुँ । बुद्धराज लम्जेलको रू.६,६५,०००/- बराबरको क्षति भयो भनी बुद्धराज लम्जेलले भन्दा थाहा पाएको हुँ भन्ने वादीका साक्षी सुरेन्द्र लम्जेलले गरेको बकपत्र ।
मिति २०६८/११/२५ गते म बिहेको निम्तो मान्न सक्रान्ती बजार गा.वि.स. वडा नं. ६ मा गई बेलुकी घर आउँदा छविलाल गौतमको घरमा आगो लागेछ । आगो के कसरी लाग्यो, के कती क्षति भयो थाहा
भएन । प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले आगो लगाएको होइन भन्ने वादीका साक्षी मानबहादुर खत्रीले गरेको बकपत्र ।
वादी नेपाल सरकार प्रतिवादी लक्ष्मीप्रसाद खत्री भएको आगलागी मुद्दामा कसले आगो लगाएको हो भन्न सक्दिन । आगलागीपश्चात यी प्रतिवादीलाई गाउँलेहरूले कुटपिट गरेका र निज आफैँ पनि भागेका कारण आगो यिनै प्रतिवादीले लगाएका हुन् भन्ने सम्भावना मात्र हो । उक्त आगलागीमा परी बुद्धराज लम्जेलको लगभग ७ लाख र छवीलाल गौतमको १३ लाख र विद्यालयमा सामान्य क्षति पुगेको हो भन्नेसमेत व्यहोराको वादीका साक्षी गोपाल रम्तेलले गरेको बकपत्र ।
मिति २०६८/११/२५ गते बेसीमा गाई चराई बाँधी घर फर्कदै गर्दा खरबारीमा लक्ष्मीप्रसाद खत्रीले आगो निभाउँदै गरेका र मलाई पनि निजले आगो निभाउन बोलाएकोमा गई निभाउँदा झन् आगो बढ्दै गएकोले निभाउन सकिएन । आगो कस्ले लगाएको हो थाहा भएन । उक्त आगलागीबाट छवी गौतम र बुद्धराज लम्जेलको घर जलेको तर के कति मूल्य बरारबरको क्षति भयो खुलाउन सक्तिन भन्नेसमेत व्यहोराको वादीका साक्षी केशव खत्रीले गरेको बकपत्र ।
मिति २०६८/११/२५ गतेको दिउँसो २:३० बजे मेरो ठूलोबुबा छवी गौतमको खरबारीबाट आगो सल्कदै आई मेरो ठूलोबुबाको घर र पूराना गाउँ प्राथमिक विद्यालयमा आगो लागी पूराना गाउँ प्रा.वि.को टिन फर्निचर र भवनसमेत गरी छ लाख बराबरको धनमाल नष्ट भएको हो भन्ने पूराना गाउँ प्राथमिक विद्यालयका प्रतिनिधि शिक्षक श्री फडिन्द्र गौतमले गरेको बकपत्र ।
छवि गौतमको जाहेरीमा उल्लिखित घर निजकै हो । निजको रू.९,००,०००/- को क्षति भएको हो । बुद्धराजको के कति क्षति भयो थाहा भएन । पूराना गाँउ प्रा.वि.को रू.१,००,०००/- बराबरको क्षति भएको हो भन्ने हरिप्रसाद लामिछानेसमेतले गरिदिएको स्थानीय गाउँ सर्जमिन मुचुल्का ।
आगलागीबाट छवी गौतमको रू. ५,००,०००/- बराबरको क्षति भएको हो । बुद्धराज सार्कीले घरमा भएको केही सामान निकाली बाँकी के कति क्षति भयो थाहा भएन भन्ने तेजबहादुर थापाले गरेको गाउँ सर्जमिन मुचुल्का ।
जाहेरवाला छवि गौतमको आगलागीबाट रू.३,००,०००/- बरारबरको क्षति भएको हो । बुद्धराजले केहि सामान निकाले । पूराना गाउँ प्रा.वि.को केहि भाग आगलागीबाट क्षति भएको हो । के कति क्षति भयो थाहाँ भएन भन्ने टोमबहादुर खत्रीले गरिदिएको गाउँ सर्जमिन मुचुल्का ।
छवि गौतमको जाहेरीमा उल्लिखित घर निजकै हो । निजको रू.६,००,०००/- बराबरको क्षति भएको हो भन्ने लोकनाथ सिटौलाले गरिदिएको गाउँ सर्जमिन मुचुल्का ।
प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले मौकामा र अदालतमा बयान गर्दा आफूले चुरोट सल्काउन प्रयोग गरेको सलाइको काँटी फाल्दा खरमा पर्न गई त्यसैबाट जाहेरवालाको घरमा आगो लागेको हो भनी स्वीकार गरेका, मौकामा कागज गर्ने व्यक्तिले अदालतमा प्रतिवादीकै कारण जाहेरवालाको घर जलेको हो भनी लेखाई दिएकासमेत आधार प्रमाणबाट जाहेरवालाको घरसमेतमा यी प्रतिवादीकै कार्य कारणबाट आगो लाग्न गएको कुरा पुष्टि हुन आयो । बिगोका हकमा हेर्दा छवि गौतमले जाहेरीमा दाबी लिएको बिगो र अभियोग पत्रमा दाबी गरिएको बिगो फरक परेको, अदालतबाट सर्जमिन गरी बुझिएकोमा रू.६,००,०००/- जति क्षति भयो भनी उल्लेख भएको पाइएको सो बिगो नै जाहेरवाला छवि गौतमले प्रतिवादीबाट भराई लिन पाउने र अन्य जाहेरवालाहरूको बिगोका हकमा विश्वासनीय तवरले पुष्टि हुन नसक्दा दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू तेह्रथुम जिल्ला अदालतको मिति २०६९/४/३० गतेको फैसला ।
मैले चुरोट सल्काई निभाएर फालेको सलाइको काँटीमा बचेको भागबाट आगो लागेको थाहा पाई चुरोट खाएको स्थान भन्दा अं.५०० मि. टाढा रहेको जाहेरवाला छवि गौतमको घरमा सल्किन पुगी उक्त घर जलेको हो । अरू कोहि कसैकोमा आगो लागेको छैन । मैले जानाजान निजको घरमा आगो लगाएको होइन । आगो बढेको थाहा पाउनासाथ मसमेत उक्त स्थानमा गई आगो निभाउन गएको तर निभाउन नसकी आगोले उक्त घर जलेको भन्ने कुरा मैले आफ्नो बयानमा उल्लेख गरेको छु । मैले नियत बस आगो लगाएको नभई भवितव्यबाट आगो लाग्न गएको कुरा मिसिलबाट प्रस्टरूपमा देखिइरहेको अवस्थामा समेत आगो लगाउनेको १ नं. बमोजिमको कसुर अपराधमा मलाई सजाय गर्ने गरी भएको सुरू तेह्रथुम जिल्ला अदालतको मिति २०६९/४/३० को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले गरेको पुनरावेदनपत्र ।
प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले आफूले आगो लगाएको कुरा स्वीकार गरी जाहेरवाला छवी गौतमको घर जलेको कुरा ठहर गरे तापनि दाबीको बिगो भन्दा कम बिगो कायम गरेको, अन्य जाहेरवालाहरूको दाबी नपुग्ने ठहराएको छ । प्रतिवादीलाई घर, ग्वाली, स्कुलसमेत जलाएकोमा थप सजाय नगरेको हदसम्म सुरूको फैसला मिलेको नहुँदा सो हदसम्म बदर गरी अभियोग मागबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट दायर हुन आएको पुनरावेदनपत्र ।
यसमा वादी प्रतिवादी दुवैको पुनरावेदन पर्न आएको देखिँदा मुलुकी ऐन, अ. बं. २०२ नं. को प्रयोजनार्थ पुनरावेदन पर्न आएको व्यहोराको जानकारी एक अर्कालाई गराई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, धनकुटाको मिति २०६९/१०/१४ आदेश ।
यसमा प्रतिवादीले अदालतमा बयान गर्दा आफूले चुरोट सल्काई फ्यालेको सलाईको काँटीले खरबारीमा आगो लाग्न गई सोही आगो सल्कदै गई जाहेरवालाको घरसमेतमा आगलागी भएको तथ्यमा साबित रहेको र निजको साबितीलाई घटनास्थल मुचुल्का तथा घटना विवरण र वस्तुस्थिति मुचुल्कामा रहेका केशव खत्रीलगायतका व्यक्तिहरूले गरेको बकपत्र तथा जाहेरवाला बुद्धराज लम्जेलको बकपत्र समेतबाट पुष्टि भइरहेकोले यी प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले जानीजानी जाहेरवालासमेतको घरमा आगो लगाएको नभए तापनि प्रतिवादीको गम्भीर लापरवाहीका कारणबाट जाहेरवालाको घरसमेतमा आगो लाग्न गएकोले सुरू तेह्रथुम जिल्ला अदालतबाट भएको फैसला सजाय र क्षतिको बिगोको सम्बन्धमा मिलेको नदेखिँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी लक्ष्मीप्रसाद खत्रीलाई मुलुकी ऐन, आगो लगाउनेको महलको ५ नं. बमोजिम ४ वर्ष कैद हुने र जाहेरवाला छवि गौतमलाई ३ लाख रूपैयाँ र पूराना गाउँ प्राथमिक विद्यालयलाई रू. ५०,०००/- क्षतिपूर्ति प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, धनकुटाको मिति २०६९/१२/२६ को फैसला ।
यसमा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा समेत बयान गर्दा आफ्नै कारणबाट खरबारीमा आगो लाग्न गई सल्कदै जाँदा बुद्धराज लम्जेल, पूराना गाउँ विद्यालय र छवीलाल गौतमको घर जली नष्ट भएको भनी साबिती बयान गरेको र मौकामा बुझिएका व्यक्तिहरूबाट पनि प्रतिवादीकै बयानलाई समर्थन हुने गरी बकपत्र गरेको अवस्था छ । घर आगोलागी हुदा नष्ट भएको धनमालको बिगो खुलाई पीडितले कागज गरी दिएका र सो पुष्टि हुने गरी बकपत्र गरेको अवस्थामा धनमालको मूल्य र विवरण फरक परेको भन्ने आधारमा बुद्धराज लम्जेलसमेतलाई क्षतिपूर्ति नभराउने गरी भएको फैसला न्यायसंगत
छैन । साथै पुराना गाउँ विद्यालयलाई मागदाबी भन्दा कम रू.५०,०००/- र छवी लाल गौतमलाई ३,००,०००/- क्षतिपूर्ति भराई दिने फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको मिति २०७०/७/१३ मा यस अदालतमा परेको पुनरावेदन पत्र ।
मैले जानीजानी आगो लगाएको होइन भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि भइरहेको
छ । प्रहरीमा कागज गर्ने कसैले पनि अदालतमा मैले आगो लगाएको भनी किटानी बकपत्र गर्न सकेका
छैनन् । मैले चुरोट सल्काई बलेको काँटी निभाइ बाटोमा फालेकोमा आगो लाग्न गएको हो । मैले र केशव खत्रीले निभाउन कोसिस गर्दा निभाउन नसकी छवी गौतमको घर भवितव्यपूर्वक जली नष्ट भएको
हो । मैले आगो लगाएको र क्षति गराएको भन्ने अभियोग दाबी प्रमाणित हुन सकेको छैन । छवी गौतमको क्षति भएको बिगो एकिन हुन सकेको छैन । अतः भवितव्यबाट आगलागी हुन गएको पुष्टि भइरहेको अवस्थामा मलाई ४ वर्ष कैद रू.३,५०,०००/- क्षतिपूर्ति भराई लिने गरी भएको पुनरावेदन अदालत, धनकुटाको मिति २०६९/१२/२६ को फैसला बदर गरी पूर्ण सफाइ दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले यस अदालतमा गरेको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री टिकेन्द्र दाहालले प्रतिवादीकै कारणबाट खरबारीमा आगो लाग्न गई सल्कदै जाँदा बुद्धराज लम्जेल, पूराना गाउँ विद्यालय र छवीलाल गौतमको घर जली नष्ट भएको भनी बयान गरेको र मौकामा बुझिएका व्यक्तिहरूले पनि प्रतिवादीकै बयानलाई समर्थन हुने गरी बकपत्र गरेको अवस्था छ । घर आगोलागी हुदा नष्ट भएको धनमालको बिगो खुलाई पीडितले कागज गरिदिएका र सो पुष्टि हुने गरी बकपत्र गरेको अवस्थामा धनमालको मूल्य र विवरण फरक परेको भन्ने आधारमा बुद्धराज लम्जेलसमेतलाई क्षतिपूर्ति नभराउने गरी भएको फैसला न्यायसङ्गत
छैन । साथै पुराना गाउँ विद्यालयलाई मागदाबी भन्दा कम रू. ५०,०००/- र छवीलाल गौतमलाई ३,००,०००/- क्षतिपूर्ति भराई दिने फैसला त्रुटिपूर्ण छ भनी गर्नुभएको बहस सुनियो । पुनरावेदक प्रतिवादी लक्ष्मीप्रसाद खत्रीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री हर्कबहादुर भट्टराई, रामप्रसाद पण्डित तथा वैतनिक अधिवक्ता श्री किरण गुप्ताले प्रतिवादीले प्रतिवादीले जानीजानी र मनसायपूर्वक वारदात घटाएको भन्ने मिसिल संलग्न कुनै कागजातहरूबाट पुष्टि हुन सकेको छैन । प्रतिवादीको पूर्व रिसइवीसमेत केही रहेभएको देखिँदैन । प्रहरीमा कागज गर्ने व्यक्तिहरू कसैले पनि अदालतमा उपस्थित भई प्रतिवादीलाई गडाउ गरी बकपत्र गर्न सकेको अवस्था छैन । क्षति भएको घरमा प्रत्यक्ष आगो लगाएको नभई निभाएर फालेको चुरोटको ठूटोबाट अचानक आगो सल्कीएको अवस्था छ । प्रतिवादीले चुरोट निभाइ फालेको स्थान र क्षति भएको स्कुल तथा घरको दुरी ५०० मिटर भन्दा बढी रहेको छ । अत मिसिल प्रमाणबाट प्रतिवादी उपरको अभियोग दाबी पुष्टि हुन नसकि रहेको अवस्थामा निजलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत, धनकुटाको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भनी गर्नुभएको बहससमेत
सुनियो । यसरी दुवै तर्फबाट प्रस्तुत भएको तर्कपूर्ण बहस सुनी पुनरावेदनसहितका मिसिल कागजातहरू अध्ययन गरी पुनरावेदन अदालत, धनकुटाले प्र. लक्ष्मीप्रसाद खत्रीलाई ४ वर्ष ६ महिना कैद र रू. ६,००,०००।– भराई दिने गरी भएको फैसला मिले नमिलेको के हो ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन, साथै नेपाल सरकारले निज प्रतिवादीलाई थप सजायसमेत हुनुपर्ने भनी लिएको जिकिर पुग्न सक्ने हो होइन सोही सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले खरबारीमा चुरोट सल्काई सलाईको बलेको काँटी खरवारीमा फालिदिएको र सोही आगोबाट खरबारी हुँदै छवी गौतमको घर तथा पुराना गाउँ प्राथमिक विद्यालयसमेतमा आगो लाग्न गई क्षति पुग्न गएको हुँदा प्रतिवादीलाई मुलुकी ऐन, आगो लगाउनेको ४, ५ र ६ नं. बमोजिम सजाय गरी क्षति भएको बिगो रू.२५,७४,४००।– प्रतिवादीबाट जाहेरवालाई दिलाई भराई पाउँ भन्ने मागदाबी लिई अभियोगपत्र पेस भएकोमा सुरू तेह्रथुम जिल्ला अदालतले प्रतिवादी लक्ष्मीप्रसाद खत्रीलाई मुलुकी ऐन, आगो लगाउनेको महलको ५ नं. बमोजिम ४ वर्ष ६ महिना कैद र रू. ६,००,०००।– क्षतिपूर्तिसमेत प्रतिवादीबाट जाहेरवालालाई भराई दिने ठहराई गरेको फैसलाउपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन अदालत, धनकुटामा पुनरावेदन परेकोमा सुरू फैसला केही उल्टी हुने भई प्रतिवादीलाई ४ वर्ष कैद हुने र रू. ३,००,०००।– मात्र क्षतिपूर्ति भराई दिने ठहराई भएको फैसलामा चित्त नबुझाई दुबै पक्षको यस अदालतसमक्ष पुनरावेदन परेको देखियो ।
३. तेह्रथुम जिल्ला सक्रान्ति बजार गा.वि.स. वडा नं. ९ मा छविलाल गौतमको घर बन्दकी लिई ओमबहादुर लम्जेल बसी आएकोमा मिति २०६८।११।२५ गते घर नजिकैको खरवारीमा लागेको आगो सल्किदै आई घरमा आगो लागेको, सो आगोले अन्नपात काठपात तथा नगद जिन्सीसमेत रू. ७,३६,०००।– बराबरको धनमाल क्षति भएको, सोही आगो मतान घरमा समेत लाग्न गई रू.१,५०,०००।–को क्षति भएको हो । उक्त आगोबाट पुरानागाउँ प्राथमिक विद्यालयको भवनमा समेत आगो लाग्न गई रू.७,००,०००।– क्षति भएको र सोही विद्यालयमा डेरा गरी बस्ने छत्रमाया सिटौलाको रू. ५१,४००।–समेत जम्मा रू.१६,३७,४००।- बराबरको क्षति भएको भनी घटनास्थल मुचुल्काबाट देखियो । आगो लगाउने व्यक्ति यिनै प्रतिवादी रहेको र उक्त आगोबाट आफ्नो रू.४,१०,७००।– बराबरको क्षति भएको भनी बुद्धराज लम्जेलले मिति २०६८।११।२८ मा जाहेरी दिएको देखिन्छ । घटना विवरण कागज गर्ने नरमाया सार्कीसमेतले प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले चुरोट सल्काई बलेको सलाईको काँटी खरबारीमा फालिदिएको कारण आगलागी भएको हो । आगलागीबाट के कति क्षति भयो थाहा भएन भनी व्यहोरा लेखाएको पाइयो । सोही व्यहोरालाई अदालतमा बकपत्र गरी प्रमाणित गरिदिएको देखियो ।
४. प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दा मिति २०६८।११।२५ गते बेसीबाट घरतर्फ फर्किरहेको अवस्थामा छविलाल गौतमको खरबारीमा चुरोट खाई बलेको सलाईको काँटी फालिदिएको हुँ । सोही सलाईको काँटीबाट आगो सल्किन गएको देखेपछी केशव खत्री र स्थानीय नरमाया सार्कीसमेत भई आगो निभाउन खोज्दा नसकेकोले घरतर्फ गएको हो । सोबाट को कस्को के कति क्षति भयो भन्न सक्दिन । सोही आगोको कारणबाट जाहेरवालाका घर गोठ र स्कुलमा आगजनी हुन गएको हो भनी आफूले फालेको सलाईको काँटीबाट आगो लाग्न गएको तथ्यमा साबित रही बयान गरेको देखियो ।
५. प्रतिवादीको उक्त साबिती घटनास्थल मुचुल्का, घटना विवरण कागज, वस्तुस्थिति मुचुल्का तथा जाहेरवाला बुद्धराज लम्जेलको बकपत्रसमेतबाट पुष्टि भइरहेको देखिन्छ । यसबाट प्रतिवादीले खरबारीमा फालेको बलेको सलाईको काटीबाट आगो सल्किदै आई जाहेरवालाहरूको घर गोठ तथा स्कुलसमेतमा आगलागी भएको तथ्य पुष्टि भइरहेको देखियो । अव प्रतिवादीको उक्त कार्यबाट अभियोग दाबीबमोजिमको कसुर स्थापित हुन सक्ने हो होइन भन्नेतर्फ विचार गर्दा मुलुकी ऐन आगो लगाउनेको १ नं. हेर्दा कसैको नोक्सान गराउन जानीजानी आगो लगाउन, लगाउन लाउन र आगो लाउने उद्योग गर्न गराउनसमेत
हुँदैन । कसैले लेखिएको काम गर्यो भने जती जना मानिस भई सो काम भएको छ उति जनालाई र मतलवीलाई बात लाग्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रतिवादीले आफूले जानीजानी जाहेरवालाहरूको घरमा आगो लगाएको होइन भन्ने जिकिरतर्फ हेर्दा प्रतिवादीले जाहेरवालाको घरमा नै गई आगो लगाएको नभए तापनि जाहेरवालाको खरवारीमा बलेको सलाईको काँटी फालेको कारण वारदात भएको कुरामा विवाद देखिँदैन । सुकेको खरबारीमा सलाईको काँटी फाल्दा खरबारीमा आगो लाग्न सक्छ र त्यसबाट नजिकका घरमा आगो लाग्न सक्छ भन्ने कुरा सामान्य विवेक भएको मानिसलाई थाहा हुन सक्ने विषय हो । यसरी सामान्य विवेकसम्म नराखी आफूले गर्न लागेको कार्यबाट अर्काको हानी नोक्सानी हुन्छ भन्ने जानीबुझी त्यस्तो कार्य गर्ने र त्यसबाट नोक्सानी हुन गएमा प्रतिवादीले लापरबाही गरेको मानिन्छ । आफूद्वारा हुने कार्यबाट दुष्परिणाम निस्कन सक्दछ भन्ने जानीजानी उसले गरेको कार्यबाट आपराधिक कार्य घटन गएमा उसको मानसिक अवस्था पूर्णतया निर्दोष रहेछ भनी मान्न मिल्दैन । यो मनसायकै एउटा स्वरूप हुँदा निजमाथि फौजदारी दायित्व आकर्षित हुन्छ । तसर्थ प्रस्तुत वारदात मनसायपूर्वक घटेको होइन भन्ने बयान जिकिर र गम्भीर लापरबाहीबाट घटना घटेको पुष्टि भइरहेको परिप्रेक्षमा प्रतिवादीले आपराधिक दायित्वबाट उन्मुक्ति पाउनुपर्दछ भन्ने पुनरावेदन जिकिर मुनासिब देखिन आउँदैन ।
६. अब प्रतिवादीले गरेको कसुरजन्य कार्यबाट हुनसक्ने सजायतर्फ विचार गर्दा मुलुकी ऐन, आगो लगाउनेको महलको ४ नं. हेर्दा घरमा आगो लगाइदिएको नभई घरबाहिर रहेको अर्काको हकको जिन्सी मालमा आगो लगाइदिने, आगो लगाउने उद्योग गर्ने र बचन दिनेलाई घर चौपाया मानिस परेको नभए नोक्सान भएको बिगो भराई आगो लगाइसकेको भए ठाउँ एकको छ महिना, आगो लगाउन उद्योग गरेकोमा आगो लगाउन नपाएको भए तीन महिनाको दरले कैद हुन्छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यसैगरी ऐ. ५ नं. मा अर्काको घरमा आगो लगाएमा.......आगो लगाउने र सो काममा मुख्य भई बचन दिने जतिलाई एक घरको ४ वर्ष र त्यसदेखि बढी घर एकको एक वर्षका दरले बढाई कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखियो । प्रतिवादीले छवीलाल गौतमको खरबारीमा सलाईको काँटी फालेको कारणबाट आगो लाग्न गएको र सोही आगो सल्किँदै गएर छवीलाल गौतमको घरगोठ र पुरानागाउँ प्राथमिक विद्यालयको भवनसमेतमा क्षति पुग्न गएको तथ्य स्थापित भइरहेको देखिन्छ । यसबाट प्रतिवादीले फरक फरक ठाउँमा आगो लगाएर एकभन्दा बढी घरमा क्षति भएको अवस्था नभएको र थप घरमा आगो लगाउन प्रतिवादीको प्रत्यक्ष संलग्नता रहेको तथ्य स्थापित हुन आएको देखिँदैन । जहाँसम्म एकभन्दा बढी घरमा क्षति भएको हुँदा आगो लगाउनेको ४ र ५ नं. आकर्षित हुन्छ भन्ने अभियोग दाबी छ सोतर्फ हेर्दा प्रतिवादीले प्रत्यक्षरूपले घरमै गएर जानीजानी आगो लगाएको नभई प्रतिवादीको गम्भीर लापरबाहीको कारण खरबारीमा फालेको सलाईको काँटीबाट आगो सल्कदै गई जाहेरवालाहरूको घर र स्कुलसमेत जली नस्ट भएकोमा यस्तो वारदातलाई छुट्टाछुटै वारदात कायम गरी सजाय गर्न मिल्ने पनि देखिँदैन ।
७. अब जाहेरवालाई भराएको बिगोको सम्बन्धमा हेर्दा अदालतबाट भएको सर्जमिन मुचुल्का हेर्दा सबै व्यक्तिहरूले जाहेरवालाको क्षति भएको रकममा एकरूपता रहेको देखिँदैन । बादी प्रतिवादीका साक्षिहरूले बकपत्र गर्दा पनि क्षति भएको बिगोको रकममा एकरूपता देखिँदैन । जाहेरवाला बुद्धराज लम्जेलको जाहेरी र बकपत्र व्यहोरा फरक रहेको तथा निजले आगलागी पुर्व नै आफ्नो सामान घरबाट निकाली सकेको भन्ने वादीका साक्षीको बकपत्रबाट पुष्टि भएको हुँदा निजको क्षतिको एकिन हुन नसकेबाट निजलाई बिगो भराउन मुनासिब देखिएन ।
८. जाहेरवालामध्ये छवी गौतमको घरको क्षतितर्फ हेर्दा निजको कुन कुन सामान जली नस्ट भएको हो, सो तथ्य घटना विवरण कागज तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूले खुलाउन सकेको देखिँदैन । अदालतबाट भई आएको सर्जमिन मुचुल्काका अधिकांश मानिसहरूले निजको छ लाख बराबरको क्षति भएको उल्लेख गरेको पाइयो । निजको घर ढुङ्गा माटोको गाह्रो, फुसको छानो र घरको लम्बाइ चौडाइ २७×१३ रहेको परिप्रेक्षमा निजलाई आगलागीको घटना भएको परिस्थिति, घरको बनावट तथा मिसिल संलग्न अन्य सबुत प्रमाणहरूका आधारमा रू. ३,००,०००।– क्षतिपूर्ति भराउने गरी भएको पुनरावेदन अदालतको फैसला अन्यथा
देखिँदैन ।
९. अब पुराना गाउँ प्राथमिक विद्यालयको हकमा हेर्दा उक्त भवनमा क्षति पुगेको स्थापित भए तापनि के कति क्षति भएको हो कही कतैबाट देखिन
आउँदैन । घटनास्थल मुचुल्कामा काठपात र भवन क्षति भएको उल्लेख भए तापनि आगलागी भएको समयमा स्कुल खाली रहेको बताएका तथा वादीका साक्षी गोपाल रम्तेलले स्कुल ढुङ्गा माटोको गाह्रोबाट निर्माण भएको र सामान्य क्षति भएको भन्ने बकपत्र व्यहोरा देखिँदा आगलागी हुँदाको स्वरूप र अवस्थासमेतबाट पुराना गाउँ प्राथमिक विद्यालयलाई रू.५०,०००।– बिगो भराउने गरेको फैसलालाई अन्यथा भन्नुपर्ने देखिन आएन ।
१०. अतः प्रतिवादी लक्ष्मीप्रसाद खत्रीले लापरवाहीका साथ बलेको सलाईको काँटी खरबारीमा फालेको कारण आगलागी हुन गई जाहेरवालाहरूको घर तथा स्कुलसमेतमा क्षति पुग्न गएको कसुर वारदात माथि विवेचित आधार प्रमाणहरूबाट पुष्टि र स्थापित हुन आएकोले निज प्रतिवादी लक्ष्मीप्रसाद खत्रीलाई मुलुकी ऐन, आगो लगाउनेको महलको १, ४ र ५ नं. बमोजिमको कसुरमा निजलाई ४ (चार) वर्ष कैद र निज प्रतिवादीबाट रू. ३,००,०००।– जाहेरवाला छवी गौतमलाई र रू. ५०,०००।– पुराना गाउँ प्राथमिक विद्यालयलाई क्षतिपूर्ति भराइदिने ठहराई भएको पुनरावेदन अदालत, धनकुटाको मिति २०६९।१२।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको प्रतिवादीलाई थप सजाय गरिपाउँ भन्ने र प्रतिवादीको आरोपित कसुरबाट सफाइ पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.बैद्यनाथ उपाध्याय
इजलास अधिकृत शा.अः- तीर्थराज भट्टराई
इति संवत् २०७२ साल असोज १२ गते रोज ३ शुभम् ।