निर्णय नं. ९६०२ - संरक्षित क्षेत्रभित्र संरक्षित हिउँ चितुवा मारी छाला निकासी ओसारपसार गरी घरमा राखेको

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
फैसला मिति : २०७२।६।७।५
मुद्दा : संरक्षित क्षेत्रभित्र संरक्षित हिउँ चितुवा मारी छाला निकासी ओसारपसार गरी घरमा राखेको
०७०-CR-००५६
पुनरावेदक / वादी : जिल्ला प्रहरी कार्यालय, मुस्ताङको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : गोरखा जिल्ला करौजा गा.वि.स. वडा नं.४ घर भई हाल कारागार कार्यालय, कास्कीमा थुनामा रहेका कुलमान घले गुरूङसमेत
०७०-CR-००५७
पुनरावेदक / प्रतिवादी : मुस्ताङ जिल्ला मार्फा गाउँ विकास समिति वडा नं.१ घर भई हाल कारागार कार्यालय, कास्कीमा थुनामा रहेका श्यामप्रसाद लालचन
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला प्रहरी कार्यालय, मुस्ताङको जाहेरीले नेपाल सरकार
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) मा वन्यजन्तु मार्ने कार्य र वन्यजन्तुको आखेटो पहार राख्नेसम्मको निषिद्ध कार्यलार्इ पनि एकै दफामा राखे पनि सो कार्यलार्इ कसुरको मात्रानुसार विचार गरी सजाय गर्न अधिकतम र न्यूनतम सजायको व्यवस्था गरी न्यायकर्तालार्इ स्वविवेकीय सजाय निर्धारण गर्न सक्ने गरी कानूनी प्रावधान विधायिकाले निश्चित गरेको देखिन्छ । यसरी विधायिकाले दण्ड निर्धारण गर्न विस्तारित प्रावधान राखे पनि तजबिजी अधिकारको प्रयोग आत्मगत वा स्वेच्छाचारीरूपमा गर्न मिल्दैन । त्यस्तो दण्डको निर्धारण न्यायकर्ताले समन्याय (equity), शुद्ध अन्त:स्करण (good conscience), प्राकृतिक न्याय (natural justice) का आधारमा कसुरको मात्रा वा गाम्भीर्यता, घटनाक्रम र कानूनले तोकेको परिधिसमेतलार्इ तुलानात्मकरूपमा अनुपातिक र उचित सन्तुलन (proportional & proper balance) भएको छ छैन ख्याल गरी न्यायिकरूपमा सम्पादन हुनुपर्ने ।
(प्रकरण नं.६)
वादीका तर्फबाट : उपन्यायाधिवक्ता पुण्यप्रसाद पाठक
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता जयनारायण पौडेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने :
सम्पर्क अधिकारी श्री कमलजंग कुँवर
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे
माननीय न्यायाधीश श्री राजकुमार वन
फैसला
न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
जिल्ला प्रहरी कार्यालय, मुस्ताङको मिति २०६८।२।१५ च.नं.१२६८ को पत्रबाट जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ मा रहेको प्याराडाइज गेस्ट हाउसमा मिति २०६०।२।१४ गते खानतलासी गर्दा २ वटा हिउँ चितुवाको छाला बरामद भएकोले उक्त गेस्ट हाउसका मालिक श्यामप्रसाद लालचन, च.नं. १२७७ मिति २०६८।२।१६ को पत्रानुसार मिति २०६८।२।१५ गते जिल्ला गोरखा करौजा गा.वि.स वडा नं.४ घर भई हाल जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ बस्ने श्यामप्रसाद लालचनको चौंरी गोठमा काम गर्ने कुलमान घले गुरूङ प्रक्राउ भएको, च.नं. १३१२ मिति २०६८।२।२७ को पत्रानुसार गोरखा करौजा गा.वि.स. वडा नं.१ घुनचुक घर भई हाल जिल्ला मार्फा गा.वि.स. वडा नं.४ बस्ने रिञ्जिन हिराचनको चौरी गोठमा काम गर्ने कान्छावीर गुरूङसमेत बरामदी मुचुल्का हिउँ चितुवाको छाला हिउँ चितुवाको हड्डीसमेतका दशी सबुत प्रमाणसहित आवश्यक कानूनी कारवाहीको लागि पेस भएको जाहेरी प्रतिवेदन ।
मिति २०६८।२।१४ गते जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ मा पर्ने प्रतिवादी श्यामप्रसाद लालचनको प्याराडाइज गेस्ट हाउसमा प्रहरी टोलीले खानतलासी गर्दा होटलको मूल ढोकाबाट प्रवेश गरी माथिल्लो तलामा जाने पक्की सिंढी रहेको उक्त सिंढी चढी माथिल्लो तलामा गई हेर्दा होटलका विभिन्न कोठाहरू रहेको, उक्त कोठामध्ये बाथरूम लेखिएको ताला लगाई बन्द रहेको कोठाको ढोका खोली हेर्दा विस्तरासहितको २ वटा खाट रहेको, कोठाको कुनामा काठको टंगालोमा सेता, कालो, खैरो रंगको टाटेपाङ्ग्रे टाउको खुट्टा तथा पुच्छरसमेत भएको १ मिटर ७४ से.मि.को थान १ र १ मिटर ७३ से.मि. को थान १ गरी जम्मा थान २ हिउँ चितुवाका छाला झुन्ड्याई राखिएको अवस्थामा बरामद भएको भन्ने प्रहरी निरीक्षक राममणी उप्रेतीसमेतले खडा गरेको बरामदी मुचुल्का ।
जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ स्थित प्याराडाइज गेस्ट हाउस मेरो आफ्नै हो । मिति २०६८।२।१४ गते प्रहरीहरू आएर मेरो होटल खानतलासी गरे । बाथरूम भनी लेखिएको कोठामा खानतलासी गर्दा करिब १ मि.७४ से.मि. र अर्को १ मि. ७३ से.मि. को दुइवटा हिउँ चितुवाको छाला सुकाएर राखेको अवस्थामा बरामद गरेका हुन् । करिब १ महिना जति अगाडि जिल्ला गोरखा करौजा गा.वि.स. वडा नं.४ स्थायी घर भई हाल मार्फास्थित मेरो चौरी गोठमा काम गर्ने वर्ष ४८ को कुलमान घले गुरूङले ल्याएर मलाई राख्नको लागि भनी दिएको हो । मैले मेरो होटलको माथिको ढलानको छानामा सुकाउनको लागि फिँजाएर राखेँ । त्यसपछि बाथरूम भनी लेखिएको कोठामा काठको बारमा सुकाएर राखेको थिएँ । प्रहरी आएर खानतलासी गरी बरामद गरेर छालासहित मलाई जिल्ला प्रहरी कार्यालय, जोमसोममा लिएर
गए । उसले दिएको छाला आलो थियो । मैले नगन्हाओस् र नकुहियोस् भनी नुन छालामा दलेर सुकाएँ । टुक्चे गा.वि.स. फचे भवाङमा भएको मेरो चौरी गोठमा उसले काम गर्छ । उसले रासन लिन आउँदा छाला लिएर आएको हो । मैले ओछ्याउनको लागि भनी राखेको हो । कहाँ र कसरी मरेको बारेमा मलाई थाहा भएन । तस्वीर नं. १ मा कुलमान घले गुरूङ र मैले हातमा लिएको हिउँ चितुवाको छाला नै कुलमान घले गुरूङले मलाई ल्याएर दिएको र मेरो प्याराडाइज गेस्ट हाउसबाट प्रहरीले बरामद गरेको छाला त्यही नै हो भनी प्रतिवादी श्यामप्रसाद लालचनले अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयान ।
२०६८ साल वैशाख महिनाको १५/१६ गते हुन सक्छ । १ वटा पोथी र १ वटा भाले चितुवा मरेको देखेँ । मैले २ वटै चितुवालाई धुपीको पातले नदेख्ने गरी छोपेँ । त्यसपछि भोलिपल्ट बिहान वतासेमा रिञ्जिन हिराचनको चौंरी गोठमा काम गर्ने जिल्ला गोरखा केरौजा गा.वि.स. वडा नं. १ का कान्छावीर गुरूङलाई भेट्न गएँ । उसलाई चौरी गोठमा काम गर्दा देखि नै चिनेको हो । मैले उसलाई भवाङभन्दा मुनि चौरमा २ वटा हिउँ चितुवा मरेको फेला पारेँ छाला काढ्नको लागि सहयोग गर्नु पर्यो भनेँ । ऊ मलाई सहयोग गर्न तयार भयो । मैले छाला काढेर साहुको घरमा पठाउने हो उसले जेसुकै गरोस् भनेको हो । हामी दुबै जनाले चक्कुले उक्त दुईवटा हिउँ चितुवाको छाला काढ्यौं र मासु र हड्डी त्यहीँ छाड्यौं । भोलिपल्ट नै २ वटा छाला बोकेर ल्याई मार्फास्थित मेरा साहुलाई ल्याएर दिएँ । साहुले झोलाबाट निकालेर हेर्यो र २ वटा हो भनी सोध्यो । साहुले उक्त छालाहरू माथि छतमा राख्नु भन्यो । मैले छतमा फिँजाएर
राखेँ । त्यो रात साहुको होटलमा बसेर भोलिपल्ट नै
फर्केँ । १५/१५ दिनमा रासन खर्च लिन साहुकहाँ
आउँछु । छाला बुझाउनभन्दा ६ दिन अगाडि रासन लिन मार्फा साहुकहाँ आएको थिएँ । २०६८।२।१५ गते प्रहरीहरू आएर मरेको हिउँ चितुवा कहाँ छ देखाउ भने । म र प्रहरीहरू गएर खोज्दा भलिङ भिरमा हिउँ चितुवाको टाउको मेरूदण्डलगायतका हड्डी गन्हाएको अवस्थामा फेला पर्यो । उक्त हड्डीहरू प्रहरीले उठाएर ल्याए । चौरीमा विष हालेर हिउँ चितुवाले खाई छट्पटाउँदै आएर भवाङमुनिको भिरमा आएर मरेको हुन सक्छ । किनकि त्यहाँ पासो पनि छैन । बन्दुकले हानेको प्वाल पनि छैन । तस्वीर नं.१ मा देखाएको हड्डीहरू भवाङ भिरमा फेला पारेको हड्डी तथा छालाका टुक्राहरू नै हो । तस्वीर नं. २ मा मेरो साहु श्यामप्रसाद लालचन र मैले हातमा लिएको छाला हिउँ चितुवाको छाला हो । सो तस्वीर २ मा देखाएको २ थान छाला नै मैले मेरो साहु श्यामप्रसाद लालचनलाई उसको होटलमा लगेर दिएको हो भनी जिल्ला गोरखा केरौजा गा.वि.स. वडा नं.४ स्थायी घर भई हाल जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ बस्ने श्यामप्रसाद लालचनको चौरी गोठमा काम गर्ने प्रतिवादी कुलमान घले गुरूङले अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयान ।
टुकुचे गा.वि.स. मा पर्ने बतासे भन्ने ठाउँमा रिन्जिन हिराचनको चौंरी गोठमा काम गर्छु । गते मलाई याद भएन तर बिहान करिब १० बजेतिर बतासेमा चौरी चराएर फर्केर आई खाना खाने बेलामा कुलमान घले गुरूङ आयो । उसले अलि तल भिरको चौरमा हिउँ चितुवा मरेको छ, छाला काढ्न सहयोग गरिदेउ
भन्यो । मैले त्यो छाला के गर्छौ भनी सोधें । उसले पछि काम लाग्छ भन्यो । कुलमान तथा मैले चक्कु प्रयोग गरी पालैपालो २ वटा मरेको हिउँ चितुवाको छाला
काढ्यौं । त्यसपछि उक्त हिउँ चितुवाको छाला लिएर कुलमान आफ्नो गोठतिर गयो । म आफ्नो गोठतिर गएँ । ऊ छाला लिएर भोलिपल्ट मार्फा साहुकहाँ गयो रे भन्ने मैले सुनेँ । छाला काढेपछि हामीले हड्डी तथा मासु त्यहीँ छाडेका हो । पछि गिद्धले सबै लिएर गयो रे भन्ने सुनेँ । कुलमानलाई प्रहरीले ल्याउँदा हिउँ चितुवाको हड्डीसहित ल्याएको देखेको हो । मलाई थाहा नभएर छाला काढ्न सहयोग गरेको हो भनी जिल्ला गोरखा केरौजा गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ बस्ने प्रतिवादी कान्छावीर गुरूङले अनुसन्धान अधिकारीसमक्ष गरेको साबिती बयान ।
प्रतिवादी श्यामप्रसाद लालचन, कुलमान घले गुरङ तथा कान्छावीर गुरूङलाई म
चिन्छु । श्यामप्रसाद लालचन मार्फास्थित प्याराडायज गेस्ट हाउसका मालिक हुन् । कुलमान घले गुरूङ श्यामप्रसाद लालचनको चौरीगोठमा काम गर्ने मानिस हुन् । कान्छावीर गुरूङ मार्फा बस्ने रिन्जिन हिराचनको चौंरी गोठाला हुन् । प्याराडाइज गेस्ट हाउसबाट २ थान हिउँ चितुवाको छालासहित श्यामप्रसाद लालचनलाई प्रहरीले पक्राउ गरेको भन्ने मैले सुनेँ । पछि प्रहरीले कुलमानलाई पनि चौरी गोठमा नै गएर पक्रेर ल्याएको भन्ने सुनें । हिउँ चितुवको छाला त्यति धेरै महत्त्व हुन्छ जस्तो मलाई लाग्दैन । श्यामप्रसाद लालचनलाई हिउँ चितुवाको छाला राख्न हुँदैन भन्ने थाहा नहोला जस्तो लाग्छ । श्यामप्रसाद लालचन हिउँ चितुवाको छालाको व्यापार गर्ने मान्छे जस्तो
लाग्दैन । यो गाउँमा हिउँ चितुवाको छालाको व्यापार हुँदैन जस्तो लाग्छ । श्यामप्रसाद राम्रो आचरणको मान्छे हुन् । कुलमान घले र कान्छावीर पनि खराब आचरणका मानिस होइनन् । तर मार्फामा बाहिरको मानिस आएर कस्तूरीको सिकार गर्छन् । हामीले पक्रेर एक्यापलाई बुझाएका पनि हौं । हिउँचितुवाको छाला जस्तो कुरा उहाँले राख्न नहुने थियो हिउँ चितुवाको छाला ल्याएर दिएकोले उनीहरूको नियत कस्तो थियो भन्न सकिन्न भन्ने जिल्ला मुस्ताङ मार्फा गा.वि.स.वडा नं.४ बस्ने वर्ष ७० का नरबहादुर हिराचन तथा ऐ. वडा नं.३ बस्ने वर्ष ६१ का भक्ति हिराचनसमेतका जना ७ ले गरिदिएको सर्जमिन मुचुल्का ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमल्टारको च.नं.१११२ मिति २०६८।३।५ को पत्रानुसार यस कार्यालयबाट परीक्षणको लागि पठाइएको २ थान छाला हिउँ चितुवा(Snow leopard) को हो भनी प्रमाणित भएको तथा हड्डी बिग क्याट फ्यामिलीको हाडखोर भएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको ।
जाहेरी प्रतिवेदन बरामदी मुचुल्का साबिती बयान कागज विभिन्न व्यक्तिहरूले थप प्रमाण बुझ्नको लागि गरिदिएको कागजातहरू, विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनलगायतका सबै कागजातहरू अनुसन्धान गरी हेर्दा जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ बस्ने प्रतिवादी श्यामप्रसाद लालचन जिल्ला गोरखा केरौजा ४ घर भई हाल जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ बस्ने श्यामप्रसाद लालचनको चौरी गोठमा काम गर्ने प्रतिवादी कुलमान घले गुरूङले चौंरीमा विष हाली हिउँ चितुवालाई मारी प्रतिवादी कान्छावीर गुरूङको सहयोगमा त्यसको छाला निकालेर व्यापार गर्ने उद्देश्यले कुलमानले श्यामप्रसाद लालचलनलाई ल्याएर दिएको र त्यसको ओसारपसार गर्ने इरादा राखेको ठहर्छ । यसबाट कान्छावीर गुरूङले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(ख) तथा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ को नियम १६(क) बमोजिमको कसुर गरेको तथा श्यामप्रसाद लालचन र कुलमान घले गुरूङले सोही ऐनको दफा ५(क) र २६(१) बमोजिमको कसुर तथा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ को नियम १६(क) को कसुर अपराध गरेकोले निज प्रतिवादी कान्छावीर गुरूङ, श्यामप्रसाद लालचन तथा कुलमान गुरूङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिम हदैसम्मको सजाय गर्ने साथै बरामद भएको २ थान चितुवाको छाला सोही ऐनको दफा २८ बमोजिम जफत गर्ने मागदाबी लिई अनुसन्धान अधिकृतले सम्पर्क अधिकारीको कार्यालयमा मिति २०६८।३।९ मा पेस गरेको अभियोगपत्र ।
जिल्ला मार्फा गा.वि.स. वडा नं.१ स्थित प्याराडार्इज गेस्टहाउस मेरो आफ्नै हो । मिति २०६८ साल जेष्ठ १४ गते प्रहरीहरू आएर मेरो होटल खानतलासी गरे । बाथरूम भनी लेखिएको कोठामा खानतलासी गर्दा करिब १ मि. ७४ से.मि. अर्को १ मि. ७३ से.मि. को दुईवटा हिउँ चितुवाको छाला सुकाएर राखेको अवस्थामा बरामद गरेका छन । करिब १ महिना जति अगाडि जिल्ला गोरखा केरौजा गा.वि.स. वडा नं.४ स्थायी घर भई हाल मार्फास्थित मेरो चौरी गोठमा काम गर्ने कुलमान घले गुरूङले ल्याएर मलाई राख्न भनी दिएको हो । मैले मेरो होटलको माथि ढलानको छानामा सुकाउनको लागि फिँजाएर राखें । त्यसपछि बाथरूम भनी लेखिएको कोठाको काठको बारमा सुकाएर राखेको थिएँ । प्रहरी आएर खानतलासी गरी बरामद गरेर छालासहित मलाई जिल्ला प्रहरी कार्यालय जोमसोममा लिएर गए । उसले दिएको छाला आलो थियो । मैले नगन्हाओस् र नकुहिइयोस् भनी नुन छालामा दलेर सुकाएँ । टुक्चे गा.वि.स. को फचे भवाङमा भएको मेरो चौरी गोठमा उसले काम गर्छ । उसले रासन लिन आउँदा छाला लिएर आएको हो । मैले ओछ्याउनको लागि भनी राखेको हो । कहाँ र कसरी मरेको बारेमा मलाई थाहा भएन । तस्वीर नं.१ मा कुलमान घले गुरूङ र मैले हातमा लिएको हिउँ चितुवाको छाला नै हो कुलमान घले गुरूङले ल्याएर ल्याएर दिएको र मेरो प्याराडाइज गेस्टहाउसबाट प्रहरीले बरामद गरेको छाला त्यहीँ नै हो भनी प्रतिवादी श्याम लालचनले सुरू सम्पर्क अधिकारीसमक्ष गरेको बयान ।
२०६८ साल वैशाख महिनाको १५/१६ गते हुन सक्छ । १ वटा पोथी र १ वटा भाले चितुवा मरेको देखेँ । मैले २ वटै चितुवालाई धुपीको पातले नदेख्ने गरी छोपेँ । त्यसपछि भोलिपल्ट बिहान वतासेस्थित चौरी गोठमा काम गर्ने जिल्ला गोरखा केरौजा गा.वि.स. वडा नं.१ कान्छावीर गुरूङलाई छाला काढ्नको लागि सहयोग मागेँ । मैले छाला काढेर साहु कहाँ पठाउने हो उसले जे सुकै गरोस भनेको हो । हामी दुवै जनाले चक्कुले उक्त दुईवटा हिउँ चितुवाको छाला काढ्यौं । भोलिपल्ट नै सोही बोरामा भएको छाला बोकेर ल्याई मेरा साहु श्यामप्रसाद लालचनलाई उनको होटलमा ल्याएर दिएँ । साहुले झोलाबाट निकाले र हेर्यो र २ वटा हो भनी सोध्यो । साहुले उक्त छालाहरू माथि छतमा राख्नु भन्यो । मैले छतमा फिजाएर राखेँ । २०६८।२।१५ गते प्रहरीहरू आएर मरेको हिउँ चितुवा कहाँ छ देखाउ भने । म र प्रहरीहरू गएर खोज्दा भवाङ भिरमा हिउँ चितुवाको खप्पर छाला तथा हड्डी गन्हाएको अवस्थामा फेला पर्यो । उक्त हड्डीहरू प्रहरीले उठाएर ल्याए । चौरीमा विष हालेर हिउँ चितुवाले खाई छट्पटाउँदै आएर भवाङ मुनिको चौरमा आएर मरेको हुन सक्छ । किनकि त्यहाँ पासो पनि
छैन । बन्दुकले हानेको प्वाल पनि छैन । तस्वीर नं.१ मा देखाएको हड्डीहरू भलिङ भिरमा फेला पारेको हड्डी तथा छालाका टुक्राहरू नै हो । तस्वीर नं.२ मा मेरो साहु श्यामप्रसाद लालचन र मैले हातमा लिएको छाला हिउँ चितुवाको छाला हो । सो तस्वीर २ मा देखाएको २ थान छाला नै मैले मेरो साहु श्यामप्रसाद लालचनलाई उसको होटलमा लगेर दिएको हो भनी प्रतिवादी कुलमान घलेले सुरू सम्पर्क अधिकारीसमक्ष गरेको बयान ।
टुकुचे गा.वि.स. मा पर्ने बतासे भन्ने ठाउँमा रिन्जिन हिराचनको चौंरी गोठमा काम गर्छु । गते मलाई याद भएन तर बिहान करिब १० बजेतिर बतासेमा चौरी चराएर फर्केर आई खाना खाने बेलामा कुलमान घले गुरूङ आयो । उसले अलि तल भिरको चौरमा हिउँ चितुवा मरेको छ छाला काढ्न सहयोग गरिदेउ
भन्यो । मैले त्यो छाला के गर्छौ भनी सोधें । उसले पछि काम लाग्छ भन्यो । चक्कु प्रयोग गरी कुलमान तथा मैले पालै पालो २ वटा मरेको हिउँ चितुवाको छाला
काढ्यौं । त्यसपछि उक्त हिउँ चितुवाको छाला लिएर कुलमान आफ्नो गोठतिर गयो । म आफ्नो गोठतिर गएँ । ऊँ छाला लिएर भोलिपल्ट मार्फा साहुकहाँ गयो रे भन्ने मैले सुने । छाला काढेपछि हामीले हड्डी तथा मासु त्यही छाडेका हो । पछि गिद्धले सबै लिएर गयो रे भन्ने सुने । कुलमानलाई प्रहरीले ल्याउँदा हिउँ चितुवाको हड्डीसहित ल्याएको देखेको हो । मलाई थाहा नभएर छाला काढ्न सहयोग गरेको हो भनी जिल्ला गोरखा केरौजा गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला मुस्ताङ मार्फा गा.वि.स. वडा नं.१ बस्ने प्रतिवादी कान्छावीर गुरूङले सुरू सम्पर्क अधिकारीसमक्ष गरेको बयान ।
अड्डामा बुझिएका धनबहादुर पन्नचन, कानमा लालचन, ठूलाकान्छा लालचन, सुरेन्द्र कुमार हिराचन, मंगला लालचन, मान वहादुर हिराचन, हरिप्रसाद लालचन, सुमन लालचनसमेतका साक्षीहरूको बकपत्रबाट समेत प्रतिवादी श्याम प्रसाद लालचनको गेस्टहाउसबाट बरामद भएको तथ्य स्वीकार गरिएको र दीपक राना, दिपक वगाले, गोविन्द बहादुर राना, दिपकराज बोहरासमेतका साक्षीहरूको बकपत्रबाट उक्त हिउँ चितुवाको छाला प्रतिवादी श्यामप्रसाद लालचनको गेस्ट हाउसको बाथरूमबाट बरामद भएको हो । सो छाला चौरी गोठालाहरू प्रतिवादी कुलमान घले र कान्छावीर गुरूङ भएर चौरी गोठको खर्कमा हिउँ चितुवा मारी छाला काढेर कुलमान घलेले श्यामप्रसाद लालचनलाई दिएको हो । उक्त चौरी खर्कबाट सडिगली अवस्थामा रहेको हिउँ चितुवाको हड्डी र प्रतिवादी कुलमान घले गुरूङलाई समेत पक्राउ गरी कानूनी कारवाहीको लागि पेस गरेको हो भन्ने बकपत्र ।
प्रतिवादीहरू श्यामप्रसाद लालचन कुलमान घले गुरूङ र कान्छावीर गुरूङसमेतको संलग्नतामा गैह्रकानूनी तरिकाले हिमालकी रानी Queen of the mountain उपनामले परिचित संरक्षित दुर्लभ लोपोउन्मुख तथा संकटापन (Protected by Act, Rare, Endangered and Threatened) वन्यजन्तु हिउँ चितुवाको छाला काढी ओसार पसार गरी हस्तान्तरण गरेको तथा लुकाईछिपाई आफ्नो घरमा राखेको देखिन आयो । तसर्थ संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला काढी ओसारपसार हस्तान्तरण तथा घरमा राखेको अभियोगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) अनुसार कसुरको मात्रा हेरी प्रतिवादीहरू श्यामप्रसाद लालचन र कुलमान घले गुरूङ दुवै जनालाई जनही रू.१०००००।– (एकलाख) मात्र जरीवाना र १५ (पन्ध्र वर्ष) कैद सजाय हुने ठहर्छ । प्रतिवादी कान्छावीर गुरूङले प्रतिवादी कुलमान घले गुरूङको अनुरोधमा हिउँ चितुवाको छाला काढ्नमात्र सहयोग गरेको तथा निजको उमेर वृद्ध अवस्था रहेकोसमेत देखिँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार कसुरको मात्रा हेरी निजलाई जरीवाना रू.८००००।– (असी हजार) मात्र हुने ठहर्छ । बरामद भएको हिउँ चितुवाको छाला थान २ र हड्डीहरू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ बमोजिम जफत हुने ठहर्छ भन्ने सुरू सम्पर्क अधिकारीको २०६९।१।२० को फैसला ।
सुरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सम्पर्क अधिकारीले गरेको मिति २०६९।१।२०।४ को फैसलामा चित्त बुझेन । म पुनरावेदकले हिउँ चितुवा मारेको र चौरीमा विष हालेको होइन । म चौरी चराएर साँझ गोठमा फर्किने क्रममा आकाशमा गिद्धहरू घुमिरहेकोले के कुन जनावर हो भन्ने कुरा जानकारी नभई भोलिपल्ट वृद्ध उमेरका कान्छावीर गुरूङको सहयोगमा छालासम्म काढेको हो । मेरा साहु श्यामप्रसाद लालचनले छाला ल्याउन भनेका
होइनन् । मिसिल संलग्न प्रमाणहरूबाट हिउँ चितुवा मारेको भन्ने कुरा कही कतैबाट पुष्टि हुन सकेको
छैन । सोतर्फ नहेरी केवल मुद्दाको नामलाई मात्र प्रर्याप्त आधार मानी सुरू सम्पर्क अधिकारीले एकपक्षीयरूपमा फैसला गर्दा प्रतिव्यक्ति कसुर के हो ? भन्ने नछुट्याई गोलमोलरूपमा सबैलाई दाबीबमोजिम हुने ठहर गरी हचुवाको भरमा निर्दोष कुनै हिउँ चितुवा नमारेको सिकार नगरेको व्यक्तिलाई कसुरदार ठहर गरी मेरो भएका प्रमाणको मूल्याङकन नगरी अन्यायपूर्ण फैसला भएको हुँदा सो त्रुटिपूर्ण फैसला बदर उल्टी गरी मलाई न्याय इन्साफ दिलाई पाउँ भन्ने कुलमान घले गुरूङको पुनरावेदन अदालत, पोखरामा लिएको पुनरावेदन जिकिर ।
सुरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सम्पर्क अधिकारीले गरेको मिति २०६९।१।२०।४ को फैसलामा चित्त बुझेन । हिउँ चितुवा मारेको मार्न लगाएको तथा छाला काढी ल्याउन भनेको होइन । सो हिउँ चितुवा मार्न मार्न लगाउन र छाला काढ्न लगाउनमा मेरो कुनै संलग्नता छैन । सुरू मुद्दा हेर्ने अधिकारीबाट मौकामा बुझिएका मानिसहरूको भनाइ लेखाई सरकारी साक्षी, सहप्रतिवादीले अनुसन्धान अधिकारी तथा थुनछेक प्रयोजनार्थ गरेको बयान कागजसमेतलाई नहेरी एक पक्षियरूपमा गरिएको फैसला मेरो हकमा कदापी कायम रहन नसक्ने हुँदा बदर भागी छ । जाहेरी दरखास्त बरामदी मुचुल्कासमेतबाट म पुनरावेदकले हिउँ चितुवा मारी ओसार पसार गरेको भन्ने तथ्य मिसिल संलग्न रहेको छैन । मैले कुनै हिउँ चितुवा नमारेको सिकार नगरेको कोही कसैलाई कुनै ढंगबाट हिउँ चितुवा मार्न छाला सञ्चय ओसार पसारलगायतका काम कार्य गर्न नलगाएको विपक्षीका साक्षी सर्जमिनसमेतले मलाई कुनै गलत काम कार्यमा कुनै संलग्नता नभएको राम्रो सामाजिक आचरण भएको सोझो सिधा व्यक्ति हो भनी कागज गरेको अवस्था विद्यमान हुँदा म पुनरावेदक निर्दोष रहेको कुरा प्रमाणित भइरहेकोमा झुठ्ठा अभियोग लगाई सो झुठ्ठा अभियोग दाबीको आधारमा कसुरदार ठहर गरी अन्यायपूर्ण फैसला गर्नुभएको हुँदा सो अन्यायपूर्ण फैसला बदर उल्टी गरी सफाइ दिलाई पाउँ भन्ने प्रतिवादी श्यामप्रसाद लालचनको पुनरावेदन अदालत, पोखरामा लिएको पुनरावेदन जिकिर ।
यसमा बरामद भएको हिउँ चितुवाको छाला मरेको अवस्थामा देखी छाला निकालेको हो । हिउँ चितुवालाई मारेको होइन भनी अधिकारप्राप्त अधिकारी र मुद्दा हेर्ने अधिकारी समक्षसमेत पुनरावेदक प्रतिवादी कुलमान घलेको बयान कागज र चौंरी गोठमा काम गर्ने प्रतिवादी कुलमानले बरामद भएको हिउँ चितुवाको छाला ल्याएको भनी अर्को पुनरावेदक प्रतिवादी श्यामप्रसाद लालचनले गरेको बयान कागजसमेतको परिप्रेक्ष्यमा हदैसम्मको सजाय गर्ने गरी सुरू अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना सम्पर्क अधिकारीको कार्यालयले गरेको फैसला न्यायको रोहबाट मिलेको नदेखिँदा छलफलको लागि अ.बं. २०२ नं. बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, पोखरालाई सूचना जारी गरी नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०६९।४।३० को आदेश ।
प्रतिवादीहरू दुवैजना एक आपसमा परस्पर पोल गरी बसेको अवस्थासमेत भएबाट कानूनद्वारा संरक्षित दुर्लभ लोपोन्मुख तथा संकटापन वन्यजन्तु (Protected by Act, Rare, Endangered, threatened) पहाडको रानी (Queen of the mountain) उपनामको चिनिने हिमचितुवाको छाला काढी प्रतिवादी कुलमानले ओसार पसार गरी हस्तान्तरण गरेको र प्रतिवादी श्यामप्रसाद लालचनले उक्त संरक्षित वन्यजन्तु हिमचितुवाको २ वटा छाला प्रतिवादी कुलमानबाट लिई लुकाई छिपाई गोप्य तरिकाले होटलको प्रयोग नगरेको बाथरूममा राखेको स्पष्टसँग देखिएकोले प्रतिवादीहरूको उक्त कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) को प्रतिकूल कार्य भएको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सम्पर्क अधिकारीले मिति २०६९।१।२० मा पुनरावेदक प्रतिवादी श्यामप्रसाद लालचन र कुलमान घले गुरूङले संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला काढी ओसारपसार हस्तान्तरण तथा घरमा राखेको कसुरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार निज प्रतिवादीहरू दुवै जनालाई जनही १ (एक) लाख जरीवाना र १५ (पन्ध्र) वर्ष कैद सजाय हुने ठहरर्याएको फैसलामा सजायको हकमा नमिलेको हुँदा उक्त फैसला केही उल्टी हुने ठहर्छ । बरामद भएको हिउँ चितुवाको छाला थान २ र हड्डीहरू सोही ऐनको दफा २८ बमोजिम जफत हुने ठहर्याएको हदसम्म मिलेकै देखिँदा पुनरावेदक प्रतिवादीहरू श्यामप्रसाद लालचन र कुलमान घलेलार्इ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम कसुरको मात्राअनुसार जनही रू.७५,०००।- (पचहत्तर) जरीवाना र जनही ७ (सात) वर्षका दरले कैद हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पोखराको मिति २०६९/१२/२७ को फैसला ।
म पुनरावेदकले कुनै हिउँचितुवा नमारेको, सिकार नगरेको अन्यले राख्न दिएको नासो राखीसम्म दिएको, आफूलाई थाहा नभई हिउँ चितुवाको छाला घरमा राखेकोले अभियोग दाबीबमोजिमको सजाय हुने होइन । सुरूले गरेको फैसला केही उल्टी गरी मलाई ७ वर्ष कैद र रू.७५,०००।- रूपैयाँ जरीवाना गर्ने गरी पुनरावेदन अदालत, पोखराले गरेको फैसला गम्भीर त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी श्यामप्रसाद लालचनले यस अदालतमा लिएको पुनरावेदन जिकिर ।
यी प्रतिवादीहरूउपर लिइएको दाबी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) अनुसार निजहरूलाई एक लाख जरीवाना र १५ (पन्ध्र) वर्ष कैद हुन सक्ने प्रावधान रहेको र प्रतिवादी कुलमान घले गुरूङ र कान्छावीर गुरूङ भई हिउँ चितुवा मारेको भन्ने तथ्यमा विवाद नभएको र सोको छाला निकाली श्यामप्रसाद लालचनलाई उपलब्ध गराएको र निजले बिक्री गर्ने उद्देश्यले योजनाबद्ध एवं नियोजित तबरबाट आफ्नो होटलको बाथरूममा लुकार्इ राखेको देखिन आएबाट संरक्षित, दुर्लभ लोपोन्मुख तथा संकटापन्न वन्यजन्तु हिउँचितुवा मारी छाला काढी ओसार पसार गरी हस्तान्तरण गरेको तथा लुकाई छिपाई पर्यटन व्यवसायी जस्तो श्यामप्रसाद लालचनले आफ्नो घरमा राखेकोले हदैसम्मको सजाय हुनुपर्नेमा पुनरावेदन अदालत, पोखराबाट तजबिजी सुरू कार्यालयबाट भएको सजाय घटाई यी प्रतिवादीहरूलार्इ कम सजाय गर्दा सजायको हकमा नमिलेको भन्नेबाहेक कुनै आधार र कारण खुलाइएको पाइँदैन ।न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरिकाले गर्नुपर्नेमा सुरूले गरेको सजायलाई घटाई पुनरावेदन अदालत, पोखराबाट भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीहरूलाई सुरू कार्यालयबाट भएको सजाय नै कायम गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा लिएको पुनरावेदन जिकिर ।
यसमा पटकपटक गैंडा मारी खाग बिक्री गरेको अवस्थामा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १९(१) को कसुरमा ऐ. को २६ (१) बमोजिम पाँच वर्ष कैद र पचास हजार रूपैयाँ जरीवाना गर्ने गरी पूर्ण इजलासबाट फौ.पु.नं. ०६८-CF-०००१ को मुद्दामा नि.नं. ८९११ मिति २०६९/५/२८ मा फैसला भएको परिप्रेक्ष्यमा यस मुद्दामा हिमचितुवा मारेको नभई मरेको हिमचितुवाको छाला राखेको कसुरको मात्राको रोहमा कैद वर्ष ७ र जरीवाना रू.७५,०००।- गरेकोबाट पटकपटक अपराध कसुरको मात्रा र सजायबीचको अनुपातिक तथा तुलनात्मक आधार के कस्तो हुनुपर्ने भन्ने विषयमा एक निश्चित सोच आधारको दृष्टि एकिन गरी न्यायको रोहमा एकरूपता गरिनु पर्ने भई पुनरावेदन अदालत, पोखराबाट भएको मिति २०६९।१२।२७ को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ को प्रयोजनार्थ वादी नेपाल सरकार तथा प्रतिवादीमध्येका श्यामप्रसाद लालचनको दोहोरो पुनरावेदन परेको हुँदा उक्त पुनरावेदनपत्रको जानकारी महान्यायाधिवक्ताको कार्यालय तथा प्रतिवादी श्यामप्रसाद लालचन एक अर्कालाई गराई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७१।३।३० को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल कागजात अध्ययन भयो ।
प्रतिवादी कान्छाविरले प्रतिवादी कुलमानलाई हिमचितुवाको छाला काढ्न सहयोग गरेकोले कान्छाविरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ क तथा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ को नियम १६(क) बमोजिम कसुरमा र प्रतिवादी श्यामप्रसाद लालचन र कुलमान घले गुरूङले सोही ऐनको ५(क) दफा २६(क) बमोजिम कसुर तथा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ को नियम १६(क) बमोजिम कसुर अपराध गरेकोले प्रतिवादीहरूतीनै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी भएकोमा प्रतिवादी श्यामप्रसाद लालचन र प्रतिवादी कुलमान घलेलाई जनही रू १,०००००।– (एकलाख रूपैंया) जरीवाना र १५ वर्ष कैद हुने र प्रतिवादी कान्छा वीर गुरूङले हिउँचितुवाको छाला काढ्न मात्र सहयोग गरेको र वृद्ध अवस्थासमेत देखिँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) अनुसार कसुरको मात्र हेरी निजलाई जरीवाना रू.८०,०००।- हुने ठहर्छ भन्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सम्पर्क अधिकारीले मिति २०६९।१।२० गते फैसला गरेकोमा सो फैसलाउपर कान्छाविरको पुनरावेदन तहमा नै पुनरावेदन परेको पाइएन । प्रतिवादीहरू श्यामप्रसाद लालचन र कुलमान घलेलार्इ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिम कसुरको मात्राअनुसार जनही रू.७५,०००।- जरीवाना र जनही ७ वर्षका दरले कैद हुने ठहराई भएको फैसलाउपर वादी र प्रतिवादी श्यामप्रसाद लालचनको पुनरावेदन पर्न आएको
पाइयो ।
पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री पुण्यप्रसाद पाठकले प्रतिवादीहरूको बयान व्यहोराबाटै हिउँचितुवा सिनोमा विष हाली मारेको हुन सक्छ भनी बयान गरेको र कुलमान घले तथा कान्छावीर गुरूङले छाला काढेको तथ्य स्वीकार गरेको छ । यी प्रतिवादीहरूले हिउँ चितुवा अभियोग दाबीबमोजिम दुर्लभ जन्तु हिमचितुवा मारी छाला काढी राखेको कुरा मिसिलबाट पुष्टि भएकै छ । प्रतिवादी श्यामप्रसाद लालचनको घरबाट हिमचितुवाको छाला बरामद भएकोमा विवाद छैन । प्रतिवादी कुलमान घलेले हिमचितुवाको छाला ल्याई मलाई दिएको र मैले घरमा राखेको हो भनी प्रतिवादी श्यामप्रसाद लालचनले अधिकारप्राप्त अधिकारी एवं मुद्दा हेर्ने अधिकारीसमक्ष साबिती बयान गरेको र प्रतिवादी कुलमानले पनि उक्त छाला प्रतिवादी श्यामप्रसादलाई लगेर दिएको भन्ने कुरा मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष एवं मुद्दा हेर्ने सम्पर्क अधिकारीसमक्ष समेत आरोपित कसुरमा साबिती बयान दिएको हुँदा कम सजाय गरेको पुनरावेदन अदालत, पोखराको फैसला सो हदसम्म बदर उल्टी गरी प्रतिवादीहरूलाई सुरूले गरेको सजाय तथा जरीवाना मिलेकै हुँदा सुरू सम्पर्क अधिकारीको फैसला कानूनअनुरूप हुँदा सदर गरिपाउँ भनी बहस गर्नुभयो ।
पुनरावेदक श्यामप्रसाद लालचनको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री जय नारायण पौडेलले हिउँ चितुवा मारेको देख्ने घटना प्रत्यक्षदर्शी साक्षी छैन । मरेको वन्यजन्तुको छाला घरमा राख्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ (क) आकर्षित हुने होइन । उक्त कानूनी प्रावधान सिकार गरेमा आकर्षित हुने हो । छालाबाट हिउँ चितुवा हो भनेर Identify भएको छैन । यी प्रतिवादीले हतियार प्रयोग गरेको, गोली हानेको, विष खुवार्इ मारेको भनेर वादी पक्षले किटानी दाबी नलिएको र छाला घरमा राखेकै आधारमा मात्र अभियोग दाबीबमोजिमको कसुर ठहर गरी कसुरको मात्रा विचार नगरी अत्याधिक सजाय गरेको सुरू सम्पर्क अधिकारी तथा पुनरावेदन अदालतबाट गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी पुनरावेदकको पुनरावेदन जिकिरबमोजिम कसुर सजायबाट सफार्इ गरिपाउँ भनी बहस गर्नुभयो ।
अब सुरू सम्पर्क अधिकारीले गरेको फैसला केही उल्टी गरी गरेको पुनरावेदन अदालत, पोखराको फैसला मिलेको छ, छैन ? वादी र प्रतिवादी श्यामप्रसाद लालचनको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? भनी निर्णय दिनुपर्ने देखियो ।
२. यसमा निर्णयतर्फ विचार गर्दाअधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी श्यामप्रसाद लालचनले बयान गर्दा आफ्नो चौरी गोठमा काम गर्ने कुलमान घलेले प्रहरीद्वारा बरामद गरिएको छाला गोठबाट राशन लिन आउँदा ल्याई आफूलाई राख्न दिएको हो । चितुवाको छाला ल्याउन भनेर मैले निजलाई अह्राएको पनि होइन । कहाँ मार्यो कसरी मार्यो मलाई थाहा छैन भनी उल्लेख गरेको पाइन्छ । प्रतिवादी कुलमान घलेले अनुसन्धान अधिकारीसमक्ष चउरमा गिद्ध उडेको देखेर गई हेर्दा मरेको २ वटा हिमचितुवा देखेँ भोलिपल्ट कान्छाविर र आफू भई हिमचितुवाको छाला काढ्यौँ मासु र हड्डी त्यहीँ छाडी चौरी गोठमा लगेर राखेँ । भोलिपल्ट मालिक श्यामप्रसाद लालचनलाई प्याराडाइज गेस्ट हाउसमा ल्याएर दिएको हुँ भनी बयान गरेको देखिन्छ । अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी कान्छाविरले बयान गर्दा भिरको चौरमा हिमचितुवा मरेको छ छाला काढ्न सहयोग गरिदेउ भनी प्रतिवादी कुलमानले भन्दा मैले त्यो छाला के गर्छौ भनी सोध्दा पछि काम लाग्छ भने, कुलमान र मैले पालैपालो गरी २ वटा मरेको हिमचितुवाको छाला काढ्यौ, छाला कुलमानले नै लिएर गए भनी उल्लेख गरेको पाइन्छ । निज प्रतिवादी कान्छावीरले मुद्दा हेर्ने सम्पर्क अधिकारीसमक्ष समेत सोही व्यहोरा उल्लेख गरी छाला काढेको तथ्यमा साबित नै रहेको
देखिन्छ । त्यसै गरी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क अधिकारीको कार्यालयमा बयान गर्दा प्रतिवादी कुलमानले मरेको हिमचितुवाको छाला काढेको, चितुवाको छाला काढ्न हुँदैन भन्ने थाहा थिएन भनी बयान गरेका छन् । प्रतिवादी श्यामप्रसाद लालचनले अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क अधिकारीको कार्यालयमा बयान गर्दा प्रतिवादी कुलमानलाई हिमचितुवाको छाला ल्याउन भनेर अह्राएको होइन । करिब १ महिना जति अगाडि मेरो चौरी गोठमा काम गर्ने कुलमान घले गुरूङले ल्याएर उक्त छाला मलाई राख्न भनी दिएको हो । मैले मेरो होटलको माथि ढलानको छानामा सुकाउनको लागि फिँजाएर राखेँ । त्यसपछि बाथरूम भनी लेखिएको कोठाको काठको बारमा सुकाएर राखेको थिएँ । प्रहरी आएर खानतलासी गरी बरामद गरेर छालासहित मलाई जिल्ला प्रहरी कार्यालय, जोमसोममा लिएर
गए । उसले दिएको छाला आलो थियो । मैले नगन्हाओस् र नकुहियोस् भनी नुन छालामा दलेर सुकाएँ । कुलमान मेरो चौरी गोठमा काम गर्छ । उसले रासन लिन आउँदा छाला लिएर आएको हो । छाला मैले ओछ्याउनको लागि भनी राखेको हो । कहाँ र कसरी मरेको बारेमा मलाई थाहा भएन । हिउँ चितुवाको छाला सनाखत गरे छाला यही नै हो जुन कुलमान घले गुरूङले ल्याएर दिएको र मेरो गेस्टहाउसबाट प्रहरीले बरामद गरेको हो भनी बयान गरेको पाइन्छ । प्रतिवादीहरूको उपर्युक्त मौका तथा इजलाससमक्षको बयानबाट निजहरूले हिउँ चितुवा मारेको भन्ने देखिन आउँदैन ।
३. प्रतिवादी श्यामप्रसाद लालचनले सञ्चालन गरेको Paradise guest house को बाथरूम लेखिएको कोठाको भित्री भागमा २ वटा हिमचितुवाको छाला लुकाइराखेको अवस्थामा बरामद भएको भन्ने उल्लेख भएको र सो मुचुल्कामा प्रतिवादी श्यामप्रसाद लालचन रोहवरमा बसेको देखिन्छ । नरबहादुर हिराचन, मानबहादुर विश्वकर्मा, सुरेन्द्रकुमार हिराचन, धनबहादुर पन्नाचनलगायतका व्यक्तिहरूले सर्जमिन मुचुल्काको कागजमा घटना आफूहरूले नदेखेको, कसरी हिउँचितुवा मरे आफूहरूलार्इ थाहा नभएको भन्ने व्यहोरा उल्लेख गरेका छन् । त्यस्तै वादी पक्षका साक्षी ठूलाकान्छा लालचन, कामना लालचन, धनबहादुर पन्नाचनसमेतले सम्पर्क अधिकारीसमक्ष बकपत्र गर्दा प्रतिवादीहरूले हिउँचितुवा मारेको
होइन । श्यामप्रसाद लालचनले यस्तो क्रियाकलप गर्न लगाएको पनि होइन भनी बकपत्र गरे तापनि प्रतिवादी श्यामप्रसाद लालचनको गेस्ट हाउसबाट छाला बरामद भएको तथ्यमा भने निजहरूको अन्यथा कथन
देखिँदैन । वादी पक्षका साक्षी प्र.स.नि. दिपक राना, प्र.ह. गोविन्द राना, प्र.ज. दिपकराज बोहरा, प्र.ज.दिपक वगालेले सम्पर्क अधिकारीको कार्यालयमा बकपत्र गर्दा श्यामप्रसाद लालचनले गोठालाहरूलार्इ आर्थिक प्रलोभन देखार्इ हिउँचितुवा मार्न लगार्इ छाला बिक्री बितरण गरेको हुनुपर्छ भनी शंकासम्म व्यक्त गरे पनि हिउँचितुवा मारेको घटना भने नदेखेको कुरा उल्लेख गरेका छन । मिसिल संलग्न उपर्युक्त तथ्यहरूबाट अभियोग दाबीबमोजिम प्रतिवादीहरूले हिउँचितुवा मारे मराएको देख्ने प्रत्यक्षदर्शी देखिँदैन भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा २ थान छाला हिउँचितुवा (Snow leopard) को छालासँग समानता पाइएको तथा हड्डी Big Cat Family को हाडखोर भएको भन्ने देखिन्छ तथापि विष हाली वा गोली हानी मारेकोसमेतको तथ्य स्थापित हुने कुनै व्यहोरा उक्त परीक्षण प्रतिवेदनबाट खुलेको
पाइँदैन । हिउँचितुवा मारेको देख्ने कुनै प्रत्यक्षदर्शी साक्षी र अन्य वस्तुनिष्ठ प्रमाण वादी पक्षले पेस गर्न नसकेको अवस्थामा अभियोग दाबीकै भरमा र वादी पक्षका केही साक्षीले शंका व्यक्त गरेकै आधारमा यी प्रतिवादीहरूले हिउँ चितुवा मारे मराएको कसुर ठहराउन मिल्ने देखिएन । वस्तुत: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९को दफा ५ (क) मा राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र वन्यजन्तुको सिकार गर्न निषेध गरेको र त्यस्तै संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ को नियम १६ (क) मा पनि संरक्षणक्षेत्रभित्र वन्यजन्तुकोसिकार गर्न निषेधित गरेको देखिएकोमा यी प्रतिवादीहरू श्यामप्रसाद लालचन, कुलमान घले गुरूङ र कान्छावीर गुरूङले उपर्युक्तबमोजिम वन्यजन्तुको सिकार गरेको मिसिल प्रमाणबाट नदेखिएकोले राष्ट्रिय निकुञ्जभित्र यी प्रतिवादीले सिकार गरेको भन्नेतर्फको अभियोगदाबी प्रमाणको अभावमा पुग्ने देखिएन ।
४. प्रतिवादीहरू श्यामप्रसाद लालचनसमेतले हिमचितुवा राष्ट्रिय निकुञ्जभित्र तथा अन्यत्रसमेत सिकार गरेकोवा मारे मराएको प्रस्तुत मिसिलबाट नदेखिए तापनि प्रतिवादी श्यामप्रसाद लालचनले कुलमान घले गुरूङसमेतबाट छाला प्राप्त गरेपछि सम्बन्धित निकायलार्इ जानकारी गराएको पाइँदैन । बरू बाथरूम लेखिएको कोठामा निषेधित वन्यजन्तु हिउँचितुवाको छाला सुरक्षित साथ लुकार्इ राखेको तथ्य प्रतिवादीहरूको साबिती बयान, बरामदीसमेतका कुराबाट प्रमाणित भएको छ । प्रतिवादीहरू कुलमान घले गुरूङ र कान्छावीर गुरूङले मरेको चितुवाको छाला काढेको तथा सो छाला प्रतिवादी श्यामप्रसाद लालचनलार्इ दिएको तथ्यमा निज प्रतिवादी कुलमान घले र कान्छावीर गुरूङ मौका तथा मुद्दा हेर्ने सम्पर्क अधिकारीसमक्ष समेत साबित रहेको र प्रतिवादी श्यामप्रसाद लालचनसमेत हिउँचितुवाको छाला आफूले कुलमान घलेबाट लिर्इ आफूले सञ्चालन गरेको गेस्ट हाउसको बाथरूम लेखेको कोठामा एक महिनादेखि राखेको तथ्यमा मौका तथा मुद्दा हेर्ने सम्पर्क अधिकारीसमक्ष समेत साबित रहेको रहेको देखिन्छ । हिमचितुवाको छाला काढ्न, घरमा राख्नु हुँदैन भन्ने आफूहरूलाई थाहा नभएको भनी प्रतिवादीहरूले बयान गरेको देखिए पनि कानूनको अज्ञानता क्षम्य नहुने (ignorance of law is no excuse) भन्ने सर्वमान्य कानूनको सिद्धान्त रहेको र हिमचितुवाको छाला उपलब्ध भइसकेपछि नजिकको प्रहरी चौकीमा लगी जिम्मा नलगाई एक महिनादेखि लुकार्इ राखेको घटनास्थल प्रकृति मुचुल्का, प्रतिवादीहरूको साबिती बयान तथा बरामद गरिएका दशी एवं मिसिल संलग्न हिमचितुवाको छालाको फोटोसमेतबाट पुष्टि भर्इ निषेधित छाला हस्तान्तरण गरी लिने दिने कार्य प्रतिवादीहरूबाट भए गरेको पुष्टि भइरहेको स्थिति देखिन्छ ।
५. उपर्युक्तबमोजिम मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादीहरू कुलमान घले गुरूङ र कान्छावीर गुरूङले मरेको हिमचितुवाको छाला काढेको र प्रतिवादी कुलमान घले गुरूङले सो काढेको छाला ल्याई प्रतिवादी श्यामप्रसाद लालचनलार्इ दिएकोमा निज श्यामप्रसाद लालचनले आफ्नो प्याराडाइज होटलमा राखेकोसम्म स्थिति देखिएको र हिमचितुवाको छाला तथा अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद बिक्री गर्नेसमेतको कार्यलाई समेत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) ले निषेधित कार्य मानी दण्ड सजायसमेत तोकेको देखिँदा यी पुनरावेदक प्रतिवादी श्यामप्रसाद लालचनले हिउँचितुवाको छाला प्रतिवादी कुलमान घलेबाट लिर्इ राखेको कार्य उपर्युक्त कानूनी व्यवस्थाले निषिद्ध गरेको कार्य गरेको देखिँदा आफू निर्दोष रहेकोले सफार्इ पाउँ भन्ने निजको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
६. अब प्रतिवादी श्यामप्रसाद लालचनसमेतलार्इ के कस्तो सजाय हुने हो भन्नेतर्फ हेर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१)मा “ गैरकानूनी तरीकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिँउ चितुवा वा गौरी गार्इ मार्ने, घाइते बनाउने, खरिद गर्ने,बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको बिना, हिँउ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने वा बिक्री गर्ने व्यक्तिलार्इ पचास हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरीवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनेछ” भन्ने कानूनी व्यवस्था देखिन्छ । यी प्रतिवादीहरू श्यामप्रसाद लालचनसमेतले संरक्षित वन्यजन्तु हिमचितुवा मार्ने, छाला आँखेटोपहार खरिद गर्ने वा बिक्री गर्ने कार्य गरेको नदेखिए पनि प्रतिवादी कुलमान र कान्छावीरले हिमचितुवाको छाला काढी प्रतिवादी कुलमानमार्फत प्रतिवादी श्यामप्रसाद लालचनलाई हस्तान्तरण गरेको र प्रतिवादी श्यामप्रसादले संरक्षित वन्यजन्तु हिमचितुवाको छाला आफूले सञ्चालन गरेको प्याराडाइज होटलको बाथरूममा लुकाई राखेको कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) को विपरीत देखिए पनि हिउँचितुवा मारेको तथ्य पुष्टि भएको नदेखिँदा कसुरको मात्रालार्इ विचार गर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) ले तोकेबमोजिमको अधिकतम सजाय गर्न न्यायोचित देखिएन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) मा वन्यजन्तु मार्ने कार्य र वन्यजन्तुको आखेटोपहार राख्नेसम्मको निषिद्ध कार्यलार्इ पनि एकै दफामा राखे पनि सो कार्यलार्इ कसुरको मात्रानुसार विचार गरी सजाय गर्न अधिकतम र न्यूनतम सजायको व्यवस्था गरी न्यायकर्तालार्इ स्वविवेकीय सजाय निर्धारण गर्न सक्ने गरी कानूनी प्रावधान विधायिकाले निश्चित गरेको देखिन्छ ।यसरी विधायिकाले दण्ड निर्धारण गर्न विस्तारित प्रावधान राखे पनि तजबिजी अधिकारको प्रयोग आत्मगत वा स्वेच्छाचारीरूपमा गर्न मिल्दैन । त्यस्तो दण्डको निर्धारण न्यायकर्ताले समन्याय (equity), शुद्ध अन्त:स्करण (good conscience), प्राकृतिक न्याय (natural justice) का आधारमा कसुरको मात्रा वा गाम्भीर्यता, घटनाक्रम र कानूनले तोकेको परिधिसमेतलार्इ तुलानात्मकरूपमा अनुपातिक र उचित सन्तुलन (proportional& proper balance) भएको छ छैन ख्याल गरी न्यायिकरूपमा सम्पादन हुनुपर्ने हुन्छ ।
७. पटकपटक गैंडाको खाग बिक्री गरेको र गैंडाको खाग आफ्नो घरमा नै राखी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा१९(१) को कसुरमा ऐ. को दफा २६(१) बमोजिम पाँच वर्ष कैद र पचास हजाररूपैयाँ जरीवाना हुने भनी यसै अदालतबाट (पुनरावेदक वादी रेञ्जर माधव खड्काको जाहेरीले नेपाल सरकारविरूद्धप्रत्यर्थी प्रतिवादी ओमबहादुर रानासमेत नि.नं. ८९११) फैसला भई दण्ड निर्धारण भएको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा हिमचितुवा मारेको नभई मरेको हिमचितुवाको छाला राखेको कसुरसम्म गरेको देखिएबाट कसुरको मात्राको तुलनात्मकताका रोहमा कम गम्भीर प्रकृतिको देखिएकोमा आरोपित प्रतिवादीहरू श्यामप्रसाद लालचन र कुलमान घलेलार्इ कैद वर्ष ७ र जरीवाना रू.७५,०००।– गर्ने गरी उपर्युक्त बढी गम्भीर प्रकृतिको कसुरभन्दा पनि बढी दण्ड निर्धारण गरेको पुनरावेदन अदालत, पोखराको मिति २०६९।१२।२७ फैसला न्यायको रोहमा अनुपातिक र उचित सन्तुलन (proportional & proper balance) भएको नदेखिँदा मिलेको देखिएन ।
८. प्रतिवादीहरू श्यामप्रसाद लालचन र कुलमान घलेले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको निषेधित कार्य गरी संरक्षित वन्यजन्तुको ओखेटोपहार हस्तान्तरण गरी लिने दिने तथा ओखेटोपहार राख्नेसमेतको कार्य गरेकोमा विवाद छैन । चितुवाको छाला काढ्न सहयोग गर्ने सहप्रतिवादी कान्छावीर गुरूङलार्इ सुरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सम्पर्क अधिकारीले मिति २०६९।१।२० मा रू.८००००।– जरीवानाको सजाय मात्र हुने ठहर गरेकोमा सो फैसलासम्बन्धमा वादी नेपाल सरकारले पुनरावेदन तहदेखि नै कुनै जिकिरसमेत लिएको देखिँदैन । तसर्थ प्रतिवादी कान्छावीर गुरूङले जस्तै उस्तैउस्तै वा समान स्तरको कसुर गरेका पुनरावेदक /प्रतिवादी श्यामप्रसाद लालचन र प्रतिवादी कुलमान घले गुरूङलार्इ सोहीबमोजिम ओखेटेपहार हस्तान्तरण गरी लिने दिने तथा ओखेटोपहार राख्नेसमेतको निषेधित कार्यलाई कसुर कायम गरी समान स्तरको दण्ड सजाय निर्धारण हुन न्यायोचित हुने हुँदा पुनरावेदन गर्ने निज प्रतिवादी श्यामप्रसाद लालचनको कसुर र समान कसुरमा पुनरावेदन नगर्ने सहप्रतिवादी कुलमान घले गुरूङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) नं. बमोजिम कैद वर्ष ७(सात) र जरीवाना रू.७५०००।– (पचहत्तर हजार) गर्ने गरेको पुनरावेदन अदालत, पोखराको मिति २०६९।१२।२७ को फैसला मिलेको नदेखिएकोले पुनरावेदक /प्रतिवादी श्यामप्रसाद लालचनको हकमा र पुनरावेदन नगर्ने प्रतिवादी कुलमान घले गुरूङ हकमा समेत मुलुकी ऐन, २०२० को अ.बं.२०५ नं. बमोजिम सो फैसला उल्टी भई निज दुवै प्रतिवादीहरूश्यामप्रसाद लालचन र कुलमान घले गुरूङलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) नं. बमोजिम जनही रू.१,००,०००।– (एक लाख) जरीवाना हुने ठहर्छ । अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने नेपाल सरकार र कसुर सजायबाट सफार्इ पाउँ भन्ने प्रतिवादी श्यामप्रसाद लालचनको पुनरावेदन जिकिर पुग्न सक्तैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू श्यामप्रसाद लालचन र कुलमान घले गुरूङलार्इ जनही रू.१,००,०००।– (एक लाख) जरीवाना हुने ठहरेको र दुवै जना मिति २०६८।२।१६ देखि थुनामा बसेको देखिएकोले थुना / कैदमा बसेको जति दिनको रू.२५ का दरले कट्टा गरी बाँकी जरीवानाबापतको रकम बुझाउन मन्जुर गरे लिर्इ थुना मुक्त गर्नू । बाँकी जरीवाना नतिरेमा मुलुकी ऐन, २०२० को दण्ड सजायको ३८ नं. समेत बमोजिम गर्नु र सोहीबमोजिम पुनरावेदन अदालतको फैसलाबमोजिमको कायमी लगत संशोधन गर्नु भनी सुरू अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क अधिकारीको कार्यालय कास्की पोखरालार्इ लेखी पठाइदिनू ------१
यो मिसिलको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ------------------------------१
उक्त रायमा सहमत छु ।
न्या.गोपाल पराजुली
इजलास अधिकृत : हर्कबहादुर क्षेत्री
इति संवत् २०७२ साल आश्विन ७ गते रोज ५ शुभम् ।