निर्णय नं. ९६०८ - बैंकिङ कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७२।१२।३०।३
०७२-RB-०१४०
मुद्दा: बैंकिङ कसुर
पुनरावेदक / वादी : नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभाग बालुवाटार काठमाडौंको पत्र जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : तिर्थलाल जोशीको नाति, विष्णुलाल जोशीको छोरा, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३३ डिल्लीबजार घर भई तत्कालीन नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका कार्यकारी अध्यक्ष हाल कारागार कार्यालय, नख्खु ललितपुरमा रहेको वर्ष ६८ को रूबी जोशीसमेत
नेपाल राष्ट्र बैंकबाट उल्लिखित संस्था गाभिने सम्बन्धमा सैद्धान्तिक एवं अन्तिम स्वीकृति दिइसकेपछि वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा १०(१) र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०६७ विपरीत हुने गरी कर्जा प्रवाह भएको सम्बन्धमा अनुसन्धान गरी अभियोजन प्रस्तुत गरेको पाइयो । उपर्युक्तानुसारको कारबाहीको प्रारम्भ हेर्दा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को विपरीत कार्य भएकाले कारबाहीको प्रारम्भ भएको देखिँदैन भने अभियोग लगाएको कानूनी व्यवस्था फरक रहेको पाइने ।
अभियोजक पक्षबाट अभियोजन लगाइएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को कानूनी व्यवस्था र प्रस्तुत मुद्दाको तथ्यगत अवस्थामा तारतम्यता रहेको देखिँदैन । बैंकिङ कसुर जस्तो गम्भीर प्रकृतिको कसुर स्थापित हुन सोबमोजिमको कार्यकारण घटित भएको कुरा वस्तुनिष्ठरूपमा वादी पक्षले प्रमाणित गर्नुपर्ने हुन्छ । तर नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६४ को बर्खिलाप गरे भएको कार्यहरू बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुरूपको कार्य मान्न सकिने अवस्था भएन । जुन कानून उल्लङ्घन गरेको हो, सोबमोजिम सजायको मागदाबी प्रस्तुत गर्नुपर्नेमा असम्बद्ध कानूनको समुच्चा दफाहरू विपरीतको कसुर भनी अस्पष्ट र असान्दर्भिक दाबी लिएको पाइयो । दाबी लिएका कानूनी दफाहरू के कसरी उल्लङ्घन गरिए भन्ने तथ्य पनि स्पष्टरूपमा प्रमाणित गर्न सकेको छैन । साथै प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार पनि कसुर प्रमाणित गर्ने भार वादीको हुने हुँदा प्रस्तुत मुद्दामा अभियोग लगाइएको कसुर वादीबाट वस्तुपरक एवं विश्वासिलो ढङ्गले प्रमाणित गर्न सकेको नदेखिने ।
(प्रकरण नं.४)
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०६७ विपरीतको कसुरमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ आकर्षित हुने अवस्थासमेत देखिँदैन । बैंकिङ संस्थालाई अनुशासित र मर्यादित बनाउन जारी हुने निर्देशनले कानूनको रूप ग्रहण गर्न सक्ने पनि देखिँदैन । यसरी जारी भएको निर्देशनको अवज्ञा गर्ने व्यक्ति वा संस्थालाई गरिने कारबाहीको प्रकृति र स्वरूप पनि फरक हुने हुन्छ । निर्देशिकाले आफैँमा कानूनको रूप धारण गर्न नसक्ने हुँदा सो निर्देशनविपरीतको कार्य कानूनी कसुरजन्य कार्य पनि हुन नसक्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा १०(१)
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४
प्रमाण ऐन, २०३१ को दफा २५
सुरू फैसला गर्ने :
मा.न्या.श्री भिमबहादुर बोहरा
मा.न्या.श्री बाबुराम रेग्मी
फैसला
न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :
साबिक नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड नेपाल बङ्गलादेश बैंक लिमिटेडसँग गाभ्ने गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति मिति २०६७/०८/१७ गते एवं अन्तिम स्वीकृति मिति २०६७/0९/१८ गते दिइसकेपछि पनि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा १०(१), नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका, २०६७ को निर्देशन नं.६ को बुँदा ६(ख) विपरीत हुने गरी संस्थापक समुह (एन.बी. समूह) सँग सम्बद्ध बैंक, संस्था एवं कम्पनीको संस्थापक सेयरको धितोमा ऋणी राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्स, नबिन श्रेष्ठ, विजयकुमार श्रेष्ठ र शैलेन्द्रकुमार श्रेष्ठको कर्जाको प्रयोजनसमेत स्पष्ट उल्लेख नभएको र अन्य बैंक तथा वित्तीय संस्थामा ठूलो परिणाममा भाखा नाघेको कर्जा बक्यौता हुँदाहुँदै बिना पुष्ट्याई व्यक्तिगत जमानीबाहेक कुनै धितोसमेत नलिई माग गरेभन्दा बढी हुने गरी ऋणी चण्डीराज ढकाल, प्रकाश घिमिरेलाई बदनियतपूर्ण तरिकाले कर्जा प्रदान गरी उक्त कर्जाहरूको हालसम्म कुनै सावाँ ब्याज तिरेका छैनन् । साथै उपर्युक्त व्यक्ति तथा संस्थालाई अनुचित फाइदा पुग्ने र वित्तीय संस्थालाई प्रत्यक्ष हानी नोक्सानी पुर्याएको पाइएकोले उक्त कर्जा प्रवाह गर्ने निर्णयमा संलग्न साबिक श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडका सञ्चालकहरू रूबी जोशीसमेतलाई कारबाहीको लागि अनुरोध भन्ने नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागको पत्र ।
नेपाल राष्ट्र बैंकबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडमा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड गाभ्ने सैद्धान्तिक सहमति २०६७/०८/१७ गते र दुवै संस्था गाभ्ने अन्तिम स्वीकृति मिति २०६७/०९/१८ गते दिइएको र मिति २०६७/१०/०९ गते दुवै संस्था गाभिएको, साबिक नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडमा कार्यकारी अध्यक्ष रूबी जोशी, सञ्चालकमा एलिजा वैद्य, डा.श्रीराम लामिछाने, गौरीशङ्कर चौधरी, मुकुन्द कर्माचार्य र जेन श्रेष्ठ रहेको, सो गाभ्ने गाभिने भनी सैद्धान्तिक सहमति भएपश्चात ऋणी राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्सलाई रू.२,३०,००,०००/- NB ग्रुपको NCCB को गीता श्रेष्ठको नामको २२८७८ कित्ता सेयर, Capital investment and Securities Pvt. Ltd. को १,००,००० कित्ता सेयर र साग्रिला इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको एन बी ईन्स्युरेन्स कम्पनीको ७३७५ कित्ता सेयर धितो राखी कर्जा प्रवाह गरेको, ऋणी नबिन श्रेष्ठलाई रू.५,०५,००,०००/- NB ग्रुपको NCCB को ४२,३०० कित्ता सेयर र सांग्रिला इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको NCCB को १४५५०० कित्ता सेयर धितो राखी कर्जा प्रवाह गरेको, ऋणी विजयकुमार श्रेष्ठलाई रू. ५,०३,००,०००/- सांग्रिला इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको NCCB को २३१०८० कित्ता सेयर धितो राखी कर्जा प्रवाह गरेको, ऋणी शैलेन्द्रकुमार श्रेष्ठलाई रू.२,३०,००,०००/- सांग्रिला इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको NCCB को १,८६,००० कित्ता सेयर र NB इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको NCCB को १५०१३० किता सेयर धितो राखी कर्जा प्रवाह गरेको, ऋणी चण्डीराज ढकाल र ऋणी प्रकाश घिमिरेले रू.२,००,००,०००/- कर्जा माग गरेकोमा रू.२,०८,००,०००/- विना धितो व्यक्तिगत जमानीमा कर्जा प्रवाह भएको, ऋणी अल्का हस्पिटलका अध्यक्ष तिलकबहादुर थापा र निजकी श्रीमती विद्या श्रेष्ठलाई संस्थागत एवं व्यक्तिगत जमानतमा रू.२,५०,००,०००/- कर्जा प्रवाह गर्ने निर्णय भई कर्जा प्रवाह भएको, नेपाल बङ्गलादेश बैंक लिमिटेडले मिति २०६८/०१/०९ मा उक्त हस्पिटललाई ब्याज नियमित नभएको र धितो उपलब्ध गराउन या सम्पूर्ण सावाँ ब्याज चुक्ता गर्न पत्र पठाएकै अवस्थामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको सन् २०११ मे १८ मा बसेको सञ्चालक समितिको १७३ औं बैठकले ऋणी अल्का हस्पिटल प्राइभेट लिमिटेडलाई प्रवाह भएको कर्जा चुक्ता गर्ने प्रयोजनको लागि तिलकबहादुर थापालाई रू.७०,००,०००/- तथा निजको श्रीमती विद्या श्रेष्ठलाई रू.२,००,००,०००/- निजहरूको व्यक्तिगत जमानतमा कर्जा प्रदान गरेको पाइएकोले नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेड एक आपसका गाभ्ने गाभिने सहमति दिइसकेपश्चात पनि केही ऋणीहरूलाई साबिक नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडका संस्थापक सेयर धनीहरू एवं निजहरूको संस्थापक सेयरको धितो सुरक्षणमा कर्जा प्रवाह भएको पाइएको ।
ऋणी चण्डीराज ढकाल, प्रकाश घिमिरेलाई प्रवाह भएको कर्जाका सम्बन्धमा निजहरूले माग गरेभन्दा बढी रकम कर्जा उपलब्ध गराउने निर्णय गरेको पाइएको, ऋणी अल्का हस्पिटल प्राइभेट लिमिटेडलाई साबिक नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडबाट प्रवाह भएको कर्जा नियमित नहुदाँ कै अवस्थामा सोही कर्जा चुक्ता गर्ने प्रयोजनको लागि नेपाल बङ्गलादेश बैंक लिमिटेडबाट अर्को कर्जा प्रदान गरेको देखिन्छ भन्ने नेपाल राष्ट्र बैंकको निरीक्षण प्रतिवेदन, ऋणी राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्स, ऋणी नबिन श्रेष्ठ, ऋणी विजयकुमार श्रेष्ठ र ऋणी शैलेन्द्रकुमार श्रेष्ठलाई मिति २०६९/०२/३२ गते बैंकले कर्जा चुक्ता गर्न ३ दिने म्यादसहितको सूचना दिएको सोही सूचनाको आधारमा ऋणी कम्पनीले मिति २०६९/०३/०३ को पत्रमार्फत सो कर्जा यसै बैंकको संस्थापक समूहसँग सम्बन्धित रहेको र सम्बन्धित संस्थापकहरूले आफ्नो नाममा रहेको यस बैंकको सम्पूर्ण सेयर बिक्रीका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि आवेदन गरेको र सो स्वीकृति पछि सेयरहरूको बिक्री गरी प्राप्त रकमबाट कर्जा राफसाफ गर्ने भनी प्रतिबद्धता व्यक्त गरेको छ । ऋणी चण्डीराज ढकाल, प्रकाश घिमिरे, तिलकबहादुर थापा र विद्या श्रेष्ठले प्रवाह भएको कर्जाको सावाँ ब्याज तिर्नेतर्फकुनै तत्परता नदेखाएकाले कर्जा सूचना केन्द्रबाट कालोसूचीमा समावेश गरिएको भन्ने नेपाल बङ्गलादेश बैंकबाट नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको । साबिक नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको मिति २०६७/९/७ गतेको २३५ औं सञ्चालक समितिको बैठकबाट ऋणी राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्सलाई थप रू.२,३०,००,०००/- कर्जा प्रदान गर्ने निर्णय भएको, सोही फाइनान्सको मिति २०६७/०९/२९ गतेको २३७ औं सञ्चालक समितिको बैठकबाट ऋणी विजयकुमार श्रेष्ठलाई थप रू.५,०३,००,०००/- कर्जा प्रदान गर्ने निर्णय भएको, सोही फाइनान्सको मिति २०६७/१०/०३ गतेको २३८ औं सञ्चालक समितिको बैठकबाट ऋणी नबिन श्रेष्ठलाई थप रू.५,०५,००,०००/- कर्जा प्रदान गर्ने निर्णय भएको, सोही फाइनान्सको मिति २०६७/0९/0७ गतेको २३५ औं सञ्चालक समितिको बैठकबाट ऋणी शैलेन्द्रकुमार श्रेष्ठलाई थप रू.२,३०,००,०००/- कर्जा प्रदान गर्ने निर्णय भएको, सोही फाइनान्सको मिति २०६७/०६/१७ गतेको २२८ औं सञ्चालक समितिको बैठकबाट ऋणी चण्डीराज ढकाल र प्रकाश घिमिरेलाई व्यक्तिगत जमानीमा जनही रू.२,०८,००,०००/- कर्जा प्रदान गर्ने निर्णय भएको भन्नेसमेत व्यहोराको नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागको मिति २०६९/०६/२३ गतेको पत्र ।
म नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको मिति २०६४ साल माघबाट सञ्चालक सदस्यको रूपमा नियुक्त भएको थिए, त्यस बखत सञ्चालक समितिको अध्यक्षमा उदय नेपाली श्रेष्ठ हुनुहुन्थ्यो । उदय नेपाली श्रेष्ठले राजीनामा दिएपछि २०६५ सालको श्रावण भाद्र महिनाबाट उक्त फाइनान्स कम्पनी लिमिटेड नेपाल बङ्गलादेश बैंक लिमिटेडमा गाभिएको मिति २०६७/१०/९ गतेसम्म म सञ्चालक समितिको अध्यक्ष भएको, कम्पनी सचिव, महाप्रबन्धकमार्फत आएका प्रस्तावहरू उपर छलफल गराउने, पास भएका निर्णयहरू कार्यान्वयनको लागि पठाउने मुख्य काम हुन्थ्यो । मैले सो फाइनान्समा एक्जुकेटिभ चेयरमेनको पनि काम गर्थे । सो फाइनान्समा कर्जा स्वीकृत गर्नको लागि कर्जा शाखा, कम्पनी सचिव, महाप्रबन्धक र सञ्चालक समितिको भुमिका हुन्थो । सञ्चालक समितिमा म अध्यक्ष, गौरीशङ्कर चौधरी, एलिजा वैद्य, डा.श्रीराम लामिछाने, मुकुन्द कर्माचार्य र जेन श्रेष्ठ थियौ । महाप्रबन्धक पनि म नै थिए । फाइनान्समा गाभिएपश्चात सम्पूर्ण दायित्व नेपाल बङ्गलादेश बैंक लिमिटेडमा सरेको थियो । कर्जा उठाउने, कर्जा उठाउन ताकेता गर्ने सम्पूर्ण काम नेपाल बङ्गलादेश बैंकको हो । दुवै संस्था गाभिएपश्चात बङ्गलादेश बैंकको सञ्चालक समितिमा बसेको थिएँ । पछि मेरो सट्टामा एन.बी. ग्रुपले अर्को मानिस ल्याएकोले म सञ्चालक समितिबाट निस्केको
थिएँ । नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको निर्णयबाट राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्स प्राइभेट लिमिटेडलाई रू.२,३०,००,०००/-, ऋणी नबिन श्रेष्ठलाई रू.५,०५,००,०००/-, ऋणी विजयकुमार श्रेष्ठलाई रू.५,०३,००,०००/- र ऋणी शैलेन्द्रकुमार श्रेष्ठलाई रू.५,०५,००,०००/- कर्जा प्रवाह भएको थियो । एन.बी. ग्रुपको अन्तर्गतको सेयर धनीहरूको सेयर धितो राखी राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्स प्राइभेट लिमिटेडलगायतका ऋणीहरूलाई कर्जा प्रवाह गरिएको थियो । कति कित्ता सेयर धितो राखेका थिए थाहा भएन । एन.बी. ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठको व्यक्तिगत दबाबका कारण उक्त कम्पनीलगायतका मानिसहरूलाई कर्जा प्रवाह भएको थियो । निजकै दबाब र मौखिक ग्यारेन्टीमा सो कर्जा प्रवाह गरिएको थियो । म, एलिजा वैद्य, डा.श्रीराम लामिछाने, गौरीशङ्कर चौधरी र मुकुन्द कर्माचार्यसमेत भई कर्जा दिने निर्णय भएको हो । सो कम्पनी र मानिसहरूलाई पहिला कर्जा प्रवाह भएको सम्बन्धमा मलाई थाहा भएन ।
नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड नेपाल बङ्गलादेश बैंक लिमिटेडमा गाभिने अवस्थामा तरलता, अनिवार्य नगद मौज्दात तथा पुँजी कोषको अवस्था ठीक
थियो । नेपाल राष्ट्र बैंकलाई राख्नुपर्ने अनिवार्य मौज्दात राख्नुपर्ने रकम पुगेको थियो । ऋणीहरूलाई कर्जा प्रवाह गर्न पुग्ने रकम थियो । संस्थाको अवस्था त्यति नाजुक थिएन । व्यक्तिगत जमानीमा कर्जा प्रवाह नदिनु भन्ने अभिप्राय मात्र नेपाल राष्ट्र बैंकको हो । बैंकको जोखिमलाई हेरी व्यक्तिगत जमानीमा कर्जा दिन
पाइन्छ । सोही जोखिम हेरी ऋणीहरूलाई व्यक्तिगत जमानीमा कर्जा प्रवाह गरेको हो । कर्जा प्रवाह भएका ऋणीहरूको जाय जेथाबाट असुलउपर गरी लिने कारबाही अगि नबढाइकन उनीहरूले लिएको कर्जा खराव भयो भन्न मिल्दैन । सो कर्जा असुलीउपर तर्फअगाडि बढेको देखिँदैन । ऋणीहरूले आफ्नो व्यवसाय सञ्चालनको लागि कर्जा लिएका हुन् । कर्जा लिएपश्चात सम्पूर्ण कागजातहरू नेपाल बङ्गलादेश बैंक लिमिटेडमा लगेकोले निरन्तर सुपरीवेक्षण तर ताकेता र लिलामी प्रक्रिया गर्ने काम पनि सोही बैंकको हो । मलगायतका सबै सञ्चालक समितिका सदस्यलाई एन.बी.ग्रुपका अध्यक्ष लक्ष्मी श्रेष्ठले कर्जा दिन असाध्यै दबाब दिने गरेका थिए । यो मेरो कर्जा हो बङ्गलादेश बैंकमा पनि मै हुँ, मैले नै तिर्ने हो २०६७ असार मसान्तसम्म सबै कर्जा राफसाफ गरी दिन्छु ढुक्क हुनुहोस् भनेकाले कर्जा प्रवाह गर्ने गरेका
थियौं । निज लक्ष्मीबहादुर श्रेष्ठले कर्जाका सम्बन्धमा कुनै कागजातहरू गरेका छैनन् । ऋणी नबिन श्रेष्ठले राखेको लक्ष्मीदेवी श्रेष्ठको नामको जग्गाको मूल्याङ्कन कर्ताको सम्बन्धमा मलाई एकिन थाहा भएन । कर्जा प्रवाह गर्दा कानूनसम्मत ढङ्गले कर्जा प्रवाह गर्ने गरेको हो । एन.बी. ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठले दबाब र मौखिक ग्यारेन्टीसमेत दिने गरेका थिए । कर्जा फायल नेपाल बङ्गलादेश बैंकमा भएकोले नपुग धितो राखे राखेनन् थाहा भएन । धितो मूल्याङ्कन सम्बन्धमा खिमबहादुर डि.सी., मिनराजजंग शाही, युजकुमार बयल, भोलादत्त भट्टलाई थाहा होला । ऋणीहरूसँग नाता सम्बन्ध केही छैन भन्नेसमेत व्यहोराको प्रतिवादी रूबी जोशीको बयान कागज ।
मिति एकिन भएन २०६७ माघ महिनाबाट नेपाल बङ्गलादेश बैंकमा गाभिनु अघिसम्म म नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्य थिएँ । मलाई उक्त फाइनान्स लिमिटेडका संस्थापक सेयर धनी लक्ष्मीबहादुर श्रेष्ठले संस्थापक सेयरको प्रतिनिधित्व रहने गरी सञ्चालक समितिमा रहन सिफरिस गरेका थिए । फाइनान्सबाट कर्जा प्रवाह गर्दा व्यवस्थापन ईकाईबाट महाप्रबन्धककोमा पुग्थ्यो । महाप्रबन्धकको अख्तियारी भए निजले नै दिन सक्ने र महाप्रबन्धकको अख्तियारीबाहेक बाहिरको सञ्चालक समितिमा पेस हुन्थो । उक्त संस्थामा कर्जा कमिटी पनि
थियो । फाइनान्सको सञ्चालक समितिमा कार्यकारी अध्यक्ष रूबी जोशी, सञ्चालकमा म, डा.श्रीरामप्रसाद लामिछाने, मुकुन्द कर्माचार्य, एलिजा वैद्य र जेन श्रेष्ठसमेत ५ जनाको समिति थियो । नेपाल बङ्गलादेश बैंक लिमिटेडमा मेरो कुनै हैसियत थिएन । दुवै संस्था गाभिने क्रममा कर्जा फाइलसमेतका कागजातहरू बुझ्ने र बुझिलिनेबीच बुझ बुझारथ महाप्रबन्धक रूबी जोशी र नेपाल बङ्गलादेश बैंकबीच भएको थिए । यसरी मर्ज भइसकेपछि नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको कर्जा उठाउने सम्पूर्ण दायित्व नेपाल बङ्गलादेश बैंक लिमिटेडमा सरेको थियो । नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडमा संस्थापक सेयर भएका एन.बी. ग्रुपको NCC बैंकमा भएको सेयर धितो राखी राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्स लाई रू.२,३०,००,०००/-, ऋणी नबिन श्रेष्ठलाई रू.५,०५,००,०००/-, ऋणी विजयकुमार श्रेष्ठलाई रू.५,०३,००,०००/-, ऋणी शैलेन्द्रकुमार श्रेष्ठलाई रू.५,०५,००,०००/- कर्जा प्रवाह भएको थियो । सो ऋण प्रवाह गर्दा के कति सेयर सख्या धितो राखी प्रवाह गरिएको एकिन भन्न
सक्दिन । विधिवत्रूपमा मर्ज भएपछि सो ऋण असुली भयो भएन भन्ने सम्बन्धमा मलाई कुनै जानकारी भएन र सम्बन्धको विषय पनि नभएकोले जानकारी राख्ने प्रयास पनि गरिन । मलाई जानकारी भएअनुसार कर्जा प्रक्रिया पुगेर नै कर्जा प्रवाह भएका थिए । परियोजना के कस्तो थियो र परियोजनाअनुसार काम भयो भएन मलाई एकिन भएन । पहिला कर्जा दिए नदिएको मलाई एकिन भएन । एन.बी. ग्रुपको ५० प्रतिशत बढी संस्थापक सेयर थियो । निजहरूले माग गरेकोभन्दा बढी कर्जा पाएको भन्ने सम्बन्धमा पनि मलाई थाहा भएन । ऋणीहरूले कर्जा रकम बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन तथा निर्देशन सम्बन्धमा मलाई थाहा भएन । मैले नियतवश बैंकलाई हानि नोक्सानी हुने गरी कर्जा प्रवाह गरेको होइन कर्जा प्रवाह गर्दा लिएको धितो, व्यक्तिगत जमानी, ऋणीको साख हेरी कर्जा प्रवाह भएकोले ऋणीको अन्य जायजेथा र व्यक्तिगत जमानीका व्यक्तिको जायजेथाबाट असुल उपर गरिने भएकोले नेपाल बङ्गलादेश बैंकबाट सोसम्बन्धमा अगाडि बढाइनु पर्दछ । परियोजना हेरी लगानी गर्नु पर्दथ्यो । व्यवस्थापनले हेर्नुपर्थ्यो । बैंक गाभिएकोले सञ्चालकहरूबाट अनुगमन भएन भन्नेसमेत व्यहोराको प्रतिवादी गौरीशङ्कर चौधरीको बयान कागज ।
म नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडमा २०६५ सालबाट सञ्चालक समितिको सदस्यमा नियुक्त भएको थिए । मेरो हैसियत सञ्चालक समितिको बैठकमा उपस्थित हुने सञ्चालक समितिको सदस्यको हैसियतले काम गर्ने र बैठकमा उपस्थित भई पेस भएका विषयवस्तुको छलफलमा भाग लिने थियो । कर्जा प्रवाह गर्दा व्यवस्थापन ईकाईबाट महाप्रबन्धकमा र महाप्रबन्धकको अख्तियारी भए महाप्रबन्धकबाट र महाप्रबन्धकको अख्तियारी बाहिरको भए सञ्चालक समितिमा पेस हुन्थ्यो । महाप्रबन्धकले के कति कर्जा स्वीकृत गर्ने अख्तियारी छ मलाई एकिन भएन । फाइनान्समा कर्जा कमिटी पनि थियो । कर्जा प्रवाह गर्दा व्यवस्थापनबाट प्रस्तुत हुने एजेण्डामा प्रस्तुत भएको व्यहोराहरू अध्यक्षले सञ्चालकलाई पढीवाची सुनाउने गर्नुहुन्थ्यो । सोही प्रस्तावहरूमा सञ्चालक समितिमा छलफल भई निर्णय हुन्थ्यो । एजेण्डाको प्रस्तावको व्यहोराहरू एकिन भएन । सञ्चालक समितिको निर्णयअनुसार कर्जा प्रवाह हुन्थ्यो । यसरी मर्ज भएपछि नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समिति विघटन भए लगत्तै मेरो फाइनान्समा कुनै हैसियत रहेको थिएन । नेपाल बङ्गलादेश बैंकमा मेरो कुनै पदीय हैसियत थिएन । राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्सलाई नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडका संस्थापक सेयर रहेका एन.बी. ग्रुपको NCC बैंकमा रहेको सेयर धितो राखी रू.२,३०,००,०००/- कर्जा प्रवाह गरिएको थियो । सो कर्जा प्रवाह गर्दा के कति सेयर संख्या धितो राखी कर्जा प्रवाह गरिएको थियो एकिन भन्न सक्दिन । मैले ऋण प्रवाह गर्दा निर्णयमा दस्तखत गरेको छु । सम्झौता दुवै बैंकबाट भई नेपाल राष्ट्र बैंकमा पेस हुँदा संशोधनार्थ फिर्ता भएकोले सो कर्जा प्रवाह अवधिमा कर्जा प्रवाह नगर्नू भन्ने कुनै निर्देशन थिएन । ऋणी नबिन श्रेष्ठलाई NCC बैंकको सेयर धितो राखी थप कर्जा प्रवाह भएको हो । म सो कर्जा प्रवाह गर्ने निर्णय हुँदा उपस्थित
थिइन ।
ऋणी विजयकुमार श्रेष्ठलाई कर्जा प्रवाह गर्दा मैले कार्यकारी अध्यक्ष तथा नायब महाप्रबन्धक खिमबहादुर डि.सी.लाई कर्जा प्रवाह गर्न उचित हुन्छ हुँदैन भनी सोधेको थिएँ । किन भने मलाई शैक्षिक क्षेत्रको शिक्षक बैंकिङ क्षेत्रको बारेमा त्यति थाहा थिएन । निज कार्यकारी अध्यक्ष रूबी जोशी र नायब महाप्रबन्धक खिमबहादुर डि.सी.ले यस ऋण कर्जा प्रवाह गर्दा कुनै बाधा पर्दैन भन्ने जवाफ दिएपछि मैले सञ्चालक समितिको बैठकको निर्णयमा दस्तखत गरेको हुँ । के कुन परियोजनाको लागि कर्जा प्रवाह भएको थियो मलाई थाहा छैन । निजले पहिला कर्जा लिएको विषयमा मलाई थाहा छैन । कार्यकारी अध्यक्षको मौखिक राय अनुसार कर्जा प्रवाह भएको हो । कर्जा थाम्ने धितो थियो थिएन मलाई थाहा भएन । ऋणी शैलेन्द्रकुमार श्रेष्ठलाई कर्जा प्रवाह गर्दा कार्यकारी अध्यक्ष रूबी जोशी र नायब महाप्रबन्धक खिमबहादुर डि.सी.सँग जानकारी लिदा ऋण कर्जा प्रवाह गर्दा कुनै फरक नपर्ने भनी विश्वास दिलाएकोले मैले निर्णयमा दस्तखत गरेको हुँ । ऋणी शैलेन्द्रकुमार श्रेष्ठले पहिला कुनै कर्जा लिएका थिए थिएनन् । पहिलाको कर्जा चुक्ता नहुँदै थप कर्जा प्रवाह गर्ने व्यवस्थापनले सहमति दिई यसमा कुनै बाधा पर्दैन भन्ने विश्वासमा मैले दस्तखत गरेको हो । सेयर मूल्य थाहा भएन । ऋणी चण्डीराज ढकाल र प्रकाश घिमिरेलाई कर्जा प्रवाह हुदाँ व्यवस्थापनले कर्जा प्रवाह गर्ने राय दिएकाले कर्जा प्रवाह भएको हो । कति कर्जा प्रवाह भएको थियो मलाई एकिन भएन । यसमा अध्यक्ष रूबी जोशीले माग गरेभन्दा बढी कर्जा दिन मिल्छ भनी विश्वास दिलाएकोले साथै व्यवस्थापनले प्रक्रिया ठीक छ भनेकोले मैले सञ्चालक समितिको निर्णयमा दस्तखत गरिदिएको हुँ । के कुन परियोजनाको लागि कर्जा प्रवाह गरिएको हो मलाई थाहा भएन । अल्का हस्पिटल लाई कर्जा प्रवाह गरेको सम्बन्धमा अध्यक्ष रूबी जोशी र नायब महाप्रबन्धक खिमबहादुर डि.सी.लाई थाहा होला । मलाई सम्झना भएन । प्रवाह भएको ऋण तिर्ने दायित्व सम्बन्धित कर्जावालाहरूको हो । हालसम्म के कति तिरे मलाई जानकारी छैन । स्वीकृत भएको कर्जा रकम के कुन माध्यमबाट ऋणीहरू दिने गरेको थियो । सो बारेमा थाहा भएन । कर्जा दिने सिफारिस व्यवस्थापनले नै गर्ने गरेकोले कर्जा दिने निर्णय सञ्चालक समितिमा गर्ने गरेको थियो । पुँजि भए नभएको कुरा सञ्चालक समितिमा पेस गर्ने गरेका थिएनन् । त्यस कारण सो बारे मलाई थाहा भएन । मलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन सम्बन्धमा मलाई थाहा भएन ।
कर्जा प्रवाह गर्दा व्यवस्थापनले सम्पूर्ण अध्ययन गरी सिफारिसको निमित्त सञ्चालक समितिमा पेस गरेको भन्ने कुरा व्यवस्थापनले विश्वास दिलाएकोले दस्तखत गरेको हो । प्रयोजनको सम्बन्धमा व्यवस्थापनले अध्ययन गर्नुपर्दथ्यो । यसमा कुनै अनुगमन भए नभएको कुनै जानकारी भएन । त्यस कारण प्रयोजनको वर्तमान अवस्था मलाई थाहा छैन । मैले कोही कसैको दबाब करकापमापरी कर्जा स्वीकृत गरेको होइन । कर्जासम्बन्धी विवरण बारे कर्जा समिति तथा सञ्चालक समिति र व्यवस्थापनसहित संलग्न भएको छलफलको आधारमा निर्णयमा दस्तखत गरेको हो । म बैंकिङ क्षेत्रको सम्बन्धमा अनभिज्ञ व्यक्ति भएकोले कर्जा स्वीकृत गर्ने क्रममा कर्जाको प्रयोजन र कर्जाका सम्बन्धमा सञ्चालक समितिका अध्यक्ष तथा नायब महाप्रबन्धक खिमबहादुर डि.सी.सँग परामर्श राखी ठीक छ दिँदा फरक पर्दैन भन्ने सल्लाह दिएपछि ऋण प्रवाह गर्दा सहमति स्वरूप दस्तखत गर्ने गरेको थिएँ । ऋणीहरूसँग मेरो कुनै नाता सम्बन्ध छैन भन्नेसमेत व्यहोराको प्रतिवादी डा.श्रीरामप्रसाद लामिछानेको बयान कागज ।
म नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अनामनगरमा वरिष्ठ प्रशासन अधिकृत पदमा कार्यरत छु । एन.बी. ग्रुपमा पनि छु । मैले बैंकिङसम्बन्धी र सेयरसम्बन्धी कामहरू हेर्ने गर्छु । मिति एकिन भएन सन् २०१२/१०/०१ र सन २०१२/१०/०९ तिर होला सोमध्ये सन् २०१२/१०/०१ मा म एन.बी. को आफ्नै क्याविनमा थिए । दिनको अं.१५:०० बजेको समयमा चण्डीराज ढकालले मलाई बोलाएपछि बोर्ड रूममा गएँ । सोही बोर्ड रूमबाट प्रकाश घिमिरेले मलाई रू.१०,००,०००/- दिई प्रकाश घिमिरेको नाममा खाता सञ्चालन रहेको नेपाल बङ्गलादेश बैंकको खाता नं.०१९००२६९१५ मा रकम जम्मा गरिदिनू भनेकोले सोबमोजिम मैले रू.१०,००,०००/- रकम जम्मा गरी भौचरको अर्धकट्टी एन.बी. ग्रुपको लेखापाल ऋषिकेश अर्याललाई दिएको हुँ । रकम जम्मा गरेको खबर मैले लक्ष्मीबहादुर श्रेष्ठलाई फोनबाट गरेको
हुँ । त्यसैगरी सन् २०१२/१०/०९ मा मलाई एन.बी. ग्रुपको अफिसमा रहेको अवस्थामा लक्ष्मीबहादुर श्रेष्ठको कोठामा बोलाइयो । एन.बी. ग्रुपको कार्यालयमा रहेको लक्ष्मीबहादुर श्रेष्ठको कोठामा पुग्दा लक्ष्मीबहादुर श्रेष्ठमात्र कोठामा थिए मलाई लक्ष्मीबहादुर श्रेष्ठले रू.१५,००,०००/- दिई यो रकम लिएर प्रकाश घिमिरेको नाममा सञ्चालन रहेको नेपाल बङ्गलादेश बैंकको पुतली सडक शाखामा रहेको कर्जा हिसाबको खाता न.०१९००२६९१५ मा जम्मा गरी जम्मा गरेको भौचर ल्याई एन.बी. ग्रुपको लेखापाल ऋषिकेश अर्याललाई दिनुभनेबमोजिम मैले रकम रू.१५,००,०००/- प्रकाश घिमिरेको खातामा जम्मा गरी भौचरको अर्धकट्टी ल्याई लेखापाललाई दिएको थिए । मैले जम्मा रू.२५,००,०००/- प्रकाश घिमिरेको नेपाल बङ्गलादेश बैंकको पुतलीसडक खातामा जम्मा गरेको ठीक साँचो हो भन्नेसमेत व्यहोराको राजु भन्ने सुन्दरराज पुडासैनीको कागज ।
म एन.बी. ग्रुप कमलादी काठमाडौंमा office boy पदमा विगत १४ वर्ष अघिदेखि कार्यरत छु । मेरो काम अन्य कार्यालयमा पत्र लैजाने र अन्य कार्यालयबाट आएका पत्रहरू ल्याउने काम
गर्छु । मिति सन् २०१२/१०/०९ गते म MB ग्रुपको कार्यालयमा रहेको अवस्थामा एन.बी. ग्रुपका मेनेजिङ डाइरेक्टर लक्ष्मीबहादुर श्रेष्ठले मलाई बोर्ड रूममा बोलाई रू.२५,००,०००/- दिए र यो रकम लिएर नेपाल बङ्गलादेश बैंक पुतलीसडक शाखामा रहेको चण्डीराज ढकालको खातामा जम्मा गरिदिनू, खाता नं. बैंकमा सोधेपछि थाहा हुन्छ भनेकोले लक्ष्मीबहादुर श्रेष्ठले दिएको रू.२५,००,०००/- रकम झोलामा बोकी नेपाल बङ्गलादेश बैंक पुतलीसडकमा गई चण्डीराज ढकालको खातामा जम्मा गरी रकम जम्मा गरेको अर्धकट्टी भौचर ल्याई लेखापाल ऋषिकेश अर्याललाई दिएको हुँ भन्ने व्यहोराको दुर्गाप्रसाद अर्यालको
कागज ।
प्रतिवादीहरू रूबी जोशी, एलिजा वैद्य, डा.श्रीरामप्रसाद लामिछाने र मुकुन्द कर्माचार्यले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७ को खण्ड (घ) र (च), दफा ८, दफा ९ को उपदफा (१) र (२) तथा दफा १४ विपरीतको कसुर अपराध गरेको पुष्टि भएको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १५(२)(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १५(२) बमोजिम निजहरूबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई बिगो रू.२,३०,६६,६०४/७४ दिलाई भराई पाउन, प्रतिवादी खिमबहादुर डि.सि.ले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७ को खण्ड (घ) र (च), दफा ८, दफा ९ को उपदफा (१) र (२) तथा दफा १४ विपरीतको कसुर अपराध गरेको पुष्टि भएको हुँदा निज प्रतिवादी खिमबहादुर डि.सी.लाई सोही ऐनको दफा १५(२)(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १५(२) बमोजिम निजबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई बिगो रू.२,३०,६६,६०४/७४ दिलाई भराई पाउन, प्रतिवादी प्रकाश घिमिरेले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७ को खण्ड (घ) र(च), दफा ८ र दफा १४ विपरीतको कसुर अपराध गरेको पुष्टि भएको देखिएकोले उक्त कसुर अपराध गर्ने निजलाई सोही ऐनको दफा १५(२)(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १५(२) बमोजिम निजबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई बिगो रू.२,३०,६६,६०४/७४ दिलाई भराई पाउन, प्रतिवादी चण्डिराज ढकालले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७ को खण्ड (घ) र(च), दफा ८ र दफा १४ विपरीतको कसुर अपराध गरेको पुष्टि भएको देखिएकोले उक्त कसुर अपराध गर्ने निजलाई सोही ऐनको दफा १५(२)(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १५(२) बमोजिम निजबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई बिगो रू.२,३०,६६,६०४/७४ दिलाई भराई पाउन, प्रतिवादी लक्ष्मीबहादुर श्रेष्ठले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७ को खण्ड (घ) र (च), दफा ८, दफा ९ को उपदफा (१) र (२) तथा दफा १४ विपरीतको कसुर अपराध गरेको पुष्टि भएको हुँदा निजलाई सोही ऐनको दफा १५(२)(घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १५(२) बमोजिम निजबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई बिगो रू.२,३०,६६,६०४/७४ दिलाई भराई पाउन मागदाबीसहितको अभियोग ।
म गैर बैंकिङ क्षेत्रको व्यक्ति हुँ । बैंकिङ सम्बन्धमा मेरो अनविज्ञता छ, त्यसैले कुनै पनि निर्णय हुँदा सञ्चालक समितिका अध्यक्ष र कार्यकारी प्रमुख र नायब महाप्रबन्धकसमेतलाई सोधी यी कर्जाका निर्णय गर्दा के कस्तो प्रभाव पर्दछ भनी सोधपुछ गर्दथे, जिज्ञासा राख्दथे । यो जाहेरी व्यहोरा सम्बन्धमा पनि मैले जिज्ञासा राखी बुझ्दा केही फरक नपर्ने विश्वास उहाँहरूबाट प्राप्त भएपछि मैले निर्णयमा सही गरेको
हुँ । मैले कार्यकारी अध्यक्षसँग जिज्ञासा राख्दा बैंकिङ कारोबारको प्रावधानभित्र ऋणीको हैसियतलाई व्यक्तिगत जमानीमा कर्जा प्रवाह गर्न सकिन्छ भन्ने कुरा मलाई बताउनु भयो सोही आधारमा उक्त कर्जा प्रवाह गर्ने निर्णयमा सही मैले गरेको हो । हाल उक्त कर्जाको केही ब्याज वुझाएको भन्ने सुन्नमा आएको छ । मैले कुनै बदनियतपूर्वक यो कर्जा प्रवाह गरेमा छैन । प्रावधानभित्र रही भएको हुँदा कर्जा कानूनी प्रावधानभित्र पर्दछ भन्ने मलाई विश्वास कार्यकारी अध्यक्षबाट प्राप्त भयो ।
निज प्रकाश घिमिरेलाई म चिन्दिनँ, निजलाई कुन प्रयोजनका लागि कर्जा प्रवाह गरिएको हो । त्यो मलाई जानकारी भएन । चण्डिराज ढकालको व्यक्तिगत जमानीमा उक्त कर्जा प्रवाह गरिएको हो । व्यक्तिगत जमानी कर्जा प्रवाह गर्ने प्रावधान छ र भनी कार्यकारी अध्यक्षलाई सोध्दा बैंकिङ प्रावधान भित्रै यो पदर्छ भनी आश्वस्त गराउनुभएको हुँदा ऋण कर्जाको निर्णयमा सही गरेको हुँ । नेपाल बङ्गलादेश बैंकमा गाभिने निर्णय भइसकेपछि कर्जा प्रवाह गर्न मिल्छ भन्ने विषयमा श्री लङ्का मर्चेन्ट बैंकिङ कार्यकारी अध्यक्षले मर्जको सम्झौता पत्रमा सोकुरा उल्लेख नभएकोले कर्जा प्रवाह गर्न बाधा पर्दैन भन्नुभयो । उक्त निर्णय नं. २२८ बमोजिम ऋण रू. २ करोड ८ लाख प्रवाह गरेको
हो । अभियोग व्यहोरा सुने, यसमा व्यक्तिगत जमानीमा ऋण प्रवाह गर्न मिल्छ भन्ने कुरा बैंकिङ प्रावधानमा रहेको भनी कार्यकारी अध्यक्षले जानकारी गराएको आधारमा उक्त कर्जा प्रवाह भएको यस पृष्ठभूमिमा मलाई लगाइएको अभियोगमा मैले भोग्नु पर्ने होइन । म निर्दोष छु । कुनै खराब नियतले निर्णयमा दस्तखत गरेको होइन । उक्त दाबीको रकम बारेमा मलाई थाहा भएन चण्डिराज ढकाललाई २ करोड ८ लाख कर्जा प्रवाह गरेको हो र प्रकाश घिमिरेलाई पनि त्यति नै रकम कर्जा प्रवाह भएको भन्ने अध्यक्षले बताउनुभएको हो । मैले बैंकिङ कसुर नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी डा. श्रीरामप्रसाद लामिछानेले पुनरावेदन अदालत, पाटनमा गरेको बयान ।
श्रीलङ्का मर्चेन्ट एण्ड फाइनान्समा कार्यकारी अध्यक्षमा २०६५ साल माघदेखि २०६७ साल फाल्गुणसम्म रहेको र सोभन्दा अगाडि म त्यहाँ सञ्चालकको पदमा रहेको थिएँ । २०६५ साल माघभन्दा अगाडि थिए । बङ्गलादेश बैंकमा २०६८ वैशाखदेखि ऐ. मंसिरसम्म सञ्चालक समितिको सदस्य थिएँ । मेरो यी दुवैमा कुनै सेयर लगानी छैन । मैले र मेरो नजिकको कुनै व्यक्तिहरूले उक्त दुवै वित्तीय निकायबाट कुनै पनि कर्जा लिएको छैन । राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्स, नबिन श्रेष्ठ, विजय श्रेष्ठ र शैलेन्द्रकुमार श्रेष्ठलाई दिएको ऋण ऐन कानून, नियमअन्तर्गत नै रहेर दिएको हो। यी कर्जाहरूमा केही धितोहरूसमेत छन्। घरजग्गा, अरू बैंकका सेयरहरूसमेत धितो राखिएका छन् । धितो नपुगे ३ महिनाभित्र थप धितो लिने निर्णय गरिएकोमा ऋणका फाइलहरू सबै नेपाल बङ्गलादेश बैंकमा गाभिएपछि त्यहाँ गएको हो। सो फाइल त्यो बैंकमा गइसकेपछि सोही बङ्गलादेश बैंकले नपुगेको धितो भए माग्नुपर्ने र असूलीको कारबाही अगाडि बढाउनुपर्नेमा त्यसरी गाभिएको झन्डै २ वर्षपछि ३५ दिने सूचना प्रकाशित गरेको छ। यसरी यी ऋणीहरूबाट असुल गरी लिने काम बाँकी नै छ ।
ऋणीहरूले ऋण चुक्ता नगरेको अवस्थामा उनीहरूले राखेको धितो लिलाम गरी असुल गरी सकिने नै छ। त्यसबाट पनि नपुग भएमा उनीहरूले गरेको व्यक्तिगत ग्यारेन्टीअनुसार उनीहरूको जायजेथाबाट पनि असुल उपर गर्न सकिने नै छ । यसबाट ऋणीबाट कर्जा नउठ्ने, बैंकको सम्पत्ति नोक्सान भएको हुन नसक्ने स्पष्ट छ। मलाई पक्राउ गरेको १ महिनाभन्दा बढी समय नाघी सकेपछि ३५ दिने कर्जा चुक्ता गर्न आउनू भनी सूचना प्रकाशित गरेको हुँदा पहिला प्रक्रिया नगरी हामीलाई थुनामा राखिएको छ । निजसँग त्यस्तो चिनजान, नाता सम्बन्ध केही छैन । निजको काका चण्डीराज ढकालको अनुरोधमा व्यवसायी सञ्चालन गर्नको लागि दिएको हो । चण्डीराज ढकालको व्यक्तिगत जमानीमा उक्त कर्जा प्रवाह गरिएको मिति याद भएन । तमसुकसमेतका कागजहरू सम्झौता गरी कबुलियत सम्झौताको आधारमा नै कर्जा प्रवाह गरिएको हो । उक्त सञ्चालक समितिको बैठक नं.२२८ को निर्णयको प्रतिलिपि देखाउँदा देखेँ सोमा भएको सही मेरोसमेत हो । यस कर्जाको ब्याज रू २५ लाख तिरेको अवस्था छ । कर्जा चाँडै चुक्ता गर्ने भनी नेपाल बङ्गलादेश बैंकमा सम्पर्कसमेत गरेको अवस्था छ । कर्जा चुक्ता भइसकेको छ, छैन हाल मलाई थाहा
भएन । ऋण प्रवाहको पछाडि एन.बी. ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ श्रीलङ्का मर्चेन्ट फाइनान्सका मुख्य संस्थापक सेयरहोल्डर हुन् सञ्चालक समितिको बैठकहरूमा आएर बस्नु हुन्थ्यो, उहाँले नै ऋण निकासा गरी दिनु पर्यो भनेर अनुरोध गर्नु हुन्थ्यो । निजहरू बयानमा मैले भनेर गरेको भनी उल्लेख गरेका छन् त्यो झुट्टा
हो । लक्ष्मीबहादुर श्रेष्ठले उनीहरूलाई मेरै अगाडि जोड दिएको हो । अभियोग दाबीबमोजिम मैले कसुर गरेको छैन । नियम कानूनबमोजिम कर्जा प्रवाह भएको हो । धितो सम्बन्धमा व्यक्तिगत जमानीमा कर्जासमेत प्रवाह भएको हो । सोहीअनुसार त्यस्तो व्यक्तिगत जमानीका सम्पत्तिबाट असुल हुने नै हुन्छ । त्यसैले मलाई कसुर नगरेको प्रस्तुत दाबीको अभियोगमा सजाय हुनुपर्ने होइन । कर्जा प्रवाह भएका सबै लोन एन.बी.ग्रुप र राष्ट्र बैंकमा लिखित स्वीकृतसमेत भएको अवस्था छ भन्नेसमेत व्यहोराको प्रतिवादी रूबी जोशीले पुनरावेदन अदालत, पाटनमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाण हेर्दा माग गरिएकोभन्दा बढी ऋण प्रवाह गरी विना धितो व्यक्तिगत जमानतमा एउटाले ऋण लिँदा अर्को र अर्कोले ऋण लिँदा अर्को गरी ऋण स्वीकृत गरेको र मिसिल संलग्न बुझिएका सुन्दरराज पुडासैनी र दुर्गाप्रसाद आचार्यसमेतले एकअर्काको खातामा मिलोमतो गरी रकम जम्मा गरेको भन्नेसमेत देखिन आएको हुँदा तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीहरू कसुरदार रहेको देखिन आएकोले यो मुद्दामा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी अहिलेलाई प्रतिवादीहरू उपर अभियोजन भएको कसुर माग दाबीअनुरूप मुलुकी ऐन, अ.बं.१२१ नं.बमोजिम सिधा खान पाउने गरी प्रतिवादीहरू रूबी जोशी र डा. श्रीरामप्रसाद लामिछानेलाई सोही महलको ११८ (२) नं. बमोजिम कानूनबमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नू भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६९/0८/१८ को आदेश ।
श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा मैले ऋण माग्ने कार्य गरी प्रक्रियामा गएको हो । पछि सेयर प्राप्त नहुने अवस्था भएपछि मैले कर्जा लिएको छैन । हाल उक्त बैंक लिमिटेडमा मेरो कुनै सम्बन्ध र हैसियत छैन । सो बैंकमा मेरो सेयर
छैन । प्रस्तुत मुद्दामा देखिएको लोनबाहेक मेरो सो बैंकमा अन्य कुनै कर्जा छैन मेरो नजिकको व्यक्तिले सो बैंकबाट कुनै कर्जा लिएको छैन । प्रकाश घिमिरेको नाउँमा ऋण उपलब्ध गराउने भन्ने कागजातमा उहाँलाई ऋण दिए हुन्छ भन्ने लिखतमा म साक्षी बसेको हुँ र उहाँको नाउँमा देखिएको भनिएको कर्जा सम्बन्धित प्रक्रियाअनुसार नै चुक्ता भएको कुरा पनि जानकारी गराउँछु । म र प्रकाश घिमिरेले एउटै प्रयोजनका लागि एउटै व्यक्ति र संस्थासँग एउटै प्रकृतिको उद्देश्यका लागि ऋण उपलब्ध गराउने कागजातमा हस्ताक्षर गरी निवेदनसम्म गरेका हौं । निजले २ करोड कर्जा माग गरेका थिए । सो कर्जाबापतमा म जमानीमा बसेको
थिए । निज प्रकाश घिमिरेको हकमा लक्ष्मीबहादुर श्रेष्ठका भान्जा सविन श्रेष्ठको बुवाले रकम मैले नै चलाएको हुँ र म मेरो घर घरनाबाट मैले जारी गरेको चेकबाट प्राप्त हुन नसकेमा ऋण तिर्ने छु भनी निज लक्ष्मीबहादुर श्रेष्ठलाई साक्षी राखी दिएको कागजात र चेक पनि निज प्रकाश घिमिरेसँग भएको हुनाले आवश्यक परेमा यस सम्मानित अदालतमा उपलब्ध गराउने नै छौं । निजको नाउँबाट लिएको कर्जा पनि चुक्ता भइसकेको व्यहोरा अवगत गराउँछु । मेरो जमानी भनिएको कर्जाको प्रकृति र प्रयोग पनि उस्तै हिसाबको भएको कारण र सो रकम चुक्ता भइसकेको व्यहोरा सम्बन्धित बैंकबाट पत्राचार पनि भइसकेको अवस्थामा यसमा मलाई कुनै कसुर सजाय हुनु नपर्ने हो । अभियोग माग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी चण्डिराज ढकालले पुनरावेदन अदालत, पाटनमा गरेको बयान ।
यी निवेदकले बयानसाथ पेस गरेको एन.बी. बैंकको मिति २०७०/०९/२१ को पत्रबाट देखिएको र आफूले बैंकिङ कसुर नगरेको भनी कसुरमा इन्कारी बयान गरेकोसमेतका तत्काल प्राप्त आधार प्रमाणबाट प्रस्तुत मुद्दामा हालै यी प्रतिवादी कसुरदार रहेछन् भन्न सकिने अवस्था विद्यमान रहेको नदेखिँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी चण्डिराज ढकाललाई मुलुकी ऐन, अ.बं.४७ नं. बमोजिम तारेखमा राखि प्रस्तुत मुद्दाको पुर्पक्ष गर्ने भन्ने पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०७०/०९/२२ को आदेश ।
जाहेरीमा मलाई कर्जा प्रमुख भनिएको व्यहोरा गलत हो । सो पदमा तत्कालीन अवस्थामा मनिराजजंग शाह हुनुहुन्थ्यो । प्रस्तुत फाइनान्सबाट कर्जा लगानी सम्बन्धमा मेरो कुनै भूमिका रहेको छैन । कर्जा प्रवाह गर्दा प्रस्तुत मुद्दा र गाउँका अन्य मुद्दाहरूमा सञ्चालक समितिको ठाडो निर्णयबाट भएको हो । मेरो आफ्नो पदिय हैसियतले पनि कर्जा सम्बन्धमा कुनै संलग्नता रहँदैन । सञ्चालक समितिबाट भएको निर्णय तयार गरिदिने र अद्यावधिक गरिदिने साथै नायब महाप्रबन्धकको हैसियतले प्रशासनसम्बन्धी दैनिक काम हेर्ने मेरो जिम्मेवारी र भूमिका हो । निज र लगाउका मुद्दाहरूका कुनै पनि ऋणीहरूसँग चिनजान नाता सम्बन्ध केही छैन । यो कर्जा प्रक्रियागतरूपमा तलबाट जानुपर्नेमा ऋणीले सञ्चालक समितिमा निवेदन दिई सो समितिले ठाडो निर्णय गरी कर्जा दिएको हो । धितो सुरक्षणबापत के राखेको थियो थाहा भएन । प्रस्तुत मुद्दा र यसैसँग लगाउमा रहेका अन्य सबै मुद्दाहरूको कर्जा सावाँ ब्याजसहित मिति २०७०/०५/२६ भन्दा अगावै चुक्ता भइसकेको छ । प्रस्तुत मुद्दा र अन्य लगाउका मुद्दाहरूमा प्रवाह भएको कर्जा सम्बन्धमा सञ्चालक समितिको ठाडो निर्णयबाट कर्जा स्वीकृत भएको हो । म कम्पनी सचिव र नायब महाप्रबन्धकका हैसियतले काम गर्दा कर्जा प्रवाह सम्बन्धमा कुनै भूमिका र संलग्नता रहेको छैन । कर्जा सदुपयोग दुरूपयोग सम्बन्धमा हेर्नुपर्ने दायित्व कर्जा विभागको हो । श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स मिति २०६७/१०/०९ मा नेपाल बङ्गलादेश बैंक लिमिटेडमा गाभिएपछि सोको सम्पूर्ण दायित्व बङ्गलादेश बैंकमा सरी गएको, सो यी आपसमा मर्जर भएपश्चात म बैंकको कुनै पनि हैसियतमा नरहेकाले कर्जा सदुपयोग दुरूपयोग सम्बन्धमा मलाई थाहा भएन । कर्जा प्रवाह सम्बन्धमा मेरो कुनै संलग्नता रहेको छैन । व्यक्तिगत लाभका लागि मैले कुनै अनियमित कार्य गरेको छैन । मउपर लगाइएको अभियोग झुट्टा
हो । सञ्चालक समितिबाट ठाडै निर्णय गरी कर्जा प्रवाह भएका हुन् । साथै हाल सम्पूर्ण कर्जाहरू चुक्ता पनि भइसकेकाले मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन । अभियोगबाट सफाइ पाउनुपर्दछ भन्ने प्रतिवादी खिमबहादुर डि.सी.ले पुनरावेदन अदालत, पाटनमा गरेको बयान ।
यी प्रतिवादी उक्त बैंकको नायब महाप्रबन्धक र कम्पनी सचिवको पदमा बहाल रहेका, बैंकलाई हानि नोक्सानी हुनबाट रोक्ने कार्यमा कुनै पहल गरेको नदेखिएको र निजउपर लिएको आरोपित कसुरसमेतलाई विचार गर्दा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई मुलुकी ऐन, अ.बं.११८ को देहाय ५ र १० नं. अनुसार यी प्रतिवादी खिमबहादुर डि.सी. बाट नगद रू.२५,०००/- (पच्चीस हजार रूपैयाँ) वा बैंक ग्यारेन्टी वा सो बराबरको जेथा जमानी दिए लिई पुर्पक्षको निमित्त तारेखमा राखी कारबाही
गर्नू । उक्त धरौटी वा जमानत दिन नसके कानूनबमोजिम गर्नू भन्ने पुनरावेदन अदालत, पाटनबाट भएको मिति २०७०/०९/२४ को आदेश ।
कर्जाको लागि चाहिने आवश्यक प्रक्रिया सेयर खरिद गर्ने प्रयोजनार्थ अघि बढाएको हो । पछि सेन्चुरी बैंकको सेयर खरिद प्रक्रिया अघि बढ्न नसकेकोले माग गरेको कर्जा लिनेतर्फ चासो गरिएन । सोही प्रक्रियालाई आधार मानि लक्ष्मीबहादुर श्रेष्ठले मलाई कुनै जानकारी नगराई मैले सुरूमा माग गरेको कर्जा आफ्नो भतिजाको नाममा लिएका रहेछन् । सो कुरा मलाई पछि जानकारीमा आएपछि निज लक्ष्मीबहादुर श्रेष्ठलाई भेटी जिज्ञासा राख्दा मेरो नामबाट निकालिएको कर्जा आफैँ उपयोग गरेको र आफैँले तिर्छु भनी मलाई आस्वस्थ दिलाई निजका ज्वाई रामेश्वरप्रसाद श्रेष्ठको नामबाट NCC बैंकको पछिल्लो शाखाको मलाई चेकसमेत दिएका हुन् । उक्त कर्जा मैले लिएको होइन छैन । हाल निज लक्ष्मीबहादुर श्रेष्ठले मेरो नामबाट लिएको कर्जा चुक्तासमेत गरिसकेका छन् । जाहेरी व्यहोराअनुसार मलाई कुनै पनि कारबाही हुनुपर्ने होइन । मैले उक्त फाइनान्स लिमिटेडमा सेन्चुरी बैंकको सेयर खरिद गर्न भनेर रू.२ करोड ८ लाख माग गरी आवेदन गरेको हुँ । तर उक्त बैंकको सेयर खरिद गर्ने प्रक्रिया अघि नबढेपछि मबाट उक्त फाइनान्समा कर्जा लिने काम भएन । पछि मैले जानकारी पाउँ मेरो नाउँको कर्जा लक्ष्मीबहादुर श्रेष्ठले निजकै आफन्तहरूबाट उपयोग गरेको
देखियो । नेपाल बङ्गलादेश बैंकले मलाई कर्जा चुक्ताको लागि पटक-पटक गरेको ताकेताको सम्बन्धमा मेरो भनाइ यो छ कि उक्त पत्र प्राप्त हुन साथ आफूले कर्जा नलिएको र मेरो नाउँको कर्जा देखाई लक्ष्मीबहादुर श्रेष्ठले आफू आफ्ना नातेदार मिलेर उपयोग गरेको खुलासा भएपछि निज लक्ष्मीबहादुर श्रेष्ठले त्यस पछि मेरो नाउँको कर्जा चुक्ता पनि गरिसकेका छन् ।
यसरी मेरो नाउँमा फाइनान्स लिमिटेड हालको नेपाल बङ्गलादेश बैंक लिमिटेडको ऋण देखिए तापनि उक्त ऋण मैले लिएको होइन । सेयर खरिद गर्न भनी रकमको आवश्यकता परेकोले रू.२ करोड ८ लाख कर्जा ऋणको लागि तत्कालीन श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमा आवेदन गरी प्रक्रिया अगाडि बढाएको थिएँ । तर मैले खरिद गर्न खोजेको सेयरको खरिद प्रक्रिया अघि नबढेपछि मलाई ऋणको आवश्यकता परेन । ऋण भुक्तानी लिनुभन्दा अगाडिका सबै प्रक्रिया पूरा गरेको तर पछि उक्त रकम आवश्यक नपरेपछि रकम भुक्तानी लिन प्रक्रिया अगाडि नबढाएको अवस्थामा उक्त ऋण रकम के कति कारणले लक्ष्मीबहादुर श्रेष्ठले आफ्ना नातेदारका नाउँमा उपयोग गरेको जानकारी पाएपछि निज लक्ष्मीबहादुर श्रेष्ठलाई भेटी जानकारी लिँदा उक्त रकम आफैँले चलाएको र चाँडै भुक्तानी गरी दिने प्रतिबद्धतासहित आफ्नो ज्वाइँ रामेश्वर श्रेष्ठको नामबाट NCC बैंकको चेकसमेत उपलब्ध गराई उक्त ऋण चाँडोभन्दा चाँडो चुक्ता गरिदिने आश्वासन दिए । सोहीअनुसार केही रकम उहाँले उक्त ऋण खातामा जम्मा गरिदिए र बाँकी रकम उहाँको बङ्गलादेश बैंकको सेयर बिक्रीबाट आएको रकमबाट चुक्ता
गरिदिए । तसर्थ उक्त ऋण रकम मेरो नाउँमा देखिए तापनि मैले उपभोग नगरेको र सो कर्जा चुक्तासमेत भइसकेकोले मलाई सजाय हुनुपर्ने होइन । अभियोग दाबीबाट फुर्सद पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रकाश घिमिरेले पुनरावेदन अदालत, पाटनमा मिति २०७०/०९/३० मा गरेको बयान ।
तत्काल प्राप्त आधार प्रमाणबाट यी प्रतिवादीले आफ्नो नाउँमा स्वीकृत ऋण निजले प्रयोग गरेको पुष्टि नभए तापनि निजले ऋण माग गरेको र प्रतिज्ञापत्रमा सहीसमेत गरेको अवस्था र ऋण भाखा नाघ्दासम्म तत्काल ऋण चुक्ता नभएको अवस्थासमेतलाई विचार गर्दा थुनछेक प्रयोजनार्थ यी प्रतिवादीका हकमा मुलुकी ऐन, अ.बं.११८ को देहाय २ को अवस्था आकर्षित हुने देखिएन । तसर्थ पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी प्रकाश घिमिरेसँग मुलुकी ऐन, अ.बं.११८ को देहाय ५ र १० नं. बमोजिम रू.२,००,०००/- (दुई लाख रूपैयाँ) नगद वा सो बरावरको जेथा वा बैंक ग्यारेन्टी माग गर्नू भन्ने पुनरावेदन अदालत, पाटनबाट मिति २०७०/०९/३० मा भएको आदेश ।
यी निवेदक प्रतिवादीको उमेर ६४ वर्ष नाघिसकेको र निजलाई विभिन्न प्रकारको रोग लागी कारागारमार्फत् विभिन्न अस्पतालबाट समय समयमा उपचारसमेत गराइरहेको देखिएकोले निजको शारीरिक र स्वास्थ्य अवस्थासमेतलाई विचार गरी हाल निज प्रतिवादी श्रीरामप्रसाद लामिछानेलाई मुलुकी ऐन, अ.बं. ११८ को देहाय ७ बमोजिम थुनामा राख्न उपयुक्त नहुँदा अ.बं.४७ नं. बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू भन्ने यस अदालतको मिति २०७१/०२/१४ को आदेश ।
नेपाल राष्ट्र बैंकको पत्रसंख्या बै.सु.वि. / एन.बी., डेस्क/विविध/६/०७०/७१ मिति २०७०/०५/२६ को कर्जा ब्याज पूर्णरूपमा चुक्ता भइसकेको भनी लेखिएको पत्र मिसिल संलग्न रहेको र सोही पत्रलाई आधार मानी यिनै निवेदक सरहका प्रतिवादीहरू श्रीरामप्रसाद लामिछाने प्रतिवेदन नं.०७०-RE-०१५० र प्रतिवादी गौरीशङ्कर चौधरीको प्रतिवेदन नं.०७०-RE-०१०७ मा यस अदालतको क्रमशः मिति २०७१/०२/१४ र २०७१/०२/०७ को आदेशबाट साधारण तारेखमा रहेको देखिँदा सोसमेतका आधारमा समान स्तरको निवेदक रूबी जोशीको हकमा पनि त्यस अदालतबाट भएको मिति २०६९/०८/१८ र २०७०/०६/०७ को आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ । निजलाई मुलुकी ऐन, अ.बं.११८ नं.को देहाय ७ बमोजिम थुनामा राख्न उपयुक्त नहुँदा अ.बं.४७ नं. बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू भन्ने यस अदालतको मिति २०७१/०३/११ को आदेश ।
ऋणीको सामाजिक प्रतिष्ठा बैंक तथा वित्तीय संस्थासँग भएको पूर्व कारोबार वा अन्य कुनै कारणबाट बैंक वा वित्तीय संस्थाले पत्याएका व्यक्तिलाई कुनै धितो नलिकनै व्यक्तिगत जमानीका आधारबाट समेत कर्जा प्रवाह गर्न सक्ने र त्यस्तो परिपाटी बैंक तथा वित्तीय संस्थामा प्रचलनमा रहेको पनि पाइन्छ । कर्जा प्रवाह गर्ने साधिकार निकाय सञ्चालक समितिबाट कर्जा प्रवाह गर्ने निर्णय भएको पनि देखिन्छ । यस्तो स्थितिमा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशिकाको परिपालना नगरी त्यसबाट निर्धारण भएको सर्त र प्रक्रियाको उल्लङ्घन गरी कर्जा प्रवाह भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ एवं बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ बमोजिम नियमनकारी निकायबाट आवश्यक निर्देशनसहित सम्बन्धित बैंक एवं वित्तीय संस्थाका सञ्चालक र पदाधिकारीलाई जरीवाना गर्न सकिने व्यवस्था रहे भएको परिप्रेक्ष्यमा स्पष्टरूपमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को वर्खिलाप कसुर भएको पुष्टि नहुँदासम्म त्यस्तो निर्देशन उल्लङ्घनको विषयलाई बैंकिङकसुर कायम गरी सजाय गर्न मिल्ने देखिँदैन । प्रतिवादीहरूले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०७१/०७/२० को
फैसला ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशिकाको परिपालना नगरी त्यसबाट निर्धारण भएको सर्त र प्रक्रियाको उल्लङ्घन गरी कर्जा प्रवाह भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ एवं बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ बमोजिम नियमनकारी निकायबाट आवश्यक निर्देशनसहित जरीवाना गर्न सकिने विषय हो । तर प्रस्तुत वारदातमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ ले परिभाषित गरेको कसुर भएको पुष्टि हुने पर्याप्त आधार र कारण रहेका छन् ।यसैगरी मुद्दा दायर भएपश्चात मात्र बिगो तिरेको अवस्थामा कसुर गर्दाका बखतको गैरकानूनी कार्यको परिणामस्वरूप सजाय हुनुपर्नेमा बिगो तिरेको आधारमा कसुरबाट उन्मुक्ति पाउने होइन । तसर्थ अभियोग माग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्नेमा सफाइ दिने ठहरी भएको पुनरावेदन अदालत, पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनीले बैंकको सञ्चालक समितिका पदाधिकारीहरूको मिलोमतोमा गैरकानूनीरूपमा व्यक्तिगत लाभ लिने नियतले बिना धितो तथा व्यक्तिगत जमानीमा ऋण लिई दिई बैंकलाई हानी नोक्सानी पुर्याउने गरी खराब कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकबाट दुईवटा बैंकिङ संस्था गाभिने सहमति प्रदान भइसकेको अवस्थामा ऋण प्रवाह नगर्नू भनी स्पष्ट निर्देशनसमेत भएको देखिन्छ । यसरी प्रदान भएको नेपाल राष्ट्र बैंकको निर्देशन एवं प्रचलित बैंकिङ कानूनसमेतको बर्खिलाप कर्जा लिने दिने गरी बैंकिङ कसुरको वारदात भएकाले प्रतिवादीहरूलाई सजाय हुनुपर्नेमा सफाइ दिने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्छ भनी प्रस्तुत गर्नुभएको बहस जिकिर सुनियो ।
उल्लिखित बहस जिकिर एवं मिसिल संलग्न प्रमाण कागज अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनले गरेको फैसला मिलेको छ, छैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन
आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रस्तुत मुद्दा र लगाउका मुद्दाहरूमा आपसी मिलेमतोमा बैंकको कर्जा लगानी नीति तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाविपरीत नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेड एक अर्कामा गाभिने भनी नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति भइसकेपश्चात दुवै बैंक गाभिन लागेको अवस्थामा कमसल सेयर धितो राखिएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएको, प्रवाह गरिएको ऋण परियोजनामा प्रयोग नगरी संस्थापक समुहका व्यक्तिले प्रयोग गरेको, धितो नराखेको, कमसल धितो स्वीकार गरेको, सञ्चालक समितिकै सदस्य र नातागोताका व्यक्तिलाई ऋण प्रवाह भएको, भाखाभित्र ऋण फर्छ्यौट नभएको र बैंकको कालो सूचीमा परेका व्यक्तिलाई ऋण प्रवाह भएको आदि कार्यहरू बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत पर्ने हुँदा सो ऐनबमोजिम कारबाही गरिपाउँ भन्ने मुख्य अभियोग मागदाबी रहेको पाइन्छ । प्रस्तुत अभियोग मागदाबी अनुसारको कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुरूपको वारदात हो, होइन ? सोसम्बन्धमा विवेचना गर्नुपर्ने देखियो । प्रस्तुत मुद्दाका प्रतिवादीहरूलाई अभियोग दाबी लिएको उक्त बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७ को खण्ड (घ) र (च), दफा ८, दफा ९ को उपदफा (१) र (२) र दफा १४ को कसुरमा दफा १५(२) र (घ) बमोजिम सजायको मागदाबी लिएको देखियो । उल्लिखित अभियोग दाबी लिएका दफाहरूले परिभाषित गरेको बैंकिङ कसुर र प्रस्तुत मुद्दाको तथ्यगत अवस्था विश्लेषण गर्नुपर्ने देखियो । सर्वप्रथम अभियोग दाबी लिएको उल्लिखित कानूनको व्यवस्था के रहेछ भन्ने सम्बन्धमा हेर्दा निम्न व्यवस्था रहेको पाइन्छः
दफा ७ “अनधिकृतरूपमा कर्जा लिन वा दिन नहुने”
(घ) “आफूलाई प्राप्त भएको अख्तियारी वा स्वीकृत सिमाभन्दा बाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्न वा उपलब्ध गराउन,”
(च) “वास्तविकरूपमा व्यवसाय सञ्चालन गर्न सक्ने वित्तीय हैसियत नभएको वा आफूले अनुचित प्रभाव पार्न सक्ने व्यक्तिको नाममा संस्था संस्थापना गराई त्यस्तो संस्थामार्फत् कर्जा लिन वा त्यस्तो कुरा जानी जानी कर्जा दिन,”
दफा ८ “कर्जाको दुरूपयोग गर्ने नहुनेः- कसैले पनि बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरूपयोग गर्नु वा गराउनु हुँदैन”
दफा ९ “बैंकिङ स्रोत, साधन र सम्पत्तिको दुरूपयोग गर्न नहुनेः- (१) बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानूनबमोजिम वित्तीय स्वार्थ रहेको मानिने सेयर धनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, सल्लाहकार, मेनेजिङ एजेन्ट वा सम्बद्ध व्यक्ति वा संस्था वा त्यस्तो व्यक्तिका परिवारका सदस्य वा नजिकका नातेदारले बैंक वा वित्तीय संस्थाबाट कर्जा वा सुविधा लिई वा अन्य कुनै तरिकाले बैंक वा वित्तीय संस्थाको स्रोत र साधनको दुरूपयोग गर्नु हुँदैन ।”
दफा १४ “अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन नहुनेः- बैंक वा वित्तीय संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले कसैले पनि कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा नगर्न, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानूनी लाभ वा हानि पुर्याउने बदनियतले कुनै कार्य गर्न वा गराउन हुँदैन ।”
३. उपर्युक्तानुसारको कानूनी व्यवस्था विपरीतको कार्य गरेकोले सोबमोजिमको कसुरमा सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको प्रस्तुत मुद्दाको तथ्य के रहेछ? सोसम्बन्धमा विश्लेषण गर्नुपर्ने देखियो । साबिक नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड नेपाल बङ्गलादेश बैंक लिमिटेडसँग गाभ्ने गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति मिति २०६७/०८/१७ गते एवं अन्तिम स्वीकृति मिति २०६७/०९/१८ गते दिइसकेपछि पनि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा १०(१), नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका, २०६७ को निर्देशन नं.६ को बुँदा ६(ख) विपरीत हुने गरी संस्थापक समुह (एन.बी. समूह) सँग सम्बद्ध बैंक, संस्था एवं कम्पनीको संस्थापक सेयरको धितोमा ऋणी राइजिङ हाउजिङ एण्ड कमर्सियल कम्प्लेक्स, नबिन श्रेष्ठ, विजयकुमार श्रेष्ठ र शैलेन्द्रकुमार श्रेष्ठको कर्जाको प्रयोजनसमेत स्पष्ट उल्लेख नभएको र अन्य बैंक तथा वित्तीय संस्थामा ठूलो परिणाममा भाखा नाघेको कर्जा बक्यौता हुँदा हुँदै बिना पुष्ट्याई व्यक्तिगत जमानीबाहेक कुनै धितोसमेत नलिई माग गरेभन्दा बढी हुने गरी ऋणी चण्डीराज ढकाल, प्रकाश घिमिरेलाई बदनियतपूर्ण तरिकाले कर्जा प्रदान गरी उक्त कर्जाहरूको हालसम्म कुनै सावाँ ब्याज तिरेका छैनन् । साथै उपर्युक्त व्यक्ति तथा संस्थालाई अनुचित फाइदा पुग्ने र वित्तीय संस्थालाई प्रत्यक्ष हानि नोक्सानी पुर्याएको पाइएकोले उक्त कर्जा प्रवाह गर्ने निर्णयमा संलग्न साबिक श्रीलङ्का मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडका सञ्चालकहरू रूबी जोशीसमेतलाई कारबाहीको लागि अनुरोध भन्ने नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागको पत्रअनुसार कारबाही प्रारम्भ भएको पाइयो ।
४. यसरी नेपाल राष्ट्र बैंकबाट उल्लिखित संस्था गाभिने सम्बन्धमा सैद्धान्तिक एवं अन्तिम स्वीकृति दिइसकेपछि वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा १०(१) र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०६७ विपरीत हुने गरी कर्जा प्रवाह भएको सम्बन्धमा अनुसन्धान गरी अभियोजन प्रस्तुत गरेको पाइयो । उपर्युक्तानुसारको कारबाहीको प्रारम्भ हेर्दा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को विपरीत कार्य भएकाले कारबाहीको प्रारम्भ भएको देखिँदैन भने अभियोग लगाएको कानूनी व्यवस्था फरक रहेको पाइयो । यसरी अभियोजक पक्षबाट अभियोजन लगाइएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को कानूनी व्यवस्था र प्रस्तुत मुद्दाको तथ्यगत अवस्थामा तारतम्यता रहेको देखिँदैन । बैंकिङ कसुर जस्तो गम्भीर प्रकृतिको कसुर स्थापित हुन सोबमोजिमको कार्यकारण घटित भएको कुरा वस्तुनिष्ठरूपमा वादी पक्षले प्रमाणित गर्नुपर्ने हुन्छ । तर नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६४ को बर्खिलाप गरे भएको कार्यहरू बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुरूपको कार्य मान्न सकिने अवस्था भएन । जुन कानून उल्लङ्घन गरेको हो, सोबमोजिम सजायको मागदाबी प्रस्तुत गर्नुपर्नेमा असम्बद्ध कानूनको समुच्चा दफाहरू विपरीतको कसुर भनी अस्पष्ट र असान्दर्भिक दाबी लिएको पाइयो । दाबी लिएका कानूनी दफाहरू के कसरी उल्लङ्घन गरिए भन्ने तथ्य पनि स्पष्टरूपमा प्रमाणित गर्न सकेको छैन । साथै प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार पनि कसुर प्रमाणित गर्ने भार वादीको हुने हुँदा प्रस्तुत मुद्दामा अभियोग लगाइएको कसुर वादीबाट वस्तुपरक एवं विश्वासिलो ढङ्गले प्रमाणित गर्न सकेको पनि देखिँदैन ।
५. नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०६७ विपरीतको कसुरमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ आकर्षित हुने अवस्थासमेत
देखिँदैन । बैंकिङ संस्थालाई अनुशासित र मर्यादित बनाउन जारी हुने निर्देशनले कानूनको रूप ग्रहण गर्न सक्ने पनि देखिँदैन । यसरी जारी भएको निर्देशनको अवज्ञा गर्ने व्यक्ति वा संस्थालाई गरिने कारबाहीको प्रकृति र स्वरूप पनि फरक हुने हुन्छ । निर्देशिकाले आफैँमा कानूनको रूप धारण गर्न नसक्ने हुँदा सो निर्देशनविपरीतको कार्य कानूनी कसुरजन्य कार्य पनि हुन सक्दैन ।
६. उल्लिखित नेपाल बङ्गलादेश बैंक लिमिटेड र नेपाल श्रीलङ्का मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका मेजर सेयरहरू एउटै ग्रुप अर्थात् एन.बी. ग्रुपको भएकोले मर्ज गर्ने प्रस्ताव पेस भई सोका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको तथ्य मिसिलबाट प्रस्ट भएको पाइन्छ । यसरी दुवै संस्थाहरू मर्ज भएपछि बैंकको चुक्ता पुँजी वृद्धि भई आर्थिक अवस्था सुदृढ हुनुका साथै वित्तीय गतिविधिमा समेत बढोत्तरी हुने असल नियतका साथ उक्त संस्थाहरू मर्ज भएको पाइन्छ । साथै दुवै संस्थामा एन.बी. ग्रुपको मेजर सेयरहरू भएको र एउटै ग्रुपबाट दुईवटा संस्था सञ्चालन हुनुभन्दा एउटै संस्था सञ्चालन हुनु उपयुक्त देखिई राष्ट्र बैंकबाट मर्जसम्बन्धी स्वीकृतिसमेत प्राप्त भएको देखिन्छ । यसरी मर्ज हुनेसम्बन्धी सम्झौता (MOU) मा पनि उपर्युक्तानुसारको स्वीकृति प्राप्त भएपछि ऋण प्रवाह नगर्ने सम्बन्धमा कुनै सहमति भएको पनि देखिँदैन । साथै गाभिने सहमति भएपछि कर्जा प्रवाह गर्न नमिल्ने गरी कुनै कानूनले रोक लगाएको पनि पाइँदैन । मर्ज भएपछि आफ्नोसमेत स्वामित्त्व रहने नेपाल बङ्गलादेश बैंकलाई नोक्सानी पुर्याउने उद्देश्यले कर्जा प्रवाह भएको पनि देखिँदैन । साथै उक्त कर्जाको असुलीका सम्बन्धमा नियमानुसार कारबाहीको प्रक्रियामा जानुपर्नेमा उक्त कार्य बैंकिङ कसुरअन्तर्गत पर्ने भनी गम्भीर कसुर कायम गरी सजायका लागि मागदाबी गरेको कुरा न्यायोचितसमेत देखिँदैन ।
७. साथै कर्जा प्रवाह हुँदा राखिएको संस्थापक सेयरको मूल्याङ्कन भएको छ भने राखिएको धितोले कर्जा खाम्ने अवस्था पनि देखिएको छ । अर्कोतर्फ व्यक्तिगत जमानीमा कर्जा प्रवाह गर्न नसकिने अवस्था पनि छैन । नेप्सेले निर्धारण गरेको मूल्यमा राष्ट्र बैंकको निर्देशनको अनुपातमा मार्जिन कटाएको पनि
देखिन्छ । कर्जा प्रवाह गर्ने साधिकार निकाय सञ्चालक समितिबाट कर्जा प्रवाह गर्ने निर्णय भएको पनि
देखिन्छ । ऋणी चण्डीराज ढकालको व्यक्तिगत जमानीमा ऋणी प्रकाश घिमिरेलाई रू.२,०८,००,०००/- कर्जा प्रवाह भएकोमा सो कर्जा चुक्ता भइसकेको र उक्त कर्जा प्रवाह गर्दा सो कर्जा प्रवाहको प्रक्रियामा संलग्न भएका बैंकका कर्मचारी, सञ्चालक समितिका सदस्य एवं ऋणीका बीचमा मिलोमतो भई गैरकानूनी लाभ लिनुदिनुभएको थियो भन्ने कुराको अभियोजन पक्षबाट तथ्ययुक्त किसिमबाट पुष्टि गर्नसकेको समेत पाइँदैन । नेपाल राष्ट्र बैंक, बैंक सुपरीवेक्षण विभागको बैं.सु.वि./एन.बी.डेस्क/ विविध/०७०/०७१ मिति २०७१/०३/०३ को पत्र तथा नेपाल बङ्गलादेश बैंक लिमिटेडको NB: HO: CEO’s Office/01/97/070/71 मिति २०७१/०२/२७ को पत्रबाट कर्जा चुक्ता भइसकेको देखिन्छ । यस्तो अवस्थामा चुक्ता भइसकेको कर्जाको विषयलाई आधार बनाएर बैंकिङ कसुर कायम गर्न मिल्ने देखिँदैन ।
८. तसर्थ, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाले निर्देश गरेको कार्य उल्लंघन गर्दा बैंकिङ कसुर गरेको नमानिने अवस्थामा प्रवाह भएको कर्जा चुक्ता भइसकेको र अभियोग दाबीबमोजिम प्रतिवादीहरू उपरको कसुर प्रमाणित हुन नसकेकोले प्रतिवादीहरूलाई सफाइ दिने ठहर्याई पुनरावेदन अदालत, पाटनबाट मिति २०७१/०७/२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.जगदीश शर्मा पौडेल
इजलास अधिकृत : इन्द्रबहादुर कठायत
इति संवत् २०७२ साल चैत ३० गते रोज ३ शुभम् ।