शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६१६ - अपुताली हक कायम

भाग: ५८ साल: २०७३ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री दीपकराज जोशी

फैसला मिति : २०७२।१२।२३।३

०६९-CI-१२८७

 

मुद्दा : अपुताली हक कायम

 

पुनरावेदक / वादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने इन्द्रकुमारी देवी चौधरीको अनुमति प्राप्त हरेन्द्रकुमार चौधरी

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने नारायणप्रसाद थारू

अपुताली हक अपुतालीको २ नं. अनुसार सृजित हक हो र यस्तो हक उक्त नं. मा भएको हकवाला क्रमअनुसार यो यसले प्राप्त गर्ने नगर्ने भनी निर्णय गर्नुपर्ने हुन्छ । अंश हक सगोलका अंशियाराहरूलाई प्राप्त हुने हक भएकाले मुलुकी ऐन, अंश बन्डाको १ नं. अनुसारका अंशियारहरूमा जीयजीयको अंश लाग्ने नलाग्ने भनी अदालतले फैसला निर्णय गर्नुपर्ने हुन्छ । कानूनले अपुताली हक खाने हकवाला र अंश पाउने सगोलका अंशियारामा भिन्नभिन्न कानूनी व्यवस्था गरेको हुँदा अंशियार नै नरहेको व्यक्तिले अपुताली हक प्राप्त गर्न सक्दैन भन्न 

मिल्दैन । संयुक्त नामसारी दर्ताको सम्पत्तिमा दर्तावालाहरूको बराबर हक हुन्छ । दुई जना मात्र हकवाला भई दुवैका संयुक्त नाउँमा दर्ता भएको सम्पत्तिका जग्गाहरूमा दुवै जनाको बराबर हक रहेको हुन्छ । यस्तो संयुक्त हकको सम्पत्तिमा आपसी व्यवहार सजिलो पार्नका लागि एकले अर्कोसँग मुद्दा गरी वा आपसी सहमतिमा आ-आफ्नो भाग छुट्याउन सक्ने भए पनि छुट्याउनै पर्ने भनी बाध्यात्मक अवस्था भने कानूनले गरेको नपाइने । 

(प्रकरण नं.३)

आफैँबाट जन्मिएको सन्तान उसको सबैभन्दा नजिकको हकवाला हुन्छ र त्यस्तो जन्मेको छोरी रहिछे भने सौतेनी छोरीको तुलनामा आफ्नै छोरी नजिकको हकवाला हुन्छ, छोरी विवाहिता हुनु वा नहुनुबाट कुनै असर पर्दैन । एकै उदरका छोराछोरी वा विवाह भएको छोरी र कन्या छोरी भएमा मात्र तीबीच अपुताली पाउने क्रममा असर पर्ने हुन सक्छ । प्रस्तुत मुद्दाको तथ्यमा फरक उदरबाट जन्मेका छोरा र आफैँबाट जन्मेकी छोरी भएको हुँदा आमाको अपुताली छोरीले पाउने स्थिति रहेको देखिने । 

(प्रकरण नं.५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंह

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

ने.का.प. २०५३, अङ्क ९, नि.नं.६२६२, पृ.६९७

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या.श्री शेखरचन्द्र अर्याल

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री जगदीश शर्मा पौडेल

मा.न्या.श्री बलराम विष्ट

 

फैसला

न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम पुनरावेदन अदालत, बुटवलबाट मिति २०६८।२।१७ मा भएको फैसला दोहर्‍याई हेरिपाउँ भनी वादीका तर्फबाट यस अदालतमा निवेदन दर्ता भई यस अदालतको मिति २०७०।२।३१ को आदेशले निस्सा प्रदान भई पुनरावेदनमा परिणत भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :

स्व. बुद्धिराम थारूको छोरा स्व. शङ्कर थारू हुन् । शङ्कर थारूको दुई श्रीमतीमध्ये जेठी सोनियादेवी थारू र कान्छी सगुनी थारू हुन् । जेठी सोनियाबाट जन्मेका छोरा विपक्षी नारायणप्रसाद थारू हुन् । कान्छी सगुनी थारूबाट जन्मेको एक मात्र छोरी इन्द्रकुमारी 

हुन् । इन्द्रकुमारीको २०४२ सालमा तेजनारायण थारूसँग विवाह भएको थियो । शङ्कर थारूको नाउँमा दर्ता रहेको जग्गा निज शङ्कर थारूको मृत्युपश्चात् मिति २०५५।११।६ गतेको निर्णयअनुसार सगुनी थारू र नारायणप्रसाद थारूको संयुक्त नाउँमा दर्ता रहेको थियो । सगुनी थरूनीको मिति २०६३।९।१३ गते मृत्यु भएपश्चात् निज सगुनीको अपुताली हक इन्द्रकुमारीको नाममा नामसारी गरी दिन प्रतिवादीले इन्कार गरेको हुँदा सोही चोट पीडाका कारण आमा इन्द्रकुमारी मिति २०६३।१२।४ देखि बेपत्ता हुनुभयो । अतः विपक्षी नारायणप्रसाद थारू र सगुनीदेवी थरूनीको नाउँमा संयुक्त दर्ता रहेको जग्गामध्ये सगुनी देवी थरूनीको हक जति अपुतालीको २ नं. बमोजिम आमा इन्द्रकुमारी थरूनीको अपुताली हक कायम गरिपाउँ भन्नेसमेत अनुमति प्राप्त हरेन्द्रकुमार चौधरीको फिराद दाबी । 

विपक्षीले देखाएको नाता एवं पुस्तावलीमा कुनै विवाद छैन । विपक्षीको आमा इन्द्रकुमारी थरूनी हुन् । सगुनी थरूनी विवाह भइसकेको छोरी हुन् । बाबु शङ्कर थारूको मृत्युपछि निजको नाउँमा दर्ता रहेको जग्गा म नारायणप्रसाद थारू र सगुनी देवीका नाउँमा संयुक्त दर्ता भए पनि हामीबीच रितपूर्वकको अंशबन्डा भएको छैन । स्व. सगुनी देवीले अंशबन्डा गराई आफ्नो अंश हक नछुट्याई हामी एकासगोलमा रहेकै अवस्थामा निज सगुनी देवीको मृत्यु भएको हो । निजको मृत्युपश्चात् निजको भाग सम्पत्ति पनि एकासगोलको हकवालाको हैसियतले म प्रतिवादीको हुने भएको हुँदा मेरो नाउँमा एकलौटी दर्तासमेत गराएको छु । सगुनी देवीको मृत्युपश्चात् विपक्षीहरूले सगुनी देवीको लागि गर्नुपर्ने कुनै कर्तव्य तथा कानूनी दायित्वसमेत पूरा गरेका 

हैनन् । वादी इन्द्रकुमारी सगुनी देवीको विवाह भइसकेको छोरी भई निज अपुतालीको महलअन्तर्गतको अपुताली पाउने हकवालासमेत नभएको हुँदा वादीको फिराद दाबी अ.बं.८२ नं. समेतको आधारमा खारेज गरी फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी नारायणप्रसाद थारूको प्रतिउत्तर पत्र । 

वादीका साक्षी ध्रुप नारायण पंजियार र प्रतिवादीका साक्षी देवीप्रसाद पंजियारको बकपत्र भई मिसिल सामेल रहेको र यसै लगाउका निर्णय बदर तथा जालसाजीसमेतका मुद्दाहरू साथै पेस भएका रहेछ । 

अपुतालीको २ नं. मा आफ्नै कोखबाट जन्मिएको छोरा नभए विवाहित छोरीले अपुताली पाउँछ भन्ने कानूनी व्यवस्था नदेखिएको र छोरा भन्ने शब्दले सौतने छोरा र धर्म पुत्रलाई पनि मान्नुपर्छ भनी ने.का.प. २०५६ पृष्ठ ४८९ नि.नं.६७४७ र ने.का.प. २०६५ नि.नं.७९६७ पृष्ठ ६१३ मा सिद्धान्त प्रतिपादन भएको देखिन्छ । मृतक सगुनी देवी र प्रतिवादी नारायणप्रसाद थारूबीच अंशबन्डा भएको अवस्था नरहेबाट समेत सगोलमै रहेको अवस्था हुँदा निजको अपुताली पाउँ भन्ने वादी दाबी नपुग्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६७।२।९ को फैसला । 

अपुतालीको २ नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी छोराको छोरो वा निजको अविवाहित छोरी भएसम्म अरूले अपुताली पाउँदैन भनी उल्लेख भएबाट निजको लोग्ने र निजको गर्भबाट छोरा नजन्मेको अवस्थामा निजको अपुताली विवाहित छोरीले पाउने भन्ने नै हो । प्रतिवादीले आफू सगुनीको गर्भबाट जन्मेको भन्न सकेको छैन । ने.का.प. २०६५ नि.नं.७९६७ पेज ६१३ को मुद्दामा अंश र अपुताली दुई अलगअलग कुरा हुन्, अंशलाई अपुतालीको माध्यमबाट प्राप्त गर्न सकिँदैन भनी फैसला भएको छ । सगुनीको अपुताली निजले जन्म दिएकी छोरी आमा इन्द्रकुमारीले पाउने र मुख नमिलेको कुरामा अ.बं.१८४क तथा १८५ नं. बमोजिम प्रमाण बुझी निरूपण गर्नुपर्नेमा सो नगरी वादी दाबी नपुग्ने भनी सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भन्नेसमेत वादीले पुनरावेदन अदालतमा लिएको पुनरावेदन जिकिर । 

२०६३ सालको दे.पु.नं.१०६७ को अपुताली मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तबमोजिम अपुताली प्राप्त गर्न जो मरी अपुताली परेको हो सो व्यक्तिको नाउँमा सम्पत्ति नै हुनुपर्छ वा निज छुट्टी भिन्न भएको हुनुपर्छ भन्ने नभई सम्पत्तिमा प्रकट मात्र होइन, अन्तर्भूत अधिकार रहने हुन्छ । प्रस्तुत मुद्दामा पुनरावेदक हरेन्द्र, आमा सगुनीको छोरी इन्द्रकुमारी र बाबु तेजनारायणको छोरा रहेकोमा विवाद देखिँदैन । शङ्करको दुई पत्नी सोनिया र सगुनी रहेको भन्ने कुरा २०५५।११।६ को नामसारीबाट स्पष्ट रहेको छ । सोनियाबाट जन्मिएको छोरा नारायणप्रसाद थारू र सगुनीबाट जन्मिएको छोरी इन्द्रकुमारीको हकमा पुनरावेदक हरेन्द्र कुमारले अपुतालीको २ नं. ले निजको आमाको अपुताली हक हुनेसमेतका अवस्थातर्फ सुरूले केही विवेचना नगरी सगुनीको सम्पत्तिसमेतमा नारायणप्रसाद थारू सौतेनी छोराको अपुताली हुने भनी ठहर गरेको सुरू फैसला सोही आधारमा नमिली फरक पर्न सक्ने हुँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६७।९।२१ को आदेश । 

यसै लगाउको यिनै वादी र नारायणप्रसाद थारू प्रतिवादी भएको ०६७-DP-०१३८ को निर्णय बदर र दु.फौ.नं. ००३८ को जालसाजी मुद्दा मिसिल साथै रहेको पाइयो । 

वादी इन्द्रकुमारीको आमा सगुनी र निजको सौतने छोरा प्रतिवादी नारायणप्रसाद थारूबीच अंशबन्डा भइसकेको र अंश नै कायम भई नसकेको अवस्थामा विवाहित छोरीले अपुताली पाउँछ भन्न मिल्ने अवस्था पनि देखिन नआएबाट एकै उदरबाट जन्मेको छोरा नहुँदा सौतने छोराले अपुताली नपाउने भन्ने पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । यसै गरी आमाको हक कायम भई नसकेको स्थितिमा पुनरावेदकले दाबी गरेको स्थितिको विद्यमानता भए पनि निजले सुरू अदालतमा अ.बं.८३ नं. को सुविधा लिई फिराद दायर गरी आएबाट निजको हकमा समेत प्रस्तुत मुद्दाबाट बोल्न मिल्ने अवस्थासमेत नहुँदा वादी दाबी नपुग्ने ठहराई भएको सुरू नवलपरासी जिल्ला अदालतको मिति २०६७।२।९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, बुटवलबाट मिति २०६८।२।१७ मा भएको फैसला । 

स्व. शङ्कर थारूको दुई श्रीमतीमा जेठी सोनिया देवी र कान्छी सगुनी थारू हुन् । जेठीतर्फबाट प्रतिवादी नारायणप्रसाद थारू र कान्छीतर्फबाट एक मात्र छोरी म वादी इन्द्रकुमारी थारूको जन्म भएकोमा विवाद छैन । शङ्कर थारूको शेषपछि निजको नामको सम्पत्ति नारायणप्रसाद थारू र सगुनी थारूको नाममा मिति २०५५।११।६ मा नामसारी भई संयुक्तरूपमा भोग गरी आएका थिए । आमा सगुनी थारूको मिति २०६३।९।१३ मा मृत्यु भयो। मुलुकी ऐन, अपुतालीको २ नं. ले मर्नेको लोग्ने, छोरा, अविवाहित छोरी कोही नभए विवाहित छोरीले अपुताली पाउने क्रम निर्धारण गरेको छ । मर्ने सगुनीको लोग्ने, छोरा र अविवाहित छोरी नभएकोले म विवाहित छोरी इन्द्रकुमारीले पाउने हो । यस्तो कानूनी व्यवस्था र यसै अदालतबाट वादी धनकुमारी सारू प्रतिवादी सूर्यबहादुर थापा भएको अपुताली हक कायम मुद्दामा फैसला भई ने.का.प.२०५३ नि.नं.६२६२ पृ.६९७ मा प्रकाशित सिद्धान्त प्रतिकूल सौतेनी छोरा प्रत्यर्थी नारायणप्रसाद थारूले अपुताली पाउने गरी पुनरावेदन अदालत, बुटवलसमेतबाट भएको फैसला मुलुकी ऐन, अपुतालीको १, २ र ३ नं. विपरीत हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहर्‍याई हेरी पाउँ भनी वादीको हकमा अनुमति प्राप्त हरेन्द्रकुमार चौधरीको यस अदालतमा परेको निवेदन पत्र । 

यसमा सुरू रेकर्ड र प्रमाण मिसिल सम्बन्धित अदालतबाट झिकाई पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।१।१२ को आदेश । 

यसमा वादी इन्द्रकुमारीको आमा सगुनी र निजको सौताने छोरा प्रतिवादी नारायणप्रसाद थारूबीच अंशबन्डा भई नसकेको र अंश नै कायम भई नसकेको अवस्थामा विवाहित छोरीले अपुताली पाउँछ भन्न नमिल्ने भन्नेसमेतको आधार ग्रहण गरी वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, बुटवलबाट मिति २०६८।२।१७ मा फैसला भएको देखिन्छ । अपुताली हक कायमका लागि जिकिर लिइएको जग्गा वादीको आमा सगुनी र प्रतिवादीका नाममा संयुक्त दर्ता रहेकोमा विवाद नरहेको अवस्थामा निज सगुनीको मृत्युपछि निजका नामको सम्पत्तिमा हकवालाले दाबी गर्न सक्ने मुलुकी ऐन, अपुतालीको २ नं. को कानूनी व्यवस्थासमेतका परिप्रेक्ष्यमा हकवाला को हुने भन्नेतर्फ विद्यमान कानूनी व्यवस्थाको पर्याप्त विवेचना नै नगरी वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत, बुटवलको मिति २०६८।२।१७ को फैसलामा मुलुकी ऐन, अपुतालीको १ र २ नं. तथा यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्त 

(ने.का.प. २०६४, नि.नं.७८५८ पृष्ठ ७५०) समेतको त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१), (क) र (ख) अनुसार मुद्दा दोहर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । प्रस्तुत निवेदनलाई पुनरावेदनको लगतमा दर्ता गरी विपक्षीहरू समेत झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।२।३१ को आदेश । 

नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी पेस भएको प्रस्तुत पुनरावेदन संलग्न लगाउमा रही पेस भएका ०६९-CI-१२८८ को निर्णय बदर एवं जालसाजी मुद्दासमेतका पुनरावेदनहरू तथा अन्य प्रमाण मिसिलसमेत अध्ययन गरी पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री मिथिलेशकुमार सिंहले स्व शङ्कर थारूको नामको सम्पत्ति हक खाने निजकी कान्छी श्रीमती वादीको आमा सगुनी देवी र जेठी सोनिया देवीतर्फका एक मात्र छोरा प्रत्यर्थी नारायणप्रसाद थारूका नाममा नामसारी भएको तथ्यमा विवाद छैन । वादीको आमा सगुनी देवीको मृत्युपछि निजको पति र एका उदरबाट जन्मेका अन्य सन्तान एवं हकवाला नभएको हुँदा मुलुकी ऐन, अपुतालीको २ नं. कानूनअनुसार मृतकको भाग अपुताली एक मात्र विवाहित छोरी वादीलाई दिलाई दिनु पर्नेमा संयुक्त दर्तावालामध्येको सौतेनी छोरो प्रत्यर्थी नारायणप्रसाद थारूले पाउने गरी सुरू एवं पुनरावेदन अदालतसमेतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

आमा सगुनी देवीको एका उदरबाट जन्मेको छोरा र अविवाहित छोरीसमेतका अन्य हकदार कोही नरहेका हुँदा निजसमेतको संयुक्त नाममा दर्ता रहेका सम्पत्तिबाट अपुतालीको २ नं. अनुसार निज आमाको भागसम्म अपुताली हक कायम गरिपाउँ भनी वादीले फिरादमा दाबी लिएको पाइन्छ । वादीको विवाह भइसकेको कारण निजको अंश हक समाप्त भएको र पहिले नै मर्नेको अंश यकिन नभएको समेतबाट वादी दाबीबमोजिम अपुताली हक कायम हुनुपर्ने होइन भनी प्रतिवादीले प्रतिउत्तरमा जिकिर लिएको देखिन्छ । वादी दाबी नपुग्ने भनी जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालतसमेतबाट सदर हुने गरी फैसला भएउपर मुलुकी ऐन, अपुतालीको महलको २ नं. को कानूनी त्रुटि गरी एका उदरबाट जन्मेको छोरी हुँदाहुँदै सौतेनी छोराले अपुताली पाउने गरी भएको पुनरावेदन अदालतको फैसला दोहर्‍याई हेरिपाउँ भनी वादीका तर्फबाट निवेदन दर्ता भएकोमा यस अदालतको मिति २०७०।२।३१ को आदेशले निस्सा प्रदान भई पुनरावेदन परिणत हुन गई निणयार्थ पेस भएको देखियो । 

पुनरावेदक तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताको बहस एवं पुनरावेदन जिकिरलाई दृष्टिगत गरी पुनरावेदन अदालत, बुटवलबाट अपुताली हक कायम गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने गरी भएको फैसला मिलेको छ, छैन र पुनरावेदन जिकिरबमोजिम अपुताली हक कायम हुने हो, होइन भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो । 

२. यसमा निर्णयतर्फ विचार गर्दा नवलपरासी रूपैलिया गा.वि.स. वडा नं.४क कि.नं.२८, ४२ ऐ. ४ख कि.नं.३०, ७७, ८९, ३४९, ५४१, १५२, २३६ ऐ. ४ग १, ४३, ४८ समेतका बाह्र कित्ता जग्गा जग्गा दर्तावाला शङ्कर प्रसादको शेषपछि हक खाने सबभन्दा नजिकको हकवाला पत्नी / छोरा सगुनी थरूनी र नारायणप्रसाद थारूका नाउँमा संयुक्त नामसारी गरी दिने गरी मालपोत कार्यालय, नवलपरासीबाट मिति ०५५।११।६ मा निर्णय भएको देखिन्छ । संयुक्त दर्तावालामध्येकी वादीको आमा सगुनी थरूनीको मिति २०६३।९।२३ मा मृत्यु भएपछि प्रतिवादी नारायणप्रसाद थारूको निवेदन मागबमोजिम उक्त कित्ता जग्गाहरूको मृतक सगुनी देवीको हक पनि निजको नामबाट नारायणप्रसाद थारूका नाममा मालपोत कार्यालय, नवलपरासीको मिति २०६५।५।२ को निर्णयले नामसारी भएको देखिन आउँछ । पुनरावेदक वादीको आमा मृतक सगुनी देवी शङ्करप्रसाद थारूको कान्छी श्रीमती र प्रतिवादी नारायणप्रसाद जेठी श्रीमती सोनियादेवीको एक मात्र छोरा रहेको देखिन्छ । मूल पुरूष शङ्कर थारूको मृत्युपश्चात् निजको हक खाने नजिकको हकवाला यी दुई जना मात्र रहेको भनी निजहरू दुवै जनाको संयुक्त नाममा जग्गाहरू नामसारी भएको देखिन्छ । यहाँ मृतक शङ्करप्रसाद थारूको हक खाने हकवाला यी दुई जनाबाहेक अन्य कोही पनि रहेको स्थिति छैन । 

३. अपुताली हक अपुतालीको २ नं. अनुसार सृजित हक हो र यस्तो हक उक्त नं. मा भएको हकवाला क्रमअनुसार यो यसले प्राप्त गर्ने नगर्ने भनी निर्णय गर्नुपर्ने हुन्छ । अंश हक सगोलका अंशियाराहरूलाई प्राप्त हुने हक भएकाले मुलुकी ऐन, अंशबन्डाको १ नं. अनुसारका अंशियारहरूमा जीयजीयको अंश लाग्ने नलाग्ने भनी अदालतले फैसला निर्णय गर्नुपर्ने हुन्छ । कानूनले अपुताली हक खाने हकवाला र अंश पाउने सगोलका अंशियारामा भिन्नभिन्न कानूनी व्यवस्था गरेको हुँदा अंशियार नै नरहेको व्यक्तिले अपुताली हक प्राप्त गर्न सक्दैन भन्न मिल्दैन । संयुक्त नामसारी दर्ताको सम्पत्तिमा दर्तावालाहरूको बराबर हक हुन्छ । दुई जनामात्र हकवाला भई दुवैका संयुक्त नाउँमा दर्ता भएको सम्पत्तिका जग्गाहरूमा दुवै जनाको बराबर हक रहेको हुन्छ । यस्तो संयुक्त हकको सम्पत्तिमा आपसी व्यवहार सजिलो पार्नका लागिबाहेक हक नै स्थापित गराउन एकले अर्कोसँग अंश मुद्दा गरी वा आपसी सहमतिमा आ-आफ्नो भाग छुट्याउन सक्ने भए पनि छुट्याउनु पर्ने भनी बाध्यात्मक अवस्था भन्ने कानूनले गरेको पाइँदैन । 

४. मुलुकी ऐन, अपुतालीको महलको २ नं. मा अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी, छोराको छोरा वा अविवाहित छोरी भएसम्म अरूले अपुताली पाउँदैन । मर्नेको छोरा नभई विधवा बुहारी भएमा निजले छोरासरह अपुताली 

पाउँछे । त्यस्ता कोही नभएमा विवाहित छोरी, विवाहित छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरी र निजहरू पनि नभए त्यस्तो अपुताली ऐनबमोजिमको हकवालाले पाउँछन् भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । उक्त नं. मा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहित छोरी भन्ने शब्द राखी मर्ने व्यक्तिका हकवालाको प्राथमिकता निर्धारण गरेको पाइन्छ । यसबाट मर्नेको अपुताली कसले पाउने भनी अर्थ गर्दा मर्नेको लोग्ने, स्वास्नी त्यसपछि निज छोरामा त्यस्तो छोरो सन्तान नभए अविवाहित छोरीमा, सो पनि नभए बिधवा बुहारी र निज पनि नभएमा मर्नेको विवाहित छोरीले अपुताली हक पाउने गरी अपुतालीको प्राप्तकर्ताको क्रम तोकिदिएको देखिन्छ । 

५. प्रस्तुत विवादमा मर्नेको लोग्ने शंकर थारूको मृत्यु भइसकेको र निजको सौता सोनिया देवीतर्फबाट नारायणप्रसाद छोरा भएको र आफ्नै उदरबाट एक छोरीको जायजन्म भएको देखिन्छ । अपुतालीको २ नं. ले अपुताली पाउने नजिकको नाताको क्रममा छोरापछि छोरी राखेको कारणबाट छोराको क्रम अगाडि हुन्छ भन्ने जिकिर रहेको पाइयो कानूनले छोरीभन्दा अघि छोरा राखेको हुँदा निश्चय पनि छोरीभन्दा छोराको अपुतालीमा हक अघि पारिएको देखियो । तर, छोरा र सौतेनी छोरामा केही अन्तर भने अवश्य हुन्छ । जो मरी अपुताली पर्ने हो, उसको नजिकको नाता भनेको उसैबाट जन्मेको उसकै रगतका छोरा र छोरीरहेसम्म अरू कुनै पनि नाता सोभन्दा नजिकको हुन सक्दैन । शङ्कर थारूको अपुताली परेको अवस्थामा नारायणप्रसाद र इन्द्रकुमारी नाताको हिसाबले बराबर भई नारायण प्रसादले अग्राधिकार पाउने अवस्था हुन सक्ने थियो । तर, यहाँ अपुताली सगुनी देवीको परेको अवस्था छ । सगुनी देवीको आफ्नै उदरबाट जन्मेको छोरी इन्द्रकुमारी देवी भएकाले सगुनीको नजिकको नाता भनेको सौतेनी छोरा नारायणप्रसाद भन्दा छोरी इन्द्रकुमारी देवी नै हुने हुन्छ । आफैँबाट जन्मिएको सन्तान उसको सबैभन्दा नजिकको हकवाला हुन्छ र त्यस्तो जन्मेको छोरी रहिछे भने सौतेनी छोरीको तुलनामा आफ्नै छोरी नजिकको हकवाला हुन्छ, छोरी विवाहिता हुनु वा नहुनुबाट कुनै असर पर्दैन । एकै उदरका छोराछोरी वा विवाह भएको छोरी र कन्या छोरी भएमा मात्र तीबीच अपुताली पाउने क्रममा असर पर्ने हुन सक्छ । प्रस्तुत मुद्दाको तथ्यमा फरक उदरबाट जन्मेका छोरा र आफैँबाट जन्मेकी छोरी भएको हुँदा आमाको अपुताली छोरीले पाउने स्थिति रहेको देखिन्छ । मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुताली पाउने क्रम छोराभन्दा टाढा रहने र अपुताली पर्दा जो मरी अपुताली परेको छ सोबाट क्रमको गणनामा गर्नुपर्ने भनी यस अदालतबाट मिति २०५३।७।२९ मा फैसला भई ने.का.प. २०५३ अङ्क ९ नि.नं.६२६२ पृष्ठ ६९७ मा सिद्धान्तसमेत प्रतिपादन भएको पाइन्छ । यसप्रकार मर्नेको आफ्नै उदरबाट जन्मेको वादी इन्द्रकुमारी देवी चौधरी हुँदाहुँदै अपुतालीको २ नं. अनुसार सौतेनी छोरा प्रतिवादीले मृतक सगुनी थरूनीको अपुताली पाउन सक्ने 

देखिएन । 

६. माथि उल्लिखित तथ्य र सम्बद्ध कानूनको विवेचना एवं यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट मृतक सगुनी थारूको एका उदरबाट जन्मेकी एक मात्र हकवाला छोरी पुनरावेदक वादी इन्द्रकुमारी देवी चौधरी हुँदाहुँदै निजको हकको हदसम्मको सम्पत्तिको अपुताली सौतेनी छोरा प्रत्यर्थी प्रतिवादी नारायणप्रसाद थारूले पाउन सक्ने देखिएन । यस स्थितिमा मृतकको नामको अपुताली प्रतिवादी नारायणप्रसाद थारूका नाममा कायम गरी दिएको सुरू एवं पुनरावेदन अदालत, बुटवलको फैसला कानूनी त्रुटिपूर्ण रही मिलेको देखिन आएन । 

७. तसर्थ, माथि उल्लिखित कानूनी तर्क आधार तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबाट मृतक सगुनी थरूनीको अपुताली हक कायम गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने गरी सुरू नवलपरासी जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई पुनरावेदन अदालत, बुटवलबाट मिति २०६८।२।१७ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई दाबीका जग्गामध्येबाट मृतक सगुनी थरूनीको हक जति आधा जग्गाको हदसम्म प्रत्यर्थी वादीको आमा इन्द्रकुमारी देवी चौधरीको अपुताली हक कायम हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर भएअनुसार सुरू नवलपरासी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६८।२।१७ को फैसला उल्टी भई देहायअनुसारको जग्गाहरूमध्येबाट आधा जग्गामा वादी इन्द्रकुमारी देवी चौधरीको अपुताली हक कायम भएकाले कानूनका म्यादभित्र जग्गा छुट्याई दर्तासमेत गरिपाउँ भनी वादीले दरखास्त दिएमा कानूनले लाग्ने अढाई दस्तुर दाखिला गराई नरमकरम मिलाई भाग छुट्टाई दर्ता नामसारीका लागि सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाइदिनू भनी सुरू नवलपरासी जिल्ला अदालतमा लेखी पठाउनू ..............................................१

 

 

 

 

 

 

 

 

 

 

 

 

 

माथि उल्लेख भएअनुसार पुनरावेदन अदालतको फैसला उल्टी भई वादीको दाबी पुग्ने ठहरी फैसला भएकाले वादीले सुरू अदालतमा राखेको कोर्ट फी रू.१४,९७५। – पुनरावेदन अदालतमा राखेको कोर्ट फी रू. २२३३।२५ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रू. २२२८।२५ समेत जम्मा रू.१९,४३६।५० फैसलाअनुसार वादीले प्रतिवादीबाट भरी पाउने हुँदा प्रतिवादी नारायणप्रसाद थारूको यसै सहदरको जेथा देखाई भराइ पाउँ भनी वादीले कानूनका म्यादभित्र दरखास्त दिए केही दस्तुर नलिई भराइदिनु भनी सुरू नवलपरासी जिल्ला अदालतमा लगत दिनू ..............................................................................................................................१

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ...................................................................१

 

उक्त रायमा सहमत छु । 

न्या.दीपकराज जोशी

 

इजलास अधिकृत : कपिलमणि गौतम

इति संवत् २०७२ साल चैत २३ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु