शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६२१ - जिउ मास्ने बेच्ने

भाग: ५८ साल: २०७३ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७२।१०।४।२

०६७-CR-०७२३

 

मुद्दाः जिउ मास्ने बेच्ने

 

पुनरावेदक / वादी : “ख” कुमारीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी इटहरी नगरपालिका वडा नं. ४ बस्ने प्रकाश ओझा

 

प्रतिवादीको अश्लील गतिशील दृश्य र चित्र खिचिएकी एउटी मात्र पीडित नभई नाबालकसमेतका ३।४ जना पीडित रहेका छन् । बरामद चिप्समा प्रमोद श्रेष्ठको समेत तस्वीर रहेको भनी प्रतिवादीले अदालतको बयानमा सनाखत गरेको देखिन्छ । ती नग्न तस्वीर र गतिशील दृश्यहरू पीडितहरूको कब्जामा नभई प्रतिवादीको कब्जामा रहेको यसलाई प्रतिवादीले जहिले पनि सार्वजनिक गर्न सक्ने अवस्था हुन्छ । उक्त दृश्य र तस्वीरहरूको माध्यमबाट प्रतिवादीले पीडितहरूउपर नियन्त्रण राख्ने र निजहरूलाई आफ्नो इच्छानुसार काम गर्न जहिले पनि बाध्य गर्न सक्ने देखिन्छ भने पीडितहरू पनि आफ्नो बेइज्जत हुने डरले प्रतिवादीको दासत्वदेखि यौनशोषणसमेतका अनुचित कुराहरू स्वीकार गर्न बाध्य हुने देखिन्छ । त्यो चिप्स फ्लपी आदि हराएको कुरा सिर्फ सजायसँग सम्बन्धित कुरा हुन आउने । 

(प्रकरण नं.२१)

पीडितको जाहेरी दर्खास्त र प्रमाणित बयान तथा प्रतिवादीको मौकाको र अदालतको बयान र बरामद तस्वीरहरूको अध्ययनबाट प्रतिवादीले अश्लील तस्वीर खिच्ने कार्यलाई पेसा नै बनाएको 

देखिन्छ । नाबालकसमेतको नग्न तस्वीर खिच्नु र संग्रह गर्नुपर्ने प्रयोजन पीडितहरूलाई अनुचित प्रभावमा पार्नु, यौन पेसामा संलग्न गराउनु र अश्लील चलचित्र बनाउनुसमेतका कार्य गर्नुबाहेक अरू हुने कुराको अनुमान गर्न सकिँदैन । पीडितसमेतको लागि प्रतिवादी बाहिरी व्यक्ति हुन् । पीडितसमेतको गोप्‍य अंगहरू प्रतिवादीले हेर्न मिल्दैन । प्रतिवादीले सो हेरेका र त्यसलाई सुरक्षित तवरले चिप्समा राख्ने कामबाट त्यो कुरा गोप्य रहेन । पीडितसमेतको नांगा तस्वीरहरू कस्तो हुन्छ भनी हेर्नको लागि खिचेको र संग्रह गरेको भन्ने हक प्रतिवादीलाई छैन । आज एउटी पछि दुइटी गर्दागर्दै सयौंको फोटो कस्तो हुन्छ भनी खिच्ने काम अनैतिक र अश्लील हुन्छ । यो पेसा नै हुन जाने । 

(प्रकरण नं.२२)

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०४० सालमा प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषको प्रथम संस्करणमा  वेश्यावृत्तिको अर्थ पैसाका लागि परपुरूषसँग यौन सम्पर्क राख्ने पेसा, परपुरूषसँग सहवास गरेर पैसा कमाउने वृत्ति भनी उल्लेख भएको पाइन्छ । यो भनेको गैरकानूनी र अश्लील यौनकार्यसमेत गर्ने र सोबापत पैसा लिने पेसा हो । सामाजिक सदाचार र नैतिकता विरूद्धको यो कार्यमा मानिस किनबेचको वस्तु हुन पुगेकोले नै जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले यसलाई कसुर भनी परिभाषित गर्नु परेको हो । सोही नेपाली बृहत् शब्दकोषमा मास्-नु शब्दको एउटा अर्थ ‘खर्च गर्नु, समाप्त पार्नु, सिध्याउनु’ र अर्को अर्थ ‘दास बनाउनु, कमारो तुल्याउनु’ समेत रहेको छ । वेश्यावृत्ति मानव शोषण अर्थात् जिउ मास्ने कार्य मानिने । 

(प्रकरण नं.२३)

पीडित भनेको जाहेरवालीसमेतका केटीहरू देखिन्छन । ती तस्वीरमा पीडितहरूको कुनै नियन्त्रण छैन । ती तस्वीरहरू खिच्ने क्रममा जाहेरवालीसँग प्रतिवादीले पटकपटक यौन सम्पर्कसमेत गरेका 

छन् । प्रतिवादी निर्देशित टेली सिरियलमा जाहेरवालीसमेतले कलाकार भई खेलेको र सोबापत पैसा लिएको देखिन्छ । ती कार्यहरू थप चलचित्र बनाउने सन्दर्भमा भएको कुरा पीडितको कागजबाट 

खुल्छ । वेश्या पेसारत महिलालाई पैसा दिएर धमाधम सम्भोग गरेको भन्ने कार्यमा मात्र वेश्यावृत्तिलाई सीमित गर्दा आधुनिक प्रविधिबाट हुने यस्ता अश्लील कार्यको रोकथाम हुन नसक्ला । जसरी एउटा वेश्या विभिन्न हाउभाउ र आफ्नो यौनांग देखाएर ग्राहक आकर्षित गर्न बाध्य हुन पुग्छे ठीक त्यही कुरा यी तस्वीर र गतिशील चित्रहरूलाई इन्टरनेटमा राखेर अदृश्य र दृश्य दर्शकलाई आकर्षित गर्ने काम हुन्छ । जसरी प्रत्यक्ष सम्भोग गर्ने वेश्याले आएको पैसाको केही अंश आफूले पाउँछे र बाँकी कोठीवालीले र दलाल आदिले पाउँछन् त्यसैगरी यी चलचित्र राख्नेसमेतलाई पैसा प्राप्त हुने र त्यसबाट निज पोर्नस्टारसमेतले पैसा पाउने देखिन्छ । वेश्यावृत्ति नेपालमा अवैध मानिएकोले अरू मुलुकमा झैं यस्तो तस्वीर राख्ने कार्यले उन्मुक्ति पाउने अवस्था नरहने । 

(प्रकरण नं.२४)

पीडितसमेतको तस्वीर संग्रहित चिप्स हराउँदा प्रतिवादी चिन्तित रहेका सो चिन्तालाई निजले व्यक्त गरेका र खिचेका तस्वीरहरू नष्ट गर्न पनि लोभ लागेको थियो भनी प्रतिवादीको मौकाको बयानमा उल्लेख भएको व्यहोरासमेतबाट यौनक्रीडारत अवस्थामा तथा स्त्री अङ्गहरू प्रदर्शन गर्ने गरी फोटो खिच्नु पर्ने र त्यसलाई चिनी क्यामराको चिप्समा संग्रह गरी राख्नुपर्नेसम्मको कारण निजले खुलाउन सकेको पाइँदैन । यी दृश्यहरू व्यक्तिगत प्रयोजनमा आउन नसक्ने प्रकृतिका देखिँदा आफूसँग यौन सम्पर्क राखी खिचेको फोटाबाट अश्लील चलचित्र बनाई बिक्री गर्ने प्रतिवादीको योजना रहेको, अनुचित प्रभावमा पारी पीडितसँग शारीरिक सम्पर्क राख्ने, चलचित्र खिच्ने तथा स्त्री जातिको यौन अंगको प्रर्दशन गरी आर्थिक लाभ लिनको लागि गरेको कार्यलाई वेश्यावृत्तिमा लगाएको मान्नुपर्ने हुन्छ भनी अभियोगपत्रमा उल्लेख भएको व्यहोरा बडो तार्किक छ । नाबालकसमेतको नग्न तस्वीर खिचेकोलाई समेत तल्ला अदालतले कानून छैन भनेर गरेको फैसलाले पीडितको पीडालाई अनुभूत गरेको 

देखिएन । कानून र न्यायलाई असहाय बनाएको देखियो । कानून र न्याय कहिल्यै असहाय हुँदैनन् । त्यसलाई जीवन्त बनाउने न्यायाधीश असहाय भएमा मात्र कानून र न्याय असहाय हुन पुग्न देखिन आउने । 

(प्रकरण नं.२५)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता परशुराम कोइराला

अवलम्बित नजिर :

सम्बद्ध कानून :

जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को प्रस्तावना, दफा ३, दफा ४

 

सुरू तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्यायाधीश श्री भूपध्वज अधिकारी 

मा. न्यायाधीश श्री जनार्दनबहादुर खड्का

 

फैसला

न्या.गोविन्दकुमार उपाध्याय : पुनरावेदन अदालत, बिराटनगरबाट मिति २०६६।३।३१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ निवेदनमा निस्सा प्रदान भई पुनरावेदन दायरीमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । 

प्रतिवादी प्रकाश ओझा गायक र कान्तिपुर टी.भी. मा काम गर्ने कलाकार हुन् । निजको इटहरीमा मदानी समूह नामक अफिस छ । निजलाई मैंले सानै उमेरदेखि चिनेकोले दाइ भन्ने गर्दथे ।२०५९ सालमा मेरो उमेर १५ वर्षको हुँदा तिहारमा भाइटीका गरी निजले मलाई बहिनीसमेत बनाएका थिए । यसरी मसँग नाता सम्बन्ध बनाई मेरो परिवारका सबैलाई विश्वासमा पारी मलगायत ४/५ जनालाई टी.भी. मा काम लगाई दिन भनी काठमाडौंमा लगी डेरामा राखी सोही डेराको एउटा कोठामा आफू पनि बस्ने गरेका थिए । केही समयपछि निजले आफ्नो मदानी समूहको अफिसमा फोटो खिच्न बोलाई “मैले, तैंले थाहा नपाउने गरी तैंले नुहाउन लागेको समयमा नाङ्गो फोटो खिचेको छु” भनी मलाई विभिन्न डर धाक धम्की दिई मसँग अनैतिक सम्बन्ध राख्न थाले । त्यसपछि धरान घोपा क्याम्पमा कान्तिपुर टेलिभिजनका ठूला मान्छेहरू आउँछन् तैंले हाँसी खुसी कुरा गर्नुपर्छ, तेरो भाग्य बन्छ भनी मलाई झुक्याई धरान घोपा क्याम्प बि.पि. अस्पतालको कम्पाउन्डको “जिएट” भन्ने घरको अन्तिम तलामा लगी मसँग जबरजस्ती शारीरिक सम्पर्क राखी मैले थाहा नपाउने गरी विभिन्न तस्वीरहरू पनि खिचिएको 

रहेछ । सो घटनापछि निजले मलाई उक्त नग्न तस्वीरहरू देखाउँदै ब्ल्याकमेल गरी अनुचित प्रभावमा पारी इटहरी र धरानमा पटक-पटक भने जस्तो र चाहे जस्तो स्टाइलमा फोटो खिच्न बाध्य गराउँदै आफू पनि नग्न भई लगातार २ वर्षदेखि विभिन्न प्रकारका अप्राकृतिक मैथुन गर्न लगाई शारीरिक सम्बन्धसमेत राख्दै हाल आएर “तेरो साथीहरूलाई पनि लिएर आइज होइन भने तेरो फोटो देखाई बेइज्जत गर्छु” भनी भन्न थालेको र गत असोज महिनामा मेरो वर्ष १२ की बहिनी “क” कुमारीलाई पनि धरान घोपा क्याम्पमा मेरै अगाडि नाङ्गो पारी मलाईसमेत बाध्य गराई नग्न तस्वीर खिचे । निजले मेरो बहिनीसँग शारीरिक सम्बन्ध राख्छु भनी भन्दा मैले मलाई जे गर्नु छ गर् मेरी नाबालक बहिनीलाई नबिगार भनी रूँदै भन्दासमेत विभिन्न धम्की दिन थाले । छिमेकी दिदी सुधा (परिवर्तित नाम) ले मेरो नाङ्गो तस्वीर भेटेको भन्नु भएको र निजले मलगायत अन्य थुप्रै केटीहरूको त्यस्तो चित्र खिची बाध्य पारी वेश्यावृत्तिमा लगाई आफूले पनि शारीरिक सम्बन्ध राख्ने र सोबाट पैसा कमाउने कार्य गरी आएको हुँदा निज प्रकाश ओझालाई जिउ मास्ने बेच्ने कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको वर्ष १७ की “ख” कुमारीको मिति २०६१।१०।२८ को जाहेरी दरखास्त । 

मलाई देखाइएको जाहेरीलगायतका मिसिल संलग्न कागजहरू पढी बाची सुनाउँदा सुनी पाएँ । यो जाहेरी मैले नै दिएको हुँ । जाहेरीमा गरेको दस्तखतसमेत मेरै हो । देखाउँदा देखी चिनी सनाखतसमेत गरी दिएको छु । प्रतिवादी प्रकाश ओझासँग मेरो पूर्व चिनजान थियो, रिसइवी केही थिएन । मैले सानै उमेरदेखि चिनेको र २०५९ सालदेखि तिहारमा समेत भाइटीका लगाई दिएको प्रकाश ओझालाई दाजु मान्दै आएको मेरो परिवारका सबैलाई विश्वासमा पारी मलगायत ४/५ जनालाई टी.भी. मा काम लगाई दिन भनी काठमाडौंमा लगी डेरामा राखी सोही डेराको एउटा कोठामा आफू पनि बस्ने गरेका थिए । केही समयपछि म इटहरीमा हुँदा निजले आफ्नो मदानी समूहको अफिसमा फोटो खिच्न बोलाई उसको अफिसमा जाँदा तैंले थाहा नपाउने गरी नुहाउन लागेको समयमा नाङ्गो फोटोहरू खिचेको मलाई शारीरिक सम्पर्क राख्न दे नत्र तेरो बेइज्जतसमेत गरिदिन्छु भनी मलाई विभिन्न डर धाक धम्की दिएपछि शारीरिक सम्पर्क राख्न दिएर आफ्नो अस्मिता बचाउँछु भनी निजसँग मैले शारीरिक सम्पर्क राख्न थाले । मलाई निजले बेला बेलामा धम्की दिँदै बोलाउने गर्न थाले । म आफू दोधारमा पुगें । उसले बोलाएको ठाउँमा नगए फोटोहरू सार्वजनिक गरी दिने हो कि भन्ने डरले म उसले बोलाएको ठाउँमा जान थालेँ । मिति यकिन भएन २०६१ सालको असोज महिनामा निजले मलाई धरान घोपा क्याम्पमा कान्तिपुर टेलिभिजनका ठूला मानिसहरू तिम्रो अन्तर्वार्ता लिन आउँदैछन् तैंले हाँसी खुसी कुरा गर्नुपर्छ राम्रोसँग अन्तर्वार्ता दिएपछि पास भए तिम्रो भाग्य चम्किन्छ भनी झुट्ठो आश्वासन दिई झुक्याई धरान घोपा क्याम्पमा बि.पी. अस्पतालको कम्पाउन्डको जिएट घरको अन्तिम तल्लामा लगी मसँग पुनः शारीरिक सम्पर्क राखी मैले थाहा नपाउने गरी शारीरिक सम्पर्क राखेका विभिन्न तस्वीरहरू निजले क्यामराबाट खिचेका रहेछन् । सो घटनापछि निज प्रकाश ओझाले मलाई मैले थाहा पाइनपाई खिचिएका मेरा नाङ्गा तस्वीरहरू देखाउँदै ब्ल्याकमेल गरी इटहरी र धरानमा पटकपटक निजले भने जस्तो र चाहे जस्तो स्टाइलमा फोटो खिच्न बाध्य गराउँदै निज आफू पनि नग्न भई मलाई विभिन्न प्रकारका अप्राकृतिक मैथुन गर्न लगाई अनुचित प्रभावमा पारी मसँग यौन सम्बन्ध राख्दै हाल आएर तेरा साथीहरू तथा तेरो बैनी “क” कुमारीलाई पनि लिएर आइज होइन भने तेरो फोटो देखाई बेइज्जत गर्छु भन्न थाले । असोज महिनामै हो निजले बैनीलाई पनि घोपामा लिएर आउनु नत्र तिम्रो फोटो सार्वजनिक गराउँछु भने डर धाक धम्की दिए । बैनी “क” कुमारीलाई साथमा लिई घोपा क्याम्पमा पहिलेकै जिएट भन्ने भवनमा जाँदा त्यहाँ पनि प्रकाश ओझाले बहिनी “क” कुमारीलाई जबरजस्ती नाङ्गो बनाई मलाईसमेत नाङ्गो हुन बाध्य गराई मेरो तथा बहिनीको नाङ्गो तस्वीरहरू खिचे । सोपश्चात निजले मेरी बहिनी “क” कुमारीसँग शारीरिक सम्बन्ध राख्छु भन्दा मैले बरू मलाई जे गर्नु छ गर् तर मेरी नाबालक बहिनीलाई नबिगार भनेपछि निजले बहिनीसँग शारीरिक सम्पर्क राखेनन् तर नाङ्गा तस्वीरहरू खिच्न पछि परेनन् । हाल आएर छिमेकी दिदी सुधाले मेरो नाङ्गो तस्वीरहरू फेला पारेको कुरा मलाई सुनाएपछि अब मैले यसरी चुप लागेर बस्नु हुन्न प्रकाशले जस्तो सुकै धाक धम्की दिए पनि भएको यथार्थ कुरो प्रहरीमा खबर गर्नुपर्छ भनी म प्रकाश ओझाका विरूद्धमा उपस्थित भई जाहेरी गरेकी छु । मलाई निज प्रकाश ओझाले विभिन्न आश्वासन दिई झुठो सपना देखाई मेरा नाङ्गा तस्वीरहरू खिच्न बाध्य बनाई विभिन्न अप्राकृतिक यौनशोषण गरी मेरा नाङ्गा तस्वीरहरूबाट नाजायज फाइदा उठाई मलाई वेश्यावृत्तिमा लगाई सोबाट आफूले पैसा कमाउने घृणित एवम् जघन्य अपराध गरेका हुन् । निज प्रकाश ओझाले मलाई विगत २ वर्षदेखि म तिमीलाई कान्तिपुर टी.भी. मा फिल्म खेलाई दिन्छु । फिल्म खेल्नका लागि केही नाङ्गा तस्वीरहरू पनि आवश्यक पर्ने हुँदा तिमीले नाङ्गा तस्वीर खिचाउनु पर्छ भनी झुक्याई ललाई फकाई पछि हिरोनी बनाई दिने जस्ता प्रलोभन देखाई बेला बेलामा मेरा साथीहरूसँग समेत तिमीले यौन सम्पर्क राख्नुपर्छ भनी मेरो नाङ्गा तस्वीरहरूबाट अश्लील चलचित्र निकाल्ने योजना बनाई सोबाट निजले पैसा कमाउनेसम्मको कार्य गर्न पुगे । मेरा नाङ्गा तस्वीरहरू खिच्न तथा यौन शोषण गर्नमा प्रकाश ओझाबाहेक अन्य कोही कसैको संलग्नता भएको मलाई थाहा भएन । अरूको पनि संलग्नता भए निज प्रकाशबाटै खुलाई पाऊँ । सुधाले जाहेरीसाथ दाखिला गरेको सिडी, चिप्स र फ्लपीहरूमा भएका तस्वीरहरूमध्ये स्थिर फोटोहरू इटहरी बस्ने सम्झना र सुधाको छोरी मुना (परिवर्तित नाम) का हुन् । मुभिङ्ग फोटोहरूमा देखाइएका यौनक्रियारत फोटोहरूमा मेरो फोटो देखिएको छ । यौन क्रीडारत फोटोमा देखिएको पुरूष प्रतिवादी प्रकाश ओझा हुन् । स्नानकक्षमा नुहाइरहेको तस्वीर मेरो हो । यी तस्वीरहरू मेरो इच्छा विरूद्ध प्रकाशन गरेका तथा गर्न लागेका तस्वीरहरू 

हुन् । हेरी चिनी सनाखतसमेत गरी दिएँ । प्रतिवादी प्रकाश ओझाले मेरो र मेरो बहिनी “क” कुमारीको बाहेक अन्य केटीहरूको पनि नाङ्गा तस्वीर खिचेको मलाई थाहा थिएन । आज मलाई देखाउँदा मुना, सोना (परिवर्तित नाम) समेतको खिचेका रहेछन् भन्नेसमेत व्यहोराको “ख” कुमारीको अनुसन्धानको क्रममा सुनसरी जिल्ला अदालतबाट भएको मिति २०६१।१०।२९ को प्रमाणित बयान कागज । 

जाहेरवाली सुधाले आफ्नो जाहेरीसाथ पेस गरेकी चिप्स, फ्लपी तथा सिडीभित्रका दृश्यहरू मलाई स्क्रीनमा देखाउँदा देखी चिनेँ । उक्त तस्वीरहरूमध्ये स्थिर फोटोहरू “ख” कुमारी, सोना र मुनाका हुन् । मुभिङ्ग फोटोहरूमा एउटा फोटो “ख” कुमारीको बहिनी “क” कुमारीको हो । अप्राकृतिक मैथुन गराएको केटी “ख” कुमारी नै हो । यौन क्रीडारत पुरूष व्यक्ति (अनुहार नदेखिएको) तथा अप्राकृतिक मैथुन गराउने पुरूष व्यक्ति म हुँ । ती दृश्यहरू मैले मेरो चाइनिज क्यामराबाट खिचेको हुँ । सिडी, चिप्स, फ्लपीमध्ये चिप्स मात्र मेरो हो । निलो रातो रंगको थियो यही नै 

हो । १२८ लेखिएको छ । सो चिप्स पौष महिनामा हराएको थियो । अन्य सिडी फ्लपीहरू मेरो होइन, को कस्को हो थाहा भएन । यो चिप्स नयाँ प्रविधिको चाइनिज क्यामराको एक प्रकारको रिल हो । यसभित्र खिचिएका फोटो संग्रह हुने गर्दछ र त्यसबाट आफूले चाहेको बेला फोटोहरू निकाल्न सकिन्छ । चिप्सको मूल्य नेपाली बजारमा पैंतिस सयदेखि चार हजारसम्म पर्छ । विभिन्न डर, धाक र धम्की दिई मदानी समूहको अफिसमा पहिला पटक र त्यसपछि प्रकाश पौडेलको डेरा कोठा धरान घोपाको जि.एटको तेस्रो तलाको कोठामा “ख” कुमारी तथा निजको बहिनी “क” कुमारीको विभिन्न स्टाइलका नाङ्गो तथा यौन क्रीडारत फोटोहरू र मुख मैथुनसमेत गराएका फोटाहरू मैले नै आफ्ना डिजिटल क्यामराबाट खिचेको हुँ । प्रकाश पौडेलको डेरामा केटी लगेको कुरा प्रकाश पौडेललाई थाहा हुँदैन थियो । देखाएको चिप्स तथा सी.डी. मैले खिचेको र यौनक्रीडा गर्ने म नै छु । सो चिप्स र सी.डी. पछि के कहाँ हरायो खोजेँ भेटिएन । उक्त चिप्स सुधाले फेला पारिछन् । निजको छोरी मुनाको समेत फोटाहरू खिचेको थिएँ । “ख” कुमारी, “क” कुमारी तथा मुनाको अश्लील नाङ्गा तस्वीरहरू म एक्लैले खिचेको 

हो । जाहेरवाली “ख” कुमारीसँग मेरो विगत ४/५ वर्ष अगाडिदेखि चिनजान हुँदै आएको हो । हाम्रो इटहरीमा मदानी समूह नामक अफिस छ । सो समूहको एउटा जिम्मेवार व्यक्ति म पनि छु । सो समूहद्वारा निर्माण र प्रदर्शन गरिने नाटक, टेलीसिरियल र म्युजिक भिडियोहरूमा निज जाहेरवाली “ख” कुमारीले पनि पारिश्रमिक लिएर अभिनय गर्दै आएकी हुन् । निजसँग मेरो कलाकारको नाता हो । विभिन्न नाटक टेली सिरियल र म्युजिक भिडियोमा हामीसँगै अभिनय गर्दै जाँदा पहिलो पटक २०६१ सालको भदौ महिनामा हामी दुईबीच सहमतिमा शारीरिक सम्पर्क भएपछि हाम्रो बेला बखतमा भेटघाट हुँदा शारीरिक सम्पर्क पनि हुन थाल्यो । मिति यकिन भएन मदानी समूहको अफिसमा हाम्रो भेट हुँदा तेस्रो पटक शारीरिक सम्पर्क भएपछि मैले सोही ठाउँमा आफूसँग भएको चाइनिज क्यामराले निज “ख” कुमारीको नाङ्गा तस्वीरहरू खिचेको हो । उक्त अश्लील फोटोहरू जबरजस्ती खिचिएको होइन । निजले किन जबरजस्ती खिचिएको भनी जाहेरी तथा बयानमा उल्लेख गरिन् मलाई थाहा भएन । निजसँग दाजु बहिनीको नाता छैन । कलाकारको नाता मात्र 

हो । मैले “ख” कुमारी, “क” कुमारी, तथा मुनाको गोप्य अंगहरूका अश्लील फोटोहरू क्यामरामा के कस्तो आउँछ भनी फोटो खिची हेर्न सहमतिमा खिचेको 

हो । प्रलोभनमा पारेको होइन । अश्लील फोटाहरू कहीँ बिक्री गरेको छैन । अन्य कुनै बदनियत 

थिएन । मैले “ख” कुमारीसमेतका अश्लील फोटाहरू खिची हेरी सकेपछि यो राखी रहनु हुन्न मेट्नुपर्छ भन्दा मलाई मेट्ने तरिका नआएको साथै नष्ट गर्न पनि लोभ लागेको हुँदा लुकाई राखेको अवस्थामा के कहाँ कुन मिति समयमा हराएको थियो पछि सुधाले फेला पारी जाहेरीसाथ दाखिला गरेकी हुन् । कुनै डर त्रासमा पारी फोटाहरू खिची ती फोटाहरू बिक्री वितरण गरी पैसा कमाउने उद्देश्य बिल्कुलै होइन । 

जाहेरवाली सुधाको फोटोकपी, लेमिनेसन तथा पि.सि.ओ. अफिस तथा घरमा बारम्बार आउने जाने गर्थें ।२०६१ सालको दशैंभन्दा अगाडि मद्वारा निर्देशित कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने तीते करेली नामक टेली सिरियलको सुटिङ्गमा मुनाको पनि बोर्डिङ्ग ड्रेसको रोल भएकोले मुना ड्रेसमा नै मदानी समूहको अफिसमा आएको र सुटिङ्ग सकिएपछि घरतिर लागी भोलिपल्टको सुटिङ्गमा पनि ड्रेसमा आई सुटिङ्ग सुरू हुनुभन्दा अगाडि मसँग प्रकाश अंकल मेरो फोटो खिची दिनुहोस् भन्दा मैले म त नाङ्गो फोटोहरू मात्र खिच्दछु भन्दा हुन्छ भनेपछि मैले पहिलो पल्ट मदानी समूहको अफिसमा मुनाको अश्लील फोटोहरू खिचेको हो । त्यसपछि पनि म मुनाको घरको बाटो आउने जाने गर्दा मलाई मुनाले घरमा बोलाई मेरो फेरि फोटो खिची दिने होइन भनी कुरा गर्दा मैले आफूसँग क्यामरा भएको बेला मुनाको अश्लील फोटाहरू खिचेको छु । मैले निजको फोटो खिच्दा जबरजस्ती डर त्रासमा पारी खिचेको होइन एवं धम्की दिई जबरजस्ती करणी गर्न खोजेको र मेरो लिङ्ग देखाउने प्रयास गरेको होइन । नाबालकहरूलाई कुनै पनि गैरकानूनी कार्यमा लगाउन नहुने कुरा मलाई थाहा थियो परेको सजाय भोग्न तयार छु भन्ने व्यहोराको प्रकाश ओझाले प्रहरीसमक्ष गरेको बयान । 

जाहेरवाली “ख” कुमारी र “क” कुमारीसमेतको अश्लील नाङ्गो फोटो खिचेको स्थान वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जि. ८ भवनको तेस्रो तलाको चौथो कोठामा लगी जबरजस्ती करणी अप्राकृतिक मैथुनसमेत राख्दै गरेको दृश्य क्यामरामा रेकर्ड गरी फोटो खिचिएको, सो कोठामा टाँसिएको तथा भुइँमा ओछ्‌याइएका तन्ना सिरानीको खोललगायत बरामद गरेको र अफिस इन्चार्ज बन्दना थापाको अफिसको टेबुलमा प्रकाश ओझाले राख्न दिएको चिनी क्यामरा बरामद गरेको छुट्टाछुट्टै बरामदी मुचुल्का । 

म वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बस्न दिएको क्वार्टर जि. ८ भवनको तेस्रो तलाको चौथो कोठामा बस्ने गरेको थिएँ । प्रकाश ओझा गीत रेकर्डिङ्गको क्रममा धरान आउँदा मसँग भेटघाट गर्ने र रेकर्डिङ्ग गर्दागर्दै रात भए मेरो क्वार्टरमा बस्ने गर्थे । मैले जान्दा निज सहयोगी राम्रो व्यवहारका मानिस थिए । निज बेला बेलामा मेरो मोटरसाइकल मागेर लाने गर्दथे । सोही मोटरसाइकलको चाबी रहेको चाबी रिङ्गमा मेरो क्वार्टरको चाबी पनि थियो । निज एक्लै कहिलेकाहीँ क्वार्टरमा आउने जाने गर्थे । निजले आफूसँग केटीहरू पनि छन् भन्ने कुरा गर्दैनथे र मलाई थाहा पनि थिएन । जाहेरवाली “ख” कुमारीलाई चिन्दथें तर थर थाहा थिएन । “क” कुमारीलाई चिन्दिन । “ख” कुमारीलाई मदानी समूहको कलाकारद्वारा कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने साप्ताहिक टेली व्यङ्ग्य तीते करेली हेर्दादेखि चिनेको हो । निज जाहेरवाली “ख” कुमारी र “क” कुमारीलाई प्रतिवादी प्रकाश ओझाले मेरो कोठामा लगी जबरजस्ती करणी गरेको र मुख मैथुनसमेत गराई विभिन्न अश्लील फोटोहरू खिचेको भन्ने कुरा मलाई थाहा थिएन । हाल सुनी थाहा पाएको हो । जाहेरवालीसमेतको अश्लील फोटोहरू के प्रयोजनको लागि खिचेको हो सो मलाई थाहा भएन भनी प्रकाश पौडेलले गरेको कागज । 

प्रतिवादी प्रकाश ओझासमेत भई खोलेको मदानी समूह इटहरी १ मा भएको संस्थामा कलाकारिताको लागि जाँदा प्रतिवादीसँग चिनजान भएको हो । सोही क्रममा जाहेरवाली “ख” कुमारीसँग चिनजान भएको र “ख” कुमारीले उक्त समूहमा निजकी बहिनी “क” कुमारीलाई लिएर आउने गरेकीले “क” कुमारीलाई समेत चिन्दछु । प्रतिवादीले जाहेरवालीसमेतलाई जबरजस्ती करणी गरेको र नग्न तस्वीरहरू खिचेको भनी जाहेरवाली “ख” कुमारीले मलाई भनेकीले थाहा पाएकी हुँ । प्रतिवादी प्रकाश ओझाले चिनी क्यामेराबाट “ख” कुमारी, “क” कुमारी र मुनाको नग्न तस्वीर तथा “ख” कुमारीलाई करणी गरेको र फ्लपी, चिप्स सिडीमा रेकर्ड गरिएको फोटोहरू स्क्रीनमा यसै कार्यालयबाट देखाउँदा देखी चिनेँ । सोही तस्वीरहरूसँग “ख” कुमारीलाई जबरजस्ती करणी गरेको अवस्थामा देखिएको केटा मान्छेको फोटोमा अनुहार नदेखिएको भएपनि शरीर हेर्दा निज प्रतिवादी प्रकाश ओझाको शरीरसँग मिल्ने देखिएको र सो कार्य निज प्रतिवादीले नै गरेकोमा मलाई पूर्ण विश्वास 

लाग्छ । दृश्यमा देखिएका फोटाहरूले समेत राजीखुसीले नभई डर त्रास एवम् धम्कीका साथ खिचिएको भन्ने कुरा प्रमाणित गर्दछ । प्रतिवादीले गीतहरूको महत्त्वपूर्ण चिप्स हरायो कसैले भेटेको छ कि भन्दै सबैतिर खोजी गरेको तथा चिप्स फेला नपरे बर्बादै हुन्छ भनी आत्तिए जस्तो देखिएको र सुधाले फेला पारेको चिप्स प्रकाशले हराएको चिप्स भएको यकिन हुन आएबाट आफ्नो पोल खुल्ने डरले निजले आत्तिएर उक्त चिप्स खोजेको भन्ने कुरा छर्लङ्ग हुन्छ । प्रतिवादीले “ख” कुमारी, “क” कुमारी तथा मुनासमेतका अश्लील फोटाहरू खिची सो फोटाहरूबाट फिल्मसमेत तयार गरी विदेशमा लगी बिक्री वितरण गरी पैसा कमाउने कार्य गर्न लागेको हुनुपर्छ । जाहेरवालीसमेत सोझा केटीहरू 

हुन् । प्रतिवादीले सीधासाधा केटीहरूलाई ललाई फकाई, झुक्याई विभिन्न प्रलोभनमा पारी निजहरूको नाङ्गा फोटोहरू देखाई ब्ल्याकमेल गर्ने उद्देश्यले खिचेको भन्ने कुरामा मलाई विश्वास लाग्छ भनी रेखा कार्की, रीना बरूवाल, टिकाराम सुवेदीसमेतले गरेको छुट्टाछुट्टै कागज । 

बरामदी मुचुल्कामा उल्लिखित सामानहरू देखाउँदा देखेँ हेरेँ । उक्त सामानहरू मैले “ख” कुमारी तथा “क” कुमारीसमेतलाई धरान घोपास्थित जिएट भवनको तेस्रो तल्लाको चौथो कोठामा लगी जबरजस्ती नाङ्गो फोटोहरू खिचेको हो । “ख” कुमारीलाई जबरजस्ती करणी तथा मुख मैथुन गराउँदाका दृश्यहरू मैले क्यामरामा रेकर्ड गरेको छु भनी प्रकाश ओझाले गरेको सनाखत कागज । 

“ख” कुमारी र “क” कुमारीलाई कलाकार बनाई दिने तथा फिल्ममा खेलाई दिने झुट्ठा आश्वासन दिई नाङ्गो फोटोहरू खिची बाध्य पारी डर त्रास देखाई जबरजस्ती करणी र मुख मैथुन गरी अनैतिक कार्यहरू गरेका र फोटोहरू बिक्री वितरण गरी वेश्यावृत्तिमा लगाई जिउ मास्ने बेच्ने कार्य गरेको कुरामा विश्वास लाग्छ भनी प्रकाश सुब्बाले प्रहरीमा गरेको कागज । 

प्रतिवादी प्रकाश ओझाले कलाकार बनाई दिने झुट्ठो आश्वासन दिई “क” कुमारीलगायतका नाबालिकाहरूलाई निजहरूको इच्छा विरूद्ध नाङ्गा तथा अश्लील फोटाहरू खिची आफूले भनेको नमाने प्रकाशन गरी दिने डर त्रास देखाई जबरजस्ती करणी गर्ने मुख मैथुन गर्नेसमेतका घृणित कार्य पैसा कमाउने उद्देश्यले गरेको भन्नेसमेत व्यहोराको खड्ग कोइराला, भानु सुवेदी, दीपेसकुमार श्रेष्ठ, तीर्थ लिम्बु र थमनबहादुर दाहालसमेतले गरेको वस्तुस्थिति मुचुल्का । 

जाहेरवाली “ख” कुमारीले मिति २०६१।१०।२८ मा जिल्ला प्रहरी कार्यालयमा प्रस्तुत गरेको जाहेरी दरखास्तमा आफूलाई प्रतिवादी प्रकाश ओझाले २ वर्षदेखि अनुचित प्रभावमा पारी तेरो नाङ्गो फोटो मसँग छ भनी अनैतिक सम्बन्ध राखेको र धरान घोपा क्याम्पको जिएट बिल्डिङ्गमा कान्तिपुर टी.भी. का मान्छेहरू आउँछन् भनी बोलाई शारीरिक सम्पर्क राखी सोको फोटोसमेत आफूले थाहा नपाउने गरी खिचेको र १२ वर्षकी बहिनी “क” कुमारीलाई पनि घोपा क्याम्पमा बोलाई आफू तथा बहिनीलाई समेत बाध्य बनाई नाङ्गो पारी फोटो खिची विभिन्न ठाउँमा लगी यौनशोषण गरी तथा आफूले थाहा नपाउने गरी खिचेको तस्वीर बेचबिखन गरी पैसा कमाउने जस्ता कार्य गरी जिउ मास्ने बेच्ने कार्य गरेको भनी लेखाई दिएको देखिन्छ । त्यस्तै जाहेरवाली “क” कुमारीको अदालतद्वारा प्रमाणित बयानमा पनि प्रतिवादीले नग्न फोटोहरू देखाई डर धाकसमेत दिएको कुरा र विभिन्न मुद्राका नाङ्गा तथा यौनक्रीडारत फोटोहरू सनाखतसमेत गरी दिएको देखिन्छ । मिसिल संलग्न सी.डी. लाई कम्प्युटरमा राखी अवलोकन गर्दा प्रतिवादी प्रकाश ओझाले जाहेरवाली “क” कुमारीसँग विभिन्न मुद्रामा यौनसम्पर्क राखी राखेको गतिशील फोटोहरू देखिन्छ भने अन्य केही महिलाहरूको स्तन यौनाङ्गलगायतका संवेदनशील अंगहरूलाई अस्वाभाविक र पूर्णरूपले देखाइएका अश्लील फोटोहरू देखिएको छ । यसबाट जाहेरवालीले आफ्नो जाहेरी दरखास्त तथा प्रमाणित बयानमा उल्लेख गरेअनुसार प्रतिवादीले अश्लील चलचित्र बनाउन लागेको पुष्टि भएको छ । जाहेरवाली “क” कुमारीसँग यौनक्रीडारत अवस्थामा खिचेको फोटो आफूले चिनी क्यामरालाई फोटो खिच्ने पोजिसनमा राखी आफू र “ख” कुमारीसमेतलाई क्यामराले कभर गर्ने ठाउँमा राखी यौन सम्पर्कसमेत गरी त्यसको भिडियो चित्र खिचेको तथा सी.डी. मा देखिएको स्थिर नाङ्गा फोटोहरूसमेत आफैँले खिचेको स्वीकार गरी बयान गरिदिएको देखिन्छ । प्रतिवादी प्रकाश ओझाले आफूले ती फोटाहरू व्यक्तिगत प्रयोजनका लागि खिचेको र त्यसबाट आर्थिक उपार्जनको उद्देश्य थिएन भनी आफ्नो बयानमा लेखाएको भए तापनि त्यसरी यौनक्रीडारत अवस्थामा तथा स्त्री अङ्गहरू प्रदर्शन गर्ने गरी फोटो खिच्नुपर्ने र त्यसलाई चिनी क्यामराको चिप्समा संग्रह गरी राख्नुपर्नेसम्मको कारण निजले खुलाउन सकेको पाइँदैन । मिसिल संलग्न सी.डी. मा संकलित स्थिर तथा गतिशील तस्वीरहरू हेर्दा त्यस्ता फोटाहरू व्यक्तिगत प्रयोजनमा आउन नसक्ने प्रकृतिका देखिँदा आफूसँग यौन सम्पर्क राखी खिचेको फोटाबाट अश्लील चलचित्र बनाई बिक्री गर्न प्रतिवादीको योजना रहेको भन्ने जाहेरवालाको भनाई विश्वासयोग्य देखिएको छ । आफूसँग शारीरिक सम्पर्क राखी फोटो खिच्न र अश्लील चलचित्र बनाउन प्रयोग भएको भनिएको कोठाबाट फोटोमा देखिएको पोस्टरहरू तथा तन्नासमेत बरामद भएको देखिन्छ भने प्रतिवादीले उक्त फोटोहरू खिच्दा प्रयोग गरिएको क्यामरासमेत बरामद भएको बरामदी मुचुल्काबाट देखिन्छ । प्रतिवादी प्रकाश ओझाले अनुचित प्रभावमा पारी शारीरिक सम्पर्क राख्ने चलचित्र खिच्ने तथा स्त्री जातिको यौन अंगको प्रदर्शन गरी आर्थिक लाभ लिनको लागि गरेको कार्यलाई वेश्यावृत्तिमा लगाएको मान्नुपर्ने हुन्छ । उल्लिखित कार्य गर्दा प्रतिवादीले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४ को खण्ड (ग) द्वारा निषेधित कसुर गरेको हुँदा सोही ऐनको दफा ८(३) बमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भनी प्रतिवादी प्रकाश ओझा विरूद्ध दायर मिति २०६१।११।२६ को अभियोग पत्र । 

म एउटा कलाकार हुँ । चर्चित गायक पनि 

हुँ । मैले ०५४ सालमा एल्बम निकालेको छु । कान्तिपुर टेलिभिजनको कुशल निर्देशक एवम् कलाकारसमेत हुँ । “ख” कुमारीलाई ०५७ सालदेखि चिन्दछु । अभिनयमा रूचि राख्ने अरू कलाकार आए जस्तै जाहेरवाली पनि मसमक्ष कलाकारिताका लागि आइन् । ०५९।०६० सालमा एल्बम म्युजिक भिडियोमा निजले पनि अभिनय गरेकी छन् । म मदानी समूह टेली सिरियल निर्माणका लागि निजसहित काठमाडौं गएँ । निज र मबीच सम्बन्ध नजिक हुँदै गयो । यसकारणले साथीहरूबीच मनमुटाव होला जस्तो भएकोले म समूह लिएर इटहरी आई सुटिङ सुरू भयो र त्यहाँ निजको सहमतिमा शारीरिक सम्बन्ध भइसकेको थियो । सांस्कृतिक कार्यक्रममा म हङकङ गएको त्यहाँबाट फर्कँदा साथीले क्यामरा दिएको 

थियो । एकदिन मदानी समूहकै अफिसमा निजसँग यौन सम्पर्क भयो । निजले क्यामरा देखेर फोटो खिच्ने कुरा गरिन् र निजको सहमतिमा नाङ्गा फोटो खिच्ने काम भयो । अफिसमा हामीलाई अप्ठेरो भए घोपा क्याम्पमा जि.८ भवनको तेस्रो तल्लाको चौथो कोठा प्रकाश पौडेलको कोठामा भेटघाट हुने गर्थ्यो । कहिले यौन सम्पर्क पनि हुन्थ्यो । नाङ्गा तथा यौनसम्बन्धी फोटोहरू टेलिभिजनमा हेर्ने गरेका थियौं । उसले हामीले पनि यस्तो फोटो खिच्दा कस्तो होला भनी र लौ न त खिचौं भनी मैले पनि खिचेँ । पछि घरिघरि घोपा क्याम्पस्थित क्वार्टरमा म एक्लै आउन अप्ठेरो हुन्छ बहिनीलाई साथै लिएर आउँछु भनी निजले भन्न 

थाली । मैले नल्याउनु एक्लै आउनु भनेँ तर आउँदा उसले बहिनी “क” कुमारीलाई पनि लिएर आई । म उसलाई चिन्थेँ । बहिनीलाई किन लिएर आएको भन्दा मैले बहिनीलाई सबै कुरा र फोटोको कुरा पनि भनिसकेको छु फरक पर्दैन भनिन् । पछि म बाहिर निस्केको बेलामा उसले बहिनीलाई अर्धनग्न बनाइसकेकी थिई । मलाई हेर्दै बहिनीलाई अस्तिनै हामीले खिचेको फोटो देखाई दिनु र हाम्रो पनि फोटो खिचिदिनु भनी । मैले फोटो खिचेँ । मैले “ख” कुमारीलाई जबरजस्ती यौन शोषण गरेको होइन । उक्त फोटोहरू “ख” कुमारीको सहमतिमा खिचेको हुँ । उसँग मैले शारीरिक सम्पर्क गर्न थालेको गत महिनाको भाद्रदेखि मात्र हो तर मैले उसलाई २०५९ सालदेखि गीतको र सिरियलको हिरोइन २०६० सालदेखि बनाएको हो । उसको लुकीछिपी फोटो खिचेको होइन र त्यसलाई बेच्ने उद्देश्य थिएन । अप्राकृतिक मैथुनलगायतको सबै यौन कार्य सहमतिमा भएको हो । रेखा कार्की, रीना बरूवाल, सम्झना पोखरेलसमेतका व्यक्ति र वस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिहरू जाहेरवाला पक्षका मानिस हुन् । फोटोहरू मदानी समूह र प्रकाश पौडेलको कोठामा खिचिएका पोस्टर हुन् । क्यामरा सि.डी. चिप्ससमेत हेरेँ देखेँ । उक्त कार्य मैले डर त्रास र धाक धम्की देखाई गरेको नभई सहमति र सल्लाहबाट भए गरेका हुन् । अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा भएको सहिछाप मेरो हो । सोमा भएको व्यहोरा मेरो हो । लेखी ल्याएको बयानमध्ये एउटा पाना मात्र मलाई पढी सुनाइयो र यही अनुसारको बयान तपाइँको छ भनी मलाई भ्रममा पारी अन्य लेखी ल्याएको कागजमा सहिछाप गराई बयान पढ्न दिएनन् । सोमा के के लेखिएको थियो मलाई थाहा भएन । मलाई पढ्न दिएको भए डर त्रास देखाई फोटो खिचिएको सम्बन्धमा लेखिएको बयानमा म सहि गर्दिनथेँ । क्यामरा आदि बरामद भएको ठीक हो । यथार्थ कुरा नबुझी सुधाले जाहेरी दिएको र “ख” कुमारीलाई पनि मेरो विरूद्धमा उजुरी दिएकोले निजको छोरी तथा अन्य चेलीबेटीहरूलाई अदालतमा ल्याएर बेइज्जत नगरियोस् भन्ने उद्देश्यले सुधाले माग गरेबमोजिम चिठी लेखेको हुँ । सिडी चक्कामा भएको लोग्ने मानिसको पत्रिका हेर्दै गरेको पहिलो फोटो प्रमोद श्रेष्ठको हो । त्यसपछि पुरूषको नाङ्गो फोटोहरू मेरा हुन् र महिलाहरूको नाङ्गो फोटोहरूमा “ख” कुमारी, मुना र “क” कुमारीको हुन् । ती फोटोहरूमध्ये मुनाको दुवै स्तन देखिने र “क” कुमारी र “ख” कुमारीको नाङ्गो अवस्थामा एउटै बेडमा सुतेको अवस्था मैले खिचेको फोटो हुन । अरू नाङ्गै योनि, लिङ्ग र स्तन देखिने यौनक्रीडा गरेको फोटोहरू मेरो र “ख” कुमारीका हुन् । ती फोटोहरूमध्ये क्यामराले खिचेको चिप्समा भएअनुसार क्रमबद्ध रूपमा सिडी चक्कामा उतारेको छैन भनी प्रतिवादी प्रकाश ओझाले अदालतमा गरेको बयान । 

म वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी हुँ । प्रकाश ओझासँग चिनजान थियो आउने जाने गर्दथ्यो । प्रकाशलाई मेरो कोठाको चाबी दिने गरेको थिएँ । प्रतिवादी प्रकाश ओझा र “ख” कुमारीका बीचको सम्बन्ध राम्रो थियो । निज प्रतिवादी र “ख” कुमारी आफूखुसी विभिन्न ठाउँमा जाने घुम्ने बस्ने सम्बन्धमा पूर्णरूपमा थाहा छैन । तर काठमाडौं जाँदासँगै बस्ने जाने गर्थे । मिति २०६१।११।४ गते बरामदी मुचुल्कामा उल्लिखित सामान तन्नासमेत मेरो कोठाबाट बरामद भएको हो । तन्ना मेरै हो । “ख” कुमारीसमेतका केटीहरूलाई वेश्यावृत्तिमा लगाउने मानिस प्रकाश ओझा होइनन् । मसँग उनको सङ्गत हुँदा आचरण राम्रो थियो भनी प्रकाश पौडेलले अदालतमा गरेको बकपत्र । 

प्रकाश ओझाले “ख” कुमारी, “क” कुमारीसमेतको नाङ्गो तस्वीर खिची ब्ल्याकमेल गरेको सम्बन्धमा मलाई केही थाहा छैन । पत्रिका पढेर थाहा पाएँ । प्रहरीमा भएको कागजमा सहि गरेको हो । भाइटीका लगाएको भन्ने सुनेको हुँ । अरू मैले लेखाएको होइन भन्ने वस्तुस्थितिका मानिस तीर्थ लिम्बूको बकपत्र । 

क्यामरा बरामद भएको ठीक हो । बरामदी मुचुल्कामा भएको सहीछाप मेरै हो । मेरो सहमतिमा नै क्यामरा राखेको हो । ती तस्वीरहरू केटीहरूका इच्छा विरूद्ध डर त्रास देखाई प्रलोभनमा पारी प्रकाशन एवम् सार्वजनिक पार्न नै खिचेको हो भनी किटानसाथ म भन्न सक्तिन भनी प्रहरीमा कागज पर्ने बन्दना थापाले अदालतमा गरेको बकपत्र । 

प्रकाश ओझाले जाहेरवाली “ख” कुमारीलाई निजको इच्छा विरूद्ध यौन सम्पर्क अरूसँग गराएको वेश्यावृत्तिमा लगाएको वा लगाउने प्रयास गरेको मलाई थाहा छैन भनी वस्तुस्थिति मुचुल्काका मानिस खडका कोइरालाले अदालतमा गरेको बकपत्र । 

प्रकाश ओझाले “क” कुमारी, “ख” कुमारीसमेतको खिचेको नग्न फोटो भनेकै प्रयोजनका लागि खिचिन्छ । सजाउन खिचिएको हैन होला । प्रतिवादीले खिचेको फोटो मैले हेरेको छैन । प्रकाश ओझा ख्याति प्राप्त कलाकार हुन् । पारिश्रमिक लिएर देश विदेशमा कार्यक्रम गर्दै थिए । जाहेरवाली “ख” कुमारी सोझी खालकी राम्रो केटी हुन् । व्यवहार राम्रो थियो भनी टीकाराम सुवेदीले गरेको बकपत्र । 

म मदानी समूहमा संलग्न छु । पहिले जाहेरवाली “ख” कुमारीले भनेर थाहा पाएकी थिएँ । पछि सी.डी. चक्का हेरेर थाहा पाएँ । वेश्यावृत्तिमा लगाउन खिचे जस्तो लाग्छ । फिल्म बनाएर बिक्री गर्न फोटो खिचेको होला जस्तो लाग्छ । प्रहरीमा भएको कागज हेरेँ कागज ठीक छ । प्रकाश ओझाको समूहमा आचरण राम्रै थियो । फोटो खिचेर वेश्यावृत्तिमा लगाउनै खोजेको, फिल्म बनाएर बेच्न खोजेको भन्ने व्यहोराको प्रहरीमा लेखाएको छु भनी रीना बरूवालले गरेको बकपत्र । 

प्रकाश ओझाकै समूहमा “ख” कुमारी काम गर्थिन । यिनीहरूको सुमधुर सम्बन्ध थियो । कामसँगै गर्दथे । सुटिङसँगै जान्थे । प्रकाशले त्यसरी झुक्याई डर त्रास देखाई वेश्यावृत्तिमा लगाएका हुन् भन्ने कुरा मलाई रत्ति पनि विश्वास लाग्दैन । सो फोटो कहाँ कहिले खिचे मलाई थाहा भएन । शारीरिक सम्बन्ध राखेको उद्देश्य थाहा छैन । प्रकाश विवाहित हुन् भनी दिनेश कार्कीले गरेको बकपत्र । 

प्रकाश ओझाले नै पीडितलाई कला सिकाएको हो । प्रकाश ओझाले कसैलाई पनि वेश्यावृत्तिमा लगाएको लगाउने प्रयास गरेको देखेको छैन । वेश्यावृत्तिमा लगाउने भन्ने कुरा म भन्न 

सक्तिन । एक आपसमा सेक्सुअल रिलेसन भएको विश्वास छ भनी प्रहरीमा कागज गर्ने प्रकाश सुब्बाले गरेको बकपत्र । 

चिप्स र सी.डी. मा देखाएको “ख” कुमारीका लगायतका तस्वीरहरू “ख” कुमारीको सहमतिले खिचेको हो भनी प्रतिवादीको साक्षी नरेन्द्रमणि पौडेलले गरेको बकपत्र । 

वादी पक्षबाट दायर अभियोगपत्रमा “ख” कुमारी तथा आफ्नो कार्यको परिणाम थाहा नपाउने मुनाको नाङ्गो फोटो खिची व्यापारिक प्रदर्शनमा राख्ने अनुचित प्रभावमा पारी शारीरिक सम्पर्क राख्ने, चलचित्र खिच्ने तथा स्त्री जातिको यौनांगको प्रदर्शन गरी आर्थिक लाभ लिने कार्यलाई वेश्यावृत्ति मान्नुपर्ने भएकाले प्रकाश ओझाले गरेको कार्य जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) द्वारा निषेधित कसुर गरेको भन्ने उल्लेख भएको 

देखिन्छ । जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को व्यवस्था हेर्दा कुनै स्वास्नी मानिसलाई ललाई फकाई वा कुनै प्रलोभन दिई वा झुक्याई वा डर त्रास वा प्रभावमा पारी वा अन्य कुनै तरिकाले वेश्यावृत्तिमा लगाउने कार्यलाई जिउ मास्ने बेच्ने कार्य भनेको छ । कानूनको यस व्यवस्थाले कसैले कुनै स्वास्नी मानिसलाई ललाई फकाई वा अन्य कुनै पनि तरिकाले वेश्यावृत्तिमा लगाउने कार्यलाई जिउ मास्ने बेच्ने अपराध मानेको छ । डा.शंकर श्रेष्ठको कानूनी शब्दकोषमा आम्दानीको लागि परपुरूषसँग सम्पर्क राख्ने कार्यलाई वेश्यावृत्ति भनिएको छ । बसन्तकुमार शर्माको नेपाली शब्दकोषले यौन सम्पर्कको कमाईलाई वेश्यावृत्ति भनेको छ । Black’s Law Dictionary मा वेश्यावृत्ति (prostitution) को सम्बन्धमा The act as practice of engaging in sexual activity for money (eight edition page no. 51 ) भनी परिभाषित गरिएको देखिन्छ । शब्दकोषमा भएका यी परिभाषालाई हेर्दा आर्थिक लाभका लागि परपुरूषसँग यौन सम्पर्क गर्ने कार्यलाई वेश्यावृत्ति मान्नुपर्ने 

हुन्छ । “ख” कुमारीसँग शारीरिक सम्पर्क गरी शारीरिक सम्पर्क गरेका फोटोहरू खिचेको, नग्न तस्वीर खिचेको कार्यलाई वेश्यावृत्तिको रूपमा अभियोजित गरिएको अभियोग दाबी कानून र प्रमाणमा आधारित 

हुनुपर्दछ । आफैँले कल्पना गरेर यी यी कार्यहरू वेश्यावृत्तिभित्र पर्दछन् भनी अभियोजित गर्न 

सकिन्न । वादी पक्षबाट यौन सम्पर्क, शारीरिक सम्पर्क गरेका नग्न तस्वीरहरू व्यापारिक प्रदर्शन गरेको भने पनि त्यो प्रमाणद्वारा पुष्टि हुन सकेको देखिँदैन । शारीरिक सम्पर्क गरेको फोटो खिच्नु नग्न तस्वीर खिच्नु जस्ता कार्यहरू पनि वेश्यावृत्तिमा पर्दछन् भनी कानूनले नभनेको कुरालाई हामी जबरजस्ती वेश्यावृत्तिमा पार्न सक्दैनौँ । नयाँ अपराध सृजना गर्ने, नयाँ मानवीय क्रियाक्लापलाई अपराध घोषणा गर्ने काम राज्यले संसद्‌द्वारा गर्ने गर्छ र गर्नुपर्दछ । अदालतले व्याख्याद्वारा नयाँ अपराधको सृजना गर्न सक्दैन । नारीसँगको सहवासको फोटो खिच्नु, अश्लील फोटो खिच्नु जस्तो कार्य हाम्रो धार्मिक सामाजिक मर्यादाविपरीतको कार्य भएकोमा कुनै शंका छैन । त्यो कार्य आधा आकाश ढाकेको महिलाको अस्मितासँग सम्बन्धित छ । त्यसैले यस्ता कार्यहरू बारम्बार समाजमा भइरहने तर कानूनद्वारा नियन्त्रण नगर्ने हो भने यो कलङ्क हुन जान्छ । अदालतले त्यस्ता सामाजिक मर्यादाका कार्यहरूमा केही गर्न नसक्दा Rule of Law र judiciary को पनि उपहास हुन पुग्दछ । यसलाई समयमै कानून बनाएर नियन्त्रण गर्नुपर्दछ । त्यो बेला आइसकेको छ र अदालतले पनि मुद्दामा उठेका प्रश्नमा व्याख्या गर्दै संसद्‌लाई कानून बनाउन घच्घचाउनु 

पर्छ । प्रतिवादी प्रकाश ओझाले “ख” कुमारीसँग शारीरिक सम्पर्क गरी नाङ्गा तस्वीरहरू खिचेको कार्यलाई वेश्यावृत्तिको रूपमा अभियोजित गरिएको वादीको अभियोग दाबी जिउ मास्ने बेच्ने (नियन्त्रण) ऐन २०४३ को दफा ४(ग) भित्र परेको मान्न सकिने कानूनी आधार नदेखिँदा प्रतिवादी प्रकाश ओझाले अभियोगदाबीबाट सफाई पाउने ठहर्छ भन्ने सुनसरी जिल्ला अदालतको मिति २०६३।२।१० को फैसला । 

सुरू अदालतले आर्थिक लाभ लिनको लागि तेस्रो पक्षबाट यौन सम्पर्क राख्न लगाउने कार्यलाई मात्र वेश्यावृत्तिको रूपमा लिएको 

पाइन्छ । विधायिकाको सो मनसाय थियो भने जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को  दफा ४ (ग) मा वेश्यावृत्तिमा लगाउने शब्दको सट्टा आर्थिक लाभ लिई यौन सम्पर्क राख्ने वा राख्न लगाउने भन्ने शब्द प्रयोग हुने थियो । तसर्थ विधायिकाले ऐनमा वेश्यावृत्ति शब्द प्रयोग गरी फराकिलो दायरामा ल्याउन खोजेकोमा अदालतबाट संकीर्ण व्याख्या गरिनु हुन्न । प्रतिवादी प्रकाश ओझामाथि लगाइएको अभियोजन जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ अन्तर्गत नपर्ने भनी अभियोगदाबीबाट सफाई दिएको सुरू सुनसरी जिल्ला अदालतको फैसला बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत, बिराटनगरमा दायर भएको पुनरावेदन पत्र । 

यसमा जाहेरवाली “ख” कुमारीको जाहेरी तथा अदालतमा भएको प्रमाणित बयानमा प्रतिवादी प्रकाश ओझाले आफूले थाहा नपाई खिचेको तस्वीर बेचबिखन गरी पैसा कमाउने गरेको भनी लेखाई दिएको, मुभी क्यामराबाट तस्वीर खिचेको कुरा प्रतिवादीले समेत लेखाई दिएकोसमेतबाट सुरू अदालतको फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, बिराटनगरको मिति २०६४।४।१७ को आदेश । 

पीडित भनिएकी “ख” कुमारीसमेतलाई कुनै प्रकारको अनैतिक कार्य वा वेश्यावृत्तिमा लगाउने नियतले फोटो खिचेको नभई निजको सहमतिबाट उक्त तस्वीर खिचेको हुँदा अभियोग दाबीअनुसार सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी प्रकाश ओझाले अदालतमा इन्कारी बयान गरेको, जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३  दफा ४(ग) को व्यवस्था हेर्दा कुनै स्वास्नी मानिसलाई ललाई फकाई  वा कुनै प्रलोभन दिई वा झुक्याएर डर त्रास वा दबाबमा पारी वा अन्य कुनै प्रकारले वेश्यावृत्तिमा लगाउने कार्यलाई मात्र कानूनले जिउ मास्ने बेच्ने अपराध मानेको छ । त्यस्तै ब्ल्याक्स ल डिक्सनरीले पनि “आर्थिक प्रलोभनका लागि परपुरूषसँग यौनजन्य कार्यलाई वेश्यावृत्ति मान्नुपर्ने हुन्छ” भनी उल्लेख गरेको पाइन्छ । प्रत्यर्थी प्रतिवादी प्रकाश ओझाले “ख” कुमारीसमेतको केवल तस्वीर खिचेको कार्यलाई नै वेश्यावृत्ति प्रयोजनको लागि नै गरिएको भनी तथ्ययुक्त आधारबाट पुष्टि गर्न सकेको देखिँदैन । दाबी नपुग्ने ठहर्‍याएको सुरू सुनसरी जिल्ला अदालतको मिति २०६३।२।१० को फैसला मिलेकै देखिँदा सदर हुन्छ भन्ने पुनरावेदन अदालत, बिराटनगरको मिति २०६६।३।३१ को फैसला । 

पीडित “ख” कुमारीले जाहेरीमा प्रतिवादी प्रकाश ओझाले नियमित २ वर्षदेखि डर, धाक, धम्की र कलाकार बनाउने अनुचित प्रलोभनमा पारी विभिन्न ठाउँमा लगी यौन शोषण गरी थाहा नै नपाउने गरी खिचेका तस्वीर बेचबिखन गरी पैसा कमाउने जस्ता कुकर्म गरी जिउ मास्ने बेच्ने कार्य गरिआएको हुँदा कारवाही गरिपाउँ भन्ने किटानी जाहेरी दिएको अवस्था विद्यमान छ । प्रतिवादी प्रकाश ओझाले अनुसन्धानको क्रममा बयान गर्दा जाहेरवालीले दाखिला गरेको सिडि, चिप्स फ्लपीहरू आफ्नो हुन् भनी स्वीकार गरेको, आफू कलाकार भएको र मदानी समूह नामक संस्थामा कार्य गरेको “ख” कुमारीलाई तेस्रो पटक शारीरिक सम्पर्क भएपछि आफूसँग भएको क्यामराले निज “ख” कुमारीको नाङ्गा तस्वीर खिचेको हुँ, मुख मैथुन गरेको हुँ भनी साबिती बयान दिएको र अदालतमा समेत साबित रहेको अवस्था विद्यमान छ । अनुसन्धानको क्रममा कागज गर्नेहरूले प्रतिवादीले अश्लील फोटोहरू खिचेको हो भनी लेखाई दिएको अवस्थासमेतबाट नग्न तस्वीर खिच्ने कार्य वेश्यावृत्ति प्रयोजनका लागि नै गरिएको भन्ने तथ्य पुष्टि गर्न सकेको देखिँदैन भन्ने आधारमा प्रतिवादी प्रकाश ओझालाई अभियोगदाबीबाट सफाई दिएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, बिराटनगरको फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको मुद्दा दोहोर्‍याई पाउँको निवेदन । 

यसमा सर्वसाधारण जनताको हित संरक्षण गर्न र समाजमा सदाचार कायम राख्ने उद्देश्यका साथ जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ बनेको उक्त ऐनको प्रस्तावनाबाट स्पष्ट हुन्छ । प्रतिवादीले पीडित नाबालिकाको मन्जुरी लिएर वा नलिई गैरकानूनी कार्यमा लगाउन हुँदैन भन्ने थाहा पाउँदापाउँदै अश्लील फोटो खिचेको भनी अनुसन्धान अधिकारीसमक्ष र पीडितको सहमतिमा फोटो खिचेको भनी अदालतसमक्ष बयान गरेबाट अभियोजन दाबीअनुसार आफूले गरेको कार्य कानूनअनुरूप नभएको कुरालाई निजले स्वीकार गरेको पाइन्छ । प्रतिवादीबाट गरिएको कार्य अपराधजन्य रहेको निष्‍कर्षमा पुगेर पनि जिउ मास्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ (ग) को परिभाषाभित्र नपरेको भनी सजायको व्यवस्था नभएको इंगित गरी मुलुकी ऐन, दण्ड सजायको महलको १२ नं. बमोजिम सजाय हुनेतर्फ दृष्टि नदिई गरेको पुनरावेदन अदालत, बिराटनगरको फैसला कानूनको व्याख्या र प्रयोजन साथै अ.बं. १८४ क नं. र प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ बमोजिम प्रमाण मूल्याङ्कनको आधारमा समेत त्रुटिपूर्ण देखिँदा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०६७।९।९ को आदेश । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुसालले पीडित “ख” कुमारीको जाहेरी दरखास्त र प्रमाणित बयानमा प्रतिवादीले निजलाई ललाई फकाई बलात्कार गरेको र नाङ्गो तस्वीर खिची साथीहरूसँग यौन सम्पर्क गर्न भनी वेश्यावृत्तिमा लगाउन खोजेको व्यहोरा उल्लेख छ । अपराधसँग सम्बन्धित सिडी, फ्लपीहरू मिसिल संलग्न छन् । प्रतिवादी प्रकाश ओझाले आफूलाई करकापमा पारी आफ्नो नग्न तस्वीर खिचेको भनी पीडितले लेखाई दिएको र प्रतिवादी प्रकाश ओझाले अनुसन्धानको क्रममा तथा अदालतमा समेत जाहेरवालीसँग यौनसम्पर्क गरेको र निजको तस्वीर खिचेको कुरा स्वीकार गरी बयान गरेबाट प्रतिवादी प्रकाश ओझाले ती कार्यहरू वेश्यावृत्ति प्रयोजनका लागि नै गरेको भन्ने दाबी प्रमाणित छ । यस अवस्थामा प्रतिवादी प्रकाश ओझालाई अभियोगदाबीबाट सफाई दिएको सुरू जिल्ला अदालत र पुनरावेदन अदालत, बिराटनगरको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

प्रत्यर्थी प्रतिवादीका तर्फका उपस्थित विद्वान् अधिवक्ता श्री परशुराम कोइरालाले यस अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्दा लिएको मुलुकी ऐन, दण्डसजायको महलको १२ नं. को आधार मिलेको 

छैन । प्रतिवादी प्रकाश ओझाले पीडितको फोटो खिचेको कार्य जिउ मास्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ (ग) को परिभाषाभित्र पर्ने विषय होइन । प्रतिवादीले पीडितालाई वेश्यावृत्ति प्रयोजनका लागि प्रयोग गरेको भन्ने दाबी प्रमाणित छैन । गोश्वारा बोली प्रयोग गरी दायर अभियोग दाबीबमोजिम सजाय गर्न नमिल्ने हुँदा सुरू सुनसरी जिल्ला अदालत र पुनरावेदन अदालत, बिराटनगरको  फैसला सदर कायम गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

प्रस्तुत मुद्दाको मिसिलको अध्ययन गरियो । 

जाहेरवाली “ख” कुमारीलाई प्रतिवादी प्रकाश ओझाले २ वर्षदेखि अनुचित प्रभावमा पारी तेरो नाङ्गो फोटो मसँग छ भनी अनैतिक सम्बन्ध राखेको र धरान घोपा क्याम्पको जिएट बिल्डिङ्गमा कान्तिपुर टिभीका मान्छेहरू आउँछन् भनी बोलाई शारीरिक सम्पर्क राखी सोको फोटोसमेत थाहा नपाउने गरी खिचेको र निजकी १२ वर्षकी बहिनी “क” कुमारीलाई पनि घोपा क्याम्पमा बोलाई निज तथा बहिनीलाई समेत बाध्य बनाई नाङ्गो पारी फोटो खिची विभिन्न ठाउँमा लगी यौनशोषण गरेको र तस्वीर बेचबिखन गरी पैसा कमाउने उद्देश्यले कार्य गरेको भनी जाहेरवालीले लेखाई दिएको 

देखिन्छ । जाहेरवाली “क” कुमारीसँग यौनक्रीडारत अवस्थामा खिचेको फोटो आफूले चिनी क्यामरालाई फोटो खिच्ने पोजिसनमा राखी आफू र “ख” कुमारीसमेतलाई क्यामराले कभर गर्ने ठाउँमा राखी यौन सम्पर्कसमेत गरी त्यसको भिडियो चित्र खिचेको तथा सी.डी.मा देखिएको स्थिर नाङ्गा फोटोहरूसमेत आफैँले खिचेको स्वीकार गरी प्रतिवादीले बयान गरेको देखिन्छ । मिसिल संलग्न सी.डी.मा संकलित गरिएका स्थिर तथा गतिशील तस्वीरहरू व्यक्तिगत प्रयोजनमा आउन नसक्ने प्रकृतिका देखिँदा आफूसँग यौन सम्पर्क राखी खिचेको फोटाबाट अश्लील चलचित्र बनाई बिक्री गर्ने प्रतिवादीको योजना रहेको भन्ने जाहेरवालाको भनाई विश्वासयोग्य देखिएको छ । प्रतिवादी प्रकाश ओझाले अनुचित प्रभावमा पारी पीडितसँग शारीरिक सम्पर्क राख्ने, चलचित्र खिच्ने तथा स्त्री जातिको यौन अंगको प्रर्दशन गरी आर्थिक लाभ लिनको लागि गरेको कार्यलाई वेश्यावृत्तिमा लगाएको मान्नुपर्ने 

हुन्छ । उल्लिखित कार्य गरी प्रतिवादीले जिउ मास्ने बेच्ने कार्य नियन्त्रण ऐन, २०४३ को दफा ४ को खण्ड (ग) द्वारा निषेधित कसुर गरेको हुँदा सोही ऐनको दफा ८(३) बमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भनी प्रतिवादी प्रकाश ओझा विरूद्ध मिति २०६१।११।२६ मा अभियोगपत्र दायर भएको देखिन्छ । 

यौन सम्पर्कसमेत गरेका नग्न तस्वीरहरूको प्रतिवादीले व्यापारिक प्रर्दशन गरेको भन्ने तथ्य प्रमाणबाट पुष्टि हुन नसकेको, शारीरिक सम्पर्क गरेकोसमेतको नग्न तस्वीर खिच्नेसमेतका कार्यहरू वेश्यावृत्तिमा पर्ने भनी कानूनले नभनेकोसमेतबाट प्रतिवादीले अभियोगदाबीबाट सफाई पाउने ठहर्छ भन्ने सुनसरी जिल्ला अदालतको मिति २०६३।२।१० को फैसला देखिन्छ । त्यसमा चित्त नबुझाई अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भनी वादी नेपाल सरकारले पुनरावेदन गरेकोमा वेश्यावृत्ति प्रयोजनको लागि नै नग्न तस्वीर खिचेको भनी तथ्ययुक्त आधारबाट पुष्टि गर्न नसकेकोले सुरू सुनसरी जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, बिराटनगरको मिति २०६६।३।३१ को फैसला देखिन्छ । त्यसमा चित्त नबुझाई पुनरावेदन अदालतको फैसला दोहोर्‍याई हेरिपाउँ भनी वादी नेपाल सरकारले यस अदालतमा निवेदन गरेको अवस्था 

छ । सर्वसाधारण जनताको हित संरक्षण गर्न र समाजमा सदाचार कायम राख्ने उद्देश्यका साथ जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ बनेको उक्त ऐनको प्रस्तावनाबाट स्पष्ट हुन्छ । अभियोजन दाबीअनुसार आफूले गरेको कार्य कानूनअनुरूप नभएको कुरालाई प्रतिवादीले स्वीकार गरेको पाइन्छ । अदालतले आफ्नो इन्साफमा प्रतिवादीबाट गरिएको कार्य अपराधजन्य रहेको निष्‍कर्षमा पुगेर पनि जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(ग) को परिभाषाभित्र नपरेको भनी सजायको व्यवस्था नभएको इंगित गरी मुलुकी ऐन, दण्ड सजायको महलको १२ नं. बमोजिम सजाय हुनेतर्फ दृष्टि नदिएको र सो फैसलामा अ.बं. १८४क नं. र प्रमाण ऐन २०३१ को दफा ३ र ५४ को त्रुटि रहेको भनी यस अदालतले दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरेको देखिन्छ । 

अब पुनरावेदन अदालत, बिराटनगरको फैसला मिले नमिलेको के हो र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो त्यसमा निर्णय दिनुपर्ने भई विचार गर्दा जाहेरवाली र दुई नाबालिकासमेतको पटकपटक अश्लील फोटो खिचेर संग्रह गरेको, क्यामरालाई तस्वीर लिन सक्ने ठाउँमा राखी जाहेरवाली ख कुमारीसँग यौन सम्पर्करत रहेको विभिन्न अप्राकृतिक मैथुनसमेतको नाङ्गा गतिशील र स्थिर फोटोहरू खिचेकोसमेतका अभियोगदाबीको तथ्यमा प्रतिवादीको स्वीकारोक्ति रहेको छ । 

जाहेरवालीबाट आएका देहायको कुरालाई प्रतिवादीले अदालतमा अस्वीकार गरेको देखिन्छ - 

इटहरीमा मदानी समूहको अफिसमा तैंले थाहा नपाउने गरी तैंले नुहाउन लागेको समयमा नाङ्गो फोटोहरू खिचेको छु तैंले मलाई शारीरिक सम्पर्क राख्न दे नत्र फोटोहरू सार्वजनिक गरी तेरो बेइज्जत गरिदिन्छु भनी प्रतिवादीले भनेको र नग्न तस्वीरहरू देखाई ब्ल्याकमेल गरी डर धाक धम्की दिएपछि अस्मिता बचाउनका लागि निजसँग शारीरिक सम्पर्क गर्न र उसले बोलाएको ठाउँमा जान बाध्य भएको, प्रतिवादी आफू पनि नग्न भई इटहरी र धरानमा पटकपटक निजले भने जस्तो र चाहे जस्तो स्टाईलमा फोटो खिच्न बाध्य गराएको र मलाई विभिन्न प्रकारका अप्राकृतिक मैथुन गर्न लगाएको,

२०६१ सालको असोज महिनामा जाहेरवालीलाई धरान घोपा क्याम्पमा कान्तिपुर टेलिभिजनका ठूला मानिसहरू तिम्रो अन्तर्वार्ता लिन आउँदैछन् हाँसीखुसी राम्रोसँग अन्तरवार्ता दिनु पास भए भाग्य चम्किन्छ भनी प्रतिवादीले झुक्याई लगेको, 

निजले तेरो साथीहरू र बैनीलाई पनि लिएर आउनु भनेकाले बैनी “क” कुमारीलाई साथमा लिई घोपा क्याम्पमा पहिलेकै जिएट भन्ने भवनमा जाँदा त्यहाँ पनि प्रकाश ओझाले बहिनी “क” कुमारीलाई जबरजस्ती नाङ्गो बनाई मलाईसमेत नाङ्गो हुन बाध्य गराई मेरो तथा बहिनीको समेत नाङ्गो तस्वीरहरू खिचे । सोपश्चात् निजले मेरी बहिनी “क” कुमारीसँग शारीरिक सम्बन्ध राख्छु भन्दा नाबालक बहिनीलाई नबिगार भनेपछि निजले बहिनीसँग शारीरिक सम्पर्क राखेनन्, 

प्रकाश ओझाले जाहेरवालीलाई विगत २ वर्षदेखि कान्तिपुर टिभीमा फिल्म खेलाई दिन्छु, त्यसका लागि केही नाङ्गा तस्वीरहरू पनि आवश्यक पर्ने हुँदा नाङ्गा तस्वीर खिचाउनु पर्छ भनी विभिन्न आश्वासन दिई झुठो सपना देखाएका, झुक्याई ललाई फकाई पछि हिरोनी बनाई दिने जस्ता प्रलोभन देखाई बेलाबेलामा मेरा साथीहरूसँग समेत तिमीले यौन सम्पर्क राख्नुपर्छ भनी मेरो नाङ्गा तस्वीरहरूबाट अश्लील चलचित्र निकाल्ने योजना बनाई मलाई वेश्यावृत्तिमा लगाई सोबाट निजले नाजायज फाइदा पैसा कमाउनेसम्मको कार्य गर्न पुगेको । 

 

२. प्रतिवादीको मौकाको बयानको जवाफ १० मा “ख” कुमारी तथा निजको बहिनी “क” कुमारीको नाङ्गो फोटोहरू विभिन्न डर धाक र धम्की दिई मदानी समूहको अफिसमा पहिला पटक खिचेको र त्यसपछि धरान घोपाको जिएट बिल्डिंगको तेस्रो तलाको प्रकाश पौडेलको डेरा कोठामा विभिन्न स्टाइलका नाङ्गो यौनक्रीडारत फोटोहरू तथा मुख मैथुनसमेतका फोटाहरू मैंले नै आफ्नो डिजिटल क्यामराबाट खिचेको हुँ भन्ने व्यहोरालाई प्रतिवादीले अस्वीकार गरी अदालतमा बयान गरेको अवस्था छ । तर उक्त बयानमा भएको सहिछाप मेरो हो । सो बयानमा भएको व्यहोरा मेरो हो । लेखी ल्याएको बयानमध्ये एउटा पानामात्र मलाई पढी सुनाइयो र यहीअनुसारको तपाईको बयान छ भनी मलाई भ्रममा पारी अन्य लेखी ल्याएको कागजमा सहिछाप गराएको थियो । उक्त बयान पढ्न दिइएन । सोमा केके लेखिएको थियो मलाई थाहा भएन । मलाई पढ्न दिएको भए डर त्रास देखाई फोटो खिचिएको सम्बन्धमा लेखिएको बयानमा म सही गर्दिनथिएँ ...भनी यी प्रतिवादीले अदालतमा बयान गर्दा मौकाको बयानका सम्बन्धमा उल्लेख गरेको व्यहोरा विचारणीय छ । 

३. प्रतिवादीको मौकाको बयानको प्रमाणिकताको सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क)(१) मा सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो, (२) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन, (३) सो अभियोगबारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारवाहीको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्यरूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्न सक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसंगतरूपमा विश्वास गरेको थियो भन्ने व्यवस्था रहेको देखिन्छ । यसअनुसार यी प्रतिवादी मौकामा बयान गर्दा सक्षम र स्वतन्त्र नरहेकोलगायतका माथि उल्लिखित अवस्थामा मात्र प्रतिवादीको मौकाको बयानलाई निज विरूद्ध प्रमाणमा लिन मिल्ने 

हुँदैन । प्रतिवादीलाई अनुसन्धानकर्ताले भ्रममा पारेको कारणबाट मौकाको बयान प्रतिवादी विरूद्ध प्रमाण नलाग्ने भनी प्रमाण ऐनमा कुनै व्यवस्था रहेको 

पाइँदैन । प्रतिवादीलाई अनुसन्धानकर्ताले भ्रममा पारेको कारणबाट भएको निजको मौकाको बयान अमान्य हुने जस्ता कुराहरू आफैँमा भ्रमात्मक vague मानिन्छन् । यस्ता भ्रमात्मक प्रावधानबाट कानूनको प्रयोग अनिश्चित हुने हुँदा कानूनमा यस्ता शब्दहरू राखिँदैनन् । प्रहरीले एउटा पाना मात्र सुनाएर अरू यसैअनुरूप छ भनेर प्रतिवादीलाई भ्रममा पारेको भन्ने प्रतिवादीको कथन नै भ्रमपूर्ण छ । प्रहरीले प्रतिवादीलाई भ्रममा पारेको मान्नुभन्दा पहिले यो हेर्न आवश्यक छ कि प्रतिवादी त्यसरी भ्रमित हुने व्यक्ति हुन् वा 

होइनन् । प्रहरीले प्रतिवादीलाई बयान पढ्न वा सुन्न नदिनुपर्ने कुनै कारण छैन । त्यस्तो भएको भए पढ्न पाउँ अनिमात्र सही गर्छु भनी प्रहरीलाई भन्न प्रतिवादीलाई कुन कुराले रोकेको थियो यसलाई प्रतिवादीले स्पष्ट गर्नुपर्छ । बयान पढ्नुहोस् अनिमात्र सही गर्छु भनी आफूले प्रहरीलाई भनेको तर प्रहरीले नमानेको भन्ने प्रतिवादीको कथन छैन । अतः प्रहरीले प्रतिवादीलाई भ्रममा पारी मौकामा कागज गराएको भन्ने कुरालाई प्रमाणित गर्ने भार प्रतिवादीमा रहने कानूनी व्यवस्थाअनुरूप प्रतिवादीले सो कुरा प्रमाणित गर्न नसकेकोले प्रतिवादीको मौकाको बयान उक्त दफा ९ उपदफा (१) बमोजिम प्रतिवादीका विरूद्ध प्रमाण लाग्ने हुन्छ । 

४. प्रतिवादीको मौकाको बयान राजीखुसीले भएको भन्ने कुराको थप यकिन मिसिल संलग्न अन्य प्रमाणहरूबाट हुन्छ । ती प्रमाण पनि प्रतिवादी विरूद्ध भएमा प्रतिवादीको मौकाको बयान निज विरूद्ध प्रमाणमा लिनुपर्ने हुन्छ । 

५. प्रतिवादीले अदालतमा गरेको बयानमा जाहेरवालीका माथि उल्लिखित व्यहोरालाई अस्वीकार गर्दै पीडितसमेतको नाङ्गा तस्वीर निजको सहमतिमा खिचेको हुँ प्रलोभनमा पारी वा जबरजस्ती गरी खिचेको होइन भन्ने जिकिर लिएको देखिन्छ । प्रतिवादीको उक्त जिकिरलाई सुरू जिल्ला अदालतले मानेर प्रतिवादीलाई उन्मुक्ति दिएको र पुनरावेदन अदालतले त्यसैलाई सदर गरेको 

देखिन्छ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले सुरू जिल्ला अदालतको फैसला सदर गर्दा खासै निर्णयाधार दिन सकेको देखिँदैन । सुरू जिल्ला अदालतको फैसलामा अभियोगपत्रमा “ख” कुमारीसँग शारीरिक सम्पर्क गर्नु, शारीरिक सम्पर्क गरेको र नग्न तस्वीर खिच्नु जस्ता कार्यहरू वेश्यावृत्तिमा पर्दछन् भनी कानूनले भनेको छैन । नयाँ अपराध सृजना गर्ने र अपराध घोषणा गर्ने काम राज्यले मात्र गर्न सक्दछ र गर्नुपर्दछ । अदालतले व्याख्याद्वारा नयाँ अपराधको सृजना गर्न सक्दैन । यदि गरिन्छ भने त्यो आधुनिक फौजदारी कानूनको सर्वमान्य सिद्धान्तको विपरीत हुन जान्छ । नारीसँगको सहवासको फोटो खिच्नु, अश्लील फोटो खिच्नु जस्ता कार्य हाम्रो धार्मिक र सामाजिक मर्यादाविपरीतका कार्य भएकोमा कुनै शंका छैन । त्यो कार्य आधा आकाश ढोकेको महिलाको अस्मितासँग सम्बन्धित छ । त्यसैले यस्ता कार्यहरू बारम्बार समाजमा भई रहने तर कानूनद्वारा अपराधीकरण गरी नियन्त्रण नगर्ने हो भने मानव जातिका लागि यो कलङ्क हुन जान्छ । अदालतले त्यस्ता सामाजिक मर्यादाका कार्यहरूमा केही गर्न नसक्दा Rule of law  र Judiciary को पनि उपहास हुन पुग्दछ । त्यसैले समयमै यसलाई राष्ट्रले संसदद्वारा कानून बनाएर नियन्त्रण गर्नुपर्दछ । त्यो बेला आइसकेको छ र अदालतले पनि आफ्नो अगाडि आएका मुद्दामा उठेका प्रश्नमा व्याख्या गर्दै संसद्‌लाई कानून बनाउन घचघचाउनु पर्दछ भनी उल्लिखित व्यहोराबाट प्रतिवादीबाट भएको यो कामलाई त्यसै उम्कन दिन मिल्दैन भन्ने कुरालाई सुरू जिल्ला अदालतले स्वीकार गरेको देखिन्छ । 

६. सबभन्दा पहिले सहमतिमा खिचिएका नाङ्गा तस्वीरहरूलाई कानूनले अपराध मानेको छैन भन्ने तल्ला अदालतको निष्कर्षमा विचार गरौं । जबरजस्ती करणीको महलको १ नं. मा मन्जुरी नलिई भन्ने वाक्यांश र त्यसको स्पष्टीकरणको देहाय (क) डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन भन्नेसमेतको प्रावधानबाट पीडितको सहमति भएमा जबरजस्ती करणीको कसुर नहुने कुरा स्पष्ट छ । तर जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ मा पीडितको सहमतिले भएको कार्य कसुर नहुने भन्ने प्रतिरक्षाको व्यवस्था छैन । 

७. पीडितको उन्मुक्तिको सम्बन्धमा विद्वान् स्मिथ र होगानको क्रिमिनल ल तेह्रौं संस्करणको पृष्ठ २४० र २४१ मा देहायको विचार व्यक्त भएको पाइन्छः Where the statute is designed for the protection of a certain class of persons it may be construed as excluding by implication the liability of any member of that class who is the victim of the offence, even though that member does in fact aid, abet, counsel or procure the offence. यो उन्मुक्ति…’women’ as well as girls and it may well be that it extends to the offences of procuration of women to be prostitutes ले पाउने भनी एउटा मुद्दा र Congdon 1990 मा it was held that it applied to the prostitute who abets a man who is living off her earnings ले पाउने भनी भएको फैसलाहरू उल्लेख गर्नु भएको देखिन्छ । 

८. पीडितको उन्मुक्तिको सिद्धान्तबारे बेलायतको कानून आयोगले (LAW COM No 305) को प्रतिवेदनको 1.57 मा Under the current law, if an offence is enacted to protect a category of persons and D falls within that category, D cannot be convicted of committing the offence as a secondary party (or of inciting P to commit the offence). This is known as the Tyrrell exemption. In Tyrrell, P, an adult, had unlawful sexual intercourse with D, a child aged between 13 and 16. It was alleged that D had encouraged P to commit the offence. Despite this, the court held that D could not be liable as a secondary party because the primary offence was intended to protect “victims from themselves”. Our scheme preserves and refines the common-law Tyrrell exemption. 

1.58 We are recommending that D should not be held liable as a secondary party or as a principal offender by virtue of innocent agency if: (1) the principal offence is one that exists for the protection of a particular category of person; (2) D falls within that category; and (3) D is the victim of the principal offence.

उक्त उन्मुक्ति के कस्तो अवस्थामा कस्ताले पाउने भनी सो आयोगले एउटा उदाहरणसमेत दिएको यस्तो छः 

D1 (a 12-year-old girl) and D2 (D1’s 15-year-old female friend) encourage P to have sexual intercourse with D1. P subsequently has sexual intercourse with D1 thereby committing the offence of rape of a child under the age of 13. D2, but not D1, would be secondarily liable for P’s offence on the basis that D1 would be regarded as the ‘victim’ of P’s offence. Parliament intended section 5 of the Sexual Offences Act 2003 to protect children under the age of 13 from themselves, as well as from predatory adults. D1 would not be secondarily liable for P’s offence even though it was her intention to encourage P to have sexual intercourse with her. By contrast, D2 would be secondarily liable for P’s offence on the basis that she was not a ‘victim’ of the offence and it was her intention that P should have sexual intercourse with D1.

९. उक्त उदाहरण नाबालकको जबरजस्ती करणीसँग सम्बन्धित रहेकोले १५ वर्षकी पीडितकी साथीले उन्मुक्ति पाउन नसकेको देखिन्छ । तर मानव बेचबिखन (human trafficking) अन्तर्गतको वेश्यावृत्तिको पीडित जुनसुकै उमेरकी भएपनि निजको सहमतिको कुनै अर्थ नरहने र प्रतिवादीको actus reus मात्र पनि यो कसुरको मूल तत्त्व ingredient हुने गरी यसको निर्माण र त्यैअनुरूप यसको प्रयोग हुँदै आएकोले म राजीखुसीले बेचिन, मासिन, वेश्यावृत्ति गर्न र शोषित हुन चाहेकी वा चाहेको हुँ भनी पीडितले प्रतिवादीलाई उन्मुक्ति दिने र प्रतिवादीले पाउने कुनै गुन्जाइस छैन । जसरी मृतकको हत्या गर्नेले मृतकको सहमतिलाई बचाउको आधार बनाउन सक्तैन ठीक त्यही कुरा यसमा लाग्छ । यो ऐनअन्तगर्तको कसुरमा पीडित न मतियार हुन सक्छ न मुख्य कर्ता । 

१०. सुरू जिल्ला अदालतले भने जस्तो साँच्ची नै प्रतिवादीबाट भएको कार्यलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले नसमेटेको र अभियोगदाबी पुग्दा अदालतबाट नयाँ अपराधको सृजना हुने अवस्था छ वा यसमा कानूनको प्रयोगको प्रश्न मात्र उपस्थित छ, यसमा विचार गर्नु आवश्यक छ । 

११. विद्वान्‌ Bennion को पुस्तक On Statutory Interpretation, 4th ed (2002), p 810, section 304, entitled, “Nature of purposive construction” मा “A purposive construction of an enactment is one which gives effect to the legislative purpose by- (a) following the literal meaning of the enactment where that meaning is in accordance with the legislative purpose…, or (b) applying a strained meaning where the literal meaning is not in accordance with the legislative purpose….” भनी कानूनको उद्देश्य सार्थक व्याख्याका बारेमा उल्लेख भएको पाइन्छ । सो सिलसिलामा विद्वान्‌ले Kammins Ballrooms Co Ltd v Zenith Investments (Torquay) Ltd [1971] AC 850 को मुद्दा यो व्याख्याको एक उदाहरण रहेको कुरा उल्लेख गर्दै यो व्याख्याको लागि First, it was possible to determine from a consideration of the provisions of the Act read as a whole precisely what the mischief was that it was the purpose of the Act to remedy; secondly, it was apparent that the draftsman and Parliament had by inadvertence overlooked, and so omitted to deal with, an eventuality that required to be dealt with if the purpose of the Act was to be achieved; and thirdly, it was possible to state with certainty what were the additional words that would have been inserted by the draftsman and approved by Parliament had their attention been drawn to the omission before the Bill passed into law…. ” भनी उल्लेख गर्नु भएको देखिन्छ । 

१२. उल्लिखित व्यहोराबाट शाब्दिक व्याख्याको आडमा फौजदारी कानूनको प्रयोग नै गर्न नमिल्ने गरी त्यसलाई निष्क्रिय गर्न नमिल्ने र दण्डहीनताले प्रोत्साहन पाउन नहुने कुरामा अदालत चनाखो हुनु पर्ने हुन्छ । यो सर्वत्र र नेपालमा पनि स्वीकृत कुरा हो । 

१३. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४(१), नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(४) र नेपालको संविधानको धारा २०(४) को अध्ययनबाट कानूनले नै कसुर कायम गर्ने र कानूनले कसुर नमानेको कामकुरामा कुनै व्यक्ति सजायभागी नहुने देखिन्छ । यस्तै व्यवस्था युरोपिय मानव अधिकार संविदाको धारा ७(१) मा रहेको 

पाइन्छ । सो सन्दर्भमा विद्वान् Smith and Hogan लिखित Criminal Law - 13th edition मा उक्त धारा ७ को उपधारा (२) This Article shall not prejudice the trial and punishment of any person for any act or omission which, at the time it was committed, was criminal according to the general principles of law recognized by civilized nations. बारे यूरोपिय अदालतको धारणा यस्तो देखिन्छः- The Strasbourg Court looks to whether the individual can know from the wording of the relevant provision and, if need be, with the assistance of the courts’ interpretation of it, which acts and omissions will make him criminally liable. … As the court noted in SW v United Kingdom 1995: However clearly drafted a legal provision may be, in any system of law, including criminal law, there is an inevitable element of judicial interpretation. There will always be a need for elucidation of doubtful points and for adaptation to changing circumstances. Indeed, in the United Kingdom, as in the other Convention States, the progressive development of the criminal law through judicial law-making is a well-entrenched and necessary part of legal tradition. Art 7 of the Convention cannot be read as outlawing the gradual clarification of the rules of criminal liability through judicial interpretation from case to case, provided that the resultant development is consistent with the essence of the offence and could reasonably be foreseen. भनी जतिसुकै स्पष्ट मसौदायुक्त कानून बनेपनि त्यसमा न्यायिक व्याख्याको महत्त्वपूर्ण स्थान रहने inevitable element of judicial interpretation, त्यसका अस्पष्ट बुँदाहरूको स्पष्टता always be a need for elucidation of doubtful points र परिवर्तित परिस्थितिअनुरूप कानूनको प्रयोग and for adaptation to changing circumstances आवश्यक रहने देखिन्छ । त्यसैगरी न्यायिक विधि निर्माणद्वारा कानूनको प्रगतिशील विकास the progressive development of the criminal law through judicial law-making भन्ने कुरा विधि परम्पराको एक सुदृढ र आवश्यक कुरा नै भएको is a well-entrenched and necessary part of legal tradition भनी उल्लेख भएको 

पाइन्छ । अतः  कसुरको सार तत्त्वसँग मिल्ने गरी विवेकपूर्ण किसिमले पूर्वानुमान गर्न सकिने कसुरको हकमा मुद्दाको प्रकृतिअनुसार न्यायिक व्याख्याद्वारा फौजदारी कसुरसम्बन्धी दायित्वलाई क्रमशः स्पष्ट पार्ने कार्यलाई धारा ७ ले अवैध मान्दैन the gradual clarification of the rules of criminal liability through judicial interpretation from case to case, provided that the resultant development is consistent with the essence of the offence and could reasonably be foreseen भनी उक्त अदालतले एक कालजयी व्याख्या गरेको देखिन्छ । 

१४. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८४, नेपालको अन्तरिम संविधानको धारा १००(१) र नेपालको संविधानको धारा १२६(१) मा नेपालको न्यायसम्बन्धी अधिकार यो संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिनेछ भनी भएको व्यवस्थाबाट उल्लिखित न्यायको मान्य सिद्धान्तले संवैधानिक समर्थन पाएको देखिन्छ । 

१५. त्यस आधारमा हेर्दा जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को प्रस्तावनामा जिउ मास्ने बेच्ने काममा रोक लगाउन वाञ्छनीय भएकोले भनी ऐन आउनुको कारण उल्लेख छ । उक्त ऐनको दफा ३ “कसैले जिउ मास्ने बेच्ने कार्य गर्नु हुँदैन” भन्ने र दफा ४ “कसैले देहायका कुनै कार्य गरेमा निजले जिउ मास्ने बेच्ने कार्य गरेको मानिनेछः- (ग) कुनै स्वास्नी मानिसलाई ललाई-फकाई वा कुनै प्रलोभन दिई वा झुक्याई वा डर त्रास वा दबाबमा पारी वा अन्य कुनै तरिकाले वेश्यावृत्तिमा लगाउन वा (घ) माथि खण्डहरूमा लेखिएको कुनै कार्य गर्नको लागि परिपञ्च मिलाउने वा त्यस्तो कार्य गर्नमा सहयोग पुर्‍याउने वा त्यस्तो कार्यमा लाग्न कसैलाई दुरूत्साहन गर्ने वा त्यस्तो कार्य गर्न उद्योग गर्न । “ भन्ने व्यवस्था रहेको पाइन्छ । 

१६. यसैलाई निरन्तरता दिएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को प्रस्तावनामा मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्नेसम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले भनी उल्लेख भएको पाइन्छ । उक्त ऐनको दफा ३० “खारेजी र बचाउः (१) जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ खारेज गरिएको छ । (२) उपदफा (१) बमोजिमको ऐनअन्तर्गत भए गरेका काम कारवाहीहरू यस ऐनबमोजिम भए गरेका मानिनेछन् । “ 

१६. पीडितको तस्वीरहरूको बारेमा प्रतिवादीको मौकाको बयानमा मदानी समूहद्वारा निर्माण र प्रदर्शन गरिने नाटक, टेली सिरियल र म्युजिक भिडियोहरूमा जाहेरवाली “ख” कुमारीले पनि पारिश्रमिक लिएर अभिनय गर्दै आएकी हुन् ।.. जाहेरवालीसँग मेरो दाजु बहिनीको नाता 

छैन । कलाकारको नाता मात्र हो । भनी र पीडित मुनाले आफूसँग फोटो खिची दिनुहोस् भन्दा मैले म त नाङ्गो फोटोहरू मात्र खिच्दछु भन्दा मुनाले हुन्छ भनेपछि मैले पहिलोपल्ट मदानी समूहको अफिसमा मुनाको अश्लील फोटोहरू खिचेको हो । त्यसपछि पनि म मुनाको घरको बाटो आउने जाने गर्दा मलाई निजले घरमा बोलाई फेरि फोटो खिची दिने होइन भनी कुरा गर्दा मैले आफूसँग क्यामरा भएको बेला पुनः मुनाको अश्लील फोटाहरू खिचेको छु ...विभिन्न स्टाइलमा नाङ्गा तस्वीरहरू खिची संग्रह गरी राखेको छु । यो चिप्सभित्र खिचिएको फोटो संग्रह हुनेगर्दछ र त्यसबाट आफूले चाहेको बेला फोटोहरू निकाल्न सकिन्छ ... खिचेका तस्वीरहरू नष्ट गर्न पनि लोभ लागेको थियो भनी उल्लेख भएको पाइन्छ । 

१७. प्रतिवादीको अदालतको बयानमा म एउटा कलाकार, चर्चित गायक र कान्तिपुर टेलिभिजनको कुशल निर्देशकसमेत हुँ । मैले ०५४ सालमा एल्बम निकालेको छु । ...अभिनयमा रूचि राख्ने अरू कलाकार आए जस्तै जाहेरवाली पनि मसमक्ष कलाकारिताका लागि आइन् । ०५९।०६० सालमा एल्बम म्यूजिक भिडियोमा निजले पनि अभिनय गरेकी छिन् । म मदानी समूह टेली सिरियल निर्माणका लागि निजसहित काठमाडौं गएँ । ...सांस्कृतिक कार्यक्रममा म हङकङ गएको त्यहाँबाट फर्कदा साथीले क्यामरा दिएको थियो । ... (जाहेरवालीले) क्यामरा देखेर फोटो खिच्ने कुरा गरिन् र निजको सहमतिमा नाङ्गा फोटो खिच्ने काम भयो । ...नाङ्गा तथा यौनसम्बन्धी फोटोहरू टेलिभिजनमा हेर्ने गरेका थियौं । उसले हामीले पनि यस्तो फोटो खिच्दा कस्तो होला भनी । लौ न त खिचौं भनी मैले पनि खिचेँ । घरिघरि घोपा क्याम्पको सो क्वार्टरमा म एक्लै आउन अप्ठेरो हुन्छ बहिनीलाई साथै लिएर आउँछु भनी निजले भन्न 

थाली । मैले नल्याउनु एक्लै आउनु भने तर आउँदा उसले बहिनी “क” कुमारीलाई पनि लिएर आई । म उसलाई चिन्थे । बहिनीलाई किन लिएर आएको भन्दा मैले बहिनीलाई सबै कुरा र फोटोको कुरा पनि भनिसकेको छु फरक पर्दैन भनिन् । पछि म बाहिर निस्केको बेलामा उसले बहिनीलाई अर्धनग्न बनाइसकेकी थिई । मलाई हेर्दै बहिनीलाई अस्तिनै हामीले खिचेको फोटो देखाई दिनु र हाम्रो पनि फोटो खिचिदिनु भनी । मैले फोटो खिचे । ...उसँग मैले शारीरिक सम्पर्क गर्न थालेको गत महिनाको भाद्रदेखि मात्र हो तर मैले उसलाई गीतको हिरोइन २०५९ साल देखि नै र सिरियलको हिरोइन बनाएको २०६० आश्विनदेखि हो । भनी उल्लेख भएको पाइन्छ । 

१८. प्रतिवादीका यी कुराहरूलाई पीडितहरूले इन्कार गरेका छन् । पीडितहरूले आफ्नो चरित्रमा दाग लाग्ने गरी भनेको कुरा प्रतिवादी विरूद्ध प्रमाण लाग्नेसम्बन्धमा प्रशस्त नजिर बनेका छन् । त्यसमाथि जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६ को उपदफा (१) र (२) मा उजुर गर्ने व्यक्ति बेचबिखन गर्न वा वेश्यावृत्तिमा लगाउन लगिएको वा बेचबिखन गरिएको वा वेश्यावृत्तिमा लगाइएको व्यक्ति भएमा त्यस्ताको बयान प्रमाणित गराउन २४ घण्टाभित्र जिल्ला अदालतमा लैजानु पर्ने र सम्बन्धित न्यायाधीशले त्यस्तो बयान पढी बाँची सुनाई निजले भनेबमोजिम लेखिएको भएमा ...प्रमाणित गरी दिनुपर्ने भन्ने शक्तिशाली व्यवस्था रहेको पाइन्छ । उक्त ऐनको दफा ७ को उपदफा (२) मा दफा ६ को उपदफा (२) बमोजिम अदालतद्वारा प्रमाणित बयानमा उल्लिखित कुरा झुट्ठा हो भन्ने प्रमाण अभियुक्तले पुर्‍याउनु पर्नेछ भनी उल्लेख भएअनुसार पीडितको प्रमाणित बयानलाई अन्यथा गर्ने दायित्व प्रतिवादीउपर रहेको छ । 

१९. प्रतिवादीका बयानहरूबाट प्रतिवादी कुशल निर्देशक रहेको र निजले कलाकारहरूलाई अभिनयको भूमिका दिने गरेको सो नाताले प्रतिवादीसमक्ष कलाकारहरू जाने गरेको देखिन्छ । कलाको नशा बेग्लै हुन्छ । यसको आकर्षण glamour लाई रोक्न मुस्किल हुन्छ । भर्खर जवानीमा खुट्टा राख्ने युवा युवतीहरू सफल कलाकार बन्ने प्रबल चाहना राख्छन् । आफूले अभिनय गरेको चित्रहरू सिनेमाहल र टिभीमा प्रदर्शन भए समाजमा आफ्नो प्रतिष्ठा र प्रभाव बढ्ने साथै सबैले मन पराउने र पैसा पनि कमाइने धारणा बनाउँछन । यसमा आइपर्ने समस्या र बाधाविरोध, कठिनाइका बारेमा निजहरूलाई जानकारी हुँदैन वा जानकारी लिन चाहँदैनन् वा जानकारी भएपनि त्यसलाई वास्ता गर्दैनन् । जुनसुकै कारणले होस् यिनलाई धनीमानी व्यक्ति र निर्देशकले तथा निजहरूसँग पहुँच भएकाले राम्रो फिल्ममा रोल दिन्छु कमाई र चर्चा दुवै हुन्छ भनेर प्रभावमा लिएर सजिलै शोषण आदि गर्न सक्छन् । यस्तो घटना प्रशस्त घटेको र यसको दुष्परिणामस्वरूप कतिपय कलाकारले आत्महत्यासम्म गर्नु परेको वा पोर्न स्टार, कल गर्ल र अन्ततोगत्वा बजारू वेश्या नै बन्नु परेको देखिन्छ । 

२०. प्रतिवादीबाट भएको काम पनि त्यस्तै छ । प्रतिवादी सिरियल निर्माता र जाहेरवाली पीडित उनको अधीनमा काम गर्ने कलाकार भएकी र सोही नाता सम्बन्धले गर्दा निजसँग यौन सम्पर्क भई निजको नाङ्गा तस्वीरहरू खिच्ने कामसमेत भएकोमा प्रतिवादीको स्वीकारोक्ति छ । यो बिलकुल प्रभुत्वको सम्बन्ध 

हो । यसमा पीडितले जे गरिन् राजीखुसीले गरिन् भन्ने कुराको अनुमान हुँदैन । पीडितले प्रतिवादीको दबाब वा प्रभुत्व वा प्रलोभनमा परेर उल्लिखित कुरामा सहमति दिएकी र यस्तो सहमतिलाई by choice or informed consent भन्न मिल्दैन । सहमतिसम्बन्धी न्यायको मान्य सिद्धान्तअनुसार यसलाई submission भनिन्छ । यो कुरालाई नेपाललगायतका मुलुकको कानून र अदालतको फैसलाले स्वीकार गरेका 

छन् । त्यसमाथि यी तस्वीरहरूका पीडित नाबालकसमेत रहेको र नाबालकको मन्जुरी नहुने कानूनी व्यवस्था त छँदैछ । 

२१. प्रतिवादीको अश्लील गतिशील दृश्य र चित्र खिचिएकी एउटी मात्र पीडित नभई नाबालकसमेतका ३।४ जना पीडित रहेका छन् । बरामद चिप्समा प्रमोद श्रेष्ठको समेत तस्वीर रहेको भनी प्रतिवादीले अदालतको बयानमा सनाखत गरेको देखिन्छ । ती नग्न तस्वीर र गतिशील दृश्यहरू पीडितहरूको कब्जामा नभई प्रतिवादीको कब्जामा रहेको यसलाई प्रतिवादीले जहिले पनि सार्वजनिक गर्न सक्ने अवस्था हुन्छ । उक्त दृश्य र तस्वीरहरूको माध्यमबाट प्रतिवादीले पीडितहरूउपर नियन्त्रण राख्ने र निजहरूलाई आफ्नो इच्छानुसार काम गर्न जहिले पनि बाध्य गर्न सक्ने देखिन्छ भने पीडितहरू पनि आफ्नो बेइज्जत हुने डरले प्रतिवादीको दासत्वदेखि यौनशोषणसमेतका अनुचित कुराहरू स्वीकार गर्न बाध्य हुने देखिन्छ । त्यो चिप्स फ्लपी आदि हराएको कुरा सिर्फ सजायसँग सम्बन्धित कुरा हुन्छ । 

२२. पीडितको जाहेरी दर्खास्त र प्रमाणित बयान तथा प्रतिवादीको मौकाको र अदालतको बयान र बरामद तस्वीरहरूको अध्ययनबाट प्रतिवादीले अश्लील तस्वीर खिच्ने कार्यलाई पेसा नै बनाएको देखिन्छ । नाबालकसमेतको नग्न तस्वीर खिच्नु र संग्रह गर्नु पर्ने प्रयोजन पीडितहरूलाई अनुचित प्रभावमा पार्नु, यौन पेसामा संलग्न गराउनु र अश्लील चलचित्र बनाउनुसमेतका कार्य गर्नुबाहेक अरू हुने कुराको अनुमान गर्न सकिँदैन । पीडितसमेतको लागि प्रतिवादी बाहिरी व्यक्ति हुन् । पीडितसमेतको गोप्‍य अंगहरू प्रतिवादीले हेर्न मिल्दैन । प्रतिवादीले सो हेरेका र त्यसलाई सुरक्षित तवरले चिप्समा राख्ने कामबाट त्यो कुरा गोप्य रहेन । पीडितसमेतको नांगा तस्वीरहरू कस्तो हुन्छ भनी हेर्नको लागि खिचेको र संग्रह गरेको भन्ने हक प्रतिवादीलाई छैन । आज एउटीपछि दुइटी गर्दागर्दै सयौंको फोटो कस्तो हुन्छ भनी खिच्ने काम अनैतिक र अश्लील हुन्छ । यो पेसा नै हुन जान्छ । 

२३. नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०४० सालमा प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणमा वेश्यावृत्तिको अर्थ पैसाका लागि परपुरूषसँग यौन सम्पर्क राख्ने पेसा, परपुरूषसँग सहवास गरेर पैसा कमाउने वृत्ति भनी उल्लेख भएको पाइन्छ । यो भनेको गैरकानूनी र अश्लील यौनकार्यसमेत गर्ने र सोबापत पैसा लिने पेसा हो । सामाजिक सदाचार र नैतिकता विरूद्धको यो कार्यमा मानिस किनबेचको वस्तु हुन पुगेकोले नै जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले यसलाई कसुर भनी परिभाषित गर्नु परेको हो । सोही नेपाली बृहत् शब्दकोशमा मास्-नु शब्दको एउटा अर्थ ‘खर्च गर्नु, समाप्त पार्नु, सिध्याउनु’ र अर्को अर्थ ‘दास बनाउनु, कमारो तुल्याउनु’ समेत रहेको छ । वेश्यावृत्ति मानव शोषण अर्थात् जिउ मास्ने कार्य झनै हो । 

२४. उक्त आधारमा हेर्दा प्रतिवादीबाट भएको कार्य सदाचार र नैतिकता विरूद्धको अश्लील यौन कार्य भएकोमा विवाद छैन । त्यसको पीडित भनेको जाहेरवालीसमेतका केटीहरू देखिन्छन् । ती तस्वीरमा पीडितहरूको कुनै नियन्त्रण छैन । ती तस्वीरहरू खिच्ने क्रममा जाहेरवालीसँग प्रतिवादीले पटकपटक यौन सम्पर्कसमेत गरेका छन् । प्रतिवादी निर्देशित टेली सिरियलमा जाहेरवालीसमेतले कलाकार भई खेलेको र सोबापत पैसा लिएको देखिन्छ । ती कार्यहरू थप चलचित्र बनाउने सन्दर्भमा भएको कुरा पीडितको कागजबाट खुल्छ । वेश्या पेसारत महिलालाई पैसा दिएर धमाधम सम्भोग गरेको भन्ने कार्यमा मात्र वेश्यावृत्तिलाई सीमित गर्दा आधुनिक प्रविधिबाट हुने यस्ता अश्लील कार्यको रोकथाम हुन नसक्ला । जसरी एउटा वेश्या विभिन्न हाउभाउ र आफ्नो यौनांग देखाएर ग्राहक आकर्षित गर्न बाध्य हुन पुग्छे ठीक त्यही कुरा यी तस्वीर र गतिशील चित्रहरूलाई इन्टरनेटमा राखेर अदृश्य र दृश्य दर्शकलाई आकर्षित गर्ने काम हुन्छ । जसरी प्रत्यक्ष सम्भोग गर्ने वेश्याले आएको पैसाको केही अंश आफूले पाउँछे र बाँकी कोठीवालीले र दलाल आदिले पाउँछन् त्यसैगरी यी चलचित्र राख्नेसमेतलाई पैसा प्राप्त हुने र त्यसबाट निज पोर्नस्टारसमेतले पैसा पाउने देखिन्छ । वेश्यावृत्ति नेपालमा अवैध मानिएकोले अरू मुलुकमा झैं यस्तो तस्वीर राख्ने कार्यले उन्मुक्ति पाउने अवस्था रहँदैन । 

२५. प्रस्तुत दाबी नयाँ कसुरको अभियोगदाबी हुँदै होइन । तल्ला अदालतहरूले भनेबमोजिम प्रतिवादीले पीडितउपर कुनै दुराशय नलिई ती तस्वीरसमेत खिचेको देखिँदैन । प्रतिवादीले पीडितको नाङ्गो तस्वीर देखाई निजसँग शारीरिक सम्पर्क गर्न माग गरेको र सो प्रयोजनको लागि पीडितको थप साथी ल्याउनु पर्ने भनी दबाब दिएको, पीडितले सो कुरा नमानेमा पीडितको तस्वीर सार्वजनिक गर्ने धम्की दिएको, बेलाबेलामा प्रतिवादीको साथीसँग पनि यौनसम्पर्क गर्नुपर्ने कुरा गरेको, पीडितको नाबालक बहिनीसँगसमेत शारीरिक सम्पर्क गर्न खोजेको, फिल्म खेल्नका लागि नाङ्गा तस्वीर आवश्यक रहेको जस्ता कुरा गरेकोसमेतको पीडितको जिकिर देखिन्छ । नाबालकहरू समेतलाई बाँकी नराख्ने प्रतिवादीको यो कार्य असल नियतले राम्रो परिणामको लागि भएको भनी मान्नै सकिँदैन । यो कार्य त्यतिमै सीमित रहने व्यक्तिगत private कार्य पनि नभएको कुरा यसका पीडित धेरै भएका र त्यसमा नाबालकसमेत परेबाट पुष्टि हुन्छ । दिदी बैनी परपुरूषको अगाडि नाङ्गो हुनु एक असाधारण कुरा हो । यो सामान्य व्यवहारभित्र पर्दैन । यसमा कुनै दबाब, डर, धम्की, प्रलोभन आदि रहेको वा अरू प्रकारले झुक्याउने काम भएको कुराको स्वाभाविक अनुमान हुन्छ । यसलाई प्रतिवादीले विस्थापित 

गर्नुपर्छ । तर पीडितसमेतको तस्वीर संग्रहित चिप्स हराउँदा प्रतिवादी चिन्तित रहेका सो चिन्तालाई निजले व्यक्त गरेका र खिचेका तस्वीरहरू नष्ट गर्न पनि लोभ लागेको थियो भनी प्रतिवादीको मौकाको बयानमा उल्लेख भएको व्यहोरासमेतबाट यौनक्रीडारत अवस्थामा तथा स्त्री अङ्गहरू प्रदर्शन गर्ने गरी फोटो खिच्नु पर्ने र त्यसलाई चिनी क्यामराको चिप्समा संग्रह गरी राख्नु पर्नेसम्मको कारण निजले खुलाउन सकेको पाइँदैन । यी दृश्यहरू व्यक्तिगत प्रयोजनमा आउन नसक्ने प्रकृतिका देखिँदा आफूसँग यौन सम्पर्क राखी खिचेको फोटाबाट अश्लील चलचित्र बनाई बिक्री गर्ने प्रतिवादीको योजना रहेको, अनुचित प्रभावमा पारी पीडितसँग शारीरिक सम्पर्क राख्ने, चलचित्र खिच्ने तथा स्त्री जातिको यौन अंगको प्रर्दशन गरी आर्थिक लाभ लिनको लागि गरेको कार्यलाई वेश्यावृत्तिमा लगाएको मान्नु पर्ने हुन्छ भनी अभियोगपत्रमा उल्लेख भएको व्यहोरा बडो तार्किक छ । नाबालकसमेतको नग्न तस्वीर खिचेकोलाई समेत तल्ला अदालतले कानून छैन भनेर गरेको फैसलाले पीडितको पीडालाई अनुभूत गरेको देखिएन । कानून र न्यायलाई असहाय बनाएको देखियो । कानून र न्याय कहिल्यै असहाय हुँदैनन् । त्यसलाई जीवन्त बनाउने न्यायाधीश असहाय भएमा मात्र कानून र न्याय असहाय हुन पुग्छन् । अतः प्रतिवादीबाट पीडितसमेतको तस्वीर खिच्ने, संग्रह गर्ने र यौन सम्पर्क गर्नेसमेतका कार्य गैरकानूनी र दण्डनीय देखिने कुरामा यो इजलास विश्वस्त छ । 

२६. अब प्रतिवादीको कार्यलाई कुन कानूनले दण्डनीय मानेको छ भन्नेतर्फ विचार गर्दा अभियोगदाबीमा रहेको अश्लील चलचित्र बनाई बिक्री गर्ने प्रतिवादीको योजना रहेको भन्ने वाक्यांशबाट प्रतिवादीले पीडितलाई वेश्यावृत्तिमा लगाइसकेको भन्ने कुरामा स्वयं अभियोजक विश्वस्त हुन सकेको देखिँदैन । प्रतिवादीको कुरा मानेर पीडितले यो यससँग यो यति पैसा लिएर वेश्यावृत्ति गरेको वा ती गतिशील दृश्यहरूलाई वेबसाइटमा राखी प्रदर्शन गरेर प्रतिवादीसमेतले यो यति उपार्जन गरेको भन्ने कुरालाई वादीले प्रमाणित गर्न सकेको अवस्था पनि छैन । प्रतिवादीबाट भएको कार्य जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को देहाय (घ) मा उल्लिखित माथि खण्डहरूमा लेखिएको कुनै कार्य गर्नको लागि परिपञ्‍च मिलाउने वा त्यस्तो कार्य गर्नमा सहयोग पुर्‍याउने वा त्यस्तो कार्यमा लाग्न कसैलाई दुरूत्साहन गर्ने वा त्यस्तो कार्य गर्न उद्योग गर्न भन्ने उद्योग तहमै रहेको देखिन्छ । तदनुसार प्रतिवादीलाई सो ऐनको दफा ८(४) बमोजिम सजाय गर्नुपर्नेमा अभियोगदाबीबाट पूरै उन्मुक्ति दिएको पुनरावेदन अदालत, बिराटनगरसमेतको फैसलासँग सहमत हुन सकिएन । उक्त ऐनको दफा ८(४) मा ५ वर्षसम्मको तजबिजी कैदको व्यवस्था रहेकोले प्रतिवादीलाई के कति सजाय हुने भन्ने कुरामा विचार गर्नु आवश्यक छ । यी प्रतिवादीको कार्यले पूर्णता पाएको खण्डमा त्यसको दायरा निक्कै विस्तृत हुन पुग्ने पहिलो र प्रतिवादीबाट पेसाकै हिसाबले नाबालकसमेतको प्रयोग भएको दोस्रो कारणसमेतले गर्दा प्रतिवादीलाई उक्त दफा ८(४) मा भएको उपल्लो हद ५ वर्षको कैद आफैँमा कसुरअनुरूपको सजाय हुन नसक्ने देखिँदा यसमा घटी सजाय गर्ने तजबिजको प्रयोग गर्नु कसुरको मात्राअनुसार मेल खाने देखिँदैन । तसर्थ पुनरावेदन अदालत, बिराटनगरको मिति २०६६।३।३१ को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादीलाई उक्त ऐनको दफा ८(४) बमोजिम ५ वर्ष कैद हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, बिराटनगरबाट मिति २०६६।३।२१ मा भएको फैसला उल्टी भई प्रतिवादी प्रकाश ओझालाई ५(पाँच) वर्ष कैद हुने ठहरेकोले सो कैद असुल गर्नका लागि सम्बन्धित जिल्ला अदालतमा लेखी पठाउनू ...१

प्रस्तुत मुद्दाको फैसलाको जानकारी महान्यायाधिवक्ता कार्यालयलाई दिनू ......२

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ......३

 

उक्त रायमा सहमत छु । 

न्या.जगदीश शर्मा पौडेल

 

इजलास अधिकृत : गेहेन्द्रराज पन्त

इति संवत् २०७२ साल माघ ४ गते रोज २ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु