शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६२२ - कर्तव्य ज्यान / ज्यान मार्ने उद्योग

भाग: ५८ साल: २०७३ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७३।१।१५।४

 

मुद्दा : कर्तव्य ज्यान / ज्यान मार्ने उद्योग

 

०६९-RC-००२८

वादी : जवाहर राय यादवसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : जिल्ला सर्लाही, मानपुर गा.वि.स.वडा नं.५ बस्ने विनोदकुमार राय यादवसमेत

०६९-CR-०७७८

वादी : जवाहर राय यादवसमेतको जाहेरीले नेपाल सरकार 

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सर्लाही, मानपुर गा.वि.स.वडा नं.५ बस्ने राम गोविन्द रायसमेत

 

आफू निर्दोष रहेको वा अभियोग दाबीअनुसारको कसुरमा संलग्नता नरहेको भनी सजायबाट छुट वा कमी पाउनुपर्ने भए प्रतिवादीहरूले अदालतमा हाजिर भई अदालतबाट प्राप्त हुने सुनुवाई र पुनरावेदनका जस्ता मौकाहरू उपयोग गर्न सक्नुपर्ने थियो । मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीहरू विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायले चलाएको गोलीबाट नै मृतकको मृत्यु भएको तथ्य स्थापित हुन आउने । 

(प्रकरण नं.५)

मनसाय तत्त्व अलग्गै प्रमाणित हुने नभई आपराधिक कार्य गर्दाका गतिविधिहरूबाट नै पुष्टि हुने विषय भएकाले यसमा दुवै पक्षबिच पहिलेदेखि नै झगडा भइरहने गरेको देखिनु, त्यस दिन पनि गहुँ लुटेको विषयमा पञ्चायती गर्न भनी आएका व्यक्तिहरूलाई बाटोमा रोकी गोली चलेको, धेरै चोटी फायर भएको, प्रतिवादीहरूको हात हातमा बन्दुक लिएर गएको भन्ने जस्ता तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिएकोले यी प्रतिवादीहरूले जानी जानी मनसायले नै गोली चलाएको कुरालाई अन्यथा भन्न नमिल्ने । 

(प्रकरण नं.६)

घटना अपर्झट भएको देखिनाले यी सबै प्रतिवादीहरू घटनास्थलमा उपस्थित हुनसक्ने अवस्था पनि देखिँदैन । घटनापश्चात् घटनास्थलमा देखिने जति सबैको घटनामा संलग्नता रहेको हुन्छ भनी भन्नु पनि न्यायोचित नहुने । 

(प्रकरण नं.८)

कमन ल सँग नजिक रहेको हाम्रो कानून प्रणालीमा यसले यस्तो कसुर गरेको हो भनी निसन्देह प्रमाणित गर्ने भार वादी पक्षमा हुन्छ । कसुर प्रमाणित हुन अलिकती पनि सन्देह वा शंका रहेमा त्यसको फाइदा अभियुक्तहरूले पाउने हुन्छ । सबुद प्रमाण पेस गरेर मात्र हुँदैन अभियोजन कर्ताले पेस गरेका त्यस्ता सबुद प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन तथा न्यायिक परीक्षण अदालतले गर्ने । 

विवाद निरूपणमा अदालतले ग्रहण गर्ने प्रमाण आपसमा विरोधाभाषपूर्ण नभई जहिले पनि एक अर्कोलाई समर्थन गर्ने हुनुपर्दछ । मौखिक प्रमाण प्रत्यक्ष देखे जानेको हुनुपर्छ । द्विविधापूर्ण, अस्पस्ट र सुनेको आधारमा भनेको भनाइका आधारमा कसुरदार ठहराउनु न्यायोचित नहुने । 

जाहेरी दरखास्त अनुसन्धानमा साबिती बयान मौकाको कागज सहअभियुक्तको पोल जस्ता कुरा आफैमा स्वतन्त्र प्रमाण नभई यस्ता प्रमाणलाई अन्य प्रमाणबाट पुष्टि हुनुपर्नेमा घटनास्थलमा रहेका व्यक्ति र घटनामा छोरा श्रीमान्‌ गुमाई पीडित भएका व्यक्तिहरूको पनि अनुसन्धानमा र अदालतमा व्यक्त भनाइहरू परस्पर विरोधाभाषयुक्त छन् । यस्तो अवस्थामा उल्लिखित प्रतिवादीहरू ज्यान मार्ने मतसल्लाहमा पसि वारदातस्थलमा रही आरोपित कसुर गरेको भन्ने सकिने अवस्था नहुने । 

(प्रकरण नं.९)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता राम घिमिरे

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं., १७ नं. को देहाय ३

 

सुरू तहबाट फैसला गर्ने :

मा.जि.न्या. श्री भोजराज शर्मा

पुनरावेदन तहबाट फैसला गर्ने :

मा.न्या. श्री टिकाबहादुर हमाल

मा.न्या. श्री राजकुमार वन

 

फैसला

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) र १०(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ । 

मिति २०५४।१।१ गतेको दिन जि.सर्लाही मानपुर गा.वि.स.वडा नं.४ मा बस्ने प्रगास राय यादवले मादक पदार्थ सेवन गरी ठाकुर रायको घरनिर ऐ. बस्ने किसोरी रायसँग झगडा गाली बेइज्जती गरेको विषयमा एमाले कार्यकर्ता निरन्जन राय र ने.का.कार्यकर्ता होस नारायण रायको बिचमा भनाभन भएकोले सोही विषय र गहुँ काट्ने विषयलाई लिएर मिति ०५४।१।२ गते अ.११.१५ बजे झगडा भई विनोदकुमार रायसमेतले बन्दुक फायर गरी निरन्जन राय र विरेन्द्र राय यादवलाई गोली लागी मृत्यु भएको भन्ने खबर प्राप्त हुन आई तत्काल सो स्थानतर्फ प्रहरी परिचालन गरिएको भन्ने व्यहोराको जि.प्र.का.को क.स. ३४ को प्रहरी सञ्चार । 

जि.सर्लाही मानपुर गा.वि.स.वडा नं. ५ स्थित बाटोको धुलो माटोमा १२ फिटको दुरीमा २ ठाउँमा रगतको दागहरू रहेको, उपरोक्त घटनास्थलबाट १०० मिटर उत्तरमा भुई तलामा ३ वटा कोठा रहेको सवाई राय यादवसमेतको सगोलको घरको दक्षिणपट्टिको बाहिरपट्टि ढोकामा भाला थान १ रही उक्त कोठाको ढोका खोली हेर्दा भुँइको बिचमा मृतक विरेन्द्र राय यादवको अनुहारमा रगत जमेर सुकेको, निधारको बिच भागमा आँखा माथि छर्रा लागेको घाउ, दायाँ कानभन्दा मुनि घाउ चोट रहेको, नाडीसमेतको भागमा दरफरिएको चोटहरू देखिएको, तिघ्रा कपालमा धुलो माटो लागी घिसारिएको जस्तो लास देखिएको भन्नेसमेत व्यहोराको मिति २०५४।१।२ को मृतक विरेन्द्र राय यादवको लास जाँच प्रकृति तथा घटनास्थल मुचुल्का । 

इलाका हेल्थपोस्ट हरकठवाका इन्चार्जको कोठाको बरण्डामा खाटमाथि सुताई राखेको मृतक निरन्जन राय भन्ने रामनिरन्जन रायको दायाँपट्टी कानदेखि सिधा गालामा, घिच्रामा, दायाँ हातको जोर्नीमा गोली लागेको घाउ चोट रही रगत बगेको देखिएको भन्नेसमेत व्यहोराको मृतक रामनिरन्जन रायको लास प्रकृति मुचुल्का । 

मिति २०५४।१।१ गतेका दिन १० बजेको समयमा सवाई रायको वचन मानी विनोदकुमार रायको अगुवाईमा १२,१५ जनाको जमात जि.स. मानपुर गा.वि.स. वडा नं. ४ बस्ने ठाकुर राय कहाँ आउँदा हामी जाहेरवालाहरू तथा हाम्रो पक्षका मानिसहरूको ज्यान मार्ने षड्यन्त्र रचेको भन्ने थाहा पाई इलाका प्रहरी कार्यालय हरकठवामा खबर गर्दा प्रहरी आई सम्झौता गराई दिएका थिए । त्यसपछि सवाई रायको षड्यन्त्रमा करिब ४० जनाको समूहले रामवली राय र रामआशिष रायसमेतको १८ कठ्ठा जग्गाको गहुँबाली काटी सवाई रायको खलिहानमा लगी राखेकोले मिति ०५४।१।२ गते पञ्चायतीको लागि निज रामवली राय र रामआशिष रायले बोलाउँदा हामी जाहेरवाला र निरन्जन राय, विरेन्द्र राय, रामवली राय, रामआशिष रायसमेत पञ्चायती गराउन भनी सवाई रायको घरमा जाँदै थियौँ । सोही बेला सवाई रायको खलिहानभन्दा १०० मिटर दक्षिणतर्फ होस नारायण भन्ने सवाई राय, रामगोविन्द राय, ब्रह्मदेव रायसमेतले ज्यान मारी देउ भनी वचन दिँदा विनोदकुमार रायले बन्दुक चलाई रामनिरन्जन रायलाई र जुवाई राय यादवले बन्दुक चलाई विरेन्द्र राय यादवलाई मर्नेसम्म घाइते पारेको र म नन्दु रायलाई सवाई रायको भान्जा बुलेन्द्र भन्ने विरेन्द्र रायले बन्दुक चलाउँदा आँखाको तल गोली लागी संजोगले बाँचेको हुँ । हमला गर्दा रामबाबु राय, अमोदकुमार राय, हरिनारायण राय, ठाकुर राय, चन्देश्वर रायले हात हातमा बन्दुक लिएका थिए । दिनेश राय यादव, सत्यनारायण राय, रामविलास राय, रामआश्रे राय, रूपलाल राय, भरोसी राय, नागा महरा, ऐ.बस्ने श्याम राय, अशोककुमार राय, रामप्रताप राय, प्रसाद राय, पतिराम राय, रविन्द्रकुमार राय, वेदामीलाल साह, राजमंगल हजारी, लालबाबु राय, सिताराम राय, रामएकवाल राय, नन्द किसोर राय, विजयकुमार राय, रामप्रवेस राय, राम प्रताप राय, बचेलाल राय, कैलास राय, विन्देश्वर राय, रामसिंहासन राय, प्रगास राय यादव, जुगुल राय, रमाशंकर रायसमेतले हात हातमा लाठी भाला फरसासमेत लिई हमला गरी ज्यान लिन खोज्दा हामी जाहेरवाला र राम आशिष राय, रामवली रायसमेत ज्यान बचाउन भाग्न सफल भयौँ । मृतक विरेन्द्र रायलाई घिसारी सवाई रायको घरमा लग्दा सोही ठाउँमा मृत्यु भएको र रामनिरन्जन रायलाई समेत निजहरूले लैजान खोज्दा गाउँलेहरू घटनास्थलमा आएकाले लैजान असफल भई निजलाई उपचारका लागि हरकठवा हेल्थपोस्ट लग्दै गर्दा मृत्यु भएको कुरा जानकारी भएको हो । अपराधीहरूले पूर्वयोजना बनाई गोली प्रहार गरी घेरी छेकी मारे मराएका र मार्ने उद्योगसमेत गरेका हुँदा अपराधीहरूलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिति ०५४।१।३ को जवाहर राय, नरसिंह राय र  नन्दु राय यादवसमेतको संयुक्त जाहेरी दरखास्त । 

शरीरको गाला जस्तो संवेदनशील ठाउँमा विभिन्न नाप साइजको गहिरो घा चोट हुनुका साथै बन्दुकको गोली प्रहारबाट अत्यधिक रक्तश्राव भई रामनिरन्जन रायको मृत्यु भएको र गोली लागेको रगत बगेको विभिन्न नाप साइजको घाउ चोट भएको, मृत शरीरको शल्यक्रिया गरी ३ वटा गोली निकालिएको मृत्युको कारण बन्दुकको गोली प्रहारबाट टाउकोमा चोट लागी अत्यधिक रक्तश्राव हो भन्नेसमेत व्यहोराको विरेन्द्र राय यादवको पोस्टमार्टम रिपोर्ट । 

मिति २०५४।१।२ गते हाम्रो पक्षले लुटेर ल्याई खलिहानमा राखेको गहुँ फिर्ता लैजान आउने मानिसहरूलाई ठीक गर्ने भन्ने सरसल्लाह भई सुवा ठाकुरको घरनिर म, दाजु, जुवाई, भान्जा बुलेन्द्र भन्ने विरेन्द्र रायसमेत बन्दुक लिई बसेका थियौ । सोही अवस्थामा राम निरन्जन राय र विरेन्द्र रायसमेतका मानिसहरू आई हाम्रो घरतर्फ जान अगाडि बढेकाले साथीहरूलाई तयार गरी दाजुतर्फ इशारा गर्दा ठोक् भन्ने संकेत गरेकाले मैले फायर गर्दा राम निरन्जनलाई लागी ३ फायरपछि जमिनमा ढलेका हुन् । दाजु जुवाई राय र भान्जा बुलेन्द्र रायले फायर गरेको गोली लागी विरेन्द्र रायको मृत्यु भएको र नन्दु राय घाइते भएका 

हुन् । अघिल्लो दिन लुटेर ल्याएको गहुँ बाली फिर्ता लैजान नदिने भनी दाजु सवाई, जुवाइ, राम गोविन्द, ब्रह्मदेव, म र हाम्रो पक्षका साथीहरूको सहमति भएको हो । घटनास्थलमा सवाई राय, रामनिरन्जन, विरेन्द्र, म, जुवाई, बुलेन्द्र, रविन्द्र भन्ने शिवचन्द्रलगायत धेरै जना उपस्थित थियौँ । विरेन्द्र रायको लास हाम्रो घरभित्र कोठामा लगेर राखेको हो भन्नेसमेतको प्रतिवादी विनोदकुमार रायले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

सवाई रायसमेतको संयुक्त घरको उत्तरपट्टिको कोठाको बेडमा चिल्लो खालको काठको बोडर भएको २५ से.मि. लम्बाईको कटुवा बन्दुक थान १ र मार्क फोरको गोलीको खोका बरामद भएको भन्ने मिति २०५४।१।५ को बरामदी मुचुल्का । 

कटुवा बन्दुक थान १ र गोलीको खोकासमेत मेरो रोहवरमा मेरो आफ्नो घरको पाहुना सुत्ने कोठाबाट बरामद भएको ठिक हो । उक्त बन्दुक र गोली छोरीको छोरा बुलेन्द्र भन्ने विरेन्द्र राय यादवको हुनुपर्छ भन्नेसमेतको सोनिया देवी यादवको कागज । 

बरामदी मुचुल्कासाथ दाखिल भएको कटुवा बन्दुक र गोली भान्जा बुलेन्द्र रायको हुनुपर्छ भन्ने विनोदकुमार राय यादवको सनाखत कागज । 

बरामद भई आएको कटुवा बन्दुक मेरो हो । सोमा लाग्ने ३ नट ३ को गोली सितामढीबाट भा.रू. ४५ का दरले २ वटा खरिद गरी नानीको श्राद्धमा मामाको घर आउँदा लिई आएको थिएँ । उक्त गोली २०५४।१।२ गतेको दिन निरन्जन राय र विरेन्द्र रायसमेतका एमाले पार्टीका मानिसहरूसँग विवाद भई फायर हुँदा खर्च भइसकेको छ । मलाई देखाइएका यो मार्क ४ को गोली मेरो होइन भन्नेसमेत व्यहोराको २०५४।१।६ गतेको प्रतिवादी बुलेन्द्र भन्ने विरेन्द्र राय यादवको सनाखत कागज । 

अप्रिल ११ तारिखमा नानीको श्राद्ध पर्ने भएकोले १० तारिखका दिन बेलुका मामाघरमा आइपुगेको थिएँ ।१३ तरिखका दिन मेरो मामाको पक्षका रूपलाल राय र भरोसी रायको गहुँ निरन्जनको पक्षले लुटेर लगेको कारण मामा विनोद, सवाई र रामगोविन्दलगायत १५, १६ जनाले सल्लाह गरी रामवली रायको खलिहानमा राखेको गहुँ १२।१३ बोझा उठाई ल्याएको हो । सो गहुँ फर्ता लग्न राम निरन्जन रायका पक्षका मानिसहरू जनबलसहित आउँदैछन् भन्ने थाहा पाई म मेरो मामा विनोद, जुवाई (मझला मामा) राम प्रवेश राय, किशोर भन्ने नन्द किशोर रायसमेत करिब ३८।३९ जना प्रतिकारका लागि बन्दुक तथा लाठी भालासमेत लिएर बसेका थियौँ । सोही अवस्थामा राम निरन्जन राय, विरेन्द्र रायसमेत मेरो मामाको घरतर्फ अघि बढी आएकोले विनोद मामाले गोली चलाउँदा राम निरन्जन रायलाई र मझला मामा, म तथा राम प्रवेशसमेतले गोली चलाउँदा विरेन्द्र राय र नन्दु रायलाई लागी विरेन्द्र रायको मृत्यु र नन्दु राय घाइते भएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी बुलेन्द्र भन्ने विरेन्द्र राय यादवले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

मृतक राम निरन्जन राय, विरेन्द्र रायसमेत एमाले पक्षका मानिसहरूले हाम्रो पार्टीका साथीहरूलाई दु:ख दिने गरेको र २०५४।१।१ गते ठाकुर रायको घरमा खपडा फुटाई दिएको विषयमा प्रहरीलाई खबर गरी प्रहरीले सम्झाई बुझाई गरेका थिए । पछि हाम्रो पक्षका रूपलाल राय र भरोसी रायको गहुँ बाली काटेर लगेछन् भन्ने जानकारी भई सवाई राय, विनोदकुमार, रूपलाल, भरोसीसमेतले रामवली र राम आशिषको खलिहानको गहुँ उठाई ल्याएका हुन् । सो गहुँ फिर्ता गर्न भनी राम निरन्जन, विरेन्द्र, नन्दु रायसमेत सवाईको घरतर्फ आउँदा विनोद रायसमेतका मानिसहरूले गोली प्रहार गर्दा विरेन्द्र रायको घटनास्थलमै, राम निरन्जन राय घाइने भई उपचारको लागि हरकटवामा लैजाँदा मृत्यु भएको थाहा पाएँ । म घटनास्थलमा पछि पुगेको 

हुँ । मेरो छोराले बन्दुक लिएको थाहा छैन भन्ने प्रतिवादी राम गोविन्द रायले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

मिति २०५४।१।२ गते रामनिरन्जन राय, विरेन्द्र रायसमेत रूपलाल रायको खलिहानमा रहेको गहुँको बोझा उठाएर लैजान आउँदैछन् भन्ने खबर पाई घटनास्थलमा पुग्दा हाम्रो पक्षका थुप्रै मानिसहरूले लाठी भाला ग्रासा लिएर बसेका रहेछन् । राम निरन्जन, रामवली, विरेन्द्र, नन्दुसमेत सवाई रायको घरतर्फ बढ्न लागेकाले हाम्रा पक्षका विनोदकुमार राय, बुलेन्द्र भन्ने विरेन्द्रलगायत ६, ७ जना सुवा ठाकुरको घरमा बसेका व्यक्तिले गोली फायर गर्दा राम निरन्जन राय र विरेन्द्र रायको मृत्यु भएको हो । मृतक विरेन्द्रलाई बुलेन्द्र, विनोद, अशोक, अमोद, ब्रह्मदेव, रामबाबुसमेतले उठाई सवाई रायको घरमा लगेका र राम निरन्जन रायलाई हाम्रा पक्षले लैजान लाग्दा गाउँलेहरूले खोसी उपचारको लागि हरकठवामा लैजाँदा मृत्यु भएको र नन्दु राय घाइते भएको थाहा पाएँ । म आफ्नो पार्टीको साथीहरूलाई सहयोग गर्न गएको थिएँ भन्नेसमेत व्यहोराको प्रतिवादी बेदामी लाल साह तेलीको बयान । 

सवाई राय, राम गोविन्द राय,  ब्रह्मदेव रायसमेतले पूर्वयोजना बनाई रामवली राय र रामआशिष रायको गहुँ बाली लुटेर लगेकोमा राम निरन्जसमेत फिर्ता गर्न गएकाले सवाई राय, ब्रह्मदेव, राम गोविन्दसमेतले वचन दिई विनोदकुमार, बुलेन्द्रसमेतले गोली चलाई मारे मराएको सम्म थाहा पाएको हुँ । घटनास्थलमा पुग्दा विनोदकुमार, बुलेन्द्र, राम बाबु, अशोक, राम गोविन्दसमेतलाई देखेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रसाद राय यादवले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

राम निरन्जनसमेतका मानिसहरू रामवली रायको खलिहानबाट ल्याएको गहुँ फिर्ता गर्न आउँदैछन् भन्ने थाहा पाई घटनास्थलमा पुग्दा अशोक, विनोद, शिवचन्द्र, चन्देश्वर, विजय, नागेन्द्र, बुलेन्द्रसमेत रहेछन् । विरेन्द्र र विनोदले बन्दुक बोकेका थिए । राम निरन्जनसमेत सुवा ठाकुरको घर निर आउँदा दुवैतर्फकाले लाठी ढुंगा चलाए । त्यसै बखत विनोद रायले गोली फायर गर्दा राम निरन्जन रायलाई लागी जमिनमा लडे र अर्को फायर गर्दा विरेन्द्र राय लडे । पछि म घटनास्थलबाट भागी गएँ भन्नेसमेत व्यहोराको प्रतिवादी राम प्रताप रायले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । 

रामवलीका मानिसहरूले निरन्जनको निर्देशनमा गहुँ खोसी लुटी लगेकोमा ठाकुरको घरमा छलफल हुँदा खपडा फुटाएको सुनेको हो । रामवलीको खलिहानबाट १२ बोझा जति गहुँ उठाई लगेको कुरामा गहुँ फिर्ता लिन निरन्जन रायसमेत आउने कुरा सुनेकाले पक्कै पनि अशान्ति हुन्छ होला भनी सवाई रायको घरतर्फ पुग्दा त्यहाँ हाम्रो पक्षका मानिसहरू तयारीमा बसेका रहेछन् । रामनिरन्जन पक्षका थुप्रै मानिसहरू हो हल्ला गर्दै होस नारायणको घरतर्फ आउँदै गर्दा सुवा ठाकुरको घरनिर विनोद रायले गोली फायर गर्दा रामनिरन्जनलाई लागेछ । अर्को फायर गर्दा विरेन्द्र रायलाई लागी विरेन्द्र रायको घटनास्थलमा नै मृत्यु भएकाले निजको लास घिसार्दै सवाई रायको घरमा लगेका थिए । मैले गोरू धपाउने लाठी लिएर गएको थिएँ भन्नेसमेत व्यहोराको प्रतिवादी हरिनारायण राय, रामविलास राय र ठाकुर रायले करिब एकै मिलान हुने गरी अनुसन्धानको क्रममा गरेको बयान । 

मेरा बाबु होसनारायण राय, जुवाई राय, रामगोविन्द राय, विनोद र रामनिरन्जनसमेतका बिचमा गहुँबाली सम्बन्धमा वाद विवाद भई काका विनोद रायले बन्दुक फायर गर्दा रामनिरन्जन र विरेन्द्र रायको मृत्यु भएको हो । रामगोविन्द राय, बुलेन्द्र, नागेन्द्र, चन्देश्वर, विजय, शिवचन्द्र, विनोदसमेत घटनामा थिए ।  विरेन्द्र रायलाई गोली लागेपछि मसमेतले घिसार्दै बैठक घरमा लगी राखेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी अशोककुमार राय यादव र विजय राय यादवले करिब एकै मिलान हुने गरी अनुसन्धानका क्रममा गरेको 

बयान । 

म उखुको चलानी लिन भनी ०५४।१।२ गते विनोद रायको घरमा जाँदा बाली लुटेको विषयमा रामनिरन्जन रायसमेत आउँदै छन् भन्ने खबर सुनी त्यहीँ बसेँ । रामनिरन्जनसमेतको हुल लाठी फाराठा लिएर होस नारायणको घरतर्फ आउँदै गरेको देखी घरमा आउन दिन भएन अली परै रोकी छलफल सार्वजनिक ठाउँमा गर्नुपर्छ, सम्झाएर माने फिर्ता गर नमाने भने गोली ठोकी देउ भनी भनेकाले विनोद, विरेन्द्र, रामप्रवेश, किसोर भन्ने नन्द किसोरसमेत सुवा ठाकुरको घरनिर बसी हवाई फायर गरी भगाउने प्रयास गर्दा रामनिरन्जन रायसमेत नटेरी अगाडी बढेकाले विनोद रायले बन्दुक फायर गरे । सोबाट रामनिरन्जन घाइते भई बाटोमा लडी अरू फायर हुन गई विरेन्द्र राय पनि गोली लागी लडे । रामनिरन्जन रायलाई निजका मानिसले लगे भने विरेन्द्र रायको मृत्यु भएकाले मसमेतले निजलाई घिसार्दै विनोद रायको बैठक घरमा लगेको हो । मैले मार्ने मराउने अन्य काम गरेको छैन भन्नेसमेतको प्रतिवादी रविन्द्र भन्ने शिवचन्द्र राय यादवले अनुसन्धानको क्रममा गरेको बयान । 

मिति ०५४।१।२ गतेका दिन रूपलाल राय, भरोसी रायसमेतका मानिसहरूले रामवलीको गहुँबाली लुटेर ल्याएको भन्ने विषयमा रामनिरन्जन राय र विरेन्द्र रायसमेतका मानिसहरू जनबलसहित आउन लागेको भन्ने खबर पाई गहुँ लैजान दिन भएन भनी दाजुले भनेकाले होसनारायणको घरनिर जाँदा हाम्रा पक्षका मानिसहरू जम्मा भएका रहेछन् । रामनिरन्जनसमेत आइपुगेपछि अगाडि बढ्न लाग्दा हाम्रा पक्षका मानिसहरूले गोली चलाउँदा रामनिरन्जन राय र विरेन्द्र राय जमिनमा लडेपछि दुवैतर्फका मानिस भागाभाग भएको हो । घटनास्थलमा विनोदकुमार रायले दुई नाले बन्दुक र बुलेन्द्रले नलकटुवा लिएको देखेको हो ।  हाम्रो पक्षबाट ३७, ३८ जनाको उपस्थिति थियो भन्नेसमेत व्यहोराको प्रतिवादी वचेलाल राय यादवले अनुसन्धानका क्रममा गरेको बयान । 

रूपलाल राय, भरोसी राय, विनोदकुमार, बुलेन्द्र भन्ने विरेन्द्रलगायतका व्यक्तिहरूले रामवली रायको १०,१२ बोझा, गहुँ जबरजस्ती उठाई लगेकोमा रामवली राय यादवले एमाले पक्षका रामनिरन्जन र विरेन्द्र रायसमेतलाई पञ्चायती गर्न जान आग्रह गरेका थिए । सोअनुसार छलफल गर्न गएका अवस्थामा विनोदकुमार राय बुलेन्द्र भन्ने विरेन्द्र रायसमेत ४, ५ जना पूर्वयोजनाअनुसार बन्दुक लिई बसेका 

थिए । विनोदकुमार रायले गोली चलाई रामनिरन्जनलाई लाग्न गएको अन्य व्यक्तिहरूले चलाएको गोली लागी विरेन्द्र रायको मृत्यु भई सोही वारदातमा नन्दु रायसमेत घाइते भएका थिए । सवाई राय, रामगोविन्द, ब्रह्मदेव, विनोदसमेतको सहमतिले मारे मराएको बुझिन आएको भन्नेसमेत व्यहोराको प्र.ना.नि. गोपाल सुवेदीको प्रतिवेदन । 

एमाले पार्टीका मानिसहरू रामनिरन्जनसमेत भेला जम्मा भई हाम्रो मूल घरतर्फ आउन लागेको सुनी सुवा ठाकुरको घर अगाडि मेरो कान्छो भाई विनोद भान्जा बुलेन्द्रसमेत बन्दुक लिई बस्दा निजहरू हाम्रो बैठक घरतिर जान लाग्दा मेरो भाई विनोद र भान्जा बुलेन्द्रसमेतले गोली चलाई विरेन्द्र रायको मृत्यु भई लास अशोक कुमारसमेतले हाम्रो बैठक घरमा लगी राखेको हो । म प्रतिकार गर्ने उद्देश्यले घटनास्थलमा गएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबाबु राय यादवले गरेको बयान ।

हाम्रो पक्षले चलाएको गोली लागी विरेन्द्र रायको घटनास्थलमा नै मृत्यु भई निजलाई हाम्रा साथीहरूले सवाई रायको बैठक घरमा लगेका र रामनिरन्जन रायलाई निज पक्षका मानिसहरूले लगी निजको हरकठवा हेल्थपोस्टमा मृत्यु भएको 

हो । विनोदकुमार राय र बुलेन्द्र रायसँग बन्दुक देखेको हो । म घटनास्थलमा उपस्थित भएको थिएँ भन्नेसमेत व्यहोराको अनुसन्धानका क्रममा प्रतिवादी रामआश्रय राय र रामएकवाल रायले करिब एकै मिलान हुने गरी गरेको बयान । 

प्रतिवादी विनोदकुमार रायसमेत १५ जना प्रतिवादीहरूलाई विभिन्न चोट पटक लागेको भन्ने स्वास्थ्य परीक्षण रिपोर्ट । 

रूपलाल राय, भरोसी रायले हकभोग गर्दै आएको जग्गाको बाली रामवली रायसमेतका मानिसहरूले काटी लगेकोले ब्रह्मदेव राय, सवाई राय, रामगोविन्द रायसमेतको सहमतिले रामवली रायको खलिहानबाट गहुँको बोझा हाम्रो पक्षका साथीहरूले उठाई ल्याउँदा रामनिरन्जन रायसमेत फिर्ता गर्न आएकोले विनोदकुमार रायले गोली फायर गर्दा रामनिरन्जन राय घाइते भई उपचारमा लग्दै गर्दा मृत्यु भएको र अन्य साथीहरूले गोली फायर गर्दा विरेन्द्र रायको मृत्यु भएको सुनेको हुँ । उक्त घटनामा मसमेत ३७, ३८ जना थियौँ भन्नेसमेत व्यहोराको करिब एकै मिलानको प्रतिवादी पतिराम राय र सत्यनारायण रायले अनुसन्धानको क्रममा गरेको बयान । 

विनोदकुमार रायसमेत गोली चलाउने रामगोविन्द राय, ब्रह्मदेव रायसमेतको योजनामा विनोदकुमार राय, नागेन्द्र, चन्देश्वर, शिवचन्द्र, रामप्रवेश, रमाशंकरसमेतले घटना घटाएका हुन् । वारदातको अवस्थामा नन्दकिसोर र रामप्रवेशले पनि बन्दुक लिएका थिए भनी प्रतिवादी दिनेशप्रसाद राय र प्रगास राय यादवले करिब एकै मिलान हुने गरी अनुसन्धानका क्रममा गरेको बयान । 

मिति ०५४।१।२ गते राम निरन्जन राय, विरेन्द्र राय, रामवली राय, रामआशिष राय, नन्दु राय तथा मसमेत पञ्चायतीका लागि सवाइ रायको घरतर्फ गइरहेको अवस्थामा रामकैलास साहको घरदेखि पूर्व योजनाअनुसार सवाई राय, रामगोविन्द राय, ब्रह्मदेव रायसमेतले यी सालेहरूलाई मार भनी वचन दिई सुवा ठाकुरको घरअगाडि टाटीमा आड लिई बसेको विनोदकुमार राय, जुवाई राय, बुलेन्द्र भन्ने विरेन्द्र रायले बन्दुक फायर गर्दा विनोदकुमार रायको फायरबाट रामनिरन्जन राय र नन्दु राय घाइते भएका र  जुवाई रायले फायर गरेको गोली विरेन्द्र रायलाई लागी घटनास्थलमै मृत्यु भएको हो । ठाकुर राय, रामप्रवेश रायसमेतले गोली फायर गरेका हुन् । प्रतिवादीहरूले लछार पछार पार्दै विरेन्द्र रायलाई घिसार्दै घरभित्र लगी राखे र घाइते रामनिरन्जन रायलाई लैजान लाग्दा गाउँलेहरूको उपस्थितिका कारण लैजान नसकी मसमेत भई निजलाई उपचारका लागि हरकठवा हेल्थपोस्टमा लैजाँदै गर्दा मृत्यु भएको हो । रूपलाल राय, भरोसी राय, नागेन्द्र राय, श्याम राय, सतनारायण राय, दिनेस राय, प्रसाद राय, विन्देश्वर राय, रविन्द्र राय, प्रगास राय, रामबाबु, अमोदकुमार, हरिनारायण ठाकुर, ब्रह्मदेव, चन्देश्वर नन्दकिसोर, रामप्रवेशसमेतले मार्न मराउन छेक थुन हुल हुज्जत लछार पछार पारेका र पूर्वयोजनाअनुसार राजनीतिक प्रतिसोध लिन सवाई रायसमेतका मानिसहरूले वचन दिई जानी बुझी विनोदकुमारसमेतले गोली चलाएका हुन् भन्नेसमेत व्यहोराको करिब एकै मिलानको अनुसन्धानका क्रममा बुझिएका मानिसहरू  रामविश्वास राय यादव, चन्द्रेश्वर राय यादव, राम वचन राय, राजाराम साह र राम सुनर रायको कागज । 

मिति ०५४।१।२ गते म, मृतक रामनिरन्जन राय, विरेन्द्र राय, नन्दु रायसमेत मेरो खेतको गहुँबाली सवाई रायसमेतले निजको पक्षका मानिसहरूले काटी लुटी गरेको कुरा थाहा पाई पञ्चायत गराउने उद्देश्यले सवाई रायको घरतिर गइरहेको अवस्थामा सुवा ठाकुरको घरनिर बाटोमा पुग्दा मसहित पञ्चायतीका लागि गएका मानिसहरूलाई घेरी विनोदकुमार रायले रामनिरन्जन रायलाई ताकी गोली फायर गरे । जुवाइले गोली हानी विरेन्द्र रायलाई लाग्न गयो । लगभग ६, ७ फायर भएपछि रामनिरन्जन र विरेन्द्र राय जमिनमा ढले र नन्दु राय पनि घाइते भएका हुन् । बन्दुक बोक्नेमा विनोदकुमार राय, बुलेन्द्र ,रामबाबु राय, नन्दकिसोर, हरिनारायण, चन्देश्वर, रामप्रवेश, ठाकुर रायसमेत 

थिए । प्रसाद राय, विजय कुमार, नागेन्द्र, रूपलाल, भरोसी रविन्द्र, सतनारायण, रामएकवाल, प्रगास रायसमेतले लाठी, भाला, गडसा लिई घेरी छेकी मार्न मराउनमा सहयोग पुर्‌याएका हुन् । विनोदकुमार रायले निज मृतक विरेन्द्र रायको लास आफ्नो घरभित्र लुकाई भाग्ने प्रयास गर्दा गर्दै गाउलेहरूले घेरी प्रहरी आएपछि पक्राउ भएका हुन् र सवाई रायसमेत वारदात गरी फरार भएका हुन् । बरामद भई आएको बन्दुक बुलेन्द्र रायको हो भन्नेसमेत व्यहोराको अनुसन्धानका क्रममा बुझिएका मानिस रामआशिष राय र रामवली राय यादवको करिब एकै मिलानको कागज । 

परीक्षणको लागि पठाइएको कटुवा बन्दुक फायर भएको देखिन्छ । उक्त बन्दुकमा बरामद भई आएको गोली राखी फायर गर्न सकिन्छ । रामनिरन्जन रायको लासबाट निकालिएको गोलीको छर्रा बरामद भई आएको कटुवा बन्दुकमा प्रयोग हुन पनि सक्ने देखिन्छ । विरेन्द्र रायको मृत शरीरबाट निकालिएको गोलीको छर्रा बरामद कटुवा बन्दुकमा प्रयोग गरी फायर हुन सक्दैन तर अरू बोरको बन्दुकमा फायर हुन सक्छ । बरामद भई आएको कटुवा बन्दुक हातबाट बनेको भारतीय हतियार र बरामद भएको गोली पनि भारतमा बनेको हो भन्नेसमेत व्यहोराको विशेषज्ञको रायसहितको परीक्षण प्रतिवेदन । 

विरेन्द्र राय यादवलाई प्रतिवादी जुवाइ रायले गोली हानी र विनोदकुमार राय, सवाई राय, रामगोविन्द राय, ब्रह्मदेव राय, बुलेन्द्र भन्ने विरेन्द्र राय, रामबाबु राय, अमोद कुमार राय, चन्देश्वर, ठाकुर राय, रामप्रवेस, बचेलाल, सतनारायण, रमाशंकर, अशोक, रामविलास, शिवचन्द्र, विन्देश्वरलगायत ३८।३९ जनासमेतको संलग्नतामा मारे मराएका हुन् । विनोदकुमार रायले हानेको गोलीबाट रामनिरन्जन राय घाइते भई उपचारका लागि हरकठवा हे.पो. लैजाँदा मृत्यु भएको हो । बुलेन्द्र, रामप्रवेस, नन्दकिसोर, हरिनारायण ठाकुर, रामबाबु, अमोद चन्देश्वर र जुवाईसमेतले बन्दुक बोकेका थिए । जाहेरीमा उल्लिखित रामसिंहासनलाई घटनास्थलमा देखिन । विरेन्द्रको लासलाई प्रतिवादीहरूले तानी सवाई रायको घरतिर लान लाग्दा मसमेत गई प्रतिकार गर्दा मलाईसमेत लछार पछार गरेका हुन् भन्नेसमेत व्यहोराको अनुसन्धानका क्रममा बुझिएकी मृतक विरेन्द्र राय यादवको आमा मंगलवती देवी, निजकी श्रीमती गिता देवी, मृतक राम निरञ्जनकी श्रीमती किरण देवी, शम्भुप्रसाद साह, रामकुमार राय  र राम एकवाल रायले करिब एकै मिलान हुने गरी गरिदिएको कागज । 

मिति २०५४।१।२ गते अ. ११.१५ बजेको समयमा पञ्चायतीका लागि गएका रामनिरन्जन राय यादव र विरेन्द्र राय यादवलाई प्रतिवादी विनोदकुमार रायले गोली चलाउँदा रामनिरन्जन रायलाई लागेको, जुवाईले चलाएको गोलीले विरेन्द्र रायलाई लागेको, बुलेन्द्र राय र रामप्रवेस रायले समेत गोली चलाएको सो गोली लागी नन्दु राय घाइते भएका हुन्, रामबाबु राय, अमोदकुमार राय, चन्देश्वर राय, हरिनारायण राय, ठाकुर राय, नन्दकिसोर रायसमेतले बन्दुक लिई घेरी छेकी, सवाई राय ब्रह्मदेव राय, रामगोविन्द रायसमेतको वचनले आदेशबाट मारे मराएका र ज्यान मार्ने उद्योगसमेत गरेका हुन् भन्ने व्यहोराको मिति २०५४।१।२२ को महेश राय यादवसमेतका व्यक्तिहरूले वस्तुस्थिति मुचुल्कामा लेखाई दिएको कागज व्यहोरा । 

पीडित नन्दु राय यादवको आँखाभन्दा माथि घाउ चोट लागेको भन्ने निज नन्दु राय यादवका नाउँको मिसिल संलग्न घाउ जाँच केस फारम । 

प्रतिवादी होसनारायण भन्ने सवाई राय, ब्रह्मदेव राय र राम गोविन्द रायको हकमा मार्नलाई मुख्य भई वचन दिनेमा जाहेरवालाहरूको किटानी जाहेरी, बुझिएका सबै व्यक्तिहरूको कागज, प्रतिवादीहरूको बयानमा किटानी पोल र निजमध्येको सवाई रायको सगोलको घरबाट अवैध बन्दुक भेटिएको, केहीले विरेन्द्र रायको लास घसार्नेमा पनि निजमध्ये ब्रह्मदेव सरिक थिए भनी अनुसन्धानको क्रममा बयान गरेको, बुझिएका पीडित व्यक्तिहरू सबैले निजहरूमाथि किटानी पोल गरेकाले  निज प्रतिवादीहरू ३ जनालाई ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर अपराधमा ऐ. ऐनको १३ नं. को देहाय (४) बमोजिम सजाय 

गरिपाऊँ । विनोदकुमार राय, जुवाई राय, भारतीय नागरिक बुलेन्द्र भन्ने विरेन्द्र राय र राम प्रवेश रायसमेत जना ४ को हकमा निजहरूउपर गोली प्रहार गरी मार्ने भनी किटानी जाहेरी परेको, निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित भई पोलसमेत गरी बयान गरेका, सबै सह-अभियुक्तहरूले निजहरूले चलाएको गोलीबाट निरन्जन राय भन्ने रामनिरन्जन राय र विरेन्द्र यादवको मृत्यु भएको र नन्दु राय घाइते भएको भनी पोल गरेका, पीडित व्यक्ति सबैको कागजबाट निजहरूले गोली प्रहार गरेको भनी लेखाइदिएको देखिएकाले निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सजाय गरिपाऊँ । जाहेरी दरखास्तलगायत सह अभियुक्तहरूसमेत केहीको बयान व्यहोरा, बुझिएका मानिस र पीडित व्यक्तिहरूसमेतको कागजको आधारबाट घटनास्थलमा बन्दुक लिई उपस्थित हुने अभियुक्तहरूको रूपमा रामबाबु राय यादव, आमोदकुमार राय यादव, हरिनारायण राय यादव, ठाकुर राय यादव, चन्देश्वर राय तथा नन्द किसोर राय यादव जना ६ देखिएको हुँदा निजहरूउपर ज्यानसम्बन्धी महलको १७ नं. को देहाय १ बमोजिम तथा जाहेरी दरखास्तको व्यहोरा र बुझिएका केही व्यक्तिहरूको कागजातबाट लाठी, भाला, गडसा लिई घटनामा उपस्थित भएका व्यक्तिहरू भनी नाम उल्लेख भए तापनि घटनास्थलमा मृतकलाई गोली प्रहार भएको र घाइते नन्दु रायलाई छर्रा लागेको बाहेक अन्य कसैलाई चोट पटक र क्षति नपुगेको र यसको हातमा यस्तो किसिमको लाठी वा भाला वा गडसा थियो, यसले यसरी र यसबाट यसलाई यस्तो प्रहार भयो भनी प्रस्ट छुटिने गरी कुनै कागजातबाट देखिन नआएको तर पक्राउ परेको अभियुक्तहरूको बयानसमेतका संकलित अन्य कागजातहरूबाट घटनास्थलमा मौजुद रही घेरी छेकी ज्यान मार्ने मराउने कार्यमा संयोग पारेको भन्ने देखिन आएका दिनेस राय यादव, सतनारायण राय यादव, रामविलास राय यादव, राम अश्रेय राय यादव, रूपलाल राय, भरोसी राय यादव, श्याम राय यादव, अशोक कुमार राय यादव, राम प्रताप राय (मानपुर), प्रसाद राय यादव, रविन्द कुमार भन्ने शिवचन्द्र राय, लालबाबु राय, राम एकवाल राय, विजय कुमार राय यादव, राम प्रताप राय (सुन्दरपुर), बचेलाल राय यादव, कैलास राय यादव, विन्देश्वर राय यादव, प्रगास राय, रमाशंकर राय यादव, नागेन्द्र राय यादव र चन्देश्वर राय (चोहर्वा) समेत जना २२ लाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को देहाय २ बमोजिम सजाय गरिपाऊँ । त्यसैगरी सङ्कलित कागजातहरूको आधारमा अभियुक्तहरू पतिराम राय यादव र बेदामीलाल साह तेली जना २ घटनास्थलमा उपस्थित मात्र रही अरू केही नगरेको भन्ने मिसिलबाट देखिँदा निजहरूलाई ज्यानसम्बन्धी महलको १७ नं. को देहाय ३ बमोजिम सजाय गरी र माथि विरूद्ध खण्डमा उल्लिखित सबै सैतीस जना अभियुक्तहरूउपर उपरोक्त वारदातमा घटनास्थलमा नन्दु राय यादवलाई बन्दुकबाट प्रहार भएको गोलीको छर्रा लागी संयोगले बच्न पाएको हुँदा त्यसतर्फ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुर अपराधमा ऐ. महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगतर्फ पनि कारवाही र सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको माग दाबी लिई अभियोग पत्र दायर भएको । 

मृतक राम निरन्जन राय र निजका साथमा रहेका व्यक्तिहरू मेरो घरमा आई मेरो सम्पत्ति लुटपिट गर्न लाग्दा दुवैतर्फबाट बन्दुक चलेको र मैले आफ्नो सम्पत्ति ज्यान सुरक्षाको लागि बन्दुक चलाए पनि मेरो बन्दुकको गोली मृतकलाई नलागी उसैको तर्फको व्यक्तिले चलाएको बन्दुकको गोली लागी निज राम निरन्जनसमेतको मृत्यु भएको हो । मैले अभियोग दाबीअनुसारको कसुर गरेको होइन भन्नेसमेत व्यहोराको विनोद रायले अदालतमा गरेको बयान । 

वारदात मिति र समयमा म घटना भएको ठाउँमा थिइन र मलाई बन्दुक चलाउन पनि 

आउँदैन । बरामद भई आएको नलकटुवा बन्दुक र गोली मेरो होइन । म भारतीय नागरिक भएको हुँदा नेपाली भाषा पनि आउँदैन । प्रहरीसमक्ष भएको बयान मलाई पढी बाची नसुनाई जबरजस्ती सहिछाप गराएका हुन् । झुठा अभियोग दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको बुलेन्द्र भन्ने विरेन्द्र रायले अदालतमा गरेको बयान । 

वारदात मिति र समयमा म घटनास्थलमा थिइन । को कसले बन्दुक चलाई को कसको मृत्यु भयो मलाई थाहा छैन । बरामद भई आएको बन्दुक र गोली कसको हो मलाई थाहा छैन । मैले अभियोग दाबीअनुसारको कसुर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी हरिनारायण राय यादव, राम प्रताप राय यादव, बचेलाल राय, ठाकुर राय, विजयकुमार यादव, दिनेस प्रसाद यादव, गोविन्द राय यादव, प्रगास राय यादव र रामआश्रेय रायले करिब एकै मिलान हुने गरी सुरू अदालतसमक्ष गरेको बयान । 

मैले मृतक राम निरन्जन राय तथा विरेन्द्र रायलाई कर्तव्य गरी मारेको होइन र नन्दु रायलाई ज्यान मार्ने उद्योग गरेको पनि छैन । को कसले कुन परिबन्दबाट मारे मलाई थाहा छैन र नन्दु रायको शरीरमा कसरी चोट लाग्न गयो मलाई थाहा छैन । अभियोग दाबीअनुसारको कसुर मैले नगरेको हुँदा म निर्दोष छु अभियोग दाबी नै झुठा हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रविन्द्र भन्ने शिवचन्द्र राय र बेदामी लाल साहले करिब एकै मिलानको हुने गरी सुरू अदालतमा गरेको बयान । 

मैले मृतक राम निरन्जन राय तथा विरेन्द्र रायलाई कर्तव्य गरी मारेको होइन र नन्दु रायलाई ज्यान मार्ने उद्योग गरेको पनि छैन । को कसले कुन परिबन्दबाट मारे मलाई थाहा छैन र नन्दु रायको शरीरमा कसरी चोट लाग्न गयो मलाई थाहा छैन । म ७० वर्षको वृद्ध शारिरीक अवस्थानै कमजोर भएको र आँखासमेत राम्रोसँग नदेख्ने हुँदा सो अपराध गर्न सक्ने कुरै भएन । अभियोग दाबी झुठा हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रसाद रायले सुरू अदालतमा गरेको बयान । 

वारदात मिति र समयमा म सोस्थलमा नरहेकोले कसले चलाएको बन्दुकको गोली लागी मृतक राम निरन्जन राय र विरेन्द्र रायको मृत्यु भएको खुलाउन सक्दिन । मैले सुनेअनुसार सिंहासन रायले चलाएको बन्दुकको गोली विरेन्द्र रायलाई र राम एकवालले चलाएको बन्दुकको गोली लागी राम निरन्जन रायको मृत्यु भएको र राम विश्वासले फायर गरेको नलकटुवा बन्दुकको गोली लागी नन्दु राय घाइते भएका हुन् । बरामद भई आएको नलकटुवा बन्दुक मेरो नभई जाहेरवालाले आफ्नो घरबाट ल्याई मेरो घरमा राखेको हुनुपर्छ । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान व्यहोरा झुठा हो । मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी राम बाबु राय यादवले अदालतसमक्ष गरेको बयान । 

मृतक निरन्जन राय र विरेन्द्र रायलाई गोली लागेर मरेका हुन् तर के कसको गोलीले मरेका हुन् मलाई थाहा छैन  । मैले निरन्जन र विरेन्द्रलाई बन्दुक प्रहार गरी मारेको हैन । मृतक निरन्जन तथा विरेन्द्रसमेत बन्दुक पड्काउँदै मेरो घर लुट्न आई रहेकाले गोली पड्केको आवाज सुनी म डरले घरबाट भागेँ त्यसपछि के भयो कसले गोली हान्यो मैले 

देखिन । अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अशोककुमार रायले अदालतमा गरेको बयान । 

घटना मिति वारदात समयमा म आफ्नो घरमा नै थिएँ । रामनिरन्जन राय तथा विरेन्द्र रायलाई कसले मारे मलाई थाहा छैन । गाउँका मान्छेहरूले मलाई मेरो घरबाट समाती निरन्जनको घरमा ल्याई राखी प्रहरी बोलाई समातेका हुन् । मैले गोली हानी कर्तव्य गरी मृतकहरूलाई मारेको हैन र बन्दुक पनि चलाएको हैन । मउपरको जाहेरी तथा अभियोग दाबी झुठा हो हुँदा सफाई पाउँ भनी प्रतिवादी रामविलास रायले अदालतमा गरेको बयान । 

मैले कर्तव्य गरी निरन्जन राय र विरेन्द्र रायलाई मारे मराएको र मार्नमा सहयोग पनि गरेको हैन ।  मैले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान राजीखुसीले गरेको नभई कुटाइको डरले गरेको हो । अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सतनारायण रायले सुरू अदालतमा गरेको बयान । 

घटना मिति र समयमा म उखु लिन टायर लिएर गएको थिएँ । मलाई उखु खेतबाटै रामविश्वास, हरि राय, नागेन्द्रसमेतले समाती कुटपिट गर्दै प्रहरीलाई जिम्मा दिएका हुन् ।  मैले मृतक निरन्जन र विरेन्द्र रायलाई कर्तव्य गरी मारे मराएको हैन र नन्दु रायको ज्यान मार्ने उद्योगको अपराध गरे गराएको हैन । मउपरको अभियोग दाबी झुठा भएकाले सो अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पतिराम रायले अदालतमा गरेको बयान । 

वारदात मिति समयमा म आफ्नो खेतमा हलो जोती रहेकोले घटनाको बारेमा मलाई थाहा जानकारी छैन । जाहेरवाला जवाहर पक्षका मानिसहरूले मलाई कुटपिट गरी जवाहरको घरमा राखेको र पछि प्रहरीले मलाई मलंगवा ल्याएको हो । जाहेरी व्यहोरा, प्रहरी प्रतिवेदन व्यहोरा झुठा हो । अधिकारप्राप्त अधिकारीसमक्ष भएको मेरो बयान कुटपिट मारपिटको डरले गरिदिएको हो । बरामद भई आएको भाला कसको हो थाहा भएन । म घटनास्थलमा नभएकोले मउपर लागेको अभियोग दाबी झुठा हुँदा मैले सफाई पाउनुपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी रामएकवाल राय यादवले अदालतमा गरेको बयान । 

घटना मिति र स्थानमा म भारत अयोध्यायमा तिर्थ गर्न गएको थिएँ । मैले अपराध गरे गराएको हैन । मलाई ज्यान मुद्दामा फसाउन पाए मेरो जग्गा सम्पत्ति खाने उद्देश्यले झुठा जाहेर दिएका हुन् । म तीर्थबाट घर आउँदा दुवै पक्षबाट गोली हान हान गर्दा नन्दु रायको आँखानिर गोली लागी घाइते भएको र रामनिरन्जन राय तथा विरेन्द्र रायको मृत्यु भएको भन्ने सुनेकोसम्म 

हो । अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भरोसी राय यादव र रूपलाल राय यादवले अदालतमा गरेको एकै मिलानको बयान । 

घटना मिति समयमा म वारदातस्थलमा नभई खेतमा हलो जोती रहेको थिएँ । के कसको हातबाट हानेको बन्दुकको गोलीबाट कसरी मरे र नन्दु राय कसरी घाइते भए मैले नदेखेको हुँदा खुलाउन 

सक्दिन । खेतबाट गाउँमा आउँदा मृतकहरूलाई गोली लागी मुत्यु भएको भन्ने कुरा गाउँमा हल्ला हुँदा सुनेको हुँ । अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी विन्देश्वर राय यादव र चन्द्रेश्वर राय यादवले करिब एकै मिलान हुने गरी निवेदनसहित सुरू अदालतमा हाजिर भई बयान गरेको । 

घटना हुनुभन्दा अगाडि नै मिति ०५४।१।१ गते नै म आफ्नो ससुराली जि.रौ. हर्दिया गा.वि.स. हर्दिया गाउँमा श्रीमती लिन गएको र त्यहाँबाट भारत सितामढी श्रीमतीको उपचार गराउन बसेको हुँ । डा. एम ठाकुर कहाँ श्रीमतीलाई दबाई गराई त्यहीँबाट ससुरालीतर्फ पठाई दिएको हुँ । सो मितिबाट हालसम्म म गाउँ गएकै छैन । मृतक रामनिरन्जन राय र मेरो काकाको छोरा लालबाबु चुनावमा उठेका थिए । मेरो काकाको छोराले चुनाव जितेपछि निज रामनिरन्जनसँग विवाद भएको र नरसिंह रायसँग पनि पानी पटाउने विषयमा विवाद भएकाले सोही रिसइवीले मेरो नाम पनि जाहेरीमा किटान गरी दिएका होलान् । मैले कसैलाई मार्न मराउन वचन दिएको छैन । जाहेरवाला तथा मृतकहरू होसनारायणको घर लुट्न जाँदा दुवै तर्फबाट गोली हाना हान हुँदा मृतकहरूको मृत्यु भएको कुरा गाउँमा सुनेकोसम्म हो । को कसको गोलीबाट रामनिरन्जन राय र विरेन्द्र रायको मृत्यु भयो मलाई थाहा भएन । अभियोग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ब्रह्मदेव राय यादवले निवेदनसाथ अदालतमा हाजिर भई गरेको बयान । 

मिति ०५४।१।१ गतेका दिन मानपुर गा.वि.स.वडा नं.४ बस्ने ठाकुर रायको घरमा थिएँ । मृतक निरन्जन रायलगायतका उनका पक्षका करिब १०० जना मानिसहरू ठाकुर रायको धान लुट्न 

आए । सो समयमा निजहरूले गोली बन्दुक फायर गरेकाले सोही कुरालाई लिएर मैले हरकठवाका थानामा छिमेकीहरूलाई बोलाई छलफल गर्दा मलंगवामा गई त्यहाँबाट नै शान्ति सुरक्षाको बन्दोबस्त मिलाउने भन्ने कुरा भयो ।०५४।१।२ गते बिहान ६ बजे रामानन्द रायलाई लिई हिरापुर व्यारेजमा बस चढन जाँदा बस नआउँदा साइकल चढी मलंगवा आई नेपाली कांग्रेसको अध्यक्ष नागेन्द्रकुमार यादवसँग सो सबै कुरा भनेँ । उहाँले एस.पि. कार्यालयमा फोन गर्नुभयो । सोही बेला मानपुरमा घटना भयो भन्ने हल्ला मलंगवामा आई पुग्यो । अतः म वारदात समयमा वारदातस्थलमा नभई मलंगवामा भएकोले मैले वचन दिने कुरै आएन भन्नेसमेत व्यहोराको प्रतिवादी होसनारायण भन्ने सवाई राय यादवले निवेदनसाथ अदालतमा हाजिर भई गरेको बयान । 

तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्‌को मिति ०५४।१०।९ को निर्णयले प्रस्तुत मुद्दा फिर्ता लिने निर्णय भएकाले सर्लाही जिल्ला अदालतको मिति ०५४।१०।२३ को आदेशानुसार मुद्दा फिर्ता भएको र थुनामा रहेका प्रतिवादी विनोद राय यादव, बुलेन्द्र भन्ने विरेन्द्र राय यादव तथा चन्देश्वर राय यादवलाई थुनामुक्त गरी दिएको रहेछ । 

श्री ५ को सरकारले मिति ०५४।१०।९ गतेमा गरेको निर्णय र सोको आधारमा सर्लाही जिल्ला अदालतको मिति ०५४।१०।२३ को मुद्दा फिर्ता गर्ने गरेको निर्णय कानूनी त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब उल्लिखित कर्तव्य ज्यान मुद्दाका सम्बन्धित पक्षहरूलाई झिकाई कानूनबमोजिम गर्नु भन्नेसमेतको श्री सर्वोच्च अदालतको मिति ०५९।८।१९ गतेको निर्णय । 

प्रतिवादीहरू लालबाबु राय यादव, नागेन्द्र राय यादव, श्याम राय यादव, नन्दकिसोर राय यादव, रामप्रवेश राय यादव, अमोदकुमार राय यादव, रमाशंकर राय यादव, जुवाई राय यादव, कैलास राय यादव, सुन्दरपुर चुहडवाको चन्देश्वर राय यादव र मानपुर ४ का रामप्रताप राय यादवसमेत जना ११ का नाममा अदालतबाट जारी भएको म्यादमा निजहरू हाजिर नभई फरारै रहे बसेका । 

सवाई रायले निरन्जन र विरेन्द्रलाई मार भनी नाम किटी वचन दिएका हुन् । उक्त घटनामा विनोद, जुवाई, बुलेन्द्र, नन्दकिसोर, अमोद कुमार र रामप्रवेश रायले एक एक फायर गोली चलाएका 

थिए । घटनामा प्रतिवादीहरू भरोसी राय, रूपलाल राय, ठाकुर राय, रामप्रताप रायले फर्सा हातमा लिएका, अन्य प्रतिवादीहरूले लाठी लिएका र विजय र रमाशंकरले भाला लिएका थिए । प्रतिवादी ब्रह्मदेव राय र रामगोविन्द रायले समेत मार मार भनी वचन दिएका हुन् भनी वादी पक्षका मुख्य गवाह जाहेरवालामध्येका नन्दु राय यादवले अदालतमा गरेका बकपत्र । 

यिनै प्रतिवादीहरूको कर्तव्यबाट रामनिरन्जन राय र विरेन्द्र रायको मृत्यु भएको हो र नन्दु रायको आँखाको मुनि गोली लागेको हो भनी वादी पक्षका गवाह अनुसन्धानका क्रममा बुझिएका मानिस महेश रायले अदालतमा गरेको बकपत्र । 

झगडा भएको ठाउँमा प्रतिवादी विन्देश्वर गएका छैनन् । रामनिरन्जन राय र विरेन्द्र रायको मृत्यु गोली प्रहारबाट भएको हो भन्ने सुनेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी विन्देश्वर रायका साक्षी धनई रायले अदालतमा गरेको बकपत्र । 

निरन्जनलाई विनोद रायले, विरेन्द्रलाई जुवाई रायले र नन्दुलाई बुलेन्द्र भन्ने विरेन्द्र रायले सवाई राय, रामगोविन्द राय र ब्रह्मदेव रायको बचन मानी गोली प्रहार गरेका हुन् भन्नेसमेत व्यहोराको बुझिएका वादीका साक्षी राजाराम साहले अदालतमा गरेको बकपत्र । 

के कसरी मृत्यु भयो मलाई थाहा छैन । यी प्रतिवादी वेदामी लाल साहउपरको अभियोग दाबी झुठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी वेदामी लाल साहका साक्षी दिपलाल रायले अदालतमा गरेको बकपत्र । 

मिति २०५४।१।२ गतेका दिन हरि नारायण र जवाहरबीच झगडा भएको थियो । राम निरन्जन रायको मृत्यु आफ्नो कालगतिले नभई झगडा हुँदा भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी हरिनारायण रायका साक्षी नागेन्द्र रायले अदालतमा गरेको बकपत्र । 

मिति २०५४।१।२ गते म घरमै थिएँ । ब्रह्मदेव राय, सवाई राय र रामगोविन्द रायले दुश्मन आयो मार भनी वचन दिनासाथ निरन्जन रायउपर विनोद रायले, विरेन्द्र रायउपर जुवाई रायले र नन्दु रायउपर बुलेन्द्र भन्ने विरेन्द्र रायले बन्दुक प्रहार गरेका हुन् । वचन दिएको र गोली प्रहार भएको मैले देखे सुनेको हुँ भन्नेसमेत व्यहोराको वादी पक्षका साक्षी रम्भु साह, चन्देश्वर राय यादव र शंकर रायले करिब एकै मिलानको हुने गरी सुरू अदालतमा गरेको बकपत्र । 

विरेन्द्र राय सिंहासनको गोलीबाट र रामनिरन्जन राय जवाहर रायको गोलीबाट मरेका हुन् भन्ने सुनेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी राम गोविन्द राय र रामबाबु रायसमेतको साक्षी रिझन राय यादवले अदालतमा गरेको बकपत्र । 

मिति २०५४।१।२ गतेका दिन म र प्रतिवादी पतिराम रायसँगै निजको खेतमा उखुको काम गरिरहेका थियौँ । निज घटनामा संलग्न छैनन् ।  रामनिरन्जन राय र विरेन्द्र रायको मृत्यु भएको सुनेकोसम्म हो । कसले मारे मलाई थाहा छैन भनी प्रतिवादी पतिराम रायको साक्षी रामकिसुन राउतले अदालतमा गरेको बकपत्र । 

महेसी राय, नन्दु, शम्भुसमेतका २०० जना हात हातमा बन्दुक, ढुंगा, भाला, गडसा लिई कराई निरन्जन रायले बन्दुक फायर गर्दा विरेन्द्र रायलाई लागेको र सिंहासनले चलाएको फायरबाट निज रामनिरन्जन राय र विरेन्द्र राय भुइँमा लडेका हुन् भनी प्रतिवादी रामगोविन्द रायका साक्षी छठु ठाकुर लोहारले अदालतमा गरेको बकपत्र । 

पार्टीको कारण होस नारायण भन्ने सवाई रायले मार हान भनी वचन दिएकोले विनोद रायले गोली चलाई रामनिरन्जन रायलाई मारेका हुन् भन्ने मैले सुनेको हुँ भनी वादी पक्षका गवाह रामवृक्ष राय तथा भरोसी सहनीले सुरू अदालतमा गरेको बकपत्र । 

वारदात मिति समयमा रामविलास घटनास्थलमा थिएनन् र निजले अभियोग दाबीअनुसारको कसुर नगरेकाले निजले अभियोगदाबीबाट सफाई पाउनुपर्ने हो भनी प्रतिवादी रामविलास रायका साक्षी महेन्द्र रायले अदालतमा गरेको बकपत्र । 

निरन्जनले चलाएको गोलीबाट विरेन्द्र र विरेन्द्र मरेपछि पछाडि फर्की हेर्दा रामसिंहासनले चलाएको गोली निरन्जनलाई लागी निरन्जनको मृत्यु भयो भनी प्रतिवादी अशोककुमार यादवका साक्षी ठाकुर राय तथा राकेशकुमार यादवले अदालतमा गरेको बकपत्र । 

निरन्जनले गोली चलाउँदा विरेन्द्र रायलाई लाग्यो र त्यहीँ हुलबाट चलाएको एक गोली आई निरन्जनलाई लागेको हो । उक्त घटनामा रामबाबु राय संलग्न छैनन् । त्यस कारण निजले अभियोग दाबीबाट सफाई पाउनुपर्ने हो भनी प्रतिवादी रामबाबु रायका साक्षी भरोसी भन्ने बेला रायले अदालतमा गरेको बकपत्र । 

जुवाई रायले गोलीबाट विरेन्द्र रायलाई प्रहार गरि मारेको भन्ने कुरा मैले गाउँका मानिसहरूबाट सुनेको हुँ । मृतक विरेन्द्र रायको लास होसनारायण रायको घरमा फेला परेको थियो भनी वादी पक्षका गवाह श्यामनन्दन राय यादव तथा रामऔतार राय यादवले अदालतमा गरेको बकपत्र । 

मेरा पतिको होसनारायण भन्ने सवाई रायसँग राजनीतिक रिसइबी थियो । उक्त घटनामा सवाई राय, ब्रह्मदेव राय, रामगोविन्द राय वचन दाता र अन्य प्रतिवादीहरू हात हतियार लिई उपस्थित भएका थिए भन्ने कुरा मैले सुनेको हुँ भनी वादी पक्षका गवाह अनुसन्धानका क्रममा बुझिएकी मृतक रामनिरन्जन रायकी श्रीमती किरण देवीले अदालतमा गरेको 

बकपत्र । 

रामनिरन्जनलाई सवाई रायको वचनबाट विनोद रायले गोली प्रहार गरेका हुन् । ब्रह्मदेव र रामगोविन्द रायले पनि निरन्जनलाई गोली प्रहार गर्न वचन दिएका थिए । विरेन्द्र रायलाई जुवाई रायले गोली प्रहार गरेका हुन् र नन्दु रायलाई बुलेन्द्र भन्ने विरेन्द्र रायले गोली प्रहार गरेका हुन् । पञ्चायती गराउन गएका मानिसलाई भाग्न उम्कन नपाउने गरी यी प्रतिवादीहरूले घेरा हाली मारेका र मार्न लगाएका 

हुन् । मैले सो घटना आफ्नै आँखाले देखेको हुँ भन्नेसमेत व्यहोराको वादी पक्षका गवाह जाहेरवाला जवाहर राय र किसोरी राय यादवले करिब एकै मिलानको सुरू अदालतमा गरेको बकपत्र । 

फरार रहे बसेका प्रतिवादीहरूको अंश रोक्का मुचुल्का मिसिल सामेल रहेको । 

सवाई र निरन्जनको बीचमा राजनीतिक विवाद थियो र सोही विवादको कारण घटना भएको थियो । प्रतिवादीहरू ज्यान मार्ने जस्तो अपराध गर्ने प्रवृत्तिका हैनन् । प्रतिवादीहरूले सफाई पाउनुपर्ने हो भनी वादी पक्षका गवाह अ.बं.११५ नं. बमोजिम बुझिएका व्यक्ति रामवली राय यादवले अदालतमा गरेको बकपत्र । 

निरन्जनले जानी जानी विरेन्द्रलाई गोली चलाएको नभई धोखाले गर्दा लाग्न गएको हो । रामसिहासनले विनोदको उपर गोली चलाएको 

थियो । निरन्जन पछाडि हटेपछि रामसिंहासनले चलाएको गोली निरन्जनलाई लागेको र नन्दु राय घाइते भएका हुन् । जाहेरी दरखास्तको तथा घटना सम्बन्धमा बुझिएका व्यक्तिहरूले गरेको कागज व्यहोरा सबै झुठ्ठा हो भनी अ.बं.११५ नं. बमोजिम बुझिएका वादी पक्षका गवाह रामआशिष राय, जाहेरवाला नरसिंह राय यादव र रामविस्वास रायले करिब एकै मिलान हुने गरी अदालतमा गरेको बकपत्र । 

निरन्जनले गोली हान्यो सो गोली धोकाले विरेन्द्रलाई लाग्यो । त्यसपछि रामसिंहासनले गोली हान्यो सो गोली पनि धोकाले निरन्जनलाई लाग्न गई त्यस विरेन्द्र र निरन्जन लडे र सबै जनाको भागा भाग भयो । अनुसन्धानको क्रममा मैले गरेको कागज व्यहोरा मैले भनेको हैन जवाहरजीले सहिछाप गरिदिनु होस् भनी भनेकाले विश्वासमा परी सहिछाप गरिदिएको हुँ । उक्त घटना मैले आफ्नै आँखाले देखेको तर  होसनारायण राय, रामगोविन्द राय, ब्रह्मदेव रायलाई घटनामा मैले देखिन भनी वादी पक्षका गवाह अ.बं.११५ नं. बमोजिम बुझिएका व्यक्ति रामसुनर राय यादवले अदालतमा गरेको बकपत्र । 

जाहेरवालामध्येका नरसिंह राय मेरा श्रीमान्‌ र मृतक विरेन्द्र राय मेरा छोरा हुन् । मिति २०५४।१।२ गतेका दिन म घरमा नै थिएँ । निरन्जनले चलाएको गोलीबाट मेरो छोरा विरेन्द्र रायको मृत्यु भएको हो । होसनारायण सो दिन गाउँ घरमा थिएनन् । निजहरू कसैले मेरो छोरालाई मार्न मराउन पर्नेसम्मको रिसइवी केही पनि थिएन । जुवाई राय पनि गाउँमा नभएको बेला सो घटना घटेको थियो । निज जाहेरीमा उल्लिखित प्रतिवादीहरूले मेरो छोरालाई गोली हानी मारेको 

हैन । मैले कुनै प्रतिवादीलाई राजीखुशीले पोल गरेको नभई जवाहर रायले मलाई प्रहरीमा बोलाई लेखाई राखेको कागजमा सहिछाप गर्न लगाएको हो भन्नेसमेत व्यहोराको वादी पक्षका गवाह अ.बं.११५ नं. बमोजिम बुझिएका व्यक्ति मंगलवती देवी यादवले अदालतमा गरेको बकपत्र । 

घटना मैले देखेको होइन । सुनेअनुसार मेरो श्रीमान्‌ विरेन्द्रलाई रामनिरन्जन रायले गोली हानी मारेको तर रामनिरन्जन रायलाई कसले मार्‌यो त्यो मैले सुनिन भन्नेसमेत व्यहोराको वादी पक्षका गवाह अ.बं.११५ नं. बमोजिम बुझिएका व्यक्ति गिता देवी रायले अदालतमा गरेको बकपत्र । 

मलाई नन्दुले सो घटना सम्बन्धमा भने सुनाएको आधारमा विनोद राय रामबाबु रायलगायतका धेरै मानिसहरू थिए । विनोदको हातमा बन्दुक थियो र रामबाबुको हातमा नलकटुवा थियो भन्ने थाहा पाएको हुँ  भन्नेसमेत व्यहोराको बुझिएका वादी पक्षका गवाह रामकुमार रायले अदालतमा गरेको बकपत्र । 

प्रतिवादी रूपलाल राय यादव र म मिति २०५३।१२।२१ गतेका दिन भारतको अयोध्या भन्ने ठाउँमा सँगै यज्ञ गर्न भनी गई यज्ञ गरी मिति २०५४।१।८ गतेमा मात्र घर फर्की आएका हौं । घटना मिति समयमा रूपलाल राय यादव गाउँघरमा नभएकाले निजले कसुर अपराध गरे गराएका छैनन् । पार्टी पार्टीको कारणले रूपलाल रायलाई समेत आरोप लगाइएको हो । निजले आरोपित अभियोगबाट सफाई पाउनुपर्ने हो भनी प्रतिवादी रूपलाल राय यादवका साक्षी जयलाल रायले अदालतमा गरेको बकपत्र । 

उक्त दिन रामआशिष राय र रामवली रायको गहुँबाली लुटेको विषयमा सवाई रायको घरमा पञ्चायती हुने भन्ने थियो । पञ्चायतीका लागि सुवा ठाकुरको घरनजिक सार्वजनिक सडकमा रामनिरन्जन, विरेन्द्र, नन्दु रायसमेतका मानिसहरू पुग्दा त्यही चोकमा भएका मानिसहरू ब्रह्मदेव राय, होसनारायण राय र रामगोविन्द रायले मार सालाहरूलाई भनी जुवाई रायले चलाएको बन्दुकको गोली लागी विरेन्द्र राय, विनोदले चलाएको बन्दुकको गोलीले निरन्जन राय, बुलेन्द्र भन्ने विरेन्द्र रायले चलाएको गोली नन्दु रायलाई लागेको 

हो । विरेन्द्र राय सुवा ठाकुरको घरनजिक सार्वजनिक बाटोमा र रामनिरन्जन राय हरकठवा हे.पो.मा मरेका हुन् ।  प्रतिवादीहरू रूपलाल राय, रामबाबु राय, अमोद राय, हरि राय, विजय रायसमेतले मृतक विरेन्द्र रायको लास घिसारेर विनोद रायको घर कोठामा राखेका 

थिए । घटनामा विनोद राय, बुलेन्द्र राय, हरिनारायण राय, नन्दकिसोर राय, चन्देश्वर राय, रामबाबु राय, अमोद राय, रमाशंकर रायसमेतका मानिसहरूले बन्दुक बोकेका र अरू प्रतिवादीहरूले लाठी, भाला, गडसा आदि लिएका थिए भन्नेसमेत वादी पक्षका गवाह रामवचन रायले अदालतमा गरेको बकपत्र । 

प्रतिवादी विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायले चलाएको बन्दुकबाट मृतकहरूको मृत्यु भएको तथ्य पुष्टि भइरहेको अवस्थामा अभियोग दाबीबमोजिम निजहरूलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्म कैद, प्रतिवादी होस नारायण भन्ने सुवाई राय, ब्रह्मदेव राय यादव र रामगोविन्द राय यादवको हकमा मार्ने ठाउँमा केही नगरी हेरेर बसेकोसम्म देखिँदा ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम जनही २ वर्ष कैद, प्रतिवादी रामबाबु राय यादव, हरिनारायण यादव, ठाकुर राय यादव, चन्देश्वर राय यादवलाई ज्यानसम्बन्धी महलको १७(२) बमोजिम कसुर अपराध गरेको सिद्ध हुन आएको हुँदा यी प्रतिवादीहरूलाई जनही ५ (पाँच) वर्षको कैद सजाय, प्रतिवादी राम विलास राय यादव, रूपलाल राय, रविन्द्र कुमार भन्ने शिवचन्द्र राय, विजय कुमार राय यादव, विन्देश्वर राय यादवले मृतक विरेन्द्र रायको लास घटनास्थलबाट विनोद रायको घर कोठामा पुर्‍याउने कार्य गरेको देखिँदा ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम यी प्रतिवादीहरूलाई ६ महिनाको कैद र प्रतिवादी दिनेश राय यादव, सत्यनारायण राय यादव, राम आश्रय राय यादव, भरोसी राय यादव, अशोककुमार राय यादव, प्रसाद राय यादव, राम एकवाल राय यादव, राम प्रताप राय यादव, वचेलाल राय यादव, प्रगास राय यादव, पतिराम राय यादव, वेदामी लाल साहसमेत जना १२ उपर नेपाल सरकारले लिएको अभियोग माग दाबी पुग्न नसकी निजहरूले सफाई पाउने र बाँकी प्रतिवादीहरू जना ११ फरार रहेकाले निजहरूको हकमा मुल्तबी रहने ठहर्छ । ज्यान मार्ने उद्योगतर्फ जाहेरवाला नन्दु राय यादवलाई लागेको चोटबाट निज मर्न सक्ने अवस्थाको घा खत नभएको र प्रतिवादीहरूले ज्यान मार्ने उद्योग गरेको प्रमाण वादी पक्षले गुर्जान नसकेको देखिँदा प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको सुरू सर्लाही जिल्ला अदालतबाट मिति २०६३।९।११ मा भएको फैसला । 

मिसिल संलग्न सम्पूर्ण प्रमाणहरूको यथार्थ एवम् उचित मूल्याङ्कन र विश्लेषण नगरी सुरू सर्लाही जिल्ला अदालतबाट भएको फैसला बदर गरी विरूद्ध खण्डका प्रत्यर्थीलाई अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र । 

हामी पुनरावेदकहरू कथित वारदात स्थलमा गएको छैनौँ । वारदातमा हाम्रो कुनै संलग्नता छैन । हामी पूर्णरूपमा निर्दोष छौं । हामीउपर ज्यानसम्बन्धीको १७(३) बमोजिम ठहर भएको सुरू सर्लाही जिल्ला अदालतको फैसला प्रमाणको मूल्याङ्कनमा गम्भीर त्रुटि भएकोले बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको रामगोविन्द राय यादव, होसनारायण भन्ने सवाई राय यादव र ब्रह्मदेव राय यादवसमेतको संयुक्त पुनरावेदन पत्र । 

अभियोगपत्रलाई संलग्न प्रमाणले समर्थन नगरेको अवस्थामा सजाय गर्नु न्यायोचित 

होइन । वारदातमा हाम्रो कुनै संलग्नता छैन । हामीउपर ज्यानसम्बन्धीको १७(२) बमोजिम ठहर भएको सुरू जिल्ला अदालतको फैसला प्रमाणको मूल्याङ्कनमा गम्भीर त्रुटि भएकोले बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी हरिनारायण राय, चन्देश्वर राय, ठाकुर राय यादवसमेतको संयुक्त र रामबाबु राय यादवको छुट्टै पुनरावेदन पत्र । 

हामी प्रतिवादीहरू निर्दोष छौँ । वारदातस्थलमा पुगेका र कुनै मतलबमा पसेका 

छैनौँ । चलाएको बन्दुक विनोदकुमार रायको घरबाट बरामद भएको छ । सो बन्दुक फायर भएको प्रमाणित नभएपछि विनोद रायको कारणबाट मृतकहरूको मृत्यु भयो भनी हामी पुनरावेदकहरू वारदातस्थलमा रहेको ठहर गर्नु अन्यायपूर्ण रहेकोले थुनछेकमा राखेको धरौटी जफत गरी जनही ६ महिना कैद सजाय गर्ने गरेको फैसला बदर गरी सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी विजयकुमार राय यादव, रविन्द्र भन्ने शिवचन्द्र राय यादव, विन्देश्वर राय यादव, रूपलाल राय यादवसमेतको संयुक्त र प्रतिवादी रामविलास राय यादवको छुट्टै पुनरावेदन पत्र । 

प्रतिवादीमध्येका विरेन्द्र राय यादव र विनोदकुमार यादवको हकमा पुनरावेदन अदालतमा साधकमा दर्ता भएको । 

मानिसको समूहको बीचमा भएको वारदातमा मृतकको मृत्यु गोली प्रहारबाट भएको देखिएको अवस्थामा अन्य गोली प्रहार नगर्ने पुनरावेदक प्रतिवादीहरूको हकमा सजाय गर्ने गरेको सर्लाही जिल्ला अदालतको मिति २०६३।९।११ को फैसलामा प्रमाणको विश्लेषण र मूल्याङ्कनको प्रश्नमा त्रुटि भएको र दुवैपक्षको पुनरावेदन परेको देखिँदा एक अर्काको पुनरावेदनपत्र एक अर्कालाई सुनाई तथा प्रत्यक्षदर्शीको भनाइ ग्रहण नगरी सफाई दिएको हकमा समेत छलफलका निमित्त विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।२।३ को झगडिया झिकाउने आदेश । 

पुनरावेदक प्रतिवादीहरू ज्यान मार्ने मतलबमा पसी वारदातस्थलमा मौजुद रहेको भन्ने तथ्ययुक्त प्रमाणको अभावमा प्रतिवादीहरू होसनारायण भन्ने सवाई राय यादव, रामगोविन्द राय, ब्रह्मदेव राय यादव, रामविलास राय यादव, रूपलाल राय यादव, रविन्द्र भन्ने शिवचन्द्र राय यादव, विजयकुमार राय यादव र विन्देश्वर राय यादवलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम र रामबाबु राय यादव, हरिनारायण राय यादव, ठाकुर राय यादव र चन्देश्वर राय यादवलाई १७(२) नं. बमोजिम सजाय गरेको हदसम्म सुरू सर्लाही जिल्ला अदालतले मिति २०६३।९।११।३ मा गरेको फैसला नमिलेकोले सो हदसम्म उल्टी भई निजहरूले आरोपित कसुरबाट सफाई पाउने, बुलेन्द्र भन्ने विरेन्द्र राय यादव र विनोदकुमार राय यादवलाई सर्वस्वसहित जन्म कैद गरेको र सुरूमा सफाई पाएका प्रतिवादीहरू दिनेशराय यादव, सत्यनारायण राय यादव, रामआश्रे राय यादव,  भरोसी राय यादव, अशोककुमार राय यादव, प्रसाद राय यादव, रामएकवाल राय यादव, सुन्दरपुरका रामप्रताप राय यादव, वच्चेलाल राय यादव, प्रगास राय यादव, पतिराम राय यादव र वेदामीलाल साह तेलीको हकमा समेत आरोपित कसुरको पुष्टि गर्ने प्रमाणको अभावमा सुरू फैसला सदर हुन्छ र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । नन्दुरायलाई सामान्य किसिमको चोट लागेको देखिई मार्ने बदनियतले ज्यान मार्ने उद्योग गरेको भन्ने पुष्टि नभएकोले ज्यान मार्ने उद्योगतर्फको अभियोग पुष्टि गर्ने आधारसमेत नरहेको हुँदा त्यसतर्फको वादी नेपाल सरकारको पुनरावेदन जिकिरसमेत पुग्न सक्ने देखिएन भन्नेसमेत व्यहोराको श्री पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।३।६ को फैसला । 

कर्तव्य ज्यान प्रमाणित भई गोली चलाउने भनी प्रतिवादीहरूमध्येका विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायउपर ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिम कसुर ठहर भइसकेको अवस्थामा प्रतिवादीहरूमध्येका होसनारायण भन्ने सवाई राय, राम गोविन्द राय र ब्रह्मदेव रायले पूर्व योजनाअनुसार स्वयं घटनास्थलमा उपस्थित भई गोली चलाउन आदेश दिएको, प्रतिवादीमध्येका रामबाबु राय यादव, हरिनारायण राय यादव, ठाकुर राय यादव र चन्द्रेश्वर राय यादवसमेत घटनामा बन्दुकसहित उपस्थित रहेको, त्यस्तै प्रतिवादीमध्येका रामविलास राय, रूपलाल राय, रविन्द्र भन्ने शिवचन्द्र राय, विजयकुमार राय र विन्देश्वर रायसमेत म त सल्लाहमा फसी घटनास्थलमा तत्काल उपस्थित रही मृतकहरूको समूह सवाई रायको घरतर्फ आउँदै गर्दा घर नजिक बाटोमा घेराउ गरेको र विरेन्द्र रायको लास घिसारेर लग्ने कार्यमा समेत संलग्न रहेको प्रतिवादीहरूमध्येका दिनेश राय, सत्यनारायण राय, राम आश्रेय राय, भरोसी राय, अशोककुमार राय, प्रतिराम राय, वेदामीलाल साह, प्रसाद राय, राम एकवाल राय, राम प्रताप राय, वचेलाल राय र प्रगास रायको पनि घटनास्थलमा उपस्थिति रहेको भन्ने तथ्य जाहेरी दरखास्त, मौकामा प्रतिवादीहरूले स्वीकारोक्ती र एक आपसमा पोलसमेत गरी गरेको बयान घटनास्थलमा मौजुद रही घटना देख्ने व्यक्तिहरूले मौकामा गरिदिएको कागज जस्ता मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि भइरहेको हुँदा सुरू जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसला सफाई पाएको हदसम्म बदर गरिपाऊँ । साथै प्रतिवादीहरूले चलाएको गोली लागी मौकामा नै उपचार पाई बाँच्न सफल भएका नन्दु रायउपर पनि मार्ने उद्देश्यले नै गोली चलाएको हो । बचाउको लागि पुगेका अन्य मानिसहरूको उपस्थिति र प्रतिवादीहरू विनोदकुमार राय र विरेन्द्र रायलाई तत्काल गाउँलेहरूले पक्राउ गरेका कारण मात्र निजमाथि थप गोली प्रहार भई ज्यान मर्न नपाएको हुँदा माथि उल्लेखित वचन दिने गोली चलाउने हात हतियार लिई घटना स्थलमा उपस्थित रहने घेर्ने छेक्ने कार्य गर्ने प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगको कसुरबाट समेत सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र । 

श्री पुनरावेदन अदालत, जनकपुरबाट प्रस्तुत मुद्दाका प्रतिवादी विरेन्द्र राय यादव र विनोदकुमार राय यादवका हकमा सर्वश्वसहित जन्मकैद हुने गरी भएको सुरू फैसला सदर हुने ठहरेकाले सो हदसम्म साधक सदरको लागिसमेत यस अदालतमा दर्ता हुन आएको । 

नियमबमोजिम साप्ताहिक तथा आजको दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री राम घिमिरेले घटना सुनियोजित तरिकाले अवैध हतियारको प्रयोग गरी भएको हो । गहुँ बाली लुटी लग्दा पञ्चायती गर्न भनी गएका व्यक्तिहरूलाई प्रतिवादीहरूले बाटैमा घेरी प्रतिवादीहरूमध्येका विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र यादवले चलाएको गोली लागी २ जनाको मृत्यु र एक जना घाइते भएको कुरा स्थापित भइसकेको छ । घटनामा गोली ठोक भनी वचन दिने, घटनामा हातहतियार लिई संलग्न रहेका र वारदातस्थलमा उपस्थित रही घेर्ने छेक्नेलगायतका कार्यमा प्रत्यक्ष संलग्न रहेका भनी जाहेरीमा किटानी भई सोकै समर्थन हुने गरी स्वयं प्रतिवादीहरूले कसुर स्वीकार गरी एक आपसमा पोल गरी मौकामा बयान गरिदिएको साथै वारदात स्थलमा उपस्थित रहेकाहरूले मौकामा 

कागज गर्दा विभिन्न प्रतिवादीहरूको विभिन्न किसमको संलग्नता रहेको भनी लेखाइदिएको जस्ता मिसिल संलग्न कागज प्रमाणहरूको विश्लेषणबाट दोषी ठहर हुनु पर्ने यी प्रतिवादीहरूलाई अदालतमा गरेको इन्कारी बयान, अपर्झट प्रतिकारका लागी गोली चलाउँदा घटना भएको हो भन्ने जस्ता आत्मनिष्ठ आधार लिई पुनरावेदन अदालतबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको भनी बहस गर्नुभयो । 

विद्वान् उपन्यायाधिवक्ताको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूको निरूपण गरी निर्णय गर्नुपर्ने देखियो । 

१. अभियोग दाबीबमोजिम वारदातमा प्रतिवादीहरूको संलग्नता छ छैन ? यदि छ भने के कसको कस्तो संलग्नता रहेको छ ?

२. पुनरावेदन अदालत, जनकपुरले गरेको फैसला मिलेको छ छैन ? तथा पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? प्रतिवादीहरू विरेन्द्र राय यादव र विनोदकुमार रायका हकमा साधक सदर हुन्छ हुँदैन ?

 

यसमा, मृतक रामनिरन्जन राय र विरेन्द्र रायलाई मार्न बन्दुक प्रहार गर्ने विनोदकुमार राय, जुवाई राय, बुलेन्द्र भन्ने विरेन्द्र राय र रामप्रवेश रायसमेत ४ जनालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय (१) बमोजिम, होसनारायण भन्ने सवाई राय, रामगोविन्द राय र ब्रह्मदेव रायले मुख्य भई वचन दिएकाले निजहरूलाई ऐ. महलको १३ नं. को देहाय (४) बमोजिम, घटनास्थलमा बन्दुक लिई उपस्थित हुने अभियुक्तहरूको रूपमा रामबाबु राय यादव, आमोदकुमार राय यादव, हरिनारायण राय यादव, ठाकुर राय यादव, चन्देश्वर राय तथा नन्दकिसोर राय यादव जना ६ देखिएको हुँदा निजहरूउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को देहाय १ बमोजिम  तथा घटनास्थलमा मौजुद रही घेरी छेकी ज्यान मार्ने मराउने कार्यमा संयोग पारेको भन्ने देखिन आएका दिनेश राय यादव, सतनारायण राय यादव, रामविलास राय यादव, राम आश्रेय राय यादव, रूपलाल राय, भरोसी राय यादव, श्याम राय यादव, अशोककुमार राय यादव, राम प्रताप राय (मानपुर ), प्रसाद राय यादव, रविन्द कुमार भन्ने शिवचन्द्र राय, लालबाबु राय, राम एकवाल राय, विजयकुमार राय यादव, राम प्रताप राय (सुन्दरपुर), बचेलाल राय यादव, कैलास राय यादव, विन्देश्वर राय यादव, प्रगास राय र रमाशंकर राय यादव, नागेन्द्र राय यादव, तथा चन्देश्वर राय (चोहर्वा) समेत  जना २२ लाई मुलुकी ऐन, ज्यानसम्बन्धी  महलको १७ नं. को देहाय २ बमोजिम, त्यसै गरी अभियुक्तहरू पतिराम राय यादव र वेदामीलाल साह तेली जना २ लाई घटनास्थलमा उपस्थित मात्र रही अरू केही नगरेको भन्ने मिसिलबाट देखिँदा निजहरूलाई ऐ. महलको १७ नं.को देहाय ३ बमोजिम सजाय हुन र सबै सैतीस जना अभियुक्तहरूउपर उपरोक्त वारदातमा नन्दु राय यादवलाई बन्दुकबाट प्रहार भएको गोलीको छर्रा लागी संयोगले बच्न पाएको हुँदा त्यसतर्फ मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम ज्यान मार्ने उद्योगतर्फ पनि कारवाही र सजाय हुन अभियोग माग दाबी लिएको पाइयो । 

सुरू सर्लाही जिल्ला अदालतले फरार प्रतिवादीहरू जना ११ को हकमा मुलतबी राखी प्रतिवादीहरूमध्ये विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र राय जना २ लाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम सर्वस्वसहित जन्म कैद, प्रतिवादी होसनारायण भन्ने सुवाई राय, ब्रह्मदेव राय यादव  र  रामगोविन्द राय यादव जना ३ को हकमा मार्नें ठाउँमा केही नगरी हेरेर बसेकोसम्म देखिएको ठहराई ज्यानसम्बन्धी महलको १७ नं. को देहाय ३ बमोजिम जनही २ वर्ष कैद, प्रतिवादी रामबाबु राय यादव, हरिनारायण यादव, ठाकुर राय यादव, चन्देश्वर राय यादव जना ४ लाई ज्यानसम्बन्धी महलको १७ नं. को देहाय २ बमोजिम जनही  ५ वर्षको कैद, प्रतिवादी राम विलास राय यादव, रूपलाल राय, रविन्द्रकुमार भन्ने शिवचन्द्र राय, विजयकुमार राय यादव, विन्देश्वर राय यादव जना ५ लाई ज्यानसम्बन्धी महलको १७ नं. को देहाय ३ नं. बमोजिम ६ महिनाको कैद र  प्रतिवादी दिनेश राय यादव, सत्यनारायण राय यादव, रामआश्रय राय यादव, भरोसी राय यादव, अशोककुमार राय यादव, प्रसादराय यादव, रामएकवाल राय यादव, राम प्रताप राय यादव, वचेलाल राय यादव, प्रगास राय यादव, पतिराम राय यादव, वेदामी लाल साहसमेत जना १२ लाई सफाई दिने गरी र प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी पुग्न नसक्ने गरी फैसला गरेको पाइयो । सो फैसलाउपर वादी नेपाल सरकारको र प्रतिवादीहरू राम गोविन्द राय यादव, सवाई राय यादव, ब्रह्मदेव राय यादव, हरिनारायण राय यादव, चन्द्रेश्वर राय यादव, ठाकुर राय यादव, विजयकुमार राय यादव, रविन्द्र भन्ने शिवचन्द्र राय यादव, विन्देश्वर राय यादव, रूपलाल राय यादव, रामविलास राय यादव र रामबावु राय यादवसमेत गरी १२ जनाको पुनरावेदन परेको र प्रतिवादीमध्येका विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायको हकमा श्री पुनरावेदन अदालत, जनकपुरमा साधकमा दर्ता भएको देखियो । 

पुनरावेदन अदालत, जनकपुरबाट साधकको रोहबाट आएको विनोदकुमार राय यादव र बुलेन्द्र भन्ने विरेन्द्र रायको हकमा सर्वश्वसहित जन्मकैद हुने गरी भएको सुरू अदालतले गरेको फैसलामा साधक सदर हुने गरी र बाँकी प्रतिवादीहरूको हकमा नेपाल सरकारको अभियोग दाबी तथा पुनरावेदन जिकिर पुग्न नसक्ने भनी निजहरूले सफाई पाउने ठहराई फैसला भएको पाइयो । उक्त फैसलाउपर प्रतिवादीमध्येका विनोदकुमार राय यादव र बुलेन्द्र भन्ने विरेन्द्र रायको हकमा साधकमा र अन्य सफाई पाएका प्रतिवादीहरूको हकमा अभियोग दाबीबमोजिम गरिपाउँ भनी वादी नेपाल सरकारको पुनरावेदन यस अदालतमा दर्ता भएको देखिन्छ । 

२. निर्णयतर्फ विचार गर्दा, मृतकहरूको मृत्युसम्बन्धमा मृतक राम निरञ्जनको दायाँपट्टि गालामा, घिच्रामा, दायाँ हातको जोर्नीमा गोली लागेको भन्ने र मृतक विरेन्द्र रायको निधारमा बीच भागमा आँखामाथि छर्रा लागेको घाउ रही रगत बगेको दायाँ कानभन्दा मुनि घाउ चोट रहेको भन्ने लास प्रकृति मुचल्कामा लेखिएको छ, शव परीक्षण प्रतिवेदनमा मृतकको मृत्यु गोली प्रहारबाट अत्यधिक रक्तश्राव भई भएको भनिएको, यस तथ्यलाई अभियुक्तहरूको बयान मौकामा बुझिएका व्यक्तिको कागज तथा बकपत्रसमेतबाट पुष्ट्याइँ भइरहेको अवस्था र मृत्यु कर्तव्यबाट भएको तथ्य निर्विवादसमेत रहन गएको अवस्थामा मृतकको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्य स्थापित भएको छ । 

३. मृतकको मृत्यु कर्तव्यबाट भएको यस अवस्थामा वारदातमा प्रतिवादीहरूको संलग्नता छ छैन ? यदि छ भने क कस्को कस्तो संलग्नताबाट मृतकहरूलाई मार्ने कार्य भएको हो ? भन्ने पहिलो प्रश्नको निरूपण गर्नेतर्फ हेर्दा प्रतिवादीहरूमध्येका जुवाई राय, रामप्रवेश राय, विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायको हकमा गोली चलाई मारेको भनी ज्यानसम्बन्धी महलको १३ नं. को देहाय १ बमोजिमको सजायको माग दाबी लिई अभियोगपत्र दायर भएको छ । यसमध्ये जुवाई राय र रामप्रवेश राय फरार हुँदा निजहरूको हकमा मुद्दा मुलतबी रहेकाले विचार गर्नु परेन । विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायको हकमा सुरू र पुनरावेदन तहबाट अभियोग दाबी ठहर भई यस अदालतमा साधक जाहेर भएकाले उक्त अभियोग दाबीसम्बन्धमा विचार गर्नुपर्ने हुन आयो । 

४. जाहेरी दरखास्त, जाहेरवालाहरूले मौकामा र अदालतमा समेत गरेको बकपत्र, प्रतिवादीहरूले अनुसन्धानको क्रममा गरेको बयान, घटना देख्ने व्यक्तिहरूले मौकामा गरिदिएको कागज र सोलाई समर्थन हुने गरी अदालतमा गरिदिएको बकपत्र, सहअभियुक्तले मौकामा गरिदिएका बयानसमेतबाट प्रतिवादीहरू र मृतक एवं जाहेरवालासमेतका व्यक्तिहरूका बीचमा राजनीतिकरूपले आपसी रिसइवी रहेकोले दुवै पक्षबिच आपसी झगडा हुने गरेको 

देखिन्छ । सोही क्रममा मृतक पक्षले प्रतिवादी पक्षको गहुँ लुटेर लगेको र प्रतिवादी पक्षले मृतक पक्षका रामवली राय र रामआषिश रायको जग्गाको गहुँ लुटेर लगेकोमा पञ्चायती गरी सो लुटेर लगेको गहुँ फिर्ता लिन जाने क्रममा झडप हुन गई घटना घटेको पाइन्छ । 

५. पञ्चायती गरी गहुँ फिर्ता लिन भनी  २०५४।१।२ गतेका दिन मृतकहरूको समूह प्रतिवादीमध्येका सवाई रायको घरमा जादै गर्दा 

निजको घरनजिक प्रतिवादीमध्येका विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायसमेतले गोली चलाउँदा रामनिरञ्जन राय यादव र विरेन्द्र यादवको मृत्यु 

भएको र नन्दुराय यादव गोलीको छर्रा लागी घाइते भएको भनी जवाहर राय, नरसिंह राय र नन्दु रायले संयुक्त जाहेरी दिएको पाइन्छ । स्वयं यी प्रतिवादीहरू जना २ ले मौकामा गरेको बयानमा यस तथ्यलाई स्वीकार गरेका छन् । निजहरूले अदालतमा इन्कार भई बयान गरे तापनि उक्त इन्कारी पुष्टि हुने गरी साक्षी बकपत्र गराउन सकेको पाइँदैन । अदालतको इन्कारी बयान आफैँमा स्वतन्त्र प्रमाण हुन सक्दैन । सोको पुष्टि अन्य वस्तुगत तथा परिस्थितिजन्य प्रमाणबाट पनि हुनुपर्दछ । सवाई रायको घरबाट बरामद भएको नलकटुवा बन्दुक तथा फायर भएको गोलीको खोका बुलेन्द्र भन्ने विरेन्द्र राय यादवको हुनुपर्छ भनी सोनिया देवी यादव र प्रतिवादी विनोदकुमार यादवले सनाखत गरिदिएको छ । स्वयं यी प्रतिवादी बुलेन्द्र भन्ने विरेन्द्र राय यादवले समेत उक्त बन्दुक आफ्नो भएको स्वीकारी सनाखत गरिदिएको र मृतक विरेन्द्र रायको लास प्रतिवादी विनोद रायको घरको कोठाभित्र रहेको घटनास्थल तथा लास प्रकृति मुचुल्काबाट देखिएको 

छ । बरामदी मुचुल्का, प्रहरी विधिविज्ञान प्रयोगशालाको गोली तथा हतियार परीक्षण प्रतिवेदन, शव परीक्षण प्रतिवेदनलगायतका कागजहरूबाट पनि सोही बरामदी बन्दुकको गोली लागी वारदात घट्न गएको समर्थित हुन्छ । मौकामा कागज गर्ने व्यक्तिहरूले घटनामा गोली चलाउने भनी यी दुई प्रतिवादीहरूसमेतको नाम उल्लेख गरेका र अन्य सहअभियुक्तहरूको मौकाको बयानमा पनि यी प्रतिवादीहरूले चलाएको गोलीबाट नै मृतकहरूको मृत्यु भएको भनी पोल गरेको 

पाइन्छ । यी प्रतिवादीहरू मिति २०५४।१०।२३ मा सर्लाही जिल्ला अदालतको आदेशले मुद्दा फिर्ता भई थुनाबाट छुटी गएका र तत्पश्चात २०५९।८।१९ को श्री सर्वोच्च अदालतको निर्णयअनुसार पुनः मुद्दा चल्दा म्यादमा अदालतमा हाजिर नभई फरार रहेको 

देखिन्छ । यदि आफू निर्दोष रहेको वा अभियोग दाबीअनुसारको कसुरमा संलग्नता नरहेको भनी सजायबाट छुट वा कमी पाउनु पर्ने भए निजहरूले अदालतमा हाजिर भई अदालतबाट प्राप्त हुने सुनुवाई र पुनरावेदनका जस्ता मौकाहरू उपयोग गर्न सक्नु पर्ने थियो । यसरी मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीहरू विनोदकुमार राय र बुलेन्द्र भन्ने विरेन्द्र रायले चलाएको गोलीबाट नै मृतकको मृत्यु भएको तथ्य स्थापित हुन आउँछ । 

६. यसरी आपराधिक कार्य स्थापित भएपछि सो कार्य मनसायपूर्वकको हो होइन ? भन्नेतर्फ विचार गर्दा मनसाय तत्त्व अलग्गै प्रमाणित हुने नभई आपराधिक कार्य गर्दाका गतिविधिहरूबाट नै पुष्टि हुने विषय भएकाले यसमा दुवै पक्षबीच पहिलेदेखि नै झगडा भइरहने गरेको देखिनु, त्यस दिन पनि गहुँ लुटेको विषयमा पञ्चायती गर्न भनी आएका व्यक्तिहरूलाई बाटोमा रोकी गोली चलेको, धेरै चोटि फायर भएको, प्रतिवादीहरूको हात हातमा बन्दुक लिएर गएको भन्ने जस्ता तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिएकोले यी प्रतिवादीहरूले जानी जानी मनसायले नै गोली चलाएको कुरालाई अन्यथा भन्न मिल्दैन । 

७. अब अन्य प्रत्यर्थी प्रतिवादीहरूमध्ये होसनारायण भन्ने सवाई राय, ब्रह्मदेव राय र रामगोविन्द रायउपर मुख्य भई वचन दिने भनी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय ४ अनुसार सजायको मागदाबी लिई अभियोग दायर भई सुरूले निज प्रतिवादीहरूलाई मार्ने ठाउँमा अरू केही नगरी हेरेर बसेको देखिएको भनी ऐ. महलको १७ नं. को देहाय ३ अनुसार सजाय गरेकोमा पुनरावेदन अदालतले निजहरूलाई सफाई दिएउपर, प्रतिवादीहरू रामबाबु राय यादव, हरिनारायण राय यादव, ठाकुर राय यादव र चन्द्रेश्वर राय यादव (मानपुर) गरी ४ का हकमा घटना स्थलमा बन्दुक लिई उपस्थित भएका भनी ज्यानसम्बन्धी महलको १७ को देहाय १ को सजायको मागदाबी लिइएकोमा सुरू अदालतले भाग्न उम्कन नपाउने गरी मार्ने कार्यमा संयोगसम्म पारी दिने भनी ५ वर्ष कैद गरी पुनरावेदन अदालतबाट निजहरूले सफाई पाएउपर, प्रत्यर्थी प्रतिवादीहरू राम विलास राय यादव, रूपलाल राय, रविन्द्रकुमार भन्ने शिवचन्द्र राय, विजय कुमार राय यादव  र  विन्देश्वर राय यादव जना ५ को हकमा घेर्ने छेक्ने र मार्नलाई संयोग पारी दिने भनी ज्यानसम्बन्धी महलको १७ नं. को देहाय २ नं. बमोजिम दाबी लिएकोमा सुरू अदालतले १७ नं. को देहाय ३ अनुसार ६ महिना कैद गरी पुनरावेदन अदालतले सफाई दिएउपर, प्रतिवादी दिनेश राय यादव, सत्यनारायण राय यादव, रामआश्रय राय यादव, भरोसी राय यादव, अशोककुमार राय यादव, प्रसाद राय यादव, राम एकवाल राय यादव, रामप्रताप राय यादव, वचेलाल राय यादव, प्रगास राय यादवसमेत जना १० को हकमा पनि मार्न संयोग पारिदिने भनी ऐ. १७ नं. को देहाय २ बमोजिमको सजाय मागदाबी लिएकोमा सुरूले सफाइ दिएको सदर हुने ठहराई पुनरावेदन  तहबाट भएको फैसलाउपर र पतिराम राय यादव र वेदामीलाल साहसमेत जना २ लाई घटनास्थलमा उपस्थित भनी १७ नं. को देहाय ३ अनुसारको सजाय मागदाबी लिएकोमा सुरूले सफाई दिने गरी गरेको फैसलालाई पुनरावेदनले सदर गरी दिएको फैसलाउपर उल्लिखित सबै प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने दाबी लिई यस अदालतमा पुनरावेदन परेको छ । 

८. अब यी प्रत्यर्थी प्रतिवादीहरू जना २४ को कसुरमा संलग्नता छ छैन ? संलग्नता भए कसको कसरी संलग्नता छ ? भन्नेसम्बन्धमा विचार गर्दा मृतक पक्षसँग प्रतिवादीहरूको पक्षको राजनीतिकरूपमा विवाद झगडा हुने गरेको मिसिल संलग्न प्रमाणबाट देखिए तापनि प्रस्तुत वारदात मृतकहरूको हत्या गर्ने पूर्व नियोजित योजनाअनुसार सामूहिक मत सल्लाह गरी घटाइएको नभई लुटेको गहुँ बाली फिर्ता लग्ने प्रतिवादीहरूको कार्यको प्रतिकार गर्न मृतक पक्षका मानिसहरू होसनारायण भन्ने सवाई रायको घरमा आउँदै गर्दा गोली फायर भई अपर्झटमा भएको वारदातको प्रकृतिबाट देखिन आउँछ । प्रतिवादी होसनारायण भन्ने सवाईराय, रामगोविन्द राय यादव र ब्रह्मदेव यादवसमेतले अदालतसमक्ष कसुरमा इन्कार रही वारदातको बखतमा आफू अन्यत्र उपस्थित रहेको जिकिर लिएको देखिन्छ । अन्य प्रतिवादीहरू पनि अदालतसमक्ष कसुरमा इन्कार रहेका छन् । घटना अपर्झट भएको देखिनाले यी सबै प्रतिवादीहरू घटनास्थलमा उपस्थित हुन सक्ने अवस्था पनि देखिँदैन । घटनापश्चात् घटनास्थलमा देखिने जति सबैको घटनामा संलग्नता रहेको हुन्छ भनी भन्नु पनि न्यायोचित हुँदैन । जाहेरवाला जवाहर राय, नरसिंह राय र नन्दुरायले आफूले समेत वारदात देखेको भन्दै होस नारायण भन्ने सवाई राय, रामगोविन्द राय यादव र ब्रह्मदेव राय यादवसमेतले ज्यान मारी देउ भनी वचन दिएका हुन् भनी जाहेरीमा उल्लेख गरेकोमा जाहेरवाला जवाहर रायले अदालतसमक्ष बकपत्र गर्दा आफूले घटना घटेको नदेखेको र घटना घटेको सुनी त्याहाँ जाँदा उल्लिखित प्रतिवादीहरूलाई घटनास्थलमा देखेको र पहिला वचन दिने काम भई यी प्रतिवादीहरूको संलग्नतामा घटना घटेको भनी सुनेको हुँ भनी बकपत्र गरिदिएका छन् । स्वयं मृतक विरेन्द्र रायका बाबु अर्का जाहेरवाला नरसिंह रायले घटना वारदात आफूले नदेखेको हुँदा केही थाहा नभएको भनी बकपत्रमा लेखाएबाट सुरू जाहेरीमा देखेको भनी लेखाएको कुरा जाहेरवालाको आफ्नै बकपत्रबाट खण्डित भएको देखिन्छ । त्यस्तै स्वयं वादी पक्षका गवाह लास प्रकृति मुचुल्काका मानिस रामवृक्ष राय, भरोसी सहनी, श्यामनन्दन राय यादव र रामऔतार राय यादवले घटनाबारे सुनेको हो भनी अदालतमा बकपत्र गरी दिएका छन् । वादी पक्षका गवाह मृतक रामनिरञ्जन रायकी श्रीमती किरण देवीले पनि घटनास्थलमा यी प्रतिवादीहरूको संलग्नता रहेको सुनेको मात्र हुँ भनी अदालतमा बकपत्र गरिदिएको छ । वादी पक्षका गवाह घटनासम्बन्धमा बुझिएका व्यक्ति रामवली राय यादव, राम सुनुवर राय यादव, राम विश्वास राय यादव र रामआशिष रायसमेतले मृतक निरञ्जन पक्षका मानिसहरूले नै गोली प्रहार गरेको, सवाई राय र निजका भाइहरू त्यहाँ नभएको, पहिला राम निरञ्जनले नै गोली चलाई विरेन्द्रलाई लागेको र विरेन्द्र ढले पछि सिंहासनले गोली चलाउँदा रामनिरञ्जनलाई लाग्न गएको हो र प्रतिवादीहरूलाई पछि प्रहरीले खेतबाट तथा घरघरबाट पक्रेका हुन् । साथै अनुसन्धानमा लेखाएको सत्य नभई जवाहरले सही गर भन्दा गरेको हुँ भनी अदालतमा बकपत्र गरी दिएका छन् । त्यस्तै मृतक विरेन्द्रकी आमा मंगलवतीले र श्रीमती गिता देवी रायले पनि निरञ्जनले चलाएको गोलीबाट विरेन्द्रको मृत्यु भएको, होसनारायण र जुवाई सो दिन घरमा नभएको र मार्न मराउनेसम्मको रिसइवी प्रतिवादीहरूको नभएको भनी अदालतमा बकपत्र गरिदिएको छन् । प्रतिवादीहरूका साक्षीले पनि घटनामा यी प्रतिवादीहरूको संलग्नता रहेको तथ्यलाई इन्कार गरी बकपत्र गरिदिएको पाइन्छ । यसरी उल्लिखित जाहेरवाला र वादी पक्षका गवाह तथा वादी पक्षका अन्य साक्षीहरूको अदालतको बकपत्र र मौकाको कागज एक आपसमा मिले भिडेको देखिँदैन । परस्पर बाझिने गरी बोलेको कुरालाई प्रमाणका रूपमा लिन सकिँदैन । जाहेरीमा र मौकाको कागजमा यदि आफू विश्वस्त भई देखे जानेको सत्य कुरा लेखाएको भए अदालतमा आई सो कुरा भन्न नसक्ने देखिँदैन । 

९. कमन लसँग नजिक रहेको हाम्रो कानून प्रणालीमा यसले यस्तो कसुर गरेको हो भनी निसन्देह प्रमाणित गर्ने भार वादी पक्षमा हुन्छ । कसुर प्रमाणित हुन अलिकति पनि सन्देह वा शंका रहेमा त्यसको फाइदा अभियुक्तहरूले पाउने हुन्छ । सबुद प्रमाण पेस गरेर मात्र हुँदैन अभियोजनकर्ताले पेस गरेका त्यस्ता सबुद प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन तथा न्यायिक परीक्षण अदालतले गर्दछ । यिनै मान्यतालाई अङ्गिकार गरी हाम्रा कानूनी व्यवस्था पनि बनेका छन् । प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले अभियोग दाबीअनुसार वचन दिएको, प्रतिवादीहरू घटनास्थलमा हतियारसहित मौजुद रहेको, घटनास्थल घेर्ने छेक्ने काम गरी मार्नको संयोग पारी दिएको भनी वादी पक्षले शंकारहित तरिकाले पुष्टि गर्न सकेको देखिँदैन । मृतकहरूलाई गोलीबाहेक अन्य लाठा भाला आदिको चोट लागेको पनि लास जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट देखिएको अवस्था छैन । त्यस्तै विवाद निरूपणमा अदालतले ग्रहण गर्ने प्रमाण आपसमा विरोधाभाषपूर्ण नभई जहिले पनि एक अर्कोलाई समर्थन गर्ने हुनुपर्दछ । मौखिक प्रमाण प्रत्यक्ष देखे जानेको हुनुपर्छ । द्विविधापूर्ण, अस्पस्ट र सुनेको आधारमा भनेको भनाइका आधारमा कसुरदार ठहराउनु न्यायोचित हुँदैन । प्रस्तुत मुद्दामा वादी पक्षका गवाहहरूको भनाइ पनि अनुसन्धानका क्रममा र अदालतमा बाझिन गएको अवस्था र कतिपयले सुनेको आधारमा मात्र अनुसन्धानका क्रममा भनेको भनी अदालतमा बकपत्र गरेको अवस्था विद्यमान 

छ । आपसी प्रतिशोधको भावना रहे भएको र तत्काल आफन्त गुमाउनु परेको कारणबाट आफूसँग रिसइवी भएकालाई फसाउने मनसायले प्रेरित भएर पनि जाहेरी दरखास्तलगायत मौकामा गरेको कागजमा सबैको संलग्नता देखाएको हुन सक्ने अवस्था पनि घटनाको पृष्ठभूमिबाट देखिन्छ । घटनामा गोली चलेको बन्दुकबाहेक अन्य हातहतियार लाठा बरामदसमेत भएको अवस्था छैन । वस्तुगत प्रमाणका अभावमा यी प्रतिवादीहरूसँग मृतक पक्षको पूर्व रिसइवी रहेको, निजहरूकै घरनजिक घटना भएको, मौकामा नै पक्राउ परेको र निजहरू उपर जाहेरी परेकै भन्ने आधारमा अनुमान गरी कसुरदार स्थापित गराउनु फौजदारी न्यायको मर्मविपरीत हुन जान्छ । जाहेरी दरखास्त अनुसन्धानमा साबिती बयान मौकाको कागज सहअभियुक्तको पोल जस्ता कुरा आफैँमा स्वतन्त्र प्रमाण नभई यस्ता प्रमाणलाई अन्य प्रमाणबाट पष्टि हुनुपर्नेमा घटनास्थलमा रहेका व्यक्ति र घटनामा छोरा श्रीमान्‌ गुमाई पीडित भएका व्यक्तिहरूको पनि अनुसन्धानमा र अदालतमा व्यक्त भनाइहरू परस्पर विरोधाभाषयुक्त छन् । यस्तो अवस्थामा उल्लिखित प्रतिवादीहरू ज्यान मार्ने मतसल्लाहमा पसी वारदातस्थलमा रही आरोपित कसुर गरेको भन्ने सकिने अवस्था छैन । 

१०. प्रतिवादीहरूउपरको घाइते नन्दु राय यादवलाई गोली हानी ज्यान मार्ने उद्योग गरेको भन्नेतर्फको अभियोग दाबी तथा पुनरावेदन जिकिरसम्बन्धमा हेर्दा गोली चलाउने भनी माथि पुष्टि भइसकेका प्रतिवादीहरूबाहेक अन्य प्रतिवादीहरू हातहतियार लिई घटनास्थलमा रहे भएको भन्ने मिसल संलग्न प्रमाणबाट देखिएको छैन । जसका बारेमा माथि पनि विवेचना भइसकेको छ । घाइते भनिएका नन्दु रायलाई गोलीको छर्रा लागी आँखाको माथि सामान्य चोट लागेको भन्ने निजको घाउ जाँच केस फारामबाट देखिन्छ । निजलाई ज्यान मर्नेसम्मको काम कुरा गरिसकेको अवस्थामा के कारणले र कस्तो परिस्थिति आई पर्दा निजको ज्यान मर्न नपाएको हो सो कुरा कहीँ कतैबाट खुलेको देखिँदैन । मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. हेर्दा ज्यान मार्ने उद्योग हुन ज्यान मार्ने मनसाय हुनुपर्ने सो मनसायअनुसार मार्न मर्नेसम्मको कुनै कार्य गरेको देखिनु पर्ने र कुनै कारणले मात्र ज्यान मर्न नपाएको हुनुपर्ने हुनुपर्छ । प्रस्तुत वारदातमा प्रतिवादीहरूको निज नन्दु रायलाई मार्ने मनसाय तत्त्व विद्यमान भई ज्यान मार्नलाई नै गोली चलाएको भन्ने मिसिलबाट पुष्टि हुँदैन । यदि गोली मार्न चलाएको भए के कसरी कुन कारणले  निज बच्नु भयो भन्ने कुरा पनि मिसिलबाट देखिँदैन । निजलाई गोली नभई गोलीको छर्रा मात्र लागेको देखिन्छ । मार्नलाई बन्दुक ताकेर हान्दा छर्रा मात्र लाग्ने अवस्था रहँदैन । यसरी प्रतिवादीहरूले ज्यान मार्ने उद्योग गरेको भन्ने प्रमाण वादी पक्षले पुरयाउन नसकेको देखिँदा यी प्रतिवादीहरूको ज्यान मार्ने उद्योग कार्यमा संलग्नता रहे भएको भन्न मिल्दैन । 

११. अतः माथि विवेचित आधार प्रमाणबाट प्रतिवादीहरूमध्येका विनोदकुमार राय यादव र बुलेन्द्र भन्ने विरेन्द्र राय यादवले चलाएको गोलीबाट रामनिरञ्जन राय यादव र विरेन्द्र यादवको मृत्यु भएको पुष्टि भएकाले निजहरूलाई  सुरूले अभियोग दाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय १ अनुसार सर्वश्वसहित जन्म कैद हुने गरी गरेको फैसला सदर हुने ठहराई र अन्य प्रतिवादीहरू सवाई राय, ब्रह्मदेव राय, रामगोविन्द राय, रामबाबु राय यादव, हरिनारायण राय यादव, ठाकुर राय यादव र चन्द्रेश्वर राय यादव (मानपुर), राम विलास राय यादव, रूपलाल राय, रविन्द्रकुमार भन्ने शिवचन्द्र राय, विजयकुमार राय यादव, विन्देश्वर राय यादव, दिनेश राय यादव, सत्यनारायण राय यादव, राम आश्रय राय यादव, भरोसी राय यादव, अशोककुमार राय यादव, प्रसाद राय यादव, राम एकवाल राय यादव, राम प्रताप राय यादव, वचेलाल राय यादव, प्रगास राय यादव, पतिराम राय यादव र वेदामी लाल साह तेलीसमेत जना २४ को कसुरमा संलग्नता रहेको भन्ने पुष्टि हुन नसकेकोले निजहरूको हकमा सुरू फैसला केही उल्टी गरी निज प्रतिवादीहरू जना २४ ले सफाई पाउने ठहराई पुनरावेदन अदालत, जनकपुरले मिति २०६८।३।६ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत हुन आएको साधकसमेत सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु । 

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृतः यदुराज शर्मा

इति संवत् २०७३ साल वैशाख १५ गते रोज ४ मा शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु