निर्णय नं. ४२९८ - कर्तव्य ज्यान
निर्णय नं. ४२९८ ने.का.प. २०४८ अङ्क ५
संयुक्तइजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् ०४५ सालको फौ.पु.नं. ५३१
फैसला भएको मिति: २०४८।५।३०।१ मा
पुनरावेदक/वादी : शिवगुल्म कुलेखानी व्यारेकको पत्रले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.मकवानपुर कुलेखानी गा.पं. वडा नं. ९ बस्ने सूर्यबहादुर लामासमेत
मुद्दा : कर्तव्य ज्यान(साविक पेज नं. २२४)
(१) मृतकसंग अभियुक्तहरुको पूर्व रिसइवी भएको देखिँदैन । पोष्टमार्टम रिपोर्टबाट मृतकको मृत्युको कारण टाउकोमा परेको चोट भन्ने देखिए तापनि लास सडे गलेको स्थितिमा पाइएकोले लाश जाँच हुँदा अनुमान कै आधारमा व्यक्त भएको उक्त रायलाई प्रमाणिक मान्न मिल्दैन । मृतकलाई अभियुक्तहरुले कुनै घातक हतियार प्रयोग गरेको भन्ने न त अभियोग छ न त निजहरुको बयानमा नै सो कुरा उल्लेख छ । मुड्की, लात र सामान्य लाठीको प्रयोगबाट भएको मृत्युलाई ज्यानसम्बन्धीको १३(३) अनुसारको कसूर मान्न यस मुद्दाको घटना परिस्थितिबाट न्यायसंगत हुँदैन । रक्सी खाएर आई गाउँलेहरु सुतिरहेको बेला ढोकामा ढाकढुक गरी होहल्ला गर्ने व्यक्तिलाई गाउँलेहरुले बाँधछाँद र सामान्य कुटपिट गरेकोबाट मर्न गएको अवस्थामा ज्यानसम्बन्धीको ६(४) अन्तर्गतको कसूर र फरार रहेको बाहेक अन्य प्र.हरुको हकमा कसूरबाट सफाई दिने ठहर्याएको निर्णय मनासिब ठहर्ने ।
(प्रकरण नं. ३३)
पुनरावेदक वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठ
१. यस गुल्मका सि.कृष्णबहादुर थपु मिति ०४१।११।२६ मा हराई खोजतलास गर्दा नभेटिएको र कुलेखानी गा.पं. वडा नं. ९ बस्ने सूर्यबहादुर लामा समेतले सि.कृष्णबहादुरलाई बोकी सुताएको फेरि छाडी दिएको भन्ने बुझिएकोले सिपाई कृष्णबहादुरको खोजतलास गरी दिन हुन अनुरोध गरिन्छ भन्ने समेत शिवदल गुल्म कुलेखानीको पत्र ।
२. कृष्णबहादुरलाई सूर्यबहादुर लामा समेतले कर्तव्य गरी लाश फालेको देखिन आएकोले अनुसन्धान कारवाही होस् भन्ने समेत पुनः शिवदल गुल्म व्यारेक कुलेखानीको पत्र ।
३. लाशको अंगमा भएको छाला मासु गिद्दले केही खाएको आँखा दुवै नभएको केवल हड्डी मात्र भएको खुट्टामा पनि छाला खुइलिएको देखिएको भन्ने समेत सि.कृष्णबहादुरको लाश प्रकृति मुचुल्का ।
४. मिति ०४१।११।२६ मा राती म सुतेको अबस्थामा ढाकढुक आवाज सुनियो । बाहिर निस्की हेर्दा नाड्डो मानिस देखें मलाई समाउन आएकोले गुहार मागें मानिस जम्मा भए नाम्लोले बाँधी चोर भनी लडायौं पछि वडा अध्यक्ष आए कुलेखानी व्यारेकको सिपाही हो भने पछि सि.कृष्णबहादुर भन्ने थाहा भयो । (साविक पेज नं. २२५) निजलाई मैले कुटपिट गरी बाँधेको हुँ मेरो घर आँगनमा मर्न लागेकोले म बच्नको लागि लाश दबाउने उद्देश्यले कसैले नदेख्ने गरी खोल्सामा लगी फालेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी सूर्यबहादुर लामाको प्रहरीमा साविती बयान ।
५. मिति ०४१।११।२६ मा म घरमा थिएँ । सूर्यबहादुरको घरतिर मानिस कराएको सुनी हेर्दा कृष्णबहादुरले जथाभावी कराएकोले चोर भनी बाँधेको हुँ । चोर भनी १।२ थप्पड हानेपछि वडा अध्यक्षले सिपाहीको डोरी फुकाई दिए । म आफ्नो घरमा गएपछि मृत्यु भएको भन्ने समेत प्र.जितबहादुर लामाको बयान कागज ।
६. मिति ०४१।११।२६ मा सूर्यबहादुर लामाले चोर आयो भनी कराउँदा म समेत निजको घरमा गएँ । सिपाही कृष्णबहादुर रहेछ । चोर भनी १।२ मुड्की मैले पनि हानें ज्ञान सागर आएपछि डोरी फुकाई दिए । त्यसपछि म आफ्नो घरमा सुत्न गएँ । कुष्णबहादुरलाई पछि को कसले मार्यो थाहा छैन भन्ने समेत श्यामकुमार लामाको बयान कागज ।
७. ०४१।११।२६ मा सूर्यबहादुरले चोर आयो गुहार भनी कराउँदा म पनि गएँ मैले पनि चोर भनी १।२ थप्पड लाठीले हाने पछि सिपाही कृष्णबहादुर हुँ भनी मसिनु स्वरले भनेपछि डोरी काटी दिएँ । म आफ्नो घर पसलमा सुतें । निज कुन बेला मरे सूर्यबहादुरले कसरी फाले थाहा भएन भन्ने प्र.ज्ञानसागरको बयान कागज ।
८. म फाल्गुण २६ गते बेलुका सूर्यबहादुर लामाले गुहार भनेको सुनी निजको घरतर्फ आउँदा कृष्णबहादुरलाई सूर्यबहादुरका घरको पिडीमा बाँधी राखेको देखें । सोद्धा चोर हो भने । मैले कुटपिट गरी लाश दवाउनेतर्फ लागेको होइन । म घरतर्फ सुत्न गएँ । मलाई कुनै कुरा थाहा भएन भन्ने समेत व्यहोराको प्र.पाल्दीन लामाको बयान कागज ।
९. गत फाल्गुण २६ गते सूर्यबहादुरको घरमा हल्ला सुनी हेर्न जाँदा बाटोमा ज्ञानसागरलाई भेटें । सूर्यबहादुरको घरमा जाँदा सिपाही कृष्णबहादुरलाई सेतो सिमेन्टको बोराले बाँधिराखेको थियो । निजको घरमा पाल्दीन, प्रेमबहादुर, सूर्यबहादुर समेत थियो । रक्सी खाएको होहल्ला गर्न आएकोले कुटपिट गरी बाँधी राखेको हो भनें, म घरतर्फ गएँ । मैले कर्तव्य गरी मारेको छैन भन्ने प्र.भक्तबहादुर लामाको बयान कागज ।
१०. फाल्गुण २६ गते म घरमा नै थिएँ । सूर्यबहादुरको घरमा चोर आयो भनी कराएको सुनी म सूर्यबहादुरको घरमा पुग्दा सूर्यबहादुरको घर सामुन्ने मुर्दा हो वा के हो प्लाष्टिक हो वा बोरा हो देखें । चीर आउन सक्ला भन्ने सोच्दै घरतर्फ गएँ । म गएपछि लाश कलाड्ढीमा फेला पर्यो भन्ने थाहा पाएँ । मैले लाश लग्ने काम गरेको र कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको मानबहादुर घिसिङको बयान कागज ।
११. ०४१।११।२६ गते म आफ्नै घरमा थिएँ । सूर्यबहादुरको घरतर्फ चोर आयो भनी कराए । म गइन कृष्णबहादुरलाई सूर्यबहादुर समेत मिली बाँधी लडाएको भन्ने सुनेको छु के गरी मर्यो मलाई थाहा छैन भन्ने समेत कान्छी वाइवा तामाङको बयान कागज ।
१२. फाल्गुण २६ गते सि.कृष्णबहादुरलाई राती सूर्यबहादुर समेतले चोर आयो भनी समाती बाँधेको र केही बेरपछि छाडी दिएको भन्ने कुरा थाहा पाएको हुँ कसले के गरी कर्तव्य गरी मारे मलाई थाहा छैन भन्ने समेत व्यहोराको माहिली वाइबा तामाड्डको बयान ।
१३. ०४१।११।२६ गतेका दिन बेलुका सिपाही कृष्णबहादुर, सूर्यबहादुरको घरमा आई लात्तले हानेको निजलाई सूर्यबहादुर समेतले चोर भनी कुटपिट गरी बाँध छाँद गरेको र केही बेरपछि छाडी दिएको भन्ने कुरापछि मात्र थाहा पायो । सिपाही कृष्णबहादुरलाई (साविक पेज नं. २२६) खोजतलास गर्दा कलंकी खोलामा लाश समेत फेला परेको प्रतिवादी सूर्यबहादुर समेतका हातबाट सि.कृष्णबहादुरको मृत्यु हुन गएकोमा हामीलाई पूरा विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का ।
१४. यसमा फेला परेसम्मका सम्बद्ध प्रमाणबाट सि.कृष्णबहादुरलाई कर्तव्य गरी मारेको देखिन आएकोले कर्तव्य गर्ने सूर्यबहादुर लामा, जितबहादुर वाइबा लामा, श्यामकुमार वाइबा लामा, ज्ञान सागर वाइबा लामा, चन्द्रबहादुर घिसिङ समेत ५ जना उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३ नं. देहाय (३) अनुसार सजायँ हुन र घटनास्थलमा पुगेका कुटपिट नगरेमा कर्तव्य गरेको हेरिरहँदा थाहा पाई जाहेर नगर्ने भक्तबहादुर वाइबा लामा, पाल्दीन वाइबा लामा, मानबहादुर घिसिङ र फरार रहेका प्रेमबहादुर लामा श्यामप्रसाद घिसिङ, श्यामप्रसादकी श्रीमती नाम थाहा नभएकी समेत उपर त्यहाँबाट जारी गरी फरार रहेकालाई समाव्हान उल्लेखित ६ जनामध्ये पक्राउ परेका ३ जना र फरार रहेका ३ जना उपर ऐ. १७(३) बमोजिम सरजमीन डोरमा बुझिएकी माइली वाइबा, कान्छी माया घिसिङ, कान्छी वाइबा समेत ३ जना उपर सरजमीन समेतले शड्ढा नगरेको हुँदा रामबहादुर लामाको हाजिर जमानीमा छाडिएको भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी ।
१५. ०४१।११।२६ गते राती म घरमा नै छु । सूर्यबहादुरको घरमा हल्ला भएको सुनी त्यहाँ जाँदा सूर्यबहादुर, जितबहादुर, श्यामकुमार, चन्द्रबहादुर, माइलो लामा समेत रहेछन् । मृतक कृष्णबहादुरको हातमा डोरीले बाँधेको रहेछ पिटेको देखिन मैले मृतक कृष्णबहादुरलाई कुटपिट गरेको र लाश दबाउन समेतमा लागेको छैन भन्ने समेत पाल्देन वाइबा लामाले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
१६. ०४१।११।२६ मा म घरमा छु गाउँमा चोर आयो भनी पाल्दिन लामा बोलाउन आएकोले गयौं । मैले देख्दा कृष्णबहादुरलाई सूर्यबहादुरले घरमा बाँधी राखेको रहेछ । सोधपुछ गर्दा आर्मीको मानिस भनेकोले डोरी फुकाउन लगाई दिएँ र चोर हो भनेकोले १।२ लाती हानेको हुँ । मृतक कृष्णबहादुरको के कारणबाट मृत्यु भयो मलाई थाहा छैन भन्ने समेत ज्ञान सागर वाइबा लामाले अदालतमा गरेको बयान ।
१७. मिति ०४१।११।२६ गते राती घरमा छु । अं. ८.३० बजे सूर्यबहादुरले चोर आयो भनी कराए म गएँ कृष्णबहादुरलाई बाँधेको रहेछन पाल्दिन लामा, जितबहादुर, ज्ञान सागरले फुकाई दिए म घरतर्फ गएँ, मैले कुटपिट गरेको होइन भन्ने समेत श्यामकुमार वाइबा लामाले अदालतमा गरेको बयान ।
१८. ०४१।११।२६ गते राती मेरो ढोकामा लात्तले हानेकोले चोर आयो भनी कराएर नाइलनको डोरीले बाँधे मृतक कृष्णबहादुरले म सिपाही हुँ भनेपछि मैले डोरी फुकाई दिई मैले कुटपिट गरेको होइन । मैले डोरीले बाँधेको मात्र हुँ पक्राउमा परेको व्यक्तिहरुले कुटपिट गरेकोले मृतक मेरो घरमा मरेकोले फाली दिएको छु । मैले प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ पाउनु पर्ने होइन भन्ने समेत प्रतिवादी सूर्यबहादुर वाइबा लामाले अदालतमा गरेको बयान ।
१९. ०४१।११।२६ मा म घरमा छु । हल्ला सुनी सूर्यबहादुरको घरमा जाँदा मृतक कृष्णबहादुरलाई डोरीले बाँधी राखेको रहेछ । निजको घरमा सूर्यबहादुर, ज्ञानसागर, श्यामकुमार र पाल्दिन रहेछन । अध्यक्षले डोरी फुकाली देउ भनेकोले सूर्यबहादुरले डोरी फुकाली दिए म घरतर्फ गएँ । मलाई प्रहरीले पक्राउ गरेपछि मात्र कृष्णबहादुर मरेछ भन्ने थाहा पाएँ भन्ने समेत प्र.जितबहादुर वाइबाले अदालतमा गरेको बयान ।
२०. ०४१।११।२६ मा म घरमा छु । चोर आयो भनी कराएको सुनी सूर्यबहादुरको घरतर्फ गएँ । सो अवस्थामा सूर्यबहादुरको घरमा कोही थिएनन् । सूर्यबहादुरको घर बलेनीमा प्लाष्टिक ओडाई अं. ३ हात (साविक पेज नं. २२७) लम्बाई र १ हात उचाई थियो मैले दाउरा राखेको होला भनेर घर फर्कें मैले कृष्णबहादुरलाई कुटपिट गरी मारे मराएको होइन भन्ने समेत मानबहादुर घिसिङले अदालतमा गरेको बयान कागज ।
२१. ०४१।११।२६ गते राती अं. १० बजेसम्म म नयाँ गाउँमा छु, त्यसपछि घर आई सुतें । सूर्यबहादुरको घरमा होहल्ला भएको मलाई थाहा छैन कृष्णबहादुर मर्यो भन्ने कुरा मलाई प्रहरीले पक्राउ गरेपछि थाहा पाएको हुँ । म समेत भई कुटपिट गरेको छैन भन्ने समेत भक्तबहादुर वाइबा लामाले अदालतमा गरेको बयान ।
२२. मिति ०४१।११।२६ गते म आफ्नो घरमा सुती रहेको थिएँ । सूर्यबहादुरको घरमा हल्ला भएको थाहा पाइन । ०४१।११।१९ गते म माइत घरमा गई १५ दिन बसी पछि घरमा आउँदा सि.कृष्णबहादुरको मृत्यु भएको थाहा पाएकी हुँ भन्ने समेत ठूली माया घिसिङले अदालतमा गरेको बयान ।
२३. मिति ०४१।११।१६ गते घरमा सुतेको थिएँ । मेरो विवाह २५ गते भएकोले र २ दिनको निन्द्राले गर्दा मलाई केही थाहा भएन कुटपिट भएको अवस्थामा म सरिक छैन । सरजमीन र सूर्यबहादुर समेतले मलाई किन पोले थाहा भएन । मैले कुटपिट गरेको होइन, प्रहरी प्रतिवेदन माग दावीबाट फुर्सद पाउँ भन्ने समेत चन्द्रबहादुर घिसिङले अदालतमा गरेको बयान ।
२४. ०४१।११।२६ गते म आफ्नो घरमा राती सुतेको छु । मर्ने कृष्णबहादुरलाई मैले देखेको पनि छैन । कृष्णबहादुरलाई सूर्यबहादुरले डोरीले बाँधेको र पछि फेरि छाडी दिएको रे भन्नेसम्म सुनेको हुँ कुटपिट गरे नगरेको मैले नदेखेकोले मलाई थाहा छैन प्रहरी प्रतिवेदन दावी अनुसार मैले सजायँ पाउन पर्ने होइन भन्ने समेत प्र.श्यामप्रसाद घिसिङले अदालत समक्ष गरेको बयान ।
२५. प्रतिवादीहरुको बयानबाट मृतकलाई कुनै पूर्व रिसइवी साधन पूर्ण षडयन्त्र रची हत्या गरिएको देखिन आउँदैन । मृतकलाई मार्नेसम्मको रिसइवी मनसाय थियो भनी वादी पक्षले भन्न र प्रमाणित गर्न सकेको देखिँदैन । तसर्थ प्रतिवादीहरु उपर ज्यानसम्बन्धीको १३(३) को दावी मिल्ने देखिँदैन । प्रतिवादीहरुले कुनै रिसको आवेगमा आई मृतकलाई कुटपिट गरी मारेको समेत नदेखिँदा ऐ.को १४ नं. पनि आकृष्ट हुने अवस्था छैन । यसमा रातको समयमा अर्काको घर पसलमा ढुड्डा लाठाले हान्ने व्यक्तिलाई चोर हो भनी समाती बाँधी २।४ थप्पड समेत दिई साधारण कुटपिट गरेको देखिन्छ । मर्नेले म सिपाही हुँ भने पछि निजलाई बाँधी राखेको डोरी फुकाली दिएको समेतबाट मृतकलाई प्रतिवादीहरु सूर्यबहादुर, ज्ञानसागर, जितबहादुर र श्यामकुमारले मनसायपूर्वक कर्तव्य गरी मारेको होइन भन्ने प्रष्ट देखिन्छ । चोर हो भनी साधारण कुटपिट गर्दा मर्न गएकोले ज्यानसम्बन्धीको ५ नं. बमोजिम भवितव्यबाट मृतकको मृत्यु हुन गएको देखिन्छ ।
२६. चोर हो भनी साधारण कुटपिट गर्दा मर्न गएकोले ज्यानसम्बन्धीको ५ नं. बमोजिम भवितव्यबाट मृतकको मृत्यु हुन गएको देखिन्छ । तसर्थ प्रतिवादीहरु सूर्यबहादुर, ज्ञानसागर, जितबहादुर र श्यामकुमारलाई ऐ.ऐनको ६ को देहाय ४ बमोजिम १ वर्षसम्म कैद र ५००।– जरिवाना हुने ठहर्छ । प्रतिवादी चन्द्रबहादुरको हकमा मर्ने निज कसूर गरेकोमा इन्कार रहेको र सहअभियुक्तको पोल कुनै स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेबाट निजले कसूर गरेको ठहर्दैन । आरोपबाट सफाई पाउने ठहर्छ ।
२७. प्रहरी प्रतिवेदनमा ज्यानसम्बन्धीको १७(३) को दावी लिएको अभियुक्तहरुमध्ये पाल्देन लामा घटनास्थलमा उपस्थित रहेको देखिन्छ । निज उपर ऐ.को १७(३) को सजायँको दावी माग गर्नु अघि वादी पक्षले निज समेत ज्यान मार्नलाई मतलबमा बसेको भनी प्रमाणित गर्नु पर्दछ । सो वादी पक्षले गर्न सकेको छैन । अन्य प्रतिवादीहरु घटनास्थलमा उपस्थित नरहेको भनी निजहरुको बयानबाट देखिन आउने र प्र.सूर्यबहादुरको (साविक पेज नं. २२८) पोलबाट मात्र निजहरुलाई कसूरदार ठहर्याउन नमिल्ने हुँदा पाल्देन, श्यामकुमार, ठुलीमाया, भक्तबहादुर, मानबहादुर समेतले अभियोगबाट सफाई पाउने ठहर्छ । फरार रहेका प्रेमबहादुरको हकमा अ.बं. ११० नं. बमोजिम मुलतवी राख्नु भन्ने समेत शुरु मकवानपुर जिल्ला अदालतको मिति ०४३।१।७।१ को फैसला ।
२८. वादी दावी बमोजिम सजायँ हुने नहुने वा वारदात घटनाबाट प्र.हरुलाई तत्काल उठेको रीस थाम्न नसकी चोट छाडेकोमा ऐनका म्याद भित्र मरेको भई ज्यानसम्बन्धी महलको १४ नं. ले सजायँ गर्नु पर्ने हो कि त भन्ने तर्फ समेत इन्साफ गर्नु पर्ने देखियो । सर्वप्रथम वादी दावीको हकमा मुद्दा तहकिकातमा संकलन भई पेश भएको प्रमाण कागजातबाट मर्ने कृष्णबहादुरलाई मार्नु पर्ने सम्मको रिसइवी प्र.हरुले लिई रहेको र सो कर्तव्य गर्नु पूर्व योजना भई कार्यान्वयन गरेको भन्ने प्रमाणित सबूद आएको देखिँदैन । वारदात घटना उल्लेखित जाहेरी तथा बुझिएका सरजमीन समेतका पक्राउ परे सम्मका प्र.हरुको बयान कागज समेतबाट रातीको अवस्थामा मर्ने कृष्णबहादुर नसायुक्त अवस्थामा आई प्र.सूर्यबहादुरको घर पसलमा लात ढुंगा हानी आवाज गरेको सुनी प्र.सूर्यबहादुर बाहिर आई देखि गुहार मागेबाट टोल छिमेकीका प्र.हरु अरुले आई केही बाँधी कुटपिट गरेका र सोही चोटबाट तत्काल मर्न गएको भन्ने देखिन्छ । लाशलाई नदीमा फालिएको अवस्थामा लाश सडेको देखिन आएको सम्मबाट पूर्व रिसइवी साधनमा यो कुटपिट गरेको भन्ने समर्थित हुँदैन । यस अवस्थामा ज्यानसम्बन्धी महलको १३ को अपराध गरेको ठहर्याउन कानुनसंगत देखिँदैन । ज्यानसम्बन्धी महलको नं. १४ आकर्षित हुने हो कि त भनी विचार गर्दा वारदात घटनाहरुबाट तत्कालको घटनाबाट रिस उठेको भई थाम्न नसकी तत्काल चोट छोडेको भन्ने देखिन आउँदैन । घर पसलमा पर्ने कृष्णबहादुरले ढुंगा समेतले हानी आवाज आएबाट बाहिर आई हेर्दा नसायुक्त अवस्थामा रही प्र.सूर्यबहादुरसंग झगडा भई चोर भनी डोरीले बाँधेको र तत्काल गुहारमा आएका प्र.हरुले कुटेको सम्म देखिन्छ । यस अवस्थामा ज्यानसम्बन्धी महलको १४ समेत आकर्षित हुने देखिएन । भवितव्य वारदात कायम गरेको हकमा भने यो काम कारवाहीमा बाँध छाँद गरी हात छाडेकोबाट मृत्यु भएको हेलचेक्रयाई गरी कुटपिट गरेको सोही कारणबाट मर्न गएको यस अवस्थामा प्रस्तुत मुद्दाको वारदात भवितव्य कायम गरेको निर्णय आधार बुझ्दा समेतबाट मिलेको देखिँदा प्र.सूर्यबहादुर, ज्ञान सागर, जीतबहादुर र श्यामकुमारलाई ज्यानसम्बन्धी महलको ६ नं. को देहाय ४ बमोजिम सजायँ गर्ने ठहर्याई मुलतवी रहेका बाहेकका अन्य प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने ठहर्याएको मकवानपुर जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
२९. प्र.सूर्यबहादुर, ज्ञान सागर, जीतबहादुर र श्यामकुमार समेत ४ जनालाई ज्यानसम्बन्धी महलको ६(४) अन्तर्गतको कसूर कायम गरी सजायँ गरेको र प्र. पाल्देन, प्र.श्यामप्रसाद, प्र.ठुलीमाया, प्र.भक्तबहादुर, प्र.मानबहादुर, प्र.चन्द्रबहादुर समेत ६ जनालाई सफाई दिने गरेको शुरु मकवानपुर जि.अ.को फैसला सदर गरेको म.क्षे.अ.को इन्साफ न्यायोचित छैन । आत्मा रक्षाको लागि नभई जानाजान समाती भाग्न उम्कन नपाउने गरी कुटपिट गरेको र सोही कुटपिटबाट निजको मृत्यु भएको हुँदा भवितव्य ठहर्याउन मिल्दैन । प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
३०. मृतक कृष्णबहादुरको मृत्यु स्वभाविक रुपबाट भएको देखिँदैन । मैले मृतकलाई डोरीले बाँधेको, प्र.जीतबहादुरले दुई मुक्का हानेको, प्र.ज्ञान सागरले दुई लाठी र प्र.चन्द्रबहादुरले दुई लात हानेको भन्ने कुरा प्र.सूर्यबहादुरको बयानमा उल्लेख भएको पाइन्छ । प्रतिवादीहरुले कृष्णबहादुरलाई कर्तव्य गरी मार्नु पर्ने स्थिति वा कारण पहिला देखि नै रहेआएको भन्ने कुरा पनि (साविक पेज नं. २२९) मिसिल संलग्न प्रमाणहरुबाट देखिन्छ । प्रस्तुत वारदातमा प्रतिवादीहरुको संलग्नता नरहेको नभएको भन्ने अवस्था पनि देखिँदैन । ज्यान लिने इवी लाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यबाट मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गए भवितव्य ठहर्छ भनी ज्यानसम्बन्धीको ५ नं. मा उल्लेख भएको पाइन्छ । तर प्रस्तुत वारदातमा प्रतिवादीहरुको कुटपिट, बाँधछाँद पछि कृष्णबहादुरको लाश खोलामा भेटाइएको देखिन्छ । यस स्थिति र अवस्थाको वारदातलाई भवितव्यको संज्ञा दिन मिल्ने नदेखिँदा म.क्षे.अ.बाट भवितव्य ठहर्याएको इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम गरी पेश गर्नु भन्ने यस अदालत संयुक्तइजलासको मिति ०४६।६।१० को आदेश ।
३१. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादीहरुले मृतकलाई बाँधछाँद गरी जानाजान कुटपिट गरेको वारदातको घटना र अवस्था हेर्दा ज्यानसम्बन्धीको ५ नं. बमोजिम भवितव्य कायम हुने अवस्था नहुँदा शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनु पर्नेमा सूर्यबहादुर समेत ४ जनालाई ज्यानसम्बन्धीको ६(४) बमोजिम सजायँ गरेको र बाँकी अरु अभियुक्तलाई सफाई दिने गरेको म.क्षे.अ.को फैसला न्यायोचित छैन भनी र प्र.हरुका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अग्नी खरेलले रातको समयमा नसा सेवन गरी अर्काको घर पसलमा लात्ती मुडकीले हान्दै होहल्ला गरी हिंडेको अवस्थामा सामान्य कुटपिट गर्दा मृतक कृष्णबहादुर मरेकोले भवितव्य ठहर्याएको फैसला उचित हुँदा सोही कायम हुनुपर्छ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
३२. यसमा अभियुक्तहरु सूर्यबहादुर, श्यामकुमार, ज्ञान सागर, जीतबहादुर र चन्द्रबहादुरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम र अन्य अभियुक्तहरुलाई ज्यानसम्बन्धीको १७(३) अन्तर्गत मुद्दा चलाइएकोमा सूर्यबहादुर, श्यामकुमार, ज्ञान सागर र जीतबहादुरलाई ज्यानसम्बन्धीको ६(४) बमोजिम भवितव्य ठहर्याई अरु अभियुक्तहरु पाल्देन, भक्तबहादुर, ज्ञानबहादुर, चन्द्रबहादुर, ठुली माया र श्यामप्रसादलाई आरोपित कसूरबाट सफाई दिने ठहर्याएको मकवानपुर जि.अ.को फैसलालाई सदर गरेको म.क्षे.अ.को फैसला उपर चित्त नबुझी वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन गरेको रहेछ ।
३३. पुनरावेदन जिकिरमा मृतक कृष्णबहादुरलाई प्रतिवादीहरुले बाँधछाँद कुटपिट गरी मारेकोले भवितव्यको संज्ञा दिन नमिल्ने हुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुनुपर्छ भन्ने दावी देखिन्छ ।
३४. मृतक कृष्णबहादुरले मादक पदार्थ सेवन गरी होहल्ला गरेको हुँदा सूर्यबहादुर समेतका गाउँलेहरुले बाँधछाँद कुटपिट गरेको तथ्यमा विवाद छैन । तर सैनिक जवान हो भन्ने जानकारी भएपछि बाँधेको व्यक्तिलाई खोली दिएको कुरा अभियुक्तहरुको बयानबाट खुलेको हुँदा मृतक कृष्णबहादुरसंग अभियुक्तहरुको पूर्व रिसइवी भएको देखिँदैन । पोष्टमार्टम रिपोर्टबाट मृतकको मृत्युको कारण टाउकोमा परेको चोट भन्ने देखिए तापनि लाश सडे गलेको स्थितिमा पाइएकोले लाश जाँच हुँदा अनुमान कै आधारमा व्यक्त भएको उक्त रायलाई प्रमाणिक मान्न मिल्दैन । मृतकलाई अभियुक्तहरुले कुनै घातक हतियार प्रयोग गरेको भन्ने न त अभियोग छ न त निजहरुको बयानमा नै सो कुरा उल्लेख छ । मुडकी, लात र सामान्य लाठीको प्रयोगबाट भएको कृष्णबहादुरको मृत्युलाई ज्यानसम्बन्धीको १३(३) अनुसारको कसूर मान्न यस मुद्दाको घटना परिस्थितिबाट न्यायसंगत हुँदैन । रक्सी खाएर आई गाउँलेहरु सुतिरहेको बेला ढोकामा ढाक ढुक गरी होहल्ला गर्ने व्यक्तिलाई गाउँलेहरुले बाँधछाँद र (साविक पेज नं. २३०) सामान्य कुटपिट गरेकोबाट मर्न गएको अवस्थामा प्र.सूर्यबहादुर, ज्ञान सागर, जीतबहादुर र श्यामकुमारलाई ज्यानसम्बन्धीको ६(४) अन्तर्गतको कसूर र फरार रहेको बाहेक अन्य प्र.हरुको हकमा कसूरबाट सफाई दिने ठहर्याएको शुरु मकवानपुर जि.अ.को फैसला सदर गरेको म.क्षे.अ.को निर्णय मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.मोहनप्रसाद शर्मा
इतिसम्वत् २०४८ साल भाद्र ३० गते रोज १ शुभम् ।