निर्णय नं. ९६३० - प्रश्नपत्रको गोपनीयता भङ्ग गरी भ्रष्टाचार गरेको

सर्वोच्च अदालत,संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा
फैसला मिति : २०७२।१०।१८।२
मुद्दाः प्रश्नपत्रको गोपनीयता भङ्ग गरी भ्रष्टाचार गरेको
०७१–CR–०११५
पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत ऋषिराम दवाडीको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / वादी : तेज बहादुर लिम्बूको छोरा कालिमाटीस्थित जिलेट आवासिय उच्च मा.वि.का प्रिन्सिपल नेत्रबहादुर लिम्बूसमेत
०७१–CR–०२७३
पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं, का.म.न.पा.वडा नं.७ कुमारीगाल बस्ने हिरा बस्नेतको छोरा बिनोद बस्नेतसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत ऋषिराम दवाडीको प्रतिवेदनले नेपाल सरकार
०७१–CR–०२८१
पुनरावेदक / प्रतिवादी : ओमप्रकाश सुवेदीको छोरा जिलेट आवासिय उच्च मा.वि. का लेखापाल नरेन्द्र सुवेदी
विरूद्ध
प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत ऋषिराम दवाडीको प्रतिवेदनले नेपाल सरकार
०७१–CR–०३०१
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४ रविभवनमा बस्ने कृष्णप्रसाद अधिकारीको छोरा रूद्र अधिकारी
विरूद्ध
प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत ऋषिराम दवाडीको प्रतिवेदनले नेपाल सरकार
दोहोरो खतराको सिद्धान्तले मूलतः एउटै व्यक्तिका विरूद्धमा उही कसुरमा पहिले नै कारवाही भई सजाय पाइसकेको वा सफाई पाइसकेको अवस्थामा उक्त कसुरमा दुईपटक मुद्दा चलाउन र सजाय गराउनलाई रोक्दछ । दोहोरो खतराको सिद्धान्त यस आधारमा पूर्व निर्णयसँग सम्बन्धित देखिन्छ । दोहोरो खतराको सिद्धान्त आकर्षित हुनका लागि मुख्यरूपमा सक्षम निकायबाट निर्णय भएको हुनुपर्ने, निर्णय अन्तिम भएको हुनुपर्ने र त्यस्तो निर्णय स्वच्छ सुनुवाई गरी अन्तिमसमेत भएको हुनुपर्ने ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को उपधारा (६) ले कुनैपनि व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एकपटक भन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन भन्ने व्यवस्था गरेको देखिन्छ भने वर्तमान नेपालको संविधानको धारा २० को उपधारा (६) ले त्यसलाई निरन्तरता दिएको पाइने ।
(प्रकरण नं.१२)
राज्यको मूल कानून संविधानले नै दोहोरो खतराको सिद्धान्तलाई फौजदारी न्यायको हकका रूपमा प्रत्याभूत गरेको परिप्रेक्ष्यमा त्यसलाई आत्मसात् गरी न्याय निरूपण गरिनुपर्दछ यसलाई अन्यथा गर्न
सकिँदैन । यद्यपी मुद्दाको तथ्यगत अवस्था एक खालको हुने र तथ्यगत अवस्थाको विश्लेषण नगरी सैद्धान्तिक र तथ्यगत अवस्थालाई एकैचोटी विश्लेषण नगरी कसुरदारलाई कसरी उन्मुक्ति मिल्दछ भनी निष्कर्षमा पुग्न खोज्नु फौजदारी न्यायको सिद्धान्तकै खिलाफ हुन जाने ।
न्यायको दुरूपयोग नहोस् र एउटै कसुरमा दुईपटक खतरामा रहनु नपरोस भन्ने अभिप्रायले यस्तो संवैधानिक मान्यताको विकास भएको हो । मुद्दाका आ-आफ्नै विशिष्टता हुने गर्दछन् । दण्डहीनताले प्रसय नपाओस् अपराधी सजायको दायरामा आउन सकोस् र कुनैपनि व्यक्तिविना कारण दुईपटक खतरामा नपरोस् भन्ने सम्बन्धमा न्यायकर्ता सदैव सचेत रहनुपर्ने ।
(प्रकरण नं.१३)
मुद्दाको समग्र तथ्यको विश्लेषण गर्दा कसैले कानूनद्वारा निषिद्ध आपराधिक कार्य गरेको अवस्थामा त्यस्तो कार्यलाई अलग / अलग कानूनले अलग / अलग अपराध मान्दछ भने त्यसलाई एउटै कसुर मानेर एउटा मात्र कानूनअन्तर्गत कारवाही गर्नुपर्ने भनी आपराधिक क्रियालाई सीमित तुल्याउन नमिल्ने ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को कुनै पनि व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन भन्ने कुरा अर्थात् दोहोरो खतराको सिद्धान्त कुनै एक कसुरमा उही व्यक्तिउपर मुद्दा चलाई निर्णय भइसकेकोमा सोही कसुरको सम्बन्धमा पुनः कारवाही चलाउन रोक लगाउने सन्दर्भमा आकर्षित हुने हो । विवादको विषयमा एकै प्रतिवादीबाट भएको कार्यको लागि दुई छुट्टाछुट्टै ऐनअन्तर्गतको कसुरमा छुट्टाछुट्टै अनुसन्धान तहकिकात गरी मुद्दा चलाउन र अदालतबाट निर्णय गर्न यस सिद्धान्तले रोक लगाएको देखिँदैन । यसबाट एउटै क्रियाबाट अलगअलग ऐनअन्तर्गतमा कसुरसमेत भएमा अलगअलग मुद्दा चलाउन र सजाय गर्ने बाधा हुने अवस्था नदेखिने ।
(प्रकरण नं.१४)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता ज्ञानप्रसाद भूसाल
प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू अर्जुन खनाल र विद्वान् अधिवक्ता चेतनाथ घिमिरे, विद्वान् अधिवक्ता टिकाराम भट्टराई, चेतनाथ घिमिरे, टिकाराम भट्टराई, डा. भिमार्जुन आचार्य, गोपी शर्मा सुवेदी
अवलम्बित नजिर :
ने.का.प. २०६९, नि.नं.८८७४, पृ.१२३८
सम्बद्ध कानून :
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३
फैसला
न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
उच्च माध्यमिक शिक्षा परिषद्द्वारा २०६८ सालमा सञ्चालित कक्षा–१२ को भौतिकशास्त्र विषयको प्रश्नपत्र निर्धारित समय अगावै बाहिरिएको भन्ने सम्बन्धमा गठित छानबिन समितिले “प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई सजाय हुन उपयुक्त देखिई जिलेट आवासिय उ.मा.वि.कालिमाटी केन्द्रका केन्द्राध्यक्ष नेत्रबहादुर लिम्बू–१, ऐ.का सहायक केन्द्राध्यक्ष झापा जिल्ला तोपगाछी गा.वि.स.वडा नं.७ घर भई हाल रविभवन काठमाडौं डेरा गरी बस्ने जिलेट आ.उ.मा.वि. कालिमाटीका Coordinator भई हाल थुनामा रहेका रूद्र अधिकारी–१, सर्लाही जिल्ला हरिपुर गा.वि.स.घर भई हाल काठमाडौं भोटेवहाल डेरा गरी हाल थुनामा रहेको वर्ष–२४ को नरेन्द्र सुवेदी–१, काठमाडौं जिल्ला भद्रवास गा.वि.स. वडा नं.३ घर भई हाल थुनामा रहेको वर्ष–२३ को सन्तोष कुँइकेल–१, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–७ कुमारीगाल टुसाल घर भई हाल थुनामा रहेको वर्ष–२१ को बिनोद बस्नेतसमेत जना–५ मध्ये ४ जना थुनामा रहेका र केन्द्राध्यक्ष नेत्रबहादुर लिम्बू थुना बाहिर रहेको हुँदा निज केन्द्राध्यक्षलाई समेत गिरफ्तार गरी शिक्षा ऐन, २०२८ को दफा १७(१)क बमोजिमको माग दाबी लिई मुद्दा चलाउनका लागि सिफारिस गरेको र उक्त मुद्दाबाट छुटीजाने स्थिति भएमा अभियुक्तमध्येका केन्द्राध्यक्ष नेत्रबहादुर लिम्बू–१, रूद्र अधिकारी–१ र लापरवाहीपूर्ण कार्यमा संलग्न पर्यवेक्षक तिर्थराज बराल–१ समेत जना–३ सार्वजनिक पदधारण गरेका व्यक्ति भएको हुँदा निजहरूको कार्य र संलग्नता एकिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ को कसुरमा ऐ.ऐनको दफा १२ बमोजिम उक्त कार्यमा संलग्न व्यक्तिहरूको कार्यबाट परिषद्लाई पुग्न गएको हानि–नोक्सानी रकम रू.६९,००,०००।- (अक्षरेपी उनान्सत्तरी लाख) समेत निजहरूबाट असुलउपर गराई लिने माग दाबी लिई मुद्दा चलाउनका लागि यस आयोगमा पठाउन उच्च माध्यमिक शिक्षा परिषद्लाई सिफारिससहितको प्रतिवेदन बुझाएको हुँदा परीक्षा सञ्चालक समितिको निर्णयानुसार आवश्यक कारवाहीका लागि अनुरोध छ भन्नेसमेत व्यहोराको उच्च माध्यमिक शिक्षा परिषद्को प.सं.०६७/०६८ च.नं.३५३८ मिति २०६८/२/८ को पत्रसाथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रतिवेदनसहितको उजुरी दर्ता भएको ।
उच्च माध्यमिक शिक्षा परिषद्बाट मिति २०६८।१।१९ देखि ऐ.३० गतेसम्म सञ्चालन भएको कक्षा १२ को भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षा सञ्चालन अगावै बाहिरिएको विषयमा महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट शिक्षा ऐन, २०२८ अन्तर्गत छानबिन भइरहेको र सो कार्यमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतमा रहेको भन्ने बुझिन आएको हुँदा निज प्रतिवादीहरू रूद्र अधिकारी, नरेन्द्र सुवेदी, सन्तोष कुइँकेल र बिनोद बस्नेतसमेत चार जनालाई आयोगमा उपस्थित गराई दिनहुन भनि मिति २०६८/२/१९ च.नं.१७६४ को पत्रमार्फत लेखी पठाएकोमा सो महानगरीय प्रहरी परिसरले मिति २०६८/२/२५ च.नं.८८३२ को पत्रसाथ निजहरूलाई आयोगमा उपस्थित गराइएको ।
उच्च माध्यमिक शिक्षा परिषद्द्वारा कक्षा–१२ को लागि मिति २०६८/१/१९ गतेदेखि परीक्षा सञ्चालन हुने परीक्षाको लागि जिलेट आवासिय उच्च मा.वि.परीक्षा केन्द्र तोकिएको ।
उक्त परीक्षा केन्द्रको लागि उच्च माध्यमिक शिक्षा परिषद्को च.नं.४७६ मिति २०६८/१/६ को पत्रद्वारा सोही मा.वि.का प्राचार्य नेत्रबहादुर लिम्बूलाई केन्द्राध्यक्ष तथा परिषद्को च.नं.९७८ मिति २०६८/१/८ को पत्रद्वारा रिचमण्ड एकेडेमी उ.मा.वि.का तीर्थराज बराललाई पर्यवेक्षक नियुक्त गरिएको ।
परीक्षा केन्द्रका केन्द्राध्यक्षबाट सोही जिलेट आ.उ.मा.वि.का इन्चार्ज रूद्र अधिकारीलाई मिति २०६८/१/१९ मा सहायक केन्द्राध्यक्ष तोकिएको ।
उच्च माध्यमिक शिक्षा परिषद्को मिति २०६७/१२/२२ को पत्रद्वारा २०६८/१/१९ देखि २।२२ सम्म सञ्चालन हुने परीक्षाको लागि परीक्षा पूर्व गोप्य सामानहरू पुर्याउन तथा प्रश्नपत्र नजिकको सुरक्षा निकायमा सुरक्षितसाथ राख्ने व्यवस्था गर्न गृह मन्त्रालयका सचिवसमक्ष अनुरोध गरिएको र सोअनुसार गृह मन्त्रालयबाट पाँचवटै क्षेत्रीय प्रशासन कार्यालय तथा प्रहरी प्रधान कार्यालयबाट क्षेत्रीय प्रहरी कार्यालयहरूमा सञ्चार तथा परिपत्र गरिएको ।
उच्च माध्यमिक शिक्षा परिषद्बाट विभिन्न सुरक्षा निकायलाई पत्र लेखी संलग्न लिखतअनुसारका गोप्य सामग्री सुरक्षित तवरले राखी दिनुहुन र Routine अनुसार सम्बन्धित परीक्षाको दिन बिहान ६.३० बजेपछि परीक्षा केन्द्रमा पुर्याउनको लागि केन्द्रका केन्द्राध्यक्षसाथ सुरक्षाकर्मी पठाई दिन अनुरोध गरिएको र परिषद्ले उपलब्ध गराएको प्रश्नपत्र बुझी लिने भरपाईको नमुनामा परीक्षा मिति, विषय एवं कोड नं. र प्रश्नपत्र बुझिलिने केन्द्राध्यक्षको नाम उल्लेख भएको ।
परिषद्ले सम्पूर्ण परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालन सम्बन्धमा मिति २०६८।१।२ मा दिएको निर्देशनमा सुरक्षा निकायबाट परीक्षाको दिन प्रश्नपत्रहरू सुरक्षाकर्मीका साथ ल्याउनुहुन एवं परीक्षाको दिन बिहान ६.३० बजेपछि मात्र केन्द्राध्यक्ष र सुरक्षाकर्मीसहित तीनजनाको रोहवरमा प्रश्नपत्र खोल्नु हुनका लागि भनी परिषद्बाट जारी परीक्षासम्बन्धी निर्देशिका, २०६८ को बमोजिम निर्देशित गरिएको ।
हिरासतमा रहेका रूद्र अधिकारी, सन्तोष कुइकेल, नरेन्द्र सुवेदी र बिनोद बस्नेतहरूको मोवाइल नम्बरबाट प्रश्नपत्र बाहिरिएको भनिएका दिनमा कहाँकहाँ फोन सम्पर्क भएको हो सो बारे नेपाल टेलिकमबाट कल डिटेल लिइएको ।
उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा शाखाको गोप्य शाखामा कार्यरत उपसचिव कृष्णप्रसाद शर्मा, शाखा अधिकृत कृष्णप्रसाद घिमिरे, शाखा अधिकृत निर्मलकुमार सुवेदी, कम्प्युटर सहायक सुवास सापकोटा तथा कार्यालय सहयोगी मित्रबहादुर कार्कीसमेतलाई उपस्थित गराई बाहिरिएको भनिएको मिति २०६८।१।२१ गते सञ्चालित भौतिकशास्त्र विषयको प्रश्नपत्रको नमूना भिड्छ वा भिड्दैन भनी हस्तलिखित लिइएको ।
प्रस्तुत विषयमा संलग्न देखिएका जिलेट आ.उ.मा.वि. का प्रिन्सिपल नेत्रबहादुर लिम्बू, पेन्टागन कलेजका विद्यार्थी युवराज शाही, न्यू समिट उ.मा.वि.का बिर्ख महत, क्याम्ब्रीज कलेजका संजय चौधरी, सेन्टजेभियर्स कलेजका सुयोग श्रेष्ठ, युनिभर्सल कलेजका सिद्धान्त भुजेल, प्राइम कलेजका आयुष मानन्धर र क्यास्पियन कलेजका संजित जैसवाल, जेभियर्स इन्टरनेशनल कलेजका मदन बस्नेत र नेत्रबहादुर बुढासमेतलाई आयोगमा उपस्थित गराउन पत्राचार भएकोमा निजहरू उपस्थित हुन नआएको ।
परिषद्बाट सञ्चालन हुने कक्षा–१२ को भौतिकशास्त्र, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्ट लगायतका विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको सम्बन्धमा केन्द्रीय अपराध अनुसन्धान व्यूरोले जिलेट कलेजका Coordinator एवं सहायक केन्द्राध्यक्ष रूद्र अधिकारी, ब्राइटल्याण्ड कलेजका शिक्षक एवं जिलेट कलेजको लेखामा काम गर्ने नरेन्द्र सुवेदी, का.जि.भद्रवास ३ बस्ने सन्तोष कुइकेल र का.जि.का.म.न.पा. वडा नं. ७ बौद्ध टुसाल बस्ने बिनोद बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्दा जिलेट कलेजको परीक्षा केन्द्रको लागि उच्च माध्यमिक शिक्षा परिषद्द्वारा पठाइएका प्रश्नपत्रहरू सुरक्षित साथ राखिएको स्थान महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट लिई नरेन्द्र सुवेदीलाई दिएको, नरेन्द्र सुवेदीले सन्तोष कुइकेललाई दिएको र सन्तोष कुइकेलले विनोद बस्नेतमार्फत विभिन्न व्यक्तिलाई बेचेको कुरा उल्लेख गरेको र सोही व्यहोराको टेप रेकर्ड (सिडी) समेत परिषद्बाट प्राप्त हुन आएको ।
सो कार्यमा संलग्न रूद्र अधिकारी, नरेन्द्र सुवेदी, सन्तोष कुइकेल, बिनोद बस्नेत, केन्द्राध्यक्ष नेत्रबहादुर लिम्बू र विवेक बस्ने समेतका उपर महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट अनुसन्धान भई निजहरू उपर शिक्षा ऐन,२०२८ को दफा १७(१)क. बमोजिमको कसुरमा कारवाही हुन काठमाडौं जिल्ला अदालतमा मिति २०६८।२।२३ मा मुद्दा दायर गरिएको ।
आरोपित प्रतिवादीहरू रूद्र अधिकारी, नरेन्द्र सुवेदी, सन्तोष कुइकेल तथा विनोद बस्नेतको फोनको कल विवरण नेपाल टेलिकमबाट माग गर्दा मिति २०६८ साल वैशाख २० गतेदेखि ऐ. वैशाख २२ गतेसम्म निजहरूबीच एक अर्कामा फोन सम्पर्क भएको देखिएको ।
बाहिरिएको भनिएको कक्षा–१२ को भौतिकशास्त्रको हस्तलिखित प्रश्नहरूका सम्बन्धमा उच्च माध्यमिक शिक्षा परिषद्का गोप्य शाखामा काम गर्ने उपसचिव कृष्ण प्रसाद शर्मा, शा.अ.कृष्णप्रसाद घिमिरे तथा शा.अ.निर्मलकुमार सुवेदी तथा का.स.मित्रबहादुर कार्की एवं का.स.सुभाष सापकोटासमेतका कर्मचारीहरूलाई आयोगमा बोलाई प्रश्नपत्रको हरफ लेख्न लगाई निजहरूको हस्ताक्षर संकलन गरिएको ।
म शिक्षक पेसा गर्दछु । जिलेट उ.मा.वि. कालिमाटी र ज्वाला मा.वि.कालिमाटीमा कार्यरत छु । जिलेट उ.मा.वि.मा विगत ८ वर्षदेखि कार्यरत
छु । हाल म बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म कार्य गर्दछु । म त्यहाँ अर्थशास्त्र र अंग्रेजी विषय अध्यापन गराउँदछु । ज्वाला मा.वि.मा १.३० देखि ४.०० बजेसम्म अध्यापन गर्दछु । त्यहाँ म विगत १० वर्षदेखि कार्यरत छु । म त्यहाँ अर्थशास्त्र र अंग्रेजी विषय अध्यापन गराउँदछु । कक्षा–१२ को २०६८ वैशाख १९ देखि ३० सम्मको परीक्षामा मलाई सहायक केन्द्राध्यक्षको जिम्मेवारी दिनुका साथै निरीक्षकहरूलाई सहयोग पुर्याउने, परीक्षार्थीका गतिविधि अवलोकन गर्ने जिम्मेवारी दिएको थियो । मलाई परीक्षाका दिन प्रश्नपत्र राखिएको बाकसको चाबी केन्द्राध्यक्षसँग हुने हुँदा केन्द्राध्यक्षले चाबी मलाई दिनुहुन्थ्यो र म कालिमाटी प्रहरी वृत्तमा गई बिहान ६.३० बजे आफ्नो परीक्षा केन्द्रको बाकस खोली ६ वटा लाहाछापसहितको प्रश्नपत्रको पोका झिकी सही प्रश्नपत्रको पोका हो वा होइन जाँचको लागि प्रहरीलाई देखाएर बुझाई प्रमाणित गराई सकेपछि आवश्यक मुचुल्का तयार गरी प्रहरीको निगरानीमा परीक्षा केन्द्रमा आई प्रश्नपत्रको पोका र चाबी केन्द्राध्यक्षलाई बुझाउने गर्दथेँ भन्नेसमेत व्यहोराको निज प्रतिवादी रूद्र अधिकारीले यस आयोगसमक्ष गरेको बयान कागजबाट देखिन्छ भने निजले शिक्षा ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा मिति २०६८।१।२१ गते भौतिकशास्त्र विषयको परीक्षा थियो । म र नरेन्द्र सुवेदी भई ऐ.२० गते प्रश्नपत्र लिन जाँदा प्रहरीले थाहा नपाउने गरी कालिमाटी प्रहरी वृत्तमा रहेको उक्त प्रश्नपत्र निकाली लगेको हो र सो प्रश्नपत्र २० गते बेलुका नै नरेन्द्र सरलाई दिएको थिएँ । ऐ.२१ गते प्रश्नपत्र लिन जाँदा २२ गतेको कम्प्युटर साइन्सको प्रश्नपत्र ल्याएको हो । उक्त प्रश्नपत्र त्यसैदिन नै नरेन्द्र सरलाई दिएको थिएँ । म आफैँले पनि संजय चौधरी भन्ने विद्यार्थीलाई रू.१०,०००।- मा फिजिक्सको प्रश्नपत्र दिएको थिएँ भन्नेसमेत व्यहोरा उल्लेख गरी प्रतिवादी रूद्र अधिकारीले आयोगसमक्ष गरेको बयान ।
म जिलेट कलेजमा लगभग १ वर्षदेखि कार्यरत छु । म मिति २०६८।१।१९ देखि २०६८।१।३० सम्म बिहानको समयमा कलेजमा नै थिएँ र त्यसपछिको समयमा पनि काठमाडौंमा नै थिएँ । जिलेट कलेजमा Capitol Hill College र Camellia College को Centre परेको थियो । परीक्षार्थी थोरै भएको दिनमा BBS 1st Year र BBS 2nd Year को कक्षा सञ्चालन हुन्थ्यो । कलेजको परीक्षासँग मेरो कुनै पनि सम्बन्ध रहँदैन तर कलेजमा नै भएको हुनाले अह्राएको काम साधारण काम गरेको हुँ । मैले दुई पटक प्रश्नपत्र बुझेको हुँ तर मलाई कुन विषयको र कुन मितिको भन्ने कुरा याद छैन । मैले बिहान ६.१५–६.३० बीचको समयमा प्रश्नपत्र कालिमाटीस्थित प्रहरी कार्यालयबाट सम्पूर्ण अभिलेख दर्ता गरी प्रहरीको सुरक्षामा प्रश्नपत्र कलेजभित्र पुर्याई केन्द्राध्यक्षलाई बुझाएको हुँ । उक्त प्रश्नपत्र ल्याउँदा म एक्लै थिएँ भन्नेसमेत व्यहोराको निज प्रतिवादी नरेन्द्र सुवेदीले यस आयोगसमक्ष दिएको बयान कागजबाट देखिन्छ भने निजले शिक्षा ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा कक्षा १२ को परीक्षाको प्रश्नपत्र महानगरीय प्रहरी वृत्त, कालिमाटीमा राखिने भएकोले परीक्षा अगावै प्रश्नपत्र लिन जाने जिम्मेवारी रूद्र अधिकारीको थियो । मिति२०६८।१।२०गते बेलुका रूद्र अधिकारीले मलाई भेटी होटल म्यानेजमेन्ट र फिजिक्स विषयको प्रश्नपत्र मेरो साथमा छ खरिद गर्ने विद्यार्थीहरू जम्मा गरी बिक्री गर्नु र आएको रकम बाँडी खानुपर्छ भनेका थिए निजले प्रश्नपत्रको टाउको भाग छोपिएका चार थान प्रश्नपत्रहरूको फोटोकपी उपलब्ध गराएकोमा मैले रू.१५,०००। मा सन्तोषलाई बिक्री गरेको थिएँ भन्नेसमेत व्यहोरा उल्लेख गरी प्रतिवादी नरेन्द्र सुवेदीले आयोगसमक्ष गरेको बयान ।
म का.जि.भद्रवास–३ मा बस्दछु । म मालपोत कार्यालय, चावहिलमा साधारण राजीनामा पासको लिखतहरू लेख्ने गर्दछु । बिनोदको घर कुमारीगालमा हो । म बिनोद बस्नेतलाई चिन्दछु । प्रश्नमा जसलाई प्रहरी भनेर सम्बोधन गरिएको छ । उहाँहरूलाई म चिन्दिन साधारण पहिरनमा आएर एक्कासी मलाई उठाएर कसैको व्यक्तिगत घरमा लगेर यातना दिने काम सुरू भयो । तीन दिनसम्म उक्त व्यक्तिगत घरमा यातना दिई कुनै अपरिचित व्यक्तिलाई बोलाई फोटो खिची तीन दिनपछि मात्र प्रहरीमा बुझाइयो र उक्त अपरिचित व्यक्तिले पठाएको बयानलाई नै हनुमाढोकामा सारी जबरजस्ती सहिछाप गराइयो । उच्च माध्यमिक शिक्षा परिषद्बाट गठित छानबिन समितिको निर्णय हामी माथि छैन । मैले पनि उक्त निर्णय पढेको थिएँ तर त्यसमा मैले नचिनेको व्यक्तिहरू तीनजनाको नाम उल्लेख छ । उक्त निर्णयमा नचिनेको तीनजना व्यक्तिको नाम लेखिँदा पनि मलाई किन अख्तियारले समायो म छक्क परेको छु जुन आरोप म माथि लगाइयो त्यो सरासर झुठा हो । यसमा मेरो कुनै संलग्नता छैन म निर्दोष छु भन्नेसमेत व्यहोराको निज सन्तोष कुइकेलले यस आयोगसमक्ष गरेको बयान कागजबाट देखिन्छ भने निजले शिक्षा ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा नरेन्द्र सुवेदी मेरो दाई नाताको मान्छे हुन् निजले कक्षा १२ को प्रश्नपत्र आउट हुँदैछ तिमीले विद्यार्थीहरूसँग सम्पर्क गरी रकम उठाउनु म तिमीलाई प्रश्नपत्र उपलब्ध गराउँछु भनेका थिए । तसर्थ मैले बिनोद बस्नेतसँग सम्पर्क गरी निजलाई फिजिक्स, होटेल म्यानेजमेन्ट र कम्प्युटर साइन्सको प्रश्नपत्र आउट हुने जानकारी गराई नरेन्द्र सुवेदीबाट प्रश्नपत्रको फोटोकपी प्राप्त गरेपछि मैले रू.२५ हजारमा बिनोद बस्नेतलाई बिक्री गरेको हुँ भने नरेन्द्र सुवेदीलाई १५ हजार रूपैयाँ दिएको थिए भन्नेसमेत व्यहोरा उल्लेख गरी प्रतिवादी सन्तोष कुइकेलले आयोगसमक्ष गरेको बयान ।
म हाल न्यूटन कलेजमा BBS मा अध्ययन गर्दैछु । म मिति २०६८।१।१९ देखि काठमाडौं थिएँ । सन्तोष कुइकेल मेरो साथीको दाई हो । मैले अपराध अनुसन्धान व्यूरोमा सन्तोषबाट प्रश्नपत्रहरू लिई साथी तथा भाइका साथीहरूलाई पैसा लिई दिएको भन्ने गलत हो । मैले यस्तो केही बयान दिएको
छैन । कक्षा १२ को भौतिकशास्त्रको प्रश्न आउट हुनुमा मेरो कुनै संलग्नता छैन भन्नेसमेत व्यहोराको निज प्रतिवादी बिनोद बस्नेतले यस आयोगमा गरेको बयान कागजबाट देखिन्छ भने निजले शिक्षा ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा सन्तोष कुइकेल मेरो चिनजानका मानिस हुन् । निजले मलाई २०६८।१।२१ गतेको कक्षा १२ को फिजिक्स र होटल म्यानेजमेन्ट विषयको प्रश्नपत्र आउट हुँदैछ तिम्रा सम्पर्कमा कक्षा १२ का विद्यार्थीहरू भएमा निजहरूबाट रकम जम्मा गर्नु, म प्रश्नपत्र उपलब्ध गराउँछु भनेका थिए । मैले पेन्टागन कलेजका युवराज र गोल्डेनगेट कलेजका बाबुराम भन्ने विद्यार्थीसँग सम्पर्क गरी प्रत्येकसँग १०।१० हजार लिई सन्तोष कुइकेलबाट प्राप्त गरेको प्रश्नपत्रको फोटोकपी निजहरूलाई दिएको थिएँ भन्नेसमेत व्यहोरा उल्लेख गरी प्रतिवादी बिनोद बस्नेतले आयोगसमक्ष गरेको बयान ।
मेरो स्थायी घर धनकुटा जिल्ला कुरूले तिनुपा ४ बासपानी हो । अस्थायी ठेगाना काठमाडौं जिल्ला का.म.न.पा. ३५ कोटेश्वर हो । म कलंकीस्थित रिचमण्ड एकेडेमी उच्च मा.वि.मा पढाउने काम गर्छु । मिति २०६८ साल वैशाख १९ गतेदेखि ३० गतेसम्म उ.मा.शि.प.बाट सञ्चालित परीक्षामा कालिमाटीस्थित जिलेट आ.वा.उ.मा.वि.परीक्षा केन्द्रको लागि म पर्यवेक्षकको रूपमा खटिई गएको थिएँ । सधैँजसो म बिहान ६.४५ बजेतिर मात्र परीक्षा केन्द्रमा पुग्ने गरेको हुँदा म पुग्नु पूर्व नै प्रश्नपत्र खोलीसकेको हुन्थ्यो, मैले प्रश्नपत्र खोल्दा उपस्थित नहुने भएकोले सही गरेको छैन । उच्च माध्यमिक शिक्षा परिषद्बाट सञ्चालित कक्षा १२ को उक्त परीक्षामा मिति २०६८ साल वैशाख २१ गते सञ्चालन भएको भौतिकशास्त्र विषयको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा मलाई केही थाहा थिएन । पछि सञ्चार माध्यमबाट थाहा भएको
हो । म प्रश्नपत्र बाहिर ल्याउने काममा कतै पनि संलग्न भएको छैन भन्नेसमेत व्यहोराको उक्त परीक्षा केन्द्रका पर्यवेक्षक तिर्थराज बरालले आयोगसमक्ष गरेको बयान देखिन्छ भने यसै व्यहोरा उल्लेख गरी निजले उक्त प्रश्नपत्र बाहिरिएको सम्बन्धमा गठित छानबिन समितिसमक्ष प्रतिवादी तिर्थराज बराल बयान गरेको ।
म महानगरीय प्रहरी वृत्त, कालिमाटीको प्रबन्ध शाखामा रही एक्लै काम गरी रहेको छु । सो शाखाको मुख्य काम हातहतियार रेखदेख गर्ने जिन्सी सामानहरू रेखदेख गर्ने हो । उक्त भण्डारको मेन ढोकाको साँचो मेरो जिम्मामा रहन्छ । उक्त शाखामा हातहतियारबाहेक अन्य कुनै सामान राख्नु परेको खण्डमा राख्ने गरेको
छ । प्रश्नपत्र राख्न आउँदा कहिले २ दिन पहिला कहिले १ दिन अगाडि नै लिएर राख्ने गरेको छ । सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूले परीक्षाको दिन मसँग रहेको भरपाईमा प्रश्नपत्रहरू बुझी लाने गरेका छन् । मिति २०६८।१।२१ गतेको भौतिकशास्त्र विषयको प्रश्नपत्र मलाईसमेत झुक्याई सो जिलेट कलेजका रूद्र अधिकारीले अघिल्लो दिननै लगेका रहेछन् पछि २३ गतेको प्रश्नपत्र लिन नआउँदा के भयो भनी बुझ्दा सो दिनको समेत प्रश्नपत्र २२ गते नैं लगिसकेका रहेछन् तर निजले मैले बिहानमात्र प्रश्नपत्र लगेको भनी मसँग रहेको भरपाईमा सही गरेका थिए र कक्षा १२ को भौतिकशास्त्र विषयको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा मलाई मिति २०६८/२/१ गते मात्र थाहा भएको हो भन्नेसमेत व्यहोराको प्रहरी वृत्त, कालिमाटीका प्रहरी हवल्दार गुप्तबहादुर क्षेत्रीले बयान गरेको देखिन्छ भने निजले उक्त प्रश्नपत्र बाहिरिएको सम्बन्धमा गठित छानबिन समितिसमक्ष पनि सोही व्यहोरा उल्लेख गरी बयान गरेको ।
म महानगरीय प्रहरी वृत्त, कालिमाटीमा मिति २०६७/१२/१४ देखि कार्यरत छु । म कार्यरत कार्यालयमा अधिकृत स्तरका ११ जना र ७५ जना जवान दर्जाका प्रहरीहरू कार्यरत छन् । उक्त मितिमा आफ्नो कार्यालयका साथै जिम्मेवार क्षेत्रहरूमा गस्ती पेट्रोलिङ र चेकिङ गरेको छु । भण्डार शाखाको ढोका चाबी शाखामा खटिएका कर्मचारीसँगै रहने हुँदा अन्य कर्मचारीसमेत भित्र पसी जानसक्ने स्थिति रहँदैन भन्नेसमेत व्यहोराको बुझिएका व्यक्ति प्रहरी नायब उपरीक्षक भिमप्रसाद ढकालले आयोगसमक्ष गरिदिएको कागज ।
दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं.१ चरिकोट तारथली स्थायी घर भई हाल म मदन भण्डारी मेमोरियल कजेलमा कक्षा–१२ मा पढिरहेको छु । हाम्रो कक्षा १२ को परीक्षा २०६८।१।१९ गतेदेखि ऐ.२९ गतेसम्म भएको थियो । उक्त परीक्षामा भौतिकशास्त्र विषयको प्रश्नपत्र परीक्षा अगावै नै बाहिरिएको थियो । उक्त प्रश्नपत्र मैले रातको १० बजे पाएको थिएँ । हामीले पाएको प्रश्नपत्र र उक्त परीक्षाको दिन आएको प्रश्नपत्र समान रहेछ । मैले रू.५०००/- दिएर प्रश्नपत्र पाएको थिए उक्त ५०००/- सौर्य इन्टरनेशनलका १४ जना विद्यार्थी र बाहिरका केही विद्यार्थीबाट उठाएर दिएका थियौं । प्रश्नपत्र आउट गर्नमा मेरो संलग्नता छैन भन्नेसमेत व्यहोराको बुझिएका व्यक्ति विद्यार्थी एकराज सापकोटाले आयोगसमक्ष गरिदिएको कागज ।
मेरो स्थायी ठेगाना दोलखा जिल्ला, माटी हो र अस्थायी ठेगाना काठमाडौं, सिनामंगल गैरीगाउँ
हो । म कक्षा ११ र १२ मा सौर्य इन्टरनेशनल कलेजमा पढ्थेँ । हाम्रो परीक्षा वैशाख १९ गतेबाट सुरू भई वैशाख महिनाकै ३० गते समाप्त भएको थियो । भौतिकशास्त्रको परीक्षा मैले २१ गते दिएको थिएँ । सुरूमा त साथीहरूले प्रश्नपत्र आउट हुने कुरा गर्दा मलाई विश्वास
लाग्दैनथ्यो । तर पछि एक साथीले प्रश्नपत्र आउट गर्ने र उसलाई रकम चाहिएको कुरा हामीलाई भनेको हुनाले हामीले रकम उठाएर उसलाई दियौं र प्रश्नपत्र अघिल्लो दिनको रातमा होस्टेलमा आएको थियो जुन परीक्षाको दिनमा सोधिएको प्रश्नपत्रसँग मेल खाएको थियो । अघिल्लो रात हामीले करिब १० बजे प्रश्नपत्र प्राप्त गरेका थियौं र उक्त प्रश्नपत्र मलाई उपलब्ध गराउने साथीको नाम एकराज सापकोटा हो जसले मदन र नेत्र बुढाबाट प्राप्त गरेको थियो म होस्टेलका अरू विद्यार्थी र एकराजले सो प्रश्नको लागि रकम दिएका थियौं । मदन गौरीघाट, चाबहिल बस्ने र जेभियर इन्टरनेशनलमा अध्ययनरत साथी हो । हामीले रू.५०००।– उठाएर दिएका थियौं । हामीलाई प्रश्नपत्र ल्याई दिने मदन र नेत्र बुढा हुन् जसले जेभियर इन्टरनेशनलमा अध्ययन गरेका थिए । उनीहरू पनि परीक्षार्थी नै थिए । मलाई उक्त प्रश्नपत्र परीक्षाको प्रश्नसँग मिलेकोमा रमाइलो लागेको थियो । उक्त प्रश्नपत्र आउटको विषयमा मेरो केही सम्बन्ध छैन र मलाई कुनै कारवाही हुनुहुँदैन भन्नेसमेत व्यहोराको बुझिएका व्यक्ति विद्यार्थी विष्णु विक्रम थापाले आयोगमा गरेको कागज ।
मेरो स्थाई ठेगाना प्युठान खैरा–७ र अस्थाई ठेगाना किर्तिपुर पाँगा हो । मैले NIST College मा M.SC मा Microbiology
पढाउँछु । त्यस्तै मैले SAAN International College मा Biotechnology ग्रुपलाई Biochemistry
पढाउँछु । मैले एक वर्ष पहिले साथीहरूको सहयोगमा www.edusanjal.com नाम गरेको educational website सञ्चालन गरेको छु । उक्त परीक्षा दिने विद्यार्थीबाट प्रश्न पत्र प्राप्त गरेको अघिल्लो दिन राति ११.३० देखि १२.०० बजेतिर फोनबाट Question paper out भएको आफ्नो साथीहरूले भनेर थाहा पाएका रहेछन् । मसँग Question को Answer सोध्ने बेलामा मैले प्रश्नपत्रको बारेमा थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको सो Website का सञ्चालक बुझिएका व्यक्ति टंकेश्वर आचार्यले आयोगसमक्ष गरेको कागज ।
मैले परीक्षा नियन्त्रकको जिम्मेवारी २०६७ साल मङ्सिर १६ गतेदेखि सुरू गरेको हो । प्रश्नपत्र निर्माणको सिलसिलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ३ तहमा सुरक्षा व्यवस्था गरिएको हुन्छ । सबै कुरा CCTV को निगरानीमा रहने हुँदा प्रेसबाट कुनै सूचना सार्वजनिक हुन सक्ने अवस्था रहँदैन । काठमाडौं उपत्यकाको हकमा प्रश्नपत्रका पोका प्रेसमा नै राखिन्छ र परीक्षा सुरू हुनुभन्दा एक/दुई दिन अगाडि परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा राखिन्छ । हामीले दिएको निर्देशनमा सम्बन्धित केन्द्रका केन्द्राध्यक्षले सुरक्षाकर्मीकासाथ बुझी लैजान निर्देशित गरिएको हुन्छ । सो कुरा प्रश्नपत्र बुझिलिने भरपाईमा समेत उल्लेख हुन्छ । परीक्षा बिहान ७.०० बजे सुरू हुने हुँदा प्रश्नपत्र परीक्षाका दिन बिहान ६.३० बजेपछि मात्र केन्द्राध्यक्ष र सुरक्षाकर्मीसहित कम्तीमा ३ जनाको रोहवरमा खोल्न निर्देशन दिइएको हुन्छ भन्नेसमेत व्यहोराको उच्च माध्यमिक शिक्षा परिषद्का नियन्त्रक दुर्गाप्रसाद अर्यालले आयोगसमक्ष गरेको कागज ।
म मिति २०६७।६।१८ देखि हालसम्म परिषद्मा कार्यरत छु । सो परिषद्मा उपाध्यक्षको काम नीति निर्माणमा सहयोग गर्ने, शैक्षिक गतिविधि हेर्ने, पाठ्यक्रमसम्बन्धी आदि हुन् । परिषद्ले नेपाल सरकारसँग समन्वय गरी विभिन्न प्रहरी केन्द्रहरूमा प्रहरीको जिम्मामा प्रश्नपत्र राख्ने व्यवस्था गरेको छ । परिषद्ले सुरक्षाका तीनै अंग जनपद, शसस्त्र र आर्मीसँग सहकार्य गरी प्रश्नपत्र छपाई देखि लिएर पुर्याउनेसम्ममा सहकार्य गर्दछ । परिषद्बाट सञ्चालित कक्षा–१२ को भौतिकशास्त्र विषयको प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन समिति गठन गरी प्रतिवेदन अ.दु.अ.आ. र CIB मा पठायौं । परिषद्को घाटा नोक्सानी दोषीबाट असुलउपर होस् भन्ने भनाई छ भन्नेसमेत व्यहोराको उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष डा.हेमकुमार मिश्रले आयोगसमक्ष गरेको कागज ।
म २०६७ साल आश्विन १८ देखि उच्च माध्यमिक शिक्षा परिषद्को सदस्य सचिवमा कार्यरत छु । परीक्षा सञ्चालन समितिको सदस्य र परिषद्को सदस्य–सचिवको हैसियतले परीक्षा व्यवस्थितरूपले सञ्चालन गर्न सहयोग गर्ने मेरो भूमिका रहन्छ । विगत २।३ वर्ष अगाडिबाटै रूद्र अधिकारीले प्रश्नपत्र आउट गराएको भन्ने बयानबाट विगत वर्षहरूमा नै यो खोजी, अनुसन्धान गरेको भए यो वर्ष यस्तो हुँदैनथ्यो होला । हामीले यो घटना दबाउनभन्दा पत्ता लगाउन पहल गर्यौं र सफल भइयो । जसले गर्दा १ गतेबाट नैं सञ्चालन भएको ११ गतेको परीक्षा अति मर्यादितरूपले चल्यो भन्नेसमेत व्यहोराको उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य–सचिव भीमलाल गुरूङले आयोगसमक्ष गरेका कागज ।
२०५४ सालमा सो विद्यालय स्थापना गरी सोही बेलादेखि म संस्थापक प्रिन्सिपल छु । सिद्धान्त भुजेल नाम गरेको विद्यार्थी सो कलेजको स्नातक तह (BBS) प्रथम वर्षमा अध्ययनरत छन् । सिद्धान्त भुजेलले चावहिलबाट ल्याई सो हस्त लिखित भौतिकशास्त्रको प्रश्नपत्र कलेजका DI तथा VP हुँदै मैले पाएँ । परीक्षा सञ्चालन भएपछि Original Question Paper सँग भिडाउँदा मिलेकाले करिब ७.३ तिर परीक्षा नियन्त्रकलाई फोन गरी सो जानकारी दिए । केही समयपछि नियन्त्रक आई DI विकास बलामी, VP रमाकान्त मिश्र र छात्र सिद्धान्त भुजेलसमेतलाई मेरो कोठामा राखी यथार्थ कुरा सुनाइयो र सो हस्तलिखित प्रश्नपत्रको PC पनि दिइयो । म स्वयंले २०६८ वैशाख २१ गते युनिभर्सल कलेज केन्द्रको भौतिकशास्त्र विषयको प्रश्नपत्र कमलपोखरी प्रहरी चौकीबाट बुझेको थिएँ । अन्य सत्यतथ्यका आधारमा गल्ती गर्ने सजायको भागी हुनुपर्छ भन्नेसमेत व्यहोराको युनिभर्सल कलेजका प्रिन्सिपल डा.शिवदत्त ज्ञवालीले आयोगसमक्ष गरेका कागज ।
म उक्त कलेजमा कार्यरत भएको लगभग १४–१५ वर्ष जति भयो । विकास वलामी र सिद्धान्त भुजेललाई चिन्दछु । उच्च माध्यमिक शिक्षा परिषद्द्वारा सञ्चालित कक्षा १२ को परीक्षाको दिन बिहान हाम्रा विद्यार्थी सिद्धान्त भुजेलमार्फत अनुशासन प्रमुखबाट हस्तलिखित प्रश्नपत्र उपलब्ध गराइएको थियो, मलाई विश्वास लागेको थिएन किनभने यस्ता हल्लाहरू हुने गर्छन् र प्रश्नपत्रको पोका खोलिएपछि हुबहु मिल्न गएकोले मैले तुरून्त केन्द्राध्यक्षलाई सोको जानकारी गराएको थिएँ भन्नेसमेत व्यहोराको युनिभर्सल कलेजका भाइस प्रिन्सिपल रमाकान्त मिश्रले आयोगसमक्ष गरेको कागज ।
म विगत केही वर्षदेखि युनिभर्सल कलेजको अनुशासन शिक्षकको रूपमा कार्यरत रही आएको छु । मिति २०६८।१।२१ बिहान म कार्यरत रहेको कलेजमा BBS मा अध्ययन गर्ने छात्र सिद्धान्त भुजेल कलेजको गेटबाट भित्र पस्दा दाई मैले आज सञ्चालन हुने भौतिकशास्त्र विषयको प्रश्नपत्र पाएको छु भनी देखाएकोले उक्त प्रश्नपत्र अरू कुनै विद्यार्थीले पाउन नसकून् र यसबाट कुनै अप्रिय घटनासमेत नहोस् भनी मैले निजबाट हस्तलिखित फोटोकपी गरेको अवस्थाको प्रश्नपत्र लिई तुरून्त कलेजको भाइस प्रिन्सिपल रमाकान्त सरलाई दिएको हुँ भन्नेसमेत व्यहोराको विकास बलामीले आयोगसमक्ष गरेको कागज ।
म २०६७।२।३ देखि महानगरीय प्रहरी वृत्त कालिमाटीमा महिला प्र.ज.को पदमा कार्यरत छु । उक्त २१ गते सञ्चालन भएको भौतिकशास्त्र विषयको परीक्षा भएको दिनमा जिलेट उच्च माध्यमिक विद्यालयमा मेरो ड्युटी थिएन । २२ गते सञ्चालन भएको कम्प्युटर विज्ञान र २३ गते सञ्चालन भएको नेपाली विषयको दिनमा उक्त जिलेट आवासीय उ.मा.वि.मा मेरो ड्युटी थियो । २०६८।१।२३ Ref. २२।०६८ को प्रश्नपत्र खोल्दा उत्तर पुस्तिका र प्याकिङ गर्दाको मुचुल्कामा मैले हस्ताक्षर गरेको छु मेरो नामसँग भएको हस्ताक्षर मेरो हो भन्नेसमेत व्यहोराको महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत महिला प्र.ज. विष्णुमाया दाहालले अनुसन्धानको क्रममा आयोगसमक्ष गरेको कागज ।
म महानगरीय प्रहरी वृत्त कालिमाटीमा २०६७।२।२६ देखि कार्यरत छु । म मिति २०६८।१।२१ गतेका दिन सञ्चालन भएको भौतिकशास्त्र विषयको परीक्षामा जिलेट उ.मा.वि.कालिमाटीमा ड्युटीमा खटेको थिएन । मेरो ड्युटी मिति २०६८।१।२३ गतेका दिन नेपाली विषयको परीक्षामा मात्र जिलेट उ.मा.वि. कालिमाटीमा थियो । उक्त मा.वि.को Ref. नं.२२।०६८ मिति २०६८।१।२३ गतेको पत्रमा भएको मुचुल्कामा मेरो हस्ताक्षर छ र नामसँगको हस्ताक्षर पनि मेरै हो । मुचुल्कामा त्यसरी सही गर्नु हुन्न थियो, तर केन्द्राध्यक्षले केही हुन्न भनी मिति २०६८।१।२३ गते हस्ताक्षर गराएको हो भन्नेसमेत व्यहोराको महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्र.ज.सुनिल थापाले अनुसन्धानको क्रममा आयोगसमक्ष गरेको कागज ।
म जिलेट आवासीय उच्च माध्यमिक विद्यालयको राउन्ड गार्डको रूपमा कक्षा १२ को परीक्षाको सिलसिलामा कार्यरत रहेको थिएँ । परीक्षा मर्यादित बनाउनको लागि विद्यार्थीहरूलाई आग्रह गर्ने र उत्तर पुस्तिका वितरण गर्ने कार्य गरेको थिएँ । आयोगबाट देखाइएको मिति २०६८।१।१९ देखि ऐ.२३ गतेसम्म प्रश्नपत्र खोलिएको र उत्तरपुस्तिका बन्द गरिएको मुचुल्कामा भएको दस्तखत मेरो होइन भन्नेसमेत व्यहोराको खगेन्द्रप्रसाद संग्रौलाले आयोगसमक्ष गरिदिएको कागज ।
म जिलेट आ.उ.मा.वि.मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा निरीक्षकको रूपमा संलग्न भएको थिएँ । म प्रायजसो सधैँ उपस्थित भई प्रश्नपत्र खोल्ने र उत्तरपुस्तिका बन्द गर्ने कार्यमा संलग्न थिएँ तर आयोगबाट देखाइएको प्रश्नपत्र खोल्ने र उत्तर पुस्तिका संकलन र प्याकिङ गर्ने मुचुल्कामा भएको सही मेरो होइन भन्नेसमेत व्यहोराको उमेश सापकोटाले आयोगसमक्ष गरेको कागज ।
प्रश्नपत्र प्राप्त गरेका भनिएका युनिभर्सल कलेज, मैतिदेवीका छात्र सिद्धान्त भुजेललाई प्रहरी तथा सोही कलेजमार्फत २४ घण्टाभित्र उपस्थित हुन लेखी पठाइएकोमा निज फरार रहेको देखिएको ।
उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा १२ को लागि मिति २०६८।१।१९ देखि सञ्चालन गरिएको परीक्षाको लागि उक्त परिषद्द्वारा जिलेट आवासिय उच्च मा.वि.लाई परीक्षा केन्द्र तोकी सोही मा.वि.का प्राचार्य नेत्रबहादुर लिम्बूलाई केन्द्राध्यक्ष नियुक्ति गरिएको र निज केन्द्राध्यक्षबाटै सोही कलेजका Coordinator रूद्र अधिकारीलाई मिति २०६८।१।१९ मा सहायक केन्द्राध्यक्ष तोकिएको देखिन्छ भने उच्च माध्यमिक शिक्षा परिषद्बाट रिचमण्ड एकेडेमी उ.मा.वि.का तीर्थराज बराललाई पर्यवेक्षकमा नियुक्त गरिएको ।
उच्च माध्यमिक शिक्षा परिषद्को मिति २०६७।१२।२२ को पत्रद्वारा २०६८।१।१९ देखि ऐ.जेठ २२ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्बन्धित केन्द्रको प्रश्नपत्रहरू नजिकको प्रहरी चौकीमा पठाइएकोमा सो प्रश्नपत्रहरू परीक्षा केन्द्रका नजिकको सुरक्षा निकायमा सुरक्षितसाथ राख्ने व्यवस्था गर्न परिषद्बाट सम्बन्धित सुरक्षा निकायलाई उपलब्ध गराइएको प्रश्नपत्र बुझाउने भरपाईको नमुनामा परीक्षा मिति, विषय एवं कोड नं. र प्रश्नपत्र बुझिलिने केन्द्राध्यक्षको नामसमेत उल्लेख भएको देखिन्छ । परिषद्ले सम्पूर्ण परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालन सम्बन्धमा मिति २०६८।१।२ मा दिएको निर्देशनमा सुरक्षा निकायबाट परीक्षाको दिन प्रश्नपत्रहरू सुरक्षाकर्मीका साथ ल्याउनुहुन एवं उक्त दिन बिहान ६.३० बजेपछि मात्र केन्द्राध्यक्ष र सुरक्षाकर्मीसहित तीनजनाको रोहवरमा प्रश्नपत्र खोल्नु हुनका लागि भनी परीक्षासम्बन्धी निर्देशिका, २०६८ बमोजिम निर्देशित गरिएको ।
उच्च माध्यमिक शिक्षा परिषद्द्वारा गठित छानबिन समितिसमक्ष Universal कलेजका छात्र सिद्धान्त भुजेलले गरेको बयानमा मिति २०६८ साल वैशाख २१ गते बिहान ६.३० बजे म मित्रपार्क अगाडि मानिसको भिड लागि कक्षा–१२ को Physics विषयको प्रश्नपत्र आउट भएको अवस्थामा सोको फोटोकपी बाँडिरहेको देखी आफूले पनि एकप्रति सो फोटोकपी प्राप्त गरी सो प्रश्नपत्र मेरो कलेजका अनुशासन शिक्षक विकास बलामीलाई दिएको हुँ भनी कागज गरेको देखिन्छ भने निजले आफूले कक्षा १२ को भौतिकशास्त्र विषयको प्रश्नपत्र सिद्धान्त भुजेलबाट प्राप्त गरी भाइस प्रिन्सिपल रमाकान्त मिश्रलाई दिएको हुँ भनी उल्लेख गरेको देखिन्छ । रमाकान्त मिश्रले आफूले मिति २०६८।१।२१ गते अन्दाजी बिहान ६.४५ बजेतिर प्रश्नपत्र शिक्षक विकास बलामीमार्फत प्राप्त गरी सक्कल प्रश्नपत्रसँग हुबहु मिलेको देखिएकोले सोको जानकारी परीक्षा नियन्त्रकलाई गराएको र परीक्षा नियन्त्रक उपस्थित भएपछि सम्पूर्ण जानकारी गराएको थिएँ भनी कागज गरेको पाइन्छ ।
प्रतिवादी रूद्र अधिकारीले मुद्दाको अनुसन्धानको सिलसिलामा सरकारी वकिलसमक्ष गरेको बयान एवं केन्द्रीय अनुसन्धान ब्युरोमा स्वीकार गरेअनुसार मिति २०६८।१।२१ गतेको फिजिक्स विषयको प्रश्नपत्र २० गते नै म र नरेन्द्र सुवेदी भई महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट प्रहरीले थाहा नपाउने गरी झिकी लगेकोमा मैले सो प्रश्नपत्रहरू २० गते बेलुका नरेन्द्र सरलाई दिएको हुँ र म आफैले पनि संजय चौधरीलाई रू.१० हजारमा उक्त प्रश्नपत्र बेचेको थिएँ भनी उल्लेख गरेका अर्का प्रतिवादी नरेन्द्र सुवेदीले रूद्र अधिकारीले २०६८।१।२० गते बेलुका मलाई भेटी फिजिक्स र होटेल म्यानेजमेन्ट विषयका कक्षा १२ का प्रश्नपत्रहरू मसँग रहेका छन् विद्यार्थीहरू खोजी बिक्री गर्नु भनेकाले मैले सन्तोष कुइकेलसँग सम्पर्क गरी निज सन्तोष कुइकेललाई रू.१५ हजारमा बिक्री गरेका, अर्का प्रतिवादी सन्तोष कुइकेलले नरेन्द्र सुवेदीले कक्षा १२ को प्रश्नपत्र आउट हुँदै छ, तिमीले विद्यार्थीसँग सम्पर्क गरी पैसा उठाउनु, म तिमीलाई प्रश्नपत्र उपलब्ध गराउँछु भनेका थिए र सोहीअनुसार मैले बिनोद बस्नेतसँग सम्पर्क गरी प्रश्नपत्र आउट हुँदैछ भनेको थिएँ, पछि नरेन्द्र सुवेदीबाट प्राप्त हुनासाथ मैले उक्त प्रश्नपत्रको फोटोकपी रू.२५ हजारमा बिनोद बस्नेतलाई बिक्री गरेको हुँ भनी उल्लेख गरेको, बिनोद बस्नेतले बयानमा मैले सन्तोष कुइकेलबाट प्रश्नपत्र बुझीलिई युवराजलगायतका व्यक्तिहरूलाई बेचेको हुँ भनी उल्लेख गरेको र नेपाल टेलिकमबाट प्राप्त निजहरूको फोनको कल विवरणमा मिति २०६८।१।२० गतेदेखि ऐ.वैशाख २२ गतेको समयावधिभित्र यी प्रतिवादीहरूबीच पटकपटक फोन सम्पर्कसमेत भएको र यिनीहरू एकअर्कासँग पूर्व परिचितसमेत भएको देखिँदा उक्त भौतिकशास्त्र विषयको प्रश्नपत्र सोही परीक्षा केन्द्रबाट नै निर्धारित समय अगावै बाहिरिएको कुरा स्पष्टरूपमा पुष्टि हुन आएको हुँदा र परिषद्बाट दिएको निर्देशनपत्र विपरीत परीक्षा हुने दिन बिहान ६.३० बजेपश्चात भण्डारबाट झिकी रूजु गरी भरपाई गरी केन्द्राध्यक्षलाई प्रश्नपत्र बुझाउनु पर्नेमा महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्र.ह. गुप्तबहादुर क्षेत्रीले सो जिम्मेवारी पूर्णरूपमा पालना नगरी बिना पत्र बिना अधिकारका सहायक केन्द्राध्यक्ष रूद्र अधिकारी तथा नरेन्द्र सुवेदीसमेतलाई बुझाएको भरपाईबाट देखिएको, पर्यवेक्षक तिर्थराज बरालले आफ्नो जिम्मेवारीलाई बेवास्ता गरी परीक्षा हुने दिन निर्धारित समयभन्दा पछिमात्र पुग्ने र आफ्नो जिम्मेवारी पूरा नगरेको, आरोपित व्यक्तिहरूको केन्द्रीय अनुसन्धान ब्युरोमा भएको बयानको सिडी, जिलेट आवासिय उच्च मा.वि. परीक्षा केन्द्रको लागि प्राप्त प्रश्नपत्रहरू खोलिएको खामलगायतका महानगरीय प्रहरी वृत्त, कालिमाटीबाट प्रश्नपत्रहरू बुझाएको भरपाई तथा रजिस्टरलगायतका कागजातहरू समेतको आधारमा तथा प्रतिवादीहरू केन्द्रीय अनुसन्धान ब्युरोमा एवं शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अधिकारीसमक्ष साबितसमेत भएको देखिँदा प्रतिवादीहरू नेत्रबहादुर लिम्बू, रूद्र अधिकारी, तिर्थराज बराल, गुप्तबहादुर क्षेत्री, नरेन्द्र सुवेदी, सन्तोष कुइकेल र बिनोद बस्नेतसमेतको मिलेमतोमा भौतिकशास्त्र विषयको प्रश्नपत्र निर्धारित समय अगावै बाहिरिएको तथ्य स्थापित हुन आयो । तसर्थ आफूलाई तोकिएको जिम्मेवारीअन्तर्गत आफू केन्द्राध्यक्ष भएको परीक्षा केन्द्रको लागि प्राप्त प्रश्नपत्रहरू उच्च माध्यमिक शिक्षा परिषद्को निर्देशन एवं सो परिषद्बाट जारी गरिएको परीक्षासम्बन्धी निर्देशिका, २०६८ तथा नियुक्तिपत्र साथ दिइएका निर्देशनविपरीत बिना अधिकारका व्यक्तिलाई प्रहरी कार्यालयमा राखिएका प्रश्नपत्रहरू बुझ्न लगाई सो प्रश्नपत्र बाहिर्याउने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिँदा बिना अधिकारका सहायक केन्द्राध्यक्ष रूद्र अधिकारी एवं कर्मचारी नरेन्द्र सुवेदीलाई बुझाएको देखिएको र सोही प्रश्नपत्र मध्ये ऐ.वैशाख २१ गतेको भौतिकशास्त्र विषयको प्रश्नपत्र बाहिरिएको कारण उक्त परीक्षा रद्द भई पुनः परीक्षा गर्नु पर्दा रू.६९,००,०००/- (उनान्सत्तरी लाख) हानि नोक्सानीसमेत हुन गएको तथ्य स्थापित हुन आई निज प्रतिवादीहरूबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७ र ३ को कसुर गरेको देखिन आयो । अतः उपर्युक्त प्रश्नपत्र निर्धारित समय अगावै बाहिर्याउने कार्यमा संलग्न अभियुक्तहरूमध्ये नेत्रबहादुर लिम्बू–१, रूद्र अधिकारी–१, तिर्थराज बराल–१ तथा गुप्तबहादुर क्षेत्री–१ उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७ र ३(१) को खण्ड (ज) को कसुरमा सोही दफा १३, १७ र ३(१) को खण्ड (ज) बमोजिम सजाय हुन तथा सोही कार्यमा प्रत्यक्ष संलग्न रहेका अन्य अभियुक्तहरू नरेन्द्र सुवेदी–१, सन्तोष कुइकेल–१ तथा बिनोद बस्नेत–१ उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७ र ३(२) को कसुरमा ऐ.दफा १३, १७ र ३(१) को खण्ड (ज) बमोजिम सजाय गरी पाउन र सो प्रश्नपत्र बाहिरिएको कारण उच्च माध्यमिक शिक्षा परिषद्को हानि नोक्सानी हुन गएको बिगो रू.६९,००,०००।– (उनान्सत्तरी लाख) निज सबै प्रतिवादीहरूबाट ऐ.दफा १७ बमोजिम सो परिषद्लाई दिलाई भराई पाउनसमेतको माग दाबी लिई दायर भएको आरोपपत्र ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मैले आफ्नै हातले आफ्नो बयान कागज लेखी सही छाप गरेको हुँ । मैले सन्तोष कुइकेलबाट प्रश्नपत्र फोटोकपी गराई बेचेको छैन । आफूले पनि कुनै नगद तिरी कसैसँग लिएको पनि छैन । मउपरको आरोप झुठ्ठा हो भन्ने प्र.विनोद बस्नेतले विशेष अदालत, काठमाडौंसमक्ष गरेको बयान ।
प्रतिवादी नरेन्द्र सुवेदी र विनोद बस्नेतलाई चिन्छु । विनोदलाई चिनेको २–३ महिना भयो । यीबाहेक अरू कसैसँग मेरो चिनजान पनि छैन । सन्दीप कुइँकेल मेरो भाइ भएकोले चिनजान छ । सम्पर्क हुन्थ्यो । मलाई पक्राउ गर्नेले प्रश्नपत्रको फोटोकपी हुबहु सारिएको कागज देखाए, मैले सारेको होइन । प्रश्नपत्र बाहिरिएको विषयमा मलाई केही पनि थाहा भएन । अरू व्यक्तिहरूले लेखाएको कागजप्रति मेरो कुनै प्रतिक्रिया छैन । प्रस्तुत मुद्दामा मेरो कुनै संलग्नता नभएकोले अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने संतोष कुइकेलले विशेष अदालत, काठमाडौंसमक्ष गरेको बयान ।
प्रश्नपत्रको गोपनीयता भंग गर्ने काम मैले गरेको होइन । अनुसन्धानमा मलाई निरन्तर यातना दिएर तयार पारिएको कागजमा सही गर्न लगाएको हो । वास्तवमा हाम्रो कलेजबाट प्रश्न बाहिरिएको पनि होइन । मैले प्रश्न Out गर्ने र नरेन्द्र सुवेदी भन्नेलाई बिक्री गरेको आरोप झुठ्ठा हो भन्ने रूद्र अधिकारीले विशेष अदालत, काठमाडौंसमक्ष गरेको बयान ।
प्रहरी वृत्त, कालीमाटीको प्रबन्ध शाखामा १४ वटा केन्द्रको प्रश्नपत्र राखी सोको वितरण गर्ने जिम्मेवारीमा म थिएँ । केन्द्रअनुसार आआफ्नो केन्द्रको बाकसको साँचो पनि सोही केन्द्रका केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षसँग हुन्छ । मिति २०६८।१।२१ गते भौतिक शास्त्र विषयको प्रश्न कसरी Out भयो थाहा भएन तर रूद्र अधिकारीले नै आफूले हामीलाई झुक्याई आँखा छली प्रश्नपत्र लिएर गएको भनी बयान दिएपछि बल्ल प्रश्नपत्र के कसरी Out भएको भन्ने थाहा पाएँ भनी प्र.गुप्तबहादुर क्षेत्रीले विशेष अदालत, काठमाडौंसमक्ष गरेको बयान ।
उक्त दिन कक्षा –१२ को प्रश्नपत्र Out म जुन केन्द्रको अध्यक्ष थिएँ । त्यो केन्द्रबाट भएको होइन । कुन केन्द्रबाट कसले कसरी Out गरे थाहा भएन । प्रश्नपत्र सधैं जसो प्रहरी सुरक्षासाथ समयमा नै रूद्र अधिकारीले नै लिई आउनुभयो र समयमा नै परीक्षा सुचारू भयो । मेरो केन्द्रबाट बाहिरिएको नै छैन । म उपरको आरोप झुठ्ठा हो । म निर्दोष छु । सफाई पाउँ भन्ने प्र.नेत्रबहादुर लिम्बूले विशेष अदालत, काठमाडौंसमक्ष गरेको बयान ।
मिति २०६८।१।२१ गतेको भौतिक शास्त्र विषयको प्रश्नपत्र मैले Out गरे मलाई थाहा भएन । यसमा कुनै पनि किसिमले मेरो संलग्नता छैन । उक्त मितिमा बाटो जामका कारण म अलि ढिलो नै पुगें । म पुग्नु अगावै नै प्रश्नपत्र ल्याउने र खुलाउने कार्य भइसकेकोले म पूर्ण निर्दोष छु । आरोपबाट सफाई पाउँ भन्ने प्र.तीर्थराज बरालको विशेष अदालत, काठमाडौंसमक्ष गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीहरू रूद्र अधिकारी र प्र.विनोद बस्नेत, नरेन्द्र सुवेदी, सन्तोष कुईकेलबाट जनही नगद रू.धरौट १५ हजारको दरले वा सो बराबरको जेथा जमानत दिए लिई प्रतिवादीहरूलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने मिति २०६८।४।५ गतेको विशेष अदालत, काठमाडौंको आदेश ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी गुप्तबहादुर क्षेत्रीबाट रू.५ हजार नगद धरौट लिई मुद्दा पुर्पक्ष गर्नु भनी मिति २०६८।६।१ गतेको विशेष अदालत, काठमाडौंको आदेश ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी नेत्रबहादुर लिम्बूबाट रू.१५ हजार नगद वा सो बराबरको जेथा जमानत दिए लिई मुद्दाको पुर्पक्ष गर्नु भन्ने मिति २०६८।७।३ गतेको विशेष अदालत, काठमाडौंको आदेश ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादी तिर्थराज बरालबाट रू.१५ हजार वा सो बराबरको जेथा जमानत दिए लिई मुद्दाको पुर्पक्ष गर्नु भन्ने मिति २०६८।७।१६ गतेको विशेष अदालत, काठमाडौंको आदेश ।
यसमा वादी पक्षका साक्षी महान्यायाधिवक्ताको कार्यालयमार्फत र प्रतिवादीको साक्षी प्रतिवादीमार्फत बकपत्रको लागी झिकाई पेस गर्नु भन्नेसमेत व्यहोराको मिति २०६८।८।२२ गतेको विशेष अदालत, काठमाडौंको आदेश ।
यसमा मिति २०६८।८।२२ गतेको आदेशानुसारको वादी पक्षका साक्षी उपस्थित भएको नदेखिँदा वादीका साक्षीहरू र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा गठित छानबिन समितिका संयोजक एवं सदस्यहरूलाई समेत महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित गराई बकपत्र गराउन पेस गर्ने भन्ने मिति २०६९।११।१३ गतेको विशेष अदालत, काठमाडौंको आदेश ।
वादी पक्षका साक्षी र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा गठित छानबिन समितिको संयोजक एवं सदस्यहरूलाई समेत बुझ्ने आदेश भएकोमा वादी पक्षबाट उपस्थित गराएको नदेखिँदा र उल्लिखित व्यक्तिहरू नबुझी नहुने देखिएकोले विशेष अदालत, २०५९ को दफा ७(ख) बमोजिम पक्राउ पुर्जीसमेत जारी गरी उपस्थित गराई प्रतिवादीको रोहवरमा बुझ्न पेस गर्नु भन्ने मिति २०६९।१२।२६ गतेको विशेष अदालत, काठमाडौंको आदेश ।
आरोपपत्रको पृष्ठ १६ को अन्त्यमा बाहिरिएको भनिएको भौतिक शास्त्र विषयको प्रश्नपत्रको फोटोकपीको हस्तलिखित प्रतिसँग परिषद्को गोप्य शाखामा काम गर्ने कर्मचारीहरूको हस्तलिखित लिपि तथा अक्षरहरू भिडाउँदा एकअर्कामा मिलेको नपाइएको भन्ने उल्लेख भएको प्रतिवादी नरेन्द्र सुवेदीसमेतबाट बयान लिने क्रममा बाहिरिएको भनिएको प्रश्नपत्रको केही अनुच्छेदको नमुना हस्ताक्षर लेखाएको देखिएकोमा उल्लिखित गोप्य शाखाका कर्मचारीहरूको हस्तलिखित लिपि तथा अक्षरहरू बाहिरिएको भनिएको प्रश्नपत्रसँग कुन प्रक्रियाबाट भिडाइएको हो त्यसरी भिडाइएको प्रतिवेदन मिसिल संलग्न प्रमाणमा नदेखिएकोले र प्रतिवादीहरूवाट नमुना स्वरूप लेखाइएको अनुच्छेदको हस्ताक्षर, हस्ताक्षर जाँच गर्ने विशेषज्ञवाट जाँच गराउने कार्य भए नभएको सम्बन्धमा अनुसन्धानकर्ता अख्तियार दुरूपयोग अनुसन्धानमा सोधी हस्ताक्षर जाँच गर्ने विशेषज्ञबाट जचाइएको भए कुन विशेषज्ञबाट गराएको हो सोसमेत खुलाई जाँच गराएको प्रतिवेदनसमेत झिकाई पेस गर्नु भन्ने मिति २०७०।७।७ गतेको विशेष अदालत, काठमाडौंको आदेश ।
प्रस्तुत मुद्दाको सम्बन्धमा नमुना हस्ताक्षर गराउने कार्य भए नभएको बारेमा स्पष्ट जवाफ माग भएकोमा सो मुद्दासँग सम्बन्धित आरोपित व्यक्तिको आयोगबाट विशेषज्ञमार्फत हस्ताक्षर जाँच परीक्षणको लागि पठाइएको फायल अभिलेखबाट नदेखिएको भन्नेसमेत व्यहोराको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको च.नं. १०६७ मिति २०७०।१०।१४ को जवाफ ।
प्र.रूद्र अधिकारी र प्र.नरेन्द्र सुवेदीसँग चिनजान छ । साथी हो । मिति २०६८।१।१९ गतेको भौतिक शास्त्र विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै यी प्रतिवादीहरूले बाहिर निकालेको होइन । निजहरू निर्दोष छन् । तीन जनाको रोहवरमा प्रहरी कर्मचारीसमेत भई प्रश्न ल्याई रोहवरमा नै खोली परीक्षा सञ्चालन भएकोले केही गल्ती भएको छैन । सिलबन्दी प्रश्नपत्र ल्याई सबैको रोहवरमा खोलेकोले निजहरूमाथि झुठ्ठा आरोप छ भन्ने प्रतिवादी रूद्र अधिकारी र नरेन्द्र सुवेदीका साक्षी रवि न्यौपानेले गरेको बकपत्र ।
प्र.तीर्थ राज बरालबाट प्रश्न पत्रको गोपनीयता भंग भएको छैन निजको केन्द्रबाट पनि Out भएको होइन निज पुग्नुअघि नै नियमानुसार कर्मचारीले प्रश्न खुलाइसकेकोले निजमाथिको आरोप झुठ्ठा हो भन्ने प्र.तीर्थ बरालको साक्षी राजन प्र.गुरागाईको बकपत्र ।
प्र.विनोद बस्नेत र म एकै ठाउँमा
बस्छौं । कोठा फरक हो । निजले प्रश्नपत्रको गोपनीयता भंग गरेको होइन । Out गरेर बिक्री पनि गरेको छैन । निज निर्दोष छन भन्ने निजका साक्षी संदीप शर्माले गरेको बकपत्र ।
प्र.गुप्तबहादुर क्षेत्रीको प्रश्न Out गर्नमा कुनै संलग्नता छैन । केन्द्राध्यक्षले खटाएको कर्मचारीले नै प्रश्नपत्र आफैँ लैजाने गरेकोमा निजको कुनै बदनियत छैन । हाकिमको अनुमतिले कोठाको र बाकसको चाबी दिई स.के.अ.ले आफै. प्रश्न लाने गरेको हो निगरानी गर्ने काम निज गुप्तबहादुरको हो भन्ने निजका साक्षी शम्भुकुमार गिरीले गरेको बकपत्र ।
प्र.नरेन्द्र सुवेदी र म एउटै कलेजको कर्मचारी हुँ, जिलेट कलेजको कर्मचारीको नाताले मिति २०६८।१।१९ बिहान ७ बजेदेखि नै ऊ र मसँगै
थिएँ । निजले प्रश्न Out गरेको छैन, निर्दोष छन् । आरोपपत्र झुठ्ठा छ भन्ने प्र.नरेन्द्र सुवेदीको साक्षी भला विक्रम सिंहले गरेको बकपत्र ।
प्र.संतोष कुइकेल र मसँगै हुन्छौं । निज मिति २०६८।१।१९ गते साँझदेखि २० गतेसम्म निज कान्छा मामाको घर जोरपाटीमा थिएँ । प्रश्नपत्र Out गर्नमा यिनको कुनै संलग्नता छैन भन्ने प्र.संतोषका साक्षी रमेश बुढाथोकीको बकपत्र ।
प्र.रूद्र अधिकारीलाई म राम्ररी चिन्दछु । निजले सबै कर्मचारी र प्रहरी कर्मचारीको रोहवरमा प्रश्न ल्याई सिलबन्दी प्रश्न नै खोलेकोले निजबाट प्रश्न Out भएको छैन भन्ने मलाई विश्वास लाग्छ भनी निजका साक्षी सुरेश थापाको बकपत्र ।
म प्रश्नपत्र बाहिरिएको विषयमा त्रि.वि.बाट गठित छानबिन समितिको सदस्य थिएँ । प्रतिवेदन पनि दिएको छु, सही गरेको छु । प्रतिवेदन ठीक साँचो छ, प्रश्न Out भएर प्राप्त गर्ने विद्यार्थीहरूले दिएको स्रोत र जानकारीका आधारमा प्र.विनोद बस्नेतले प्रश्नपत्र बिक्री गर्ने गरेको र खरिद गर्ने गरेको विषय प्रतिवेदनमा सम्पूर्ण उल्लेख गरेको छु, भनी दिपकराज सुवेदीले गरेको बकपत्र ।
म होस्टेल नजिकको कोठामा बस्थेँ । Physics विषयको प्रश्नपत्र साथीसँग छ लिने भए पैसा लिएर आउनु भनेर जेभियर इन्टरनेशनल कलेजमा पढ्ने नेत्र बुढा र उसका साथीहरूले राति फोन गरेपछि होस्टेलका १४ जना साथीसहित म पनि ५/५ हजार रकम जम्मा गरेर राति ११ बजे हातले लेखेको फोटोकपी पायौं । प्रश्न नमिले रकम फिर्ता हुने सर्त
भयो । सबै प्रश्न मिल्यो । आयोगसमक्षको बयान पनि ठीक छ, मेरै हो । साँचो छ । आफैँले लेखेर दिएको छु भन्ने नेपाल सरकारको तर्फबाट एकराज सापकोटाले गरेको बकपत्र ।
प्रश्नपत्र बाहिरको विषयमा गठित छानबिन समितिमा म पनि सदस्य थिएँ । प्रतिवेदन मसमेत भई बुझाएको छु । सबै व्यहोरा प्रतिवेदनमा उल्लेख छ भन्ने वादी नेपाल सरकारको तर्फबाट रहेका गणेशबहादुर ऐरको बकपत्र ।
छानबिन समितिको सदस्यको रूपमा म पनि काम गरेको थिएँ । सबै व्यहोरा प्रतिवेदनमा उल्लेख गरिसकेको छु । विनोद बस्नेत सो बखत हिरासतमा सोही विषयमा रहेकोले निजको बयान र प्रहरीमा भएको कागजात माग गरी निजको हकमा र अन्य धेरै व्यक्तिहरूलाई स्वयं बोलाई अनुसन्धानात्मक प्रतिवेदन बुझाएको छु भन्नेसमेत व्यहोरा नेपाल सरकारका तर्फबाट डिल्लीराम सिग्देलको बकपत्र ।
प्रश्नपत्र बाहिरिएको विषयमा गठित छानबिन समितिको सदस्यको हैसियतले प्रतिवेदन मसमेत भई बुझाई सही गरेको छु । गोपनीयता भंग गर्ने व्यक्तिहरू पहिचान गरिएको र प्रतिवेदन दिएको छु । प्रतिवेदनमा उल्लेख भएबमोजिम व्यक्तिहरू विरूद्ध मुद्दा पनि चलाइएको र सजायको मागदाबी लिइएको छ । विनोद बस्नेत प्रहरी हिरासतमा रहेको हुँदा नियमले निजको बयान प्रत्यक्ष लिन नसकेपनि Video Clip र निजले गरेका बयानसमेतका अन्य कागज आधारबाट निजसमेत दोषी रहेको ठहर गरी प्रतिवेदन बुझाएको छु भन्नेसमेत समितिका सदस्य सानुराज पोखरेलसमेतले गरिदिएको बकपत्र ।
प्रतिवेदनमा लेखिएको व्यहोरा ठीक छ । दस्तखत मेरो हो । प्रतिवेदनमा प्रश्नपत्रको अवस्था बारेमा स्पष्ट पारिएको छ । उक्त प्रतिवेदनले उपलब्ध गराएका व्यक्तिहरूको बयान, सि.डि. विद्यार्थी र उक्त विद्यालयका प्रिन्सिपल, सञ्चालक समितिका अध्यक्षहरूको बयानको आधारमा सिफारिस गरेको हो भन्ने व्यहोराको अनुपकुमार श्रेष्ठले गरेको बकपत्र ।
प्रश्नपत्रको गोपनीयता भंग गरेको विषयमा उच्च माध्यमिक शिक्षा परिषद्द्वारा गठित छानबिन समितिमा म सदस्य थिएँ । प्रश्नपत्रको अवस्था बारेमा प्रतिवेदन प्रस्ट उल्लेख गरी प्रतिवेदन दिएको छु भन्नेसमेत ओमप्रकाश सिंहको बकपत्र ।
मैले आयोगसमक्ष गरेको बयान साँचो छ । आफैँले लेखेको छु । परीक्षाको अघिल्लो रात Physics विषयको प्रश्नपत्रको फोटोकपी प्राप्त गरेको छु । जेभियर इन्टरनेशनल कालो पुलमा अध्ययन गर्ने नेत्र बुढा र उसको साथी मदनमार्फत प्राप्त गरेको हो । हामी होस्टेलमा बस्ने १४ जनाले ५।५ हजारका दरले जम्मा पारी नेत्र बुढालाई दिएका हौं । प्रश्न नमिले पूरै पैसा फिर्ता हुने सर्त थियो भन्नेसमेत व्यहोराको नेपाल सरकारको तर्फबाट साक्षी विष्णुविक्रम थापाको बकपत्र ।
प्रतिवादी रूद्र अधिकारीले २०६८ साल वैशाख १९ गतेदेखि ऐ.३० गतेसम्म सञ्चालन भएको कक्षा बाह्रको परीक्षाको क्रममा २०६८।१।२१ मा सञ्चालन भएको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षा हुनुपूर्व नै बाहिर (Question out) गरी प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ अन्तर्गतको कसुर गरेको ठहर्छ र सो ठहरेकोले प्रतिवादी रूद्र अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कैद महिना ।६। (छ) र जरिवाना रू १०,०००।– (दश हजार) हुने तथा प्रतिवादी नरेन्द्र सुवेदी, सन्तोष कुइकेल र विनोद बस्नेतले प्रतिवादी रूद्र अधिकारीले बाहिर ल्याएको प्रश्नपत्रलाई मतियार भई विभिन्न विद्यार्थीहरूलाई बिक्री गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को कसुर गरेको ठहर्छ । सो ठहरेकोले प्रतिवादी नरेन्द्र सुवेदी, सन्तोष कुइकेल र विनोद बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र २२ बमोजिम जनही कैद महिना ।३। (तीन महिना) र जरिवाना रू. ५०००।– (पाँच हजार) हुने तथा प्रतिवादी नरेन्द्र सुवेदी सन्तोष कुईकेल, विनोद बस्नेत राष्ट्रसेवक भन्ने नदेखिएकोले निजहरूउपर राष्ट्रसेवकलाई आकर्षित हुने भ्रष्टाचार निवारण ऐन, २०५९ को ३(१)(ज) र १७ बमोजिमको सजाय हुन नसक्ने तथा प्रतिवादी नेत्रबहादुर लिम्बू, तिर्थराज बराल र गुप्तबहादुर क्षेत्रीउपरको आरोपपत्रमा लिएको दाबी पुग्न नसक्ने भई निजहरूले सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको विशेष अदालत, काठमाडौंको फैसला ।
प्रतिवादी नेत्रबहादुर लिम्बू जिलेट उ.मा.वि. परीक्षा केन्द्रमा केन्द्राध्यक्षको जिम्मेवारी सम्हालेको देखिन्छ भन्ने प्रतिवादी तिर्थराज बराल पर्यवेक्षकको रूपमा रहेको र प्रतिवादी गुप्तबहादुर क्षेत्री सुरक्षाकर्मीको रूपमा प्रश्नपत्र राखिएको बाकसको सुरक्षा जिम्मेवारी लिएको अवस्था छ । यसरी हेर्दा प्रश्नपत्र राखिएको बाकसको ताला खोली प्रश्नपत्र बाहिर्याउने कार्यमा उल्लिखित जिम्मेवारी लिई बसेका प्रतिवादीहरूको संलग्नतालाई अस्वीकार गरी सफाई दिने गरी निर्णय भएको अवस्था छ सो मिलेको देखिँदैन । प्रतिवादीहरू रूद्र अधिकारी, नरेन्द्र सुवेदी, सन्तोष कुँइकेल र विनोद बस्नेतको हकमा अभियोग मागदाबीभन्दा कम सजाय हुने गरी निर्णय गरिएको अवस्था छ । उल्लिखित प्रतिवादीहरूमध्ये रूद्र अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर पुष्टि हुने तथा प्रतिवादीहरूमध्ये नरेन्द्र सुवेदी, सन्तोष कुइकेल र विनोद बस्नेतको हकमा राष्ट्रसेवक नभएकोले ऐ. को दफा २२ बमोजिम कसुर ठहर गरी बिगोको हकमा सो दाबी कानूनसम्मत नरहेको भनी लिइएको निर्णयाधारलाई विचार गरी हेर्दा उल्लिखित प्रतिवादीहरूले प्रश्नपत्रको गोपनीयता भंग गरी भ्रष्टाचार गरेको कुरामा अदालत सहमत भएकै अवस्था रहेको छ । मिति २०६८।१।२१ मा सञ्चालन हुने फिजिक्स विषयको प्रश्नपत्र २० गते नै बाहिर ल्याई रातारात फोन सम्पर्क गरी रू. ५०००, १००००, १५००० र २५००० सम्ममा बिक्री वितरण गरी उक्त विषयको प्रश्नपत्र बाहिरिएको कारण उक्त परीक्षा रद्द भई पुनः परीक्षा गर्नु पर्दा नेपाल सरकारको रू. ६९,००,०००।– हानि नोक्सानीसमेत भएको अवस्था छ । उक्त हानि नोक्सानीलाई बिगो कायम गरी भ्र.नि.ऐन, २०५९ को दफा १७ र ३(१)(ज) समेतको आधारमा सजाय गरिनुपर्नेमा ऐ.को दफा १३ को आधार लिई र दफा २२ को मतियारको आधार लिई सजाय गर्दा प्रतिवादीबाट नेपाल सरकारलाई गराएको हानि नोक्सानीको बिगो असुलउपर गराउने ठहर गर्नुपर्नेमा उल्लिखित प्रतिवादीहरूलाई उन्मुक्ति दिने गरी गरिएको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ । सुरू अदालतको फैसलाले लापरवाही र बद्नियतसाथ प्रश्नपत्रको गोपनीयता भंग गर्नेहरूबाट नेपाल सरकारलाई भएको हानि नोक्सानी असुलउपर नहुने अवस्था सिर्जना भएकोले प्रस्तुत फैसला गम्भिर त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग मागदाबीबमोजिम माथि विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूलाई सजाय गरी बिगोसमेत ठहर गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
सर्वप्रथम प्रतिवादीको बयानलाई प्रमाणमा लिनको लागि सो बयान अधिकारप्राप्त अधिकारीले गराएको हो होइन, सो बयान मैले दाबी लिएअनुसार मेरो इच्छाविपरीत छ छैन र बयानलाई अन्य सबुद प्रमाणले समर्थन गर्छ कि गर्दैन भन्ने कुरा निर्णय गर्दा विचार पुर्याउनु पर्ने हुन्छ । यस सन्दर्भमा उक्त उद्धरण गरिएको बयान मलाई केन्द्रीय अनुसन्धान व्युरो र पछि प्रहरीले लेखेको बयानसँग धेरै किसिमले फरक छ । त्यसमा पनि केन्द्रीय अनुसन्धान ब्युरो मुद्दा चलाउने प्रयोजनको लागि बयान लिने अधिकारप्राप्त अधिकारी होइन । यस अतिरिक्त म प्रतिवादी रहेको शिक्षा ऐन, २०२८ अन्तर्गत काठमाडौं जिल्ला अदालतमा चलाइएको मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौं, अ.अ. तथा कारवाही शाखाका प्र.ना.उ. लालमणी आचार्यले च.नं. २०६७।०६८ मिति २०६८।२।१ को पत्रबाट प्रहरी निरिक्षक विष्णुहरि कोइरालालाई अनुसन्धान अधिकृत तोकिएको पाइन्छ । सो मुद्दामा निजबाहेक अरू कसैलाई अनुसन्धान अधिकृत तोकिएको पाइँदैन । म पुनरावेदकलाई निज विष्णुहरि कोइरालाले बयान लिएका छैनन, होइनन् । मलाई अनुसन्धान अधिकारी नै नतोकिएका कृष्णप्रसाद पंगेनीले बयान लिएका छन् । यसरी कानूनले अधिकारै नभएको व्यक्तिले लिएको बयानलाई प्रमाण लिन र सो आधारमा मुद्दा चलाउन मिल्ने होइन । बयान स्वतन्त्र प्रमाणबाट पुष्टि हुनुपर्दछ । सम्मानित विशेष अदालतबाट विवेचना हुन र प्रमाणको मुल्याङ्कन हुन सकेको पाइँदैंन । प्रश्नपत्र प्रहरीको हतियार राख्ने कोठामा अन्य १३ वटा केन्द्रसमेत जम्मा १४ वटा केन्द्रको प्रश्नपत्र राखिएको र सो कोठाको ताला त्यसको रेखदेख गर्ने प्रहरी हवल्दारको जिम्मा रहेको पाइन्छ । यसरी निजसँग रहेको प्रश्नपत्र बिहानको ६.३० बजेको सबै केन्द्रका प्रतिनिधिहरूले आ-आफ्नो केन्द्रको बाकसको सम्बन्धित दिनको प्रश्नपत्र हेरी प्रहरीबाट रूजु गराई प्रहरीसँग साथ लागि परीक्षा केन्द्र पुर्याई केन्द्राध्यक्षलाई बुझाई केन्द्राध्यक्षले साक्षीहरूको रोहवरमा खोल्ने व्यवस्था भएअनुरूप नियमितरूपमा प्रश्नपत्र ल्याउने व्यवस्था भएबमोजिम ल्याई परीक्षा सञ्चालन भएको हो । प्रश्नपत्र ल्याउँदा सँगसाथ रहेका परीक्षा केन्द्रका प्रतिनिधि र मसँगै जिलेट उच्च माध्यमिक विद्यालयसम्म प्रश्नपत्र लिई आउने कुनै पनि प्रहरी कर्मचारीलगायत कसैलाई पनि मैले बाहिर ल्याएको भनिएको प्रश्नपत्रको बारेमा सोधिएको छैन । केवल सह अभियुक्त बनाइएका प्रहरी हवल्दार गुप्तबहादुर क्षेत्रीको भनाइलाई आधार लिइएको छ जुन मिलेको छैन । मिति २०६८।१।२१ को फिजिक्स र होटल मेनेजमेन्टको प्रश्नपत्र मसँगै मुद्दा चलाइएका नरेन्द्र सुवेदीले बुझी लिएको देखिन्छ । हरेक दिन प्रश्नपत्र परीक्षा केन्द्रलाई बुझाउँदा प्रहरी कार्यालयभित्रै प्रहरी हवल्दार आफैँले रूजु गरी केन्द्रबाट बुझ्न आउने मानिसलाई बुझेको भरपाईमा सही गरी बुझाउने गरेको थियो । २०६८।१।२० मा नै प्रहरीलाई झुक्याई प्रश्नपत्र लगेको भन्ने सम्पूर्ण मिथ्या हो । प्रश्नपत्रको गोपनीयता भंग भएको भनी विभिन्न व्यक्ति तथा विद्यार्थीहरूले फेला पारेको कक्षा १२ को परीक्षामा सोधिएको Physics विषयको प्रश्नपत्र मुद्रण गरिएको अर्थात् छापिएको प्रश्नपत्र हुने गर्छ । तर प्रमाण लागि पेस भएको प्रश्नपत्र हस्तलिखित रहेको पेस भएको छ । सो प्रश्नपत्र हामीमध्ये कसैले वा मैले हस्तलिखित गरेको भए मेरो हस्ताक्षरसँग मेल खाने हुन्थ्यो । हस्ताक्षर हामी कुनै पनि प्रतिवादीको हस्ताक्षरसँग मिलेको अवस्था
छैन । म पुनरावेदकले ल्याएको २०६८।१।२० गतेको प्रश्नपत्र जिलेट मा.वि.मा रहेको परीक्षा केन्द्रमा पुर्याई केन्द्राध्यक्ष नेत्र लिम्बूलाई दिएको र ऐ. २१ गतेको प्रश्नपत्र नरेन्द्र सुवेदीले लिई आएको भन्ने कुरा प्रश्नपत्र बुझेको र केन्द्रमा खोलिएको भरपाई मुचुल्का आदिबाट स्थापित भइरहेको छ । छानबिन समितिको प्रतिवेदनमा उल्लिखित तथ्यहरूको बारेमा विवेचना भएको पाइँदैन । सो प्रतिवेदनमा एउटा केन्द्रका Physics विषयको प्रश्नपत्र अर्कै केन्द्रका प्रतिनिधिले लगेको र महानगरीय प्रहरी प्रभाग ललितपुर, तथा महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरमा छानबिन समितिका संयोजक अनुपकुमार श्रेष्ठ र सदस्य ओमप्रकाश कुमार सिंहले जानकारी लिँदा मिति २०६८।१।२१ गते रातिको समयमा निस उच्च माध्यमिक विद्यालयको सम्पूर्ण प्रश्नपत्रको थैलो परीक्षा सञ्चालन हुने प्रारम्भकै दिन खोलेको भनी मुचुल्का गरी सिलबन्दी लाहाछाप लगाएको पाइएको उल्लेख छ । मैले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनअन्तर्गतको मुद्दामा आरोपमा पूर्ण इन्कारी रही बयान दिएको छु । सो बयानलाई फैसला गर्दा बेवास्ता गरिएको छ । मैले अदालतमा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयानलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीमा रहेको प्रश्नपत्र बुझेको भरपाईसमेतले पुष्टि गरिरहेको छ । तसर्थ विशेष अदालत, काठमाडौंको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रूद्र अधिकारीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(६) मा कुनै व्यक्ति विरूद्ध एकै कसुरमा दोहोरो मुद्दा चलाइने छैन भनी संवैधानिकको मौलिक हकमा कानूनी व्यवस्था रहेको छ । संविधानमा रहेको मौलिक हकलाई समेत असर पर्ने गरी सोही विषयमा पुनः अनुसन्धान गरी मुद्दा दायर गर्न नसकिने कुरा संविधानले संरक्षणसमेत गरेको छ । विवादको विषयवस्तु एकै रहेको कुरा अभियोग पत्रबाटसमेत समर्थित रहेको छ । प्रस्तुत मुद्दामा आकर्षित नहुने जिकिर नजिर सिद्धान्त र तथ्य फरक रहेको नजिरलाई उद्धृत गरी भएको फैसला आफैँमा त्रुटिपूर्ण भई बदरभागी रहेको छ । शिक्षा ऐन, २०२८ र भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा चलाउन सकिने भए कुनै एक उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा मुद्दाको रूप र परिणाम हेर्दै एकै विषयमा पटकपटक फरक ऐनबमोजिम मुद्दा चलाई कारवाही गर्न नमिल्ने भएको हुँदा विशेष अदालत, काठमाडौंको फैसला त्रुटिपूर्ण छ । हस्तलिखित फोटोकपी गरिएको भौतिक शास्त्रको प्रश्नपत्र र सक्कल प्रश्नपत्र हुबहु मिलेको आधारले मात्र मलाई कसुर कायम कदापी हुन
सक्दैन । हस्तलिखित प्रश्नपत्र मबाट बरामद भई को कसको हस्तलिखित रहेको भन्ने कुरा अनुसन्धानको क्रममा परीक्षणसमेत गरी सो कुरा अभियोगसाथ दाखिलसमेत नगरेको हुँदासमेत म पुनरावेदक निर्दोष रहेको कुराको पुष्टि हुन्छ । अनुसन्धानको क्रममा सबुत प्रमाणको अभावमा स्वेच्छाविपरीत भएका बयानहरूको आधारमा मात्र आरोप लगाइएको अवस्था छ । प्रश्नपत्र आउट हुनु र अपराध गरेको सप्रमाण पुष्टि हुनु अलगअलग कुराहरू हुन । म पुनरावेदक नरेन्द्र सुवेदी राष्ट्र सेवक कर्मचारीसमेत नरहेको र प्रश्नपत्र संरक्षक गर्ने गरी सोको जिम्मेवारीसमेतको अख्तियारी नभएको र एक निम्नस्तरको प्राइभेट कर्मचारी मात्र रहेको अवस्थामा मलाई प्रश्न पत्र आउट गरेको भन्न कदापी मिल्दैन । तसर्थ विशेष अदालतको फैसला उल्टी गरी सफाई पाउने गरी फैसला गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी नरेन्द्र सुवेदीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
सर्वप्रथम हामी पुनरावेदकहरू विनोद बस्नेत र सन्तोष कुइकेलसमेतलाई प्रश्नपत्र बाहिरिएको भनी शिक्षा ऐन, २०२८ अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भई सो मुद्दामा फैसलासमेत भइसकेको अवस्था छ । प्रस्तुत मुद्दामा समेत सोही मुद्दाको अनुसन्धानका प्रमाणका आधारमा मुद्दा चलाइएको अवस्था रहेको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(६) मा कुनै व्यक्ति विरूद्ध एकै कसुरमा दोहोरो मुद्दा चलाइने छैन भनी संवैधानिकको मौलिक हकमा कानूनी व्यवस्था रहेको छ । संविधानमा रहेको मौलिक हकलाई समेत असर पर्ने गरी सोही विषयमा पुनः अनुसन्धान गरी मुद्दा दायर गर्न नसकिने कुरा संविधानले संरक्षणसमेत गरेको
छ । शिक्षा ऐन २०२८ र भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा चलाउन सकिने भए कुनै एक उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा मुद्दाको रूप र परिणाम हेर्दै एकै विषयमा पटकपटक ऐनबमोजिम मुद्दा चलाई कारवाही गर्न नमिल्ने भएको हुँदा विशेष अदालत, काठमाडौंको फैसला त्रुटिपूर्ण छ ।
हस्तलिखित फोटोकपी गरिएको भौतिक शास्त्रको प्रश्नपत्र र सक्कल प्रश्नपत्र हुबहु मिलेको आधारले मात्र कसुर कायम कदापी हुन सक्दैन । हस्तलिखित प्रश्नपत्र को कसबाट बरामद भई को कसको हस्तलिखित रहेको भन्ने कुरा अनुसन्धानको क्रममा परीक्षणसमेत गरी सो कुरा अभियोग साथ दाखिल गर्नुपर्ने हुन्छ । प्रश्नपत्रको फोटोकपी सक्कलसँग हुबहु मिलेको र म पुनरावेदकले नरेन्द्र सुवेदीलाई चिनेको र विनोद बस्नेतले सन्तोष कुइकेललाई चिनेको भन्ने मात्र आधार र कारणबाट हामीहरूलाई आरोप लगाउन मिल्दैन । प्रश्नपत्र आउट हुनु र अपराध गरेको सप्रमाण पुष्टि हुन अलगअलग कुराहरू हो । प्रश्नपत्र हामीहरूको समेतको मिलेमतोबाट आउट गरेको कुरा अनुमानको आधारमा तर्क गर्न मिल्दैन ।
नरेन्द्र सुवेदीबाट सन्तोष कुइकेलले प्रश्नपत्र खरिद गरी लिई सोही प्रश्न पत्र विनोद बस्नेतलाई बिक्री गरेको र विनोद बस्नेतले पेन्टागन कलेजका युवराजसमेतलाई बिक्री गरेको अनुसन्धानको बकपत्रलाई आधार बनाई हामीहरूलाई सजाय तथा जरिवाना गर्ने गरी फैसला भएको छ । हामीहरूले सो कुरा अदालतमा बयान गर्दा इन्कारी बयान गरी आफ्नो व्यहोरा स्पष्ट खुलाइसकेको र अनुसन्धानको क्रममा नभएको कुरालाई निराधाररूपमा सुरक्षा निकाय तथा सोको सुरक्षा गर्ने दायित्व भएकाहरू आफूहरू बच्नको लागी हामीउपर अभियोग दाबी गरेको प्रस्ट छ । प्रश्नपत्र खरिदकर्ता विष्णु विक्रम र एकराज सापकोटाले नेत्र बुढा र मदनले हामीसँग प्रश्नपत्र छ भनी भनेकाले हामीहरूले मिली १०।१० हजारमा लिएको भनी बकपत्र गरेको भनी पुनरावेदन सन्तोष कुइकेलको प्रतिवादीमध्येको नरेन्द्र सुवेदीसँग चिनजान भएको र म विनोद बस्नेतको सन्तोष कुइकेलसँग चिनजान मात्र भएको आधारले आरोप लगाउन कदापी मिल्दैन ।
हामी प्रतिवादीहरू राष्ट्र सेवक कर्मचारीसमेत नरहेको र हामी पुनरावेदकहरू प्रश्नपत्र संरक्षक गर्ने गरी सोको जिम्मेवारीसमेत नभएको अवस्था र हामीहरू प्रश्नपत्र बाहिरिएको विषयको परीक्षार्थीसमेत नभएकोमा हामीहरूउपर शिक्षा ऐन, २०२८ अन्तर्गत उपर मुद्दा चलाइसकेपछि सोही विषयमा पुनः भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा चलाई कारवाही गर्न
मिल्दैन । तसर्थ उक्त विशेष अदालतको फैसला उल्टी गरी अभियोग दाबीबाट सफाई पाउँ भन्नेसमेत व्यहोराको सन्तोष कुइकेल र विनोद बस्नेतले यस अदालतमा चढाएको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भूसालले प्रतिवादीहरूले प्रश्नपत्रको गोपनीयता भंग गरेकोमा सामूहिक जिम्मवारी लिनुपर्दछ । प्रतिवादीहरूको आपसी मिलेमतोबाट प्रश्नपत्रको गोपनीयता भंग गरेको देखिन्छ । उच्च माध्यमिक शिक्षा परिषद्बाट सञ्चालित २०६८ सालको फिजिक्सि विषयको प्रश्नपत्र मिति २०६८।१।२१ गते परीक्षा हुनु अगावै मिति २०६८।१।२० गतेको राति नै प्रश्नपत्र फोटोकपी गरी बिक्री वितरण गरेको देखिन्छ । निजहरूले प्रश्नपत्रको गोपनीयता भंग गरेको तथ्य मौकामा कागज गर्ने व्यक्तिहरूको कागज व्यहोरा, प्रतिवादीहरूले मौकामा गरेको बयान व्यहोरा र छानबिन समितिको प्रतिवेदन र छानबिन समितिका सदस्यहरूले अदालतमा आई गरिदिएको बकपत्र, प्रश्नपत्र खरीद गर्ने १४ जना विद्यार्थीहरूमध्ये एकराज सापकोटासमेतले अदालतमा आई गरिदिएको बकपत्रबाट पुष्टि हुन आएको देखिन्छ । प्रश्नपत्रको गोपनीयता कायम राख्नुपर्ने प्रतिवादीहरूको दायित्व रहेको देखिन्छ । प्रतिवादीमध्येका नेत्रबहादुर लिम्बू जिलेट स्कूलका प्रिन्सिपल र परीक्षाको केन्द्राध्यक्ष रहेको देखिन्छ भने प्रतिवादी तिर्थराज बराल पर्यवेक्षकको ड्युटीमा खटिएका परीक्षाको मर्यादा र आफूलाई तोकिएको जिम्मेवारी र सर्तहरूको पालना नगरेको स्पष्ट छ । सुरक्षाकर्मीको रूपमा जिम्मेवारी पाएका गुप्तबहादुरसमेतको मिलेमतोमा प्रश्नपत्रहरू परीक्षा अगावै बिक्री वितरण गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र १३ बमोजिमको कसुर गरी सार्वजनिक सम्पत्ति नोक्सानी गरेको अवस्थामा प्रतिवादी नेत्रबहादुर लिम्बू तिर्थराज बराल र प्रतिवादी गुप्तबहादुर क्षेत्रीलाई आरोपित कसुरबाट सफाई दिने ठहर्याएको विशेष अदालत, काठमाडौंको फैसला उल्टी गरी वादी नेपाल सरकारको आरोपपत्र तथा पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी रूद्र अधिकारीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री अर्जुन खनाल र विद्वान् अधिवक्ता चेतनाथ घिमिरेले अनुसन्धान नै अधुरो छ । CBI ले गराएको बयानका आधारमा मुद्दा चलेको छ । यी प्रतिवादी रूद्र अधिकारीसहित आठ जनालाई शिक्षा ऐन, २०२८ को दफा १७ बमोजिम कारवाही भइसकेको अवस्था छ । एउटै कसुरमा दुईपटक मुद्दा चलाइने र सजाय गरिने छैन भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत प्रतिवादीहरूलाई मुद्दा चलाइएको छ र सोही आधारमा प्रतिवादीहरूलाई सजाय ठहर गरिएको छ तसर्थ विशेष अदालत, काठमाडौंको फैसला उल्टी गरी प्रतिवादी रूद्र अधिकारीलाई सफाई दिलाई पाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी नरेन्द्र सुवेदीको तर्फबाट विद्वान् अधिवक्ता टिकाराम भट्टराईले विनोद बस्नेतको तर्फबाट विद्वान् अधिवक्ता श्री चेतनाथ घिमिरेले यी प्रतिवादी रूद्र अधिकारीसमेत ८ जनाउपर यसै विषयमा प्रश्नपत्र गोपनीयता भंग गरेको विषयलाई लिएर शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा नेपाल सरकारकै तर्फबाट अभियोग लगाई मुद्दा चली सजायसमेत भइसकेकोले एउटै कसुरमा एउटै व्यक्तिलाई दुईपटक मुद्दा चलाई सजाय गर्न दोहोरो खतराको सिद्धान्तसमेतले नमिल्ने भएकोले अभियोग दाबी खारेज हुनुपर्छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(६) ले यो मौलिक हक प्रत्येक नागरीकलाई प्रदान गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजाय हुनुपर्ने होइन । मेरो पक्षको हस्तलिखितवाट प्रश्नपत्र बाहिरिएको छैन । नेत्र बुढा र विष्णु विक्रमले कुन प्रतिवादीबाट प्रश्नपत्र बुझेको हो खुल्न सकेको छैन । मेरो पक्ष रहेको केन्द्रको स्कूलबाट प्रश्न बाहिरिएको छैन । त्यसको कुनै एकिन र ठोस प्रमाण छैन । शंकाको सुविधा अभियुक्तले पाउनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
प्र.नरेन्द्र सुवेदीको तर्फबाट विद्वान् अधिवक्ता श्री टिकाराम भट्टराई तथा विद्वान अधिवक्ता डा. भिमार्जुन आचार्यले एउटै कसुरमा दुईपटक सजाय गर्न मिल्दैन । मेरो पक्ष राष्ट्रसेवक कर्मचारी पनि
होइन । राष्ट्रसेवक नभएको कारणले मेरो पक्षको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ आकर्षित हुने होइन । जुन प्रश्नपत्रको गोपनीयता भंग भयो भनिएको छ जुन प्रश्नपत्र लिनको लागि मेरो पक्ष कालिमाटी प्रहरीमा गएकै छैन । शिक्षा ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिसकेपछि पुनः भ्रष्टाचार ऐनअन्तर्गत मुद्दा चलाइएको अवस्था हुँदा दोहोरो खतराको सिद्धान्तको संवैधानिक मान्यताका विपरीत एकै कसुरमा दुइपटक मुद्दा चलाउन र सजाय गर्न मिल्दैन । प्रस्तुत विषयमा शिक्षा ऐनअन्तर्गत कारवाही भइसकेपछि पुनः भ्रष्टाचारमा सजाय गरेको मिलेको छैन । मेरो पक्ष निर्दोष भएकाले विशेष अदालतको फैसला उल्टी गरी सफाई दिनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
प्रतिवादी विनोद बस्नेतको तर्फबाट विद्वान् अधिवक्ता श्री गोपी शर्मा सुवेदीले प्रश्नपत्र गोपनीयता भंग भएको भन्ने विषयमा शिक्षा ऐन, २०२८ अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा चली सो मुद्दा फैसलासमेत भइसकेको छ । नेपालको संविधानको धारा २० ले एउटै व्यक्तिलाई एउटै कसुरमा दुईपटक मुद्दा चलाइने र सजाय गरिने छैन भन्ने व्यवस्थासमेत रहेको छ । प्रस्तुत मुद्दामा एकपटक जाहेरी लिइसकेपछि मुद्दाको रूप विचार गरी भ्रष्टाचारमा कारवाही पुनः अगाडि बढाइएको अवस्था हो । त्यसैगरी हस्तलिखित प्रश्नपत्र भइसकेपछि कसको हस्ताबाट लेखिएको हो सो कुरा विशेषज्ञबाट जाँच गराई स्पष्ट गर्नुपर्नेमा हचुवाका भरमा अभियोजन पक्षले अभियोग लगाएको अवस्था हुँदा आरोपित कसुरबाट मेरो पक्ष विनोद बस्नेतले सफाई पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
दुवैतर्फका विद्वान् कानून व्यवसायीहरूको उल्लिखित बहस तथा मिसिल संलग्न पुनरावेदन पत्र तथा विशेष अदालतको फैसलासहितका मिसिल कागज प्रमाणका आधारमा देहायका विषयमा निर्णय दिनुपर्ने देखियो ।
(१) प्रश्नपत्रको गोपनीयता भंग भएको हो होइन ?
(२) प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्यमा यी प्रतिवादीहरूको संलग्नता छ छैन ?
(३) शिक्षा ऐनअन्तर्गत कारवाही भइसकेपछि भ्रष्टाचार ऐनअन्तर्गतको कसुरमा सजाय गर्नु मिल्ने हो होइन ?
(४) विशेष अदालत, काठमाडौंको फैसला मिलेको छ छैन ?
२. सर्वप्रथम प्रश्न नं. १ को सम्बन्धमा विचार गर्दा यी प्रतिवादीरू उपर उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा १२ को लागि मिति २०६८।१।१९ देखि सञ्चालन गरिएको परीक्षाको लागि उक्त परिषद्द्वारा जिलेट आवासीय उच्च मा.वि.लाई परीक्षा केन्द्र तोकि नेत्रबहादुर लिम्बूलाई केन्द्राध्यक्ष, रूद्र अधिकारीलाई सहायक केन्द्राध्यक्ष, तीर्थराज बराललाई पर्यवेक्षकमा नियुक्त गरिएको र सो परीक्षा केन्द्रको प्रश्नपत्रहरू नजिकको प्रहरी चौकीमा पठाइएकोमा सुरक्षितसाथ राख्ने व्यवस्था गरी सुरक्षा निकायलाई उपलब्ध गराईएको प्रश्नपत्र बुझाउने र भरपाई गरी प्रश्नपत्र बुझिलिने गरी सम्पूर्ण परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालन सम्बन्धमा मिति २०६८।१।२ मा दिएको निर्देशनमा सुरक्षा निकायबाट परीक्षाको दिन प्रश्नपत्रहरू सुरक्षाकर्मीका साथ ल्याउनुहुन एवं उक्त दिन बिहान ६.३० बजेपछि मात्र केन्द्राध्यक्ष र सुरक्षाकर्मीसहित तीनजनाको रोहवरमा प्रश्नपत्र खोल्नु हुनका लागि भनी निर्देशित गरिएको र सो कुरा परीक्षासम्बन्धी निर्देशिका, २०६८ मा समेत उल्लेख भएको तर सोअनुसार जिलेट उ.मा.वि. परीक्षा केन्द्रको लागि केन्द्राध्यक्ष नेत्रबहादुर लिम्बूले आफू उपस्थित नभई सहायक केन्द्राध्यक्ष रूद्र अधिकारी तथा लेखामा काम गर्ने नरेन्द्र सुवेदीमार्फत बुझ्न लगाई परिषद्बाट प्राप्त निर्देशनको पालनासमेत नगरी सिलबन्दी प्रश्नपत्रका खामहरू बुझे, बुझाएको साथै बझ्ने क्रममा प्रतिवादी रूद्र अधिकारी र नरेन्द्र सुवेदीले प्रहरी कर्मचारीलाई झुक्याई मिति २०६८।१।२१ गतेको फिजिक्स विषयको प्रश्नपत्र २० गते नै प्रहरीले थाहा नपाउने गरी झिकी लगेकोमा पछि परीक्षा हुनु अगावै रातारात मान्छेहरू बोलाई फोन सम्पर्क गरी रू.५, १०, १५ र २५ हजार सम्ममा बिक्री वितरण गरी भौतिकशास्त्र विषयको प्रश्नपत्र बाहिरिएको कारण उक्त परीक्षा रद्द भई पुनः परीक्षा गर्नु पर्दा सरकारको रू.६९,००,०००।- (उनान्सत्तरी लाख) हानि नोक्सानीसमेत हुन गएकोले उपरोक्त प्रश्नपत्र निर्धारित समय अगावै बाहिर्याउने कार्यमा संलग्न अभियुक्तहरूमध्ये नेत्रबहादुर लिम्बू–१, रूद्र अधिकारी–१, तिर्थराज बराल–१ तथा गुप्तबहादुर क्षेत्री–१ उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७ र ३(१) को खण्ड (ज) को कसुरमा सोही दफा १३, १७ र ३(१) को खण्ड (ज) बमोजिम सजाय हुन तथा सोही कार्यमा प्रत्यक्ष संलग्न रहेका अन्य अभियुक्तहरू नरेन्द्र सुवेदी–१, सन्तोष कुइकेल–१ तथा बिनोद बस्नेत–१ उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७ र ३(२) को कसुरमा ऐ.दफा १३, १७ र ३(१) को खण्ड (ज) बमोजिम सजाय गरी पाउन र सो प्रश्नपत्र बाहिरिएको कारण उच्च माध्यमिक शिक्षा परिषद्को हानि नोक्सानी हुन गएको बिगो रू.६९,००,०००।– (उनान्सत्तरी लाख) निज सबै प्रतिवादीहरूबाट ऐ.दफा १७ बमोजिम सो परिषद्लाई दिलाई भराई पाउनसमेतको माग दाबी लिई आरोपपत्र दायर भएकोमा विशेष अदालत, काठमाडौंबाट प्रतिवादी रूद्र अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कैद महिना ।६। (छ) र जरिवाना रू. १०,०००।–(दश हजार) हुने र प्रतिवादी नरेन्द्र सुवेदी, सन्तोष कुइकेल र विनोद बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र २२ बमोजिम जनही कैद महिना ।३। (तीन महिना) र जरिवाना रू. ५०००।– (पाँच हजार) हुने र बिगोसमेतको अरू आरोपपत्रको दाबी पुग्न नसक्ने तथा प्रतिवादी नेत्रबहादुर लिम्बू, तिर्थराज बराल र गुप्तबहादुर क्षेत्रीले अभियोग दाबीबाट सफाई पाउने ठहर्याई भएको फैसलाउपर वादी नेपाल सरकार तथा रूद्र अधिकारी, विनोद बस्नेत, सन्तोष कुईकेलको तर्फबाट विशेष अदालतको फैसला उल्टी गरिपाउँ भनी पुनरावेदन पत्र दायर गरी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको देखिन्छ ।
३. उच्च माध्यमिक शिक्षा परिषद्बाट मिति २०६८।१।१९ देखि ऐ.३० गतेसम्म सञ्चालन भएको कक्षा १२ को भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षा सञ्चालन अगावै बाहिरिएको विषयमा महानगरीय प्रहरी परिसर, हनुमानढोकाबाट शिक्षा ऐन, २०२८ अन्तर्गत छानबिन भइरहेको र सो कार्यमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतमा रहेको भन्ने बुझिन आएको हुँदा निज प्रतिवादीहरू रूद्र अधिकारी, नरेन्द्र सुवेदी, सन्तोष कुइकेल र बिनोद बस्नेतसमेत चार जनालाई आयोगमा उपस्थित गराई दिनहुन भनि मिति २०६८/२/१९ च.नं.१७६४ को पत्रमार्फत लेखी पठाएकोमा सो महानगरीय प्रहरी परिसरले मिति २०६८/२/२५ च.नं.८८३२ को पत्रसाथ निजहरूलाई आयोगमा उपस्थित गराइएको देखिन्छ ।
४. उच्च माध्यमिक शिक्षा परिषद्द्वारा कक्षा–१२ को लागि मिति २०६८/१/१९ गतेदेखि परीक्षा सञ्चालन हुने परीक्षाको लागि जिलेट आवासिय उच्च मा.वि.परीक्षा केन्द्र तोकिएको देखिन्छ भने उक्त परीक्षा केन्द्रको लागि उच्च माध्यमिक शिक्षा परिषद्को च.नं.४७६ मिति २०६८/१/६ को पत्रद्वारा सोही मा.वि.का प्राचार्य नेत्रबहादुर लिम्बूलाई केन्द्राध्यक्ष तथा परिषद्को च.नं.९७८ मिति २०६८/१/८ को पत्रद्वारा रिचमण्ड एकेडेमी उ.मा.वि.का तीर्थराज बराललाई पर्यवेक्षक नियुक्त गरिएको परीक्षा केन्द्रका केन्द्राध्यक्षबाट सोही जिलेट आवासिय उच्च माध्यमिक विद्यालयका इन्चार्ज रूद्र अधिकारीलाई मिति २०६८/१/१९ मा सहायक केन्द्राध्यक्ष तोकिएको मिसिलबाट देखिन आएको छ ।
५. मिति २०६८।१।१९ देखि ऐ.३० गतेसम्म १२ कक्षाको परीक्षा सञ्चालन भएकोमा भौतिक शास्त्र विषयको मिति २०६८।१।२१ गते परीक्षा भएको देखिन्छ । भौतिक शास्त्रको परीक्षा हुनु अगावै उक्त भौतिक शास्त्रको प्रश्नपत्र खरिद गर्ने विष्णु विक्रम थापा र एकराज सापकोटा रहेको देखिन्छ । परीक्षाको अघिल्लो रात भौतिक शास्त्रको प्रश्न पत्र फोटोकपीमा प्राप्त भएको हो । उक्त प्रश्न पत्र जेभियर इन्टरनेशनल कलेज कालोपुलमा अध्ययन गर्ने नेत्र बुढा र मदनमार्फत प्राप्त गरी पाँच हजारमा लिएको हो । यदि प्रश्न नमिलेमा रकम फिर्ता गर्ने भनेकोमा भोलिपल्ट प्रश्न पुरै मिलेकोले रकम फिर्ता पाइएन भनी विष्णु विक्रम थापा र एकराज सापकोटाले गरेको कागज व्यहोराबाट देखिन्छ ।
६. प्रश्नपत्र बाहिरिएकोमा छानबिन समिति गठन गरी प्रतिवेदन पेस गर्नका लागि तोकिएकोमा संयोजक तथा सदस्यहरूले पनि प्रश्न पत्र बाहिरिएको हो भनी प्रतिवेदन दिएको र निजहरूले सो प्रतिवेदन व्यहोरा समर्थन गरी बकपत्रसमेत गरिदिएको अवस्था मिसिलबाट देखिन्छ । युनिभर्सल कलेज मैतिदेवीमा अध्ययनरत छात्र सिद्धान्त भुजेलले २०६८ साल वैशाख २१ गते बिहान ६.३० बजे कलेज आउँदै गर्दा पशुपति कलेज मित्रपार्क अगाडि मानिसको भिड देखी जाँदा भौतिक शास्त्र विषयको प्रश्नपत्र आउट भएको फोटोकपी बाँडेको अवस्थामा प्रश्नपत्र कलेजमा लिई आई अनुशासन शिक्षक विकास बलामीलाई दिएको, विकास बलामीले आफ्नो कलेजको भाइस प्रिन्सिपल रमाकान्त मिश्रालाई दिएको, रमाकान्त मिश्राले कलेजका प्रिन्सिपल डा.शिवदत्त ज्ञवालीलाई दिएकोमा उक्त हस्तलिखित फोटोकपी प्रश्नपत्र मिलेकोले उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रकलाई जानकारी गराएको भनि आ–आफ्नो व्यहोरा खुलाई कागज गरेको देखिन्छ । उक्त हस्तलिखित फोटोकपी गरिएको भौतिक शास्त्रको प्रश्नपत्र र सक्कल प्रश्नपत्र हुबहु मिलेको भन्ने कुरामा विवादसमेत देखिँदैन । प्रतिवादीहरूले प्रश्नपत्र परीक्षा हुन अगावै बाहिरिएको होइन भनि स्पष्टरूपमा लेखाउन सकेकोसमेत
देखिँदैन । विभिन्न घटनाक्रमहरूबाट प्रश्नपत्रको गोपनीयता भंग भएको पुष्टि भएको देखिन्छ ।
७. अब प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्यमा यी प्रतिवादीहरूको के कस्तो संलग्नता छ भन्ने दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा अब प्रतिवादीहरूमध्ये रूद्र अधिकारी नरेन्द्र सुवेदी, सन्तोष कुइकेल, विनोद बस्नेतको हकमा विचार गर्दा, प्रस्तुत मुद्दाका प्रतिवादीहरूमध्ये राष्ट्रसेवकउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७, ३(१) को कसुरमा र राष्ट्रसेवक बाहेकका प्रतिवादीहरू उपर सोही ऐनको दफा ३(२) अन्तर्गतको कसुरमा सोही ऐनको दफा १३, १७ र ३(१)(ज) अनुरूप सजाय गरी सबै प्रतिवादीहरूबाट बिगो असुलउपर समेत गरिपाउँ भन्ने अभियोग माग दाबी लिएको देखिन्छ । प्रतिवादी रूद्र अधिकारी अनुसन्धानको क्रममा र अदालतमा समेत बयान गर्दा प्रतिवादी आफू प्रहरी वृत्तमा कालिमाटीमा प्रश्नपत्र लिन गएको भएपनि प्रश्नपत्र नरेन्द्र सुवेदीलाई बिक्री गर्न नदिएको आफू खटिएको केन्द्रबाट प्रश्नपत्र बाहिरिएको होइन र आफूले प्रश्नपत्र बाहिर ल्याउने out गर्ने कुनै कार्य गरेको होइन भन्ने र अर्का प्रतिवादी नरेन्द्र सुवेदीले आफू जिलेट उच्च माध्यमिक विद्यालयका लेखापाल भएको र परीक्षा बारेमा कुनै सहभागी नहुने प्रश्नपत्र गोपनीयताको सवालमा आफ्नो संलग्नता नभएको भन्ने र प्र.सन्तोष कुइकेलले नरेन्द्र सुवेदीबाट प्रश्नपत्र लिएको भन्ने झुठा हो, प्रश्नपत्र बाहिरिएको सम्बन्धमा थाहा छैन भन्ने र अर्का प्रतिवादी विनोद बस्नेतले सन्तोष कुइकेलबाट प्रश्नपत्र फोटोकपी गरेबापत रकम लिएको छैन । मैले प्रश्नपत्र कसैलाई बेचेको हैन, सबै कुरा झुठा हुन् भनि कसुरमा इन्कार रही बयान गरेको पाइन्छ । यिनै प्रतिवादीहरूले शिक्षा ऐन, २०२८ अन्तर्गतको मुद्दामा अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष र केन्द्रीय अनुसन्धान ब्युरोमा कागज गर्दा प्रतिवादी रूद्र अधिकारीले मिति २०६८।१।२१ गतेको फिजिक्स विषयको प्रश्नपत्र २० गते म र नरेन्द्र सुवेदी भई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट प्रहरीले थाहा नपाउने गरी झिकी लगेकोमा, मैले उक्त प्रश्नपत्र २० गते बेलुका नरेन्द्र सरलाई दिएको र आफैँले संजय चौधरीलाई १० हजारमा बिक्री गरेको हुँ भनि उल्लेख गरेका छन् त्यसै गरी अर्का प्रतिवादी नरेन्द्र सुवेदीले रूद्र अधिकारीले मिति २०६८।१।२० गते बेलुका भेटी मसँग फिजिक्स र होटल म्यानेजमेन्ट विषयको कक्षा १२ को प्रश्नपत्र छ, विद्यार्थी खोजी बिक्री गर्नु भन्नु भएकोले सन्तोष कुइकेलसँग सम्पर्क राखी रूद्र अधिकारीले दिएको प्रश्नपत्र सन्तोष कुइकेललाई १५ हजारमा बिक्री गरेको हुँ भनि उल्लेख गरेको र अर्का प्रतिवादी सन्तोष कुइकेलले आफूले नरेन्द्र सुवेदीबाट प्रश्नपत्र लिई विनोद बस्नेतलाई रू.२५ हजारमा बिक्री गरेको भनि र विनोद बस्नेतले सन्तोष कुइकेलबाट प्रश्नपत्र लिई युवराजलगायत विभिन्न विद्यार्थीलाई बिक्री गरेको भनि बयान गरेको पाइन्छ । यी प्रतिवादीहरूमध्ये रूद्र अधिकारी कक्षा १२ को परीक्षा केन्द्र जिलेट उच्च माध्यमिक विद्यालयको सहायक केन्द्राध्यक्ष रहेको, निजले मिति २०६८/१/१९ देखि सञ्चालित १२ कक्षाको परीक्षाको प्रश्नपत्र प्रहरी वृत्त, कालिमाटीमा लिन गई बुझी ल्याउने गरेको कुरा मिसिल संलग्न प्रश्नपत्र बुझेको रजिष्टरबाट देखिनुका साथै प्रश्नपत्र लिन जाने गरेको कुरा स्वयंले स्वीकार गरेकोसमेत पाइन्छ । प्रहरी वृत्त, कालिमाटीमा राखिएको प्रश्नपत्रको रेखदेख जिम्मा लिने प्रहरी हवल्दार गुप्तबहादुर क्षेत्रीले जिलेट परीक्षा केन्द्रबाट प्रश्नपत्र लिन सहायक केन्द्राध्यक्ष रूद्र अधिकारी आउने गरेकाले बुझाउने गरेको र निजले केन्द्रीय अनुसन्धान ब्युरोमा प्रहरीलाई झुक्याई प्रश्नपत्र लगेको भनेकाले प्रश्नपत्र झुक्याई लगेको रूद्र अधिकारीकै बयानवाट थाहा पाएको भनि अदालतमा समेत बयान गरेको देखिन्छ । यी प्रतिवादीहरूले शिक्षा ऐन, २०२८ अन्तर्गतका मुद्दामा अनुसन्धानको क्रममा र केन्द्रीय अनुसन्धान ब्यूरोमा गरेको कागजमा भौतिक शास्त्रको प्रश्नपत्र निर्धारित परीक्षा मितिभन्दा अगावै प्र.रूद्र अधिकारीले नरेन्द्र सुवेदीलाई बिक्री गर्न दिएको र नरेन्द्र सुवेदीले सन्तोष कुइकेललाई दिएको, सन्तोषले विनोद बस्नेतलाई बिक्री गरी विनोदले युवराजसमेतका विभिन्न विद्यार्थिहरूलाई बिक्री गरेको भनि बयान गरेको देखिएकोमा प्रश्नपत्र खरिद गर्ने विष्णु विक्रम तथा एकराज सापकोटाले भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षा हुनु अघिल्लो रात जोभियर इन्टरनेशनल कालोपुलमा अध्ययनरत नेत्र बुढा र उसको साथी मदनले हामीसँग भौतिक शास्त्रको प्रश्नपत्रको फोटोकपी छ भनेकोले हामीले होस्टलमा बस्ने साथीहरू मिली ५/५ हजारमा लिएको भनि बकपत्र गरेको पाइएबाट प्रतिवादी विनोद बस्नेतले प्र.सन्तोष कुईकेलबाट प्रश्नपत्र प्राप्त गरी विभिन्न विद्यार्थीहरूलाई बिक्री गरेको भन्ने भनाई पुष्टि भइरहेको देखिन्छ ।
८. सहायक केन्द्राध्यक्ष तोकिएका प्रतिवादी रूद्र अधिकारी प्रतिवादी जिलेट उच्च माध्यमिक विद्यालयका कार्यरत शिक्षक प्र.नरेन्द्र सुवेदी सोही जिलेट उ.मा.वि.का लेखाका कर्मचारी रहेका, निज नरेन्द्रको सानीआमाको छोरा सन्तोष कुइकेल र निजको साथी विनोद बस्नेत भन्ने कुरा मिसिलबाट देखिन आएको हुँदा नदेखिएबाट यी प्रतिवादीहरू एक आपसका चिनजानका व्यक्ति भन्ने
देखिन्छ । यी प्रतिवादीहरूले शिक्षा ऐनअन्तर्गतको मुद्दाको अनुसन्धानको क्रममा गरेको बयानसमेतलाई प्र.रूद्र अधिकारीले प्रश्नपत्र प्रहरी वृत्तमा बुझी ल्याउने गरेको भनि प्रश्न पत्र बुझेको रजिष्टरबाट देखिन्छ भने प्रतिवादी रूद्र अधिकारीले मिति २०६८।१।२१ गतेको फिजिक्स विषयको प्रश्नपत्र २० गते म र नरेन्द्र सुवेदी भई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट प्रहरीले थाहा नपाउने गरी झिकी लगेकोमा, मैले उक्त प्रश्नपत्र २० गते बेलुका नरेन्द्र सरलाई दिएको र आफैले संजय चौधरीलाई १० हजारमा बिक्री गरेको हुँ भनि उल्लेख गरेको देखिन आएको छ । त्यसै गरी अर्का प्रतिवादी नरेन्द्र सुवेदीले रूद्र अधिकारीले मिति २०६८।१।२० गते बेलुका भेटी मसँग फिजिक्स र होटल म्यानेजमेन्ट विषयको कक्षा १२ को प्रश्नपत्र छ, विद्यार्थी खोजी बिक्री गर्नु भन्नु भएकोले सन्तोष कुइकेलसँग सम्पर्क राखी रूद्र अधिकारीले दिएको प्रश्नपत्र सन्तोष कुइकेललाई १५ हजारमा बिक्री गरेको हुँ भनि उल्लेख गरेको र अर्का प्रतिवादी सन्तोष कुइकेलले आफूले नरेन्द्र सुवेदीबाट प्रश्नपत्र लिई विनोद बस्नेतलाई रू.२५ हजारमा बिक्री गरेको भनि र विनोद बस्नेतले सन्तोष कुइकेलबाट प्रश्नपत्र लिई युवराजलगायत विभिन्न विद्यार्थीलाई बिक्री गरेको भनि बयान गरेको पाइन्छ । कालिमाटी वृत्तका प्रहरी हवल्दारसमेत रहेका प्रतिवादी गुप्तबहादुर क्षेत्रीले अदालतसमेतमा गरेको बयान, विष्णुविक्रम थापा र एकराज सापकोटा तथा जाँचबुझ समितिका संयोजक तथा सदस्यसमेतको बकपत्रबाट समेत प्रश्नपत्र बाहिरिएको कुरामा विवाद नदेखिएको र उक्त बाहिरिएको प्रश्नपत्र हुबहु मिलेको देखिएसमेतबाट प्रश्नपत्र बाहिरिएको पुष्टि भएको देखिँदा प्रतिवादीहरूको उक्त बयानलाई अन्यथा भन्न मिलेन । अतः प्र.रूद्र अधिकारीले भौतिकशास्त्रका प्रश्नपत्र परीक्षा अगावै प्रहरीसमेतलाई झुक्याई ल्याई प्रतिवादी नरेन्द्र सुवेदीलाई प्राप्त गराई प्र.नरेन्द्र सुवेदी सन्तोष कुइकेल तथा विनोद बस्नेतले विभिन्न विद्यार्थीहरूलाई बिक्री गरेको भन्ने देखिन आयो ।
९. प्रस्तुत मुद्दाका प्रतिवादीहरूमध्ये राष्ट्रसेवकउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७, ३(१) को कसुरमा र राष्ट्रसेवक बाहेकका प्रतिवादीहरूउपर सोही ऐनको दफा ३(२) अन्तर्गतको कसुरमा सोही ऐनको दफा १३, १७ र ३(१)(ज) अनुरूप सजाय गरी सबै प्रतिवादीहरूबाट बिगो असुलउपर समेत गरिपाउँ भन्ने अभियोग माग दाबी लिएको देखिन्छ । उक्त दाबी लिइएको दफा १७ मा राष्ट्रसेवकले आफ्नो ओहदाको वा सोसम्बन्धी कर्तव्य पालन गरी नेपाल सरकारको वा सार्वजनिक संस्थाको सम्पत्ति लापरवाही वा हिनामिना वा हानि नोक्सानी वा दुरूपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्राअनुसार उक्त दफा ३ बमोजिम सजाय र त्यस्तो हानि नोक्सानी वा दुरूपयोग वा मासेमा वा मास्न दिएको सम्पत्ति पनि निजबाट असुलउपर गर्ने व्यवस्था गरेको देखिन्छ । यसरी दफा १७ मा कुनै राष्ट्रसेवकले नेपाल सरकारको वा सार्वजनिक संस्थाको, सम्पत्ति, लापरवाही वा हिनामिना हानि नोक्सानी, दुरूपयोग गरी मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई उल्लिखित दफा ३(१) को देहाय खण्ड (क) देखि (झ) सम्ममा उल्लेख भएको बिगोको आधारमा हुने कैदको सजाय गरी हानि नोक्सानी भएको सार्वजनिक संस्थाको सम्पत्ति असुलउपर गर्ने व्यवस्था गरेको पाइन्छ ।
१०. त्यसैगरी प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्य फौजदारी कसुर हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ ले गरेको
पाइन्छ । उक्त कानूनी व्यवस्था हेर्दा सरकारी निकाय वा सार्वजनिक संस्थाबाट सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र नियमित समयभन्दा अगावै अधिकारप्राप्त अधिकारीले विशेष परिस्थिति रहेको कारण जनाई खोलेमा वा खोल्न लगाएमा बाहेक कुनै राष्ट्र सेवकले आफू वा अरू कुनै व्यक्तिले गैरकानूनी लाभ पुर्याउने बदनियतले कुनै प्रकारले त्यस्तो प्रश्नपत्रको गोपनीयता भंग गरेमा वा गर्न लगाएमा वा परीक्षाको परिणाममा फेरबदल गरेमा वा गराएमा त्यस्तो राष्ट्रसेवकलाई ३ महिनादेखि १ वर्षसम्म कैद र पाँच हजारदेखि दश हजारसम्म जरिवाना हुने भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा २०६८ सालको १२ कक्षाको परीक्षा जिलेट उच्च मा.वि.केन्द्रमा २०६८/१/१९ देखि ३० सम्म सञ्चालित परीक्षाको मिति २०६८/१/२१ गते हुने भौतिक शास्त्रको प्रश्नपत्र अघिल्लो दिन नै बाहिरिएको कुरामा विवाद नरहेको र उक्त प्रश्नपत्र माथि विवेचना गरिएअनुरूप निर्धारित परीक्षा मितिभन्दा अगावै जिलेट उच्च मा.वि.को सहायक केन्द्राध्यक्ष रूद्र अधिकारीले प्रहरी वृत्तमा राखिएको भौतिकशास्त्रको प्रश्नपत्र प्रहरीलाई झुक्याई अघिल्लो दिन नै लिई आई प्रश्नपत्र बाहिर्याउने कार्य गरेको र उक्त प्रश्नपत्र बाहिर्याउने कार्यमा सहयोग गरी विभिन्न विद्यार्थीहरूमा बिक्री वितरणको कार्यमा प्रतिवादीहरू नरेन्द्र सुवेदी, सन्तोष कुइकेल, विनोद बस्नेत संलग्न रहे भएको कुरा पुष्टि भइरहेको स्थितिमा राष्ट्रसेवकका हैसियतमा कार्यरत प्रतिवादी रूद्र अधिकारीले निर्धारित समयभन्दा अगावै आफूलाई गैरकानूनी लाभ प्राप्त गर्ने बद्नियतले प्रश्नपत्रको गोपनीयता भंग गरेको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ को कसुर गरेको देखियो ।
११. अन्य प्रतिवादीहरू नरेन्द्र सुवेदी, सन्तोष कुईकेल, विनोद बस्नेत राष्ट्रसेवक भन्ने नदेखिएकोले निजहरूउपर राष्ट्रसेवकलाई आकर्षित हुने भ्रष्टाचार निवारण ऐन, २०५९ को ३(१)(ज) र १७ बमोजिमको सजाय हुन सक्ने अवस्था नदेखिएको तर प्रश्नपत्र विभिन्न विद्यार्थीहरूलाई बिक्री वितरण गरी बाहिर्याउने कार्यमा प्र.रूद्र अधिकारीलाई सहयोग गरेको पुष्टि हुन आएबाट निजहरूले ऐ.ऐनको दफा २२ अनुसारको कसुर गरेको देखिन आयो ।
१२. शिक्षा ऐनअन्तर्गत कारवाही भइसकेपछि भ्रष्टाचार ऐनअन्तर्गतको कसुरमा सजाय गर्नु दोहोरो खतराको सिद्धान्तविपरीत हुन्छ हुन्छ हुँदैन भन्ने तेस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा प्रतिवादीहरू तर्फका विद्वान् कानून व्यवसायीहरूले बहसको क्रममा र पुनरावेदनमा प्रतिवादीहरूले लिएको मुख्य जिकिरसमेत यही रहेको देखिन्छ । यस सम्बन्धमा दोहोरो खतराको सिद्धान्तको सैद्धान्तिक पक्षमा समेत केहि प्रस्ट हुनु जरूरी देखिन्छ । दोहोरो खतराको सिद्धान्तले मूलतः एउटै व्यक्तिका विरूद्धमा उही कसुरमा पहिले नै कारवाही भई सजाय पाइसकेको वा सफाई पाइसकेको अवस्थामा उक्त कसुरमा दुईपटक मुद्दा चलाउन र सजाय गराउनलाई रोक्दछ । दोहोरो खतराको सिद्धान्त यस आधारमा पूर्व निर्णयसँग सम्बन्धित देखिन्छ । दोहोरो खतराको सिद्धान्त आकर्षित हुनका लागि मुख्यरूपमा सक्षम निकायबाट निर्णय भएको हुनुपर्ने, निर्णय अन्तिम भएको हुनुपर्ने र त्यस्तो निर्णय स्वच्छ सुनुवाई गरी अन्तिमसमेत भएको हुनुपर्दछ । यस सम्बन्धमा मुद्दा दायर हुँदा बहाल रहेको नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४ को उपधारा (६) ले कुनैपनि व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एकपटक भन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन भन्ने व्यवस्था गरेको देखिन्छ भने वर्तमान नेपालको संविधानको धारा २० को उपधारा (६) ले त्यसलाई निरन्तरता दिएको पाइन्छ ।
१३. राज्यको मूल कानून संविधानले नै दोहोरो खतराको सिद्धान्तलाई फौजदारी न्यायको हकका रूपमा प्रत्याभूत गरेको परिप्रेक्ष्यमा त्यसलाई आत्मसात् गरी न्याय निरूपण गरिनुपर्दछ यसलाई अन्यथा गर्न सकिँदैन । यद्यपी मुद्दाको तथ्यगत अवस्था एक खालको हुने र तथ्यगत अवस्थाको विश्लेषण नगरी सैद्धान्तिक र तथ्यगत अवस्थालाई एकैचोटी विश्लेषण नगरी कसुरदारलाई कसरी उन्मुक्ति मिल्दछ भनी निष्कर्षमा पुग्न खोज्नु फौजदारी न्यायको सिद्धान्तकै खिलाफ हुन जान्छ । दोहोरो खतराको सिद्धान्तले भन्न खोजेको पनि त्यो होइन । न्यायको दुरूपयोग नहोस् र एउटै कसुरमा दुईपटक खतरामा रहनु नपरोस् भन्ने अभिप्रायले यस्तो संवैधानिक मान्यताको विकास भएको हो । मुद्दाका आ-आफ्नै विशिष्टता हुने
गर्दछन् । दण्डहीनताले प्रसय नपाओस् अपराधी सजायको दायरामा आउन सकोस र कुनैपनि व्यक्ति विना कारण दुईपटक खतरामा नपरोस् भन्ने सम्बन्धमा न्यायकर्ता सदैव सचेत रहनुपर्दछ ।
१४. प्रस्तुत मुद्दाको समग्र तथ्यको विश्लेषण गर्दा कसैले कानूनद्वारा निषिद्ध आपराधिक कार्य गरेको अवस्थामा त्यस्तो कार्यलाई अलग–अलग कानूनले अलग / अलग अपराध मान्दछ भने त्यसलाई एउटै कसुर मानेर एउटा मात्र कानूनअन्तर्गत कारवाही गर्नुपर्ने भनी आपराधिक क्रियालाई सीमित तुल्याउन
मिल्दैन । प्रस्तुत मुद्दामा तथ्यगत अवस्थाको विश्लेषण गर्दा प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा प्रतिवादीहरू नेत्रबहादुर लिम्बूसमेतलाई शिक्षा ऐन, २०२८ को दफा १७(१) (क) बमोजिम सजाय माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको र तीनै प्रतिवादीहरूमध्येका समेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३, १७, ३(१) (ज) को सजाय मागदाबी लिई प्रस्तुत मुद्दा चलाएको देखिन्छ । शिक्षा ऐन, २०२८ को दफा १७ मा के कस्तो कानूनी व्यवस्था छ भन्ने सम्बन्धमा उक्त कानूनी व्यवस्थालाई मध्यनजर गर्नुपर्ने हुन्छ ।
१७. दण्ड सजायः
(१क) कसैले देहायका कार्य गरेमा, गर्न लगाएमा वा सो कार्य गर्न सहयोग पुर्याएमा त्यस्तो व्यक्तिलाई ....कसुरको मात्रा हेरी एकलाख रूपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछः–
(क) प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा,
(ख) उत्तरपुस्तिका परीक्षण गर्दा लापरबाही वा गैर जिम्मेवारपूर्ण कार्य गरेमा,
(ग) परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृतिबेगर प्रवेश गर्न प्रयत्न गरेमा वा प्रवेश गरेमा वा परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गरेमा,
(घ) परीक्षाफल प्रकाशनमा अनियमितता गरेमा,
(ङ) अरूको तर्फबाट परीक्षा दिएमा,
(च) परीक्षाको मर्यादा भङ्ग हुने अन्य कुनै कार्य गरेमा । (१ख) उपदफा (१) र (१क) बमोजिमको कसुरको सम्बन्धमा विद्यालयको कुनै शिक्षक वा कर्मचारीउपर मुद्दा हेर्ने अधिकारी वा अदालतमा मुद्दा दायर भएमा त्यस्तो शिक्षक वा कर्मचारी त्यसरी मुद्दा दायर भएको मितिदेखि मुद्दाको टुङ्गो नलागेसम्म निलम्बन हुनेछ । सो शिक्षक वा कर्मचारी अदालतबाट कसुरदार ठहरिएमा निजलाई यस ऐनबमोजिम विभागीय सजाय गरिनेछ ।
भन्ने व्यवस्था गरेको देखिन्छ । उपरोक्त कानूनी व्यवस्था प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा सो कार्य गर्न सहयोग पुर्याएमा कसुरको मात्रा हेरी एकलाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको
देखिन्छ । उपरोक्त कानूनी व्यवस्थाकै आधारमा प्रतिवादी नेत्रबहादुर लिम्बूसमेतलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको र त्यसै विषयमा भ्रष्टाचार ऐनअन्तर्गतसमेत मुद्दा चलाइएकोले दोहोरो खतराको सिद्धान्त आकर्षित हुन्छ भन्ने नै पुनरावेदक प्रतिवादीहरूको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । सो सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५९ मा भएको कानूनी व्यवस्थालाई समेत मध्यनजर गर्नुपर्ने देखिन्छ । उक्त ऐनले भ्रष्टाचारसम्बन्धी मुद्दमा विशेष व्यवस्था गरी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि यस ऐनअन्तर्गत दायर हुने वा भएको मुद्दामा देहायको कुरामा देहायबमोजिम हुने भनि (क) देखि (ङ) सम्म विभिन्न व्यवस्था गरेको पाइन्छ । सो व्यवस्था गरिएअनुरूप खण्ड (क) मा कुनै राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर मानिने कुनै काम गरेको वा त्यस्तो काम गर्ने सिलसिलामा अन्य प्रचलित कानूनबमोजिम कसुर मानिने कुनै कामसमेत गरेको रहेछ भने निजउपर अन्य प्रचलित कानूनबमोजिम छुट्टै मुद्दा चलाउन बाधा नपर्ने भन्ने व्यवस्था रहेको देखिन्छ । उपरोक्त कानूनी व्यवस्थाबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को कुनै पनि व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन भन्ने कुरा अर्थात् दोहोरो खतराको सिद्धान्त कुनै एक कसुरमा उही व्यक्तिउपर मुद्दा चलाई निर्णय भइसकेकोमा सोही कसुरको सम्बन्धमा पुनः कारवाही चलाउन रोक लगाउने सन्दर्भमा आकर्षित हुने हो । विवादको विषयमा एकै प्रतिवादीबाट भएको कार्यको लागी दुई छुट्टाछुट्टै ऐनअन्तर्गतको कसुरमा छुट्टाछुट्टै अनुसन्धान तहकिकात गरी मुद्दा चलाउन र अदालतबाट निर्णय गर्न यस सिद्धान्तले रोक लगाएको देखिँदैन । यसवाट एउटै क्रियाबाट अलगअलग ऐनअन्तर्गतमा कसुरसमेत भएमा अलगअलग मुद्दा चलाउन र सजाय गर्ने बाधा हुने अवस्था देखिँदैन । यसै सन्दर्भमा महेश चापागाईसमेत विरूद्ध नेपाल सरकार भएको भ्रष्टाचार मुद्दामा “दोहोरो खतराको सिद्धान्तले मूलतः उही कसुरमा पहिले नै कारवाई भई सजाय पाइसकेको वा सफाई पाइसकेको अवस्थालाई इंगित गर्दछ । यस आधारमा यो सिद्धान्त पूर्व निर्णयसँग सम्बन्धित देखिन्छ । यो सिद्धान्त आकर्षित हुनका लागि मुख्यरूपमा सक्षम निकायबाट निर्णय भएको हुनुपर्ने, निर्णय अन्तिम भएको हुनुपर्ने र त्यस्तो निर्णय स्वच्छसमेत हुनुपर्ने भनि यस अदालतबाट (ने.का.प.२०६९ नि.नं.८८७४ पृष्ठ१२३८) सिद्धान्तसमेत स्थापित भइसकेको देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०६८।१।१९ देखि ३० सम्म १२ कक्षाको परीक्षा सञ्चालन भएकोमा जिलेट उच्च माध्यमिक विद्यालय केन्द्रबाट भौतिक शास्त्रको विषयको प्रश्नपत्र निर्धारित परीक्षा मितिभन्दा अगावै बाहिरिएको सम्बन्धमा उक्त परीक्षा केन्द्रका सम्बन्धित पदाधिकारीहरू तथा त्यस कार्यसँग संलग्न व्यक्तिहरू उपर प्रश्नपत्र गोपनीयता भंग गर्ने कार्य शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान तहकिकात गरी अभियोगपत्र काठमाडौं जिल्ला अदालतमा दायर गरेको र राष्ट्रसेवकसमेतले रकम लिनु दिनु गरी आफ्नो पदिय हैसियतको दुरूपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरजन्य कार्य भएको भनि प्रस्तुत मुद्दा दायर गरिएको पाइन्छ ।
१५. उपरोक्त पृष्ठभूमिमा प्रश्नपत्रको गोपनीयता भंग गरेको कार्य शिक्षा ऐन, २०२८ र भ्रष्टाचार निवारण ऐन, २०५९ को परिभाषित अपराधअन्तर्गत कसुर गरेको देखिएबाट छुट्टाछुट्टै ऐनअन्तर्गत अनुसन्धान तहकिकात गरी प्रतिवादीहरू उपर छुट्टाछुट्टै मुद्दा दायर गर्न बाधा उत्पन्न गरेको देखिँदैन । यी प्रतिवादीहरूले प्रश्नपत्र गोपनीयता भंग गरेको कार्य शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा मुद्दा चलाइएकोमा निज प्रतिवादीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरसमेत गरेको विषयमा छुट्टै मुद्दा चलाइएको अवस्था देखिँदा प्रस्तुत मुद्दामा दोहोरो खतराको सिद्धान्त आकर्षित हुन सक्दैन । शिक्षा ऐनअन्तर्गतको मुद्दामा अभियोग लगाई फैसलासमेत भइसकेकोमा यस भ्रष्टाचार मुद्दामा कारवाही गर्न मिल्दैन भनि पुनरावेदक प्रतिवादीहरूले पुनरावेदन पत्रमा उठाएको जिकिर तथा प्रतिवादीहरूका तर्फबाट रहनु भएका विद्वान् अधिवक्ताहरूले बहसको क्रममा उठाएको बहस जिकिरसँग सहमत हुन सकिएन ।
१६. प्रतिवादीहरूमध्येका नेत्रबहादुर लिम्बू, तिर्थराज बराल र प्र.ह.गुप्तबहादुर क्षेत्रीको हकमा विचार गर्दा, नेत्रबहादुर लिम्बू मिति २०६८/१/१९ देखि ३० सम्म सञ्चालित कक्षा १२ को परीक्षाको जिलेट उच्च मा.वि. केन्द्रको केन्द्राध्यक्ष र तिर्थराज बराल उक्त परीक्षा केन्द्रको पर्यवेक्षकको रूपमा नियुक्ति भएको देखिन्छ । यी प्रतिवादीहरू प्रहरी वृत्त, कालिमाटीमा परीक्षाको प्रश्नपत्र लिन गएको नदेखिएको र उक्त प्रश्नपत्रहरू रूद्र अधिकारीले बुझी लाने गरेको
देखिन्छ । निज रूद्र अधिकारीले भौतिक शास्त्रको प्रश्नपत्र निर्धारित परीक्षा मितिभन्दा अघिल्लो दिन नै प्रहरीलाई झुक्याई लिई आई प्रश्नपत्र बाहिर्याएको भन्ने शिक्षा ऐनअन्तर्गतको मुद्दामा अनुसन्धानको सिलसिलामा र केन्द्रीय अनुसन्धान ब्युरोमा कागज गर्दा स्वीकारै गरी कागज गरेको देखिन आएको
छ । प्रतिवादी नेत्रबहादुर लिम्बू र तिर्थराज बरालले अनुसन्धानको क्रममा र अदालतमा सममेत कसुरमा इन्कार रहेको देखिन्छ अर्का प्रतिवादी प्रहरी हवल्दार गुप्तबहादुर क्षेत्री कार्यरत प्रहरी वृत्त, कालिमाटीमा प्रश्नपत्र राखिएको वाकसको तालाको चाबी स्वयं केन्द्राध्यक्षकै तर्फबाट लगाई राखिएको भन्ने देखिन्छ भने उक्त प्रश्नपत्र लिन आउने जिम्मेवार व्यक्तिको साथमा रहेको चाबीले प्रश्नपत्र राखेको बाकसको ताल्चा खोली निर्धारित विषयको प्रश्नपत्र लिई भरपाई गरी लाने गरेको देखिन्छ । प्रश्नपत्र विगतदेखि नै रूद्र अधिकारीले लैजाने गरेको र त्यसरी प्रश्नपत्र राखेको बाकसको ताला खोली प्रश्नपत्र लैजाने क्रममा प्रतिवादी गुप्तबहादुर क्षेत्रीलाई झुक्याई भौतिक शास्त्रको प्रश्नपत्र निर्धारित मितिभन्दा अघिल्लो दिन नै रूद्र अधिकारीले लिई गएको भन्ने निज रूद्र अधिकारीले अनुसन्धानका क्रममा स्वीकार गरेको तथ्य मिसिलबाट पुष्टि
हुन्छ । त्यसरी प्रश्नपत्र अघि नै लैजान दिने कार्यमा यी प्रतिवादी गुप्तबहादुर क्षेत्रीसमेत संलग्न थिए भनि निज प्र.रूद्र अधिकारीले भन्न सकेको पाइँदैन भने सो कुरा प्रतिवादी गुप्तबहादुर क्षेत्रीको बयानबाट समेत
देखिँदैन । रूद्र अधिकारीले गुप्तबहादुरको मिलेमतोमा लगेको नभई प्रहरीसमेतलाई झुक्याई प्रश्नपत्र लगेको उल्लेख गरेकोसमेत देखिन्छ । त्यसैगरी प्रतिवादी गुप्तबहादुरले अभियोग दाबीको कसुरमा पूर्णतः इन्कार रही बयान गरेको र सो कुरा रूद्र अधिकारीको बयानले समेत निजको इन्कारी बयान पुष्टि हुन आएको
देखिन्छ । यसप्रकार प्रतिवादीहरू नेत्रबहादुर लिम्बू, तीर्थराज बराल तथा गुप्तबहादुर क्षेत्री प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्यमा संलग्नता थियो भन्ने कुरा कहीँ कतैबाट शंकारहित तवरबाट पुष्टि हुन आएको देखिएन ।
१७. आरोपपत्रमा मागदाबी लिएको बिगोका सम्बन्धमा विचार गर्दा प्रस्तुत कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ अन्तर्गतको ठहर भएको देखिन्छ भने उक्त दफा १३ मा रहेको कानूनी व्यवस्थाले बिगोको सम्बन्धमा कुनै व्यवस्था गरेको देखिँदैन । उक्त कानूनी व्यवस्थालाई हेर्दा सरकारी निकाय वा सार्वजनिक संस्थाबाट सञ्चालन गरिने परीक्षाको प्रश्नपत्र निर्धारित समयभन्दा अगावै अधिकारप्राप्त अधिकारीले विशेष परिस्थिति परेको कारण जनाई खोलेमा वा खोल्न लगाएमा बाहेक कुनै राष्ट्रसेवकले आफू वा अरू कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले कुनै पनि प्रकारले त्यस्तो प्रश्नपत्रको गोपनीयता भंग गरेमा वा गर्न लगाएमा वा परीक्षाको परिणाममा फेरबदल गरेमा वा गर्न लगाएमा त्यस्तो राष्ट्रसेवकलाई तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रूपैयाँदेखि दश हजार रूपैयाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको पाइन्छ । प्रथम दृष्टिमै उक्त दफा १३ को कानूनी व्यवस्थाले कसुर गर्ने व्यक्तिबाट बिगो भरिभराउ गर्ने सम्बन्धमा कुनै कुरा बोलेको नदेखिँदा बिगोतर्फको वादी नेपाल सरकारको दाबी पुग्न सक्ने देखिँदैन ।
१८. अब विशेष अदालत, काठमाडौंले गरेको फैसला मिलेको छ छैन तथा पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने भन्ने अन्तिम अन्तिम प्रश्नका सम्बन्धमा विचार गर्दा प्रतिवादी रूद्र अधिकारीले २०६८ साल वैशाख १९ गते देखि ऐ.३० गतेसम्म सञ्चालन भएको कक्षा बाह्रको परीक्षाको क्रममा २०६८।१।२१ मा सञ्चालन भएको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षा हुनुपूर्व नै बाहिर (Question out) गरी प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ अन्तरगतको कसुर गरको ठहरेकाले प्रतिवादी रूद्र अधिकारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम कैद महिना ।६। (छ) र जरिवाना रू.१०,०००।– (दश हजार) हुने तथा प्रतिवादी नरेन्द्र सुवेदी, सन्तोष कुइकेल र विनोद बस्नेतले प्रतिवादी रूद्र अधिकारीले बाहिर ल्याएको प्रश्नपत्रलाई मतियार भई विभिन्न विद्यार्थीहरूलाई बिक्री गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को कसुर गरेको ठहरी प्रतिवादी नरेन्द्र सुवेदी, सन्तोष कुइकेल र विनोद बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ र २२ बमोजिम जनही कैद महिना ।३। (तीन महिना) र जरिवाना रू.५०००।– (पाँच हजार) हुने तथा प्रतिवादी नरेन्द्र सुवेदी सन्तोष कुईकेल, विनोद बस्नेत राष्ट्रसेवक भन्ने नदेखिएकोले निजहरू उपर राष्ट्रसेवकलाई आकर्षित हुने भ्रष्टाचार निवारण ऐन, २०५९ को ३(१)(ज) र १७ बमोजिमको सजाय हुन नसक्ने तथा प्रतिवादी नेत्रबहादुर लिम्बू, तिर्थराज बराल र गुप्तबहादुर क्षेत्रीउपरको आरोपपत्रमा लिएको दाबी पुग्न नसक्ने भई निजहरूले सफाई पाउने ठहर्याएको विशेष अदालत, काठमाडौंको मिति २०७१/१/२३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार तथा प्रतिवादी रूद्र अधिकारी, नरेन्द्र सुवेदी, सन्तोष कुईकेल तथा विनोद बस्नेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
स.प्र.न्या.कल्याण श्रेष्ठ
इजलास अधिकृत : रामप्रसाद बस्याल
इति संवत् २०७२ साल माघ १८ गते रोज २ शुभम् ।