निर्णय नं. ९६४७ - अंश चलन

सर्वोच्च अदालत, पूर्ण इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७३।११।१३
०६८-DF-००१९
मुद्दा - अंश चलन
पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. ५ बस्ने हेरामाया भन्ने माया महर्जनसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : ऐ. ऐ. घर भई हाल ऐ. वडा नं. १ बस्ने उत्तमदेवी महर्जनसमेत
लिखत बदर मुद्दाको रोहमा दाबी खारेज भई प्रतिवादीले गरेको बिक्रीव्यवहार सदर ठहर भइसकेपछि सो सम्पत्तिको मूल्यबाट आएको नगद रकमबाट अंश दिलाई पाउँ भन्ने दाबी आफैँमा विरोधाभाषपूर्ण देखिई कानूनसङ्गत देखिन आएन । जुन जग्गाको विषयमा प्रतिवादीहरूबाट पूर्वदाबी गरिएको हो सो दाबी नै खारेज भएको अवस्थामा सो जग्गा बिक्री गरी प्राप्त भएको रकमसमेत बन्डा हुनुपर्छ भनी पुनः अंश मुद्दाको रोहबाट प्रतिवादीहरूले लिएको दाबी पनि मनासिब देखिन नआउने ।
(प्रकरण नं. १०)
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्वान् अधिवक्ताहरू ईश्वरीप्रसाद भट्टराई र मंगल महर्जन
वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू रक्षबहादुर क्षेत्री र हरिशरण महर्जन
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू ललितपुर जिल्ला अदालतमा फैसला गर्ने:
मा.जि.न्या.श्री जनार्दनबहादुर खड्का
पुनरावेदन अदालत, पाटनमा फैसला गर्ने :-
मा.न्या.श्री कृष्णप्रसाद बस्याल
मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी
सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्ने:
मा.न्या.श्री रामकुमार प्रसाद शाह
मा.न्या.श्री भरतराज उप्रेती
फैसला
न्या.श्री देवेन्द्र गोपाल श्रेष्ठ : सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-
विपक्षीमध्येका राम महर्जन तथा माया महर्जन हामी फिरादीका ससुरा बाजे तथा सासु बज्यै हुनुहुन्छ । साथै विपक्षी नरेन्द्र महर्जन देवर तथा काका नाता पर्दछन् । विपक्षी राम महर्जन तथा माया महर्जनको कोखबाट जायजन्म भएको छोराहरूमा हामी फिरादीका पति, पिता नरराम महर्जन र विपक्षी नरेन्द्र महर्जन हुन् । छोरीहरूमा रामप्यारी महर्जन र रामकुमारी महर्जन गरी २ छोरीहरूको जन्म भएकोमा सबैको विवाह भइसकेको छ । मिति २०५२।४।३१ मा हामीहरूका पति तथा पिता नरराम महर्जन परलोक हुनुभयो । विपक्षीहरूले हाम्रो हक मार्ने कुनियत राखी २०५२ सालमा पनि जग्गा बिक्री गरिसक्नुभएको र फेरि पनि बिक्री गर्ने भनी बैनासमेत लिइसकेको अवस्था हुँदा हाम्रोसमेत अंश हक लाग्ने जग्गा बिक्री गरेमा हामीलाई अंश नै नहुने हुँदा रोक्काको लागि छुट्टै निवेदन गर्ने नै छौं । हामी फिरादीहरूको अंश हक लाग्ने सम्पूर्ण सम्पत्ति विपक्षीहरूकै जिम्मा रहे भएकोले विपक्षीहरूबाट तायदाती फाँटवारी माग गरी सम्पूर्ण श्रीसम्पत्तिको ४ भागको १ भाग हामी फिरादीहरूलाई अंश भाग छुट्याई अड्डैबाट चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको वादीहरूको फिराद दाबी ।
विपक्षीहरूको फिराद दाबी झुठा हो । छोरा नरराम महर्जनसँग घरसारमा सल्लाह हुँदा परिवार संख्या वृद्धि भई एकै घरमा बस्न ठाउँ अभावका कारण बसोबासको निम्ति ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. १(क) कि.नं. ३०२ को जग्गा खरिद गरी दिई छुट्टै घर बनाइदिएको थिएँ । पछि निज छोराले म माया महर्जनको एकलौटी नाममा मालपोत कार्यालय ललितपुरमा दर्ता रहेको ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. १ कि.नं. १७७ को क्षे.फ.
०-१५-३-० जग्गा कित्ता र ऐ. ऐ. कि.नं. १७९ क्षे.फ. २-४-१-० जग्गा कित्ता १ समेत २ कित्ता जग्गा निजको नाममा हक हस्तान्तरण गरिदिएमा कुनै सम्पत्तिमा दाबी नगर्ने भनी सहमति भएबमोजिम म माया महर्जनले उक्त २ कित्ता जग्गा निज छोरा नरराम महर्जनलाई मिति २०४५।४।३ मा हक हस्तान्तरण गरिदिएको थिएँ । उक्त २ कित्ता जग्गाहरूमा पछि हामीहरूका बहिनी तथा फुपू तुयु महर्जनले हामीउपर यसै अदालतमा लिखत दर्ता बदर हक कायम खिचोलासमेत मुद्दा दायर गरेकोमा सो मुद्दामा आपसी सहमतिबाट २ कित्ता जग्गाको जम्मा क्षे.फ. ३-४-०-० मध्ये उत्तरतर्फबाट क्षे.फ. १-८-०-० जग्गा छोरा नरराम महर्जनको मु.स. गर्ने यिनै विपक्षी उत्तम देवी महर्जनलाई र दक्षिणतर्फको क्षे.फ.
१-१२-०-० जग्गा तुयु महर्जनलाई पारी मिलापत्र भएको थियो । म राम महर्जन आफ्नो मेहनत परिश्रमले आर्जन गरेको अन्य अंशियारलाई बन्डा गर्न कर नलाग्ने सम्पत्ति र म माया महर्जनले निजी तवरमा बकस पाएको मेरो आफुखुस गर्न पाउने जग्गासमेत दाबी गरी दायर गरेको हकदैयाविहीन फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर जिकिर ।
अदालतका आदेशानुसार वादी प्रतिवादीहरूको साक्षीको बकपत्र हुँदा वादीको साक्षीले वादीको फिरादपत्र मिलानको र प्रतिवादीको साक्षीले प्रतिवादीको प्रतिउत्तरपत्र मिलानको बकपत्र गरेका ।
अदालतका आदेशानुसार वादी प्रतिवादीहरूबाट पेस भएको आफू जिम्माको तायदाती फाँटवारी, जग्गा दर्ताको उतार, लिखतका प्रतिलिपि, प्रमाण मिसिल तथा लगाउको अन्य मुद्दाहरू मिसिलसाथ रहेको ।
वादी प्रतिवादीको नातामा विवाद नदेखिएको, वादीले रीतपूर्वक अंश बुझिसकेको कुनै प्रमाण प्रतिवादीले पेस गर्न नसकेकोबाट सगोलकै अंशियार वादीहरूले प्रतिवादीहरूबाट अंश पाउनुपर्ने नै
देखियो । कि.नं. २३४ को जग्गाको हकमा लगाउको लिखत दर्ता बदर मुद्दाबाट विचार हुने हुँदा यस मुद्दामा केही बोलिरहन परेन । तायदातीमा राम महर्जनका नामको केही जग्गा निजी आर्जनको भनी जिकिर लिए तापनि कुनै प्रमाण पेस हुन नआएकोले सगोलको भएको देखियो । ऋणको हकमा साहुको उजुर परेका बखत कानूनबमोजिम हुने हुँदा केही बोलिरहन परेन । तायदातीमा देखिएको मोटरसाइकल अंश मुद्दा परेपछि खरिद गरेको देखिएकोले बन्डा गर्न मिलेन । कि.नं. ३०२ को घरमा रहेको खुद्रा पसल सगोलको भने तापनि भरपर्दो प्रमाण नदेखिँदा उक्त पसल बन्डा गर्न
मिलेन । वादी उत्तम देवी महर्जनको नाममा बचत खातामा रहेको भनिएको वादीका पिता नरराम महर्जनले कि.नं. १७७ र १७९ को जग्गा हा.ब. बाट प्राप्त गरी बिक्री गरी बैङ्कमा सञ्चित रहेको देखिँदा उक्त सम्पत्तिको बन्डा नलाग्ने सो कि.नं. ३०२ को जग्गाको सम्बन्धमा जालसाज मुद्दाबाट विचार हुने हुँदा केही गरिरहन परेन सोबाहेक तायदाती फाँटवारीबाट दर्ता भएको जग्गाबाट ४ भागको १ भाग अंश वादीले प्रतिवादीहरूबाट पाउने ठहर्छ भन्नेसमेत ललितपुर जिल्ला अदालतबाट मिति २०६२।०२।२७ मा भएको फैसला ।
विपक्षी उत्तम देवी हामीहरूको बुहारी एवम् भाउजू नाताको अंशियार हुन् । विपक्षीका पति नरराम महर्जनले घर सल्लाह गरी नरम करम मिलाई छुट्टिई भिन्न बसी आएको अवस्था थियो । छोरा तथा दाई जीवित रहुन्जेल कुनै विवाद थिएन । निजको मृत्युपछि विपक्षी बुहारी तथा भाउजूले नररामको नाममा रहेको हरिसिद्धि वडा नं. १ कि.नं. ३४७ र ३७९ वडा नं. १(क) कि.नं. ३०२ को घर जग्गा नामसारी गरी कि.नं. ३४७ र ३७९ को जग्गा मिति २०६०।७।२७ मा एक्काइस लाखमा बिक्री गरेको र सोही दिन कि.नं. ३०२ को घर जग्गासमेत आफ्नी बहिनी नन्द देवीलाई राजीनामा गरी आफ्नो जिम्मा कुनै सम्पत्ति नराखी ठूलो धनराशी हात पारिसकेपछि हामी जिम्माको सम्पत्ति पुनः हात पार्ने दूषित मनसायले जग्गा बिक्री गरेको छैठौं दिन मिति २०६०।८।२ मा हामीउपर अंश मुद्दा दर्ता गरी विचाराधीन रहेको अवस्थामा आफ्नो नामबाट हक हस्तान्तरण गरेको कि.नं. ३०२ को घर जग्गा विपक्षी स्वयम्ले हालैको बकसपत्र गरी लिएको अवस्थामा विपक्षीको जिम्मामा रहेको माथि उल्लिखित चल अचल सम्पत्ति कुनै पनि बन्डा नलाग्ने गरी भएको सुरू ललितपुर जिल्ला अदालतको फैसला बदर गरी तायदाती फाँटवारीमा उल्लेख भएको विपक्षीहरूको जिम्माको सम्पत्तिबाट समेत अंशियारबीच बन्डा लाग्ने गरी इन्साफ पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर ।
कि.नं. ३०२ को घर जग्गा बहिनी नाताकी नन्द देवीलाई राजीनामा गरी पुनः आफ्नो नाममा नामसारी गरी लिई अशबन्डाको ३० नं. बमोजिम दर्ता बिक्री व्यवहार गरिसकेपछि अंश पाउँ भनी दिएको फिरादबाट बन्डा लाग्ने ठहर्याएको सुरू फैसला नमिली फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६३।११।१ को आदेश ।
ललितपुर जिल्ला अदालतबाट तायदाती माग्ने आदेश हुँदा वादी प्रतिवादीले बकसपत्र पाएको सम्पत्तिबाहेक फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती माग्नु भन्ने आदेश विपक्षीले स्वीकारेको अवस्था हुँदा कि.नं. ३०२ घरजग्गा बन्डा लाग्ने होइन । हामीले अंश मुद्दा गरी विपक्षी हेरामाया महर्जनको नाममा रहेको ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. १(क) कि.नं. २१२, २१३, २१४, २१५ समेतको जग्गा रोक्का रहेकोमा फुकुवा गरी मिति २०६०।१२।९ मा एक्काइस लाखमा बिक्री गरी हाम्रो अंश हक मारेको अवस्था छ । हामीले कि.नं. १७७, १७९ को जग्गा आफ्नो नाममा ल्याई बिक्री गरिसक्यो भन्ने विपक्षीले प्रमाणको अभावमा दाबी लिँदैमा हुने होइन । ललितपुर जिल्ला अदालतको फैसला सदर हुने गरी इन्साफ पाउँ भन्ने उत्तम देवी महर्जनसमेत जना ३ को संयुक्त लिखित प्रतिवाद ।
प्रत्यर्थी वादीहरू र पुनरावेदक प्रतिवादीहरूबीच अंशियारमा कुनै विवाद नभएकोले कानूनअनुसारको बन्डापत्र लिखतको अभावमा कि.नं. ३०२ को जग्गा, कि.नं. ३७९ र ३४७ को जग्गा बिक्रीबाट प्राप्त रकम, मोटरसाइकल र चार लाख बराबरको खुद्रा पसल बन्डा नगर्ने र अन्य सम्पत्तिबाट प्रत्यर्थी वादीहरूले वादी दाबीबमोजिम ४ भागको १ भाग अंश पुनरावेदक प्रतिवादीहरूबाट पाउने गरेको सुरू ललितपुर जिल्ला अदालतको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत पुनरावेदन अदालत, पाटनको मिति २०६४।२।१५ गतेको फैसला ।
वादीका नाउँमा बाँकी रहेको सगोलको सम्पत्ति कि.नं. ३७९, ३४७ को जग्गा बिक्री गरी प्राप्त रकम, कि.नं. ३०२ को घर जग्गा, चार लाख मूल्य बराबरको खुद्रा पसलसमेत बन्डा नलाग्ने तर हाम्रो नाममा रहेको निजी सम्पत्तिसमेत बन्डा गर्ने गरी भएको फैसलामा मिसिल संलग्न प्रमाणको मूल्याङकनसम्बन्धी त्रुटि विद्यमान रहनुको साथै अ.वं.१८४क,१८५ नं., प्रमाण ऐन २०३१ को दफा ६क. समेतको व्याख्यासम्बन्धी गम्भीर कानूनी त्रुटि विद्यमान रहेकोले निवेदकलाई हराई भएको पुनरावेदन अदालत, पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान हुँदा मुद्दा दोहोर्याई हेरी वादी दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत प्रतिवादी नरेन्द्र महर्जनसमेतको यस अदालतमा पर्न आएको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन पत्र ।
यसमा विवादको ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. १(क) स्थित कि.नं. ३०२ को जग्गामा बनेको घरमा जडान भएको बत्ती बाजे ससुरा राम महर्जनको नाममा रहेकोबाट घर पछि बनेको स्थितिमा बकसपत्रबाट प्राप्त भएको भनी तथा ललितपुर जिल्ला हरिसिद्धि गा.वि.स. वडा नं. १ स्थित कि.नं. १७७ र १७९ कित्ताकाटपछि कायम हुन आएको कि.नं. ३७९ र ३४७ जग्गा बिक्रीबाट आएको एक्काइस लाखसमेत अंश नलाग्ने ठहर्याएको पुनरावेदन अदालत, पाटनको मिति २०६४।२।१५ को फैसलामा अंशबन्डाको १ र १८ नं. को त्रुटि हुनुको साथै भरतराज जोशी विरूद्ध ज्ञानु बाबा जोशी भएको अंश चलन मुद्दा (ने.का.प. २०५७ अंक २ नि.नं. ६८५४ पृ.१०७) मा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । प्रस्तुत निवेदनलाई पुनरावेदनको लगतमा दर्ता गरी विपक्षीसमेत झिकाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतबाट मिति २०६६।१०।८ मा भएको आदेश ।
जग्गा बिक्रीबाट आएको रू.एक्काइस लाख, कि.नं. ३०२ को घर जग्गा, पसल, मोटरसाइकलसमेत भाग बन्डा लाग्छ भन्ने विपक्षीको दाबी खारेज गरी सुरू एवम् पुनरावेदन अदालतको फैसला कायम राखी पाउँ भन्ने वादीको लिखित प्रतिवाद ।
कि.नं. ३०२ को जग्गा मिति २०४९।९।७ मा वादीका पति पिता नरराम महर्जनले आफ्नो जेठी सासू जमुना महर्जनबाट हालैको बकसपत्रबाट प्राप्त गरेको देखिएको हुँदा सगोलको सम्पत्तिबाट आर्जन वा खरिद गरी लिएको भन्न नमिल्ने हुँदा सो जग्गामा प्रतिवादीहरूलाई अंश नदिलाउने ठहराएको पुनरावेदन अदालतको फैसला मनासिब देखिन्छ । कि.नं. ३०२ जग्गामा बनेको घर प्रतिवादीसमेतको सगोलको रकमबाट बनेको भनी देखिने तथ्ययुक्त आधार प्रमाण यी प्रतिवादीले दिन गुजार्न सकेको नदेखिँदा वादीका पति पिताले निजी तवरबाट बकसपत्रबाट प्राप्त गरेको सो कि.नं. ३०२ को जग्गामा बनेको घर अन्य अंशियारको अंश हक नलाग्ने हुँदा सो घरबाट अंश नदिलाएको समेत फैसलामा त्रुटि देखिन आएन ।
कि.नं. ३४७ र ३७९ को जग्गा राहुल विल्डवेललाई एक्काइस लाखमा बिक्री गरेकोले सो रकममा अंश दिलाई पाउँ भन्ने प्रतिवादीको अर्को जिकिरको सम्बन्धमा विचार गर्दा कि.नं. ३४७ र ३७९ को जग्गा मिति २०६०।७।२७ मा विल्डवेल प्रा.लि. लाई बिक्री गरेकोमा यी प्रतिवादीहरूले सो राजीनामा लिखत बदर गरिपाउँ भनी मुद्दा दिएकोमा सो मुद्दा ललितपुर जिल्ला अदालतबाट हदम्याद नाघी फिराद परेको भनी मिति २०६३।१२।२५ मा फिराद खारेज हुने ठहरेको भन्ने ललितपुर जिल्ला अदालतको २०६२ सालको दे.नं. ३९८/७९० को लिखत बदर मुद्दाको फैसलासमेतबाट देखिएको हुँदा लिखत बदर मुद्दाको रोहमा सम्पत्ति फिर्ता पाउँ भन्ने दाबी खारेज भई सम्पत्ति फिर्ता पाउने नठहरेपछि सो सम्पत्तिको मूल्यबाट अंश दिलाई पाउँ भन्ने दाबी कानूनसङ्गत नहुँदा रकमका सम्बन्धमा लिएको दाबी पुग्न नसक्ने ठहराएको पनि मनासिब देखिन आयो । खुद्रा पसल र मोटरसाइकल मानो छुट्टिएको मितिपछि वादीले खरिद गरेको हुँदा प्रतिवादीको अंश लाग्ने सगोलको सम्पत्ति नदेखिँदा उक्त सम्पत्तिबाहेक अन्य सम्पत्तिमा वादीले प्रतिवादीहरूबाट चार भागको एक भाग अंश पाउने ठहराएको पुनरावेदन अदालत, पाटनको मिति २०६४।०२।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । सहयोगी माननीय न्यायाधीशको फरक राय भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्ने माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय ।
मोटरसाइकल थान एक र चार लाख मूल्य बराबरको खुद्रा पसल सगोलको सम्पत्तिबाट खरिद गरी लिएको भन्ने प्रमाणको अभाव हुँदा सो सम्पत्ति बन्डा नलाग्ने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको सहयोगी माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय मनासिब हुँदा सो हदसम्म उक्त रायमा मेरो सहमति भई त्यसतर्फ कुनै विवेचना गरिरहन परेन । कि.नं. ३०२ को जग्गा जमुना महर्जनबाट नरराम महर्जनले मिति २०४९।०९।०७ मा बकसपत्रको माध्यमबाट प्राप्त गरेको देखिए पनि हाल अंशियारभित्रकै व्यक्तिको नाममा कायम भइरहेको हुँदा सगोलमा रहेको सम्पत्ति बन्डा नलाग्ने भन्न मिलेन । सगोलको सम्पत्तिबाट खरिद गरेको जग्गामा बनाएको घर वादीले निजी आर्जनबाट निर्माण गरेको पुष्टि गर्न नसकेको अवस्थामा त्यस्तो घर बन्डा नगर्ने ठहर्याएकोसमेत पुनरावेदन अदालतको फैसला मनासिब देखिएन । कि.नं. ३४७ र ३७९ को जग्गा वादीका पति नररामले आमा माया महर्जनबाट प्राप्त गरेको र सो जग्गा यी वादीले आफ्ना नाममा नामसारी गरी मिति २०६०।०७।२७ मा राहुल विल्डवेल प्रा.लि. लाई रू.२१,००,०००।- मा बिक्री गरेको हुँदा बिक्री नहुँदा बन्डा लाग्ने तर बिक्रीबाट प्राप्त भएको रकम भने बन्डा नलाग्ने भनी तर्क गर्न न्यायसङ्गत नहुने हुँदा उक्त जग्गा वादीले बिक्री गरी प्राप्त गरेको रकमसमेत बन्डा लाग्ने देखिएकोले कि.नं. ३०२ को जग्गा र सोमा बनेको घर, कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरी बैङ्कमा जम्मा गरेको रकमसमेत सगोलको सम्पत्ति देखिँदा सोसमेत बन्डा गर्ने ठहर गर्नुपर्नेमा सो सम्पत्ति बन्डा नगर्ने ठहराएको हदसम्म पुनरावेदन अदालतको फैसला नमिलेकोले केही उल्टी हुने ठहर्छ । सहयोगी माननीय न्यायाधीशको फरक राय रहेकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्ने माननीय न्यायाधीश श्री भरतराज उप्रेतीको राय ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसमेतको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्वान् अधिवक्ताहरू श्री ईश्वरीप्रसाद भट्टराई र श्री मंगल महर्जनले कि.नं. ३०२ को जग्गा र त्यहाँ निर्माण भएको घरसमेत सगोलकै सम्पत्तिबाट खरिद एवम् निर्माण भएको हो । त्यस्तै कि.नं. १७७ र १७९ का कित्ता जग्गाहरू सगोलमै भएको अवस्थामा विपक्षीका पिता, पति नररामको नाममा हस्तान्तरण भएकोमा उक्त जग्गाको हाल कायमी कि.नं. ३४७ र ३७९ को बिक्रीबाट आएको रकम रू. २१,००,०००।- (एक्काइस लाख) समेत बन्डा हुने सगोलको सम्पत्ति
हो । त्यस्तै विपक्षी जिम्माको चार लाख रूपैयाँ बराबरको पसल तथा मोटरसाइकलसमेत सगोलकै सम्पत्तिबाट जोडेको हुँदा उक्त सम्पत्तिहरूसमेत बन्डा लगाउन पर्नेमा सो सम्पत्ति विपक्षीको निजी आर्जन ठहराई बन्डा नगरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन । सगोलको सम्पत्ति अंश लुकाउने हिसाबले अन्यत्र दिई पुन: फिर्ता आएको हुँदा यो बन्डा लाग्ने सम्पत्ति हो । पहिले केही जग्गा बिक्री गरी बैङ्कमा रकम राख्ने र केही जग्गा पहिले बिक्री गरी पछि अंश मुद्दा दिएपछि आफ्ना नाममा नामसारी गराउने कार्यबाट वादीको व्यवहार दूषित देखिन आएको हुँदा माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय बदर गरी माननीय न्यायाधीश श्री भरतराज उप्रेतीको राय सदर कायम हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी उत्तम देवी महर्जनसमेतका तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री रक्षबहादुर क्षेत्री र श्री हरिशरण महर्जनले दाबीको कि.नं. ३०२ मा बनेको घर सगोलको सम्पत्तिबाट बनाएको होइन । विपक्षीहरूसँग २०३९ सालदेखि अलग बसी आएको हुनाले उक्त सम्पत्ति बन्डा लाग्ने होइन । कि.नं. ३०२ को जग्गाको स्रोत नै अंशियारबाहेक अन्य व्यक्ति भएकाले बन्डा हुने प्रश्न नै आउँदैन । कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरेउपर लिखत बदर मुद्दा परी लिखत बदर नहुने ठहरी फैसला भएको छ । लिखत बदरमा दाबी नपुगेपछि सो बिक्रीबाट आएको सम्पत्ति बन्डा हुने प्रश्न हुँदैन । तायदाती माग्ने आदेशमा नै वादी प्रतिवादीले हालैको बकसपत्रबाट प्राप्त गरे बाहेकको सम्पत्ति मात्र तायदाती माग गरेको छ । आफ्नो निजी ज्ञान, श्रम सीपबाट आर्जन गरेको घर जग्गा बन्डा नहुने हुँदा दाबीको घर, जग्गा, पसल, मोटरसाइकलसमेत बन्डा नलाग्ने ठहराएको पुनरावेदन अदालतको फैसला सदर गर्नु भएको माननीय न्यायाधीश रामकुमार प्रसाद शाहको राय सदर कायम हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक तथा प्रत्यर्थी दुवैतर्फका विद्वान् अधिवक्ताहरूको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीहरूबाट ४ भागको १ भाग अंश पाउँ भन्ने वादी दाबी भएकोमा तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये वादीको नाममा दर्ता रहेको कि.नं. ३०२ को जग्गा र सोमा बनेको घर, कि.नं. ३७९ र ३४७ को जग्गा राहुल विल्डेवल प्रा.लि. लाई बिक्री गरी प्राप्त गरेको रू. २१ लाख तथा चार लाख मूल्य बराबरको खुद्रा पसल र मोटरसाइकल वादीको निजी ठहरी बन्डा नलाग्ने र अरू सम्पत्तिमा वादीले प्रतिवादीहरूबाट ४ भागको १ भाग अंश पाउने ठहर गरेको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर गरी पुनरावेदन अदालत, पाटनबाट फैसला भएको देखिन्छ । पुनरावेदन अदालत, पाटनको उक्त फैसलाउपर प्रतिवादीहरूको तर्फबाट मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ संयुक्त इजलासमा पेस भएकोमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशबीच रायमा मतैक्य नभई फरक फरक राय व्यक्त भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा देहायका विवादित विषयमा निरूपण गर्नुपर्ने देखिन आयो ।
(१) वादी र प्रतिवादीहरू सगोलका अंशियारहरू हुन् होइनन् ?
(२) कि.नं. ३०२ को जग्गा र सोमा बनेको घर, कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरी प्राप्त गरेको रू. २१ लाख तथा चार लाख मूल्य बराबरको खुद्रा पसल र मोटरसाइकल वादीको निजी ठहरी बन्डा नलाग्ने भन्ने माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय वा कि.नं. ३०२ को जग्गा र सो मा बनेको घर, कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरी प्राप्त गरेको रू. २१ लाख सगोलको सम्पत्ति ठहर गरी वादी प्रतिवादीमा अंशभाग लाग्ने भन्ने माननीय न्यायाधीश श्री भरतराज उप्रेतीबाट व्यक्त भएको रायमध्ये कुन राय कायम हुनु पर्ने हो ?
२. पहिलो प्रश्नतर्फ विचार गर्दा मूल पुरूष राम महर्जन र निजको पत्नी माया महर्जनबाट जन्मेका सन्ततीहरूमा जेठो छोरा नरराम महर्जन, कान्छो छोरा नरेन्द्र महर्जन र छोरीहरूमा रामप्यारी महर्जन र रामकुमारी महर्जन भएकोमा छोरीहरूको विवाह भइसकेको र जेठो छोरा नरराम महर्जनको पत्नी वादी उत्तमदेवी र निजहरूबाट जन्मेका दुई छोराहरूमा नरहरी र कृष्णहरि भई वादी प्रतिवादीहरूमा नातामा दुवै पक्षबीच मुख मिली विवाद रहेको देखिँदैन । नरराम महर्जनको मृत्यु भएकोले निजले प्राप्त गर्ने ४ भागको १ भाग अंश माग गरी नरराम महर्जनको पत्नी तथा छोराहरूले दाबी गरेको देखिन्छ वादीहरूका पति पिता नररामलाई अंशबापत कि.नं. १७७ र कि.नं. १७९ को जग्गा आमा माया महर्जनबाट हक हस्तान्तरण गरिसकेको हुँदा अरू सम्पत्ति बन्डा गर्न कर नलाग्ने भनी प्रतिवादीहरूले अंश दिनबाट इन्कार गरी प्रतिवाद गरेको देखियो ।
३. प्रतिवादीहरूले सुरूमा प्रतिवाद गर्दा वादीहरूलाई अंश दिन इन्कार गरेको देखिएपनि सुरू जिल्ला अदालत र पुनरावेदन अदालतबाट वादीहरूले प्रतिवादीहरूबाट ४ भागको १ भाग अंश पाउने ठहरी फैसला भएकोमा भागतर्फ प्रतिवादीहरूको कुनै चुनौती रहेको देखिँदैन । कि.नं. ३०२ को जग्गा र सोमा बनेको घर, तथा कि.नं. १७७ , कि.नं. १७९ कित्ताकाट भई कायम हुन आएको कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरी प्राप्त गरेको रू. २१ लाख तथा चार लाख मूल्य बराबरको खुद्रा पसल र मोटरसाइकल वादीको निजी ठहरी बन्डा नलाग्ने ठहरेकोमा सोमा प्रतिवादीहरूले चुनौती दिई उक्त सम्पत्ति वादीको मात्र एकलौटी हुने होइन भनी जिकिर लिएबाट वादी प्रतिवादीहरू सगोलको अंशियार भएको तथ्यमा प्रतिवादीहरूले पुनरावेदनको रोहमा स्वीकार गरेको हुँदा सगोलको अंशियारामा अब कुनै विवाद नहुँदा विवाद नभएको कुरामा थप विवेचना गरिरहन परेन ।
४. अब माथि उल्लिखित दोस्रो प्रश्नतर्फ विचार गर्दा वादीको नाममा दर्ता रहेको कि.नं. ३०२ को जग्गा र सोमा बनेको घर, कि.नं. ३७९ र ३४७ को जग्गा राहुल विल्डेवल प्रा.लि. लाई बिक्री गरी प्राप्त गरेको रू. २१ लाख, चार लाख मूल्य बराबरको खुद्रा पसल, मोटरसाइकलसमेत वादीको निजी ठहर गरी बन्डा नलाग्ने ठहर्याएको सुरू तथा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदन अदालतको फैसला सो हदसम्म बदर गरी उक्त सम्पत्तिसमेत बन्डा हुनुपर्ने भनी प्रतिवादीहरूको पुनरावेदन जिकिर रहेको छ ।
५. वादीको जिम्मा रहेको चार लाख मूल्य बराबरको खुद्रा पसल र मोटरसाइकलसमेत सगोलकै सम्पत्तिबाट खरिद गरेको हो भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर रहेकोमा त्यसलाई सप्रमाण पुष्टि गर्न सकेको देखिँदैन । सगोलको सम्पत्ति हो भनी जिकिर लिने पक्षमाथि सो कुराको प्रमाण पुर्याउनु पर्ने दायित्वसमेत निहित रहने हुन्छ । उक्त खुद्रा पसल र मोटरसाइकल सगोलको सम्पत्तिबाट खरिद गरेको भन्ने नदेखिएकोले उक्त सम्पत्ति सगोलको भन्न नमिल्ने हुँदा सो सम्पत्तिमा प्रतिवादीहरूको अंश हक नलाग्ने भनी ठहर गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको नै देखिएको र तत् सम्बन्धमा संयुक्त इजलासका माननीय न्यायाधीशहरू बीचमा पुनरावेदन अदालतको फैसला सदर हुने भनी सो हदसम्म रायमा मतैक्य भएकोसमेत देखिँदा मतैक्य भएको विषयमा यस इजलासबाट थप कुनै विवेचना गरिरहन परेन ।
६. कि.नं. ३०२ को जग्गा र सोमा बनेको घर तथा कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरी प्राप्त गरेको रू. २१ लाख वादीको निजी आर्जन हुँदा उक्त सम्पत्तिमा प्रतिवादीहरूको अंशभाग नलाग्ने भन्ने माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको राय रहेको र उक्त विवादित सम्पत्ति सगोलको ठहर गरी वादी प्रतिवादीबीच अंशभाग लाग्ने भन्ने माननीय न्यायाधीश भरतराज उप्रेतीबाट राय व्यक्त भएको सन्दर्भमा बन्डा गर्नुपर्ने सम्पत्तिमा रायमा मतैक्य हुन सकेको नदेखिँदा माथि उल्लिखित विवादित सम्पत्ति वादीहरूको निजी आर्जन भई बन्डा नलाग्ने हो वा सगोलको सम्पत्ति भई वादी प्रतिवादीहरूमा अंशभाग लाग्ने हो भन्ने प्रश्न विचारणीय हुन आएको छ ।
७. कि.नं. ३०२ को ज.रो.०-३-२ जग्गा र सोमा बनेको घरका हकमा विचार गर्दा कि.नं. ३०२ जग्गा मिति २०४९।९।७ मा वादीहरूका पति पिता नरराम महर्जनले आफ्नो जेठी सासू जमुना महर्जनबाट हालैदेखिको बकसपत्रद्वारा प्राप्त गरेको
देखिन्छ । २०५२ सालमा नरराम महर्जनको मृत्युपश्चात् निजकी पत्नी वादी उत्तमदेवीले आफ्नो नाममा नामसारी गराई लिएको पाइयो । सोही जग्गा उत्तमदेवी महर्जनले नन्ददेवी महर्जनलाई मिति २०६०।७।२७ मा राजीनामा गरी दिई हक हस्तान्तरण गरेको देखिन्छ । नन्ददेवीको नामको सम्पत्ति पुनः निजबाट वादी उत्तमदेवी महर्जनले मानो छुट्टिएको मितिपश्चात् बकसपत्रबाट मिति २०६०।९।२३ गते प्राप्त गरी लिएको राजीनामा तथा बकसपत्रको लिखतसमेतबाट देखिन आएको छ ।
८. वस्तुतः वादीका पति पिता नरराम महर्जनले प्राप्त गरेको कि.नं. ३०२ को हकको स्रोत भनेको मिति २०४९।९।७ को निजको जेठी सासू जमुना महर्जनबाट प्राप्त हालैदेखिको बकसपत्र रहेको कुरामा विवाद छैन । यसरी कि.नं. ३०२ को जग्गा वादी उत्तमदेवीका पति नररामले आफ्नो जेठी सासूबाट बकसपत्रबाट प्राप्त गरेको देखिएको हुँदा उक्त सम्पत्ति वादीहरूका पति पिताको निजी आर्जनको सम्पत्ति रहेको देखियो । नरराम महर्जनको मृत्युपश्चात् निजकी पत्नी वादी उत्तमदेवीले आफ्नो नाममा उक्त जग्गा नामसारी गराई लिएको देखिँदा सो जग्गा पैतृक सम्पत्ति वा सगोलको सम्पत्तिबाट आर्जन वा खरिद गरी लिएको भन्न मिलेन । उक्त कि.नं. ३०२ को जग्गा अंशबन्डाको १८ नं. समेतले यी वादीको निजी हकको भई अन्य अंशियारको अंश हक नलाग्ने हुँदा सो जग्गाबाट प्रतिवादीहरूको अंश भाग नलाग्ने देखियो ।
९. अब सो जग्गामा बनेको घर सगोलकै आर्जनको रकमबाट बनाएकोले घर बन्डा हुनुपर्छ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर सम्बन्धमा विचार गर्दा विवादित जग्गा नै वादीले निजी तवरबाट बकसपत्रको माध्यमबाट प्राप्त गरेको देखिएको अवस्थामा सो जग्गामा बनेको घर प्रतिवादीसमेतको सगोलको रकमबाट वा सगोलमा हुँदा बनाएको भन्ने तथ्युक्त आधार प्रमाण यी पुनरावेदकहरूले गुजार्न सकेको अवस्था छैन । वादीले उक्त घरमा तला थप गर्न लाग्दा उक्त निर्माण कार्य रोकी पाउन यिनै प्रतिवादीहरूले ललितपुर जिल्ला अदालतमा मिति २०६१।२।२७ मा निवेदन गरेकोसमेत सुरू मिसिलबाट देखिएको छ । प्रतिवादीहरूको आर्जनबाट समेत घर निर्माण भएको हो भने वादी विरूद्ध सो निर्माण कार्य रोकी पाउन प्रतिवादीहरूले निवेदन दिनुपर्ने अवस्था सिर्जना हुँदैनथ्यो । यसकारण वादीले निजी तवरबाट बकसपत्रद्वारा प्राप्त गरेको सो कि.नं. ३०२ को जग्गामा बनेको घर सगोलको आयआर्जनबाट निर्माण भएको हो भन्ने आधार प्रमाण पुनरावेदक प्रतिवादीबाट पेस हुनसकेको नदेखिँदा उक्त घरमा निजहरूको अंश हक लाग्ने देखिएन ।
१०. कि.नं. ३४७ र ३७९ को जग्गा वादीले राहुल विल्डवेललाई एक्काइस लाखमा बिक्री गरेकोले सो रकममा अंश दिलाई पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर रहेको हुँदा सो सम्बन्धमा विचार गर्दा कि.नं. ३४७ र ३७९ को जग्गा मिति २०६०।०७।२७ मा वादीहरूले राहुल विल्डवेल प्रा.लि.लाई बिक्री गरेको देखिन्छ । वादीहरूले गरेको सो जग्गा बिक्री गरेउपर यी प्रतिवादीहरूले राजीनामा लिखत बदर गरिपाउँ भनी २०६२ सालको दे.नं. ३९८/७९० को लिखत बदर मुद्दा दायर गरेकोमा हदम्याद नाघी फिराद परेको भन्ने आधारमा ललितपुर जिल्ला अदालतबाट मिति २०६३।१२।२५ मा फिराद खारेज हुने ठहरी भएको फैसला अन्तिम भएर रहेको देखिएको छ । उक्त तथ्यलाई प्रतिवादीहरूले अन्यथा भन्न सकेको देखिँदैन । यसरी लिखत बदर मुद्दाको रोहमा दाबी खारेज भई प्रतिवादीले गरेको बिक्रीव्यवहार सदर ठहर भइसकेपछि सो सम्पत्तिको मूल्यबाट आएको नगद रकमबाट अंश दिलाई पाउँ भन्ने दाबी आफैँमा विरोधाभाषपूर्ण देखिई कानूनसङ्गत देखिन
आएन । जुन जग्गाको विषयमा प्रतिवादीहरूबाट पूर्वदाबी गरिएको हो सो दाबी नै खारेज भएको अवस्थामा सो जग्गा बिक्री गरी प्राप्त भएको रकमसमेत बन्डा हुनुपर्छ भनी पुनः अंश मुद्दाको रोहबाट प्रतिवादीहरूले लिएको दाबी पनि मनासिब देखिन आएन ।
११. तसर्थ उल्लिखित आधार कारणसमेत बाट कि.नं. ३०२ को जग्गा र सोमा बनेको घर, कि.नं. ३७९ र ३४७ को जग्गा बिक्री गरी प्राप्त गरेको रू. २१ लाख सगोलको ठहर गरी वादी प्रतिवादीमा अंश भाग लाग्ने भन्ने माननीय न्यायाधीश श्री भरतराज उप्रेतीबाट व्यक्त भएको राय मनासिब नहुँदा उक्त रायसँग सहमत हुन सकिएन । कि.नं. ३०२ को क्षेत्रफल
०-३-२-० जग्गा वादीको पति नररामले बकसपत्रबाट प्राप्त गरेको निजी आर्जनको जग्गा भएको देखिएको र सो जग्गामा बनेको घर सगोलको आर्जनबाट बनेको देखिने आधारभूत प्रमाण प्रतिवादीहरूले प्रस्तुत गर्न नसकेको हुँदा अन्य अंशियारको अंश हक लाग्ने नभएको, कि.नं. ३७९ र ३४७ को जग्गा बिक्रीका सम्बन्धमा परेको लिखत बदर मुद्दा खारेज हुने ठहरेकोले सो जग्गा बिक्रीबाट प्राप्त रकममा प्रतिवादीले दाबी गर्न मिल्ने नदेखिएको तथा मोटरसाइकल र वादीले सञ्चालन गरेको चार लाख बराबरको खुद्रा पसलसमेतको सम्पत्ति सगोल सम्पत्ति नदेखिँदा सो सम्पत्तिबाहेक अन्य सम्पत्तिमा वादी दाबीबमोजिम चार भागको एक भाग अंश पुनरावेदक प्रतिवादीहरूबाट वादीले पाउने ठहर्याएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६२।२।२७ को फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४।२।१५ को फैसला सदर हुने गरी माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहबाट व्यक्त भएको राय मनासिब हुँदा उक्त राय सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा हामी सहमत छौं ।
स.प्र.न्या.कल्याण श्रेष्ठ
न्या. जगदीश शर्मा पौडेल
इजलास अधिकृतः सुरेशराज खनाल
इति संवत् २०७२ साल फागुन १३ गते रोज ५ शुभम् ।