शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६५२ - अंश चलन

भाग: ५८ साल: २०७३ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७२।९।२२।४

 

मुद्दाः अंश चलन

 

०६९-CI-०३९४

पुनरावेदक / वादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुमनकुमार प्रधान

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुरेन्द्रकुमार प्रधानसमेत

 

०६९-CI-०३९३

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुवर्णकेशरी प्रधान

विरूद्ध

प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुमनकुमार प्रधान

 

०६९-CI-०३९२

पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुरेन्द्रकुमार प्रधान

विरूद्ध

प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.२१ ज्यावहाल बस्ने सुमनकुमार प्रधान

 

सगोलमा छँदा प्राप्त आम्दानीको स्पष्ट विवरण र सो कुरा प्रमाणित हुने खालका प्रमाणको अभावमा ट्याक्सी टेम्पोको दैनिक आम्दानी यति नै हो भनी अनुमान गर्नु न्यायसङ्गत नहुने ।

(प्रकरण नं.५)

वस्तुतः बन्डा लाग्ने सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिले त्यस्तो सम्पत्ति के कसरी प्राप्त गरेको हो, सो सम्पत्ति सगोलकै आय आर्जनबाट खरिद गरेको वा एकासगोलको खति उपतिबाट जोडेको हो भनी तथ्ययुक्त प्रमाण पेस गरी पुष्टि हुनु आवश्यक हुन्छ । आफ्नो सिप र प्रयासबाट निजी तवरमा प्राप्त गरेको कुनै सम्पत्ति प्राप्त गर्नेको निजी नै मान्नुपर्ने हुँदा सोतर्फको वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर मनासिब भएको भन्न मिल्ने नदेखिने ।

(प्रकरण नं.६)

 

वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता चन्द्रमणी पौडेल

प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता सुरेश प्रधान

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :

मा. जि. न्यायाधीश श्री सुदर्शन राज पाण्डे

पुनरावेदन तहमा फैसला गर्ने :

माननीय न्यायाधीश श्री डा.कुलरत्न भुर्तेल

माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल

 

फैसला

न्या.सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को धारा ९(१) बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

बाजे हरेन्द्रकुमारको छोरा सुवर्णकुमार प्रधान मेरो बुबा र आमा सुवर्णकेशरी प्रधानको तर्फबाट दुई दाजुभाइ र दुई दिदीबहिनी जन्म भएका जेठो सुरेन्द्रकुमार प्रधानको विवाह भइसकेको छ । कान्छो म फिरादी हुँ मेरो विवाह भएको छैन । दिदीबहिनीहरूमा जेठी राजेश्वरीको विवाह भएको छ । कान्छी सुनिता प्रधानको विवाह भएको छैन । मैले बुबा तथा दाजुसँग अंश माग्दा म अंश पनि दिन्न बन्डापत्र पनि गर्दिन भनेकोले घर व्यवहार चलाउन पनि समस्या परेको र बाबुआमाले पनि मलाई राम्रोसँग खान लाउन नदिएकोले बाध्य भई यो फिराद दिन आएको छु । मिति २०६३।११।२९ मा मेरो चित्त बुझाउन बुबाआमाले अंश बुझेको भरपाई गरिदिएका भए पनि उक्त भरपाई विपक्षी दाजु र कान्छी दिदीको सहमति बिना गरेको र उक्त भरपाई कागजमा मैले पाउनु पर्ने अंश के कति पाउने सम्बन्धमा स्पष्ट उल्लेख नगरेको हुँदा उक्त अंश बुझेको भरपाई कागज बदर गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशबन्डाको १, २, २०, २१, २२ र २३ नं. बमोजिम प्रतिवादीहरूबाट सम्पूर्ण चल अचल पैत्रिक तथा सगोलका सम्पत्तिको तायदाती फाँटवारी मागी सबै सम्पत्तिको ५ भागको १ भाग मैले पाउन अंश छुट्टाई चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र ।

वादीलाई खान नदिई घरबाट निकाला गरेको होइन । जेठो छोराको सधैं झैझगडा गर्ने व्यवहारले गर्दा वादीले बन्डापत्र गरौं भनेर सधैं भनी रहेकाले निजको चित्त बुझाउनका लागि मिति २०६३।१।२९ मा एउटा अंश भरपाईको कागज गरी दिएकोसम्म 

हो । अंश भरपाई बदर गरेर अंशबन्डा गर्न हाम्रो सहमति नै छ । जेठा छोराले हाम्रो वास्ता नै नगरेकाले निजको अंश भाग छुट्याई पाऊँ । हामी बाबुआमालाई यिनै वादीले पालन पोषण गर्ने हुँदा निजको अंश हक छुट्टिए पनि हामी निजसँगै नै बस्न चाहन्छौं । हाम्रो अंश हक जिउनी सम्पूर्ण हाम्रो शेषपछि निजले उपभोग गरेमा हाम्रो मन्जुर छ । सम्पत्ति बन्डा गर्दा हामी बाबुआमाले कमाएको मात्र नभई प्रतिवादीमध्येका जेठा छोरा सुरेन्द्र प्रधानले आर्जन गरेको चल अचल सम्पत्ति र निजको श्रीमतीका नाममा सगोलको सम्पत्तिबाट खरिद गरेको ३ वटा ट्याक्सीहरू पनि बन्डा लगाई पाऊँ । निजले ट्याक्सीहरू बेचबिखन गरी अरूलाई हक हस्तान्तरण गरेको भए सोहीबमोजिमको हामीले पाउने जति रकम जेठो छोराले पाउने अंश भागबाट कट्टा हुने गरी हाम्रो हकमा बन्डा छुट्याई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुवर्ण केशरी, सुमिता, सुवर्णकुमार प्रधानसमेतको संयुक्त प्रतिउत्तर पत्र ।

हामी अंशियार एकासगोलमा बसी आएकोमा बयोवृद्ध बाबुआमाको कुनै आयस्रोत नभएकाले वा आमा, भाइ, बहिनीलाई १६ वर्षको उमेरदेखि विभिन्न पसल, होटल, कम्पनी तथा कार्यालयहरूमा नोकरी गरी पालन पोषण गरी आएको थिएँ । मेरो विवाह भइसकेपछि हाम्रो दयनीय अवस्था देखेर ससुरालीले व्यापार व्यवसाय गर्न आर्थिक सहयोग गरी व्यापार व्यवसाय गरी निजहरूलाई पालन पोषण गरी आएको हो । भाइ सुमनकुमार प्रधानले मेरोसमेत समान अंश हक लाग्ने पिताको नाममा दर्ता कायम रहेको कि.नं.१७२७ को जग्गा आफ्नो भाग पर्नेभन्दा बढी लिई रजिष्ट्रेसन पारित गरी लिएको हुँदा मिति २०६३।११।२० र नं.३९४५(क) को अंश बुझको भरपाई बदर गरी उक्त घरजग्गामध्ये नरम गरम मिलाई ५ भागको १ ग विपक्षीले पाउनु पर्ने ठहर गरी इन्साफ पाउँ भन्ने सुरेन्द्रकुमार प्रधानको प्रतिउत्तर पत्र ।

प्रतिवादीहरू सगोलमा रहँदा निजहरूसँग रहेको मिटरवाला टेम्पो बिक्री गरी खरिद गरिएका ट्याक्सी बिक्री गरी आएको रकम रू.८,५०,०००।- र विवादित कि.नं.१७२७ को घरजग्गासमेतबाट २ अंशियारहरूको विवाह खर्च परसारी बाँकी सम्पत्तिबाट ५ भागको १ भाग अंश वादीले पाउने ठहर्छ । प्रतिवादी सुरेन्द्रकुमारबाट निजको श्रीमतीको नाममा गएको सेयर तथा निजको नाममा रहेका बैंक खाताको रकम निजहरूको निजी आर्जनको भएकोले उक्त चल सम्पत्तिसमेत बन्डा हुनुपर्छ भन्ने हदसम्म वादी दाबी पुग्न सक्दैन । तायदाती फाँटवारीमा ऋण भनी देखाएको रकमका सम्बन्धमा पछि साहुको उजुर पर्दा ठहरेबमोजिम निर्णय हुने नै हुँदा प्रस्तुत मुद्दामा त्यस सम्बन्धमा निर्णय गर्न मिलेन भन्नेसमेत व्यहोराको सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।४।३१ मा भएको फैसला ।

विपक्षीको जिम्माको सम्पूर्ण नगद रकम सेयरसमेत चल अचल सम्पत्ति बन्डा गरिनु पर्नेमा बन्डा गर्नुपर्ने सम्पत्ति बन्डा नगरी मोहनबहादुर श्रेष्ठले बयानमा देखाएको ८ लाख ५० हजार मात्र बन्डा हुने ठहर गरेको फैसला सो हदसम्म उल्टी गरी सम्पूर्ण चल अचल सम्पत्ति बन्डा गरिपाउँ भन्ने सुवर्णकुमार प्रधानसमेतको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

विपक्षी दाजु भाउजू जिम्माको सम्पूर्ण नगद रकम सेयरसमेत चल अचल सम्पत्ति बन्डा गरिनु पर्नेमा नगरेको हदसम्मको सुरूको फैसला बदर गरी विपक्षीसँग रहेको उल्लिखित सम्पूर्ण चल सम्पत्ति र सम्पूर्ण नगद रकम बन्डा गर्नुपर्नेमा केवल मोहनप्रसादको बयानमा देखिएको ८ लाख ५० हजार मात्र बन्डा गरेको फैसला सो हदसम्म उल्टी गरी चल अचल सम्पत्ति बन्डा गरिपाउँ भन्ने वादी सुमनकुमार प्रधानको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

काठमाडौं जिल्ला अदालतबाट मैले उठान गरेको विषयवस्तुहरूलाई नजरअन्दाज गरी मलाई हराई विपक्षी पिता र माताको जिम्मा रहेको चल अचल सम्पत्ति सम्पूर्ण बन्डा नगरेको तथा निज विपक्षी कानूनतः मिति २०६३।११।२९ को लिखतले भिन्न भइसकेको व्यक्तिले श्रीमतीको दाइजो पेवा र निजी आर्जनको सम्पत्ति बिक्री गरी आएको रकम एकासगोलका पिता सुवर्णकुमारले नै बुझी लिएकोमा सगोलको सम्पत्ति मानी हामीले नै रू.८,५०,०००।- बुझी लिएको अनुमान गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकिर साथै यस पुनरावेदन जिकिरबमोजिम इन्साफ पाउँ भन्ने प्रतिवादी सुरेन्द्रकुमार प्रधानको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।

यसमा एकासगोलका प्रतिवादी सुरेन्द्रकुमार प्रधानको श्रीमतीको नाउँको सेयर र बैंक खाताको रकम बन्डा नगरेको र दुवै पक्षको पुनरावेदन परेकाले सुरू फैसला फरक पर्न सक्ने हुँदा अ.बं.२०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलका लागि दुवै पक्षहरूलाई पुनरावेदनहरू परस्पर सुनाई ६० दिनको समय दिई मेलमिलापको लागि लगाउको मुद्दाहरूसमेत मेलमिलाप केन्द्रमा पठाई दिनु भन्ने पुनरावेदन अदालतबाट भएको आदेश ।

तायदाती फाँटवारीमा उल्लिखित कि.नं.१७२७ को घरजग्गाबाट अविवाहित दुई जना अंशियारको विवाह खर्च परसारी ५ खण्डको १ खण्ड अंश वादीले पाउने ठहर गरेको हदसम्म काठमाडौं जिल्ला अदालतबाट मिति २०६७।४।३१ मा भएको फैसला मिलेको देखिँदा सो हदस्मम सदर हुने र ट्याक्सी बिक्री गरी प्राप्त रू.८,५०,०००।- प्रतिवादी सुरेन्द्रकुमार प्रधान जिम्मा भएको मिसिलबाट देखिँदा निजबाट ५ भागको १ भाग छुट्याई चलन चलाई दिनुपर्नेमा सम्पूर्ण प्रतिवादीबाट त्यति खण्ड छुट्याई चलन चलाई दिने ठहर गरेको हदसम्म सो फैसला मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको फैसला ।

हामी ५ जना अंशियार रहेको कुरामा मुख मिलेकै छ । छोरी सुमिता र सुमनकुमार अविवाहित अंशियार हुन् भने अन्य हामी ३ जना विवाहित अंशियार भएको हुनाले विवाह खर्च पर सारी बाँकी सम्पत्ति बन्डा गरी ५ भागको १-१ भाग सबै अंशियारलाई दिलाउनु पर्नेमा ५ भागको १-१ भाग सम्पत्ति पाउने गरी फैसला गरेकोमा हाम्रो चित्त बुझेकै छ । हाम्रो परिवारमा आम्दानीको मुख्य स्रोत भनेको साबिकमा टेम्पोको आम्दानी र पछि ट्याक्सीको आम्दानी नै हो । हाल ती गाडी बिक्रीको रकम नै विवादमा परेको अवस्था 

छ । यस्तो अवस्थामा म आमा सुवर्ण केशरीले आफ्नो माइती दाजुबाट प्राप्त गरेको कि.नं.१७२७ र १६२० को घरजग्गासमेत बिक्री गरी छोराकै लागि लगानी गरी छोरालाई आफ्ना खुट्टामा उभिन सक्ने बनाई सकेपछि त्यहि छोराले नै हामी वृद्धवृद्धालाई र सानै उमेरका भाइबहिनीलाई अंश नै नदिने सम्पत्तिबाट नै विमुख पार्ने उद्देश्यले सम्पूर्ण सम्पत्ति आफ्नो कब्जामा लिई आफ्ना श्रीमतीको कुरामात्र सुनी ससुरालीतर्फ लगी हस्तान्तरण गर्ने काम गरेको कुरा मिसिलबाट प्रस्ट देखिएको अवस्थामा अत्यन्त न्यून रकमलाई मात्र बन्डायोग्य रकम मानी बन्डा गरेको कुरा नमिलेको हुँदा टेम्पोबाट प्राप्त रकम रू.४८,६०,०००।- र ट्याक्सी बिक्रीबाट प्राप्त रू.१३,५०,०००।- सुन र सुनका गहना र विपक्षीको नाउँमा रहेको सेयरसमेत बन्डायोग्य सम्पत्ति भएको हुँदा उक्त सम्पत्तिसमेत बन्डा लगाई पाउँ भन्ने व्यहोराको प्रतिवादी सुवर्णकुमार प्रधानसमेतको यस अदालतमा परेको पुनरावेदन ।

मेरो नाउँमा पहिले पुरानो १ टेम्पो खरिद गरी सोलाई डेण्टपेण्ट गरी नयाँ बनाई केहि नाफा लिई बिक्री गरी सो रकमले अर्को टेम्पो खरिद गरेको, मसँग एकै पटक ६ वटा टेम्पो हुँदै नभएको र मेरो नाउँमा साबिकदेखि हाल तक कुनै पनि ट्याक्सी 

छैन । मेरो श्रीमती रीतादेवीको नाउँमा निजको पिताले खरिद गरी दिएको ट्याक्सी चल्नै नसक्ने गरी बिग्री ग्यारेजमा थन्की रहेको अवस्थामा मेरी श्रीमतीले आफ्नो पिताको नाउँमा नामसारी गरी ससुराले मर्मत गरी उक्त ट्याक्सी बिक्री गरी आएको रकममा मर्मत गर्न लागेको रकम कटाई बाँकी रकमसमेत मेरो पितालाई बुझाएकोले सोको मूल्याङ्कनबिना मिसिल संलग्न तथ्य प्रमाणको विरूद्ध फिराद दाबीभन्दा बाहिर गई पुनरावेदक सुरेन्द्रको नाउँको ट्याक्सी मबाट मेरो श्रीमती र मेरो श्रीमतीबाट निजको पिताको नाउँमा नामसारी गरेको भनी काठमाडौं जिल्ला अदालतले गरेको त्रुटिपूर्ण फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला बदर गरी आमाको नाउँमा खरिद गरेको टेम्पो बिक्रीबाट प्राप्त रकम तथा टेम्पो सञ्चालनबाट प्राप्त आमाको नाउँमा बैंकमा बचत गरेको रकम आमाले खरिद गरेको विभिन्न बैंक तथा वित्तिय संस्थाको सेयरबाट समेत मैले अंश पाउने ठहर गरिपाउँ भन्ने व्यहोराको प्रतिवादी सुरेन्द्रकुमार प्रधानको यस अदालतमा पर्न आएको पुनरावेदन ।

पिता माताले सगोलमा छँदा किनी दिएको टेम्पोहरू प्रतिस्थापन नहुँदासम्म टेम्पोको दैनिक आम्दानी कम्तिमा रू.१,५००।- हुने त्यसअनुसारले महिनाको रू.४५,०००।- हुने र वर्षको रू.५,४०,०००।- हुने देखिन्छ । यसरी ९ वर्ष सञ्चालन गरेको रकम रू.४८,६०,०००।- हुन आउँछ । यसरी आम्दानी भइरहेकोमा सो कुनै पनि आम्दानी हामीले पाउन सकेका छैनौं सम्पूर्ण आम्दानी जति प्रतिवादी सुरेन्द्रकुमारले आफ्ना ससुरालीमा लगी राखी दिने र आफैँले विभिन्न बैंकमा आफ्ना खाता खोली गोप्यरूपमा राखी हामीलाई जानकारी नदिने गरेको हो । यसरी टेम्पोको आम्दानी मात्र रू.४८,६०,०००।- देखिन गएकोमा फैसलाबाट हामीले मात्र रू.८,५०,०००।- को बन्डा पाउने गरी भएको फैसलामा मेरो चित्त बुझेको छैन र न्याय पर्नसमेत सकेको छैन साथै प्रतिवादी सुरेन्द्र र निजका छोरीका नाममा लिएका विभिन्न कम्पनीका सेयर कित्ताहरूसमेत बन्डा लगाउनु पर्नेमा त्यसतर्फ बोल्दै नबोली भएको फैसला मिलेको छैन । टेम्पोको आम्दानी रू.४८,६०,०००।- र प्रतिवादी र निजकी छोरीका नाउँमा रहेका सेयरसमेत बन्डा गरी सोहीबमोजिम म वादीले १ भाग अंश पाउने ठहर इन्साफ गरिपाउँ भन्ने वादी सुमनकुमार प्रधानको यस अदालतमा परेको पुनरावेदन ।

नियमानुसार पेसी सूचीमा चढी इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको पुनरावेदनसहित मिसिल सामेल कागज अध्ययन गरी पुनरावेदक वादी सुमनकुमार प्रधानको तर्फबाट विद्वान्‌ अधिवक्ता श्री चन्द्रमणी पौडेलले प्रतिवादी सुरेन्द्र प्रधान जिम्मा भएको ट्याक्सीको वास्तविक मूल्यभन्दा कम मूल्यमा मात्र अंश भाग लाग्ने र निजका छोरीहरूको नाउँमा कायम रहेका विभिन्न कम्पनीका सेयरहरू बन्डा नलाग्ने ठहर गरेको फैसला मिलेको छैन भनी बहस प्रस्तुत गर्नुभयो । त्यसैगरी पुनरावेदक प्रतिवादी सुरेन्द्रकुमार प्रधानको तर्फबाट विद्वान्‌ अधिवक्ता श्री सुरेश प्रधानले मेरो पक्षको नाममा कुनै पनि ट्याक्सी नरहेको र उक्त ट्याक्सीहरू मेरो पक्षको श्रीमतीको बाबुले खरिद गरी दिएको हो । त्यसलाई समेत सगोलको सम्पत्ति भनी बन्डा लाग्ने गरी भएको फैसला नमिलेकोले उल्टी हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

उपर्युक्त बहस जिकिर सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ वा छैन र पुनरावेदक वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन सो सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. यसमा विपक्षीहरूबाट ५ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने पुनरावेदक वादीको फिराद दाबी र मेरो समान अंश हक लाग्ने पिताका नाम दर्ता रहेको कि.नं.१७२७ को घरजग्गामा वादीले आफ्नो अंश भागभन्दा बढी पर्ने गरी अंश बुझेकोले सो अंश बुझेको भरपाई बदर गरी उक्त घरजग्गाबाट ५ भागको १ भाग मात्र वादीले अंश पाउनु पर्ने भन्ने प्रतिउत्तर जिकिर रहेकोमा तायदातीमा उल्लिखित कि.नं.१७२७ को घरजग्गा र ट्याक्सी बिक्रीबाट प्राप्त रू.८,५०,०००।- बाट अविवाहित अंशियारको विवाह खर्च पर सारी बाँकी हुन आउने सम्पत्तिबाट ५ भागको १ भाग सम्पत्ति वादीले अंश पाउने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट फैसला भएको देखियो । उक्त फैसलाउपर वादी प्रतिवादीहरूको पुनरावेदन अदालतमा पुनरावेदन परी पुनरावेदन अदालत, पाटनबाट कि.नं.१७२७ को घरजग्गाको हकमा सुरू सदर हुने र रू.८,५०,०००।- को हकमा प्रतिवादी सुरेन्द्र प्रधानबाट ५ भागको १ भाग वादीले पाउने ठहर गरेको फैसलामा चित्त नबुझी वादी प्रतिवादीहरूको यस अदालतसमक्ष पुनरावेदन परी निर्णयार्थ पेस भएको देखियो ।

३. बुबा सुवर्णकुमार प्रधान र आमा सुवर्णकेशरी प्रधानको तर्फबाट दुई दाजुभाइ सुरेन्द्रकुमार प्रधान र सुमनकुमार प्रधान, दुई दिदीबहिनीमा राजेश्वरी र सुमिता प्रधान भएकोमा जेठी छोरी राजेश्वरीको विवाह भई ५ जना अंशियारमध्ये सुमनकुमार प्रधान र सुमिता प्रधानको विवाह हुन बाँकी रही अंशियारहरूका बीच विधिवत् अंशबन्डा हुन बाँकी रहेको तथ्यमा वादी प्रतिवादीहरूको मुख मिली विवाद रहेको देखिँदैन । कि.नं.१७२७ को घरजग्गा बन्डा लाग्ने ठहर गरेउपर पनि सुरू र पुनरावेदन अदालतको फैसला दुवै पक्षले स्वीकार गरी त्यसउपर कुनै प्रतिवाद गरेको देखिएन ।

४. प्रतिवादी सुरेन्द्रकुमार प्रधानको जिम्मामा रहेको ट्याक्सी बिक्री गरेबापतको रकम रू.८,५०,०००।-  नभई रू.१३,५०,०००।– हो । ट्याक्सी सञ्चालन गरेर प्राप्त रकम र ट्याक्सी बिक्री गरी प्राप्त रकमका साथै प्रतिवादीका नाउँमा रहेको बैंक ब्यालेन्स, निज र निजको छोरीको नाममा रहेको विभिन्न कम्पनीका सेयरहरूसमेत बन्डा लाग्ने सम्पत्ति हो । सो सबै सम्पत्ति बन्डा लाग्ने गरी फैसला भएको छैन भन्ने पुनरावेदक वादीको र प्रतिवादीमध्येका आमाको नाममा बैंकमा बचत भएको रकम, आमाले खरिद गरेका विभिन्न कम्पनीका सेयरसमेतबाट अंश भाग हुनुपर्नेमा मेरो नाउँमा हुँदै नभएको ट्याक्सी बिक्री गरी प्राप्त गरेको भनिएको रकम बन्डा गर्ने गरी भएको फैसला बदर भागी छ भन्ने पुनरावेदक प्रतिवादीको भनाई रहेको पाइयो ।

५. वादी प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित अचल सम्पत्ति कि.नं.१७२७ को घरजग्गासम्म सगोलको अंश लाग्ने सम्पत्ति भएको पुष्टि भई सुरू र पुनरावेदन अदालतबाट भएको फैसलातर्फ दुवै पक्षको कुनै जिकिर नरहेको र ट्याक्सी बिक्री गरी प्राप्त गरेको रकम सम्बन्धमा वादी प्रतिवादीको भिन्दाभिन्दै जिकिर रहेको सन्दर्भमा वादी प्रतिवादीहरू एकासगोलमा छँदाको अवस्थामा घर व्यवहार चलाउन ६ वटा टेम्पो खरिद गरेको भन्ने वादी प्रतिवादीहरूकै फिराद र प्रतिउत्तर लेखबाट खुल्न आएको देखियो । उक्त टेम्पोहरू प्रतिस्थापन भएपछि भाडावाल ट्याक्सी खरिद गरी प्रतिवादी सुरेन्द्रकुमार प्रधान जिम्माबाट निजको श्रीमती रीता श्रेष्ठका नाउँमा र निजबाट मोहनबहादुर श्रेष्ठको नाउँमा नामसारी भई मोहनबहादुर श्रेष्ठले अन्य व्यक्तिलाई बिक्री गरेको भन्ने मिसिल प्रमाणबाट देखिन आयो । सगोलमा छँदा किनी दिएका टेम्पोहरू प्रतिस्थापन गरी ट्याक्सी ल्याएको र उल्लिखित ट्याक्सीहरू २०६० सालदेखि सञ्चालनमा आई दैनिक रू.९००।- का दरले भएको आम्दानीसमेत बन्डा लाग्ने सम्पत्ति हो भन्ने वादी र प्रतिवादीमध्येका सुवर्णकुमार, सुवर्णकेशरी र सुमिता प्रधानको जिकिर रहेको देखिन्छ । सगोलमा छँदा कुन मितिमा के कति मूल्यमा टेम्पोहरू खरिद गरिएको हो ति टेम्पोहरूबाट दैनिक के कति आम्दानी हुने गरेको थियो भन्ने आधार प्रमाण मिसिल कागजबाट देखिँदैन । यसका साथै पुनरावेदक वादीले ट्याक्सी सञ्चालनबाट हुने दैनिक आम्दानीको विवरण आफ्नो पुनरावेदन जिकिरमा उल्लेख गरेबाहेक सो कुरा पुष्टि हुने किसिमका अन्य तथ्य प्रमाण पेस गरेकोसमेत देखिँदैन । यसरी सगोलमा छँदा प्राप्त आम्दानीको स्पष्ट विवरण र सो कुरा प्रमाणित हुने खालका प्रमाणको अभावमा ट्याक्सी टेम्पोको दैनिक आम्दानी यति नै हो भनी अनुमान गर्नु न्यायसङ्गत हुँदैन । यसका अतिरिक्त मोहनबहादुर श्रेष्ठले अदालतमा उपस्थित भई गरेको कागजमा रीता देवीको नामबाट आफ्नो नाममा नामसारी गरेका बा. १ ज ५४३१, ५४१३ र ४४०२ नं. का ट्याक्सीहरू सुनिता श्रेष्ठसमेतको नाममा जम्मा रू.८,५०,०००।- मा नामसारी बिक्री गरेको हुँ भनी कागज गरेको देखिन्छ । सोबाहेक ट्‍याक्सी बिक्रीबापत प्राप्त रकम यति नै हो भनी यकिन हुने आधार खुलेको पाइँदैन । यसरी विवादित ट्याक्सीहरू पुनरावेदक प्रतिवादी सुरेन्द्रकुमारबाट तहतह हुँदै निजको श्रीमती र ससुराको नाउँमा हक हस्तान्तरण भएको र निजले मुद्दा पर्दापर्दैको अवस्थामा रू.८,५०,०००।- मा बिक्री गरेको भनी कागज गरेको देखिँदा अन्तत सगोलका ट्‍याक्सी बिक्रीबापतको रकम रू.८,५०,०००।- भएको र उक्त सम्पत्ति सगोलकै रहेको मान्नुपर्ने देखियो ।

६. वादी प्रतिवादीहरूका नाउँमा रहेको सेयर बैंक ब्यालेन्स सबै विवरणहरू निजहरूले तायदाती फाँटवारी पेस गर्दा खुलाउन सकेको देखिँदैन । तायदाती विवरण सुनी पाएपछि एक अर्को पक्षको नाउँमा रहेको भनिएका सेयर र बैंक ब्यालेन्स उल्लेख भए पनि उक्त सम्पत्ति सगोलको बन्डा गर्नुपर्ने सम्पत्ति भएको तथ्य मिसिल प्रमाणबाट पुष्टि हुन सकेको देखिन आउँदैन । वस्तुतः बन्डा लाग्ने सम्पत्ति हो भनी जिकिर लिने व्यक्तिले त्यस्तो सम्पत्ति के कसरी प्राप्त गरेको हो, सो सम्पत्ति सगोलकै आय आर्जनबाट खरिद गरेको वा एकासगोलको खति उपतिबाट जोडेको हो भनी तथ्ययुक्त प्रमाण पेस गरी पुष्टि हुनु आवश्यक हुन्छ । आफ्नो सिप र प्रयासबाट निजी तवरमा प्राप्त गरेको कुनै सम्पत्ति प्राप्त गर्नेको निजी नै मान्नुपर्ने हुँदा सोतर्फको वादी प्रतिवादीहरूको पुनरावेदन जिकिर मनासिब भएको भन्न मिल्ने देखिएन ।

७. यसरी तायदातीमा उल्लिखित कि.नं.१७२७ को घरजग्गा सगोलको सम्पत्ति देखिएको, सगोलको अवस्थामा खरिद गरेका टेम्पोहरू प्रतिस्थापन भई खरिद गरेका ट्याक्सीहरू सुरेन्द्रकुमार प्रधानका जिम्माबाट तहतह हुँदै मोहनबहादुर श्रेष्ठका नाममा नामसारी भई निजले समेत सुनिता श्रेष्ठलाई रू.८,५०,०००।- मा बिक्री गरेको भन्ने देखिएको र वादी प्रतिवादीहरूका नाममा भनिएका अन्य चल सम्पत्ति सगोलको बन्डा लाग्ने भन्ने पुष्टि हुन नआएकोले पुनरावेदन अदालत, पाटनको फैसला मनासिब देखिँदा वादी प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

८. अत: उल्लिखित तथ्य, विवेचना र आधार प्रमाणबाट सुरूको फैसला केही उल्टी गरी कि.नं.१७२७ को घरजग्गाबाट अविवाहित २ जना अंशियारको विवाह खर्च परसारी बाँकी रहन जाने घरजग्गाबाट पुनरावेदक वादी सुमनकुमार प्रधानले प्रतिवादीहरूबाट ५ भागको १ भाग अंश पाउने र पुनरावेदक प्रतिवादी सुरेन्द्रकुमार प्रधानको जिम्मामा रहेको ट्याक्सी बिक्री गरी आएको रू.८,५०,०००।– मध्ये सुरेन्द्र प्रधानबाट वादी सुमनकुमार प्रधानले ५ भागको १ भाग अंशबापत भराई पाउने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको मिति २०६८।८।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी प्रतिवादीहरूको पुनरावेदन निवेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम वादी सुमनकुमार प्रधानले ५ खण्डको १ खण्ड अंश पाउने ठहरी फैसला भएकोले निजले राख्नुपर्ने कोर्ट फी सुविधा पाई पुनरावेदन दर्ता गरेको देखिँदा कोर्ट फी रू.५,८५८।- र सोको १५ प्रतिशतले हुने रू.८७८।७० बन्डा छुट्याउँदा निजबाट असुलउपर गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लगत दिनू ------------१

प्रतिवादी सुरेन्द्रकुमार प्रधानले कोर्ट फी रू.५,५८५।- को १५ प्रतिशतले हुने रू.८७८।७० पुनरावेदन अदालत र यस अदालतमा पुनरावेदन गर्दा कोर्ट फी सुविधा पाई पुनरावेदन दर्ता गरेको देखिँदा उक्त दुवै रकम रू.१,७५७।४० निजबाट असुल गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लगत दिनू ------------२

प्रतिवादीहरू सुवर्णकेशरी प्रधान, सुवर्णकुमार प्रधान र सुनिता प्रधानले कोर्ट फी रू.५,५८५।- को १५ प्रतिशतले हुने रू.८७८।७० सुविधा पाई पुनरावेदन दर्ता गरेको देखिएकोले उक्त कोर्ट फी रकम निजहरूबाट असुल गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी पठाई दिनू -------------------------------------३

यसै लगाउको ०६९-RI-०३३० को अंश चलन मुद्दामा मुद्दा दोहोर्‍याई पाउँ भनी निवेदन दिँदा कोर्ट फी रू.११,४१७।३४ र सोको १५ प्रतिशतले लाग्ने रकम सुविधा पाई वादी सुवर्णकुमार प्रधान, सुवर्णकेशरी प्रधान र सुमिता प्रधानले निवेदन दर्ता गराई निस्सा नपाउने ठहरी फैसला भएकोले सोकोर्ट फी रकम निजहरूबाट असुलउपर गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लगत दिनू -----------------------४

यसै लगाउको ०६७-RI-०३२४ को अंश चलन मुद्दामा मुद्दा दोहोर्‍याई पाउँ भनी निवेदन दिँदा कोर्ट फी रू.११,५४१।- को १५ प्रतिशतले हुने रू.१,७३१।१५ कोर्ट फी सुविधा पाई प्रतिवादीहरू रीता देवी श्रेष्ठ प्रधान र सुरेन्द्र प्रधानले निवेदन दर्ता गराई निस्सा नपाउने ठहरी फैसला भएकोले उक्त कोर्ट फी रकम रू.१,७३१।१५ निजहरूबाट असुलउपर गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लगत दिनू -------५

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू --------------------------------------------------६

 

उक्त रायमा सहमत छु ।

न्या.जगदीश शर्मा पौडेल

 

इजलास अधिकृत : दिलीपराज पन्त

इति संवत् २०७२ साल पुस २२ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु