शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६५५ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७२।११।१२।४

०६८-CR-१०५१

 

मुद्दा : कर्तव्य ज्यान

 

पुनरावेदक / प्रतिवादी : रूपन्देही जिल्ला करैया गा.वि.स. वडा नं.६ घर भई हाल कारागार कार्यालय, तुलसीपुर, दाङमा थुनामा रहेका खड्कमान रानामगर

विरूद्ध

प्रत्यर्थी / वादी : होमबहादुर थापाको जाहेरीले नेपाल सरकार

 

न्यायकर्ताले इन्साफको रोहमा हेर्दा सबुत प्रमाणबाट दोषी देखिएको व्यक्तिलाई कानूनबमोजिमको सजाय गर्दा सजाय चर्को पर्ने  चित्तले देखेको अवस्थामा शुद्ध विवेक (Conscience) प्रयोग गर्न दिएको कानूनसम्मत अवस्था हो । कानूनको यो सुविधा मुद्दाका पक्षले माग गरेको आधारमा दिने र माग नगरेको अवस्थामा नदिने भन्ने हुँदैन । कानूनले न्यायकर्तालाई गरेको यस प्रकारको विश्वासलाई सावधानीका साथ प्रयोग गर्नुपर्दछ । विवेक प्रयोग गर्ने प्रयाप्त आधार हुनुपर्छ । आधारबिना गरिएको विवेकले न्यायिक अराजकता ल्याउन सक्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले ६० वर्ष उमेर नाघेको वृद्ध महिलालाई आँखा फुटाल्ने, मुक्का प्रहार गर्ने अनि भीरबाट लडाएर मार्ने यी पुनरावेदक प्रतिवादीमाथि विवेक प्रयोग गर्ने आधार र अवस्था देखिन आएन । विवेक प्रयोग गर्ने अवस्था नै नभएको प्रस्तुत वारदातमा पुनरावेदक प्रतिवादीलाई अ.बं १८८ नं. बमोजिम सजाय घटाउने मिल्ने अवस्था देखिन नआउने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय बिमला यादव र सूर्यबहादुर पाण्डे

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.

 

सुरू तहमा फैसला गर्ने :

माननीय जिल्ला न्यायाधीश श्री प्रभा बस्नेत

पुनरावेदन तहमा फैसला गर्ने :

मा. मुख्य न्यायाधीश श्री हरिराम कोइराला

माननीय न्यायाधीश श्री राजकुमार वन

 

फैसला

न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:-

गोरखा मनकामना गा.वि.स. वडा नं.४ स्थित ठाकुर पुलामीको पालेको पाखो जङ्गल पाखो सो पाखाको चिलाउनेको रूखमुनी उत्तर टाउको दक्षिण खुट्टा गरी घोप्टो अवस्थामा कन्याकुमारी तुम्सिङ थापाको मृतक लास रहेको, मृतक लासलाई उत्तानो पारी हेर्दा अनुहार रगतले लतपतिएको, शरीरको विभिन्न स्थानमा घाउचोट, मृतकको टाउकाको दायाँतर्फ निधार थेप्चिएको, टाउको पछाडि काटेको चोट देखिएको भन्नेसमेत व्यहोराको घटनास्थल तथा लास जाँच मुचुल्का ।

मेरी श्रीमती वर्ष ६० की कन्याकुमारी तुम्सिङ थापालाई मिति २०६६।८।१३ गतेका दिन गोरखा मनकामना गा.वि.स. वडा नं.४ स्थित कोप्चे वन भन्ने ठाउँमा सालको पात टिप्न गएको अवस्थामा गोरखा मनकामना दर्शन गर्न आएका रूपन्देही जिल्ला करैया गा.वि.स. वडा नं.६ बस्ने वर्ष २३ को खड्कमान रानामगरले ढुङ्गाले हानी भीरबाट लडाइँ कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको होमबहादुर थापाले जिल्ला प्रहरी कार्यालयमा दायर गरेको जाहेरी दरखास्त ।

मिति २०६६।८।१२ गते मेरो गाउँबाट मामाको छोरा मिनबहादुर थापाले ट्युसन पढ्ने विद्यार्थीहरूलाई गोरखा मनकामना दर्शनको लागि भ्रमण ल्याउने कार्यक्रम भएको हुँदा मसमेत सोही भ्रमण टोलीमा संलग्न भई आएको थिएँ । भोलिपल्ट बिहान आँबुखैरेनीमा बस राखी पैदल हिँडी मनकामना दर्शन गर्न प्रसादसमेत लिई मन्दिरमा आएका हौँ । मन्दिरमा भीड भएकोले आ-आफ्नो सुरमा लाइनमा बसी मन्दिरमा दर्शन गरी पसलमा गएर एक क्वाटर हर्डप्याग भन्ने रक्सी खाएको र त्यसपछि एक जना नचिनेका केटाले गाँजा खाउ भनेकाले मैले एक चिलिम गाँजा खाएको हुँ । उक्त गाँजा र रक्सीले मलाई नसा लागेपछि मेरो साथमा भएको मोबाइलसमेत हराएको र साथीहरूले समेत छाडी गइसकेकोले म फर्कनको लागि स्थानीय व्यक्तिहरूसँग बाटो सोध्दा उल्टो बाटो बताएकोले म जङ्गल तथा भीरतर्फ पुगेछु । पुनः सो ठाउँबाट फर्की मनकामना मन्दिरमा आई साधुलाई म जाने बाटो देखाई दिनु भन्दा स्थानीय व्यक्तिहरूसँग वादविवाद भई रक्सी र गाँजाको नसाले गर्दा एउटा मानिसलाई दुईवटा देख्न थालेँ । त्यसपछि म सो ठाउँबाट 

भागेँ । पछाडिबाट मानिसहरूले लखेटे जस्तो लाग्यो । बाटोमा आएको मोटरसाइकलले पनि मेरो पिछा गरेको जस्तो लागि त्यसलाई पनि मैले ढुङ्गाले प्रहार गर्दा निजहरूसँग मेरो केही समय वादविवाद भई निजहरूले मलाई कुटपिट गर्न आएकाले भाग्दै गर्दा ढुङ्गा पल्टिन गई जङ्गलमा पात टिपी रहेकी हाल नाम थाहा भएकी कन्याकुमारी तुम्सिङ थापालाई लाग्न गई घाइते भएकी र त्यसपछि मैले तेरै गाउँलेले गर्दा दुःख पाएको भन्दै निज महिलालाई हात मुक्काले ४/५ चोटी हानेको हुँ । त्यसपछि ती महिला छटपटाउँदै अन्दाजी २०० मिटर तल झरेकी हुन् । मैले हिर्काएको चोट पीडाबाट निजको मृत्यु भएको हो । मेरो शरीरमा भएको घाउचोट म भाग्ने क्रममा भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी खड्कमान राना मगरको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।

The most probable cause of death is asphyxia from back fall of tongue probably from fracture and displacement of mandible भन्ने व्यहोराको मृतक कन्याकुमारी तुम्सिङ थापाको पोस्टमार्टम रिपोर्ट ।

मिति २०६६।८।१३ गतेका दिन गोरखा मनकामना गा.वि.स. वडा नं.४ स्थित कोप्चेवनमा पात टिप्न गएकी जाहेरवालाकी वर्ष ६० की कन्याकुमारी तुम्सिङ थापालाई एक जना अपरिचित व्यक्तिले भीरबाट लडाइँ कुटपिट गरेको कुरा सुनी थाहा पाई घटनास्थलमा जाँदा बाटोदेखि अं.२०० मिटर तल भीर पाखोमा कन्याकुमारी तुम्सिङ मगरको लास देखेका हौँ । हाल नाम थाहा भएका रूपन्देही जिल्ला करैया गा.वि.स. वडा नं.६ बस्ने वर्ष २३ को खड्कमान रानामगरले निज कन्याकुमारी तुम्सिङ थापालाई सालको पात टिपी रहेको अवस्थामा हात मुक्का तथा ढुङ्गासमेतले हानी कर्तव्य गरी मारेको र निज खड्कमान रानामगरलाई घाइते अवस्थामा देखी नियन्त्रणमा लिन खोज्दा सो ठाउँबाट भागी गोठमा गई बसेको अवस्थामा नियन्त्रणमा लिन सफल भएका हौँ भन्नेसमेत व्यहोराको मौकामा बुझिएका जितबहादुर थापा, होमबहादुर थापा, टेकबहादुर थापा, लालबहादुर थापा, देवेन्द्र थापासमेतले गरी दिएको एकै मिलानको कागज ।

मिति २०६६।८।१३ गतेका दिन हाम्रो खर्कडाँडास्थित गोठमा धान झाट्ने खेताला भएकाले निजहरूलाई खाना दिई भाँडा धुने काम गरी रहेको अवस्थामा अं.१२:३० बजेको समयमा कोप्चे भीर जङ्गलमा मानिस रोए कराएको आवाज सुनी डिलबाट हेर्दा हाल नाम थाहा भएको खड्कमान रानामगरले दिदी नाता पर्ने कन्याकुमारी तुम्सिङ थापालाई भीरबाट लडाइँ रहेको र निज कन्याकुमारी भीरबाट लडेपछि सो ठाउँमा समेत गई निज खड्कमान रानामगरले हात मुक्कासमेतले हिर्काएको देखेकी हुँ । निजको कुटपिटको कारण कन्याकुमारी तुम्सिङ थापाको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको मौकामा बुझिएकी विष्णु थापाको कागज ।

प्रतिवादी खड्कमान रानामगरले मिति २०६६।८।१३ गतेका दिन गोरखा मनकामना गा.वि.स. वडा नं.४ स्थित कोप्चे भीर जङ्गलमा सालको पात टिपी रहेकी कन्याकुमारी तुम्सिङ थापालाई हात मुक्का तथा ढुङ्गासमेतले हानी कुटपिटसमेत गरी भीरबाट लडाइँ कर्तव्य गरी मारेको मिसिल संलग्न कागजातबाट पुष्टि हुन आएकोले निज प्रतिवादी खड्कमान रानामगरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. को कसुर अपराधमा सोही महलको १३(३) नं. बमोजिम सजाय हुन माग दाबी लिई पेस भएको वादी नेपाल सरकारले गोरखा जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ।

मिति २०६६।८।१२ गते मनकामना दर्शन गर्न भनी मामाको छोरा मिनबहादुर थापासँग मनकामनातर्फ गएको थिएँ । भोलिपल्ट बस आँबुखैरेनीमा राखी मनकामना मन्दिरतर्फ पैदलै गयौँ । मन्दिरमा भिड भएकोले सबैले आआफ्नो हिसाबले दर्शन गर्‌यौं । मन्दिरको दर्शन गरेपछि पसलमा गई एक क्वाटर हाडरक्सी खाई मोबाइल हराएको झोँकमा साथीहरूको साथ नलागी आफ्नै सुरमा हिँड्दै गर्दा जङ्गल र भीरतर्फ पुगेछु । त्यसपछि पुनः सो ठाउँबाट फर्की मनकामनामा आई साधुसँग बाटो देखाई दिन भन्दा निज र गाउँलेसँग वादविवाद भयो । म त्यहाँबाट भागेँ । डरैडरमा भाग्दा बाटोमा ढुङ्गा पल्टिन गई जङ्गलमा पात टिपिरहेको महिलालाई लागेको हो । ढुङ्गाले लागी लडी घाइते भएकी निज कन्याकुमारीनेर पुगी तेरै गाउँलेले गर्दा मैले दुःख पाएको भन्दै निज महिलाको दुवै आँखा फोरी आँखा निकाली शरीरमा ४।५ मुक्का हानी अन्दाजी २०० मिटर तल खसाई मारेको हुँ । जङ्गलमा पात टिप्दै गरेकी महिलालाई मार्न हुन्न भन्ने थाहा थियो । आवेसमा आई कुटपिट गरी कर्तव्य गरी मारेर गल्ती गरेँ । गरीबको छोरीलाई अनाहकमा मारेकोमा पछुतो लागेको छ । केही समय पाए २/४ लाख रूपैयाँ क्षतिपूर्तिसमेत दिन तयार छु । मौकामा भएको बयान व्यहोरा मेरै हो भन्नेसमेत व्यहोराको प्रतिवादी खड्कमान रानामगरले सुरू जिल्ला अदालतमा गरेको बयान ।

मृतक मेरो हजुरआमा नाताको मानिस हुनुहुन्छ । वारदातको दिन मृतक हजुरआमा वनमा पात टिप्न भनी जङ्गल जानु भएको थियो । मनकामनाको दर्शन गर्न आएका यात्रू प्रतिवादीले ढुङ्गा मुढा गरी कर्तव्य गरी मारेका रहेछन् । सबै गाउँलेले निज प्रतिवादीलाई ढुङ्गाले हाने र प्रतिवादीले पनि ढुङ्गाले हानी रहेको देखेको हुँ । मृतकको टाउकोमा चोट 

थियो । प्रतिवादीलाई कानूनबमोजिम सजाय होस् भन्नेसमेत व्यहोराको वादी पक्षका साक्षी देवेन्द्र थापाले सुरू अदालतमा गरेको बकपत्र ।

सुरू अदालतको आदेशानुसार प्रतिवादी खड्कमान रानामगरको स्वास्थ्य जाँच सम्बन्धमा पाटन अस्पतालका मानसिक डाक्टर कृष्ण गौतमबाट परीक्षण गराउँदा हाल औषधी खाइरहनु नपर्ने भन्ने जानकारी भएको भन्नेसमेत व्यहोराको कारागार कार्यालय, गोरखाको मिति २०६७।२।२ र मिति २०६७।१०।७ को पत्र मिसिल सामेल रहेको पाइन्छ ।

मिति २०६६।८।१३ मा भएको घटना हामीले आँखाले प्रत्यक्ष देखेका हौं । उक्त दिन दिउँसो हामीहरू गोठमा बसी भाँडा माझ्दै रहेकोमा जङ्गलको नजिकबाट रोई कराई गरेको आवाज सुनी के भएछ भनी हेर्दा प्रतिवादी खड्कमानले कन्याकुमारी तुम्सिङलाई भीरबाट गुल्टाउँदै तल लगेर बेस्सरी कुटेका थिए । उक्त कार्य देख्न नसकी हामीले गाउँलेहरूलाई हारगुहार गरी खबर गरेपछि गाउँलेहरू जाँदा कन्याकुमारीलाई मरी सकेकी रहिछन् । हेर्न डर लागेकोले घटना भएको ठाउँमा जान सकिनँ । प्रस्तुत घटना सम्बन्धमा भएको व्यहोरा यही हो भन्नेसमेत व्यहोराको घटनाको प्रत्यक्षदर्शी विष्णु थापाले गरेको बकपत्र ।

घटना भएको प्रत्यक्ष आफ्नो आँखाले देख्ने विष्णु थापाले मेरो बुढीलाई जङ्गलमा पात टिप्न गएकीमा जङ्गलमा प्रतिवादीले भीरबाट गुल्टाएर मारे भन्ने मैले सुनेपछि मेरो मन खिन्न भयो । मैले मन थाम्न सकिन । आँसु थाम्न पनि सकिन । म एकदमै आत्तिएँ । बेहोस जस्तै भएँ । त्यसैले मैले किटानी जाहेरी दिएको हुँ । अरू विस्तृत कुरा जाहेरीमा उल्लेख गरेको छु । प्रतिवादीलाई अभियोग मागबमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाला होमबहादुर थापाले सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।

वारदातको दिनमा म मेरो गोठमा थिएँ । माथिबाट साथीहरू कराउँदै तलतिर आएकोले के कसो भएको हो भनी सोध्दा पारी वनमा मान्छेलाई पिटिरहेको छ भनेकोले म पनि उनीहरूसँगै पारी वनतिर गएँ । पारी वनमा पुग्दा निज खड्‍कमान रानालाई 

देख्यौँ । निजलाई समाउन खोज्दा निज भीरबाट हामफालेर गोठभित्र पसी हामी जाँदा हँसिया हातमा लिई बसेका थिए । के कसो भएको भनी सोध्दा उसले हामीलाई हँसियाले हानेर मार्छु भनेकोले हामी पछि हटी प्रहरीलाई खबर गरी आउँदा मृतकको मृत्यु भइसकेको थियो । मृतकलाई निज खड्कमान रानामगरले कुटपिट गरी मारेको सुनेको हुँ । मौकाको कागज व्यहोरा मैले भनेबमोजिम भएको हो भन्नेसमेत व्यहोराको मौकामा कागज गर्ने वादी पक्षका साक्षी लालबहादुर थापाको बकपत्र ।

मिति २०६६।८।१३ गतेका दिन गोरखा मनकामना गा.वि.स. वडा नं.४ स्थित कोप्चे भीर जङ्गलमा सालको पात टिपी रहेकी कन्याकुमारी तुम्सिङ थापालाई खड्कमान रानामगरले हात मुक्का ढुङ्गासमेतले हानी कुटपिटसमेत गरी भीरबाट लडाइँ कर्तव्य गरी मारेको पुष्टि हुन आएको र निज प्रतिवादी मानसिक रोगी भन्ने पनि नदेखिएकोले निजले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(३) नं. बमोजिम कसुर गरेको मिसिल संलग्न कागज प्रमाणबाट प्रमाणित हुन आएकोले निजलाई सोही ऐन, महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको गोरखा जिल्ला अदालतबाट मिति २०६७।१२।७ मा भएको फैसला ।

गोरखा जिल्ला अदालतको फैसलामा चित्त बुझेन । प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा कसुर प्रमाणित गर्ने भार वादीको हुनेछ भन्ने उल्लेख भएको छ । प्रस्तुत मुद्दामा वादी पक्षले पेस गरेको कुनै सबुद प्रमाणबाट पनि म पुनरावेदक र मृतकबीच पूर्व चिनजान तथा रिसइवी भई मृतकलाई मैले ज्यान मार्नुपर्नेसम्मको कारण रहेको देखिँदैन । त्यसैगरी मृतकलाई मैले ज्यान मार्नको लागि कुनै षड्यन्त्र गरेको, योजना बनाएको, सोको लागि घातक हतियार लिई गएको तथा घातक हतियार प्रहार गरी ज्यान मारेको भन्ने कुरा कुनै कागज प्रमाणबाट 

देखिँदैन । घटना भएको भनिएको अवस्था र परिस्थितिलाई मध्यनजर गरी मलाई आरोपित कसुरमा कसुरदार ठहर गर्ने गरी भए गरिएको फैसला उल्टी बदर गरी उक्त घटनालाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. र ६ नं. को देहाय ५ अन्तर्गतको घटना ठहर गरी सोहीबमोजिम सजाय गरिपाउँ वा मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम न्यूनतम सजाय मात्र गर्ने गरी इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी खड्कमान रानामगरले पुनरावेदन अदातल, पोखरामा दायर गरेको पुनरावेदन पत्र ।

गोरखा जिल्ला अस्पतालको पत्रमा प्रतिवादी मानसिक रोगी भएको भनी अस्वस्थताको सिफारिस गरिएको र धुलिखेल अस्पतालमा औषधी गरिएको भन्नेसमेत देखिएको अवस्थामा सुरूको फैसला फरक पर्न सक्ने हुँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, पोखरालाई पेसीको जानकारी गराई नियमानुसार पेस गर्नु भनी पुनरावेदन अदालत, पोखराबाट भएको आदेश ।

प्रतिवादीले रक्सी तथा गाँजा सेवन गरी होस हवासमा रही मृतकको गाउँलेले गलत बाटो देखाई दुःख दिएको भन्ने जरियाबाट मृतकलाई कुटपिट गरी मार्ने उद्देश्यले मृतकको दुवै आँखा फोरी भीरबाट खसाई दिएको देखिँदा घटना ज्यादै नै क्रूर (Heinous) देखिएकोले यस्तो तथ्यगत प्रसङ्गमा प्रतिरक्षासम्बन्धी जिकिर पुग्न सक्ने देखिँदैन । अतः सुरू गोरखा जिल्ला अदालतले प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको मिति २०६७।१२।७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पोखराबाट मिति २०६८।९।३ मा भएको फैसला ।

गोरखा जिल्ला अदालत तथा पुनरावेदन अदालत, पोखरासमेतबाट मिसिल संलग्न कागज प्रमाणको मूल्याङ्कन नै नगरी घटना भएको अवस्था र परिस्थितिलाई मध्यनजर नगरी म पुनरावेदकलाई अभियोग माग दाबीबमोजिम कसुरदार ठहर गरी अधिकतम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरी भएको फैसला कानून, नजिर र न्यायका मान्य सिद्धान्तसमेत विपरीतको भएकोले उक्त फैसला उल्टी बदर गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५ नं. र ६ नं. को देहाय (५) बमोजिम वा अ.बं. १८८ नं. बमोजिम कम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी खड्कमान रानामगरले कारागार कार्यालय, काभ्रेपलाञ्चोकतर्फ यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो । पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री बिमला यादव र श्री सूर्यबहादुर पाण्डेले पुनरावेदक प्रतिवादीलाई सुरू तथा पुनरावेदन अदालतले गरेको सजाय चर्को 

भयो । पुनरावेदक प्रतिवादीले रक्सी र गाँजाको सेवनबाट आफ्नो होस गुमाई बाटोसमेत बिराई जङ्गल र भीरतर्फ गएको मिसिलबाट देखिन्छ । नसा चढेपछि प्रतिवादीले एउटा मान्छेलाई दुई वटा देख्न 

पुग्छन् । पछाडिबाट कसैले लखेटेको जस्तो भान हुन्छ र पुनरावेदक भाग्दै जाँदा ढुङ्गा पल्टिई जङ्गलमा पात टिपी रहेकी मृतकलाई लाग्न गई घाइते भएकी हुन् । घाइतेलाई निजकै गाउँले दुःख दिएको भनी ४/५ पटक हानेको र सो चोटले छटपटाउँदै २०० मि. तल झरी मृत्यु भएको हो । मृतक प्रतिवादीका बीच चिनजान तथा रिसइवी पनि थिएन । मृतकका गाउँलेले मृतकप्रति गरेको व्यवहारबाट र रक्सी र गाँजाको सेवनबाट प्रतिवादीले होस गुमाएको अवस्थामा वारदात हुन गएको प्रतिवादीलाई सजाय गरेको सुरू तथा पुनरावेदन अदालतको फैसला उल्टी गरी पुनरावेदकलाई भवितव्य ज्यानअन्तर्गत सजाय गरिपाउँ भनी बहस गर्नुभयो ।

विद्वान्‌ कानून व्यवसायीले गर्नुभएको बहसलाई ध्यानमा राखी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको सुरू गोरखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन मिसिल संलग्न कागजात हेरी निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा कोप्चे भन्ने वनमा सालको पात टिप्न गएकी मेरी श्रीमती कन्याकुमारी तुम्सिङ थापालाई मिति २०६६।८।१३ गते खड्कमान राना मगरले ढुङ्गाले हानी भीरबाट लडाइँ कर्तव्य गरी मारेकोले कारवाही गरिपाउँ भनी परेको जाहेरी दरखास्तको आधारमा प्रस्तुत मुद्दाको अनुसन्धान तहकिकात भएको पाइन्छ । मृतक कन्याकुमारीको लास भिरालो पाखोमा रहेको र मृतकको टाउको निधार थेप्चिएको, मुखको बायाँ भाग बाङ्गिएको, टाउको पछाडि काटेको, पिठ्युँ पछाडी छाला ददारिएको घाउ रहेको भन्नेसमेतको व्यहोराको लास जाँच प्रकृति मुचुल्काबाट देखिन्छ । प्रतिवादीले मौकामा र अदालतमा गरेको बयानमा मृतकका गाउँलेले दुःख दिएकोले भाग्ने क्रममा माथिबाट ढुङ्गा पल्टिँदा मृतकको छातीमा लाग्न गई निज पल्टिएको ठाउँमा आफूले दुःख पाएको रिसमा निज महिलाका दुवै आँखा फोरी ४/५ पटक हात मुक्काको हानेको चोटले छट्पटाउँदै गर्दा अं. २०० मि. तल खसेर मृत्यु भएको हो भनी कसुर स्वीकार गरेको पाइन्छ । प्रतिवादीको साबिती बयानलाई प्रत्यक्षदर्शी विष्णु थापाको बकपत्र, जाहेरवाला होमबहादुर थापाको किटानी जाहेरी र सोही व्यहोरा पुष्टि हुने गरी गरेको बकपत्र र लास प्रकृति मुचुल्काबाट समेत पुष्टि हुँदा प्रतिवादी खड्कमान राना मगरले मृतक कन्याकुमारी तुम्सिङ थापालाई ४।५ मुक्का हानी भीरबाट लडाइँ कर्तव्य गरी मारेको तथ्यमा विवाद देखिँदैन ।

३. अब पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको फैसला मिलेन । सजाय चर्को भयो । प्रस्तुत वारदात ज्यानसम्बन्धीको महलको ५ नं. र ६(५) नं. अन्तर्गतको भएकोले सोहीबमोजिम कमभन्दा कम सजाय गरिपाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर रहेको 

पाइन्छ । यस सम्बन्धमा विचार गर्दा सो महलको ५ नं. मा “ज्यान लिने इबिलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भनी उल्लेख भएको पाइन्छ । कुनै कार्य भवितव्यअन्तर्गत पर्नको लागि त्यस्तो कार्य मनसायरहित हुनुपर्छ, लापरवाहीका साथ त्यस्तो कार्य गरेको हुनुहुँदैन, कुनै काम कुरा गर्दा त्यसैद्वारा मानिस मर्न गएमा त्यस्तो कार्य भवितब्य ज्यानअन्तर्गत पर्दछ । तर, प्रस्तुत वारदात कर्ताले गर्न लागेको कुनै कामबाट मानिस मर्ला जस्तो नदेखिएको अवस्था भएको होइन । प्रतिवादीले कुनै अन्य काम कुरा गर्दा प्रस्तुत वारदात घटित भएको होइन । अपितु प्रतिवादीले कुटपिट गरी आँखा फुटाली दिएको र ४।५ मुक्का हानेको कारण छट्पटाउँदै भीरबाट लडी मृत्यु भएको देखिन्छ । प्रतिवादी कसुरमा साबित भई मौकामा र अदालतमा समेत बयान गरेको पाइन्छ । प्रतिवादीले मृतकको आँखासमेत निकाली सकेपछि ४।५ मुक्का हानी क्रूरताका साथ मारेको पाइन्छ । अन्य व्यक्तिको बदला लिन निर्दोष र आफ्नो दैनिकीमा रहेकी महिलामाथि क्रूरतापूर्वक गरिएको कार्य भवितव्यअन्तर्गत पर्न आएन । प्रतिवादीले सालको पात टिपिरहेकी मृतकलाई कुटपिट गरी रगतपच्छे पारी मुक्कासमेतले हानी भीरबाट लडाइँ दिएको कुरामा साबित भएको र प्रतिवादीको उक्त कार्य प्रत्यक्षदर्शी विष्णु थापाको बकपत्रबाट समेत पुष्टि भएको 

पाइन्छ । मृतकका गाउँलेले आफूप्रति गरेको बदला लिन मृतकलाई हानी मारेको भनी प्रतिवादीले आफ्नो बयानमा उल्लेख गरेको अवस्थामा प्रतिवादीलाई सुरू अदालत तथा पुनरावेदन अदालतले गरेको सजाय अन्यथा भएको देखिएन ।

४. पुनरावेदकले अ.बं. १८८ नं. अन्तर्गत सजाय घटाई पाउँ भन्ने पुनरावेदन जिकिरका लिएको पाइन्छ । मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. मा “… अपराध गर्दाको अवस्था विचार गर्दा कसुरदारलाई ऐनबमोजिमको सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ” भनी उल्लेख भएको पाइन्छ । यस नम्बरलाई न्यायकर्ताको विवेकमा छोडेको पाइन्छ । न्यायकर्ताले इन्साफको रोहमा हेर्दा सबुत प्रमाणबाट दोषी देखिएको व्यक्तिलाई कानूनबमोजिमको सजाय गर्दा सजाय चर्को पर्ने  चित्तले देखेको अवस्थामा शुद्ध विवेक (Conscience) प्रयोग गर्न दिएको कानूनसम्मत अवस्था हो । कानूनको यो सुविधा मुद्दाका पक्षले माग गरेको आधारमा दिने र माग नगरेको अवस्थामा नदिने भन्ने हुँदैन । कानूनले न्यायकर्तालाई गरेको यस प्रकारको विश्वासलाई सावधानीका साथ प्रयोग 

गर्नुपर्दछ । विवेक प्रयोग गर्ने प्रयाप्त आधार हुनुपर्छ । आधारबिना गरिएको विवेकले न्यायिक अराजकता ल्याउन सक्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले ६० वर्ष उमेर नाघेको वृद्ध महिलालाई आँखा फुटाल्ने, मुक्का प्रहार गर्ने अनि भीरबाट लडाएर मार्ने यी पुनरावेदक प्रतिवादीमाथि विवेक प्रयोग गर्ने आधार र अवस्था देखिन आएन । विवेक प्रयोग गर्ने अवस्था नै नभएको प्रस्तुत वारदातमा पुनरावेदक प्रतिवादीलाई अ.बं १८८ नं. बमोजिम सजाय घटाउने मिल्ने अवस्था देखिन आएन ।

५. अत: पुनरावेदक प्रतिवादी खड्‍गमान रानामगरले मृतक कन्याकुमारी तुम्सिङ थापालाई क्रूर तथा अमानवीय तवरले कुटपिट गरी मारेको पुष्टि भएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको सुरू गोरखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पोखराको मिति २०६८।९।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । थुनामा रहेका पुनरावेदक प्रतिवादीलाई फैसलाको प्रतिलिपिसहितको जानकारी सम्बन्धित कारागारमार्फत दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : लोकनाथ पराजुली

इति संवत् २०७२ साल फागुन १२ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु