शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६७२ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७३।३।२०

०६९-CR-०६५१

 

मुद्दाः- कर्तव्य ज्यान ।

 

पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, गोर्खे गा.वि.स., वडा नं. ४ घर भई केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका दानविक्रम थापासमेत 

विरूद्ध

प्रत्यर्थी / वादी : मिलन राईको जाहेरीले नेपाल सरकार

 

दण्ड सजायको १ नं. अन्तर्गत सजायबाट छुट पाउनका लागि कसुरदार वा प्रतिवादीको मानसिक अवस्था आरोपित आपराधिक कार्य गर्दाको बखत त्यस्तो कार्यको प्रकृति र परिणाम थाहा नपाउने गरी बिग्रेको हुन अनिवार्य हुन्छ । अन्यथा प्रतिवादीलाइ यो प्रावधानअन्तर्गतको सजायमा छुटको सुविधा वा उन्मुक्ति प्राप्त हुन सक्ने नहुने ।

(प्रकरण नं. ६)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता विमला यादव

प्रत्यर्थी / वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

 

सुरू फैसला गर्नेः- 

मा. जिल्ला न्यायाधीश श्री लेखनाथ घिमिरे

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री केशरीराज पण्डित 

माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल

 

फैसला

न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन दर्ता भई निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :  

काठमाडौंं जिल्ला, काठमाडौंं महानगरपालिका, वडा नं. ३५ फूलबारी नगरमार्गमा मिति २०६६।५।४ गते दिउँसो अन्दाजी १४:३० बजेको समयमा सार्वजनिक स्थानमा दानविक्रम  थापाले सुमित्रा राईलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाई आफू पनि घाइते भई स्थानीय मानिस र प्रहरीको सहयोगमा दुवैजनालाई तत्कालै उपचारको लागि अस्पताल लगेको घटनास्थलमा रगतजस्तो पदार्थ लागेको छुरी बरामद भएको तथा रगतका टाटाहरू घटनास्थलमा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल जाँच मुचुल्का ।

मिति २०६६।५।४ गते दिउँसो अन्दाजी १४:३० बजेको समयमा सार्वजनिक स्थानमा दानविक्रम थापाले सुमित्रा राईलाई धारिलो छुरा प्रहार गरी सख्त घाइते बनाई आफू पनि घाइते भई स्थानीय मानिस र प्रहरीको सहयोगमा दुवैजनालाई तत्कालै उपचारको लागि काठमाडौंं मेडिकल कलेजमा लगिएकोमा मिति २०६६।५।५ गते सुमित्रा राईको उपचारको क्रममा मृत्यु भएको भन्ने व्यहोराको घटनास्थल लास जाँच मुचुल्का ।

मेरो दिदी सुमीत्रा राईलाई दानबिक्रम थापाले पहिलेदेखि एकोहोरो रूपमा मनपराई मसँग बिहे नगरेमा तलाई पनि मार्छु म पनि मर्छु भन्नेजस्ता धाकधम्की दिँदै कुटपिटसमेत गदै आइरहेकोमा मिति २०६६।५।४गते अन्दाजी दिउँसो१४:३०बजेको समयमा सार्वजनिक स्थानमा दानविक्रम थापाले नियोजित तरिकाले पूर्वयोजना बनाई दिदी सुमीत्रा राईलाई शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाई काठमाडौंं मेडिकल कलेजमा उपचारका क्रममा सोही कारणबाट मृत्यु भएको कारण निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिलन राईको जाहेरी दरखास्त ।

मृतक सुमित्रा राईको धारिलो हतियारले छाती र पेटमा लागेको चोटको कारणबाट मृत्यु भएको भन्नेसमेत व्यहोराको लास पोस्टमार्टम प्रतिवेदन ।

दानबिक्रम थापाले सुमित्रा राईलाई धारिलो हतियार छुरा प्रहार गरी सख्त घाइते बनाई आफूपनि घाइते भई उपचारको लागि अस्पताल लगेकोमा मिति२०६६।६।५गते निज दानविक्रम थापालाई दाखिल गरेको भन्ने प्रहरी प्रतिवेदन ।

मेरो र सुमित्रा राईको चिनजान केही वर्षअगाडि काम गर्ने सिलसिलामा भएकोमा चिनजानको सम्बन्ध प्रेममा बदलिई बिहे गर्नेसम्मको कुरासमेत भएकोमा निज नख्खुमा डेरा सरेपश्चात्‌ सुमित्रा मदेखि टाढा हुँदै मैले गरेको फोनसमेत उठाउन छाडेको हुनाले निज काम गर्ने किष्टल फाइनान्सबाट कोठामा फर्कने क्रममा एकपटक वैशाखतिर सातदोबाटोमा भेटी बिहे गरौं भन्दा नमान्दा निजसँग मेरो झगडासमेत भएको र मिति २०६६।५।४ गते अब भएन मलाई धोका दिनेलाई म त्यसै छाड्दिन भन्ने  मनमा भई नैकापस्थित दिदीको घरबाट मैले केही समय पहिले सुन्धाराबाट किनेको छुरा बोकी निज सुमित्रा राई काम गर्ने तीनकुने स्थित किष्टल फाइनान्समा गई निज आएपश्चात्‌ पिछा गरी कोटेश्वरको फूलबारी मार्ग पुगेपछि भेटी मैले हामी बिहे गरौं भन्दा नमानेकी र उल्टै मलाई तथानाम गाली गलौज गरेकी हुनाले मलाई रिस उठी मेरो साथमा रहेको छुरीले निजको शरीरको विभिन्न भागमा प्रहार गरी घाइते भएका हुँदा अब निज सुमित्रा मर्ने भई मन्ठानेर आफू पनि मर्छु भनी आफैँंले घाँटीमा सोही छुराले प्रहार गरी आत्महत्याको प्रयास गरेको हुँ सुमित्रा राईको उपचारको क्रममा मृत्यु भएको हो, निज सुमित्राले मलाई धोकादिई बिहे गर्न नमानेको कारणबाट मैले निजको हत्या गरेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी दानविक्रम थापाले अनुसन्धानप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

दानविक्रम थापाले एक्कासी सुमित्रा राइलाई शरीरको विभिन्न भागमा पटक पटक छुरा प्रहार गरी घाइते भई बेहोस अवस्थामा मृतक र अभियुक्त दुवैजनालाई प्रहरी टोली अइपुगी उपचारको लागि लगेकोमा घाइतेमध्ये सुमित्रा राईको उपचारको क्रममा मृत्यु भएको भन्ने देखेका सुनेका हौं भन्नेसमेत व्यहोराको घटना विवरण कागज ।

प्रतिवादी दानविक्रम थापाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरीतको कसुर अपराध गरेको हुँदा निजलाई सोही महलको १३(१)नं.अनुसार सजाय हुन भन्नेसमेत व्यहोराको अभियोग माग दाबी ।

म उक्त सोधिएका प्रश्नको विषयमा जवाफ दिन्न, बोल्दिन, घटनास्थल मुचुल्काका विषयमा बोल्दिन, चुपलागेर बस्छु भन्नेसमेत व्यहोराको प्रतिवादी दानविक्रम थापाले अदालतमा गरेको बयान ।

प्रतिवादीको मौकाको बयान, मृतकको Autopsy report प्रतिवादीको नामको घाउजाँच केस फाराम, बरामदी मुचुल्कासमेतको आधारमा प्रतिवादीकै कर्तव्यमा परी सुमित्रा राईको मृत्यु भएको तथ्य पुष्टि हुँदा प्रतिवादी दानविक्रम थापालाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्व सहित जन्म कैद हुने ठर्हछ । प्रतिवादी Major depressive disorder with suicidal attempt भन्ने रोगबाट ग्रसित रहेको भन्नेसमेत देखिँदा कानूनबमोजिमको सजाय गर्दा चर्को पर्ने देखिएकोले अ.बं.१८८ नं.बमोजिम कैद वर्ष १२ हुने गरी भएको सुरू काठमाडौंं जिल्ला अदालतको मिति  २०६७।८।१५ को फैसला ।

वादी पक्षले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुने गरी प्रमाणको भार पूरा गर्न नसकेको अवस्थामा घटना भएको भनिएको समय तथा सोभन्दा ३/४ वर्ष पहिलादेखिको म पुनरावेदकको मानसिक अवस्थालाई दृष्टिगत तथा मध्यनजर गरी मलाई आरोपित कसुरमा कसुरदार ठहर गर्दै अधिकतम (१२ वर्ष) कैद सजाय गर्ने गरी गरिएको फैसला उल्टी गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दानविक्रम थापाको पुनरावेदन अदालत, पाटनमा मिति २०६९/१/२१ मा पर्न आएको पुनरावेदन जिकिर ।

यसमा वारदातको अवस्था प्रकृति र पुनरावेदक प्रतिवादीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको अदालतमा भएको बकपत्रसमेतलाई दृष्टिगत गर्दा काठमाडौंं जिल्ला अदालतको मिति २०६७/८/१५ को फैसला विचारणीय देखिँदा अ.बं.२०२ नं. को प्रयोजनार्थ पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई सूचना दिइ पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६९/२/३० को आदेश ।

सुरू काठमाडौंं जिल्ला अदालतको ०६७।८।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०६९।४।९ को फैसला ।

म पुनरावेदकको मानसिक रोग Mental illness (psychosis) को लक्षण तथा असर र घटना प्रकृति जसमा पीडित र पीडकबीच प्रेम सम्बन्ध हुनुको साथै कुनै प्रकारको पूर्व रिसइवी तथा मार्नुपर्नेसम्मको कारण नभएको तथा प्रेमिकाको घाँटी तथा छातीमा छुरीले पटक पटक प्रहार गरेको र सोही छुरीले आफूलाई पनि पटक पटक प्रहार गरेको र पीडित र पिडक दुवै एक ठाउँमा चउरमा लडिरहेको अवस्थामा रहेको प्रेमिकालाई मात्र मार्न नखोजी आफू पनि मर्न खोजेको समेतको अवस्थालाई हेर्दा सो घटना घटाउने व्यक्ति सामान्य मानसिक अवस्थाको नभएको भन्ने कुरा स्वतःपुष्टि भएको अवस्था छ । यस अवस्थाको घटनामा पनि म पुनरावेदकलाई अधिकतम सर्वस्वसहित जन्म कैदको सजाय गरी १२ वर्ष कैद गर्ने गरी राय व्यक्त गरी गरिएको जिल्ला अदालतबाट भएको फैसला र सो फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसलासमेत दण्ड सजाय महलको १नं. प्रतिकूल हुँदा बदर गरी म पुनरावेदकलाई कुनै सजाय नगर्ने गरी फैसला गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको सर्वोच्च अदालतमा गरेको पुनरावेदन जिकिर ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री विमला यादवले मेरो पक्ष मानसिक रोगी हो, वारदातभन्दा पहिलेदेखि नै उनी मानसिक रोगको उपचारको क्रममा थिए, वारदातपूर्व पनि प्रतिवादीले मृतकसमेतलाई लिई आत्महत्या गर्ने प्रयास गरेको भन्ने जाहेरीमै उल्लेख भएबाट पनि मेरो पक्षको मानसिक अवस्था ठीक नरहेको भन्ने देखिएको छ, चिकित्सकले मेरो पक्षलाई खानु भनी दिइएको औषधिबाट पनि मेरो पक्ष मानसिक रोगी भन्ने देखिएको छ, मानसिक अस्पतालको उपचारबाट पनि उनी मानसिक रोगी भन्ने देखिएको छ । यस स्थितिमा मेरो पक्षलाई दण्ड सजायको १ नं. ले सजायपूर्ण उन्मुक्ति दिनु पर्नेमा १३(१) नं. ले सर्वश्वसहित जन्मकैद हुने ठहराएको फैसला न्यायोचित नभएकाले अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई उक्त फैसला उल्टी गरी निजलाई पूर्ण उन्मुक्ति दिलाई पाउँ भन्नेसमेतको बहस गर्नुभयो । 

२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी दानविक्रम थापाले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुर अपराध गरेको हुँदा निजलाई सोही महलको १३(१)नं.अनुसार सजाय हुन भन्नेसमेत व्यहोराको अभियोग माग दाबी भएको प्रस्तुत मुद्दामा वादी दाबीअनुसार प्रतिवादीलाई ज्यानसम्बन्धी महलको१३(१) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराएको सुरू फैसलाउपरको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परी पुनरावेदन अदालतबाट सुरू सदर फैसला भएबाट सो फैसलाउपर पुनरावेदनपत्रमा प्रतिवादीले मुख्यरूपमा आफू मानसिक रोगी रहेको र घटना हुनुभन्दा ३/४ वर्ष पहिलादेखि सिलिगुडीमा जँचाई मानसिक रोगको औषधि सेवन गरिआएको, मानसिक अस्पतालबाट जाँच गर्दा डा.मोहनराज श्रेष्ठले दिनु भएको रिपोटमा Major depressive disorder with suicidal attempt भन्ने  रोगबाट पीडित भएको भन्ने उल्लेख गर्नु भएको र प्रेमीले प्रेमिकाको घाँटी, छातीमा छुरीले पटकपटक प्रहार गरेको र छुरीले आफूलाई पनि प्रहार गरेकोबाट घटना घटाउने व्यक्ति सामान्य मानसिक अवस्थाको नभएको भन्ने देखिएकोमा पुनरावेदकलाई सर्वस्वसहित जन्मकैदको सजाय गरी १२ वर्ष कैद गर्ने गरी राय व्यक्त गरिएको फैसला दण्ड सजायको महलको १ नं. को प्रतिकूल हुँदा पूर्ण उन्मुक्ति दिलाई पाउँ भन्नेसमेत व्यहोराको सर्वोच्च अदालतमा गरेको पुनरावेदन जिकिर देखिन्छ । 

३. पुनरावेदकको उक्त पुनरावेदन जिकिरबाट प्रतिवादीले प्रहार गरेको छुरीको चोटबाट मृतक सुमित्रा राईको ज्यान मर्न गएको भन्ने वादी पक्षको अभियोग दाबीलाई प्रतिवादीले अस्वीकार गरेको अथवा उक्त तथ्यलाई अन्यथा भन्न सकेको देखिँदैन । मृतकको मृत्यु प्रतिवादीले प्रहार गरेको छुरीको चोटबाट भएको हो भन्ने तथ्यमा कुनै शंका गरिरहन पर्ने अवस्था देखिएको छैन । 

४. आफू मानसिक रोगी हुँ भनी प्रतिवादीले अनुसन्धानको क्रममा र अदालतमा समेत जिकिर लिएको अवस्था छैन, प्रतिवादीले जिकिर नलिएको विषयमा पछि पेस भएको निवेदन र पुनरावेदनको जिकिरअनुसार स्वीकार्य नै हुनुपर्छ भन्न मिल्दैन, यसरी पछि मानसिक अस्पतालमा उपचार गराएको भन्ने आधारमा सजायबाट उन्मुक्ति मिल्ने होइन । घटना गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक अवस्था बिग्रेको रहेछ भन्ने आधार कारण प्रमाण कुनै पेस गर्न सकेको छैन । मृतकलाई मार्छु भनी पहिले किनेर दिदीको घरमा राखेको छुरी ल्याई मृतकलाई पर्खी पिछा गरी हमला गरी पटक पटक छुरी प्रहार गरी मृतकको हत्या गरिएको अवस्था देखिँदा डिप्रेसनको औषधि सेवन गर्ने आधारमा मात्र दण्ड सजायको १ नं. को सुविधा उपलब्ध हुन सक्ने अवस्था देखिँदैन ।

५. मृतकउपर छुरीको साङ्घातिक चोट प्रहार गर्ने पुनरावेदक प्रतिवादीले प्रस्तुत पुनरावेदनमा मुख्यरूपमा आफू मानसिक रोगी भएकोले दण्ड सजायको १ नं. बमोजिम कुनै सजाय नगर्ने गरिपाउँ भन्ने जिकिर लिनु भएकोमा मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. मा यस प्रकारको प्रावधान रहेको छः- “कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खत बात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्तैन । मगज बिग्रेको वा बौलाएका व्यक्तिलाई सिकाई कसैले कुनै अपराध गर्न लगाएको रहेछ भने सो सिकाउनेलाई निजले आफैँ अपराध गरेसरह कानूनबमोजिम पूरा सजाय हुन्छ” ।

६. दण्ड सजायको १ नं. अन्तर्गत सजायबाट छुट पाउनका लागि कसुरदार वा प्रतिवादीको मानसिक अवस्था आरोपित आपराधिक कार्य गर्दाको बखत त्यस्तो कार्यको प्रकृति र परिणाम थाहा नपाउने गरी बिग्रेको हुन अनिवार्य हुन्छ । अन्यथा प्रतिवादीलाई यो प्रावधानअन्तर्गतको सजायमा छुटको सुविधा वा उन्मुक्ति प्राप्त हुन सक्ने हुँदैन ।

७. अदालतमा बयान गर्दा प्रतिवादीले घटना वारेमा केही उल्लेख नगरी चुप रहने हक (Right to silence) को उपभोग गरेको देखिन्छ । आफूले दण्ड सजायको १ नं. बमोजिम सजायमा छुट पाउनु पर्ने हो भनी निजले प्रमाण ऐन, २०३१ को दफा २७बमोजिमको कुनै जिकिर अदालतसमक्ष लिएको देखिँदैन । निजले वारदातको १३ दिनपछि अनुसन्धान अधिकारीसमक्ष गरेको ६ पृष्ठ लामो बयानमा आफ्नो शारीरिक तथा मानसिक अवस्था ठीक छ भन्दै अनुसन्धान अधिकृतले सोधेका सबै प्रश्नको जवाफ क्रमबद्धरूपले दिई घटनाको पृष्ठभूमि घटना हुँदाको अवस्थासमेत स्पष्ट खुलाई दिएको देखिएको छ । सो बयान व्यहोराबाट समेत घटनापश्चात्‌ निजको मानसिक अवस्था आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नहुने गरी बिग्रेको रहेछ भन्ने निष्कर्षमा पुग्न मिल्ने देखिँदैन ।

८. प्रतिवादीले सुरू अदालतमा बयान गर्दासमेत मेरो शारीरिक र मानसिक अवस्था ठीक छ भनी लेखाएको पाइन्छ । पछि निजको तर्फबाट मानसिक जाँच गराई पाउँ भनी निवेदन परेपछि ०६६।११।१७ मा प्रतिवादीको मानसिक अवस्था परीक्षणको लागि मानसिक अस्पताल पठाउने आदेश भई उक्त अस्पतालबाट निजको परीक्षण हुँदा Major depressive disorder with suicidal attempt रोगबाट पीडित रहेको भनी परीक्षण प्रतिवेदन प्राप्त भएको र परीक्षण गर्ने चिकित्सकले अदालतमा उपस्थित भई सो प्रतिवेदनलाई समर्थन गर्दै बकपत्र गरेकोसमेत देखिएको छ । चिकित्सकको उक्त प्रतिवदेन र बकपत्रसमेतबाट पनि पुनरावेदक प्रतिवादीको मानसिक अवस्था वारदात हुँदाका बखत अर्थात्‌ निजले मृतकउपर छुरा प्रहार गर्दाको बखत सो कार्यको प्रकृति र परिणाम थाहा नहुने गरी बिग्रेको रहेछ भन्ने प्रमाणित हुन सकेको पाइँदैन ।

९. यसरी मिसिल संलग्न कुनै पनि प्रमाण कागजातहरूबाट प्रस्तुत मुद्दाको घटना हुँदा अर्थात्‌ प्रतिवादीले मृतकउपर छुराको साङ्घातिक चोट प्रहार गर्दा प्रतिवादीको अवस्था निजले उक्त कार्यको प्रकृति र परिणाम थाहा नहुने गरी बिग्रेको रहेछ भन्न मिल्ने अवस्था देखिएन । तसर्थ प्रतिवादीको पुनरावेदन जिकिरअनुसार निजले मुलुकी ऐन दण्ड सजायको महलको १ नं. को उन्मुक्ति वा सुविधा प्राप्त गर्न सक्ने अवस्थाको प्रस्तुत मुद्दा नदेखिएकोले प्रतिवादीलाई ज्यानसम्बन्धी महलको१३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहराएको सुरू फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, पाटनको फैसलालाई अन्यथा भन्न मिलेन ।

१०. अ.बं ११८ नं. अनुसार १२ (बाह्र)वर्ष कैद सजाय गर्ने सुरू तथा पुनरावेदन अदालतको राय मनासिब हो होइन तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष र सुरू अदालतमा बयान गर्दासमेत आफ्नो मानसिक अवस्था ठीक छ भनी उल्लेख गरेपनि मुद्दा कारवाहीकै क्रममा निजको तर्फबाट मानसिक जाँचको माग गरी निवेदन पेस भएको, सोअनुसार विशेषज्ञबाट प्रतिवादीको मानसिक अवस्थाको जाँच गराउँदा प्रतिवादी Major depressive disorder with suicidal attempt रोगबाट ग्रस्त रहेको भन्ने देखिएको र पुनरावेदनपत्रसाथ पेस गरेको प्रमाणहरूबाट प्रतिवादीले डा.अनिल एस.शर्मा सिलिगुडी भारतसँग बारदात मिति भन्दा पहिलेदेखि नै डिप्रेसनको उपचार गराइरहनु भएको भन्ने देखिन्छ । माया पिरतीको कुराबाहेक प्रतिवादीले मृतकको ज्यान लिनु पर्नेसम्मको अन्य कुनै कारण देखिएको छैन । मृतकले प्रतिवादीलाई अस्वीकार गरेको भन्ने विषयमा असन्तुलित भई प्रतिवादीले मृतकउपर छुरा प्रहार गरेको र तत्कालै सोही छुराले आफूलाई समेत विभिन्न चोट प्रहार गरेको र सो चोट पटकको कारणबाट प्रतिवादी स्वयमलाई ११ दिनसम्म अस्पतालमा राखी उपचार गराएको भन्नेसमेत मिसिलबाट देखिँदा, घटना हुँदाको परिस्थिति, घटनाको प्रकृति, प्रतिवादी वारदात भन्दा पहिलेदेखि नै डिप्रेसनमा रहेको, डिप्रेसनको उपचार गराई रहेको र वारदातपश्चात्‌ पनि निजको उक्त मानसिक अवस्थामा सुधार आएको भन्ने नदेखिएको स्थितिसमेतको सन्दर्भमा प्रतिवादीले अपराध गरेको अवस्थालाई विचार गर्दा प्रतिवादीलाई ऐनबमोजिमको अर्थात्‌ सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने चित्तमा लागेकोले कम सजाय गर्दा पनि न्यायको मकसद पूरा हुने हुँदा सुरू तथा पुनरावेदन अदालतले अ.बं.१८८ नं. अनुसार कम सजाय गर्ने गरी व्यक्त गरेको रायसमेत मनासिब नै देखिन आयो । निज प्रतिवादीलाई कैद वर्ष १२ गरेको हदसम्म केही चर्को पर्ने देखिएकोले निज प्रतिवादी दानबिक्रम थापालाई सोही अ.बं.१८८ नं. अनुसार ११ (एघार) वर्ष कैद सजाय हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

यसमा सुरू जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैद हुने ठहरी कैदको हकमा प्रतिवादी दानबिक्रम थापालाई अ.बं.१८८ नं. बमोजिम ११ वर्ष कैद हुने ठहरी फैसला भएकोले सोहीबमोजिम कैद वर्ष ११ को कैदी लगत राखी संशोधित कैदी पुर्जी दिनु भनी सुरू काठमाडौंं जिल्ला अदालतमा लेखी पठाइदिनू ------१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभलेख शाखामा बुझाइदिनू ..............................२

 

 

उक्त रायमा सहमत छु । 

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृतः जयराम श्रेष्ठ

इति संवत् २०७३ साल असार २० गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु